काठमाडौं । यहाँका दुई स्थानीय तहले घरघरमा गई सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छन् । नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाले गाउँगाउँमा पुगी सामाजिक सुरक्षा भत्ता प्रदान गरेका हुन् । बर्सातको समयमा गाउँबाट प्रशासनिक केन्द्रमा आउन घण्टौँ लाग्ने र सुरक्षाबापतको भत्ता बाटामै सकिने भएकाले गाउँमै पुगेर भत्ता वितरण गर्ने निर्णय गरिएको नलगाडका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाभित्रका ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई गाउँमै पुगी सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छौँ, नगरपालिकाको केन्द्र र बैंक शाखामा पुग्न घण्टौँ लाग्ने र नगरवासीले निकै सास्ती खेप्नुपर्ने बाध्यताको अन्त्य गर्न गाउँमा पुगेर भत्ता वितरण गर्ने निर्णय गरेका हौँ ।” बर्खाको समयमा सबै ठाउँमा गाडी नपुग्ने तथा नागरिकले धेरै सास्ती व्यहोर्नुपर्ने भएकाले पायक पर्ने ठाउँमा गई भत्ता वितरण भइरहेको गिरीले बताउनुभयो । “बैंकबाट रकम भुक्तानी गर्ने कुरा पारदर्शिता र आर्थिक सुशासनका हिसाबले धेरै उपयुक्त छ तर भत्ताको रकम बैंकमा आएर लिन टाढाबाट आउने व्यक्तिलाई सकस देखिएको छ, प्रभावकारी छैन, त्यसैले नजिकैको स्थानबाट भत्ता वितरण गरिएको हो”, प्रमुख प्रशासकीय अधिकृत गिरीले भन्नुभयो । सरकारले लागू गरेको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत विभिन्न प्रकारका सामाजिक सुरक्षा भत्ता तोकिएका लाभग्राहीले बैंक खातामार्फत पाउने व्यवस्था गरिएको छ तर ज्येष्ठ तथा शारीरिकरूपमा अशक्तको अप्ठ्यारालाई मध्यनजर गर्दै गाउँमै भत्ता वितरण गर्ने व्यवस्था मिलाइएको नलगाडका नगर प्रमुख डम्बर रावतले बताउनुभयो । यस्तै जिल्लाको बारेकोटले पनि गाउँगाउँमा गई सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिनुभयो । “नागरिकको सहजतालाई मध्यनजर गर्दै गाउँगाउँमा पुगी सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छौँ”, उहाँले भन्नुभयो । वर्षायाममा बाटो सडक सबै भत्किएका कारण बैंक जान र आउनसमेत समस्या भए पनि स्थानीय तहले यस्तो व्यवस्था गरेका छन् । अन्य पालिकाले भने बैंकमा आएर भत्ता बुझन भनेर जानकारी गराएका छन् ।
मतदानस्थल नजिकै थियो । त्यसैले बागलुङ नगरपालिका–१२ अमलाचौरको टाकुरी गाउँकी जुनादेवी शर्मा पौडेल लामो समयपछि बुधबार वडा कार्यालयमा पुग्नुभयो । उहाँलाई आफ्नो घरदेखि वडा कार्यालय रहेको ठाउँसम्म पुग्न सवा दुई घण्टा समय लाग्यो । सवारीको प्रबन्ध नभएकाले उहाँ पैदल नै हिँडेर त्यहाँ पुग्नुभएको थियो । उहाँसँगै सोही गाउँका अन्य महिला पनि आयोजित एकीकृत शिविरमा वडा कार्यालय पुगेका थिए । वडा कार्यालय पुगेका टाकुरीबासीलाई वडाको मुकामभन्दा नगरपालिकाको मुकाम नजिक पर्छ । बागलुङ कुश्मीशेरा सडक कालोपत्रे भएकाले उनीहरु पालिका मुकाम ४५ मिनेटमा नै पुग्छन् । तर सबै काम वडा कार्यालयसँग जोडिने भएकाले उकालो नहिँडेर सुख छैन । साविक अमलाचौर गाउँविकास समितिको वडा नं. २, ८ र ९ का गाउँहरुका लागि वडा कार्यालय अपायकमा पर्छ । अपायकमा वडा कार्यालय हुँदा आफूहरुले सास्ती खेप्नुपरेको पौडेलले बताउनुभयो । टाकुरी, सरंगेलगायतका गाउँका लागि वडा कार्यालयले सेवा केन्द्र सञ्चालन गरेरै भए पनि नजिकैबाट सेवा दिनुपर्ने उनीहरुको माग छ । “अहिलेको जमानामा पनि सजिलो सडक छैन, पैदल हिँडेर यतिका लामो सयमा वडा कार्यालय पुगिन्छ”, पौडेल भन्नुहुन्छ, “हामीलाई बरु वडा नं १४ नजिक पर्छ, जैमिनी नगरपालिकाका वडा कार्यालयभन्दा हाम्रो वडा कार्यालय पुग्न समय धेरै लाग्छ ।” बागलुङ नगरपालिकाले आयोजना गरेको एकीकृत सेवा प्रवाह शिविरमा गाउँको योजना सम्झौताका लागि उनीहरु त्यहाँ पुगेका थिए । शिविरमा पुगेर योजना सम्झौता गर्दाभन्दा नगरपालिकाको कार्यालयमै पुगेर योजना सम्झौता गर्न सहज रहेको उनीहरुले बताए । “हामीलाई सेवा लिन सदरमुकाम पुग्न बरु सडक र सवारी दुवै हिसाबले सहज छ”, सरंगेकी सरस्वती पौडेलले भन्नुभयो “वडा कार्यालय नआई सिधै नगरपालिका गएर मात्रै काम बन्दैन । हरेक काममा वडाको सिफारिस चाहिन्छ ।” राज्यको पुनःसंरचना गर्ने बेला भूगोलको अवस्था हेरेर पुनःसंरचना हुन नसकेका कारण टाकुरी र सरंगेलगायतका गाउँका सर्वसाधारणले दुःख पाउनुपरेको स्थानीयवासी यदुनाथ पौडेलले बताउनुभयो । त्यहाँका सर्वसाधारणले वडा कार्यालय पुग्नका लागि सिधा सडक सञ्जाल सहज नभएकाले वडा नं १३ को पैञ्युपाटा वा जैमिनी नगरपालिकाको कुश्मीशेरा हुँदै घुम्नुपर्ने बाध्यता छ । घुमेरै वडा कार्यालय पुग्न रिजर्भ नगरेसम्म सवारी नपाइने पौडेल बताउनुहुन्छ । ससाना सिफारिसका काम, योजनाका काम र वडास्तरमा हुने विभिन्न शिविर तथा कार्यक्रममा सहभागी हुनसमेत नसकेको महिलाको गुनासो थियो । “आज नगरले शिविर चलाएको छ, कसैको स्वास्थ्य परीक्षण भएको छ, कसैले योजना सम्झौता गरेका छन् तर हाम्रो गाउँबाट हामीबाहेक कोही आएनन्”, जुनादेवी भन्नुहुन्छ, “एकल सरो महिला यहाँ आए घर डुब्छ, घरैबसे यहाँ छुट्छ ।” वडा कार्यालयले भने तत्कालै सेवा केन्द्र सञ्चालनको विषयमा कुनै योजना नरहेको जनाएको छ । ‘उहाँहरुलाई अपायक भएको कुरा जायज हो, समस्या धेरै छन्’ वडा अध्यक्ष कोपिलामणि शर्माले भन्नुभयो, “म जनताको गुनासो कार्यपालिकामा राख्छु, अन्य वडामा पनि यस्ता समस्या छन्, सम्बोधन भयो भने निकै सजिलो हुन्छ ।” आधारभूत तहको सेवाका लागि घण्टौँ लगाएर वडा कार्यालय पुग्नुपर्दा ज्येष्ठ नागरिक र अपाङ्गता भएका बढी प्रभावित हुने गरेका छन् । राज्य पुनःसंरचनापछि अपायक क्षेत्र जोडेर सहज बनाउने नीति भएपछि व्यवहारमा भने कार्यान्वयन भएको छैन । त्यसैले केही वडा टुक्र्याए पनि कतिपय स्थानमा अझै समस्या छ ।RSS
बागलुङको सुदूर गाउँ निसी । आफ्नै भाषा, मौलिक कला, संस्कृति र परम्परा भएको ठाउँ । डेढ दशक अगाडिसम्म निकै दुर्गम मानिने निसी मध्यपहाडी लोकमार्गले जोडिएपछि सुगम बनेको छ । निसी क्षेत्र सुगम बन्दै गएपछि यहाँका भाषा, कला र संस्कृति भने ओझेलमा पर्न थालेका छन् । लोकमार्गले जोडिएपछि बाह्य संस्कार संस्कृतिको सिको हुन थालेपछि यहाँका संस्कार संस्कृति ओझेलिन थालेका हुन् । कला, संस्कृतिसँगै यहाँका मगर समुदायको आफ्नै ‘मगर खाम भाषा’ पनि लोप हुने खतरा बढेको छ । युवा पुस्ता पढ्न तथा रोगारका सिलसिलामा गाउँ जोडेर बजार छिर्न थालेपछि यो भाषा लोप हुने अवस्थामा पुगेको हो । लोकमार्गले निसी क्षेत्र जोडिनु पूर्व यहाँका स्थानीयले आफ्ना बालबालिकालाई गाउँमै पढाउने गर्थे । गाउँमा खाम भाषानै बोल्ने हुँदा संरक्षित थियो । अहिले सामान्य आर्थिक अवस्था भएकाबाहेक धेरैले आफ्ना बालबालिकालाई पढाउनका लागि बजार पठाएका छन् । उनीहरु बजारमा हुँदा यो भाषा निकै कम बोल्ने गर्छन् । गाउँमा पढ्ने बालिबालिकाले अहिले पहिलेको जस्तो खाम भाषा बोल्न छोडेका छन् । विद्यालयमा आफ्नै भाषाको पाठ्यपुस्तक छैन । त्यसैले गर्दा पनि भाषा संरक्षणमा ठूलो चुनौती बढेको छ । मौलिक भाषा र संस्कृतिले चिनिने निसी अहिले अस्तित्व कसरी जोगाउने भन्ने अवस्थामा पुगेको छ । बुढापाकाले यसको संरक्षणमा चासो देखाए पनि युवा युस्तामा भने त्यो इच्छा त्यति देखिदैन । निसीखोलामा बोलिने खाम भाषा अठार मगरात अन्र्तगतको हो । यो भाषा निसीखोला गाउँपालिका वडा नम्बर ५ र ६ बस्ने स्थानीयहरुले बोल्ने गर्छन् । नेपाली खस भाषाको बढ्दो प्रयोगका कारण आफ्नो भाषा लोप हुने अवस्थामा पुगेको निसीखोला गाउँपालिका वडा नम्बर ६ का ७६ वर्षीय तुलबहादुर बुढामगरले बताउनुभयो । बुढामगरले यसको संरक्षणका लागि सरकारले ध्यान दिनुपर्ने बताउनुहुन्छ । “भाषा, संस्कार र संस्कृति भनेको हाम्रो पहिचान हो, पहिचाननै गुम्यो भने हाम्रो अस्तित्व के, अहिलेका युवा पुस्तालाई भाषा हराउन थालेको प्रति केही चासोनै छैन”, बुढा मगरले भन्नुभयो, “अब भाषा संरक्षणमा लागिएन भने अबको पाँच÷सात वर्षमा खाम भाषा कोही बोल्दैन, त्यसले गर्दा स्थानीय सरकारले पनि ध्यान देहोस्, हामी स्थानीय के गर्न पर्छ गर्छौँ ।” निसीबाट रोजगार र अध्ययनको लागि जिल्ला बाहिर जानेको सङ्ख्या ठूलो छ भने विदेश पलायन हुनेको सङ्ख्या पनि उत्तिकै छ । अहिले गाउँमा वृद्धवृद्धा र ससाना बालिबालिका मात्रै छन् । केही वर्ष अगाडिसम्म यहाँका अधिकांश स्थानीयको मुख्य कृषि र पशुपालन थियो । गाउँमै पशुपालन र कृषि कार्य गर्दा आफ्नै भाषा प्रयोग हुन्थ्यो । अहिले विदेश जाने र सहर पस्ने गर्दा भाषाको कम प्रयोग हुनेको गरेको निसीखोला गाउँपालिका वडा नम्बर ५ का नन्दबहादुर घर्तीमगरले बताउनुभयो । “पहिले–पहिले गाउँमै भेडापालन गर्थे, आलु, भाँगो र सिमी उत्पादनमा लाग्ने गर्थे, अहिले धेरै जसोले भेडापालन र आलु खेती गर्न छोडे, युवाहरु विदेशिए, केटाकेटी पढ्न बजार झरे, अहिले गाउँमा त उही बुढापाका मात्रै छन्, उनीहरुले खाम भाषा नै बोल्छन्, उनीहरुले मात्रै बोलेर पक्कै भाषाको संरक्षण हुन्न होला, पुस्ता हस्तान्तरण हुनैपर्छ”, घर्तीमगरले भन्नुभयो, “स्थानीय सरकारले सहर पढ्न जाने बालबालिकालाई गाउँमै गुणस्तरीय शिक्षाको व्यवस्था गर्ने, रोजगारका लागि जाने युवालाई यहीँ नै काम गर्ने वातावरण सिर्जना गर्ने हो भने भाषा संरक्षणमा समस्या हुने थिएन ।” सरकारी कार्यालयमा हुने कामकाज र विद्यालयमा हुने पठनपाठनदेखि सबै नेपाली भाषामा हुँदा खाम भाषा लोप हुने अवस्थामा पुगेको निसीखोला गाउँपालिकाका वडा नम्बर ६ का वडाध्यक्ष हेमबहादुर बुढामगरले बताउनुभयो । उहाँले राज्यको प्रष्ट नीति नहुँदा सयौँ वर्षदेखि बोलिँदै आएको खाम भाषा संकटान्मुख बन्दै गएका बताउनुभयो । स्थानीय तहलाई माध्यमिक तहसम्मको शिक्षाको अधिकारसँगै आफ्नै पाठ्यक्रम बनाएर लागू गर्ने अधिकार छ । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले सबै स्थानीय तहले आधारभूत तहमा (कक्षा १ देखि ८ सम्म) स्थानीय विषयवस्तुलाई समेटेर पाठ्यक्रम बनाउन निर्देश गरे पनि निसीखोला गाउँपालिकाले अहिलेसम्म पाठ्यक्रम निर्माण गर्न सकेको छैन । स्थानीय पाठ्यक्रममा यो भाषा समेट्न सके यो संरक्षणमा टेवा पुग्ने देखिन्छ । गाउँपालिकाका शिक्षा शाखा प्रमुख जयराम पुनले अन्य भाषामा पाठ्यक्रम तयारीको अन्तिम चरणमा पुगेको र मगर खाम भाषासहितको पाठ्यक्रमका विषयमा छलफल चलिरहेको बताउनुभयो । पुनले आगमी शैक्षिक सत्रदेखि दुवै भाषाका पाठ्यक्रमहरु लागु हुने गरि काम गर्ने बताउनुहुन्छ । “पालिकाले पाठ्यक्रम निर्माणको अन्तिम चरणमा पुगेको छ, खाम भाषाको भने अहिले बल्ल छलफल चलेको छ, अहिले निर्माण चरणमा रहेको पाठ्यक्रममा पालिका भित्र भएका कला, संस्कृति, पर्यटन, कृषि तथा पशुपालन लगायतका विषयलाई समेटेका छौँ”, शिक्षा शाखा प्रमुख पुनले भन्नुभयो “आगामी शैक्षिक सत्रदेखि लागु हुने गरी दुवै भाषाका पाठ्यक्रम तयार हुने छ ।” उहाँले मगर खाम भाषा पालिकाको सात वडा मध्ये वडा नम्बर ५ र ६ मात्रै बोलिने हुँदा पाठ्यक्रम निर्माणमा केही समस्या भएको बताउनुभयो । “पालिकाको वडा नम्बर ५ र ६ मा मात्रै खाम भाषा बोल्नुहुन्छ, अन्य वडामा बोलिदैन, हामीले दुई प्रकारका पाठ्यक्रम बनाउनुपर्ने अवस्था छ, अहिले तयार हुने अवस्थाका पाठ्यक्रमलाई खाम भाषामा ‘ट्रान्सलेट’ गरेर गराउने कि छुट्टै बनाउने भन्ने विषयमा छलफल भएको छ ।” RSS
लमजुङ । ‘झरेको पात झै भयो, उजाड मेरो जिन्दगी, निभेको दीप झै भयो उदास मेरो जीन्दगी।’ स्वर सम्राट नारायण गोपालले यी हरफमा उल्लेख गरे झै बागलुङ जिल्लाको कालापैरा घर भई विगत नौ वर्षदेखि लमजुङमा बस्दै आउनुभएका ४७ वर्षीय मनबहादुर विकको जीवन पनि यस्तै भइरहेको छ । शारीरिक रुपमा अशक्त उहाँको देब्रे खुट्टा छैन । पाँच जनाको परिवार रहेको मनबहादुरको आम्दानीको कुनै स्रोत छैन । काम गरेरै खान पनि शारीरिक अवस्थाले पनि दिँदैन । परिवारको गुजारा चलाउन दैनिक बिहानैदेखि विभिन्न स्थानमा बैसाखीको सहारामा आर्थिक सहयोग माग्दै परिवारको जीवन धान्नुपर्ने बाध्यता छ । बागलुङमै रहँदा घर बनाउने काम गर्दै आउनुभएका उहाँ विसं २०६८ मा आफ्नै घरमा पालेको बस्तुभाउका लागि स्याउला काट्ने क्रममा रुखबाट खसेर देब्रे खुट्टाको दुई ठाउँको हड्डी भाँचियो । जिल्ला अस्पतालमा उपचारका क्रममा गोडाभन्दा तलको सबै भाग काटेर फाल्नु पर्यो । चार महिना उपचार गरेर घर फर्केपछि करिब १४ महिना घरमै आराम गरेर बस्नु परेको उहाँको भनाइ छ । मनबहादुरको दुःख त्यतिमै सीमित भएन । उपचारका लागि रु सात लाख लाग्यो । त्यतिका पैसा घरमा नभएको र उहाँको आफ्नै दाइले प्रभु बैंकबाट ऋण निकालेर उपचार खर्च तिर्नुभयो । मेलापात र घरबनाउने काम गरेर जसोतसो गुजारा चलाउँदै आउनुभएका उहाँलाई यतिको रकम खर्च गर्नुपर्दा र शारीरिकरुपमा अशक्त हुनुपर्दा चिन्ताले सताउन थाल्यो । श्रीमतीसहित दुई छोरा र एक छोरी भए पनि छोराछोरी बालकै भएकाले कमाउन सक्दैनन् । आफूले पनि काम गर्न नसक्ने भएपछि मामाको सल्लाहअनुसार लमजुङ भोटेओडारको फेदीकुनामा विसं २०७० मा बसाइ सरेर मागेरै परिवारको गुजारा चलाउँदै आएको मनबहादुर बताउनुहुन्छ । बेँसीसहर नगरपालिका–८ बस्दै आउनु भएका उहाँका १७ वर्षीय एक छोरी, १४ वर्षीय र १२ वर्षीय छोरा बागलुङमै रहेका त्यहीको सरकारी विद्यालयमा अध्ययनरत छन् । उनीहरुसहित आफू र श्रीमतीका लागी दैनिक मागेर जीवनयापन गर्नाका साथै उपचार गर्दा लागेको ऋण मासिक साढे १२ हजारका दरले बुझाउँदै आएको उहाँ सुनाउनुहुन्छ । मागेरै दैनिक न्यूनतम रु एक हजार २०० देखि रु दुई हजारसम्म जम्मा हुने र छोराछोरीका लागि दुई तीन महिनामा रु २० हजारदेखि रु ३० हजारका दरले पैसा पठाउने गरेको बताउनुहुने मनबहादुर महिनाभर मागेरै हिँड्न नसक्ने उल्लेख गर्नुहन्छ । थकाई लाग्छ, कहिले बिमारी होइन्छ, त्यसैले महिनामा १४÷१५ दिन मात्र मागेर हिँड्ने गरेको छु उहाँ भन्नुहुन्छ । “मेला महोत्सव, चाडपर्वका साथै जिल्लाको सिमपानी, खुदी भूलभूले, बेँसीसहर, घलेगाउँ, मालिङ, मध्यनेपाल, सुन्दरबजार, भोटेओडारलगायत स्थानका घरघरै र बाटोमा बसेर पैसा माग्ने गर्दा प्रतिव्यक्ति रु पाँच देखि ५० रुपैयाँसम्म दिने गरेको मनबहादुर सुनाउनुहुन्छ । मुलुकमा कोरोना सङ्क्रमण फैलिनुभन्दा केही महिनाअघि पैसा माग्दै दुई पटकसम्म मनाङको खाङसारसम्म पुगेको र त्यति बेला राम्रो पैसा उठेपछि पुनः गत जेठमा मनाङ पुगेपनि मनाङवासी यार्सागुम्बा सङ्कलनका लागि गएकाअवस्था परेकाले खासै पैसा नउठेपछि लमजुङमै फर्किएर आउनुपरेको थियो । यसरी पैसा माग्दै जीवन चलाउँदै आएपनि पैसा माग्नलाई सजिलो नभएको र माग्दा कसैले दिने र कसैले सहन नसक्ने गरी बचन लगाउने गरेको उहाँको भनाइ छ । कसैले तपाईजस्तो मान्छेलाई दिनुपर्छ भन्छ, कोहीले अहिले पैसा छैन पछि दिउला भन्छ, कसैले हातको सीप गरेर कमाउन सुझाव दिएर मात्र जान्छन् । कोहीले त पैसा दिनाको सट्टा नानाथरीका बचन लगाउने गरेको मनबहादुर गुनासो गर्नुहुन्छ । मलाईजस्तो दुःख कसैलाई नपरोस्, तर दःुख परेपनि मेरो जस्तो दुःख नहोस् भन्नुहुने उहाँको एउटै चाहना छ, यस्तो हालत भए पनि छोराछोरीलाई राम्रोसँग पढाउन सकौँ, उनीहरुको भविष्य उज्वल बनाउन सकौँ भन्ने लाग्छ । श्रीमती पनि काम पायो भने कहिलेकाहीँ अरुको मेलापात गर्ने र आफूलाई खाना बनाएर बस्ने गर्छिन् । हामी जस्ताका लागि बसेर गर्न सक्ने सीपसँगै काम गर्ने वातावरण मिलाइ दिए हुन्थ्यो । रासन पानी पनि सस्तो गर्दिए हुन्थ्यो, झन् झन् महँगी बढ्दै जाँदा हामीलाई धेरै मार पर्ने गरेको छ तर सरकारले हाम्रो कुरा नै नसुन्ने मनबहादुरको गुनासो छ । कसैले सहयोग गरे धेरै दुःखकष्ट सहेर हिँड्नु नपर्ने उहाँको अपेक्षा छ । बेँसीसहर नगरपालिकाका उपप्रमुख पद्ममा गुरुङ आफूले त्यसरी मागेर खाने मानिस भएको जानकारी नभएकाले उनीहरुका लागि हाल नगरपालिकाले कुनै योजना नबनाएको बताउनुहुन्छ ।
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलब ३० अङ्कले ओरालो लागेर दुई हजार ३९ दशमलव ५४ मा सीमित भएको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक तीन दशमलव ७८ अङ्कले ओरालो लागेर तीन सय ९४ दशमलव ५१ मा सीमित भएको छ । कुल दुई सय १९ कम्पनीको ४२ लाख ३४ हजार एक सय १७ कित्ता शेयर रु एक अर्ब ७१ करोड ७४ लाख ३६ हजार सात सय ४१ मूल्यमा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा नै गिरावट आएको छ । बैंकिङ चार दशमलव ८९, व्यापार २० दशमलव ७४, होटल तथा पर्यटन ४१ दशमलव ६४, विकास बैंक ५७ दशमलव ४८, जलविद्युत् ३७ दशमलव ३७, निर्जीवन बीमा २१ दशमलव ७३, उत्पादन ७९ दशमलव ९५, अन्य ३३ दशमलव ३३, लघुवित्त २७ दशमलव शून्य सात, जीवन बीमा ५८ दशमलव ५६, सामूहिक लगानी कोष शून्य दशमलव शून्य आठ र लगानी शून्य दशमलव ५२ अङ्कले ओरालो लागेको छ । नेप्सेका अनुसार बिहीबारको कारोबारका आधारमा हिमाल दोलखा हाइड्रोपावर शीर्षस्थानमा छ । सो कम्पनीको रु ११ करोड २४ लाख ६५ हजार दुई सय ६१ बराबरको कारोबार भयो । त्यस्तै रिडी हाइड्रोपावर रु नौ करोड ४१ लाख २८ हजार नौ सय ९२, नेस्डो समृद्धि लघुवित्त रु आठ करोड ३१ लाख ४० हजार दुई सय ७३, अरुण काबेली पावर कम्पनी रु सात करोड २८ लाख ६१ हजार नौ सय ६८ र राधी विद्युत् कम्पनी रु चार करोड ८३ लाख ७४ हजार छ सय ८५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार अप्पर हेवाखोला हाइड्रोपावर नौ दशमलव नौ, रुरु जलविद्युत् कम्पनी आठ दशमलव ९३, नेष्डो लघुवित्त दुई दशमलव शून्य सात, ग्लोबल आइएमई बैंकको ऋणपत्र दुई र माछापुच्छ्रे बैंकको ऋणपत्रका लगानीकर्ताले एक दशमलव ९९ प्रतिशतले कमाएका छन् । त्यस्तै मैलुङखोला जलविद्युत् कम्पनी पाँच दशमलव ८२, मल्टिप्रपोज फाइनान्स कम्पनी चार दशमलव २७, खानीखोला हाइड्रोपावर कम्पनी चार दशमलव १८, सूर्योदय बोमी लघुवित्त चार दशमलव शून्य नौ र दोर्दीखोला जलविद्युत् कम्पनीका लगानीकर्ताले तीन दशमलव ८७ प्रतिशतले गुमाएका छन् ।
सुनसरी । सुनसरीको इटहरी–१० की शर्मिला चौधरी दैनिक ३० देखि ७० मुठासम्म निगुरो टिप्नुहुन्छ । उहाँले वैशाखदेखि कात्तिकसम्म निगुरो टिपेरै आफ्नो छ जनाको परिवारको खर्च चलाउँदै आउनुभएको छ । दैनिक रु चार सयदेखि रु छ सयसम्म आम्दानी हुने चौधरी बताउनुहुन्छ । शर्मिलाजस्तै कमला चौधरी पनि परिवार पाल्न र छोराछोरीको पढाइ खर्च जुटाउन निगुरो टिप्ने गरेको बताउनुहुन्छ । पूर्वी मोरङको पथरीशनिश्चरे, कानेपोखरी, लेटाङ, भाउन्ने, लक्ष्मीमार्गलगायत सामुदायिक वनमा निगुरो प्रशस्त पाइन्छ । स्थानीय बजारदेखि काठमाडौँका भान्सासम्म पुग्ने यहाँको निगुरोले सयौँको सङ्ख्यामा स्थानीयलाई रोजगारी दिएको छ । चैत सुरु भएदेखि पूर्वी मोरङका जङ्गलमा डोको बोकेर निगुरो खोज्नेको ताँती लाग्छ । बिहान झिसमीसेमै जङ्गल पसेका महिला तथा बालबालिका डोको भरी निगुरो बोकेर निस्कन्छन् । उक्त समयमा जङ्गलमै सिराहा, सप्तरीदेखि झापाको काँकडभिट्टासम्मका व्यापारी भेला भइसकेका हुन्छन् । स्कुले बालबालिकासमेत बिदामा स्टेशनरीको जोहो गर्न निगुरो टिप्न आउँछन् । वन आसपास बस्दै आउनुभएका धेरै बालबालिकाले निगुरो टिपेर पढाइ खर्च जुटाउने गरेका छन् । विद्यालय पढ्ने बालबालिकादेखि कलेज पढ्दै गरेका किशोरकिशोरीले समेत बिदाको समयमा निगुरो टिप्ने गरेका छन् । दुई दशकदेखि पथरी र बेलबारीबीचका जङ्गलको निगुरो सङ्कलन गर्दै धरान, विराटनगर, इटहरी, दमक र बिर्तामोड लगरे बिक्री गर्दै आएको विराटनगरकी सिया चौधरी बताउनुहुन्छ । पथरी शनिश्चरे, लेटाङ र बेलबारी नगरका साझेदारी वन क्षेत्रमा दैनिक तीन÷चार सयजनाले निगुरो टिप्दै आएका छन । धेरै मजदुरले दैनिक निगुरो बेचेरै परिवारको खर्च चलाउँदै आएका छन् । यस क्षेत्रबाट दैनिक निगुरो सङ्कलन गरी पूर्वका विभिन्न बजारमा बिक्री गर्न लैजाने गरेको खोर्सनेका जितेन्द्र चौधरीको भनाइ छ । काठमाडौँसम्मका व्यापारी निगुरो लैजाने गरेका छन् । शनिश्चरे, लेटाङ र बेलबारी क्षेत्रबाट दैनिक निगुरो काठमाडौँ लैजाने गरिएको स्थानीय व्यापारी कौशिला माझी बताउनुहुन्छ । माझीका अनुसार यस वर्ष भने पहिलाको तुलनामा निगुरो उत्पादनमा कमी आएको छ ।
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ‘हरित ऊर्जा’का लागि लगानी जुटाउन सामूहिक प्रयाससहित थप अवसर पहिल्याउनुपर्ने बताउनुभएको छ । उहाँले जलवायु वित्तको जोहो गरेर विश्व ‘हरित ऊर्जा’को प्रवद्र्धनमा केन्द्रित हुुनुपर्नेमा जोड दिनुभएको हो । ‘कोप–२७’ तयारीका लागि थाइल्याण्डको बैंककमा आज आयोजित ‘जलवायु परिवर्तन र दिगो विकासका लक्ष्य प्राप्तिको प्रयासमा लगानी परिचालनसम्बन्धी मञ्च’ बैठकको ‘हरित ऊर्जाका लागि जलवायु वित्त लगानी’ विषयक सत्रमा भर्चुअल सम्बोधन गर्दै मन्त्री भुसालले भन्नुभयो, “स्वच्छ ऊर्जाको प्रवद्र्धनमा विश्व केन्द्रित हुनुपर्छ, त्यसका लागि सामूहिकरूपमा जलवायु वित्तको जोहो गर्न आवश्यक छ ।” उहाँले विशिष्ट भौगोलिक बनोट र जलवायु–संवेशनशील जीवन शैलीका कारण नेपाल जलवायु परिवर्तनको असरको उच्च जोखिममा रहेको उल्लेख गर्नुभयो । अतिकम विकसित मुलुक भएर पनि नेपालले ‘१.५ डिग्री तामक्रम’को लक्ष्य प्राप्तिका लागि महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै मन्त्री भुसालले विश्वका मुलुकले कार्बन उत्सर्जन न्यूनीकरणका लागि महत्वकांक्षी लक्ष्य लिएर काम गर्नुपर्ने बेला आएको बताउनुभयो । वार्षिक ऊर्जा खपत दरलाई आधार मान्ने हो भने नेपालमा उत्पादन भएको जलविद्युत् बढी हुने उल्लेख गर्दै उहाँले आगामी सन् २०२५ देखि नेपाल वर्षभरि नै जलविद्युत् निर्यात गर्ने मुलुक बन्ने जानकारी गराउनुभयो । खपत गरेर बाँकी भएको ऊर्जा ‘हरित हाइड्रोजन’ उत्पादनमा प्रयोग गर्ने तयारी गरिएको बताउँदै मन्त्री भुसालले भन्नुभयो, “ग्रीन हाइड्रोजनका लागि हामीले उपयुक्त पहल गरिरहेका छौँ ।” ग्रिन ग्रीड अवधारणाअनुसार कोप–२६ मा ‘एक सूर्य, एक विश्व र एक ग्रिड’ को सुरुआत गरिएको उल्लेख गर्दै उहाँले हरित ऊर्जासम्बन्धी विश्व अवधारणा पूरा गर्नका लागि नेपालजस्ता देशमा प्रसारण लाइनको निर्माण तथा पूर्वाधार विकासको क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपालमा अधिक मात्रामा नवीकरणीय ऊर्जा जलविद्युत् प्रयोग हुँदै आएको उल्लेख गर्दै मन्त्री भुसालले भन्नुभयो, “सौर्य ऊर्जा उत्पादनका लागि पनि नेपालमा पर्याप्त सम्भावना छ ।” आफ्नो देशले शून्य कार्बन उत्सर्जनको रणनीति लिएको जानकारी गराउँदै मन्त्री भुसालले भन्नुभयो, “नेपालले सन् २०४५ मा शून्य कार्बन उत्सर्जन गर्ने देश बन्ने लक्ष्य लिएको छ, स्वच्छ ऊर्जाको व्यापार गरेर नेपालमा मात्र होइन देश बाहिर पनि कार्बन उत्सर्जनलाई न्यूनीकरणमा योगदान गर्न चाहन्छ ।” स्वच्छ ऊर्जा प्रयोग गर्न सुरु गरिसकेको बताउँदै मन्त्री भुसालले भन्नुभयो, “पछिल्लो दशकमा हामीले विद्युत् पहुँचलाई व्यापक विस्तार गरेका छौँ, देशको ९५ प्रतिशत जनतालाई राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् पुर्याएका छौँ, आगामी सन् २०२४ सम्ममा हामीले देशभर स्वच्छ ऊर्जा विद्युत् पुर्याउने लक्ष्य लिएका छौँ ।”
भक्तपुर । भाद्र कृष्ण त्रयोदशीका दिन आज भक्तपुरमा भव्यरूपमा पञ्चदान पर्व मनाइएको छ । बौद्ध धर्मावलम्बीको महत्वपूर्ण एवं ठूलो पर्वका रूपमा मनाइने पञ्चदान पर्वमा भक्तपुरका पाँच बिहारबाट निस्केका दिपङ्कर बुद्धलाई दिनभर नगरका विभिन्न स्थान तथा बौद्ध बिहारमा परिक्रमा गराइ मनाउने परम्परा रहेको छ । दिपङ्कर बुद्ध भनेर पुजिने बुद्धका पाँच स्वरूपमध्ये भक्तपुरको क्वाठन्डौँको प्रसन्नाशील महाविहार, गोल्मढीको झौरवही महाविहार, साकोथाको चर्तुब्रह्म महाविहार, भार्वाचोको थथुबही महाविहार र दूधपाटीको कुथुबही महाविहारबाट निकालिएका बुद्धलाई सूर्यमढीस्थित डबलीमा राखी स्थानीय र विभिन्न गुठिको पूजा सकेपछि नगरको परिक्रमा गराइन्छ । स्थानीयवासीले बिहानैदेखि पञ्चदान दिने परम्पराअनुसार शाक्य, ब्रजाचार्य र भिक्षुलाई भिक्षा दान दिएका थिए भने पाँच दीपङ्कर बुद्धलाई जमिनमा उत्पादन भएका काँचो खाद्यवस्तु धान, मकै, गहुँ, भटमास, ढिके नून, घिरौला, बोडी, काँक्रो आदि गच्छेअनुसार चढाउने परम्परा छ । पञ्चदानलाई स्थानीय भाषामा पञ्जदान ९पञ्जरां० भनिन्छ । पञ्जदान भन्नुको मूलकारण ‘पं’ को अर्थ पृथ्वी र ‘ज’ को अर्थ उत्पन्न भएको भन्ने हो । यस दिनमा पृथ्वीबाट उब्जेको अन्न र फलपूmल गरि पाँच प्रकारका वस्तु दान गरिन्छ । पञ्चदानको दिन पूजामा सूर्यमुखी फूल, धुप, दीप, गन्ध, र रस, भोजन साममाग्रीमा धान, चामल, गहुँ, क्वाटी, केराउ, मास, पिँडालु, मुला आदि, पेयपदार्थमा सख्खर पानी (सखत), सिसाफल, (फलफूल), औषधिमा हल, अवला (अमला), गुलः (औषधि, नून, तेल) तथा अन्य आवश्यक वस्तुमा सियो, धागो, डोरी, कुचो, सेतो कपडा (पानी छान्नें), काषाय बस्त्र, आसन, खरी ढुङ्गा (चक), दतिवन आदी दान गर्ने परम्परा रहेको छ । बौद्ध धर्मावलम्बी दीपङ्कर बुद्धलाई पञ्चदान गरिसकेपछि साना बालबालिकादेखि वृद्धवृद्धासमेत पञ्चदान भिक्षाग्रहण गर्न लामबद्ध भएर नगर परिक्रमा गरी भिक्षा ग्रहण गर्ने परम्परा छ । दीपङ्कर बुद्धलाई परम्परागत गुँला धाँः बाजा र सिङ बाजा बजाएर नगर परिक्रमा गर्ने गर्दछन् । बौद्ध धर्मावलम्बीले यस दिनमा भिक्षाग्रहण गर्नाले धन वृद्धि हुनुका साथै बुद्धत्व प्राप्त हुने जनविश्वास रहेको छ ।
मेलम्ची । मेलम्ची र इन्द्रावती खोलामा अघिल्लो वर्ष असार १ र साउन १६ मा आएको बाढीले नोक्सान गरेको सडक र पुल पुलेसाहरूको पुनःनिर्माण नहुँदा नागरिकले सास्ती व्यहोरिरहेका छन् । खोलामा पानीको बहाव बढ्नेबित्तिकै कैयौँ ठाउँमा बाटो अवरुद्ध हुने समस्या अहिले पनि छ । मेलम्ची नगरपालिकाका केही वडा र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका नागरिकका लागि वैकल्पिकरूपमा रहेको झोलुङ्गे पुलको सहायक पर्खाल बाढीले बगाएका कारण एकैपटक धेरै मानिस आवतजावत गर्दा हल्लिने गर्दछ । मेलम्चीबाट दोभानटार र दोभानटारबाट रामपुरबेँसी जोड्ने यो पुल नै ओहोरदोहोरको माध्यम बनेको छ । बाढीले मेलम्ची बजारमा रहेको पक्की पुल बगाएपछि बजार आउन कि त झोलुङ्गे पुल आउनुपर्छ कि त बाहुनेपाटी हुँदै घुमेर लामो बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । पाँचपोखरी थाङपाल गाउँपालिका–१ र २, मेलम्ची नगरपालिका–७ र ८ का नागरिकका लागि गाडी प्रयोग गर्न भने हेलम्बु गाउँपालिकाको चनौटे पुगेर मेलम्ची आउनुपर्ने अवस्था रहेको छ । हेलम्बु गाउँपालिकाको चनौटेमा बाढीले मोटर गुड्ने पुल बगाएपछि नेपाली सेनाको सहयोगमा बेलीब्रिज निर्माण गरी सञ्चालन भइरहेको छ । पुल नहुँदा बिरामी र सुत्केरी हुने महिला मारमा परेका छन् । मोटर बाटो प्रयोग गर्दा घुमेर लामो बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । आकस्मिक सेवा लिनुपर्ने प्रकारका बिरामीलाई भने हेलिकोप्टर प्रयोग गर्नुपर्ने अवस्था रहेको छ । पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकाले आकस्मिकरूपमा अस्पताल लैजानुपर्ने बिरामी र सुत्केरीलाई हेलिकोप्टरमार्फत पनि सेवा दिँदै आएका छन् । मेलम्ची नगरपालिका–९ र १० लगायत आसपासका नागरिकका लागि दैनिकजसो मेलम्ची बजार ओहोरदोहोर गर्नु पर्दछ । उत्पादित तरकारी, फलफूल, दूध र मासुजन्य वस्तुको बजार भनेको मेलम्ची नै हो । सामान बोकेरै ल्याउनुपर्ने भएकाले पनि उत्पादित सामान बजारसम्म ल्याउन समस्या भएको मेलम्ची–१० की लक्ष्मी अधिकारीले बताउनुभयो । पाँचपोखरी थाङपाल गाउँपालिकाकी डिलकुमारी श्रेष्ठ आफन्त र छोराछोरीसँग भेटघाटका लागि काठमाडौँ ओहोरदोहोर गरिरहनुहुन्थ्यो । तर अहिले बाढीपछि भने उहाँ तीन महिनामा एकपटक मात्र आउने–जाने गर्नुहुन्छ । बाटो कतिबेला बन्द हुन्छ भन्ने डरले पनि उहाँलाई रोकिरहन्छ । पहिलेको तुलनामा गाडी पनि नियमितरूपमा सञ्चालन नहुँदा यात्रा गर्न सहज नभएको उहाँको भनाइ छ । मेलम्ची–१० का कुमार दाहालको पनि समस्या उस्तै छ । पहिलेको पुल भएको ठाउँबाट झोलुङ्गे पुलसम्म आउन एक किलोमिटर छ भने बाहुनेपाटी जान दुई किलोमिटर घुमेर बजार जानुपर्ने बाध्यता छ । घरका लागि चाहिने सामान ल्याउन पनि समस्या भइरहेको उहाँले बताउनुभयो । तीनै तहका सरकारले जतिसक्दो छिटो पुल निर्माणमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । बाढीका कारण धेरैले ज्यान गुमाएका छन् भने कतिको गरिखाने ठाउँ नै बगर बनेको छ । बाढीपछि राहत र पुनःस्थापनाको काममा पनि सरकारले चासो नदिएका कारण मेलम्चीको पुनःस्थापनामा ढिलाइ भएको मेलम्चीका बासिन्दा गणेश दुलालले बताउनुभयो । गत वर्षको बाढीले बस्ती र खेतीयोग्य जमिनमा क्षति पुर्याएको थियो । मानिसको आवातजावत कम भएका कारण अघिल्ला वर्षको तुलनामा यो वर्ष व्यापार व्यवसाय पनि कम भएको मेलम्चीका व्यापारी प्रकाश दाहालले बताउनुभयो । बोकेर लान सक्ने सामान पनि कमै मात्रामा बिक्री भइरहेको र गाडी प्रयोग गरेर लाने सामान लान गाडीभाडा महँगो पर्ने भएकाले पनि वर्षायाममा बिक्री धेरै घटेको उहाँको भनाइ छ । यसअघि मेलम्चीमा ह्युमपाइप राखेर बनाइएको अस्थायी संरचनाको प्रयोग गरेर सामान लैजान सहज भएको थियो । अब वर्षा रोकिनेबित्तिकै खोलामा ह्युमपाइप राखेर यातायात सञ्चालन गर्न नगरपालिकालाई ध्यानाकर्षण गराइएको मेलम्ची नगर उद्योग वाणिज्य सङ्घका महासचिव ताराबहादुर बानियाँले बताउनुभयो । नगरपालिका क्षेत्रमा नागरिकको सुविधाका लागि वैकल्पिक बाटो बनाउने र बन्द भएका बाटो खुलाउने काममा नगरपालिकाले काम गरिरहेको नगरप्रमुख आइतमान तामाङले बताउनुभयो । ‘‘दीर्घकालीनरूपमा पुनःस्थापनाका लागि प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरी जतिसक्दो छिटो मेलम्चीलाई पुरानै अवस्थामा ल्याउने छौँ”, उहाँले भन्नुभयो । क्षति भएका संरचनाको पुनःनिर्माणमा पनि तदारुकताका साथ काम भइरहेको उहाँको भनाइ छ ।

