पोखरा ।     हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ ।    संस्थाले आफ्नो स्थापना...

  पर्सा । पर्साको वीरगञ्जमा डेङ्गु र स्क्रब टाइफसका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । वीरगञ्जको नारायणी अस्पताल तथा निजी क्लीनिकमा दिनहुँ डेङ्गु र स्क्रब टाइफसका बिरामी उपचारका लागि आउन थालेका छन् ।    नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा उदयनारायण सिंहका अनुसार सातायता दैनिक जसो बिरामी फेला पर्न थालेका छन् । खासगरी वीरगञ्ज बाहिरबाट आएका नागरिकमा बढीजसो डेङ्गु र स्क्रब टाइफसको लक्षण देखिएको उहाँले बताउनुभयो । बिरामीको सङ्ख्या बढ्न थालेपछि चिकित्सकले सावधानी अपनाउन  सुझाव दिएका छन् ।    हाल दैनिक रुपमा १५ देखि २० जनामा डेङ्गु र स्क्रब टाइफसका बिरामी अस्पताल भर्ना हुन थालेका चिकित्सकले बताएका छन् । बिरामीमा उच्च ज्वरो, टाउको दुख्ने, शरीर र मांसपेशी दुख्ने, शरीरका विभिन्न भागमा साना र ठूला रातो डाबर आउने जस्ता लक्ष्यण देखिने गरेको डा सिहले बताउनुभयो ।  

  दोधारा चाँदनी :  सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत रुपमा सुरु भएको छ । भाद्र शुक्लपक्ष पञ्चमीदेखि सुरु हुने यो पर्व आज पहिलो दिन घर घरमा बिरुडा राखि मनाइँदै छ । आजको दिनलाई बिरुडा पञ्चमी भन्ने गरिन्छ । आज ब्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुआत गरिन्छ ।    तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले सिँगारपटार गरी त्यसभित्र पञ्च अन्न मास, कलौँ, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा बनाउने चलन छ । बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ । गौरादेवीको पूजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ । पुत्रदा एकादशीको ब्रत बसिसकेपछि भाद्र महिनाको बिरुडा पञ्चमीदेखि गौरा पर्व बिधिवत रुपमा सुरु हुने यसका जानकार गोमती भट्टले बताउनुभयो ।    “एक महिना अगाडिदेखि नै शुद्ध शाकाहार र बह्मचर्यको पालना गरी बिरुडा पञ्चमीको दिन महिलाले मास, कलौँ, गहत, गहुँ र गुरुस मिलाएर तामाको भाडामा भिजाउने गरिन्छ”, उहाँले भन्नुभयो, “बिरुडा भिजाउँदा माङ्गलकी  सगुन फाँग गाउँछौँ ।” बिरुडा भिजाउने बेला महिलाले डोटेली भाषामा सगुन तथा बिरुडा भिजाउने बेलाको फाग गाउने चलन छ ।         फागमा सबै नारी गौरा पर्वको व्रत लिन लागेका र आफूले पनि यो व्रत लिने इच्छा गरेकाले बिरुडाका लागि आवश्यक दाल तथा अन्न सामग्री खोजी दिन महादेव (डोटेली भाषामा मयासर)लाई नगरमा गएर मागी ल्याउन आग्रह गरेको कुराकानीबाट कथाको आरम्भ हुने पण्डित कविराज भट्टले बताउनुभयो । “मयासरले यो वर्ष आफ्नो घरमा केही पनि नभएको हुनाले अर्को वर्ष सुरु गर्न भन्दा गौराले जिद्दी गरेपछि उनकै आग्रह बमोजिम नगरमा कलौँ बिरुडी खोज्न गएको प्रसङ्ग फागमा आउँछ”, उहाँले भन्नुभयो, “यो पुरुषको व्रतबन्ध गरेजस्तै महिलाले दुबधागो लाउने पर्व पनि हो ।” यसरी भिजाएका बिरुडालाई षष्ठीका दिन पखाल्ने चलन छ ।       सप्तमी र अष्टमीलाई गौराको विशेष दिन मानिन्छ । सप्तमीका दिन नजिकैको धान खेतमा गएर धानसँगै उम्रिएको साउँ (धानजस्तै देखिने घाँस)बाट गौराको प्रतिमा बनाइ ‘गौराघर’ मा भित्र्याउने ब्रतालु सरस्वती अवस्थी बताउनुहुन्छ । “गौरा हाम्रो ठूलो पर्व हो, पुरुषजस्तै नारीले पनि यज्ञोपवितका रुपमा दुबधागो लगाउने गछौँँ”, उहाँले भन्नुभयो, “गौराको पूजा अर्चनाले विशेष गरी श्रीमान तथा घरपरिवारका सदस्य निरोगी, दीर्घायु, परिवारमा सुख समृद्धि कायम हुन्छ ।”      अष्टमी अर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै, मङ्गलगानका साथ गौरा नचाइन्छ । त्यसै क्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ, त्यहाँ अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाका साथमा नचाउने गरिन्छ । आजकै दिनदेखि ठाउँठाउँमा देउडासमेत खेलिने चलन छ ।      प्राचीन कालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान् शिवकी अर्धाङ्गीनी शक्तिस्वरुपा पार्वती (गौरी)लाई गौरा देवीको रुपमा पूजा अर्चना गरिँदै आएको पाइन्छ । तिनै शिवगौरीको स्थानीय लोकरीतिअनुसार पूजाअर्चना गरिने पर्व नै गौरा हो । यो पर्व अगस्ति ताराको उदयका हिसाबले शुक्ल या कृष्ण दुवै पक्षमा पर्छ । शुक्ल पक्षमा परेको गौरालाई उज्याली गौरा भनिन्छ भने कृष्ण पक्षमा परेको गौरालाई अन्यारी गौरा भनिन्छ । यी दुवै गौरालाई अति पवित्र मानिए पनि उज्याली गौरालाई विशेष महत्वका साथ हेर्ने गरिनछ ।     गौराकै अवसरमा आजदेखि सुदूरपश्चिमका विभिन्न स्थानमा गौरा कार्यक्रम राखिएको छ । कञ्चनपुरमा पनि महाकाली साहित्य सङ्गमलगायत संस्थाले गौराको अवसरमा विभिन्न कार्यक्रम राखेका छन । साहित्यकार रमेश पन्त ‘मीतबन्धु’का अनुसार आजदेखि महेन्द्रनगरस्थित खुला मञ्चमा गौरा महोत्सव आयोजना गरिएको छ । “गौराको अवसरमा सुदूरपश्चिमका लोकगीत देउडा, डुस्को, धुमारीलगायत विविध गतिविधि गर्दैछौँ, उहाँले भन्नुभयो, “परम्परालाई जोगाउन र पुस्तान्तरणका लागि पनि हामीले कार्यक्रम गर्न लागेका हौँ ।” काठमाडौँ तथा विदेशमा रहेका सुदूरपश्चिमेलीले पनि गौरा पर्व धुमधामका साथ मनाउने गर्छन् ।  

  विराटनगर । विराटनगर महानगरपालिकाले आफूले गरेको निर्णय कार्यान्यवनलाई तीव्रता दिएको छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित होटलले जतिसक्दो चाँडो अग्नि नियन्त्रण यन्त्र राखिने भएको छ ।      महानगरले विराटनगरका सबै होटलले अग्नि नियन्त्रण यन्त्र राख्नुपर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयनका लागि होटल सञ्चालकलाई बोलाएर महानगरले छलफलसमेत गरेको छ । एक महिना अगाडि तीनपैनी छेउमा रहेको नाङ्लो रेष्टुरेण्टमा आगलागी भएको थियो । रेष्टुरेण्टमा अग्नि नियन्त्रण यन्त्र नहुँदा ठूलो क्षति भएको थियो । विराटनगरवासीको हितका लागि महानगरले गरेका हरेक निर्णय कार्यान्वयन गर्न आफूहरू तयार रहेको छलफलमा सहभागीले प्रतिबद्धता जनाएका छन् ।      होटलको सुरक्षाका लागि आफूहरू अग्नि नियन्त्रण यन्त्र राख्न तयार रहेको होटल एसोसिएसन नेपाल प्रदेश नं १ का अध्यक्ष राजन श्रेष्ठले प्रतिबद्धता जनाउनुभयो । “महानगरले धेरै राम्रो निर्णय गरेको छ । यो हाम्रै सुरक्षाका लागि हो”, उहाँले भन्नुुभयो, “हामी होटलको स्तर र क्षमताअनुसार चाँडै नै अग्नि नियन्त्रण यन्त्र राख्छौँ ।”    विराटनगरका कतिपय ठूला होटलले समेत अग्नि नियन्त्रण यन्त्र नराखेको पाइएको छ । महानगरका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्कीसहितको उपस्थितिमा भएको छलफलमा महानगरले गरेका राम्रा निर्णय कार्यान्वयनमा आफूहरू तयार रहेको होटल व्यवसायीहरूले प्रतिबद्धता जनाएका छन् ।

  बैतडी । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत सुदूरपश्चिम स्तरीय खेलकुद प्रतियोगिताका लागि बैतडीबाट एक सय ५६ खेलाडी छनोट भएका छन् । छनौट भएका खेलाडीले प्रदेशमा १३ खेलमा प्रतिस्पर्धा गर्नेछन् ।    जिल्ला खेलकुद समितिका प्रमुख तर्कराज जोशीका अनुसार यही भदौ १० देखि १४ गतेसम्म सञ्चालन भएको जिल्लास्तरीय प्रतियोगिताबाट प्रदेशका लागि खेलाडी छनौट भएका हुन् । क्रिकेट(महिला/पुरुष), तेक्वान्दो(महिला/पुरुष), टेबल टेनिस (महिला/पुरुष), बुद्धिचाल, भारत्तोलन (पुरुष), कराते, तेक्वान्दो (महिला/पुरुष), भलिबल (महिला/पुरुष), कबड्डी(महिला/पुरुष), एथ्लेटिक्स (महिला/पुरुष), फुटबल, बक्सिङ (पुरुष)लगायतका खेलका खेलाडी छनौट भएका हुन् ।    छनौट प्रतियोगितामा सहभागी हुन खेलाडीका लागि आवेदन आह्वान गरिएको थियो । छनौट प्रतियोगितामा तीन सय २९ खेलाडी सहभागी रहेको जोशीले बताउनुभयो । यसैबीच प्रदेश स्तरीय पुरुष क्रिकेट प्रतियोगिता मङ्गलबारदेखि धनगढीमा सुरु भइसकेको छ भने अन्य प्रदेशस्तरीय छनौट प्रतियोगिता केही दिनमा सञ्चालन हुने बताइएको छ । प्रदेशमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छानिने छन् ।       नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने तय भएको छ ।  

  बझाङ । बझाङमा जिपको ठक्करबाट बुधबार एक पैदल यात्रीको ज्यान गएको छ । मृत्यु हुनेमा वित्थडचिर गाउँपालिका–९ का ६० वर्षीय गगन ओखेडा रहेका छन् ।        केदारस्युँ गाउँपालिका–१ देउरा बजारबाट बागथलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०० च २६९० नम्बरको जिपले देउरा बजारमा पैदल हिँड्दै गरेका ओखेडालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारी जानकारी दिनुभयो । ओखेडाको घटनास्थलमै मृत्यु भएको हो । बुङ्गल नगरपालिका–६ घर भएका जिप चालक दीपेन्द्र धामी घटनापछि फरार रहेको प्रहरीले जनाएको छ ।   

  सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–४ बुसुन्डोलमा खोला तर्ने क्रममा बुधबार साँझ एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १७ वर्षीय अमित थामी रहेका छन् ।    मामाघरबाट तीज मनाएर आमा र बहिनीका साथमा फर्किदै गरेका थामीको खोला तर्ने क्रममा पहिरोसँगै आएको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिनुभयो । उनकी आमा र बहिनी भने सकुशल रहेका छन् ।    खोलामा पुल नहुँदा स्थानीले सास्ती खप्दै आएका छन् । मुलाबारीबाट पिस्कर अध्ययन गर्न आउने विद्यार्थी तथा स्थानीयलाई वर्खामा आवतजावत गर्न खोलामा जोखिम रहेको स्थानीयले बताएका छन् । 

  पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोटका लागि आजदेखि गण्डकी प्रदेश स्तरीय प्रतियोगिता सञ्चालन हुँदैछ । प्रतियोगितामा गण्डकीका ११ जिल्लाका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी तीन हजार २२३ जना सहभागी हुँदैछन् ।    गण्डकी प्रदेशमा आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशले छनोट प्रतियोगिता सञ्चालन गर्न लागेको हो । छनोट प्रतियोगिता पोखरा रङ्गशालामा हुन लागेको हो । प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङका अनुसार प्रदेशस्तरीय प्रतियोगितामा ११ जिल्लाका महिला तथा पुरुष खेलाडी, प्रशिक्षक र व्यवस्थापक सहभागी हुँदैछन् । प्रादेशिक छनोटपछि प्रदेशको टोलीलाई बन्द प्रशिक्षणमा सहभागी गराइनेछ ।    सदस्य सचिव गुरुङका अनुसार जिल्ला छनोटमा पाँच हजार ६७७ खेलाडी सहभागी भएका थिए । प्रत्येक खेलमा एउटा प्रशिक्षक र एउटा  व्यवस्थापक राखिएको छ । प्रादेशिक छनोटमा कास्कीले ३५ वटै खेलमा सहभागिता जनाउने भएको छ भने मनाङले पाँच खेलमा मात्र प्रतिस्पर्धा गर्नेभएको छ । यही भदौ ८ देखी १४ गतेसम्म सञ्चालन भएको जिल्लास्तरीय छनोटबाट प्रादेशिक प्रतियोगिताका लागि खेलाडी छानिएका हुन् । प्रदेश स्तरीय प्रतियोगितका लागि खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी कास्कीबाट छ सय ७३, मुस्ताङबाट एक सय ६६, म्याग्दीबाट दुई सय ८३, बागलुङबाट तीन सय ६१, पर्वतबाट दुई सय २३, स्याङ्जाबाट तीन सय ४७ र तनहुँबाट तीन सय तीन खेलाडी छनोट भएका छन् ।   यसैगरी लमजुङबाट दुई सय १३, गोरखाबाट दुई सय ३०, मनाङबाट ४६ र नवलपुरबाट तीन सय ७८ खेलाडी छनोट भएका छन् । गण्डकीले नवौँ राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रदर्शनी गरी ३८ वटै खेलमा सहभागिता जनाउने भएको छ । नवौँ राष्ट्रियमा गण्डकीबाट सात सय नौ खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा चार सय चार स्पर्धामा चार सय ११ पुरुष र दुई सय ९८ महिला सहभागी हुन लागेको परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङले जानकारी दिनुभयो । “जिल्ला, प्रदेश छनोट र बन्द प्रशिक्षणसम्म कूल रु सात करोड ८५ लाख खर्च हुने अनुमान छ”, उहाँले भन्नुभयो ।    राष्ट्रिय खेलकुद परिषद्ले यही भदौको २५ गतेभित्रमा सबै प्रदेशलाई खेलाडी, प्रशिक्षक र व्यवस्थापकको नाम दर्ता गर्न समयसीमा तोकेको छ । नवौँ राष्ट्रिय खेलकुदमा तीन विभागीय, सात प्रदेश र एनआरएनएका खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा तीन सय ९३ स्वर्ण, तीन सय ९३ रजत र ६०० कास्य पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुने बताइएको छ ।    तयारीका लागि बजेट अपुग भयो: प्रदेश खेलकुदमन्त्री गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले राष्ट्रिय खेलकुदको तयारीका लागि बजेट अपुग भएको बताउनुभएको छ । उहाँले सङ्घीय सरकारले प्रतियोगिताका लागि रु ६० करोड स्वीकृत भएको जानकारी दिए पनि हालसम्म रकम प्राप्त नभएको उल्लेख गर्नुभयो ।    “रकम अभावले खेलाडीको बन्द प्रशिक्षण सञ्चालनमा कठिनाइ हुने भएको छ”, उहाँले भन्नुभयो । राष्ट्रिय खेलकुदका कतिपय पूर्वाधार बजेट अभावका कारण निर्माण हुन नसकेको मन्त्री गुरुङले गुनासो गर्नुभयो ।    पुलिसलाई राष्ट्रिय महिला भलिबल उपाधि यसैबीच नेपाल पुलिस क्लबको महिला टोलीले  पोखरामा सञ्चालन भएको राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा–१६ लामाचौरमा सम्पन्न २४औँ संस्करणको ‘लामाचौर तीज महोत्सव–२०७९ एवं लामाचौर कप राष्ट्रिय भलिबल’ प्रतियोगिताको बुधबार सम्पन्न फाइनल खेलमा पुलिसले न्यू डायमण्ड एकेडेमीलाई ३–० सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।    डिफेन्डिङ च्याम्पियन पुलिसले उपाधिसहित रु एक लाख ५० हजार १११ पुरस्कार प्राप्त ग¥यो । उपविजेता न्यू डायमण्डले रु एक लाख १११ पुरस्कार पाएको छ । फाइनलमा पुलिसले न्यू डायमण्डलाई २५–१५, २५–१४ र २५–८ अङ्कले हराएको हो । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब तृतीय भयो । उसले गण्डकी प्रदेशलाई २५–१७, २५–१७ र २५–१५ अङ्कले पराजित गर्दै रु ५० हजार १११ पुरस्कार हात पा¥यो । प्रतियोगितामा पुलिसकी उषा भण्डारी सर्वोत्कृष्ट खेलाडी र पुलिसकै रुपेश विष्ट उत्कृष्ट प्रशिक्षक घोषित भए । दुवै जनाले जनही रु पाँच हजार पुरस्कार प्राप्त गरे ।    यसैगरी उत्कृष्ट सेटर न्यू डायमण्डकी प्रगति नाथ, उत्कृष्ट ब्लकर आर्मीकी सोफिया पुन, उत्कृष्ट सर्भर डायमण्डकी सलिना बुढामगर, उत्कृष्ट स्पाइकर पुलिसकी कामना विष्ट र उत्कृष्ट लिब्रो डायमण्डकी सलिना श्रेष्ठ घोषित भइन् । विजयी टोली तथा उत्कृष्ट खेलाडीलाई गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआइजी रामदत्त जोशी, नेपाल भलिबल सङ्घका वरिष्ठ उपाध्यक्ष यामबहादुर गुरुङ, आयोजक नवआदर्श सामुदायिक विकास समाजका अध्यक्ष रेश्मा शेरचन अधिकारीलगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबीच फाइनल खेल हुन बाँकी रहेको प्रतियोगिता संयोजक सुशीलकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

  लमजुङ । यहाँ दुई थान भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । क्व्होँलासोथर गाउँपालिका–८ घाम्राङ घर भई हाल वडा नं ९ साल्मे बस्ने  २७ वर्षीय यमबहादुर राना मगरलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले बताउनुभयो ।   उहाँले भन्नुभयो, “अवैधरूपमा लुकाइछिपाइ राखेको तथा स्थानीयवासिन्दालाई धाकधम्की दिने गरेको भन्ने विषेश सूचनाका आधारमा उनलाई मङ्गलबार एक थान लोड गरेको र एक थान अनलोड गरेको बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो ।   रानामगरलाई लमजुङ जिल्ला अदालतबाट हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा बुधबार सात दिनको म्याद लिई थप अनुसन्धान कार्य गरिरहेको प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, सङ्घ तथा प्रदेशको निर्वाचन नजिकिएसँगै अवैधरूपमा राखिएका हातहतियारबाट हुनसक्ने घटनालाई रोक्न सक्रियता रुपमा लागेका छौँ ।आज बिहान ती अभियुक्तलाई पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको प्रहरीले यसअघि केही महिनाअघि बेँसीसहर नगरपालिका–१ बाट पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको थियो । 

  प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् ।    महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।   हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।    नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोविनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछुतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको उहाँले बताउनुभयो । यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ । सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो ।   ऋषिपञ्चमीको पृष्ठभूमि   महिलाको रजस्वलासित जोडिएको ऋषिपञ्चमीका विषयमा एउटा किंवदन्ती पनि प्रचलित छ । प्राचीन समयमा इन्द्रले विश्वरुपको शिरलाई तीन टुक्रा पारी हत्या गरेका कारण ब्रह्म हत्याको पाप भोग्नुपर्‍यो । यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाउनुभयो । इन्द्रको ब्रह्म हत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराई बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फयाँकिदिनुभयो ।    यसैकारण उब्जनी नहुने उर्भरभूमि, वृक्षबाट निस्कने खोटो, पानीमा निस्कने बुदबुद फेन अर्थात् फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहेको आध्यात्मिक पुस्तक लेखनमा सक्रिय पण्डित मधुसुदन सुवेदीले जानकारी दिनुभयो । रजस्वला भएका बेलामा अरुलाई छोइछाई गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने र जानीनजानी छोइछाई भएमा आजको दिनमा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रहेको हो ।       रज भनेको फोहर हो जुन महिलामा मासिक धर्मका समयमा निस्कन्छ । यसबाट बच्नु स्वास्थ्यका लागि राम्रो हुने भएकाले अध्ययन अनुसन्धानबाट प्रमाणित भएपछि समाजमा लागू गरिएको विश्वास गरिन्छ । यसका विषयमा आधुनिक विज्ञान र स्वास्थ्यका दृष्टिकोणबाट समेत अध्ययन गरी सार्वजनिक गरिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । यस अवसरमा आज काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्छ ।