म्याग्दी । कुनै समय ग्राहकको चापले खाना खाने समय नपाउने बेनी नगरपलिका–७ शान्तिटोलका व्यापारी भद्रबहादुर केसी अहिले फुर्सदिला हुनुहुन्छ । विसं २०५० मा पर्वतको धाइरीङबाट बसाइँसराइ गरेर आउनुभएका केसी पछिल्लो समय बेनीमा खुद्रा ब्यापार खस्किदै गएको अनुभव सुनाउनुहुन्छ । “बेनीमा केही सरकारी अड्डा र थोरै मात्र घर थिए । अहिले घरैघरले भरिएको ठाउँ उ बेला बारी, झाडी र चरन क्षेत्र थियो”, उहाँले विगत सम्झनुभयो, “बिहानैदेखि पसलमा ग्राहकको लस्कर लाग्दथ्यो । उनीहरुलाई सामान दिँदादिँदै बिहानको खाना खाने फुर्सदै पाइँदैनथ्यो । अहिले बजार बढ्यो तर ब्यापार खस्कियो ।” पन्ध्र वर्षअघिसम्म म्याग्दी, मुस्ताङ र पर्वतको उत्तरी मल्लाज क्षेत्रको व्यापारिक केन्द्र थियो बेनी बजार । मुस्ताङ जाने आउने तीर्थयात्री र पर्यटकमात्र नभएर सरकारी सेवादेखि रेमिट्यान्सका लागि आएका गाउँका मानिसले बेनी बजारका भट्टीदेखि होटल भरिभराउ हुन्थ्ये । अन्य जिल्लामा जाने आउनेको ‘ट्रान्जिट’ बेनी थियो । खुद्रादेखि थोक व्यापारीलाई भ्याइनभ्याइ हुन्थ्यो । अहिले थोक बिक्रेता (डिलर) बाहेकका साना व्यापारी बेनीमा प्रतिस्पर्धा गर्न र टिक्न गाह्रो भएको गुनासो गर्छन् । बेनीका पुराना व्यापारी धर्मनारायण श्रेष्ठले यातायात सुविधाको विस्तारसँगै व्यापारको शैली फेरिएको बताउनुभयो । “नौडाँडा, बुटवलबाट भरिया, घोडा र खच्चरमा सामान बोकाएर ल्याइन्थ्यो । ग्राहक सामान खोज्दै बजारका पसलमा आउँथे”, उहाँले भन्नुभयो, “अहिले उत्पादकबाट सिधै डिलरकहाँ सामान आउँछ । डिलरले गाडीमा ग्राहकको घरदैलोमै पुर्याउँछन् । किनमेलका लागि बजार आउनेको चहलपहल घटेको छ ।” करिब दुई किलोमिटर दूरीमा म्याग्दी र कालीगण्डकीको दोभानमा रहेको बेनीबजार बेनी नगरपालिकाको वडा नम्बर ७ र ८ मा पर्छ । यहाँ एक हजारभन्दा बढी घर छन् । मङ्गलाघाट पश्चिमी क्षेत्र, हुलाकचोक र न्युरोड बजार आसपास तथा कालीपुल उत्तरीक्षेत्र र मुस्ताङको व्यापारिक केन्द्र थियो । विसं २०६४ मा कालीगण्डकीमा मोटरेबल पुल नबन्दासम्म अधिकांश डिलरका गोदाम पर्वतको जलजला गाउँपालिकाको वडा नम्बर ३ वारीबेनीमा थिए । वारीबेनीमा अहिले थोरै मात्र डिलरका गोदाम छन् । खच्चर र किनमेलका लागि आउने मानिसको भीड हुने वारीबेनी अहिले सुनसान भएको व्यापारी डिलबहादुर बरुवाल बताउनुहुन्छ । कास्की, पर्वत, बागलुङबाट व्यापारका लागि म्याग्दीमा आएका धरैले बेनी छोडिसकेका छन् । त्यसबेलाका ठूला व्यवसायी पोखरा, चितवन, काठमाडौँमा सरेका हुन् । मङ्गलाघाटका घरका सटर खाली हुन थालेको धेरै भयो । डेरामा बस्ने क्याम्पस पढ्ने विद्यार्थी र कर्मचारी धेरै छन् । कालीपुल र वारीबेनीको व्यापारिक अवस्था पनि मङ्गलाघाटको भन्दा फरक छैन । घरले भरिएर बजारभित्र करिब खाली ठाउँ भेटिँदैनन् । क्याम्सचोक, अस्पताल चोक र महारानीथान, कुरिलाखर्कको पाखोमा बजार विस्तार भएको छ । शान्ति प्रक्रियापछि सडक र यातायात विस्तारले तीव्रता पायो । म्याग्दीका ४५ मध्ये धौलागिरि गाउँपालिकाको वडा नम्बर १ मा पर्ने गुर्जाबाहेकका वडा र बस्तीमा सडक यातायात पुगेको छ । यातायातका साधनमार्फत ग्राहक र गाउँका व्यापारीको घरदैलोमा सामान पुग्न थालेको खाद्यान्न व्यापारीसमेत रहनुभएका म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । अर्कोतर्फ विसं २०६८ सम्म मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा देशका विभिन्न ठाउँबाट सिधा यातायात सम्पर्क थिएन । मुस्ताङ जाने र आउने यात्रुु, तीर्थयात्री र पर्यटक बेनीमा झर्ने गर्दथे । सडक विस्तार र स्तरोन्नतिसँगै मुस्ताङ मात्र नभएर म्याग्दीका गाउँ गाउँबाट सिधै पोखरा–काठमाडौँका लागि गाडी छुट्न थालेका छन् । सङ्घीयताको कार्यान्वयनपछि सरकारी, बैंक र वित्तीय संस्थाको सेवा विकेन्द्रित भयो । सदरमुकामका कार्यालयमा सेवा लिन आउने ग्रामीण क्षेत्रका सर्वसाधारण बिहान आएर काम सकेर साँझै घरमै पुग्ने गरेका छन् । निजी विद्यालय, क्याम्पस र दश जोड दुई तह अध्ययन गर्ने विद्यार्थीको चाप भने बेनीमा घटेको छैन् । दरबन्दी र पूर्वाधार अभावमा ५० शय्यामा स्तरोन्नति भएको बेनी अस्पतालले प्रभावकारी सेवा दिन नसक्दा उपचारका लागि पोखरा, काठमाडौँ जाने बेनीमा अडिन सकेका छैनन् । मानिसको चहलपहल घट्नु, प्रतिस्पर्धा बढ्नु र कोरोना महामारीका कारण यसअघिका दुई वर्षमा भएको बन्दाबन्दी, निषेधाज्ञाले साना पुँजीका खुद्रा व्यापारीलाई समस्या परेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष कटुवालले बताउनुभयो । खुद्रा पसल, फेन्सी, भाडा, तरकारी तथा फलफूल पसल सञ्चालक छिटोछिटो परिवर्तनका साथै बजारका सटर खाली हुन थालेका छन् । बेनीको आर्थिक गतिविधिलाई चलायमान बनाउन व्यापारको विकल्प खोजी गर्नुपर्ने व्यवसायी जीवनबहादुर विश्वकर्माको भनाई छ । “बेनीमा विगतको जस्तो व्यापार छैन”, उहाँले भन्नुभयो “आर्थिक गतिविधिलाई चलायमान बनाउने योजना बनाएर कार्यान्वयन गर्न नसके बेनीका ब्यापारी पलायन हुनेछन् ।” तातोपानी कुण्ड, गलेश्वर, लभ्लीहिल, पछै, जगन्नाथ, टोड्के, रुइसे, मल्लाजमा पर्यटकीय पूर्वाधार बनाएर पर्यटक भित्र्याउन र बसाई लम्ब्याउन सकेमा मात्र बेनीको व्यापारलाई पुरानै लयमा फर्काउन सकिने नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष प्रमोद श्रेष्ठले बताउनुभयो । “तत्काललाई प्राकृतिक उपचारस्थलको रुपमा परिचित तातोपानी, पश्चिमको पशुपतिनाथ भनेर चिनिने गलेश्वर, ऐतिहासिक बेनी कोत, महारानी थान, बरको रुखमुनि रहेको अनौठो बेनी शिवालय मन्दिरको प्रवद्र्धन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “बेनीलाई केन्द्र बनाएर साहासिक पर्यटकीय पूर्वाधारको अध्ययन भइरहेको छ ।” बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बेनीलाई व्यापारिकबाट पर्यटकीय केन्द्रमा रुपान्तरण गर्न अल्पकालीन र दीर्घकालीन योजना कार्यान्वयन थालिएको बताउनुभयो । बेनीको शिरमा रहेको पछैमा रावण पार्क बनाउन सुरु गरिएको र तातोपानीमा प्राकृतिक उपचार केन्द्र सञ्चालनको तयारी भएको उहाँले बताउनुभयो । बेनीमा रहेको बाइसेचौबिसे राज्यको पालामा निर्मित ऐतिहासिक बेनीकोत घरको हालै पुनःनिर्माण र जीर्णोद्धार भएको छ । तातोपानी कुण्डमा बिरामीबाहेकका पाहुनालाई पनि चौबिसै घण्टा स्नान गर्ने व्यवस्था मिलाइएको छ । चिनको सिमानामा रहेको मुस्ताङस्थित कोराला नाका सञ्चालन भएमा म्याग्दीको व्यापारमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । कालीगण्डकी कोरिडोरअन्तर्गत कोरला नाका जोड्ने सडक स्तरोन्नतिको काम भइरहेको छ ।
धनुषा । जनकपुरधाम भारतीय बजार जयनगरबाट लागुऔषध लिएर आउँदै गर्दा बिहीबार साँझ प्रहरीले धनुषाको नगराइन नगरपालिका–३ का २० वर्षीय पङ्कज साहलाई जनकपुरधाम उपमहानगरपालिका–७ स्थित जिरोमाइलबाट पक्राउ गर्यो । धनुषा जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले जाँच गर्ने क्रममा लागुऔषध राइजोसे डीएसआर क्याप्सुल दुई सय ९२ पता, प्यानटोज डीएसआर क्याप्सुल ५९ पता, लिभ सेट ४७ पत्ता र सेटरिजिनरे हाइड्रोक्लोराइड ११ पतासहित साहलाई पक्राउ गरेको हो । यसको अघिल्लो दिन प्रहरीको टोलीले १० किलो दुई सय ५० ग्राम गाँजासहित नगराइन नगरपालिका–२ जटहीका ४५ वर्षीया डोमा सदालाई पक्राउ ग¥यो । भारततर्फ पठाउन प्लाष्टिकको झालोमा प्याकिङ गरिएको अवस्थामा गाँजासहित सदालाई पक्राउ गरेकै दिन प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–१० बाट २६ वर्षीय रविकुमार रायमाझीलाई पनि सोही अभियोगमा पक्राउ गर्यो । शङ्का लागेर जाँच गर्दा प्रतिबन्धित लागुऔषध नाइट्रोभेट ३० ट्याब्लेटसहित रायमाझीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यसअघि गत साउन १४ गते प्रहरीले नाइट्रोभेट ट्याबलेट पाँच सय २५ पिससहित जनकपुर उपमहानगरपालिका–५ देवानपोखरीबाट धनुषाको मिथिला नगरपालिका–६ तारापट्टी २७ निवासी प्रवीण यादवलाई पक्राउ गरेको थियो भने साउन १२ गते एकै दिन लागुऔषधसहित तीन जनालाई प्रहरीले धनुषाको जनकपुर उपमहानगरपालिका–१९ बेंगाशिवपुर निवासी २० वर्षीय लक्ष्मेश्वर यादव, जनकपुरधाम उपमहानगरपालिका–१ निवासी १९ वर्षीय इब्रान नदाफ र धनुषाको विदेह नगरपालिका–३ निवासी १९ वर्षीय अतुल झालाई पक्राउ गरेको थियो । यसरी प्रहरीले धनुषामा कडाइ गरेपछि दिनहुँ लागुऔषध सेवनकर्ता र कारोबारी धमाधम पक्राउ पर्दै आएका छन् । जिल्लामा ब्राउन सुगरको कारोबार गर्दै गर्दाको अवस्थामा त्यससँग संलग्न व्यक्तिसमेत पक्राउ पर्न थालेका छन् । साथै सीमावर्ती भारतीय बजारबाट लुकीछिपी ल्याइने विभिन्न किसिमका ब्राउन सुगर र नेपालबाट भारततर्फ पैठारी हुने गाँजाको ओसारपोसारमा संलग्नलाई प्रहरीले लगभग दिनहुँ पक्राउ गरिरहेको छ । आर्थिक वर्ष २०७८÷०७९ मा जिल्ला प्रहरीले करिब चार हजार थान विभिन्न प्रकारका लागुऔषध तथा तीन सय केजी गाँजासहित एक सय तीनजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार सो अवधिमा लागुऔषधसहित सात स्वदेशी महिला, ९२ स्वदेशी र चार विदेशी पुरुषलाई पक्राउ गरिएको थियो । सो अवधिमा जिल्ला प्रहरीले लागुऔषध कारोबारका ७७ थान मुद्दामा अदालतको आदेशबाट ४७ जना पुर्पक्षका लागि कारागार गएका र ५३ जना धरौटीमा छुटेका थिए । यसअघि आर्थिक वर्ष २०७७÷०७८ मा करिब छ हजार थान विभिन्न प्रकारका लागुऔषध तथा ४० किलो गाँजासहित एक सय जनालाई पक्राउ गरिएको थियो । खुला सीमानाकाको फाइदा उठाउँदै नेपाल–भारत सीमा जोड्ने जयनगर, जटहीलगायत नाका हुँदै लागुऔषध राजधानी काठमाडौँसम्म पुग्ने गरेका थिए । सीमावर्ती भारतीय बजारमा पुगेर लागुऔषध सेवन र खरिद गरी नेपाल ल्याउने युवा जमात बढ्दो छ । प्रहरीले सीमानाकामा ओहोरदोहोर गर्ने युवा जमातलाई लक्ष्य गरेर जाँचलाई कडाइ गरेसँगै अधिकांश युवाको साथबाट केही न केही मात्रामा लागुऔषधका सामग्री बरामद हुने गरेको बताइन्छ । लागुऔषध सेवन र कारोबारीको आरोपमा पक्राउ पर्नेमा अधिकांश २० देखि ३० वर्ष उमेर समूहका युवा छन् । पक्राउ पर्ने प्रयोगकर्ता अभिभावकको निगरानीमा नभएका युवा रहेको जनकपुरधाम उपमहानगरपालिका–४ का रमेश साहले बताउनुभयो । पढाइ छोडेर बसेका, काम नपाएर फुर्सदमा बसेका युवा साथीसङ्गतको वहकाउमा परेर दुव्र्यसनीमा फस्ने गरेको उहाँको भनाइ थियो । “यसअघि प्रायजसो मधेसी समुदायमा लागुऔषधको दुव्र्यसनी देखिँदैन थियो”, रमेशले भन्नुभयो “तर पछिल्लो समय युवा जमातमा ह्वात्तै त्यसको लत देखिथालेको छ ।” यो सबैको लागि चिन्ताको विषय बनेको उहाँको भनाइ थियो । “छोरालाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाउँदा पनि अभिभावकले आफ्ना छोराहरु लागुऔषध दुव्र्यसनमा लागेको पत्याउँदैन”, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बसन्त रजौरेले भन्नुभयो, “लागुऔषधको दुव्र्यसनबाट बच्न अभिभावक, विद्यालय, शिक्षक र घर परिवार आफैँ सचेत हुनुपर्छ ।” गाँजाको खेती नेपाली भूमिमा नै गरिने हुँदा लागुऔषधको नियन्त्रणको साथसाथै गाँजाको खेती नष्ट गर्ने अभियान समेत प्रहरीले थालेको छ । भारतबाट भित्रिने लागुऔषध र धनुषामा हुने गाँजा खेतीलाई निरुत्साहित गर्न विशेष अभियान नै चलाउँदै आएको प्रहरी उपरीक्षक रजौरेको भनाइ थियो ।
पोखरा । पोखरा महानगरपालिका वडा नं.३२ श्यामघाट (लामेआहाल) स्थित श्री राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयको नवनिर्मित ४ कोठे भवन उद्घाटन गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सो भवन उद्घघाटन गर्नुभएको हो । भवनको उद्घघाटन पछी बोल्दै प्रमुख आचार्यले अनुशासन, असल आचरण र नैतिक शिक्षामा आधारित संस्कृत शिक्षाको थप विकास र सुदृढीकरण आवश्यक रहेको बताउनुभयो । उनले भने,‘आधुनिकताको विकाससँगै व्यक्तिमा आत्मअनुशासन प्रवद्र्धनमा संस्कृत भाषा तथा गुरुकुल विद्यालयहरूको योगदान महत्त्वपूर्ण रहेको छ ।’ नवनिर्मित भवनले सहज सिकाइका लागि विद्यार्थीहरूको मनोबल उच्च हुनुका साथै हौसला र प्रोत्साहन समेत मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । विद्यालयको भौतिक संरचना निर्माण तथा शैक्षिक सुधारका लागि पोखरा महानगरपालिकाको तर्फबाट थप सहयोग गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । पोखरा ३२ का वडा अध्यक्ष अक्कल बहादुर कार्कीले संस्कृत तथा गुरुकुल शिक्षामा उक्त विद्यालय अग्रणी रहेको बताउनुभयो । विद्यालय संचालनमा देखिएका समस्याहरुको समाधानका लागि सम्बन्धित निकायहरुसंग आवश्यक समन्वय तथा पहल गर्ने उहाँले बताउनुभयो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत पोखरा महानगरपालिका मार्फत प्राप्त ३६ लाख र जनश्रमदान तथा दाताहरूको सहयोग समेत गरी भवन निर्माणमा रु४१ लाख ६५ हजार बढी खर्च भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिभक्त सिग्देलले जानकारी दिनुभयो । आर्थिक अभावका कारण विद्यालयमा आवश्यक भौतिक संरचनाहरू निर्माण गर्न नसकिएको उहाँले गुनासो गर्नुभयो । विद्यालयमा अझै पनि व्यवस्थित शौचालय र खानेपानीको अभाव रहेको सिग्देलले बताउनुभयो । कक्षा ६ देखी १० सम्म पढाई हुने उक्त विद्यालयमा २५ जना विद्यार्थीहरूले आवासीय सुविधा सहित अध्ययन गरिरहेका विद्यालयका प्रधानाध्यापक प्रकाश उपाध्याय रेग्मीले बताउनुभयो । विद्यालयमा महानगरको सहयोगमा ५ जना शिक्षकहरू कार्यरत रहेका छन् भने हालसम्म कुनै पनि दरबन्दीको व्यवस्था छैन । दरबन्दी नहुँदा शिक्षकहरूले न्यूनतम पारिश्रमिकमा पढाउनु पर्ने भएका कारण स्थायी रूपमा शिक्षकहरूलाई रोक्न नसकिएको गुनासो रेग्मीको छ । उहाँका अनुसार विद्यालयको मासिक खर्च रु३ लाखको हाराहारीमा छ । २०७० सालमा स्थापित उक्त विद्यालयले २०७१ सालदेखि पठनपाठन सुरु गरेको थियो । विद्यालयमा हाल नेपाली, सामाजिक, गणित, अङग्रेजी, वेद, संस्कृत भाषा, कर्मकाण्ड र व्याकरण लगायत विषयहरूमा पढाई हुने गरेको छ । विद्यालयबाट एसइईका २ ब्याच विद्यार्थीहरू पास आउट भैसकेका छन् ।
पोखरा । गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकुदलाई लक्ष्य गरी प्रदेश खेलकुद परिषद् गण्डकीले पहिलो चरणको खेलाडी प्रशिक्षण र छनोट सुरु गरेको छ । असोज २८ देखि कात्तिक ३ गते सम्म सञ्चालन हुने राष्ट्रिय खेलकुदका लागि पहिलो चरणमा विभिन्न १४ र महिलातर्फका पाँच खेलका लागि कास्की सहित नवलपुर, स्याङ्जा, गोरखा र बाग्लुङमा प्रशिक्षण सुरु गरिएको हो । विशेष प्रशिक्षणबाट प्राविधिक टोलीले आवश्यक खेलाडीहरु छनोट गर्ने परिषद्ले जनाएको छ । राष्ट्रिय खेलकुदमा ३६ र दुई प्रदर्शनी खेल गरी ३८ खेलमा पदकका लागि खेलाडीले प्रधिस्पर्धा गर्नेछन् । आगामी तीन साताका लागि तय गरिएको विशेष प्रशिक्षणमा सफ्ट टेनिस, टेनिस, स्क्वास, खो खो, महिला हक्की, फेन्सिङ, स्विमिङ, ट्राइयाथलन, साइक्लिङ, महिला ह्याण्डबल, महिला बास्केटबल, महिला फुटबल, महिला क्रिकेट, प्याराग्लाइडिङ, गल्फ, कुस्ती, सुटिङ र आर्चरी खेलहरु रहेका छन् । पोखरा रङ्गशालामा आयोजित पहिलो चरणको खेलाडी छनोटको शुभारम्भ गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल ‘जिवन’ले बजेट अभावमा खेलाडीको प्रशिक्षण र आधारभुत सुविधाबाट बञ्चित हुन नदिइने प्रतिवद्धता जनाएका छन् । उनले भने–“राष्ट्रको गौरवसँग जोडिएको राष्ट्रिय खेलकुदलाई भव्यताका साथ सफल पार्न आयोजक प्रदेशका हिसाबले गण्डकी प्रदेश सरकारका प्रतिवद्ध छ । खेलाडीलाई बजेट अभावमा आधारभूत सुविधाबाट बञ्चित गरिने छैन, प्रतियोगितालाई बजेटको कमी हुन दिइनेछैन ।” उनले पैसाका कारणले व्यवस्थापकिय तथा खेलाडीलाई आधारभुत कुराहरुमा कुनै कमि हुन नदिइने उनको भनाई थियो । अर्थ मन्त्री बरालले प्रदेशमा रहेका खेलकुद पुर्वाधारहरु अझै पनि संघिय सरकार अन्तर्गत रहेकोले केही कठिनाईहरु उत्पन्न भएकोले पूर्वाधारहरु प्रदेश अन्तर्गत गर्न पहल गर्नुपर्नेमा जोड दिए । उनले भने–“सवै ठाउँमा संघियाता आए पनि खेलकुदमा अझै संघियता आएको छैन । हामीले व्यवस्थित गर्न खोज्दा खोज्दै पनि कानुनी झञ्झटले समस्या आएको छ ।” उनले अधिकारको लागि अझै केही लडाँई लड्नु पर्ने उनको भनाई थियो । खेलकुद सवैको पहुँचमा पु¥याउन आवश्यक रहेको बताउँदै मन्त्री बरालले भोलीका दिनमा उत्कृष्ट नतिजा ल्याउने गरी प्रशिक्षणमा ध्यान दिन उनले आग्रह गरे । नवौं राष्ट्रियमा व्यवस्थापकिय पक्षलाई समेत उत्तिकै महत्वपूर्ण रहने भएकोले सबैलाई निष्ठा पूर्वक र नयाँ सन्देश दिने गरी अघि बढ्ने उनले बताए । उद्घाटन कार्यक्रममा प्रदेशका ११ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखहरुको छलफल पछि पहिलो चरणको खेलाडी छनोट र प्रशिक्षण सुरु गरेको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले जानकारी दिंदै नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकीमा दुई चरणमा खेलाडी छनोट गरिने बताए । पहिलो चरणमा १४ वटा खेलहरुलाई विशेष प्रशिक्षणपछि प्राविधिक टोलीले सोझै खेलाडी छनोट गर्नेछ भने दोस्रो चरणमा २२ वटा खेलहरुको जिल्ला छनोट प्रतियोगिता हुने परिषदले जनाएको छ । जिल्ला छनोटपछि प्रादेशिक छनोट प्रतियोगिताबाट राष्ट्रियका लागि गण्डकीको टोली तयार हुनेछ । सदस्य सचिव गुरुङले २२ खेलका लागि जिल्ला छनोट प्रतियोगिता भदौ ९ देखि १२ गते सम्म सञ्चालन गर्ने कार्यतालिका रहेको र विशेष प्रशिक्षण र जिल्ला छनोट पश्चात पोखरामा भदौ १५ देखि १८ गते सम्म अन्तिम छनोट तालिका तय गरिएको बताए । परिषद्ले अन्तिम छनोट भएका खेलाडीहरुलाई आगामी भदौ २६ देखि असोज २६ गते सम्म आवासीय सुविधा सहित पोखरामा बन्द प्रशिक्षणमा राखिने जनाएको छ । सो अवसरमा प्रदेश नीति तथा योजना आयोगका सदस्य डा सुवास अधिकारीले खेलकुद स्वास्थ्यका लागि मात्र नभएर देशको पहिचान र समृद्धिका लागि समेत आवश्यक रहेको बताउँदै राष्ट्रिय प्रतियोगिता सबै मिलेर सफल पार्नुपर्नेमा जोड दिए । कार्यक्रममा यूवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रिनाथ अधिकारीले नवौं सफल बनाउने जिम्मा प्रदेशकै रहेको बताउँदै मन्त्रालय सदैव खेलमैत्री रहेको उल्लेख गरे । कार्यक्रममा परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले धन्यवाद मन्तव्य राख्दै सबै मिलेर नवौं सफल बनाउन आग्रह गरे । कार्यक्रममा परिषदकी कार्यकारी सदस्य तारा मायाँ थापा मगर र सदस्य खगेन्द्र क्षेत्रीले समेत आफ्ना भनाई राखेका थिए ।
काठमाडौं । मानवीय सेवाका विविध गतिविधिमा जुटिरहने रेडक्रसका स्वयंसेवकले काठमाडौँ महानगरपालिकाको फोहर व्यवस्थापनमा पनि हातेमालो गर्न थालेका छन् । यसक्रममा उनीहरुले आज बिहानदेखि कामपाका मुख्य सडक तथा चोकमा छरपष्ट भएका फोहरलाई प्लास्टिकको थैलोमा राख्ने र कामपाकै गाडीमा राखेर पठाउने कामको अभियान सुरुआत गरेका हुन् । सो अभियानमा नेरेसो काठमाडौँ जिल्ला शाखामा आबद्ध ५० स्वयंसेवक खटिएका छन् । उनीहरुले दैनिक बिहान दुई घण्टा फोहर व्यवस्थापन गर्ने जनाइएको छ । शाखाका नवनिर्वाचित सभापति श्यामकाजी डोटेलले सफाइ कार्यक्रम १० दिनसम्म जारी रहने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ सफाइ कार्यक्रमको पहिलो दिन आज विहान बागवजार,कमलादी र पुतलीसडक क्षेत्रमा फोहर व्यवस्था गर्ने काम भयो । यस अभियानले स्वच्छ काठमाडौँ बनाउन सहयोग मिल्छ । सडकका मुख्य चोक तथा गल्लीमा थुप्रिएका फोहर समयमै व्यवस्थापन गर्न जरुरी हुन्छ । ”
पोखरा । तमु(गुरुङ)कलाकार संघ नेपाल गण्डकी प्रदेश समितिको पाचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले पुनः सुरेन्द्र गुरुङको अध्यक्षतामा सर्वसम्मत २७ सदस्यीय कार्यसमिति गठन गरेको छ। पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा माया गुरुङ(तनहुँ), उपाध्यक्षमा बिक्रम गुरुङ(स्याङ्जा), महिला उपाध्यक्षमा इन्द्रा गुरुङ(पर्वत), महासचिवमा टसबहादुर गुरुङ(लमजुङ),नेत्र गुरुङ(स्याङ्जा), महिला सचिवमा ज्योति गुरुङ(बाग्लुङ), सहसचिवमा डबिन गुरुङ(पर्वत), कोषाध्यक्षमा सबिना गुरुङ(कास्की) र सहकोषाध्यक्षमा दिलु गुरुङ(स्याङजा) रहनुभएको छ। यसैगरी विदेश विभाग प्रमुखमा गौरी गुरुङ,साँस्कृतिक विभाग प्रमुखमा सबिन गुरुङ(लमजुङ), अतिरिक्त विभाग प्रमुखमा ओम गुरुङ(स्याङजा),महिला विभाग प्रमुखमा रबिना गुरुङ र सचिवालय सदस्यहरुमा पुजा गुरुङ(लमजुङ), रामप्रसाद गुरुङ(स्याङजा), मिना गुरुङ(गोर्खा) चयन हुनुभएको छ। यसरी नै सदस्यहरुमा रनु गुरुङ(गोर्खा), संगिता गुरुङ(लमजुङ), ममता गुरुङ(स्याङजा), सिता गुरुङ(तनहुँ), धनप्रसाद गुरुङ(तनहुँ), युमिन्द्र गुरुङ युबिन(स्याङजा), काजी गुरुङ(स्याङजा), सुनिमा गुरुङ(गोर्खा) र रोशन गुरुङ(स्याङजा) चयन हुनुभएको छ। नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक हुमबहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो। निर्वाचित अध्यक्ष सुरेन्द्र गुरुङले प्रतिवद्धता व्यक्त गर्नुहुदै तिनवर्षे कार्यकाल नमुना बनाउने घोषणा गर्नुभयो। नवनिर्वाचित कार्यसमितिलाई फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीसले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो। यस अघि पाँचौ साधारणसभा, तेश्रो अधिवेशन तथा स्रष्टा सम्मान कार्यक्रमको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि गण्डकी प्रदेश सभाका सदस्य मिनप्रसाद गुरुङले शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँले मौलिक कला, सँस्कृति विकासका लागि राज्यको तर्फबाट साथ हुनुपर्ने र आफ्नो तर्फबाट सक्दो पहल हुने बताउनुभयो। कठिन बेलामा पनि तमु कलाकार संघ गण्डकीले उदाहरणीय कार्य गरेको भन्दै प्रसंसा गर्नुभएको थियो। कार्यक्रममा तमु कलाकार संघका केन्द्रिय अध्यक्ष सर्मिला गुरुङ, संस्थापक अध्यक्ष राजु गुरुङ, गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, सल्लाहकार यामबहादुर गुरुङ, जिफानका अध्यक्ष गुञ्जबहादुर गुरुङ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय सचिव जिवन दाहाल, सम्मानित स्रष्टा शान्ति गुरुङले मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा स्व.मेनकाजी गुरुङ स्मृति पुरस्कारबाट अग्रज गायिका शान्ति गुरुङलाई नगदसहित सम्मान गरिएको थियो। यसै गरी अमेरिकाबाट आउनुभएकी गायिका ज्योति गुरुङलाई स्वागत, अन्नपुर्ण गाँउपालिका भलिबल संघको अध्यक्षमा चयन हुनुभएकोमा संघका आजीवन सदस्य एवम सहयोगी लामा अमृत गुरुङलाई बधाई ज्ञापन गरिएको थियो। यसरी नै कलाकार संघले वर्षको उत्कृष्ठ सदस्यहरुमा महिलातर्फ रबिना गुरुङ र पुरुषतर्फ दिलु गुरुङलाई सम्मान गरिएको थियो। यस्तै गरी संघको संरक्षकहरु संस्थापक अध्यक्ष दुर्गा गुरुङ र संरक्षक संस्थापक सदस्य शंकर बिरही गुरुङलाई बधाई ज्ञापन गरिएको थियो भने सहयोगीहरुलाई कदर पत्र प्रदान गरिएको थियो। कार्यक्रममा संघकी संस्थापक अध्यक्ष दुर्गा गुरुङले गीत प्रस्तुत र संघका कलाकारहरुले नृत्य प्रस्तुत गरी मनोरञ्जन दिलाएका थिए। तमु कलाकार संघ गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष माया गुरुङले स्वागत र महासचव टसबहादुर गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।
’ हरितालीका तीज पर्व नजिकिँदै गर्दा कलाकारहरुले पनि तीज केन्द्रित गीतहरु धमाधम बजारमा ल्याएका छन् । यसै क्रममा चर्चित लोक तथा दोहोरी गायक नवीन पौडेलले पनि ‘हरहर बासना अगरबत्तीको’ नामक तीज गीत बजारमा ल्याउनुभएको छ । पौडेलकै स्वर र शब्द रहेको गीतमा गायिका आशा बिसीले साथ दिनुभएको छ । रवि कार्कीले लय सङ्कलन गर्नुभएको यस गीतको म्युजिक भिडियोको निर्देशन विष्णु भट्टराईले गर्नुभएको छ भने म्युजिक एरेन्ज कृष्ण केसीको रहेको छ । ‘हरहर बासना अगरबत्तीको, कसले माया गर्छ तिम्लाइ मैले जत्तिको’ गीतमा पौडेललाई छोरी स्वीकृति पौडेलले पनि अभिनयमा साथ दिएकी छिन् । नवीन पौडेलका यसअघि ‘बोल्नुपर्छ ओई’, ‘लेउ खुकुरी लेउ, पर्यो देशलाई चोट’, ‘कस्तो आयो जमाना’ लगायतका गीतहरु बजारमा आइसकेको छ ।
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले श्रीकृष्ण भगवानले संसारमा बढ्दै गइरहेको हिंसाको निराकरण गरी शान्ति र सद्भाव कायम गर्ने आशिर्वाद प्रदान गरुन् भन्नुभएको छ । ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र ज्ञान विज्ञान भवन सातदोबाटोद्वारा आज श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा आयोजित ‘चैतन्य झाँकी एवं प्रवचन’ कार्यक्रममा उहाँले विश्वमा कृष्ण भगवान्प्रति श्रद्धा बढेमा कुनै पनि नागरिकमा हिंसाको सोच नआउने भनाइ राख्नुभयो । हरेक मानिसले आफ्नो चित्त शान्ति गरी ईश्वरीय शक्तिमा समर्पित हुँदा सकारात्मक ऊर्जा प्राप्त हुनाका साथै मन स्थिर हुने र बानी व्यवहारमा परिवर्तन हुने उहाँले दाबी गर्नुभयो । विश्वशान्तिका लागि सेवाकेन्द्रका दिदीबहिनीले योगदान गरिरहनुभएकामा गृहमन्त्री खाणले प्रशंसा गर्नुभयो । उक्त अवसरमा मन्त्री खाणसहित ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले उक्त कार्यक्रममा राधाकृष्णको रुप धारण गरी बसेका बालबालिकालाई दही खुवाउनुभएको थियो । कार्यक्रममा कृष्ण सुदामाको गीति नाटक प्रदर्शन गरिएको थियो । सेवाकेन्द्रका मुख्य सञ्चालिका ब्रह्माकुमारी कुमारीले गृहमन्त्री खाणलाई सम्मान प्रदान गर्नुभएको थियो ।
पोखरा । आधुनिकताका नाममा तीज गीतको मौलिकता हराउँदै गएका अवस्थामा गीतकार चन्द्रवती वाग्लेको ‘शून्य छ जन्मेको घर बरिलै’ शीर्षकको गीत बजारमा आएको छ । उहाँले गीतमा नेपाली मौलिकताको तीजको झल्को दिएको छ नै समाजको वास्तविकतालाई पनि चित्रण गर्न खोजिएको छ । कृषिप्रधान मुलुकमा बाँझिदै गएका घरबारी चुनौतीका रुपमा देखिएको उल्लेख गर्दै उहाँले तीनताका बाबुबाजेका पालाको घरपरिवार र समाज अहिले पाउन छोडिएको उल्लेख गर्नुभएको छ । दुःख गरेर जोगाएको सम्पत्तिको पछिल्लो पुस्ताले संरक्षण गर्न नखोजेको र सुख सुविधाका नाममा परिवार नै बोकेर सहर पस्ने गरेको प्रसङ्ग गीतमा उल्लेख गरिएको छ । पहिलोपटक २०७४ सालमा आइन छोरी भनेर गीत लिएर बजारमा आउनुभएकी गीतकार वाग्लेले त्यस बीचमा नरोए आमा, जागिरे नारीको पीडा भाग एक, गरिन गुनासो, जागीरे नारी भाग एक, सहरको सुविधा र म, दर्जा बेरोजगारको, आउ सङ्गी रमाइलो गरौँ बरिलै, रमाइलो माइतैमा, जँड्याहा पोइसहित शून्य छ जन्मेको घर बरिलै शीर्षकका गीत बजारमा आएका हुन् । वाग्लेको हरिश्चन्द्र शोक काव्य २०७५ मा प्रकाशित भएको थियो । सरकारी सेवामा पोखरा महानगरपालिकामा सातौँ तहको अधिकृतका रुपमा कार्यरत वाग्ले कस्केली अधिकृत समाजका सदस्यलगायत विभिन्न सामाजिक सङ्घ संस्थामा पनि आबद्ध हुनुहुन्छ । वाग्लेको यो गीतसहित ११ एकल र दुई वटा संयुक्त गरी १३ गीत रेकर्ड भई बजारमा आएका हुन् । उहाँले दर्जनौँ फुटकर गीत तथा कविता रचना गर्नुभएको छ । गीतका माध्यमबाट समाजका सत्यतथ्य बाहिर ल्याउँदै सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ बर्सेनि तीजका एल्बम बजारमा ल्याएकी वाग्लेको यस गीतको भिडियो निर्देशन, छायाङ्कन, सम्पादन शिवराज भुर्तेलले गर्नुभएको छ । भिडियोमा कलाकार तीर्थराज वाग्ले, विष्णुमाया भुर्तेल, सपना तिवारी र सुनिता नेपालीले अभिनय गर्नुभएको छ । गीतलाई नमस्ते पोखरा ब्रोडकास्टिङ स्टुडियो युट्युब च्यानलले बजारमा ल्याएको छ ।

