काठमाडौँ: देशभर पछिल्लो २४ घण्टामा नौ सय १५ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय छ हजार दुईको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा ११ लाख ३१ हजार आठ सय ५३ मा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो समय थप तीन सय एक सङ्क्रमणमुक्त भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ७० हजार नौ सय २६ पुगेको छ । नेपालमा यस सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ६८ पुगेको छ । त्यसैगरी पछिल्लो समय ५५ हजार पाँच सय ५९ ले खोप लगाइसकेका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार चार सय ३३ पुगेको छ । होम आइसोलेसनमा पाँच हजार दुई सय ७५, संस्थागत आइसोलेसनमा एक सय ५८ आइसियुमा ४३ र भेन्टिलेटरमा दुई जनाको उपचार भइरहेको छ ।
कास्की । ४४ औं पुष्पलाल स्मृति दिवसको अवसरमा ‘सफल व्यवसायीका लागि स्वास्थ्यताको माध्यम खेलकुद’ भन्ने मुल नारासहित आगामी साउन २० गतेबाट पोखरामा हुने तेस्रो प्रदेश स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा भएको छ । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ गण्डकी प्रदेश, कास्की जिल्ला र पोखरा महानगर कमिटीको संयुक्त आयोजना र जिल्ला ब्याडमिन्टन संघको सहकार्यमा आयोजना हुने प्रतियोगिता सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय उद्योग व्यवसाय महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीव बहादुर कोइरालाले जानकारी दिए । उनका अनुसार पोखरा रंगशालास्थित व्याड्मिन्टन कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेश स्तरीय खुला मेन्स डबल्स र भेट्रान्सका खेल समावेश गरिएको छ । दुवै इभेन्टतर्फ प्रथमलाई नगद ३५ हजार, द्वितीयलाई नगद २५ हजार र तृतीयलाई १० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने कोइरालाले बताए । उनका अनुसार प्रतियोगिताका खेल साउन २० र २१ गते चल्नेछ ।
पोखरा: इतिहासका पिँढीमा विद्यार्थी राखेर संस्कृत र वेदका ऋचाको पठनपाठनका कारण पिँढी पाठशालाको पहिचान बनाएको पोखरामा अहिले भने संस्कृत विषयको पठनपाठन गराउने क्याम्पसदेखि विद्याश्रम सञ्चालनमा छन् । इतिहास अनुसार १८–१९औँ शताब्दीतिर कास्कीको उत्तरी भेग हालको अन्नपूर्ण गाउँपालिकाको पाउँदुरमा पिँढीमा विद्यार्थीलाई राखेर गुरुशिष्य परम्परा अनुसार संस्कृत तथा त्यससँगै जोडिएका वेद तथा चण्डी आदिको पठनपाठन हुन्थ्यो । त्यसै समयदेखि पाउँदुरसहित विन्ध्यवासिनी आसपासका क्षेत्रमा हुने गरेका पठनपाठनका कारण कास्की शिक्षाको केन्द्र जस्तै बनेको थियो । पाउँदुरमा पौडेल थरका गुरुले आफ्ना शिष्यहरूलाई पिँढीमा राखेर पढाउने भएकै कारण पोखराको शैक्षिक विकास पिँढी पाठशालाबाट सुरु भएको यस क्षेत्रका अध्येताहरू बताउँछन् । तत्कालीन समयमा विन्ध्यवासिनी र आसपासमा पराजुली तथा रेग्मी थरका विद्वानले गुरुशिष्य परम्पराअनुसार नै पठपाठन गराएइका कारण देशका विभिन्न स्थानबाट पोखरामा पढ्नका लागि विद्यार्थी आउने गर्दथे । त्यसै बेलादेखि शिक्षा नपाए काशी कि कास्की भन्ने प्रचलन भएको अनुमान गरिन्छ । पछिल्ला समयमा आधुनिक शिक्षाको नाममा संस्कृत शिक्षाप्रतिको आकर्षण घट्दै गएका अवस्थामा पोखरामा भने यसप्रतिको आकर्षण घटेको देखिदैन । संस्कृत पढ्नकै लागि देशका विभिन्न स्थानबाट भीमकालीपाटन बगरस्थित विन्दुवासिनी संस्कृत विद्यापीठमा विद्यार्थी आउने गरेका छन् । संस्कृत प्रेमीको सक्रियतामा २०५० सालमा स्थापित यो विद्यापीठ २०५३ सालमा नेपाल संस्कृत विश्वविद्यालय (तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालय) को आङ्गिक क्याम्पस बनेको थियो । त्यस्तै पोखराको संस्कृत माध्यमिक विद्यालय, चिसाखोला विद्याश्रम, नारायणस्थान, परोपकार सङ्घ ढुङ्गेसाँघु, राधाकृष्ण गुरुकुल विद्याश्रम लामेआहाल, विन्ध्यवासिनी, गुप्तेश्वर महादेव गुफालगायतका स्थानमा संस्कृत विषयमा विद्यालय तहसम्मको पठनपाठन भइरहेको छ । विन्दुवासिनी संस्कृत विद्यापीठमा फलित ज्योतिष, साहित्य तथा संस्कृत व्याकरण विषयमा चार वर्षे शास्त्री तहको पठनपाठन हुँदै आएको छ । विद्यापीठमा प्राक्शास्त्री समेत गरी करिब १०० सङ्ख्यामा विद्यार्थी अध्ययन गरिरहेको विद्यापीठका प्राचार्य डा जगन्नाथ रेग्मी बताउनुहुन्छ । विद्यापीठमा विभिन्न जातजातीका विद्यार्थी अध्ययन गरिरहेका छन् । संस्कृत शिक्षामा अनुसन्धानको आवश्यकतालाई दृष्टिगत गरी विद्यापीठले अनुसन्धानात्मक गतिविधिलाई पनि प्राथमिकताका साथ अघि बढाएको उहाँले जानकारी दिनुभयो । विद्यापीठमा अनुसन्धानात्मक कार्यलाई जोड दिँदै अनुसन्धान व्यवस्थापन समितिमार्फत अनुसन्धानात्मक जर्नल निकाल्न थालिएको प्रचार्य डा रेग्मीले बताउनुभयो । विद्यापीठमा आचार्य(स्नातकोत्तर) तहको पठनपाठनको तयारी गरिएको छ । पोखरामा औपचारिकरुपमा विसं १९५८ मा देव शम्शेरको पालामा खोलिएको भाषा पाठशाला यहाँको पहिलो औपचारिक पाठशाला हो । तत्कालीन समयमा विन्ध्यवासिनी मन्दिर क्षेत्रमा सञ्चालित उक्त पाठशालापछि भीमकाली पाटनमा सारिएको थियो । जुन अहिले संस्कृत माध्यमिक विद्यालयका रुपमा रहेको छ । विद्यार्थीको अभावमा देशका विभिन्न स्थानका संस्कृत विद्यालय बन्द हुने अवस्थामा पुगेपनि पोखरास्थित संस्कृत माध्यमिक विद्यालयमा भने विद्यार्थी तथा अभिभावकको आकर्षण बर्सेनि बढ्दो छ । विद्यालयमा हाल २०० भन्दा बढी सङ्ख्यामा विद्यार्थी पढिरहेको विद्यालयका प्रधानाध्यापक गोविन्द सिग्देलले जानकारी दिनुभयो । विद्यालयमा अध्ययनतरत विद्यार्थीलाई कक्षा ५ देखि माथि आवासीय सुविधा प्रदान गरिएको उल्लेख गर्दै उहाँले हाल करिब २० देखि ३० जनासम्म विद्यार्थीले आवासीय सुविधा लिएको बताउनुभयो । विद्यालयमा ब्राह्मण मात्र नभइ महिला तथा दलित समुदायका विद्यार्थी अध्ययन गरिरहेका छन् । गुणस्तरीयतालाई लक्षित गरी विद्यालयमा कक्षा पाँचसम्म अङ्ग्रेजी माध्यमबाटै पठनपाठन सुरु गरिसकेको छ । संस्कृत माविमा अध्ययन गर्नेले कक्षा ६ भन्दा माथि कूल ८०० पूर्णाङ्मध्ये २०० अङ्कको मात्र संस्कृत पढ्नुपर्छ । अन्य साधारण माविमा जस्तै हो भन्ने आम जनमानसमा जानकारी गराउन नसक्नाले पनि संस्कृत शिक्षाप्रति अझै विद्यार्थी तथा अभिभावकको आकर्षण बढ्न नसकेको यस क्षेत्रका जानकार बताउँछन् । विद्यालयमा कक्षा ११ र १२ सम्मको पठनपाठन भइरहेको छ । विगतमा संस्कृत केवल ब्राम्हण समुदायका ले मात्रै पढ्ने भनिए पनि पछिल्ला समयमा सबै जातजातीको यसतर्फ आकर्षण बढेको छ । विद्यालयमा करिब ५० प्रतिशत ब्राम्हण समुदायका छन् भने ५० प्रतिशत दलित तथा जनजाती समुदायका रहेको प्रधानाध्यापक सिग्देलले जानकारी दिनुयो । समाजमा नैतिकता, सदाचारको खडेरी पर्दै गएको अवस्थामा पछिल्लो समयमा संस्कृत शिक्षाको आवश्यकता तथा महत्व बढ्दै गएको देखिन्छ । जिल्लामा सञ्चालित गुरुकुल तथा विद्याश्रमको पठनपाठनकोस्तर राम्रो रहेको जिल्ला शिक्षा समन्वय इकाई कास्कीका प्रमुख नारायण सुवेदीले बताउनुभयो ।
पोखरा । मणिपाल शिक्षण अस्पतालमा कार्यरत कर्मचारीले श्रम ऐन २०७४ अनुसार तलबसहितको सेवा सुविधा मागेपछि अस्पताल व्यवस्थापन समितिले नीजि सुरक्षा गार्ड (बाउन्सर) अस्पताल परिसरमा तैनाथ गरेको छ । अस्वाभाविकरुपमा बाउन्सरसहित नेपाल प्रहरीको टोलीलाई अस्पताल परिसर र भित्रै परिचालित गरेपछि बिरामीको मानसिकतामा असर परेको र अस्पतालको वातावरणमै प्रभाव परेको नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मणिपाल इकाईका अध्यक्ष अमृत पौडेलले बताए । ‘अहिले यहाँ सेक्युरिटी लेखेको अपरिचित मान्छेहरु आएका छन् । अस्पताल भित्रै पनि गएर मेसमै खाना पनि खाए । र प्रहरीको फुल टाइमै मणिपाल हो भन्ने जस्तो गरेर ठुलो जत्था नै तैनाथ गरिएको छ, उनले भने, ‘प्रहरीलाई सुरक्षाको लागि भनेर कन्सिडर गर्न सकिन्छ । तर हामीले कुनै कार्यक्रम नै नगरि आउनु अस्वाभाविक हो । र त्यसमाथि बाउन्सर नै आउनु भनेको त श्रम ऐनमा उल्लेख भएको कानूनी प्रावधान मान्न पाउन्नस्, बोल्न पाउन्नस् भन्ने नै हो । हामीले अप्रत्यक्षरुपमा त्यो अभिव्यक्ति बुझेका छौं ।’ श्रम ऐनले परिच्छेद ३६ मा कर्मचारीले एक वर्ष कार्यावधि पार गरेको खण्डमा ग्रेड अनुसार वार्षिक तलब वृद्धि पाउने र हरेक दुई वर्षमा सेवासुविधाको दायरा फराकिलो बनाउनुपर्ने व्यवस्था गरेको छ । सोही अनुरुप गत शुक्रबार अस्पताल व्यवस्थापन समिति र कर्मचारीहरुको संगठनबीच तलब वृद्धि र सेवा सुविधाको बारेमा छलफल भएको पौडेलले बताए । द्विपक्षीय वार्ता व्यवस्थापन समितिको टोलीले कर्मचारीको माग अस्वीकार गरेपछि छलफल निष्कर्षविहिन टुङ्गिएको थियो । त्यसपछि केही दिनपछि बाउन्सरसहितको नेपाल प्रहरी अस्पताल परिसर र भित्रै परिचालित गरिएको पौडेलले बताए । ‘यस्तो एकपटक पहिला पनि भएको थियो । फेरि अहिले करिब १२/१५ वर्षपछि इतिहास दोहोरियो र फेरि भविष्यमा पनि दोहोरियो भने यसले राम्रो गर्दैन, उनले भने, ‘किनभने कर्मचारीको सुरक्षाको ग्यारेण्टी कसले लिने ? अस्पताल जस्तो संवेदनशिल संस्थामा म काम गर्दा, ट्वाइलेट जाँदा सुरक्षित छु कि छैन भन्ने कुरा व्यवस्थापनले सोच्नुपर्ने होइन?, के गर्दा संस्था राम्रो हुन्छ भन्ने त व्यवस्थापनले सोच्न पर्याे नी ? पौडेलको प्रश्न छ । कर्मचारी संगठन र व्यवस्थापनको समझदारी अनुसार तलब तथा सेवा सुविधाको वृद्धि गर्नुपर्ने ऐनले व्यवस्था गरेको छ । सोही अनुरुप वार्ताको क्रममा व्यवस्थापनले तलब वृद्धि नहुने अडान लिएको बताउदै पौडेलले भने, ‘हामीले ऐन अन्तर्गतकै २/२ वर्षमा तलब वृद्धि गर्ने प्रावधान अनुसार नै माग पेश गरेका थियौ । त्यसमा दुई पक्षनै बसेर अन्तिममा गएर टुङ्गिने हो । कहिले २ जना बसेर नि हुन्छ कहिले मध्यस्तकर्ता सिडिओ कार्यालय अथवा श्रम विभागपनि जान्छ, उनले भने, ‘तिमिहरुको तलब वृद्धि चाँही हुदैन । र ऐनमै नभएको कुरा र कहि प्राक्टिसमै नभएको कुरा गर्दाचाही यो खैलाबैला निस्किएको हो ।’ हाल मणिपाल शिक्षण अस्पतालमा ५ सय ७३ जना ननटिचिङ डाक्टरहरु १ सय बढी डाक्टरहरु कार्यरत छन् ।
बाजुरा: जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट एक र जिल्ला अस्पतालबाट एक गरी दुई गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत आज उद्धार गरिएको छ । बूढीनन्दा–२ कोल्टीकी ३० वर्षीया मनु रेग्मी पाध्याय र जगन्नाथ गाउँपालिका–२ की २२ वर्षीया जेनी राईलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताउनुभयो । उहाँका अनुसार दुवै महिलालाई लामो समयदेखि सुत्केरी व्यथा लागेको भए पनि जिल्लामा सुत्केरी हुन नसकेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत सेनाको हेलिकप्टरमा सुविधासम्पन्न अस्पतालमा उद्धार गरिएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो । राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट यहाँका दर्जनौँ गर्भवतीको उद्धार गरिएको छ । उक्त कार्यक्रम दुर्गम तथा विकट जिल्लाका लागि प्रभावकारी बन्दै गएको छ ।
काठमाडौं: जिल्ला प्रशासन कार्यालय ललितपुरमा आउँदो शनिबार पत्रकारहरुको राष्ट्रिय परिचयपत्र बनाइने भएको छ । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको आयोजनामा उक्त दिन जिल्लामा आबद्ध सदस्यहरुको परिचयपत्र बनाइदिएर सहजीकरण गर्न लागिएको हो । सो दिन बिहान ८ देखि १२ बजेसम्म जिल्लामा आबद्ध रहेका पत्रकारको परिचयपत्र बनाइने भएकाले अनिवार्य उपस्थितिका लागि शाखाका सचिव रामहरि कार्कीले अनुरोध गर्नुभएको छ । उहाँले भन्नुभयो, “कामको व्यस्तताले गर्दा पत्रकारले यस पत्र बनाउन नभ्याएसँगै हामीहरुले उहाँहरुको समस्यालाई मध्यनजर गरी यस कामको सुविधा दिन लागेका हौँ ।” सो सेवा सदस्यहरुले पाएसँगै सम्बन्धित कार्यालयमा हुने दैनिक चाप र घण्टौँ बस्नुपर्ने लाइनको समस्याबाट पत्रकारहरु मुक्त हुने उहाँको बुझाइ छ । सो परिचयपत्र बनाउन आउँदा हरेक पत्रकारले अनलाइन फारम भरेको विवरणको प्रिन्ट तथा विवाहिताको हकमा सक्कल विवाह दर्ता गरेको प्रमाणपत्र एवं सक्कल नागरिकता र अविवाहिताले भने सक्कल नागरिकता अनिवार्य लिएर आउन सचिव कार्कीले आग्रह गर्नुभएको छ ।
झापा: झापाको गौरादह नगरपालिकास्थित कमलखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक किशोरको शव आज फेला परेको छ । गौरादह–९ स्थित कमलखोलामा कमल गाउँपालिका–१ का १८ वर्षीय उज्वल खरेल मङ्गलबार पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बाहिनी पकली सुनसरीबाट खटिएको गोताखोरको टोलीले आज बिहान उनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । उज्वल मङ्गलबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । घटनापछि अस्थायी प्रहरी चौकी बैगुनधुरा, इलाका प्रहरी कार्यालय झिलझिले, विपद् व्यवस्थापन कार्यालय चन्द्रगढी र सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प बैगुनधुराबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले खोजी गरे पनि फेला नपरेपछि गोताखोरको टोली परिचालन गरिएको थियो ।
काठमाडौँ: प्रत्येक वर्ष श्रावण शुक्ल सप्तमीका दिन मनाइने कल्की जयन्ती आज मनाइँदै छ । कल्की भगवान् विष्णुको दशौँ अवतार हो । वैदिक सनातन धर्म अनुसार यो भविष्यमा हुने अवतार मानिन्छ । कल्की अवतार कलियुगको अन्तिम अवस्थामा हुन्छ । जब कलियुगमा सबैतिर लुटमार, हिंसा, अत्याचारलगायत बढ्छ त्यसपछि यो अवतार हुने विषय विभिन्न पुराणमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “त्यस समयमा अधर्मी पापीको नाशसँगै कलियुग समाप्त हुन्छ ।” कल्की अवतारपछि कलि युग समाप्त भई सत्य युगको आरम्भ हुन्छ भन्ने हिन्दू धर्म ग्रन्थको मान्यता छ । पुराणमा उल्लेख भएको कथाअनुसार कलियुगमा पापको सीमा नाघेपछि दुष्टहरूको संहार गर्नका लागि कल्की अवतार प्रकट हुन्छ । ‘सम्भल ग्राम मुख्यस्य ब्राह्मणस्य महात्मनः भवने विष्णुयशसः कल्कि प्रादुर्भविष्यति ।।’ अर्थात् – सम्भल ग्राममा विष्णुयश नामको श्रेष्ठ ब्राह्मणको पुत्रको रूपमा भगवान् कल्कीको जन्म हुनेछ । भगवान् कल्की देवदत्त नामको घोडा चढेर सवारी भई आफ्नो तलवारले दुष्टहरूको संहार गर्नु हुने मान्यता छ । त्यसपछि सत्य युगको प्रारम्भ हुने विश्वास गरिएको छ । कल्की अवतार कलि युगको अन्त्यका लागि हुने मान्यता छ । कल्की भगवान्को कथा कल्की, अग्निलगायत पुराणमा उल्लेख गरिएको छ ।
पोखरा । गण्डकी प्रदेशकै पहिलो उच्च प्रविधियुक्त पब्लिक टेलिभिजनको मंगलबारबाट परीक्षण प्रसारण सुरु भएको छ । बार्दली मिडियाद्वारा सञ्चालित फोके प्रविधियुक्त टिभीको परीक्षण प्रसारणको शुभारम्भ गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले गरेका हुन् । उद्घाटनपछि मन्त्री विन्दुकुमार थापाले पोखरामा धेरै टेलिभिजन भएपनि पब्लिक टिभी विश्वसनीय र स्तरीय सामग्रीले उत्कृष्ट हुने विश्वास व्यक्त गरे । उनले भने,‘समाजमा भएका विभिन्न विकृति, विसंगतिहरुलाई चिर्दैै, त्यसलाई न्यूनीकरण गरेर सञ्चार क्षेत्रमा सफलता प्राप्त गरोस् ।’ मिडियाको क्षेत्रमा टिकिरहन सजिलो नभएपनि निखारिएका व्यक्तिहरु पब्लिक टिभीसँग जोडिएकाले आफ्नो कर्ममा सफल हुने मन्त्री थापाको भनाइ थियो । उनले समाजमा लुकेर रहेका विषयको उजागर गर्न शुुभकामना दिए । ‘यसले पोखरामा एउटा उत्कृष्ट मिडियाको पहिचान बनाउन सकोस्,’ उनले भने, ‘समाजमा देखिएका, नदेखिएका विकृति, विसंगतिलाई उजागर गर्न र जनताहरुको आवाज बोल्न सक्ने बनोस् ।’ टिभीका निर्देशक रुद्रप्रसाद अर्यालले प्रविधिले लगातार फड्को मारिरहँदा अवस्थामा पछिल्लो प्रविधिलाई आत्मसात गरी टिभी सञ्चालनमा ल्याइएको बताए । मिडिया क्षेत्रमा लामो अनुुभव र दक्षता हासिल गरिसकेका अनुुभवी जनशक्तिसँग सहकार्य गर्न पाउँदा खुसी लागेको सुनाए । ‘यस टेलिभिजन समाचार, मनोरञ्जनको माध्यममात्रै नभई सूचना सम्प्रेषण, जनता र सरकारबीच पुलको काम गर्ने र आवाजविहीनको आवाज बोल्ने वाहकको रुपमा यसलाई विकास गर्नेछौंं,’ उनले भने । टिभीका प्रबन्ध निर्देशक मन क्षेत्रीले वर्षौ अघि देखेको सपना टिभीको परीक्षण प्रसारण सुरु भएसँगै पूरा हुने बाटोमा पुुगेको बताए । उनले बार्दली मिडियाले ५ वर्ष अघिबाटै टिभीका लागि योजना बनाइरहेको सुनाए । उनले भने, ‘यसलाई हामी आजको आवश्यकता बमोजिम कन्टेन्टबेस बनाएर अघि बढ्छौं ।’ निकट भविश्यमा अनलाइन पोर्टल पनि सुरु गर्ने र टिभीलाई अहिलेका सबै सामाजिक सञ्जाल एक साथ हेर्न मिल्ने बनाइने क्षेत्रीले बताए । नेकपा एमाले पोखरा महानगर अध्यक्ष दिलीप न्यौपानेले पत्रकारितामा विकृति देखिएको समयमा पब्लिक टिभीबाट व्यावसायिक पत्रकारिता प्रदर्शन हुने विश्वास व्यक्त गरे । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष दीपेन्द्र श्रेष्ठले मोफसलबाट सुरु भएपनि पब्लिकले केन्द्रीय स्तरको परिचय दिने र आफैं केन्द्र हुने शुभेच्छा प्रकट गरे । पब्लिक टिभीका समाचार प्रमुख अमृत सुवेदीले मिडियाको संख्या बढाउन नभइ जनताको आवाज बोल्ने र सत्यतथ्य खबरको उजागरसहित पत्रकारिकताको मर्म अनुरुप काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

