पोखरा: निगाता इन्टरनेशनल ल्याङग्वेज एण्ड ट्रेनिङ इन्स्टिच्युट प्रालिले १२ औं वार्षिकोत्सवको अवसरमा शैक्षिक मेला सम्पन्न गरेको छ । इन्स्टिच्युटले १२ औं वार्षिकोत्सवको अवसरमा पोखरामा पहिलो पटक निशुल्क शैक्षिक परामर्श मेला आज (शुक्रबार) सम्पन्न गरेको हो । उक्त मेलाको उद्घाटन नेपाल शैक्षिक परामर्श संघ काठमाडौंका द्धितिय उपाध्यक्ष भुवन बहादुर क्षेत्रीले गरे । सो अवसरमा बोल्दै क्षेत्रीले उच्च शिक्षा हाँसिल गर्न विदेश जान चाहनेहरुका लागि उक्त कार्यक्रम फलदायी हुने धारणा राखे । ‘विदेश गएर पढ्न चाहनेहरुका लागि यो कार्यक्रमले सघाउ पुर्याउने विश्वास लिएको छु, उनले भने, ‘विद्यार्थी भाइबहिनीहरुले इच्छाएनुसार उच्च शिक्षाका लागि विदेशको राम्रो कलेजहरुमा पठाएर दक्ष बनाउन योगदान दिएको छ । त्यसैले आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गर्दछु ।’ उनले फरक प्रसंगमा बोल्दै शैक्षिक परामर्श संघसहितका विभिन्न कन्सल्टेन्सीलाई विद्यार्थीहरुलाई बाहिर पठाए भन्ने लान्छना लागाउँदै आएकोसमेत टिप्पणी गरे । ‘नेपाली विद्यार्थीहरु बाहिरीए । नेपालबाट युवाहरु पलायन भए भनेर हामीलाई धेरै खालको शैक्षिक परामर्शको क्षेत्रमा लान्छना लाग्ने गरेको छ, उनले भने, ‘हामीले पुर्वीय शैक्षिक संस्कृति र सभ्यतातर्फ फर्केर हेर्ने हो भने, हामी कुनै गुरुको शिक्षा पद्धतिबाट विकसित हुनै यो फेजमा आएका हौं, हाम्रो शिक्षाको विकासलाई हेर्ने हो भने आफुले प्राप्त गरेको ज्ञान मात्र प्राप्त हो भनेर त्यो भुमरी तोडेर बाहिर नआएको भए आजको अवस्थामा आउने थिएनौं ।’ उनले अवसरका लागि विद्यार्थीहरुलाई विभिन्न बहानामा रोक्न नहुने उल्लेख गरेका थिए । यस्तै निगाता इन्टरनेशनल ल्याङग्वेज एण्ड ट्रेनिङ इन्स्टिच्युटका अध्यक्ष किसान सुनारले १२ औं वार्षिकोत्सवका अवसरमा पहिलो पटक वैदेशिक शिक्षासँग जोडिएर निशुल्क शैक्षिक मेला आयोजना गरेको बताए । ‘विशेष गरेर हामीले १२ औं वर्षको विशेष दिन पारेर पहिलो प्रयासको रुपमा वैदेशिक उच्च शिक्षासँग जोडिएर शैक्षिक मेला आयोजना गरेका छौ,सुनारले भने, ‘यस शैक्षिक मेलाबाट उच्च शिक्षाका लागि विदेश जानुभन्दा पहिलो विद्यार्थी, अभिभावकहरुले त्यस क्षेत्रको बारेमा बुझ्ने अवसरमा लिनुहुन्छ भन्ने विश्वास लिएका छौं ।’ उनले यस निशुल्क शैक्षिक मेलालाई निरन्तरता दिने बताए । ‘हामीले वैदेशिक उच्च शिक्षासँग जोडिएका विविध विषय र कार्यक्रमहरुलाई निरन्तरता दिनेछौं । हामीले जापान मात्र होइन, अष्टे«लिया, युके र युरोपका केही देशहरुलाई जोडेर यात्रा सुरु गरेका छौं, उनले भने, ‘हामीले विभिन्न युनिर्भसिटीले दिने छात्रवृत्तिको सन्दर्भलाई जोड्न यो एस्पोको आयोजना गरेका हौं ।’ कार्यक्रममा नेपाल बैंक प्रादेशिक कार्यालय गण्डकीकी प्रमुख सचिता पराजुली, भाषा संघ नेपालका उपाध्यक्ष मोती श्रेष्ठ, नेपाल शैक्षिक परामर्श संघ कास्कीका अध्यक्ष ओमप्रकाश शर्मा, युनि क्याम्पस ग्लोबल गण्डकीका सञ्चालक हरिश आचार्य लगायतले बोलेका थिए । कार्यक्रमकै अवसरमा उत्कृष्ट कर्मचारीका रुपमा ज्योती ढकाललाई सम्मान गरिएको थियो । निशुल्क शैक्षिक मेलामा सहभागी भएका विद्यार्थीहरुलाई जापानिज भाषा तयारी कक्षा, आइएल्टस्, पिटिईका (JAPANESE LANGUAGE, IELTS, PTE) लागि ५० प्रतिशत छुट दिइएको छ । शैक्षिक मेलाका अवसरमा मध्यान्न १२ बजेदेखि १ बजेसम्म जापानमा अध्ययनका लागि जाने विद्यार्थीहरुलाई लक्षित गरी सेमीनार समेत सञ्चालन भएको थियो । यस्तै १ देखि २ बजेसम्म बेलायत (युके) २ देखि ३ बजेसम्म अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुका लागि सेमीनार सञ्चालन भएको थियो । यस्तै जापानमा कामदार भिषा (एसएसडब्लु) र जापानमा नै कामदार भिषामा (ब्याचलर कार्यक्रम) विद्यार्थीहरुलाईसमेत निशुल्क परामर्श दिइएको थियो । उक्त शैक्षिक मेलामा युनिक्याम्पस ग्लोबल, इडु ब्रिज र पोखरा मल बिजनेश एशोसियसनसँगले सहकार्य गरेको थियो ।
पर्वत: जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि पर्वतमा अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिने भएको छ । जलजला गाउँपालिकाले विसं २०७४ पछि हालसम्म अन्तरजातीय विवाह गरेका पालिकाभित्रका दम्पतीहरूलाई नगदसहित सम्मान गर्ने भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले दलित र गैरदलित समुदायबीच रहेको विभेदविरुद्ध सन्देश प्रवाह गर्न यस्ता दम्पतीलाई प्रोत्साहनस्वरूप नगदसहित सम्मान गर्न लागिएको जानकारी दिनुभयो । “अहिले पनि समाजमा जातीय विभेद, हिंसा, कुरीति, कुसंस्कार कायमै हुनु दुःखद कुरा हो । यस्ता कुप्रथा अन्त्य गरी समुन्नत, समावेशी एवं छुवाछूत मुक्त गाउँपालिका बनाउने उद्देश्यले यस्तो कार्यक्रम लागू गरिएको हो”, उहाँले भन्नुभयो । गाउँपालिका अध्यक्ष राजु आचार्यले यस कार्यक्रमले समाजमा देखिएको जातीय छुवाछूत र विभेद अन्त्य गर्न योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै २०७४ सालपछि विवाह गरेका दम्पतीहरूले १५ दिनभित्र पालिकामा निवेदन दिन वा सम्पर्कमा आउन आग्रह गरेको छ । पालिकामा दर्ता हुने आवेदनका आधारमा प्रोत्साहन रकमको व्यवस्था गरिने अध्यक्ष आचार्यले बताउनुभयो । आर्थिक वर्ष २०८१/८२ को लक्षित वर्ग तर्फको स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत जिल्लामै पहिलोपटक यस्तो कार्यक्रम गर्न लागिएको हो ।
सूचना एवं प्रविधिमा दक्ष बनाउन शिक्षकलाई सूचना, सञ्चार तथा प्रविधिसम्बन्धी ज्ञान सीप सिकाइएको छ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई लक्षित गर्दै रोटरी क्लब अफ रामपुरले समय अनकुल भित्रिएको प्रविधिबारे ज्ञान तथा सीप सिकाउन तालिम दिएको छ । पाल्पाका रामपुर नगरपालिका तथा निस्दी, पूर्वखोला र रम्भा गाउँपालिकाका माध्यमिक विद्यालयका शिक्षकका लागि सूचना तथा प्रविधिसम्बन्धी तालिम सञ्चालन गरिएको हो । शिक्षालाई समयानुकूल अगाडि बढाउन र अहिले आएका नयाँ प्रविधिबारे शिक्षकलाई जानकारी दिँदै कक्षाकोठामा प्रविधिको प्रयोग गरेर अध्यापन गराउन सूचना, सञ्चार तथा प्रविधि सम्बन्धी शिक्षकलाई तालिम दिइएको रोटरी क्लबका अध्यक्ष कृतिनाथ श्रेष्ठले बताए। “पछिल्लो समय सबैजसो विद्यालयमा कम्प्युटर पढाइ हुन थालेको छ, सरकारी तथा विभिन्न निकायबाट कम्प्युटरलगायतका विभिन्न प्रविधियुक्त उपकरण प्राप्त भएका छन्, तर ती उपकरण शिक्षकले प्रयोग गर्न नजान्दा प्रयोगमा नआएको अवस्था रहेको छ, प्रविधिमा सामुदायिक विद्यालयका शिक्षकलाई दक्ष बनाउन प्रविधि सम्बन्धी ज्ञान सीप दिइएको छ”, उनले भने । रामपुरका नगर प्रमुख रमणबहादुर थापाले वर्तमान समय सूचना प्रविधिको युग भएको बताउँदै विद्यालयमा आइसिटीको महत्त्वपूर्ण भूमिका रहेको बताए । रामपुर नगरले विद्यालयलाई प्रविधिमैत्री बनाउन पहल गर्दै आएको उनी बताउँछन् । कतिपय विद्यालयमा रहेका सूचना तथा प्रविधिसम्बन्धी उपकरण सीपको अभावमा प्रयोगविहीन भइरहेको अवस्थामा तालिमले प्रविधिको सदुपयोगका लागि महत्त्वपूर्ण सहयोग गर्ने नगर प्रमुख थापाले बताए । क्लबले आगामी दिनमा शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइसम्बन्धी कार्यक्रम सञ्चालनका लागि पहल गरिरहेको जनाएको छ । रोटरी नेपाल लिट्रेसी मिसन, रामपुर नगरपालिका र रामतुलसी माध्यमिक विद्यालयको सहयोगमा तालिम दिइएको छ ।
पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन समारोहमा बलुनमा हाइड्राजन ग्यास भर्ने भारतीय नागरिक पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय बैदामले ४१ वर्षीय कमलेस कुमारलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ। गत फागुन ३ गते भ्रमण वर्ष उद्घाटन क्रममा हाइड्रोजन भरिएको बलुनमा ब्यानर टाँगेर उडाउन खोज्दा स्पार्किङ मेसिनबाट उडेको आगोको झिल्कोले बलुन बिस्फोट भएको थियो। सोही दिन कमलेसलाई पक्राउ गरेको प्रहरीले बताएको छ। हाइड्रोजन भरिएको बलुन बिस्फोट हुँदा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए। कीर्तिपुर अस्पतालमा उपचार गरेर अर्थमन्त्री पौडेल सोमबार डिस्चार्ज भएका छन् भने पोखराका मेयर आचार्य अझै केही दिन अस्पतालमै बसेर उपचार गर्नुपर्ने चिकित्सकहरूले बताएका छन्। हाइड्रोजन बलुनमा भरेर भ्रमण वर्षको उद्घाटन गर्न मञ्चमा पुर्याएको विषयमा अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएकाे छ । उक्त घटनामा संलग्न ठानिएका केही व्यक्तिसँग प्रहरीले बयान लिइसकेको छ।
ताप्लेजुङ: गएराति सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको र यसअघि गत पुस र माघमा दुई पटक हिमपात भएको जानकारी दिए । ३ हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरामा हिमपातसँगै उक्त क्षेत्रमा चिसो बढेको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले वर्सेनि हिउँ परेपछि पाथीभरामा आन्तरिक धार्मिक पर्यटकको आगमन बढ्ने गरेको बताए । यस वर्ष हिउँदमा पर्याप्त वर्षा नहुँदा बालीनाली भने फस्टाउन सकेको छैन । वर्षा नहुँदा हिउँदे बालीनाली गहुँ, जौ, आलुलगायत बालीनाली फस्टाउन नसकेको स्थानीयले बताएका छन् ।
पोखरा: नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा सम्पन्न १९ औं संस्करणको सफल पोखरा म्यारथनमा केन्याली धावक विल्सन चेरियुयिट च्याम्पियन बन्दै नयाँ रेकर्ड बनाएका छन् । यसअघि सोही देशकै धावक जुलियस मुरियाली वाहोमले २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा निर्धारित ४२.१९५ किमी दुरी पार गरेका थिए । उनको गत वर्षको रेकर्डलाई तोड्दै विल्सन चेरियुयिटले २ घन्टा १७ मिनेट २४ सेकेण्डमा दौड पुरा गर्दै नयाँ रेकर्ड बनाएका हुन् । यस्तै साविक विजेता जुलियस मुरियाली वाहोमले निर्धारित दुरी २ घन्टा १७ मिनेट २६ सेकेण्डमा पार गर्दै दोस्रो स्थान हाँसिल गरे । अर्का केन्याली धावक ओनेसमस गिताउ जोरोगले २ घन्टा १८ मिनेट २१ सेकेण्डमा पुरा गर्दै तृतीय बने । उनीहरुले क्रमश: ५ लाख, ३ लाख र २ लाख नगद प्राप्त गरे । नेपाली धावक किरण सिंह बोगोटी भने चौथो बने । नेपाली धावक निरोज भट्ट क्षेत्री पाँचौ, रिखुलाल सिंह मगर छैटौं, दिनेश सिंह बोगोटी सातौं र केन्याली धावक माइकल माथिया आठौं बने । उनीहरुले जनही क्रमश: नगद रु ५०, २०, १५ र १० हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे । गण्डकी प्रदेशतर्फको म्याराथनमा निरोज भट्ट क्षेत्री पहिलो बने । रिखुलाल मगर दोस्रो, दिनेश सिंह बोगोटी, तेस्रो, मिनराशी विक चौथो, अशोक बराम पाँचौ, सनम गुरूङ छैटौं र प्रितम गुरूङले आठौ स्थान प्राप्त गरे । उनीहरुले पनि क्रमश: जनही नगद रु ५०, ३०, २०, १५, ८, ६ र ४ हजार प्राप्त गरे । पुरुष २१ किमी हाफ म्याराथनमा केन्याली धावक जोन बान्सतरो पहिलो, नेपाली धावक सन्तोष विक्रम दोस्रो, गजेन्द्र राई तेस्रो बने । उनीहरुले क्रमश: जनही नगद रु ७५ हजार, ५० हजार, ३० हजार प्राप्त गरे । यस्तै महिलातर्फ २१ किमी दौडमा नेपाली धाविका ओलम्पियन सन्तोषी श्रेष्ठ पहिलो, केन्याली स्वारोन जोनोटिक दोस्रो र पुष्पा भण्डारी तेस्रो बनिन् । उनीहरुले क्रमश: जनही नगद रु १ लाख ५० हजार, १ लाख, ७५ हजार प्राप्त गरिन् ।
तनहुँको भिमाद बजारमा सञ्चालित प्रभात एकेडेमी बोर्डिङ स्कुलकी शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ । शिक्षिका सुष्मा श्रेष्ठलाई कक्षा ४ मा अध्ययनरत ४ जना विद्यार्थीको गालामा तातो पन्युले डामेको आरोपमा फक्राउ परेकी हुन् । उनले हल्ला गरेको र आफूलाई जिस्क्याएको भन्दै १० वर्षीय प्रमिश परियारसहित ४ जना विद्यार्थीको गालामा तातो पन्युले डामेकी थिइन् । ३२ वर्षीया श्रेष्ठ विद्यालयका प्रधानाध्यापक कृष्णदेव श्रेष्ठकी छोरी हुन् । सो विषयमा थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।
गोदावरी: मानवसेवा आश्रमले धनगढीमा सञ्चालन गरेको महायज्ञमा रु चार करोड ८४ लाख रकम सङ्कलन गरेको छ । धनगढीमा मानवसेवा आश्रमको भवन निर्माण गर्ने उद्देश्यले सञ्चालित महायज्ञमा उक्त रकम दाताबाट सङ्कलन भएको हो । एक सातासम्म सञ्चालित महायज्ञमा सहभागी दानदाताहरूले गक्षअनुसारको दान गरेर सडक आश्रित व्यक्तिहरूका लागि भवन निर्माणमा सहयोग पु¥याएका मानव सेवा आश्रमका सल्लाहकार सिद्धराज पनेरुले बताउनुभयो । महायज्ञ गत माघ २३ गतेदेखि ३० गतेसम्म सञ्चालन भएको थियो । महायज्ञमा भाष्कर कमलनयन गौतमले सङ्गीतमय श्रीमद् भागवत् कथा वाचन गर्नुभएको थियो । विसं २०७५ मङ्सिर १ गते धनगढी उपमहानगरपालिका–५ तारानगरमा घर भाडामा लिई सेवा शुभारम्भ गरेको आश्रमले आफ्नै भवन निर्माणको पहल थालेको सल्लाहकार पनेरुले बताउनुभयो । शाखाले हालसम्म सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका तीन सय ८८ जनाभन्दा बढी बेसहारा, असहाय, अभिभावकविहीन, जीवन जोखिममा रहेका सहयोगापेक्षी सडक मानवहरूको उद्धार गरी सेवा प्रदान गर्दै आएको छ ।
गृह मन्त्रालयले ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा केबलकार निर्माणमा देखिएको समस्याबारे आवश्यक समन्वय गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी दिएको छ। गृह मन्त्रालयले केबलकार नियमनको विषय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत पर्ने भएकाले यस्तो जिम्मेवारी दिइएको गृह मन्त्रालयका शाखा अधिकृत ऋषिकेश खतिवडाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। स्थानीय रुपमा उठेका सवाल र सरोकारका विषय समेतलाई ध्यान दिई सरोकारवालासँग समन्वय र सहजीकरण गरी समस्या समाधान गर्न तत्काल पहल अघि बढाउन गृह मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सरोकारवालासँग समन्वय र सहजीकरण गरी समस्या समाधानको पहल अघि बढाउन अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ।

