पोखरा:   बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ ।  तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...

  झापा । झापाको झापा गाउँपालिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।मादक पदार्थ सेवन गरेका झापा–६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार राति १०:१० बजे ३५ वर्षीय श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर हत्या गरेको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो ।   श्रीमतीको हत्या गरी फरार भएका उनलाई आज बिहान ८ बजे नेपाल–भारत सीमा नजिकै कचनकवल–१ बाट पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।  ।

बागलुङको बरेङ गाउँपालिका–३ बाटाका चौरस्थित सारदा माध्यमिक विद्यालयका सात विद्यार्थी बेहोस भएका छन् ।   बिहीबार पाँच र शुक्रबार दुई छात्रा एक्कासी बेहोस भएको विद्यालयका प्रधानाध्यापक देवीदत्त पौडेलले जानकारी दिनुभयो । टाउको दुख्यो भनेर सुत्ने, चिच्याउने, बरबराउने, एकोहोरो भएर टोलाउने, पछारिने र बेहोस हुने गरेको पौडेलको भनाइ छ । बेहोस हुनेमा कक्षा ७, ८, ९ र १० मा अध्ययन गर्ने छात्रा रहेको पौडेलले बताउनुभयो ।    गत जेठमा पनि विद्यालयका दुई विद्यार्थीमा यही प्रकारको बिरामी भएको र त्यसयता यो खालको समस्या नआएको प्रधानाध्यापक पौडेल बताउनुहुन्छ । “गत जेठमा पनि विद्यालयमा दुई विद्यार्थीमा यो समस्या देखिएको थियो, त्यसपछि यस्तो समस्या आएको थिएन”, प्रअ पौडेलले भन्नुभयो, “अहिले फेरि समस्या देखियो ।”   सात विद्यार्थीमा बेहोस हुने समस्या देखिएपछि अन्य विद्यार्थी त्रसित बनेका छन् । धेरै विद्यार्थीमा यसखालको समस्या आउन नदिनका लागि विद्यालय बन्द गर्नुपर्ने स्थानीयको भनाइ छ । उनीहरूले बिहीबारनै विद्यालय बन्द गरेको भए अरु विद्यार्थीमा समस्या नदेखिने बताउँछन् ।    बिहिबार एकै दिन पाँच छात्रा बेहोस भएर ढलेपछि विद्यालयले अभिभावकलाई बोलाएर जिम्मा लगाएको प्रअ पौडेलले बताउनुहुन्छ । “हिजो पढाउँदै गर्दै पाँच विद्यार्थी बेहोस भए, आज पनि दुई विद्यार्थीमा यो समस्या देखिएपछि हामीले अभिभावक बोलाएर जिम्मा लगायौँ, यहाँबाट दुई शिक्षिकासहित उनीहरू स्वास्थ्यचौकी पठाका छौँ”, उहाँले भन्नुभयो, “यो विषयलाई गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखलाई पनि जानकारी गराएका छौँ ।”   बिहीबार बिरामी परेका छात्राको स्वास्थ्य अवस्थामा अहिलेसम्म पनि सुधार आउन नसकेको शिक्षिका सरिता पौडेलले बताउनुभयो । अध्ययन गर्न विद्यालय गएका बालिका एक्कासी बिरामी हुन थालेपछि अभिभावकमा पनि त्रास छाएको छ । विद्यालयमा विद्यार्थी एकाएक बिरामी पर्न थालेपछि विद्यालय व्यवस्थापन समितिको बैठक बसेर तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । विद्यालय १४ गतेदेखि सञ्चालन गर्ने विद्यालयले जनाएको छ । तीन दिनपछि पनि अरु विद्यार्थीमा समस्या देखिए स्वास्थ्यकर्मीसँग परामर्श लिएर अगाडि बढ्ने प्रअ पौडेल बताउनुहुन्छ ।   “दिनदिनै विद्यार्थी बिरामी पर्ने थाले, तिज पनि नजिकिएको छ, त्यसले गर्दा १४ गतेसम्मका लागि विद्यालय बन्द गर्ने व्यवस्थापन समितिसँगको बैठकलले निर्णय गरेको छ”, उहाँले भन्नुभयो, “१४ गते विद्यालय खोल्ने निर्णय भएको छ, त्यस बेलासम्म पनि अरु विद्यार्थीमा यही समस्या देखियो भने स्वास्थ्यकर्मीसँग पराशर्म लिएर थप निर्णय गर्ने छौँ ।”

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को संघीय समितिमा मनोनित गण्डकीका फोनिजकर्मीहरुलाई शुक्रवार पोखरामा सपथ ग्रहण एवम् बधाई ज्ञापन गरिएको छ।    फोनिजको चितवनमा सम्पन्न सातौं अधिवेशनमा केही असहमति जनाएको गण्डकी प्रदेशका केही अग्रजहरुलाई संघीय समितिले मनोनित गराए पश्चात फोनिज गण्डकी प्रदेश समितिद्धारा आयोजित बधाई तथा लेखनवृत्ति पुरस्कार वितरण समारोहका प्रमुख अतिथि संघीय समितिका महासचिव मिलन लिम्बुले प्रमाणपत्र वितरणका साथै पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो।    मनोनितमा संघीय समिति सदस्य एवम प्रदेश इञ्चार्ज एमबी आस्थामगर, संघीय समिति सदस्य एवम आमन्त्रित सचिवालय सदस्य दिल शिरिष, संघीय समिति सदस्य मिला दरै, संघीय समिति सदस्य कमला रानामगर र संघीय संगठन विभाग सदस्य इतराज गुरुङ(आशिफ)लाई महासचिव लिम्बुले सपथ ग्रहण गराउनुभएको हो। यसैगरी संघीय समितिले हुमबहादुर गुरुङलाई संघीय समिति सल्लाहकारमा मनोनयन गरेको छ।  सपथ ग्रहण  कार्यक्रमका प्रमुख अतिथि महासचिव लिम्बुले महाधिवेशनमा कमिकमजोरी रहेता पनि अब फोनिजकर्मीहरुको बिचको एकता अझै सुदुढ हुने बताउनुभयो। केही समस्या भए पनि फोनिजको आन्तरिक आत्मसमिक्षाले एकतालाई थप सुदृढ गर्दै गण्डकी प्रदेश सशक्त ढंगले अभियानमा जुट्ने विश्वास व्यक्त गर्नुभयो। फोनिज गण्डकीले विगतदेखि उत्कृष्ठ कार्य, अभियानहरु गर्ने क्रममा पत्रकारहरुलाई लेखनतर्फ प्रोत्साहन गर्न लेखनवृत्ति प्रतियोगिता आयोजना गरी उत्कृष्ठलाई पुरस्कृत गर्नु उदाहरणीय कार्य भएको भन्दै निरन्तरताको शुभकामना व्यक्त गर्नुभयो।    संघीय समितिका सल्लाहकार हुमबहादुर गुरुङले सपथ ग्रहण गर्नुभएका गण्डकीका फोनिजकर्मीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै विगतमा उत्पन्न भएका समस्याबाट पाठ सिक्दै फोनिजको मर्ममाथि कहिकतैबाट प्रहार हुन नहुने र भुगोलको प्रतिनीधित्वलाई सुनिश्चित गर्न विर्सन नहुने बताउनुभयो।उहाँले फोनिजकर्मीहरुलाई कलम चलाउन प्रोत्साहन गर्न लेखनबृत्ति प्रतियोगिता आयोजना गरिएकोमा सहभागी र उत्कृष्ठ लेखनलाई बधाई एवम् धन्यवाद व्यक्त गर्नुभयो।    सपथग्रहण पश्चात फोनिज गण्डकी प्रदेश इञ्चार्ज एमबी आस्थामगरले गण्डकीका फोनिजकर्मीहरुको एकता,फोनिजको अभियान सफल बनाउन र फोनिजको मर्मलाई गण्डकीका फोनिजकर्मीहरु इमान्दारपुर्वक जुटिरहने बताउनुभयो।   कार्यक्रममा फोनिज गण्डकीले संघीय सल्लाहकार, समिति र विभागमा मनोनित हुनुभएको फोनिजकर्मीहरुलाई बधाई एवम सम्मान गरिएको थियो भने कास्की जिल्ला अन्नपुर्ण गाउपालिका वडा नं.९को वडाध्यक्षमा निर्वाचित फोनिज कास्कीका कोषाध्यक्ष रमेश गुरुङलाई बधाई तथा सम्मान र फोनिज स्थापना दिवसमा आयोजित लेखनवृत्तिमा उत्कृष्ठ रीता गुरुङ, गोविन्द थापा मगर, श्याम राना मगर र विकास रोका मगरलाई नगदसहित पुरस्कृत गरिएको थियो।    कार्यक्रममा सम्मानित वडाध्यक्ष रमेश गुरुङ र लेखनवृत्ति पुरस्कृत गोविन्द थापाले फोनिज गण्डकीले आयोजना गरेको लेखनवृत्तिलाई अझै प्रभावकारी रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिए । कार्यक्रम फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीस मगरको अध्यक्षता कोषाध्यक्ष  रत्ना गुरुङको  स्वागत र सचिव सुसान्त गाहा मगरको संचालनमा सम्पन्न भएको थियो । 

  महोत्तरी । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले आज बिहान महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित नेपाल र भारतको दशगजा क्षेत्रबाट ६० बोरा चिनी बरामद गरेको छ ।   महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीका अनुसार जिल्लाको सम्सी गाउँपालिका–६ स्थित चाँदनी चोकभन्दा पाँच सय मिटर दक्षिण नेपाल र भारतको दशगजा क्षेत्रमा नेपालतर्फ वेवारिसे अवस्थामा ६० बोरा चिनी प्रहरीले बरामद गरेको हो ।   रातिको मौका छोपी भारतबाट नेपाल भित्र्याउनका लागि दशगजा क्षेत्रमा जम्मा गरेको ६० वटा बोरामा ३० क्विन्टल चिनी तस्करले गन्तव्यमा पुर्याउन सफल हुन नसक्दा आज बिहान सीमा सुरक्षा गस्तीमा गएका संयुक्त प्रहरी टोलीले उक्त चिनी बरामद गर्न सफल भएको प्रहरीको भनाइ थियो ।बरामद गरिएको चिनी जिल्लाको भिट्ठामोडस्थित मूल भन्सार कार्यालयमा बुझाइएको छ । 

  बेनी ।  हरियाली लेकाली खर्क । आँखै अगाडि ठोकिने हिमाल । हिमाली बुकीका फाँटमा ससाना त्रिपाल टाँगेका गोठ । डाँडा र हिमालले घेरिएको बुकी र फाँटका चरन क्षेत्रमा सेताम्मे देखिन्छन् भेडाका बथान ।       अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारको खयरखोला क्षेत्रमा देखिने यो दृश्य निकै रमाइलो र लोभलाग्दो देखिन्छ । खोप्रा–खयर पदमार्गअन्तर्गत पर्यटक आश्रय लिएर बस्ने खयरखोला क्षेत्रमा व्यावसायिक भेडापालन पनि हुँदै आएको छ । यिनै गोठमा भेटिनुहुन्छ ७८ वर्षीय लालवीर तिलिजा ।       पाउद्वार गाउँका बासिन्दा रहनुभएका तिलिजाले भेडीगोठमा आफ्नो जीवनको अधिकांश समय बिताउनुभयो । उमेर बढ्दै जाँदा गालाका छाला चाउरी पर्न लागे, दाँत झर्न लागे तर तिलिजाको जाँगर घटेको छैन । भेडीगोठसँगको उहाँको सामिप्यता उस्तै छ । गोठमा घाम, पानी, असिना र हिउँमा सङ्घर्षमय तरिकाले रमाउनुभएका तिलिजा बुढ्यौली लाग्दासमेत गोठको जीवनबाट अझै थाक्नुभएको छैन ।     बेंशीका फाँटदेखि पहाडका पाखा पखेरा हुँदै हिमालका बुकीसम्म भेडीगोठ राख्ने र भेडा चराउने काममा तिलिजाको जीवनको करिब ७० वर्ष बढी समय बित्यो । छ वर्षको उमेरदेखि नै बुबा आमासँग गोठ बस्नुभएका तिलिजालाई औपचारिक शिक्षा लिने अवसर मिलेन । बुबा आमासँग गोठमा बस्दै गर्दा आफूलाई समेत गोठप्रतिकै लगाब बढेपछि बाबुले गरेकै पेसालाई जीवनभर अँगालेको तिलिजाले बताउनुभयो । “मैले थाहा पाएसम्म हाम्रो जिजु, बाजे, बुबा हुँदै मसम्म आइपुग्दा चार पुस्ताले नै भेडापालन गर्यौँ, मैले भेडापालनबाटै परिवार धाने, छोराछोरीलाई पढाएँ, उनीहरुको रहरअनुसारको देशमा रोजगारको लागि पठाएँ, गोठमै बसेर गरेको आम्दानीबाट सन्तुष्ट छु”, तिलिजाले भन्नुभयो ।     भेडापालनबाटै कमाएको पैसाले साइला छोरा जापान, जेठा छोरा बेलायत पठाएको तिलिजाले सुनाउनुभयो । “चार छोरा, पाँच छोरी छन्, उनीहरु सबैलाई विद्यालय तहको शिक्षा दिएँ, उनीहरुकै इच्छाअनुसार कतिपयलाई लाखौँ खर्च गरेर विदेश पनि पठाएँ, उनीहरुले र मैले कमाएको पैसाबाट पोखरामा घर पनि जोडेको छु, श्रीमती र कान्छा छोरा अहिले पोखरा बस्छन्, माइला छोराले वडाध्यक्ष जितेर गाउँको नेतृत्व सम्हालेका छन्”,  उहाँले पारिवारिक अवस्था सुनाउनुभयो ।     तिलिजाको गोठमा अहिले करिब तीन सय भेडा छन् । गोठको खर्च र हेरालुको ज्याला कटाउँदा वर्षमा रु १० देखि ११ लाखसम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो । उत्पादन गर्न सके बिक्रीका लागि बजारको अभाव नभएको उहाँको भनाइ छ । “जनैपूर्णिमालगायतका पर्वमा पूजाका लागि साँडहरु किन्न ग्राहक गोठमै आउँछन्, चाडपर्वको लागि मासु खानका लागि पनि गोठबाटै भेडा किन्न गाउँले आइपुग्छन्, बरु किन्नेले खोजेजति बिक्री गर्ने भेडा उत्पादन गर्न नै सक्दैनौँ”, तिलिजाले भन्नुभयो ।      गोठका उकाली ओरालीमा सात दशक समय बिताउनुभएका तिलिजालाई भेडीगोठ बस्ने धित अझै मरेको छैन् । भर्ती हुने र लाहुर जाने सपनामा केही वर्ष भेडीगोठबाट बाहिरिए पनि सफल नभएपछि पुनःभेडापालनमै फर्किएको उहाँले बताउनुभयो । “एक गोठको भेडाको पैसा दलालले खाइदियो, त्यतिबेला रु ८६ हजारमा भेडीगोठ बेचेको थिएँ, बम्बइसम्म पुर्र्याएर दलालले सबै पैसा खाइदियो, १० महिना त्यहाँ बस्दा पनि विदेश पठाउने निधो नभएपछि फेरि गाउँ फर्किएँ र भेडापालनकै इलममा लागेँ”, तिलिजाले आफ्नो सङ्घर्षका उतारचढाव सुनाउनुभयो ।     विदेशमा रहेका छोराछोरीले गोठबाट विश्राम लिएर आरामदायी जीवनयापन गर्न सुझाव दिने गरेको बताउँदै उहाँले आफ्नो हातपाखुरा चल्दासम्म गोठ छाड्न मन नलागेको बताउनुभयो । तिलिजाले बर्खायाममा खयरखोला हुँदै अन्नपूर्ण हिमाल र बराह शिखर हिमालको फेदीसम्मै भेडीगोठ पुर्याउने भएपनि हिउँदयाममा खोप्राडाँडा हुँदै पाउद्वार र पर्वतको लेसपारका बेंशीका फाँटसम्म गोठ झार्ने गर्नुभएको छ । “बाघ र चट्याङको डर भेडीगोठमा भइरहन्छ, केही वर्षअघि चट्याङ लागेर एकैपटक ६२ वटा भेडा मरे, बाघले वर्षमा एक÷दुई वटा भेडा खान्छ, भेडीगोठको सुरक्षामा हामी गोठालासँगै कुकुर हेरालुकै भूमिकामा हुन्छन्”, उहाँले भन्नुभयो ।     चार पुस्ताले गर्दै आएको भेडापालन आफूपछिको पुस्ताले छाड्ने चिन्ता तिलिजामा छ । तर अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्षसमेत रहनुभएका तिलिजाका छोरा राजेश तिलिजाले बुबाले गर्दै आएको भेडापालनलाई आफूले पनि निरन्तरता दिने सोच बनाएको बताउनुभयो । “अघिल्लोपटक वडा सदस्य र कार्यवाहक वडाध्यक्ष भएर काम गरेँ, यो कार्यकालमा वडाध्यक्षमा निर्वाचित भएर काम गरिरहेको छु, जनप्रतिनिधिको भूमिकाबाट बाहिर आएपछि भेडापालनलाई नै अगाडि बढाउने योजना बनाएको छु”, वडाध्यक्ष तिलिजाले भन्नुभयो । बुबालाई भेडापालनबाट विश्राम लिन सुझाव दिए पनि उहाँले भेडीगोठमै आफूलाई आनन्द रहेको बताउँदै पारिवारिक आग्रहलाई इन्कार गर्ने गरेको उहाँले बताउनुभयो ।     पहिलेको तुलनामा भेडापालन घट्दो र भेडाको माग बढ्दो क्रममा रहेको बताउँदै उहाँले युवापुस्ताले गोठ बस्न नरुचाउने भएकाले भेडापालनको पेसा पुस्तान्तरण हुन नसक्ने अवस्थामा पुगेको अनुभव सुनाउनुभयो । खयर क्षेत्रमा भेडापालनको सम्भावना रहेको बताउँदै वडाध्यक्ष तिलिजाले पछिल्लो समय केही युवा यस पेसामा आबद्ध हुन थालेको जानकारी दिनुभयो ।     पाउद्वार गाउँका २१ वर्षीय युवा प्रकाश पुन एक वर्षदेखि भेडापालनका लागि भेडीगोठ बस्न थाल्नुभएको छ । शिख माविबाट कक्षा १२ उत्तीर्ण गरेपछि दुई वर्ष भैँसीपालन गर्नुभएका पुनले एक वर्षदेखि साझेदारीमा भेडापालन गर्न थाल्नुभएको हो । स्थानीय कमल तिलिजा र कुमार पाइजासँग पुनले खयर क्षेत्रमा साझेदारीमा भेडापालन गर्नुभएको छ । “हाम्रो गोठमा तीन सय भेडा छन्, भेडा र साँड उत्पादन गर्न सके जति पनि बिक्री हुन्छ, म भर्खरै यो पेसामा लागेको हुँ, अझै आम्दानी गर्ने अवस्था आइपुगेको छैन, अरु साथीहरुले एकै पटकमा तीन÷चार लाख रुपैयाँको भेडा बिक्री गर्नुहुन्छ”, पुनले भन्नुभयो । पुनका साथि कमलले नौ वर्षदेखि र कुमारले तीन वर्षदेखि भेडापालन गर्दै आएका छन् ।     अरुको देशमा गएर पसिना बगाउनुभन्दा आफ्नै देशमा पसिना बगाउन मन लागेर भेडापालनमा लागेको पुनले बताउनुभयो । अहिले खयर क्षेत्रमा तीन वटा ठूला गोठ छन् । ती भेडीगोठमा  करिब एक दर्जन घरपरिवारले साझेदारीमा भेडापालन गर्छन् । एक हजार पाँच सयवटा भेडापालन हुँदै आएको खयर क्षेत्रमा भेडापालन गर्दै आएका स्थानीयले जनैपूर्णिमाको अवसरमा मात्रै १० देखि ७० वटासम्म भेडा र साँड बिक्री गर्दै आएका छन् । यसपटकको जनैपूर्णिमा मेलामा मात्रै स्थानीय भेडापालक कृषकले दुई सय ५० बढी भेडाका साँडको बिक्री गरेका थिए ।      खयर क्षेत्रमा अन्नपूर्ण गाउँपालिका–१ दोबाका धन पुर्जालेसमेत वैदेशिक रोजगारलाई त्योगेर भेडापालन सुरु गर्नुभएको छ । बाह्र वर्षसम्म विदेशमा पसिना बगाउनुभएका पुर्जाले तीन महिनादेखि १७२ वटा भेडा खरिद गरेर व्यावसायिक भेडापालन सुरु गर्नुभएको हो । ‘‘पहिले पनि गाउँमा पुख्र्यौली भेडापालन गर्थे, भेडीगोठ बेचेर साउदी गएँ, त्यहाँबाट फर्किएपछि मलेसियामा पनि गएँ, तर सोचेजस्तो कमाइ भएन, बरु यतै केही गरौँ भनेर भेडापालन पेसामै फर्किएको पुर्जाले भन्नुभयो ।      हिमाली क्षेत्रमा पालन गरिएका भेडाको खरिदका लागि सहरी र ग्रामीण क्षेत्रका उपभोक्ता गोठसम्म पुग्ने गरेका छन् । विभिन्न पूजाआजामा बलि दिन र मासुका लागि भेडीगोठ नै पुग्ने गरेको अन्नपूर्ण गाउँपालिका–८ नाँगीका हेमबहादुर तिलिजा पुनले बताउनुभयो ।      यस क्षेत्रमा घुम्ती गोठकारुपमा भेडापालन हुँदै आएको छ । खासगरी लेकाली क्षेत्रको चरनमा हुर्कने भएकाले मासुका लागि भेगीगोठका भेडाको माग अत्यधिक हुने गरेको छ । परम्परागतरुपमा हुँदै आएको भेडापालनलाई व्यावसायिक र व्यवस्थित बनाउन गाउँपालिका र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलेसमेत अनुदान, तालिम र परामर्श सेवाका कार्यक्रम सञ्चालन गर्दै आएका छन् । 

  महेन्द्रनगर । कञ्चनपुरका अधिवक्ता गजेन्द्र रावलले केही वर्षअघि छाडा पशु व्यवस्थापनमा ध्यान नदिएको जनाउँदै यहाँका चार पालिकाविरुद्ध उच्च अदालत दिपायल महेन्द्रनगर इजलासमा मुद्दा दायर गर्नुभयो ।       सार्वजनिक सरोकारको विषयमा पालिकाको छाडा पशु व्यवस्थापनमा ध्यान नदिँदा पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना बढेको र किसानको खेतीबाली नोक्सान पुगेको जनाउँदै दायरा गरेको मुद्दामा अदालतले अन्तरिक आदेश जारी गर्दै व्यवस्थापनमा ध्यान दिन पालिकालाई आदेश दियो । यहाँ न अदालतको आदेश कार्यान्वयन भयो नत पालिकाले पशु व्यवस्थापन नै गर्न सके । छाडा पशु व्यवस्थापनका नाउँमा भीमदत्त नगरपालिकादेखि यहाँका अन्य पालिकाले करोड रकम खर्च गरे तर राजमार्गबाट छाडा पशुको बसाईं अन्त अझै सरेको देखिँदैन ।      अधिवक्ता रावलले अदालतले तत्काल यहाँको भीमदत्त , बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका नाममा आदेश जारी गरेको बताउनुभयो । “अदालतको आदेशपछि छाडा पशु व्यवस्थापनका नाममा करोडौँ खर्च गरेको सुनियो तर व्यवस्थापन भएन”, उहाँले भन्नुभयो, “ तर अहिले राजमार्गमा छाडा पशुका कारण दिनहुँजसो सवारी दुर्घटना भइरहेको अवस्था छ ।”      उहाँले सार्वजनिक सरोकारका विषय भएकाले पूर्वपश्चिम राजमार्गमा पर्ने पालिकालाई विपक्षी बनाएर मुद्दा दायर गरेको जानकारी दिनुभयो । यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले छाडापशु चौपायाका कारण यहाँ भइरहेको सवारी दुर्घटनाको डरलाग्दो रुप सुनाउनुभयो ।     उहाँले बितेको सात महिनाको अवधिमा छाडा पशुकै कारण सवारी दुर्घटनामा परी नौ जनाले ज्यान गुमाएको बताउनुभयो । “सात महिनामा छाडापशु राजमार्ग र सडकमा हुँदा ९४ वटा सवारी दुर्घटना भएको तथ्याङ्क छ ।” प्रहरी उपरीक्षक चौधरीले भन्नुभयो, “जसमा १८÷१९ जना घाइते भएर अपाङ्गता भएको स्थिति छ ।” दुर्घटनामा दर्जनौँ छाडा पशुसमेत मरेको प्रहरीको भनाइ छ ।     “सडक पूर्वाधार भनेको विकासको सूचक हो, तर यहाँ गड्डचौकीदेखि मोहना पुलसम्मद दर्जनौँ ठाउँमा छाडा पशु राजमार्गमै भेटिन्छन्”, उहाँले भन्नुभयो, “जसका कारण सवारी दुर्घटना हुँदा मान्छेले जीवनभरि पनि अपाङ्गता भएर बस्नुपर्ने अवस्था आयो ।” उहाँले छाडा पशु व्यवस्थापनमा स्थानीय सरकारसँगै पशुपालक किसान स्वयं जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।     “दूध खाने दिन छाडेपछि छाडा छोड्ने प्रवृत्ति राम्रो भएन”, अधिवक्ता रावलले भन्नुभयो, “ व्यवस्थापनमा सबैको हातेमालो जरुरी छ ।” यहाँस्थित महाकाली यातायात बहुउद्देश्यीय कम्पनीका अध्यक्ष डम्बर पन्तले अहिले दुर्घटनाका कारण छाडापशु चौपाया भइरहेको बताउनुभयो ।     “उहिले सडकलगायत अन्य कारणले दुर्घटना हुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले महेन्द्रनगरदेखि कैलालीको चिसापानीसम्म सबैभन्दा बढी दुर्घटना छाडापशुकै कारण भइरहेको छ ।” छाडा पशु राजमार्गमा सर्वत्र हुँदा साँझको समयमा बढी दुर्घटना हुने गरेको उहाँको भनाइ छ । “साँझपछि रातिको समयमा गाईगोरुको रङ पनि कालो सडक पनि कालोपत्र हुँदा बढी दुर्घटना भएका घटना छन्”, उहाँले भन्नुभयो, “कञ्चनपुरमा छाडा पशुको व्यवस्थापन चुनौती बनिरह्यो ।”     उहाँले सम्बन्धित पालिकाले अभिलेख राखेर छाडा छोड्ने किसानलाई कारबाहीको दायरामा ल्याउन आग्रह गर्नुभयो । “दूध खाएर पशु छोड्नेलाई पालिकामा जरिवाना गर्नेदेखि सुविधा कटौतीसम्मको नीति ल्याउनुपर्छ ।” छाडापशुसित मोटरसाइकल दुर्घटना बढी सङ्ख्यामा भएको देखिन्छ ।”     कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ मा वडाध्यक्ष रमेश ऐरले भने यहाँको विन्द्रावन सामुदायिक वनको छेउछाउमा रहेको फाँटमा छाडा पशु व्यवस्थापन गरिरहेका छन् । “हामीले व्यवस्थापन गरेपछि पनि राजमार्गमा पूर्णरुपमा न्यूनीकरण भएको छैन”, उहाँले भन्नुभयो, “अहिले नगरपालिकाकै सहयोगले पशु व्यवस्थापनमा १२ जना मजदुर राखेर खटिएको छु ।”      उहाँले सबै पालिकाले प्रयास नगरेसम्म कञ्चनपुरका छाडा पशु व्यवस्थापन हुन नसक्ने जिकिर गर्नुभयो । “अहिले हाम्रो काञ्जी घरमा साढे चार सयजति छाडा पशु व्यवस्थापन गरेका छौँ”, उहाँले भन्नुभयो, “त्यसका लागि ४० बिघा जमिन ओगटेका छौँ ।”

  कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ बडुवाल चौराहाका खेमराज भट्टकी दुई वर्षीया छोरी मानुशी भट्ट आज बिहान नहरमा मृत भेटिएकी छन् ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले बिहीबारदेखि हराइरहेकी बालिका शुक्रबार बिहान घर अगाडिको महाकाली सिँचाइको शाखा नहरमा मृतावस्थामा भेटिएको बताउनुभयो । “हराइरहेकी बालिकाको शव स्थानीयवासीको सहयोगमा आज बिहान प्रहरीले फेला पारेको हो ।” उहाँले भन्नुभयो, “अहिले घटनास्थल मुचुल्का सङ्कलन गरेर शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल पठाएका छौँ ।” प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    काठमाडौ । ‘कुमारी आमा’ निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरको सहयोग रकम फिर्ता गरेकी छिन्। चरित्रहत्या गर्ने गरी आरोपितसँगको आफ्ना निजी तस्बिर सार्वजनिक गरेको भन्दै निहारिकाले सहयोग रकम फिर्ता गरेकी हुन्।   आज शुक्रबार उनी करिश्माको घर गएकी थिइन्। घरनजिकै तिज मनाउन गएकी करिश्मालाई सोही स्थानमा पुगेर निहारिकाले सहयोग रकम फिर्ता गरेकी हुन्। निहारिकालाई करिश्माले २० हजार रकम दिएकोमा निहारिकाले एक हजार थप गरी २१ हजार रुपैयाँ फिर्ता गरेकी हुन्।  न्यायको माग गर्दै नाबालक छोरासहित निरन्तर लडिरहेकी निहारिकालाई अनशनस्थल पुगेर करिश्माले छोरासहित उनलाई ‘एडप्ट’ गर्ने इच्छा व्यक्त गरेकी थिइन्। तर, त्यसको केही दिनपछि नै उनले आरोपित शिवराज श्रेष्ठसँग निहारिकाका तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि निहारिका कानुनी उपचारमा जाने भएकी छिन्।

  रामपुर ।  ‘तीजमा छोरी आइन माइत नभन्नु है आमाले, आउन पाइन आमा म त घरको कामले’ यसपालिको तीजमा माइती घरमा जान नपाउँदा फोनबाटै बुढी भएकी आमालाई सम्झाउँदै हुनुहुन्छ, पाल्पा रामपुरकी भगवती देवकोटा ।               माइतीघरमा आमाको काखमा बसेर दर खादै आँगनीमा मादलको तालमा घन्केर नाच्ने रहर उहाँलाई नभएको होइन । तैपनि समय र परिस्थितिले कर्मघरमा नै परिवारसँग बसेर खुशीयालीका साथ तीज मनाउँदै हुनुहुन्छ । “पहिला–पहिला तीजमा हरेक वर्ष छोराछोरी कोही काखमा, कोही डोर्याउँदै दिनभरको बाटो वर्षे भेल पनि नभनी खोला, नदीनाला तरेर पुगिन्थ्यो, अहिले त आफ्नै घरकै कामधन्दाले गर्दा माइती जानै भ्याइँदैन, माइती नगए पनि घरमै तीजकै रमाइलो गरेर मनाउने तयारी छ”, उहाँले भन्नुभयो ।              घर व्यवहार, छोराछोरीको पठनपाठन सबै आफ्नै काँधमा आएपछि तीजलाई भनेर माइतीमा हिजोआज कमै जाने गरेको उहाँ बताउनुहुन्छ । बेलाबेलामा भने उमेर ढल्कदै गएका बुबाआमालाई भेटघाट गर्न जाने गर्छु तर तीज पर्व नै भनेर माइती जाने हिजोआज फुर्सद नै मिल्दैन । घरमा सबै सुखसयल, धन सम्पत्ति भए पनि छोरीलाई तीजमा माइतीकै झल्को भने उत्तिकै आउने उहाँ बताउनुहुन्छ ।               उहाँ भन्नुहुन्छ, “अब बुढ्यौलीले छुँदै गयो, दुई÷तीन दिन माइती गएर बस्दा सबै घर बिग्रन्छ कि भन्ने पिरलो हुन्छ, बिहे भएका सुरुका वर्षमा त सधैँजसो तीजमा माइती गइएकै थियो, बाबाको तीनतले घर छोरीलाई के काम लाग्छ र ? भने झै आफ्नै घरमा सुख दुःखसँग रमाउनु पर्ने छोरीको कर्म रहेछ ।”              पहिला मीठो मसिनो खान वर्ष दिनकै चाड कुर्नुपथ्र्यो । अहिले परिस्थिति बदलिएकाले पनि महिलाहरु मीठो मसिनो खानकै निम्ति माइतीमै जानुपर्छ भन्ने चलन हराउँदै गएको छ । सतासी वर्षीय विष्णुमाया देवकोटालाई यसपटक पनि तीजमा भाइले माइती बोलाए पनि उमेर अवस्थाले गर्दा माइती जानसक्ने अवस्था छैन ।             बद्री पंगेनी र कविता अर्यालले यसपटक बजारमा ल्याउनुभएको ‘सुखदुःख गरौँला दिदी आउँ है खुरुक्क, तीजमा भाइले बोलायो मत भए फुरुक्क’ बोलको गीत उहाँको जीवनमा मेल खाएको छ । उहाँलाई माइतीघरमा बाल्यकालमा तीजमा छम्केर नाचेको पल अहिले ताजै छ । “भाइले फोन गरेर बोलाउँदा मन फुरुक्क भएको छ, माइतीघरमा गएर दिदीभाइ बसेर मीठो मसिनो खाने, सुखदुःख गरेर बस्ने चाहना छ तर जान सकिदैन, दिदीभाइ फोनमै सुख दुःख गन्थनमन्थन गरेर तीज मनाउन थालेको धेरै वर्ष भइसक्यो”, ज्येष्ठ नागरिक देवकोटाले भन्नुभयो ।            हरितालिका तीज महिलाको दुःखसुख र वेदना बोल्ने चाड हो । तीजमा माइती मावली आफन्ती कहाँ गएर भेटघाट मीठो मसिनो खाने, गीत गाएर नाच्ने चलन छ । घरको कामधन्दा, विभिन्न वाध्यता परिस्थितिले तीजमा माइती जान नपाउँदा मनभित्रै पीडा लुकाएर कतिपय महिला बस्न बाध्य छन् । हुन त  पहिलेको तीज र अहिलेको तीजमा धेरै फरकपन आइसकेको छ । तीजमै भनेर माइती, मावली नै जाने चलन पनि कम हुँदैछ ।              भाइले फोन गरेर गत वर्ष पनि तीजमा आउनुभएन यसपटक जसरी पनि आउनुहोला दिदी भन्दैछ तर आमा नभएको माइतीघर नरमाइलो लाग्ने गरेको सीता भण्डारीले दुःखेसो पोख्नुभयो । उहाँ भन्नुहुन्छ, “म नौ वर्षको उमेर हुँदा आमाले हामीलाई छोडेर अन्यत्र जानुभयो, सानासाना भाइबहिनी हुर्काउने पढाउने सबै मेरो जिम्मा थियो, भाइले आमा सरह नै माया गरे पनि झल्को आमाकै बढी आउँदो रहेछ ।”            तीजमा आमा नहुँदा छोरीलाई साह्रै पीडादायी हुन्छ । आमाले गर्ने माया, स्नेह, आमाको हातले पकाएको मीठा परिकार चाडपर्वका समय बढी झझल्को आउँछ । ‘बाबा पनि हुनुहुन्छ, दाजु पनि हुनुहुन्छ, चाहिँदो रहेछ छोरीलाई आमा बरिलै’ भने झैँ माइतीमा सबैको मायाममता पाए पनि आमा नहुँदा छोरीलाई घर नै रित्तोजस्तो अनुभूति भएको रितु गैरे बताउनुहुन्छ । तीजमा विशेषगरी छोरीले कर्मघरमा भोगेका दुःख सुखका कुरा, सासूबुहारीका जुहारीलाई ठट्यौली पारामा गीतका माध्यमबाट पोख्ने चलन छ ।              पहिले ‘सुन्नुहोला दिदीबहिनी कस्ता आए जमना, बुहारीले सुख देलान् भन्दै नभन’ जस्ता खालका गीतहरु बढी सुनिन्थ्यो भने अहिले समय र बढ्दो प्रविधिको प्रयोगलाई जोडेर पुरानै शैलीमा पनि यदाकदा केही गीतहरु भने सुन्न पाइन्छ । गैरेले सुनाउनुभयो, “अचकालका बुहारीको कति गरम् बहिन मोबाइल र टिकटकभन्दा अर्थोक भएन ।” हिजोआज परिमार्जित भएर यस्ता खालका गीत गाउँघरमा पाकापुस्ताले तीजमा गाउने गर्छन् । पहिलाजसो भने पुराना मौलिक परम्परागत गीत भने अहिले कमै सुन्न पाइन्छ ।               हिन्दूहरुले मनाउने विभिन्न पर्वमध्ये महिलाको महान् पर्वका रुपमा हरितालिका तीजलाई मनाउँदै आइएको छ ।  यो चाड महिलाकोे स्वतन्त्रताको पर्व पनि हो । पहिलेका तीज गीत सुन्दा महिलाका धेरै आवाज मात्रै सुनिन्थे । त्यतिबेलाका गीतसङ्गीतले नारीका दुःख वेदनालाई उजागर गरेको हुन्थ्यो तर अहिले भने तीज गीतमा महिला र पुरुषको आवाज बराबरी जस्तै सुन्न पाइन्छ ।               अहिले बजारमा आएको विष्णु माझीको ‘ए आम्मै जुरेन साइत जाम्ला भनेको मै छोरी माइत, जेलैमा हो जेलैमा चरी जेलैमा मै छोरी रुदै रुदै बेंशी मेलैमा’ । गायिका मञ्जु पौडेलको ‘घन्किदे मादलु खरी झरे झर्ला जसोपरे पर्ला, बाबाको आँगनी धुलो उडाम्ला’ यिनै गीतले सामाजिक सञ्जाल, गाउँघरमा तीजको माहोल तताएको छ ।  भड्किलो बन्दै पर्व       हरितालिका तीज पर्वको अघिल्लो दिन दर खाने प्रचलन चलिआएको छ । वर्षायामको धान रोपेर सकिएपछि तीजलाई भनी अनदी, झिनुवाको चामल, घ्यु पहिल्यै नै बन्दोबस्त गरेर राखिन्थ्यो । दरखाने दिन घ्युमा पकाएको खाजा, तामा, करेला जस्ता परिकार बनाएर दरको रुपमा खाने चलन थियो ।               बुढापाका अनुसार केरा, निमारोको पातमा घरको मझेरी, आँगनीमा सबै जम्मा भएर दर खाने परम्परा थियो । तर हिजोआज भने माछा, मासु, खिरलगायतका विभिन्न परिकार बनाएर दर खाने प्रचलन बढ्दो छ । राति अबेरसम्म दर खाने र भोलिपल्ट तीजको निराहार व्रतबस्ने चलन छ । त्यही भएर पनि आडिलो रहन र चिसो सोस्नका निम्ति घ्युमा चामललाई भुटेर बनाइएको दरले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि दरखाने गरिन्छ ।               अहिले दरखाने निहुँमा ठूलाठूला पार्टीप्यालेस, होटल, रेष्टुरेण्टमा महिला जम्मा भई महँगा लत्ताकपडा, गरगहनामा सजिएर प्रतिस्पर्धात्मकरुपमा जानेको लहर छ । पाल्पाका विभिन्न होटल, पार्टीप्यालेसमा जनैपूर्णिमा पर्व सुरु भएदेखि नै दिनहुँ समूहमा दरखान जाने महिलाको आकर्षण बढ्दो छ । यहाँको पार्टीप्यालेस, रेष्टुरेन्टमा एक दिनमा पाँचदेखि सात समूहसम्म दरखान जाने गरेको पाइएको छ । दरखाने नाउँमा तडकभडक देखिन थालेको छ ।    हरितालिका तीजको महत्व      तीज हिन्दू नारीहरुले मनाउने एउटा महत्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । तीजमा भगवान् शिवको पूजा आराधना गरिनुका साथै नाचगान मनोरञ्जन गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाद्वारा स्वतन्त्र र आनन्दमयरुपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाले पनि उत्तिकै हर्षोल्लासका साथ मनाउन थालेका छन् । यो पर्व मुख्यरुपले नेपालभर मनाइन्छ भने भारतका कुनैकुनै प्रान्तमा पनि मनाइन्छ ।              भनिन्छ, आद्य शक्ति भगवान शिवकी अर्धाङ्गिनी हिमालय पुत्री पार्वतीले भगवान् शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो व्रतराखेकी थिइन् त्यो दिन यही हरितालिका तीजको दिन थियो । त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरुले यो पर्व मनाउदै आएका छन् ।           यो चाडमा माइतीले (बाबु आमा, दाजुभाइ) छोरी÷चेलीलाई घरमा गई लिएर आउने वा बोलाएर मीठामीठा परिकार बनाएर खुवाउने तथा मनका भावना एवम् सुख दुःख साटासाट गरी एउटै ठाउँमा खानेबस्ने चलन छ । यस दिन विशेष महत्वका साथ दरखाने गरिन्छ । यही दरखाने दिनबाट नै तीज पर्वको आरम्भ भएको मानिन्छ । दरमा ठाउँअनुसार विभिन्न मीठामीठा परिकार साथै खीर, ढकने, सेलरोटी, केरालगायतका खाना, फलफूल खाने गरिन्छ ।             आधुनिकता सँगसँगै पछिल्लो समय भने यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ । माछा मासु, मिठाइलगायतका परिकारको प्रयोग बढ्दो छ । सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ । भोलिपल्ट दिनभर पानीसम्म पनि नखाई व्रतबस्नुपर्ने भएकाले दर खाने दिन राति अबेरसम्म बसेर पेटभरि खाने प्रचलन बसेको हो ।             खासगरी यसमा स्त्रीहरुले पतिका निम्ति निराहार रहेर भगवान् शिव तथा आद्य शक्ति पार्वतीसँग प्राथना गर्दछन् । यो दिन महिला बिहान चाँडै उठी नुहाइधुवाइ गरेर दिनभरि जल, अन्न ग्रहण नगरी व्रतबस्ने गर्दछन् । बेलुकीपख गाउँघर र छिमेकका महिला भेला भई पूजाका सामान तथा मण्डप तयार गरी भगवान् शिवको आराधना गर्ने प्रचलन रहेको छ । निर्जला व्रतभनिए पनि आजभोलि महिला मध्याह्नमै पूजा, आराधनापश्चात् फलफूल ग्रहण गर्ने गर्दछन् । कतिपय महिला नजिक रहेको शिव मन्दिरमा गई शिव आराधनाका साथै नाचगान तथा रमाइलो गर्ने गर्दछन् ।               हिन्दू धार्मिक ग्रन्थअनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिवलिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार व्रतबसिन् ।               पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथिदेखि हिन्दू नारीले यस दिनलाई उत्सवका रुपमा मनाउन थाले र यो तीजको रुपमा मनाउने चलन पौराणिककालदेखि चल्दै आएको मानिन्छ ।          आधुनिक समाजमा तीजको महत्वलाई जुन रुपले व्याख्या गरिए पनि यो एक पौराणिककालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिला विवाहपश्चात् आफ्नो श्रीमान्को साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनुपर्ने हुन्छ । यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरको रुपमा तीज पर्वको गहन महत्व रहेको छ ।         तीजमा महिलालाई मीठामीठा भोजनका परिकारहरु खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलालाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहिता महिला आफ्ना पतिको दीर्घायुको कामना गर्दै व्रतबसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता नारी सुयोग्य वरको आशा राखी व्रतबस्छन् ।              व्रतको समयमा महिलाले तीजको व्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मणब्राह्मणीलाई दान दक्षिणा गर्ने चलन रहेको छ । तीजको व्रतअन्य व्रतभन्दा फरक ढङ्गले लिइन्छ । यस दिन पानीसम्म पनि नखाइ व्रतबस्नुपर्ने परम्परागत मान्यता रहेको भए पनि कतिपय महिला महादेवको पूजा आराधनापश्चात् फलफूल ग्रहण गर्दछन् । यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिने हुनाले यस दिनलाई हर्षोल्लासका साथ नाचगान गरी मनाइने गरिन्छ ।             तीज पौराणिककालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नका लागि पूर्वीय मान्यताअनुसार महिला विवाहपश्चात् आफ्नो श्रीमान्को घरमा बसी बाँकी जीवन बिताउनुपर्ने हुन्छ । यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरका रुपमा तीज पर्वको गहन महत्व रहेको छ ।