काठमाडौं: नेकपा एमाले प्रतिनिधि सभामा प्रतिपक्षी बेन्चमा बसेको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएरपछि एमाले प्रतिपक्षी बेञ्न्चमा बसेको हो । हाल प्रतिनिधिसभामा नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी बेञ्चमा छ । एमाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएर कांग्रेससँगै बस्न पुगेको छ । आइतबारको बैठकमा प्रतिनिधि सभाका दुई ठूला दल कांग्रेस र एमाले दुवै प्रतिपक्षी बेञ्चमा देखिएका हुन् । प्रतिनिधि सभाको बैठक अगाडि बसेको एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन भनेको छ । राजीनामा नदिएर संसदमा विश्वासको मत परीक्षण गरे विश्वासको मत नदिने एमालेको निर्णय छ । प्रधानमन्त्री प्रचण्डले यही असार २८ गते विश्वासको मत लिँदैछन् ।
पोखरा: नेपालका शीर्ष वरियता प्राप्त प्रदीप खड्का र नेहाल जङ्गबहादुर थापा पोखरामा सम्पन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेश स्तरीय प्रारम्भिक चरणको टेनिस छनोट प्रतियोगितामा उपविजेता हुँदै छनौंट चरणका लागि छानिएका छन् । खराब मौसमका कारण फाइनल खेल सम्भव नभएपछि आइटीएफ नियम अनुसार दुवैलाई विजेता घोषणा गरिएको हो । उनीहरुलाई नगद २२ हजार ५ सय सहित मेडलले पुरस्कृत गरियो । तेश्रो स्थान हाँसिल गरेका शास्वत बज्रचार्य र अनिल साइले जनही नगद रु ३ हजार ७ सय ५० का साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे । सेमिफाइनल खेलमा नेहालले अनिल शाहीलाई ६–३,६–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । यसअघि प्रदिपले शाश्वत बज्राचार्यलाई ६–१, ६–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए । यता महिला सिंगल्सतर्फ प्रिती बराल पहिलो भइन् । उनले नगद रु १५ हजार प्राप्त गरिन् । त्यस्तै आरुषी शेरचन दोस्रो भई नगद ७ हजार ५ सय तथा आहना शेरचन र ग्रिष्मा गुरुङ तेस्रो स्थान प्राप्त गर्दै जनही नगद रु ३ हजार ७ सय ५० का साथमा मेडल तथा प्रमाणपत्र हात पारेका छन् । यता पुरुष डबल्सतर्फ प्रदिप खडका र अनिल साईको जोडी पहिलो भएको छ । उनीहरुले निहाल जङ्ग बहादुर थापा र दर्शिल श्रेष्ठको जोडीलाई पराजित गरेका थिए । प्रदिपले र अनिलको जोडीले नगद रु २० हजार तथा उपविजेता बनेको निहाल र दर्शिलले नगद रु १० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरे । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना, गण्डकी प्रदेश टेनिस संघको व्यवस्थापन तथा कास्की जिल्ला टेनिस संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताबाट पुरुषतर्फ प्रदिप, नेहाल, अनिल, शाश्वत, दर्शिल, विवेक गर्बुजा, निर्मल मगर र श्रृजन भट्टराई दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौंट खेल्न गण्डकीबाट छानिएका छन् । महिलातर्फ प्रिति बराल, आरुषी तुलाचन, गृष्मा गुरुङ, आहना शेरचन, सरिसा शेरचन, जोया गुरुङ, एन्जिला गुरुङ, सुप्रिया गुरुङ उक्त प्रतियोगिताका लागि छनौट भए । प्रतियोगितामा महिलातर्फ ८ र पुरुषतर्फ १६ गरी २४ खेलाडीहरुको सहभागिता रहेको थियो ।
नवलपुर: नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० को विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक बाँध (ब्यारेज)का सबै ढोका खोलिएका हुन् । गण्डक ब्यारेजमा निर्माण गरिएका ढोका बन्द हुँदा विनयी त्रिवेणी–१ बगुबन क्षेत्र डुबानमा परेपछि ब्यारेजका ३६ वटै ढोका खुला गरिएको गण्डक ब्यारेजका सम्पर्क तथा भूआर्जन अधिकृत काशिनाथ हरिजनले बताए । गण्डक क्षेत्रमा पानीको बहाव निरन्तर बढ्दै गएपछि ब्यारेजका सबै ढोका खोलिएको उहाँले बताउनुभयो । आइतबार बिहान ७ बजे गण्डक ब्यारेजमा पानीको बहाव चार लाख ४० हजार सात सय ५० क्युसेक मापन गरिएको अधिकृत हरिजनले बताए । नदीमा शनिबार दिउँसोदेखि पानीको बहाव निरन्तर बढिरहेको छ । अधिकृत हरिजनका अनुसार शनिबार दिउँसो १२ बजे नदीमा पानीको बहाव एक लाख ६१ हजार क्युसेक थियो । त्यसपछि निरन्तर पानीको बहाब बढ्दो क्रममा छ । गण्डक ब्यारेजका सबै ढोका खोलिएपछि सिँचाइका लागि लगिएको नहरको ढोका बन्द गरिएको अधिकृत हरिजनले जानकारी दिए । गण्डक ब्यारेज निर्माण गर्ने बेलामा ब्यारेजको क्षमता नौ लाख क्युसेक भए पनि अहिले ब्यारेज पुरानो भएको कारण पानीको बहाव ६ लाख क्युसेकसम्म धान्न सक्ने बताइएको छ । ब्यारेजमा पानीको बहाव निरन्तर बढ्दो क्रममा छ ।
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको सो पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । ‘माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । त्यसकारण सरकारले तत्काल राजीनामा दिनुपर्छ’, बर्तौलाको भनाइ छ । त्यस्तै एमालेले एमालेले अल्पमतमा परेको सरकारले निर्णयहरू गरिरहेको भन्दै त्यस्ता निर्णयहरू रोक्न माग गरेको छ । ‘सरकारलाई कुनैपनि निर्णय नगर्न सरकारलाई सचेत गराएको छ’, बर्तौलाको भनाइ छ । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ अघि राजीनामा नदिए उक्त दिन प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत नदिने निर्णय गरेको छ ।
पोखरा: चलचित्र पत्रकार संघ नेपाल कास्कीको २१ औं स्थापना दिवसका अवसरमा रिभ्यू बक्स खोलिएको छ । संघले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पोखराका दुुई सिनेमा हल क्युएफएक्स र मिडटाउनमा राखिएको रिभ्यू बक्स खोलिएको हो । दुवै सिनेमा हलमा आएका दर्शक प्रतिक्रियालाई हेरेर लक्की ड्र मार्फत ८ जना विजेताको घोषणा गरिएको छ । विजेतालाई सिनेमा हलको तर्फबाट टिकट र पपकन, दमदार बिरायनी, क्लाउड नाइन रेष्टुरेण्टबाट खाजा र बन्जी नेपालको तर्फबाट बन्जीको व्यवस्था मिलाइएको छ । सो अवसरमा कास्कीको चलचित्र पत्रकारिताको अवस्था र आगामी स्वरुपका विषयमा चर्चा गरिएको छ । संघका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले चलचित्र पत्रकार संघ नेपाल कास्कीको क्रियाशिलता प्रशंसनिय रहेको उल्लेख गरे । २०६० साल असार २२ गते आफ्नो नेतृत्वमा संघको स्थापना गर्दा चलचित्र पत्रकारिता पोखरामा नगन्य भएको र हाल आएर यसले विस्तार रुप लिँदै आएको बताए । पोखराबाट प्रकाशित हुने पत्रिकामा मनोरञ्जन बीटलाई स्थान नदिनुु दुखद भएको भनाई उनको छ । निवर्तमान अध्यक्ष अरुण गिरीले अन्य बीटमा लेख्ने पत्रकारले चलचित्रमा पनि कलम चलाउनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । सिनेमा मार्फत विभिन्न मुद्धाहरुको उठान हुुने भएकाले विषयगत रिर्पोटिङ सिनेमा मार्फत पनि गर्न सकिने भनाई उनको छ । संघका सल्लाहकार सुरेश रानाभाटले चलचित्र पत्रकार संघ नेपाल कास्कीले आफ्नो आयतन बढाउँदै लैजानुपर्ने बताए । संघले अहिलेसम्म गरेका कामहरु उदाहरणीय रहेको र अब दस्तावेजलाई पनि ख्याल गर्नुपर्ने अवस्था आएको उनले उल्लेख गरे । पोखराको प्राकृतिक सौन्दर्यता र पर्यटनलाई जोडेर सिनेमा माध्यम प्रचारप्रसार गर्न सकिने भनाई उनको छ । संघका अध्यक्ष प्रभु अधिकारीले कास्कीको चलचित्र पत्रकारितालाई बढ्वा दिँदै जाने उल्लेख गरे । सबैका सुझावलाई आत्मसात गर्दै संघको आगामी कार्यक्रम तय हुने भनाई उनको छ । चलचित्र पत्रकारलाई हेर्ने दृष्टिकोणमा फरकपन आएको बताउँदै समयसापेक्ष कार्यक्रम गर्ने उनले बताए । कार्यक्रममा संघका संस्थापक सदस्य विष्णुु सापकोटा, सागरराज तिमिल्सिना, विभु भुसाल, पूर्वसहसचिव विजय नेपाल, नेपाल प्रेस युनियन कास्कीका सचिव धनबहादुर गुरुङ (सुमन)ले शुभकामना मन्तव्य राखेका थिए । उपाध्यक्ष अर्पण तिवारीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव सन्तोष बस्यालले गरेका थिए ।
स्याङ्जा: स्याङ्जाको गल्याङ नगरपालिका–११ तुल्सीभञ्ज्याङमा सिद्धार्थ राजमार्ग भासिएको छ । शुक्रबारदेखि परेको अविरल वर्षाले तुल्सीभञ्ज्याङस्थित सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको झण्डै ५० मिटर सडक भासिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाका अनुसार गएराति सडक भासिएको हो । सडक भासिएपछि सवारीसाधन बीच बाटोमै थन्किएका छन् । वर्षा निरन्तर रूपमा भइरहेकाले सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने क्रम रोकिएको छैन । ग्रामीण क्षेत्रका सहायक मार्ग पनि वर्षासँगै पहिरो आएकाले अवरुद्ध छन् ।
कञ्चनपुर: महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल) मा सवारीसाधन चलाउन बन्देज लगाइएको छ । महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा चारपाङ्ग्रे ठूला सवारीसाधन चलाउन रोक लगाइएको हो । साना सवारीसाधन र पैदलयात्रुलाई भने ओहोरदोहोर गर्न दिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक राधाकृष्ण नाथले जानकारी दिनुभयो । आज बिहान ७ बजे महाकाली नदीमा गरिएको मापनअनुसार अहिले पानीको बहाव एक लाख ६४ हजार ६ सय ६० क्युसेक रहेको छ । “शनिबार बेलुकी ४ बजेदेखि नै पानीको बहाव बढेपछि बनबासा पुलमा ठूला सवारीसाधन चलाउन रोक लगाइएको छ”, उहाँले भन्नुभयो । शनिबार साँझ महाकालीमा एक लाख पाँच हजार क्युसेक पानी मापन गरिएको थियो । बनबासा पुलमा ठूला सवारीसाधन चलाउन रोक लगाएपछि पश्चिमीनाका गड्डाचौकी हुँदै नेपाल–भारत आवतजावत गर्ने यात्रु मर्कामा परेका छन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले सूचना जारी गर्दै यहाँका नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गर्नुभएको छ । केन्द्रीय विपद् व्यवस्थापन महाशाखाका अनुसार कञ्चनपुर र कैलालीमा भारी वर्षा हुने सम्भावना छ । यहाँ शनिबार बिहानैदेखि लगातार वर्षा भइरहेको छ ।
काठमाडौं: बाढीको जोखिम सोमबारसम्मै रहेकाले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जारी गरेको सूचनामा लेखिएअनुसार आगामी तीन दिन कोशी र यसका प्रमुख सहायक नदीहरुका साथै कन्काई, कमला र पूर्वी राप्ती नदीको जलसतह उल्लेख्य बढ्ने छ । आज दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर, डडेलधुरा, डोटी र आसपासका जिल्ला भई बहने अधिकांश नदीहरुमा बहाव बढ्ने पूर्वानुमान छ । आज र सोमबार नारायणी, कोशी, महाकाली, कर्णाली, बबई, पश्चिम राप्ती, पश्चिम सेती र यसका सहायक नदीहरुमा जलसतह सतर्कता तह आसपास हुने पूर्वानुमान छ । नारायणी, कोशी र महाकालीमा उच्च जोखिमको अवस्था हुने पूर्वानुमान छ । यसैगरी कर्णाली, बबई, पश्चिम राप्ती, पश्चिम सेतीमा मध्यम जोखिमको सम्भावना छ । झापा, मोरङ, सुनसरी, बारा, पर्सा, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, चितवन, कास्की, बागलुङ, पर्वत, स्याङ्जा, म्याग्दी, नवलपरासी पूर्व र आसपासका जिल्ला भई बग्ने नदी तथा खोलाहरुमा आकस्मिक बाढीको मध्यम जोखिम छ । यसैगरी मध्यम जोखिम हुने अन्य जिल्लाहरुमा नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, रोल्पा, प्युठान, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, अछाम, बाजुरा, बैतडी र बझाङ समेत छन् । सोमबार देशका अधिकांश स्थानका साना नदीहरुमा बहाज बढ्ने पूर्वानुमान छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी सुदूरपश्चिम र मधेश प्रदेशका नदी तथा खोलाहरुमा बाढीको जोखिम छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले ५ जना जुवाडेलाई पक्राउ गरेको छ । ब्यास नगरपालिका–१२ छिर्कनस्थित ५७ वर्षीया पूर्णमाया थापाको घरमा जुवाखालबाट थापासहित ५ जनालाई पक्राउ गरिएको हो । उनीहरूको साथबाट नगद रु ३ हजार ३ सय २० रूपैयाँ र १ बुक तास बरामद गरेको छ । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

