पर्वत । भरिया दाइले बिसाउने भारी सुन माया डाँडैको चौतारी’ कलाकार विष्णु खत्रीले गाउनुभएको यो गीत सुन्दा चौतारीको सम्झना दिलाउँछ । हुन पनि भारी बोकेर हिँड्नेहरु कतिबेला चौतारी पुगिएला र भारीको बोझ बिसाउँला भन्ने गर्दथे । भारी बोक्ने मात्र होइन, बाटो हिँड्ने बटुवासमेत चौतारी भेटेपछि थकानलाई विश्राम लिन्थे । बरपिपलको चौतारीमा बसेर थकित शरीरलाई विश्राम लिँदा छुट्टै आनन्द आउँथ्यो त्यो बेला । अहिले ती इतिहास बोकेका चौतारी, पोखरी र पँधेरा बिरानो हुँदै गएका छन् । बरपिपलका रुख पनि बुढेसकाल लागेर सुक्दै गएका छन् । धोद्रा लागेका रुखले तिनै बटुवालाई कुरिरहेका छन् । कुनै बेला सञ्चारको विकास नहुँदा अगाडि हिँड्दै गरेको साथीले पछि आउँदै गरेको साथी भेट्न चौतारीमा कुरेर बस्ने प्रचलनसमेत थियो । एक दशक अगाडि बाटेमा देखिने चिटिक्क परेका चौतारी अहिले एकादेशको कथा बन्न थालेका छन् । विकास निर्माणको गतिसँगै भौतिक विकासमा दौडिरहेको हाम्रो समाज यतिबेला त्यतै अल्मलिँदा पुराना संरचना भत्किँदै जान थालेका हुन् । एक दशक अगाडि पर्वत सदरमुकाम कुश्मा आउनजान प्रयोग हुने पैदलमार्ग मोदीवेणी, मुडिकुवाअन्तर्गत सिर्सुवाको चौतारी बटुवाहरूको थकाइ मेट्ने स्थानका रूपमा चिनिन्थ्यो । कुश्माबाट भारी बोकेर फर्किएका भरिया मोदीवेणीको उकालो काटेर सिर्सुवाको चौतारीमा विश्राम लिँदा भारीको थकान बिर्सन्थे । डाँडाको चौतारीमा चल्ने चिसो हावाले उकालो चढ्दा पसिनाले भिजेको शरीरलाई शीतलता दिन्थ्यो । चौतारीमा बिसाइ मेट्नेहरूको सङ्ख्या बढ्दै जाँदा नजिकै रहेका होटल व्यवसायीको पनि व्यापार बढेको थियो । कुश्मा आउनेहरू बाटोमा पानी पर्दा मोदीवेणीमा रहेको ठाँटीमा ओत बस्न पाउँदा घरमै पुगेको आभास हुन्थ्यो । आज ती चौतारी, पाटीपौवा झाँडीले भरिएका स्थानीय थानेश्वर भुसालले बताउनुभयो । चौतारीका ढुङ्गा लेउ लागेका छन्, संरक्षण अभावमा छन् । यो त एउटा उदाहरण मात्र हो आज कैयौँ चौतारी यस्तै अवस्थामा पुगेको उहाँको भनाइ छ । बाटो आसपासका कुवा तथा पोखरी यतिबेला मोटरबाटोले पुरिएका छन् । पैदलयात्री हिँड्ने गाउँको गोरेटो बाटो सुनसानै भएका छन् । इतिहास बोकेका ती ढुङ्गे छपनी बिछ्याएका बाटा त्यस्तै अवस्थामा छन् । बाटो हिँड्दा पानी पर्दा घामले पौल्दा अनि कुनै गन्तव्यमा हिँडेका बटुवा साँझ पर्दा बास बस्ने ठाँटीमा कोही पुग्दैन, ती पुराना संरचना भत्किएका छन् । अहिले पाटीपौवा बन्न छाडेका छन्, विकासले फड्को मारेको हाम्रो समाजमा गाउँमा मोटरबाटो पुगेपछि हिलाम्मे भएका सडकमा यतिबेला गाडी गुडिरहेका छन् । हिलाम्मे बाटो भए पनि गाडीमा यात्रा गर्नुपर्ने गाउँलेको बाध्यता बनिसकेको छ । महाशिलाका वृद्ध झमनाथ अधिकारीले भन्नुभयो, “भौतिक विकाससँगै गाउँको इतिहास बोकेका गोरेटो बाटो चौतारी, पोखरी, पाटीपौवाको अस्तित्व हराउँदै गएको गयो ।” पछिल्लो समय गाउँगाउँमा पर्यटन प्रवद्र्धनको धारणा आए पनि स्थानीय तहबाट यस्ता ऐतिहासिक संरचना पुनःनिर्माणको चर्चा चलेको पाइएको छैन । पूर्वाधार विकासका नाममा सडक सञ्जालको विकासलाई नै मुख्य विकास मानिँदै आएको पाइन्छ । आधुनिक विकाससँंगै बाउबाजेले स्थापना गरेका ती ऐतिहासिक संरचनाको प्रवद्र्धन हुन नसक्दा सङ्कटमा परेको स्थानीय पदमपाणि शर्माले बताउनुभयो । “गाउँमा भएका यस्ता पुराना संरचना जोगाइराख्नु सबैको जिम्मेवारी हो”, उहाँले भन्नुभयो । त्यसैले सङ्कटमा परेका इतिहास बोकेको संरचना संरक्षणमा लाग्नुपर्ने देखिन्छ । वातवरणका दृष्टिकोणले पनि मानव सभ्यतासँग जोडिएका संरचना जोगाइ राख्नुपर्ने तपाईँ हामी सबैको दायित्व रहेको उहाँ बताउनुहुन्छ । पछिल्लो समय वातवरण संरक्षण अभियानअन्तर्गत डिभिजन वन कार्यालयद्वारा चौतारीपोखरी संरक्षण अभियान सञ्चालन गरिए पनि यस अभियानमा स्थानीयवासीको सहभागिता देखिँदैन । गत आर्थिक वर्षमा पर्वत जिल्लामा छवटा चौतारी र ११ वटा पोखरी निर्माण भएको डिभिजन वन कार्यालय पर्वतका प्रमुख विष्णु अधिकारीले बताउनुभयो । यस वर्ष पनि सामुदायिक वन क्षेत्रमा पानीका मुहान संरक्षण अभियानअन्तर्गत पोखरी निर्माण गर्ने तथा हरियाली प्रवद्र्वनका लागि चौतारी निर्माण अभियान सञ्चालन गर्ने डिभिजन वन कार्यालय पर्वतले जनाएको छ ।
पोखरा । रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलको आयोजनामा निशुल्क स्वास्थ्य परिक्षण तथा परामर्श कार्यक्रम सम्पन्न भएको छ । ‘कुशे औँसी र हरितालिका तीजको अवसरमा पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रालिको सहकार्यमा शनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । क्लबको अध्यक्ष डिम्पल क्षेत्रीले सो शिविरमा ६० बढी अभिभावकले शिविरबाट लाभ लिएको जानकारी दिइन् । उनका अनुसार सो शिविरमा क्लबमा आवद्ध कर्मचारीहरुको अभिभावकहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । उनले अभिभावकहरुको रक्तचाप, सुगर तथा छाला सम्बन्धि जाँच गरिएको बताइन् । ‘विशेषत हामिले रोट्रयाक्ट क्लबसँग आबद्ध कर्मचारीहरुको अभिभावकहरुलाई प्राथमिकतामा राखेर निशुल्क स्वास्थ्य परिक्षण गरेका हौं, उनले भनिन्, ‘यसको लागि हामीलालाई प्राविधिक रुपमा डाइग्नोस्टिक रिसर्च सेन्टरले सहयोग गरेको थियो ।’ विगत सन् २००७ सालमा स्थापना भएको सो क्लबले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको बताउदै विभिन्न अस्पतालहरुको समन्वयमा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरिसकेको समेत जानकारी दिएकी थिइन् । ‘स्वास्थ्य सेवाबाट बञ्चित भएका बालबालिका तथा अभिभावकहरुको निशुल्क रुपमा स्वास्थ्य परिक्षण गरि उपचार गरिने पश्चिमाञ्चल डाइग्नोस्टिकका अध्यक्ष पुरुषेत्तम सुवेदीले बताए ।’ उनले भने, ‘आज हामि पोखरा फिस्टेलसँग सम्बन्धित रहेर उहाँहरुको अभिभावकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिरहेका छौँ ।’ यस पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रालीले बाझोपना, थाइराइड, हेपाटाइटिस, बाथरोग, मधुमेह, कलेजो, मृगौला, मुटुरोग तथा रगत, दिशा, पिसाब, खकार, विर्यसम्बन्धि जाँच तथा भिडियो एक्सरेको माध्यमद्वारा सेवा प्रदान गर्दै आइरहेको छ ।
आदिवासी जनजाति समुदायका लागि निकै लोकप्रिय मानिन्छ छ तारा खेल । लोपोन्मुख हुने अवस्थामा पुगेको यो खेल पछिल्लो समय पुनः चर्चित बनिरहेको छ । यस खेलप्रति पछिल्लो समय युवापुस्ताको आकर्षण बढ्दै गएपछि यो खेलको संरक्षण हुने आशा पलाएको छ । तारा खेल खासगरी मगर, छन्त्याल र थकालीलगायतका आदिवासी जनजाति समुदायका युवा बढी आकर्षित छन् । निशानामा आधारित तारा हान्ने खेल पहिले धवलागिरि, म्याग्दी, बागलुङ र मुस्ताङका आदिवासी जनजातिमा सीमित थियो । पछिल्लो समय अन्य समुदायका युवा पनि यो खेल खेल्न थालेका छन् । बागलुङको ढोरपाटन नगरपालिका सहित तमानखोला, बडिगाड र ताराखोला गाउँपालिकामा खेल अझ बढी प्रचलित छ । अहिले तारा हान्ने खेल प्रतियोगिता विभिन्न मेला तथा पर्वमा समेत आयोजना गरिँदै आइएको छ । यसले युवापुस्तालाई थप आकर्षित गरेको छ । रबर टाँसिएको काठको मुढामा अघिल्लो भागमा सेतो, कालो, नीलो र रातो रङको रेखा हुन्छ, यसको बीच भागमा अत्यन्तै सानो स्टिल प्लेट राखिएको हुन्छ । त्यही मुढामा रहेको स्टिलको प्लेटलाई छेड्नका लागि आयोजकले निर्धारित गरेको दूरीदेखि वाणको सहायताले तारालाई बारम्बार हान्ने काम नै तारो हान्ने खेल हो । तारा खेल अङ्कका आधारमा खेलिने खेलाडीले बताएका छन् । नेपालको दुर्लभ खेलमध्येको तारा हान्ने खेल पछिल्लो समयमा युवापुस्ताको जागरुकताका कारण केही प्रवद्र्धन हुन थालेको बडिगाड गाउँपालिका–८ का ७७ वर्षीय मोतीप्रसाद पुनले बताउनुभयो । करिब ४० वर्षको अवधिसम्म लोप भएको यो खेल पुनः खेलिन थालेको उहाँको भनाइ छ । अहिलेको युवापुस्ताले यो खेलप्रति बढी रुचि देखाएको हुँदा चर्चामा आएको उहाँको भनाइ छ । “आजभन्दा ४० वर्ष अगाडि यो खेल हामी निकै खेल्ने गरिन्थ्यो, माघेसङ्क्रान्ति आयो कि साथीभाइ जम्मा भएर तारा खेल्न सुरु हुन्थ्यो, हामीभन्दा पछिका पुस्ताले यो खेलप्रति खासै चासो दिएनन्, त्यसले गर्दा लोप भएको थियो, अब यो खेल देख्न पाइँदैन जस्तो लागेको थियो, अहिलेका युवाहरू खुब चासो दिएर लागेका छन्”, स्थानीयवासी पुनले भन्नुभयो, “अब संरक्षण होला भन्ने आश लागेको छ, स–साना बालबालिकालाई पनि यो खेल खेल्न प्रेरित गर्नुपर्छ, तब मात्रै संरक्षण हुन्छ ।” उहाँले ताराखेल जनजातिको पहिचानसँग जोडिएको हुँदा यसको संरक्षणमा युवापुस्ताले नै बढी जोड दिनुपर्ने बताउनुभयो ।वुढापाकाका अनुसार यो खेल सिकार खेलसँग सम्बन्धित रहेको छ । पुर्खाहरूले जङ्गलमा वन्यजन्तुलाई निशाना बनाएर सिकार गरेर मासु खाने गरेको र पछि गएर त्यसबाटै तारा खेलको विकास भएको बताइएको छ । “हाम्रा पुर्खाहरू धेरै वर्ष अगाडि जङ्गलमा बस्ने सिकार गर्ने गर्थे, उनीहरुले जनावरलाई निशाना बनाएर वाण हान्थे, सिकार गरेर ज्यान पाल्थे, सिकार गर्ने प्रचलनपछि गएर हरायो र तारा खेलको विकास भयो, त्यसले गर्दा यो खेल जनजातिको पहिचान र अस्तित्वसँग जोडिएको छ”, उहाँले भन्नुभयो, “हामी त बूढो भइयो अब सकिँदैन, जानेको कुरा सिकाउने हो, युवाले नयाँ पिँढीलाई सिकाउनुपर्छ, हाम्रो संस्कार, संस्कृति जोगाउनु पर्छ ।” परम्परागत तारा हान्ने खेल अझै पूर्णरूपमा संरक्षण हुन नसकेको खेलप्रेमी बताउँछन् । तारा खेलाडी दिप्सन छन्त्यालले लामो समय ओझलेका परेको यो खेलको तीव्र प्रचार र समय–समयमा खेलिराख्नुपर्ने बताउनुभयो । उहाँको यसको प्रवद्र्धन गर्न सकेमा बाह्य पर्यटक तान्न सक्ने भनाइ छ । “लामो समय ओझेलमा परेको खेल फेरि खेल्न थालिएको छ, यसको अझै पूर्णरूपमा संरक्षण भएको छैन, यो खेल निकै कलात्मक र रचनात्मक हुन्छ, खेल्ने र हेर्ने सबैलाई यसले आनन्दित बनाउँछ, यसले आन्तरिकमात्रै होइन, बाह्य पर्यटकसमेत भित्र्याउने सम्भावना छ, पछिल्लो समय अलिअलि चर्चामा आइरहेको छ, यसभन्दा अगाडि त यो लोप भइसकेको थियो”, खेलाडी छन्त्यालले भन्नुभयो, “हामी पनि लागिपरेका छौँ, नयाँ पुस्तालाई पनि सिकाउन जरुरी छ ।” तारा हान्ने खेल मुस्ताङ, म्याग्दी र बागलुङलगायत कास्की, काठमाडौँमा समेत प्रचलित भए पनि प्रचारप्रसारको अभावमा फेरि लोप हुनसक्ने खेलाडी सोनाम थकाली बताउनुहन्छ । “यो खेलको व्यापकरूपमा प्रचार गर्नुपर्छ, हरेक मेला, महोत्सव र चाडपर्वमा आयोजना गर्नुपर्छ, तब मात्रै संरक्षण हुन्छ, नत्र पहिलेको जस्तो लोप हुने अवस्थामा पुग्न सक्छ”, उहाँले भन्नुभयो, “सरकारले पनि यो खेलको विकासका लागि बजेट छुट्याउने, समय–समयमा कार्यक्रम गरिदिने हो भने वर्षौँ वर्षसम्म यो खेल संरक्षित भइरहने छ ।” तारा खेल जनजातिहरू खासगरी माघेसङ्क्रान्तिमा मात्रै खेल्ने गर्थे तर अहिले आएर दशै तिहार जस्ता ठूला पर्व र अन्य मेला महोत्सवमा समेत खेल्ने गरेका छन् । युवापुस्तामा निकै आकर्षण रहेको तारा हान्ने खेल प्रवद्र्धनका लागि पालिकाले समेत जोड दिनुपर्ने खेलाडीको भनाइ छ । उनीहरूले नयाँ खेलाडी उत्पादन गर्नका लागि समय–समयमा प्रशिक्षण दिनुपर्ने र प्रशिक्षणको व्यवस्था स्थानीय तहले गर्न सके यो खेल लोप नहुने बताउँछन् । साहसिक खेलप्रति विदेशी पर्यटकको आकर्षण बढी हुने भएकाले यसलाई प्रचारप्रसार गर्न आवश्यक रहेको ढोरपाटन नगरपालिका वडा नं ६ का मिलन छन्त्यालले बताउनुभयो । उहाँले भन्नुभयो,“ यो खेल विदेशमा पनि चर्चित रहेको हुँदा नयाँ खेलाडी उत्पादन गर्नुपर्छ । आफ्नै गाउँठाउँमा ठूलो प्रतियोगिता आयोजना गरेर विदेशी पर्यटक भित्र्याउन सकिन्छ ।” पाँच जनाको ‘समूह’ खेलिने यस खेलमा सहभागी टिममध्ये जसले बढी स्टिल प्लेटलाई निशाना लगाउन सक्छ, अङ्कका आधारमा उसैलाई विजेता टिम घोषणा गरिन्छ । वाण र तीर यस खेलका लागि आवश्यक सामग्री हुन् । कतिपय प्रतियोगितामा आलमोनियमको बार प्रयोग गर्छन् भने कतिपयमा काठको नै प्रयोग गर्ने गरेका छन् । –––
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपालीहरूलाई उनीहरूले विदेशी भूमिमा आर्जन गरेको ज्ञान, सीप र पूँजी नेपाल भित्र्याउन आग्रह गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घ, एनआरएनएको बैंककमा आज आयोजित एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सो आग्रह गर्नुभएको उहाँको सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । “नेपालको विकासका लागि संसारभर छरिएर रहेका नेपालीहरुले आफू रहेका स्थानमा आर्जन गरेका ज्ञान, सीप र पूँजी स्वदेश भित्र्याउन जरुरी छ । यसो गर्न सकियो भने हाम्रो देशमा समृद्धि छाउन धेरै समय लाग्दैन”, उहाँले बताउनुभयो । वरिष्ठ उपाध्यक्ष ढकालले नेपाली नागरिकहरू विदेश जाने विश्वविद्यालयमा अध्ययन गर्न, कुनै विशिष्टिकृत सीप सिक्न र पूँजी आर्जन गर्नका लागि नै हो भन्दै विदेशी भूमिमा आफूले गरेको आर्जन स्वदेशको विकासमा लगाउन सके नेपालको विकास धेरै टाढा नरहेको बताउनुभयो । सो सम्मेलनमा उहाँले भन्नुभयो, “संसारमै छरिएर रहेका हामी नेपालीहरूको तीन उद्देश्य ज्ञान, सीप र पूँजी आर्जन गर्नु नै हो । देश विकासका लागि हामीलाई आवश्यक पर्ने चिज पनि यिनै हुन् । त्यसैले हामी संसारको जुनसुकै कुनामा भए पनि हाम्रो आफ्नो मातृभूमिलाई बिर्सनु हुँदैन । आफ्नो विदेशको कमाई आफू जन्मेको माटोका लागि खर्चिनुपर्दछ ।” वरिष्ठ उपाध्यक्ष ढकालले सबै गैरआवासीय नेपालीहरूलाई नेपालमा लगानी गर्न र आफू रहेका स्थानका विदेशीहरूलाई पनि नेपालमा लगानीका लागि प्रेरित गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा लगानीको वातावरण छ । हाम्रै देशको माटो मलिलो छ । आफ्नै देशको माटोमा सुन फलाउने अनगिन्ती अवसरहरू हामीसँगै छन् । प्रकृतिले पनि हामीलाई संसारकै धनी बनाइदिएको छ । त्यसैले हाम्रै देशमा लगानी गरौँ । अहिले जहाँ जेसुकै काममा रहेको भए पनि भोलिको सन्ततिका लागि हामीले हाम्रै घर बनाउनुपर्छ ।” श्रीलङ्कामा सुरु भएको आर्थिक सङ्कटका समयमा पनि संसारबाटै नेपालीहरूले चिन्ता व्यक्त गरेको आफूले महसुस गरेको स्मरण गर्दै ढकालले सबै नेपालीको चिन्ता आफ्नै मातृभूमिका लागि हो भन्ने कुरा स्पष्ट भएको बताउनुभयो । अहिले हामीले आर्जन गरेको पूँजी स्वदेशका लागि र हाम्रै सन्ततिका लागि नेपालमै लगानी गर्नुपर्ने उहाँको आग्रह थियो । उहाँले भन्नुभयो, “सबै मिलेर नेपालमा लगानी भित्र्याउँ र हाम्रो आफ्नै मातृभूमिलाई समृद्ध बनाउँ ।”
पोखरा । पोखरा ४ बुद्ध बिशाल बजारमा रहेको बिशाल बचत तथा ऋण सहकारी सस्थाको २३ औँ स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४५ युनिट रगत सकंलन भएको छ । बिशाल बचत तथा ऋण सहकारी सस्थाँको स्वास्थ्य उप समिति सयोजनमा आयोजित रक्तदान कार्यक्रममा बोल्दै बिशाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भुवन नेम्कुलले सहकारीले विभिन्न समयमा सामाजिक उतर दाहित्वका कामहरु गरिरहेको बताउदै रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरीएको बताए। सहकारीका उपाध्यक्ष शिव शर्माले सामाजिक उतरदायित्व अन्तरगत सहकारीले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको बताए । कार्यक्रममा सहकारीका स्वास्थ्य उप समिति सयोजक बुद्धी पौडेल सहकारीकी सचिव तारा पराजुली पौडेल लगाएतले रक्तदान कार्यक्रमको बारेमा बोलेका थिए । कार्यक्रममा रक्तदान गर्ने रक्तदाताहरुलाई प्रमाण पत्र प्रदान गरीएको थियो । उक्त अवसरमा सहकारी सस्थाको २३ औँ स्थापना दिवसको अवसरमा केक समेत काटिएको थियो । कार्यक्रममा रक्त संचार केन्द्र पोखराको प्राविधिक टोलिले आवस्यक सामाग्री सहीत विशेष सयोग गरेको थियो ।
रुकुमपूर्व । रुकुमपूर्वमा उत्पादित आलुले बजार नपाउँदा किसान समस्यामा परेका छन् । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकाका प्रत्येक व्यक्तिको घरमा यतिबेला खनेको आलु थुपारिएको छ भने बारीमा पनि आधाभन्दा बढी आलु खन्न बाँकी भए पनि अहिलेसम्म एक किलो आलु पनि बिक्री गर्न नसकिएको त्यहाँका किसानले बताएका छन् । अहिले उक्त गाउँपालिकाको तक, सेरा, दमचन, घुम्लिबाङ, मयाङ, गर, चारगाउँलगायत अधिकांश ठाउँमा फलेको आलु बिक्री नहुँदा किसान मारमा परेका हुन् । यस ठाउँमा मकैपछिको दोस्रो प्रमुख बालीका रूपमा उत्पादन हुने आलुले बजार नपाउँदा आलु कुहिन्छ कि भन्ने पिरले आफूहरूलाई सताएको वडा–१० निवासी चेबाङ कृषक समूहकी सदस्य सातमाया बुढाले बताउनुभयो । त्यहाँ चक्लाबन्दी कार्यक्रममार्फत समूहले धेरै आलु उत्पादन गरेपछि बजारमा पठाउन नसक्दा आफूहरू समस्यामा परेको उहाँले गुनासो गर्नुभयो । अहिले आलु बजारमा बिक्री नहुँदा र घरमा पनि राख्ने ठाउँ नहुँदा बारीमै प्लाष्टिकले छोपेर राख्नुपर्ने बाध्यता रहेको सदस्य बुढाको भनाइ थियो । बर्खाको समय भएका कारण पानी पर्ने भएकाले बारीमै प्लाष्टिकले छोपेर आलु राख्दा पानी परेर कुहिन सक्ने र बारीमै खुलारूपमा राखेको आलुको स्वाद पनि बिग्रने उहाँले बताउनुभयो । “अहिले पुथा उत्तरगङ्गा गाउँपालिकाको सबै ठाउँमा आलु खन्ने काम धमाधम चलिरहेको छ ।” सदस्य बुढाले भन्नुभयो, “आलु खनेर बारीमा थुपारेका छौँ, उत्तरगङ्गा नदीमा पुल नहुँदा पनि हामीले यहाँ उत्पादन गरेको आलु जिल्ला सदरमुकाम रहेको रुकुमकोटको बजारसम्म पु¥याउन पनि सकेका छैनौँ ।” उत्तरगङ्गा नदीमा पुल नहुँदा सवारी साधन वारपार गर्न नसक्ने र तकसम्म गाडी जान नसक्दा र आफूहरुले आलु बोकेर उत्तरगङ्गा नदी पार गर्न नसक्दा आलु घर तथा बारीमै थन्क्याएर राख्नुपरेको छ । यस्तै गाउँपालिकाको ११ नं वडा दमचनका नमूना कृषक समूहका सचिव हृदय बुढाले दमचनमा उत्पादन भएको आलुले बजार नपाएको गुनासो गर्नुभयो । दुःख गरेर गाउँवासीले लगाएको आलु बजारमा पु¥याउन नसक्दा कतिपयको आलु कुहिन सुरु गरेको उहाँको भनाइ थियो । उत्पादित आलुको मूल्य पनि आफूहरूले भनेजस्तो नभएको सचिव बुढाले बताउनुभयो । अहिले बजारमा आलुको मूल्य प्रतिकिलो रु एक सय रहेको र आफूहरूले पनि आलु घरबाटै रु एक सयमा बेच्न खोज्दा ढुवानी खर्च पनि नउठ्ने पीडा सुनाउनुभयो । भूमे गाउँपालिका–९ का किसान धनबहादुर ओलीले पनि आफूले उत्पादन गरेको आलुले बजार नपाएको गुनासो गर्नुभयो । आफूले उत्पादन गरेको र गाउँका अन्य मानिसले उत्पादन गरेको सबै आलु घरमै थन्क्याएर राख्दा आलु कुहिन थालेको उहाँको भनाइ थियो । आलु कुहिन सुरु गरेको र बजार व्यवस्थापनको सुरसार केही नदेख्दा किसानमा निराशा छाएको किसान ओलीले बताउनुभयो । यस्तै आलु ब्लक कार्यक्रम सञ्चालन भएको भूमे गाउँपालिकाको ७ नं वडामा उत्पादित आलु पनि घरमै थन्किएको छ । बीउ अभावका बेलामा खोजीखोजी लगाएको आलको उत्पादन राम्रो भए पनि बजारमा पु¥याउन नसक्दा विगतका वर्षहरू नै आफ्नो उत्पादन खेर गइरहेको किसानले बताउँदै आएका छन् । जिल्लामा कतै पनि सङ्कलन केन्द्र नहुँदा उत्पादनलाई पनि व्यवस्थितरूपमा राख्न नसकिएको उनीहरुले बताए । एकीकृत कृषि तथा पशुपक्षी विकासरुकुमपूर्वको कार्यालयका प्रमुख पिताम्बर बस्नेतले आलुको बजार व्यवस्थापनमा भौगोलिक विकटताले केही समस्या भए तापनि किसानले मूल्य निर्धारण गर्न नसक्दा समस्या भएको बताउनुभयो । किसानले आफूले उत्पादन गरेको आलुको मूल्य बजारको मूल्यभन्दा चर्को भन्ने गरेका कारण पनि त्यहाँको आलु बजारसम्म पुग्न नसेको उहाँको भनाइ थियो ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि विद्युतीय प्रचार सामग्री र मतदाताको घरदैलोमा जाने कार्यक्रमको तयारी गरेको छ । गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा घरदैलो कार्यक्रम नगरेका कारण मतदाता शिक्षा अपुग भएको गुनासो आएपछि आयोगले अबको निर्वाचनका लागि घरदैलो कार्यक्रम गर्ने तय गरेको हो । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले अर्थ मन्त्रालयबाट समग्र निर्वाचनको बजेट स्वीकृति र आयोगबाट निर्वाचनसम्बन्धी निर्देशिकाहरु जारी भएपछि त्यसका आधारमा सामग्रीहरुलाई अन्तिमरुप दिइने बताउनुभयो । आयोगका मतदाता शिक्षा तथा सूचना शाखाका प्रमुख अर्यालले विद्युतीय (डिजिटल) स्रोत सामग्रीको उत्पादनमा विशेष जाड दिइने र त्यसलाई सञ्चारमाध्यम, सामाजिक सञ्जाल र अन्य माध्यमबाट प्रचारप्रसार गरिने जनाउनुभयो । कम खर्च र स्मार्टरुपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेका कारण स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि घरदैलोमा टोली पठाइएको थिएन । आयोगले श्रव्यदृश्य सामग्री र विभिन्न सन्देश तयार गरेर आयोगको आफ्नै फेसबुक, युट्युब, ट्वीटर, भाइबरमा नियमित प्रसारण गर्नेछ । आयोगले विशिष्ट व्यक्ति, लोकप्रिय कलाकार र व्यक्तित्वहरुलाई समेटेर निर्वाचनको महत्व, आचारसंहिताका व्यवस्थाका विषयका आधारमा सन्देश तयार गर्नेछ । स्थानीय तह निर्वाचनका लागि निर्वाचन तथा मतदाता शिक्षा नीति, २०७८ र निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ स्वीकृत गरी कार्यक्रम सञ्चालन भएको थियो । आयोगले ब्रोसर, लिफ्टलेट, पर्चा, पम्प्लेट, नमूना मतपत्र, पोष्टरलगायतका सामग्री छपाइ गरेर वितरण पनि गरिसकेको र कसरी मतदात गर्न सकिन्छ भन्ने सही तरिकाबारे बुँदागत सर्कुलर पनि गरेको थियो । गत निर्वाचनमा आयोगले निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रमअन्तर्गत निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका तथा स्थानीय तह निर्वाचन निर्देशिकामा मतदान स्थलमा मतदाता सूचना कक्षको माध्यमबाट मतदाता शिक्षा कार्यक्रम संचालन गर्ने व्यवस्था भएकोमा मतदानको दिन (वैशाख ३० गते) उक्त कार्यक्रम नगरी मतदानको अघिल्ला दुई दिन (वैशाख २८ र २९ गते) मतदानस्थलमा सम्बन्धित मतदान अधिकृतहरुको नेतृत्वमा खटिने मतदान टोलीबाट मतदाता परिचयपत्रको वितरण गर्ने र आयोगले उपलब्ध गराएका नमूना मतपत्रलगायत पोष्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यम मतदान गर्ने सही तरिका बुझाउन आग्रह गरेको थियो । उक्त अवधि अपुग भएको समीक्षा प्रतिवेदनमा उल्लेख छ । मतदान गर्न जाँदा मतदाताले मतदाता परिचयपत्र वा आयोगले तोकेको परिचय खुल्ने अन्य परिचयपत्र लिई जान भन्ने, मतपत्रमा स्वस्तिक छाप लगाइ मतदान गर्ने तरिकाको बारेमा मतदातालाई मतपत्रमा सात निर्वाचन चिह्नमा मतसङ्केत गरी मतदान गर्नुपर्नेजस्ता विषय मतदाता शिक्षामा समावेश हुनेछन् । आयोगले प्रकाशन गरेको निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवद्र्धन स्रोत पुस्तिका २०७६ मा लोकतन्त्र, निर्वाचन, समावेशीता र निर्वाचन, मतदाता नामावली, मतदान, समावेशी निर्वाचन र परिवर्तन, निर्वाचन विवाद र विवाद निरुपण, निर्वाचन र निर्वाचन चक्र, नेपालको निर्वाचन प्रणाली आदि विषय समावेश गरिएका छन् । निर्वाचनमा भाग लिने प्रयोजनका लागि चार निवेदन गरी जम्मा ८४ (चौरासी) वटा निवेदन प्राप्त हुन आएकोमा राजनीतिक दलबाट दर्ता हुन आएका निवेदनलगायत अन्य कागजातको अध्ययन र जाँचबुझ गर्दा जम्मा ७९ वटा दलका निर्वाचन चिह्नमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको सङ्ख्या ८७ कायम भइसकेको छ ।
लेखनाथ । पोखरा महानगरपालिका वडा नं. २७ मा रहेको श्री कृष्ण प्रणामी मन्दिर वृद्ध तथा बाल आश्रममा फुटबल टिम सिक्स ए.एम.ले दर खुवाएर तिज मनाएको छ । पोखरा महानगरपालिका वडा नं. १० मिलन टोलमा विगत १० वर्ष अगाडी बाट स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ स्थापना भएको सिक्स ए.एम. क्लवले हिन्दुनारीहरूको महान पर्व हरितालिका तिज तथा बाबुको मुख हेर्ने दिन पारेर वृद्ध तथा बाल बालिकाहरुलाई दर खुवाउने कार्यक्रम गरी सम्मान गरेको छ । खेलकुदका सँग सगै सामाजिक कार्यमा समेत यूवाहरुको भुमिका महत्वपूर्ण हुने साथै यूवाहरुमा पनि वृद्ध प्रति सकारातमक सोच र व्यवहारको विकास गराउन यस किसिमको कार्यक्रमले महत्वपूर्ण भुमिका निर्वाह गर्ने क्लवका अध्यक्ष दिपेन्द्रप्रताप चन्द्रले बताएका थिए ।
पोखरा । माझठाना—पोखरा सम्पर्क समाजको आयोजना एवम् रक्तसञ्चार केन्द्र रामघाटको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ३२ युनिट रगत संकलन भएको छ । रक्तदान जीवनदान भन्ने मूल नारा सहित अमरसिंह चोकमा आज आयोजित खुल्ला रक्तदान कार्यक्रममा चार महिला तथा तीन जना नयाँ रक्तदाता सहित ३२ जनाले रक्तदान गर्नुभएको हो । जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले पहिलो रक्तदाता रामचन्द्र तिवारीलाई व्लड व्याग हस्तान्तरण गर्दै रगतको विकल्प नभएको हुँदा रक्तदानमा सहभागि बन्न युवा वर्गलाई आव्हान गर्नुभयो । समाजका अध्यक्ष दयाराम तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २८ वडाअध्यक्ष एवम् संस्थापक अध्यक्ष श्रीकृष्ण लामिछाने, संस्थाका सल्लाहकार ऋषिराम लामिछाने, हरि बास्तोला, सूर्य तिवारी, निवर्तमान अध्यक्ष दुर्गादत्त भुर्तेल, संस्थाका पदाधिकारी लगायतले रक्तदातालाई रक्तदानको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

