म्याग्दी: पहाडको टुप्पोमा भिरालो पाखा । जता हेरे पनि कार्पेट बिछ्याएझै देखिने हरियाली । पाखामा फुलेका रंगी बिरंगी फुल । तल हेर्दा देखिने हरियाली जंगल र फेदीको फाँट । वरपर देखिने थुम्का, थुम्की । चरनमा रमाइरहेका गाईभैसी, भेडाबाख्रा र घोडाका बथान । गाईबस्तुको घाँटीमा झुण्डीएका घाडो (घण्टी)को एकनाशको आवाज । शीतल हावापानी । एकान्त वातावरण । छिन छिनमा फेरिरहने मौसम । घाम, पानी र बादलको लुकामारी । बिहानीपख सुर्योदय, साँझमा सुयास्त, पृष्ठभूमिमा लहरै रहेका सिस्ने देखि मनास्लु सम्मका हिमालहरुको मनमोहक दृष्य । बादल हट्दा देखिने निलो आकाश । समुन्द्रि सतहदेखि चार हजार १० मिटरको उचाईमा रहेको पुर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको गर्पाछेडा पुग्दा कुनै चित्रकारले मेहनत गरेर बनाएको क्यानभास अवलोकन गरेझै आभास हुन्छ । काठमाडौका आशिस सिलवालले गर्पाछेडामा रहेका गोठालाहरुको जिवनशैली नियाल्दै प्रकृतिको सुन्दरतामा तीन दिन बिताउनुभयो । “लोप हुदै गएको घुम्ति गोठ र पशुपालन गर्ने परम्परागत चलनको अध्ययन गर्ने अवसर पाइयो,” उहाँले भन्नुभयो “जता फर्केर हेरेपनि देखिने मनमोहक दृष्यले समय बितेको पत्तै भएन् ।” यहाँबाट सिस्ने, पुथा, गुर्जा, धौलागिरि, अन्नपूर्ण, निलगिरि, माछापुच्छ्रे, मनास्लु हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । ढोरपाटन शिकार आरक्षको पहाडी भूगोलको मनमोहक दृष्यका साथै बुकीको चरनमा रमइरहेका भेडा, बाख्रा, घोडा, गाईभैसीका बथानहरु थप आकर्षण हुन् । शान्त वातावरण र चिसो हावापानीमा रमाउन पाइने गुल्मीको चन्द्रकोट गाउँपालिकाबाट आएका रमेश क्षेत्रीले बताउनुभयो । बादल, घाम र पानीको लुकामारीसँगै पाखाभरी रंगीबिरंगी फुलेका बुकीमा रमाउन पाउँदा उमंगको अनुभूति हुने उहाँले सुनाउनुभयो । ढोरपाटनको पाखाथरदेखि तीन घण्टा उकालो हिडेपछि पुगिने गर्पाछेडा पुर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका र डोल्पाको सदुरमुकाम जाने परम्परागत पैदलमार्गमा पर्दछ । किसानहरुले बर्खा याममा पोषिलो घाँस खुवाउन गर्पाछेडा, टिकाडाडा, रासबन, दहखर्कमा घरपालुवा पशुचौपायाको गोठ लगेका छन् । पाहुनाका लागि ‘गोठ स्टे’ गर्पाछेडामा पुग्ने पाहुनाहरुका लागि ‘गोठस्टे’ सञ्चालन गरिएको छ । होटल र होमस्टे सञ्चालन गर्न सम्भव नभएको विकट ठाउँको गोठस्टेले पर्यटकलाई सुविधाका साथै गोठालाहरुलाई अतिरिक्त आम्दानीको स्रोत बनेको छ । ‘ब्लु सिप गोठ स्टे’का सञ्चालक सन्देश थापाले पाहुनाहरुलाई घुम्ती टहरा र गोठमा खाजा, खाना खुवाउने र बास बस्ने व्यवस्था मिलाएको बताउनुभयो । “नाउर र झारलको बथान अवलोकन गर्न सकिने भएकाले गर्पाछेडाको ‘गोठ स्टे’लाई ब्लु सिप नामाकरण गरिएको हो,” उहाँले भन्नुभयो “जंगली जनावर, पंक्षी, पहाडी भूगोल, वनजंगल, हिमाल, सुर्योदय र सुर्यास्तको मनमोहक दृष्यका साथै गोठालाहरुको जिवनशैली र दैनिकी अवलोकन गर्न पाउने यहाँको आकर्षण हो ।” गाईभैसीको दूध, दहि, मोही, घ्यु, भेडा, बाख्राको मासु, निगालोको टुसा, रातो च्याउको तरकारी, ढिडो, आटो पकाएर पाहुनालाई खुवाउने गरेको थापाले बताउनुभयो । छुट्टै बस्नेहरुका लागि टेन्ट पनि राखिएको छ । बर्खामा बुकीमा गोठ लगेको समयमा मात्र त्यहाँ गोठ स्टे सञ्चालन हुन्छ । चिसो बढेपछि गोठ वेसीतर्फ झर्छन । प्रतिव्यक्ति रु। दुई हजार शूल्कमा २ छाक खाना, २ छाक खाजा र सुत्न पाइन्छ । शुक्रबार, शनिबार र बिदाका दिन १४÷१५ जनासम्म पाहुना आउने गोठ स्टे अन्य दिन पनि खाली हुदैन् । गोठ स्टेमा २० जनाको क्षमता छ । ढोरपाटन पर्यटन विकास संस्थाका सचिव जीवनकुमार पुनले गर्पाछेडामा खानेपानी, सार्वजनिक शौचालय र सञ्चार सुविधाका लागि स्थानीय तह, शिकार आरक्ष र प्रदेश सरकारसँग पहल गरिएको बताउनुभयो । ढोरपाटन आउने पर्यटकको बसाई लम्बाउने गर्पाछेडा, किटिनी डाडा, जलजलालाई नयाँ गन्तव्यको रुपमा विकास गरेको उहाँले बताउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नवप्रवर्तन, स्रोत र साधनको बुद्धिमत्तापूर्ण प्रयोगबाट अल्पविकसित, विकासोन्मुख एवं विकासशील राष्ट्रका जनताको हित सुनिश्चित गर्नका साथै आपसी साझेदारी र सहकार्यबाट समुज्ज्वल भविष्य निर्माण गर्न सकिने बताउनुभएको छ । भारत सरकारद्वारा श्रव्यदृश्यका माध्यमबाट आयोजित तेस्रो शृङ्खलाको ‘ग्लोबल साउथ समिट’ को उद्घाटन सत्रलाई आज भर्चुअलरुपमा सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभयो । ‘वसुधैव कुटुम्वकम्’को आदर्शअनुरुप ‘दिगो भविष्यका लागि सशक्त ग्लोबल साउथ’ शीर्षकमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अवधारणामा आयोजित उक्त सम्मेलन सामयिक भएको बताउँदै प्रधानमन्त्री ओलीले ग्लोबल साउथको अभिमत अभिव्यक्त गर्नुभएकामा आफ्ना भारतीय समकक्षीको सराहना गर्नुभयो । विश्वका विभिन्न भागमा फैलिएको द्वन्द्व, खाद्य र ऊर्जा सङ्कट, जलवायु परिवर्तनका असरलगायत विषयले असमान रूपमा विकासशील देशहरूमा गम्भीर चुनौती थपेकाले तिनको सामना गर्न सामुहिक प्रयास अपरिहार्य भएकामा प्रधानमन्त्री ओलीले जोड दिनुभयो । प्रधानमन्त्री ओलीले ग्लोबल साउथका १५ राष्ट्र तथा सरकारप्रमुखसँगै सम्मेलनलाई सम्बोधन गर्नुभएको हो । तुलनात्मक रूपमा न्यून आर्थिक एवं औद्योगिक विकास गरेका ७८ अल्पविकसित, विकासोन्मुख एवं विकासशील राष्ट्र ग्लोबल साउथका सदस्य छन् ।
काठमाडौं: थामे गाउँमाथि रहेको दुई वटा हिमताल फुटेर थामे खोला र दुधकोशी नदीमा पानीको बहाव बढेर आएको पुष्टि भएको छ । रक्षामन्त्री मानवीर राईसहित पुगेको अध्ययन टोलीले अझै दुई वटा पोखरी उच्च जोखिममा रहेको जनाएको हो । बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न शनिबार रक्षामन्त्री राईको नेतृत्वमा टोली उक्त ठाउँमा पुगेको थियो । प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले भन्नुभयो, ‘साना पाँचवटा ताल रहेछन्, त्यसमध्ये दुई वटा ताल फुटेको रहेछ । अरू दुई वटा उच्च जोखिममा छन् । एउटा भने सुरक्षित छ।’ शुक्रबार दिउँसो सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेस्थित थामे खोलामा पानीको बहाव बढेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार नदीमा पानीको मात्रा केही कम भए पनि कटान भने जारी रहेको छ । बाढीले खुम्बु पासाङल्हामु–५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो । बाढीले स्थानीय विद्युत आयोजनाको विद्युत् गृह पूर्ण रूपले क्षतिग्रस्त बनाएको छ । खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे जामे क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको छ । बाढीले दुधकोशी नदी तटीय क्षेत्रमा जोखिम कायम रहेकाले सचेत रहन स्थानीयलाई आग्रह गरिएको छ ।
पोखरा: महिला तथा बालबालिकाको क्षेत्रमा कार्य गर्दै आएको वुमन एक्ट नेपालले गण्डकी प्रदेशका महिला उद्यमीका लागि अभिमुखिकरण कार्यक्रम गरेको छ । नेपालका सीमान्तकृत र जोखिममा परेको महिला तथा बालबालिकाको आर्थिक सवलीकरण परियोजना अन्तरगत गण्डकीका प्रदेशका महिला उद्यमीको सशक्तिकरण गर्न, उद्यमका लागि सहजीकरण गर्न शुक्रबार अभिमुखिकरण गरिएको हो । अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दु थापाले महिलालाई उद्यमी बनाउन तर्फ अबको बाटो हुनुपर्ने बताउँदै यसले महिलालाई आत्मनिर्भर बनाउने बताए । उनले आफू पनि उद्यमी पृष्ठभुमिबाट आएकै कारण उद्यमीहरुको समस्या बुझ्ने बताए । वुमन एक्टकी कार्यकारी अध्यक्ष श्रृजना अधिकारीले आर्थिक उपार्जनका लागि ससाना व्यवसाय गरिरहेका महिला उद्यमीले व्यवसाय दर्ता नगरिदिंदा सरकारबाट प्राप्त हुनसक्ने आर्थिक सहयोग, कार्यक्रम, सूचनाबाट वन्चित भइरहेको सुनाइन् । यसप्रति महिला उद्यमीलाई सशक्त बनाउने कार्यका लागि परियोजना अघि बढिरहेको उनले बताइन् । भेलाले पोखरा महानगर, माछापुच्छ«े गाउँपालिका र हुप्सेकोट गाउँपालिकाका महिला उद्यमी सम्मेलित ५ सदस्य प्रदेशस्तरीय महिला उद्यमीको सामुदायिक अभ्यास संजाल (सीओपि नेटवर्क) समेत गठन गरेको छ । संजालको सयोंजकमा उर्मिला वि.क, उप संयोजकमा रेवती सारु, सचिवमा तुलसी अधिकारी, सदस्यमा यशोदा लम्साल र पुष्पा गुरुङ छन् । संजालले स्थानीय, प्रदेशस्तरमा समन्वय गरि उद्यमी महिलाको हकहितमा वकालत गर्ने वुमन एक्टका टिम लिडर प्रकाश अधिकारीले बताए । वुमन एक्टले बाग्मती, गण्डकी, मधेश, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका २५ स्थानीय तहमा परियोजना सञ्चालन गरिरहेको छ ।
सोलुखुम्बु: बाढीपछि सोलुखुम्बुको नाम्चेभन्दा माथिको आवातजावत ठप्प भएको छ । शुक्रबार थामे खोलामा आएको बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लोक्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवातजावत ठप्प बनेको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ । प्रहरी नायब निरीक्षक हेमबहादुर कटवालका अनुसार फाक्दिङदेखि नाम्चेबीचको दुई ठाउँमा १००÷१०० मिटरजति पदमार्ग नदीको कटानमा परेको छ । जसका कारण लुक्लाबाट नाम्चे हुँदै थामे आवातजावत अवरुद्ध भएको छ । सगरमाथा पदमार्गमा पर्ने एकमात्र पदमार्ग भोटेकोसीले कटान गर्दा पदमार्ग अवरुद्ध भएको उहाँले बताउनुभयो । थामे खोला हुँदै आएको लेदोसहितको बाढी भोटेकोसी हुँदै दूधकोसी नदीमा मिसिएको छ । बाढीले खुम्बुको स्थानीय जलविद्युत् आयोजनाको ड्याम बगाउँदा सो क्षेत्रमा सञ्चार सेवासमेत ठप्प बनेको स्थानीय ल्हाक्पा नुरु शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “थामे यतिबेला तनावग्रस्त अवस्थामा छ, यहाँ बत्ती छैन फोन लाग्दैन, टिभी केही छैन सबै बाढीले बगायो, स्थानीयको ज्यानबाहेक सबै बाढीले बगायो, यहाँ असाध्यै गा¥ह्रो छ । पर्यटकीय गाउँ सबै बगायो, देख्दै विरक्ता लाग्दो छ ।” बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेका २० घर तथा होटल लज, एक स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो । नेपाली सेना र प्रहरीले थामेबाट ९३ जनालाई उद्धारगरी आर्मीक्याम पछाडिको घरमा राखिएको छ भने ४२ जनालाई स्थानीय सामुदायिक भवनमा राखिएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताउनुभयो । बाढीले तल्लो सोलुको तटीय क्षेत्रमा पनि असर गरेपछि माप्यदूधकोसी गाउँपालिका–६ का पाँच घरपरिवारलाई प्रहरीले अन्यत्र स्थानान्तरण गरेको छ । उक्त बाढी भोटेकोसी हुँदै दूधकोसीमा मिसिँदा सोलुखुम्बुको तल्लो क्षेत्रमा पर्ने माप्य–खुम्बु मितेरी पक्की पुलमा क्षति पुगेको छ । बाढीले कोशी आसपासका क्षेत्र कटान गर्दा जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका र माप्यदूधकोसी गाउँपालिका जोड्ने दूधकोसी नदी माथिको पाकी मोटरेबल पुलमा सवारी सञ्चालन गर्न नमिल्नेगरी क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । पुलमा क्षति पुगेसँगै सल्लेरीबाट खुम्बु सञ्चालन हुँदै आएको सिधा सडक सञ्जालसमेत टुटेको बताइएको छ । यसैबीच रक्षामन्त्री मानवीर राईसहितको टोली नेपाली सेनाको हेलिकप्टरबाट पहिरोग्रस्त थामे गाउँ पुगेको छ । शुक्रबार दिउँसो थामेखोलामा आएको बाढीले बगाएको थामे गाउँको स्थलगत निरीक्षणका लागि काठमाडौँबाट रक्षामन्त्री राईसहित विपद् व्यवस्थापन समितिको टोली थामे पुगेको हो । निरीक्षण टोलीमा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरीक्षक, नेपाली सेनाका कर्णेल, जिल्लाका सांसदलगायत रहेका छन् ।
काठमाडौं: नेपालले आइसिसी १९ वर्षमुनि (यू–१९) क्रिकेट विश्वकप क्रिकेट एसिया छनोट–२०२५ को आयोजना गर्ने भएको छ । आगामी एप्रिल १२ देखि २१ तारिखसम्म हुने उक्त छनोट प्रतियोगिताको आयोजनाको जिम्मेवारी नेपालले पाएको नेपाल क्रिकेट सङघ (क्यान)ले जनाएको छ । क्यानका अनुसार छनोट प्रतियोगितामा आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) छन् । छनोट खेलमा विजयी हुने टोलीले सन् २०२६ मा आयोजना हुने आइसिसी यु–१९ पुरुष विश्वकपमा प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौं: क्यानडास्थित नेपाली राजदूतावासले निकट भविष्यमै नयाँ शैक्षिकसत्रको सुरुआत हुन लागेकाले अध्ययनका लागि क्यानडा आउने तयारी गरिरहेका नेपाली विद्यार्थीलार्य सुझाव दिएको छ । दूतावासले क्यानडा बसाइ र अध्ययन सहज एवं समस्यारहित बनाउनका लागि विभिन्न सुझाव जारी गर्दै ध्यान पु¥याएर तयारी गर्न अनुरोध गरेको छ । विद्यार्थीका लागि दूतावासबाट यसअघि गत वैशाख १७ मा जारी गरिएको जानकारी मूलक सूचना राम्ररी अध्ययनगरेर मात्र क्यानडाको तयारी गर्न उचित हुने दूतावासले जनाएको छ । आफूले अध्ययन गर्ने कलेज, अध्ययन गर्ने विषय, लाग्ने खर्च, कलेज रहेको सहर आदिबारे पर्याप्त खोजीगरी बुझेर आउँदा कम समस्या व्यहोर्नुपर्ने उल्लेख गर्दै दूतावासले अवास्तविक, अपर्याप्त र अतिरञ्जित प्रचारप्रसारमा मात्र भरगरेर पूर्ण तयारी नगर्दा विद्यार्थीले विविध समस्या व्यहोर्नु परेको यथार्थलाई राम्ररी ध्यान दिन आग्रह गरेको छ । अध्ययनका लागि क्यानडा आउनु अघि पूर्वक्यानडामा रहेका आफन्त, इष्टमित्र, साथीहरू, पूर्वविद्यार्थी, विद्यार्थीका सोसल मिडिया नेटवर्क, सम्बन्धित सहरमा रहेका गैरआवासीय नेपाली सङ्घलगायत नेपाली डायस्पोराका सङ्घसंस्थासँग आफू आउन लागेको ठाउँ, पढाइको तौरतरिका, लाग्ने खर्च, आवासको उपलब्धता, रोजगारीका सम्भावना आदिबारे पर्याप्तमात्रामा बुझी जानकारी लिएर आउँदा सहज हुने दूतावासको सुझाव छ ।
बागलुङ (ढोरपाटन): पूर्वी रुकुमको सिमानासँग जोडिएको निसेलढोरमा अहिलेसम्म विद्युतको पहुँच छैन । बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरमा विद्युत् नपुग्दा स्थानीय अन्धकारमा बस्न बाध्य छन् । विद्युतको सुविधा नहुँदा स्थानीयले दियालो र टुकी बालेर रात बिताउन बाध्य छन् । एक दशक अगाडिसम्म निसेलढोरमा निसीवासी बर्खाको समयमा पशुचौपाया पाल्ने, आलु र स्याउ फलाउने गर्थे । बर्खाको चार महिना मात्र निसेलढोर बस्ने स्थानीय हिउँदको समयमा निसी गाउँमा बस्ने गर्थे । निसेलढोर लेक क्षेत्र पर्छ भने निसी गाउँ औल (बेंसी) क्षेत्र हो । पछिल्लो समय करिब ७० परिवार बाह्रै महिना स्थायी रुपमा निसेलढोरमा बस्ने गर्छन् । बर्खाको समयमा यहाँ दुई सयभन्दा बढी परिवार बस्छन् । असारदेखि असोजसम्म निसेलढोरमा बस्ने निसीवासी कात्तिकदेखि निसी गाउँमा झर्ने गर्छन् । पछिल्लो समय स्थायी रुपमै निसेलढोरमै बस्नेको सङ्ख्या बढ्दै गएको हो । उनीहरुले उज्यालो खोजीरहेका छन् । ढोरपाटन उपत्यकादेखि करिब डेढ घण्टाको यात्रामा पुग्न सकिने निसेलढोर पर्यटकीय हिसाबले आकर्षक भए पनि विद्युत लगायतका सुविधा नपुग्दा ओझेलमा छ । पहिले हिउँदमा हिमपात हुने र बढी चिसोका कारण यहाँ कमै मात्रै स्थानीय बस्ने गरे पनि पछिल्लो समय सडकले जोडिएपछि स्थायी रुपमा बस्नेको सङ्ख्या बढ्न थालेको निसीखोला गाउँपालिका–५ निसेलढोरकी सम्झना विकले बताउनुभयो । अन्धकारमै रात बिताउँदै आएको भन्दै आधुनिक प्रविधिको विकास हुँदासमेत आफूहरु सूचना सञ्चारबाट टाढा रहनुपरेको सुनाउनुभयो । यो ठाउँ कृषि र पशुपालनका लागि उपयुक्त ठाउँ भएको भित्र बिजुलीको उज्यालोभन्दा टाढा रहनु परेको उहाँको भनाइ छ । विकले भन्नुभयो, “बिजुली छैन, टेलिभिजन हेर्न र रेडियो सुन्न पाइँदैन, साथमा मोबाइल भएर के गर्ने रु चार्ज गर्न पाइँदैन, मोबाइल चार्ज गर्न, दुई÷तीन घण्टा हिँडेर ढोरपाटन पुग्नुपर्ने अवस्था छ, बिजुली हुन्थ्यो भने साँझमा केटाकेटीले अबेरसम्म पढ्न पाउँथे, देश विदेशका खबर सुन्न पाइन्थ्यो ।” स्थानीय बलबहादुर घर्तीले दियालो र दाउरा काट्न ढोरपाटन सिकार आरक्षले अवरोध गर्ने हुँदा खाना पकाउन र साँझमा उज्यालो बाल्न अप्ठ्यारो भएको बताउनुभयो । बजारमा मट्टीतेल पाइन छोडेको उहाँको भनाइ छ । “घाँस दाउरा ल्याउन सिकार आरक्षले दिँदैन”, घर्तीले भन्नुभयो, “जसोतसो बसिरहेका छौँ ।” निसीखोला–५ का वडाध्यक्ष हर्कमान घर्तीमगरले निसेलढोरमा विद्युत् पु¥याउनका लागि अघिल्लो वर्षदेखि काम सुरु गरेको बताउनुभयो । ढोरपाटन–९ भुजीस्थित भुजी लघु जलविद्युत् आयोजनाबाट निसेलढोरलाई जोड्न लागेको उहाँले बताउनुभयो । गत वर्ष विद्युत् केही स्थानमा खम्बा गाड्ने र निसेलढोरवासीको ९० प्रतिशत घरमा आइरिङको काम सकिएको अध्यक्ष घर्तीमगर बताउनुहुन्छ ।
सोलुखुम्बु: सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे खोलामा आएको बाढीले तटीय क्षेत्रमा कटान जारी रहेको छ । शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीपछि खुम्बु र तल्लो सोलुका नदी आसपासका क्षेत्रमा कटान जारी रहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार नदीमा पानीको मात्रा केही कम भए पनि कटान भने जारी रहेको छ । बाढीले खुम्बु पासाङल्हामु–५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो । बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रुपले क्षतिग्रस्त बनाएको छ । खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे जामे क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको छ । उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरी खटिएका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो । नेपाली सेना र प्रहरीले थामेबाट ९३ जनाको उद्धार गरी आर्मीक्याम्पमा राखेको छ भने ४२ जनालाई स्थानीय सामुदायिक भवनमा राखिएको छ । बाढीले तल्लो सोलुको तटीय क्षेत्रमा पनि असर गरेपछि माप्यदूधकोसी गाउँपालिका–६ का पाँच परिवारलाई प्रहरीले अन्यत्र स्थानान्तरण गरेको छ । उक्त बाढी भोटेकोसी हँुदै दूधकोसीमा मिसिँदा सोलुखुम्बुको तल्लो क्षेत्रमा पर्ने माप्य–खुम्बु मितेरी पक्की पुलमा क्षति पुगेको छ । बाढीले कोसी आसपासका क्षेत्र कटान गर्दा खुम्बु पासाङल्हामु गाउँपालिका र माप्यदूधकोसी गाउँपालिका जोड्ने दूधकोसी नदी माथिको पक्की मोटरेबल पुलमा क्षति पुगेको प्रहरीले जनाएको छ । पुलमा क्षति पुगेसँगै सल्लेरीबाट खुम्बु सञ्चालन हुँदै आएको सिधा सडक सञ्जालसमेत टुटेको बताइएको छ । प्रहरी नायब उपरीक्षक घिमिरेले भन्नुभयो, “बाढीले जिल्लाको तल्लो क्षेत्रमा पनि क्षति पु¥याएको खबर छ, सोताङ र थुलुङ दूधकोसी जोड्ने दिप्लीघाटस्थित दूधकोसी नदी छेउमा राखिएको बेलीबृजको सामान बगाएको छ, नदी आसपासका बस्तीमा पनि सामान्य क्षति पुगेको छ । बाढी आउनुको कारण खुल्न सकेको छैन ।” खुम्बु क्षेत्रबाट उक्त बाढी हिमताल फुटेर आएको हुनसक्ने सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो । कुन हिमताल फुट्यो भन्ने यकीन नभएको उहाँको भनाइ छ ।

