पोखरा:   बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ ।  तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...

  इटहरी ।  इटहरी उपमहानगरले निर्माण गरेको मुसहर बस्ती प्रयोगहीन बनेका  छन्  ।  उनीहरु नयाँ बस्तीमा जान नमान्दा १५ घरहरु अढाइ वर्षदेखि खाली नै रहेको  छ ।       इटहरी–१७ का मुसहर घरपरिवारलाई व्यवस्थित गर्न तराई मधेस समृद्धि कार्यक्रम र इटहरी उपमहानगरकाद्वारा संयुक्त रुपमा ती घर  रु एक करोड २३ लाखको लागतमा तयार पारिएका थिए ।    अहिले मुसहरु ती बस्तीमा जान मानेका छैनन् ।  स्थानीय सरकारले छलफल नै नगरी काम गर्ने कम्पनीदेखि टाढा बस्ती बनाएकाले उनीहरू नयाँ घरमा बस्न जान नमानेका बताइएको छ  । स्थानीय सुमति ऋषिदेवले बाउबाजे यही जन्मेर यही मृत्यु भएको जनाउँदै पुख्र्यौली थलो नछाड्ने बताउनुभयो । उहाँले भनुभयो, “घर निर्माण गर्नुअघि सल्लाह पनि गरेनन्, आफूहरु लामो समयदेखि बस्दै आएको ठाउँ छाड्न नसक्ने, अहिले बसेकै ठाउँमा व्यवस्थित गर्नुपर्छ ।”   निर्माण गरिए पनि आफ्नो दैनिक छाक टार्नका लागि काम गर्न  कम्पनीसम्म पुग्न यो बस्ती टाढा भएको  उहाँको भनाइ छ ।  निर्माण गरिएको बस्तीबाट इटहरी बजार आउनका लागि साइकलमा ४५ देखि एक घण्टा लाग्ने र बालबालिकालाई विद्यालय पठाउन समस्या हुने उहाँले बताउनुभयो ।   नयाँ घरबाट टाढा र अपायक भएकाले पनि नयाँ घरमा जान नमानेको उहाँले बताउनुभयो । “बरु सडकले ओगट्ने क्षेत्रबाट बचेको जग्गामा छाप्रो हालेर बस्ने, तर सरकारले बनाएको नयाँ घरमा जाँदैनौँ”, उहाँ भन्नुभयो, “हामीलाई स्थानीय सरकारले नयाँ घरमा बस्न आग्रह गर्ने गरेको छ । तर सरकारले बनाएको घरबाट काममा जानका लागि ४५ देखि एक घण्टा लाग्छ, सरकारले साइकल दिन्छु भनेको त छ तर साइकलले राति महिलालाई घर जान समस्या पर्छ, कहिले साइकल बिग्रिन्छ । हामी यहाँबाट जाँदैनौँ ।” केही समयअघि मुसहर समुदायलाई  काम गर्ने महिला, पुरुषलाई उपमहानगरले साइकलसमेत वितरण गर्ने योजनासमेत बनाएको थियो, तर त्यो योजनासमेत सफल हुन सकेन ।   बस्तीमा खानेपानी, शौचालय, चिल्ड्रेन पार्क, सामुदायिक भवन र दिनाभद्रीको मन्दिरसमेत निर्माण गरिएको छ । करोडौँ खर्च गरेर निर्माण गरेको संरचनामा मुसहर समुदाय नै बस्न नमानेपछि स्थानीय सरकारको बहुवर्षे सडकसमेत अन्योलमा परेको छ । सडक किनारामा बसेका मुसहरलाई नयाँ बस्तीमा सार्ने योजना फेल भएपछि सडक विस्तार कसरी गर्ने र ती संरचनालाई कसरी व्यवस्थित गर्ने भन्ने उपमहानगरपालिका अलमलमा छ ।   मुसहर बस्तीको परिवार बस्न नमानेपछि गत वर्ष निवर्तमान इटहरी उपमहानगरगपालिका–१६ का अध्यक्ष दीपनारायण चौधरीका संयोजकत्वमा तीन सदस्यीय टोलीसमेत बनाएको थियो । उक्त टोलीले तयार गरेको प्रतिवेदनका आधारमा इटहरीभित्रका अतिविपन्न तथा लक्षित समुदायका परिवारलाई राख्ने तयारी भएको इटहरी उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहेताले बताउनुभयो । उहाँले भन्नुभयो, “लाखौँ खर्च गरेर तयार गरेको घरको अब गरिब विपन्नलाई बडाको सिफारिसमा राख्ने तयारी छौँ । ”यो प्रक्रिया केही महिनाबाट नै सुरु गर्ने योजनामा उपमहानगर रहेको जनाइएको छ । 

  काठमाडौँ । लमजुङबाट राष्ट्रिय प्रसारण लाइनमा २७ मेगावाट बिजुली थपिएको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा दोर्दी गाउँपालिकामा निर्माण गरेको दोर्दी जलविद्युत् आयोजना सम्पन्न भएसँगै मङ्गलबारदेखि बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएको हो ।   गैरआवासीय नेपाली सङ्घ (एनआरएन)का पूर्वअध्यक्ष एवं प्रवद्र्धक हिमालय पावर पार्टनर लिमिटेडका अध्यक्ष जिवा लामिछाने र लगानीकर्ता आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालको उपस्थितिमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान भएको घोषणा गरिएको हो । एनआरएनका पूर्वअध्यक्ष लामिछानेले आफू अध्यक्ष रहेका बेला गैरआवासीय नेपालीले एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी खोलेर उक्त संस्थामार्फत यस जिल्लामा पहिलोपटक दोर्दीखोला जलविद्युत् आयोजनामा लगानी गरेको बताउनुभयो । उहाँले नेपालमा सफल व्यवसायीसँग मिलेर काम गरेको र गैरआवासीय नेपालीको लगानीबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान भएकामा खुसी व्यक्त गर्नुभयो ।    त्यस्तै आइएमई ग्रुपका अध्यक्ष ढकालले एनआरएनसँग मिलेर दोर्दीखोला जलविद्युत् आयोजनालाई अघि सारिएको र अहिले सम्पन्न भएको भन्दै खुसी व्यक्त गर्नुभयो । आउँदा दिनमा ठूला जलविद्युत्, पर्यटन, पूर्वाधारलगायतमा लगानी गर्न उहाँले गैरआवासीय नेपालीलाई आग्रह गर्नुभएको छ ।    आयोजनाले २०७२ फागुनदेखि निर्माण थालनी गरेर २०७५ भदौ १५ गते विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो । भारतको नाकाबन्दी, अघिल्लो बर्खामा पावरहाउसमा मस्र्याङ्दी नदीको पानी छिरेर मेसिनरी सामग्रीमा पु¥याएको क्षति र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले निर्माणमा ढिलाइ भएको आयोजना प्रमुख मुन्न शाक्यले बताउनुभयो ।     आयोजनाको बाँधस्थल दुई सय १२ मिटरको रहेको छ । बेँसीसहर नगरपालिका–११ रामचोकबेँसीमा विद्युतगृह छ । नेपाल विद्युत् प्राधिकरण र उक्त कम्पनीका बीचमा पिपिए सम्झौता २०६९ असार १ गते भएको थियो । बाँधस्थल र विद्युतगृहको काम रसुवा कन्स्ट्रक्सन कम्पनी, पाइप लाइनको माछापुच्छे« मेटल एण्ड मेसेरेनरी कम्पनी र सुरुङ निर्माणको काम मल्टि इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीको रहेको थियो ।    आयोजनामा गैरआवासीय नेपाली सङ्घको ३५ दशमलव सात प्रतिशत, आइएमई ग्रुपको ३४ दशमलव तीन प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी छ । रु तीन अर्ब ८६ करोडमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढे पनि निर्माण सम्पन्न हुँदा करिब रु पाँच अर्बभन्दा बढी खर्च भएको आयोजनाले जनाएको छ ।    सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र बर्खायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने सम्झौता (पिपिए) भएको आयोजनाले जनाएको छ । यसअघि जिल्लामा ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्र, ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ लगायत छ आयोजनाबाट राष्ट्रिय प्रसारण लाइनमा बिजुली जोडिएको छ ।

  कञ्चनपुर : कञ्चनपुर डेङ्गुको उच्च जोखिममा रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कञ्चनपुरमा डेङ्गु सार्ने लार्भा भेटिएकाले उच्च जोखिम रहेको हो ।    गत साता दोधारा–चाँदनी नगरपालिकामा २० जनामा गरिएको परीक्षणमा चारमा डेङ्गु देखिएको थियो । दोधारा–चाँदनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयबहादुर महराका अनुसार भारतबाट आएका चार जनामा डेङ्गु देखिएको हो । “तीन पुरुष र एक महिलामा डेङ्गु देखिएको छ”, उहाँले भन्नुभयो, “पुरुष भारतबाट आएका हुन् भने डेङ्गु देखिएका महिलाको बुवा र दाजु पनि भारतबाटै आएका हुन् ।”   दोधारा–चाँदनी भारतसँग सीमा जोडिएको ठाउँ हो । यहाँ आवतजावत बढी हुने भएकाले पनि डेङ्गु सङ्क्रमणको उच्च जोखिममा  छ । जिल्ला स्वास्थ्य कार्यालयका औलो निरीक्षक सिद्धराज भट्टले एडिस एजिप्टाइ र एडिस एल्बोपिक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु सर्ने बताउनुभयो । “कञ्चनपुर र कैलाली डेङ्गुको उच्च जोखिममा छन्, पछिल्लो समय डेङ्गुका बिरामी बढ्न थालेका छन्”, उहाँले भन्नुभयो, “स्वास्थ्य कार्यालयको प्रयोगशालामा लामखुट्टेको लार्भा परीक्षण गर्दा डेङ्गु सार्ने प्रजाति भेटिएको छ ।”   वर्षात्मा पानी जम्ने ठाउँ, पानीको ट्याङ्की, पुराना टायरलगायतमा जमेको पानीमा यो जातको लामखुट्टेले लार्भा पार्छ । यसको वृद्धिबाट डेङ्गुको प्रकोप बढ्छ । “यो लामखुट्टेबाट जोगिन घर वरपर पानी जम्न दिनु हुँदैन”, भट्टले भन्नुभयो, “अहिले डेङ्गु परीक्षण गर्न किट अभाव छ ।”    डेङ्गुबाट बच्न विषादी छर्किन र विषादीयुक्त झुलको प्रयोग गनुपर्ने हुन्छ । “उच्च ज्वरो, हाड जोर्नी, टाउको दुख्ने, आँखाको भित्री भाग दुख्ने यसका प्रमुख लक्षण हुन्”, उहाँले भन्नुभयो, “डेङ्गु देखिए केहीमा श्वासप्रश्वासको समस्या देखिन सक्छ ।” गत वर्ष कञ्चनपुरमा १५ जनामा डेङ्गु देखिएको उहाँले जानकारी दिनुभयो । जिल्लामा डेङ्गु र मलेरियाका बिरामी देखिन थाले पनि परीक्षणका लागि किटको अभाव रहेको छ ।    महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा अर्जुन भट्टले केही दिनयता अस्पतालमा मलेरिया र डेङ्गुका बिरामी देखिन थालेको बताउनुभयो । “अस्पतालमा ज्वरोका बिरामी बढेका छन्, डेङ्गुका बिरामी अहिले अस्पतालमा भर्ना छैनन् उपचारपछि फर्किसके”, उहाँले भन्नुभयो, “गत साता डेङ्गुका बिरामी आएका थिए, एकजनालाई धनगढीस्थित सेती अस्पताल रेफर गरेका छौँ ।” अहिले अस्पतालमा  भाइरल ज्वरोका बिरामीको अत्यधिक चाप छ ।

  धरान  । धरान उपमहानगरपालिकाले कुहिने फोहर व्यवस्थापन गरे पनि नकुहिने फोहर व्यवस्थापन गर्न सकेको छैन् । उपमहानगरपालिकाले वर्षौँदेखि १५ नं वडाको बाँझगरा सामुदायिक वनअन्तर्गत तीनकुनेमा फोहर फाल्दै आएको छ ।    फोहर फालिएको स्थानमा जलाउने गर्नाले सडकमा समेत प्रदूषण बढेको छ । यस विषयमा आवाज उठेपछि बाँझगरा सामुदायिक वन उपभोक्ता समूहले केही समय अगाडि उचित व्यवस्थापन गर्न उपमहानगरसँग अनुरोध गरेको थियो ।    उपमहानगरले कुनै सुनुवाइ नगरेको सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष कुमार भारतीले बताउनुभयो । समूहले जिल्ला डिभिजन वन कार्यालय सुनसरीलाई समेत जानकारी गराएको थियो । समूहले वनलाई जानकारी गराएपछि वन कार्यालयले चासो देखाएर उपमहानगर र सव डिभिजन कार्यालय पाँचकन्यालाई पत्र लेखेको छ ।   डिभिजन वन कार्यालय सुनसरीका डिभिजन अधिकृत भीमबहादुर कालिकोटेद्वारा हस्ताक्षरित पत्रमा उपमहानगरपालिकाबाट निस्किएका प्लास्टिकजन्य बस्तु तथा नकुहिने फोहर सामुदायिक वन क्षेत्रभित्र सेउती खोला किनारमा फाल्ने गरेको बुझिएकाले उपमहानगरसँग समन्वय गरी सहरी क्षेत्रबाट निस्केका फोहरमैला वन क्षेत्रमा नफाल्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ ।    कालिकोटेले यही भदौ १२ गते सव डिभिजनलाई पत्र लेख्नुभएको छ । सोही पत्र पाँचकन्याले बाँझगरा सामुदायिक वनलाई बोधार्थ दिइएको छ । जिल्लाको पत्र आएलगत्तै पाँचकन्या सव डिभिजनले सामुदायिक वनअन्तर्गत तीनकुने क्षेत्रमा फोहर नफाल्न उपमहानगपालिकालाई पत्राचार गरेको छ ।

  भक्तपुर । गणेश चतुर्थीका अवसरमा भक्तपुरको सूर्यविनायकको खटजात्रा धुमधामले मनाइँदैछ । स्थानीय सूर्यविनायक क्षेत्र प्रबन्ध समिति, सूर्यविनायक युवा क्लब, सूर्यविनायक नगरपालिकाको वडा नं ६ र ८, ढल्चा भजन, दाफा खल: तथा गुथियारका सक्रियतामा यो जात्रा गरिएको हो ।   यो जात्रा करिब पाँच दशकपछि गत वर्षदेखि पुन:सञ्चालनमा आएको थियो । अर्थाभावका कारण लोप हुने अवस्थामा पुगेको यो जात्रालाई पुनर्जीवित गर्न गत वर्ष सूर्यविनायक–६ र ८ ले रु दुई–दुई लाख बजेट व्यवस्था गरेको थियो । सोहीअनुसार स्थानीय गुठियार र विभिन्न समिति, भजन खल:को सक्रियतामा जात्रा पुन:सञ्चालनमा भएको हो । जात्राका लागि यस वर्ष पनि दुवै वडाले रु तीन–तीन लाख विनियोजन गरेको छ ।   सूर्यविनायक मन्दिर सूनपा–८ र ६ को सिमानामा रहेको छ । जात्रा दुईवटै वडाका केही भागको परिक्रमा गर्ने परम्परा रहेको छ भने जात्रा सञ्चालन र मन्दिरको संरक्षण गर्ने गुठी पनि दुईवटै वडाको क्षेत्रमा रहेको छ । त्यसैले पुरातात्विक, ऐतिहासिक र धार्मिक महत्वको सो मन्दिरको जात्रा व्यवस्थापनका लागि ती दुईवटै वडाले बजेट विनियोजन गरेको हो ।   गणेश चतुर्थीको दिनलाई भगवान् सूर्यविनायकको जन्मोत्सवका रूपमा समेत लिइन्छ । जात्राका क्रममा सूर्यविनायकको मूल मूर्तिलाई खट्मा राखी एकापसमा सिन्दुर दलेर विभिन्न टोलको परिक्रमा गराइने परम्परा रहेको छ ।   सूर्यविनायक मन्दिरको प्राङ्गणबाट सुरु भएको जात्राका क्रममा खटलाई स्थानीय तीनधारा, पिपलबोट, गुन्चाटोल, राजथला टोल, सूर्यविनायक चोक, चालिसे गाउँलगायतका टोलमा धिमे, भुस्या, धाँ बाजाको साथमा परिक्रमा गराइन्छ । जात्रामा स्थानीय ढल्चा भजन, दाफा खलःका बाँसुरी बाजा, धिमेबाजा तथा गुठियारको सहभागिता रहन्छ ।   गणेश चतुर्थीका दिन परापूर्वकालदेखि मनाउँदै आएको सूर्यविनायक गणेश (इनरे गणेद्यो)को लोपोन्मुख जात्रालाई बर्सेनि निरन्तरता दिइने सूर्यविनायक युवा क्लबका अध्यक्ष मनोज गिरीले बताउनुभयो ।    काठमाडौँ उपत्यकाका चार प्रमुख विनायकमध्येको एक सूर्यविनायकलाई स्थानीयले इनरे गणेद्यो भन्दछन् । यो गणेशको मुख्य मूर्तिलाई वर्षको दुईपटक मात्र सार्वजनिक गरी पूजा गर्ने प्रचलन रहेको जात्रा व्यवस्थापन समिति संयोजक विष्णुप्रसाद राजथलाले बताउनुभयो । उहाँका अनुसार गणेश चतुर्थीका दिन जात्राका लागि सार्वजनिक गरिने मूर्तिलाई बिस्का;(बिस्केट) जात्राको अवसरमा वैशाख ३ गते भक्तपुर नगरको तालक्व:मा लैजान र त्यहाँ वैशाख ४ गते हुने द्यो स्वंग: ९सगुन० जात्राका क्रममा पूजा थाप्न सार्वजनिक गर्ने परम्परा रहेको छ ।

  सुदूरपश्चिम ।  ज्येष्ठ नागरिक लालबहादुर ओली घरमा एक्लोपन महसुस हुनथालेपछि धनगढीस्थित श्री जानकीयज्ञ ज्येष्ठ नागरिक दिवासेवा केन्द्रमा पुगेर भजनकीर्तनमा रमाइरहनुहुन्छ । सेवाकेन्द्रमा आयोजना हुने भजनकीर्तन, प्रवचन र देउडा गीतमा रमाउन ९४ वर्षीय उहाँसहितका वृद्धवृद्धा पुग्नुहुन्छ ।    उहाँले भन्नुभयो, “दैनिक दिवासेवा केन्द्रमा पुगेर गीत र भजन सुन्न पाउँदा रमाइलो लाग्छ, आफ्नै उमेरका नागरिकसँग भलाकुसारी पनि गर्न पाइन्छ ।” पचास वर्षअघि श्रीमतीको निधन भएर एक्लोपन महसुस गर्नुभएका उहाँका घरमा छोराबुहारी, नातिनातिना हुनुहुन्छ ।      त्रीयासी वर्षीय भूमिनन्दन जोशी पनि दिउँसोको समयमा दिवासेवा केन्द्रमा पुग्नुहुन्छ । “भजनकीर्तन र देउडा लगायतका गीत सङ्गीतको धुन बज्दा उत्साह र उमङ्ग थपिन्छ”, उहाँले भन्नुभयो, “आफ्नो दिनको सहारा नै यो सेवाकेन्द्र बनेको छ ।” धनगढीकै ८२ वर्षीया चन्द्रा रोस्यारा सेवाकेन्द्रमा भइरहने गतिविधिले मनमा शान्ति हुने गरेको अनुभव सुनाउनुहुन्छ ।    उहाँले भन्नुभयो, “जीवन ठिकै चलेको छ, घरमा पनि सबैले स्याहार र माया गरिरहन्छन् ।” दिवासेवा केन्द्रमा दैनिक कम्तीमा आठ÷दश जना र बढीमा २५ जनासम्म ज्येष्ठ नागरिक पुग्ने गरेको बताइएको छ । हारमुनियम, तबला, खैँजडी, मिजरा, मादलको धुनमा भजनकीर्तन गाउँदा सहभागी ज्येष्ठ नागरिकमा उत्साह र उमङ्ग थपिने गरेको देखिन्छ ।    त्यसक्रममा उहाँहरुले जीवनमा भोगेका सुखदुःखका घटनाका बारेमा आपसमा भलाकुसारी पनि गर्नुुहुन्छ । धनगढी उपमहानगरपालिका–२ को पुरानो भन्सार रोडछेउको श्री रामजानकी मन्दिर परिसरको एक भवनमा सञ्चालनमा रहेको उक्त सेवा केन्द्रले वृद्धवृद्धाका लागि दिउँसोको समयमा भजनकीर्तनसहितको गीतसङ्गीतको व्यवस्थापन गरेर मनोरञ्जन दिँदै आएको हो । भेला हुने ज्येष्ठ नागरिकका लागि खाजा र चियाको व्यवस्था गरिएको हुन्छ ।   सेवा केन्द्रमा व्यवस्थापनको जिम्मेवारीमा रहनुभएकी दुर्गादेवी महराले सेवा केन्द्रले दिइरहेको सेवाबाट ज्येष्ठ नागरिकका अलावा आफूलाई पनि सन्तुष्टि भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “खाजा र चियाको व्यवस्थापसँगै मनोरञ्जन दिने व्यवस्थाले बुढेसकालमा उहाँहरुलाई राम्रै भएको छ ।” घरमा अभाव, असुरक्षा र एक्लोपनमा बाँचिरहेका कतिपय ज्येष्ठ नागरिकले उचित माया र सहारा नपाउँदा वृद्धाश्रममा बस्नुपर्ने बाध्यता देखिन्छ ।    वयस्क उमेरमा जस्तो बुढेसकालमा खानेलाउने र बाँच्ने तरिका पनि फेरबदल आउने गर्दा ज्येष्ठ नागरिकलाई माया र साहारा निरन्तर चाहिन्छ । कतिपय घरपरिवारबाट उचित व्यवहार र माया नपाउँदा जीवनको उत्तरार्धमा वृद्धवृद्धा पीडित हुने गरेका घटना सुनिन्छन् । वृद्धवृद्धालाई दिउँसोको सयम बिताउन पाउने उचित ठाउँको अभाव महसुस हुँदा समाजसेवी रमणचन्द्र श्रेष्ठसहितको पहलमा विसं २०७१ मा श्री जानकी ज्येष्ठ नागरिक दिवासेवा केन्द्र स्थापनाको योजना बनेको थियो ।    “महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट सुरुको अवस्थामा ज्येष्ठ नागरिक शीर्षकमा रु दुई लाख बजेट प्राप्त हुँदा प्रारम्भिक काम सुरु गर्यौ”, केन्द्रका संरक्षकसमेत रहनुभएका श्रेष्ठले भन्नुभयो, “पछि स्थानीय समाजसेवी ईश्वरमान श्रेष्ठ, श्रीमान् श्रेष्ठ, त्रैलोक्यमान श्रेष्ठ र सुवर्णमान श्रेष्ठसहितका सहोदर दाजुभाइले आप्mना स्वर्गीय आमाबुबाको स्मृतिमा यो भवन निर्माणलाई पूर्णता गरिदिनुभयो ।”    दुई तले दिवासेवा केन्द्र भवनको पहिलो तल्लामा भजनकीर्तन र प्रवचनका कार्यक्रम भइरहन्छन् । दोस्रोे तल्लामा धार्मिक पुस्तकालय सञ्चालन गरिएको छ । भवन निर्माणमा प्रदेशसभाका सदस्य डिल्लीराज पन्त र उपमहानगरपालिका कार्यालयबाट पनि सहयोग प्राप्त भएको संरक्षक श्रेष्ठले बताउनुभयो ।     ज्येष्ठ नागरिक सङ्घ कैलालीका पूर्वअध्यक्ष दिव्यप्रसाद पन्तले समाजका पथप्रर्दशक ज्येष्ठ नागरिकलाई आफू एक्लिएको अनुभव र मानसिक चिन्ता महसुस हुन नदिनका लागि दिवासेवा सञ्चालनमा सङ्घले पनि सक्दो सहयोग पुर्याइरहेको बताउनुभयो ।     उहाँले भन्नुभयो, “घरमा छोराबुहारी, नातिनतिना, छाडेर एकान्त ठाउँ ९वृद्धाश्रम०मा बस्नु पर्दा धेरै ज्येष्ठ नागरिकमा मानसिक पीडा र चिन्ता हुनेगरेको स्थलगत अध्ययनका क्रममा देखिएकोले अब यसको विकल्प खोज्नुपर्ने देखिएको छ ।” उक्त केन्द्रले वृद्धवृद्धालाई पटपटक तीर्थाटनमा समेत लैजाने गरेको छ । यसबाहेक बत्ती कात्ने, जनै बनाउने, कामका साथै च्याउ, प्याज, फलफूलका बेर्ना बनाउने तालिमसमेत दिने गरिएको छ ।

  समय र परिस्थितिसँगै हाम्रा चाडबाड, संस्कृति मनाउने तरिकामा केही परिवर्तन हुँदै गएका छन् । घरका आँगन, गाउँका चौतारी, मठमन्दिर, बजारका चोक, खुल्ला चउरमा मौलिक भाकामा घन्कने तीजका भाका अहिले यी ठाउँमा देख्न पाइएन । यस पटकको तीज रमाइलो फेसबुक र टिकटकमा व्यापक छाएको छ ।         संस्कृतिको संरक्षणभन्दा पनि मनोरञ्जनतिर मात्रै तीज रमाइलोको उल्लास छ । विभिन्न पर्यटकीय ठाउँ, मठमन्दिर, पार्क जस्ता क्षेत्रमा पुगेर टिकटक बनाउने, फेसुबकमा फोटो, भिडियो पोष्ट गरेर तीज रमाइलो मनाइरहेका छन् । स्थानीय रमा गौतमले  समयअनुसार आएका नयाँ–नयाँ प्रविधिको उपयोग गर्दै यसपटक तीज टिकटकमा नाचेर मनाइएको बताउनुहुन्छ । विगतका तीजका कार्यक्रममा उहाँ निकै सक्रिय भएर प्रतियोगितात्मक कार्यक्रममा नाचगानमा सहभागी भए पनि अहिले भने तीज पर्व सुरु भएदेखि नै सामाजिक सञ्जालमार्फत आफ्ना प्रस्तुति प्रस्तुत गरिरहनुभएको छ ।         उहाँ भन्नुहुन्छ, “घरमै बसेर नयाँ–नयाँ कपडा लगायो, आफूलाई मन परेको गीत रोजेर टिकटक बनाउने पोष्ट गर्ने, धेरैले यसको प्रयोग गर्नुहुन्छ, यसमै तीजको रमाइलो भइरहेको छ, अन्यत्र कार्यक्रममा जाने झण्झट गरिएन, बाहिर कार्यक्रम हेर्न पहिलाजसो उत्सुकता र रमाइलो लाग्दैन ।” टिकटक बनाउने पोष्ट गर्ने, लाइक, भ्युज, कमेण्टमा बढी ध्यान तानिएको छ । टिकटक, फेसबुकलाई नै बढी समय दिएर आफ्ना प्रतिभा देखाउने जमात युवायुवती, बालबालिकादेखि ज्येष्ठ नागरिकमा पनि उत्तिकै छ । फुर्सदिला व्यक्तिलाई टिकटक, फेसबुक समय भुलाउने माध्यम बनेको र यसबाट लुकेर रहेका प्रतिभा प्रस्फुटन गर्ने अवसर बनेको कला खनाल बताउनुहुन्छ ।        “अरुका सामु नाच्न पटक्कै आउँदैन, यसो नाच्न खोजे पनि लाज र डर लाग्थ्यो, टिकटक आएपछि भने घरभित्रै हल्का नाच्न सिकियो, फुर्सदमा टिकटकमै नाच्न र अभिनय गर्न सिकिरहन्छु”, उहाँ भन्नुहुन्छ । सामाजिक सञ्जाल प्रयोगकर्ता बढेका छन् । सबैका घर घरमा इन्टरनेटको सुविधा पुगेको छ । स्मार्ट फोन प्रयोग गर्ने धेरै छन् । त्यसकारण पनि हाम्रा चाडपर्व विशेष गीतमा टिकटक बनाउने, नाचगान गर्ने, फेसबुकमा पोष्ट गर्नेको जमात छ ।         चाडपर्वका गतिबिधि सामाजिक सञ्जालमा बढी देखिन थालेको छ । कतिपयले टिकटक र फेसबुकमार्फत देखाउनकै लागि पनि भड्किलो तरिकाले पर्व विशेषका गतिविधि देखाउने गर्दा भने विकृति बढेको धेरैको ठम्याइ छ । सही सदुपयोग गर्न जानियो भने सामाजिक सञ्जाल आफूमा लुकेर रहेका प्रतिभा देखाउने अवसर र यसबाट धेरै राम्रा कुराको जानकारी लिन सकिन्छ । तीज विशेष प्रतियोगितात्मक कार्यक्रममा यस पटक खासै उत्साह देखिएन । पहिले पहिले यहाँ आयोजित कार्यक्रममा प्रतियोगिको ठूलो सहभागिता रहेपनि यस पटक न्यून मात्रामा मात्रै थिए । सूचना प्रविधिको विकास र प्रयोगले नाचगान कार्यक्रममा पहिलेजसो रुची छैन ।         अघिल्ला वर्षमा तीज प्रतियोगितात्मक कार्यक्रममा १५ समूहभन्दा बढी प्रतिस्पर्धामा प्रतियोगिको सहभागिता रहने गरेकोमा अहिले ६ समूहले मात्रै कार्यक्रममा सहभागिता जनाएको रजघरा बजार व्यवस्थापन समितिका अध्यक्ष हरि पोखरेलले बताउनुभयो । “यस पटक सहभागीको सङ्ख्या अति नै न्यून भयो, पहिला त धेरै टाढाबाट गीत र नाच तयारी गरेर आउथे, प्रचारप्रसार व्यापक रहेपनि नाच्ने र गाउने समूह घट्दै गयो” उहाँले भन्नुभयो । यसैगरी विजयपुर बजार व्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रममा पनि जम्मा ६ समूहले मात्रै सहभागिता जनाए । प्रथम, द्वितीय, तृतियका लागि ठूलो नगद रकम पुरस्कार रहेता पनि सहभागितामूलक कार्यक्रममा दर्शकले खासै चासो दिएनन् । यहाँ विगतका वर्षमा ठूलो समूहमा कार्यक्रम हुने गरे पनि पछिल्ला वर्षमा तीजमा प्रतियोगितात्मक कार्यक्रममा सहभागी हुने क्रम घट्दो छ ।        घरमै बसेर इन्टरनेटमा सबै कुराको उपयोग गर्ने सुविधा भए पश्चात् घरदेखि बाहिर हुने खुल्ला प्रतिष्पर्धात्मक कार्यक्रममा सहभागी हुन जाने उत्साह नभएको सिर्जनशील युवा क्लवका अध्यक्ष ओमप्रकाश रेग्मी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “महिलाका लागि आयोजना गरिएको कार्यक्रममा महिला सहभागीता नै कम हुन थालेको छ, घरमै बसेर इन्टरनेट प्रयोगकर्ता बढ्दै, प्रत्यक्ष रुपमा घरबाहिर निस्केर खुल्ला प्रतियोगितात्मक कार्यक्रममा सहभागी हुने क्रम घट्दै गयो, पहिलाजसो दुख र बेदनाको तीज अहिले नभएर होला, सबैलाई सुख र सुविधा छ ।”       यस्ता तीज विशेष आयोजना गरिएका प्रतियोगितात्मकमूलक कार्यक्रममा दर्शकको उपस्थिति पनि घट्दै गएको छ । दर्शकको उपस्थितिले भरिभराउन हुने खुल्ला चउर, बजारका चोक पछिल्ला वर्षमा उपस्थिति पातलिँदैछ ।

  कञ्चनपुर । कञ्चनपुरमा केही समययता हात्तीको आक्रमण बढ्दो छ । वर्षेनी जङ्गली हात्तीको आक्रमणबाट मानिसको ज्यान जानुका साथै अन्नबाली र घरखेतमा नोक्सानी पुग्ने गरेको छ । जङ्गल नजिकै मावनबस्ती भएकाले हरेक वर्ष हात्तीको आक्रमणबाट धेरैले ज्यान गुमाउनुपरेको छ ।       सोमबार मात्रै शुक्लाफाँटा नगरपालिका–७ की २२ वर्षीया मीना जोशीको खेतमा काम गरिरहेका बेला हात्तीको आक्रमणबाट मृत्यु भयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तथ्याङ्कअनुसार जङ्गली हात्तीको आक्रमणबाट तीन वर्षको अवधिमा छ जनाले ज्यान गुमाएका छन् ।    निकुञ्ज कार्यालयका अनुसार विसं २०७७ मा दोधारा चाँदनी नगरपालिका–२ स्थित मायापुरी मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका दुई महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । विसं २०७८ मा शुक्लफाँटा–१ वन्साहका एक पुरुष र एक महिलाको हात्तीको आक्रमणबाटै मृत्यु भएको हो । लालझाडी गाउँपालिका चान्देउका एक पुरुषको पनि हात्तीको आक्रमणमा परी मृत्यु भयो ।           यसवर्ष पनि कञ्चनपुरमा हात्तीको आक्रमणबाट एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । गत साता मात्रै बेदकोट नगरपालिका हात्तीथालाकी एक महिला हात्तीको आक्रमणबाट घाइते हुनुभएको छ । हात्तीको आक्रमणबाट मानिस मात्रै होइन किसानको अन्नबाली र घरमा क्षति हुने गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै भारतसँग जोडिएको दुधुवा नेशनल पार्कबाट आउने हात्तीले यहाँ क्षति गर्ने गरेको निकुञ्ज कार्यालयले जनाएको छ ।        निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले हात्तीको बासस्थान साँघुरिदै गएपछि हात्तीको आक्रमण बढ्न थालेको बताउनुभयो । “दुई तीन वर्षयता हात्तीको आक्रमण बढेको छ”, उहाँले भन्नुभयो, “पहिला सिजनमा आउने हात्ती छोटो समयमा फर्किन्थ्यो अहिले दुई÷तीन महिनासम्म यहाँ बस्ने गरेको पाइन्छ ।” हात्ती प्रायः एउटै ठाउँमा नबस्ने र घुमफिर गरिरहने भएकाले हात्ती हिँड्ने बाटोमा पनि आक्रमण हुने गरेको छ ।    “हात्ती एउटै स्थानमा बस्दैन एकै रातमा पाँच÷सात किलोमिटर हिँड्छ”, उहाँले भन्नुभयो, “हाम्रो यहाँ वनजङ्गल कम छ हात्ती भारतको दुधुवा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जसम्म पुग्छन त्यो बीचमा धेरै बस्ती छन् ।”        उहाँका अनुसार हात्ती हिँड्ने बाटोमा बस्ती भएका कारणले पनि मानिसमाथि हात्तीको आक्रमण बढेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मौसमी रुपमा ५०÷६० को बथान भारतीय दुधुवा नेसनल पार्कबाट आउने गरेका छन । यी हात्तीको वथान कहिले नेपाल कहिले भारततर्फ आउजाउ गरिरहेको हुन्छन् । “बच्चाको साथमा आएको हात्तीले आक्रमण गर्दैन”, सहायक संरक्षण अधिकृत ऐरले भन्नुभयो, “पाँच÷छ भाले अधबैसे हात्ती बथानबाट एक्लिएका छन् उनीहरुले बथान खोज्दै हिँड्छन्, ती हात्ती नडराउने र छिटो आक्रमण गरिहाल्ने हुन्छन् ।”    उहाँका अनुसार ती अधबैसे हात्ती अहिले स्थायी रुपमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बस्न थालेपछि बस्तीमा आक्रमण हुन थालेको हो । कञ्चनपुरमा मध्यवर्ती क्षेत्रमा शिविर धेरै छन् विशेषगरी हात्ती हिँड्ने बाटोमा बस्ती विस्तार भएका कारण हात्तीले अन्नबाली र घरमा क्षति पुर्याउने गरेको छ । 

  लेखनाथ । सात तालको बाटिका सहर लेखनाथ, लेखनाथ सात तालले परिचित छ । यहाँका ताल संरक्षणमा पछिल्ला वर्ष सरकारी निकायबाट कुनै चासो दिइएको छैन । पोखरा–२६ लेखनाथमा रहेको गुँदेताल संरक्षणको अभावमै छ । एक वर्षअघि स्थानीयवासी ताल संरक्षणमा जुटे पनि रकम अभावकै कारण पूर्णरूपमा संरक्षण हुनसकेको छैन । सरकारको तर्फबाट संरक्षणमा काम अगाडि बढाइएको छैन । कास्कीमा रहेका नौवटा तालमध्ये खास्टे, न्यूरेनी र गुँदेताल पोखरा–२६ मा पर्छन् ।   गुँदे वातावरण संरक्षण तथा मत्स्य सहकारीका अध्यक्ष ठाकुरप्रसाद ढुङ्गानाले सरकारी तहबाट चासो नदिँदा ताल संरक्षण हुन नसकेको गुनासो गर्नुभयो । अग्रज पुर्खाले बस्नका लागि गुन्द्री बुन्न प्रयोगमा आउने गुँद पाइने भएकाले परापूर्वकालदेखि नै उक्त तालको नाम गुँदे रहँदै आएको स्थानीय सुमन भट्टराईले जानकारी दिनुभयो ।   तालवरपर घाँसेमैदान भएकाले यसलाई चराहरूको बासस्थानका रूपमा विकास गराउन उपयुक्त छ । तर पोखरा महानगरले चराको बासस्थानका रूपमा विकास गर्न कुनै चासो देखाउँदैन । अब सरकारको मुख ताक्नुभन्दा स्थानीयवासी नै ताल संरक्षणमा जुट्न थालेका स्थानीय बताउँछन् ।   गुँदेताल वातावरण तथा मत्स्य सहकारी र गुँदेताल संरक्षण समिति तालको संरक्षणमा जुटेका छन् । ताल संरक्षणअन्तर्गत पहिलो चरणमा तालले ओगटेको जग्गाको सीमाङ्कन गर्ने काम भएको छ । साथै वरपर फुटट्रयाक निर्माण गर्ने कार्य सकिएको छ भने तालमा माछाका भुरा छाड्ने कार्य पनि केही वर्षदेखि सुरु गरिएको छ ।   विश्व सम्पदामा रामसार सूचीमा सूचीकृत गुँदेतालको संरक्षण र विकासमा स्थानीय नै जुटेपछि  वन कार्यालय  र हरियो वन कार्यक्रमले समेत केही मात्रामा सहयोग प्रदान गर्न सुरु गरेको गुँदेताल संरक्षण समितिका अध्यक्ष ढुङ्गानाले बताउनुभयो ।     वातावरणीय प्रभाव र मानवीय अतिक्रमणका कारण सागुरिँदै गएको यो तालको क्षेत्रफल १२.३८ हेक्टर रहे पनि जलक्षेत्र भने न्यून मात्रामा रहेको छ । जसको गहिराइ औसतमा दुई मिटर र सीमसारको भाग धेरै रहेकाले यो तालमा प्रशस्त कमल देख्न पाइन्छ ।    हेमन्त ऋतु अर्थात् जाडो मौसममा हिमाली भेगका चराचुरिङ्गी जाडो छल्न र गर्मीमा तराई क्षेत्रका चरा गर्मी छल्न गुँदेतालमा आउने गरेकै गुँदेताललाई बर्डवाचिङ सेन्टर अर्थात् चरा हेर्ने ठाउँका रूपमा विकास गर्न सकिने जानकारी स्थानीय गणेश अधिकारीले दिनुभयो ।    संरक्षण र आयआर्जनका रूपमा तालको विकास गर्ने उद्देश्यले केही वर्षदेखि स्थानीय सरोकारवाला सङ्गठितरूपमा ताल संरक्षणमा जुटेका र त्यो सदस्य सङ्ख्या एक सय ४५ पुगेका छन् । समितिमा रहेका सदस्य ताल संरक्षणका साथै माछा भुरा र चराको हेरचाहमा सक्रिय रहने छन्, ताल संरक्षणका नाममा पछिल्लो समय तालको जलाधार क्षेत्रभित्रै माटोले पुरेर ट्रयाक खोल्ने कामले यो ताल पनि मानवीय अतिक्रमणको चपेटामा परेको देखिन्छ । यसका लागि स्थानीय मौन बस्ने र सरकारी निकायबाट बेलैमा ध्यान नदिने हो भने तालको अस्थित्व नै लोप हुने र पछिका पुस्ताले यहाँ ताल थियो रे भन्ने इतिहास सुन्न नपरोस् ।    पछिल्लो सयम यहाँको रुपाताल र फेवातालमा बजेट विनियोजन गरिए पनि अन्य तालहरू संरक्षणको पर्खाइमा छन् । पोखरा नगर क्षेत्रमा मात्र फेवा, वेगनास, रुपा, कमल, गुँदे, न्यूरेनी, खास्टे, दिपाङ, मैदी गरी नौ वटा ताल छन् भने सहरी क्षेत्र बाहिर दुई सिक्लेसमा कफूचे र माछापुच्छ«े गाउँपालिकामा पिपर ताल छन् । तत्कालीन लेखनाथ नगरपालिकाले विसं २०५४ मा सात तालको बाटिका सहरका रूपमा विकास गर्ने योजना ल्याइएको भए पनि संरक्षणका लागि कार्य अगाडि नबढाएको स्थानीय सूर्यप्रसाद बरालले जानकारी दिनुभयो ।