दाङ: राप्ती नदीमा बगेर बेपत्ता भएका दुईजनाको शव फेला परेको छ । शनिबार राप्तीमा आएको बाढीले लमही नगरपालिका–७ नयाँबस्तीका ६२ वर्षीय मणिराम चौधरी लमही नगरपालिका–८ बगरापुर गाउँबाट बेपत्ता भएका थिए । उनको शव आज खोलाको बगरमा फेला परेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो । यस्तै दूध बिक्री गरी घर फर्कने क्रममा शनिबार बिहान लमही नगरपालिका–७ हस्नापुर घाटबाट राप्ती नदीको बाढीमा बगेर बेपत्ता भएका राजपुर गाउँपालिका–२ बेलाका १७ वर्षीय राजकुमार यादवको शव फेला परेको छ । उनको शव खोलाको बगरमा फेला परेको हो । हस्नापुर घाटबाट राजपुर गाउँपालिका–२ का ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको भने सशस्त्र प्रहरी बल नेपाल नं ४१ रिजर्भ गण अर्जुनखोलाबाट खटिएको टोलीले सकुशल उद्धार गरेको थियो ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन सम्बन्धित सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् । आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले मुलुकका विभिन्न भागमा अविरल वर्षापछि आएको बढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितहरूको उद्धारमा जुट्न निर्देशन गरेका हुन् । प्रधानमन्त्री दाहालले यस वर्ष उच्च वर्षा हुने प्रक्षेपण भइरहेकाले बाढीपहिरोबाट हुनसक्ने सम्भावित क्षति र जोखिम न्यूनिकरण गर्न सरकारले विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरण समितिको बैठक राखेर आवश्यक पूर्वतयारीको काम गरिरहेको जनाएका छन् । उनले सम्भावित जोखिमप्रति आवश्यक सुरक्षा सतर्कता अपनाउन सम्पूर्ण नागरिकमा अनुरोध समेत गरेका छन् । प्रधानमन्त्रीले सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग अपील समेत गरेका छन् ।
चितवन: नारायणी नदीको बाढीले चितवनको भरतपुर महानगरपालिका–३ स्थित झोलुङ्गे पुल बगाएको छ । न्यूरोड र नगरवन जोड्ने नारायणी नदीमा रहेको झोलुङ्गे पुल बाढीले बगाएको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार गए राति ११ः३० बजे बाढीले दुवैतर्फको पिल्लर भत्काई पुल बगाएको हो । नारायणीमा पानीको बहाव नघटेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई सावधानी अपनाउन उहाँले अनुरोध गर्नुभएको छ । शनिबार परेको वर्षासँगै नारायणी नदीमा पानीको सतह बढ्दा एक सय ७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ । शनिबार राति आएको नारायणीको बाढीका कारण घरमा पानी पसेकाले उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी यादवका अनुसार भरतपुर महानगरपालिका–२ का २६ जना, बालकुमारी नर्सिङ कलेजको भवनमा बस्ने चारजना, भरतपुर–१७ गोब्रेनीका ५४, वडा नं १ देवघाटको नदी किनारमा बस्दै आएका २८ तथा वडा नं १६ गुम्बाचोकका ५९ जनालाई सुक्षित स्थानमा स्थानान्तरण गरिएको छ । उनीहरूलाई सुरक्षाकर्मीले डुङ्गाको सहायताले स्थानान्तरण गरेको हो ।
पोखरा: पोखरामा चितुवा धपाउने क्रममा एक प्रहरी जवान घाइते भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक रविन्द्र रेग्मीका अनुसार घाइते हुनेमा प्रहरी चौकी छोरेपाटनमा कार्यरत ३२ वर्षीय प्रहरी जवान नारायण प्रसाद तिवारी रहेका छन् । पोखरा महानगरपालिका १७ छोरेपाटनस्थित शनिबार बेलुकी करिब साढे ५ बजे श्याम बास्तोलाको बारीमा चितुवा आएको सूचनापछि प्रहरी टोली धपाउन पुगेका थिए । सोही क्रममा प्रहरी जवान तिवारीलाई कम्मरमा चिथोरेर घाइते बनाएको थियो । यद्यपी उपचारपछि उनका अवस्था सामान्य रहेको प्रदेश प्रहरीले जनाएको छ ।
दुलेगौडा: तनहुँको शुक्लागण्डकी ७ काउरेमा एक घर पहिराेमा पर्दा बेत्तपा भएका तीनै जनाकाे शव फेला परेकाे छ । ७ का वडाध्यक्ष खड्कसिं थापा मगरका अनुसार अविरल वर्षाका कारण शनिवार दिउँसो हिरा नेपालीको घरको सामान सार्ने क्रममा ४० वर्षिया हिरा नेपाली, ३७ वर्षिया अनिशा बास्तोला र ६५ वर्षीय श्याम भण्डारी बेपत्ता भएका थिए । उनीहरूकाे शव फेला परेकाे वडाध्यक्ष थापामगरले बताए । उनका अनुसार पहिराे आएको देखेपछि भाग्ने क्रममा ५ घाइते भएका थिए । घाइते हुनेहरुमा ४० वर्षीय विष्णुबहादुर नेपाली, २६ वर्षीय विशाल तिम्लिसिना, ३५ वर्षीय रवि घिमिरे र १८ वर्षीय रुप कुमार नेपाली र १५ वर्षीय विमल नेपाली घाइते भएका थिए । उनीहरुको बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय गण्डकीका एसएसपी रविन्द्र रेग्मीले जानकारी दिए ।
सुनसरी: सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ । सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् । सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।
पर्वत: पर्वतमा पहिरोले गोठ बगाउँदा बेपत्ता भएका यहाँका दुई जनाको शव भेटिएको छ । पर्वतको फलेवास नगरपालिका १ कार्कीनेटाको टिमुरबोटका कुलप्रसाद पाध्याको घर माथिबाट आएको पहिरोले उनकै गोठ बगाएको थियो । गोठका भैंसी, बाख्रा बचाउन गएको बेला पाध्याका छिमेकी स्थानीय ४० वर्षीय झलकप्रसाद शर्मा र स्याङ्जाको आँधीखोला ३ निवासी ३३ वर्षीय तुलसीप्रसाद शर्मा बेपत्ता भएका थिए । शनिबार दिउँसो साढे ३ बजेतिर बेपत्ता भएकोमा बेलुकी ७ बजे दुवैको शव भेटिएको पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भुसालले जानकारी दिए । मृतक तुलसीप्रसादको घटनास्थलदेखि १ सय मिटर तल खोल्सामा शव भेटिएको हो । झलकको भने खोलाले बगाएर आँधीखोला पुर्याएको अवस्थामा शव भेटिएको हो । दिउँसो साढे ३ बजेतिर घरदेखि १ सय मिटर माथिबाट खसेको पहिरोले गोठ सहितको संरचना बगाएको थियो । सुरुमा स्थानीयले घटनास्थलमै खोजी गरेका थिए । पछि बगेको अनुमान गरेर विभिन्न स्थानमा प्रहरी र स्थानीय परिचालन भएपछि शव भेटिएको हो । शव खोज्न स्याङ्जासम्मका प्रहरी र स्थानीय खटिएका थिए । उक्त घटनामा पाध्याका घरमा पालेका २ भैंसी, १ पाडो र ४ बाख्रा पनि मरेका छन् । घर पनि पहिरोको जोखिममा परेको छ । पाध्याको परिवार छिमेकीको घरमा आश्रय लिन गएका छन् ।
काभ्रे: काभ्रेमा खोलाले बगाउँदा २ जनाको मृत्यु भएको छ । खोला तर्ने क्रममा बगाउँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । काभ्रेको स्थानीय भ्याकुरे खोला तर्ने क्रममा एक वृद्धा र एक बालिकालाई खोलाले बगाएको थियो । रोशी गाउँपालिका ११ स्थित भ्याकुरे खोला तर्ने क्रममा बगाएर सोही स्थान बस्ने ६५ वर्षीया जालमाया रुजालमगर र उनकी भदैनी ५ वर्षीया सेतीमाया रुजालमगरको मृत्यु भएको प्रहरीले जनाएको छ । साँझ ७ बजेको समयमा खोला तर्ने क्रममा उनीहरुलाई बगाएर ९०० मिटर तल पुर्याएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए ।
पोखरा: पोखरा वडा नं. ५ पर्स्याङ स्थित शान्ति निकेतन स्कूलले एसईई २०८० मा सर्वोत्कृष्ट ४ जिपीए प्राप्त गरेकी छात्रा अदिती पराजुलीसहित ४० जना विद्यार्थीहरुलाई सम्मान, बधाई तथा शुभकामना व्यक्त गरेको छ । विद्यालयले शनिबार एक कार्यक्रमको आयोजना गरी पराजुलीलाई ल्यापटप, सम्मानपत्र, ट्रफी, नगद र दोसल्लाले सम्मान गरेको हो । जिपीए ३.९० देखि ३.९५ ल्याउने विद्यार्थीहरु अंकिता कोइराला, शैलज अधिकारी, प्रकृति भुषाल, विवश सुवेदी र प्रताप तिमिल्सिनालाई नगद, ट्रफी र दोसल्लाले सम्मान गरेको छ । बाँकी सबै विद्यार्थीलाई ट्रफी र मालाले बधाई ज्ञापन गरिएको थियो भने अभिभावकलाई दोसल्लाले सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका, शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले विद्यालयले प्राप्त गरेको शैक्षिक उपलब्धिलाई मुक्तकण्ठले प्रशंसा गरे । आचार्यले पोखराका विद्यालयमध्ये शान्ति निकेतन उत्कृष्ट विद्यालयका रुपमा स्थापित भएको उल्लेख गर्दै शिक्षा महाशाखामा विद्यालयको गतिविधिको रेकर्डले नै पुष्टि गर्ने बताए । साथै, थोरै जिपीए आएपनि तिनै विद्यार्थीहरु जीवनमा सफल हुने गरेका दृष्टान्त सुनाए । विद्यालयका संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले विद्यालयले समयसापेक्ष शैक्षिक योजना तथा रणनीतिहरुलाई अवलम्वन गर्दै विद्यार्थीका सर्वाङ्गिण विकासमा केन्द्रीत भई उत्कृष्ट पठनपाठन गरिरहेकोले ऐतिहासिक नतिजा प्राप्त गर्न सकेको बताए । संस्कारयुक्त शिक्षा तथा जीवनपयोगी सीपलाई प्रमुख आधार मान्दै आउँदा दिनमा विद्यालय अघि बढ्ने प्रतिबद्धता जनाए । डा। पराजुलीले भने – ’यस विद्यालय स्थापना गर्दैगर्दा शैक्षिक महापुरुषहरुले जुन परिकल्पना गर्नुभएको थियो, यी र यस्ता उपलब्धिले स्थापनाकालका परिकल्पना साकार भएको छ । उहाँहरुको योगदानको कदर भएको छ।’ सर्वोत्कृष्ट ४ जिपीए ल्याएकी छात्रा अदिति पराजुलीले आफू शिक्षक, अभिभावक र साथीहरुको सहयोगले नै यस उपलब्धि प्राप्त गर्न सफल भएको भन्दै सबैप्रति आभार व्यक्त गरिन् । कार्यक्रमको अध्यक्षतासमेत गरेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णमणि भुर्त्यालले विद्यालयको शैक्षिक उपलब्धिमा सिंगो पर्स्यांङ टोल नै सन्तुष्ट रहेको अभिव्यक्ति दिए । साथै, विद्यालयले सधैँ लोभलाग्दो शैक्षिक उत्पादन गरेकोमा संस्थापक प्रिन्सिपल डा। पराजुलीलाई विद्यालय व्यवस्थापन समितिले सम्मान गरेको छ । कार्यक्रममा विद्यालयका सहप्राचार्य यदुविलास भुर्त्यालले स्वागत मन्तव्य राखेका थिए्र त्यसैगरी, व्यवस्थापन समिति सदस्य पुरुषोत्तम पराजुली र अभिभावककातर्फबाट भेषराज घिमिरेले बोलेका थिए । साथै, कार्यक्रममा एसएलसी पहिलो ब्याच २०६७ का प्रथम विद्यार्थी सञ्जिव भुर्त्याललाई अमेरिकाबाट सिभिल इञ्जिनियरिङमा विद्यावारिधी हाँसिल गर्न सफल भएकोमा उनका बुवाआमा चन्द्रबन्धु÷सीता भुर्त्याललाई सम्मान गरिएको विद्यालयका परीक्षा विभाग प्रमुख हेम सुवेदीले जानकारी दिए ।

