दशरथचन्द नगरपालिका–४ बिनासौँमा पासोमा फसेको चितुवा मरेको छ । उक्त चितुवा आज बिहान बँदेलका लागि किसानले मकैबारीमा थापेको पासोमा फसेको थियो । डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार पासोमा परेको चितुवा उद्धारका क्रममा आज दिउँसो मरेको हो । उहाँले भन्नुभयो, “पासोमा परेको चितुवा सुरक्षाकर्मीले उद्धार गर्ने क्रममा मरेको छ, खोर लगेर उद्धार गर्दै थियौं, सोही क्रममा चितुवा मरेको हो, चितुवाको ढाडमा पासो परेको थियो, उद्धारकै क्रममा गम्भीर चोट पुगेको हुनसक्छ ।” पासोमा फसेको चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट टोली बोलाइएको भए पनि टोली नपुग्दै चितुवा मरेको हो । मरेको चितुवाको मुचुल्का उठाएर डिभिजन वन कार्यालय परिसरमै गाड्ने तयारी भएको छ ।
दार्चुला । यहाँ आज जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट सदरमुकाम खलङ्गा आउँदै गरेको जिप शैल्यशिखर–६ उलानीमा दुर्घटना भएको हो । से१ज ५५१ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगत मगरले बताउनुभयो । घटनाको थप विवरण आउन बाँकी छ ।
काठमाडौं: ऐतिहासिक गोरखा दरबार सङ्ग्रहालय परिसरमा अबदेखि नेपाल एकीकरणका अभियानकर्मी तथा राष्ट्रिय एकताका प्रतीक तत्कालीन राजा पृथ्वीनारायण शाहसँग बसेर तस्बिर खिच्न पाइने भएको छ । ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिले तल्लो दरबारको मूलगेटमा नक्कली पृथ्वीनारायण शाहको स्वरुपको प्रतिविम्ब खडा गर्ने व्यवस्था गरेपछि दरबार सङ्ग्रहालय पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले पृथ्वीनारायण शाहको प्रतिविम्बसँग बसेर तस्बिर खिचाउन पाउने भएका हुन् । सङ्ग्रहालयमा आजदेखि ‘प्रतिविम्बमा श्री ५ पृथ्वीनारायण शाह’ शुभारम्भ भएसँगै पृथ्वीनारायण शाह र कालु पाँडेको भेषमा सजिएर एक÷एक जना व्यक्ति नियमितरुपमा दरबारको परिसरमा रहने व्यवस्था गरिएको समितिका सल्लाहकार राजुबाबु श्रेष्ठले जानकारी दिनुभयो । “पृथ्वी नारायण शाह र कालु पाँडेको पोसाकसहितको प्रतिविम्बमा बसेर तस्बिर खिच्नका लागि शुल्कको समेत व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो, “यसबाट ऐतिहासिक गोरखा जिल्लाभित्र आउने पर्यटकलाई तत्कालीन राजा पृथ्वीनारायण शाह र कालु पाँडेका विषयमा जानकारी समेत प्राप्त गर्ने अवसर प्राप्त हुनेछ ।” पृथ्वीनारायण शाहसँग फोटो खिच्न स्थानीयले रु २० तिर्नुपर्नेछ भने जिल्ला बाहिरका र विदेशी पर्यटकले रु ५० तिर्नुपर्ने व्यवस्था गरिएको छ । पृथ्वीनारायण शाहको प्रतिविम्बका रुपमा स्थानीय ओमबहादुर श्रेष्ठ दैनिक सात घण्टा सो भेषमा सङ्ग्रहालयमा रहने उहाँले जानकारी दिनुभयो । त्यस्तै राजाका सहयोगी कालु पाँडेको समेत प्रतिविम्बका रुपमा अर्का एक व्यक्ति पनि नियमितरुपमा सङ्ग्रहालय परिसरमा रहने सल्लाहकार श्रेष्ठले जानकारी दिनुभयो । ‘प्रतिविम्बमा श्री ५ पृथ्वीनारायण शाह’ कार्यक्रमको शुभारम्भ गर्दै गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले यहाँ रहेका ऐतिहासिक विषयबस्तुलाई देश तथा विदेशमा पु¥याएर जिल्लाभित्र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन नगरपालिकाले पहल र प्रयास गरिरहेको बताउनुभयो । उहाँले विकास समितिले गरेको कामको प्रशंसा गर्दै नगरपालिकाबाट आवश्यक सबै प्रकारको सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
स्मृति प्रकाशन बागलुङले बर्सेनि प्रदान गर्ने ‘स्मृति युवा सम्मान’ यस वर्ष यहाँका दुई युवा स्रष्टालाई प्रदान गरिने भएको छ । मङ्गलबार बसेको प्रकाशनको बैठकले विसं २०७८ को सम्मान पर्वत पाङका स्रष्टा गुणराज पौडेल ‘गुराँस’ र विसं २०७९ को सम्मान जिल्लाको जैमिनी नगरपालिका निवासी स्रष्टा निर्मला सुवेदीलाई प्रदान गर्ने निर्णय गरेको हो । गत वर्ष कोभिड-१९ का कारण कार्यक्रम स्थगन भएपछि दुई वर्षको सम्मान एकैसाथ प्रदान गर्न लागिएको हो । यही भदौ ११ गते मोती जयन्तीका अवसरमा आयोजना हुने समारोहमा सम्मान प्रदान गरिने प्रकाशनका अध्यक्ष काजी रोशने जानकारी दिनुभयो । साहित्यको उत्थानमा पुर्याएको योगदानवापत स्रष्टाद्वयलाई सम्मानित गर्न लागिएको हो । पौडेलको मुक्तक कृति प्रकाशित छ भने सुवेदी जैमिनी साहित्य मञ्चका अध्यक्ष हुनुहुन्छ । प्रकाशनले हरेक वर्ष मोती जयन्तीका अवसर पारेर साहित्य सिर्जनामा सक्रिय युवालाई उक्त सम्मान प्रदान गर्दै आएको छ । सोही समारोहमा सार्थक प्रकाशनका तर्फबाट ‘सार्थक मोती सम्मान’, धवल कला मन्दिरका तर्फबाट ‘धवल मोती सम्मान’ प्रदान गर्ने कार्यक्रम तय भएको जनाइएको छ । मोती जयन्तीमा कला, सङ्गीत र साहित्य क्षेत्रमा क्रियाशील व्यक्तित्व सम्मानित हुँदै आएका छन् ।
पोखराः गण्डकी प्रदेश सरकारद्वारा अंशबण्डामा जबर्जस्ती थोपरिएको अत्यधिक शुल्क खारेजी लगायत करवृद्धिका विरुद्ध आज नागरिक समाज कास्कीले शान्तिपूर्ण धर्नाको आयोजना गरेको छ । पोखराको शहीदचोकमा आयोजित आयोजित शान्तिपूर्ण विरोध प्रदर्शनमा नागरिक समाजसँगै वातावरण संरक्षणकालागि महाअभियान कास्कीको सहभागिता रहेको थियो । यसअघि नै समाज र अभियानले उक्त करको दायरा नघटाएमा विरोध जनाउने घोषणा गरेको थियो । सोही अनुरुप आज विरोध कार्यक्रम गरेको नागरिक समाजका अभियन्ता रामबहादुर पौडेलले जनाए । धर्नाबारे जानकारी दिँदै अभियानकर्मी लोकदर्शन कोइरालाले आफ्नै सम्पत्ति बाँडफाँड गर्दापनि उच्च कर बुझाउनुपर्ने भन्दैै आक्रोश व्यक्त गरे । ‘जनताबाट कर उठाएर सरकार मन्दिर निर्माण समिति, आमा समूहलाई पैसा दिँदैछ’ अभियानकर्मी कोइराला भन्छन् ‘त्यहाँबाट भोट आउँछ, नेता त्यतै पैसा बाँड्न लागिपर्छन् ।’ आफु र अभियानकर्मीहरु धर्म विरोधी नभएको भन्दै उनले गण्डकीमै गतिलो क्यान्सर, मुटु अस्पताल बनाउन आवश्यक भएको उल्लेख गरे । पछिल्लो बजेटमा सरकार बाउँ–बाजेको नाममा ट्रष्ट बनाएर रकम विनियाजन गर्ने घृणित खेलमा लागेकोप्रति नागरिक समाज र वातावरण अभियानकर्मीहरुको विरोध रहेको उनले सुनाए । ‘नेताहरु चुनाव र भोट केन्द्रित भए’ कोइरालाको गुनासो छ ।
पोखरा । पोखरा महानगर पालिका वडा नं–६ बैदाममा गिरीराज अधिकारीको अध्यक्षतामा १९ सदस्यीय नयाँ जेष्ठ नागारिक मञ्च गठन गरिएको छ । पोखरा महानगर पालिका वडा समितिको कार्यालय– ६ को आयोजनामा बुधबार वडा नं– ६ बैदाममा रहेका जेष्ठ नागरिकहरुको भेला गरि पहिलो पटक जेष्ठ नागरिक मञ्च गठन गरिएको हो । मञ्चको उपाध्यक्षतामा तारा देवी पहारी, सचिब गुरुदत्त पहारी र कोषाअध्यक्षमा गौमाया थापा मगर चयन भएकी छन । त्यसै गरि सदस्यहरुमा टेक बहादुर भण्डारी, कृष्णा बहादुर परियार, हरिशचन्द्र पहारी, चुडामणी अधिकारी, बाटुली पहारी, टिकाराम परियार, जमुना देवी पहारी, गंगा वहादुर भुजेल, कृष्ण कडेल, चाउरे जलारी, कृष्ण बहादुर खडका, लक्ष्मी भुजेल, हरिकला पहारी, नन्द कुमारी श्रेष्ठ, शिबराज आर्चाय र उमा देवी तिमिल्सीना चयन भएका छन । यस्तै गरि भेलाले वडा अध्यक्ष विष्णु बहादुर भट्टराईको अध्यक्षतामा वडा सदस्यहरु बासु बाराल, दिपेन्द्र पहारी, पबित्रा थापा, शोभाजालारी र वडा सचिब कुलराज पौडेल सहित पत्रकार गणेश पहारी, प्रशुराम पहारी, होमनाथ पहारी, सुर्यनाथ पहारी र लक्षण थापा रहेको ११ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको पोखरा महानगर पालिका वडा नं– ६ वडा सदस्य बासु बरालले जानकारी दिए । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगर पालिका वडा नं– ६ का अध्यक्ष विष्णु बहादुर भट्टराईले ‘जेष्ठ नागरिकहरु देशकै गहनाका रुपमा रहेकाले उनिहरुको मान सम्मान र हेरचाहमा सवै लाग्नु पर्ने बताए छन’ । वडा कार्यलय बाट पाउँनु पर्ने सेवा सुविधाहरुलाई जेष्ठ नागरिकहरुको घर दैलोमा पुुर्याउँनेमा आफु कटिबद्ध रहको बताउदै शौचालय सहित बाटो र पुटपाथहरुलाई जेष्ठ नागरिक मैत्रि बनाउने योजना रहेको सुनाए । जेष्ठ नागरिकहरुलाई गित संगितको माध्यमबाट मनोरञ्जनका दिने उद्ेश्यले डाक्टर द्धारा स्वास्थ्थ परिक्षण गर्नेका लागि आफुले एक लाख पचास हजार रुपैयाको बजेट विनियोजन गरेको उल्लेख गरे । पोखरा महानग पालिका वडा समितिको कार्यलयका वडा नं– ६ का सचिब कुलराज पौडेलले ‘ वडा कार्यालय ६बैदाममा रहेका जेष्ठ नागरिक, आपाङ्घ, आदिबासी जनजाति र दलित गरि करिब १ हजार जति सदस्यहरुले वडा बाट सेवा सुविधा पाएको जानकारी गराए । सचिब पौडेलले सेवा सुविधा द्धारा लाभान्ति भएका जेष्ठ नागरिकहरुको हकहितका लागि वडा बाट पाउने सेवामा कुनै विभेत नगरेका सुनाए । उनले सवै जेष्ठ नागरिक हरुको घरघरमा प्रत्यक्षरुपमा जान नसकिने हुनाले जेष्ठ नागरिकहरुको पिरमर्का बुझने माध्यम बनाउनका लागि जेष्ठ नागरिक मञ्च गठन गरिको बताए । नव निर्वाचित अध्यक्ष गिरिराज अधिकारीले ‘जेष्ठ नागरिकाहरुको हकहितका लागि आफु सदैब प्रयत्नशिल भई लागि रहने बताए’ । जेष्ठ नागरिकले वडा कार्यलयबाट पाउँनु पर्ने सेवा सुविधाका लागि वडा कार्यलय सगँ समन्वय गरि अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गरे ।
बागलुङ । दुःखको चक्र कस्तो हुन्छ ? खगेश्वर उपाध्यायले जति अरू कस्ले झेले होला र छोरी शान्तिको बिहे भइसक्यो । घरमा भएका श्रीमती र दुई छोरा अशक्त छन् । बौद्धिक अपाङ्गताबाट गु्रजिरहेका उनीहरुको सुसार र लालनपालनको अभिभारा ६७ वर्षीय उपाध्यायको काँधमा छ । विसं २०५६ तिर उहाँकी श्रीमती जमुना लडेर गम्भीर घाइते हुनुभयो । उपचारले केही वर्ष थामे पनि टाउकाको भित्री चोट बल्झिँदै गएर पछि बौद्धिक अपाङ्गताको स्थितिमा पुर्यायो । छोराहरु मित्रप्रसाद र लोकनाथ जन्मजात अशक्त हुनुहुन्छ । जेठो छोरा २८ वर्षीय मित्रप्रसादमा छारे रोग पनि छ । “छोरी शान्तिमा पनि अपाङ्गता थियो, उसको त बिहेवारी भयो”, मलिन स्वरमा उपाध्यायले भन्नुभयो, “छोराहरु केही गर्न सक्दैनन्, श्रीमती पनि सुतेको सुतै हो, धन्न शौचालयसम्म आफैँ जान्छन् ।” घरधन्दादेखि मेलापातसम्म एक्लै धान्नुपरेको उहाँले सुनाउनुभयो । बागलुङ नगरपालिका–११ रायडाँडा, ओखलेका उपाध्यायले गाउँमा कृषि कार्य गरेर परिवारको गुजारा चलाइरहनुभएको छ । “भगवानले बाटो लगाएका छन्, इष्टमित्रको बल छ, अरू हाम्रो केही उपाय छैन”, उहाँले भन्नुभयो, “सकुञ्जेल परिवार पाल्छु, त्यसपछि के विकल्प रह्यो र ? मेरा दाजुभाइ पनि कोही छैनन् ।” गाउँको आमा समूहले दिएको ऋणबाट कुटानीपिसानी मिल चलाएपछि उपाध्यायलाई घरको गर्जो टार्न भने केही सहज भएको छ । समूहले उहाँलाई बिनाब्याज रु ५० हजार ऋण दिएको थियो । “२५ हजार फर्काएँ, २५ हजार अझै तिर्न बाँकी छ”, उहाँले भन्नुभयो, “मेरो घरको अवस्था हेरेर समूहले ब्याज मिनाहा गरिदिएको हो ।” उहाँकामा भैँसी, बाख्रापालन र खेतीपाती छ । सात बाख्रा पालेको आफूलाई हटाएर गाउँमा एउटा मात्र बाख्रा पाल्नेले सरकारी अनुदान पाएको भन्दै उहाँले गुनासो पोख्नुभयो । अपाङ्गता भत्ताबाहेक राज्यका निकायबाट अरू कुनै सहयोग नपाएको उपाध्यायले बताउनुभयो । नगरपालिकाले पूर्ण अशक्त भएका कारण उहाँकी श्रीमती जुमनालाई ‘क’ वर्ग र छोराहरुलाई अति अशक्ततर्फ ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र दिएको छ । श्रीमती जमुनामा बहुअपाङ्गता रहेको उपाध्यायले बताउनुभयो । एकातिर बौद्धिक अर्कातिर शारीरिक अपाङ्गताबाट ६७ वर्षीया जमुना पीडित हुनुहुन्छ । श्रीमती ओछ्यान परेपछि चुल्होचौकोको काम उहाँले नै सम्हाल्दै आउनुभएको छ । छोराहरुको रेखदेख गर्ने जिम्मा पनि उहाँमाथि छ । “छोराहरु सिधाबाटो भेटाए भने सामान्य हिँड्डुल गर्छन्, घुम्तीमा मोडिनुपर्छ भन्ने पनि थाहा छैन, केही समय विद्यालय पनि पठाएँ, तर अहिले आफ्नै नाम लेख्न जाँदैनन्”, उपाध्यायले भन्नुभयो, “ठूलो छोरा म यताउति गएँ भने औषधि खान पनि भुल्छ, औषधि छुट्यो भने लडिहाल्छ ।” केही वर्षअघि अँगेनामा लड्दा मित्रप्रसादको हात जलेको थियो । छ पटकसम्म उपचारका लागि उहाँलाई पोखरा पु¥याएको उपाध्यायले बताउनुभयो । वडास्तरीय अपाङ्गता सञ्जालकी अध्यक्ष गुमादेवी गौतमले उपाध्यायको परिवार अप्ठ्यारो स्थितिबाट गुज्रिरहेको बताउनुभयो । “बुबालाई तलमाथि केही भइहाले, बिरामी परेर थलिए परिवारको बिचल्ली हुने अवस्था छ”, अध्यक्ष गौतमले भन्नुभयो, “वडा, नगरपालिका कसैले पनि उहाँलाई सहयोग गरेका छैनन्, अपाङ्गता भत्ताले मात्र कति पो थेग्छ र ?” केही वर्षअघिसम्म लक्षित वर्गको कार्यक्रमबाट अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमा सहयोग भए पनि अहिले त्यो रोकिएको उहाँको भनाइ छ । छिपिँदो उमेरमा झन्झन् ठूला दुःखले उपाध्यायलाई घेर्दै लगेको छ । न आज ठीकठाक चलिरहेको छ, न भविष्यको टुङ्गो छ । निम्नवर्गीय परिवारमा जन्मनुको नियति, त्यहीँमाथि परिवारका सबै सदस्यमा अपाङ्गता हुनुको पीडा । छिनछिनमा मनमा दुःखको आँधी चले पनि उपाध्यायले हरेस भने खानुभएको छैन । घरको सहारा बन्नुभएको छ । सेतै फुलेको कपाल र चाउरिएको चेहेरा लिएर आफ्ना निरुपाय परिवारजनका लागि उहाँ सङ्घर्षरत हुनुहुन्छ । सञ्जालका अनुसार रायडाँडामा मात्र ५० भन्दा बढी अपाङ्गता भएका व्यक्ति छन् । सोही ठाउँकी सीतादेवी सापकोटाको परिवारमा पनि चारजना अशक्त छन् । सीतादेवी, उहाँका श्रीमान् जगन्नाथ र दुई छोरामा शारीरिक अपाङ्गता छ । एक्ली छोरी दुर्गादेवीले घरपरिवार धान्दै आउनुभएको छ । “एउटा छोरा त आश्रममा हुनुहुन्छ, अरू तीनै जना घरमै अशक्त भएर बस्नुभएको छ, सबैको सहारा छोरी दुर्गादेवी बन्नुभएको छ”, सञ्जालकी अध्यक्ष गौतमले भन्नुभयो, “एकै घरका चार–चारजना अशक्त भएर थलिँदा त्यो परिवारको अवस्था कस्तो हुन्छ होला, सोच्दा पनि कहाली लाग्छ ।” वडाध्यक्ष ज्ञानेन्द्र गौतमले एकाघरमा धेरै जना अशक्त हुँदा परिवारको अवस्था जटिल बनेको बताउनुभयो । “त्यस्ता परिवारलाई आयआर्जनमा सामान्य सहयोग त भइरहेको छ तर ठ्याक्कै कार्यक्रम दिन सकिएको छैन”, उहाँले भन्नुभयो, “अब व्यावसायिक कृषि र स–साना उद्यममा जोड्नेतिर लाग्छौँ, अपाङ्गता क्षेत्र हाम्रो प्राथमिकतामा छ ।” उहाँले उपाध्यायको कुटानीपिसानी मिलमा वडाबाट अनुदान सहयोग दिएको बताउनुभयो । वडाध्यक्ष गौतमले गाउँमा बस्ने त्यस्ता परिवारको जीवनयापन र दीर्घकालीन व्यवस्थापनमा राज्यले सघाउनुपर्ने धारणा राख्नुभयो । “कतिपय त अपाङ्गता परिचयपत्र पाउनबाट पनि वञ्चित भइरहनुभएको थियो”, उहाँले भन्नुभयो, “हाम्रै पहलमा परिचयपत्र दिलाइएको छ, अहिले मासिक रुपमा जीवन निर्वाह भत्ता आउने अवस्था बनेको छ ।” वडाध्यक्ष गौतमले उपाध्याय र सापकोटा परिवारको अवस्थाले आफूलाई पनि छोएको बताउनुभयो । सोही वडाको धारापानी निवासी शेरबहादुर थापाका पनि दुई छोरीमा बौद्धिक अपाङ्गता छ । २३ वर्षीया छोरी यमुना र १६ वर्षीया रेनुकालाई नगरपालिकाले ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र दिएको छ । नगरको महिला, बालबालिका तथा समाज कल्याण शाखाका प्रमुख सरस्वतीदेवी रेग्मीले नगरभित्र पाँच सय ५० भन्दा बढी अपाङ्गता भएका व्यक्ति रहेको जानकारी दिनुभयो । उहाँका अनुसार ‘क’ वर्गको परिचयपत्र पाउने पूर्ण अशक्त व्यक्तिले मासिक रु चार हजार र ‘ख’ वर्गका अति अशक्तले ले रु दुई हजार एक सय भत्ता बुझ्छन् । ‘ग’ र ‘घ’ वर्गमा पर्ने अपाङ्गता भएका व्यक्तिले भने राज्यले दिने अरू सुविधा र सहुलियत मात्र पाउँछन् । “नगरबाट वार्षिक छुट्टिएको बजेटबाट अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री वितरण गर्छौं, त्योबाहेक अरू विशेष कार्यक्रम पनि ल्याउन जरुरी छ”, प्रमुख रेग्मीले भन्नुभयो, “वडा तहबाट पनि अपाङ्गता क्षेत्रमा बजेट छुट्टिने गरेको छ, आवश्यक समन्वय गरेर अब नयाँ योजना बनाउँछौँ ।”
पोखरा । पोखरा महानगरपालिकाका पूर्व मेयर मानबहादुर जिसी अस्वस्थ भएपछि अस्पतालमा भर्ना गरिएको छ । सोमबार बेलुका अकस्मात् छाती दुख्न थालेपछि उहाँलाई फेवा सिटी हस्पिटलमा भर्ना गरिएको हो । जिसीको आइसियु कक्षमा उपचार भइरहेको डा.बुद्धि बहादुर थापाले जानकारी दिए । छाती दुखेर अस्पतालमा ल्याइएको रहेछ, हामीले मुटु रोगको समस्या हो की भनेर आइसियुमा राखेर उपचार सुरु गरेका थियौ, मुटुको समस्या भने रहेनछ । थापाले भने, ‘ पूर्व मेयर जिसीमा ग्यास्ट्रिक लगायतका अन्य समस्या देखिएको कारण हाल सोहीअनुसार उपचार भइरहेको छ ।’ पूर्व मेयर जिसी अस्वस्थ भएको थाहा पाएपछि महानगरका मेयर धनराज आचार्यले अस्पतालमा पुगेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । चेस्ट पेन भएपछि पूर्व मेयर मानबहादुर जिसी अस्पतालमा भर्ना हुनुभएको रहेछ, उहाँ बोल्न सक्ने अवस्था मै हुनुहुन्छ आचार्यले भने, ‘ उपचारमा संलग्न डाक्टरहरूले अवस्था सामान्य रहेको र मुटुको समस्या नरहेको बताएको छ ।’ जिसीसँग एक छिन दोहोरो कुराकानी भएपछि स्वास्थ्य लाभको कामना गरेर आफू फर्किएको मेयर आचार्यले बताए । डा.थापाका अनुसार जिसीलाई आज साँझ नै डिस्चार्ज गर्ने सम्भावना रहेको छ ।
काठमाडौं: देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेभएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले आगामी २४ घण्टा देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली तथा देशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त भूभागहरूमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ । हाल देशका अधिकांश भूभागमा आंशिक बदली रहको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागका थोरै र बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

