पोखरा ।     हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ ।    संस्थाले आफ्नो स्थापना...

  तीजको बेलामा सबै जान्छन् मेलामा, म छोरीको आँशु खस्यो दैला ठेलामा । तीजको लहर आयो बरिलै ।     केही वर्ष अघिसम्म नेपाली हिन्दू महिलाले मनाउने धार्मिक एवं सांस्कृतिक महत्व बोकेको पर्व हरितालिका तीज नजिकिँदै गर्दा गाउँ, सहर, गल्ली चोक, घरघरमा यस्तै गीतहरु गुञ्जन्थे । तीजका यस्ता गीतले महिलाले सासु/ससुरा र श्रीमान्को खटनले मन लागेको बेलामा माइत जान नपाएका, माइतीबाट बुबा, दाजुभाइ लिन नआएका पीडा अभिव्यक्त गरेका हुन्थे तर, अब त्यो समय रहेन । नेपाली नारीहरुको महान् चाड तीजको ऐतिहासिक मौलिकपन दिन प्रतिदिन खस्किँदै जान थालेको छ । पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको गुनासो व्यापक बन्दै जान थालेको छ ।     म्याग्दीको बेनी नगरपालिका–२ की ७१ वर्षीया गोमादेवी उपाध्यायले विगतका दिनमा आफूले तीज पर्वलाई नेपाली संस्कृति र आफ्नै मौलिकपनमा मनाउने गरेको सम्झँदै भन्नुहुन्छ, “म सानो छँदा गाउँघरमा मादलको तालमा सुखदुःख समेटिएका गीत गाउँदै छमछमी नाचेर तीज मनाएको आज पनि झल्झली सम्झन्छु तर, आजभोलि तीजका गीत सुन्दा तीजका हु्न् कि रत्यौलीका छुट्याउनै गाह्रो हुन्छ ।”     विगतका दिनमा गाउँघरमा साथी सहेली, फुपू अमजू, ठूलीआमा, सानीआमा सबै महिला दिदीबहिनी एकै ठाउँमा जम्मा भई दुःखसुखका गीत गाएर, नाचेर वर्षभरिका पीडा भुल्ने गरेको उहाँको भनाइ छ । सानो छँदा तीज पर्व मनाउन आफूले मादलको तालमा छमछमी नाचेको सम्झँदै उहाँ भन्नुहुन्छ, “आजभोलि त हामीले मनाउने तीज, तीजजस्तो लाग्दैन, उच्छृङ्खल, तडकभडक र देखासिखीको चाडजस्तो लाग्छ ।”     दिन प्रतिदिन परम्परागत संस्कार र संस्कृतिअनुसारको नेपाली मौलिकपन नहुँदा गोमादेवी मात्रै होइन, पुरानो पुस्ताका प्रायः सबै महिलाका साथै नयाँ पिँढीका सामान्य महिला पनि चिन्तित छन् । बेनी मङ्गलाघाटकी अमृतदेवी बानियाँ पनि चाडपर्वको नाममा पछिल्लो समय पश्चिमी संस्कार हाबी भएको दाबी गर्नुहुछ । महिला अधिकारकर्मी समेत रहनुभएकी बानियाँ भन्नुहुन्छ “तीज वर्षभरिको दुःखसुख साटासाट गर्ने पर्व भए पनि अहिले पश्चिमी संस्कारले विकृति ल्याएको छ ।”   अर्की महिला अधिकारकर्मी तथा सामाजिक अभियन्ता जमुना आचार्य पनि तीज पर्व मनाउने नाममा महिला दिदीबहिनीको भावनालाई ठेस पुर्याउने खालका उच्छृखङ्ल गीतको नियन्त्रण गर्नुपर्ने बताउनुहुन्छ । चाडपर्व, संस्कृति र पहिचानलाई बचाइराख्न नेपालीपनको भावना, आस्था र विश्वासको खाँचो छ”, उहाँले भन्नुभयो ।      परम्परादेखि नेपाली नारीले तीज पर्वलाई रमाइलो गरी मनाउँदै आएकाले यो पर्व नेपाली दिदीबहिनीको लागि महत्वपूर्ण मानिन्छ । मालिका–७ देविस्थानकी इन्द्रमती फगामी पनि तीज पर्व महिला दिदीबहिनीका लागि दुःख बिसाउने पर्व भएको बताउनुहुन्छ । उहाँका अनुसार विगतमा झैँ तीज पर्व मनाउने चलन गाउँघरतिर पनि विस्तारै हराउँदै गइरहेको छ ।      फगामी भन्नुहुन्छ, “तीज आउनु एक महिना अघिदेखि गाउँघरतिर एकैठाउँमा जम्मा भएर मादलको तालमा नाचगान गर्ने चलन थियो, आज एउटाको घर त भोलि अर्को घरमा तीजको नाचगान गरेर मनाउँथे । अहिले तीजको मौलिकपन हराउँदै गइरहेको छ । तीजमा रमाइलो गरी मनाइने आफ्नै संस्कृति र परम्पराभन्दा टिभीमा आउने गीत र सिरियलप्रति आकर्षित भएका छन् ।”     त्यसैगरी डम्मराकी प्रिया कार्की पनि नेपाली नारीहरुको लागि तीज पर्वको महत्व रहेको बताउनुहुन्छ । तीज मनाउन महिलाले अरुको देखासिकी, तडकभडकभन्दा संस्कृति बचाउन अघि बढ्नुपर्ने उहाँको तर्क छ । महिलाले तीज मनाउँदा पश्चिमा संस्कृति छोड्नुपर्ने प्रिया कार्कीको धारणा रहेको छ ।     उहाँ भन्नुहुन्छ, “आजभोलि तीजमा राम्रो देखिन महिला फजुल खर्च गरेर पश्चिमी संस्कृतितिर आकर्षित भइरहेका छन् । विगतमा महिलाले भोग्नुपरेका समस्यालाई गीतको माध्यमबाट भन्ने गर्दथे । पछिल्लो समयमा नेपाली संस्कृतिका कारण नेपाली मौलिकता र पहिचान नै हराउने अवस्थामा पुगेको छ ।”     तीजमा विवाहित महिला राता साडी र रातै चुरामा सजिएर आफ्ना श्रीमान्को दीर्घायुको कामना गर्दै त्यस दिन पानीसमेत नखाई ब्रत बस्ने गर्दछन् भने अविवाहित महिला राम्रो श्रीमान् पाउने आशमा यो पर्व मनाउने गरेको धार्मिक विश्वास रहँदै आएको बताउनुहुन्छ ज्यामरुककोट बगरफाँटकी अम्बिका शर्मा । उहाँ भन्नुहुन्छ, “आजभोलिका गीतमा हाँसो ठट्यौली र रत्तौली खेलेजस्तो लाग्छ । तीजमा महिला आफूलाई अरुको सामु राम्रो देखाउन चाहिनेभन्दा धेरै खर्च गर्ने गर्छन् । तीजलाई संस्कृतिसँग जोड्न अरुको देखासिखी गर्नु हुँदैन ।” पवित्राले परम्परादेखि मनाउँदै आइरहेको तीजको अस्तित्व जोगाउन सबैले आफ्नो भाषा, संस्कृति र संस्कारको जगेर्ना गर्न लाग्नुपर्ने उहाँको भनाइ छ ।   तीजका गीतमा वर्गीय प्रभाव     रातो सारी पहिरिएर सुखदुःखका भाका गाउँदै माइतीको आँगनमा छमछमी नाच्ने पर्वका रूपमा तीजलाई लिइन्छ । आफ्ना साथीसङ्गीसित नाचगान गर्दै सुखदुःख साटासाट गर्दा महिलाले वर्ष दिनभर भोगेको आफ्नो व्यथा हलुङ्गो भएको महसुस गर्छन् भन्ने मान्यतासमेत राखिन्छ ।       त्यसो त केही वर्षयता तीज मनाउने परम्परागत शैलीमा व्यापक परिवर्तन आएको छ । नाचगान, गीत, पहिरनका क्षेत्रमा आएको परिवर्तनले तीजको मौलिक स्वरूप पूरै हराउने अवस्था देखिएको छ । गायिकासित नारिएर गायक पनि तीज गीत गाउँदै रमाउन थालेका छन् भने परम्परागत लोकलय र वाद्यवादन शैली पनि पूरै विस्थापित हुने हो कि भन्ने खतरा छ ।      तीजको सांस्कृतिक पक्षभन्दा बढी व्यापारिक भएर विकृत हुने खतरा बढेकोे छ । यस्तै तीज नजिकिँदै जाँदा तीज गीत सार्वजनिक हुने क्रम बढेको छ । गाउँदेखि सहरसम्म तीजका नयाँ पुराना भाका घन्किन थालेका छन् । सञ्चार माध्यम र सोसल मिडियामा झपक्कै गरगहना र महँगा साडी लगाएर पाश्चात्य शैलीका गीतमा नाच्दै रमाइरहेका महिलालाई देख्दा ग्रामीण भेगका वनजङ्गल र मेलापात गर्नुपर्ने विपन्न महिलालाई हिनताबोध समेत हुने गरेको पाइन्छ ।     धार्मिक आस्था र सामाजिक सद्भाव झल्कनुपर्ने तीज पर्वलाई हुँदा खाने र हुने खाने वर्गको वर्गीय पहिचान हुने चाँड बनाइदै लगिएको म्याग्दीका पुराना गायक तथा राजनीतिककर्मी नेत्रबहादुर महत बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “धार्मिक आस्था र पारस्पारिक मिलनको रुपमा लिइनुपर्ने तीज पर्वलाई गहना र फेसन प्रदर्शन गर्दै मासु र मदिरासहित उछृृङ्खल गतिविधि प्रदर्शन गर्ने अवसरका रुपमा लिइयो । यसले संस्कृतिको संरक्षण हुने होइन, नराम्रो विकृति निम्तनुका साथै पर्वको मौलिकता नै हराउँदै जान्छ ।”     “तीजमा अरुलाई देखाउनै लागि महँगा साडी, महँगा मोबाइललगायतका चिजहरु किनिन्छन् । हुने र सक्नेले यसलाई वैयक्तिक स्वतन्त्रताको नाम दिन्छन् तर नहुने र देखासिकी गर्ने महिलाका लागि तीज चाड होइन, कहर बन्न पुग्छ”, महत भन्नुहुन्छ “उछृङ्खलता स्वतन्त्रता हुन सक्दैन र सामाजिक र धार्मिक चाडपर्व मनाउने नाममा वर्गीय भिन्नता देखिने सार्वजनिक कार्यक्रमहरु गर्न दिइनु हुँदैन ।”      महतका अनुसार कुनै तीज गीत परिवारसँगै बसेर हेर्न र सुन्न नसकिने खालका छन् । उत्ताउलो पहिरन, पश्चिमी शैलीको नृत्य, म्युजिक भिडियोमा गरिने अभिनय त्यति नै अराजक हुँदा तीज गीत नै हो भन्न सकिने अवस्था छैन । यसले तीजको संस्कृतिलाई विकृत बनाइरहेको छ ।     सुनिदैन विरह देखिन्छ मनोरञ्जन ‘पैतालुको खाला गयो बिझाउने बाटोले हृदयको खाला गयो बासी आँटोले ।’      बदलिँदो समय, फेरिदो आर्थिक अवस्था र आधुनिक जीवनशैलीप्रति बढ्दो आकर्षणका कारण विरह र बेदना समेटिएका गीतहरु हिजोआज सुनिदैनन् । तीज पर्व महिलाले वर्षभरि भोग्नुपरेका दुःख, पीडा र व्यथा बाहिर ल्याउने पर्व हो । लोक संस्कृति झल्काउने खालका गीत गाउँथे तर अहिले यस्ता गीतहरु लोप हुने अवस्थामा पुगेको समाजका अगुवा महिला अधिकारकर्मी बताउँछन् । महिलाले सासू–ससुरा र पतिको अन्यायका विरुद्ध आवाज उठाउने संस्कृतिमा रुपमा गाउने भाका अहिले फेसनका रुपमा भित्रिन थालेको छ ।     पहिलापहिला तीजका गीतमा दुःख, वेदनाका भाव झल्कन्थे । माइतबाट कोही लिन नआएको, घाँस, दाउरा बोकेर बसेको, माइती लिन आउलान् भन्दै बाटो हेरेकोेजस्ता कुरा तीज गीतमा हुन्थे, अहिले संस्कृतिभन्दा मनोरञ्जन र तामसी भावका गीत बढी छन् ।       आजभोलि तीजका गीतमा हरिदेवी कोइराला, वीमाकुमारी दुरा, देवी घर्तीलगायत लोकप्रिय र संस्कृतिप्रेमी गायिका सुनिदैनन् । न लक्ष्मी न्यौपाने, शर्मिला गुरुङलगायतले गाएका सांस्कृतिक गीतहरु नै सुन्न पाइन्छ । अहिले बजार र गाउँघरमा समेत तामसी प्रवृत्तिका गीतहरु बर्गेल्ती सुनिन्छन् । ती गीतमा हुँदैनन् महिलाका बेदना र विरह । मात्र त्यहाँ देखिन्छ, मनोरञ्जन र छाडापना । म्याग्दीका साहित्यकार अजयमिलन श्रेष्ठका अनुसार तीजका गीतमा बिरह सुनिदैन, मनोरञ्जन मात्रै देखिन्छ ।   ओझेल पर्दै धार्मिक पक्ष     तीज पर्व भगवान शिव र पार्वतीसँग जोडेर मनाउने पर्व हो । यस पर्वमा महिलाहरु अघिल्लो दिन दर खाएर भोलिपल्टअर्थात् हरितालिकाको दिन निरहार पानी पनि नखाई व्रत बसी भगवान शिवको पूजा गर्दछन् । विवाहित महिलाले आफ्नो पतिको दीर्घायुको कामना गर्दै र अविवाहित महिलाले भगवान शिवजस्तो असल, गुणी, राम्रो पति पाऊँ भन्दै व्रत बस्ने प्रचलन रही आएको छ ।     हिन्दू धर्म ग्रन्थमा भगवान शिवलाई पति पाउँ भनेर देवी पार्वतीले गरेको व्रतको प्रभावले शिव नै स्वामी पाएको भन्ने धार्मिक जनविश्वास रहँदै आएको छ तर हिजोआज तीज पर्वको धार्मिक पक्ष नै ओझेलमा पर्दै गएको छ । म्याग्दीका पण्डित नीलकण्ठ आचार्यका अनुसार तीज व्रत देखाउनैका लागि मात्र बसिएको हो कि जस्तो लाग्न थालेको छ । एक डेढ महिनासम्म ‘दरखाने’ नाउँमा नानाथरिका परिकारहरु खाने, रमाउने र एकदिन फलफूल र बजारमा पाइने पेय पदार्थ पिएर ब्रत बसें भन्नुको कुनै अर्थ रहँदैन ।      नेपाली महिलाले पनि निरहार दिनभरि व्रत बसेर राति पतिलाई टीका लगाई खुट्टाको पानी खाने प्रचलन छ तर अहिले संस्कृतिमा खुट्टाको पानी खानु स्वास्थ्यका लागि राम्रो होइन भनेर धरै महिलाले त्यसो गर्न छाडिसकेका छन् । निरहार व्रत बस्ने चलन पनि हट्दै गएको छ । बिरामी, अशक्त मात्र नभई अन्य महिलाले पानी, फलफूल, जुस खाएर व्रत बस्ने गरेका छन् । व्रत बस्दा स्वास्थ्यलाई ध्यान दिएर बस्नु राम्रो हुन्छ, निरहार व्रत बस्नुपर्छ भन्ने कुनै शास्त्रमा उल्लेख नभएको पं आचार्यको भनाइ छ । 

 मिटरब्याजी आरोपितविरुद्ध कास्कीमा २१ जना विरुद्ध पीडितले उजुरी दिएका छन् ।  जिल्ला प्रशासन कार्यालय कास्कीले आरोपितविरुद्ध उजुरी दिन आह्वान गरेपछि जिल्लामा २१ जना पीडितले मिटरब्याजीविरुद्ध उजुरी दिएका हुन् । सरकारले गरेको आह्वानपछि जिल्लामा विभिन्न समयमा मिटरब्याजीबाट पीडित बनेका २१ जनाले उजुरी दिएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दिपक रेग्मीले जानकारी दिए ।  सरकारले यही भदौ ५ गतेसम्म उजुरी दिन आग्रह गरेपनि मिटरब्याजी विरुद्ध आगामी दिनमासमेत उजुरी दिन सकिने प्रशासकीय अधिकृत रेग्मीले स्पष्ट पारे । जिल्ला प्रशासन कार्यालय कास्कीका सुुचना अधिकारी शिवप्रसाद रिजालले आउनुपर्ने उजुरी अझै आउन नसकेको बताए ।  ‘जिल्लामा जुन किसिमको उजुरी आउनुुपर्ने हो त्यो आएन, सुनगाभा न्यूजसँग सुचना अधिकारी रिजालले भने, ‘पीडितहरु उजुरी दिन अलमल परे कि खै के भो । कि सुचना उनीहरुमाझ पुग्न नसकेर हो वा  अलमलमा परेर हो उजुरी कम आएको छ ।’   ‘कतिपयले रिसिइवीका कारण आफै चेक बाउन्स गरेर पनि प्रशासनमा उजुरी दर्ता गरेका छन्, उनले भने, ‘जति पनि उजरी दर्ता भएका छन् । उनीहरुलाई राखेर हामीले छानबिन गछौँ ।’   जिल्लामा उजुरी दर्ता भएका मिटरब्याजी आरोपीहरुको बारेमा  प्रशासकीय अधिकृतले नाम खुलाउन भने चाहेनन् । मिटरब्याजी पिडितहरुलाई उजुरी दिन प्रशासनले साउन २८ गते सुचना प्रकाशन गरेको थियो ।  

  पर्सा । पर्साको वीरगञ्जस्थित नारायणी अस्पताल गरिब र विपन्न समुदायको बिरामीको उपचारका लागि सहज बन्दै गएको छ । सङ्घीय सरकारको स्वामित्वमा रहेको अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्दै आएपछि उपचारका लागि यहाँ बिरामी बढ्दै गएका छन् ।        अस्पतालले सिटीस्क्यान, डायलासिस र वृद्धवृद्धालाई उपचार खर्चमा सहुलियतलगायतका सेवा प्रारम्भ गरेपछि बिरामीको अस्पतालमा चाप बढ्दै गएको सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिनुभयो । अस्पतालमा पर्सा, बारा, रौतहट, सर्लाही, मकवानपुर जिल्ला र भारतको विहार क्षेत्रका बिरामी उपचारका लागि आउँछन् ।        अस्पतालमा दैनिक औसतमा एक हजार बिरामीले विविध  रोगको उपचार सेवा लिन आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।  नियमित उपचारमा आउने बिरामीमध्ये करिब १० देखि १५ प्रतिशतसम्म भारतीय बिरामी रहेको जनाइएको छ ।        अस्पतालको तर्फबाट दुई सय र विकास समितिको तर्फबाट एक सय शय्यामा नियमित उपचार सेवा दिँदै आएको छ । अस्पताललाई विसं २०७५ असार २५ गते सङ्घीय सरकारले मधेस प्रदेशमा विशिष्ट सेवा प्रदान गर्ने उद्देश्यले पाँच सय शय्याको रुपमा स्तरोन्नति गरिसकेको छ ।        उपचार सेवा थप प्रभावकारी बनाउँदै लगेपछि विशेष गरी गरिब र विपन्न समुदायका बिरामी बढेका अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा वीरेन्द्रबहादुर प्रधानले जानकारी दिनुभयो । मेडिकल, सर्जरी, दन्त, आँखा उपचार, छाला रोग, डायलासिस, नाक कान तथा घाँटी, मानसिक, प्रसूति, हाडजोर्नी, बाल रोग, शिशु स्याहार, मुटु रोगसम्बन्धी उपाचार विभाग, सघन र अक्सिजनसहितको उपचार कक्षमार्फत बिरामीलाई अस्पतालले सेवा दिँदै आएको छ ।       अहिले अस्पतालले दिने सेवालाई थप प्रभावकारी बनाउन प्रशासनले सबैजसो सेवालाई उपचारको  प्राथमिकताका आधारमा काम गरिरहेको जनाएको छ । करिब तीन बिघा क्षेत्रफलमा फैलिएको अस्पताल परिसर क्षेत्रमा चार वटा आवास, एक प्रसूति, प्रयोगशाला, भण्डारण, बहिरङ्ग, आकस्मिक सेवा विभाग र एउटा पुरानो आँखा उपचार गरी कूल १३ भवन छन् । अस्पताललाई केन्द्रीय रिफरल अस्पताल र सरकारी मेडिकल कलेजमा स्तरोन्नति गर्न माग गर्दै यस क्षेत्रका सरोकारवालाले पटकपटक सङ्घीय सरकारसँग माग गर्दै आएका छन् ।       अस्पतालले सामाजिक सेवा एकाइमार्फत लक्षित १२ समूहका नागरिकको निःशुल्क उपचार गर्दै आएको छ  ।  गरिब, असहाय, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, लैङ्गिक हिंसा र पीडित बालबालिका, लोपोन्मुख आदिवासी जनजाति, कुपोषित बालबालिका तथा शहीद परिवारलाई सबैखाले उपचार सुविधा उपलब्ध गराउँदै आएको अस्पतालका सूचना अधिकारी डा सिंहले जानकारी दिनुभयो  । निःशुल्क उपचारले धेरै नगरिकलाई समयमै उचित उपचार सेवा दिन सहयोग पुगिरहेको डा सिंहको भनाइ छ । अस्पतालमा सरकारी एक सय ६२ र विकास समितिका एक सय २० स्वास्थ्यकर्मी कार्यरत छन् । अस्पताल विसं २०५१ मा तत्कालीन महेन्द्र आरोग्य र ऐश्वर्य भवन एकीकरण भई हालको नारायणी अस्पताल नामकरण भएको थियो ।

  कञ्चनपुर ।  कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ का दश वर्षीया बालिका सन्ध्या सुनार महाकाली नदीमा बेपत्ता भएकी छिन् ।   जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दोधारा चाँदनी–९ ढकनाघाटस्थित ठूलोबुबाको घरमा गएका बेला दिदीसित नुहाउने क्रममा डुबेर बालिकाको नदीमा बेपत्ता भएकी हुन् ।   प्रहरी निरीक्षक भरत गिरीले बालिकाको खोजीमा इलाका प्रहरी कार्यालय दोधारा चाँदनी र सशस्त्र प्रहरी बलको टोली महाकालीमा खटिएको जानकारी दिनुभयो । “बालिकाको खोजीमा सुरक्षाकर्मी र स्थानीय पनि खटिएका छन् ।” उहाँले भन्नुभयो ।

कञ्चनपुर । बेलडाँडी गाउँपालिका–३ बैवाहका रामलाल चौधरी व्यावसायीक तरकारी खेती गरी गतिलो आम्दानी गर्ने किसानका रुपमा परिचित हुनुहुन्छ । गतवर्ष चौधरीले १८ कठ्ठा जग्गामै दुई सय २५ क्वीन्टल  तरकारी फलाएर रु १२ लाख पचास हजार आम्दानी हात पार्नुभएको छ । काउली, बन्दा, गोलभेँडा, घ्यू सिमी, बोडीलगायत बारीमा रोपेर आम्दानी भएको उहाँले बताउनुभयो ।   “बेमौसमी वर्षाले १० कठ्ठामा लगाएको तरकारी टिप्नै पाएनौँ”, उहाँले भन्नुभयो, “हार मानिन्, त्यसपछि पुनः तरकारी लगाए नाफा बढी भयो, तरकारी हातोहात बिक्री पनि भयो ।” गत वर्षभन्दा बढी आम्दानी लिनका लागि उहाँले नौलो प्रविधिलाई आत्मसात गर्ने योजना बनाउनुभएको छ । उहाँले युट्युबमा हेरेर मिनी टिलरमा लाग्ने हलोसँगै आवश्यक अन्य औजार निर्माण गर्नुभएको छ ।     तरकारी खेती गर्नका लागि प्रयोगमा आउने अन्य औजार र उपकरण प्रयोगमा ल्याउने तयारी उहाँको रहेको छ । “पहिला गोरुले खेत जोत्दा समय निकै लाग्ने र सोचे जस्तो खेत तयार गर्न सकिदैनथ्यो”, उहाँले भन्नुभयो, “हाल खेत जोत्नका लागि गोरु छैनन्, मिनीटिलर र पावर टिलरको प्रयोग गर्छु, तरकारी खेतीका लागि खेत तयार गर्न मेसिनरी र आधुनिक कृषि औजारको प्रयोग गर्न थालेपछि उत्पादन बढेको छ ।”    तरकारी बारीमा गोबर मलको प्रयोग गर्नका लागि भैँसी भने उहाँले पाल्नुभएको छ । डेढ दशकदेखि तरकारी खेतीमा संलग्न चौधरीसँग स्वामित्वको एक बिघा १० कठ्ठा जग्गा छ । त्यसमध्ये छ कठ्ठा जग्गा उहाँले तरकारी खेतीको आम्दानीले जोडनुभएको हो । यस वर्षको हिउँदे तरकारी लगाउनका लागि चौधरीले बेर्ना तयार गरिसक्नुभएको छ ।    “काउली, बन्दा, गोलभेडा लगायतका तरकारीका बेर्ना तयारी अवस्थामा छ”, उहाँले भन्नुभयो, “ग्रिननेटमा लगाउनका लागि कार्य अगाडि बढाइएको छ, खुला ठाउँमा गरिने तरकारी खेतीभन्दा ग्रिनेनेटमा गरिने तरकारी खेतीले बढी उत्पादन दिन्छ, त्यसैले यसकै तयारीमा छौँ ।” तरकारी खेतीबाहेक अरु जग्गामा लगाएको हर्दिनाथ जातको धान पाक्नै आँटेको छ । एक दुई दिनमा धान काटन सुरु गर्ने चौधरीले बताउनुभयो ।    “धान काटेपछि खेत तयार गरी त्यसमा समेत तरकारीका बिरुवा रोप्छौँ”, उहाँले भन्नुभयो, “कामको व्यस्तता निकै छ, परिवारमा रहेका दुई छोरा र श्रीमतीले समेत तरकारी खेतीका लागि सहयोग गर्दै आएका छन्, त्यसैले काम गर्न सहज भएको छ ।” नौ कठ्ठा जग्गामा लगाएको हर्दिनाथ धानको उत्पादन २० क्वीन्टल बढी हुने उहाँले अनुमान गर्नुभएको छ । गतवर्ष सोही जग्गामा उहाँले १८ क्वीन्टल धान उत्पादन गर्नुभएको थियो । यस वर्ष दश कठ्ठा जग्गामा तरकारी खेती र एक बिघा जग्गामा केरा खेती गर्ने योजनासमेत रहेको उहाँले सुनाउनुभयो ।   “तरकारी खेतीसँगै केरा खेती गर्ने योजना बनाएको छु”, उहाँले भन्नुभयो, “आधुनिक तरिकाले केरा खेती गर्ने तौरतरिका इन्टरनेटबाट र गाउँपालिकाको कृषि शाखका प्राविधिकबाट सिकेको छु ।” तरकारी खेतीकै कमाइबाट चौधरीले कैलालीको धनगढीमा घडेरी, गाउँमा पक्की घर, मेसिनरी औजार, सिँचाइका लागि बोरिङ, विद्युतीय मोटरलगायतका सामान जोड्नुभएको छन् । तरकारी बेच्नका लागि ५० प्रतिशत अनुदानमा उहाँले अटो रिक्सासमेत पाउनुभएको छ । उत्पादित तरकारी स्थानीय बजारदेखि महेन्द्रनगर र धनगढीसम्म बिक्री हुने गरेको छ ।    भारतसँगै सीमा जोडिएको क्षेत्र बैवाह भएकाले भारतीयले समेत घरबाटै फुटकर रुपमा तरकारी खरिद गरेर लैजाने गरेका छन् । रामलाल जस्तै बैवाह गाउँका अन्य दुई जनाले समेत दश कठ्ठा जग्गामा तरकारी खेती गर्नुभएको छ । दुई कठ्ठादेखि पाँच कठ्ठासम्म तरकारी खेती गर्ने किसान भने १२ जनाजति रहेका छन् । प्रविधिको प्रयोग गरी तरकारी खेती गर्नेमा गाउँका एक्ला रामलाल मात्रै रहनुभएको छ ।

  लमजुङ । मध्यनेपाल नगरपालिकास्थित माडी नदीमा मङ्गलबार दिउँसो पौडी खेल्ने क्रममा बेपत्ता शिक्षक मृत फेला परेका छन् ।     पोखरा महानरपालिका–३२ घर भई मध्यनेपाल बहरेको मालिका आधारभूत विद्यालयमा शिक्षण पेसा गर्दै आउनुभएका ४५ वर्षीय बाबुराम अधिकारी आज बिहान तनहुँको व्यास नगरपालिका–१० बैरेनीस्थित धारापानीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनुभयो ।    उक्त शवको तनहुँ प्रहरीले मुचुल्का उठाउने र दमौली अस्पतालमै शव परीक्षण गरी आफन्तलाई बुझाइने प्रहरी निरीक्षक रेग्मीको भनाइ छ । 

पोखरा महानगरपालिका वडा नं. २५ क्रान्तीटोलमा बसेर भूमि प्राप्तिको २७ वर्ष लामो सङ्घर्ष गरेकी सिता गुरुङ थापा आज निकै खुसी छिन् । सुकुम्वासी बनेर बिताएको २७ वर्ष सम्झँदा उनको मन अहिले पनि खसक्क हुने गरेको उनी सुनाउँछिन् ।   ‘यो हाम्रो लागि ठुलो उपलब्धि हो, उनले भनिन्, अव यो सेतो निस्सा छिट्टै नै रातो लालपुर्जामा परिणत हुने आशा गरेकी छु ।’ निकै कठिनता र सङ्घर्षका बिचबाट आफूहरूले प्राप्त गरेको सेतो निस्सासँग आफूसँगै आफ्ना सन्ततिहरूको भविष्य जोडिएको उनले बताइन । सङ्घर्षरत लामो प्रतीक्षापछि एउटा सपना साकार भएको अनुभूति उनले गरेकी छिन् ।   गुरुङको मात्र होइन, आज पोखरा महानगरपालिका वडा नं.२५ हेमजा आसपासमा रहेका २४२ जना भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरुको हृदय खुसीले गदगद भएको छ । पोखरा महानगरपालिका र राष्ट्रिय भूमि आयोग कास्कीले संयुक्त रूपमा मङ्गलवार २४२ सुकुम्वासी परिवारलाई जग्गा प्राप्तिको पहिलो चरणमा दिइने निस्सा वितरण गरे ।    स्थानीय तहको निर्वाचन ताका भूमिहीन समस्या समाधान गर्ने उद्घोष गर्नुभएका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आफ्नै हातले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरुलाई निस्सा वितरण गर्न पाउँदा आफ्नो घोषणाले सार्थकता पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । जनताका सामु आफूले गरेको बाचा आंशिक रूपमा पुरा भए पनि यसको सिलसिला सुरु भएको उहाँले बताउनुभयो ।    ‘हामीले चुनावी सभाको प्रारम्भ यही वडाबाट गरेका थियौँ, त्यस बेला भनेका थियौँ कि, भूमिहीन दलित तथा सुकुम्बासीहरुलाई निस्सा पनि यहीबाट वितरण गरिनेछ, आचार्यले भन्नुभयो, आज त्यो पुरा भएको छ, यस प्रक्रियामा सहयोग गर्ने सबै सरोकारवालाहरूलाई म धन्यवाद दिन चाहन्छु ।’ यो नियमित काम भएका कारण निर्वाचन आचारसंहिताले पनि नरोक्ने उहाँले बताउनुभयो ।    पोखरा महानगरपालिकामा प्राप्त १९ हजार ८ सय ५६ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको निवेदनहरू उपर आवश्यक प्रक्रिया पुरा गरी राष्ट्रिय भूमि आयोगसँगको समन्वयमा व्यवस्थित गर्दै लैजाने क्रममा महानगरपालिका रहेको प्रमुख आचार्यले उल्लेख गर्नुभयो । उहाँका अनुसार पोखरा महानगरपालिका भूमिहीन समस्याको दिगो समाधानको पक्षमा छ ।    राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गङ्गा पोख्रेलले विभिन्न कारणले सुकुम्वासी बनेका नागरिकहरूलाई जमिनको मालिक बनाउने काम कास्कीमा पनि प्रारम्भ भएको उद्घोष गर्नुभयो । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुले प्राप्त गरेको जग्गाको निस्सा अव कसैले पनि खोस्न नसक्ने उहाँले विश्वास दिलाउनुभयो । अहिले बसिरहेको स्थान उपयुक्त नभए आयोगले अर्को स्थान खोजेर भए पनि उचित व्यवस्थापन गर्ने पोख्रेलले बताउनुभयो ।   पोखरा महानगरपालिका वडा नं. २५ का वडा अध्यक्ष मोतीराज तिम्सिनाले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरणको काम आफ्नै वडाबाट सुरु भएकामा खुसी व्यक्त गर्नुभयो । वडा नं. २५ मा रहेका यस प्रकृतिका बसोबासीहरुको समस्याको दिगो समाधानमा जोड दिँदै उहाँले निस्सा वितरणको कामले पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो ।    राष्ट्रिय भूमि आयोग कास्कीको तथ्याङ्क अनुसार पोखरा महानगरपालिकाका ३३ वटा वडाबाट हालसम्म १९ हजार ८ सय ५६ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको निवेदन सङ्कलन भएको छ । कास्की जिल्ला भर भने ३० हजारको हाराहारीमा यस प्रकृतिका परिवारहरूको बसोबास रहेको आयोगको अनुमान छ ।  

गोरखामा तीजको दर खाएका एउटै गाउँका एक सयभन्दा बढी व्यक्ति बिरामी परेका छन् । गोरखा नगरपालिका–७  मान्द्रेढुङ्गाका महिला तथा पुरुष तीजको भोज खाएपछि बिरामी परेका हुन् ।    वडाध्यक्ष विष्णु श्रेष्ठका अनुसार भोज खाएका अघिकांश बिरामी परेका छन् । “कृष्ण जन्माष्टमीका दिन स्थानीय महिला तथा पुरुष मिलेर तीजको दर खाएका थिए । सोही साँझदेखि नै भोज खाएका सबै बिरामी परेका हुन्”, उहाँले भन्नुभयो, “बिरामी परेको थाहा पाएपछि स्वास्थ्यकर्मी लगेर उपचार सुरु गरिएको छ ।”   स्वास्थ्यकर्मीको टोलीले ४० जनाभन्दा बढीको स्वास्थ्य जाँच गराएको श्रेष्ठले बताउनुभयो । बिरामीको घरघरमा स्वास्थ्यकर्मीको टोली पठाएर आवश्यक औषधोपचार गरिएको उहाँले बताउनुभयो । बिरामी परेकाहरू अहिले विस्तारै निको हुँदै  गएका छन् । केहीलाई अझै घरमै स्लाइनपानी दिएर राखिएको अहेव भूमिका श्रेष्ठले जानकारी दिनुभयो । बिरामीमा शनिबार साँझदेखि नै पेट दुख्ने, वान्ता हुने, जरो आउने र पखाला लाग्ने समस्या देखिएको उहाँले बताउनुभयो ।    बिरामीमध्ये अधिकांशको गोरखा सदरमुकामका निजी क्लिनिकमा उपचार भइरहेको छ । “केही आफैँ गोरखा अस्पताल पुगेर उपचार गराइरहेका छन्”, उहाँले भन्नुभयो । 

  काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ । प्रदेश नं १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा र पूर्वतर्फ सरदर स्थानभन्दा उत्तर दिशामा अवस्थित छ । रातको समयमा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदलीदेखि सामान्यता सफा रहनेछ भने प्रदेश नं १ र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।   विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव चार डिग्री र अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १२ दशमलव एक डिग्री र सबैभन्दा बढी विराटनगरको ३६ दशमलव चार डिग्री सेल्सियस छ ।