बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन पर्यटकीय हिसाबले पनि निकै चर्चित ठाउँ हो । यहाँ आन्तरिकसँगै बाह्य पर्यटकको समेत आगमन हुने गर्छ । विदेशी पर्यटक वर्षको दुई पटक यहाँ आउने गर्छन् भने आन्तरिक पर्यटक बाह्रै महिना पुग्ने गर्छन् । विदेशी पर्यटक असोजदेखि मङ्सिर र फगुनदेखि वैशाखका बीचमा सिकार खेल्नका लागि मात्रै आउने गर्छन् भने आन्तरिक पर्यटक हिउँदमा हिउँ खेल्न र बर्खामा गर्मी छल्न ढोरपाटन पुग्छन् । ढोरपाटन जति चर्चित छ, त्यति पर्यटक भने पुग्न सकेका छैनन् । त्यसको मुख्य कारण हो सडक । राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडक खुलेको एकदशक बढी भइसक्दा पनि स्तरोन्नति हुन सकेको छैन । ढोरपाटनको प्रवेशद्वारका रुपमा रहेको बुर्तिबाङ बजारसम्म सडक राम्रो छ । जब ढोरपाटन जानका लागि बुर्तिबाङ बजार पार गरिन्छ, तब सडकको दुरावस्था सुरु हुन्छ । सडकका कारण आन्तरिक पर्यटक पनि अपेक्षितरुपमा ढोरपाटन पुग्न सकेका छैनन् । ढोरपाटन पुगेर फर्किने पर्यटकले पनि निकै दुःख पाउने गरेको गुनासो गरेका छन् । चितवनदेखि ढोरपाटन घुम्न पुगेका रमेश बस्यालले अप्ठ्यारो सडकका कारण दुःख पाउनुपरेको बताउनुभयो । बस्यालले ढोरपाटनको नाम धेरैपटक सुनेको र घुम्न आएको भन्दै अप्ठ्यारो सडकका कारण गाडी बिग्रिँदा बाटोमा अलपत्र पर्नुपरेको सुनाउनुभयो । “ढोरपाटनको नाम जति चर्चित छ, त्यति सुन्दर पनि रैछ, तर त्यहाँसम्म पुग्ने सडक निकै खराब रैछ, बाइकमा जाने त सम्भावना नै रहेन छ, गाडीमा पनि निकै मुस्किल हुँदोरहेछ, धेरै पटक नाम सुनेको र सामाजिक सञ्जालमा फोटो देखेर घुम्न आएको निकै दुःख पाइयो”, बस्यालले भन्नुभयो, “जाने बेलामा बाटोमा गाडी बिग्रियो, रातिका बेला निकै समस्या पर्यो, झण्डै अलपत्र परियो, तीन दिन बिदा लिएर आएको गाडी बिग्रिँदा एक दिन ढिला भयो, सडक निकै जोखिमपूर्ण रहेछ ।” सालझण्डी ढोरपाटन सडकलाई पर्यटकीय सडकका रुपमा पनि लिइन्छ । सडकका कारण स्थानीयलाई पनि सास्ती भएको छ । ढोरपाटन नगरपालिका वडा नम्बर ९ का खिमबहादुर सुनारले सडकका कारण टाढाटाढाबाट आउने पर्यटकले दुःख पाएको बताउनुभयो । सडकमा ट्र्याक्टरबाहेक अरु हिँड्न नसक्ने भन्दै गाडी लिएर आउने पर्यटक बाटोमा समस्यामा पर्ने गरेको उहाँ बताउनुहुन्छ । “यो बाटो खुलेको धेरै वर्ष भयो अहिले पनि यस्तो अवस्थामा छ, अझ दुई वर्ष अगाडि आएको बाढीले धेरै ठाउँमा निकै अप्ठ्यारो बनाएको छ, यस्तो सडकमा ढोरपाटन जाने पर्यटक आउँछन्”, सुनारले भन्नुभयो, “सडकको हालत निकै खराब छ, ट्र्याक्टर पनि राम्रोसँग हिँड्न सक्दैन, यस्तो सडकमा पर्यटकले राम्रोराम्रो गाडी लिएर आउनुहुन्छ, गाडी कहिले हिलोमा फस्छ, कहिले खाल्डोमा अड्किन्छ, त्यसले गर्दा पर्यटक निरास भएर फर्किनुहुन्छ, बाटो राम्रो हुन्थ्यो भने कति धेरै पर्यटक आउँदा हुन् ?, अहिले यस्तो बाटो छ र पनि पर्यटक आइराख्छन् ।” ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण) ले सडक खुलेको दशक बढी हुँदा पनि कालोपत्र नहुँदा अपेक्षाअनुसार ढोरपाटनमा पर्यटक भित्र्याउन नसकेको बताउनुभयो । उहाँले सालझण्डी–ढोरपाटन सडकको नाम दिए पनि काम भने अर्घाखाँचीसम्म मात्रै हुँदा अपेक्षितरुपमा ढोरपाटन भित्र्याउन नसकेको उहाँको दाबी छ । “ढोरपाटन पर्यटकीय हिसाबले देशकै उत्कृष्ट गन्तव्य हो, तर यहाँसम्म पुग्ने सडकको अवस्था निकै जोखिमपूर्ण छ, सडकको नाम ढोरपाटनसँग जोडियो काम भने अर्घाखाँचीतिर मात्रै भयो”, उपप्रमुख कायतले भन्नुभयो, “बुर्तिबाङदेखि ढोरपाटनसम्मको सडक राम्रो हुन्थ्यो भने वर्षमा हजारौँ पर्यटक ढोरपाटन पु¥याउन सकिन्थ्यो, सडकको यस्तो अवस्था हुँदा निकै समस्या भयो ।” कायतले सडकका कारण ढोरपाटन क्षेत्र पछाडि परेको बताउनुभयो । उहाँले विकासको मुख्य आधार सडक भएको भन्दै सडकको दुरावस्था हुँदा ढोरपाटन क्षेत्र पिछडिनुपरेको उहाँको भनाइ छ । उपप्रमुख कायत भन्नुहुन्छ, “ढोरपाटनले पर्यटनका हिसासबले निकै सम्भावना बोकेको छ, तर सडकले गर्दा यो क्षेत्र नै पछाडि प¥यो, वर्षौंदेखि सडकको यो अवस्था छ, एउटै सडकको पनि दक्षिण काम हुने यस क्षेत्रमा काम नहुँदा हामी पछाडि पर्नुपरेको छ ।” कायतले ढोरपाटन आउने पर्यटक सडकको दुरावस्थाका कारण बुर्तिबाङ बजारदेखि नै फर्किने गरेको बताउनुभयो । उहाँले ढोरपाटन नामले विश्वमा चिनिए पनि कामले भने निकै पछाडि परेको बताउनुहुन्छ । “ढोरपाटन जानका लागि धेरै पर्यटक आउनुहुन्छ, सडकको अवस्था देखेर कोही बुर्तिबाङ बजारदेखि नै फर्किएर अन्तै जानुहुन्छ भने कोही सहीखोला, दोगाडी र बोबाङसम्म पुगेर फर्किनुहुन्छ, सडकको अवस्था नफेरिएसम्म पर्यटकलाई ढोरपाटन पुर्याउन समस्या छ, ढोरपाटन नामले विश्वमा चिनियो तर कामका हिसाबले निकै पछाडि प¥यो”, उपप्रमुख कायतले भन्नुभयो । कायतले सडकको काम तत्काल सुरु गर्न सालझण्डी–ढोरपाटन आयोजनालाई आग्रह गरेको र अहिले टेण्डर आह्वान भइसकेको बताउनुभयो । बुर्तिबाङ मध्यपहाडी लोकमार्गले जोडिएको पनि ढोरपाटन जोडिएको छैन । बागलुङ सदरमुकाम हुँदै बुर्तिबाङ जोडिएको लोकमार्ग निसीखोला हुँदै रुकुम जोडिएको छ । ढोरपाटन पुग्न सालझण्डी–ढोरपाटन सकडमार्फत जानुपर्छ । यो सडक अर्घाखाँची हुँदै आएको छ । अर्घाखाँची क्षेत्रमा सडक स्तरोन्नति भइसके पनि बागलुङ खण्डमा हुन सकेको छैन । ढोरपाटन बुर्तिबाङदेखि ३२ किलोमिटरको दूरीमा रहेको छ । यहाँसम्म पुग्नै पुरै कच्ची सडकमा यात्रा गर्नुपर्छ ।
पोखरा । पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा युवा व्यवसायी देवेन्द्र केसी विजयी भएका छन् । पवन प्रजापती प्यानलका प्रतिस्पर्धी हिरामणि पण्डितलाई फराकिलो मतान्तरले पछाडि पार्दै केसी विजयी भएका हुन् । देवेन्द्र केसीको पक्षमा १७९१ मत प्राप्त हुँदा हिरामणि पण्डितले ७२० मत प्राप्त गरेका छन् । भने ३० वटा भोट बदर भएको थियो । केसीले यस अगाडि २ कार्यकालसम्म संघमा कार्यसमिति सदस्य भएर काम गरिसकेका छन् । केसीले कुटी ग्रुप अन्तर्गत पर्यटन लगायतका क्षेत्रमा लगानी गर्दै आइरहेका छन् । कुटी रिसोर्ट, होटल कुटी, कुटी एग्रो, लेविज मिनिरल वाटर उद्योग, कुटी बैंक्युट, सुपर मेट्रो टुर्स एण्ड ट्राभल, सोनिया अटोमार्ट, सल्यान भदौरे किराना स्टोर्स, बलेनी क्याफे, कुटी अपार्टमेन्ट एण्ड रियलस्टेट कम्पनी लगायतमा केसीको लगानी छ । युवा व्यवसायी एवं नेपाली काँग्रेसका युवा नेतासमेत रहेका देवेन्द्र केसी प्रदेश सभा सदस्यका लागि सिफारिससमेत भएका छन् । कास्कीको क्षेत्र नं. ३ ‘ख’ बाट पार्टीले केसीलाई प्रदेश सभा सदस्यका लागि सिफारिस गरेको हो ।
बागलुङ । लगातारको वर्षात्का कारण आएको बाढीले बागलुङको गलकोट क्षेत्रमा किसानको खेतबारी बगाएर बगर बनाएको छ । खेतबारी बगाउँदा किसानको करोडौँको बालीनाली नष्ट भएको छ । गत असारमा आएको बाढीबाट पशुचौपाया बगाए क्षति पुर्याएको थियो । त्यसको एक सातामा आएको बाढी पहिराले दुई सय रोपनी बढी जमिन बगर बनाएको स्थानीय पीडितले गुनासो गरे । बाढीपछिको पहिरोले किसानको घरगोठ बगाउँदा पशु चौपायाकोसमेत क्षति भएको छ । मध्यपहाडी लोकमार्गमा व्यवस्थित नाली नभएकाले सडकमै बगेको पानीले बाढीको रुप लिएको गलकोट नगरपालिका–२ का अध्यक्ष हिमबहादुर भण्डारीले बताउनुभयो । उक्त बाढीले सडक र खेतीमा व्यापक क्षति पुगेको हो । दर्जनौँ स्थानमा खसेका पहिरोले किसानको धानबाली नष्ट भएको छ । नरेठाँटीस्थित धैँसेमारे भन्ने स्थानमा मध्यपहाडी लोकमार्गबाट खसेको पहिरो र नालीको बाढीले दुई सय रोपनी जमिन बगर बनाएको हो । गत असारमा रोपेको धान सबै नष्ट भएको र तत्काल मर्मत गर्न नसकिने गरी खेत सबै बगर बनाएको किसानले गुनासो गरे । काठेखोला गाउँपालिका–५ को बिहुँदेखि गलकोट नगरतर्फको सबै सडकमा बग्ने पानीले बाढीको रुप लिँदा सडकका विभिन्न स्थानमा ठूलठूला पहिरो पनि खसेका छन् । नाली व्यवस्थापन नगरेकै कारण वडा नंं १ को झाँक्रीस्थान, काफलढुटा र रगेनीलगायतका स्थानमा घुम्ती नै खसेका छन् । मध्यपहाडी लोकमार्गले गत वर्ष नै रु ५० करोड बढी रकम विनियोजन गरेर नाली र घुम्ती व्यवस्थापन गर्ने काम ढिला गरिँदा सडक छियाँछियाँ भएको हो । समयमा धान रोप्न नपाए पनि जसोतसो रोपेको धानखेती सबै बगाएको स्थानीय यामबहादुर भण्डारीले गुनासो गर्नुभयो । “खेत बगाएको मात्र छैन, बगर बनेको छ”, उहाँले भन्नुभयो, “वर्षातभर दुःख गरेर रोपियो अहिले सबै नष्ट भयो ।” जोखिममा परेका घरपरिवारलाई सुरक्षित स्थानमा सारेर राखिएको वडाध्यक्ष भण्डारीले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा सवारीसाधन सञ्चालनमा आउन नसकेको र पैदलयात्रासमेत कठिन रहेको स्थानीय विष्णु विश्वकर्मले बताउनुभयो । वर्षात्कै कारण मध्यपहाडी लोकमार्गको बागलुङदेखि हटियासम्मको ४५ किमी सडक छियाछिया भएको छ । वर्षात्कै कारण कालोपत्र तयारी भएको दुई सय ५० मिटर सडक बग्दा गत वर्षको झण्डै रु दुई करोड लगानी खेर गएको वडा नंं ४ का अध्यक्ष बलबहादुर खत्रीले बताउनुभयो । केही समयअघिको वर्षात्ले भत्केको तोरी खोलादेखि ठाना जाने सडक, तथा घामपानी जाने सडकसमेत अझै बन्न सकेको छैन । ती सडकमा सवारी चल्न नसक्दा स्थानीय दैनिक उपभोग्य सामान बोकेरै लैजान बाध्य छन् । बाढीपीडितको राहतका लागि नगरपालिकाले सामान्य राहत दिने योजना बनाएको नगरप्रमुख भरत शर्मा गैरेले बताउनुभयो ।
रुकुमपूर्व । रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाका एक किशोर बेपत्ता भएका छन् । वडा नं १२ गर्खानीका १६ वर्षीय किशोर विज्ञान पुन एक हप्ता यता बेपत्ता भएको पारिवारिक स्रोतले बताएको छ । मानसिक सन्तुलन ठिक नभएका विज्ञान एक हप्तायता सम्पर्कविहीन भएको विज्ञानका बुवा जगत्प्रसाद पुनले बताउनुभयो । परिवारका अन्य सदस्य काममा गएका बेला किशोर घरबाटै हराएको र प्रहरीको सहयोगमा खोजीनीति गर्दा पनि अहिलेसम्म फोला पार्न नसकिएको किशोरका बुवाले बताउनुभयो । पहिले राम्रै ती किशोरको विगत एक वर्षयता मानसिक सन्तुलन ठिक नभएको परिवारले बताएको छ । ती किशोरलाई आसपासका गाउँमा खोज्दा पनि नभेटेपछि परिवारले सबैलाई खोजीदिन आग्रह गरेका छन् । परिवारले किशोरलाई आसपासमा कसैले भेटे प्रहरी चौकीमा र परिवारको नमोबाइल नं ९८४११०३८६८ र ९८६६९६६४२० मा सम्पर्क गर्न आग्रह गरेका छन् ।
सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–११ का आशिष श्रेष्ठ एक उदाउँदा फुटबल खेलाडी हुन् । विसं २०६५ तिर मेलम्ची र इन्द्रावती बगरमा टोलका साथीसँग खेल्दै फुटबलयात्रा सुरु गरेका उनी अहिले खुमलटार युथ क्लबमा आबद्ध भएर ए डिभिजन खेल्ने तयारीमा छन् । उनी आबद्ध खुमलटार यस वर्ष ‘ए’ डिभिजनमा उक्लेको हो । इच्छाशक्ति भयो भने असम्भव भन्ने केही हुन्न भन्ने ज्वलन्त उदाहरण हुन् आशिष । न कुनै खेलकुद मैदान, न कतैको लगानी, न फुटबलको पूर्वाधार, न कोही प्रशिक्षक । जिल्लामा त्यतिबेला भइहाले पनि फाट्टफुट्ट भलिबल हुने गर्दर्थे । तर उनीले आफ्नो फुटबलप्रतिको लगावलाई निरन्तरता दिइरहे । त्यसैले उनी आज सफलतालाई पछ्याउँदै फुटबलमा भविष्य खोजिरहेका छन् । मेलम्चीमा एउटा स्थानीय क्लबबाट फुटबल यात्रामा लागेका उनीले जिल्लाका विभिन्न प्रतियोगितामा सामेल हुँदै जिल्ला, क्षेत्र, प्रदेश हुँदै अहिले खुमलटार क्लबमा अनुबन्धन भएका छन् । भर्खरै ‘ए’ डिभिजनमा बढुवा भएको खुमलटारबाट ‘ए’ डिभिजन प्रतियोगिताका लागि मैदान उत्रने तयारीमा रहेको उनीले बताए । सिन्धुपाल्चोक जिल्ला काठमाडौसँग जोडिएको जिल्ला भए पनि हरेक दृष्टिकोणले पछाडि परेको जिल्ला हो । सोनाम ल्होछारको अवसरमा इन्द्रावती गाउँपालिकामा भएको क्षेत्रस्तरको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै खेलको उत्कृष्ट खेलाडी सम्मान प्राप्त गरेका उनीले त्यही खेलको उत्कृष्ट प्रदर्शनले मनाङ–मस्र्याङ्दी क्लबमा अनुबन्धन हुने अवसर पाए । भूकम्प र कोरोनालगायत आफ्ना विभिन्न समस्याका कारण फुटबलबाट निस्क्रिय रहेका आशिषले अहिले भने खेलको लय समात्न पाएका छन् । मनाङ–मस्र्याङ्दी हुँदै एपिएफ क्लबमा समेत अनुभव बटुलिसकेका उनीले एन्फाको ‘सी’ डिभिजनको खेलमा कोटेश्वरको च्याम्पियन्स ब्वाइजबाट पहिलोपटक ‘सी’ डिभिजनका लागि मैदान उत्रिएका थिए । विसं २०७६ मा श्री भगवती क्लबबाट ‘बी’ डिभिजनका लागि मैदान उत्रने मौका दिएको आशिषलाई लकडाउनका कारण खेलमा निरन्तरता दिन केही समस्या भएको थियो । सोही समयतिर बागमती लिगमा जिल्लाबाट सहभागी भएर आफ्नो क्षमता प्रदर्शन गरेका उनीले जिल्लाले तृतीय स्थान हासिल गरे पनि उनी भने प्रदेशको उत्कृष्ट डिफेन्डरका रूपमा सम्मानित भएका थिए । विसं २०७८ मा भएको एन्फा लिगमा खुमलटारबाट मैदान उत्रेका आशिषले १३ वटा प्रतिस्पर्धामा १२ मा खेल्ने अवसर पाउँदा म्यान अफ द म्याचको दुईवटा अवार्ड प्राप्त गरेका थिए । उनी क्यापटेन हुन् । “खेल भनेको आफ्नै मेहेनतले खेल्ने कुरा हो । चुनौती भनेकै अरुलाई हराएर आफ्नो पक्षमा नतिजा हासिल गर्नु हो । म त्यही चुनौतीको सामना गर्दै खेलिरेहको छु”, उनीले भने । हरेक क्षेत्रमा चुनौती रहेको सुनाउँदै आशिषले खेलप्रतिको अनवरत यात्रालाई निरन्तरता दिँदै आगामी दिनमा अझै उत्कृष्ट प्रदर्शन गर्ने बताए । जिल्लामा खेलकुदका गतिविधि निकै न्यून हुने गरेको बताउँदै आशिषले धेरै इच्छाशक्ति भएर पनि पूर्वाधार आवश्यक स्रोत र साधन नहुँदा जिल्लामा कतिपय खेलाडीले आफ्नो प्रतिभा, क्षमता प्रदर्शन गर्न नपाएको बताए । स्कुल तहबाटै विद्यार्थीलाई खेलक्षेत्रमा आकर्षित गर्न सके देशले धेरै राम्रा खेलाडी उत्पादन गर्नसक्ने उनीको बुझाइ छ । खेल क्षेत्रमा सुधार गर्नुपर्ने कुरा धेरै रहेको जनाउँदै उनीले खेलाडीलाई हौसलासँगसँगै पारिश्रमिकका कुरामा पनि राज्यले हेर्नुपर्ने बताए । खेलका लागि पर्याप्त पूर्वाधारको निर्माण गर्न नसक्नु र आवश्यक स्रोत, साधन जुटाउन नसक्नुले पनि हाम्रो खेलजगत्मा अपेक्षित सुधार हुन नसकेको स्वीकार्दै पूर्वाधारको विकास गर्न सक्नुपर्ने तर दोष सबै पूर्वाधार र स्रोतलाई मात्र दिएर पन्छिन सकिने अवस्था भने नरहेको उनीको भनाइ छ । उनीले भने, “स्रोत र लगानी मात्रले फुटबलको विकास गर्न सकिने भए धेरै स्रोत र लगानी गर्न अन्य क्लब, विदेशी मुलुक विश्व फुटबलमा किन पछाडि परेको रु स्रोत र लगानीले मात्र फुटबलको विकास हुन्छ भन्ने हाम्रो मान्यता पूर्णरूपमा गलत छ । स्रोत र लगानीको प्रभावकारी प्रयोग अनि स्पष्ट रोडम्यापमा आधारित कार्यान्वयनले भने हामीले आफ्नो सपना हुर्काउन सक्छौँ ।” स्थानीय तहले साथ दिए खेलाडी र खेलमा सहयोग हुने उनीको भनाइ छ । विद्यालयमा सिक्ने मौका पनि भए राम्रो हुने उनीको भनाइ छ ।
बागलुङ । निसीखोला गाउँपालिकाको थापागाउँमा झण्डै सय रोपनी जग्गामा किबी र ओखरखेती लगाइएको छ । उक्त स्थानमा दुई वर्षअघि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत जग्गा चक्लाबन्दी कार्यक्रममार्फत ती खती लगाइएको थियो । यस्तै बानपा–१२ स्थित सहेलाको फाँटमा चासो कृषक समूहको झण्डै दुई सय रोपनी जग्गामा कागतीका बिरुवा हुर्कँदै गरेका छन् । सोही समूहलाई समेत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत चक्लाबन्दी कार्यक्रममा समावेश गरिएको थियो । बाँझो जग्गालाई एउटै ‘पलट’ बनाउने, जग्गाकोे खण्डीकरण मिलाउने र एकल बाली लगाउने कामलाई चक्लाबन्दीका रूपमा लिने गरिन्छ । बाँझो जग्गामा एकीकृत खेती गर्नका लागि गलकोट नगरपालिकाको एक सहकारीले निलुवा लेकमा जग्गा चक्लाबन्दी गरेर खेती थालेको छ । जिल्लामा विस्तारै जग्गा चक्लाबन्दी गरेर व्यावसायिक खेती प्रणालीमा लैजान थालिएको छ । बसाइँसराइले क्रमशः गाउँका जग्गा बाँझो पल्टिने, जग्गाको खण्डीकरणका कारण यान्त्रिकरण गर्न नसकिने तथा एकल बालीका लागि उपयुक्त जग्गाको अभावका कारण चक्लाबन्दीको योजना आएको हो । नगदे बालीको उत्पादन बढाउने, यान्त्रिकरणको माध्यमबाट उत्पादन लागत घटाउने र खेर गएको जग्गालाई सदुपयोग गर्नका लागि जग्गा चक्लाबन्दीको योजना अघि सारेको सो परियोजनाले जनाएको छ । परियोजनाका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा पाँच स्थानमा करिब पाँच सय रोपनीभन्दा बढी जग्गा चक्लाबन्दी गरेकामा चालु आवमा चक्लाबन्दी योजनाका लागि पुनः पाँच योजनाका लागि रु ५० लाख बजेट विनियोजन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना बागलुङका वरिष्ठ कृषि अधिकृत सुजित पौडेलले बताउनुभयो । उहाँका अनुसार चक्लाबन्दी कार्यक्रममा समावेश हुनका लागि फार्मको साठी रोपनी र समूहको एक सय रोपनी जग्गाभन्दा माथि हुन आवश्यक छ । “पछिल्लो सयम कृषिमा यान्त्रिकरण भइरहेको छ, पहाडमा साना–साना खण्डकीरणका जग्गा छन् भने केहीले जग्गालाई बाँझो बनाएर छाडेका छन्”, उहाँले भन्नुभयो, “दुई वर्ष पहिला परियोजनाले पाँचवटा चक्लाबन्दीको योजना सफल भएको छ, यो वर्ष पुनः पाँच स्थानको जग्गा चक्लाबन्दी गर्ने गरी योजना माग गरेका छौँ, चक्लाबन्दीले नगदे बाली बढाएको छ भने सम्भावित बाँझो जग्गालाई घटाएको छ, बाँझो जग्गा भाडामा लिएरसमेत जग्गा चक्लाबन्दी गर्न सकिने भएकाले जग्गाको उपयोगिता चक्लाबन्दीसँगै दोब्बरले बढेर जान्छ ।” परियोजनाका अनुसार दुदीलाभाटी, ढोरपाटनमा समेत चक्लाबन्दी गरेको जग्गामा नगदे तरकारी तथा फलफूल बाली लगाइएको बताउनुभयो । चक्लाबन्दी जग्गामा अन्नबालीबाहेक जुनसुकै खेती गर्न सकिन्छ । चक्लाबन्दी जग्गामा सजिलै यन्त्र उपकरण लैजान सकिने, पानीको निकास हुने, पहिरो नजाने तथा उत्पादनमा समेत वृद्धि हुने र उत्पादन लागत घट्ने भएकाले जग्गा चक्लाबन्दीमा किसानको आकर्षण बढेको छ । चक्लाबन्दी भन्दैमा डोजर लगाएर जग्गा सम्याउनेमात्रै नभएर जग्गाको खण्डीकरण मिलाउने र अन्नबाहेकको एकल बाली लगाउनेलाई समेत चक्लाबन्दीका रूपमा लिदै आएको वरिष्ठ कृषि अधिकृत पौडेलको भनाइ छ । पौडेलका अनुसार चालु आवमा प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनामार्फत ४० विभिन्न कृषि योजनामा रु पाँच करोड बजेट विनियोजन भएको छ । छपन्न जनाको बाँझो जग्गा भाडामा लिएर गलकोटको सयपत्री बहुउद्देश्यीय सहकारीले एक सय २४ रोपनी जग्गा चक्लाबन्दी गरेर परीक्षण खेती थालेको छ । प्रतिरोपनी वार्षिक दुई हजार भाडा तिर्ने गरी जग्गा चक्लाबन्दी गरेर खेती गर्न थालिएको सहकारीका अध्यक्ष चिन्तामणि शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष गण्डकी प्रदेश सरकारको रु २६ लाख र सहकारीको रु चार लाख लागतमा एक सय २४ रोपनी जग्गा चक्लाबन्दी गरिएको हो । “किसान घटाउने उत्पादन बढाउने हाम्रो योजना हो, परीक्षणका लागि केही खेती गरेका छौँ, गत वर्ष चक्लाबन्दी गरेको जग्गामा यस वर्ष जमिन दबेर खाल्डाखुल्डी परेको छ, पुनः जग्गा व्यवस्थित गरेर नगदेबाली लगाउनेछौँ”, उहाँले भन्नुभयो, “अहिले लसुन तथा सिमी लगाइएको उक्त स्थानलाई यस वर्ष पुनः व्यवस्थित गरेपछि खेती थालिनेछ ।”
गण्डकी । हिमालपारीको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा पितृ उद्धारको कामना गर्दै दर्शनार्थी पुग्न थालेपछि यहाँको चहलपहल बढेको छ । विशेषतः प्रत्येक वर्ष सोह्र श्राद्धका समयमा देशका विभिन्न स्थानका साथै भारतबाट समेत पितृ उद्धार हुने विश्वासका साथ यहाँ दर्शनार्थी आउने गर्दछन् । मुस्ताङ पुगेका दर्शनार्थी कागबेनीमा श्राद्ध गरी मुक्तिनाथको दर्शन गरेमा पितृ मोक्ष हुने र भावी सन्ततिलाई सुख, समृद्धि हासिल हुने विश्वास रहिआएको मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । प्रत्येक वर्ष सोह्र श्राद्धका समयमा देशका विभिन्न स्थानबाट दर्शनार्थी मुक्तिनाथ आउने गरेको उहाँले बताउनुभयो । “यस वर्ष सोह्र श्राद्धको पहिलो दिन आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ”, उहाँले भन्नुभयो, “पितृले मोक्ष प्राप्त गरी भावी सन्ततिलाई सुख, शान्ति र समृद्धि हुने विश्वासले टाढाटाढाबाट मन्दिरमा दर्शनार्थी आउने गर्दछन् ।” मन्दिर आएका दर्शनार्थीले यहाँका एक सय आठ धारामा स्नान गरी पूजाआजा गर्दछन् । एक सय आठ धाराको पानीलाई बोत्तलमा भरेर घरघरमा तीर्थ जलका रुपमा लैजाने प्रचलन छ । प्रकृति र संस्कृतिको अनुपम गन्तव्य मुक्तिनाथ धार्मिक दृष्टिका साथै पर्यटकीयरुपमा पनि उत्तिकै महत्वपूर्ण छ । अघिल्ला दुई वर्ष कोरोना कहरले यहाँको धार्मिक पर्यटन प्रभावित भए पनि यस वर्ष भने पर्यटकको आगमन राम्रो हुने विश्वास लिइएको मुक्तिनाथको मुख्य प्रवेशद्वार रानीपौवामा होटेल ग्रान्ड साम्बाला सञ्चालन गर्दै आउनुभएका पर्यटन व्यवसायी सुरज गुरुङले बताउनुभयो । मुक्तिनाथ क्षेत्रमा अक्टोबरदेखि नै विदेशी पर्यटकको चहलपहल हुने गरेको बताउँदै उहाँले सोह्र श्राद्धको समयमा विशेषगरी आन्तरिक पर्यटकको आगमन अत्यधिक हुने गरेको जानकारी दिनुभयो । पछिल्ला वर्षमा चिसोको समयमा समेत दर्शन र अवलोकनका लागि पर्यटक पुग्ने गरेका छन् । कोरोना कहरअघिका वर्षमा देखिएको पर्यटकको बढ्दो चापलाई लक्षित गरी मुक्तिनाथको प्रवेशद्वार रानीपौवा र आसपासका क्षेत्रमा पर्यटक लक्षित पूर्वाधारका साथै सुविधा सम्पन्न होटल बन्नेक्रम बढिरहेको गुरुङले जानकारी दिनुभयो । चार दशकअघिसम्म मुक्तिनाथको दर्शन गर्न जाने तीर्थालु आसपासका भेडी, गोठ तथा रानीपौवास्थित धर्मशालामा बस्नुपर्दथ्यो । ठाउँठाउँबाट आएका तीर्थयात्रीले त्यहाँको रानीपौवा धर्मशाला खचाखच भरिन्थ्यो । त्यस समयमा खानेकुराका साथै ओढ्ने ओछ्याउने सामग्री पनि आफैँ घरबाट लिएर जानुपर्ने बाध्यता थियो । पछिल्ला वर्षमा बन्दै गएका सुविधासम्पन्न होटेलले उक्त बाध्यताको अन्त्य गरिदिएको छ । यहाँस्थित रानीपौवा यहाँको ऐतिहासिकताको ज्वलन्त उदाहरण पनि हो । तत्कालीन समयमा रणबहादुर शाहकी रानी सुवर्णप्रभा विसं १८६३ मा मुक्तिनाथ दर्शनका लागि पुग्नुभएछ । रानी सुवर्णप्रभासँग मुक्तिनाथका स्वामी महाराजले दर्शनार्थीलाई तीर्थयात्राका क्रममा बास बस्न समस्या परेको अनुरोध गर्नुभएको छ । सोही अनुरोधकै आधारमा सुवर्णप्रभाले मुक्तिनाथ मन्दिर प्रवेशको मुख्यद्वार यही रानीपौवामा धर्मशाला निर्माण गर्नुभयो । स्थानीयवासीका अनुसार तत्कालीन समयमा यहाँ धर्मशाला निर्माण गर्दा कुष्मा अर्मादीका काठ प्रयोग गरिएको हो । रानीले बनाइदिएको धर्मशाला भएकाले तत्कालीन समयदेखि नै यो ठाउँको नाम रानीपौवा रहन गएको हो । तत्कालीन समयदेखि नै यो धर्मशाला मुक्तिनाथमा आउने तीर्थयात्रीलाई खान तथा बास बस्न सहज भएको स्थानीयवासी बताउँछन् । धर्मशाला निर्माणसँगै फूल, प्रसाद एवं आवश्यक अन्य समान बेच्नेक्रम सुरु भएको रानीपौवामा अहिले भने झण्डै २५ वटा सुविधा सम्पन्न होटेल रहेको र अन्य बन्ने क्रममा रहेको पर्यटन व्यवसायी सुरज गुरुङको भनाइ छ । करिब २०३२÷३३ सालसम्म यो ठाउँ सामान्य लेक रहेकामा अहिले बजारका रुपमा परिणत भइसकेको छ । रानीपौवामा धर्मशाला नबन्दासम्म मुक्तिनाथ आएका दर्शनार्थी त्यहाँबाट केही तल पुराङ गाउँमा बस्नुपर्दथ्यो । चार वर्ष वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथको भ्रमणसँगै भारतीय धार्मिक पर्यटक आउने क्रमले गति लिएको यस स्थानको पर्यटन कोरोना कहरका कारण त्यस यताका दुई वर्षयता प्रभावित भयो । पर्यटकलाई लक्षित गरी निर्मित यहाँका होटलका कोठाबाटै देख्न र अनुभव दिन सकिने हिमाल एवं मनोरम भूवनोटले जो कोहीलाई लोभ्याउँछ । पर्यटकको रोजाइअनुसारका राष्ट्रिय, अन्तर्राष्ट्रियदेखि स्थानीय खानाका परिकार यही पाइन्छ । सडकको पहुँच र यातायातको सुविधा भएपछि पछिल्लो दशकयता मुक्तिनाथमा धार्मिक पर्यटकको आगमन बढिरहेको यहाँका व्यवसायी बताउँछन् । पोखराबाट हवाइ उडान र सडक यातायात दुवैबाट मुक्तिनाथ पुग्न सकिन्छ । पर्यटकको सुविधालाई लक्षितगरी विभिन्न सुविधासम्पन्न यातायातका साधन सञ्चालन भइरहेको यात्री बस प्रालि पोखराका सञ्चालक बोबरजङ्ग गुरुङले बताउनुभयो । “पर्यटकका लागि मुक्तिनाथ जान सुविधासम्पन्न बसका साथै जीपको व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो, “सोह्र श्राद्धका साथै अन्य समयमा पनि पोखरा हुँदै मुक्तिनाथ जाने पर्यटकको सङ्ख्या बर्सेनि बढिरहेको छ ।” हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्थाको सङ्गमस्थल मुक्तिनाथलाई भगवान् विष्णुले तपस्या गरेको पुण्यभूमिका रुपमा लिइन्छ । तपस्याका क्रममा विष्णुको शरीरबाट आएको पसिनाबाट पानीको मूल फुटेको र सोही पानीको एक सय आठ धारा यहाँ रहेको प्राचीन किंवदन्ती छ । समुद्री सतहबाट तीन हजार सात सय १० मिटर उचाइमा रहेको मन्दिर परिसरका धारामा बाह्रै मास पानी आइरहनुलाई धार्मिक महत्वका रुपमा हेरिएको छ ।
मध्यपुरथिमि–५ का वीरेन्द्रभक्त गजुँ श्रेष्ठले जिब्रो छेडेर नगर परिक्रमा गर्नुभएको छ । येँया अर्थात् इन्द्रजात्राका अवसरमा शनिबार राति मध्यपुरथिमिस्थित दिगु भैरव मन्दिर अगाडि डबलीमा उहाँले जिब्रो छेड्नुभएको थियो । दश इन्च लामो सुइरोले जिब्रो छेडेर उहाँले १७ दीपसहितको अर्ध चन्द्राकार भ्यें बोकी थिमि परिक्रमा गर्नुभएको थियो । योसँगै थिमिमा मनाउने ‘येंया पुन्हिया मेय् प्वा: खनेगु जात्रा (जिब्रो छेड्ने जात्रा)’ गए राति सम्पन्न गरिएको हो । मन्दिरमा जामन: (गुरू) ले जिब्रोको प्वालमा नास:द्य: (नित्यनाथ) परिसरको माटो राखिदिनुभएको थियो । यसले घाउ नपाक्ने र चाँडो निको हुने विश्वास छ । माटो हालेपछि नजिकैको महादेव पाटीमा विश्राम गरिन्छ । परम्पराअनुसार वीरेन्द्रभक्तले मूल नकर्मी रामभक्त नकर्मीलाई जिब्रो छेड्ने नातु (सुइरो) बनाउन सम्ये बजीसहितको पूजा दिएर आग्रह गरेपछि तीन साताअघि नै नकर्मीले जिब्रो छेड्ने सुइरो तयार गरी शुद्ध तोरीको तेलमा डुबाएर राखेको १० इन्च लामो सुइरो राखिएको थियो । स्थानीय संस्कृतकर्मी अर्जुन श्रेष्ठद्वारा आठ दिन अगाडि बालकुमारी मन्दिरमा ११ किसली (माटोको प्यालामा चामल सुपारी र सिक्का राखेको भाग)चढाउँदै रातोभालेको बलि दिएर बालकुमारीको साधना गरी द्य: दुसालेगु अर्थात् देवता भित्र्याएपछि जात्रा प्रक्रिया विधिवतरूपमा सुरु भएको थियो । जात्राको एक दिनअघि ‘छोइलभु’ गरी बालकुमारीमा रातो भालेको बलि जूजा गरेर भोज खुवाइएको थियो भने येँया पुन्ही अर्थात् पूर्णिमामा दुता नं (जामा) लगाएर बिहानै बालकुमारीमा पूजा गरिएको थियो । जिब्रो छेड्ने मान्छे दिनभरि निराहार बस्ने र कसैसँग बोल्न नहुुने परम्परा छ । बालकुमारीबाट पूजा गरेर आएपछि अर्ध चन्द्रमा आकारको महादिप (भ्ये) बनाइन्छ । बेलुकी बालकुमारीदेखि दिगुभैरवसम्मका मन्दिरमा परिक्रमा हुन्छ र बत्ती दिइन्छ । संस्कृतकर्मी श्रेष्ठले इन्द्र जात्राको दिन हनुमान ढोकाबाट नाइके (नायः पमा) श्यामकाजी श्रेष्ठले द्योँ ला तरबार अर्थात् जुजुको छिँ ल्याएर सिद्धिकाली मन्दिरबाट बाजागाजाका साथ नगर परिक्रमा गराई घरमा भित्र्याएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हनुमान ढोकाबाट ल्याउने राज खड्गलाई जुजुको छिँ अर्थात् राजाको उपस्थिति मानेर त्यसलाई डबलीमा राखेर जिब्रो छेड्ने गरिन्छ । यो परम्परालाई स्वयं राजा वा राष्ट्र प्रमुखको उपस्थितिमा मानिने परम्परा जात्रा सञ्चालनका क्रममा अहिले पनि रहेको छ ।” शनिबार राति राज गणेश, दिगु गणेश, गाचां गणेशलाई ल्याएर द्यों ब्यकेगु गरि देवतालाई साक्षी राखेर जिब्रो छेडिएको संस्कृतकर्मी श्रेष्ठले बताउनुभयो । जिब्रो छेड्ने व्यतिमा दैवी शक्ति प्राप्त हुने जनविश्वासका साथ साँझ बालकुमारीबाट दिगुलीस्थित दिगुभैरवसम्मको स्थानमा बत्ती दिई, दिगुभैरव मन्दिरमा गुरु (जामन: थरका व्यक्ति)को उपस्थितिमा भैरवको पूजा सम्पन्न भएपछि जिब्रो छेड्नेलाई दुई जनाले समाइ भैरव सामुन्ने मुख फर्काइ उल्टो हिँडाइ डबलीमा पु¥याइएको थियो । डबलीमा नकर्मीले बनाएको सुइरोबाट जामन:गुरु, नायः पमा, नकर्मीलगायतको उपस्थितिमा डबलीमा कमीनायोले जिब्रो छेडाउने र त्यसपछि स्थानीय व्यक्तिले ‘ताकुँ म्ये: ख्वामसिसें भ्वय् नय्’ भन्दै जिब्रो छेड्ने व्यक्तिसँग भ्यं (महादिप) बोकेर उहाँको इच्छाअनुसार नगरका विभिन्न टोलको परिक्रमा गराएको थियो । धरै वर्ष अगाडि यसरी जिब्रो छेड्ने व्यक्तिले मध्यपुरथिमिबाट चाँगुनारायण तथा पशुपतिसम्म पनि परिक्रमा गरेको भनाइ रहेको स्थानीय बताउँछन् । आज बालकुमारी मन्दिरमा द्यः लित तवनेगु अर्थात् विसर्जन पूजा गरिन्छ । आजका दिन ‘नातु पूजा’ भनेर जिब्रो छेडेको नातु(सुइरो) लाई बालकुमारी मन्दिरभित्र ठोकिन्छ । यो परम्परा कहिलेबाट सुरु भयो भन्ने लिखित अभिलेख छैन । मन्दिर परिसरमा ठोकेको सुइरोको प्रकृति हेर्दा तीन सय ५० वर्षभन्दा अघिबाटै जिब्रो छेडिएको देखिन्छ । त्यहाँको सूइरो हेर्दा अहिलेसम्म १७–१८ जनाले जिब्रो छेडाएको हुनुपर्ने स्थानीय बताउँछन् । शनिवार राति ९ बजे श्रेष्ठ दोस्रोपटक जिब्रो छेड्नुभएको हो । उहाँले यसअघि विसं २०७४ मा जिब्रो छेडाउनुभएको थियो । धेरै वर्षसम्म आर्थिक अभावका कारण पटक–पटक रोकिदै आएको यस जात्रा विसं २०५३, २०५९ र २०६३ मा पनि सञ्चालन भएको थियो । त्यसपछि रोकिएको जात्रा विसं २०७४ मा स्थानीय तहका निर्वाचन जनप्रतिनिधिले बजेट व्यवस्थापन गर्दै जात्रा पुन: सञ्चालनमा ल्याएको थियो । विसं २०७५ मा बालकराम नानीचा श्रेष्ठले जिब्रो छेडाएर फेरि रोकिएको यो जात्रा यस वर्ष पुन: वीरेन्द्रभक्तले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिनुभएको हो । जात्राको किंवदन्तीअनुसार थिमिमा पहिले भूत, प्रेत, पिसाचले दु:ख दिन्थ्यो । त्यही भूतप्रेत भगाउन तान्त्रिक व्यक्तिले बालकुमारीको साधना गरी आफ्नो साहस देखाउन जिब्रो छेडेर भूतप्रेतलाई नै तर्साएपछि उनीहरू भागे र पछि आएनन् । त्यसैले स्थानीयलाई दु:ख दिने भूतप्रेत भगाउन मध्यपुरथिमिका श्रेष्ठ थरका साहसी व्यक्तिले हरेक वर्ष जिब्रो छेड्ने परम्परा चलाएको स्थानीय बताउँछन् ।
काठमाडौं । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको भर्ना खुला गरिएको छ। यस निर्वाचनको लागि एक लाख पन्ध्र हजार म्यादी प्रहरीको भर्ना खुला गरिएको हो । र म्यादी प्रहरीको सेवा अवधि ४० दिनको मात्रै हुनेछ । साथै म्यादी प्रहरीलाई विभिन्न सेवा तथा सुविधा पनि तय गरिएको छ। जसअनुसार म्यादी प्रहरीका लागि प्रतिदिन ८ सय ६९ रूपैयाँको दरले ४० दिन सम्मका लागि निजको व्यक्तिगत बैंक खातामा रकम जम्मा गरी दिने गरी जम्मा पारिश्रमिक ३४ हजार ७६० रूपैयाँ प्राप्त हुनेछ। यस्तै खाद्यान्न बापत प्रति व्यक्ति एकमुष्ट ७ हजार २०० रूपैयाँ हुनेछ भने हिमाली जिल्लामा खटिने म्यादी प्रहरीको हकमा जिल्लाको न्यूनतम राशन दररेट अनुसारको रकम पाउनेछन् । तोकिएको पोशाक तथा अन्य सामान खरिद गर्ने गरी प्रति व्यक्ति ६ हजार रुपैयाँ एकमुष्ट उपलब्ध हुनेछ। हिमाली जिल्लामा खटिने म्यादी प्रहरीहरूलाई गाढा निलो रंगको कपडाको ज्याकेट खरिद गर्न प्रति व्यक्ति थप १ हजार रुपैयाँ उपलब्ध हुनेछ। निर्वाचनका क्रममा खटिने म्यादी प्रहरीहरूलाई खटिएको ठाउँमा आउने र जाने तयारी स्वरूप प्रति म्यादी प्रहरी एकमुष्ट १ हजार रुपैयाँका दरले तयारी खर्च उपलब्ध हुनेछ भने ३ सय रुपैयाँको दरले ४ दिनका लागि खाजा खर्च उपलब्ध हुनेछ। अन्य सुविधा नेपाल सरकारले तोके बमोजिम हुने नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग भर्ना छनोट शाखाको भनाइ छ। भदौ ३० गतेदेखि असोज ६ गते सम्म इच्छुक व्यक्तिले आफ्नो नजिकको जिल्ला प्रहरी परिसर कार्यालयमा आवेदन दिनुपर्नेछ।

