पूर्वी नवलपरासी । गए रातिदेखि परेको अविरल वर्षाका कारण पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजार जलमग्न भएको छ । कावासोतीको फिल्महल चोक, सभापति चोकलगायत स्थान जलमग्न भएका हुन् । पानीको सतह बढेपछि कावासोतीको मुख्य बजारक्षेत्रमा पानी जमेको छ । नारायणघाट–बुटवल सडकखण्ड विस्तारको क्रममा सडकका नाली र ढल भत्काइएका कारण पानी बग्न नपाएपछि डुबान भएको हो । नगर क्षेत्रका सबै सडक जलमग्न र हिलाम्मे भएपछि सर्वसाधारणलाई सास्ती खेप्नु परिरहेको छ । कतै नाली पुरिएका कारण सडकमा पानी जमेको छ भने कतै खाल्डाखुल्डीमा पानी जमेको छ । बुटवल–नारायणघाट सडकको काम समयमै सम्पन्न नहुँदा घाम लाग्दा बेस्सरी धुलो उड्ने र पानी परेपछि हिलाम्य हुने समस्याले सकस भएको स्थानीयले बताएका छन् । “सडकको कालोपत्र भत्किएर बनेका ठूला खाल्डामा पानी जम्दा आवतजावतमा समस्या भएको छ”, स्थानीय रमेश थापाले बताउनुभयो । वर्षातको पानीले निकास नपाउँदा बजार क्षेत्र आसपासका विद्यालय, अस्पताल, सरकारी कार्यालयलगायतमा पानी पसेको उहाँले बताउनुभयो ।
काठमाडौं । राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार उजुरी परेपछि नेपाल क्रिकेट संघ (क्यान) अनौपचारिक छलफलमा जुटेको छ । बलात्कार जस्तो गम्भीर मुद्दा परेकाले उनलाई टिममा राखिराख्ने वा निलम्बन गर्ने विषयमा क्यानमा छलफल चलिरहेको छ । उपत्यका बाहिर रहेका क्यान अध्यक्ष चतुरबहादुर चन्द फर्किएपछि उपलब्ध पदाधिकारी तथा बोर्ड सदस्यहरुको बैठक बसेर निर्णय गर्ने क्यानको तयारी छ । क्यानका कानुनी सल्लाहकारले अन्तर्राष्ट्रिय अभ्यास र नेपालको कानुनी व्यवस्थाबारे अध्ययन गरिरहेका छन् । क्यान अध्यक्ष चतुर बहादुर चन्दका अनुसार आरोप लाग्नासाथ निलम्बन गर्ने वा दोषी प्रमाणित भएपछि मात्रै कारबाही गर्ने दुबै अभ्यास अन्तर्राष्ट्रिय स्तरमा देखिएको छ । अध्यक्ष चन्द भन्छन्, ‘आरोप लागिसकेपछि अनुसन्धानमा त सहयोग गर्नैपर्छ । तर जानीजानी उसलाई (सन्दीपलाई) मर्का पर्ने गरी निर्णय पनि गर्नु हुँदैन ।’ सन्दीपले आफूलाई बलात्कार गरेको भन्दै एक बालिकाले प्रहरीमा उजुरी दिएकी छन् ।
तनहुँ । तनहुँ समाज हङकङले मुटु रोगबाट पीडित तनहुँको ऋषिङ गाँउपालिका–७ की ४३ वर्षीया चन्द्रमाया नेपालीलाई आर्थिक सहयोग गरेको छ । समाजले उहाँलाई रु एक लाख ७९ हजार सहयोग गरेको हो । डेढ दशकदेखि मुटु रोगबाट पीडित नेपालीलाई समाजका पूर्व अध्यक्ष भीमराज गुरुङ र श्रीराम आलेले उहाँकै घरमा गई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । रोजगारीको सिलसिलमा हङकङमा रहेकाहरुले उक्त रकम सङ्कलन गरेका हुन् । उहाँको हालै मुटुको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पश्चात थप औषधी सेवन गर्नुपरेकाले आर्थिक अभाव भएको अवस्थामा गरिएको सहयोगले उपचारमा मद्दत पुगेको गुरुङले बताउनुभयो । पीडित नेपालीका श्रीमान् डोलराजका अनुसार उपचार गर्न आर्थिक अभाव भएपछि तनहुँ हङकङ समाजलाई सहयोगका लागि आग्रह गरिएको हो । सामाजिक सेवामा सक्रिय समाजले यसअघि पनि थुप्रैलाई सहयोग गरेको छ । हङकङमा बसोबास गर्दै आएका नेपालीहरुले समन्वय गरी सहयोग रकम सङ्कलन गर्दै आएका कार्यक्रमका संयोजक प्रदीप काफ्लेले जानकारी दिनुभयो । समाजले एक दशकदेखि तनहुँको शिक्षा, स्वास्थ्य, खानेपानी, दैवीप्रकोपलगायत क्षेत्रमा सहयोग गर्दै आएको छ ।
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले टोलटोलमा राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ । वडा नम्बर ६ ले वडावासीको सहजताका लागि राष्ट्रिय परिचयपत्र प्रदान गर्दै आएको छ । वडावासी कोही पनि नछुट्न भनेर वडा कार्यालयले टोलटोलका नागरिकलाई पालैपालो परिचयपत्र वितरण गर्न थालेको हो । राष्ट्रिय परिचयपत्रका लागि जिल्लावासीले सुरुआतमा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय धाउँदै आएका थिए । पछिल्लो समयमा पायकपर्ने स्थानको पालिकाबाट उक्त सेवा लिन सकिने व्यवस्था मिलाइएको छ । टोल विकास संस्थासँग समन्वय गरेर पालैपालो परिचयपत्र वितरण गर्न लागिएको वडा सदस्य दिनेश प्रधानले जानकारी दिनुभयो । राष्ट्रिय परिचयपत्र आफ्नै टोलबाट पाउने व्यवस्था भएपछि वडावासी उत्साहित बनेका छन । जिल्ला सदरमुकाम जानुपर्दा समय बढी लाग्ने गरेकामा अहिले सजिलो भएको स्थानीय माधव न्यौपाने बताउनुभयो । यस अघि राष्ट्रिय परिचयपत्रका लागि जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा सेवाग्राहीले लामो लाइन वस्नुपर्ने समस्या थियो । अहिले वडास्तरबाटै लिन पाउने व्यवस्था मिलाएपछि सेवाग्राहीलाई समय र खर्च बचत भएको छ । लाइन वस्नुपर्ने बाध्यता हटेको छ ।
पर्सा । पर्साको वीरगञ्ज महानगरपालिकाले सडक अतिक्रमण गरी बनाइएका विभिन्न संरचना हटाउने भएको छ । महानगरपालिकाले पहिलो चरणमा सडक अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन ३५ दिने सूचना जारी गरेको छ । नगरप्रमुख राजेशमान सिंहका अनुसार सडक विस्तारका लागि सो क्षेत्रमा अनधिकृत रुपमा निर्मित घर, टहरालगायत संरचना हटाउन सूचना जारी गरिएको हो । गण्डक चोकदेखि विद्युत् गृह, घण्टाघर, माइस्थान, महावीर स्थान, आदर्शनगर, अलखिया मठ, बिर्ता मन्दिर, नारायणी अस्पताल, वीरगञ्ज भन्सार कार्यालय हुँदै दक्षिणमा शङ्कराचार्य द्वारसम्म सडकको दायाँबायाँ अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन सूचना जारी गरिएको छ । सडकको दुवैतर्फ निर्माण भएका घरको महानगरपालिकाबाट नक्सा स्वीकृत भए नभएको सबुत प्रमाण लिइ ३५ दिनभित्र महानगरपालिका कार्यालयको भवन निर्माण तथा इजाजत शाखामा सम्पर्क राख्न सरोकारवालालाई आग्रह गरिएको छ । सडकको जग्गा अतिक्रमण गरी संरचना निर्माण गरिएको प्रमाणित भए स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम कारबाही गरिने सिंहले बताउनुभयो । औषधि गोदाम सिल वीरगञ्जको औषधि कम्पनीको गोदाममा जिल्ला प्रशासन कार्यालयको टोलीले छापामारी सिल गरेको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल नेतृत्वको अनुगमन टोलीले युपिएस फर्मा र जि फर्मा लिङ्कमा छापा मारेर गोदाम सिल गरेको हो । उपभोक्ता हित संरक्षण मञ्च वीरगञ्जका अध्यक्ष अजित भुजेलका अनुसार अनुगमनका क्रममा कम्पनीको गोदाममा म्याद नाघेका औषधि फेला परेपछि गोदाम सिल गरिएको हो । पौडेलको नेतृत्वमा मञ्च, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, औषधि व्यवस्था विभाग, खाद्य तथा गुण नियन्त्रण कार्यालय र वडा प्रहरी कार्यालय बिर्ताको संयुतm टोलीले गोदाममा छापा मारेको हो ।
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भूरुङ तातोपानी बजारमा सिसि टिभी क्यामेरा र सडक बत्ती जडान गरिएको छ । पर्यटकीय बजारको रुपमा परिचित भुरुङ तातोपानीमा सिसि टिभी क्यामेरा र बत्ती जडान गरिएपछि चोरीका घटना र झैझगडामा कमी आउने अपेक्षा गरिएको छ । बजारका मुख्य चोकमा २५ सीसी टिभी क्यामेरा र आवश्यकता अनुसार सडक बत्ती जडान गरिएको तातोपानी टोल सुधार समितिका सचिव अमृतमान शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार, गण्डकी प्रदेश सरकारको भौतिक पूर्वधार तथा शहरी विकास मन्त्रालयमार्फत विनियोजन भएको रु १० लाख बजेटबाट उक्त कार्य सम्पन्न गरिएको हो । बजारमा जोडिएका क्यामेराको रेखदेखको जिम्मा भने इलाका प्रहरी चौकी भुरुङतातोपनीको जिम्मा लगाइएको छ । प्राकृतिक उपचार स्थल र पर्यटकको थकान मेटाउने थलोको रुपमा परिचित तातोपानी कुण्डमा आउने आन्तरिक तथा बाह्य पर्यटकको चापलाई ध्यानमा राखि बजार क्षेत्रको शान्ति सुरक्षालाई प्रभावकारी बनाउन सीसी क्यामेराबाट ठूलो मद्दत पुग्ने प्रहरीले जनाएको छ । बेनी–जोमसोम सडकखण्ड र अन्नपूर्ण पदयात्राले समेटिएको भुरुङ तातोपानीमा अत्यधिक पर्यटकीय गतिविधि हुने गरेको छ ।
चितवन : लोपोन्मुख चेपाङ (प्रजा) समुदायले नयाँ वर्ष (न्वागी) मनाउँदै छन् । हरेक वर्ष मध्य भदौमा यो समुदायले पर्व मनाउने गर्दछ । उनीहरुले यस पर्वलाई छोनाम पनि भन्ने गर्दछ ।यसवर्ष भदौ २२ गते उक्त पर्व मनाइँदै छ । संविधानसभा सदस्य तथा नेपाल चेपाङ सङ्घका पूर्वकेन्द्रीय सदस्य गोविन्दराम चेपाङले चेपाङको यो सामुदायिक सांस्कृतिक पर्व भएको बताउनुभयो । उहाँले भन्नुभयो “यो हाम्रो नयाँ वर्ष हो । यस दिन पान्दे झाँक्री बोलाएर पूजा गरी कन्दमूल, फलफूल, तरकारी, घैया धान आदि खाने गरिन्छ ।” यसै दिन पितृहरुको सम्झनामा पूजा गरिने जानकारी दिँदै उहाँले भन्नुभयो “हामी यस दिन देवीदेवतासँग रोगव्याधी नलागोस् भनेर आशीर्वाद लिने गर्दछौँ । भाकल भए त्यसको समेत पूजा गर्दछौँ ।” घैया धानलाई टाउकोमा राखेर आशिस लिने गरिन्छ । सोही दिन पुराना भाकाका गीत, झ्याउरे गीत गाएर नाचगान गरी रातभर रमाइलो गर्ने परम्परा छ । पछिल्लो समय धेरै चेपाङले धर्म परिवर्तन गरेसँगै विगतको जस्तो पर्व रमाइलो हुन छाडेको गुनासो गर्दै उहाँले भन्नुभयो “९० प्रतिशत चेपाङ क्रिश्चियन बनेपछि भाषा, धर्म, संस्कृति जोगाउन मुस्किल भयो । यो पर्व अहिले लोपन्मुख अवस्थामा पुगेको छ ।” सङ्घका बागमती प्रदेश सचिव लक्ष्मण चेपाङले यो समुदायले भूयार र न्वागी गरी दुई वटा पर्वलाई राष्ट्रिय पर्वको रुपमा मनाउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो “खेती लगाउने समयमा भूयार र खेती थन्काउने बेलामा न्वागी मनाउने गरिन्छ ।” फागुन र चैतमा रोपेका बाली साउन/ भदौमा तयार भएपछि चढाउने गरिन्छ । प्रकृतिलाई पूजा गर्दै नयाँ खेती भित्र्याउने गरिन्छ । मुख्यरुपमा यतिबेला पिँडालु, निबुवा, घिरौँला, कागुनो, तामा, घैया धान भित्र्याएर भगवानलाई चढाइ खान सुरु गरिने सचिव चेपाङले बताउनुभयो । राप्ती नगरपालिकाको चार किल्लाका पहलमान चेपाङले न्वागी पुरानो परम्परा र संस्कृति भएको बताउनुभयो । उहाँले भन्नुभयो “यो हाम्रो ठूलो पर्व हो । घरघरमा हामी खुसीयाली साटासाट गरेर यो पर्व मनाउँछौँ । कतिपयले यो पर्व समूहगत रुपमा पनि मनाउँछन् ।” चेपाङ समुदायलाई आफ्नो बारीमा उब्जनी भएको अन्नले छ महिना पनि खान पुग्दैन । जे जति उत्पादन हुन्छ, यसलाई निकै सम्मान दिएर पूजा गरेर मात्रै खाने चलन रहेको छ । पहलमानले भन्नुभयो,“न्वागी पूजा नगरेसम्म अन्न जुठो हुन्छ, चोख्याएर मात्रै खान्छौँ ।” धर्म परिवर्तनका कारण पछिल्ला दिनमा पर्व मनाउनेको सङ्ख्या घटेको उहाँको भनाइ थियो । पहलमानले भन्नुभयो “हाम्रो धर्म र संस्कृतिलाई सबै मिलेर जोगाउनु पर्छ ।” पहाडी क्षेत्रमा रहेका लोपन्मुख यो जाती धेरैको आफ्नै जमिन समेत छैन । वनमा फलेका कन्दमूल खाएर कतिपयले जीविका टार्नुपर्ने बाध्यता छ । शिक्षाको अभावमा बाल्य अवस्थामा नै विवाह हुने गरेकाले जन्मिएका बालबालिका र आमाको स्वास्थ्य अवस्था जटिल हुने गरेकाले यो जातिका लागि सरकारले प्राथमिकतामा राख्नुपर्ने उनीहरुको माग थियो । यस वर्षबाट चेपाङ समुदाय बसोबास गर्ने चितवन, मकवानपुर र धादिङ जिल्लामा बागमती प्रदेश सरकारले पहिलो पटक सार्वजनिक बिदा दिएको छ । नेपालका चितवन, मकवानपुर, धादिङ र गोरखामा यो जातीको बसोबास बढि छ । छिटफुट २४ जिल्लामा चेपाङ समुदाय बस्ने गरेको सङ्घले जनाएको छ । विसं २०६८ को गणनाअनुसार नेपालमा यो जातीको सङ्ख्या ६८ हजार तीन सय ९९ पुगेको छ । तीमध्ये चितवनमा यो सङ्ख्या २८ हजारभन्दा बढी छ । पछिल्लो जनगणनाको सङ्ख्या आइसकेको छैन । जिल्लाको इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र राप्ती नगरपालिकाको पहाडी क्षेत्रमा यो जातीको बाक्लो बसोबास छ ।
पोखरा : पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजामा वडा कार्यालयको पहलमा मंगलबार निजी शौचालयलाई सार्वजनिक शौचालयको रूपमा प्रयोग गर्न सुरु गरिएको छ । हेमजामा रहेको हेमजा मिनि मार्केट र बिकास आयल स्टोरमा भएको शौचालयलई सार्वजनिक गरिएको हो । वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाले महानगरको अवधारणा अनुसार निजि शौचालयलाई सार्वजनिक गरिएको बताए । वडामा सार्वजनिक शौचालय नभएको अवस्थामा निजी क्षेत्र बाट सहयोग गरेकोमा धन्यवाद दिदै एक बर्ष भित्र प्रत्येक वडामा महानगरले सार्वजनिक शौचालय बनाउने उल्लेख गरे । महानगरको वडा हुन सार्वजनिक शौचालय हुन आवश्यक हुने बताउदै अन्य व्यवसायीलाई साजेदार गर्न आग्रह गरे । हेमजा मिनि मार्केटका सञ्चालक शिवलाल पौडेलले मार्केटमा भएको शौचालयलाई सार्वजनिक घोषणा गर्दै सेवा गर्न पाउँदा गर्व महसुस गरेको बताए । उनले सडकमा भएको अव्यवस्थित पार्किङ हटाउन सहजिकरण गर्ने बताउदै मार्केटमा पार्किङ गर्न दिने बताए । विकास आयल स्टोरका सञ्चालक भोजराज पौडेलले निजि शौचालयलाई सार्वजनिक गर्ने काम राम्रो लागेको बताए । कार्यक्रममा पुर्व वडा सदस्य दलबहादुर कुवँर र नेकपा एमाले पोखरा २५ हेमजाका अध्यक्ष ऋषिराम पौडेलले बोलेका थिए । कार्यक्रममा लियो क्लब अफ हेमजा, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा, विभिन्न राजनीति दल र विभिन्न संस्था प्रतिनिधिको उपस्थिति थियो । वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन ईश्वरी बाँस्तोलाले गरेका थिए ।
म्याग्दी : म्याग्दीकी एक युवतीले बाटोमा भेट्टाएको सुनको सिक्री (गहना) प्रहरीमार्फत सम्बन्धित व्यक्तिलाई बुझाएर इमान्दारिताको नमूना प्रस्तुत गर्नुभएको छ । रघुगङ्गा गाउँपालिका–२ की २३ वर्षीया साधना केसीले सोमबार बिहान बेनी नगरपालिका–८ मा रहेको गणेश मन्दिर क्षेत्रको सडकमा एक तोलाको सुनको सिक्री भेट्टाउनुभएको थियो । उहाँले भेट्टाएको सिक्री जिल्ला प्रहरी कार्यालयमा बुझाउनुभयो । पर्वतको जलजला गाउँपालिका–२ मल्लाजका २४ वर्षीय सागर अधिकारीले प्रमाणसहित हराएको सुनको सिक्री दाबी गरेर दिउँसो प्रहरी कार्यालयमा आउनुभएको थियो । सो सिक्री अधिकारीको भएको पुष्टि भएपछि केसीले हस्तान्तरण गर्नुभएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो । उत्कृष्ट प्रहरी कर्मचारीलाई सम्मान जिल्ला प्रहरी कार्यालय म्याग्दीले हरेक महिना प्रहरी एकाइका उत्कृष्ट प्रहरी कर्मचारी पहिचान गरेर सम्मान गर्न थालेको छ । प्रहरी कर्मचारीको मनोवल बढाउन र हौसला प्रदान मासिकरूपमा सम्मान गर्न सुरु गरिएको हो । बेनी नगरपालिका–१ को रत्नेचौर प्रहरी बिटका हवल्दार बिष्णु पौडेललाई विसं २०७९ को साउन महिनाको उत्कृष्ट प्रहरी घोषणा गरी सम्मान प्रदान गरिएको प्रहरी नायब उपरीक्षक भारतीले बताउनुभयो । नाबालकलाई अप्राकृतिक मैथुन गरेको भन्ने सूचना प्राप्त हुनासाथ तत्काल परिचालन भई घटनास्थलमा नै पीडितलाई उद्धार र पीडकलाई नियन्त्रणमा लिन सफल भई अनुसन्धान कार्यमा उल्लेखनीय भूमिका निर्वाह गरेको र ज्यानसम्बन्धी कसुरका अभियुक्तलाई पक्राउ गरेको हुँदा पौडेललाई ‘वेष्ट पुलिस अफ द मन्थ’ घोषणा गरिएको प्रहरी कार्यालयले जनाएको छ ।

