पोखरा:   बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ ।  तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...

  गाउँघरमा देखाइने विभिन्न जात्रा उत्सवका रुपमा लिइन्थ्यो । जात्रा देखाउने दिन घरायसी कामधन्दा सबेरै सकेर स्थानीय जात्रा हेर्न पुग्दथे । विशेषगरी महिलाहरु छोराछोरी काखमा च्याएर कोही हातमा समाउँदै हस्याङफस्याङ गर्दै जात्रा हेर्न उत्साहित हुँदै जाने गर्दथे ।         हिजोआज भने पहिलेजसो जात्रा हेर्न जानेको उत्साह देखिदैन । पाल्पामा देखाइने गाईजात्रा, रोपाइँजात्रा, बाघजात्रा लगायतका विभिन्न जात्रा देखाइन्छन् । विशेषगरी नेवार समुदायमा प्रचलित गाईजात्रा र रोपाइँजात्रा परापूर्वकालदेखि नै देखाउने गरिन्छ । अहिले भने संस्कृति धान्न जात्रा देखाउने चलन कायमै छ । तर अवलोकन गर्ने दर्शकहरु भने घट्दै गएका छन् ।         सूचना प्रविधिको बढ्दो प्रयोगले पछिल्ला वर्षमा जात्रा अवलोकनकै निम्ति दर्शक टाढाबाट आउने क्रम भने हट्दै गएको रामपुरका स्थानीयवासी तिलकराम पाण्डेय बताउनुहुन्छ । “पहिला त निकै टाढाबाट पैदल हिँडेर रामपुरमा देखाइने गाईजात्रा, रोपाइँजात्रा हेर्न आउनेको उत्साह हुन्थ्यो, अहिले सबै कुरा मोबाइलमा आउँछ, जात्रा हेर्न भनेर समय खर्चेर आउने खासै भेटिदैन, काम विशेषले आएका बेला अवलोकन गर्ने गरेको पाइन्छ, जात्राका लागि भनेर पैदल हिँडेर पहिलाजसो गाउँभरीका स्थानीय आउने क्रम भने हटिसक्यो” उहाँले बताउनुभयो ।         नेवारी परम्पराअनुसार जनैपूर्णिमाको भोलिपल्ट गाईजात्रा र पर्सीपल्ट रोपाइँजात्रा देखाउने प्रचलन छ । दिवाङ्गत भएका आफ्ना परिवारका सदस्यको सम्झनामा जात्रा देखाइन्छ । परापूर्वकालदेखि नै चलिआएको जात्रा नेवार समुदायसँग सम्बन्धित रहेकाले हरेक वर्ष संस्कृति धान्न जात्रा देखाउने गरेको नेवा समाज रामपुर पाल्पाका संस्थापक अध्यक्ष राजुप्रसाद श्रेष्ठ बताउनुहुन्छ ।          “संस्कृतिलाई हामीले निरन्तरता दिइरहेका छौँ, पहिला पहिला सबैका जसो परिवारका सदस्य घरमै बस्ने, अन्यत्र जाने अवसर पनि कम मिल्थ्यो, वर्षदिनमा एक पटक देखाइने हुदा समय निकालेर जात्रा हेर्न आउने प्रचलन थियो, अहिले सहर बजार विभिन्न क्षेत्रमा अध्ययन, कामको शिलशिलामा रहदा प्रविधिको बिस्तारले पहिलेजसो जात्रा अवलोकन गर्ने दर्शक भने केही कम छ” उहाँले भन्नुभयो ।          पुरुष पात्रलाई महिलाले लगाउने सारी, चोलो, पटुकालगायत विभिन्न पहिरन लगाइ दिएर जात्रामा निकालिन्छ । हास्यव्यङ्ग्य शैलीमा दर्शकलाई रमाइलो पारिन्छ । युवायुवती, ज्येष्ठ नागरिक र बालबालिकालगायत सबै उमेर समूहलाई रमाइलो बनाउने र दिवाङ्गत भएका परिवारमा मन भुलाउने माध्यमका रुपमा जात्रा देखाइन्छ ।         पाल्पाका नेवार समुदायको बाक्लो वस्ती रहेका विभिन्न ठाउँठाउँमा जात्रा निकालिन्छ । सदरमुकाम तानसेन, रामपुर, पूर्वखोलाको वीरकोट लगायतका विभिन्न स्थानमा परम्परागत शैलीमा जात्रा देखाइन्छ । पाल्पाको तानसेनमा भने बाघजात्रा निकालिँदै आइएको छ । बाघका आकृति सहितका किशोर तथा युवाले बाजा बजाएर बजार परिक्रमा गरी जात्रा देखाइएको छ । यहाँ हरेक वर्ष जस्तै यसवर्ष पनि पाल्पाली नाट्य कला सांस्कृतिक समूह तानसेन –६ बसपार्कका युवा र बालबालिकाले बाघजात्रा देखाएका हुन् ।           मानिसलाई बाघको रुपमा सिँगारेर शिकारीहरुले घेरेको अभिनयमा बाघजात्रा देखाइने गरिन्छ । यस जात्राप्रति बालबालिका, युवायुवती र ज्येष्ठ नागरिकहरु उत्साहित हुँदै अवलोकन गर्दछन् । परापूर्वकालमा बाघको आतङ्कले तानसेनवासी आजित भएको र बाघलाई मनाउन बाघ जात्रा निकाल्ने प्रचलन रहेको बुढापाका बताउँछन् । केही समय अघिसम्म उत्सवको रुपमा निकालिने बाघ जात्रा पछिल्लो वर्ष भने पर्व धान्नको लागि मात्र भएपनि देखाउने गरिएको छ ।        विसं १६४१ देखि १६६४ मा राजा प्रताप मल्लको नाबालक छोराको निधनले उनकी रानीलाई परेको वियोगको शोकका कारण विक्षिप्त बनेकी थिइन् र धेरै समय बितिसक्दा पनि सामान्य जीवनयापन र राजकाजमा नफर्किएर एक्लै टोलाएर बस्ने गरेकि थिइन् । मृत्यु भनेको कसैको नियन्त्रण नहुने क्षण हो भन्ने यथार्तलाई राजाले कैंयनपल्ट बुझाउन खोजेपनि रानीका आँखा ओभानो नभएपछि राजाले एउटा जुक्ति निकाले ।        राजा प्रताप मल्लले नाबालक छोरा गुमाएको त्यस वर्षभरिमा राज्यमा मृत्यु भएका नागरिकका आफन्तलाई गाईसहित दरबार अगाडिबाट रानीले देख्नेगरी जात्रा निकाल्न आह्वान गरे । उक्त दिन यसरी निकालिएको जात्रा अहिलेको काठमाडौँ दरबार स्क्वाएरमा प्रदर्शन गरिएको थियो र उक्त नौलो प्रदर्शनीले सबैको ध्यान तानेको थियो । आफ्ना आफन्तजन, प्रियजन गुमाउने धेरै परिवारको सदस्यले उनीहरुको सम्झनामा जात्रा निकालेको देखेपछि रानी मृत्युको शोक आफूलाई मात्र नपरेको बरु आफ्ना जस्ता छोरा, आमाबुवालगायत अन्य पारिवारिक सदस्य गुमाएको पीडालाई सम्मानसहितको सम्झना गरेको अनुभूति गरिन् ।          राजाले उक्त जात्रामा विभिन्न ठट्टा, चटक र व्यङ्ग पनि समावेश गर्न जनतालाई प्रोत्साहन गरेको हुँदा रानीले उक्त कुरा हेरेर सम्पूर्ण पीडा बिसाएर फोहोरा छोडेर हाँसेकी थिइन् । अर्कोतर्फ जात्रामा आएका व्यक्तिहरुले विभिन्न प्रदर्शनी र झाँकीका माध्यमबाट समाजका धनी व्यक्तिहरुको आडम्बर र गरिवका पीडालाई साङ्केतिक रुपमा व्याख्या गर्ने सुरुआत गरेका थिए । 

  काठमाडौँ ।  यसवर्ष समयमा पानी परेकाले वर्षे धान रोपाइँ उत्साहजनक रुपमा सकिएको छ । नेपालमा हिमाल पारीका दुइजिल्ला मनाङ र मुस्ताङ बाहेक ७५ जिल्लामा रोपाइँ सकिएको छ । चौबिस जिल्लामा सतप्रतिशत रोपाइँ भएको कृषि विभागले जनाएको छ ।  नेपालमा वर्षे धान साउन महिनाभर रोपिन्छ । यसवर्ष कर्णाली प्रदेशमा ९९ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष त्यहाँ ९८ प्रतिशत रोपाइँ भएको थियो । कर्णाली प्रदेशमा १० जिल्ला छन् ।       उक्त प्रदेशका जुम्ला, कालीकोट, मुगु, डोल्पा, हुम्ला, रुकुम पश्चिम र जाजरकोटमा सत्प्रतिशत रोपाइँ भएको छ । नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला झापा हो । त्यहाँ यस वर्ष ८४ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ भए पनि  ८७ हजार ५०० हेक्टर जमिनमा धान खेती गर्नसकिन्छ ।     संसारको सवैभन्दा उच्चस्थानमा धानखेती हुने जुम्ला जिल्लाको छुमचौर हो ।  सबैभन्दा धेरै धान उत्पादन हुने झापा जिल्लालाई सरकारले धान उत्पादनको सुपार जोन घोषणा गरेको छ ।      कर्णाली प्रदेशमा ९९ प्रतिशत  रोपाइँ हुँदा ३८ हजार तीनसय १६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । कूल ३८ हजार ८८६ हेक्टर जमिनमा  धान रोपाइँ गर्न सकिने  कर्णालीलाई  सुख्खा प्रदेश भनिन्छ  तर यसवर्ष समयमा वर्षा भएकाले कर्णाली भोकमरीको चपेटामा नपर्ने संकेत देखिन्छ ।   नेपालको अर्थतन्त्रमा धानको ठूलो महत्व छ । धानको उत्पादन बृद्धि हुदा अर्थतन्त्र बलियो हुन्छ भने  उत्पादन घट्दा कूल गार्हस्थ्य उत्पादन(जिडिपी) मा असर पर्छ । उत्पादन बढ्दा जिडिपी माथि उक्लन्छ । कृषि क्षेत्रको उत्पादनमा  धानको योगदान १२ प्रतिशत  छ ।    यसवर्ष प्रदेश नं। १ को सोलुखुम्बु, ओखलढुङ्गा, वाग्मती प्रदेशको धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, र चितवन, गण्डकी प्रदेशको म्याग्दी, स्याङ्जा, वाग्लुङ, नवलपुर, लुम्बिनी प्रदेशको बर्दिया, र सुदूरपश्चिम क्षेत्रको दार्चुला, बझाङ, बाजुरा र कञ्चनपुरमा सतप्रतिशत रोपाइँ भएको छ ।      “यसवर्ष हामी खुसी छौँ ।” भक्तपुरका  अगुवा किसान रामकृष्ण ढकालले भन्नुभयो ।  जेठ १५  देखि नै  मनसुन सक्रिय भइ समयमा रोपाइँ भएकाले यसवर्ष धेरै किसान खुसी देखिएका छन् । मौसमले साथ दिएपनि अझैसम्म केही किसानले  रासायनिक मल भने पाउन सकेका छैनन् ।    गतवर्षको यसै अवधिमा ९७ प्रतिशत  क्षेत्रफलमा रोपाइँ भएको थियो ।  गत वर्ष १३ लाख ४२ हजार ८१९ हेक्टर जमिनमा धान रोपाई भएको थियो तर यसवर्ष सोही अवधिमा १४ लाख १७ हजार १३१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्षभन्दा यसवर्ष ७४ हजार ३१२ हेक्टर बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ ।  । नेपालमा झन्डै १६ लाख हेक्टर जमिनमा धान खेती गरिन्छ ।    यसवर्ष कर्णाली प्रदेश र  सुदूर पश्चिममा ९९ प्रतिशत,  लुम्बिनीमा ९०, वाग्मतीमा ९७, मधेश प्रदेशमा ९३ र प्रदेश १ मा पनि ९३ प्रतिशत क्षेत्रफलमा रोपाइँ  भएको छ । नेपालको प्रमुख खाद्यन्न बाली  धान हो ।      नेपालमा चैते धान, वर्षे धान  र घैया धानको रोपाइँ हुदै आएको छ ।    आव २०६०।०६१ देखि २०७८।०७९ सम्म को तथ्याङ्कलाई केलाउदा नेपालमा धानको उत्पादन बढ्नु र घट्नुमा मुख्य मौसममा निर्भर देखिन्छ । जुन वर्ष मौसम अनुकुल हुन्छ त्यो वर्ष धानको उत्पादन बढेको देखिन्छ भने मौसम अनुकुल नभएका बखत धानको उत्पादन घटेको पाइन्छ ।        संसारका आधा जनसंख्याको मुख्य खाना चामल हो । एशियाली देशमा ९० प्रतिशतभन्दा बढी धानको उत्पादन र  खपत हुन्छ । संसारमा सबैभन्दा धेरै धान फल्ने देश चीन हो । विश्वका ७८ भन्दा बढी देशमा  आठ सय ६४ थरीका धानका बीऊ सिफारिस भएका छन् । नेपालमा  ८६  उन्नत  र सात  रैथाने जातको बीऊबाट उत्पादन गरिदै आएको छ । 

पोखरा ।  गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले नयाँबजार बहुउद्देश्यीय सामाजिक भवन निर्माणले स्थानीयलाई सहजता मिल्ने बताउनुभएको छ । पोखरा महानगरपालिका वडा नं ८ दमकलमार्गमा निर्माण भएको सामाजिक भवनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । भवनको मन्त्री थापासँगै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गर्नुभएको हो ।    ‘पोखरा ८ नयाँबजार दमकल मार्गमा निर्माण भएको बहुउद्देश्यीय सामाजिक भवनले स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने जनताहरुलाई लाभ मिल्नेछ’, उहाँले भन्नुभयो, ‘सामाजिक,धार्मिक लगायतका कार्यक्रमहरुका लागि भवनका माध्यम सहजता मिल्नेछ ।’ मन्त्री थापाले भवन परिसरमा निर्माण भएको शिव र सरस्वतीको मन्दिरले उक्त ठाउँको महत्वलाई दर्शाउने अभिव्यक्ति दिनुभयो । समाजमा रहेका विकृति विसंगति न्यूनिकरण गर्दै समुन्नत, परिस्कृत र सुसभ्य सहितको आधुनिक समाज निर्माणमा सबैको पहलकदमी हुनुपर्ने आवश्यकतलाई उहाँले औंल्याउनुभएको छ । कला, संस्कृति, भाषा, धर्म तथा परम्पराको संरक्षण सम्बद्र्धमा सरस्वती मन्दिर बहुउद्देश्यीय सामाजिक भवन निर्माण समिति लाग्ने विश्वास मन्त्री थापाको छ ।    पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगर र दमकलमार्ग बासीमा हिजो देखिएका तित्ततालाई मेट्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नयाँबजारमा स्थापना गरिएको बहुउद्देश्यीय सामाजिक भवन सामाजिक तथा धार्मिक प्रयोजनका लागि उपयोगमा आउने विश्वाल लिनुभएको छ । मेयर आचार्यले भवन विभिन्न सामाजिक परम्परा तथा सांस्कृतिक विविधताले भरिपूर्ण समाजका गतिविधिहरु तालिम तथा सेमिनार, भेला तथा शिविर सञ्चालनका लागि उपयोगी बन्ने धारणा प्रस्तुत गर्नुभयो । टोल, समाज र वडाको विकासमा महानगर सँधै साथमा रहेको भनाई उहाँको थियो ।    पोखरा महानगरपालिका वडा नं ८ का वडाध्यक्ष रुद्रनाथ बरालले आफ्नो वडामा स्थानीयको पहलमा सामाजिक भवन निर्माण हुनु आफैमा महत्वपूर्ण भएको उल्लेख गर्नुभयो । उहाँले स्थानीयका सोच र विचार सँगै वडा साथमा रहेको भनाई राख्नुभयो । अध्यक्ष बरालले आफु सँधै वडा विकासको पथमा लम्कीरहेको र स्थानीयका समस्यालाई समाधान गर्न पहलकदमी गरिरहेको बताउनुभयो ।    सरस्वती मन्दिर निर्माण उपसमितिकी अध्यक्ष राधा थापाले एतिहासिक मान्यता बोकेको दमकल मार्गको अस्तित्व जोगाउन मन्दिरको स्थापना गरिएको बताउनुभयो । उहाँले मन्दिर लगायत सामाजिक भवन निर्माणमा सहयोग गर्ने संघ,प्रदेश र स्थानीय सरकारलाई आभार व्यक्ति गर्नुभएको छ । साथै व्यत्तिगत रुपमा आर्थिक सहयोग गरी भवन तथा मन्दिर निर्माण कार्यलाई सफलता प्रदान गर्नेहरुलाई समेत उहाँले धन्यवाद दिनुभएको छ ।    कार्यक्रममा नयाँबजार बहुउद्देश्यीय सामाजिक भवन निर्माण मूल समितिका कोषाध्यक्ष पूर्ण बहादुर राना मगरले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार सामाजिक भवन निर्माणमा २ करोड ६ लाख ३७ हजार ६ सय ५१ रुपैयाँ खर्च भएको छ । २ करोड १९ लाख ४३ लाख २ सय ८२ आम्दानी हुँदा बैंक मौज्दात १३ लाख ६१ हजार १ सय ४१ रहेको जानकारी उहाँले गराउनुभयो । महासचिव धिरज थापाले समितिले गरेका कार्यहरुको बारेमा बताउनुभएको थियो । राम बहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ब्रह्माकुमार इश्वर विद्यालयकी शोभा दिदी लगायतले बोल्नुभएको थियो ।   

  पोखरा:  पोखरा महानगरपालिका २९ भण्डारढिकमा सक्रिय रहदैं आएको आदर्श युवा क्लबको अध्यक्षमा पदम गुरुङ निर्वाचित भएका छन् ।    क्लबको २५ औं वार्षिक साधारणसभा तथा १२ औँ अधिवेशनबाट गुरुङको अध्यक्षतामा ९ सदस्य कार्यसमिति चयन भएको हो ।   सो समितिको उपाध्यक्षमा लक्ष्मण सुनार, सचिवमा ओमप्रकाश गुरुङ, सह–सचिवमा लक्की पून र कोषाध्यक्षमा उद्व गिरी चयन भए ।   यसैगरि सदस्यहरुमा सन्तोष गुरुङ, विज्ञान भण्डारी, विवेक गुरुङ, सुवास तामाङ, कुशल गुरुङ चयन भएको छन् ।  

  साउन महिनाको अन्तिम सोमबार आज हिन्दू परम्पराअनुसार  साउने मेला समापन हुँदैछ ।  आज पनि जिल्लाका जलेश्वरनाथ, टुटेश्वरनाथ, सिद्धनाथ र मङ्लनाथसहितका प्रसिद्ध शिवालयमा एकाबिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । मधेसको प्राचीन मिथिला क्षेत्रमा साउन महिना भगवान् शिवको प्रिय महिनाको रुपमा लिइन्छ ।    साउनको सोमबार शिवका उपासकले व्रत बसी पूजा आराधना गर्दछन् । मैैथिल परम्परामा तीर्थ, व्रत र धार्मिक अनुष्ठान प्राय चन्द्रमासका आधारमा गर्ने  चलन छ तर वैशाख सङ्क्रान्तिको जुडशीतल, साउने सङ्क्रान्ति, असोज सङ्क्रान्तिको विश्वकर्मा पूजा र माघ सङ्क्रान्तिका दिन मनाइने तिलासक्रायत  पर्व सौरमासको आधारमा मनाइन्छन् ।    मास गणनाको आधारमा साउने मेला सौरमास र चन्द्रमास दुबैभित्र परेका सोमबार अति उत्तम मानिन्छन् । दुबै मासभित्र यसपाली साउनमा २,९, १६ र २३ गते गरी चार सोमबार परेका थिए । सौरमासको गणनाले आजको सोमबार साउनमै परेपनि चन्द्रमासको गणनाले तीन दिन पहिले नै भदौ लागिसकेको छ । यद्यपि साउने व्रत लिएका वर्तालुले आज पनि पूर्ववत् निष्ठाका साथ व्रत लिएका छन् ।    शिव अनुष्ठानका लागि विशेष दिन जुराउनु पर्ने भए पनि व्रत भने आज पनि लिन मिल्ने बर्दिबास–२ का पण्डित महेशकुमार झाले बताउनुभयो ।    साउने सोमबारका वर्तालुले आज शिवालयका शिवलिङगमा जल, पूmल, गाईको दूध र बेलपत्रसहित सामग्री चढाएर व्रत समपन्न गरेको पुकारा गर्छन् । यस व्रतका प्रभावले यस जन्ममा सुख, शान्ति, समृद्धि, कल्याण र मृत्युपछि कैलासबास पाइन विश्वास गरिन्छ ।

  बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । यसवर्ष बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २० वटा पाटे तथा वयस्क बाघ गणना भएको छ ।     बाघ हेर्न उद्देश्यले पर्यटक जङ्गल घुम्छन् । बाघ देखेपछि निकुञ्ज घुम्ने पर्यटक खुशी हुने गरेको पथप्रदर्शक अनुराम चौधरीले बताउनुभयो । “यो मौसममा पर्यटकको बाघ हेर्ने इच्छा पूरा हुन्छ”, चौधरी भन्नुहुन्छ, “ बाघ देख्दा उनीहरु खुशी हुन्छन्” । बाघकै कारण पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइँमा यो निकुञ्ज परेको छ । निकुञ्जको मुख्य क्षेत्र घुम्ने पर्यटकको सङ्ख्या बढेको प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो ।    गत आर्थिक वर्षमा १० हजार बढीले निकुञ्ज घुमेका छन् । “यो सङ्ख्या हाम्रो लागि सुःखद हो”, प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भन्न्भयो,“अहिले बाघ देखिने मौसम भएकोले पर्यटकको सङ्ख्या बढ्ने विश्वास छ ।” 

  चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रका तीन घडियाल गोही बाघले खाएको छ । बाघले गोही खाएको यहाँको यो पहिलो घटना हो । दुई बाघ जुधेपछि घाइते बनेको बाघले प्रजनन केन्द्रमा रहेका गोही खाएको हो ।        निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार घाइते बाघले शिकार गर्न नसकेपछि मानिस छिर्ने गरेको केही होचो पर्खाल नाघेर प्रजनन केन्द्र छिरेको हो । यहाँ रहेका अन्दाजी १२ वर्षका माउ गोही खाएको उहाँले जानकारी दिनुभयो ।        बिहानको समयमा बाघले गोही खाएको हो । गोही खाने बाघ अन्दाजी १२ वर्षको भाले हो । सूचना अधिकारी तिवारीले भन्नुभयो, “बाघले गोही खाएको मैले सुनेको पहिलो घटना हो ।” गोही खाएपछि बाघलाई ‘डाटर्’ गरेर नियन्त्रणमा लिई बाँके पठाइएको छ । सो दिन पानी परेकाले ढिलो गरी कर्मचारी प्रजनन केन्द्र गएकाले बाघको आक्रमणबाट बचेका थिए ।        बाघले आक्रमण गरी घाइते गोहीलाई बाघ भएको स्थान नजिक लगेर राखी खान आएको समयमा बाघलाई नियन्त्रणमा लिइएको हो । यसअघि बाँकेबाट एउटा बाघ यहाँ ल्याइएको थियो । यहाँ खोर खाली नभएपछि बाँके पठाइएको हो । हाल सौराहामा दुई र कसरामा दुई बाघ खोरमा छन् ।

  सिन्धुपाल्चोक ।  मेलम्चीको पाँचपोखरीस्थित सडक भासिँदा यहाँका नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।     मेलम्ची–९ ज्यामिरे राम्चेडाँडामा पहिरो गएर सो सडक भासिएको हो । उक्त क्षेत्रमा करिब दुई साताअघि पहिरो गएर सडक भासिएको थियो । यो सडक भएर पाँचपोखरी थाङ्पाल गाउँपाकिाका आठवटै वडा र मेलम्चीका नौ र १० वडाका स्थानीय आवतजावत गर्ने गरेका छन् । यी स्थानीय र यस भेगको यातायातका लागि यो नै एकमात्र सडक हो । यो सडक तलबाट भासिएर पहिरो खसेको छ तर माथिबाट सवारीसाधन तथा मानिस यात्रा गर्ने गर्दछन् ।       सडक जीर्ण हुँदासमेत जोखिम लिएर जसोतसो यातायातका साधन गुडिरहेका छन् । यहाँका स्थानीयले अर्को विकल्प नभएकाले यात्रा गर्ने गरे पनि कतिबेला अप्रिय घटना हुन्छ भन्ने त्रास रहेको पाँचपोखरी थाङ्पाल गाउँपाकिाका स्थानीय सुन्दर सापकोटाले बताउनुभयो ।      केही दिन अगाडि मात्रै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, इञ्जिनीयर लगायतको टोलीले अवलोकन गरी तत्काल सडक मर्मत गर्ने बताउनुभएको थियो । सडक मर्मतको काम भने अझै सुरु हुन सकेको छैन ।     पाँच पोखरी थाङ्पाल गाउँपालिकाका प्रवक्ता नारायण भट्टराईले मेलम्ची नगरपालिकालाई छिटोभन्दा छिटो सडक मर्मत गरी व्यवस्थित बनाउन आग्रह गर्नुभएको छ । गाउँपालिका अध्यक्ष टाँसी लामाले पटकपटक नगरपालिकालाई आग्रह गरेको तर काम नभएको गुनासो गर्नुभयो । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले उक्त सडक मर्मतका लागि बजेट विनियोजन भइसकेको भन्दै अब काम सुरु हुने बताउनुभयो । उहाँले जोखिममा रहेको सो सडक माथि काट्ने ठाउँ नभएकाले तलबाट पर्खाल उठाएर सडक बग्नबाट रोक्नुपर्ने भएकाले ढिला भएको बताउनुभयो ।

अन्नपूर्ण हिमाल र बराह शिखर हिमालको काखमा अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ पाउद्धारको प्रसिद्ध धार्मिकस्थल खयर भारानी क्षेत्र धार्मिक पर्यटकको केन्द्र बन्न थालेको छ ।    जनैपूर्णिमाको अवसरमा विशेष पूजाआजा हुने यस क्षेत्रमा अहिलेसम्मकै धेरै धार्मिक पर्यटक सहभागी भएका छन् । जिल्ला सदरमुकाम बेनी बजारदेखि तीन दिनको यात्रामा पुग्न सकिने यस धार्मिक स्थलमा पूजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । समुद्री सतहदेखि करिब चार हजार ७०० मिटर उचाइमा अवस्थित खयर भारानी थान र खयर तालमा पूजा र भाकल गर्नका लागि यस पटकको जनैपूर्णिमामा मात्रै ७०० भन्दा बढी भक्तजन सहभागी भएको खयर भारानी थान तथा क्षेत्र संरक्षण कोषका अध्यक्ष भीमबहादुर तिलिजा पुनले बताउनुभयो । उहाँका अनुसार यसवर्ष म्याग्दी, पर्वत, बागलुङ, कास्की, चितवन, नवलपरासी, काठमाडौँलगायत ठाउँबाटसमेत भक्तजनको यस स्थलमा उल्लेख्य सहभागिता थियो ।    खासगरी सन्तान प्राप्ति, रोकिएका काम अघि बढाउन र सु-स्वास्थ्यलगायजस्ता भाकल गर्नेहरु यहाँ आइपुग्ने गर्छन् । खयर भारानी थानमा पूजा र खयर तालमा भाकल गरेर बर मागेकाहरुले आफ्नो मनोकांक्षा पूरा भएपछि पनि भाकल गरेर बर मागे बमोजिमको पुनः पूजा गरी बर फिर्ता गर्ने चलन रहेको स्थानीय समाजसेवी राजु पुनले बताउनुभयो ।    ‘‘ सन्तान नभएका धेरैले यहाँ भाकल गरेपछि सन्तान पाउनुभएको छ, रोकिएका काम समाधान भएको भनेर धेरैले खुसी व्यक्त गर्नुभएको छ, त्यसैले हरेक वर्ष यहाँ आउने भक्तजनको सङ्ख्या बढ्दै गएको छ,’’ उहाँले  भन्नुभयो । यहाँ वर्षौ पहिले भाकल गरेकाले आफ्नो मनोकांक्षा पूरा भएपछि पुनः पूजा र भाकल फिर्ताको लागि समेत आइपुग्ने गरेका थिए । खयर भारानीमा पुगेर भाकल गरेपछि मनोकांक्षा पूरा भएको तर  पनि विविध कारणले २० वर्षपछि पुनः खयर भारानीमा पूजा गर्न आएको रघुगङ्गा गाउँपालिका-२ की निर्मला भण्डारीले बताउनुभयो । पोखरा फूलबारीबाट चार दिन लगाएर खयर भारानी पुग्नुभएका हितबहादुर गर्वुजाले आफ्नो छोराको लाहुरेमा भर्ती हुने सपना साकार होस् भनेर भाकल गरेको बताउनुभयो ।    ‘‘धेरैलाई खयर भारानीले पु¥याउने गरेको कुरा सुने, छोराको सपना पूरा होस् भनेर यहाँ आएर भाकल गरेको छु, यहाँ आएका धेरैले आफ्नो मनोकांक्षा पूरा भएको अनुभव सुनाउनुभएको छ, भाकल पूरा भएपछि फेरि आउँछु’’-गर्वुजाले भन्नुभयो । विगतका दुई वर्षमा कोरोना महामारीका कारण भाकल गर्न र भाकल पूरा भएपछि बर फिर्ता गर्न नपाएका कारण यसवर्ष उल्लेख्य रुपमा भक्तजनको आगमन भएको कोषले जनाएको छ ।  पहाड र जङ्गलको बाटो हुँदै हिमालको फेदीमा रहेको खयर भारानी थान र खयर तालमा पुग्न पछिल्लो समय पाउद्धारदेखि खोप्रा–खयरखोला हुँदै खयरलेकसम्म नै पदमार्ग, चौतारा र खानेपानीको धारा निर्माण गरिएकाले  भक्तजनलाई सहज भएको छ । पाउद्वार–खोप्रा-खयरखोला हुँदै खयरलेकसम्मको करिब तीन दिनको पदयात्राको बाटोमा समुदायकै अग्रसरता र लगानीमा पदमार्ग, चौतारा र खानेपानीको धारालगायत पूर्वाधार निर्माण गरिएको छ । भक्तजनको सुविधाका लागि खयर भारानी थान तथा क्षेत्र संरक्षण कोषले खोप्रा र खयरखोलामा अस्थायी आवासगृहसहित खाना र खाजाकोसमेत बन्दोबस्त मिलाएको कोषका व्यवस्थापन संयोजक मीनबहादुर तिलिजा पुनले बताउनुभयो ।    ‘‘हिमालको काखमा रहेको थानमा पुग्न हिजोका दिनमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो, अहिले अधिकांश जोखिमयुक्त ठाउँमा पदमार्ग बनिसकेको छ, बाँकी ठाउँमा पनि पदमार्ग बनाउने योजना अघि बढिरहेको छ, जनैपूर्णिमामा मात्रै नभएर अन्य समयमा समेत भक्तजन र पर्यटक यस क्षेत्रमा आउने प्रचलन बढिरहेको छ, खयरलाई धार्मिक पर्यटनको केन्द्र बनाउने अभियानले सार्थकता पाउँदै गएको छ’’–उहाँले भन्नुभयो । आँखै अगाडि देखिने हिमाल, डाँडाकाँडा र हिमाली भू-बनोट खयर पदमार्गको थप आकर्षण हो । यस पदमार्गबाट अन्नपूर्ण, धौलागिरि, निलगिरि, बराह शिखर, गुर्जा, चुरेनलगायत हिमाललाई नजिकबाट अवलोकन गर्न सकिन्छ । मनोकांक्षा पूरा हुने र रमणीय प्राकृतिक सौन्दर्यमा घुमफिर र रमाउनका लागि हरेक वर्ष खयरक्षेत्र पुग्नेको सङ्ख्या बढ्दै गएको छ ।