पोखरा ।     हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ ।    संस्थाले आफ्नो स्थापना...

  गण्डकी  :  गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले चाडपर्वको मौलिकता जोगाउनु आजको आवश्यकता भएको बताउनुभएको छ । हरितालिका तीजको पावन अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले चाडपर्व हाम्रा संस्कृति र पहिचान भएको उल्लेख गर्नुभयो ।    “मौलिक संस्कृतिको प्रवद्र्धन गदै संस्कारयुक्त सामाजिक वातावरण तयार गर्न यस्ता चाडपर्वको मौलिकता जोगाउनु अहिलेको आवश्यकता हो”, शुभकामना सन्देशमा भनिएको छ । हरितालिका तीजलाई नेपाली महिलाले एक सनातन सांस्कृतिक पर्वको रुपमा मनाउँदै आएको सन्देशमा उल्लेख गरिएको छ ।    भाद्र शुक्लपक्ष तृतीयाका दिनपर्ने यस पर्वमा महिलाले भगवान् शिवपार्वतीको पूजा आराधना गर्दै आफ्नो सौभाग्य, परिवारको सुख, सुस्वास्थ्य र दीर्घायुको कामनासहित उपवास बस्नाले मनोकामना पूरा हुने विश्वास रहिआएको प्रदेश प्रमुख गुरुङले भन्नुभएको छ । सामाजिक एकताको प्रतीकका रुपमा रहेको यस पर्वले सबैमा खुसी साटासाट गदै सामाजिक, सांस्कृतिक तथा पारिवारिक एकता र सम्बन्धलाई दृढ गर्न सकोस् भन्ने उहाँले कामना गर्नुभएको छ । 

  विराटनगर। विराटनगरमा विश्वचर्चित मोबाइल भिडियो गेम पब्जीको ई–स्पोर्ट्स प्रतियोगिता हुने भएको छ। भदौ १८ गते ‘रेजरयाक्ट ई–स्पोर्ट्स’ ग्रुपको आयोजनामा विराटनगरको पाञ्चालीस्थित सगरमाथा पार्टी प्यालेसमा प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा नेपालभरबाट १८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ।    आयोजकका अनुसार प्रतियोगितामा काठमाडौं, बुटवल, नेपालगन्ज, बिर्तामोड, पोखरा, दमक र विराटनगरका टोलीको सहभागिता रहने छ।    एक टोलीमा चार जना खेलाडी रहने आयोजक समितिका सदस्य अनुराग क्षेत्रीले जानकारी दिए। ‘एकदिवसीय प्रतियोगिता आयोजना गर्न लागिएको हो। यसमा आठ वटा खेल हुन्छ। एउटा खेल २५ मिनेटको हुन्छ’, उनले भने, ‘सबै टोली एकैठाउँमा बसेर स्क्वाड खेल खेल्छन्।’ सहभागीमध्ये सर्वाधिक अंक ल्याउने टोलीले उपाधि जित्ने छ। प्रतियोगिताका विजेताले ५० हजार र उपविजेताले २० हजार नगद पुरस्कार पाउने छन्। यसैगरी तेस्रो हुने टोलीलाई १५ हजार र चौथोलाई १० हजार पुरस्कार प्रदान गरिने आयोजक समितिका सदस्य सन्दीप श्रेष्ठले जानकारी दिए। प्रतियोगिताका उत्कृष्ट खेलाडीले पाँच हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगिताको आरटीडी ई–स्पोर्ट्स र सर्जिकल नुब युट्युब च्यानल र विभिन्न सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण हुनेछ।

काठमाडौं । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई जरिवाना गरेको छ।   कुवेतमा भएको एएफसी एसियन कप छनोटको दौरान प्रतियोगिताको विभिन्न आचारसंहिता उलंघन गरेको भन्दै एएफसीले एन्फालाई ७ हजार अमेरिकी डलर जरिवाना गरेको हो ।   एएफसीको अनुशासन तथा इथिक कमिटिले एसियन कप छनोट अन्तर्गत जुन १४  इन्डोनेसियाविरुद्धको खेलमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी खेल अघि ड्रेसिङ रुपमा प्रवेश गरेको र खेलपछि एक्रिडिटेशन कार्ड लिएर मैदान प्रवेश गरेको कारण ६ हजार डलर जरिवाना गरिएको जनाएको छ ।   कुवेत र जोर्डनविरुद्धको खेलमा पहेलो कार्ड पाएको कारण इन्डोनेसियाविरुद्धको खेलमा अब्दुल्लाह निलम्बनमा रहेका थिए ।   त्यस्तै इन्डोनेसियाविरुद्धको खेलको पहिलो हाफ सुरु हुन ढिलाइ गर्दा एन्फालाई थप १ हजार अमेरिकी डलर जरिवाना गरिएको एएफसीले जनाएको छ ।   एन्फाले जरिवानाको २५ प्रतिशत ९० दिनभित्र तिर्नुपर्ने र बाँकी रकम दुई वर्षभित्र तिर्न पाईनेछ ।    एएफसीले यस घटनालाई पुनस् दोहोराएमा एन्फालाई कडा सजाय दिईनेबारे एन्फालाई सचेत गराएको छ  ।  

  काठमाडौँ । तीज पर्वमा माइत गएर, आमा दिदीबहिनी भेटघाट गरेर आफूले जीवनमा भोगेका पीडालाई गीतमार्फत् अभिव्यक्त गर्दै मनाउने गरिन्छ । तर तेस्रोलिङ्गी महिलाले भने आफन्तभन्दा पनि आफ्ना साथीभाइसँग मनाउने गर्छन् तीज । आफन्तको व्यवहारका कारण उनीहरु साथीभाइबीच भेटघाट गरी तीज मनाउने गरेका हुन् । “तीज पर्व आफन्तसँग मनाउन रमाइलो हुन्छ, आमा, दिदीबहिनी भेटघाट गर्दा छुट्टै आन्नद हुन्छ होला”, सिन्धुलीकी रुविना तामाङले भन्नुभयो, “घरपरिवार र समाजले मलाई सहजरुपमा स्वीकार गरेको छैनन्, पहिरन पनि मिल्दैन, सोच मिल्दैन ।” रुविनालाई परिवारसँग भेट्न नपाए पनि आफ्नो खुसीका लागि साथीसँग मिलेर तीज मनाउन राम्रो लाग्छ । “म व्रत बस्छु, पहिला त निराहार बस्थेँ, अहिले फलफूल खाएर बस्छु” उहाँले सुनाउनुभयो, “राम्रो पति मिलोस भनेर व्रत गरेको छु, विधिपूर्वक पूजा गर्छु ।”          तेस्रोलिङ्गी महिला सबैले व्रत बस्दैनन् । व्रत बस्दा मन्दिरमा पूजा गर्न सहज पनि छैन । यी समुदायका महिला सुरुमा पुरुष भएर जन्मिएका हुन्छन् । बाबुआमाले छोराकैरुपमा हुर्काएका हुन्छन् । तर हुर्कने, बढ्ने क्रममा आफूलाई छोरीको महसुस गरेर छोरीकै पहिरन लगाउने, छोरीकै हाउभाउ देखाउने र व्यवहार गर्ने गर्दछन् ।        जन्मँदा छोरा भनेर परिवार र समाजले हेरिरहेको हुन्छ । पछि एकैपटक छोरीका रुपमा समाजले सहजरुपमा स्वीकार्न सक्दैन । “मलाई पनि तीजको दिन माइत जान, दर खान र व्रत बस्न मन लाग्छ, तर त्यो सम्भव छैन”, रुविनाले थप्नुभयो, “साथीभाई भेटघाट गर्न रहर लाग्छ, परिवारले स्वीकार गर्दैन, समाजमा अनेक कुरा गर्दछन्, यसकारण पनि हामी घरमा जादैनौँ ।”       “म छोराका रुपमा जन्मिएको हो, पछि किशोर अवस्थामा हुर्कदै जाँदा छोरीको महसुस भयो”, रुविनाले आफ्नो बाल्यकालको कहानी सुनाउँदै भन्नुभयो, “मलाई पनि विवाह होस्, बच्चा होस्, श्रीमान् भन्न पाइयोस् जस्तो लाग्छ, तर सम्भव छैन ।” नेपालको संविधानमा यो समुदायलाई अन्य नागरिकका रुपमा नागरिकता दिने व्यवस्था गरिएको छ । तर कानुन बन्न नसक्दा प्रभावकारी रुपमा त्यो कार्यान्वयन भएको देखिँदैन । “संविधानमा लेखिएपछि निकै आफ्नै पहिचान हुन्छ भनेर खुसी लागेको थियो । तर संविधानमा सीमित भयो”, उहाँले जोड्नुभयो, “कागजमा लेखिएका कुरा कार्यान्वयन भएन ।” यो समुदायलाई तीज र अरु पर्व मनाउन सहरी क्षेत्रमा सहज भए पनि ग्रामीण भेगमा कठिन छ ।        समाजमा यो समुदायलाई जीवनयापन गर्न पनि कठिन छ । “आफ्नो दिमाग र मन मस्तिष्कले छोरी हो भन्ने महसुस भएपछि मलाई छोराका रुपमा परिवार र समाजमा बस्न मन लागेन”, रुविनाले जीवन कठिन मोडबाट अघि बढेको स्मरण गर्दै सुनाउनुभयो, “छोराले अचानक छोरीको पहिरन, व्यवहार, लजाउने स्वभाव देख्दा स्वीकार गर्न सहज भएन ।”          तेस्रोलिङ्गी महिलाले तीज पर्व र अन्य पर्व पनि साथीभाइसँग मिलेर मनाउछन् । सहरी क्षेत्रमा एकाध स्वीकार गरिएको भए पनि धेरैको परिवारले स्वीकार गर्न नसकेको नै गुनासो छ । अधिकांश ग्रामीण भेग र परिवारमा यो समस्या छ । “म पनि आमाकै कोखबाट जन्मिएको हो, हामी छुट्टै ग्रहबाट आएको होइन, आकाश या धर्तीबाट आएको पनि होइन”, तीज पर्वका अवसरमा रुविनाले परिवार, समाज र राष्ट्रसँग आग्रह गर्दै भन्नुभयो, “हाम्रो भविष्य अनिश्चत छ, आफ्नो सन्तान जस्तै हो भनेर सबैले माया र सहयोग गर्न अनुरोध गर्छु ।”          घरपरिवार र समाजमा सहज रुविनालाई मात्र होइन महोत्तरीकी नग्मा खानलाई मुस्लिम परिवारमा जन्मिएको भए पनि मस्जिदमा जान प्रतिबन्ध छ । त्यसैले उहाँले हिन्दू महिलाले मनाउने तीज पर्व मनाउनुहुन्छ । “मलाई नमाज पढ्न, रोजा बस्न दिइँदैन, मस्जिदमा जान अनुमति छैन”, उहाँले थप्नुभयो, “मन लाग्यो भने आफूले घरमै बसेर गर्छु, हिन्दू भएर मन्दिरमै गएर पूजा गर्छु ।” नग्माको यादव थरको पुरुषसँग विवाह भएको छ । नग्मा पनि छोरा भएर जन्मिएको हुनाले समाजले छोरीका रुपमा स्वीकार गर्न सकेको छैन ।           “म पतिका लागि तीजमा व्रत बस्छु, मेरो पति हाम्रो समुदायको होइन, जन्मजात नै पुरुष हो”, उहाँले पतिका बारेमा जानकारी दिँदै भन्नुभयो, “परिवारको आग्रहमा मेरो श्रीमान्ले केटीसँग विवाह गर्नुभएको छ, एक छोरा छ, हामीसँगै बस्छ”, नग्माले एउटा पारिवारिक जीवन बिताउँदै आउनुभएको छ । छोरा पनि साथमा भएकाले परिवार पूरा भएको महसुस उहाँलाई छ । “मलाई माइतीले स्वीकार गरेको छैन, तर श्रीमान्ले परिवारले स्वीकार गरेका छन्, जाने आउने सबै खालको सम्बन्ध छ”, उहाँले थप्नुभयो, “अर्को श्रीमती गाउँमा बस्नुहुन्छ, म सहरमा छु, सबै परिवारलाई जानकारी छ, श्रीमान्कै घरमा गएर बसेर चाडपर्व मनाउँछौँ ।”          बेलाबेला उहाँका पतिलाई समाजले नराम्रो तरिकाले भन्ने गरेको सुनाउँदै उहाँ थप्नुहुन्छ, “गाउँमा समाजले तेरो छोरा हिजडासँग बसेको छ भनेर भनिरहन्छन्, त्यो सुनेर उहाँको मन पनि खिन्न हुँदो हो, हामी जुन समुदायमा हुर्किएका छौँ, त्यो समाजले अहिले पनि सहजरुपमा लिन सकेको छैन ।” नग्माको छोराकै नाममा नागरिकता छ । उहाँले एमएसम्म पढ्नुभएको छ । धेरैले बाबुआमाकै नाममा नागरिकता लिएर बसेका छन् ।           “आफ्नो पतिको लागि भनेर एकदिन व्रत बस्दा राम्रो लाग्छ”, उहाँले थप्नुभयो, “जिन्दगीमा जीवनसाथी महत्वपूर्ण छ, उसको लागि व्रत बस्दा असाध्यै राम्रो लाग्छ ।”          नील हीरा समाजका अध्यक्ष पिङ्की गुरुङलाई तीज पर्व आफ्नो समुदायको अधिकारका लागि पनि लड्ने दिनजस्तो लाग्छ । “हरेक वर्ष तीज मनाउँछु, वर्ष दिनमा आउने पर्व परिवारसँग मनाउन पाइँदैन”, उहाँले परिवारको याद धेरै आउने गरेको सुनाउँदै भन्नुभयो, “घरपरिवारको तिर्सना मेटाउन साथी मिलेर मनाउछौँ, समाजले यो समुदायलाई सांस्कृतिरुपमै वञ्चित गरेको छ, यो भन्दा दुःख लाग्छ ।”          उक्त समाजको तथ्याङ्कअनुसार नेपामा करिब नौ लाख लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय रहेका छन् । परिवार तथा समाजले सहजरुपमा स्वीकार गर्न नसकेका कारण उनीहरु खुलारुपमा बाहिर आउन नसकेको अध्यक्ष गुरुङको भनाइ छ । सो समाजका २५ जिल्लामा कार्यालय छन् । ती सबै कार्यालयमा तीज कार्यक्रम मनाउने तयारी छ । “हरेक वर्ष काठमाडौँमा कार्यालयमै तीज मनाउने गरिन्थ्यो, अहिले धेरै छौँ”, उहाँले थप्नुभयो, “यो वर्ष गैरीधारास्थित सिल्भर ओक भोजमा कार्यक्रम गर्ने तयारी छ ।” उहाँका अनुसार उक्त समुदायको तीज कार्यक्रममा उत्कृष्ट नृत्य, हास्य नृत्य, उत्कृष्ट पहिरन, उत्कृष्ट हिँडाइलाई पुरस्कार प्रदान गरिन्छ । अध्यक्ष गुरुङका अनुसार कसैलाई पनि पर्वमा परिवारको सम्झनामा पीर मानेर बस्नु नपरोस् भनेर कार्यक्रमको आयोजना गर्न लागिएको हो । उक्त समदायले १७ वर्षदेखि तीज कार्यक्रम मनाउँदै आएको छ ।           नील हीरा समाजका कार्यक्रम निर्देशक सञ्जय शर्माका अनुसार जन्मँदै छोरा तर हुर्कदै बढ्दै जाँदा छोरीको महसुस गर्ने तेस्रो लिङ्गी महिलाले तीज पर्व मनाउनहुन्छ । जन्मँदा छोरी भएर जन्मने तर हुर्कने बढ्ने क्रममा छोरा व्यवहार देखिनेले व्रतबन्ध गर्ने, बाबुआमाको काजकिरिया गर्ने गर्नुहुन्छ । यो वर्ष तीज कार्यक्रममा उक्त समुदायका चार सय महिला सहभागी भएर तीज मनाउने कार्यक्रम छ ।         उक्त समाजले लैङ्गिक तथा यौ​निक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि काम गर्दै आएको छ । नेपालमा सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिमा पनि विशेष गरी तेस्रोलिङ्गी वर्गको हकअधिकारका लागि काम गर्न स्थापना गरिएको हो । विविध लैङ्गिकता र यौनिकताका व्यक्तिविरूद्ध विद्यमान कानुनमा परिवर्तनको पक्षमा वकालत गर्न सन् २००१ मा स्थापित भएको थियो । समाजले विविध लैङ्गिक र यौनिकताका व्यक्तिको निम्ति मैत्रीपूर्ण यौन स्वास्थ्यसम्बन्धी शिक्षा दिने, सरकारसँग वकालत गर्ने, युवाको कलात्मक अभिव्यक्तिलाई प्रोत्साहित गर्ने र हिंसाको अभिलेख राख्ने उद्देश्य रोखेको छ । यो समुदायबाट सुनिलबाबु पन्त र भूमिका श्रेष्ठले कानुन बनाउने निकायमा समेत नेतृत्व गरिसक्नुभएको छ । सर्वोच्च अदालतमा यौनिक तथा अल्पसङ्ख्य समुदायका सदस्यलाई भेद्भाव हुने गरी बनाएका कानुन खारेज गर्न आदेश दिएको थियो ।        नेपालको संविधानको धारा १२ मा वंशीय आधार तथा लैङ्गिक पहिचानसहितको नागरिकता प्रदान गर्ने व्यवस्था गरेको थियो । तर त्यसअनुरुप कानुन बन्न सकेको छैन । एकाध व्यक्तिले बाहेक अरुले नागरिकता प्राप्त गर्न सकेका छैनन् । उनीहरुमाथि हुने असमान व्यवहार र दुव्र्यवहारमा भने कमी नभएको उक्त समुदायका सदस्यको भनाइ छ ।          तीज पर्व यो समुदायका महिलाको हक अधिकारका लागि पनि मनाइने गरिन्छ । आफूले भोग्नुपरेका समस्यालाई चिर्दै अधिकार प्राप्तिको अभियानसँगै जोडेर मनाउने गरेको समाजकी अध्यक्ष गुरुङको भनाइ छ । “तीजपर्व सशक्तीकरण र नारी आवाजलाई बुलन्द गरी मनाउने पर्व हो”, समाजकी अध्यक्ष गुरुङले भन्नुभयो, “हाम्रो समुदायको अधिकार प्राप्तिका लागि खबरदारी अभियानका रुपमा हामीले मनाउने गरेका छौँ ।”          अध्यक्ष गुरुङ पनि जन्मँदा पुरुष भएर जन्मिएर हुर्कंदै बढ्दै जाने क्रममा छोरी हुनुभएको हो । “हुर्कंदै÷बढ्दै जाँदा मलाई महिलाको अनुभव हुन थाल्यो, आफ्नै उमेरका केटी तीजको व्रत बस्थे, म शारीरिकरुपमा केटाजस्तो देखिन्थे”, उहाँले विगत स्मरण गर्दै भन्नुभयो, “मेरो भावनालाई समाजले बुझ्दैनथ्यो, अहिले म निर्धक्क व्रत बस्छु, केटीकै कपडा लगाएर हिँड्छु ।”

  चितवन । तीज आउन एक महिनाअघिदेखि गाउँघरदेखि सहरसम्म दर खाँदै रमाइलो गरिरहेका छन् आमा दिदी बहिनी । नारायगढ बजार आसपासका सहरी क्षेत्रका होटल रेष्टुरेन्टमा तीजका कार्यक्रम धुमधाम चलिरहेका बेला नजिकै रहेको देवघाटधामको वृद्धाश्रममा रहेका आमा भने तीज सम्झेर मात्रै बसिरहनुभएको छ ।        अरु समयमा भन्दा ती आमाहरुलाई तीजले निरास बनाउने गर्छ । तीजमा घरमा चेलिबेटी बोलाएर रमाइलो गरेको र आफैँ पनि माइत गएको स्मरण उहाँहरुलाई भईनै रहन्छ । आज दरखाने दिन विगत सम्झँदै उहाँहरुलाई थप भावुक बनाउने गर्दछ ।       देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको देवघाट समाजकल्याण केन्द्र (वृद्धाश्रम) मा आश्रित भइरहनुभएकी मकवानपुर भीमफेदीकी ८८ वर्षीया सुभद्रा पुडासैनीले अरु बेलाभन्दा चाडपर्वका बेला बढी पोल्ने गरेको दुखेसो गर्नुभयो । उहाँले भन्नुभयो, “दुःख पर्दा र चाडपर्व आउँदा आफन्त कोही हुँदैन । सम्झेर मात्रै बस्ने हो”, पहिले पहिले छोरी र इष्टमित्रलाई बोलाएर दर खुवाएको सम्झँदै उहाँले भन्नुभयो, “अहिले त मलाई तीज सुन्दा पनि नरमाइलो लाग्छ ।”       कान सुने पनि आँखा नदेख्ने भएकाले संसार अँध्यारो भए जस्तै लाग्ने  उहाँको भनाइ छ । दुखेसो गर्दै पुडासैनीले भन्नुभयो, “अब मैले जे भोगिरहेको छु, मेरा सन्तानले यस्तो भोग्न नपरोस् ।” एक छोरी मात्रै भएकी पुडासैनीका श्रीमान् पहिल्यै बितेपछि रेखदेख नपाएर उहाँ वृद्धाश्रममा आइपुग्नुभएको हो । छोरी र नातिनातिनाले भेट्ने त कुरै छोडौँ फोनसमेत नगर्ने दुखेसो उहाँको छ ।        सोही वृद्धाश्रममा रहनुभएकी सिन्धुलीकी ७२ वर्षीया लक्ष्मीमाया श्रेष्ठ विगत नौ वर्षदेखि चाडपर्व आउँदा निरास भएर यही बसिरहनुभएको छ । उहाँले विगतको स्मरण गर्दै भन्नुभयो, “हाम्रो जातिले तीज नमनाउने भए पनि रमाइलो हेर्न गइन्थ्यो ।” खानपिनमा रमाउने गरेको विगतलाई सम्झँदै उहाँले अहिले कारागारमा बसेजस्तै भएको गुनासो गर्नुभयो । उहाँले थप्नुभयो, “अरु बेला जेनतेन ठिकै हुन्छ, चाडपर्वमा निकै नरमाइलो लाग्छ ।”       श्रीमान् सानैमा बितेपछि दाजुभाउजुले नहेरेर विरक्तिँदै वृद्धाश्रम आइपुग्नुभएकी श्रेष्ठ तीजसँगै पर्व आउने भएकाले अबका दिनले घर सम्झाउने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यहाँ जे छ, त्यसैमा रमाउनुबाहेक केही छैन ।”       लमजुङकी ७१ वर्षीया शान्ति घिमिरे श्रीमान्सँगै आश्रममा बस्दै आउनुभएको छ । सन्तान नभएका उहाँहरुको बुढेसकालसँगै वृद्धाश्रममा बितिरहेको छ । उहाँले भन्नुभयो, “हरेराम भन्दै भगवान्को नाम जपेर चाडपर्व मनाउँछौँ । आफन्त कोही छैनन्”, उहाँले थप्नुभयो, “तीजमा रमाइलो गर्ने र रमाइलो हेर्ने हाम्रा दिन गए ।”       पाल्ने मान्छे नभएर वृद्धाश्रम आएका आफूहरुलाई पर्वको खासै मतलब नहुने गरेको उहाँको भनाइ छ । सँगसँगै रहेका एकअर्काले विगतका पीडालाई साटासाट गरेर चित्त बुझाउने गरेको उहाँ बताउनुहुन्छ ।        पोखराकी दुर्गा लामिछाने अहिले ७३ वर्षमा हिँडिरहनुभएको छ । परिवारमा कोही नभएपछि आठ वर्षदेखि उहाँ यहाँ हुनुहुन्छ । अविवाहित लामिछानेको बुबाआमा बितेपछि साहाराविहीन भएर यहाँ आइपुग्नुभएको हो । उहाँले गहँभरि आँसु पारेर भन्नुभयो, “तीज भन्नेबित्तिकै आमा, आफन्तलाई सम्झना हुन्छ”, उहाँले थप्नुभयो “अब त मीठोचोखो खान पनि स्वास्थ्यले साथ दिदैन, चाडपर्व नआइदिए हुन्थ्यो भन्ने लाग्छ ।”      वृद्धाश्रममा ३३ वृद्धवृद्धा छन् । सरकारले सञ्चालन गरेको भए पनि वृद्धाश्रममा रहेकालाई वर्षभरि नै दाताहरुले विभिन्न अवसरमा सहयोग गर्ने गरेका छन् । जन्मदिन, विवाहको दिन, पुण्य तिथि पारेर खान खुवाउने, कपडा दिने गरेका छन् ।        देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरनबाबु घिमिरे पर्वका अवसरमा घर सम्झना नआउने गरी विशेष खानपानको व्यवस्था गर्ने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “वृद्धवृद्धाको स्वास्थ्यलाई हेरेर पर्वमा विशेष खानाको व्यवस्था गर्दछौँ ।” यहाँ जतिसुकै राम्रो गरे पनि तीजमा आमाहरुलाई घर र माइतीको सम्झना भने आई नै रहने गरेको उहाँको भनाइ छ ।

बागलुङ ।  “उति बेला तीजमा वर्ष दिनको भेट भइन्थ्यो, माइतीमा आएका दिदीबहिनीसँग चौतारामा, गाउँको डाँडामा बसेर घरमा पाएको दुःख सुखका कुरा गरी तीजका गीत गाइन्थ्यो, नाचिन्थ्यो, गीत पनि आफ्नो जीवनमा भएका घटनाका आधारमा गाइने गरिन्थ्यो, अहिले त गीत पनि के–के हुनु के–के, न दुःखका कुरा छन्, न भोगाइका, अहिले त उही माया प्रेमकाबाहेक अरु छैनन् ।”   ढोरपाटन नगरपालिका–२ का ६६ वर्षीया सीता शर्मालाई अहिलेको तीज पटक्कै मन पर्न छोड्यो । उहाँलाई तीज मन नपर्नुको कारण हो मौलिकता हराउनु । उहाँ भन्नुहुन्छ, “अहिले मौलिकता भन्ने छँदैछैन, गीत पनि विदेशी, पहिरन पनि विदेशी, हुँदाहुँदा यहाँका मान्छे आफ्नो पहिचान भुलेर विदेशीजस्तै बने, पहिले तीज आउँदा कति धेरै रमाइलो हुन्थ्यो, अहिलेका मान्छे सबै स्वार्थी भए, आफ्नो धर्मकर्म, संस्कार र परम्परा सबै बिर्सिए ।”   उहाँले जमानासँगै संस्कार, संस्कृति र परम्परा पनि मेटिन थालेकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले पहिले तीज आउनुभन्दा एक साता अगाडिदेखि गाउँमा नाचगान सुरु गर्ने भन्दै अहिले एक महिना अगाडिदेखि दर खान सुरु गर्ने गरेको बताउनुभयो । दर खाने नाममा स्थानीय उत्पादनलाई छोडेर विदेशी मदिरा र महँगा–महँगा परिकार खाने गरेको उहाँको भनाइ छ ।   “हाम्रो पालामा दर खाने त माइत गएर हो, माइत पनि तीजको दुई दिन अगाडि गइन्थ्यो, अहिले त तीज आउन १५÷२० दिन छँदै दरखाने भनेर ठूल्ठुला होटल धाउँछन्, हामी त माइत जाँदा आमाले केरा, दही मिसाएर दर बनाउनुहुन्थ्यो, गोठमा रहेका गाईभैँसी दुहेर खिर बनाउनुहुन्थ्यो, हाम्ले त्यसलाई दर भनेर खान्थ्यौँ”, उहाँले भन्नुभयो, “अहिले त दरखान तीज आउनुभन्दा १५ दिन अगाडिनै सुरु गर्छन्, दरमा न दही, न केरा , नर खिर हुन्छ ।”   महिलामा तीज पर्वको छुट्टै रौनक र उत्साहहुन्छ । घर, चोक, चौतारी, पाटीपौवामा बसेर वर्षभरको मनको दुःख, वेदनापोखेर खुलेर नाँच्ने, बाँच्ने एक महत्वपूर्ण उत्सवका रुपमा लिइन्छ तीजलाई । पछिल्लो समय तीजका अवसरमा एक महिना अगाडिदेखि नै दर खाने र खुवाउने सार्वजनिक कार्यक्रम आयोजना गर्ने क्रम बढ्दो छ । यसले मौलिक परम्परालाई चटक्कै भुलेको छ ।   यस पर्वले महिलामा मात्र होइन, पारिवारिक भेटघाट, एकता, सद्भावको विकास गराउने, वर्षभरको दुःख, पीडा, वेदनाबाट मुक्त भएर अघि बढ्नका लागि नयाँ ऊर्जाको सञ्चार गराउने कार्यसमेत गर्दछ ।  पछिल्लो केही समय यता तीज पर्व हिन्दू संस्कार, संस्कृतिसँग सम्बन्धित भए पनि यसको दायरा केही फराकिलो बन्दै गएको बूढापाका बताउँछन् । तीजपर्वले महिलाको मनमा गुम्सिएका दुःख, वेदना पोख्ने मात्र नभई, वर्षभरको दुःख भुलेर नयाँ ढङ्गले जीवन बाँच्न प्रेरित गर्ने गरी मनाउनुपर्ने उहाँहरुको भनाइ छ ।   ऐतिहासिक महत्व बोकेका संस्कृतिसँग जोडिएको पर्वलाई मौलिकरुपमा बनाउन छोडिएको बडिगाड गाउँपालिका–५ की ममता खत्रीले बताउनुभयो । उहाँले पछिल्ला दिनमा देखिएका केही विकृत सोच, पात्र र प्रवृत्तिले तीजपर्व पनि विकृत र बदनाम बन्न थालेको बताउनुहुन्छ । अहिले दर खाने र खुवाउने नाममा दारुखाने र खर्चिला भड्किला गतिविधि गर्दा संस्कृतिको अवमूल्यन भएको उहाँको भनाइ छ ।   “बजारमा केही वर्षदेखिनै भड्किलो पर्व बनाउने संस्कार बसेको थियो, अहिले त गाउँमा समेत भित्रिन थाल्यो, बढ्दो आधुनिकताले गर्दा पनिहोला पहिले गाउँमा मादल, खैजडी, बाँसुरी बजाएर नाचिन्थ्यो भने अहिले ठूला साउनबक्स बजाएर नाचछन्, पुराना मौलिक गीत त झन सुन्नै पाइँदैन”, उहाँले भन्नुभयो, “कतिपय तीजगीत र अश्लिलरुपमा नाचेका नाच सामाजिक सञ्जालमा हाल्ने गर्दा त्यसले नयाँ पुस्तालाई पनि त्यतैतिर डोहो¥याएको छ ।”   उहाँले परम्परादेखि पतिको सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै निराहर व्रतसमेत बस्ने चलनसमेत हराउन थालेको बताउनुभयो । संस्कृतिका नाममा हुने गलत गतिविधिले चाडपर्वको महत्वलाई नै विकृत बनाइदिएको उहाँको भनाइ छ । संस्कृतिलाई समयसापेक्ष संस्कृतिकै रुपमा मनाउनुपर्ने तर, बदलिँदो समयलाई बाहना बनाएर भड्किला गतिविधि गर्न नहुने उहाँले बताउनुभयो ।   “चाडपर्वलाई मौलिकरुपमै मनाउनुपर्छ, पहिलेपहिले पतिको सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै व्रतसमेत बस्ने चलन थियो, अहिले यो हराउँदै गएको छ, दरका नाममा दारु खाने, खर्चिलो र भड्किलो रुपमा मनाउने कुराले संस्कृतिलाई बदनाम गराउँदै गएको छ, चाडपर्व, संस्कार, संस्कृतिसँग जोडिएका परम्परागत खराब प्रवृत्तिको निरुत्साहित गर्नुपर्छ, यसप्रति सरकारले पनि ध्यान दिनुपर्छ,” उहाँले भन्नुभयो, “ सरकाले चाडपर्वलाई भड्किलोरुपमै मनाउन दिने हो भने पछिल्लो पुस्ताले मौलिक संस्कृतिको अनुभव गर्न पाउने छैनन् ।”

  पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनमा अध्यक्षको प्रत्यासी अध्यक्ष तथा संघका वर्तमान वरिष्ठ उपाध्यक्ष पवन कुमार प्रजापतिको समुहले आज महेन्द्रपुल क्षेत्रका व्यवसायीहरुको घर दैलो गर्दै वजारको पार्किङ्ग व्यवस्थापनका विषय उठाउनु भयो । पटक पटक पोखरा महानगर पालिका र ट्राफिक व्यवस्थापनसँग छलफल गर्दा पनि समस्या समाधान नभएको भन्दै आफ्नो कार्यकालमा जसरी पनि पहिलो प्राथमिकतामा राखेर काम गर्ने उहाको भनाई रहेको थियो । उहाले आवश्यकता हेरेर सडक पार्किङ्लाई पाला सिस्टम गर्ने विषयमा पनि पहल गर्ने उहाको भनाई रहेको छ ।   विशालवजार एरियाका व्यवसायीहरुले पवन प्रजापतीको अनुभव र क्षमताका आधारमा अहिलेको निर्वाचन प्रजापती पक्षमा आएमा व्यवसायीक हित हुने अपेक्षा पनि राखेका छन् । उनिहरुले अनुभव प्राप्त र उद्योग व्यवसायी वुझेको व्यक्ति हुदा मात्रै समगै व्यवसायीको हित हुने धारणा समेत राखे     अध्क्षय  प्रजापति महासचिव वलराम आचार्य सहित अन्य सदस्यहरुले पोखराको महेन्द्रपुल तथा व्यस्थ वजारमा व्यवसायीको समस्या तथा व्यववसायीलाई कसरी प्रर्वदन गर्न सकिन्द्ध भन्ने विषयमा छलफल समेत गरेको छ ।    प्रजापतीले आफ्नो प्यानलमा सबैखाले व्यवसाय अंगालेका महिला तथा पुरुष व्यवसायी रहेकाले आफ्नो प्यानल समावेशी रहेको  दावी समेत गर्नु भयो   । प्रजापतिले यही भाद्र २४ र २५ गते  हुने संघको  पोउवा संघमा विगत लामो समय देखि सदस्य हुदै पदाधीकारीमा समेत रहेर काम गरीरनु भएको छ ।      घरदैलो कार्यक्रम महासचिव पदका उम्मेदवार वलराम आचर्य लगाएत अन्य सदस्य पदका उम्मेदवारहरुले  मतदाताहरुको प्रतिक्रिया सकारात्मक रहेको बताउनु भयो ।   

  बझाङ ।  सिमखेतस्थित राजमार्ग मै ठिङ्ग उभिएको छ, एउटा सानो पक्की भवन । टाढैबाट मैलो र फोहर देखिने भवनमा लेखिएको ‘सार्वजनिक शौचालय’ ।    यी लेखिएका शब्द पनि मुश्किलले पढ्न सकिन्छ । शौचालय भवनको नजिक जाँदा वरिपरि फोहोरको डङ्गुर छ । अझभन्दा ध्रुमपान सेवनकर्ताको खुला डस्बिन नै ।   शौचालयको अगाडिपट्टि झुण्याइएको ऐना धमिलिएको छ ।  हेरिहाले पनि अनुहारै नदेखिने । ‘शौचालय फोहोर नगरौँ’ लेखिएका पोष्टर झुण्डिएको देख्न सकिन्छ ।    छ वर्षभन्दा अघि जयपृथ्वी नगरपालिकाले बनाएको सार्वजनिक शौचालय यस्तो अवस्था छ । नागरिक सैनिक सहयोग (सीआइएमआइसी) कार्यक्रमअन्तर्गत नेपाली सेना, शत्रुमर्दन गुल्म र जयपृथ्वी नगरपालिकाको संयुक्त लगानीमा २०७३ जेठ १० गते सो शौचालयको शुभारम्भ गरिएको थियो ।   सुरुआती समयमा शौचालय निर्माणले निकै श्रेय बटुलेको थियो ।  नगरपालिकाले शौचालयको आवश्यक व्यवस्थापनमा ध्यान नदिँदा शौचालय आफै फोहर बनेको हो । शौचालय भवन नजिकै पसल सञ्चालन गरेका एक पसले भन्नुहुन्छ, “नगरपालिकाले सुरुसुरुमा त शौचालयको रमझम नै गरेको थियो । अहिले भने वार्षिकरुपमा पनि खुल्छ कि खुल्दैन । थाहै हुँदैन । जहिल्यै बन्द देखिन्छ । शौच गर्न खोज्ने खाजा खाने बहाना गर्दै होटलको शौचालय प्रयोग गर्छन् ।”   सो नगरपालिकाले सिमखेतसहित अन्य दुई ठाउँमा शौचालय निर्माण गरेको छ । बाहुलीगाडको छेउमा नयाँ बन्न लागेको बसपार्कमा र चैनपुरको खुलामञ्चमा सार्वजनिक शौचालय निर्माण गरेको हो । चैनपुरस्थित खुलामञ्चमा रहेको शौचालय वरिपरि त शौच गरेर हिँड्नै नसकिने अवस्था छ । “शौचालय खोज्ने तथा घुम्न जाने पनि शौचालयको पछाडिपट्टि शौच गर्छन्”, खप्तडछान्नाका कुलप्रसाद जोशी भन्नुहुन्छ, “कहिलेकाहीँ साँझपख खुलामञ्चतिर घुम्न गइन्थ्यो । अहिले त त्यहाँ नजिक दुर्गन्धले जानै सकिन्न ।” उहाँले नगरपालिकाले कसैको जिम्मामा दिएर शौचालय प्रयोगको शुल्कसहित तोकेर सञ्चालन गर्न सकिने बताउनुभयो । “नगरपालिकाले चाह्यो भने कसैको जिम्मा दिएर पनि चलाउन सक्थ्यो तर, त्यतातिर ध्यान गएको देखिँदैन ।” उहाँले भन्नुभयो ।   नगरपालिकाले बनाएको शौचालय प्रयोगविहीन अवस्थामा छन् । सुरुमा उद्घाटन गर्दासम्म निकै प्रचार हुने तर त्यो प्रचार लामो समयसम्म टिक्दैन । जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजाल भने नगरले बनाएका सार्वजनिक शौचालयको बारे जानकार हुनुहुन्न । उहाँले भन्नुभयो, “शौचालय अहिले कुन ठाउँमा कस्तो अवस्थामा छन् भन्ने मलाई यकिन जानकारी छैन । यो विषयमा केही दिनपछि अध्ययन गरेर मात्रै भन्न सक्छु ।”   नगरपालिकाका सूचना अधिकारी लालबहादुर थापा नगरपालिकाले बनाएका सार्वजनिक शौचालय प्रयोगमा रहेको दाबी गर्नुहुन्छ । “नगरपालिकामा भएका सबै शौचालय अहिले पनि सुचारु अवस्थामै छन्”, उहाँ भन्नुहुन्छ, “अहिले भएका सञ्चालनमै छन् बाँकी शौचालय आवश्यकताअनुसार नगरपालिकाले थप्न सक्छ ।” उहाँले अहिलेसम्म सर्वसाधारणलाई सार्वजानिक शौचालयमा शौच गर्न कठिनाइ नभएको दाबी गर्नुभयो ।    बुङ्गल नगरपालिकाको कार्यालयभन्दा १० मिटर टाढा सार्वजनिक शौचालय छ । नगरपालिकाकै लगानीमा बनेको उक्त शौचालयको वरिपरि भने झार उम्रिएर ढोकासमेत नदेखिने अवस्थामा छ । सिस्नोको झाडीले छोपिएको शौचालय वर्षौं पुरानोजस्तो देखिन्छ ।   नगरपालिका कार्यालयको छेउमै खोला पारिपट्टि शौचालय बनाएपछि जग्गा विवाद हुँदा प्रयोगविहीन भएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख जयबहादुर धामीले अहिले नगरपालिकाले सार्वजनिक शौचालय नबनाएको र अब आवश्यकताअनुसार बनाउने जानकारी दिनुभयो । “अहिले हामीसँग सार्वजनिक शौचालय छैन । पहिले बनाएको शौचालय जग्गा विवाद हुँदा खासै प्रयोगमा आएन ।” उहाँले भन्नुभयो ।   शौचालय कहिलेकाहीँ त सर्वसाधारणले प्रयोग गर्ने गरेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ, “यो शौचालय पनि पूर्णरुपमा बन्द भएको त होइन । कहिलेकाहीँ जो कोहीले पनि प्रयोग गर्छन् । अब आवश्यकताअनुसार सार्वजनिक ठाउँमा सार्वजनिक शौचालय बनाउँछौँ ।” नगरपालिकाका मुख्य–मुख्य ठाउँमा आवश्यकता अनुसार सार्वजनिक शौचालय बनाउने सोच बनाएको नगरप्रमुख धामीले जानकारी दिनुभयो । “बुङ्गलमा नयाँ जनप्रतिनिधि आइसकेपछि जनताको आवश्यकताअनुसार शौचालयमात्रै नभई हरेक काम गर्नेछौँ । अहिले पनि त्यसैका लागि लबिङ गरिरहेका छौँ ।”   बुङ्गल र जयपृथ्वीमा मात्र नभई हरेक पालिकाका सहरमा कतै विद्यालयका शौचालय प्रयोग गर्ने त कतै खोलामा सर्वसाधारणले शौच गर्ने गरेका छन् ।   सरसफाइ गर्न राष्ट्रिय दिवस बझाङमा मात्रै नभई मुलुकका अधिकांश सहरमा व्यवस्थित शौचालयको सुविधा छैन । बाहिर निस्कन पर्दा एकफेर घरको शौचालयमा शौच गरेर जाने धेरैको बानी छ । सार्वजनिक शौचालयको अभावमा कतिपयले खाजा खाने बाहानामा होटलका शौचालय प्रयोग गर्ने गरेका छन् ।   विश्व स्वास्थ्य सङ्गठनले सरसफाइ बढाउन तथा चेतना फैलाउन हरेक वर्ष शौचालय दिवस मनाउने गरेको छ । सन् २०३० सम्म दीर्घकालीन विकासको लक्ष्यमा पुग्न सङ्गठनले हरेक वर्ष नोभेम्बर १९ तारिखमा विश्व शौचालय दिवससमेत मनाउने गरिन्छ ।   संसारका हरेक बासिन्दालाई सरसफाइका स्रोत र सुविधा पुर्याउन दिवस मनाउँदै आएको हो । नेपाललाई ०७६ असोज १३ गते खुला दिसामुक्त देश घोषणा गरिसकिएको छ तर शौचालय प्रयोग भने प्रभावकारीरूपमा हुन नसकेको सरोकारवाला बताउँछन् । नेपालमा हेर्ने हो भने अहिले पनि विकसित सहरमा समेत शौचालय प्रयोगपछि पानी हाल्नुपर्ने सूचना टाँस गरेका भेटिन्छन् ।   सार्वजनिक शौचालयमा मात्रै नभई होटलका शौचालयमा पनि त्यस्तै सूचना टाँस गरेका भेटिन्छन् । अहिले पनि पानी हाल्नुहोला, सफा गर्नुहोला भन्नेजस्ता सन्देश लेखिनुले एउटा सभ्यता पातलिँदै गएको बुझिन्छ ।   सङ्गठनले अहिले पनि विश्वभर करिब अढाइ अर्ब मान्छेले शौचालय प्रयोग नगरेको तथ्याङ्क सार्वजनिक गरेको छ । सङ्गठनले गरेको सर्वेक्षणअनुसार विश्वभर करिब करिब १० जनामध्ये एक जनाले अझै पनि शौचालयमा शौच गर्ने विकल्प पाएको छैन । सङ्गठनका अनुसार विश्वमा दुई अर्ब ४० करोड मानिस शौचालयको पहुँच बाहिर छन् ।   सुरक्षित शौचालयको अभावमा हुने फोहोरका कारण झाडापखाला लागेर हरेक वर्ष विश्वमा लाखौँको ज्यानसमेत जाने गरेको छ ।

काठमाडौँ : ‘हाम फालेर मरौँकी त्रिशुलीको पानीमा’ घरमा बसु सौता त माइत सानीमा’ ‘सबले गर्छन् घर माइत आफ्नो बरै छैनन् कोही’ ‘लेख्या रैछ कर्ममै बाच्नुपर्ने रोइ’   गायिका शर्मिला गुरुङले गाउनुभएको यो  गीतले महिलाको बेदना बोलेको छ ।  सङ्गीतकार राजकुमार बगरले सङ्कलन गर्नुभएको यो शब्दमा भनिएजस्तै महिलाका बेदनाका तीज गीत पछिल्लो समय कमै सङ्कलन गरिन्छ । आजकालको तीजमा माइती र चेलीबीचको सम्बन्धका बारेमा भन्दा पनि व्यावसायिक र सस्तो लोकप्रिय हाँसिल हुने किसिमका  गीत बजारमा आएका छन् ।     पछिल्ला वर्षका तीजका गीतमा मौलिकता हराउन थालेको छ । नेपाली समाजमा आधुनिकताको प्रभावले यस्ता गीतमा मौलिकताको अभाव बढिरहेकै बेला सरोकारवालाले भने विकृति र विसङ्गति रोक्न चासो देखाएका छन् । हिन्दू नारीहरुको मुख्य पर्वका रुपमा पहिचान बनाएको हरितालिका तीजका अवसरमा गाइने गीत समाज रुपान्तरणमा गुञ्जिनुपर्ने थियो तर, तीजका गीतमा मौलिकपन भेटाउन मुस्किल हुन थालेको गुनासो पनि त्यतिकै मात्रामा नागरिक स्तरबाट सुनिन्छ ।    घरपरिवारसँगै बसी सुन्न र हेर्न नसकिने खालका तीजका गीतले प्रश्रय पाइरहेकै छन् । समाजले पचाउन नसकेका छाडा प्रकृतिका गीतहरु बजारमा एकपछि अर्को सार्वजनिक भइरहेकै छन् ।  यस्ता गीतप्रति आमनागरिक, कलाकार तथा स्रटाहरुले अश्लिलपना हटाउन र मौलिकपन भरिएका शब्दमा गीत रचना हुनुपर्ने धारणा बाहिएका छन् ।    काठमाडौँ अनामनगरकी ६० वर्षीया हरिकला अधिकारलाई आजकाल बजारमा आएका तीज गीत कति पनि मन पर्दैन । गीतमा चेलीका बेदना, कथा व्यथाभन्दा पनि भड्काउ खालका परिवारसँगै बसेर हेर्न र सुन्नसमेत नसकिने खालका तीज गीत भएका कारण उहाँलाई सुन्न मन नलागेको हो । उहाँले भन्नुभयो, “हाम्रा पालामा चेलीबेटीले भोगेका दुःख, दर्दका गीतहरु गाइन्थ्यो, चेलीले वर्षदिन भरी भोगेका पीडालाई गीतको माध्यमबाट सुनाउने गर्दथे, तीजका गीतमा कति मीठा शब्द राखिएको हुन्थ्यो, तर अहिले सुन्न पनि नसक्ने खालका तीज गीत बजारमा आएका छन्, सुन्न पनि नसकिने असभ्य लाग्ने खालका छन् ।”   हरिकलाले भनेजस्तै अहिले बजारमा कतपय तीज गीत परिवारसँगै बसेर सुन्न र हेर्न नसक्ने खालका आएका छन् । एक महिनाअघि बजारमा ल्याइएको ‘पापाकी परी’ नामको गीत श्रृङ्खल शब्द र दृश्य राखिएको जनाउँदै विवादमा तानिएको थियो ।   गायक तथा सङ्गीतकार शिव हमालले सिर्जना गर्नुभएको सो गीतमा ‘मोडल’ करिष्मा ढकालले पेटिकोट लगाएर पानी पँधेरोमा नुहाउँदै, गाउँदै नाच्दै गरेको भिडियो देख्न सकिन्छ । गीतमा ‘के हुन्छ होला है बिहेको राति, अँध्यारो कोठामा अन्जान साथी, सम्झेर गइसक्यो सातो बरिलै’ भन्ने शब्द राखिएको छ । गायिका सुशीला पाठकले गाउनुभएको यो तीज गीत मात्रै होइन उत्ताउलो पहिरन, पश्चिमी शैलीको नृत्य, म्युजिक भिडियो पनि उस्तै खालका हेरिनसक्नु छन्, ती म्युजिक भिडियो बजारमा प्रशस्तै भेटिन्छन् ।   गायक राजु परियारले हरितालिका तीजका गीतमा मौलिकता हराउँदै गएकोमा चिन्ता व्यक्त गर्नुहुन्छ । उहाँले भन्नुभयो, “बजारमा आएका सबै तीज गीतमा होइन, केही तीजका गीतमा मौलिकताको कमी हुँदै गएको पाइन्छ, पहिले पहिलेका तीज गीतमा झै अहिलेका तीजका गीतमा मेहनत कमी हुँदा विकृति विसङ्गति बढेको हो ।”    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका उपाध्यक्ष राधिका हमालले विकृति विसङ्गतिमा हटाउनका निम्ति प्रतिष्ठान लागिपरेको बताउनुभयो । गीतमा मौलिकता हराउनुभन्दा पनि समयअनुसार गीतहरु गाउन थालिएको उहाँको भनाइ छ । तीजका विवादित गीतप्रति प्रतिष्ठानको निगरानी र सचेतनाका कारण यसपालि विकृति र विसङ्गतिले भरिएका गीतमा न्यूनीकरण हुँदै गएको उहाँको भनाइ छ ।    पछिल्लो समय बजारमा आएका तीज गीतमा चेली र माइतीका बेदनाभन्दा पनि माया प्रेम, महिलाले लगाएको पहिरनको बयानलगायतको विषयमा तीजका गीत गाउने गरिएको छ । यस वर्ष बजार आएका ‘झमझम झम्कना लाउ कि नलाउ मँ’, ‘मै मोटी’, ‘दोदोरो मादल’, ‘ढुङ्गे धारा’, ‘मै राम्रो छैन’, ‘राधा’, र ‘डुबाउला रानीलाई’ लगायतका तीज गीत चर्चामा छन् ।    गायक तथा सङ्गीतकार नारायण रायमाझीले पछिल्लो पटकका तीजका गीतमा मौलिकता गुमेकोे र विकृति विसङ्गति बढ्दै गएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “तीजको महत्व, माइती र चेलीबीच सम्बन्धसँग जोडिएको हुन्छ, तर, यसको महत्व विस्तारै घट्दै गएको छ, पछिल्ला पटकका गीतमा व्यावसायिकताको नाममा विकृति र विसङ्गति बढिरहेको छ ।” तीजको गीत गाउनेमा महिलाभन्दा पुरुषको आकर्षण बढेको उहाँको धारण छ ।    त्यसो त विगतका वर्षमा तीजका समयमा उत्ताउला खालका तीजका गीतहरु नल्याइएको होइन । ‘पोइल जान पाम’, ‘डिस्कोमा तीज’, ‘छोटो लुगा’, ‘देखियो जामा फाटेर’ ‘तीजमा दरको साटो रक्सी खाइन्छ’ जस्ता गीत पनि शब्द र ‘भिडियो’का कारण विवादमा परेका थियो ।