पोखरा ।     हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ ।    संस्थाले आफ्नो स्थापना...

  लमजुङ ।  ‘झरेको पात झै भयो, उजाड मेरो जिन्दगी, निभेको दीप झै भयो उदास मेरो जीन्दगी।’ स्वर सम्राट नारायण गोपालले यी हरफमा उल्लेख गरे झै बागलुङ जिल्लाको कालापैरा घर भई विगत नौ वर्षदेखि लमजुङमा बस्दै आउनुभएका ४७ वर्षीय मनबहादुर विकको जीवन पनि यस्तै भइरहेको छ ।    शारीरिक रुपमा अशक्त उहाँको देब्रे खुट्टा छैन । पाँच जनाको परिवार रहेको मनबहादुरको आम्दानीको कुनै स्रोत छैन । काम गरेरै खान पनि शारीरिक अवस्थाले पनि दिँदैन । परिवारको गुजारा चलाउन दैनिक बिहानैदेखि  विभिन्न स्थानमा बैसाखीको सहारामा आर्थिक सहयोग माग्दै परिवारको जीवन धान्नुपर्ने बाध्यता छ । बागलुङमै रहँदा  घर बनाउने काम गर्दै आउनुभएका उहाँ  विसं २०६८ मा आफ्नै घरमा पालेको बस्तुभाउका लागि स्याउला काट्ने क्रममा रुखबाट खसेर देब्रे खुट्टाको दुई ठाउँको हड्डी भाँचियो । जिल्ला अस्पतालमा उपचारका  क्रममा गोडाभन्दा तलको सबै भाग काटेर फाल्नु पर्यो । चार महिना उपचार गरेर घर फर्केपछि करिब १४ महिना घरमै आराम गरेर बस्नु परेको उहाँको भनाइ छ । मनबहादुरको दुःख त्यतिमै सीमित भएन । उपचारका लागि रु सात लाख लाग्यो । त्यतिका पैसा घरमा नभएको र उहाँको आफ्नै दाइले प्रभु बैंकबाट ऋण निकालेर उपचार खर्च तिर्नुभयो । मेलापात र घरबनाउने काम गरेर जसोतसो गुजारा चलाउँदै  आउनुभएका उहाँलाई यतिको रकम खर्च गर्नुपर्दा र  शारीरिकरुपमा अशक्त हुनुपर्दा  चिन्ताले सताउन थाल्यो ।    श्रीमतीसहित  दुई छोरा र एक छोरी भए पनि छोराछोरी बालकै  भएकाले कमाउन सक्दैनन् ।  आफूले पनि काम गर्न नसक्ने भएपछि मामाको सल्लाहअनुसार लमजुङ भोटेओडारको फेदीकुनामा विसं २०७० मा बसाइ सरेर  मागेरै परिवारको गुजारा चलाउँदै आएको मनबहादुर  बताउनुहुन्छ । बेँसीसहर नगरपालिका–८ बस्दै आउनु भएका  उहाँका १७ वर्षीय एक छोरी, १४ वर्षीय र १२ वर्षीय छोरा बागलुङमै रहेका त्यहीको सरकारी विद्यालयमा अध्ययनरत छन् । उनीहरुसहित आफू र श्रीमतीका लागी दैनिक मागेर जीवनयापन गर्नाका साथै  उपचार गर्दा लागेको ऋण मासिक साढे १२ हजारका दरले बुझाउँदै आएको उहाँ  सुनाउनुहुन्छ  ।    मागेरै दैनिक  न्यूनतम रु एक हजार २०० देखि रु दुई हजारसम्म जम्मा हुने र  छोराछोरीका लागि दुई तीन महिनामा रु २० हजारदेखि रु ३० हजारका दरले पैसा पठाउने गरेको बताउनुहुने मनबहादुर  महिनाभर मागेरै हिँड्न नसक्ने उल्लेख गर्नुहन्छ ।  थकाई लाग्छ, कहिले बिमारी होइन्छ, त्यसैले महिनामा १४÷१५ दिन मात्र मागेर हिँड्ने गरेको छु उहाँ भन्नुहुन्छ । “मेला महोत्सव, चाडपर्वका साथै जिल्लाको सिमपानी, खुदी भूलभूले, बेँसीसहर, घलेगाउँ, मालिङ, मध्यनेपाल, सुन्दरबजार, भोटेओडारलगायत स्थानका  घरघरै र बाटोमा बसेर पैसा माग्ने गर्दा प्रतिव्यक्ति रु पाँच देखि ५० रुपैयाँसम्म दिने गरेको मनबहादुर सुनाउनुहुन्छ  ।   मुलुकमा कोरोना सङ्क्रमण फैलिनुभन्दा केही महिनाअघि पैसा माग्दै दुई पटकसम्म मनाङको खाङसारसम्म पुगेको र त्यति बेला राम्रो पैसा उठेपछि पुनः गत जेठमा मनाङ पुगेपनि मनाङवासी यार्सागुम्बा सङ्कलनका लागि गएकाअवस्था परेकाले खासै पैसा नउठेपछि लमजुङमै फर्किएर आउनुपरेको थियो ।  यसरी पैसा माग्दै जीवन चलाउँदै आएपनि पैसा माग्नलाई सजिलो नभएको र माग्दा कसैले दिने र कसैले सहन नसक्ने गरी बचन लगाउने गरेको उहाँको भनाइ छ ।    कसैले तपाईजस्तो मान्छेलाई दिनुपर्छ भन्छ, कोहीले अहिले पैसा छैन पछि दिउला भन्छ, कसैले हातको सीप गरेर कमाउन सुझाव दिएर मात्र जान्छन् । कोहीले त पैसा दिनाको सट्टा नानाथरीका बचन लगाउने गरेको मनबहादुर गुनासो गर्नुहुन्छ ।   मलाईजस्तो दुःख कसैलाई नपरोस्, तर दःुख परेपनि मेरो जस्तो दुःख नहोस् भन्नुहुने उहाँको  एउटै चाहना छ, यस्तो हालत भए पनि छोराछोरीलाई राम्रोसँग पढाउन सकौँ, उनीहरुको भविष्य उज्वल बनाउन सकौँ भन्ने लाग्छ । श्रीमती पनि काम पायो भने कहिलेकाहीँ अरुको मेलापात गर्ने र  आफूलाई खाना बनाएर बस्ने गर्छिन् ।    हामी जस्ताका लागि बसेर गर्न सक्ने सीपसँगै काम गर्ने वातावरण मिलाइ दिए हुन्थ्यो । रासन पानी पनि सस्तो गर्दिए हुन्थ्यो, झन् झन् महँगी बढ्दै जाँदा हामीलाई धेरै मार पर्ने गरेको छ तर सरकारले हाम्रो कुरा नै नसुन्ने मनबहादुरको गुनासो छ  । कसैले सहयोग गरे धेरै दुःखकष्ट सहेर हिँड्नु नपर्ने उहाँको अपेक्षा छ । बेँसीसहर नगरपालिकाका उपप्रमुख पद्ममा गुरुङ  आफूले त्यसरी मागेर खाने मानिस  भएको जानकारी नभएकाले उनीहरुका लागि हाल नगरपालिकाले कुनै योजना नबनाएको बताउनुहुन्छ  । 

  काठमाडौं ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलब ३० अङ्कले ओरालो लागेर दुई हजार ३९ दशमलव ५४ मा सीमित भएको छ ।   यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक तीन दशमलव ७८ अङ्कले ओरालो लागेर तीन सय ९४ दशमलव ५१ मा सीमित भएको छ । कुल दुई सय १९ कम्पनीको ४२ लाख ३४ हजार एक सय १७ कित्ता शेयर रु एक अर्ब ७१ करोड ७४ लाख ३६ हजार सात सय ४१ मूल्यमा खरिद बिक्री भएको छ ।   नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा नै गिरावट आएको छ । बैंकिङ चार दशमलव ८९, व्यापार २० दशमलव ७४, होटल तथा पर्यटन ४१ दशमलव ६४, विकास बैंक ५७ दशमलव ४८, जलविद्युत् ३७ दशमलव ३७, निर्जीवन बीमा २१ दशमलव ७३, उत्पादन ७९ दशमलव ९५, अन्य ३३ दशमलव ३३, लघुवित्त २७ दशमलव शून्य सात, जीवन बीमा ५८ दशमलव ५६, सामूहिक लगानी कोष शून्य दशमलव शून्य आठ र लगानी शून्य दशमलव ५२ अङ्कले ओरालो लागेको छ ।   नेप्सेका अनुसार बिहीबारको कारोबारका आधारमा हिमाल दोलखा हाइड्रोपावर शीर्षस्थानमा छ । सो कम्पनीको रु ११ करोड २४ लाख ६५ हजार दुई सय ६१ बराबरको कारोबार भयो । त्यस्तै रिडी हाइड्रोपावर रु नौ करोड ४१ लाख २८ हजार नौ सय ९२, नेस्डो समृद्धि लघुवित्त रु आठ करोड ३१ लाख ४० हजार दुई सय ७३, अरुण काबेली पावर कम्पनी रु सात करोड २८ लाख ६१ हजार नौ सय ६८ र राधी विद्युत् कम्पनी रु चार करोड ८३ लाख ७४ हजार छ सय ८५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।   नेप्सेका अनुसार अप्पर हेवाखोला हाइड्रोपावर नौ दशमलव नौ, रुरु जलविद्युत् कम्पनी आठ दशमलव ९३, नेष्डो लघुवित्त दुई दशमलव शून्य सात, ग्लोबल आइएमई बैंकको ऋणपत्र दुई र माछापुच्छ्रे बैंकको ऋणपत्रका लगानीकर्ताले एक दशमलव ९९ प्रतिशतले कमाएका छन् ।   त्यस्तै मैलुङखोला जलविद्युत् कम्पनी पाँच दशमलव ८२, मल्टिप्रपोज फाइनान्स कम्पनी चार दशमलव २७, खानीखोला हाइड्रोपावर कम्पनी चार दशमलव १८, सूर्योदय बोमी लघुवित्त चार दशमलव शून्य नौ र दोर्दीखोला जलविद्युत् कम्पनीका लगानीकर्ताले तीन दशमलव ८७ प्रतिशतले गुमाएका छन् ।

  सुनसरी । सुनसरीको इटहरी–१० की शर्मिला चौधरी दैनिक ३० देखि ७० मुठासम्म निगुरो टिप्नुहुन्छ । उहाँले वैशाखदेखि कात्तिकसम्म निगुरो टिपेरै आफ्नो छ जनाको परिवारको खर्च चलाउँदै आउनुभएको छ । दैनिक रु चार सयदेखि रु छ सयसम्म आम्दानी हुने चौधरी बताउनुहुन्छ ।      शर्मिलाजस्तै कमला चौधरी पनि परिवार पाल्न र छोराछोरीको पढाइ खर्च जुटाउन निगुरो टिप्ने गरेको बताउनुहुन्छ । पूर्वी मोरङको पथरीशनिश्चरे, कानेपोखरी, लेटाङ, भाउन्ने, लक्ष्मीमार्गलगायत सामुदायिक वनमा निगुरो प्रशस्त पाइन्छ । स्थानीय बजारदेखि काठमाडौँका भान्सासम्म पुग्ने यहाँको निगुरोले सयौँको सङ्ख्यामा स्थानीयलाई रोजगारी दिएको छ ।       चैत सुरु भएदेखि पूर्वी मोरङका जङ्गलमा डोको बोकेर निगुरो खोज्नेको ताँती लाग्छ । बिहान झिसमीसेमै जङ्गल पसेका महिला तथा बालबालिका डोको भरी निगुरो बोकेर निस्कन्छन् । उक्त समयमा जङ्गलमै सिराहा, सप्तरीदेखि झापाको काँकडभिट्टासम्मका व्यापारी भेला भइसकेका हुन्छन् । स्कुले बालबालिकासमेत बिदामा स्टेशनरीको जोहो गर्न निगुरो टिप्न आउँछन् ।      वन आसपास बस्दै आउनुभएका धेरै बालबालिकाले निगुरो टिपेर पढाइ खर्च जुटाउने गरेका छन् । विद्यालय पढ्ने बालबालिकादेखि कलेज पढ्दै गरेका किशोरकिशोरीले समेत बिदाको समयमा निगुरो टिप्ने गरेका छन् । दुई दशकदेखि पथरी र बेलबारीबीचका जङ्गलको निगुरो सङ्कलन गर्दै धरान, विराटनगर, इटहरी, दमक र बिर्तामोड लगरे बिक्री गर्दै आएको विराटनगरकी सिया चौधरी बताउनुहुन्छ ।   पथरी शनिश्चरे, लेटाङ र बेलबारी नगरका साझेदारी वन क्षेत्रमा दैनिक तीन÷चार सयजनाले निगुरो टिप्दै आएका छन । धेरै मजदुरले दैनिक निगुरो बेचेरै परिवारको खर्च चलाउँदै आएका छन् । यस क्षेत्रबाट दैनिक निगुरो सङ्कलन गरी पूर्वका विभिन्न बजारमा बिक्री गर्न लैजाने गरेको खोर्सनेका जितेन्द्र चौधरीको भनाइ छ ।   काठमाडौँसम्मका व्यापारी निगुरो लैजाने गरेका छन् ।  शनिश्चरे, लेटाङ र बेलबारी क्षेत्रबाट दैनिक निगुरो काठमाडौँ लैजाने गरिएको स्थानीय व्यापारी कौशिला माझी बताउनुहुन्छ । माझीका अनुसार यस वर्ष भने पहिलाको तुलनामा निगुरो उत्पादनमा कमी आएको छ । 

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ‘हरित ऊर्जा’का लागि लगानी जुटाउन सामूहिक प्रयाससहित थप अवसर पहिल्याउनुपर्ने बताउनुभएको छ । उहाँले जलवायु वित्तको जोहो गरेर विश्व ‘हरित ऊर्जा’को प्रवद्र्धनमा केन्द्रित हुुनुपर्नेमा जोड दिनुभएको हो ।   ‘कोप–२७’ तयारीका लागि थाइल्याण्डको बैंककमा आज आयोजित ‘जलवायु परिवर्तन र दिगो विकासका लक्ष्य प्राप्तिको प्रयासमा लगानी परिचालनसम्बन्धी मञ्च’ बैठकको ‘हरित ऊर्जाका लागि जलवायु वित्त लगानी’ विषयक सत्रमा भर्चुअल सम्बोधन गर्दै मन्त्री भुसालले भन्नुभयो, “स्वच्छ ऊर्जाको प्रवद्र्धनमा विश्व केन्द्रित हुनुपर्छ, त्यसका लागि सामूहिकरूपमा जलवायु वित्तको जोहो गर्न आवश्यक छ ।” उहाँले विशिष्ट भौगोलिक बनोट र जलवायु–संवेशनशील जीवन शैलीका कारण नेपाल जलवायु परिवर्तनको असरको उच्च जोखिममा रहेको उल्लेख गर्नुभयो ।   अतिकम विकसित मुलुक भएर पनि नेपालले ‘१.५ डिग्री तामक्रम’को लक्ष्य प्राप्तिका लागि महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै मन्त्री भुसालले विश्वका मुलुकले कार्बन उत्सर्जन न्यूनीकरणका लागि महत्वकांक्षी लक्ष्य लिएर काम गर्नुपर्ने बेला आएको बताउनुभयो ।    वार्षिक ऊर्जा खपत दरलाई आधार मान्ने हो भने नेपालमा उत्पादन भएको जलविद्युत् बढी हुने उल्लेख गर्दै उहाँले आगामी सन् २०२५ देखि नेपाल वर्षभरि नै जलविद्युत् निर्यात गर्ने मुलुक बन्ने जानकारी गराउनुभयो । खपत गरेर बाँकी भएको ऊर्जा ‘हरित हाइड्रोजन’ उत्पादनमा प्रयोग गर्ने तयारी गरिएको बताउँदै मन्त्री भुसालले भन्नुभयो, “ग्रीन हाइड्रोजनका लागि हामीले उपयुक्त पहल गरिरहेका छौँ ।” ग्रिन ग्रीड अवधारणाअनुसार कोप–२६ मा ‘एक सूर्य, एक विश्व र एक ग्रिड’ को सुरुआत गरिएको उल्लेख गर्दै उहाँले हरित ऊर्जासम्बन्धी विश्व अवधारणा पूरा गर्नका लागि नेपालजस्ता देशमा प्रसारण लाइनको निर्माण तथा पूर्वाधार विकासको क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपालमा अधिक मात्रामा नवीकरणीय ऊर्जा जलविद्युत् प्रयोग हुँदै आएको उल्लेख गर्दै मन्त्री भुसालले भन्नुभयो, “सौर्य ऊर्जा उत्पादनका लागि पनि नेपालमा पर्याप्त सम्भावना छ ।”   आफ्नो देशले शून्य कार्बन उत्सर्जनको रणनीति लिएको जानकारी गराउँदै मन्त्री भुसालले भन्नुभयो, “नेपालले सन् २०४५ मा शून्य कार्बन उत्सर्जन गर्ने देश बन्ने लक्ष्य लिएको छ, स्वच्छ ऊर्जाको व्यापार गरेर नेपालमा मात्र होइन देश बाहिर पनि कार्बन उत्सर्जनलाई न्यूनीकरणमा योगदान गर्न चाहन्छ ।”    स्वच्छ ऊर्जा प्रयोग गर्न सुरु गरिसकेको बताउँदै मन्त्री भुसालले भन्नुभयो, “पछिल्लो दशकमा हामीले विद्युत् पहुँचलाई व्यापक विस्तार गरेका छौँ, देशको ९५ प्रतिशत जनतालाई राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् पुर्याएका छौँ, आगामी सन् २०२४ सम्ममा हामीले देशभर स्वच्छ ऊर्जा विद्युत् पुर्याउने लक्ष्य लिएका छौँ ।”

  भक्तपुर । भाद्र कृष्ण त्रयोदशीका दिन आज भक्तपुरमा भव्यरूपमा पञ्चदान पर्व मनाइएको छ ।  बौद्ध धर्मावलम्बीको महत्वपूर्ण एवं ठूलो पर्वका रूपमा मनाइने पञ्चदान पर्वमा भक्तपुरका पाँच बिहारबाट निस्केका दिपङ्कर बुद्धलाई दिनभर नगरका विभिन्न स्थान तथा बौद्ध बिहारमा परिक्रमा गराइ मनाउने परम्परा रहेको छ ।   दिपङ्कर बुद्ध भनेर पुजिने बुद्धका पाँच स्वरूपमध्ये भक्तपुरको क्वाठन्डौँको प्रसन्नाशील महाविहार, गोल्मढीको झौरवही महाविहार, साकोथाको चर्तुब्रह्म महाविहार, भार्वाचोको थथुबही महाविहार र दूधपाटीको कुथुबही महाविहारबाट निकालिएका बुद्धलाई सूर्यमढीस्थित डबलीमा राखी स्थानीय र विभिन्न गुठिको पूजा सकेपछि नगरको परिक्रमा गराइन्छ ।   स्थानीयवासीले बिहानैदेखि पञ्चदान दिने परम्पराअनुसार शाक्य, ब्रजाचार्य र भिक्षुलाई भिक्षा दान दिएका थिए भने पाँच दीपङ्कर बुद्धलाई जमिनमा उत्पादन भएका काँचो खाद्यवस्तु धान, मकै, गहुँ, भटमास, ढिके नून, घिरौला, बोडी, काँक्रो आदि गच्छेअनुसार चढाउने परम्परा छ ।    पञ्चदानलाई स्थानीय भाषामा पञ्जदान ९पञ्जरां० भनिन्छ । पञ्जदान भन्नुको मूलकारण ‘पं’ को अर्थ पृथ्वी र ‘ज’ को अर्थ उत्पन्न भएको भन्ने हो । यस दिनमा पृथ्वीबाट उब्जेको अन्न र फलपूmल गरि पाँच प्रकारका वस्तु दान गरिन्छ ।    पञ्चदानको दिन पूजामा सूर्यमुखी फूल, धुप, दीप, गन्ध, र रस, भोजन साममाग्रीमा धान, चामल, गहुँ, क्वाटी, केराउ, मास, पिँडालु, मुला आदि, पेयपदार्थमा सख्खर पानी (सखत), सिसाफल, (फलफूल), औषधिमा हल, अवला (अमला), गुलः (औषधि, नून, तेल) तथा अन्य आवश्यक वस्तुमा सियो, धागो, डोरी, कुचो, सेतो कपडा (पानी छान्नें), काषाय बस्त्र, आसन, खरी ढुङ्गा (चक), दतिवन आदी दान गर्ने परम्परा रहेको छ ।    बौद्ध धर्मावलम्बी दीपङ्कर बुद्धलाई पञ्चदान गरिसकेपछि साना बालबालिकादेखि वृद्धवृद्धासमेत पञ्चदान भिक्षाग्रहण गर्न लामबद्ध भएर नगर परिक्रमा गरी भिक्षा ग्रहण गर्ने परम्परा छ । दीपङ्कर बुद्धलाई परम्परागत गुँला धाँः बाजा र सिङ बाजा बजाएर नगर परिक्रमा गर्ने गर्दछन् । बौद्ध धर्मावलम्बीले यस दिनमा भिक्षाग्रहण गर्नाले धन वृद्धि हुनुका साथै बुद्धत्व प्राप्त हुने जनविश्वास रहेको छ । 

  मेलम्ची । मेलम्ची र इन्द्रावती खोलामा अघिल्लो वर्ष असार १ र साउन १६ मा आएको बाढीले नोक्सान गरेको सडक र पुल पुलेसाहरूको पुनःनिर्माण नहुँदा नागरिकले सास्ती व्यहोरिरहेका छन् । खोलामा पानीको बहाव बढ्नेबित्तिकै कैयौँ ठाउँमा बाटो अवरुद्ध हुने समस्या अहिले पनि छ ।   मेलम्ची नगरपालिकाका केही वडा र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका नागरिकका लागि वैकल्पिकरूपमा रहेको झोलुङ्गे पुलको सहायक पर्खाल बाढीले बगाएका कारण एकैपटक धेरै मानिस आवतजावत गर्दा हल्लिने गर्दछ । मेलम्चीबाट दोभानटार र दोभानटारबाट रामपुरबेँसी जोड्ने यो पुल नै ओहोरदोहोरको माध्यम बनेको छ ।   बाढीले मेलम्ची बजारमा रहेको पक्की पुल बगाएपछि बजार आउन कि त झोलुङ्गे पुल आउनुपर्छ कि त बाहुनेपाटी हुँदै घुमेर लामो बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । पाँचपोखरी थाङपाल गाउँपालिका–१ र २, मेलम्ची नगरपालिका–७ र ८ का नागरिकका लागि गाडी प्रयोग गर्न भने हेलम्बु गाउँपालिकाको चनौटे पुगेर मेलम्ची आउनुपर्ने अवस्था रहेको छ । हेलम्बु गाउँपालिकाको चनौटेमा बाढीले मोटर गुड्ने पुल बगाएपछि नेपाली सेनाको सहयोगमा बेलीब्रिज निर्माण गरी सञ्चालन भइरहेको छ ।   पुल नहुँदा बिरामी र सुत्केरी हुने महिला मारमा परेका छन् । मोटर बाटो प्रयोग गर्दा घुमेर लामो बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । आकस्मिक सेवा लिनुपर्ने प्रकारका बिरामीलाई भने हेलिकोप्टर प्रयोग गर्नुपर्ने अवस्था रहेको छ । पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकाले आकस्मिकरूपमा अस्पताल लैजानुपर्ने बिरामी र सुत्केरीलाई हेलिकोप्टरमार्फत पनि सेवा दिँदै आएका छन् ।    मेलम्ची नगरपालिका–९ र १० लगायत आसपासका नागरिकका लागि दैनिकजसो मेलम्ची बजार ओहोरदोहोर गर्नु पर्दछ । उत्पादित तरकारी, फलफूल, दूध र मासुजन्य व​स्तुको बजार भनेको मेलम्ची नै हो । सामान बोकेरै ल्याउनुपर्ने भएकाले पनि उत्पादित सामान बजारसम्म ल्याउन समस्या भएको मेलम्ची–१० की लक्ष्मी अधिकारीले बताउनुभयो ।   पाँचपोखरी थाङपाल गाउँपालिकाकी डिलकुमारी श्रेष्ठ आफन्त र छोराछोरीसँग भेटघाटका लागि काठमाडौँ ओहोरदोहोर गरिरहनुहुन्थ्यो । तर अहिले बाढीपछि भने उहाँ तीन महिनामा एकपटक मात्र आउने–जाने गर्नुहुन्छ । बाटो कतिबेला बन्द हुन्छ भन्ने डरले पनि उहाँलाई रोकिरहन्छ । पहिलेको तुलनामा गाडी पनि नियमितरूपमा सञ्चालन नहुँदा यात्रा गर्न सहज नभएको उहाँको भनाइ छ ।   मेलम्ची–१० का कुमार दाहालको पनि समस्या उस्तै छ । पहिलेको पुल भएको ठाउँबाट झोलुङ्गे पुलसम्म आउन एक किलोमिटर छ भने बाहुनेपाटी जान दुई किलोमिटर घुमेर बजार जानुपर्ने बाध्यता छ । घरका लागि चाहिने सामान ल्याउन पनि समस्या भइरहेको उहाँले बताउनुभयो । तीनै तहका सरकारले जतिसक्दो छिटो पुल निर्माणमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।   बाढीका कारण धेरैले ज्यान गुमाएका छन् भने कतिको गरिखाने ठाउँ नै बगर बनेको छ । बाढीपछि राहत र पुनःस्थापनाको काममा पनि सरकारले चासो नदिएका कारण मेलम्चीको पुनःस्थापनामा ढिलाइ भएको मेलम्चीका बासिन्दा गणेश दुलालले बताउनुभयो । गत वर्षको बाढीले बस्ती र खेतीयोग्य जमिनमा क्षति पुर्याएको थियो ।   मानिसको आवातजावत कम भएका कारण अघिल्ला वर्षको तुलनामा यो वर्ष व्यापार व्यवसाय पनि कम भएको मेलम्चीका व्यापारी प्रकाश दाहालले बताउनुभयो । बोकेर लान सक्ने सामान पनि कमै मात्रामा बिक्री भइरहेको र गाडी प्रयोग गरेर लाने सामान लान गाडीभाडा महँगो पर्ने भएकाले पनि वर्षायाममा बिक्री धेरै घटेको उहाँको भनाइ छ ।   यसअघि मेलम्चीमा ह्युमपाइप राखेर बनाइएको अस्थायी संरचनाको प्रयोग गरेर सामान लैजान सहज भएको थियो । अब वर्षा रोकिनेबित्तिकै खोलामा ह्युमपाइप राखेर यातायात सञ्चालन गर्न नगरपालिकालाई ध्यानाकर्षण गराइएको मेलम्ची नगर उद्योग वाणिज्य सङ्घका महासचिव ताराबहादुर बानियाँले बताउनुभयो । नगरपालिका क्षेत्रमा नागरिकको सुविधाका लागि वैकल्पिक बाटो बनाउने र बन्द भएका बाटो खुलाउने काममा नगरपालिकाले काम गरिरहेको नगरप्रमुख आइतमान तामाङले बताउनुभयो ।   ‘‘दीर्घकालीनरूपमा पुनःस्थापनाका लागि प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरी जतिसक्दो छिटो मेलम्चीलाई पुरानै अवस्थामा ल्याउने छौँ”, उहाँले भन्नुभयो । क्षति भएका संरचनाको पुनःनिर्माणमा पनि तदारुकताका साथ काम भइरहेको उहाँको भनाइ छ । 

  काठमाडौं । उड्डयन क्षेत्रका सफल व्यवसायी एवं गायक विकास राणाको स्वरमा समावेश ‘प्रेमको परिभाषा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।     प्रेमिल शैलीको यस गीतमा बिबी थापाको शब्द रहेको छ भने शशिविक्रम थापाको सङ्गीत रहेको छ । गीतलाई विनोद भुजेलले सङ्गीत संयोजन गर्नुभएको हो । म्युजिक भिडियोमा महानायक राजेश हमाल र नायिका वर्षा राउतको अभिनय छ ।    म्युजिक भिडियोमा ‘मलाई ऊर्जा दिने हरपल साथ दिने तिमी’, ‘मेरो चाहना मेरो सपना केवल तिमी तिमी’, ‘प्रेमको परिभाषामा तिमी’, ‘म दिन्छु कहिलेकाहीँ होसले भरिएर’लगायत बोलका गीत समावेश गरिएको छ ।   बुद्ध थापाले छायाङ्कन गरेको यस भिडियोलाई विकास धमलाले सम्पादन गर्नुभएको हो । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायक राणाको युट्युब च्यानल ‘विकास राणा अफिसियल’मार्फत सार्वजनिक भएको हो । यसअघि गायक राणाको स्वरमा समावेश गालाको ‘तिलैमा’, ‘तीनपाने’, ‘मुसुक्कै हाँस्यौँ’, ‘शैलुङ’ बोलको म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् । आगामी दिनमा अझै स्तरीय सिर्जना पस्किँदै जाने गायक राणाले बताउनुभयो ।

  तनहुँ ।  तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी सख्त घाइते बनाएको छ ।       साँझ करिब ५ बजेको समयमा सोही ठाउँका हेमबहादुर रानाको खसीलाई चितुवाले आक्रमण गरेर घाइते बनाएपछि बालक परियारलाई समेत चितुवाले आक्रमण गरेको थियो ।  रानाले होहल्ला गरेपछि भागेको चितुवाले पुनः गाउँमा पसेर परियारलाई आक्रमण गरेको थियो । साँझ करिब ६ बजेको समयमा घरको पिँढीमा खेलीरहेका उनलाई चितुवाले तानेर लगेको जानकारी पाएको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले बताउनुभयो ।       परियारलाई लैजान थालेपछि उनकी आमा लक्ष्मी पनि चितुवाको पछि पछि कुदेकी थिइन् । करिब ५० मिटर टाढा पुगेर छोरालाई खोसेर ल्याउन सफल भएकी स्थानीय प्रत्यक्षदर्शी वासु पन्थले जानकारी दिनुभयो । घाइते परियारको बन्दीपुर गाउँपालिका–४ डुम्रेस्थित मोती हेल्थ क्लिनिकमा प्राथमिक उपचार गरिएको थियो । उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो ।      परियारको घाँटी तथा शरीरका अन्य भागमा घाउ रहेको  छ । केही महिनाअघि मात्रै बन्दीपुर–१ का ५ वर्षीय सुप्रिम बगालेको चितुवाको आक्रमणमा परी मृत्यु भएको थियो । उक्त घटनामा एक बालिकासहित दुईजना चितुवाको आक्रमणबाट घाइते भएका थिए । 

  दार्चुला ।  पछिल्लो समय दार्चुलामा पनि गिद्ध लोप हुँदै गएका छन् । जलवायु परिवर्तन, बासस्थानको समस्या, औषधिको प्रयोग र आहाराको अभावमा पछिल्लो समय गिद्ध लोप हुँदै गएका हुन् । प्रकृतिको कुचिकारका रुपमा रहेका लोपोन्मुख पक्षी गिद्ध संरक्षण नहुँदा लोप हुने क्रम बढ्दै गएको हो ।    विशेष गरी गिद्धको बासस्थान सिमलको रुख भएकाले पछिल्लो समय बढ्दो वन विनासका कारण सिमलका रुख हराउँदै गएपछि गिद्धको बासस्थान पनि हराउँदै गएको जिल्ला डिभिजन वन कार्यालयका प्रमुख प्रमानन्द कुवँर ले बताउनुभयो ।      ठूलठूला भीरमा समेत गिद्ध पाइने भए पनि पछिल्लो समयमा गिद्ध देखिन छोडेको शैल्यशिखर नगरपालिकाका वीरसिंह धामी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “गिद्ध संरक्षणका लागि सरकारी तथा स्थानीयस्तरबाट कुनै पहल हुनसकेको छैन, गिद्ध संरक्षणका लागि पहल नहुँदा लोप हुँदै गएका छन् ।”       गिद्धको आहारामा समेत समस्या आएकाले गिद्ध लोप हुँदै गएको जानकार बताउँछन् । मरेका पशुपक्षीको सिनोलाई आहाराका रुपमा गिद्धले प्रयोग गर्ने गर्दछन् । पछिल्लो समयमा बाहिर सिनो फाल्ने चलन पनि कम हुँदै गएका कारण पनि गिद्ध लोप हुन लागेका हुन् ।   आहारको अभावमा गिद्ध लोपहुँदै गएको पनेबाज सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दामोदरसिंह धामीको भनाइ छ । पशुमा प्रयोग गरिने डाइक्लोफेनिक औषधिले पनि गिद्ध लोप हुन थालेको जानकार बताउँछन् । पशुलाई दिइने यो औषधिको प्रयोगले गिद्धको विनाशमा ठूलो भूमिका खेलेको पशु प्राविधिक गोपालसिंह धामी बताउनुहुन्छ । डाइक्लोफेनक औषधि प्रयोग भएको पशुको सिनो खाएमा गिद्ध मर्ने गरेको उहाँले बताउनुभयो ।   नेपालमा डाइक्लोफेनिक औषधिको बिक्री वितरणमा रोक लगाइएको भए पनि दार्चुलाको भारतसँगको खुला सिमानाबाट यस्तो औषधि भित्रिने गरेको छ । अहिले विश्वभर २३ प्रजातिका गिद्ध पाइन्छन् । त्यसमध्ये दक्षिण एशियामा नौ र नेपालमा आठ प्रजातिका गिद्ध पाइन्छन् । नेपालमा पाइने आठ प्रजातिका गिद्धमा सानो खैरो, डङ्गर, सुन, गोब्रे, राज, हिमाली, खैरो र हाडफोर रहेका छन् ।