पर्सा । श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई शुक्रबार पक्राउ गरेको छ । पर्साको वीरगञ्ज महानगरपालिका–२३ इटियाहीका २६ वर्षीय दिनेशप्रसाद यादवले २३ वर्षीया श्रीमती प्रतिमाकुमारीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भइरहेको छ । प्रतिमाको शव परीक्षणका लागि नारायणी अस्पताल पठाइएको छ । गत वर्षको वैशाखमा पर्साको पकाहा मैनपुर गाउँपालिका–६ निवासी धोरे निवासी प्रतिमाको दिनेशसँग मागी विवाह भएको थियो । प्रतिमाको पाँच महिनाको गर्भ रहेको माइती पक्षको भनाइ छ ।
काठमाडौं : देशभर आन आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १ र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले आगामी २४ घण्टा देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा प्रदेश नं १ र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाएको छ । साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन÷यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ । रातको समयमा देशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली भई प्रदेश नं १, बागमती, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र गण्डकी प्रदेशका थोरै र प्रदेश नं १, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
पोखरा । नेपाल उत्पीडित जातीय मुक्ति समाज गण्डकी प्रदेशले प्रथम गण्डकी सम्मेलन पोखरामा गर्ने भएको छ । पोखरा ४ ग्रह्रापाटन स्थितउद्योग वाणिज्यसंघको सभाहलमा आगामी ४ गते हुनेछ । समाजको गत चैतमा काठमाडौंमा सम्पन्न छैठौँ राष्ट्रिय सम्मेलन गरिएको बताउदै प्रदेश स्तरको प्रथम सम्मेलन पोखरामा गर्न लागिएको नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रिय सचिव तथा नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य धनबहादुर नेपालीले बताए । ‘सम्मेलनको मुल उद्देश्य भनेको उत्पीडित दलित समुदायहरुलाई स्वतन्त्रता र समानतापूर्वक बाच्नको लागि हक अधिकारको सुनिश्चतताको व्यवस्थामा आवाज उठाउनु हो, उनले भने, ‘यस सम्मेलन मार्फत हालसम्मका राष्ट्रिय नीतिमा भएका भेदभाव तथा छुवाछुतहरुलाई व्यवहारबाटै अन्त्य गर्नको लागि एउटा नीति निर्माण गर्नु पर्छ भन्ने हाम्रो विचार हो ।’ उनका अनुसार सम्मेलन सफल पार्नको लागि यातायात व्यवस्था,मञ्च व्यवस्थापन, स्वयंम सवेक परिचालन, खाना,खाजा र आवास , प्रचास प्रसार र सांस्कृतिक उपसमितिहरु गठनगरिएको छ । जसले सम्मेलनलाई भव्यरुपमा सम्पन्न गर्नको लागि आ–आफ्नो ठाउँबाट सहयोग गर्ने छ । साथै सम्मेलनको तयारीको लागि प्रदेश स्तरको बैठक,भेला र प्रशिक्षण सम्पन्न गरिएको र मुक्ति समाजको प्रनिनिधि चयनमा भने यसै समाजसँग सम्बन्धित जिल्ला समितिहरुले गर्ने नेपालीले जानकारी दिए । नेपालीका अनुसार सम्मेलनमा करिब ५ सय १४ जना प्रतिनिधिहरु गण्डकीका ११ वटै जिल्लाबाट सहभागि रहनेछ । भने यसलाई सम्पन्न गर्नको लागि धनबहादुर नेपालीको संयोजकत्वमै ५०५ सदस्य सम्मेलन व्यवस्थापन समिति बनाइएको छ । उक्त समाज २०४५ साल पौष ९ गते दलित समूदायको हक अधिकार र जातिय विभेद अन्त्यका लागि नेकपा एमालद्वारा गठित एक जनवर्गिय संगठन हो ।
नुवाकोट: नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बुधबार र बिहीबार नुवाकोट क्षेत्र नं १ का बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण भ्रमण गर्नुभएको छ । यही साउन २४ गते रातिको भीषण वर्षाले तादी खोलामा आएको बाढीले नुवाकोट क्षेत्र नं १ का कतिपय स्थानमा क्षति पु¥याएको छ । नुवाकोटको दुप्चेश्वर–३ राउतबेंसी, तादी– ४ सातबिसे र पञ्चकन्या– ४ थप्रेक जोड्ने पक्की पुल, पञ्चकन्या– २ आप्र र तादी– ५ बाहुनबेंसी जोड्ने पक्की पुल, पञ्चकन्या– १ को सिमारा फाँट र लिखु– ३ सूर्यमति र १ ढिकुरे जोड्ने पक्की पुल बाढीका कारण क्षतिग्रस्त भएका छन् । पञ्चकन्या र तादी जोड्ने पुलको क्षति अवलोकन गरेपछि प्रवक्ता डा महतले सडक कार्यालय र स्थानीय तहको समन्वयमा भत्किएको पुलको तुरुन्त पुनर्निर्माण गरी आवागमन पुनः सञ्चालनमा ल्याउन र बाढी पहिरो प्रभावित क्षेत्रका लागि थप बजेट उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो । आफ्नो गृह जिल्लाका प्राकृतिक प्रकोप पीडितलाई भेट्न पुग्नुभएका पूर्वमन्त्री डा महतले बाढीले सातबिसे र थप्रे जोड्ने तादी खोलामाथिको पुल पनि क्षतिग्रस्त बनाएको अनुगमनपछि आवागमन सहज बनाउन जतिसक्दो छिटो यसको पुनर्निर्माण गर्न नेपाल सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । आलो पहिरो नथामिएको र सिमसिम पानी परिरहेका बेलामा बाढी पहिरो प्रभावितसँग प्रत्यक्ष भेट्ने, राहत, क्षतिपूर्ति, पुनस्थापना तथा पुनर्निर्माणका बारेमा छलफल गर्ने उद्देश्यले बाढी पहिरोग्रस्त क्षेत्रमा डा महत पुग्नुभएको थियो । उहाँले पहिरोबाट अधिक प्रभावित राउतबेँसीको निरीक्षण भ्रमणपछि प्राकृतिक प्रकोपबाट पीडित र प्रभावित नागरिकहरुलाई राहत तथा विपद्बबाट भएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन र भत्किएका भौतिक संरचनाको पुनर्निर्माणका लागि शीघ्र कदम चाल्न सरकारसँग माग गर्नुभयो । बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण र प्रभावित नागरिकसँगको भेटपछि डा महतले स्थानीय जनप्रतिनिधिसँग राहत, पुनःस्थापना र पुनर्निर्माणको बारमा छलफल गर्नुभएको थियो । उहाँले स्थानीय जनप्रतिनिधिहरुलाई पहिले पहिरो र बाढीले पुर्याएको क्षतिको यथार्थ विवरण सङ्कलन गर्न, प्रभावितको सूची तयार पार्न र क्षतिग्रस्त भएका संरचनामध्ये सानातिना र थोरै रकमले हुने मर्मतसम्भार पालिकाको बजेटबाट सम्पन्न गराउन सुझाव दिनुभयो । प्रवक्ता डा महतले प्राविधिक सहयोग चाहिने र ठूलो रकम चाहिने संरचनाका हकमा प्रदेश सरकार र सङ्घीय सरकारसँग यथोचित बजेट यथाशीघ्र उपलब्ध गराउन आफूले पनि सक्दो सहयोग गर्ने वचन दिनुभएको थियो ।
भोजपुर: उत्पादित दूधले उचित मूल्य नपाउँदा भोजपुरका दुग्ध किसान मर्कामा परेका छन् । दैनिक उपभोग्य वस्तु तथा दुग्धजन्य परिकारको मूल्य बर्सेनि बढेपनि दूधको मूल्यमा भने वृद्धि हुन नसकेपछि उनीहरु मर्कामा परेका हुन् । दैनिक उपभोग्य वस्तुको मूल्य बढेपनि दूधको मूल्य भने विगत १० वर्षदेखि मूल्य समान रहेको किसानको गुनासो छ । बजार मूल्य वृद्धिका आधारमा दूधको मूल्य पनि बढाउनुपर्ने भोजपुर नगरपालिका–४ शिद्धेश्वरमा व्यावसायिक रुपमा पशुपालन गरिरहेका स्थानीय गणेश विष्टले बताउनुभयो । पशुलाई खुवाउनुपर्ने दानाको भाउको मूल्य वृद्धि भए पनि दूध भने दशवर्ष अघिकै मूल्यमा बेच्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । चौबीस वर्षीय किसान विष्टले पाँच वर्षदेखि व्यावसायिक रुपमा गाईपालन गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो,‘‘अन्य वस्तुको बजार मूल्य धेरै बढेको छ । गाईबस्तुलाई खुवाउने दानामा २५ देखि ३० प्रतिशतसम्म मूल्य बढेको छ । तर दूध भने पहिलाकै मूल्यमा बिक्री गर्दै आएको छु । यसको कारण व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था छ ।’’बजारमा दूधको मूल्य रु ७० देखि १०० सम्म भए पनि आफूले भने रु ४५ देखी ५५ सम्म मात्र पाउने गरेको उहाँको भनाइ छ । सरोकारवाला पक्षले दूधको मूल्य वृद्धि ध्यान नदिए पनि दुग्धजन्य वस्तुको मूल्यमा वृद्धि गर्न भने लागि परेको उहाँको भनाइ छ । खाने तेल, घ्यु, पनिर, छुर्पीको मूल्य दोब्बरले वृद्धि हुँदा किसानले पाउने मूल्य भने समान रहेको विष्टको भनाइ छ । ‘‘सरोकारवाला पक्षले ध्यान नदिँदा हामी किसान परेका छौँ’’ किसान विष्टले भन्नुभयो,‘‘अनेक दुःख कष्ट गरेर दूध उत्पादन गर्यो । बजारमा मूल्य बढ्ने होइन । एक पोका खाने तेलको मूल्य दोब्बरले बढेको छ । व्यावसायिक किसानलाई दूध बेचेको पैसाले दाना किन्न पनि पुग्दैन । ’’ केही किसानले दूध उत्पादनको लक्ष्य लिएर व्यावसायिक रुपमा पशुपालन गरिरहेका छन् । तर ती किसान पनि लगानी तथा मेहनत अनुसारको आम्दानी लिन नसकेको गुसानो गर्छन् । उनीहरुलाई उत्पादित दूध सहजरुपमा बजारसम्म जैलाने वातावरण छैन् । सदरमुकाम आसपासमा पर्ने बोखिम, दावा, पोखरे, खुरिला, ढुङ्गेलगायत ठाउँका मानिस पराम्परागत रुपमा भए पनि पशुपालन व्यवसाय गरिरहेका छन् । तर उनीहरुमध्ये बजारमा ल्याएर दूध बिक्री गर्न कमै मात्र उत्सुक देखिन्छन् । ग्रामीण भेगमा प्रशस्त मात्रामा दूधको उत्पादन भए पनि सडक तथा अन्य विविध कारणले किसानले बिक्री गर्न असम्भव छ । बजारमा लैजान समस्या हुने भएपछि ती भेगका मानिस खास व्यावसायिक रुपमा दूध उत्पादनमा लागेका छैनन् । स्थानीय सरकारले उपयुक्त वातावरण मिलाई दिए व्यावसायिक रुपमा लाग्ने किसान बताउँछन् । बजारसम्म दूध ल्याएर बेच्न किसानलाई सडकको समस्या छ । केही समय बजारमा ल्याएर दूध बेच्न थालेका किसान पछिल्लो समयमा आएर बेच्न छाडेको अनुभव सुनाउछन् । एक देखि डेढघण्टा लगाएर बिक्री गरेको दूधको खास आम्दानी नहुने भोजपुर नगरपालिका–५ बोखिमका किसान रुपनारायण फूँयालले बताउनुभयो । उहाँले भन्नुभयो,‘‘किसानले दूध बेचर आम्दानी लिने अवस्था छैन । किसानले बजार लगेर बेचेको दूधबाट बनेको परिकारको मूल्य बढ्छ । तर किसानले भने वर्षौँदेखि उही मूल्य पाउने अवस्था छ । दूध बिक्री गरेर घर खर्च धान्न नै समस्या छ ।’’व्यावसायिक रुपमा दुग्ध व्यवसाय सञ्चालन गरेकाले दही, घ्यु, पनिर, छुर्पी लगायतको मूल्य बर्सेनि बढाए पनि दूधको मूल्य बढाएर दिन नमान्ने समस्याले पनि दूध बिक्री गर्न छाडेको स्थानीय किसान थापा धनबहादुर थापाको भनाइ छ । उहाँले भन्नुभयो,‘‘हामी किसानले उद्योगमा लगेर बिक्री गर्दा ४५ देखि ५५ रुपैँया पाउछौँ । मैले बिक्री गर्न थाल्दा यही मूल्य थियो । उद्योगले प्रति केजी रु ८०० मा बिक्री हुँदै आएको घ्यूको मूल्य रु एक हजार दुई सय र रु ८० मा बेच्दै आएको दही रु ९० पुगेको छ । तर दूधको मूल्य बढाउन व्यवसायी मान्दैनन् । हामी किसान मारमा छौँ ।’’ व्यावसायिलाई दूधको मूल्य बढाउन अनुरोध गर्दा दूधको गुणस्तर राम्रो भएकोलगायत बहाना देखाएर बढाउन नचाहने किसानको दुःखेसो छ । किसानको दूधको मूल्य नबढाए पनि दुग्धजन्य वस्तुको मूल्य भने बर्सेनि बढ्ने गरेको उनीहरुको भनाइ छ । दूग्ध उद्योग क्षेत्रकोे विकासका लागि प्रदेश सरकार तथा पशु र कृषि कार्यालयले प्रोत्साहन गर्दै आएका छन् । तर अनुदान लिएका उद्योगी तथा व्यवसायीले यस क्षेत्रको विकास र विस्तारमा लगानी गर्न नसकेको स्थानीयवासीको भनाइ छ । सरकारले अनुदानको कार्यक्रम सञ्चालन गर्दा अनुगमन तथा प्राथमिकतालाई कडाइका साथ पालनन गराउनुपर्ने आवश्यक रहेको उनीहरुको ठहर छ । उद्योगको विकास तथा विस्तार गर्नुको सट्टामा व्यवसायी अनुदानमुखी बन्दा उद्योगको विकास भन्दा पनि व्यक्तिलाई मात्र लाभ पुगेको सरोकारवाला पक्षले बताउने गरेका छन् । समय/समयमा यहाँका दुग्ध उद्योग तथा व्यवसायीले विभिन्न ठाउँबाट अनुदान सहयोग पाएका छन्, तर ती उद्योगले खास उपयुक्त ढङ्गले यस क्षेत्रको विकासमा लगानी नगरेको स्थानीयवासीको भनाइ छ । बजारमा विभिन्न समयमा दूधको अभाव हुनुमा व्यवस्थापन राम्रो नभएको स्थानीय किसानको भनाइ छ । यहाँ उत्पादन भएको दूधलाई बजारीकरणको लागि सहजता प्रदान गर्न सके बजार धान्न समस्या नहुने स्थानीयवासीले बताउने गरेका छन् ।
पाल्पा: पाल्पाको रैनादेवीछहरा गाउँपालिका–१, मा पौडी खेल्ने क्रममा डुबेर गए राति एकजनाको मृत्यु भएको छ । गुल्मीको छत्रकोट गाउँपालिका–३ चोयघा घर भई हाल मामाघर आएका १४ वर्षीय मनोज रेश्मीको डुबेर मृत्यु भएको हो । मामाघर नजिकै डमराई पोखरीमा पौडी खेल्ने क्रममा उनी डुबेर बेहोस भएका थिए । बेहोस भएका रेश्मीलाई उपचारका लागि युनाइटेड मिसन अस्पताल तानसेन लगिएको थियो । उनको जिल्ला अस्पताल तानसेनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौँ: सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु सात सयले बढेर रु ९७ हजार तीन सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार छ सयमा कारोबार भएका थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार एक सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला रु एक हजार दुई सय २५ कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासङ्घले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
म्याग्दी: म्याग्दीमा धान बालीमा गभारो रोगको प्रकोप देखिएको छ । धान बालीमा रोग देखिएपछि किसान चिन्तित बनेका छन् । रासायनिक मलको अभाव भएपछि बिना मल नै रोपाइँ गरेका किसान धानले राम्रोसँग गाभा हाल्न नपाउँदै गभारो लाग्न थालेपछि उत्पादन घट्ने चिन्ताले पिरोलिएका हुन् । जिल्लाको रघुगङ्गा, मङ्गला, मालिका र बेनी नगरपालिकाका लेकाली क्षेत्रमा लगाएको बर्खे धान बालीमा गभारो देखिन थालेको छ । रघुगङ्गा गाउँपालिकाका किसानले लगाएको धान बालीमा गभारोको प्रकोप देखिन थालेको गाउँपालिकाले जनाएको छ । सिँचाइ पर्याप्त हुने ठाउँमा कम र सुक्खा स्थानमा गभारोको प्रकोप बढी रहेको गाउँपालिका कृषि शाखाले जनाएको हो । रोपाइँ गर्ने समयमा पानी नपरेपछि मुस्किलले धान रोपाइँ भएका ठाउँमा गभारोको प्रकोप देखिएको कृषि प्राविधिक सविना पौडेलले जानकारी दिनुभयो । त्यसैगरी पश्चिमी म्याग्दीको मङ्गला गाउँपालिकामा पनि गभारोले सखाप पार्न थालेपछि स्थानीय धानको बिरुवा नै उखेलेर गाउँपालिकामा ल्याएर फालिदिएका मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो । बानियाँका अनुसार मङ्गलाको सिमलचौर, रणवाङ, बाबियाचौर, छिस्वाङ, सेराफाँट, पोकलगायत धान धेरै उत्पादन फाँटमा गभारोले धानबाली सखाप पारेको छ । गाँउपालिकाका जनप्रतिनिधि र कृषि प्राविधिकले स्थलगत अनुगमन गरी विषादी वितरण गरिएको र गभारो नियन्त्रणका लागि स्थानीय कृषकलाई आवश्यक जानकारी दिइएको बानियाँले बताउनुभयो । तातो मौसम गभारो प्रजातिका किराका लागि अनुकूल हुने विज्ञको भनाइ छ । गभारोका कारण धान उत्पादनमा ह्रास आउँछ । यो समय गभारो मात्र नभई धानमा अन्य समस्यासमेत देखिने भएकाले किसान सचेत रहनुपर्ने प्राविधिकले बताएका छन् । गभारोको प्रकोप देखिएको धानको बोट पहिला रातो हुने, जरा कुहिने र बोटै सुकेर मर्ने गरेको ज्यामरुककोटका किसान नारायण सापकोटाले बताउनुभयो । कृषि प्राविधिकका अनुसार गभारो नियन्त्रणका लागि धानका बेर्नाको पातको टुप्पोमा देखिएका फूललाई नष्ट गर्नुपर्दछ । त्यसैगरी धान काटिसकेपछि ठुटा जलाइदिने गरेमा पनि अर्को वर्ष गभारो लाग्न कम हुन्छ ।
कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न स्थानबाट लागुऔषधसहित ८ जनालाई प्रक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यलयबाट खटिएका प्रहरी टोलीले कास्की जिल्लाका विभिन्न ३ स्थानबाट ८ जनालाई लागू औषध सहित प्रकाउ गरेको हो । प्रकाउ पर्नेमा कास्की अन्नपूर्ण गाँउपालिका वडा नं. ९ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. १४ चाउथे बि.पी मार्ग बस्ने २१ वर्षीय प्रमिस गुरुङ, म्याग्दी घर भई हाल पोखरा महानगरपालिका वडा नं. ३ नदीपुर बस्ने २८ वर्षीय दिपक पुन, सोही स्थान बस्ने २५ वर्षीय प्रदिप फगामी, पर्वत घर भई हाल पोखरा महानगरपालिका १८ अधेरीकना बस्ने ३० वर्षीय लबिन पुन रहेका छन् । यसैगरि पोखरा आउने क्रममा लुम्बिनी साांस्कृतिक नगरपालिका २ बस्ने २० वर्षीय द्वारिका लोध रुपन्देही कै मायादेवी गाँउपालिका ६ बनगाई बस्ने १७ वर्षिय किशोर, पोखरा महानगरपालिका११ रानिपौवा बस्ने २७ वर्षीय सन्दिप गुरुङ र पोखरा ११ काँहुडाँडा बस्ने २७ वर्षीय विश्व कार्की रहेका छन् । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतबाट लागुऔषध कसुरमा मुद्धा दर्ता गरि थप अनुसन्धान प्रकिया अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ ।

