पोखरा:   बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ ।  तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...

  काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । साँझसम्म परीक्षाको नतिजा सार्वजनिक गर्ने गरी बोर्डले तयारी गरेको बोर्ड सदस्यले बताए ।   बोर्डले नतिजा सार्वजनिक गर्न साढे तीन बजे बोर्ड बैठक बोलाएको छ । गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो । कक्षा १२ को परीक्षामा देशभरबाट चार लाख १० हजारको हारहारीमा विद्यार्थी सहभागि भएका थिए ।

  सिन्धुली ।   ‘सुनको चुरा, औंठी नि सुनकै छ’  तीज गीत घन्किरहेको थियो, सिन्धुलीमाढीस्थित सीताराम पार्टी प्यालेसमा ।     कार्यक्रम हलमा टाँगिएको थियो, एउटा व्यानर । व्यानरमा लेखिएको थियो ‘अपाङ्गता भएका महिलाहरुको लागि शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम ।’    कार्यक्रममा सहभागी थिए, सुनाइ, बोलाइ र हिँडाइसम्बन्धी समस्या भएका महिलाहरु । श्रवण क्षमता कम भएका महिलाहरु घन्किरहेको गीतमा झुम्न सकेका थिएनन् । कारण थियो, गीत बजेको पत्तो नहुनु ।    हिँडाइसम्बन्धी समस्या भएका केही महिलाहरु ह्विलचियरबाट उठ्न सकेका थिएनन् । एकापट्टीको खुट्टा मात्र गुमाएकी दिपा कार्यक्रम हलको कुर्सीमा बसेर सबै सार्थीहरुलाई नचाउन उस्काइरहनु भएको थियो ।  घन्किरहेको गीतको शब्द, सुनको चुरा औंठी नि सुनकै छ,                            माया जालमा परेकी क्या हो म,                          दिनरात झझल्को उनकै छ ।                         ‘हे, मनको कुरा गा¥हो भो खोल्न,                          क्यारी भनु थाल्यो नि मन पोल्न,                          सुनको चुरा औंठी नि सुनकै छ ।                          माया जालमा परेकी क्या हो म,                           दिनरात झझल्को उनकै छ ।’    यस गीतले तान्यो, कमलामाई नगरपालिका–७ माझिटारकी ह्विलचियर प्रयोगकर्ता गोमादेवी कार्की (चमलादेवी) लाई । गायत्री थापाको शब्द, उहाँकै सङ्गीत । राजमजी खाण र देवी घर्तीको स्वर ठूलो आवाजमा बजिरहँदा उहाँलाई यो हरफले मन छोयो । आफ्नै कथा गीतमा भनिदिए झैँ लाग्यो ।  ‘शौचालय जाँदा लडेर मेरुदण्ड भाँचिएदेखि हास्न सकेको छैन ।    कम्मरमुनिको अङ्ग चल्दैन, नाच्नु कसरी ?’ आँखा आँसुले भरियो । उहाँ, निःशब्द हुनुभयो । केही समयपछि तीजको रमझममा रमाउने उपाय बुन्न थाल्नु भयो । दुःख, पीडालाई बेवास्ता गरेर हाँस्ने जाँगर बढाउनुभयो । सुनको चुरा नभएपनि औँठी र रिङ सुनकै छ भनेर ठट्यौली गर्न थाल्नु भयो । ह्विलचियरमा बसेरै पाखुरा भाँचीभाँची नाच्न शुरु गर्नुभयो । अन्य साथीसङ्गीले ताली पिटेर साथ दिए । कार्यक्रमस्थल हाँसोले भरियो । सबैको अनुहारमा उमङ्गता छायो ।    फराकिलो हृदय मात्र होइन् फरासिलो स्वभावले भरिपूर्ण भएकी चमलादेवीलार्ई गीतले भने झैँ मनको कुरा खोल्न गार्हो  भएपनि तीजको कुरा बोल्न केहिले छेकेन । उमेरले ६९ वर्ष पार गर्नै लाग्दा श्रीस्वस्थानीको महिनामा जन्मेको भएर आफ्नो नाम गोमा कार्की राखेदेखि ४० वर्ष कटेपछि रमाउन नपाएको तीजका कुरा खुलेर सुनाउनुभयो ।    ‘नारी जातिको पर्व हो तीज । साथीसङ्गी जम्मा भएर रातो सारी लर्खाउँदै बारुले कम्मर मर्काएर पाउजु बजाउँदै छमछमी नाचिन्थ्यो,’ अपाङ्गता हुनुअघिको तीजलाई सम्झिनु भयो । झन्डै २५ वर्षपछि सार्थीसङ्गीसँग तीज मनाउन पाएको खुशियालीले उहाँलाई फेरी एक्छिन भावुक बनायो ।   ‘तीजको व्रत बस्ने अघिल्लो दिन रातको १२ बजेसम्म दर खाएर बस्थ्यौँ । भोलिपल्ट तीन सय जना महिला जम्मा भएर खोलामा नुहाउन जान्थ्यौ । बाटोबाटो नाँच्दै शिव मन्दिर पूजा गर्न पुग्थ्यौँ । नाच्दैनाच्दै घर फर्किन्थ्यौँ । गाउँमा सबैभन्दा फराकिलो आँगन जसको घरमा छ, उसैकोमा दिउँसो सामूहिक पूजा लगाइन्थ्यो । रातभर जाग्राम बस्थ्यौँ । त्यो बेलाको जस्तो रमाइलो अहिलेको तीजमा कहाँ छ र छोरी रु,’ उहाँले सुनाउनु भयो ।     उबेला मनाइने तीज र यो बेला बनाउँदै गरिएको तीजबीचको फरक तुलना गर्दाका क्रममा चमलादेवीको अगाडि खीर, अचारलगायतका परिकार आयो । पहिलो चम्चा खीर निल्दै उहाँले भन्नुभयो, ‘मीठो रहेछ । यसरी पार्टी प्यालेसमा आएर दर खाएको आजै हो ।’       उहाँ मात्र कहाँ हो र ? उहाँकै छेउमा रहेका तथा अपाङ्गता भएका महिलाहले पनि आफूहरुको पहिलो अनुभव भएको सुनाए । यसरी, उस्तैउस्ता र पीडा मिल्दाजुल्दा भएका साथीसङ्गीसँग बसेर सुविधायुक्त ठाउँमा तीज मनाउन पाउनु आफूहरुका लागि हर्षको कुरा भएको सुस्त श्रवण शक्ति भएकी सुनिता दाहालले बताउनुभयो ।    अपाङ्गता भएका महिलाको लागि शुभकामना आदाप्रदान तथा दर खाने कार्यक्रम सिन्धुली जिल्लामै पहिलोपटक भएको सिन्धुली अपाङ्ग महिला सङ्घ, सिन्धुलीकी अध्यक्ष दिलकुमारी देवकोटा (दिपा) बताउनुहुन्छ । ‘महिलालाई वर्षेनी दर खान स्थानीय सरकारले सरकारी सम्पति छुट्याउने गर्दछ । अपाङ्गगता भएका महिलाहरुलाई समेटिँदैन । सपाङ्गता भएका महिलाहरु कार्यालय, गाउँ तथा पार्टी प्यालेसमा मनाउँछन्,’ उहाँले भन्नुभयो, ‘सपाङ्गता भएका महिलालाई जस्तै अपाङ्गगता भएका महिलाहलाई पनि तीज मनाउने रहर हुन्छ । त्यसैले यस वर्ष अपाङ्गगता भएका महिलाका लागि छुट्टै कार्यक्रमको आयोजना गर्नु परेको हो ।’   अपाङ्गगता भएका महिलालाई सरकारी कार्यालयलेसम्म अपाङ्गगतासम्बन्धि बाहेकका कार्यक्रममा नसमेटेको उहाँको दुखेसो छ । कमलामाई नगरपालिकाले भने तीज मनाउन आर्थिक सहयोग गरेको आयोजकसमेत रहेका सिन्धुली अपाङ्ग महिला सङ्घ, सिन्धुलीले जनाएको छ । 

लेखनाथ : रोजगारीकै लागि खाडी मुलुकमा नपुगेका होइनन् उनी । परिवार पाल्नकै लागि दश वर्ष त खाडी मुलुकमै पसिना बगाए । उनीसँग बास बाहेक गरी खाने एक टुक्रा पनि जमिन छैन । चार वर्षकै उमेर छँदा उनका बुबाको मृत्यु भयो । परिवार पाल्ने मूल व्यक्तिकै मृत्युले उनको परिवारमा विचलन मात्र आएन दैनिकी समेत कष्टपूर्ण बन्यो ।    चार वर्षमा टुहुरो बनेका प्रकाशलाई उनकी आमाले गाउँघरमा खेतालो गएर ल्याएको ज्यालाले हुर्काइन् । आमाको दुःख, कष्ट उनले सानै उमेरमा देख्दै र भोग्दै आए । आमाको दुःख बाँड्नु पर्छ भन्ने सोच उनीमा आयो । पोखरा–२६ लेखनाथ स्थित सिलिङ्गे निवासी ४२ वर्षीय प्रकाश विश्वकर्मा बिहान बेलुका हातमुख जोर्न १२ वर्षकै उमेरमा गाउँलेको हलो मात्रै जोतेनन् उनले पोखरा नदिपुरको एक भाँडा पसलेकहाँ तामाका भाँडा बनाउने कामसमेत गरे । तामाका भाँडा बनाउँदाको पैसाले नपुगेर विदेशमा बढी कमाइन्छ कि भनेर उनी तामाका भाँडा बनाउँदा बनाउँदै विदेश हानिए ।    दुई कक्षासम्म अध्ययन गरेका प्रकाशले पछिल्ला दश वर्ष त खाडी मुलुकमै पसिना बगाए । विदेशमा पाउने मासिक ३० हजार रुपैयाँले परिवार पालिने काम मात्र भएपछि उनले सोचविचार गरे ‘सीप भएको मानिस किन बिदेशमा बसिराख्नु यति पैसा त नेपालमै कमाइन्छ’ । परिवारसँग पनि सँगै बस्न पाइने भन्दै नेपाल फर्के उनी ।   पत्नी, एक छोरा र एक छोरी भएका प्रकाशले एक वर्षयता घर नजिकै लेखनाथको कालिका चोकमा आरन व्यवसाय सुरु गरेका छन् । मासिक रु छ हजार भाडा तिर्ने गरी जग्गा भाडामा लिएर उनले आरन व्यवसाय सुरु गरेका छन् ।    “जिजु बाजेको पालादेखि सञ्चालन हुँदै आएको आरन व्यवसाय युवाले अँगाल्न छाडिसकेकाले मैले यही पेशामा भविष्य देखेर रोजेँ”, प्रकाशले राससलाई भने, “हाम्रा बाउ बाजेले पनि यही पेशा गरे अहिलेका युवा सबैले छाडे ।” उनी यही पेशाबाट विदेशमा कमाइने पैसा घरै बसेर आर्जन गर्न सकिन्छ र भविष्य पनि छ भन्दै दत्तचित्त भएर आरन व्यवसायमा लागेका छन् ।     उनको आरन व्यवसाय एक वर्षदेखि राम्रो चलेको छ । उनको काममा उनकी पत्नीले पनि सघाउँछिन् । छोरा कक्षा ११ र छोरी कक्षा सातमा पढ्दै छन् । “मैले कालिका चोकमा आरन व्यवसाय सुरु गरेको छु, वरपर आरन व्यवसाय नभएकै कारण दिनहुँ आरनमा ग्राहकको भीड लाग्छ”, प्रकाशले भने ।    पोखराको लेखनाथ स्थित वडा नं २६, २७, २९, १४, १५ का मानिसहरु हँसिया, दाउ, बन्चरो, छिनो, फाली, गैँची, कुटो, कोदालो, तामा तथा सिलोट भाँडा तथा फलामका हतियारमा धार लगाउन आउने गर्छन् । प्रकाशले भने विदेशमा प्राप्त हुने पारिश्रमिक यहाँ सजिलै उठेको छ । “मासिक ३०–४० हजार कमाइ हुन्छ, त्यसले जिनतेन परिवार  पाल्ने काम भएको छ, यो पेशा कठिन छ, कामकै सिलसिलामा कहिले आगोले शरीरका अङ्गहरु पोलिन्छन् कहिले हात खुट्टा काटिन्छ, तर पनि सुरक्षित भएर फलामको काम गरेको छु”, प्रकाशले भने । विदेशमा पसिना बगाउनुभन्दा आफ्नै देशमा पसिना  बगाएमा देशको विकास हुने धारणा उनको छ ।    “आरन व्यवसाय सुरु गर्दा डेढ लाख रुपैयाँ खर्च भएको छ, व्यवसाय  गर्दा सरकारी अनुदान पाइन्छ भनिन्छ तर मैले कतैबाट अनुदान सहयोग प्राप्त गर्न सकिन । आरन व्यवसायलाई आधुनिक बनाउनका लागि केही पैसा आवश्यक पर्छ त्यो पैसा नभएर व्यवसाय विस्तार गर्न पाएको छैन”, प्रकाशले भने, “गाउँमा विभिन्न पार्टीका नेता छन् तर सरकारी अनुदान प्राप्त गर्ने बाटो सिकाउँदैनन् ।”   प्रकाशलाई व्यवसाय विस्तारका लागि पैसा चाहिएको छ, तर उनले कहीँ कतैबाट पैसा पाएका छैनन् । उले भने, “नेताहरु चुनावका बेला भोट माग्न घर खोजी–खोजी आउँछन् तर अनुदान र सहयोग गर्ने बेलामा वास्तै गर्दैनन् । हामी जस्ता दुखी गरिबलाई हेर्ने कुनै सरकार भएन”, प्रकाशको गुनासो छ ।

  गण्डकी  :  गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले चाडपर्वको मौलिकता जोगाउनु आजको आवश्यकता भएको बताउनुभएको छ । हरितालिका तीजको पावन अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले चाडपर्व हाम्रा संस्कृति र पहिचान भएको उल्लेख गर्नुभयो ।    “मौलिक संस्कृतिको प्रवद्र्धन गदै संस्कारयुक्त सामाजिक वातावरण तयार गर्न यस्ता चाडपर्वको मौलिकता जोगाउनु अहिलेको आवश्यकता हो”, शुभकामना सन्देशमा भनिएको छ । हरितालिका तीजलाई नेपाली महिलाले एक सनातन सांस्कृतिक पर्वको रुपमा मनाउँदै आएको सन्देशमा उल्लेख गरिएको छ ।    भाद्र शुक्लपक्ष तृतीयाका दिनपर्ने यस पर्वमा महिलाले भगवान् शिवपार्वतीको पूजा आराधना गर्दै आफ्नो सौभाग्य, परिवारको सुख, सुस्वास्थ्य र दीर्घायुको कामनासहित उपवास बस्नाले मनोकामना पूरा हुने विश्वास रहिआएको प्रदेश प्रमुख गुरुङले भन्नुभएको छ । सामाजिक एकताको प्रतीकका रुपमा रहेको यस पर्वले सबैमा खुसी साटासाट गदै सामाजिक, सांस्कृतिक तथा पारिवारिक एकता र सम्बन्धलाई दृढ गर्न सकोस् भन्ने उहाँले कामना गर्नुभएको छ । 

  विराटनगर। विराटनगरमा विश्वचर्चित मोबाइल भिडियो गेम पब्जीको ई–स्पोर्ट्स प्रतियोगिता हुने भएको छ। भदौ १८ गते ‘रेजरयाक्ट ई–स्पोर्ट्स’ ग्रुपको आयोजनामा विराटनगरको पाञ्चालीस्थित सगरमाथा पार्टी प्यालेसमा प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा नेपालभरबाट १८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ।    आयोजकका अनुसार प्रतियोगितामा काठमाडौं, बुटवल, नेपालगन्ज, बिर्तामोड, पोखरा, दमक र विराटनगरका टोलीको सहभागिता रहने छ।    एक टोलीमा चार जना खेलाडी रहने आयोजक समितिका सदस्य अनुराग क्षेत्रीले जानकारी दिए। ‘एकदिवसीय प्रतियोगिता आयोजना गर्न लागिएको हो। यसमा आठ वटा खेल हुन्छ। एउटा खेल २५ मिनेटको हुन्छ’, उनले भने, ‘सबै टोली एकैठाउँमा बसेर स्क्वाड खेल खेल्छन्।’ सहभागीमध्ये सर्वाधिक अंक ल्याउने टोलीले उपाधि जित्ने छ। प्रतियोगिताका विजेताले ५० हजार र उपविजेताले २० हजार नगद पुरस्कार पाउने छन्। यसैगरी तेस्रो हुने टोलीलाई १५ हजार र चौथोलाई १० हजार पुरस्कार प्रदान गरिने आयोजक समितिका सदस्य सन्दीप श्रेष्ठले जानकारी दिए। प्रतियोगिताका उत्कृष्ट खेलाडीले पाँच हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगिताको आरटीडी ई–स्पोर्ट्स र सर्जिकल नुब युट्युब च्यानल र विभिन्न सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण हुनेछ।

काठमाडौं । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई जरिवाना गरेको छ।   कुवेतमा भएको एएफसी एसियन कप छनोटको दौरान प्रतियोगिताको विभिन्न आचारसंहिता उलंघन गरेको भन्दै एएफसीले एन्फालाई ७ हजार अमेरिकी डलर जरिवाना गरेको हो ।   एएफसीको अनुशासन तथा इथिक कमिटिले एसियन कप छनोट अन्तर्गत जुन १४  इन्डोनेसियाविरुद्धको खेलमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी खेल अघि ड्रेसिङ रुपमा प्रवेश गरेको र खेलपछि एक्रिडिटेशन कार्ड लिएर मैदान प्रवेश गरेको कारण ६ हजार डलर जरिवाना गरिएको जनाएको छ ।   कुवेत र जोर्डनविरुद्धको खेलमा पहेलो कार्ड पाएको कारण इन्डोनेसियाविरुद्धको खेलमा अब्दुल्लाह निलम्बनमा रहेका थिए ।   त्यस्तै इन्डोनेसियाविरुद्धको खेलको पहिलो हाफ सुरु हुन ढिलाइ गर्दा एन्फालाई थप १ हजार अमेरिकी डलर जरिवाना गरिएको एएफसीले जनाएको छ ।   एन्फाले जरिवानाको २५ प्रतिशत ९० दिनभित्र तिर्नुपर्ने र बाँकी रकम दुई वर्षभित्र तिर्न पाईनेछ ।    एएफसीले यस घटनालाई पुनस् दोहोराएमा एन्फालाई कडा सजाय दिईनेबारे एन्फालाई सचेत गराएको छ  ।  

  काठमाडौँ । तीज पर्वमा माइत गएर, आमा दिदीबहिनी भेटघाट गरेर आफूले जीवनमा भोगेका पीडालाई गीतमार्फत् अभिव्यक्त गर्दै मनाउने गरिन्छ । तर तेस्रोलिङ्गी महिलाले भने आफन्तभन्दा पनि आफ्ना साथीभाइसँग मनाउने गर्छन् तीज । आफन्तको व्यवहारका कारण उनीहरु साथीभाइबीच भेटघाट गरी तीज मनाउने गरेका हुन् । “तीज पर्व आफन्तसँग मनाउन रमाइलो हुन्छ, आमा, दिदीबहिनी भेटघाट गर्दा छुट्टै आन्नद हुन्छ होला”, सिन्धुलीकी रुविना तामाङले भन्नुभयो, “घरपरिवार र समाजले मलाई सहजरुपमा स्वीकार गरेको छैनन्, पहिरन पनि मिल्दैन, सोच मिल्दैन ।” रुविनालाई परिवारसँग भेट्न नपाए पनि आफ्नो खुसीका लागि साथीसँग मिलेर तीज मनाउन राम्रो लाग्छ । “म व्रत बस्छु, पहिला त निराहार बस्थेँ, अहिले फलफूल खाएर बस्छु” उहाँले सुनाउनुभयो, “राम्रो पति मिलोस भनेर व्रत गरेको छु, विधिपूर्वक पूजा गर्छु ।”          तेस्रोलिङ्गी महिला सबैले व्रत बस्दैनन् । व्रत बस्दा मन्दिरमा पूजा गर्न सहज पनि छैन । यी समुदायका महिला सुरुमा पुरुष भएर जन्मिएका हुन्छन् । बाबुआमाले छोराकैरुपमा हुर्काएका हुन्छन् । तर हुर्कने, बढ्ने क्रममा आफूलाई छोरीको महसुस गरेर छोरीकै पहिरन लगाउने, छोरीकै हाउभाउ देखाउने र व्यवहार गर्ने गर्दछन् ।        जन्मँदा छोरा भनेर परिवार र समाजले हेरिरहेको हुन्छ । पछि एकैपटक छोरीका रुपमा समाजले सहजरुपमा स्वीकार्न सक्दैन । “मलाई पनि तीजको दिन माइत जान, दर खान र व्रत बस्न मन लाग्छ, तर त्यो सम्भव छैन”, रुविनाले थप्नुभयो, “साथीभाई भेटघाट गर्न रहर लाग्छ, परिवारले स्वीकार गर्दैन, समाजमा अनेक कुरा गर्दछन्, यसकारण पनि हामी घरमा जादैनौँ ।”       “म छोराका रुपमा जन्मिएको हो, पछि किशोर अवस्थामा हुर्कदै जाँदा छोरीको महसुस भयो”, रुविनाले आफ्नो बाल्यकालको कहानी सुनाउँदै भन्नुभयो, “मलाई पनि विवाह होस्, बच्चा होस्, श्रीमान् भन्न पाइयोस् जस्तो लाग्छ, तर सम्भव छैन ।” नेपालको संविधानमा यो समुदायलाई अन्य नागरिकका रुपमा नागरिकता दिने व्यवस्था गरिएको छ । तर कानुन बन्न नसक्दा प्रभावकारी रुपमा त्यो कार्यान्वयन भएको देखिँदैन । “संविधानमा लेखिएपछि निकै आफ्नै पहिचान हुन्छ भनेर खुसी लागेको थियो । तर संविधानमा सीमित भयो”, उहाँले जोड्नुभयो, “कागजमा लेखिएका कुरा कार्यान्वयन भएन ।” यो समुदायलाई तीज र अरु पर्व मनाउन सहरी क्षेत्रमा सहज भए पनि ग्रामीण भेगमा कठिन छ ।        समाजमा यो समुदायलाई जीवनयापन गर्न पनि कठिन छ । “आफ्नो दिमाग र मन मस्तिष्कले छोरी हो भन्ने महसुस भएपछि मलाई छोराका रुपमा परिवार र समाजमा बस्न मन लागेन”, रुविनाले जीवन कठिन मोडबाट अघि बढेको स्मरण गर्दै सुनाउनुभयो, “छोराले अचानक छोरीको पहिरन, व्यवहार, लजाउने स्वभाव देख्दा स्वीकार गर्न सहज भएन ।”          तेस्रोलिङ्गी महिलाले तीज पर्व र अन्य पर्व पनि साथीभाइसँग मिलेर मनाउछन् । सहरी क्षेत्रमा एकाध स्वीकार गरिएको भए पनि धेरैको परिवारले स्वीकार गर्न नसकेको नै गुनासो छ । अधिकांश ग्रामीण भेग र परिवारमा यो समस्या छ । “म पनि आमाकै कोखबाट जन्मिएको हो, हामी छुट्टै ग्रहबाट आएको होइन, आकाश या धर्तीबाट आएको पनि होइन”, तीज पर्वका अवसरमा रुविनाले परिवार, समाज र राष्ट्रसँग आग्रह गर्दै भन्नुभयो, “हाम्रो भविष्य अनिश्चत छ, आफ्नो सन्तान जस्तै हो भनेर सबैले माया र सहयोग गर्न अनुरोध गर्छु ।”          घरपरिवार र समाजमा सहज रुविनालाई मात्र होइन महोत्तरीकी नग्मा खानलाई मुस्लिम परिवारमा जन्मिएको भए पनि मस्जिदमा जान प्रतिबन्ध छ । त्यसैले उहाँले हिन्दू महिलाले मनाउने तीज पर्व मनाउनुहुन्छ । “मलाई नमाज पढ्न, रोजा बस्न दिइँदैन, मस्जिदमा जान अनुमति छैन”, उहाँले थप्नुभयो, “मन लाग्यो भने आफूले घरमै बसेर गर्छु, हिन्दू भएर मन्दिरमै गएर पूजा गर्छु ।” नग्माको यादव थरको पुरुषसँग विवाह भएको छ । नग्मा पनि छोरा भएर जन्मिएको हुनाले समाजले छोरीका रुपमा स्वीकार गर्न सकेको छैन ।           “म पतिका लागि तीजमा व्रत बस्छु, मेरो पति हाम्रो समुदायको होइन, जन्मजात नै पुरुष हो”, उहाँले पतिका बारेमा जानकारी दिँदै भन्नुभयो, “परिवारको आग्रहमा मेरो श्रीमान्ले केटीसँग विवाह गर्नुभएको छ, एक छोरा छ, हामीसँगै बस्छ”, नग्माले एउटा पारिवारिक जीवन बिताउँदै आउनुभएको छ । छोरा पनि साथमा भएकाले परिवार पूरा भएको महसुस उहाँलाई छ । “मलाई माइतीले स्वीकार गरेको छैन, तर श्रीमान्ले परिवारले स्वीकार गरेका छन्, जाने आउने सबै खालको सम्बन्ध छ”, उहाँले थप्नुभयो, “अर्को श्रीमती गाउँमा बस्नुहुन्छ, म सहरमा छु, सबै परिवारलाई जानकारी छ, श्रीमान्कै घरमा गएर बसेर चाडपर्व मनाउँछौँ ।”          बेलाबेला उहाँका पतिलाई समाजले नराम्रो तरिकाले भन्ने गरेको सुनाउँदै उहाँ थप्नुहुन्छ, “गाउँमा समाजले तेरो छोरा हिजडासँग बसेको छ भनेर भनिरहन्छन्, त्यो सुनेर उहाँको मन पनि खिन्न हुँदो हो, हामी जुन समुदायमा हुर्किएका छौँ, त्यो समाजले अहिले पनि सहजरुपमा लिन सकेको छैन ।” नग्माको छोराकै नाममा नागरिकता छ । उहाँले एमएसम्म पढ्नुभएको छ । धेरैले बाबुआमाकै नाममा नागरिकता लिएर बसेका छन् ।           “आफ्नो पतिको लागि भनेर एकदिन व्रत बस्दा राम्रो लाग्छ”, उहाँले थप्नुभयो, “जिन्दगीमा जीवनसाथी महत्वपूर्ण छ, उसको लागि व्रत बस्दा असाध्यै राम्रो लाग्छ ।”          नील हीरा समाजका अध्यक्ष पिङ्की गुरुङलाई तीज पर्व आफ्नो समुदायको अधिकारका लागि पनि लड्ने दिनजस्तो लाग्छ । “हरेक वर्ष तीज मनाउँछु, वर्ष दिनमा आउने पर्व परिवारसँग मनाउन पाइँदैन”, उहाँले परिवारको याद धेरै आउने गरेको सुनाउँदै भन्नुभयो, “घरपरिवारको तिर्सना मेटाउन साथी मिलेर मनाउछौँ, समाजले यो समुदायलाई सांस्कृतिरुपमै वञ्चित गरेको छ, यो भन्दा दुःख लाग्छ ।”          उक्त समाजको तथ्याङ्कअनुसार नेपामा करिब नौ लाख लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय रहेका छन् । परिवार तथा समाजले सहजरुपमा स्वीकार गर्न नसकेका कारण उनीहरु खुलारुपमा बाहिर आउन नसकेको अध्यक्ष गुरुङको भनाइ छ । सो समाजका २५ जिल्लामा कार्यालय छन् । ती सबै कार्यालयमा तीज कार्यक्रम मनाउने तयारी छ । “हरेक वर्ष काठमाडौँमा कार्यालयमै तीज मनाउने गरिन्थ्यो, अहिले धेरै छौँ”, उहाँले थप्नुभयो, “यो वर्ष गैरीधारास्थित सिल्भर ओक भोजमा कार्यक्रम गर्ने तयारी छ ।” उहाँका अनुसार उक्त समुदायको तीज कार्यक्रममा उत्कृष्ट नृत्य, हास्य नृत्य, उत्कृष्ट पहिरन, उत्कृष्ट हिँडाइलाई पुरस्कार प्रदान गरिन्छ । अध्यक्ष गुरुङका अनुसार कसैलाई पनि पर्वमा परिवारको सम्झनामा पीर मानेर बस्नु नपरोस् भनेर कार्यक्रमको आयोजना गर्न लागिएको हो । उक्त समदायले १७ वर्षदेखि तीज कार्यक्रम मनाउँदै आएको छ ।           नील हीरा समाजका कार्यक्रम निर्देशक सञ्जय शर्माका अनुसार जन्मँदै छोरा तर हुर्कदै बढ्दै जाँदा छोरीको महसुस गर्ने तेस्रो लिङ्गी महिलाले तीज पर्व मनाउनहुन्छ । जन्मँदा छोरी भएर जन्मने तर हुर्कने बढ्ने क्रममा छोरा व्यवहार देखिनेले व्रतबन्ध गर्ने, बाबुआमाको काजकिरिया गर्ने गर्नुहुन्छ । यो वर्ष तीज कार्यक्रममा उक्त समुदायका चार सय महिला सहभागी भएर तीज मनाउने कार्यक्रम छ ।         उक्त समाजले लैङ्गिक तथा यौ​निक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि काम गर्दै आएको छ । नेपालमा सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिमा पनि विशेष गरी तेस्रोलिङ्गी वर्गको हकअधिकारका लागि काम गर्न स्थापना गरिएको हो । विविध लैङ्गिकता र यौनिकताका व्यक्तिविरूद्ध विद्यमान कानुनमा परिवर्तनको पक्षमा वकालत गर्न सन् २००१ मा स्थापित भएको थियो । समाजले विविध लैङ्गिक र यौनिकताका व्यक्तिको निम्ति मैत्रीपूर्ण यौन स्वास्थ्यसम्बन्धी शिक्षा दिने, सरकारसँग वकालत गर्ने, युवाको कलात्मक अभिव्यक्तिलाई प्रोत्साहित गर्ने र हिंसाको अभिलेख राख्ने उद्देश्य रोखेको छ । यो समुदायबाट सुनिलबाबु पन्त र भूमिका श्रेष्ठले कानुन बनाउने निकायमा समेत नेतृत्व गरिसक्नुभएको छ । सर्वोच्च अदालतमा यौनिक तथा अल्पसङ्ख्य समुदायका सदस्यलाई भेद्भाव हुने गरी बनाएका कानुन खारेज गर्न आदेश दिएको थियो ।        नेपालको संविधानको धारा १२ मा वंशीय आधार तथा लैङ्गिक पहिचानसहितको नागरिकता प्रदान गर्ने व्यवस्था गरेको थियो । तर त्यसअनुरुप कानुन बन्न सकेको छैन । एकाध व्यक्तिले बाहेक अरुले नागरिकता प्राप्त गर्न सकेका छैनन् । उनीहरुमाथि हुने असमान व्यवहार र दुव्र्यवहारमा भने कमी नभएको उक्त समुदायका सदस्यको भनाइ छ ।          तीज पर्व यो समुदायका महिलाको हक अधिकारका लागि पनि मनाइने गरिन्छ । आफूले भोग्नुपरेका समस्यालाई चिर्दै अधिकार प्राप्तिको अभियानसँगै जोडेर मनाउने गरेको समाजकी अध्यक्ष गुरुङको भनाइ छ । “तीजपर्व सशक्तीकरण र नारी आवाजलाई बुलन्द गरी मनाउने पर्व हो”, समाजकी अध्यक्ष गुरुङले भन्नुभयो, “हाम्रो समुदायको अधिकार प्राप्तिका लागि खबरदारी अभियानका रुपमा हामीले मनाउने गरेका छौँ ।”          अध्यक्ष गुरुङ पनि जन्मँदा पुरुष भएर जन्मिएर हुर्कंदै बढ्दै जाने क्रममा छोरी हुनुभएको हो । “हुर्कंदै÷बढ्दै जाँदा मलाई महिलाको अनुभव हुन थाल्यो, आफ्नै उमेरका केटी तीजको व्रत बस्थे, म शारीरिकरुपमा केटाजस्तो देखिन्थे”, उहाँले विगत स्मरण गर्दै भन्नुभयो, “मेरो भावनालाई समाजले बुझ्दैनथ्यो, अहिले म निर्धक्क व्रत बस्छु, केटीकै कपडा लगाएर हिँड्छु ।”

  चितवन । तीज आउन एक महिनाअघिदेखि गाउँघरदेखि सहरसम्म दर खाँदै रमाइलो गरिरहेका छन् आमा दिदी बहिनी । नारायगढ बजार आसपासका सहरी क्षेत्रका होटल रेष्टुरेन्टमा तीजका कार्यक्रम धुमधाम चलिरहेका बेला नजिकै रहेको देवघाटधामको वृद्धाश्रममा रहेका आमा भने तीज सम्झेर मात्रै बसिरहनुभएको छ ।        अरु समयमा भन्दा ती आमाहरुलाई तीजले निरास बनाउने गर्छ । तीजमा घरमा चेलिबेटी बोलाएर रमाइलो गरेको र आफैँ पनि माइत गएको स्मरण उहाँहरुलाई भईनै रहन्छ । आज दरखाने दिन विगत सम्झँदै उहाँहरुलाई थप भावुक बनाउने गर्दछ ।       देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको देवघाट समाजकल्याण केन्द्र (वृद्धाश्रम) मा आश्रित भइरहनुभएकी मकवानपुर भीमफेदीकी ८८ वर्षीया सुभद्रा पुडासैनीले अरु बेलाभन्दा चाडपर्वका बेला बढी पोल्ने गरेको दुखेसो गर्नुभयो । उहाँले भन्नुभयो, “दुःख पर्दा र चाडपर्व आउँदा आफन्त कोही हुँदैन । सम्झेर मात्रै बस्ने हो”, पहिले पहिले छोरी र इष्टमित्रलाई बोलाएर दर खुवाएको सम्झँदै उहाँले भन्नुभयो, “अहिले त मलाई तीज सुन्दा पनि नरमाइलो लाग्छ ।”       कान सुने पनि आँखा नदेख्ने भएकाले संसार अँध्यारो भए जस्तै लाग्ने  उहाँको भनाइ छ । दुखेसो गर्दै पुडासैनीले भन्नुभयो, “अब मैले जे भोगिरहेको छु, मेरा सन्तानले यस्तो भोग्न नपरोस् ।” एक छोरी मात्रै भएकी पुडासैनीका श्रीमान् पहिल्यै बितेपछि रेखदेख नपाएर उहाँ वृद्धाश्रममा आइपुग्नुभएको हो । छोरी र नातिनातिनाले भेट्ने त कुरै छोडौँ फोनसमेत नगर्ने दुखेसो उहाँको छ ।        सोही वृद्धाश्रममा रहनुभएकी सिन्धुलीकी ७२ वर्षीया लक्ष्मीमाया श्रेष्ठ विगत नौ वर्षदेखि चाडपर्व आउँदा निरास भएर यही बसिरहनुभएको छ । उहाँले विगतको स्मरण गर्दै भन्नुभयो, “हाम्रो जातिले तीज नमनाउने भए पनि रमाइलो हेर्न गइन्थ्यो ।” खानपिनमा रमाउने गरेको विगतलाई सम्झँदै उहाँले अहिले कारागारमा बसेजस्तै भएको गुनासो गर्नुभयो । उहाँले थप्नुभयो, “अरु बेला जेनतेन ठिकै हुन्छ, चाडपर्वमा निकै नरमाइलो लाग्छ ।”       श्रीमान् सानैमा बितेपछि दाजुभाउजुले नहेरेर विरक्तिँदै वृद्धाश्रम आइपुग्नुभएकी श्रेष्ठ तीजसँगै पर्व आउने भएकाले अबका दिनले घर सम्झाउने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यहाँ जे छ, त्यसैमा रमाउनुबाहेक केही छैन ।”       लमजुङकी ७१ वर्षीया शान्ति घिमिरे श्रीमान्सँगै आश्रममा बस्दै आउनुभएको छ । सन्तान नभएका उहाँहरुको बुढेसकालसँगै वृद्धाश्रममा बितिरहेको छ । उहाँले भन्नुभयो, “हरेराम भन्दै भगवान्को नाम जपेर चाडपर्व मनाउँछौँ । आफन्त कोही छैनन्”, उहाँले थप्नुभयो, “तीजमा रमाइलो गर्ने र रमाइलो हेर्ने हाम्रा दिन गए ।”       पाल्ने मान्छे नभएर वृद्धाश्रम आएका आफूहरुलाई पर्वको खासै मतलब नहुने गरेको उहाँको भनाइ छ । सँगसँगै रहेका एकअर्काले विगतका पीडालाई साटासाट गरेर चित्त बुझाउने गरेको उहाँ बताउनुहुन्छ ।        पोखराकी दुर्गा लामिछाने अहिले ७३ वर्षमा हिँडिरहनुभएको छ । परिवारमा कोही नभएपछि आठ वर्षदेखि उहाँ यहाँ हुनुहुन्छ । अविवाहित लामिछानेको बुबाआमा बितेपछि साहाराविहीन भएर यहाँ आइपुग्नुभएको हो । उहाँले गहँभरि आँसु पारेर भन्नुभयो, “तीज भन्नेबित्तिकै आमा, आफन्तलाई सम्झना हुन्छ”, उहाँले थप्नुभयो “अब त मीठोचोखो खान पनि स्वास्थ्यले साथ दिदैन, चाडपर्व नआइदिए हुन्थ्यो भन्ने लाग्छ ।”      वृद्धाश्रममा ३३ वृद्धवृद्धा छन् । सरकारले सञ्चालन गरेको भए पनि वृद्धाश्रममा रहेकालाई वर्षभरि नै दाताहरुले विभिन्न अवसरमा सहयोग गर्ने गरेका छन् । जन्मदिन, विवाहको दिन, पुण्य तिथि पारेर खान खुवाउने, कपडा दिने गरेका छन् ।        देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरनबाबु घिमिरे पर्वका अवसरमा घर सम्झना नआउने गरी विशेष खानपानको व्यवस्था गर्ने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “वृद्धवृद्धाको स्वास्थ्यलाई हेरेर पर्वमा विशेष खानाको व्यवस्था गर्दछौँ ।” यहाँ जतिसुकै राम्रो गरे पनि तीजमा आमाहरुलाई घर र माइतीको सम्झना भने आई नै रहने गरेको उहाँको भनाइ छ ।

बागलुङ ।  “उति बेला तीजमा वर्ष दिनको भेट भइन्थ्यो, माइतीमा आएका दिदीबहिनीसँग चौतारामा, गाउँको डाँडामा बसेर घरमा पाएको दुःख सुखका कुरा गरी तीजका गीत गाइन्थ्यो, नाचिन्थ्यो, गीत पनि आफ्नो जीवनमा भएका घटनाका आधारमा गाइने गरिन्थ्यो, अहिले त गीत पनि के–के हुनु के–के, न दुःखका कुरा छन्, न भोगाइका, अहिले त उही माया प्रेमकाबाहेक अरु छैनन् ।”   ढोरपाटन नगरपालिका–२ का ६६ वर्षीया सीता शर्मालाई अहिलेको तीज पटक्कै मन पर्न छोड्यो । उहाँलाई तीज मन नपर्नुको कारण हो मौलिकता हराउनु । उहाँ भन्नुहुन्छ, “अहिले मौलिकता भन्ने छँदैछैन, गीत पनि विदेशी, पहिरन पनि विदेशी, हुँदाहुँदा यहाँका मान्छे आफ्नो पहिचान भुलेर विदेशीजस्तै बने, पहिले तीज आउँदा कति धेरै रमाइलो हुन्थ्यो, अहिलेका मान्छे सबै स्वार्थी भए, आफ्नो धर्मकर्म, संस्कार र परम्परा सबै बिर्सिए ।”   उहाँले जमानासँगै संस्कार, संस्कृति र परम्परा पनि मेटिन थालेकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले पहिले तीज आउनुभन्दा एक साता अगाडिदेखि गाउँमा नाचगान सुरु गर्ने भन्दै अहिले एक महिना अगाडिदेखि दर खान सुरु गर्ने गरेको बताउनुभयो । दर खाने नाममा स्थानीय उत्पादनलाई छोडेर विदेशी मदिरा र महँगा–महँगा परिकार खाने गरेको उहाँको भनाइ छ ।   “हाम्रो पालामा दर खाने त माइत गएर हो, माइत पनि तीजको दुई दिन अगाडि गइन्थ्यो, अहिले त तीज आउन १५÷२० दिन छँदै दरखाने भनेर ठूल्ठुला होटल धाउँछन्, हामी त माइत जाँदा आमाले केरा, दही मिसाएर दर बनाउनुहुन्थ्यो, गोठमा रहेका गाईभैँसी दुहेर खिर बनाउनुहुन्थ्यो, हाम्ले त्यसलाई दर भनेर खान्थ्यौँ”, उहाँले भन्नुभयो, “अहिले त दरखान तीज आउनुभन्दा १५ दिन अगाडिनै सुरु गर्छन्, दरमा न दही, न केरा , नर खिर हुन्छ ।”   महिलामा तीज पर्वको छुट्टै रौनक र उत्साहहुन्छ । घर, चोक, चौतारी, पाटीपौवामा बसेर वर्षभरको मनको दुःख, वेदनापोखेर खुलेर नाँच्ने, बाँच्ने एक महत्वपूर्ण उत्सवका रुपमा लिइन्छ तीजलाई । पछिल्लो समय तीजका अवसरमा एक महिना अगाडिदेखि नै दर खाने र खुवाउने सार्वजनिक कार्यक्रम आयोजना गर्ने क्रम बढ्दो छ । यसले मौलिक परम्परालाई चटक्कै भुलेको छ ।   यस पर्वले महिलामा मात्र होइन, पारिवारिक भेटघाट, एकता, सद्भावको विकास गराउने, वर्षभरको दुःख, पीडा, वेदनाबाट मुक्त भएर अघि बढ्नका लागि नयाँ ऊर्जाको सञ्चार गराउने कार्यसमेत गर्दछ ।  पछिल्लो केही समय यता तीज पर्व हिन्दू संस्कार, संस्कृतिसँग सम्बन्धित भए पनि यसको दायरा केही फराकिलो बन्दै गएको बूढापाका बताउँछन् । तीजपर्वले महिलाको मनमा गुम्सिएका दुःख, वेदना पोख्ने मात्र नभई, वर्षभरको दुःख भुलेर नयाँ ढङ्गले जीवन बाँच्न प्रेरित गर्ने गरी मनाउनुपर्ने उहाँहरुको भनाइ छ ।   ऐतिहासिक महत्व बोकेका संस्कृतिसँग जोडिएको पर्वलाई मौलिकरुपमा बनाउन छोडिएको बडिगाड गाउँपालिका–५ की ममता खत्रीले बताउनुभयो । उहाँले पछिल्ला दिनमा देखिएका केही विकृत सोच, पात्र र प्रवृत्तिले तीजपर्व पनि विकृत र बदनाम बन्न थालेको बताउनुहुन्छ । अहिले दर खाने र खुवाउने नाममा दारुखाने र खर्चिला भड्किला गतिविधि गर्दा संस्कृतिको अवमूल्यन भएको उहाँको भनाइ छ ।   “बजारमा केही वर्षदेखिनै भड्किलो पर्व बनाउने संस्कार बसेको थियो, अहिले त गाउँमा समेत भित्रिन थाल्यो, बढ्दो आधुनिकताले गर्दा पनिहोला पहिले गाउँमा मादल, खैजडी, बाँसुरी बजाएर नाचिन्थ्यो भने अहिले ठूला साउनबक्स बजाएर नाचछन्, पुराना मौलिक गीत त झन सुन्नै पाइँदैन”, उहाँले भन्नुभयो, “कतिपय तीजगीत र अश्लिलरुपमा नाचेका नाच सामाजिक सञ्जालमा हाल्ने गर्दा त्यसले नयाँ पुस्तालाई पनि त्यतैतिर डोहो¥याएको छ ।”   उहाँले परम्परादेखि पतिको सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै निराहर व्रतसमेत बस्ने चलनसमेत हराउन थालेको बताउनुभयो । संस्कृतिका नाममा हुने गलत गतिविधिले चाडपर्वको महत्वलाई नै विकृत बनाइदिएको उहाँको भनाइ छ । संस्कृतिलाई समयसापेक्ष संस्कृतिकै रुपमा मनाउनुपर्ने तर, बदलिँदो समयलाई बाहना बनाएर भड्किला गतिविधि गर्न नहुने उहाँले बताउनुभयो ।   “चाडपर्वलाई मौलिकरुपमै मनाउनुपर्छ, पहिलेपहिले पतिको सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै व्रतसमेत बस्ने चलन थियो, अहिले यो हराउँदै गएको छ, दरका नाममा दारु खाने, खर्चिलो र भड्किलो रुपमा मनाउने कुराले संस्कृतिलाई बदनाम गराउँदै गएको छ, चाडपर्व, संस्कार, संस्कृतिसँग जोडिएका परम्परागत खराब प्रवृत्तिको निरुत्साहित गर्नुपर्छ, यसप्रति सरकारले पनि ध्यान दिनुपर्छ,” उहाँले भन्नुभयो, “ सरकाले चाडपर्वलाई भड्किलोरुपमै मनाउन दिने हो भने पछिल्लो पुस्ताले मौलिक संस्कृतिको अनुभव गर्न पाउने छैनन् ।”