पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

काठमाडौं:     प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिनदेखि आठ दिन अर्थात् अष्टमीसम्म मनाइने गाईजात्रा पर्व उपत्यकालगायत देशभरका मुख्य सहरमा दिवङ्गत आफन्तको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।      गाईजात्राको भोलिपल्ट बौद्धमा र त्यसको पर्सीपल्ट जयबागेश्वरीमा रोपाइँजात्रा मनाउने गरिन्छ । गाईजात्राको भोलिपल्ट जयवागेश्वरीमा खड्ग जात्रा मनाउने गरिएको छ । यसैगरी अन्य स्थानमा विभिन्न नामले गाईजात्रा मनाउने गरिन्छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने यो पर्व मल्ल कालेखि शुरु भएको हो ।      एक वर्षयता दिवङ्गत भएका आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी परिक्रमा गराएर दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरी मनाइएको छ ।      गाईजात्राका अवसरमा उपत्यकाका विभिन्न स्थानमा सांस्कृतिक झाँकी र साजसज्जाका साथ गाईको भेषमा बालबालिकाको ¥याली निकालिएको थियो । यस्तो झाँकी हेर्न सडकको नरनारीको उल्लेख्य उपस्थिति थियो ।       भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ मनाइन्छ । मृत्यु भएकाको सम्झनामा नगरपरिक्रमा गर्नाले गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।       राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएको ऐतिहासिक तथ्य छ । त्यति गर्दा पनि रानीको मन शान्त हुन नसकेपछि विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिएअनुरूप जात्राको प्रचलन चलेको हो भन्ने जन श्रुति पाइन्छ ।        यसै बेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिले पनि कायमै छ । देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भएपनि उपत्यकामा यसको विशेष रौनकता हुन्छ ।      भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छन् ।      जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमुना, काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तकहरू विशेष दर्शनीय मानिन्छन् ।       आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना गरिन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित हुने गरेको छ ।      यो पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरा लगायतका शहरमा पनि मनाइन्छ । गाईजात्राका अवसरमा  काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको थियो ।

काठमाडौं:    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई ठूला दलबीच भएको सहमति अरु दलविरुद्ध नभई देशलाई अघि बढाउन भएको बताउनुभएको छ ।       कांग्रेस नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति दिवसका अवसरमा स्कुल अफ डेमोक्रेसीले आज यहाँ आयोजना गरेको ‘राजनीतिमा निष्ठा र नैतिकता’ विषयक विमर्श कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले बहुलवादका आधारमा लोकतान्त्रिक समाजवाद उन्मुख संविधान बनेकाले त्यसलाई सफल बनाउन पनि दुई ठूला दलबीच सहमति भएको बताउनुभयो । स्वर्गीय गिरीको भावनालाई सम्मान गर्न पनि संविधान संशोधन गरिनुपर्नेमा उहाँको जोड थियो ।       संविधान कार्यान्वयनका क्रममा आएका समस्या समाधान हुने गरी संविधान संशोधन हुनुपर्नेमा पनि सभापति देउवाले जोड दिनुभयो । “देशलाई अघि बढाउने सोच विचार गरिकन दुई दलबीच सहमति भएको हो, यो सहमतिलाई कुनै दल विशेषले आफ्नाविरुद्ध भएको हो भनी बुझ्नु गलत हुनेछ, दुई ठूला दलबीच भएको सहमति लुकाएका छैनौँ, यसलाई लिखित रुपमै सार्वजनिक गरेका छौँ”, पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले भन्नुभयो ।      पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले २०६३ वैशाख ८ गते प्रदीप गिरीले आफूलाई फोन गरी त्यस दिनको राजा ज्ञानेन्द्रको सम्बोधनलाई मान्यता नदिन सात दलका नेताबीच सहमति जुटाउन पहल गर्न भनेको स्मरण गर्नुभयो । गिरीजस्ता नेताको भूमिकाले नै त्यसबेला शीर्ष नेतालाई लोकतान्त्रिक गणतन्त्रको दिशामा अघि बढ्न सहयोग पुगको उहाँको भनाइ थियो ।       नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले कांग्रेसका संस्थापक नेता बिपी कोइरालासँग तर्क गर्ने भएकाले प्रदीप गिरी र दुर्गा सुवेदीलाई प्रवासकालीन राजनीतिक समयमा विद्रोही नेता भन्ने गरिएको स्मरण गर्नुभयो ।       प्रदीप गिरीलाई भावी पुस्ताले पनि लोकतान्त्रिक समाजवादका एक चिन्तकका रुपमा सम्झने उहाँको विचार थियो । वामपन्थका रचना नपढ्ने कांंग्रेसका नेता, कार्यकर्ताको संस्कारकाबीच गिरी अपवाद हुनुभएको पनि महासचिव पोखरेलले बताउनुभयो । यसैकारण पनि गिरीसँग आफूहरुले नियमित भेटघाट गर्ने स्मरण पनि उहाँले गर्नुभयो ।        नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता शक्तिबहादुर बस्नेतले राजनीतिक चिन्तनका कारण गिरी सबै दलबीच लोकप्रिय बन्नुभएको उल्लेख गर्नुभयो । यसैले अहिले सबै दलले गिरीको रिक्तताको अनुभूति गरेको पनि उहाँले बताउनुभयो ।       लोकतान्त्रिक समाजवादी पार्टीं (लोसपा) का नेता डा सुरेन्द्र झाले जमिन्दार परिवारमा जन्मिएर पनि गिरीको ध्यान धन सम्पत्तिमा नगएको जानकारी दिनुभयो । गिरीकै राजनीतिक छत्रछायाँमा हुर्किएको उल्लेख गर्नुहुँदै उहाँले त्यही ज्ञानबाट अहिले आफू राजनीतिक रुपमा अघि बढिरहेको बताउनुभयो ।      कांग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले लोकतन्त्रलाई जनताबाट नभई माथिल्लो तहका नेताबाट नै खतरा छ भन्ने गर्नुभएको विषय अहिले सही सावित हुँदै गएको बताउनुभयो । कांग्रेसभित्र दलित, महिला, जनजाति, मधेशीलाई समावेशी रुपमा अघि बढाउनुपर्ने विचार गिरीले नै अघि सार्नुभएको उल्लेख गर्नुहुँदै उहाँले त्यसमा सभापति देउवाले कर्णाली जोडेर कदमजमको अवधारणा अनुसार विसं २०५८ देखि नै काम गर्दै आएको जानकारी गराउनुभयो ।      स्वर्गीय गिरीकी धर्मपत्नी भारती सिलवाल गिरीले राजनीति व्यवसायीकरण भएको भन्ने गर्नुभएको विषय अहिले अझै बढ्दै गएको देखिएको बताउनुभयो । विचार र प्रतीकका सेतुका रुपमा रहनुभएका प्रदीपको अभाव नेपाली राजनीतिमा खड्किएको पनि उहाँले सुनाउनुभयो ।       आयोजक संस्थाका अध्यक्ष एवं कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले गिरीले नेपाली राजनीतिमा पु¥याउनुभएको योगदानको स्मरणका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । विसं २००४ असोज २४ गते सिरहामा जन्मनुभएका गिरीको २०७९ भदौ ४ गते निधन भएको थियो ।

तनहुँ:    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रदेशबाट जग्गा प्राप्तिका लागि स्वीकृति आउना साथ दमौली अस्पताललाई ५० शय्यामा स्तरवृद्धिको प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।      दमौली अस्पतालको स्तरोन्नतिका लागि आग्रह गर्न मन्त्रालय पुगेको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेसहितको टोलीसँग आज मन्त्री पौडेलले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।       गत साता अस्पतालको निरीक्षण गरिसक्नुभएका मन्त्री पौडेलले कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पतालका नाममा रहेको साढे तीन रोपनी जग्गा अस्पताललाई उपभोग गर्न दिन प्रदेशबाट स्वीकृति पाए लगत्तै मन्त्रिपरिषद्मा प्रस्ताव लगेर जग्गा व्यवस्थापनका लागि पहल गर्ने बताउनुभयो । “दमौली अस्पतालको क्षमता विस्तार नहुँदा परेको समस्याबारे म जानकार छु । प्रदेशबाट स्वीकृति आउना साथ विस्तारको काम अघि बढ्नेछ”, उहाँले भन्नुभयो ।       मन्त्री पौडेललाई अस्पतालको क्षमता विस्तार गरेर ५० शय्यामा स्तरवृद्धि गर्ने काममा सहयोगका लागि समितिका अध्यक्ष वाग्ले र संविधानसभा सदस्य रामचन्द्र पोखरेलले आग्रह गर्नुभएको थियो ।       दमौली अस्पताल व्यवस्थापन समितिले केही दिन अगाडि मात्रै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर अस्पतालको स्तरोन्नति प्रक्रिया अगाडि बढाउन ध्यानाकर्षण गराइएकाबारे जानकारी गराएको अध्यक्ष वाग्लेले बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पताल स्तरोन्नति गर्न अति आवश्यक भइसकेको छ । यसबारेमा मन्त्री पनि सकारात्मक हुनुहुन्छ ।”      पन्ध्र शय्या क्षमताको स्वीकृति भए पनि अस्पतालले हाल ५४ शय्यामा सेवा दिइरहेको छ । अस्पतालसँग हाल १५ रोपनी जग्गा रहे पनि कृषि ज्ञान केन्द्रको दुई रोपनी र भेटेरीनरी अस्पतालको डेढ रोपनी जग्गा अस्पतालका नाममा प्राप्त भएमा विस्तार गर्न सकिने प्राविधिक समितिले प्रतिवेदन दिएको छ ।   अस्पतालले गत वर्ष ९८ हजार तीन सय ५६ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ । अस्पतालका प्रमुख डा परिवर्तन बरालले प्रत्येक वर्ष बिरामीको सङ्ख्या बढ्दो अवस्थामा रहेकाले अस्पताललाई ५० देखि एक सय शय्यामा विस्तार गर्नुपर्ने आवश्यकता भइसकेको बताउनुभयो ।  यस्तै, अस्पतालमा सर्पदंश उपचार केन्द्र, रक्तसञ्चार केन्द्रको क्षमता वृद्धि, फोहरमैला व्यवस्थापन, डायलासिस सेवाको क्षमता वृद्धिका साथै अस्पताललाई ट्रमा सेण्टरको रूपमा विकास गर्नुपर्ने आवश्यकता खड्किएको उहाँको भनाइ छ ।        यो अस्पताल विसं २०३४ मा स्वास्थ्य चौकीको रूपमा स्थापना भई विसं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्र र विसं २०५९ मा अस्पतालमा स्तरोन्नति भएको थियो । 

काठमाडौं:    अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी सोमबार दिउँसोसम्म एक सय ९० जनाको मृत्यु भएको छ ।       विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २७, मधेस प्रदेशमा आठ, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १५ गरी एक सय ९० जनाको मृत्यु भएको नेपाल प्रहीले जानकारी दिएको छ ।       आज नेपाल प्रहरीले जारी गरेको तथ्याङ्कअनुसार काठमाडौँ उपत्यकामा ११, कोशी प्रदेशमा ३८, मधेस प्रदेशमा १२, बागमती प्रदेशमा २३, गण्डकी प्रदेशमा ४५, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा ५७ र सुदूरपश्चिम प्रदेशमा ३४ गरी दुई सय ३८ जना घाइते भएका छन् ।       साथै  काठमाडौँ उपत्यकामा २८, कोशी प्रदेशमा ४९, बागमती प्रदेशमा १२, गण्डकी प्रदेशमा १४, लुम्बिनी प्रदेशमा चार, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा पाँच गरी एक  सय १४ जनाको उद्दार गरिएको छ । बाढीपहिरोमा परी कोशी प्रदेशमा दुई, मधेस प्रदेशमा एक, बागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी ४९ जना बेपत्ता भएका छन् ।            बाढीको कारण जम्मा तीन सय ८४ घर डुबानमा परेका छन् भने तीन सय २७ वटा घर, एक सय १२ वटा गोठ, ५१ वटा पुल, चार वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । साथैगरी विपद्मा परी आठ सय ५२ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार आठ सय १९ घर परिवार विस्थापित भएका छन् ।

पोखरा:     लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्माण गरेको घान्द्रुकको (कोँड नाश) वृत्तचित्र जापानमा प्रदर्शन हुने भएको छ ।     ब्रेज मेश्रो फिल्म प्रोडक्शन घान्द्रुकको ब्यानरमा निर्मित वृत्तचित्र ब्रेज मेश्रों घान्द्रुक समाज जापानको आयोजनामा भदौ ९ गते (अगष्ट २५ तारिख) मा जापानको टोकियो शहरको गोतान्दा माया रेष्टुरेन्टमा प्रदर्शन हुने लामा अमृत फाउण्डेशनका संस्थापक अमृत गुरुङले जानकारी दिए । जापानको टोकियो शहरमा अगष्ट २५ तारिखमा घान्द्रुकको (कोँड नाश) वृत्तचित्र प्रदर्शनमा नेपाली राजदूत डा.दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यतामा हुने गुरुङले बताए ।    ‘घान्द्रुकमा पहिलो पटक प्रदर्शन गरेको वृतचित्रलाई देशको प्रमुख शहरहरु पोखरा, काठमाडौं लगायतका स्थानमा प्रर्दशन गरिएको छ, गुरुङले भने, ‘कास्कीको पर्यटकीय क्षेत्र घान्द्रुक लगायत विभिन्न क्षेत्रमा निर्माण भएको वृत्तचित्रलाई बेलायत र हङकङपछि जापानमा प्रदर्शन गर्न लागेका छौं ।’ उनले जापानको विभिन्न शहरहरुमा समेत घान्द्रुकको (कोँड नाश) वृत्तचित्र प्रदर्शन गर्ने तयारी रहेको बताए । घान्द्रुकको (कोँड नाश) वृत्तचित्र प्रदर्शनमा तामाकी रेष्टुरेन्टका सञ्चालक बुद्धि गुरुङ (ज्या) र जापान नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. बलराम श्रेष्ठको विशेष सहयोग रहेको छ ।  लामा अमृत फाउण्डेशन घान्द्रुकका अमृत गुरुङले निर्माण गरेको उक्त वृत्तचित्रमा सन्तोष कोन्मेको निर्देशन, जितेश प्रधान र युनिश गुरुङको लेखन, शिव मुखियाको संगीत र सञ्जय मल्लको आवाजले सिगारिएको छ । भने बार डिजिटल पोखरामा रेकर्ड गरिएको हो । उक्त वृत्तचित्रमा तमु समुदायसँग सम्बन्धित संस्कृति त्यसैगरी प्राकृतिक सौन्दर्यता तथा कास्कीको उत्तरी भेगमा रहेको पर्यटकीय गाउँ घान्द्रुक आसपासको रहनसहन भेषभुषा तथा कला संस्कृतिलाई चित्रण गरिएको छ ।  

दाङ:     लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गरेका छन् । आचार्य गत साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।  प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री आचार्यले ७० मत प्राप्त गरेका हुन् । उनको विपक्षमा ११ मत परेको सभामुख तुलाराम घर्तीमगरले जानकारी दिए । लुम्बिनी प्रदेशसभामा ८७ जना सदस्य छन् ।  

काठमाडौं:     जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीले नयाँ नेता चयन गर्ने तथा सेप्टेम्बर २७ मा प्रधानमन्त्री चयन गर्ने जनाएको छ ।  वर्तमान प्रधानमन्त्री फुमियो किशिदाले गत हप्ता आफ्नो सरकारका लागि अनुमोदन मूल्याङ्नमा आएको परिणामपछि अर्को महिना पदबाट हट्ने निर्णयपछि सत्तारूढ दलले नयाँ नेता चयन गरी प्रधानमन्त्रीका लागि सिफरिस गर्ने घोेषणा गरिएको हो । लिबरल डेमोक्र्याटिक पार्टीको अर्को अध्यक्ष बन्ने अभियान सेप्टेम्बर १२ मा  मतदानसहित सुरु हुने आन्तरिक समितिले मङ्गलबार निर्णय गरेको पार्टी अधिकारीले बताएका छन् ।   सन् २०२१ को अक्टोबरदेखि सत्तासिन रहनुभएका किशिदाले बढ्दो मूल्यलगायतका काण्डपछि भएका समीक्षामा उहाँप्रतिको विश्वासमा गिरावट आएको देखिएको हो ।  यद्यपि किसिदाले सत्तामा रहँदा विदेशी सहयोगीको विश्वास जित्नुभएको थियो । रूसको आक्रमणपछि अमेरिकी प्रोत्साहनका साथ युक्रेनको पक्षमा निर्णायकरूपमा उभिनुभएको थियो भने जापानी रक्षा नीतिलाई अझ बलियो बनाउने र चीनको सामना गर्ने पक्षमा अघि बढ्नुभएको थियो ।   आगामी प्रतिस्पर्धामा पार्टीका दिग्गजदेखि उदीयमान युवासहित तीन महिला उम्मेदवारको सम्भावना रहेको र उनीहरू पार्टीभित्र समर्थन जुटाउन पहल गरिरहेको बताइएको छ । 

रामेछाप:    यहाँको मन्थली नगरपालिका–१ सानी मदौका स्थानीय तेजप्रसाद सुवेदीले व्यक्तिगत खर्चमा जिल्लाका विभिन्न नौ वटा विद्यालयका तीन सय १२ जना गरिब तथा जेहेन्दार छात्राहरुलाई छात्रावृत्ति वितरण गर्नुभएको छ ।  उहाँले जेहेन्दार छात्रा शिक्षा हातेमालो कार्यक्रममार्फत नगद, एक वर्षलाई पुग्ने दुई दर्जन बढी कापी, डटपेन झोला र विद्यालय पोसाक वितरण गर्नुभएको हो ।   ती विद्यालयले छनोट गरेका गरिब तथा जेहेन्दार छात्रामध्ये केहीलाई पूर्ण र केहीलाई आंशिक दिइएको छ । उहाँले ग्रामीण भेगमा छोरीलाई पढाउनुपर्छ भन्ने मान्यता कम भएकाले छोरीलाई पनि छोरा सरह शिक्षा दिनुपर्छ भन्ने मूल सन्देश दिन गरिब तथा जेहेन्दार छात्रालाई पठनपाठनमा सहयोग पुगोस् भनि विगत आठ वर्षअघिदेखि सहयोग गर्दै आइरहेको बताउनुभयो । पूर्ण छात्रावृत्ति अन्तर्गत प्रति विद्यार्थी १८ हजार नगद, विद्यालय पोसाक र झोला वितरण गरिएको  छ, भने  आंशिक तर्फ विद्यालय पोसाक, झोला र एक वर्षलाई पुग्ने कापी, डटपेन वितरण गरिएको छ । सहयोग रकम पाएपछि आफूजस्ता गरिब तथा जेहेन्दार छात्रालाई पठनपाठनका लागि सहज भएको मन्थली माविको कक्षा ७ मा अध्ययनरत छात्रा इन्दिरा बुढाथोकीले बताउनुभयो ।  भैरवी मावि सुनारपानीमा अध्ययनरत छात्रा गीता कार्कीले आफू जस्ता विद्यार्थी यस कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताउनुहुन्छ । “गाउँमा अझै छोराछोरीबीचको विभेद् कायम छ, छोरालाई निजी र छोरीलाई सामुदायिक विद्यालयमा पढाउने गरिन्छ”, तामाकोशी क्याम्पस खिम्तीका क्याम्पस प्रमुख दिवाकर खड्काले भन्नुभयो, “शैक्षिक सामग्री किन्न नसक्ने ग्रामीण परिवेशका अभिभावकलाई यस कार्यक्रमले सहयोग पुगेको छ ।” आठ वर्ष अघिदेखि छात्रावृत्ति कार्यक्रम सञ्चालन गदै आउनु भएका सुवेदी परिवारको यस वर्षको कार्यक्रम नवौँ हो । उक्त कार्यक्रममा प्रत्येक वर्ष रु १० लाख भन्दा बढी खर्च हुने गरेको  छ ।  छात्रावृत्ति पाउने क्याम्पस तथा विद्यालयमा मन्थली सहिदस्मृति बहुमुखी क्याम्पसका छ जना, तामाकोशी क्याम्पस खिम्तीका १२ जना, सेतीदेवी मावि सालु, भैरवी मावि सुनारपानी र शिद्धेश्वर मावि गैराथोकका  १०÷१० जना  विद्यार्थी रहेका छन् ।  त्यसैगरी  जनविजय आधारभूत विद्यालयका ५७, हरिसिद्धी मावि चौकीघर फुलसीका ६२ र मावि चिण्डे फूलासीका एक सय १३  गरि कूल तीन सय १२ जना छात्रा यो कार्यक्रमबाट लाभान्वित भएका छन् ।