सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–३ वडा कार्यालयले सार्वजनिक जग्गा अतिक्रमण गरी अनधिकृतरूपमा बनाइएका संरचना हटाउन निर्देशन दिएको छ । वडाध्यक्ष विनोदसिं विष्टले मङ्गलबार ३५ दिने सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक जग्गा, सडक अतिक्रमण र नक्सापास स्वीकृतिबिना निर्माण गरिएका संरचना हटाउन निर्देशन दिनुभएको हो । सूचनामा सम्बन्धित व्यक्तिले अटेर गरी नहटाएमा वडा कार्यालयले नियमानुसार हटाउने उल्लेख छ । वडाध्यक्ष विष्टले नगर कार्यपालिकाको पहिलो बैठकले गरेको निर्णयमा टेकेर आफूले सार्वजनिक जग्गाको संरक्षण तथा व्यवस्थापनको कदम चालेको बताउनुभयो । उहाँका अनुसार गत जेठ २३ गते बसेको नगर कार्यपालिका बैठकको निर्णयअनुसार सार्वजनिक जग्गाको लगत लिई सोको उचित संरक्षण र सार्वजनिक गर्ने उल्लेख छ । वीरेन्द्रनगर–३ मा सडक, खोला अतिक्रमणको समस्या बढी छ । खोर्केखोलाको क्षेत्र मिचेर घर निर्माण गरिरहेकाले वर्षात्मा बाढी र कटानको समस्या देखिएको छ ।
दाङ । दाङमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । गए राति तीजको अवसरमा नाचगान भइरहेको समयमा घोराही उपमहानगरपालिका–१२ गुरौमा चट्याङ लागेर उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार चट्याङ लागेर १२ महिला घाइते भएका छन् । उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर छ । घटनास्थल टेलिफोनको समस्या भएकाले थप जानकारी प्राप्त हुन नसकेको प्रवक्ता गौतमले बताउनुभयो ।
पाल्पा । गाउँमा भिडियो एक्सरे सेवा नहुँदा पाल्पाको निस्दी गाउँपालिकाका गर्भवतीलाई सदरमुकाम तानसेन तथा रामपुर धाउनुपथ्र्यो । उनीहरुलाई भिडियो एक्सरे सेवा लिन एक दिन पुरै बिताउनुपथ्र्यो । अब भने यहाँका गर्भवतीलाई सो सेवाका लागि अन्यत्र जाने समस्या टरेको छ । पालिकाले गर्भवतीलाई लक्षित गरी निःशुल्क ग्रामीण भिडियो एक्सरे सेवा सञ्चालन गरेको छ । पलिकाका सातवटै वडामा रहेका स्वास्थ्य चौकीमार्फत प्रत्येक महिना एक दिन सेवा दिन थालिएको स्वास्थ्य शाखा संयोजक रेमबहादुर दिसाले जानकारी दिनुभयो । वडा नं १ को बाकामलाङ स्वास्थ्य चौकीमा हरेक महिनाको २३ गते, वडा नं २ को सहलकोट स्वास्थ्य चौकीमा २२ गते, वडा नं ३ को झिरुवास स्वास्थ्य चौकीमा २१ गते, वडा नं ४ को मित्याल स्वास्थ्य चौकीमा ११ गते, वडा नं ५ को गल्धा स्वास्थ्य चौकीमा १४ गते, वडा नं ६ को अर्चले स्वास्थ्य चौकीमा १२ गते तथा वडा नं ७ को ज्यामिरे स्वास्थ्य चौकीमा १३ गते भिडियो एक्सरे सेवा दिइने उहाँले बताउनुभयो । यही भदौ ११ गतेदेखि उक्त सेवा सुरु गरिएको हो । “प्रदेश सरकारले एक जना तालिम प्राप्त अनमीको व्यवस्था गरेपछि यो सेवा सुरु गरेका हौँ”, संयोजक दिसाले भन्नुभयो । गर्भवतीको समस्यालाई ध्यानमा राख्दै पालिकाले उक्त सेवा सुरु गरेको हो । गर्भवतीलाई वडामा रहेका स्वास्थ्य संस्थामार्फत हरेक महिना प्रत्येक वडा वडामा समय तय गरेर सेवा प्रवाह गर्न थालिएको उहाँले बताउनुभयो । गाउँकै स्वास्थ्य चौकीबाट सेवा पाउँदा उनीहरुलाई ठूलो राहत मिलेको छ । यसअघि तानसेन र रामपुर धाउँदा यातायात, बास बस्नेलगायतका समस्या थियो । स्थानीयस्तरमै सेवा पाउँदा सास्ती भोग्नुपर्ने समस्या टरेको निस्दी–४ की हिराकुमारी खाम्चाले बताउनुभयो । “टाढा जानुपर्ने झन्झटले गर्भवती स्वास्थ्य परीक्षण गर्दैनथे, अब ठूलो राहत पुगेको छ”, उहाँले भन्नुभयो । मेसिन बिग्रिने, स्वास्थ्यकर्मी अभावलगायत समस्याले कतिपय बेला भने सेवा सेवा नलिइकन फर्कनुर्ने समस्या थियो । निजी क्लिनिकमा महङ्गीका कारण सेवा लिन समस्या थियो ।
अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा गए राति एक युवक मृत फेला परेका छन् । मध्यपहाडी सडकखण्डको विनायक गैरीटाडअन्तर्गत विनायक नजिकै स्थानीय बमबहादुर धामीको शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाशसिंह विष्टका अनुसार धामीको टाउकोमा चोट लागेको छ । मृत्युको कारण यकिन हुन नसकेको उहाँले बताउनुभयो । गए राति करिब १० बजे घटनाको जानकारी प्राप्त हुनासाथ अनुसन्धानका लागि प्रहरी परिचालन गरिएको विष्टले बताउनुभयो ।
मिथिला क्षेत्रमा आज साँझ चन्द्रमाको श्रद्धा र विधिपूर्वक पूजा गर्दै चौरचन (चौठचन्द्र) पर्व सकिएको छ । भदौ शुक्लपक्षको चतुर्थीका दिन खासगरी मिथिला क्षेत्रमा मधेसी र थारु समुदायले विशेष महत्वका साथ मनाउने उक्त पर्व आज साँझ विधिपूर्वक पूजा गर्दै सकिएको हो । यसवर्ष तिथि फरक भए पनि हरितालिका तीज र चौठचन्द्र पर्व आज एकै दिन परेको छ । दिनभरि उपवास भएका परिवारका महिला सदस्यहरूले साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा छ । चौठचन्द्र पर्वमा सूर्यास्तपछि गाईको गोबरले आँगन लिपपोत गरी बनाइएको चतुष्कोण यज्ञस्थलमा दीप प्रज्वलन गर्दै उपवास बसेको बर्तालुले फलफूल र मिष्ठान्नको परिकारलाई प्रसादका रूपमा चन्द्रमालाई देखाएर पूजा गर्ने परम्परा छ । चन्द्रमाको पूजा हुने यो पर्वमा नयाँ माटोको भाँडामा जमाइएको दही, मिठाइ, नरिवल, केरा, अम्बा, पुरीलगायतका सामग्री प्रसादका रूपमा राखेर चन्द्रमालाई पूजा गर्ने गरिन्छ । पूजा सकिएपछि पूजाका लागि आँगनमा बनाइएको चतुष्कोण यज्ञस्थलमै बसेर घरका पुरुष सदस्यहरुले प्रसाद ग्रहण गर्ने परम्परा रहेको मिथिला संस्कृतिका जानकार पण्डित रामकुमार शास्त्रीले बताउनुभयो । तीज पर्व सम्पन्न भएसँगै सुरु हुने यस पर्वलाई मिथिलामा निकै श्रद्धा र आस्थाका रूपमा लिइन्छ । कृष्ण जन्माष्टमीको १२ दिनपछि यो पर्व मनाइन्छ । छठपछिको दोस्रो ठूलो पर्वका रूपमा मनाइने यो पर्वलाई चौरचन, चौथीचान, चौरचण्ठ र चौथीचन्द्र पनि भन्ने गरिन्छ । यस पर्वको माध्यमबाट मैथिल कला संस्कृतिको समेत उजागर हुन्छ । खासगरी आँगनमा पूजा हुने भएकाले चामलको पीठोको कलात्मक अरिपन बनाई त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ । चन्द्रमाको आराधना गरिने चौरचन पर्वमा दाल र चामलको पिठोबाट बनाइने पुरी, मिष्टान्न परिकार खाजा ९पिरुकिया० र खीर, माटोको छ्याँचीमा जमाइएको दही, पाकेको केराको घरीसहित अन्य फलफूल र वस्त्र आभूषण चढाइने परम्परा छ ।
पोखरा : गुल्मीका बिरामीलाई मगर संसार ग्रुपले आर्थिक सहयोग हस्तातरण गरेको छ । मगर संसार ग्रुपले गुुल्मीका टि.बी. ( क्षयरोग)का बिरामी स्मृति पुलामी मगरलाई ७१ हजार ९ सय ६८ रुपैयाँ आर्थिक सहयोग हस्तातरण गरेको हो । रोजगारीको शिलशिलामा विभिन्न देश तथा स्वदेशमा रहेका नेपालीहरुबाट मगर संसार ग्रुपले सहयोग अभियान संचालन गरेर संकलन भएको रकम बिरामी मगरलाई हस्तातरण गरेको ग्रुपका अध्यक्ष अनिल लामिछाने मगरले जानकारी दिए । बिरामी मगरको अहिले काठमाडौँमा उपचार भइरहेको छ । गुल्मीको कालिगण्डकी गाउँपालिका ५ फोक्सिङका ८ वर्षिय स्मृति पुलामीको उपचारमा आर्थिक अभाव भएपछि ग्रुपले सहयोग अभियान संचालन गरेको थियो । ग्रुपले उपचारमा आर्थिक अभाव भएकाहरुलाई सहयोग अभियानसँगै विभिन्न अनलाइन प्रतियोगिताहरुसमेत संचालन गर्दै आएको छ ।
काठमाडौँ : अभिनेत्री अनु शाहलाई मनपर्ने चाडमध्ये तीज पनि एक हो । “यो चाड विशेषत महिला दिदीबहिनीका लागि भएर पनि होला मलाई एकदमै मन पर्छ । मलाई तीज भन्नेबित्तिकै राति उठेर खाने दर र रातो पहिरनको निकै याद आउँछ”, उहाँ भन्नुहुन्छ । अभिनेत्री शाहले प्राय परिवारसँगै घरमै बसेर अघिल्लो दिन दर खाने, भोलिपल्ट स्नान गरी व्रत बस्ने र नाचगान गरेर तीज बनाउँदै आउनुभएको छ । हाल क्यानडामा रहनुभकी नायिका एलिजा गौतमलाई तीजका कुरा गर्दा सानो बेलाका यादहरु आउने गर्छ । यसपटक माइतीको हजुरआमा बितेकाले उहाँले तीज मनाउनुभएको छैन तर उहाँलाई तीजका यादहरू मनभरि आइरहेका छन् । नायिका गौतम भन्नुहुन्छ, “तीज हामी नेपाली महिला दिदी–बहिनीको महान् चाड हो । पहिले–पहिले आमा हजुरआमाले मनाउँदाजस्तै रमाइलो अहिले पनि हुने गरेको छ, बिहे गरेका छोरी चेलीबेटी भेला भएर तीजको अघिल्लो दिन दर खाएर भोलिपल्ट व्रत बस्दा छुट्टै रमाइलो हुन्छ ।” आफू जता भए पनि तीजमा चाहिँ सबै जनासँगै जम्मा भएर दुःखसुख साटासाट र नाचगान गर्ने चलन पहिलेदेखि चल्दै आएको छ, चाडपर्वमध्ये तीजलाई मैले महान् चाडको रुपमा लिने गरेको छु”, उहाँ जोड दिनुहुन्छ, “तीजका बेलामा आलु र करेलाको पक्कु मेरो ममीले एकदमै मीठो बनाउनुहुन्छ, ढकनी, काँक्रोको अचार (खल्पी), ठेकीमा हालेको दही, काँक्रो, फर्सीको मुन्टा आदि सानैदेखि खाँदै हुर्केको भएर पनि होला तीज भन्नेबित्तिकै पुरानै याद आउँछ ।” यसपटकको तीजमा गौतमको काला चश्मा नृत्य निकै लोकप्रिय पनि भएको छ । अभिनेत्री सञ्चिता लुइँटेल आफन्त, दिदीबहीनी एकदम टाढा–टाढा भएकाहरूसँग भेट गरेर नाचगान गर्ने पर्वका रूपमा तीजलाई लिनुहुन्छ । “तीजमा मीठो परिकार दर बनाएर खाने, सुख, दुःख, वेदनालाई गीतमा अभिव्यक्त गरेर रमाइलो गर्ने गरिन्छ, तीज भन्नेबित्तिकै रातो सारी लगाएर शिवजीको व्रत बस्ने र पूजा गर्ने नै हो”, उहाँ भन्नुहुन्छ । “ मेरा दुई बहिनी एक महिना अगाडिदेखि नेपालमै थिए, यसपालि तीजमा सँगै बसौँला रमाइलो गरौँला भन्ने सोच थियो तर माहिली बहिनी फ्रान्स गई, कान्छी बहिनी अमेरिका गई म र ममीमात्र भएकाले अब हजुरमुमाका जाने र सबै जना भेला भएर मीठा–मीठा परिकार खाइ नाचगान गरेर मनाउने सोचमा छु ।” लोकगायिका पूर्णकला बिसी कार्यक्रमहरुमै व्यस्त हुनुहुन्छ । “सानैदेखि नाच्ने गाउने रमाइलो गर्ने पर्व भएका कारण मैले तीजलाई वशेष चाडका रूपमा लिने गरेको छु, आफू गीतसङ्गीततिर आबद्ध भएका कारण पनि मैले बच्चैदेखि तीजलाई मन पर्ने चाडको रुपमा लिन्छु”, उहाँ भन्नुहुन्छ, “बाल्यकालदेखि नै तीजमा मात्र एकपटक नयाँ लुगा लगाइने गरिन्थ्यो । जुनसुकै बेलामा कपडा खरिद गर्न सक्ने अवस्था थिएन वर्षमा एकपटक नयाँ कपडा लगाउने चलन भएकाले पनि मलाई बाल्यकालकै कुराहरू याद आइहाल्छ ।” उहाँ पोखरामा तीजका कार्यक्रम सकेर स्याङ्जा घरमा पुगेर तीज मनाउँदै हुनुहुन्छ । तीजका कार्यक्रममा प्रस्तुतिका लागि व्यस्त गायिका राधिका हमाल पनि तीजलाई विशेष चाडका रुपमा लिनुहुन्छ । “तीज संस्कार र संस्कृति बोकेको महिलाका लागि विशेष चाड हो । यसको परिभाषा मैले दिन त असम्भव छ, तर पनि नेपाली महिलाको विशेष चाडका रूपमा तीजलाई लिने गर्छु”, उहाँ बताउनुहुन्छ , “तीजमा मेरो विभिन्न कार्यक्रम त भइरहेको छ । त्योभन्दा पनि मैले तीजमा साना–साना भाइबहिनीलाई सहयोग गर्ने गरेको छु । यसपालिको तीजमा पनि बालबालिकालाई सहयोग गर्छु र ललितपुर लेलेमा तीज विशेष कार्यक्रममा सहभागी हुँदैछु ।” गायिका सुशीला पाठक ‘पापाकी परि’ गीतबाट चर्चामा आउनुभएपछि कार्यक्रमतिर व्यस्त हुनुभएको छ । अर्की गायिका एन्जिला रेग्मीलाई पनि तीज निकै राम्रो लाग्छ । “नारीहरूको महान् पर्वका रूपमा लिइने तीज म चाहिँ रमाइलोे चाडका रुपमा लिन्छु । सबै जना भेला भयो, गायो, नाच्यो दिदीबहिनीले लागाएको हरियो, रातो सारी यस्ता विभिन्न कुराले गर्दा तीज रमाइलो लाग्छ”, उहाँ बताउनुहुन्छ ।
हल्ट प्राइज पोखरा बिस्वविद्यालयको २०२२/२०२३ को क्याम्पस डायरेक्टरको रूपमा सूरज राज केशरी चयन भएका छ्न्। हल्ट प्रतियोगिताले विद्यार्थीमा जोस जाँगर थप्ने गरेको र आफ्नो उद्धमी सोच र कल्पनालाई आकार दिन्छ ।यस प्रतियोगिताले विद्यार्थीलाई आफ्नो क्षमता जागरण गर्न टेवा पुर्याउने र उद्यमशीलता समेत पैदा गर्ने भएको हुँदा यसको महत्व छ र आफ्नो कार्यकालमा यस पर्तियोगितालाइ थप नया आयाम दिने उनले बताए। विद्यार्थीहरूको लागि नोबेल पुरस्कार मानिने यस प्रतियोगिताले विद्यार्थीमा लुकेको नवीनतम् सोचलाई जागरण गरेर समाजमा उद्यमशीलता निर्माण गर्ने भएकाले यसको अन्तर्राष्ट्रिय रुपमा छुट्टै महत्व रहेको र नेपालमा पनि विभिन्न विश्वविद्यालयहरूले यस प्रतियोगितालाई प्राथमिकता दिँदै आएका छन् । गत वर्ष प्रशान्त भुसालको नेतृत्वमा आयोजना भएको प्रतियोगिता यस पटकको प्रतिस्पर्धालाई केशरीले नेतृत्व गर्दैछन् ।
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले हरितालिका तीजको मौलिकता कायम राख्दै भड्किलोपन एवं खर्चिलोपनलाई हटाउँदै जानु अति आवश्यक रहेको बताउनुभएको छ । तीजको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले भड्किलोपन हटाउन सके पर्वको सांस्कृतिक महत्वको जगेर्ना हुने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री शाहीले तीज पर्वले समाजमा विद्यमान लैंगिक, जातिय विभेदलगायत सबै प्रकारका असमानताहरुको अन्त्य गर्दै समतामूलक समाज निर्माणमा अग्रसर हुन उत्पे्ररित गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ । सन्देशमा भनिएको छ, “तीजले समाजलाई भावनात्मक एकताको सूत्रमा बाँध्न मद्दत गरेको छ, यसको आफ्नै मौलिकता छन्, चेली–माइती, साथी–सङ्गी, परिवार एवं आफन्तजनबीचको सम्बन्धलाई प्रगाढ बनाएको छ ।” साथै मुख्यमन्त्रीले यस्ता धार्मिक/सांस्कृतिक पर्वले नेपालीहरुको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भावकायम गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ । खासगरी हिन्दु महिलाहरुले भाद्र शुक्ल तृतीयाका दिन मनाउने यो पर्वमा भगवान शिवको आराधाना गर्दै शौभाग्य, दीर्घायू र पारिवारिक सुखको कामनासहित उपवास बस्नाले मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ ।

