पोखरा:   बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ ।  तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...

  काठमाडौँ ।   मृत्युको अपेक्षा कसैले गर्दैन । त्यो जहिले पनि अनपेक्षित हुन्छ । हामी कसैले पनि प्रदीप गिरि यति छिटै दिवङ्गत हुनुहोला भनेर सोचेका थिएनौं । उहाँ उपचारका लागि भारतको मुम्बइमा हुनुहुन्थ्यो । हामी उहाँ छिटै निको भएर फर्किनु हुनेछ भन्ने अभिलाषामा बाँचेका थियौं । उहाँको निधन असामयिक थिएन । उहाँ उमेरको माथिल्लो हदमा हुनुहुन्थ्यो । यति हो कि, हाम्रो सोचाइमा उहाँको महाप्रस्थानको समय भएको थिएन । काललाई कसैले छल्न सक्दैन । प्रदीप गिरिले पनि त्यसलाई छल्न सक्नु भएन ।      अहिलेको जटिल राजनीतिक परिस्थितिमा प्रदीप गिरिको अनुपस्थिति सबैलाई खट्किएको छ । यो अस्वाभाविक होइन । आजको राजनीतिक परिदृश्यमा प्रदीप गिरि सर्वपक्षीय व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ कांग्रेस पार्टीको टिकटमा चुनिएका सांसद भए पनि राजनीतिमा उहाँको सर्वमान्यता स्थापित भएको थियो । सबै दलका सदस्यहरु उहाँका कुरा सुन्दथे । उहाँका तर्कहरुको मनन् गर्दथे । उहाँका विचारहरुको कार्यान्वयन गर्न नसके पनि त्यसमा सहमति जनाउँथे । उहाँमा रहेको व्यापक ज्ञान, सिद्धान्तप्रतिको अविचलित निष्ठा, समाजवादी समाज निर्माणप्रतिको प्रतिबद्धता, निर्भिक र स्पष्टवादी स्वभावका कारण राजनीतिमा लाग्ने मानिसमा उहाँको ठूलो आकर्षण थियो । प्रतिनिधिसभा पटलमा अभिव्यक्त उहाँका विचारहरु सर्वदलीय आकर्षणका विषय हुन्थे । प्रदीप गिरिका विचार ओजस्वी त हुन्थे नै, सामाजिक हिसाबले पनि सन्तुलित हुन्थे । आफना विचारले समाजका सबै वर्ग र पक्षका मानिसलाई वशिभूत गर्नु सामान्य कुरा थिएन ।       देशका प्रतिष्ठित वरिष्ठ चिकित्सक मधु घिमिरे भन्छन्, ‘‘मैले धेरै राजनीतिज्ञलाई जाँच गर्ने र हेर्ने मौका पाएको छु । प्रदीप गिरिको पकड नीतिमाथि रहेको छ । नीतिको कुरामा उनी गहिराइमा पुगेका छन् । उनी आजका भ्रष्ट चरित्रको राजनीतिबाट अलग छन् । उनले पदको मोह अँगालेका छैनन् । पदको होडबाजीले राजनीतिलाई दूषित पार्दछ । पदको मोह त्याग नगरेसम्म राजनीति चोखो रहन सक्दैन भन्ने मान्यता राख्दथे प्रदीप गिरि ।’’     धेरैजसो वुद्धिजीवीहरु प्रदीप गिरिलाई बीपीपछिको सबैभन्दा प्रभावशाली मार्गदर्शकका रुपमा लिन्छन् । आजको राजनीतिको मुख्य समस्या भनेको यसमा नैतिक तत्वको अतिशय अभाव हो । अधिकारको दुरुपयोग तीब्र गतिमा आकासिएको छ । आदर्शका प्रारुप खजमजिएका छन् । परस्परमा अहङ्कारको लडाइँ चलिरहेको छ । राजनीतिमा लागेका मानिसले विनयशीलता गुमाउँदै गएका छन् । राजनीतिज्ञहरु असल कुराका पक्षमा आपूmलाई उभ्याउन चाहँदैनन् । व्यक्तिगत स्वार्थको पोषणका लागि जस्तोसुकै गलत सम्झौता गर्न पनि पछि पर्दैनन् ।      राजनीतिक दलका सदस्य र नेताहरु प्रदीप गिरिजस्ता मानिसको महिमा गाउन चुक्दैनन् । तर, उनीहरुले देखाएको बाटोमा हिंडन चाहदैनन् । किनभने सत्यको बाटो कठोर हुन्छ । सत्यको बाटो हिंडन चाहने मानिसले धेरै दुर्गम अवस्था भोग्नुपर्ने हुन्छ । उसका परिवारले दुःख पाउँछन् । सामाजिक उत्थानका लागि दुःख पाउने व्यक्तिको प्रशंसा होइन, जग हँसाइ हुन्छ ।      यो पंक्तिकार प्रदीप गिरिको सङ्गतमा आउँदा भर्खर १४ वर्षमा पाइला टेकेको थियो । त्यसपछिको यो लामो समयमा मैले प्रदीप गिरिको विचार र व्यक्तित्व समान पाएको छु । हो, उहाँका विचारहरु प्रखर भएका छन् । व्यक्तित्वमा निखार आएको छ र आवाजमा आधिकारिकता थपिएको छ । तर, उहाँको स्वप्नजीवी स्वभावमा कहिल्यै परिवर्तन आएन । उहाँले जस्तोसुकै खराव समयमा पनि असल समाजको सपना देख्नुभयो । परिवर्तनको अवश्यम्भावितामा उहाँको गहिरो विश्वास थियो । युवा शक्तिमा जागरण ल्याउन उहाँले थुप्रै काम गर्नु भएको छ । उहाँका योगदानका परिणामहरु छिटै देख्न पाइने आशा गरौं ।      प्रदीप गिरि बीपी कोइरालासँग त निकट हुनुहुन्थ्यो नै । उहाँको सम्बन्ध शहीद सरोजप्रसाद कोइरालासँग पनि प्रगाढ थियो । निर्दलीय पञ्चायत व्यवस्थाका गुण्डाहरु भारत भूमिमा पसेर कोइरालाको हत्या गरे । त्यो घटनाले प्रदीप गिरिलाई अत्यन्त बिह्वल बनायो । त्यतिखेर उहाँ बनारसमा अध्ययन गर्दै हुनुहुन्थ्यो । त्यो घटनापछि उहाँको जीवनमा नयाँ मोड आयो । तैपनि, उहाँले आफनो अध्ययन प्रक्रियालाई निरन्तरता दिनुभयो । जनमत सङ्ग्रहपछि नेपाल आउनु भएका प्रदीप गिरिले राजनीतिलाई नौलो दिशा दिनुभयो । बीपीको देहावसानपछिको अवस्थामा प्रदीपले नै वौद्धिक वहसको परम्परालाई निरन्तरता दिनुभयो ।     प्रदीप गिरि अब हाम्रा बीच हुनुहुन्न । उहाँ समानको कुनै अर्को पथ–प्रदर्शक पनि नभमा देखिएको छैन । समाजमा प्रतिदिन विकार फैलिएको छ । उहाँले राजनीतिमा धकेलेर अघि बढाएका थुप्रै व्यक्तित्वहरु नभएका होइनन् । तीमध्ये धेरै ओझेलमा परेका छन् । प्रदीप गिरिले बोक्नु भएको लोकतान्त्रिक समाजवादको मसाल कसैले न कसैले, ढिलो–चाँडो बोक्न त बोकी हाल्नेछन् तर समय घर्किदैछ । परिवर्तनका लागि अरु कति पुस्ता पर्खिनु पर्ने हो रु प्रश्न गम्भीर छ ।

  कालीकोट: कालीकोटको स्याउ बजार पुर्याउन  निकै समस्या भएको छ । जिल्लाको तिलागुफा  र रास्कोट नगरपालिकाका साथै  महावै, पचालझना र पलाँता गाउँपालिकामा उत्पादन हुने स्याउ सडक नहुँदा बजारसम्म पुर्याउन समस्या भएको हो ।       बगैँचामा फलेको स्याउ बिक्री गर्न समस्या भएको तिलागुफा नगरपालिका–२ फोइमहादेवका अगुवा किसान बेगमबहादुर शाहीले बताउनुभयो । “यातायातको सहज पुहँच नहुँदा स्याउ बिक्रीमा समस्या हुने गरेको छ । यातायात सेवा धेरै टाढाको दूरीमा छ”, उहाँले भन्नुभयो,“भारी बोकेर कर्णाली राजमार्ग पुर्याउन पाँच घण्टाको पैदलयात्रा गर्नुपर्छ ।”   कृषक शाहीले आफूले मात्र बर्सेनि ६०० क्विन्टल स्याउ फलाउने गरे पनि बजार पुर्याउन नसकिएका जति त्यतिकै खेर जाने गरेको जानकारी दिनुभयो । सधैँजसो भदौमा तयार हुने स्याउ बजार लैजान  समस्या रहेको रास्कोट नगरपालिका–८ फुकोटका किसान पुष्पराज बरालले बताउनुभयो । “बर्सेनि ३०० क्विन्टलभन्दा बढी स्याउ फले पनि बजारको  समस्याले अधिकांश स्याउ रुखमै कुहिने वा बस्तुलाई दिने गरेको छौँ ।” उहाँले भन्नुभयो,“हाम्रो स्याउ फल्ने ठाउँ सिप्टी र बिसाल्नी भन्ने लेकमा हो ।”    कृषक बरालले भन्नुभयो,“यहाँबाट बजारमा लैजानका लागि कम्तीमा एक दिन लाग्ने गरेको छ । कतिपय त बोकेर लैजाँदै बाटोमा नै बिग्रिने गरेको छ ।”किसाले उत्पादन गरेको स्याउ बिक्रीका  लागि अनुदान दिने गरिएकोे जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताउनुभयो । “किसानलाई ढुवानीमा अनुदान र कालीकोटको उत्पादन भएको हो भन्ने प्रमाणका लागि कार्टुन पनि दिने गरेका छौँ ।” उहाँले भन्नुभयो,“यहाँको स्याउ विशुद्ध प्राङ्गारिक भएकाले यसको स्वादसँग अन्य स्याउको तुलना नै हुन सक्दैन ।”  

  बैतडी ।   बैतडीमा हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार गरिएको छ । सिगास गाउँपालिका– ६ थलाकी २० वर्षीया बिन्दु धामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।     सुत्केरी व्यथा लागेको बिन्दुलाई आज बिहान  थलाकाँडाबाट कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो । आइतबार थलाकाँडा स्वास्थ्य चौकी पुग्नुभएकी धामीलाई सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्घार गरिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।   तत्कालै शल्यक्रिया गर्नुपर्ने अवस्था आएकाले उहाँलाई सुर्खेत लगिएको हो । आइतबारदेखि सुत्केरी व्यथा लागेर बिन्दुको स्वास्थ्य अवस्था खराब हुँदै गएपछि जिल्ला अस्पताल लैजान सडक सुविधा नभएको र सडकसम्म पुर्याउन चार घण्टा बोकेर लैजानुपर्ने, सो समयसम्म  अत्यधिक रक्तश्राव हुने खतरा रहेकोले सुविधा सम्पन्न अस्पतालसम्म लैजान हवाई उद्धारका लागि आवश्यक समन्वय गरिदिन सिगास गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको थियो ।

  पोखरा ।  पोखरा उद्योग वाणिज्य संघको भदौ २४ र २५ गते महाधिवेशनको मिति घोषणा भएसँगै अध्यक्षका उम्मेदवार पवन कुमार प्रजापतिले १४ बुदे प्रतिवद्धतासँगै  पदाधिकारी प्यानल घोषणा गरेका छन् ।    अध्यक्षका उम्मेद्वार प्रजापतिको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उद्योग बरिष्ठ उपाध्यक्षमा हिरामणी पण्डित र वाणिज्यतर्फको उपाध्यक्षमा उत्तममान बुद्धाचार्य रहेका छन्  । यस्तै महासचिवमा बलराम आचार्य, उपमहासचिवमा सोभा गौतम र कोषाध्यक्षमा दिनेशचन्द्र बास्तोला रहेको सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् ।    अध्यक्षका उम्मेदवार प्रजापतिले व्यवसायीहरु माझ व्यावसायिक वातावरण निर्माण र उद्योगी व्यवसायीहरुको सम्मान अभिवृद्धि पहिलो प्राथमिकता रहेको बताए ।    उनले व्यावसायिक डाटा बैंक तथा प्रवर्धन केन्द्र स्थापना गर्ने, रुग्न उद्योग र नोक्सानमा चलेका व्यवसायको लागि बैंक तथा घरबेटीसंग छलफल गरेर सहजता प्रदान गर्ने, व्यवसायी बन्न चाहनेको लागि आवश्यक तथ्यांक उपलब्ध गराईने र नवप्रवर्तन तथा महिला उद्यमशिलता विकासलाई केन्द्रमा राखेर काम गर्ने, बजारीकरण र प्रवर्धनमा सघाउने प्रतिवद्धता पत्रका उल्लेख गरेका छन् ।     सचिवालयको पुनःनिर्माण, अत्याधुनिक बहुउदेश्यीय भवन निर्माणको लक्ष्य राख्दै राष्ट्रिय औद्योगिक व्यापार मेलालाई अब रमालाईको रुपमा भन्दा पृथक किसिमले गर्नका लागि आवश्यक छलफल र सुझावको आधारमा अघि बढ्ने बताए । संघलाई साना, मझौला र ठूला व्यवसायीसहित महिला उद्यमीको साझा संस्था बनाईने, उद्योगी व्यवसायीमाथि पर्ने समस्या निराकरणका लागि राज्यबाट पाउनुपर्ने सबै खालका सुविधा दिलाउने र व्यवसाय रक्षाका विशेष ध्यान दिईने पत्रकार सम्मेलनमा बताए ।    संघको सचिवालयलाई प्रविधिमैत्री बनाउँदै सदस्य महानुुभावलाई घरमै आवश्यक सूचना र सहयोग पुर्याउने र संघलाई साना, मझौला र ठुला व्यवसायी सहित महिला उद्यमीको साझा संस्था बनाउने प्रतिवद्धता सहित प्रजापतिले प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् ।    संघमा अध्यक्षको रुपमा सर्वसम्मत बनाउने बैठक भएपनि यो सम्भव नभएर उम्मेदवारी घोषणा भएको हो भन्ने पत्रकारको प्रश्नमा प्रजापतिले उम्मेदवारी घोषणामा कुनै अन्यथा मान्नुपर्ने केही नभएको बताए ।    उनले भने,‘ कार्यसमितिमा २ कार्यकाल, कोषाध्यक्ष, उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षको रुपमा एक एक कार्यकाल काम गरेर अनुभव लिएको छु । आफु संघमा अनुभवले बटुल्दै आएकाले कुनैपनि चुनौती सामना गर्न तयार हुनैपर्छ भन्ने पाठ सिकेको छु। यसमा अन्यथा मान्नुपर्ने केहि छैन ।   म र मेरो टिमको उम्मेदवारी न्यायोचित र स्वाभाविक हो । प्रजापतिले भने, मेरो समुहमा खारिएका अनुभवि साथीहरु हुनुहुन्छ । पोखराको विकासको साझेदार संस्था संघको भूमिका समयअनुसार बदलिएकोले उद्योगी, व्यवसायीको हत, हित रक्षाका लागि हामी प्रतिवद्ध छौं ।   यसअगाडी पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनमा अध्यक्ष पदमा अर्जुन पोखरेलले समेत उम्मेदवारी घोषणा गरेका छन् ।

    पोखरा ।  सुुन्दर शहर पोखरामा सुुनौलो भविष्य खोज्दै ग्रामीण भेगका विद्यार्थीसँगै सर्वसाधारणको लर्को छ ।     कतिले आफ्नो सपना पुरा गरेका छन् भने कति जागिरको आशमा ठगिने क्रम बढ्दो छ । पोखरामा ठगी गर्नेहरुको गिरोह फरक फरक समयमा भेटिन्छन् । नक्कली डाक्टर भनेर ठगी गरेको विषय चलिरहँदा फेरि समाज सेवाको नाममा ठगी गरेर फरार भएको अर्को घटना बाहिर आएको छ ।    स्वयंसेवक समाज नेपाल संस्था दर्ता गरेर दुई व्यक्तिले पोखरामा लाखौ ठगी गरेर फरार भएका छन् । विशेषगरी जटिल रोग लागेर सहयोगको खाचो परेका व्यक्तिहरुलाई उनीहरुले ठगी गर्ने गरेको खुल्न आएको छ ।    र सुरु भयो ठगी धन्दा  ​एक पीडितका अनुसार पोखरा नदिपुर बस्ने नाम परिवर्तन (राम बहादुर) लाई मृगौलाको उपचार गर्न आर्थिक अभाव भइरहेको थियो । पोखराको व्यस्त शहरमा एक्कासी उनको नजर स्वयमसेवक समाज नेपाल ब्यानर लेखिएको गाडीमा नजर पर्यो । फोन नम्बर टिपे र घरमा गएर फोन गरे ।    सहयोगको अभियान संचालन भयो रकम संकलन भयो तर आधा रकम लिएर उनीहरु फरार भए । स्वयम सेवक समाज नेपाल संस्थाले मृगौला पीडित र क्यान्सर रोग लागेको व्यक्तिहरुको नाममा रकम संकलन गरेर बिरामी र विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरेको पिडितहरुको गुनासो छ ।    संस्थाले अहिले कति रकम ठगी गरेको छ भनेर खुल्न आएको छैन् । ठगी गर्दै आएका उनीहरु प्रहरीको फरार सुचीमा रहेको स्रोतले बतायो ।    मृगौला पीडितका अनुसार आफ्नो नाममा संकलन भएको ६ लाख बढी  रकम मध्ये ४ लाख मात्र पाएको र बाँकी रकम उपचार भएको १६ महिना बितिसक्दा समेत कहिले दिने भनेर आफुलाई पिडामा झन् पिडा थपेको पिडितले बताए । ‘उनीहरु ठगी धन्दामा फरार सुचीमा रहेको जानकारी पाएको छु त्यसैमा आफुले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिने तयारी गरेको छु ।’ पीडितले भने ।    अहिले उनले उपचार गरेको १६ महिना बितिसकेको छ तर उनले आफ्नो नाममा संकलन भएको पुरा रकम भने पाउन सकेका छैनन् । उपचार हुनुपूर्व उनलाई संस्थामा संचालक सुवास र सन्तोष बिक नाम गरेका व्यक्तिहरुले दिन दुखी र उपचारका क्रममा सहयोग गर्छौ भनेर बिरामीलाई पिडा दिएर लाखौँ ठगी गरेर फरार भएको पिडितको बिरामीले सुनगाभा न्यूजलाई जानकारी दिए ।    बागलुङ घर भएका लक्ष्मी थापा अहिले स्नातक पहिलो वर्षमा अध्ययनरत छिन् । उनले पोखरा जव सेन्टरले कर्मचारी आवश्यकता सम्वन्धी विज्ञापन गरिरहेको थाहा पाएपछि उनी स्वयमसेवक समाज नामक संस्थामा जोडिए ।    अध्ययनसँगै पोखरामा सुन्दर भविष्य खोजेका थापाले जागिरसँगै विरामीको सेवा गर्न पाउँदा भाग्यमानी नै ठानिन् । पोखरा जबसेन्टरमा १५ हजार तलब भनिए पनि संस्थामा जाँदा १८ हजार तलब दिने आश्वासन दिए । तर तलब आश्वासनमा सिमित भएको उनको आरोप छ ।    ‘हामी १८–२० जनाको संख्यामा त्यस संस्थामा गएका हौँ । सुरुमा ५ जनाको ग्रुप बनाएर विरामीको नाममा पैसा संकलन गर्न भनियो, उनले भनिन्, ‘पोखरामा हामीले एक ग्रुपले झण्डै ४ देखि ५ हजार संकलन भयो । तर यो पैसा लिएर उनीहरु महिना दिनमा फरार भए ।’    थापाका अनुसार बिरामीको नाममा उनीहरुले लाखौँ ठगी गरेका छन् । दिनमा एक ग्रुपले ४ हजार संकलन गर्दा ४ ग्रुपले पोखरामा अनुमान गर्दा ८० हजार रुपैयाँ संकलन हुन्छ यसरी हिसाब गर्दा महिना दिनमा लाखौँ संकलन भएको उनको अनुमान छ ।    पोखराको रवी होटलमा उनीहरुलाई संस्थाले गर्ने कार्यहरुको बारेमा विकहरुले गोष्ठी कार्यक्रम संचालन गरेका थिए । संस्थाका संचालनक भनिएका विकले  कर्मचारी भनेर झापा देखि दुईजना व्यक्तिहरु लिए कार्यक्रममा खर्च भएको रकमसमेत कर्मचारीहरुको नाममा दर्ता गरेर कर्मचारीलाई नै ठगी गरेको बताइएको छ ।

  झापा । यहाँका पूर्वी र उत्तर क्षेत्रका सर्वसाधारणलाई अझै पनि जङ्गली हात्तीको त्रास छ । भारतबाट प्रवेश गर्ने जङ्गली हात्ती नियन्त्रण गर्न विश्व बैंकको सहयोगमा नेपाल सरकारले हात्ती प्रवेश गर्ने गौँडामा विद्युतीय तारबार गरे पनि जङ्गली हात्ती रोक्न सकिएको छैन ।       हालसम्म झापामा हात्तीको आक्रमणबाट ४८ नेपाली नागरिकको मृत्यु र गैर नागरिक पाँच गरी जम्मा ५३ जनाको मृत्यु भएको छ भने १५ हात्तीको मृत्युु भएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख जीवन पाठकले जानकारी दिनुभयो ।       आर्थिक वर्ष २०७८/७९ मा मात्र छ जनाको हात्तीको आक्रमणबाट मृत्युभएको छ । अर्जुनधारामा एउटा र बुद्धशान्तिमा दुई हात्ती मृत भेटिएको पाठकले जानकारी दिनुभयो । आठ व्यक्ति हात्तीको आक्रमणबाट घाइते भएका छन् ।       वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ को(दोस्रो संशोधन २०७४) का अनुसार कुनै व्यक्तिलाई सामुदायिक वन, डिभिजन वनका कर्मचारीबाहेक अन्य सर्वसाधारण व्यक्तिलाई जङ्गलको क्षेत्रभन्दा बाहिर हात्तीले आक्रमण गरी मारेमा रु १० लाख क्षतिपूर्ति दिने व्यवस्था रहेको छ । घाइतेको हकमा सम्पूर्ण खर्च सरकारले बेहेर्ने व्यवस्था रहेको छ ।    घर भत्काएको, बालीनाली क्षति र भण्डारण अन्नमा क्षति पुर्याएमा रु १० हजार देखि रु ३० हजारसम्मको क्षतिपूर्ति पाउने व्यवस्था ऐनले गरेको छ तर सो क्षतिपूर्ति पाउनका लागि घटना भएको ३५ दिनभित्रमा निवेदन दिइसक्नुपर्ने व्यवस्था रहेको छ ।       यसै आव २०७८/७९ मा मात्रै छ जना मृतकका परिवारसहित चारसय ८५ जनालाई रु एक करोड १० लाख ७२ हजार एकसय ९३ क्षतिपूर्ति दिइएको पाठक बताउनुहुन्छ । यस आर्थिक वर्षमा ३७७ निवेदन परेका र ती निवेदन कार्यान्वयनको प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।       हात्तीपीडित मेचिनगर–१ बाहुनडाँगीका केशव न्यौपानेले क्षतिपूर्तिका लागि कानुनी व्यवस्था अलिक झन्झटिलो र ढिलो भएको गुनासो गर्नुभयो । जङ्गली हात्तीकै कारण झापाका मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, बिर्तामोड ,भद्रपुर, कचनकवल, कमल र हल्दिबारीमा बर्सेनि लगाएको बाली भित्र्याउन पाउँदैनन् ।    धानको सिजनमा धान, मकैको सिजनमा मकै, गहुँलगायत बाली थन्क्याउने बेलामा हात्तीसहित अन्य जङ्गली जनावरले खाएर सखाप बनाउने गरेको हल्दिवारी–३ का यामलाल अधिकारी भन्नुहुन्छ । सरकारले भारतबाट आउने जङ्गली हात्तीको नियन्त्रणका लागि बर्सेनि करोडौँ रुपैयाँ खर्चिए पनि समस्या दिनप्रतिदिन उस्तै रहेको छ । 

  चुनबाङ: भूमे गाउँपालिका–९ चुनबाङमा उत्पादित लसुनले उचित मूल्य नपाएको किसानले गुनासो गरेका छन् । लसुनको पकेट क्षेत्रसमेत रहेको चुनबाङमा उत्पादन भएको लसुनले उचित मूल्य नपाएको भन्दै किसानले गुनासो गरेका हुन् ।    अहिले बाहिर बजारमा लसुनको मूल्य प्रतिकिलो रु ५० देखि ६० पर्छ । चुनबाङ्का लसुन उत्पादक किसान भने प्रतिकिलो र ५० मा लसुन बिक्री गर्दा दुःख नउठ्ने भन्दै प्रतिकिलो रु एक सयका दरले बिक्री गर्न चाहन्छन् । किलोलाई रु एक सय दिएर कसैले लसुन खरिद नगरेपछि अहिले चुनबाङको लसुन घरघरमा थुप्रिएको च्याङचुङका लसुन उत्पादक किसान गञ्जु खड्काले बताउनुभयो ।   अहिले आफ्नो मात्रै १० क्विन्टलको हारहारीमा लसुन रहेको उहाँले बताउनुभयो । गत वर्ष १८ क्विन्टल लसुन उत्पादन गर्नुभएका उहाँले अहिले भने उत्पादन घटेको बताउनुभयो । केहीको लसुन उत्पादन गत वर्षको तुलनामा अहिले घटे पनि समग्रमा भने गत वर्षको तुलनामा यसवर्ष उत्पादन बढेको छ । अहिले उचित मूल्य नपाएकै कारण कति पनि लसुन बिक्री नभएको किसान खड्काले बताउनुभयो ।    उहाँका अनुसार अहिले चुनबाङका प्रत्येक घरमा तीनदेखि १० क्विन्टलको हारहारीमा लसुन छ । लसुनले उचित मूल्य र बजार नपाएको भन्दै उहाँले अर्को वर्ष लसुन लगाउने क्षेत्र घटाएर मोटो कला लगाउने योजना बनाएको समेत सुनाउनुभयो । यस्तै चुनवाङकै स्थानीय एवं पूर्व वडाध्यक्ष प्रवेश पुनले बजारको मूल्यमा दिने किसानको लसुन बिक्री भइसकेको बताउँदै बजार मूल्यभन्दा बाहिरको लसुन बिक्री हुन नसकेको बताउनुभयो ।    बजार मूल्यभन्दा महँगो हाले लसुन सङ्कलन गर्न भने नसकिने उहाँको भनाइ । यसवर्ष चुनबाङमा चार सय ३२ दशमलव ३५ मेट्रिकटन लसुन उत्पादन भएको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार यो उत्पादन गत वर्षको तुलनामा १२ दशमलव १३ प्रतिशतले वृद्धि भएको हो । अहिले जिल्लाको ७२ हेक्टर क्षेत्रफल जमिनमा लसुनखेती हुँदै आएको छ ।

  भोजपुर । देश, विदेशमा पहिचान बनाएको भोजपुरे खुकुरीको माग धान्न समस्या हुने गरेको छ । दक्ष कालीगढ अभावमा उत्पादन कम हुँदा भोजपुरे खुकुरीको माग धान्न समस्या भएको हो ।    पुस्तान्तरण नहुँदा तथा संरक्षणको अभावले कालीगढ पेसा लोप हुने अवस्थामा पुगेपछि खुकुरी उत्पादनमा कमी आएको छ । स्थानीय र बाहिरी जिल्लासँगै अन्तर्राष्ट्रिय बजारसम्म यसको माग हुने भए पनि माग अनुसारको खुकुरी उत्पादन हुन नसकेको व्यवसायी बताउँछन् । खुकुरी बनाउने पेसालाई अपहेलनाको रुपमा हेरिने गरिएकाले यो पेसा सङ्कटमा परिरहेको  व्यावसायी बताउँछन् ।   उद्योगबाट भोजपुरे, सिरुपाते र चित्लाङले कोथीमोडा लगायतका खुकुरी बन्ने गरेका छन् ।  यस्ता खुकरी विश्व बजारमासमेत प्रख्यात छन् । यहाँ उत्पादन भएका खुकुरी आकार अनुसार न्यूनतम रु एक हजारदेखि अधिकतम दश हजारसम्म पर्छ ।   बाहिर जिल्लाबाट दुई/चार सय खुकुरीको माग आउने भए पनि धेरै माग भएको खण्डमा धान्न समस्या हुने रञ्जीता खुकुरी उद्योगका सञ्चालक गणेश गजमेरले बताउनुभयो । ‘‘भोजपुरे खुकुरीको माग धान्न मुस्किल छ’’, गजमेरले भन्नुभयो,‘‘देशका विभिन्न ठाउँबाट माग आउछ । माग अनुसारको खुकुरी उत्पादन गर्न सकिएको छैन ।’’   विगतका वर्षमा धेरै कालीगढ भए पनि पछिल्लो समयमा आएर व्यावसायिक रुपमा यो काम गर्ने मानिसको सङ्ख्या न्यून हुँदै गएको छ । बढी मेहनत गर्नुपर्ने साथै व्यवसाय गर्नको लागि आवश्यक हुने कच्चापदार्थ अभावले नयाँ पुस्तामा यसप्रति मोह कम भएको कालीगढ हर्कबहादुर विश्वकर्माले बताउनुभयो ।   विश्वकर्माले भन्नुभयो,‘‘खास गरेर यो पेसालाई पुस्तान्तरण गर्न सकिएन । नयाँ पुस्ताले यो पेसालाई निरन्तरता दिन छाडेको छ । अलिक समयपछि कालीगढ पाउन मुस्किल पर्छ ।’’ पेसा लोप हुनबाट बचाउन राज्यले प्राथमिकता दिनुपर्ने विश्वकर्माले बताउनुभयो । ‘‘मैले ४० वर्षबाट यही पेसा गरिरहेको छु’’, उहाँले भन्नुभयो, ‘‘यतिका समय यही पेसा गर्दा पनि मलाई आर्थिक रुपमा समस्या नै छ । मेहनत बढी गर्नुपर्छ । आम्दानी कम छ । राज्यको सहयोग छैन । त्यसैले पछिल्ला पुस्ताले यो पेसा गर्न रुचाउन छाडे ।’’   स्थानीय सरकार सञ्चालनमा आए पनि प्रोत्साहनमूलक सहयोग नपाएको कालीगढ प्रेमकुमार लुवारले बताउनुभयो । व्यवसाय सञ्चालन गर्न स्थानीयस्तरमा पाउने कच्चा पदार्थको अभाव रहेको उहाँको भनाइ छ ।    ‘‘राज्यको तर्फबाट हामीले सहयोग पाउन सकेका छैनौँ’’, लुवारले भन्नुभयो, ‘‘हामीलाई व्यवसाय सञ्चालन गर्न धेरै समस्या छ ।  दैनिक कामकाजको लागि चाहिने, कोइला, बिँड, दापका लागि चाहिने काठ आदिको समस्या हुन्छ ।’’ सामुदायिक वनबाट काठ सहज रुपमा ल्याउन पाउने अवस्था नरहेको उनीहरुको भनाइ छ । आफूहरुले उत्पादन गरेका खुकुरीले पनि मेहनत अनुसारको मूल्य पाउन नसकेको कालीगढको भनाइ छ ।    खुकुरी उत्पादन गर्ने कालीगढ विचौलियाको मारमासमेत पर्ने गरेका छन् । ‘‘कालीगढका काममा धेरै दुःख छ’’, लुवारले दुःखेसो गर्नुभयो,‘‘अर्कातिर कच्चापदार्थ जुटाउन नै समस्या छ । कम्तीमा पनि राज्यले हामीलाई यहाँ लाग्ने विद्युत्, फलाम, खुकुरी बनाउन आवश्यक पर्ने मेसिन, उपकरण खरिदमा केही सहयोग गरी दिए राहत मिल्ने थियो ।”   राज्यले उचित  वातावरणसँगै साना तथा मझौला उद्योगलाई प्राथमिकता नदिँदा व्यवसाय सङ्कटमा परेको उद्योग सञ्चालकको भनाइ छ ।     कालीगढ पेसालाई बचाइ राख्नको लागि खुकुरी बनाउने लगायतका तालिम सञ्चालन गरिए पनि युवा शक्ति विदेश जाने लहरले समस्या भएको स्थानीय खुकुरी उद्योग सञ्चालक हीरा श्रेष्ठ बताउनुहुन्छ । ‘‘खुकुरीको स्थानीयस्तरमैे माग बढी छ’’, व्यवसायी श्रेष्ठले भन्नुभयो,‘‘गाउँघरमा परम्परागत रुपमा गरिने पेसा धेरैले छाडी सके । सदरमुकाममा उत्पादन भएका खुकुरी गाउँतिर पठाउनुपर्ने अवस्था छ । बाहिरबाट आएको माग पूरा गर्न सकिएको छैन् । यही अवस्था रहेमा पेसालाई जोगाएर अर्को पुस्तामा लैजान नै समस्या छ । भोजपुरे खुकुरी नै सङ्कटमा पर्ने अवस्था छ ।’’ 

  पोखरा । गजल प्रतिभा पुरस्कार–२०७९ युवा गजलकार जय गौडेललाई प्रदान गरिने भएको छ ।    समाजसेवी लालबहादुर गुरुङद्वारा स्थापित तथा गजल सन्ध्या, पोखराद्वारा सञ्चालित पुरस्कार नगद रु. १५ हजार ५५५, दोसल्ला र सम्मानपत्र रहेको छ । सन्ध्याले मोती जयन्तीका अवसरमा एक वर्ष गजल प्रतिभा पुरस्कार तथा अर्को वर्ष गजल प्रतिभा सम्मान अर्पण गर्दै आएको छ ।    यस वर्षको पुरस्कार गजलकार गौडेललाई आगामी भदौ ११ गते शनिबार १५७ औँ मोती जयन्तीका अवसरमा पोखराको न्युरोडस्थित रिडर्स कर्नरमा हुने एक विशेष कार्यक्रममा प्रदान गरिने सन्ध्याका उपाध्यक्ष सुरज उपाध्यायले जानकारी दिए । सन्ध्याका पूर्व अध्यक्ष दीपक समीपको संयोजकत्वमा पूर्व अध्यक्षद्वय रुपिन्द्र प्रभावी र कपिल शर्मा सदस्य तथा अध्यक्ष वसन्त विनोद र सचिव त्रुपक पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा गजलकार गौडेललाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको सन्ध्याले जनाएको छ ।   स्याङ्जाको अर्जुनचौपारीमा वि. सं. २०४१ मा जन्मेका गजलकार गौडेलको ‘आशाका बयलीहरू’ नामक गजलसङ्ग्रह २०६४ मा प्रकाशित छ । अनाममण्डलीका पूर्व महासचिव गौडेल रचना वाचन युट्युब च्यानलका संयोजक पनि हुन् । शिक्षणसँगै साहित्यिक क्षेत्रमा क्रियाशील उनी गजलकार, गीतकार र कविका रूपमा चर्चित छन् । उनको तरन्नुम शैलीको गजल प्रस्तुतिले पाठक÷स्रोता मन्त्रमुग्ध हुने गरेका छन् ।   यसअघि सो पुरस्कारबाट रुपक वनबासी, इन्द्रकुमार विकल्प, गोविन्दराज विनोदी, कमल पौडेल ‘अथक’, दीपक समीप, आर. के. अदिप्त गिरी, कपिल शर्मा, जनार्दन दाहाल, जीवनपानी, बाबु त्रिपाठी र निरज भट्टराई पुरस्कृत भइसकेका छन् । पुरस्कार अर्पण कार्यक्रमसँगै नेपाली गजलमा मोतीरामको योगदानको चर्चासमेत गरिने अध्यक्ष वसन्त विनोदले जानकारी दिए ।