पोखरा:   बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ ।  तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...

  काठमाडौं:  नेपाल प्रहरीले सिक्री लुटपाट गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले सिक्री लुटपाट गरी भाग्दै गरेका अवस्थामा काठमाडौँ माछापोखरी बस्ने सुनसरी धरान उपमहानगरपालिका–८ का २८ वर्षीय ज्ञानेन्द्र सेञ्चुरीलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।   पक्राउ ज्ञानेन्द्रले काठमाडौँको माछापोखरी बस्ने नुवाकोटकी ५९ वर्षीया एक महिलाले घाँटीमा लगाएको पहेँलो धातुको सिक्री लुटेर फरार भएका थिए । उनलाई प्रहरीले टोखा नगरपालिका–८ जाल्पाचोकबाट पक्राउ गरेको हो । प्रहरीले ज्ञानेन्द्रसँग तीन थान सिक्रीसमेत बरामद गरेको छ । 

  गण्डकी:  साउन महिनाको तेश्रो सोमवार पोखरा १७ रातोपैह्रास्थित ओमकारेश्वर महादेव मन्दिरमा आज विहानैदेखि दर्शनार्थिको भिड लागेको छ ।   रातोपैह्रा सामुदायिक वन समुहमा अवस्थित शिव र गणेश मन्दिरको दर्शन पुजा आराधना सहित १०८ शिवलिङ्गमा गाईको दुध र सेतीनदीको पवित्र जल अर्पण गर्ने श्रद्धालु भक्तजनाको भिड लागेको हो ।   साउन महिना र सोमवार भगवान शिवकोवारका रुपमा लिइन्छ । उक्त दिन शिवको पुजा आराधना एवम् दर्शन गर्नाले मनोकांक्षा पुरा हुने विश्वास भक्तजनामा रहेको छ । भक्तजनले सेतीनदीमा स्नान गरि पवित्र जल ल्याएर शिवलिङ्गमा चढाउने प्रचलन छ ।   गाईको दुध, विभिन्न पुजा सामाग्री सहित फुल प्रसाद लिएर पोखरा आशपासबाट भक्तजनहरु दर्शन गर्न आउने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर थापाले जानकारी दिनुभयो । साउन महिनाको पहिलो र दोश्रो सोमवार भन्दा तेश्रोवार आज बढी दर्शनार्थी श्रद्धालु भक्तजनको भिड लागेको बताउँदै उहाँले भन्नुभयो यसलाई धार्मिक क्षेत्रको रुपमा विकास गर्न सवैको साथ र सहयोग आवश्यक छ ।   ओमकारेश्वर मन्दिर लगायत पोखराका केदारेश्वर, गुप्तेश्वर महादेव, सदाशिव हरिहर महादेव लगायतका शिवालयहरुममा आज गाईको दुध र पवित्र जल चढाउने भक्तजनहरुको भीड लागेको छ । तस्वीर उपलव्ध छ ।  

  पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद सफल बनाउन सहकार्य आवश्यक रहेको बताएका छन् ।    नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्च द्वारा सदस्य सचिव घिसिङको सम्मानमा आयोजित बधाई तथा स्वागत कार्यक्रममा उनले उक्त कुरामा जोड दिएका हुन् । उनले भने–“म जुन कार्यक्रममा उपस्थित हुन्छु त्यहाँ सहयोग गर्छौं भन्ने कुरा सुन्छु मलाई सहयोगको खाँचो होइन सहकार्य गर्छौं भन्ने प्रतिवद्धताको खाँचो छ ।” खेलकुद विकासमा पोखरा आफ्नो दोश्रो घर हुने बताउँदै सदस्य सचिव घिसिङले पोखराको सामिप्यता र सहकार्य अत्यन्तै बलियो हुने भनाई अघि सार्दै उनले खेलकुद विकासका लागि आफूले इमान्दार प्रयत्न गर्ने उल्लेख गर्दै भने–“नेपाली खेलकुद विकासमा अग्रज खेलाडीहरुको योगदान महत्वपूर्ण छ । हामीले नयाँ युगको खेलकुदलाई उचाँईमा पुर्याउन अनुभुती हुने गरी काम गरौं सहयोग होइन सहकार्य गरौं ।”    पर्खाल निर्माण गरेर पोखरा रंगशालाको संरक्षण गर्ने अभियानमा मञ्चले महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै  उनले सहयोगीहरुलाई सम्मानका लागि निशुल्क कार्डको व्यवस्थापन गर्न सहयोग गर्ने बताए । उनले खेलकुद विकासका लागि गरिएको योगदानको देशभर सन्देश पुर्याउने समेत बताए । अग्रज खेलाडीहरुको विचमा आफूलाई पाउँदा निकै खुसी लागेको बताउँदै सदस्य सचिव घिसिङले पोखरेलीहरुलाई नवौं राष्ट्रिय खेलकुदमा आफ्नो अपनत्व संगै स्वामित्व प्राप्त हुने गरी वातावरण बनाउने प्रतिवद्धता जनाउँदै उनले नवौंका लागि आवश्यक बजेटको समेत व्यवस्था भई सकेको उल्लेख गरे । उनले पोखरा लगायत अन्य ठाउँमा हुने म्याराथनका रुटहरुको प्रमाणिकरण गर्न राखेपले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।    कोभिड १९ पछि समेत खेलकुद अझै गतिशिल हुन नसकेको धारणा अघि सार्दै सदस्य सचिव घिसिङले नवौं राष्ट्रिय खेलकुदले नेपाली खेलकुद विकासका लागि ‘आइस व्रेक’ गर्ने बताए । उनले नवौं सकिए लगतै नेपाली खेलाडीहरुलाई एक वर्ष भरी नै अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण संगै ऋंखलावद्ध अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरुको आयोजना गर्ने तयारी परिषदले सुरुवात गर्ने उल्लेख गर्दै १४ औं साग, १९ औं एसियाली खेलकुद र पेरिस ओलम्पिकको तयारीमा जुट्ने बताए । “हामी अहिलेको तयारीबाट एसियाली र ओलम्पिकबाट धेरै आशावादी त छैनौ तर कम्तिमा पनि एक स्वर्ण पदक जित्नु पर्छ भन्ने सोंचका साथ खेलाडीलाई निरन्तर प्रशिक्षणमा जुटेका छौं ।” नेपाली खेलाडी ओलम्पिकमा सहभागिताका लागि मात्रै नभएर छनोट चरण पार गर्दै त्यहाँ सम्म पुग्ने र पदक समेत जित्ने गरी तयारी गरिरहेको उनले बताए ।    नेपाली खेलकुद विकासका लागि राष्ट्रिय खेलकुद निति आवश्यक रहेको कुरामा जोड दिंदै सदस्य सचिव घिसिङले भने–“हरेक पटक फेरिने सरकार र सदस्य सचिवले आफू बमोजिम ‘कस्मेटिक’ खेलकुद निति अवलम्वन गर्दा खेलकुद विकासबाट पटक–पटक चुकेको छ । यो परम्परालाई तोडिन आवश्यक छ  । हामी हतार नगरी व्यापक छलफल चलाएर सबै नेपालीको साझा खेलकुद निति निर्माण गर्ने तयारी गर्नेछौं ।”   सदस्य सचिव घिसिङले जुनियर, यूथ र विश्वविद्यालयस्तरमा खेलकुदको विकासका लागि राखेपले तयारी थाल्ने समेत बताए । “अहिले केही विद्यालय र विश्वविद्यालयस्तरमा प्रतियोगिताहरु सञ्चालन भए पनि ति आयोजनाका लागि मात्रै भएका छन्, अव त्यसो हुने छैन । खेलाडी उत्पादनको मुख्य थलो बन्ने गरी विद्यालय र विश्वविद्यालयहरुमा प्रतियोगिताहरु आयोजना हुनेछन्” उनले भने–“अव नेपाली खेलकुदले यूथ स्पोर्टस खेलको विकासका लागि अघि बढ्ने छ ।” उनले नेपाली खेलकुद विकासका लागि निजी क्षेत्रको साझेदारीमा समेत जोड दिए ।    मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष तथा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङ, संस्थापक अध्यक्ष खड्ग रानाभाट, द्वितिय उपाध्यक्ष दिल बहादुर गुरुङ, सल्लाहकार जगन बहादुर गुरुङलगायतले नेपाली खेलकुद विकासमा अग्रज खेलाडीहरुको भूमिका र पोखरा म्याराथनका बारे सदस्य सचिव घिसिङलाई जानकारी गराएका थिए ।    

  काठमाडौँ:    नागरिकताको अपमानजनक नाम सच्याउन गृहृ मन्त्रालयले निर्देशन दिएको छ।   मन्त्रालयले नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर नागरिकता प्रमाणपत्र जारी नगर्न निर्देशन दिएको हो ।   त्यस्तै यसअघि नागरिकतामा अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकताको प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरे प्रक्रिया पुर्याएर सच्याउने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।        

  पोखरा । राष्ट्रिय फुटबल टोली यु–२० का सदस्य फुटबलर सुमित श्रेष्ठ (मेस्सी) लाई पोखरामा सम्मान गरिएको छ ।   भारतमा भएको साफ यु–२० पुरुष च्याम्पियनसिपमा खेलेर स्वदेश फिर्ता भएका श्रेष्ठलाई युनाइटेड बगरले स्वागतसहित सम्मान गरेको हो ।   उनलाई युनाइटेड बगरका संरक्षक तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी इश्वर गुरुङ, फुटबलर रन्दिप पौडेल, अन्जन देवकोटा तथा युनाइटेड बगरका सदस्यहरुले खादा तथा सम्मान पत्र अर्पण गरे । सो अवसरमा बोल्दै फुटबलर श्रेष्ठले राष्ट्रको नाममा खेल खेल्ने सपना साकार भएको बताए । उनले आगामी दिनमा झन उत्कृष्ट खेल प्रर्दशन गर्ने निरन्तर मेहनत गर्ने समेत बताएका थिए ।   यसैगरि युनाइटेड बगरका संरक्षक तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी इश्वर गुरुङले श्रेष्ठलाई पोखरामा स्वागत गर्दै बधाई ज्ञापन गरे  । उनले आगामी दिनमा अझ खेललाई परिस्कृत गर्दै अगाडी बढ्नुपर्नेमा समेत जोड दिएका थिए ।   सम्मानित श्रेष्ठ यसअघि नेपाली राष्ट्रिय फुटसल टिमबाट समेत डेब्यु गरिसकेका छन् ।   उक्त स्वागत तथा सम्मान कार्याक्रममा फुटबलर, रन्दिप पौडेल, फुटबलर अञ्जन देवकोटा, फुटसलका ए डिभिजन खेलाडी सुदिप सुनार लगायतको उपस्थिति रहेको थियो ।

  मुस्ताङ । गत महिनामात्रै गल्फको सफल परिक्षण भएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको लोवाथाङस्थित गल्फ कोर्षमा पहिलो संस्करणको ‘टप अफ द वर्ल्ड गल्फ च्यालेन्ज’ प्रतियोगिता हुने भएको छ ।   गल्फ कोर्षको निर्माणमा जुटेका गण्डकी प्रदेश सभा सदस्यसमेत रहेका गल्फर इन्द्रधारा विष्टले आगामी भदौं ११ गते गल्फ प्रतियोगिता आयोजना गर्ने जानकारी दिए । उनका अनुसार सो प्रतियोगितामा कुल २८ गल्फरको सहभागिता रहनेछ ।  उनले उक्त प्रतियोगिताका लागि  ४ जना महिला गल्फरले समेत प्रतिस्पर्धा गर्ने बताए । विष्टका अनुसार स्टेबल फर्म्याट ३/४ ह्याण्डीक्यापको आधारमा हुने प्रतियोगिताको विजेता, उपविजेता, महिला विजेता, बेस्ट ग्रस, कोल्जेस्ट टु द पिन, लंगेस्ट ड्राइभ र मस्ट बर्डिजलाई पुरस्कृत गरिने छ ।   प्रतियोगिता हुन लागेको गल्फ कोर्ष ४ हजार ६ सय ४५ मिटर उचाइमा रहेको प्रदेश सांसद विष्टले जानकारी दिए । उनका अनुसार नेपालमा कुल ९ वटा गल्फ कोर्ष सञ्चालनमा रहेका छन् ।

  काठमाडौं:   अनाथ बालबालिकालाई मेगा बैंक नेपाल लिमिटेड लुम्बिनी प्रदेशले खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले तानसेनमा रहेको अभियान नेपालको सिलोम आवासीय बालगृहमा रहेका बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेको हो ।                बालबालिकाको पठनपाठनमा केही राहत पुगोस् भन्ने उद्देश्यले खाद्यान्नका विभिन्न सामग्री, विद्यालय झोला, टिफिन बक्सलगायतका सामग्री सहयोग गरिएको तानसेन शाखाका प्रबन्धक विष्णुप्रसाद भण्डारीले बताउनुभयो । कर्मचारीले आफ्नो आम्दानीमध्येको केही रकम सङ्कलन गरेर अनाथ तथा बेसहारा बालबालिकालाई सहयोग गरिएको बैंकले जनाएको छ । नेपालगञ्जको मानवसेवा आश्रम, दाङको घोराहीमा रहेको नेपाल अपाङ्ग सङ्घ, खगेन्द्र नवजीवन केन्द्र, रुपन्देहीको सैनामैना र अमुवा, नवलपरासीको बर्दघाटमा समेत विभिन्न सामग्री सहयोग गरेको छ ।       सामाजिक कार्यसँगै बित्तिय कारोबार, साक्षरता कार्यक्रमलाई समेत प्रभावकारी रुपमा अगाडी बढाउँदै आएकोछ । बैंक सेवामार्फत ग्राहकलाई सहज, सरल र प्रभावकारी रुपमा सेवा प्रदान गर्दै बैंकिङ पहुँचभन्दा बाहिर रहेका नागरिकलाई सहजै बैंकको पहुँचमा ल्याउने कार्य गरिरहेको छ । 

  काठमाडौं:   हुलाकी सडकअन्तर्गत कन्काई र विरिङ खोलाको पुल अझैसम्म नबन्दा त्यहाँ डुङ्गाको भरमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता विद्यमान छ । निर्माणाधीन पुल एक दशक बितिसक्दा अझै पूर्ण रुपमा नबन्दा जोखिम लिएर वर्षायाममा यात्रा गर्नुपर्ने दक्षिणी भेगका नगरिकहरुको बाध्यता अभै हटेको छैन ।      पुल समयमा नबन्दा वर्षामा आवातजावात ठप्प हुने र हिउँदमा पनि डुङ्गाको भरमा यात्रा गर्नुपर्ने अवस्था रहेको गौरीगङ्जकी टीकामाया लिम्बुले बताउनुभयो । विसं २०६८ मा रु ३४ करोडमा ठेक्का लागेको सात सय २४ मिटर लम्बाइको कन्काई नदीको पुल दुई वर्षदेखि निर्माण व्यवसायी कम्पनी पप्पुको जेभीको पार्टनर महादेव खिम्तीले काम सुरु गरेको छ । तर पुल निर्माणको कामले अझै पनि गति लिन सकेको छैन । वर्षातले गर्दा यतिखेर पुल निर्माणको काम रोकिएको छ । वर्षातमा सधैँ काम रोकिने र हिउँदको समयमा मात्र काम हुने भएकाले कामको प्रगति हुन सकेको छैन । यति ठूलो योजनामा कामदार नै थोरै परिचालन गर्ने गरेकाले पनि कामले गति लिन नसकेको स्थानीय अगुवा इश्वर माझीले बताउनुभयो ।      पुल नबन्दा त्यहाँ वर्षौदेखि नदि तर्न डुङ्गाको भर पर्नुपर्ने अवस्था हट्न सकेको छैन । झापामा हुलाकी सडकको अधिकांश कार्य सकिन लाग्दा मुख्य नदी र खोलाको तीन पुल नबन्दा भने सडक सञ्चालनमा मै समस्या हुँदै आएको गौरीगञ्ज वडा नं. १ चउरी बस्तीका अगुवा रामप्रसाद प्रसाईंले बताउनुभयो ।    दोस्रो विरिङ पुल भने आगामी वर्ष काम सकिने निर्माण कम्पन्नी लामा मैनाचुलीका इञ्जिनीयर राघव यादवले बताउनुभयो ।

  काठमाडौँ:   यही साउन अन्तिम सातादेखि काठमाडौँ उपत्यकाको कुहिने फोहर यहीँ नै व्यवस्थापन सुरु हुने भएको छ ।           पछिल्लो समय जटिल बनिरहेको उपत्यकाको फोहर व्यवस्थापनको लागि स्थान पहिचान भएसँगै  त्यस्ता फोहर यही नै व्यवस्थापन गर्न लागिएको हो । काठमाडौँ महानगरपालिकाले कुहिने फोहरलाई उपत्यकामा नै व्यवस्थापन गर्न पहिलो चरणमा कीर्तिपुरमा करिब ५० रोपनी जग्गा प्राप्त भएको र सोही स्थानबाट नै काम सुरु गर्ने जनाएको छ ।      उक्त स्थानमा अहिले दैनिक ४० हजार किलो त्यस्ता फोहरको व्यवस्थापन गरी मल उत्पादन गर्ने सकिने बताइएको छ । उक्त स्थानमा हाल आठ वडाबाट उत्पादन हुने कुहिने फोहरको व्यवस्थापन गर्न सकिने छ । उत्पादित मल सहुलियत दरमा बिक्री गर्ने तयारी पनि कामपाको छ ।       योसँगै उपत्यकाको अन्य स्थानमा पनि थप जग्गा रोज्ने काम भइरहेको छ । सबै किसिमका फोहर बञ्चरेडाँडा पुर्याउँदा पटक–पटक समस्या आएकाले प्रभावकारीरूपमा फोहरको दीर्घ समाधानका लागि स्थान पहिचानमा लागेको हो । बञ्चरेडाँडामा हानिकारक फोहर व्यवस्थापन नगर्ने योजनाअनुरुप कामपाले यस किसिमको अभ्यास सुरु गरेको हो । काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार हाल सम्भावित स्थान पहिचान गर्ने काम जारी छ । यसअन्तर्गत चन्द्रागिरि, दक्षिणकाली, नागार्जुन, तारकेश्वर र उपत्यका बाहिर बनेपासम्म पनि कामपाका प्रमुख बालेन्द्र शाहको नेतृत्वमा अन्य स्थानमा पनि जग्गा खोज्ने काम भइरहेको छ । हालसम्म उपलब्ध भएका जग्गामा ५० रोपनीदेखि १५० सम्मको छ । अझै बढी उपयुक्त र कम खर्चिलो जग्गाको खोजीमा लागिरहेको उहाँले बताउनुभयो । फोहर व्यवस्थापनको सहजताकै लागि कामपाले यही साउन १ गतेदेखि कामपाले कुहिने र नकुहिने फोहरको फरक–फरक तरिकाबाट व्यवस्थापनको काम पनि सुरु गरिसकेको छ ।  फोहरमैला व्यवस्थापन ऐन विसं २०६८ मा फोहरको वर्गीकरणको प्रबन्ध गरिएको छ ।    निजी फोहर सङ्कलकलाई कानुनी दायरामा ल्याइँदै        काठमाडौँको कूल ३२ वडामध्ये मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ । फोहर वर्गीकरण योजना भने ३२ सैँ वडामा लागू गरिएको छ ।      कामपाले मात्रै फोहर व्यवस्थापन गर्दै आएको नौ वडामा सबै दिन नियमितरुपमा फोहर व्यवस्थापन  भइरहेको छ निजीले फोहर व्यवस्थापन गर्दै आएको स्थानमा भने विगत दुई महिनादेखि फोहर व्यवस्थापन हुन नसकेको स्थानीयले गुनासो गरेका छन् ।       निजी क्षेत्र पैसा असुल गर्ने धन्दामा मात्र लागेको र नागरिकप्रति जिम्मेवार नभएका कारण सबै स्थानमा नियमितरुपमा फोहर व्यवस्थापन हुन नसकेको आरोप छ । आफूले लिएको जिम्मेवारी पूरा नगरेको भन्दै नियमित फोहर व्यवस्थापन नगर्ने निजी कम्पनीलाई कामपाले कारबाहीको प्रक्रियाअघि बढाउने चेतावनी दिएको छ । जिम्मा लिएको स्थानमा फोहर व्यवस्थापनको काम नगरे कानुनी कारबाही गर्ने स्थानीय तहको चेतावनी छ ।       ललितपुर महानगरपालिकाको प्रमुख चिरीबाबु महर्जनले जुन स्थानमा फोहर उत्पादन हुन्छ सोही स्थानमा नै व्यवस्थापन गरिनुपर्ने जनाउँदै यसका लागि सङ्घीय सरकारले पनि ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।  फोहर व्यवस्थापनसम्बन्धी बन्न लागेको नयाँ कानुनमा सरकारको काम कारबाहीको तहगत स्पष्टरूपमा व्यवस्था हुनुर्नेमा उहाँको भनाइ छ ।       फोहरमैला व्यवस्थापन सङ्घ, प्रदेश र स्थानीय तहको जिम्मेवारी र समन्वयको प्रारुप, सह लगानीको ढाँचा, यससम्बन्धी सार्वजनिक निजी साझेदारी कसरी गर्ने भन्ने विषय, घरायसी, संस्थाजन्य, औद्योगिक, विद्युतीय र विपद्पश्चात्को उत्पन्न हुने फोहरमैला व्यवस्थापन र उत्पादन गर्ने व्यक्तिको दायित्वका बारेमा कानुनमा स्पष्ट व्यवस्था हुनुपर्ने सुझाव प्रमुख महर्जनको छ ।      त्यसैगरी विद्यमान सङ्घीय संरचनाअनुरुप फोहरमैला व्यवस्थापनमा प्रदेश सरकारको भूमिकालाई समेत समेटी परिवर्तित सङ्घीय परिवेश अनुकूल हुने गरी त्यससम्बन्धी नयाँ कानुनको तर्जुमा गर्नुपर्ने चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीको सुझाव छ ।       अब बन्ने कानुनमा फोहरमैलाको उत्सर्जन, सङ्कलन विसर्जन र समग्र व्यवस्थापनमा तहगत सरकारको कार्यजिम्मेवारी र प्रभावकारी कार्यान्वयनको सवाल पनि समावेश हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।  उहाँका अनुसार  फोहरको वर्गीकरण पनि विभिन्न प्रकार सिसाजन्य, प्लास्टिकजन्य, कुहिने फोहर, फलामजन्य र अस्पतालबाट निस्कने फोहर फरक–फरक तरिकाले व्यवस्थापन गर्नुपर्ने पाटो कानुनमा नै स्पष्ट हुनुपर्छ ।       आगामी दिनमा फोहर व्यवस्थापनको लागि स्थान पहिचान गर्दा घरेलु, औद्योगिक र सेवा क्षेत्रलगायत सबै स्रोतबाट सिर्जित फोहरमैलाको व्यवस्थापनको विषय, फोहरमैलाबाट हुने वातावरणीय प्रदूषण र जनस्वास्थ्यमा पर्ने नकारात्मक असर कम गर्ने विषय, फोहरमैलाको समग्र व्यवस्थापनमा तहगत सरकारको जिम्मेवारी, अन्तर स्थानीय तह सहकार्य र यसलाई आर्थिक स्रोतको रूपमा विकास गर्नेजस्ता विषयमा अन्य स्थानीय तहको प्रमुखको  पनि  जोड रहेको छ ।    वैकल्पिक बाटोको खोजी        हरेक वर्ष वर्षा सुरु भएसँगै बाटोकै कारण उपत्यकाको फोहर व्यवस्थापन गर्न कठिन भएको भन्दै वैकल्पिक बाटोको खोजी गर्ने काम अघि बढाइएको छ । हाल फोहर व्यस्थापन भइरहेको स्थान बञ्चरेडाँडासम्म फोहर व्यवस्थापन गर्नका लागि  कामपासहित अन्य १७ वटा स्थानीय तहको पनि सहकार्यमा काम अघि बढेको हो ।        मुड्खुखोलादेखि बञ्चरेडाँडासम्म कै बाटोमा पटक पटक समस्या आएका ले  हप्तौसम्म उपत्यकाको फोहर व्यवस्थापनमा समस्या अएको हुँदा आगामी दिनमा त्यस्ता समस्या नआयोस भनेर विकल्पको तीव्र खोजी गरिएको हो । मुड्खुखोलादेखिकै अर्को गोरेटो बाटोलाई विस्तार गरेर पक्की बाटो बनाउने काम केही दिनमा नै सुरु गरिने भएको छ । यसको लागि कामपामा चालु आर्थिक वर्षमा रु २० करोड बजेट विनियोजन गरेको छ ।     ‘स्थानीयतको सहमतिअनुसार काम’       यसअघिनै उपतयकाको १८ स्थानीय तह र  स्थानीयबीच सिसडोल, बञ्चरेडाँडा कुँडुले ल्याण्डफिल साइडमा फोहर व्यवस्थापनको समस्या समाधान गर्न १८ बुँदे सहमति भइसकेको छ । सहमतिअनुसार रातिको समयमा फोहर व्यवस्थापन गर्ने, वैज्ञानिक अध्ययन गरी प्रभावित क्षेत्र छुट्याउने, त्यहाँको दुर्गन्ध हटाउनुपर्ने, फोहर बोक्ने गाडीबाट लिच्चड नचुहिने व्यवस्था मिलाउनुपर्नेलगायतका विषय समावेश छ ।      सम्झौताअनुसार काम नभएको भन्दै स्थानीयले आगामी भदौ १ गतेदेखि फोहर व्यवस्थापनको काम रोक्ने भनिरहँदा उपत्यकाको १८ स्थानीय तहले भने वार्ताबाट समस्या समाधान गर्ने योजना बनाएर बसेको छ ।           जाइकाको सहयोगमा दुई वर्षका लागि भनेर विसं २०६२ मा काठमाडौँ उपत्यकाको फोहर नुवाकोटको ककनी गाउँपालिका–२ सिसडोलमा फ्याँक्न सुरु गरिएको थियो । आज १७ वर्ष हुँदा पनि त्यहाँ फोहर फ्याँक्ने काम जारी छ । सिसडोलमा चार सय ३२ रोपनी जग्गामा फोहर फालिँदै आएको थियो । बञ्चरेडाँडामा फोहर व्यवस्थापनका लागि भने एक हजार सात सय ९२ रोपनी क्षेत्र छुट्याइएको छ ।       काठमाडौँ उपत्यकामा उत्पादन हुने फोहरमध्ये ४० प्रतिशत व्यवस्थापन गर्न सकिन्छ । त्यसको लागि प्रत्येक वडाले पुनः प्रयोग गर्नसक्ने वस्तुको खरिद गर्ने तयारी पनि गरिरहेको जाइएको छ । हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । त्यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन फोहर जान्छ । निजी क्षेत्रबाट व्यवस्थापन हुने र कामपाको गरी दैनिक कम्तीमा दुई सय गाडीले फोहर ओसार्ने गरेको छ ।  बाटो मर्मतको कारण अहिले भने एक सय ५० गाडीले मात्र अन्तिम व्यवस्थापनस्थलमा फोहर विसर्जज गर्ने काम गरिरहेको छ ।       सिसडोलमा दैनिक एक हजारदेखि एक हजार दुई मेट्रिक टनसम्म फोहर जाने गरेको छ । विकल्प नहुँदा योजनाविहीन रूपमा त्यहाँ फोहर विसर्जन गरिँदै आएकाले समस्या पटक–पटक बल्झिरहेको छ । सुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहर व्यवस्थापन गरिएको छ । दुई वर्षअघि नै बञ्चरेडाँडामा फोहर विसर्जनको काम सुरु हुनुपर्नेमा अहिलेसम्म राम्ररी सञ्चालन हुन सकिरहेको छैन ।           सङ्घीय राजधानी काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन वर्ष बित्दै जाँदा थप चुनौतीपूर्ण बन्दै गएको छ । उपत्यकाका सडकमा थुपारिने फोहर हप्तौँसम्म नउठ्ने र यसबाट दुर्गन्ध फैलिने समस्या उपत्यकावासीका सामान्य भइसकेको छ । यी र यस्ता समस्या आगामी दिनमा उपत्यकाकबासीले सामना गर्न नपर्ने गरी काम भइरहेको कापकोको भनाइ छ । त्यसको लागि चरणबद्धरुपमा काम भइरहेको छ ।       कहिले स्थानीयको आन्दोलन त कहिले वर्षालगायत विविध कारणले उपत्यकाका चोक गल्लीमा दुर्गन्धित फोहरका डङ्गुर छ । फोहरमैलाविज्ञ तथा इन्जिनियर सुनिल लम्साल नागरिकबाट वर्गीकरण गरेर सङ्कलन गरिएको फोहरलाई बञ्चरेडाँडामा पनि केही समयका लागि छुट्टाछुट्टै स्थानमा राख्ने गरी तयारी गरिएको बताउनुहुन्छ ।      बञ्चरेडाँडाका स्थानीयवासीले विकल्प खोजिरहेको र फोहरलाई स्रोतबाटै व्यवस्थापन गरी उपयोग गर्नुपर्ने माग आइरहेका बेला दुवै प्रकृतिका फोहर वर्गीकरण गरेर फेरि त्यही ठाउँमा विसर्जन गर्दा समस्या ज्यूँका त्यूँ रहने महानगरबासीको धारणा छ । विज्ञका अनुसार फोहरको स्रोतमै वर्गीकरणका साथै उत्पादनमा समेत कमी ल्याउने, प्लाष्टिकको विकल्पमा झोलाको प्रयोग बढाउने, शून्य फोहर (जिरो वेस्ट) अवधारणाको प्रवद्र्धन गर्ने र आधुनिक प्रविधिको प्रयोग गर्नसके केही व्यवस्थापन गरी उपत्यकाभित्रको फोहर व्यवस्थापनका एकै किसिमका आधुनिक विधि अपनाउनु नसके आगामी दिनमा थप समस्याको सामना गर्नुपर्ने छ ।