काठमाडौं: नेकपा (एमाले) को केन्द्रीय स्कुल विभागले आउँदो भदौ २ गतेदेखि प्रशिक्षण सञ्चालन गर्ने भएको छ । विभागले तय गरेको वार्षिक कार्ययोजनाअन्तर्गत पहिलो चरणमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), राष्ट्रिय युवा सङ्घलगायत जनसङ्गठनका केन्द्रीय तहका कार्यकर्ता तथा नवप्रवेशीलाई तीन दिने प्रशिक्षण दिइने उल्लेख छ । पार्टीका उपमहासचिव एवं स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीको अध्यक्षतामा भएको बैठकले माक्र्सवादी दर्शन र पार्टी जीवनमा त्यसको प्रयोग, जनताको बहुदलीय जनवाद र समृद्ध नेपालको निर्माण, पार्टीको दशौँ महाधिवेशनको कार्यदिशा, आजको सन्दर्भमा सङ्गठनात्मक व्यवस्थापन र पार्टी जीवनमा सूचना प्रविधिको प्रयोग लगायतका विषयमा नेताले प्रशिक्षण दिने तय गरेको हो । विभागले आगामी पुसपछि प्रशिक्षक प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गर्ने गरी बनाएको योजनालाई चाँडै अन्तिमरुप दिँदैछ ।
काठमाडौँ: काठमाडौँ बालाजुस्थित जुत्ता काराखानामा लागेको आगो निभाउने प्रयास जारी छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपासमा सञ्चालनमा रहेको ‘अन वल्र्ड फुटवेयर’मा आज बिहान अन्दाजी ११ बजेर ३५ मिनेट जाँदा आगलागी भएको थियो । जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा आउन लागेको जानकारी दिनुभयो । उहाँले काठमाडौँ, ललितपुर महानगरपालिका, भक्तपुर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सातवटा दमकलको प्रयासले आगलागी नियन्त्रणमा लिने कार्य भइरहेको बताउनुभयो । श्रीराम पाण्डेले सञ्चालन गरेको उक्त जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा लिनका लागि जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुखसहितको टोली, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा खटिएको थियो । प्रवक्ता मैनालीका अनुसार घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी गरी चार सय हाराहारीमा सुरक्षा जनशक्ति र २० निजी पानी ट्याङ्करको प्रयोग गरिएको थियो । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
काठमाडौँ: काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा आगलागी भएको जानकारी दिनुभयो । अहिले उक्त स्थानमा प्रहरी टोली पुगिसकेको छ । यस्तै आगलागी नियन्त्रणमा लिन दमकलको समेत प्रयोग भइरहेको प्रहरीले जनाएको छ ।
म्याग्दी: मानिसको जीवनमा निकै विरोधाभाषपूर्ण स्थिति पनि उत्पन्न हुँदोरहेछ भन्ने गतिलो उदाहरण बन्नु भएको छ म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा । उमेरले ९७ औं वसन्त पार गरेपनि उहाँले जीवनमा कहिल्यै पनि सुख प्राप्त गर्न सक्नुभएन । स्वस्थ शरीर र फरासिलो अनुहार भएपनि मनभित्र पीडा र दुःखको सुनामी चलिरह्यो । करिब एक दशकअघि खुट्टामा चोट लागेर अस्पतालमा जानुबाहेक यो उमेरसम्म बिरामी भएर कहिल्यै सुत्न नपरेको भए पनि नियतिले उहाँलाई सुखसँग कहिल्यै बस्न दिएन । श्रीमती खिरकुमारीसँग सामान्य छाप्रोमा बस्दै आउनुभएका थापा दम्पत्तिलाई स्याहारसुसार गर्ने आफ्नै सन्तान छैनन् । झण्डै ४० वर्षअघि छोरा मीनबहादुर थापाको युवावस्थामा नै मृत्यु भएपछि थापा दम्पतीको जीवनमा कहिल्यै निको नहुने घाउ (पीडा) थपियो । त्यतिबेला त जेनतेन सहेरै बसे तर बुढ्यौलीले गाँज्दै गएपछि र काम गर्न नसक्ने भएपछि त्यही घाउ (छोरा नहुनुको पीडा) चहयौइरह्यो, दुखी रह्यो । थापा दम्पत्तिका मुख नबोल्ने एउटी छोरी पनि विवाह गरेर बेनी नगरपालिका–३ तोराखेत पुगेकी छन् । बाहिर देख्दा स्वस्थ शरीर र हँसिलो मुद्रामा देखिने थापा लठ्ठीको सहाराले गाउँ घुम्ने र इष्टमित्रले दिएका अन्न, तरकारी, दूध–दही ल्याएर खाने गर्नुहुन्छ । उहाँको निधारमा चन्दन त कहिल्यै छुट्दैन् तर जीवनको एक मात्र सहारा (पत्नी) पनि आफूभन्दा पहिला छुट्लिन् (मृत्यु होला) कि भन्ने पिरले उहाँलाई सताउने गर्दछ । सम्पत्तिका नाममा थापाको न बास छ, न खाने गाँस । आफ्नै भाइको गोठमा बुढेसकालका दिन गनिरहेका थापा दम्पतीलाई बिरामी हुँदा र साह्रोगाह्रो पर्दा दाजुभाइका छोराहरू दुर्गाबहादुर र हिराबहादुरले हेर्ने गर्नुहुन्छ । वृद्धभत्ता नै बाँँच्ने सहारा मनमा जति पीर र चिन्ता भए पनि थापा दम्पत्ति खानेकुराको भने सौखिन नै हुनुहुन्छ । जेष्ठ नागरिक सुरक्षा भत्ताबाट प्राप्त हुने रकम र इष्टमित्रको सहयोगले थापा दम्पत्तिलाई के खाउँ र के लाउँको समस्या भने छैन । बिहान ६ बजे उठेर शौचादी कर्मपछि घरको तलपट्टिको धारामा नुहाएर आएपछि निधारमा चन्दन लगाएर दैनिक एक घण्टा हात जोडेर भगवानको नाम उच्चारण गर्दै बस्नुहुन्छ । त्यसपछि चिया बनाएर खाएपछि लठ्ठीसहित गाउँमा निस्कने थापा ९ बजेतिर खाना खान घर आउने र खाना खाएपछि छिमेकीको घरमा गएर ठ्ट्यौला कुरा गरेर हसाउने छिमेकी पदमपाणी शर्माले बताउनुहुन्छ । “मनमा जति ठूलो पीर भए पनि मुहारमा कहिल्यै पनि देखाउनु भएन, यो उमेरसम्म बिरामी भएर सुतेको कहिल्यै थाहा पाइएन्” शर्माले भन्नुभयो । उमेरले नेटो काटे पनि उहाँको स्वभाव भने बालसुलभ नै छ । स–साना बालबालिकासँग जिस्कदै अझै केटाकेटीसँग खेल्ने र रमाउने उहाँको बानी रहेको छ । रोगले छोएन, दुःखले छोडेन पचास वर्षको उमेर पार गर्न नपाउँदे नानाभाँतीका रोगले सताउने गरेको अहिलेका मानिसका लागि थापा अपवाद हुनुहुन्छ । रोगको बारेमा सोध्दा उहाँले ठट्यौली शैलीमा भन्नुभयो, “चिनी खाँदा मुख गुलियो र करेला खाँदा मुख तीतो हुने रोग छ बाबु मलाई । राति अलि धेरै खाँदा पेट साह्रो हुन्छ, बिहान उठ्दा गिलोगिलो हुन्छ, अरु त केही हुँदैन ।” उमेरमा अरुको ज्याला मजदूरी र बनिबुतो गरेर जीविका चलाएकी उहाँकी श्रीमती खिरकुमारी पनि कम रङ्गिली हुनुहुन्न । असी वसन्त पार गरिसकेकी खीरकुमारीका दुःख भनिसाध्य छैन । बिहान उठेदेखि राति नसुतुन्जेलसम्म घरधन्दाले कहिल्यै नछोड्ने खिरकुमारीले विगतलाई सम्झँदै भन्नुभयो “घर पनि थियो, कमाइ खान अलिअलि सम्पत्ति पनि थियो, तर ३९ वर्षअघि छोराको मृत्यु भएपछि अब किन चाहियो र भनेर बेचिदियौँ अनि झारेगैरा (तराई) गयौं, त्यहाँ पनि बस्न मन लागेन र फेरि फर्केर आफ्नै गाउँमा आयौं, अहिले यहीँ आफ्नो मृत्युका दिन कुरेर बसेका छौंँ ।” ‘सय कटे बिहे गर्थें’ मनमौजी थापाका उट्पट्याङ कुराले सुन्नेहरुलाई पेट मिचीमिची हाँस्न बाध्य बनाउँछन् । उहाँका रसिला गफ सुन्न गाउँका बुढापाका मात्र नभई केटाकेटी र युवायुवती झुम्मिने गर्छन् । अस्ति आइतबार साँझ छिमेकीको घरमा गफिन आउनु भएका थापालाई ‘तपाइँको रहर के छ’ भनेर जिज्ञासा राख्दा थापाले भन्नुभयो “सय वर्ष कटेपछि बिहे गर्ने रहर छ ।” थापाको कुरा सुनेपछि छिमेकी पदमपाणी मरीमरी हाँस्नुभयो । बिरामी परेर अहिलेसम्म उपचारमा रकम खर्च गर्न नपरेका थापा दम्पतीले ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रमअन्तर्गतको सामाजिक सुरक्षा भत्ता पाउँछन् । सोही रकमले घरको केही खर्च चल्ने गर्छ । अझैसम्म पनि थापा दम्पत्तिले खसीको मासु खान छोड्नु भएको छैन । गाउँमा खसी काटे भने सबैभन्दा पहिला थापा नै पुगेर आफ्नो भाग माग्नु हुन्छ । घरमा ल्याएर प्रेसर कुकरमा धेरैबेर पकाएपछि बूढाबूढीले जिस्कदै खाने उहाँका छिमेकी शर्माले बताउनुभयो । श्रीमती खिरकुमारीलाई आफूले फकाएर विहे गरेको र माइतबाट भगाएर घरमा ल्याएको बताउने थापाले आफ्नी श्रीमतीलाई ‘च्याखुरी बजै’ भनेर जिस्क्याउनुहुन्छ । “पहिला त मलाई खुब मन पर्थिन यिनी, अहिले त ।” भनाइ पूरा नगरिकन खित्का छोडेर हाँस्दै थापाले भन्नुभयो “सय वर्षसम्म बाँचे भने त अर्की ल्याएर सबैलाई देखाउँथे ।” रातका साथी कुकुर दिनभरि गाउँ घुमेर र छिमेकीहरुसँग गफिएर समय बिताए पनि रात परेपछि भने थापा दम्पत्तिलाई निकै नियास्रो लाग्ने गर्छ । नाता सम्बन्ध, घर व्यवहार र समय परिवेशका कुरा गर्न नपरेपछि सधैंभरि बूढाबूढीले गन्थन गर्ने विषय भनेको एउटै हुन्छ ‘छोराछोरी भैदिएको भए कति जाति हुन्थ्यो होला ?’ रात अवेरसम्म निद्रा नलागेपछि बूढाबूढी बाहिर निस्केर आँगनमा बस्नुहुन्छ । त्यहाँ बस्दै आएको कुकुर थापा दम्पत्तिको साथी बन्छ । उहाँले एउटा सेतो कुकुर पाल्नु भएको छ । घरको सुरक्षा गर्नेदेखि देखि बूढाबूढीको साथी बनेको त्यस कुकुरलाई उहाँहरुले ‘सेते’ नामले बोलाउनुहुन्छ । त्यही कुकुरलाई सुम्सुम्याउनुहुन्छ, माया गर्नुहुन्छ र एकोहोरो आफ्नो कुरा कुकुरलाई सुनाउनुहुन्छ । “बुढेसकालमा सहाराविहीन भएर बाँच्नु पर्दा निकै ठूलो पीडा हुँदोरहेछ,” थापाले भन्नुभयो “यही पीडा सहन नसकेर पटकपटक म्याग्दी खोलामा हेलिएर दुवैजना मरौं भनेर श्रीमतीलाई भनें तर उनी मान्दै मानिनन् र अहिलेसम्म बाँचिएको छ ।” ठट्यौला थापाका यस्ता निरस लाग्ने कुराले सबैका आँखा रसाएर आउँछ ।सदरमुकाम बेनी बजारनजिकै रहेको बगरफाँट गाउँमा बस्ने भएकाले थापा दम्पतीलाई समय समयमा बेनीमा रहेका सङ्घसंस्था र व्यक्ति अनि गाउँलेहरूबाट पनि लत्ताकपडा, खाद्यान्न तथा नगद सहयोग हुने गरेको छ । खिरकुमारीले पनि ८० वसन्त पार गरिसक्नुभएको छ । शारीरिक रूपमा थापाभन्दा अलि सबल भएकी हुँदा खाना बनाउने, कपडा धुने र भाँडाकुँडा सफा गर्ने काम पत्नी खिरकुमारीले नै गर्दै आउनुभएको छ । “शरीरमा थोरै तागत भएका बेला आफैं काम गर्दै आएका छौँ,” खिरकुमारीले भावुक बन्दै भन्नुभयो “बुढेसकालले छोपेपछि जीउन निकै सकस भएको छ । हातखुट्टा चल्नै छाडेपछि कसको सहारामा बाँच्ने हो, निकै चिन्ता छ । निकै कष्टकर जीवन बिताउनु परेको छ । यस्तो कसैलाई पनि नपरोस् ।”थापा दम्पत्तिको यस्तो दुःख देखेर थापाका दाजुभाइका छोराहरु हीराबहादुर, दुर्गाबहादुर र हर्कबहादुरले आफैँसँग राख्न वा खाली रहेको घरमा बस्न पटकपटक आग्रह गरेपनि थापा दम्पत्ति मान्नुहुन्न । उहाँहरु भन्नुहुन्छ “बुढेसकालमा यही गोठमा नै आनन्द छ, घर लिपपोत गर्ने सामथ्र्य छैन ।” हजुरबुबा र आमाको दुःख कम गर्न हाल जापानमा रहनुभएको उहाँका नाति सागर थापाले खाद्यान्न, लत्ताकपडा लगायत अन्य कुराहरुको सहयोग गर्ने, घर लितपोत गर्न एक जना मान्छे राखिदिने बताए पनि थापा दम्पत्तिले मान्नु भएन । उहाँ भन्नुहुन्छ “यो उमेरमा अरुलाई दुःख दिन मन नै मान्दैन । नातिको पनि आफ्नै समस्या छन्, घर व्यवहार छ, ठूलै समस्या परे गुहार्नुपर्छ, अहिले जनतन चलेकै छ, त्यसैले उनीहरुलाई दुःख दिन पनि मनले मान्दैन ।’’आफूले दुःख पाएर पनि अरुलाई दुःख दिन नचाहने थापा दम्पत्ति गाउँमा सबैका प्यारा हुनुहुन्छ । कसैलाई तीतो वचन नबोल्ने र आफ्ना दुःख सितिमिति अरुलाई नदेखाउने स्वभावका थापाको गाउँलेहरुले पनि दीर्घजीवन र आरोग्यताको कामना गर्ने गरेका छन् ।
ललितपुर: ललितपुर महानगरपालिकामा बसोबास गर्ने ज्येष्ठ नागरिकले रु १० हजार भत्ता पाउने भएका छन् । ज्येष्ठ नागरिकले चाडपर्व हाँसीखुसी मनाउन पाउन् भनी महानगरपालिकाले उक्त काम अघि बढाउने भएको हो । उमेर ढल्केका वृद्धवृद्धाको अवस्थालाई मध्यनजर गरी प्रत्येक बडादशैँ ताका वर्षको एकपटक रु १० हजार दिने निर्णय गरिसकेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “यो रकम पाएसँगै समाजका जिउँदो इतिहास बूढापाकाको मन ज्यादै हर्षित हुनेछ । उहाँहरूलाई चाडपर्व मनाउन सन्तानसँग हात थाप्नु नपरोस् भनी यस कामलाई अघि बढाउन लागेका हौँ ।” महानगरपालिकाले गत वर्षसम्म उक्त उमेर समूहका नागरिकलाई रु पाँच हजार दिने गरेकामा यस वर्ष रु पाँच हजार थप गरी रु १० हजार दिने भएको महर्जनले जानकारी गराउनुभयो । लपु महानगरपालिकामा लगभग सात हजार ज्येष्ठ नागरिक रहेका बताइएको छ । यसैगरी आफूहरूले ‘ज्येष्ठ नागरिकसँग महानगरपालिका’ कार्यक्रमअन्तर्गत कार्यविधि बनाएर उक्त किसिमका व्यक्ति बिरामी पर्दा उहाँहरूको सेवा र रेखदेखमा खटिने मानिस अभाव भएको जानकारी पाएमा मेडिकल समूह गठन गरी घर–घरमा उपचारका लागि पठाउने विषयतर्फ पनि ध्यान दिने महर्जनले सुनाउनुभयो । महानगरमा ९० प्रतिशत घरमा नम्बरप्लेट जडानको काम सम्पन्न भइसकेको महर्जनको भनाइ छ । “महानगरपालिकामा कुल ८१ हजार घर सङ्ख्या छन् । यसमा मात्र १० प्रतिशत घरमा प्लेट जडान गर्न बाँकी छ । प्लेट जडान सम्पन्न भएसँगै हामीले जिपीएस प्रणालीमार्फत हरेक व्यक्तिको घर पत्ता लगाउन सजिलो हुने वातावरण तयार गर्नेछौँ”, उहाँले थप्नुभयो, “यसका साथै हामीले महानगरका टोल–टोलमा प्रचलित र रैथाने नामको नामकरण गरी प्रत्येक नागरिकलाई वारपार गर्न सहज अवस्था सिर्जना गरिदिएका छौँ ।”
पोखर । २८ औं विश्व आदिवासी दिवसमा तमु धिं नेपालले यसै वर्ष एसईई उतिर्ण तमु विद्यार्थीहरुलाई सम्मानसहित“तमु जातिको शैक्षिक अवस्था र अबको शिक्षा”विषयक अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा.गणेशमान गुरुङले तमुहरुले अब देशमै शासन प्रशासनमा पुग्ने र विश्व जगतमा बिक्ने शिक्षामा जोड दिनुपर्ने मार्गनिर्देशन गर्नुभयो। उहाँले शैक्षिक, प्रशासनिक, राजनीतिक, व्यवसायिक, सामाजिक लगायत विभिन्न क्षेत्रमा नाम कमाएका तमुहरुको उदाहरण प्रस्तुत गर्नुहुदै प्रमाणपत्र थन्किने अर्थात खाडी र मलेशिया दौडनुपर्ने शिक्षा नभई नेपालमै शासन प्रशासन, निति योजना निर्माण गर्ने, नयाँ क्षेत्रहरुलाई सम्बोधन गर्ने र विश्वमा माग भएका शिक्षामा ध्यान दिनुपर्ने बताउनुभयो। यी सबैका मुलभुत विषय भनेको विज्ञान, गणित र अग्रेजी भएको भन्दै उहाँले विज्ञान, प्रविधी, इञ्जिनियरिङसँग सम्बन्धित आइटी, इन्टरप्रेनरशिप, टुरिजम एण्ड मेनेजमेण्ट, माइन्स इञ्जिनियरिङ, टनेल इञ्जिनियरिङ, माउण्टेन एग्रिकल्चर, मेडिकल साइन्स, कानुन, जर्नालिजम जस्ता विषयहरु विद्यार्थीहरुको रोजाई हुनुपर्दछ उहाँको भनाई थियो। विद्यार्थीको रोजाई राम्रो हुनुपर्दछ र अभिभावकले आवाश्यक सहयोग र उचित नियन्त्रण गर्न जरुरी रहेको कुलपति गुरुङको आग्रह थियो। यसरी नै संघ संस्थाहरुले यसरी नै अनुशिक्षण, प्रशिक्षण कार्यक्रम नियमित रुपमा अघि बढाउन आग्रह गर्दै शासन, प्रशासन, शैक्षिक विषयमा कुनै सल्लाह सुझाव चाहिएमा आफ्नो तर्फबाट सक्दो सहयोग हुने उहाँको भनाई थियो। तमु धिं नेपालमा आयोजित कार्यक्रम तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कुलपति प्रा.डा.गणेशमान गुरुङ र डा.चन्द्रबहादुर गुरुङले एसईई उतिर्ण तमु विद्यार्थीहरुलाई बधाई, सम्मान र आर्शिवाद प्रदान गर्नुभएको थियो भने तमु साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङले शुभकामना, तमु धिं नेपालका केन्द्रिय सदस्य एवम शिक्षा विभाग संयोजक श्रीजंग गुरुङले स्वागत, वरिष्ठ उपाध्यक्ष सुमे.श्रीप्रसाद गुरुङले धन्यवाद व्यक्त र सचिव जुमकाजी गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको विभिन्न स्थानबाट ४ जनालाई लागुऔषधसहित प्रकाउ गरेको छ । कास्की प्रहरीका अनुसार पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका–९ स्थायी घर भइ हाल पोखरा–३० खत्रीचोक बस्दै आएका ४४ वर्षिय ईन्द्रमान गुरुङ (सन्तोष), पोखरा–१३ बाझापाटन बस्ने ४० वर्षका विकास गुरुङ, पोखरा–३१ भलाम बस्ने सावाँ वि.क र पोखरा–३० घर भइ हाल बगालेटोल बस्दै आएका ५३ वर्षिय कुमार गुरुङ रहेका छन् । उनीहरुको साथबाट विभिन्न परिमाणमा डाईजेपाम, फेनेरागन, नुर्फिन लगायतका ३७० एम्पुल अवैध लागु औषध बरामद गरेको कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी सुन्दर तिवारीले जानकारी दिए । उनका अनुसार उनीहरुलाई लागुुऔषध सम्बन्धि कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
पोखरा । नेपाल रेडक्रस सोसाइटीले पोखरा महानगरपालिकालाई ‘पोखरा जलवायु पविर्तन अनुकूलन तथा विपद् जोखिम न्यूनीकरण सिकाइ केन्द्र’ सञ्चालनका लागि सूचना प्रविधि तथा कार्यालय व्यवस्थापन सामाग्रीहरू हस्तान्तरण गरेको छ । विपद् उत्थानशीलता अभिवृद्धि गर्ने लक्ष्यका साथ एफसिडियोको आर्थिक सहयोग र ब्रिटिस रेडक्रसको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी कास्की मार्फत पोखरा महानगरपालिकालाई ती सामाग्रीहरू हस्तान्तरण गरिएको हो । पोखरा महानगरपालिकाको तर्फबाट सहयोग सामाग्री ग्रहण गर्दै प्रमुख धनराज आचार्यले विपद् व्यवस्थापनको कार्यमा आफूहरू एकीकृत योजना बनाएर लागेको बताउनुभयो । कुनै पनि प्रकारका विपदहरुमा तत्काल रेस्पोन्स सहित राहत तथा उद्धारको काम गर्ने गरी विपद् सम्बन्धी महानगरको संयन्त्रलाई एकै स्थानबाट सञ्चालन गर्ने र त्यसलाई २४ सै घण्टा तयारी हालतमा राख्ने योजनाका साथ काम भइरहेको प्रमुख आचार्यले बताउनुभयो । रेडक्रसको समन्वयमा प्राप्त विपद् जोखिम सिकाइ केन्द्र सञ्चालनका लागि सूचना प्रविधि तथा कार्यालय व्यवस्थापन सामाग्रीहरूको पूर्ण सदुपयोग गर्ने विश्वास समेत दिलाउनुभयो । सूचना केन्द्र तथा सामाग्रीहरू हस्तान्तरण गर्दै नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका कार्यवाहक अध्यक्ष दण्डराज शर्माले विपदमा परेका नागरिकहरूलाई तत्काल उद्धारका लागि व्यवस्थित सूचना प्रणाली सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । शर्माले पोखरा र आसपासका क्षेत्रमा बेलाबखतमा देखिने विपद्का घट्नाहरुलाई तत्काल व्यवस्थापन गर्न आफूहरू महानगरसँग मिलेर काम गर्न तयार रहेको बताउनुभयो । सो अवसरमा मनिन्द्र स्थापितले सूचना केन्द्रका बारेमा जानकारी दिनुभयो । समुदाय स्तरदेखि नै जनचेतना अभिवृद्धि गर्दै विपद् न्यूनीकरण र पूर्व तयारीलाई भरपर्दो बनाई जलवायु परिवर्तन अनुकूलन तथा विपद् जोखिम न्युनिकरणलाई विकास योजनामा प्रवाहीकरण गरी जनसहभागितामा आधारित उत्थानशील समुदाय निर्माण गर्न आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । विपद् जोखिम न्यूनीकरण सिकाइ केन्द्रले समुदायमा आइपर्ने विभिन्न प्रकारका विपद् तथा जलवायु परिवर्तनका असर र तिनका कारक तत्त्वहरूको पहिचान र त्यसबाट सुरक्षित रहन आवश्यक सूचना व्यवस्थापनमा सहयोग गर्नेछ । रेडक्रसले सूचना केन्द्र सञ्चालन सम्बन्धी ६ प्रकार र फर्निचर सम्बन्धी ६ प्रकारका सामाग्रीहरू प्रदान गरेको छ । पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन समितिका संयोजक रुद्रनाथ बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रेडक्रस कास्कीका कार्यक्रम संयोजक देवनारायण पौडेलले गर्नुभएको थियो ।
भक्तपुर । भक्तपुर–सूर्यविनायक नगरपालिका–७ गुन्डुस्थित पाथिभरा मन्दिर परिसरमा नेपालकै पहिलो द्वारकाधाम निर्माण हुने भएको छ । भारतको चारधाम उतराखण्डस्थित बद्रिनाथ, तामिलनाडुस्थित रामेश्वरम, गुजरातस्थित द्वारकाधाम र उडिसास्थित जगनाथपुरीलाई भनिन्छ । गुजरातस्थित द्वारकाधाम स्वरुपको धाम बुधबार शिलान्यास गरिने पाथिभरा मन्दिरका मूल पूजारी गुरु अरविन्द शास्त्रीले जानकारी दिनुभयो । हिन्दू धर्मावलम्बीले मान्दै आएको चार धाममध्येको एक धाम हो द्वारकाधाम । नेपालका नागरिक द्वारकाधामको दर्शन गर्न गुजरात जाने गर्छन् । नेपालमा मुक्तिनाथ, पाशुपत, रुरु, र बरहा क्षेत्रलाई चारधाम भनिन्छ । नेपालमा निर्माण हुन लागेको द्वारकाधामका लागि करिब आठ रोपनी जग्गा अर्जुन बस्नेतलगायतले उपलब्ध गराउनुभएको र यसका लागि रु २० करोड खर्च लाग्ने अनुमान गरिएको छ । मन्दिर स्थानीय, प्रदेश र सङ्घीय, सरकार तथा विभिन्न दाताको सहयोगमा गरिने नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिनुभयो ।

