पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोटका लागि आजदेखि गण्डकी प्रदेश स्तरीय प्रतियोगिता सञ्चालन हुँदैछ । प्रतियोगितामा गण्डकीका ११ जिल्लाका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी तीन हजार २२३ जना सहभागी हुँदैछन् । गण्डकी प्रदेशमा आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशले छनोट प्रतियोगिता सञ्चालन गर्न लागेको हो । छनोट प्रतियोगिता पोखरा रङ्गशालामा हुन लागेको हो । प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङका अनुसार प्रदेशस्तरीय प्रतियोगितामा ११ जिल्लाका महिला तथा पुरुष खेलाडी, प्रशिक्षक र व्यवस्थापक सहभागी हुँदैछन् । प्रादेशिक छनोटपछि प्रदेशको टोलीलाई बन्द प्रशिक्षणमा सहभागी गराइनेछ । सदस्य सचिव गुरुङका अनुसार जिल्ला छनोटमा पाँच हजार ६७७ खेलाडी सहभागी भएका थिए । प्रत्येक खेलमा एउटा प्रशिक्षक र एउटा व्यवस्थापक राखिएको छ । प्रादेशिक छनोटमा कास्कीले ३५ वटै खेलमा सहभागिता जनाउने भएको छ भने मनाङले पाँच खेलमा मात्र प्रतिस्पर्धा गर्नेभएको छ । यही भदौ ८ देखी १४ गतेसम्म सञ्चालन भएको जिल्लास्तरीय छनोटबाट प्रादेशिक प्रतियोगिताका लागि खेलाडी छानिएका हुन् । प्रदेश स्तरीय प्रतियोगितका लागि खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी कास्कीबाट छ सय ७३, मुस्ताङबाट एक सय ६६, म्याग्दीबाट दुई सय ८३, बागलुङबाट तीन सय ६१, पर्वतबाट दुई सय २३, स्याङ्जाबाट तीन सय ४७ र तनहुँबाट तीन सय तीन खेलाडी छनोट भएका छन् । यसैगरी लमजुङबाट दुई सय १३, गोरखाबाट दुई सय ३०, मनाङबाट ४६ र नवलपुरबाट तीन सय ७८ खेलाडी छनोट भएका छन् । गण्डकीले नवौँ राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रदर्शनी गरी ३८ वटै खेलमा सहभागिता जनाउने भएको छ । नवौँ राष्ट्रियमा गण्डकीबाट सात सय नौ खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा चार सय चार स्पर्धामा चार सय ११ पुरुष र दुई सय ९८ महिला सहभागी हुन लागेको परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङले जानकारी दिनुभयो । “जिल्ला, प्रदेश छनोट र बन्द प्रशिक्षणसम्म कूल रु सात करोड ८५ लाख खर्च हुने अनुमान छ”, उहाँले भन्नुभयो । राष्ट्रिय खेलकुद परिषद्ले यही भदौको २५ गतेभित्रमा सबै प्रदेशलाई खेलाडी, प्रशिक्षक र व्यवस्थापकको नाम दर्ता गर्न समयसीमा तोकेको छ । नवौँ राष्ट्रिय खेलकुदमा तीन विभागीय, सात प्रदेश र एनआरएनएका खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा तीन सय ९३ स्वर्ण, तीन सय ९३ रजत र ६०० कास्य पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुने बताइएको छ । तयारीका लागि बजेट अपुग भयो: प्रदेश खेलकुदमन्त्री गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले राष्ट्रिय खेलकुदको तयारीका लागि बजेट अपुग भएको बताउनुभएको छ । उहाँले सङ्घीय सरकारले प्रतियोगिताका लागि रु ६० करोड स्वीकृत भएको जानकारी दिए पनि हालसम्म रकम प्राप्त नभएको उल्लेख गर्नुभयो । “रकम अभावले खेलाडीको बन्द प्रशिक्षण सञ्चालनमा कठिनाइ हुने भएको छ”, उहाँले भन्नुभयो । राष्ट्रिय खेलकुदका कतिपय पूर्वाधार बजेट अभावका कारण निर्माण हुन नसकेको मन्त्री गुरुङले गुनासो गर्नुभयो । पुलिसलाई राष्ट्रिय महिला भलिबल उपाधि यसैबीच नेपाल पुलिस क्लबको महिला टोलीले पोखरामा सञ्चालन भएको राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा–१६ लामाचौरमा सम्पन्न २४औँ संस्करणको ‘लामाचौर तीज महोत्सव–२०७९ एवं लामाचौर कप राष्ट्रिय भलिबल’ प्रतियोगिताको बुधबार सम्पन्न फाइनल खेलमा पुलिसले न्यू डायमण्ड एकेडेमीलाई ३–० सेटमा पराजित गर्दै उपाधि चुमेको हो । डिफेन्डिङ च्याम्पियन पुलिसले उपाधिसहित रु एक लाख ५० हजार १११ पुरस्कार प्राप्त ग¥यो । उपविजेता न्यू डायमण्डले रु एक लाख १११ पुरस्कार पाएको छ । फाइनलमा पुलिसले न्यू डायमण्डलाई २५–१५, २५–१४ र २५–८ अङ्कले हराएको हो । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब तृतीय भयो । उसले गण्डकी प्रदेशलाई २५–१७, २५–१७ र २५–१५ अङ्कले पराजित गर्दै रु ५० हजार १११ पुरस्कार हात पा¥यो । प्रतियोगितामा पुलिसकी उषा भण्डारी सर्वोत्कृष्ट खेलाडी र पुलिसकै रुपेश विष्ट उत्कृष्ट प्रशिक्षक घोषित भए । दुवै जनाले जनही रु पाँच हजार पुरस्कार प्राप्त गरे । यसैगरी उत्कृष्ट सेटर न्यू डायमण्डकी प्रगति नाथ, उत्कृष्ट ब्लकर आर्मीकी सोफिया पुन, उत्कृष्ट सर्भर डायमण्डकी सलिना बुढामगर, उत्कृष्ट स्पाइकर पुलिसकी कामना विष्ट र उत्कृष्ट लिब्रो डायमण्डकी सलिना श्रेष्ठ घोषित भइन् । विजयी टोली तथा उत्कृष्ट खेलाडीलाई गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआइजी रामदत्त जोशी, नेपाल भलिबल सङ्घका वरिष्ठ उपाध्यक्ष यामबहादुर गुरुङ, आयोजक नवआदर्श सामुदायिक विकास समाजका अध्यक्ष रेश्मा शेरचन अधिकारीलगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबीच फाइनल खेल हुन बाँकी रहेको प्रतियोगिता संयोजक सुशीलकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
लमजुङ । यहाँ दुई थान भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । क्व्होँलासोथर गाउँपालिका–८ घाम्राङ घर भई हाल वडा नं ९ साल्मे बस्ने २७ वर्षीय यमबहादुर राना मगरलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले बताउनुभयो । उहाँले भन्नुभयो, “अवैधरूपमा लुकाइछिपाइ राखेको तथा स्थानीयवासिन्दालाई धाकधम्की दिने गरेको भन्ने विषेश सूचनाका आधारमा उनलाई मङ्गलबार एक थान लोड गरेको र एक थान अनलोड गरेको बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो । रानामगरलाई लमजुङ जिल्ला अदालतबाट हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा बुधबार सात दिनको म्याद लिई थप अनुसन्धान कार्य गरिरहेको प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, सङ्घ तथा प्रदेशको निर्वाचन नजिकिएसँगै अवैधरूपमा राखिएका हातहतियारबाट हुनसक्ने घटनालाई रोक्न सक्रियता रुपमा लागेका छौँ ।आज बिहान ती अभियुक्तलाई पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको प्रहरीले यसअघि केही महिनाअघि बेँसीसहर नगरपालिका–१ बाट पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको थियो ।
प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोविनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछुतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको उहाँले बताउनुभयो । यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ । सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो । ऋषिपञ्चमीको पृष्ठभूमि महिलाको रजस्वलासित जोडिएको ऋषिपञ्चमीका विषयमा एउटा किंवदन्ती पनि प्रचलित छ । प्राचीन समयमा इन्द्रले विश्वरुपको शिरलाई तीन टुक्रा पारी हत्या गरेका कारण ब्रह्म हत्याको पाप भोग्नुपर्यो । यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाउनुभयो । इन्द्रको ब्रह्म हत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराई बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फयाँकिदिनुभयो । यसैकारण उब्जनी नहुने उर्भरभूमि, वृक्षबाट निस्कने खोटो, पानीमा निस्कने बुदबुद फेन अर्थात् फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहेको आध्यात्मिक पुस्तक लेखनमा सक्रिय पण्डित मधुसुदन सुवेदीले जानकारी दिनुभयो । रजस्वला भएका बेलामा अरुलाई छोइछाई गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने र जानीनजानी छोइछाई भएमा आजको दिनमा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रहेको हो । रज भनेको फोहर हो जुन महिलामा मासिक धर्मका समयमा निस्कन्छ । यसबाट बच्नु स्वास्थ्यका लागि राम्रो हुने भएकाले अध्ययन अनुसन्धानबाट प्रमाणित भएपछि समाजमा लागू गरिएको विश्वास गरिन्छ । यसका विषयमा आधुनिक विज्ञान र स्वास्थ्यका दृष्टिकोणबाट समेत अध्ययन गरी सार्वजनिक गरिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । यस अवसरमा आज काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्छ ।
बझाङ । गत वर्ष असोजमा बझाङी भाषामा चलचित्र बनाउने एक समूहले बझाङ सदरमुकाम चैनपुरको चौराहामा जयपृथ्वीबहादुर सिंहको सालिक निर्माण गर्यो । चलचित्र बनाउने छायाङ्कन टोलीले कथामा जयपृथ्वीबहादुर सिंहको बझाङ चिनाउने अभियान आएपछि चार दिन लगाएर सालिक बनाएका थिए । मध्यराति नै सालिक बनाएर सुटिङ गरेपश्चात् जयपृथ्वी नगरपालिकाले सालिकको संरक्षण गर्ने जिम्मेवारी लियो । तत्कालीन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मङ्गलबहादुर शाहीले कलाकारले सालिक निर्माण गरेकोमा धन्यवाद दिँदै त्यसको संरक्षण गर्ने बचनसमेत दिनुभएको थियो । तर छ महिना नपुग्दै सालिक भत्कियो । गएको चैत तेस्रो साता चैनपुरको चौराहामा राखिएको सालिकको टाउको भुइँमा र बाँकी भाग सालिकमै देखियो । स्थानीय पसलेका अनुसार ‘जँड्याहा’ले सालिक तोडफोड गरेका हुन् । “जाँड खाएर होहल्ला गर्दै आउँछन्”, एक पसलले भन्नुभयो, “गाली गलौज गर्दै सालिकमा लात्ती हान्छन् । पहिल्यै भत्काएको सालिकको टाउको खसिहाल्छ ।” सालिक संरक्षणको जिम्मेवारी लिएको जयपृथ्वी नगरपालिका अहिले भने अनभिज्ञ जस्तै छ । प्रमुख प्रशासकीय अधिकृत अमरराज जोशी जयपृथ्वीको सालिकको बारेमा आफूलाई जानकारी नभएको बताउनुहुन्छ । “सालिक कुन ठाउँमा राखिएको छ ?”, उहाँले प्रश्न गर्दै भन्नुभयो, “म त भरखर आएको हुँ, सालिक चैनपुर बजारमा राखिएको भन्ने थाहै छैन । अब बुझ्नुपर्छ ।” जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजालले चलचित्र बनाउने टोलीले काम चलाउ बनाएको र अब नगरपालिकाले ठूलो सालिक बनाउने बताउनुभयो । “गत वर्ष एक टोलीले काम चलाउ मात्रै बनाएको हो । काठको भाग हुँदा कसले भत्कायो भन्ने थाहा भएन । अब नगरपालिकाले दिगो समयसम्म टिक्ने गरी सालिक बनाउनेछ”, उहाँले भन्नुभयो । विभूति घोषणापछि सालिक बनाउने जुर्मुराउँदै गएको असार ६ गते सरकारले बझाङी राजा जयपृथ्वीबहादुर सिंहलाई १८औँ राष्ट्रिय विभूति घोषणा गर्यो । विभूति घोषणा गरेपछि बझाङमा जयपृथ्वीको नामबाट जोडिएका सबै निकायले सिंहको सालिक बनाउने तयारी गरेका छन् । जयपृथ्वीको नामबाट सडक, नगरपालिका, क्याम्पस, सङ्घ संस्था, निजी स्वामित्वका कम्पनीले जयपृथ्वीको नामबाट सालिक बनाउन जोड दिइरहेका छन् । बझाङ पत्रकार महासङ्घले पनि आफ्नो पहलमा मानवताको वकालत गर्ने जयपृथ्वीको सालिक बनाउन अन्य निकायले समन्वय गर्ने जनाएको छ । बझाङका पत्रकार वसन्तप्रताप सिंहले विश्वमै मानवताको पक्षमा वकालत गर्ने र नेपालको पहिलो अखबार गोरखापत्रको पहिलो व्यवस्थापकीय जिम्मेवारी सम्हाल्नुभएका जयपृथ्वीको सालिक बनाउन पत्रकार महासङ्घले नै पहल गर्नुपर्ने बताउनुभयो । “अन्तर्राष्ट्रियस्तरमै मानवतावादको स्थान दिलाउने जयपृथ्वी नै हुनुहुन्थ्यो”, इतिहासका जानकार तथा जयपृथ्वी नगरपालिकाका नगरप्रमुख बजालले भन्नुभयो, “हाम्रो लामो प्रयासपछि सरकारले विभूति घोषणा गरेको छ । अब उहाँलाई सबै जनतामाझ चिनाउनका लागि पनि सालिक बनाउनुपर्छ ।” उहाँले जयपृथ्वीको सालिक बनाएर पार्क नै बनाउने तयारी भएको बताउनुभयो । “नगरपालिकाले चैनपुर बजारमै ठूलो सालिक बनाउनेछ”, उहाँले भन्नुभयो, “विश्वलाई मानवतावादको पाठ सिकाउने सिंहको गृहजिल्ला उहाँकै नामबाट पर्यटकीय जिल्ला हुनेछ ।” बझाङमा पनि अन्तर्राष्ट्रिय विभूति घोषणा गर्न माग नेपाल प्रज्ञा प्रतिष्ठानले जयपृथ्वीबहादुर सिंहलाई अन्तर्राष्ट्रिय विभूतिका रूपमा घोषणा गर्न माग गरेसँगै बझाङमा पनि जयपृथ्वीलाई अन्तर्राष्ट्रिय विभूति घोषणा गर्न आवाज उठिरहेको छ । “विश्वका विभिन्न मुलुकमा जयपृथ्वीले मानवताको पक्षमा वकालत नगरेको भए आज हिंसात्मक मुलुक धेरै हुन्थे”, खप्तडछान्ना गाउँपालिका–५ का कुलप्रसाद जोशी भन्नुहुन्छ, “विलासी जीवन हुँदाहुँदै पनि सर्वसाधारण सबैको हकहितका लागि विश्वमा नै शान्ति छर्ने काम गर्नुभयो । त्यसैले सरकारले ढिलाइ नगरी सिंहलाई अन्तर्राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ ।” नेपाल प्रज्ञा प्रतिष्ठानले जयपृथ्वीको १४६औँ जन्मजयन्तीका अवसरमा ‘राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंह र मानवतावाद’ विषयक प्रवचन गोष्ठीमा अन्तर्राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको थियो । मानवतावाद र जयपृथ्वी फाउन्डेसनका अध्यक्ष मीनबहादुर सिंहले जयपृथ्वीलाई अन्तर्राष्ट्रिय विभूतिका रूपमा घोषणा गर्न संयुक्त राष्ट्रसङ्घमा प्रस्ताव गर्ने तयारी भएको बताउनुभयो । अध्यक्ष मीनबहादुरका अनुसार विश्व शान्तिलाई प्रवद्र्धन गर्न जयपृथ्वीलाई अन्तर्राष्ट्रिय विभूतिका रूपमा घोषणा गराउन परराष्ट्र मन्त्रालयको सहयोगमा प्रक्रिया अघि बढेको छ ।
कञ्चनपुर । नेपाली नागरिक स्वास्थ्योपचार, चाडपर्वमा किनमेल गर्न र रोजगारीका लागि भारत जाने गर्दछन् । पछिल्लो समय कञ्चनपुरको दोधारा चाँदनीका बासिन्दा भने मेलापात गर्न र गाईवस्तुलाई घाँस र स्याउला लिन पनि भारतमा जाने गरेका छन् । दोधारा चाँदनी नगरपालिका–९ का सुन्तला रावतले गाईवस्तुको आहाराका लागि भारतबाट मेलापात गरेको २० वर्षभन्दा बढी भइसकेको छ । उहाँ मेलापातका लागि भारतीय बस्ती कलौनासम्म पुग्नुहुन्छ । “दोधारामा स्याउला पाइँदैन गाईभैँसी र बाख्राका लागि घाँस र स्याउला लिन भारतको कलौना भन्ने ठाउँमा जाने गर्छौँ”, उहाँले भन्नुभयो, “उताका ९भारतका० मानिस एकदम सहयोगी छन् मैले धेरै वर्ष भयो त्यहाँ जाने गरेको ।” सीमानाकामा रहेका दुई देशबीचका नागरिकको आपसी सम्बन्धका कारण यो सम्भव भएको जनाइएको छ । उहाँका अनुसार दोधाराका थुप्रै मानिस भारतीय गाउँ कलौनामा मेलापात जाने गरेका छन् । यहाँका महिला करिब तीन किलोमिटरको बाटो हिँडेर भारतीय बस्ती कलौना पुग्ने गरेको स्थानीय रञ्जु रावतले जानकारी दिनुभयो । “रोजगारी केही छैन बाख्रापालन गरेकी छु बाख्राको आहारका लागि मेलापात जान्छु”, उहाँले भन्नुभयो, “यहाँ बाख्राका लागि स्याउला पाइँदैन हामी त सधैँ उतैबाट ल्याउँछाँै ।” दोधारा चाँदनीको कुतियाकवरमा विसं २०२२ देखि बस्दै आउनुभएको टेकबहादुर सुनारले अहिलेसम्म यहाँ दुई देशबीचका नागरिकबीच वैमनस्यताका घटना नभएको बताउँछन् । उहाँका अनुसार यहाँका बासिन्दाको नेपालसँग सम्र्पक कम नै थियो । विसं २०६५ मा जोगबुढा नदीमा झोलुङ्गे पुल बनेपछि मात्रै नेपालसँग सम्र्पक जोडिएको हो । “मेलापात, बिहे, व्रतबन्धलगायतका कार्यक्रममा पनि हामी आउने– जाने गर्छौँ”, उहाँले भन्नुभयो, “हामीले पनि बोलाउँछाँै उहाँहरूले पनि बोलाउनुहुन्छ ।” उहाँले यहाँका बासिन्दा सीमाका प्रहरेदार भएको बताउनुभयो । स्थानीय वसन्ती सुनारले दुई देशका नागरिकको भन्दा पनि भाइचारको सम्बन्ध रहेको सुनाउनुभयो । “हाम्रो सम्बन्ध एकदमै राम्रो छ कहिले उहाँहरू सहयोग माग्न यहाँ आउँछन्, कहिले हामी सहयोग माग्न त्यहाँ पुग्छौँ”, उहाँले भन्नुभयो, “सीमावर्ती भारतीय नागरिकसँग सदियौँदेखि भाइचाराको सम्बन्ध छ ।” महाकालीपारिको गाउँ भनेर चिनिने दोधारा चादँनी नगरपालिकाको उत्तर, पश्चिम र दक्षिणमा भारतसँगको खुला सिमाना रहेको छ । यहाँका औसत परिवारको आम्दानीको श्रोत नै कृषि व्यवसाय रहेको छ ।
काठमाडौं । विगत चार महिनादेखि टेकु स्टेसनमा थुपारिएको सबै फोहरको अन्तिम व्यवस्थापनको काम आगामी दुई दिनभित्र सकिने भएको छ । सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले विगतमा महानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, स्थानीयवासीलाई स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्थाजस्ता माग पूरा नगरेको भन्दै कहिले फोहर बोकेको गाडी तोडफोड र कहिले सडकनै अवरोध गरेपछि विगत चार महिनादेखि काठमाडौँ उपत्यकाको फोहर टेकुमा अल्पकालीन व्यवस्थापन गरिएको थियो । उपत्यकाको सडक छेउछाउमा पनि लामो समयदेखि फोहरको डङ्गुर थियो । उपत्यकाको फोहर व्यवस्थापनका सम्बन्धमा यही भदौ पहिलो साता काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीबीच भएको चार बुँदे सहमतिपछि भदौ पहिलो सातादेखि फोहर व्यवस्थापन कार्य हुन थालेको हो । सहमतिपछि यसअघि सडकमा थुपारिएको फोहर व्यवस्थापनको काम सकिएको छ । काठमाडौँ महानगरपालिका वातारण विभाग प्रमुख सरिता राईले भन्नुभयो,“आगमी दुई दिनमा यसअघि ट्रान्सफरस्टेसनमा थुपारिएको सबै फोहरको अन्तिम व्यवस्थापनको काम हुन्छ ।” गत वैशाख १२ गतेदेखि टेकुमा थुपारिएको फोहरको व्यवस्थापन हुन सकेको थिएन । स्थानीयवासीको अवरोधकैबीच विगत चार महिनाको अवधिमा बढीमा १५ दिन फोहरको व्यवस्थापन भए पनि अन्य दिन एक गाडी पनि फोहरको व्यवस्थापन हुन नसकेको कामपाको भनाइ छ । यसअघिको फोहरसमेत व्यवस्थापन गर्नुपर्ने भएकाले अहिले साविकमा भन्दा बढी दैनिक तीन सय गाडी फोहर अन्तिम व्यवस्थापनको लागि बञ्चरेडाँडा पुग्ने गरेका छन् । फोहर व्यवस्थापनको काम कतै बाँकी भए वातावरण विभागमा जानकारी दिन पनि प्रमुख राईले नागरिकलाई आग्रह गर्नुभएको छ । हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर उत्पादन हुने गरेको छ । त्यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन रहेको छ । यसअघि पनि लामो समय फोहर जम्मा भएर बसेको हुनाले अहिले दैनिक तीन सय गाडीले अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लाने गरेका छन् । हाल कामपासहित अन्य १७ स्थानीय तहको फोहरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ । पेचिलो सवाल बन्दै आएको सङ्घीय राजधानी काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको सवालमा कामपाले उपत्यकामानै कुहिने फोहर व्यवस्थापन गर्न भन्दै स्थान पहिचानको काम गरिरहेको बताएको छ । सम्भावित केही स्थान पहिचान गरेपनि स्थानीय त्यस विषयमा सकाररात्मक हुन नसक्दा थप काम भने अघि बढ्न नसकेको गुनासो कामपाको छ ।
मुगु । मुगुको छायानाथ रारा नगरपालिका–४ ताल्चामा रहेको एक मात्र रारा विमानस्थलको टर्मिनल टावर १९ वर्षदेखि काठको टहरामै रहेको छ । विसं २०६० मा कच्ची धावन मार्गमार्फत जहाज उडान र अवतरण सुरु गरिएको भए पनि अझै सुविधा युक्त टर्मिनल भवन निर्माण हुन सकेको छैन । विसं २०६० वैशाख ३ गते पहिलो पटक रारा विमानस्थल ताल्चामा परीक्षण उडान गरिएको थियो । विगत १९ वर्षदेखि निरन्तर उडान र अवतरण भइरहे पनि सामान्य हावा लाग्दा काठको भवन हल्लिने गरेको बताइएको छ । जोखिम मोलेर कर्मचारी टहरामै बसेर काम गर्न बाध्य भएका छन् । यात्रु विश्राम कक्ष पनि नहुँदा भुइँमा नै बस्ने गरेका छन् । सुविधायुक्त टर्मिनल टावरको निर्माण जारी छ । ठेकेदारको ढिलासुस्तीका कारण काम सम्पन्न हुन अझै समय लाग्ने अवस्था छ । विसं २०७२ मा पाँच सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावन मार्ग कालोपत्र गरे पनि मुख्य र संवेदनशील टावर टर्मिनल भवन नबन्दा समस्यामा छ । टर्मिनल टावर निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणले दुई वर्षअघि रु नौ करोड विनियोजन गरी ओमबुद्ध इन्टरनेशनल कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरेको थियो । साढे दुई वर्ष बित्दासमेत मुस्किलले ५० प्रतिशत काम मात्र पूरा भएको नागरिक उड्डयन कार्यालय मुगुका प्रमुख सन्तोषकुमार गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार भौगोलिक विकटताका कारण समयमा सामान ढुवानी नहुनु र कोरोनाका कारण निर्माणमा अवरोध उत्पन्न हुँदा काम रोकियो । अहिले एक वर्ष म्याद पुनः थपिएको छ । यो म्यादमा पनि निर्माण सकिने सम्भावना कम छ । विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा पनि सुरक्षाको कुनै प्रबन्ध छैन । विमानस्थल वरपर घेरबार हुनुपर्ने भए पनि एउटा सामान्य तारलेसम्म बारिएको छैन । विमानस्थलको चारैतिर मानिस, पशु, गाईगोरु, कुकुर, स्याल हिँड्ने बाटो मात्र रहेको छ ।
मोरङ । प्रदेश सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले चार वर्षमा दुई सय १७ दशमलव ७२ किलोमीटर कालोपत्र सडकको निर्माण गरेको छ । मन्त्रालयका सूचना अधिकारी इञ्जिनीयर ललित चौधरीले प्रदेश नं १ का १४ जिल्लामा विगत चार वर्षमा उक्त सडक निर्माण गरेको जानकारी दिनुभयो । प्रदेश सरकार स्थापनाको चार वर्षमा आर्थिक वर्ष २०७५/७६ मा २६ दशमलव १८ किमी, २०७६/७७ मा ५२ दशमलव २१ किमी, २०७७/७८ मा ४० दशमलव ६१ किलोमिटर र आव २०७८/७९ मा ९८ दशमलव ७२ किलोमिटर कालोपत्र निर्माण सम्पन्न भएको हो । सडक मर्मत र ग्राभेल यसैगरी सोही अवधिमा आठ सय १९ दशमलव ८२ किमी सडक मर्मत गरिएको सूचना अधिकारी चौधरीले बताउनुभयो । जसमा आर्थिक वर्ष २०७५/७६ मा छ सय एक किलोमिटर, २०७६/७७ मा ६१ दशमलव ५४ किमी, २०७७/७८ मा ५१ दशमलव १३ किमी र आव २०७८/७९ मा एक सय छ दशमलव १६ किमी सडक मर्मत गरिएको हो । सोही अवधिमा आठ सय ९५ दशमलव ७५ किलोमिटर सडक ग्राभेल गरिएको छ । जसमा आर्थिक वर्ष २०७५/७६ मा एक सय २८ दशमलव नौ किलोमिटर, २०७६/७७ मा दुई सय ११ दशमलव ३५ किलोमिटर, २०७७/७८ मा एक सय ७५ दशमलव ३१ किलोमिटर र आव २०७८/७९ मा तीन सय ८० दशमलव १९ किलोमिटर सडक ग्राभेल गरिएको छ । कच्ची सडक र ट्र्याक यस्तै, सोही अवधिमा आठ सय ५९ दशमलव ३७ किलोमिटर कच्ची सडक निर्माण गरिएको छ । जसअन्तर्गत आर्थिक वर्ष २०७५/७६ मा एक सय ८१ दशमलव तीन किलोमिटर, २०७६/७७ मा चार सय ७७ दशमलव ८२ किलोमिटर, २०७७/७८ मा एक सय नौ दशमलव १९ किलोमिटर र २०७८/ ७९ मा ९१ दशमलव सात किमी कच्ची सडक निर्माण गरिएको छ । मन्त्रालयले उक्त अवधिमा पहाडी क्षेत्रमा दुई सय ५४ दशमलव ३६ किलोमिटर सडकको ट्र्याक खोलिसकेको छ । जसअन्तर्गत आर्थिक वर्ष २०७५/७६ मा सात दशमलव पाँच किमी, २०७६/७७ मा एक सय ४२ दशमलव ५९ किलोमिटर, २०७७/७८ मा ५५ दशमलव १९ किलोमिटर र आव २०७८/७९ मा ४९ दशमलव आठ किलोमिटर सडकको ट्र्याक खोलिएको सूचना अधिकारी चौधरीले जानकारी दिनुभयो । सोही अवधिमा आठ दशमलव ४६ किलोमिटर सडक ढलान गर्ने कार्य सम्पन्न गर्नुका साथै १६ दशमलव ८८ किमी सडक सोलिङ गरिएको छ । मोटरेवल र झोलुङ्गे पुल मन्त्रालयले सोही अवधिमा प्रदेशमा ५५ वटा मोटरेवल पुलको निर्माण गरेको छ । जसमा आर्थिक वर्ष २०७५/७६ मा १०, २०७६/७७ मा १२, २०७७/७८ मा आठ र आव २०७८/७९ मा २५ पुल निर्माण सम्पन्न गरेको हो । सोही अवधिमा प्रदेशभरिमा एक सय पाँच वटा झोलुङ्गे पुल निर्माण गरेको छ । जसअन्तर्गत आर्थिक वर्ष २०७५/७६ मा सात, २०७६/७७ मा २९, २०७७/७८ मा ४४ र आव २०७८/७९ मा २५ वटा झोलङ्गे पुल निर्माण भएको हो ।
काठमाडौं । सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा नजिकिएसँगै भारतीय सीमा नाकाबाट स्वदेश फर्किनेको भीड बढेको छ । यस प्रदेशका पहाडी क्षेत्रको मुख्य नाकाका रुपमा रहेको झुलाघाटबाट स्वदेश फर्किनेको सङ्ख्यामा वृद्धि भएको हो । हाल दैनिक यो नाका भएर सयौं स्वदेश भित्रिरहेका सीमा प्रहरी चौकी झुलाघाटका वरिष्ठ हवल्दार डम्बरसिंह कार्कीले जानकारी दिनुभयो । अन्य समयमा खासै चहलपहल नहुने यस नाकामा गौरा नजिकिएसँगै भीड बढेको छ । उहाँले भन्नुभयो, “अन्य समय खासै चहलपहल नहुने भए पनि गौरा नजिकिएसँगै भीडभाड बढेको छ, सीमा क्षेत्रका नेपाली नागरिक किनमेलका लागि पनि भारतको झुलाघाट जाने भएकाले पनि थप चहलपहल बढेको छ ।” रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका नेपाली अहिले गौरा पर्व मनाउन घर फर्किरहेका हुन् । स्वदेश फर्किनेमा बैतडी, बझाङ, डडेल्धुरा, बाजुरा, अछाम, डोटीलगायत मुगु र हुम्लाका नागरिक रहेका छन् । घर परिवार पाल्नका लागि भारतको विभिन्न सहरमा रोजगारी गर्ने नेपाली अहिले गौरा पर्व मनाउन घर फर्किरहेका छन् । भारतको पिथौरागढ, बरेली, देहरादुन, नयाँ दिल्ली, राजस्थान, हरिद्वारलगायत विभिन्न सहरमा यहाँका नागरिक कामका लागि जाने गरेका छन् ।

