चितवन:  कालिका नगरपालिका–६ सिमलघारी टोलमा सोमबार मध्यराति प्रहरीले लगाउने जस्तै पोसाक लगाएर चोर्न आएको पाइएको छ ।  घरधनीसँग जम्काभेट भएपछि निजहरुले आफूहरु प्रहरी भएको र फरार कैदीबन्दी...

काठमाडौं:   सरकारले १२ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।   सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना निकालेर सार्वजनिक निकायबाट लेखिआए बमोजिम कार्यालयको बुधबारको निर्णयअनुसार जारी ती कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको जनाएको छ ।   सूचनामा सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ (१) अनुसार १२ कम्पनीहरूलाई कालोसूचीमा राखिएको उल्लेख गरिएको छ।   सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा परेका निर्माण व्यवसायी र आपूर्तिकर्ताले एकदेखि तीन वर्षसम्म कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन नपाउने सूचनामा उल्लेख गरेको छ ।   कार्यालयले केही कम्पनी तथा आपूर्तिकर्तालाई तीन वर्ष, केहीलाई एक वर्ष तथा केहीलाई छ महिनाका निम्ति कालोसूचीमा राखेको जनाइएको छ ।   पाँचथरको फिदिमस्थित यातायात पूर्वाधार निर्देशनालय, नेपाल टेलिकम केन्द्रीय कार्यालय, रुकुम पश्चिमको चौरजहारीस्थित सडक विभाग, सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, नेपाल वन निगम लिमिटेडलगायत १२ सार्वजनिक निकायले उक्त कार्यालयलाई कालोसूचीमा राख्न पत्राचार गरेका सूचनामा जनाइएको छ ।

बिराटनगर:   झापाको कचनकवल गाउँपालिका- ७ तारावारीस्थित दीपज्योति सामुदायिक वनमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।   मृत्यु हुनेमा स्थानीय ३४ वर्षीया केलावत्ती राजवंशी रहेकी छिन्।   बुधबार १५-२० जना महिलासँगको समूहमा दाउरा र घाँस काट्न वन क्षेत्रमा गएकी राजवंशीलाई जंगली हात्तीले लखेटेको थियो।   स्थानीयले इलाका प्रहरी कार्यालय बनियानीमा खबर गरेपछि प्रहरी नायब निरीक्षक रोहित मगरको नेतृत्वमा खटिएको टोलीले खोजी गर्ने क्रममा उनलाई गम्भीर घाइते अवस्थामा फेला पारेको थियो।   घाइते राजवंशीलाई तत्काल उपचारका लागि ओम साई पाथीभरा अस्पताल भद्रपुर लगिएको र त्यहाँबाट थप उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर रेफर गरिएकामा अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए।

सुर्खेत:    कर्णाली तथा सुदूरपश्चिमको लोकप्रिय खेलका रूपमा देउडा मानिन्छ । यसलाई डेउडा पनि भन्ने गरिन्छ । साँस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक मात्र होइन यहाँका नागरिकहरुको समग्र सवाललाई सरस, सरल र मर्मसहितको भाव व्यक्र गर्दछ । विगतमा ग्रामीण भेकमा मात्र गुञ्जिने देउडा अहिले व्यस्त सहरमा पनि त्यत्तिकै देख्न पाइन्छ ।        यसको लोकप्रियता पछिल्लो समयमा बढ्दै गएको छ । विगतमा माथिल्लो कर्णालीमा विशेषगरी चाडपर्व, मेलामालिका, विवाह, व्रतबन्ध, जन्मदिन र शुभसाइत खेलिने देउडाको विस्तार सहरसम्म हुँदै जाँदा देउडा खेल लगाउन अहिले औँसी वा पूर्णिमा कुनै तिथि, मिति र अवसर कुर्न पर्दैन तथापि कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा हरेक महिनाको १ र १५ गते देउडा सञ्चालन हुने गर्दछ ।      देउडा कार्यक्रम सञ्चालनमा संस्कृति संरक्षण र पुस्तान्तरण भइरहेकाले स्थानीय, प्रदेश तथा सङ्घ सरकार सबैले गर्व गर्नुपर्दछ । कुनै पनि कार्यक्रम तय गर्दा स्रोतसाधन र जनशक्रिको आवश्यक पर्दछ तर यसका लागि बजेट तर्जुमा अर्थात् जोहो र जनशक्रि प्रबन्ध गर्नुपर्दैन । शून्य बजेटमा हरेक महिनाको दुई दिन अनिवार्य देउडा गुञ्जिन्छ कर्णालीमा ।      मूलतः कार्यक्रममा गर्दा सामान्यतः बजेट अनिवार्य शर्त जस्तै हुन्छ भने यसका लागि आयोजक आवश्यक पर्दछ । कार्यक्रममा प्रयोग हुने सामग्री तथा उपकरण, समय व्यवस्थापन र आवश्यक जनशक्रि पनि नभई हुँदैन । खाना, खाजासाथै भत्ता नभए सहभागिता पनि घट्ने अवस्था हुन्छ र कार्यक्रम नै खल्लो भइदिन जान्छ । यद्यपि देउडा कार्यक्रम भने फरक विशेषताबाट सञ्चालन हुँदै आएको छ ।      कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा हरेक महिनाको १ र १५ गते घण्टाघर नजिकको खुला मैदानमा देउडा पारखी, जानकार, शुभेच्छुक र जिज्ञासुहरू विना कुनै दबाव, तनाव र रोकतोक स्वतन्त्र तरिकाले हजारौँको सङ्ख्यामा खुला मैदानमा जम्मा हुन्छन् ।  यहाँ कोही आयोजक भएर प्रस्तुत हुँदैन । स्वतः तवरले मैदानमा जम्मा हुनेहरु समूहमा परिणत भएर सहभागीहरू आयोजकको स्वरुपमा सक्रिय  बन्छन् । अनि एकपछि अर्को जोडिएर गोलो घेरा बनाउँछन् । यसमा दुई समूह भने अनिवार्य हुनुपर्छ । यो पुरुषपुरुष र महिलामहिला वा महिला पुरुष दुवैले समूह बनाए खेल्छन् । खेलमा दुवै समूहमा एक जना गीत भट्याउने हुन्छ जसले आफ्नो समूहको दरिलो नेतृत्व गरिरहेको हुन्छ । यसमा तर्क गर्ने र शीघ्राती सवाल जवाफ गर्नसक्नेले नेतृत्व गर्छ ।      खेलमा सधैँ एउटैले नेतृत्व गर्ने भन्ने हुँदैन । इच्छुक जोसुकैले आफ्नो सो समयमा प्रभाव राख्न सक्छ । खुट्टा अगाडि पछाडि एकबद्ध गर्दै विभिन्न भाकामा गीत मिलाएर खेलिने देउडा खेल्नेभन्दा हेर्नेले बढी मज्जा र मनोरञ्जन लिन्छन् । गीतमा मायापिरती, सुखदुःख, राजनीति, सामाजिक, सांस्कृतिक अवस्था, विद्यमान वा परिवर्तित परिवेशबारे व्यक्त गरिन्छ ।  सोमबार परेको १५ गतेलाई कर्णालीको खस भाषामा ‘पुसा पुन्वा’ पनि भन्ने गरिन्छ । कर्णालीवासीले सोमबारलाई लामो रातका रूपमा लिँदै मीठामीठा परिकार खाएर यसलाई अवसर मानी गाउँ खाने कथा हाल्ने वा देउडा खेलेर रमाइलो गरी मनाएका छन् । पुस १५ को महत्व र यसपछि बदलिने समय, रैथानेबाली, यसको संरक्षण, प्रवद्र्धन र बजारीकरणका बारेमा पनि देउडा गीत गाउने गरिन्छ ।  पोर आइथी पुसका पुन्न अहिले पनि आइगै ।                        उमेर घटाई जोवन लैगै आफू फेरि बाइगै ।।       रूपमा जस्तो देखिए पनि सारमा देउडाले यहाँका नागरिकहरूको जीवन बोल्ने गरेको जुम्ला निवासी देउडाकर्मी जीतबहादुर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “देउडामा समाज बोल्छ ।  यसमा सृष्टि, प्रकृति, विश्व जगत्देखि मायाप्रेम, हाँसो, रोदन, आवेग, रोष, व्यङ्ग्य, आलोचना, टिप्पणी, गुनासो, सुझावलगायत सबै कुराको समावेश छ । जसले खेल्नेलाई जोश जगाइरहेको हुन्छ भने हेर्नेलाई उत्साह र उमङ्ग दिन्छ ।”      त्यस्तै, कालीकोट निवासी देउडा गायिका कमला धामीले देउडा सामाजिक र सांस्कृतिक पहिचान भएको बताउनुभयो । “देउडा भन्नेबित्तिकै कर्णाली या सुदूरपश्चिम भनेर चिनिन्छ । यो हाम्रो झल्किने पहिचान हो”, उहाँले भन्नुभयो, “मनोरञ्जन र सामाजिक, आर्थिक, राजनीतिक समस्यालाई सरल ढङ्गबाट सरोकारवाला निकायलाई सुनाउने र सम्बोधन गर्न लगाउने माध्यम एवं शैली हो ।”      विभिन्न परम्परागत प्रथा, संस्कृति र संस्कार संरक्षणका लागि राज्यले करोडौँको खर्च गरिरहँदा देउडा संस्कृतिको संरक्षण एवं जगेर्नाका लागि भनेर ठूलो लगानी गरेको पाइँदैन । यसको निरन्तरता दिँदै पुस्तान्तरण गर्ने, कला संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यहाँका स्थानीयले आधुनिकतासँगै देउडाको मौलिकतालाई विस्तार गर्दै लगेका छन् ।      कर्णालीका संस्कृतिसम्बन्धी जानकार रमानन्द आचायैले देउडा संस्कृति सिञ्जा सभ्यताको परिचय भएको बताउनुभयो । उहाँका अनुसार देउडाले सिञ्जा सभ्यता एवं कर्णालीको समुल कथा र मर्म बोल्दै आएकाले यसको जीवन्तता रहिआएको छ ।  कर्णाली प्रदेश सरकारले देउडा खेल र संस्कृतिको महत्व हृदयमगम गरी यसको संरक्षण एवं सम्वर्द्धन गर्ने उद्देश्यले हरेक वर्षको साउन १ गते ‘साउने सङ्क्राति अर्थात् देउडा पर्व’का रूपमा सार्वजनिक बिदा दिँदै आएको छ । 

काठमाडौं:   गुरुङ समुदायले सुगा वर्षलाई बिदाइ गरी सर्प वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाएका छन् ।   परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई १२ जनावरको नामबाट गणना गरी नयाँ वर्षको नामकरण गरेको सङ्खुवासभा तमु समाजका महासचिव प्रभुराम गुरुङले  जानकारी दिनुभयो ।  सुगा वर्गलाई कसैले भने गिद्ध वर्गअर्थात् वर्ष पनि भन्ने गरेका छन् । गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, मृग र मुसा गरी १२ जनावरका नामबाट वर्षको नामकरण गरिएको छ ।        नयाँ वर्ष सुरु भएको खुशियालीमा गुरुङ समुदायले देशभर विभिन्न कार्यक्रम आयोजना गरेका छन् । राजधानीको टुँडिखेलमा तीनदिन अघिदेखि ल्होसार महोत्सव आयोजना गरिएको छ । महोत्सव मङ्गलबारसम्म सञ्चालन हुने तमु ह्युला छोंज धीं राष्ट्रिय परिषद्ले जनाएको छ ।    ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । यसलाई कतिपयले उच्चारणका रुपमा तमु ल्होछार पनि भन्ने गर्छन् । यस दिन गुरुङ समुदायका मानिस परम्परागत भेषभुषामा सजिएर तमु ल्होसार कार्यक्रममा सहभागी हुन्छन् ।       ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा ती समुदायले यो पर्व मनाउने विश्वास गरिन्छ ।       पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको यस समुदायका अगुवाको भनाइ छ ।

झापा:    मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीकी मीना पाहानले २६ वर्षको उमेरमा अपाङ्गतासम्बन्धी रातो परिचयपत्र पाउनुभयो । जन्मेको छ महिनामा दुवै खुट्टा लुलो भएकी उहाँको कम्मरमुनिको भाग चल्दैन ।       अपाङ्गता भएका व्यक्तिको परिचयपत्र सरकारले वितरण गर्छ भन्ने जानकारी नहुँदा यतिका वर्षसम्म परिचयपत्र पाउनबाट वञ्चित हुनु परेको उहाँले बताउनुभयो ।  ज्यामिरगढी स्वास्थ्य चौकीमा नगरपालिकाले आज आयोजना गरेको स्वास्थ्य शिविरमा उहाँले उक्त प्रमाणपत्र पाउनुभयो । “ह्विलचेयर बिना एक पाइला पनि हिँड्डुल गर्न सक्दिन”, पाहानले भन्नुभयो, “अबदेखि मासिक भत्ता पनि दिने भन्नुभएको छ ।”  नगरपालिकाले शिविरमै उहाँ र उहाँको परिवारका सदस्यहरूको निःशुल्क स्वास्थ्य बिमासमेत गरिदिएको मेचीनगरकी महिला, बालबालिका तथा समाज कल्याण शाखाप्रमुख जयन्ती खरेलले जानकारी दिनुभयो ।      सरकारले अपाङ्गता भएका व्यक्तिहरूलाई रातो, नीलोलगायत चार प्रकारका परिचयपत्र दिने गरेको छ । रातो र नीलो कार्ड भएकाले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन्भने चारै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूले स्वास्थ्य, शिक्षा र रोजगारीमा विशेष सुविधा पाउने व्यवस्था रहेको खरेलले बताउनुभयो ।      स्वास्थ्य शिविर भेटिनुभएका मेचीनगर–१५ का रोहित गुरुङलाई पनि चिकित्सक टोलीले स्वास्थ्य परीक्षण गरेपछि रातो कार्ड दिनुभयो । “ह्विलचेयरमा हिँड्छु, भत्ता पाउने रातो कार्ड पाउँदा खुसी लागेको छ,” उहाँले हर्षित हुँदै भन्नुभयो, “पहिले अर्को कार्ड थियो । अहिले डाक्टरहरूले जाँचेपछि रातो कार्ड दिनुभयो ।”       वडाहरूमा सञ्चालित स्वास्थ्य शिविरमै अपाङ्गतासम्बन्धी पहिचान र परिचय पाएर पाहान र गुरुङ जस्तै मेचीनगरका कैयौँ व्यक्ति खुसी हुनुभएको छ । मेचीनगर नगरपालिकाले १५ दिनमा १५ वटै वडामा फरक–फरक स्वास्थ्य शिविर सम्पन्न गरेर दुई हजारभन्दा बढी अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरेको छ ।      अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत कोशी प्रदेश सरकार, मेचीनगर नगरपालिका र करुणा फाउन्डेसनको त्रिपक्षीय सहकार्यबाट मेचीनगरलगायत झापाका १५ वटै पालिकामा हाल अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, पहिचान र परिचयपत्र वितरण शिविर सञ्चालन भइरहेको छ ।      तीनवटै पक्षको बराबर साझेदारीमा कार्यक्रम आयोजनाका लागि रु एक करोड ४० लाख रकम छुट्याइएको करुणा फाउन्डेसन मेचीनगरका संयोजक पदम बराइलीले बताउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिका लागि मुलुकमै पहिलोपल्ट कोशी प्रदेशका एक सय सातवटा पालिकामा कार्यक्रम सञ्चालन भइरहेको जनाउँदै तीन वर्षमा मेचीनगरमा मात्र रु चार करोड ५० लाख खर्च हुने जानकारी दिनुभयो ।      शिविरमा विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी, नगर कर्मचारी, नगर प्रहरीलगायत ६० जनालाई परिचालन गरिएको नगरपालिकाका योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्तीले बताउनुभयो ।  “तीन वर्षसम्म त्रिपक्षीय लगानी साझेदारीमा कार्यक्रम सञ्चालन हुनेछ”, उहाँले भन्नुभयो, “त्यसपछि यो कार्यक्रम स्थानीय तह र प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा हस्तान्तरण हुने सहमति छ । हस्तान्तरण भएपछि नगरपालिकाले आफ्नै लगानीमा कार्यक्रमलाई निरन्तरता दिनुपर्नेछ ।”      चिकित्सकसहितको टोलीले हरेक वडामा पुगेर स्वास्थ्य परीक्षण गर्ने, परिचयपत्र बाँड्ने, सहायक सामग्री वितरण गर्ने र स्वास्थ्य बिमासमेत गरिदिने यो अभियानलाई सिंहदरबार गाउँमा आएको अर्थमा नगरवासीले बुझिरहेको नगरप्रमुख गोपाल बुढाथोकी बताउनुहन्छ ।       अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्योपचार, हेरचाह र भरणपोषणका लागि परिवारलाई राज्यले सघाउनुपर्छ भन्ने सोचका साथ अभियान अघि बढाइएको नगरका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताउनुभयो । “अपाङ्गता भएका व्यक्तिको पीडा कि स्वयम् व्यक्तिलाई थाहा हुन्छ, कि परिवारलाई”, अधिकारीले भन्नुभयो, “त्यही भएर पीडामा मल्हमपट्टी लगाउन नगरपालिकाले केही राम्रो सुरुआत गरेको छ ।”      मेचीनगरमा पहिलोपल्ट वडामै पुगेर चिकित्सकहरूले अपाङ्गता पहिचान गरेको र नगरपालिकाले स्थलगत रूपमा शिविरमै परिचयपत्र वितरण गरेको हुँदा कार्यक्रम प्रभावकारी भएको सामाजिक अभियन्ता देवेन्द्र खरेल बताउनुहुन्छ । उहाँले गाउँहरूमा अपाङ्गताको अवस्था पीडादायी रहेको आफूले शिविर अवलोकनका क्रममा देखेको जनाउँदै अटिजम भएका बालबालिकाको सङ्ख्या बढिरहेको बताउनुभयो ।      “नगरपालिकाले घरदैलोमा पुगेर अपाङ्गता भएका व्यक्तिहरूको खोज गर्नु राम्रो कार्य हो”, उहाँले भन्नुभयो, “अभिभावकहरूलाई गर्भावस्थाको स्वास्थ्य हेरचाहसम्बन्धी उचित चेतना नहुँदा र दुर्घटनाका कारण धेरैजसो व्यक्तिहरू अपाङ्गताको सिकार भइरहेका हुन्छन् । अब नगरपालिकाले रोकथामका निम्ति पनि अभियान चलाउन जरुरी छ ।”

धादिङ:     नेपालका गुरूङ समुदायको राष्ट्रिय पोसाक फोटो प्रतियोगिता ‘गुरूङ ड्रेस फोटो कन्टेस्ट–२०८१’ को ‘टाइटल’ स्याङ्जाका चन्द्र गुरूङले जित्नुभएको छ ।      देश–विदेशबाट प्रतियोगितामा सहभागी तीन सय ४२ वटा फोटोलाई पछि पार्दै चन्द्र गुरूङको फोटोले टाइटल जितेको हो । प्रतियोगितामा चितवनकी अङ्किता गुरूङ ‘फस्ट रनरप’, लमजुङका अनिल गुरूङ ‘सेकेन्ड रनअप’ र धादिङकी प्रतिभा गुरूङको फोटोले ‘थर्ड रनरप’को उपाधि पाएको छ ।      सामाजिक सञ्जाल ‘फेसबुक’मा आएका ‘लाइक’, ‘कमेन्ट’, ‘शेयर’ र बान्की पूरा गरेर गुरूङ पोसाक लगाएका आधारमा विजेता घोषणा गरिएको आयोजक संस्था नेपाल तमु ‘गुरूङ’ विद्यार्थी छोंज धीं धादिङका अध्यक्ष एवं प्रतियोगिताका संयोजक रेखबहादुर गुरूङले जानकारी दिनुभयो ।      “गुरूङ समुदायको कला, संस्कृति र वेशभूषा संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले देश–विदेशमा गुरूङ वेशभूषाको प्रचार भएको र त्यसले सिङ्गो देशकै पहिचान बढाएको महसुस गरेका छौँ”, संयोजक गुरूङले भन्नुभयो, “यसले बालबालिका र युवालाई आफ्नो वेशभूषा सिक्न प्रेरित गरेको छ ।”      ‘डिजिटल प्लेटफर्म’को प्रयोग गरी सामाजिक सञ्जालमार्फत आयोजना गरिएको फोटो प्रतियोगिताले नेपालका विभिन्न जातजातिसँग भावनात्मक, सांस्कृतिक तथा सामाजिक चेतना जगाउन सहयोग पुग्ने तमु ह्यूल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् धादिङका पूर्वअध्यक्ष गोपाल गुरूङले बताउनुभयो ।      तमु ल्होसारका अवसर पारेर प्रतियोगितामा उत्कृष्ट छनोट भएका फोटोलाई नगदसहित ट्रफी, प्रमाणपत्र र विभिन्न उपहार प्रदान गरिएको छ । प्रतियोगीताको उत्कृष्ट १० मा परेका फोटोहरूलाई पनि गुरूङ पोसाकसहित प्रमाणपत्र र उपहार प्रदान गरिएको छ । कार्यक्रमकै अवसरमा ‘फोटो कन्टेस्ट’ सफल पार्न सहयोग गर्ने दाताहरूलाई सम्मान गरिएको थियो ।      सीमित स्रोतसाधन प्रयोग गरी गुरूङ पोसाकको संरक्षण संवर्द्धन र प्रवर्द्धनमा उल्लेखनीय टेवा पुगेको नेपाल तमु ९गुरूङ० विद्यार्थी छोंज धींका केन्द्रीय अध्यक्ष पवन गुरूङले बताउनुभयो । सामाजिक सञ्जालको भड्किलो प्रयोग बढ्दै जाँदा सामाजिक सञ्जालको सही सदुपयोग गरी सकारात्मक सन्देश दिन पनि यस्ता प्रतियोगिताले सहयोग गर्ने कार्यक्रमका अतिथिहरूले बताएका थिए ।      ‘कला संस्कृति वेशभूषा गुरूङ जातिको पहिचान, यसको संरक्षण र संवद्र्धन हाम्रो अभियान’ भन्ने नारासहित तीन महिना फोटो पोस्ट गर्ने समय तोकिएको थियो ।

काठमाडौं:    हरेक वर्षको पुस १५ गतेलाई गुरुङ समुदायले तमु  ल्होसारसँगै नयाँ वर्षका रूपमा मनाउने गर्दछन् ।  गुरुङ समुदायले तमु ल्होसार, नयाँ वर्षसँगै उत्पादन गरेको नयाँ अन्नलाई सामूहिक रूपमा न्वागी चखाउने पर्वका रूपमा समेत मनाउने गरेको गुरुङ समुदायका अगुवाहरूको भनाइ छ ।        विभिन्न गते, तिथि बारले यस नयाँ वर्षलाई असर पु¥याउँदैन । हरेक पुस १५ मा नै नयाँ वर्ष मनाउने प्रचलन रहेको गुरुङ समुदायका अगुवा हरि गुरुङले बताउनुभयो । उहाँका अनुसार वर्षको नाम समेत वर्ग छुट्याएर जनावरको नामबाट राख्ने गरिएको छ ।      आज पुस १५ गतेदेखि गुरुङ समुदायले सर्प (सर्पिलो) वर्षलाई स्वागत गरिएको उहाँले बताउनुभयो । गरुड वर्षलाई बिदाइ गर्दै तमु गुरुङ समुदायका किशोरकिशोरीदेखि बालबच्चा र वृद्धवृद्धाहरूले यो चाड हर्षोल्लासका साथ मनाइरहेका छन् । तमु ल्होसार गुरुङ समुदायको बसोबास रहेको स्थानमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने गरिन्छ ।       नेपालमा ग्याल्बो ल्होसार र सोनाम ल्होसारसमेत मनाइने गरिन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार तामाङ समुदाय र शेर्पा जातिले ग्याल्बो ल्होसार मनाउने प्रचलन रहेको छ ।  यी जातिहरुमा मुसा, गाई, बाघ, बिरालो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा ल्होसारलाई विभाजन गरिएको पाइन्छ । ल्होसारका १२ वटै वर्ष पशुपक्षीका नामबाट गणना गरिएकाले प्रकृति पूजक रहेको अनुसन्धाताहरूको भनाइ छ ।       तमु जातिहरूको परम्परा धर्म, संस्कार र संस्कृतिको क्षेत्रमा, आर्थिक उन्नति एवम् प्रगतिका रूपमा यस पर्वलाई लिइने गरिएको छ । बाह्रवटा जीवहरूका नामबाट परिचित महान् पर्व तमु ल्होसार च्यु ल्हो, ल्वोँ ल्हो, तो ल्हो, ह्यि ल्हो, मुप्रि ल्हो, सप्री ल्हो, त ल्हो, ल्हु ल्हो, प्र ल्हो, च्या ल्हो, खि ल्हो, फो ल्हो विभिन्न रूपमा यसलाई मनाइने गरिन्छ ।       ल्होसार आदिमकालदेखि तमु जातिको जैविक, सामाजिक, सांस्कृतिक तथा परम्पराबाट निरन्तरता दिँदै आएको मुख्य पर्वका रूपमा लिइने गरिएको छ ।  पहिले तमु जातिको ल्होसार पर्व नस्लको  हिसाबले आदिम साम्यवादी मातृ सन्तात्मक युगदेखि सूर्यलाई आधार मानी पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने क्रममा र पृथ्वीको उत्तरी ध्रुवतिर सूर्य नजिक पर्न जाने भएकाले कहिले दक्षिण ध्रुवतिर सूर्य नजिक पर्न जाने हुनाले छ÷छ महिना पुस १५ र असार १५ मा समय परिवर्तन हुन्छ भनेर आदिमकालमा तमु जातिको गुरुले निर्धारण गरेको बताइन्छ ।  पुस १४ गतेलाई गएको ल्होलाई बिदाइ र पुस १५ लाई नयाँ ल्होको आगमनको स्वागत गर्दै निधारमा सेतो टीका लगाई शुभकामना आदानप्रदान गर्ने प्रचलनसमेत छ ।       प्राकृतिक एवम् तम संस्कारअनुसार पुस १५ लाई नै आधार मानी तमु जातिहरूले आफ्नो ल्होसार पर्व निर्धारण गरी राखेको सो समुदायका अगुवाहरूको भनाइ छ । तमु भाषामा वर्ग भनेको वर्ष हो ।  तमु जातिको साधारण भाषामा ल्हो भनेको वर्ग हो र सार भनेको नयाँ भन्ने परम्पराअनुसार नै प्रत्येक पुस १५ लाई नयाँ ल्होसार भनेर मनाउँदै आएको बताइएको छ । तमु जातिको एक वर्षमा एउटा ल्हो को पूरा हुने भन्ने परम्परा रहेको पाइन्छ । प्रत्येक १२÷१२ वर्षमा  आउने आ–आफ्नो ल्हो र त्यो ल्हो फेर्न एक वर्ग लाग्छ । त्यसलाई नै तमु भाषामा ल्होकोर भन्ने गरिन्छ ।       गुरुङ समुदायले मनाउने तमु ल्होसारका अवसरमा इलाममा बालबालिकाको नृत्य प्रतियोगिता, खेलकुद प्रतियोगितालगायत कार्यक्रमहरू हुने भएको छ । इलाम नगरपालिका–६ मा निर्माणाधीन न्हूपी छोलिङ गुम्बामा कार्यक्रम हुने आयोजक समितिका हरि गुरुङले जानकारी दिनुभयो । इलाम गुरुङ समाजले ल्होसारका अवसरमा पुस १४ र १५ गते खानाका परिकार प्रदर्शन गर्ने भएको छ ।      भेडाको मासु, ढिँडो, नारेपा ९लोकल रक्सी० लगायतका परिकार आफ्ना समुदाय र पाहुनाहरूलाई चखाउने प्रचलन रहेको बताइएको छ । नयाँ उत्पादन गरेको अन्नबाट निर्माण गरिएका परिकारसँगै सो समुदायबाट उत्पादन गरिएका वस्तुहरू समेत चखाउने गरिएको छ ।  यसैगरी, पुस १४ गते इलाम चियाबारीमा ल्होसार खुल्ला कवितावाचन प्रतियोगिता भएको छ । साथै इलाम–१५ मा नै घलेटार मदानमा छेलो हान्ने प्रतियोगिता समेत राखिएको छ ।      पुस १५ गते गुम्बामा लामा गुरुहरुद्वारा पूजापाठ र बालबालिकाका लागि नृत्य प्रतियोगिता सञ्चालन गरिने भएको मूल आयोजक समितिकी अध्यक्ष पविमाया गुरुङले जानकारी दिनुभयो ।  गुरुङ समुदायले अन्न फलाएपछि सामूहिक रूपमा खाना खुवाउने कार्यक्रम परापूर्वकालदेखि नै गर्दै आएको भन्दै गुरुङ परिकार राखिने समितिका सचिव उमेश गुरुङले बताउनुभयो । सो समुदायले पुस १५ गते ल्होसार पर्व मनाउँदै आएको बताइएको छ ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी ४७ वर्षीया विरस तामाङले चिया बेच्न थालेको २७ वर्ष भयो ।   मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डको नुनथलाडाँडामा चिया पसल खोलेर २०५४ देखि चिया बेच्न थालेकी उनले अहिले खर्च कटाएर मासिक ५० हजारभन्दा बढी बचत गर्दै आएकी छन् ।   समुद्री सतहबाट एक हजार आठ सय २३ मिटर उचाइमा पर्ने नुनथलाको चिसो सिरेटोमा अगेना नजिकै बसेर चियाको चुस्की तान्नेहरूको भीड हरेक दिन बिहानदेखि बेलुका अबेरसम्म लाग्छ ।   विरसको आफ्नै नामबाट सञ्चालन गरिएको ‘विरस होटल एण्ड लज’मा चिसासँगै खाजाको रूपमा दूधको छाली र चिउरा खानेको उत्तिकै घुइँचो लाग्छ ।   विरसको होटलमा चिया तथा छालीका लागि दैनिक २५ करुवा दूध खपत हुने गरेको छ । चिया तथा छालीका लागि नुनथलाकै विभिन्न टोलका किसानको घरबाट प्रतिकुरुवा ४० मा दूध खरिद गर्ने गरिएको विरसले बताइन् । उनले भनिन्, 'काठमाडौं तथा तराईका विभिन्न जिल्ला जाने यात्रु यहाँ चिया खान पस्नुहुन्छ ।'   मध्यपहाडी लोकमार्गमा पर्ने नुनथला पर्यटकीय क्षेत्र हो । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर होटल तथा चिया पसल सञ्चालन गरिएको हो ।   तीन सन्तानकी आमा विरसलाई उनका श्रीमान् मानसिं तामाङले सहयोग गर्दै आएका छन् । सुरुमा खाना तथा खाजा बिक्री गर्दै आएकी विरसले पछिल्लो समय चिया र छाली चिउरा मात्र बिक्री गर्दै आएकी छन् । छाली र चिउरा प्रति बटुका एक सयमा बिक्री गर्ने गरिएको छ ।   विरसले एक छोरा र दुई छोरीको शिक्षादीक्षा तथा पालनपोषण चिया बिक्री गरेर आएको रकमले धानेकी छन् ।   एउटा छोरीले  स्नातकोत्तर उत्तीर्ण गरेकी छन् भने अर्की छोरीले स्नातक तथा छोराले कक्षा १२ उत्तीर्ण गरेका छन् ।   तीनैजना अहिले अध्ययनकै सिलसिलमा जापानमा छन् । तीनै छोराछोरीको पढाइको खर्च बेहोर्न विरसले चिया बिक्री गर्दै आएकी हुन् ।

ढोरपाटन:  नेपाल विद्युत् प्राधिकरण बागलुङले जिल्लाको दूरदराजसम्म केन्द्रीय प्रसारण लाइन विस्तार गर्न थालेको छ ।    अ​हिलेसम्म केन्द्रीय लाइन नपुगेको पश्चिम बागलुङको निसीखोला, तमानखोला र ढोरपाटनमा प्रसारण लाइन विस्तार गर्न थालिएको हो ।    अघिल्लो वर्षदेखि नै विकट गाउँमा केन्द्रीय प्रसारण लाइन जोड्न थालिएको विद्युत् प्राधिकरण बागलुङका प्रमुख पवन पौडेलले जानकारी दिए  ।   उनका अनुसार बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकाको अधिकांश ठाउँ केन्द्रीय लाइन पुगेको छ । बडिगाड ४० र ताराखोलामा ६० प्रतिशत बस्तीमा लाइन पुगिरहेको उनको भनाई छ ।    जिल्लाका ६५ प्रतिशत नागरिकले केन्द्रीय प्रसारण लाइन बाल्न पाएको भन्दै अन्यले स्थानीय लघु जलविद्युत्को प्रयोग गर्दै आएको प्रमुख पौडेल सुनाउँछन् ।   बागलुङको निसेलढोरबाहेक सबै ठाउँमा विद्युत्को पहुँच पुगेको छ । चालु आर्थिक वर्षमा बागलुङ जिल्लाभर केन्द्रीय विद्युत् विस्तारका लागि रु १४ करोड लागतमा नौवटा ठेक्का लगाएर काम गरिरहेको उनले बताए ।   प्रमुख पौडले भने, “बागलुङ जिल्लालाई चालु आर्थिक वर्षभित्रै पूर्ण विद्युतीकरण गर्ने गरी काम गरिरहेका छौँ, अहिले पश्चिम बागलुङलाई प्राथमिकता दिएर काम गरिरहेका छौँ, ढोरपाटन सिकार आरक्षदेखि निसीखोलाको माथिल्लो क्षेत्रसम्म लाइन विस्तार गर्ने काम भएको छ, त्योसँगै यस वर्ष घर, जङ्गलको नजिक रहेका ठाउँमा नाङ्गो तार हटाएर कालो ताल हाल्ने, जैमिनी नगरपालिकालाई छुट्टै फिडर बनाएर लाइन दिने काम भइरहेको छ ।”   जिल्लामा ९८ वटा लघु जलविद्युत् आयोजना छन् । जसबाट धेरै नागरिक लाभाम्वित भए पनि निसीखोला गाउँपालिका–६ निसेलढोरमा भने अहिलेसम्म लघु जलविद्युत् र केन्द्रीय प्रसारण लाइन कुनै पनि पुग्न सकेको छैन ।   विद्युत्को सुविधा नहुँदा अहिले यहाँका सयौँ नागरिक अन्धकारमा बस्न बाध्य रहेको स्थानीय सम्झना रसाइलीले बताए ।   विद्युत् नहुँदा बत्ती बाल्न, मोबाइल चार्ज गर्न र साना तथा मझौला उद्योग सञ्चालन गर्न नपाएको उहाँले गुनासो पोखे ।   “सबै ठाउँमा बिजुली बत्यो, हाम्रो गाउँमा अहिलेसम्म पनि लाइन आएको छैन, एउटा मोबाइल चार्ज गर्नका लागि दुई÷तीन घण्टा हिँडेर ढोरपाटन पुग्नुपर्छ”, रसाइलीले भने, “अहिले पनि दियालो र टुकी बालेर रात कटाउनुपर्छ, लाइन ल्याउनका लागि पोल त गाडेका छन् तर कहिले आउने हो अत्तोपत्तो छैन ।”