काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व आज देशभरका कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी मनाइँदै छ । यस अवसरमा कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गरेमा कागको स्पर्शलगायत दोषबाट मुक्त भइने विश्वास छ । यसैले वर्ष दिनसम्म कागले स्पर्श गरेका वा अन्य काग दोष लागेका मानिसले आज कागेश्वरीको दर्शन गर्नैपर्ने मान्यता राख्छन् । यसै अवसरमा कागेश्वरीमा हरियो मकै चढाएमा कागले बारीमा लगाएको मकै नखाने धार्मिक विश्वाससमेत रहेको छ । श्रावण शुक्ल पूर्णिमा र गङ्गा दशहरा पर्वका अवसरमा रसुवाको प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा पुगेका भक्तजनले त्यहाँबाट ल्याएको जल आज कागेश्वरीमा चढाउनुपर्छ भन्ने विधिसमेत रहेको छ । गोसाइँकुण्ड पुग्नेले कागेश्वरीमा आई आजका दिन जल नचढाए धार्मिक यात्रा पूरा नहुने जनविश्वास रहेको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण कागेश्वरी महादेव मन्दिरमा लाग्ने मेलामा देश–विदेशबाट लाखौँ भक्तजनको भीड लाग्छ । कागे अष्टमीसमेत भनिने आजका दिन कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं १ मा पर्ने यो मन्दिर क्षेत्रमा आउनेलाई सहज सुविधा दिन लागिएको छ । मन्दिर जान यातायात सहज बनाउने व्यवस्था गरिएको कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले जानकारी दिनुभयो । कोरोनाअघि नगरपालिकाले तीन दिनसम्म मेला गरी यो पर्व मनाउने गरेको थियो । कोरोना जोखिम कायमै रहेकाले विसं २०७७ देखि तीन दिने मेला नगरी एक दिन पूजा आराधना गर्ने व्यवस्था मिलाइएको छ । मन्दिर परिसरमा हाल दुई सय २७ किलोको अष्टधातुबाट बनेको कागको मूर्ति विशेष आकर्षणका रूपमा रहेको छ । यो नेपालकै ठूलो कागको मूर्ति हो । यहीँको लोकतान्त्रिक सहिद उद्यानमा एक हजार किलोको विश्वकै ठूलो कागको मूर्ति निर्माण भएको छ । एक हजार किलोको अष्टधातुको कागको मूर्ति बनाउन स्थानीयवासीले धातु दान गरी सहयोग गरेका छन् । यसै मन्दिरको समेत नाम जोडेर कागेश्वरी मनोहरा नगरपालिकाको नामकरण भएको छ । यस पर्वका अवसरमा नगरपालिकाले प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन नगरपालिकाभर सार्वजनिक बिदा दिँदै आएको छ । नामकरण भएदेखि नै महोत्सवको आयोजना नगरपालिकाले गर्दै आएको छ । भदौमा लाग्ने मेलाका अवसरमा यहाँको तामाङ एवं नेवार समुदायका सांस्कृतिक झाँकी प्रदर्शन गरिनुका साथै स्थानीय उत्पादनको समेत प्रदर्शन गरिन्छ । कागेश्वरीमा लाग्ने मेला भर्न काठमाडौँ उपत्यकाका तीन जिल्लाका साथै नजिकका नुवाकोट, सिन्धुपाल्चोक, काभे्रपलाञ्चोक, रसुवा, दोलखा, रामेछाप, सिन्धुलीलगायत जिल्लाका मानिसको बढी भीड लाग्ने गरेको छ । देशका विभिन्न जिल्लाबाट आई काठमाडौँ उपत्यकामा बसोबास गर्ने मानिस पनि कागको स्पर्शबाट बच्न आजका दिन कागेश्वरी जाने गर्छन् । कागे अष्टमीका अवसरमा कागेश्वरी महादेव मन्दिर जान नसक्ने भक्तजनले हनुमानढोका र पशुपति क्षेत्रमा रहेको कागेश्वरी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्ने गरेका छन् । देशका अन्य स्थानमा रहेको कागेश्वरी मन्दिरमा पनि आज पूजा, आराधना गर्न भक्तजन पुग्ने गर्छन् ।
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीमा १९ जना सदस्य थप भएका छन् । मञ्चको शनिबार पोखरा रंगशालाको मिडिया सेन्टरमा बसेको चौधौं बैठकले यो निर्णय गरेको हो । मञ्चका महासचिव राजाराम पौडेलले दिएको जानकारी अनुसार सदस्य बन्नका लागि ३० जना पत्रकारले आवेदन दिएका थिए । उनीहरुमध्येबाट प्राप्त कागजात सहितको विवरण र सक्रियताको आधारमा १९ जना सदस्य छनोट गरिएको हो । यसरी छानिनेमा अनुप पौडेल, कृष्ण प्रसाद दवाडी, गीता राना, चेत बहादुर थापा प्रविन, धन बहादुर गुरुङ सुमन, परशुराम शर्मा, गोविन्द थापा सिञ्जाली, फडिन्द्र अकिञ्चन, बस बहादुर शेर्पा बसन्त, बाल कुमारी पौडेल तारा, बिजय नेपाली, रिखिराम जिसी, राधिका कँडेल, राम गुरुङ, विमल तिवारी, शुसान्त गाहा मगर अर्जुन, सञ्जय कुमार मल्ल, सञ्जय रानाभाट र सविन रेग्मी रहेको महासचिव पौडेलले जनाए । नयाँ सदस्यताको लागि मञ्चले गत साउन २१ गतेबाट भदौ ४ गतेसम्म आवेदन खुल्ला गरेको थियो । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी खेलकुद बिटमा कलम चलाउने पत्रकारको संस्था हो । खेलकुद क्षेत्रमा कलम चलाउने पत्रकारहरु संगठित बनी २०५७ सालमा नेपाल खेलकुद पत्रकार मञ्च कास्की गठन भएको थियो । पछि २०७५ सालमा गण्डकी प्रदेशका खेलपत्रकारलाई समेट्ने उद्धेश्यले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी दर्ता भएको हो । यसअगाडि मञ्चमा गण्डकी प्रदेशका ५५ जना पत्रकार आवद्ध भएकोमा अब मञ्चमा आवद्ध पत्रकारको संख्या ७४ पुगेको छ । मञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आएको छ । गण्डकी प्रदेशको कास्की बाहेकका जिल्लाको लागि अर्को चरणमा सदस्यता प्रदान गरिने मञ्च अध्यक्ष दीननाथ बरालले बताए ।
पर्वत । पर्वतमा एउटा सिँचाइ आयोजना २८ वर्षमा निर्माण सम्पन्न भएको छ । जलजला गाउँपालिका–७ स्थित सल्यान सिँचाइ आयोजनाको काम यति लामो समयपछि पूरा भएको हो । विसं २०५१ मा निर्माण सुरु भएको सो आयोजनाको नहर हालै सम्पन्न भएको हो । उक्त नहर बर्सेनि सरकारको थोर–थोरै लगानी र स्थानीयको श्रमदानबाट निर्माण गरिँदै आएको थियो । उपभोक्ता समितिका अध्यक्ष रुद्रलाल उपाध्यायका अनुसार सिँचाइ कुलो बनेपछि यहाँका दुई सय परिवार लाभान्वित भएका छन् । झण्डै ५० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । “नहर पूरा नहुँदा सामान्य खनिएको कुलोमा पानी चुहावट हुने समस्या थियो”, उहाँले भन्नुभयो, “नहर निर्माण सम्पन्न भएपछि मुहानबाट आएको जति पानी खेतमा पुग्न थालेको छ । आव २०७६÷७७ मा गण्डकी प्रदेश सरकारवाट विनियोजित रु एक करोड ९७ लाखमा नहरको काम सम्पन्न भएको हो । उक्त बजेट ठेक्कामार्फत कार्यान्वयन गरी काम सम्पन्न भएको वडाध्यक्ष टुङ्गनाथ शर्माले बताउनुभयो । “गत आर्थिक वर्षमा दुई हजार चार सय मिटर नहर पुनःनिर्माणले पूर्णता पाएको थियो”, उहाँले भन्नुभयो, “भुसुनेको मुहानबाट सल्यानसम्म मुख्य नहर पक्की बनाइएको छ । शाखा नहर बनाउनका लागि पनि योजनालाई निरन्तरता दिन पहल गरेका छौँ”, उहाँले भन्नुभयो । यसपालि धान रोप्न र पानी लगाउन विगत जस्तो धेरै दिन पालो लगाउनु नपरेको शर्माको भनाइ छ । अक्करे जोखिमयुक्त भिरमा पहिले नहर बनाउने क्रममा सात जनाले ज्यान गुमाएका थिए । लामो समयपछि निर्माण भएको आयोजना अन्तिम समयमा गण्डकी प्रदेश सरकारअन्तर्गतको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले सम्पन्न गरेको हो । धाइरिङ धवलागिरि क्षेत्रमा सबैभन्दा धेरै व्यावसायिक तरकारी खेती हुने गाउँ हो । यहाँ ताजा तरकारीको साथै बीउ पनि उत्पादन हुन्छ । सल्यान सिँचाइ आयोजना निर्माण हुनुअघि सल्यानमा घैया धानखेती हुन्थ्यो । सिँचाइ आयोजना निर्माण भएसँगै गुडुरा, गौरिया जातको धान भित्रिएको र सल्यानका कृषकको जीवनस्तरमा सुधार ल्याएको स्थानीय दण्डपाणि रिजालले बताउनुभयो । सिँचाइ सुविधापछि विदेशबाट फर्किएका कृषकले व्यावसायिक तरकारी खेती गरेर राम्रो आम्दानी गर्न सफल भएका उपभोक्ता समितिका सदस्य हरि आचार्यले बताउनुभयो । कक्षा ५ सम्म पढाइ हुने फर्से धाइरिङमा मावि तहको पठनपाठन सञ्चालन गर्नमा पनि सल्यान सिँचाइ आयोजनाको हात रहेको प्रअ मुकुन्द आचार्यले बताउनुभयो । आयोजनाको शुक्रबार गण्डकी प्रदेश सरकारका सभामुख नेत्रनाथ अधिकारी र संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले संयुक्तरूपमा शिलालेख अनावरण गरेर उद्घाटन गर्नुभयो ।
पोखरा । आइतबारदेखि काठमाण्डौमा शुरु हुने दोश्रो याक एण्ड यती कप भेट्रान्स टेनिस प्रतियोगितामा भाग लिन पोखरेली खेलाडीहरु त्यसतर्फ प्रस्थान गरेका छन् । कास्की जिल्ला टेनिस संघले शनिबार विहान पोखरा रंगशालामा एक समारोहका विच खेलाडीहरुलाई विदाई ग¥यो । पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिकप गोदारले खेलाडीहरुलाई शुभ–कामना सहित खादा लगाएर विदाई गरेका हुन् । एक साता सम्म चल्ने प्रतियोगितामा ३५,४५,५५ र ६५ वर्ष माथि एकल तथा डबल्स इभेण्टमा प्रतिस्पर्धा हुने छ । पोखराका २६ जना खेलाडीले विभिन्न इभेण्टमा प्रतिस्पर्धा गर्ने कास्की जिल्ला टेनिस संघका महासचिव नविन श्रेष्ठले जनाए । प्रतियोगितामा हरेक इभेण्टमा प्रथम हुने खेलाडीले आयोजक याक एण्ड यती होटलको तर्फबाट १ लाख २० हजार बराबरको १ वर्षको मेम्बरसिप कार्ड तथा द्वितिय हुने खेलाडीले ६ महिनाको मेम्बरसिप कार्ड पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको गत संस्करणमा कास्कीका चार खेलाडीले द्वितिय स्थान हाँसिल गरेका थिए ।
सुनसरी । सुनसरीको कोसी गाउँपालिका–१ मा आज दुर्घटनामा परी दुई प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी सप्तकोसी नगरपालिका–३ का प्रहरी हवल्दार दुर्गानन्द चौधरी र सशस्त्र प्रहरी सहायक हवल्दार प्रकाश गोजेवार रहेका छन् । सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा६०प ४४९२ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को२च २६४९ नंको पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो । ठक्करबाट चौधरीको घटनास्थलमा र गोजेवारको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरी श्रम तथा रोजगार मन्त्रालय प्रदेश नं १ मा कार्यरत थिए भने गोजेवार मोरङको धनपतिमा कार्यरत थिए । दुवैको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । ठक्कर दिने सवारीसाधनका चालक कोसी गाउँपालिका–३ का दीपक गोसाईँलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्याङ्जा । यहाँका महिलाले सामूहिक बाख्रापालनमा अग्रसरता देखाएका छन् । स्याङ्जाको वालिङ नगरपालिका ६ भरुवाका महिलाले बाख्रापालन गर्ने उद्देश्यसहित समूह गठन गरी सोहीमार्फत बाख्रापालन थालेका हुन् । स्थानीय दश महिला आवद्ध भई ‘भरुवा महिला बाख्रापालन समूह’ दर्ता गरी गत असारबाट व्यावसायिक बाख्रापालन थालिएको हो । आर्थिक उपार्जनसित जोडिदै आत्मनिर्भर हुन सकिन्छ भनेर गाउँका महिला भेला भई समूह बनाएर व्यवसाय थालेको समूहकी अध्यक्ष तुलसीकुमारी थापाले बताउनुभयो । “आँफूलाई वा परिवारलाई आवश्यक पर्ने सामान्य खर्च जुटाउन श्रीमान्मा मात्रै आश्रित हुनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ भन्ने लाग्यो”, उहाँले भन्नुभयो, “गाउँका इच्छुक महिला दिदीबहिनीको समूहमा कुरा राख्यौँ, छलफल ग¥यौँ र सामूहिक बाख्रापालन थाल्ने निष्कर्षमा पुगेका हौँ ।” गाउँ नजिकै वनजङ्गल हुँदा खासै घाँसको समस्या नहुने र बजारीकरणको समस्या नभएकाले बाख्रापालनलाई व्यावसायिकरुपमा अगाडि बढाउन महिलाहरु सक्रिय भएर लागेका हुन् । “गाउँ नजिकै वनजङ्गल हुँदा पनि घाँसको समस्या छैन”, उहाँले भन्नुभयो, “सामूहिकरुपमा बाख्रा चराउन, औषधि उपचारसहित उत्पादन भएका खसी बोका बिक्रीकालागि पनि सहज हुने विश्वासमा छौं ।” समूहमार्फत अहिले दश घरमा ६ देखि १० वटा बाख्रापालन गरिएको छ । सुरुआती चरणमा थोरै सङ्ख्याबाट व्यवसाय थालेपनि आगामी दिनमा सङ्ख्या बढाउने समूहको योजना रहेको सचिव कृष्णचन थापाले बताउनुभयो । “अब परम्परागत होइन, सामूहिकरुपमा उन्नत जातका बाख्रापालनतर्फ अगाडि बढेका छौँ”, उहाँले भन्नुभयो, “उत्पादन गर्न सके बजारको कुनै समस्या नभएको र तुरुन्तै आम्दानी हुने भएकाले पनि समूहको रोजाइमा बाख्रापालन परेको हो ।” समूह सञ्चालनकालागि बेला बेलामा बैठक तथा छलफल हुने गरेको छ । समूहकै कामको खर्चका लागि मासिकरुपमा एकसय सङ्कलन गरेर सामान्य खर्चहरु चलाउने गरिएको सचिव थापाले बताउनुभयो । पहिले घर घरमा एक दुईवटा बाख्रापालन गरेका यहाँका महिलालाई व्यावसायिकतातर्फ लाग्न वालिङ नगरपालिकाले अभिप्रेरित गरेको हो । नगरपालिकाले बाख्रापालनका लागि महिला समूहलाई आवश्यक तालिम, प्राविधिक सल्लाह तथा परामर्श, औषधि, उन्नत जातको घाँसको बीउ उपलब्ध गराएको पशु विकास शाखा अधिकृत देवकुमारी श्रेष्ठले बताउनुभयो । नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ मा खोर मर्मत तथा निर्माणका लागि जनही १०÷१० हजार नगद र उन्नत जातको एउटा बोयर बोका उपलब्ध गराएको उहाँले बताउनुभयो ।
पोखरा । सार्वजनिक बिदाका दिन आन्तरिक पर्यटक बढेसँगै बेगनासका डुङ्गा व्यवसायीमा आशा जगाएको छ । कास्कीको लेखनाथस्थित बेगनास तालका डुङ्गा व्यवसायीमा बर्षा निख्रिनै लागेसँगै आउँदा दिनमा पर्यटक बढ्न सक्ने भन्दै यस्तो आशा जाग्न थालेको हो । कोरोनाकै कारण साढे दुई वर्षदेखि थला परेको डुङ्गा व्यवसाय असोजबाट केही मात्रामा सुधार हुने आशामा व्यवसायी छन् । बेगनास ताल डुङ्गा व्यवसायी समितिका पूर्वअध्यक्ष ढकनाथ कँडेलले यतिबेला बर्सातको समय भएकै कारण पर्याप्त मात्रामा पर्यटक नआएपछि अव दशैँ–तिहारमा बाहिरी जिल्लाका पर्यटक बढे भने व्यवसायीलाई राहत मिल्ले बताउनुभयो । विशेष गरी शनिबार र बिदाका दिनमा बेगनास ताल वरपर आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ । आन्तरिक पर्यटक नौका विहार र माछाका परिकार खान बेगनास आउने गर्छन । माछाका परिकारका लागि बेगनास ताल वर्षौंदेखि प्रसिद्ध मानिँदै आएको छ । अर्का व्यवसायी शोभाखर कँडेलका अनुसार कोरोना अघि नौका बिहार गर्न स्वदेशी तथा विदेशी पर्यटक खचाखच हुने गरेकोमा अहिले ती दिन सम्झना मात्र रहेको बताउनुहुन्छ । कोरोनाका कारण यहाँ कार्यरत २५ प्रतिशत डुङ्गा व्यवसायी विस्थापित भएको र केही डुङ्गा व्यवसायी विदेश र कतिपयले अन्य व्यवसाय रोजेको डुङ्गा व्यवसायी समितिले जनाएको छ । यति बेला सबै डुङ्गा सञ्चालनमा छैनन्, आलो पालो चलाउने गरिन्छ । पोखराकै दोस्रो ठूलो ताल तीन सय ७३ हेक्टर क्षेत्रफलमा फैलिएको बेगनासमा दुई सय ४९ डुङ्गा सञ्चालनमा रहेको समितिले जनाएको छ । बस्ती नभएकै कारण तालको पानी सफा भएकाले पोखराको फेवामा भन्दा बेगनासमा नै डुङ्गा चढ्न अन्तरिक एवं बाह्य पर्यटक मन पराउछन् । “स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर डुङ्गा सञ्चालन गर्ने गरेका छौँ”, डुङ्गा व्यवसायी राम कोइराला भन्नुहुन्छ । बेगनास तालमा एक घण्टा नौका विहार गरेबापत व्यवसायीले रु छ सय र पाइडलबोटको रु एक हजार लिने गरिएको छ । डुङ्गाबाट ताल वरपरका जङ्गल, बेगनास तथा माझठाना गाउँ, अन्नपूर्ण हिमशृङ्खला, कालिकाको ठूलाकोट, तथा बेगनासको सुन्दरीडाँडाको मनोहर दृश्यावलोकन गर्न सकिन्छ । बेगनास तालमा विसं २०३७ देखि व्यावसायिकरुपमा डुङ्गा सञ्चालन हुँदै आएको हो । पैतीस वर्षदेखि डुङ्गा व्यवसाय सञ्चालन गर्दै आउनुभएका शोभाखर कँडेल भन्नुहुन्छ, “विसं २०५३ अघिसम्म गाउँगाउँमा सडक नखुल्दा यहाँको डुङ्गा व्यवसायका रुपमा मात्र थिएन । कास्कीको बेगनास, माझठाना, सैमराङ, भाचोक, मिजुरे र लमजुङको पर्यटकीय पसगाउँवासीले डुङ्गामार्फत छोटो बाटोको रुपमा यो ताल प्रयोग गर्दै आएका थिए ।
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयका सचिव सुरेश अधिकारीले सरकारले पर्यटन क्षेत्रलाई सधैँ महत्व दिएको बताउनुभएको छ । पदयात्रा पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एशोसिएन अफ नेपाल (टान)को ४४ औँ वार्षिक साधारण सभाबाट निर्वाचित कार्यसमितिको शपथ ग्रहण तथा पदभार हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले निजी क्षेत्रसँगको सहकार्य र सहभागिता बिना पर्यटन क्षेत्रको विकास हुन नसक्ने बताउनुभएको हो । “कोरोना महामारीबाट थलिएको नेपालको पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्नका लागि पर्यटन मन्त्रालयले ७३ बुँदे कार्ययोजना अगाडि सारेको छ, उक्त कार्ययोजनाको कार्यान्वयन गर्नका लागि निजी क्षेत्रको महत्वपूर्ण योगदान आवश्यक रहन्छ”, उहाँले भन्नुभयो । सचिव अधिकारीले पर्यटन क्षेत्रको विकासका लागि व्यापक पूर्वाधार विकासको आवश्यकता रहेको औँल्याउनुभयो । व्यवसायीसँगको छलफलमा पर्यटन मन्त्रालयले सन् २०२३ देखि २०३३ सम्मलाई भ्रमण दशक मनाउने योजना अगाडि सारेको उहाँले उल्लेख गर्नुभयो । पर्वतीय पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानका लागि मन्त्रालय टानसँग सहकार्य गर्न तयार रहेको उहाँको भनाइ थियो । नेपाल पर्यटन वोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबै एकजुट भएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमा नुरु शेर्पाले पर्यटन क्षेत्रको पुनःउत्थान गर्नका लागि निजी क्षेत्र र सरकारबीच सहकार्य हुनुपर्ने धारणा राख्नुभयो । टानका निवर्तमान अध्यक्ष खुमबहादुर सुवेदीले भन्नुभयो, “कोरोनाबाट थलिएको पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्दै बढीभन्दा बढी पर्यटक भित्र्याउका लागि व्यवसायी एकताबद्ध भएर लागौँ ।” टानका नवनिर्वाचित अध्यक्ष नीलहरि बाँस्तोला, महासचिव बाबु सापकोटा, कोषाध्यक्ष पुरुषोत्तम तिमल्सिनाले आम मतदाताले दिएको भोट र विश्वासलाई आफूहरुले गुम्न नदिने बताउनुभयो । उहाँहरुले निर्वाचनमा पराजित साथीहरुको एजेन्डालाई समेत समावेश गरेर आफूहरु अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
बागलुङ । विसं २०७२ यता महाविद्याजन माध्यमिक विद्यालयमा बिहानको प्रार्थना चलेन । साँघुरो र भिरालो जग्गामा रहेको विद्यालय भूकम्पले थिलो थिलो पारेको थियो । बागलुङ नगरपालिका–११ रायडाँडास्थित महाविद्याजन माध्यमिक विद्यालयले पाँच वर्ष विद्यार्थीलाई टिनको छाप्रोमै अध्यापन गरायो । न खेलमैदान न राम्रो शौचालय, टिनले बारेको कक्षाको अध्यापनले विद्यार्थीलाई सास्ती नै सास्ती तर भूकम्पकोे छ वर्षपछि महाविद्याजनको मुहारै फेरिएको छ । अहिले विद्यालयमा भूकम्पले भत्काएको विद्यालय पुनः ठडिएको छ । विद्यालयमा १२ कोठाको विद्यालय विभिन्न चरणमा विभिन्न सरोकारवाला निकायको सहयोगमा पुनःनिर्माण सम्पन्न भएको छ । पाँच वर्ष निकै सास्तीपूर्ण अवस्थामा पठनपाठन भए पनि एक वर्ष यता विद्यालयको पुनःनिर्माण सकिएर पठनपाठनमा सहज भएको विद्यालयका प्रधानाध्यापक रामबहादुर केसीले जानकारी दिनुभयो । “२०५३ सालमा डिसिआरडिसी संस्थाले बनाएको १० कोठे भवन भूकम्पले पूरै क्षति पुर्यो, एक कक्षा देखि १२ कक्षासम्म पढाइ हुने विद्यालयमा जम्मा छकोठे पक्की भवनमात्रै थियो, त्यसैको छतमा बागलुङ नगरपालिकाको केही बजेट र आन्तरिक स्रोतको केही बजेटबाट छतमा टिनको छाप्रो हालेर पढाइ चलाइयो”, प्रधानाध्यापक केसीले भन्नुभयो, “विद्यालय पुनःनिर्माणका कारण प्राङ्गण थिएन, शौचालय थिएन, निकै समस्या थियो, टिनले बारेको कक्षामा होहल्ला हुने समस्या थियो, तर पुनःनिर्माण प्राधिकरणले आठ कोठा, बागलुङ नगरपालिकाको र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चार कोठा गरी १२ कोठा मात्रै विद्यालय भूकम्पपछि पुनःनिर्माण भयो, अहिले विद्यालयमा निकै सहज तरिकाले पठनपाठन भइरहेको छ ।” भौगोलिकरुपमा निकै जटिल स्थानमा रहेको विद्यालय भूकम्पका कारण नराम्ररी थिलो थिलो परेकाले पठनपाठनमा समस्या भए पनि अहिले विद्यालयमा आधुनिक पक्की कोठा, व्यवस्थित खेल मैदानसहित सुविधा सम्पन्न शौचालय निर्माण भएपछि विद्यालयले काँचुली फेरेको छ । विसं २०७२ पछि भूकम्पले विद्यालयमा क्षति पु¥याएपछि टिनको छाप्रोमा विद्यार्थीलाई पठनपाठन गराउँदै आएको विद्यालय पुनःनिर्माणपछि अहिले नयाँ रुप लिएको छ । भिरालो र साँघुरो जग्गामा रहेको विद्यालय भूकम्पपछि गरिएको पुनःनिर्माणले चिटिक्क परेको छ । विसं २०५३ मा निर्माण भएको १० कोठे भए पनि भूकम्पले पूरै क्षति बनाएको थियो । पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाअन्तर्गत रु एक करोड २८ लाखको लागतमा दुई ब्लकमा चार/चार कोठे भवन निर्माण गरिएको छ । अहिले जिल्लामा विद्यालयको पुनःनिर्माण सकिएर प्राधिकरणको कार्यालय नै खारेज भइसकेको छ । यस्तै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट दुई कोठा भवन रु १८ लाखको लागत आर्थिक वर्ष २०७७/७८ मा निर्माण सम्पन्न भएको छ । त्यस्तै बागलुङ नगरपालिकाको सहयोगमा दुई कोठा आर्थिक वर्ष २०७६/७७ सालमा निर्माण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक केसीले बताउनुभयो । विद्यालयमा पाँच वर्षदेखि कम्प्युटर ल्याबको व्यवस्थापन गरी कम्प्युटर शिक्षासमेत प्रदान गरिएको छ । लामो समयको समन्वय र सहकार्यका बीच विद्यालयको पुनःनिर्माण सकिएको बताउँदै बागलुङ नगरपालिका–११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतमले अब विद्यालयको ध्यान शैक्षिक गुणस्तर वृद्धि गर्नमा केन्द्रित भएको बताउनुभयो । “मेरो पहिलो कार्यकालदेखि थालिएको पुनःनिर्माण अहिले दोस्रो कार्यकालमा पूरा भएको छ, अबको ध्यान शैक्षिक गुणस्तरमा केन्द्रित भएको छ, एक शिक्षक एक ल्यापटप कार्यक्रम ल्याइएको छ, प्रविधिको हिसाबले अध्यापन गराउने लक्ष्य छ”, गौतमले भन्नुभयो, “विद्यालयमा प्रार्थना गर्ने स्थान थिएन, अब भौतिक सुधार भयो, शैक्षिक सुधारमा हाम्रो ध्यान जान्छ ।” विद्यालयमा कक्षा १ देखि १२ सम्म एक सय ८० विद्यार्थी छन् । कक्षा ११ र १२ मा शिक्षा र लेखा अध्यापन गराएको विद्यालयमा अहिले शुद्ध खानेपानीको भने अभाव भएको विद्यालयले जनाएको छ । विद्यालयमा तारबारको भने व्यवस्थापन मिलाउन आवश्यक रहेको गौतमले बताउनुभयो । विद्यालयमा तारबार नहुँदा पशु चौपाय विद्यालयमा पस्ने गरेको छ । भौगौलिक रुपमा विकट रहेको उक्त स्थानमा एक घण्टा पैदल हिँडेर विद्यालय आउने विद्यार्थीसमेत छन् ।

