पोखरा:   बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ ।  तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...

  कञ्चनपुर​:   पछिल्लो समय कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सङ्कटापन्न कृष्णसारको बासस्थान बन्दै गएको छ ।       बासस्थानको सम्भावना राम्रो देखिएपछि पहिलो पटक शुक्लाफाँटामा २०६९ साल भदौमा नेपालगञ्ज तथा ललितपुरको सदर चिडियाखाना र २०७२ वैशाखमा बर्दियाको खैरापुरबाट यहाँ कृष्णसार स्थानान्तरण गरिएको हो । पहिलो चरणमा २८ र दोस्रो चरणमा १४ कृष्णसार स्थानान्तरण गरिएका थिए ।        निकुञ्जको पूर्वी क्षेत्रको सुरक्षार्थ तैनाथ नेपाली सेनाको अर्जुनी पोष्ट पश्चिम उत्तर र राजमार्गदेखि करिब चार किलोमिटर उत्तरमा रहेको हिरापुरफाँटामा कृष्णसारका लागि ताल र ‘सेड हाउस’ (छहारी) निर्माण गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिनुभयो । अहिले शुक्लाफाँटामा दुईसय एक कृष्णसार रहेका छन् ।        “सङ्ख्या ह्वात्तै बढ्नुले शुक्लाफाँटा कृष्णसारका लागि राम्रो बासस्थान हो भन्ने प्रष्ट हुन्छ”, प्रमुख संरक्षण अधिकृत मेहताले भन्नुभयो, “यहाँ तोकिएको क्षेत्रफल कृष्णसारका लागि अपुग भयो, सङ्ख्या बढ्दा स्थानान्तरण गर्ने कि संरक्षण क्षेत्र बढाउने अन्योल छ, यसबारे विभागले निर्णय गर्छ ।”     कृष्णसारको व्यवस्थापनका लागि विभागले ‘रिलिज प्लान’बारे स्वीकृति गर्नुपर्ने मेहता बताउनुहुन्छ । अहिले ५८ दशमलव आठ हेक्टरमा कृष्णसारको बासस्थानका लागि तारबार गरिएको छ । यसअघि सुरुआतमा कृष्णसारका लागि १७ हेक्टर क्षेत्र छुट्टयाइएको थियो । “कृष्णसारको सङ्ख्या बर्सेनि बढ्दै जाँदा ठाउँ अपुग हुन थालेको छ, यसबारे विभागसँग परामर्श भइरहेको छ”, प्रमुख संरक्षण अधिकृत मेहताले भन्नुभयो ।       विश्वमै थोरै सङ्ख्यामा रहेका सङ्कटापन्न कृष्णसारका लागि यहाँको बासस्थान उपयुक्त देखिएको निकुञ्जले जनाएको छ । कृष्णसारको बासस्थानसँगै पर्यटकको सहज आवागमनका निम्ति हिरापुर फाँटासम्म सडक ग्राभेल गरिएको छ । त्यहाँ कृष्णसार हेर्न मचानसमेत निर्माण गरिएका छन् । उक्त क्षेत्रमा कर्मचारी निवास निर्माणका साथै सोलारसमेत जडान गरिएको छ ।     देशभर कृष्णसारको सङ्ख्या कम भएकाले तीनलाई जोगाउनका लागि यहाँ स्थानान्तरण गरिएको मेहता बताउनुहुन्छ । “अन्यत्र कृष्णसार रोगव्याधि वा अन्य कुनै कारणले सङ्कटमा परे पनि यहाँ सुरक्षित रहने अभिप्रायले  स्थानान्तरण गरिएको हो”, उहाँले भन्नुभयो । राष्ट्रिय प्रकृति संरक्षण कोषको आर्थिक र प्राविधिक सहयोगमा कृष्णसार स्थानान्तरण गरिएको हो । करिब चार वर्षको अध्ययन अनुसन्धानपछि शुक्लाफाँटामा कृष्णसार स्थानान्तरण गरिएको हो ।     राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत संरक्षित वन्यजन्तुमा सूचीकृत कृष्णसार नेपालमा सबैभन्दा बढी बर्दियाको खैरापुरमा छन् । कृष्णसार यसअघि नेपालगञ्ज, ललितपुरको सदर चिडियाखान र बर्दियाको खैरापुरसँगै काठमाडौँको मृगस्थलीमा मात्रै रहेका थिए । घाँस चर्न र खुला ठाउँमा बस्न रुचाउने भाले कृष्णसार कालो र पोथी खैरो रङको हुन्छ । यसले मृग प्रजाति झैँ छ/छ महिनामा बच्चा जन्माउने गर्छ । वयस्क नभएसम्म भाले र पोथीको रङ खैरो नै हुन्छ ।      विश्वमै सबैभन्दा धेरै बाह्रसिङ्गाको झुण्ड पाइने शुक्लाफाँटामा ३६ पाटेबाघ, १७ गैँडा तथा चार सयभन्दा बढी प्रजातिका चराचुरुङ्गी रहेका छन् । तीनसय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटामा ५५ वर्गकिलोमिटर क्षेत्रफलमा घाँसे मैदान छ । उक्त घाँसे मैदान मुलुककै संरक्षित क्षेत्रमध्येकै ठूलो हो ।

  बागलुङ:   बागलुङ नगरपालिकाले पहिलोपटक पाँच प्रकारका सेवा लिएर गाउँमा पुगेको छ । योजना सम्झौता, स्वास्थ्य शिविर, अपाङ्गता परिचयपत्र, वित्तीय साक्षरता र माटो परीक्षण सेवा लिएर बागलुङ नगरपालिका गाउँमा पुगेको हो । सम्झौता बागलुङ नगरपालिकाले चालु आर्थिक वर्ष सुरु भएसँगै वडामै पुगेर आम नागरिकलाई सेवा दिने उद्देश्यले वडा तहमै सेवा प्रवाह घुम्ती शिविर सञ्चालन गर्न थालेको छ ।  नगरपालिकाले शनिबार रायडाँडा घुम्ती सेवा शिविर सञ्चालन सुरु गरेको छ ।    आगामी भदौ २४ गतेभित्र नगरभित्रका १० वडामा घुम्ती शिविर सम्पन्न हुनेछ । विषेशगरी सदरमुकामभन्दा बाहिर ग्रामीण क्षेत्रमा रहेका वडाहरूका उपभोक्ता र आम नागरिकको समस्यालाई मध्यनजर गरी आइतबारदेखि घुम्ती शिविरको आयोजना गरिएको नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।   शिविरमा वडामा सञ्चालन हुने योजना सम्झौता गर्ने भएको छ । आम उपभोक्ताको सहजताका लागि नगरपालिकाको कार्यालयबाट विनियोजन भएका नगरस्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाबाटै गर्न लागिएको उहाँको भनाइ छ । नगरपालिकाले विषेशगरी ग्रामीण क्षेत्रमा रहेका वडा नं ५, देखि वडा नं १४ सम्मका आम उपभोक्तालाई लक्षित गरी घुम्ती शिविर सञ्चालन गर्ने जनाएको छ ।    शिविरमा योजना सम्झौतका साथमा स्वास्थ्य सेवा शिविर, माटो परीक्षण, अपाङ्गता परिचयपत्र वितरण अनुशिक्षण तथा सचेतना कार्यक्रम वित्तीय साक्षरता, बालमैत्री नगरपालिका पूर्वाधार कृषक सचेतना तथा प्राविधिक सल्लाहलगायतका कार्यक्रम पनि गाउँमै पुगेर दिन थालिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।    “भूगोलको हिसाबले नगर क्षेत्रभित्र केही टाढा रहेका वडासमेत छन्, उनीहरु नगरमा योजना सम्झौता तथा अन्य सेवा लिनका लागि असहज भएको हामीले महसुस गरेका थियौँ”, उहाँले भन्नुभयो, “अब नागरिक नगरपालिकामा होइन, नगरपालिका नागरिककामा पुग्नुपर्छ भन्ने हाम्रो अभियान हो ।”   आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रमअनुरुप सबै योजना कार्यान्वयन गर्नका लागि शिविरले ठूलो भूमिका पु¥याउने विश्वास लिएको भन्दै नगर उपप्रमुख राज खड्काले ८० प्रतिशत योजना वडामै सम्झौता गर्ने जनाउनुभयो ।    आम उपभोक्ताको समस्यालाई मध्यनगर गरी हरेक वडामा सेवा प्रवाह गर्ने उद्देश्यले घुम्ती शिविरमाफर्त योजना सम्झौतालगायतका काम अगाडि बढाइएको छ । शिविरमा सेवा प्रदान गर्नका लागि नेपाली सेनालागायतका विभिन्न कार्यालय र सङ्घसंस्थाले सहयोग गरेका छन् । शिविरमा झण्डै ८० प्रतिशत योजना तथा कार्यक्रम सम्झौता गर्ने लक्ष्य रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिनुभयो । आगामी मङ्सिर मसान्तभित्र सबै योजना सम्झौता गरी काम अगाडि बढाउने गरी नगरपालिकाले योजना बनाएको छ । शिविरमा योजना सम्झौतापश्चात उपभोक्ता समितिको खाता पनि त्यही खोल्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।    वडाभित्रका टोल अर्थात् साविकको वडामा टोल समिति बनाएर सोही टोल समितिमार्फत योजनाका काम अगाडि बढाइने सापकोटाले बताउनुभयो । टोल विकास समितिले रु पाँच लाखसम्मको योजनाको काम गर्न पाउनेछन् । काम सम्पन्न भएर सबै वडा तहमै अनुगमन भएपश्चता नगरपालिकाले भुक्तानी दिने छ ।    नगरपालिकाले यस वर्षदेखि रु १० लाखसम्मको योजना वडा तहबाटै अनुगमन गर्न मिल्ने बनाएको नगर उपप्रमुख खड्काले जानकारी दिनुभयो । प्रत्येक वडामा प्राविधिक खटाएर रु १० लाखसम्मका योजना वडाध्यक्ष र वडासचिवसहितको टोलीले अनुगमन गरी सिफारिस गरेको आधारमा नगरपालिकाले भुक्तानी दिने उहाँको भनाइ छ ।   यस्तै नगरपालिकाले महिलाको नेतृत्व गरेको उपभोक्ता समिति वा टोला विकास संस्थामार्फत योजनाको कार्यान्वय गर्दा १० प्रतिशत मात्र लागत सहभागिता गराउने भएको छ भने पुरुषले नेतृत्व गरेको समितिमा १५ प्रतिशत नै लागत सहभागिता गराउने भएको छ । त्यस्तै उपभोक्ता समिति र टोल विकास संस्थाले आफूले जिम्मा लिएको काम ठेक्का लगाउन नहुने आफैँले गर्नुपर्ने बनाएको छ ।

पाेखरा: लागुऔषधलगायतको कूलतमा फँसेकाहरुलाई पुनःस्थापना र उपचारमा कार्यरत रिचमण्ड फेलोशिपले आज प्रशिक्षणको आयोजना गरेको छ ।      फेलोशिपमा नयाँ जीवन पाउन प्रयासरत करिब ५ दर्जन सदस्यलाई वडा प्रहरी कार्यालय रामबजारका वरिष्ठ नायब निरीक्षक प्रेम जिटीले विभिन्न कानूनी पक्षबारे जानकारी दिए ।      प्रशिक्षणकादौरान जिटीले कतिपय अवस्थामा लागुऔषधसम्बन्धित प्रावधानबारे थाहा नहुँदा कतिपय अनाहकमा फँस्ने गरेको उल्लेख गरे । एकदिने प्रशिक्षणकाक्रममा उनले लागुऔषधको प्रयोग, भण्डारण, बेचबिखनबाट आउन सक्ने कानूनी झमेला, कारवाहीबारे सचेत गराए ।    सोहीक्रममा उनले भने, ‘तपाई कुलतमा फँस्दा तपाईको परिवार र सिंगौ समाजनै बदनाम हुन्छ, कुलत छाड्नुहोस्, जीवन सुन्दर छ ।’ रिचमण्डले गरेको सुधारका कार्यक्रमबाट प्रहरीसमेत उत्साहित भएको भन्दै उनले आगामी दिनमा स्वस्थ समाज निर्माणमा प्रहरी सदैव हातेमालो गर्न तयार रहेको जिटीले बताए ।    प्रशिक्षण समापनमा फेलोशिपका परामर्शदाता प्रदीप बस्नेतले हालसम्म ८ सय बढीलाई उपचारपछि घर फर्काएको जानकारी दिए ।   ‘कूलतमा कोही पनि नफसुन्’ परामर्शदाता बस्नेत भन्छन् ‘फँसिहाले पनि अभिभावकले तुरुन्त हामीसँग सम्पर्क गराउनुहोस्, हामी नयाँ जीवन दिन तल्लीन छौं ।’ 

  पाल्पा:   तानसेनको भुल्के खानेपानीमा सोलार प्यानल जडान गरिएको छ । विद्युतीय विलिङ घटाउन चार नम्बर पम्पमा १५ किलोवाट क्षमताको सोलार प्यानल जडान गरिएको हो ।प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले तानसेनभित्र ल्याउने खानेपानीको बिलिङ अत्यधिक भएकाले यसलाई कमी गराउनका लागि सोलार प्यानल जडान गरिएको बताउनुभयो । खानेपानी सहज गराउनका लागि संरचना दिगो बनाउने र बिलिङ घटाउने विषयलाई प्राथमिकता दिइने उहाँको भनाइ थियो । तानसेन खानेपानी उपभोक्ता समितिका कोषाध्यक्ष भीमसेन कार्कीले भुल्केमा हुने विद्युत् गडबढी र कालीगण्डकीको योजना सञ्चालन हुन ढिलाइ हुँदा पनि खानेपानीको अभाव भएको बताउनुभयो ।    तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले नागरिकलाई खानेपानी सहज ढङ्गले वितरण गर्ने व्यववस्था मिलाउन तानसेन खानेपानी उपभोक्ता समिति सक्रिय हुनुपर्नेमा जोड दिनुुभयो । नागरिकले सहजरुपमा खानेपानी नपाउने अवस्था अन्त्य गर्नाका साथै विद्युत्को बिल घटाउन पनि वैकल्पिक ऊर्जाले सहयोग पुग्ने उहाँले जानकारी दिनुभयो । प्रदेशका मन्त्री रानाका साथै नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम, बेलायती राजदूतावासका प्रतिनिधिसहितको टोलीले खनेपानीको निरीक्षण गरी सोलार प्यानलको थप सम्भाव्यताबारे छलफल गरेको थियो ।   नेपाली कांग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, ९नेकपा माओवादी० केन्द्रका जिल्ला संयोजक राजेन्द्र विक, नेकपा एकिकृत समाजवादीका प्रतिनिधि तथा पूर्व सांसद यादवबहादुर रायमाझीलगायतले पानीको समस्याबारे आ–आफ्नो धारणा व्यक्त गर्नुभयो ।जिल्लाको भैरवस्थान, बतासेडाँडा क्याम्पस, चापपानी, बराङ्दी र खानीगाउँ क्षेत्रमासमेत सोलार राख्ने विषयमा अध्ययन भइरहेको छ । यसैगरी बतासेडाँडामा सोलारबाट १०९ किलोवाट बिजुली निकाल्नका लागि अध्ययन भइसकेको बताइएको छ । 

  काठमाडौं:   प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा नगर प्रहरी कार्यालय र कर्णाली प्रदेश लागुऔषध ब्यूरोबाट खटिएको प्रहरीले शनिबार वीरेन्द्रनगर नगरपालिका–९ घिमिरेडाँडाबाट उनीहरुलाई पक्राउ गरेको हो ।   पक्राउ पर्नेमा वीरेन्द्रनगर–६ का ३१ वर्षीय भीमबहादुर रोकाया, २५ वर्षीय जीवनकली थापा र वीरेन्द्रनगर–९ का १८ वर्षीय मनिषा घिमिरे रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । साथै उनीहरुको साथबाट तीन सय ८० मिलीग्राम अवैध ब्राउनसुगर बरामद गरिएको छ ।  यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  पाल्पा:   पहाडी जिल्ला पाल्पामा उद्योग तथा व्यवसायमा लगानी गर्ने क्रम पछिल्ला वर्षमा बढिरहेका छन् । जिल्लाका विभिन्न स्थानमा उद्योग तथा व्यवसाय विस्तार हुँदै गएको छ । गाउँमै बसेर आयआर्जनका निम्ति विभिन्न उद्योग सञ्चालन गर्ने युवाको अहिले होडबाजी नै छ ।   पाल्पा पहाडी जिल्ला भएपनि सदरमुकाम तानसेनमा मात्र नभई पछिल्ला वर्षमा गाउँ–गाउँमा उद्योग खुल्ने क्रम बढिरहेको छ । जिल्लामा हिजोआज उद्योग व्यवसाय फस्टाउनुका साथै बर्सेनी लगानी बढाउने उद्यमीको आकर्षण उत्तिकै छ ।   वैदेशिक रोजगारबाट फर्केका युवाले आफूले कमाएको धन गाउँमै विभिन्न उद्योग, व्यापार, व्यवसायमा लगानी गर्न थालेका छन् । करिब एक दशक जापानमा वैदेशिक रोजगारको अनुभव बटुल्नुभएका रामपुरका युवा कैलाश डोटेलले बेझाड बजारमा रबिन जनरल स्टोर्स तथा क्यारोल सप्लायर्स सञ्चालन गर्नुभएको छ । लामो समयसम्म विदेशको अनुभव सँगाल्नुभएका डोटेलले गाउँमै बसेर व्यवसाय गर्ने र अन्य युवामा पनि प्रोत्साहन मिलोस् भन्ने मनसाय बोकेर व्यवसाय सुरु गरेको बताउनुहुन्छ ।   “विदेशमा अर्काको अधिनमा बस्नुपर्छ, सोचेअनुसार काम सबैलाई मिल्दैन, केहीले राम्रै कमाइ पनि गरेकै छन् भने केही रित्तो हात फर्कनुपरेको छ, परिवारको साथमा गाउँमै बसेर व्यवसाय गर्दा धेरै आनन्द छ, व्यापार राम्रै चलेको छ”, उहाँले भन्नुभयो ।   रामपुरकै अर्का युवा सुदीप गैरेले बेझाड बजारमै पूजा सामग्री पसल सुरु गर्नुभएको छ । उद्योग तथा व्यवसाय फस्टाउँदै गरेको रामपुर बजारमा भोलिको राम्रो सम्भावना देखेर परिवारको सहयोगमा व्यवसाय सञ्चालन गरेको उहाँ बताउनुहुन्छ ।   आर्थिक वर्ष २०७८/७९ मा उत्पादनमूलक ५३, ऊर्जामूलक ५०, कृषि तथा वनजन्य तीन सय २६, पर्यटन ६१, सेवामूलक ८१, निर्माणतर्फ छ गरी जम्मा पाँच सय २१ उद्योग नयाँ दर्ता भएका छन् । यी उद्योगमा रु एक अर्ब ६५ लाखको पूँजी लगानी र रु १८ लाख ८२ हजार तीन सय २० कुल राजस्व प्राप्त भएको छ ।   त्यसैगरी वाणिज्यतर्फ तीन सय ७१ फार्म दर्ता भएका छन् । यी फर्ममा रु ५८ करोड ७८ लाख ५० हजार कुल पूँजी लगानी र रु ३३ लाख ७६ हजार दुई सय ७९ कुल राजस्व प्राप्त भएको छ । गत आवमा तीन सय ८५ उद्योग नवीकरण, एक सय ८८ लगतकट्टा, दुई सय ३१ पूँजी वृद्धि, २९ प्रतिलिपि लिएको, सातवटा उद्देश्य थप वा परिवर्तन, पाँचवटा नामसारी तथा ठाउँसारी गरिएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्यम विकास सहजकर्ता मनोज घिमिरेले जानकारी दिनुभयो ।    उहाँका अनुसार पछिल्लो क्रममा प्रदेश सरकारले जारी गरेको कानुनबमोजिम रु पाँच लाखभन्दा कम पूँजी लगानी भएका उद्योग तथा वाणिज्य फर्म स्थानीय तहबाट नियमन गर्ने व्यवस्था भएकाले यस कार्यालयमा लगतकट्टा गर्ने सङ्ख्या वृद्धि भएको हो ।   “पाल्पा जिल्लामा उद्योग तथा वाणिज्य फर्म स्थापना गरी व्यवसाय गर्नेको आकर्षण बढ्दो छ, यहाँ उद्योग तथा वाणिज्य फर्म विस्तार हुँदै जाँदा धेरैले रोजगार गर्ने राम्रो अवसर पाएका छन्”, उहाँले भन्नुभयो । आव २०७७/७८ मा छ सय १९ उद्योग र तीन सय ८३ वाणिज्य फर्म दर्ता भएको पाइएको छ । दर्ता भएका उद्योगमध्ये अधिकांश निजी उद्योग छन् भने केही साझेदारी र प्रालि छन् । उत्पादनमूलक ५१, कृषि तथा वनजन्य चार सय २८, पर्यटन र सेवामूलक ७०/७० वटा दर्ता भएको पाइएको छ ।   महिलाका नाममा उद्योग दर्ता हुने क्रम बढ्दो छ । दर्ता भएका उद्योगमध्ये २०७८/७९ मा तीन सय ४२ र २०७७/७८ मा दुई सय ९८ छन् । प्रदेश सरकारबाट प्राइभेट फर्म ऐन २०७६ र साझेदारी ऐन २०७६ ले महिला, दलित, अपाङ्गता भएका नागरिकलाई उद्योगमा ५० प्रतिशत रकम छुट दिएकाले उद्योगी बर्सेनी बढ्दै गएका हुन् । सधैँ अर्काको परनिर्भरतामा रहेका यहाँका महिला हिजोआज घरेलु उद्योग सञ्चालन गरेर आत्मनिर्भरतातर्फ उन्मुख हुँदै गएका छन् ।   वाणिज्यतर्फ दर्ता भएका फर्ममा अधिकांश किराना पसल रहेको पाइएको छ । आव २०७७/७८ मा दर्ता भएका उद्योगमा रु एक अर्ब २१ करोड ४३ लाख लगानी भएको छ भने वाणिज्य फार्मको रु ५४ करोड ८१ लाख लगानी परेको छ । यसैगरी कार्यालयमा आव २०७७/७८ मा उद्योग चार सय ६० र वाणिज्य छ सय ६१ गरी जम्मा एक हजार एक सय २१ फर्म नवीकरण गरिएको छ । यहाँ एक सय दुई उद्योग र एक सय ४३ वाणिज्य फर्म गरी जम्मा दुई सय ४५ लागतकट्टा भएका छन् । पूँजी वृद्धि, कारोबार परिवर्तन, नामसारी, ठाउँसारीलगायतका एक हजार एक सय एक काम भएका छन् ।   आव २०७६/७७ मा जिल्लामा चार सय सात नयाँ उद्योग थपिएका छन् । जसमा लघुउद्यम नौ, घरेलु उद्यम तीन र साना उद्यम तीन सय ९५ दर्ता भएका छन् । तीमध्ये उत्पादनमूलक ४२, कृषि तथा वनजन्यमूलक एक सय ५५, पर्यटनमूलक एक सय ४८, सेवामूलक ६२ उद्योग दर्ता भएका छन् । महिलाका नाममा एक सय ८१ र पुरुषको नाममा दुई सय ४३ उद्योग दर्ता भएको पाइएको छ ।   आव २०७५/७६ मा उत्पादनमूलक ५२, कृषि तथा वनजन्यमूलक एक सय ११, पर्यटनमूलक ९७ र सेवामूलक एक सय १० गरी जम्मा तीन सय ७० उद्योग थपिएका थिए । यहाँ दर्ता भएका उद्योगमा साझेदारीका उद्योगमा रु ५० लाख, प्रालितर्फका रु एक करोड र कृषि उद्योग रु १५ लाखदेखि २० लाखसम्मका दर्ता भएको पाइएको छ ।   पाल्पामा कार्यालय स्थापनादेखि हालसम्म उत्पादनमूलक छ सय ११, कृषि तथा वनजन्य एक हजार तीन सय चार, पर्यटनमूलक आठ सय ४३, सेवातर्फ एक हजार ६९ गरी जम्मा तीन हजार आठ सय २७ उद्योग तथा व्यवसाय दर्ता भई सञ्चालनमा छन् ।    कार्यालयले लघु, घरेलु तथा साना उद्योगमात्र दर्ता गर्न पाउने अधिकार रहेको छ । रु १० करोडसम्म पूँजी भएका उद्योगलाई साना उद्योग, रु १० करोडदेखि २५ करोडसम्म पूँजी भएका उद्योगलाई मझौला उद्योग र रु २५ करोडदेखि माथिकालाई ठूला उद्योगका रूपमा वर्गीकरण गरिएको छ । रु १० करोडमाथिका उद्योग विभागमा पुगेर दर्ता गर्नुपर्ने प्रावधान छ ।   साना लगानी गरेरै भए पनि उद्यमी बन्नेको जिल्लामा आकर्षण छ । उद्योग दर्ता गरेपछि पाँच वर्षसम्म नवीकरण गर्नु नपर्ने र त्यसपछि दुई–दुई वर्षको अवधिमा नवीकरण गर्ने गरिन्थ्यो भने हाल तीन–तीन वर्षमा उद्योग दर्ता गर्ने व्यवस्था छ ।

  रूकुम पूर्व:  रूकुम पूर्वमामा जीप दुर्घटना हुदाँ जिल्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सहित चारजना घाइते भएका छन्।  जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका वडा नं.११ सेरो मोडमा बिहान  ११ बज  लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खसेको हो ।    जीप दुर्घटना हुँदा प्रहरीका डिएसपी प्रकाश डाँगीसहित चार जना घाइते भएका हुन्।    घाइतेहरुको अहिले हेलिकप्टर मार्फत उद्दार गरिसकिएको छ । 

  बाँके:  आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाँकेमा छ हजार बढी नयाँ मतदाता थपिने भएका छन् ।गत असार १ देखि साउनको १९ गतेसम्म निर्वाचन कार्यालय बाँकेमा छ हजार आठ सय १७ जनाले फारम भरेका छन् । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा बाँकेबाट तीन लाख २९ हजार चार सय ७३ जनाको मतदाता नामवली आयोगले सार्वजनिक गरेको थियो ।   मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि बाँकेमा छ हजार आठ सय १७ जनाले मतदाता नामावलीका लागि आवेदन दिएको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार गत असार १ गतेदेखि नयाँ मतदाता नामावली आवेदन दिनेका लागि फारम भर्न खुला गरिएको थियो । असारमा चार हजार चार सय ४३ र साउनको १९ गतेसम्म दुई हजार तीन सय ७४ ले मतदाता नामावलीका लागि आवेदन दिएका थिए ।    बाँकेमा इलाका प्रशासन कार्यालय कोहलपुर, जिल्ला निर्वाचन कार्यालय नेपालगञ्ज र जिल्ला प्रशासन कार्यालयमा मतदाता नामावली आवेदन सङ्कलन गरिएको थियो । प्राप्त भएका आवेदनलाई सङ्कलन गरेर केन्द्रमा पठाउने तयारी भइरहेको निर्वाचन कार्यालयका सूचना अधिकारी युवराज पन्तले बताउनुभयो ।    आवेदन दिएका सबैले अहिलेनै मतदाता नामावली पाउने निश्चित हुँदैन। कतिपयले १६ वर्षमा नागरिकता पाउनेबित्तिकै मतदाता नामावलीको फारम भरेका हुन्छन् । उनीहरूले १८ वर्ष पुगेपछि मात्र मतदान गर्ने अधिकार प्राप्त गर्ने गर्दछन् ।   जिल्ला प्रशासन कार्यालयमा निर्वाचन कार्यालयले राखेको मतदाता नामावली सङ्कलन केन्द्रमा नयाँ नागरिकता बनाउन आएका अधिकांशले आवेदन दिने गरेका थिए । निवेदन दिएकाको आवश्यक विवरण परीक्षण गरेर केन्द्रले मतदाता नामावलीको अन्तिम टुङ्गो लगाउने निर्वाचन कार्यालयका सूचना अधिकारी पन्तले बताउनुभयो ।

काभ्रेपलाञ्चोक । पनौती नगरपालिकाले आँखामा लाग्ने मोतीबिन्दु रोग लागेका स्थानीयको उपचार निःशुल्क गरिदिने भएको छ । नगरले यसका लागि बनेपास्थित रेयूकाई एईको मासुनागा आँखा अस्पतालसँग सम्झौता गरेको छ ।   निःशुल्क आँखा उपचारार्थ नगरप्रमुख रामशरण भण्डारी र अस्पतालका महासचिव हिरामणि शर्माबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा आवश्यकतानुसार वडामा मासिक आँखा उपचार शिविर सञ्चालन गर्ने, स्थानीयको उपचार निःशुल्क गर्ने तथा नगरभित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम दिइने उल्लेख छ ।   नगरप्रमुख भण्डारीले सम्झौताले स्थानीयको सो रोगको गुणस्तरीय उपचार पाउनेमा विश्वस्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब नगरवासीले सो रोगको निःशुल्क सहज परीक्षण र उपचार पाउनुहुनेछ ।”   अस्पतालको सहयोगमा गत वर्ष पनौतीका ९० जनाको सो रोगको निःशुल्क शल्यक्रिया गरिएको थियो । नगरसँगको सम्झौताले सो रोग न्यूनीकरण अभियानमा थप हौसला मिलेको अस्पतालले जनाएको छ ।   अस्पतालले यसअघि आँखामा लाग्ने मोतीबिन्दु रोगीको निःशुल्क उपचार गर्न काभ्रेपलाञ्चोकको बनेपा नपा, नमोबुद्ध नपा र बेथानचोक गाउँपालिकासँग सम्झौता गरिसकेको छ । यस्तै सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, धनुषाको मिथिला नपा, छिरेश्वर नपा र कमला नपासँग पनि अस्पतालले सम्झौता गरेको जनाइएको छ ।   अस्पतालकै सहयोगमा दुई साताअघि पनौती–५ मा आँखा शिविरको आयोजना गरी चारसयको आँखा परीक्षण गरेमध्ये सो रोग लागेको देखिएका करिब एक दर्जन वृद्धवृद्धाको निःशुल्क शल्यक्रिया गरिएको थियो । वडा कार्यालयले ती वृद्धवृद्धाको बनेपास्थित उक्त अस्पतालमा उपचारार्थ आवतजावतका लागि यातायात व्यवस्था गरेको थियो ।   आँखा विशेषज्ञका अनुसार मोतीबिन्दु रोग मधुमेह तथा हाइपरटेन्सनजस्ता रोग, बढ्दो उमेर, जलबिन्दु, पोषण तत्वको कमी, चिनी रोग, जन्मजातरूपमा वा आँखाको अन्य समस्याका लागि गरिएको शल्यक्रिया, वंशाणुगत, शिशु जन्मनुभन्दा अगाडि आमाको पेटमा भएको इन्फेक्सन, चोटपटक, घामको विकीरण, आँखाको पानीको खराबी तथा धूमपानका कारण लाग्ने गर्दछ ।