पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

    पोखरा:  गण्डकी प्रज्ञा प्रतिष्ठान र रसियन सेन्टर अफ साईन्स एण्ड कल्चर बिच भगिनी सम्बन्ध कायम भएको छ । जसको लागि सोमबार रसियन कल्चर सोको कार्यालय काठमाण्डौमा दुवैपक्षबिच एमओयू सम्झौता भएको छ । सम्झौता पत्रमा रसियन सेन्टर अफ साईन्स एण्ड कल्चरको तर्फबाट डाइरेक्टर एन्टोन मास्लोभ र गण्डकी प्रज्ञा प्रतिष्ठानको तर्फबाट सदस्य सचिव मनकुमार श्रेष्ठले हस्ताक्षर गरें ।   हस्ताक्षर पश्चात सदस्य सचिव श्रेष्ठले आफुहरुको कार्यकालको ऐतिहासिक सम्झौता भएको बताए । सम्झौता पश्चात हरेक वर्ष सांस्कृतिक कार्यक्रम आदानप्रदान हुने उनको भनाई छ । ‘यो ऐतिहासिक सम्झौता हो, अब हरेक वर्ष सांस्कृतिक कार्यक्रम आदानप्रदान हुनेछ’ श्रेष्ठले भने ।   रसियन दुतावासका प्रथम सचिव समेत रहेका मास्लोभले गण्डकी प्रज्ञा प्रतिष्ठानसँग भगिनी सम्बन्ध विस्तार गर्न पाउँदा अत्यन्त खुशी लागेको प्रतिक्रिया दिए । ‘गण्डकी प्रज्ञा प्रतिष्ठानसँग भगिनी सम्बन्ध विस्तार गर्न पाउँदा अत्यन्त खुशी लागेको छ, यो सम्बन्ध दीर्घकालिन बनाउने छौँ’ उनले वाचा गरे ।   सम्बन्ध स्थापित भएसँगै गण्डकी प्रज्ञा प्रतिष्ठानले रसियन सांस्कृतिक टोलीलाई पोखरामा निमन्त्रणा गरेको छ । सो निमन्त्रणालाई स्विकार गर्दै डाइरेक्टर मास्लोभले २५ जनाको टोली आगामी कार्तिक २१ पोखरा आउने बताएको प्रतिष्ठानका सदस्य सचिव श्रेष्ठले जानकारी दिए ।   सांस्कृतिक टोलीको सहभागीतामा कार्तिक २२ गते पोखरामा एक अर्काको संस्कृतिका बारेमा अन्र्तक्रिया कार्यक्रम आयोजना गरिने प्रतिष्ठानले जनाएको छ । यसैगरी गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु हलमा कार्तिक २३ गते ‘रसियन कल्चर सो’ समेत हुनेछ । यो ‘कल्चरल सो’ मार्फत गण्डकी प्रदेशबासीले रसियन कल्चरको बारेमा जानकारी पाउने प्रतिष्ठानका सदस्य सचिव श्रेष्ठको विश्वास छ ।

म्याग्दी  :  म्याग्दीकी एक मनकारी महिलाले पितृ कार्य (श्राद्ध) मा खर्च गरिने रकम क्यान्सर रोगीको उपचारका लागि सहयोग गर्नुभएको छ ।   म्याग्दीको बेनीनगरपालिका–२ बगरफाँटकी शिवकुमारी घिमिरेले आफ्ना स्वर्गीय ससुराको श्राद्धको तिथि पारेर आज पेटको क्यान्सर रोगबाट पीडित रघुगङ्गा गाउँपालिका–२ राखु भगवतीका ४७ वर्षीय रीमबहादुर विकलाई आर्थिक सहयोग गर्नुभएको हो ।    आर्थिक अवस्था अत्यन्त कमजोर रहेका विकको आर्थिक उपचारमा समस्या भएको थाहा पाएपछि घिमिरेले आफ्ना दिवङ्गत ससुरा रुद्रबहादुर घिमिरेको श्राद्ध तिथि पारेर रु  सात हजार पाँच सय पाँच आर्थिक सहयोग गर्नुभएको क्यान्सर पीडित विकले जानकारी दिनुभयो ।   स्व ससुरा घिमिरे, स्व सासु कालिका घिमिरे र स्व पति भद्रबहादुर घिमिरेको सम्झनामा पोखरास्थित गण्डकी मेडिकल कलेज ९जिएमसी० अस्पतालमा उपचारत विकलाई बेनीको कालीपुल बसपार्कमा भेटेर उक्त रकम हस्तान्तरण गरेको सहयोगदाता घिमिरेले बताउनुभयो ।   “उहाँको अवस्था अत्यन्तै दयनीय रहेछ, आर्थिक अभावकै कारण उपचार प्रभावित भएको खबर पाएपछि सक्दो सहयोग गरेकी हुँ”, घिमिरेले भन्नुभयो, “क्यान्सर जस्तो जटिल रोगले थलिएका भाइको उपचारमा थोरै भए पनि सहयोग गर्न पाएँ खुसी लागेको छ ।”    विगत एक वर्षदेखि पेट दुख्ने समस्याले ग्रसित विकको उपचारको क्रममा गत जेठ २७ गते भरतपुर क्यान्सर अस्पतालले पेटमा क्यान्सर भएको पत्ता लागेको थियो । औषधि उपचार गरिरहेका विकलाई चिकित्सकले पेटको शल्यक्रिया गर्नुपर्ने स्वास्थ्य सल्लाह दिएका छन् ।   हाल क्यान्सर रोगको अप्रेशन गर्न महँगोे खर्च लाग्छ । अहिले शरीरमा ‘किमो’ र औषधि प्रयोग भइरहेको छ । पेटको क्यान्सरको शल्यक्रिया गर्न रु २० लाख बढी खर्च हुने अस्पतालले बताएको विकले जानकारी दिनुभयो ।   दैनिक आरन र फर्निचरको काम (काठे काम) गरेर परिवारको गुजारा चलाउँदै आएका विकलाई क्यान्सर रोगको उपचारमा आर्थिक जुटाउन परिवारलाई समस्या भएको छ । पतिको क्यान्सर रोगको उपचारका लागि आर्थिक सहयोग गरिदिन पत्नी लक्ष्मी विकले अपिल गर्नुभएको छ । 

  काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले संविधानमा उल्लेखित बालअधिकार कार्यान्वयनको लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।        प्रदेशको समाजिक विकास मन्त्रालयले राष्ट्रिय बालअधिकार दिवसको पूर्वसन्ध्यामा सोमबार वीरेन्द्रनगरमा आयोजित बालबालिकासँग मुख्यमन्त्री कार्यक्रममा बालबालिकाको प्रश्नसँगको अन्तरक्रियामा मुख्यमन्त्री शाहीले सबै पक्षले हातेमालो गरे मात्र कानुन कार्यान्वयनमा सहजता हुने बताउनुभयो ।        मुख्यमन्त्री शाहीले बलात्कार जस्तो जघन्य अपराध नेपालमा ठूलो समस्या बनेकोतर्फ प्रदेश सरकार गम्भीर रहेको भन्दै यस्ता अपराध हुन नदिन सबै मिलेर हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो । “यस्ता अपराध न्यूनीकरण गर्न सबै जुट्नुप¥यो, म अस्ती जुम्लामा जाँदा चार वर्षीया बालिका बलात्कृत भएको घटना थाहा पाए । यस्ता घटना न्यूनीकरणको लागि हामी सबै एक भएर अगाडि बढौँ ।” उहाँले भन्नुभयो, “छुवाछूत विरुद्धको कानुन त विसं २०२० मा बनिसकेको थियो नी, तर छुवाछूत त अहिलेसम्म नै कायम छ, यसो हुनु भनेको चेतनाको कमीले हो । त्यसैले हामी सबैले हातेमालो गरेर बालअधिकार सुनिश्चित गर्न सक्छौँ ।” बालविवाह न्यूनीकरणमा सरकार लागि रहेको भन्दै उहाँले यसको लागि पनि सचेतना नै आवश्यक हुने उहाँको भनाइ छ ।        मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकार बालबालिकाको शिक्षा, स्वास्थ्य र अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्याउनुभयो ।    मुख्यमन्त्रीलाई बालबालिकाको प्रश्नै प्रश्न      कार्यक्रममा बालबालिकाले मुख्यमन्त्री शाहीलाई बालअधिकारका कुरा कागजमा मात्रै नभएर कार्यान्वयन पनि जोड दिन माग गर्दै प्रश्नैप्रश्न सोधका थिए ।       उनीहरुले बालबालिका अहिले पनि श्रममा परिरहेको, बालिका बलात्कार बढ्दै गएकोतर्फ सरकारले किन ध्यान दिन नसकेको भन्दै मुख्यमन्त्रीलाई प्रश्न गरेका थिए । जनमावि सुर्खेतमा कक्षा १२ पढ्दै गरेकी आसिका खत्रीले बालिका बलात्कृत भइरहेको भन्दै बलात्कृत भएपछि पैसामा न्याय साटिने प्रवृतिको अन्त्य गर्न सरकारको किन ध्यान पुग्न नसकेको भन्दै प्रश्न गर्नुभयो । “बलात्कृत भएको बालिकालाई न्याय त दिइएला, उसको जीवन नष्ट भइसकेको हुन्छ, तर न्याय जग्गा र पैसामा साटेर न्याय दिलाइन्छ । यसले बालअधिकार हनन गर्दैन र ?” उहाँको प्रश्न थियो ।      सुर्खेतकै कृति काफ्लेले पनि कर्णालीमा बालविवाहको अवस्था गम्भीर रहेको भन्दै बालविवाह विरुद्धका बनेका कानुनहरु कार्यान्वयन हुन नसक्नुको कारण जिज्ञासा राख्दै भन्नुभयो, “हाम्रो ठाउँमा धेरै बालविवाह भइरहेका छन । त्यो मुख्यमन्त्रीलाई पनि थाहा छ, बालविवाह विरुद्धका कानुनहरु पनि बनेका छनु । मुख्यमन्त्रीले ति कानुन सक्रियतापूर्वक किन कार्यान्वयन गर्न सक्नुभएको छैन ?”      सुर्खेत जनमाविका छात्र खगेन्द्र विकले नेपालको संविधानले व्यवस्था गरेको बालअधिकार अन्तर्गतका जोखिममा रहेका बालबालिकाको राज्यले संरक्षण गर्ने भनिएको बताउँदै यसको कार्यान्वयनको अवस्थाका बारेमा मुख्यमन्त्री शाहीलाई सोध्नुभएको थियो ।       कार्यक्रममा विभिन्न जिल्लाका बालबालिकाहरुले टेलिफोन र भिडियोमार्फत मुख्यमन्त्रीलाई प्रश्न गरेका थिए भने राउटे समुदायका बालबालिकाले राउटे बालबालिकालाई प्रदेश सरकारले के गर्छ ?  भनेर प्रश्न सोधेका थिए ।      कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद कार्पी, सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारी वक्ताको रुपमा रहनुभएको थियो ।

  सप्तरी । चोरी मुद्दामा सप्तरीको राजविराज नगरपालिका–६ बस्ने २१ वर्षीय गोपी भनिने किसन राउत मेहतर आज पक्राउ परेका छन् ।    सप्तरी जिल्ला अदालतबाट कैद सजाय ठहर भई फरार रहेका मेहतरलाई कैद भुक्तानका लागि राजविराज कारागार पठाइने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । चोरी मुद्दामा अदालतबाट २०७८ चैत १४ गते उनलाई पाँच महिना कैद र रु पाँच हजार जरिवाना ठहर भएको थियो ।   आरोपितले २०७७ कात्तिक १९ गते सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठी बस्ने ३१ वर्षीय झौली कामैतको घरबाट खसी चोरेका थिए । यसैगरी सवारी ज्यान मुद्दामा फरार रहेका सप्तरीको सुरुङगा नगरपालिका–२ पिप्रा पश्चिमका ३५ वर्षीय शिवराज दाहाललाई समेत प्रहरीले पक्राउ गरेको छ ।    अदालतले विसं २०७५ चैत ३ गते दाहाललाई एक महिना १५ दिन कैद ठहर गरेको थियो । कैद ठहर गरी फैसला गरेपश्चात फरार रहेका दाहाललाई खोजतलासको क्रममा आज पक्राउ गरी कैद भुक्तानका लागि कारागार पठाउन लागिएको छ ।   उदयपुरगढी गाउँपालिका–७ की ३१ वर्षीय सुशीला तामाङले स१त ५५५९ नंका ट्र्याक्टरधनी दाहालविरुद्ध उजुरी दिनुभएको थियो । फैसला कार्यान्वयनअन्तर्गत गत वर्ष सप्तरी प्रहरीले चार सय चार जनालाई पक्राउ गरेको थियो । यसमा देवानी मुद्दाअन्तर्गत तीन सय ४७ र फौजदारी अपराधअन्तर्गत ५७ जना रहेका थिए ।   यस्तै आर्थिक वर्ष २०७८/७९ मा  प्रहरीले एक सय तीन वर्ष ११ महिना २६ दिन कैद र रु १० लाख ८९ हजार एक सय २६ जरिवाना असुल गरेको थियो ।

  पोखरा । लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन पोखरामा सुरु भएको छ ।    लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन पोखराको चिप्लेढुङ्गा, न्युरोड हुदै सभागृहसम्म झाँकी तथा र्यालीसहित सम्मेलन सुरु भएको महासचिव हुमबहादुर गुरुङले जानकारी दिए ।    सम्मेलनलाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगै उप–महासचिव पृथ्वीसुब्बा गुरुङको समेत उपस्थिति कार्यक्रम रहेको छ ।    सम्मेलन पोखराको सभागृहमा सुरु भएको छ ।  

  कावासोती । चाउरिएको अनुहारमा सेतै फुलेको दारी, पिठ्युमा झोला, साधारण पोशाकमा जिल्लाका लगभग सबै साहित्यिक कार्यक्रममा सर्जक दीपक सोती देखिनुहुन्छ ।  उहाँ उमेरले ७५ मा हिँड्दै हुनुहुन्छ । उहाँको साहित्यप्रतिको लगाव र हुटहुटी देख्दा लाग्छ उहाँ २०–३० वर्षकै उमेरमा हुनुहुन्छ ।   मञ्चमा उक्लिएपछि सबै उमेर समूहका दर्शक, स्रोताको मन जित्न सफल उहाँको मनमा भने विगत ३४ वर्षदेखि एउटै पिरले डेरा जमाएको छ ‘म्याउँ म्याउँ बिरोलो’ आफ्नो भनेर प्रमाणित कसरी गर्ने ।  विसं २०२८ तिर रत्न रेकर्डिङमा सङ्गीता थापाको स्वरमा सो बालगीत रेकर्ड भएको जनाइएको छ ।    चार सन्तानका पिता उहाँले वर्षौँ पहिले आफ्नो जेठो सन्तान गुमाउनुभयो, अनि अहिले आएर उहाँलाई आफैँले लेखेको म्याउँम्याउँ बिरालोलाई  पनि आफ्नो जीवनकालमा आफ्नो नाम दिन पाउँदिन कि भन्ने पिरलोले दिन–दिनै सताएको छ ।   विगतलाई उहाँले यसरी सम्झनुहुन्छ,  “विसं २०२५ असारको महिना थियो, बा–आमा खेतमा जानुभएको थियो, घरमा भाइलाई हेर्दै बसेका बेला बिरालो आएर कराइको दूध खाँदै थियो, त्यहीँ देखेपछि गीत लेखेको हुँ । ”    विसं २०२८ ताका लमजुङबाट पाँच दिन पैदलयात्रा गरेर काठमाडौँ गएको बेला पशुपतिमा प्रज्ञा प्रतिष्ठानका सदस्य श्यामदास वैष्णवसँग भेट भएको र उनै श्यामदाससँग डिल्लीबजारसम्म पुगेपछि चिया पिउँदै गर्दा म्याउँम्याउँ बिरालो देखाएपछि रेकर्ड गर्ने सल्लाह उहाँबाट पाएको सर्जक सोती सम्झनुहुन्छ  । उहाँले श्यामदासबाट सल्लाहमात्रै पाउनुभएन, उस्ताद भैरवबहादुर थापासँग भेट गराइदिनुभयो । भेटपछि भैरवबहादुरकै सङ्गीत र उनै भैरवबहादुरकी  १०  वर्षीया सानी छोरी सङ्गीता थापाको स्वरमा रत्न रेकर्डिङमा गीत रेकर्ड भएको सोतीलाई सम्झना छ । रत्न रेकर्डिङको प्लेट नं ८१ मा  गीत रेकर्ड भएको र गीत रेकर्डपछि रु ८५ पारिश्रमिकसमेत पाएको सर्जक सोतीले जानकारी दिनुभयो ।   रत्न रेकर्डिङमा रेकर्ड भएपछि म्याउँम्याउँ बिरालो बोलको बालगीत रेडियो नेपालसहित अल इन्डिया रेडियो, श्रीलङ्का र चीनको रेडियोबाट बज्ने नेपाली कार्यक्रममा यो गीत बज्ने गरेको सर्जक सोतीले बताउनुभयो । गीत रेर्कड भएपछि उहाँले खासै वास्ता राख्नुभएन, त्यतिबेला त्यो गीत रेडियो नेपाल, भारत, चीन र श्रीलङ्काको रेडियोबाट पनि बजेको भने उहाँलाई सम्झना छ । “सुरु–सुरुमा गीतको चासो त्यति राखिनँ तर विगत ३४–३५ वर्षदेखि गीतको खोजी गरेको छु, तर अत्तोपत्तो छैन”, उहाँले भन्नुभयो । “पछि त यही गीत मेरो नाम नराखी पाठयपुस्तकमा पनि छापिएर आएछ”, थाहा पाउँदा दुःख लाग्यो”, उहाँले भन्नुभयो ।    गीत पाठयपुस्तकमा बिना नाम छापिएर आएपछि कवि सोतीले तत्कालीन शिक्षा सहायकमन्त्री क्षेत्रप्रताप अधिकारीलाई भेटेर पाठयपुस्तकमा आफ्नो नाम राखिदिन आग्रह गर्नुभएको थियो ।  विसं २०४६ को जनआन्दोलनका समय भएकाले पुस्तकमा समेत नाम आउन नसकेको उहाँको दुःखेसो थियो ।   आन्दोलनपछि विसं २०५०÷५१ ताका आफ्नो नाम नराखी पाठयपुस्तकमा छापेको एकता प्रकाशन पुगेर आफूले आपत्ति जनाएको उहाँले बताउनुभयो । यसपछि नाम राखिदिने आश्वासन समेत उहाँले पाउनुभएको थियो ।  पारिश्रमिकस्वरुप रु दुई हजार प्रकाशनले दिएको उहाँले बताउनुहुन्छ । “नाम त हालेनन् हालेनन्, झन् सम्पादन गर्दा एक जना वस्ती थर भएकाले गीत नै बिगारी दिएछन्”, उहाँले दुःखेसो पोख्दै भन्नुभयो, “अहिले त झन् युट्युबमा आएको छ, हेर्न त धेरैले हेरेका रहेछन्, तर मेरो नाम नै छैन, त्यही माथि गीत पनि बिगारेका रहेछन्”, उहाँले भन्नुभयो ।   आफूसँग भएको गीतको क्यासेट विसं २०४३÷४४ ताका पोखरामा डेरा सर्ने क्रममा फुटेपछि गीतलाई आफ्नो नाम दिन काठमाडौँमा रहेको रेडियो नेपाल र नेपाल टेलिभिजनको कार्यालयमा बर्सेनि धाइरहेको उहाँले सुनाउनुभयो ।  उहाँलाई आफ्नो जीवनकालमै त्यो गीतको रचनाकारका रूपमा आधिकारिकरूपमा फेरि पनि नाम लेखाउन पाउँदिन कि भन्ने पिरले गिजोल्न भने कत्ति छाडेको छैन ।   रेडियो नेपालका निर्देशक कार्यक्रम महाशाखा प्रमुख वरिष्ठ साहित्यकार नवराज लम्साल पनि त्यो गीत कवि सोतीकै भएको बताउनुहुन्छ  । “विसं २०७२ को महाभूकम्पको बेला धेरै पुराना क्यासेट फुटे, सायद सोतीजीको पनि त्यही बेला फुटेको हुनुपर्छ, हामाीले सबै पुराना क्यासेटहरूलाई रिकभर गर्दैछौँ, भेट्नासाथ उहाँको सम्पत्ति उहाँलाई हस्तान्तरण गर्छौ”, उहाँले भन्नुभयो ।   विसं २०२८ मा गीत रेकर्ड गर्दा आफू स्वयं स्टुडियोमै रहेको जनाउँदै वरिष्ठ सङ्गीतकार दीपकजङ्गम म्याउँ–म्याउँ बिरालो कवि सोतीको रचना भएको बताउनुहुन्छ । “गीत रेकर्ड मेरै अगाडि भएको हो, सङ्गीताले गाएकी हुन्, यसको रचनाकार सोतीजी नै हो”, उहाँले बताउनुभयो, “गीतको रचनाकार सोती नै भए पनि अहिले पुष्टि गर्न प्रमाण जुटाउन परेको छ, इतिहास बिर्सनु हुँदैन, यो गीत उहाँले नै लेख्नुभएको हो ।”   उमेरले ७५ लागेका सोतीलाई भने उक्त गीतको प्रतिलिपि अधिकार आफ्नो नाममा गराउन मन छ । “उमेरले बूढो भए पनि हिम्मत हारेको छैन, एकपटक फेरि काठमाडौँ जान्छु, आफ्नो सन्तानको माया कसलाई पो हुन्न र”, उहाँ भन्नुहुन्छ ।   यस्तो छ गीत म्याउँ–म्याउँ बिरालो यतातिर आउ मेरो नाना काटी गर्ने मुसा मारी खाउ कराइको दूध खाइदेऊ भने म त भोकै हुन्छु, नखाइदेउ भन्छु बाबा भन्छिन् खाली बुबु चोर्न जाली आमा भन्छिन् चोर्ली भाडाहरु फोर्ली बुबु चोर्यो भने लट्ठीले म हान्छु नआइज न यता चोर्नै म्याउ भन्छु   विसं  २००६ मा लमजुङको कुन्छामा जन्मिनुभएका सर्जक सोती अहिले स्थायीरूपमा पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको वडा नं १२ मा बसोबास गर्नुहुन्छ । विसं २०२१ मा ‘नरोक मलाई’ कविता लेखेर दोस्रो स्थान हासिल गरेका उहाँ अनवरतरूपमा साहित्य सिर्जनामा क्रियाशील हुुनुहुन्छ ।  विसं २०२८ मा लमजुङको कुन्छा साहित्य परिषद्को अध्यक्ष, २०३८ मा मकवानपुर साहित्य परिषद् हटौँडाको संस्थापक उपाध्यक्ष,  २०४६ मा युवा साहित्य सदन पोखराको संस्थापक सचिवसमेत भएका कवि सोतीको  ‘मेरी  मस्र्याङ्दी’ कविता सङ्ग्रह(२०२८),  ‘दुई बत्ती निभेर’ कविता सङ्ग्रह (२०३०), ‘जगदम्बा’  काव्य (२०४५), ‘समालोचक’ शोक काव्य (२०४१) , ‘मेरी आमा रुँदी हुन्’  कविता सङ्ग्रह (२०६७), फुल्न नसकेका फूलहरू (२०७८) र थुप्रै फुटकर कविता प्रकाशित भएका छन् ।

पोखरा :  लहरै बसेर केराको पातमा कोदाको सेल, दुनामा कागुनाको खिरसहित केरा र आलुको अचार खाइरहेका थिए विद्यार्थी । उक्त दृश्यले हाम्रा समाजमा पहिले–पहिले हुने गरेका भोजभतेरको झल्को दिन्थ्यो । खुसी थिए विद्यार्थी, खाजा बाँड्न खटिएका शिक्षक तथा कर्मचारी पनि उत्तिकै प्रफुल्ल देखिन्थे ।   कृषिप्रतिको अनिच्छासँगै खेतबारी बाँझिएपछि यतिखेर गाउँघरमा कोदो पाउन मुस्किल छ । फाट्टफुट्ट कोदाको खेती देखिने गरे पनि कागुनो त लभगभ हराइसकेको छ । परम्परागतरूपमा केराको पात र दुनामा खाने प्रचलन पनि छैन ।   यिनै कुरालाई दृष्टिगत गर्दै पोखरा महानगरपालिका वडा नं २२ पुम्दीभुम्दी दहरास्थित लीला आधारभूत विद्यालयका विद्यार्थीलाई सोमबार रैथाने बालीका परिकारको खाजा खुवाइयो । पुम्दीभुम्दी कृषि सहकारी संस्था र कराङ्गे कृषि समूहद्वारा संयुक्तरूपमा आयोजित कार्यक्रमको उद्देश्य नै विद्यार्थीलाई रैथाने बालीका परिकारको खाजा खुवाएर यसबारे जानकारी गराउँदै अभिभावकलाई यसतर्फ अभिप्रेरित गर्नु थियो ।   खेतबारीहरू बाँझिदै गएका अवस्थामा पोषकतत्वयुक्त रैथाने बालीतर्फ सचेतना जगाउने उद्देश्यका साथ विद्यालयका विद्यार्थीलाई रैथाने कोदोको सेल, कागुनाको खिरसहित केरा र आलुको अचारको खाजा खुवाइएको कराङ्गे कृषक समूहका अध्यक्ष श्यामलाल पोख्रेलले बताउनुभयो ।   “पछिल्ला वर्षमा गाउँघरतिर खेतबारी बाँझै छन्, कोदो, कागुनोजस्ता रैथाने बाली लोप हुने अवस्थामा छन्”, उहाँले भन्नुभयो, “विद्यालयका विद्यार्थीमार्फत रैथाने बालीप्रति सचेतना जगाउने उद्देश्यका साथ यो अभियान थालेका हौँ ।”      पहिले–पहिले गरिब, विपन्न परिवारले खाने अन्नका रूपमा लिइने कोदो पछिल्ला वर्षमा भने सम्पन्न हुनेखानेको रोजाइमा पर्न थालेको छ । विभिन्न रोग प्रतिरोधात्मक कोदोको पछिल्ला वर्षमा खेती कम हुँदै गएको छ भने बजारमा माग बढ्दो रहेको पोखरा कृषि महाशाखा प्रमुख मनोहर कडरिया बताउनुहुन्छ । कोदोखेती कम हुन थालेसँगै यसका विभिन्न रैथाने प्रजाति पनि लोप हुँदै जानु यतिखेर चुनौतीका रूपमा देखिएको छ । विगतमा कास्की र आसपासमा दूधे काले, कुकुर काने, ठूलो कोदो, ज्याउदी खोले, देउराली काले, माझठाने, चुल्ठे, कालो डल्ले, सम्धी, सेतो झ्यापे, सिर्कुताने, हुम्ला डल्लेजस्ता विभिन्न प्रजाति पाउने गरिएकामा ती प्रजाति लोप हुँदै गएका छन् ।   मधुमेहजस्ता रोगका बिरामीलाई पनि खान हुने भएकाले बजारमा कोदोको अत्यधिक माग हुने गरेको पाइन्छ । पौष्टिक अन्नमध्येको कोदो रोटी, ढिँडो, पुवाजस्ता परिकार बनाउन प्रयोग गरिन्छ भने यसबाट घरेलु मदिरा पनि बनाउने गरिन्छ । कोदोखेतीलाई अघि बढाउन सकेमा यसले बाँझिएका जग्गामा खेती गर्दै स्थानीयवासीलाई आयआर्जनसँग जोड्न सकिने कडरियाको भनाइ छ । विद्यालय तहबाट सचेतनामूलक किसिमले रैथाने बालीका परिकारका खाजा खुवाउने अभियानलाई व्यापक गर्न सकेमा हराउँदै गएका बालीलाई पुनः लगाउने वातावरण तयार गर्न सकिने कडरियाले बताउनुभयो ।   कागुनो पुराना अन्न बालीमध्येमा पर्दछ । नेपाली समाजमा यसलाई काउनो पनि भन्ने गरिन्छ । नेपालका विभिन्न स्थानमा प्राचीनकालदेखि हुँदै आएको यो खेती अहिले भने लगभग लोपोन्मुख अवस्थामा पुगेको छ । नेपालका कणाली क्षेत्रका साथै रामेछाप, काभ्रे, गोरखा, लमजुङ, कास्की, धादिङजस्ता जिल्लामा फाट्टफुट्ट यो खेती गर्ने गरिए पनि अहिले भने लगभग हराइसकेको कृषक बताउँछन् । पहाडी भेगमा त यसलाई अनिकाल टार्ने अन्नका रूपमा समेत लिने गरिन्थ्यो । असिना तथा खडेरी सहनुका साथै भिरालो र कम उर्वर जमिनमा पनि राम्रो उत्पादन हुनसक्ने भएकाले यसलाई अनिकालको अन्न भन्ने गरिएको हो । कागुनोको भात, खिर, ढिँडो बनाएर खाने चलनका साथै कोदोसँग मिसाएर रक्सीसमेत बनाउन सकिने यो बाली बाँझिएका जग्गामा लगाउन सके स्थानीयको आयआर्जन बढाउन सकिन्छ ।   कृषिप्रतिको अनिच्छासँगै रैथाने बालीको महत्व बुझ्न बुझाउन नसक्दा कोदो, कागुनोजस्ता रैथाने बालीहरू सङ्कटमा परेको पुम्दीभुम्दी कृषक समूहका अध्यक्ष खेमराज बरालले बताउनुभयो । “हाम्रा बाँझिएका जग्गामा यी रैथाने बालीलाई अघि बढाउन सकेमा यसले उत्पादनसँगै आम्दानी बढाउन सकिन्छ”, उहाँले भन्नुभयो ।   कृषिलाई वडा कार्यालयले प्राथमिकतामा राखेको बताउनुहुने पोखरा–२२ का वडाध्यक्ष हिमलाल बराल स्थानीयको जागरुकता भएमा वडाका तर्फबाट हुनसक्ने सबै किसिमका सहयोगमा आफूहरू प्रतिबद्ध भएको बताउनुभयो ।   लीला आधारभूत विद्यालयका प्रधानाध्यापक घनश्याम देवकोटाले विद्यार्थीमार्फत रैथाने बालीको संरक्षणमा घर–घरमा सन्देश पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  शिक्षक प्रितम देवकोटाले बाँझिएका जग्गामा खेती गर्न सकेमा परनिर्भरता हट्दै आत्मनिर्भरता बढ्ने धारणा राख्नुभयो ।

  काठमाडौं । चितवनको एक सामुदायिक विद्यालयले मोबाइल म्यासेजमार्फत विद्यार्थी विद्यालय पुगेको र बाहिरिएको जानाकारी दिने प्रविधि प्रयोगमा ल्याएको छ  । भरतपुर महानगरपालिका–१० स्थित नारायणी नमूना माविले विद्यार्थीलाई समयमै विद्यालय आउने र घर जाने वातावरण बनाउन अभिभावकको मोबाइलमा म्यासेज पठाउन थालेको हो ।   यो प्रविधि जडान भएपछि विद्यार्थी विद्यालय पुग्नासाथ र विद्यालयबाट घरका लागि हिँड्नासाथ म्यासेज अभिभावकको मोबाइलमा पुग्छ । विद्यालयका प्राचार्य पूर्णप्रसाद दवाडीले स्कुलमा विद्यार्थीको सङ्ख्या धेरै भएका कारण व्यवस्थापनमा सहजता ल्याउन मोबाइलमा म्यासेज पठाउने व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थी घरबाट हिँडेर कहिलेकाहीँ स्कुल नपुग्ने र स्कुलबाट छुटेपछि पनि समयमा घर नजाने गुनासो आउने गरेपछि यो प्रविधिको सुरुआत गरेका हौँ ।” उहाँले विद्यालयले विद्यार्थीबारे म्यासेजको व्यवस्था गरेपछि अभिभावकलाई पनि ढुक्क हुने बताउनुभयो ।   “कहिलेकाहीँ ५ बजेसम्म पनि अध्ययन हुनसक्छ, म्यासेज नआएसम्म आफ्ना छोराछोरी स्कुलमा सुरक्षित छन् भनेर अभिभावक ढुक्क हुनुहुन्छ”, प्रचार्य दवाडीले भन्नुभयो । यो प्रविधिमार्फत विद्यार्थीको वैज्ञानिक व्यवस्थापनको अभ्यास थालिएको उहाँको भनाइ छ । यो प्रविधि जडानका लागि विद्यालयले भरतपुरको प्राचीन मेटल आर्टस् एण्ड फ्लेक्ससँग सम्झौता गरेको छ ।  प्राचीन मेटलका सञ्चालक गोपालभक्त अधिकारीले विद्यार्थीको आइडी कार्डमा चिप जडान गरिएको र विद्यार्थी विद्यालय प्रवेश गर्ने र बाहिरिने बित्तिकै अटोमेटिक रिड गरेर अभिभावकलाई म्यासेज पठाउने बताउनुभयो । अभिभावकलाई म्यासेज पठाउने प्रविधि केही निजी स्कूल कलेजमा यसअघिनै जडान गरे पनि सामुदायिक विद्यालयमा नारायणी नमूना मावि जिल्लामा नै पहिलो भएको उहाँले बताउनुभयो ।    विद्यालयसँग एक वर्षको सम्झौता गरेर काम गरिएको अधिकारीले जानकारी दिनुभयो । विद्यालयको बसमा समेत जिपिएस जडान गरिएको छ । जसको माध्यमबाट अभिभावक तथा शिक्षकले मोबाइल एपको माध्यमबाट स्कुल बसलाई ट्रयाक गर्न सक्नेछन् ।   विद्यालयमा तीन हजार पाँच सय बढी विद्यार्थी अध्ययनरत छन् । अभिभावकले विद्यालय पुर्याउने र लैजानेबाहेकका अन्य विद्यार्थीलाई म्यासेज पठाउने व्यवस्था गरिएको छ । करिब तीन हजार विद्यार्थीलाई एकैपटक म्यासेज जाने प्राचार्य दवाडीले बताउनुभयो ।    विद्यालयले सूचना र प्रविधिको माध्यमबाट अध्ययन अध्यापन गराउने कुरालाई प्राथमिकतामा राखेको जनाएको छ  । सबै कक्षाकोठामा प्रोजेक्टरको व्यवस्था गरिएको छ भने सिसीटिभी जडान समेत गरिएको दवाडीेले जानकारी दिनुभयो । विद्यालयले पढाउने विधिलाई पनि प्रविधिमैत्री बनाएको उहाँले जानकारी दिनुभयो ।

  त्रिशूली । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको देशकै ठूलो सोलार फार्म (प्लान्ट) बाट २५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । एक वर्षभित्र काम सम्पन्न गर्ने भनेर विसं २०७५ वैशाख १४ गते शिलान्यास गरिएको फार्मबाट साढे तीन वर्षपछि लक्ष्यअनुसार २५ मेगावाट विद्युत्को परीक्षण उत्पादन भइरहेको आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिनुभयो ।   उहाँका अनुसार विभिन्न सात ब्लकमा स्थापना गरिएका सौर्य फार्मबाट सुरु भएको परीक्षण उत्पादन सफल ठहरिएको छ । “फार्मबाट पछिल्लो दुई सातादेखि २५ मेगावाट विद्युत् उत्पादनको परीक्षण निरन्तर भइरहेकाले आयोजना सफल भएको छ”, आयोजना प्रमुख रघुवंशीले भन्नुभयो, “मौसम अनुकूल भएको समयमा लक्ष्यअनुसार २५ मेगावाटभन्दा केही बढी विद्युत् उत्पादन भइरहेको छ ।” फार्मबाट उत्पादित विद्युत् विदुर नगरपालिका–६ स्थित देवीघाट जलविद्युत् केन्द्रमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । सौर्य फार्म विदुर–६ र १२ मा पर्दछ ।   विसं २०७४ जेठ ३ मा सम्झौता गरिएको आयोजनाको शिलान्यास विसं २०७५ वैशाख १४ मा गरिएको थियो । एक वर्षभित्र काम पूरा गर्ने लक्ष्य लिइएको भए पनि निर्माण व्यवसायीबाट ढिलो गरेर तयार भएको डिजाइन परामर्शदाता कम्पनीले पुनरावलोकन आवश्यक रहेको भन्दै स्वीकृत गर्न थप ढिला गरेसँगै फार्म निर्माणको काम डेढ वर्ष पर धकेलिएको हो । निर्माण व्यवसायी चिनियाँ कम्पनी राइजन इनर्जीले विसं २०७६ कात्तिकदेखि काम सुरु गरेर पहिलो चरणमा विसं २०७७ माघमा एक दशमलव पाँँच मेगावाट विद्युत् उत्पादन गरेको थियो ।   आयोजनाको पूर्ण क्षमता ९२५ मेगावाट० गत भदौ १० गतेदेखि थालिएको परीक्षण उत्पादन दुई सातासम्म नियमित भएसँगै सफल ठानिएको छ । सोलार आयोजनाबाट उत्पादित विद्युत् फार्मले आफैँले निर्माण गरेको ३३र६६ केभी २५ एमभिए क्षमताको सब–स्टेशनबाट अपग्रेड गरेर एक सय मिटर दूरीमा अवस्थित देवीघाट विद्युत्गृहको सबस्टेशनसम्म भूमिगत प्रसारण लाइनमार्फत पुर्याएर त्यहाँबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।    आयोजना प्रमुख रघुवंशीका अनुसार सौर्य प्लान्टले बिहान ६ देखि साँझ ६ बजेसम्म विद्युत् उत्पादन गर्दछ । “सिधै प्रसारण प्रणालीमा पठाएकाले ब्याट्री राखेर विद्युत् सञ्चय गरिएको छैन”, उहाँले भन्नुभयो, “मौसम सफा भएको मध्याह्नको समयमा २५ दशमलव दुई मेगावाटसम्म विद्युत् उत्पादन भइरहेको छ, परीक्षण अवधिमा दैनिक एकलाख युनिट विद्युत् उत्पादन भएकाले आयोजनाको निर्माण सफल मानिएको हो ।”    सौर्य प्यानलबाट उत्पादन हुने विद्युत् डिसी (डाइरेक्ट करेन्ट)बाट एसी (अल्टरनेट करेन्ट)मा रूपान्तरण गर्दा सोही परिणामको प्रयोगयुक्त विद्युत् उत्पादन भइरहेको छ । अब नियमित उत्पादन सुरु गरिने आयोजना पक्षले जनाएको छ । यद्यपि फार्ममा जडान गरिएका सौर्य प्यानल सफा गर्न चाहिने पानीपोखरी, संरक्षणका लागि लगाउनुपर्ने घेराबार र पर्खाललगायतका केही भौतिक संरचना निर्माणको काम जारी रहेकाले आयोजना सम्पन्न भएको जानकारी दिन अझै एक महिना लाग्ने निर्माण व्यावसायीले नेपाल विद्युत् प्राधिकरणलाई जनाएको छ ।   खेर गएका बाँझो जग्गा उपयोग एउटा प्यानलबाट दुई सय ७५ वाट विद्युत् उत्पादन हुनेछ । एक मेगावाट विद्युत् उत्पादनका लागि प्यानल राख्न २० रोपनी जग्गा आवश्यक पर्दछ । हाल प्राधिकरणको नाममा रहेको ३८ हेक्टर बाँझो जग्गाको उपभोग गरेर २५ मेगावाट विद्युत् उत्पादन थालिएको हो ।   विदुर नपा वडा नं ६ र १२ स्थित प्राधिकरणको आफ्नै नाममा रहेको खाली जग्गाको विभिन्न सात ब्लकमा सौर्य प्यानल जडान गरेर प्राधिकरणले सौर्य फार्म निर्माण गरेको हो । सुरुमा स्टाफ क्वार्टर (विद्युत् प्राधिकरणमार्फत सञ्चालित बोर्डिङ स्कुल रहेको स्थान) र फोर–वे (नेपाली सेनाको ब्यारेक पछाडिको चौर)बाट विद्युत् उत्पादन सुरु भएको थियो भने क्रमश ः रातमाटे, केराघारी, हेलिप्याड, कफीघारी–१ र कफीघारी–२ बाट विद्युत् भइरहेको छ । उक्त जग्गा यसअघि अधिकांश अतिक्रमणमा परेका थिए ।    पाँच वर्षसम्म निर्माण व्यवसायीको जिम्मामा नेपाल सरकारले आन्तरिक उत्पादनबाटै विद्युत्मा आत्मनिर्भर हुने योजनाअनुरुप १० वर्षमा १५ हजार मेगावाटको लक्ष्यमा विद्युत् आयोजनाको उत्पादन समिश्रण अनुपात निर्धारणअनुसार सरकारीस्तरबाट देवीघाटमा सौर्य फार्म निर्माण गरिएको हो । यो देशको पहिलो र हालसम्मकै ठूलो फार्म मानिन्छ ।   आयोजना निर्माणमा ‘ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजना’मार्फत विश्व बैंकको सहुलियतपूर्ण ऋण अनुदानमा प्राप्त ३८ मिलियन डलर लगानी छ । परियोजनाको प्लान्टका लागि चिनियाँ कम्पनी राइजन इनर्जीसँग तीन करोड ८० लाख अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको थियो । उक्त कम्पनीसँग विसं २०७४ जेठ ३ मा भएको सम्झौताअनुसार सोलार प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भार समेत गरेर चालु अबस्थामा पाँच वर्षपछि मात्र सरकारलाई हस्तान्तरण गर्ने भनिएको छ । प्राधिकरणलाई फार्म औपचारिकरूपमा हस्तान्तरण गर्न बाँकी रहेकाले उक्त पाँच वर्ष अवधिको गणना सुरु भएको छैन ।     प्रतिमेगावाट रु १६ करोड लगानी प्लान्टबाट वार्षिक तीन करोड ४६ लाख ५० हजार युनिट सुनिश्चित (ग्यारेण्टी) विद्युत् आपूर्ति हुनुपर्ने सम्झौतामा भनिएको छ । सो परिणाममा विद्युत् उत्पादन नभए निर्माण व्यवसायीले प्रतियुनिट ३० सेन्ट क्षतिपूर्ति तिर्नुपर्दछ । फार्म निर्माणका लागि सम्झौता समयमा रु तीन अर्ब ८० करोड लाग्ने प्रक्षेपण गरिए पनि लक्ष्यभन्दा साढे तीन वर्ष ढिलो हुदाँ लगानी थप बढेको प्राधिरकणले जनाएको छ ।    आयोजनामार्फत विद्युत् उत्पादनमा लगानी महँगो भए पनि ऊर्जाको वैकल्पिक स्रोतको व्यवस्थापन र नमूना योजनाका रुपमा निर्माण गरिएकाले लगानीसँग तुलना गर्न नहुने आयोजना प्रमुख रघुवंशीको भनाइ छ । उहाँका अनुसार प्लान्ट निर्माण गर्दा प्रतिमेगावाट रु १६ करोड लगानी छ ।    वैकल्पिक ऊर्जाको पहिलो ठूलो स्रोत  खेर गएको सौर्य ऊर्जा सङ्कलन गरेर प्राधिकरणको खुला (प्रयोगविहीन) जग्गामा सञ्चालनमा ल्याएको आयोजनामा गरिएको लगानी र विद्युत् उत्पादनलाई वैकल्पिक ऊर्जाका लागि देशकै ‘नमूना’ योजना रहेको प्राधिरकणको दाबी छ । फार्म सञ्चालनमा आएपछि हिउँदको समयमा राष्ट्रिय प्रसारण प्रणालीमा हुने ऊर्जा अभाव कम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।   काठमाडौँको नजिक दूरीमा पर्ने र यसका लागि छुट्टै प्रसारण प्रणाली बनाउन नपर्ने भएकाले पनि यस आयोजना निर्माण सम्पन्नले ऊर्जाको राष्ट्रिय योगदानमा महत्वपूर्ण मानिन्छ । भूकम्पलगायतका विपद्का कारण जलविद्युत् आयोजनामा क्षति पुग्नसक्ने भएकाले उक्त समयमा चाहिने ऊर्जाको वैकल्पिक स्रोतको उपभोग गर्न सौर्य फार्मको निर्माणलाई थप महत्वका रुपमा हेरिएको छ ।   हिउँदको समयमा फार्मबाट उत्पादन हुने विद्युत् उपयोग गरेर उक्त समयमा कुलेखानी जलाशययुक्तसहित कालीगण्डकी ‘ए’, मध्यमस्र्याङदी, मस्र्याङदी, चिलिमेलगायतका अर्ध–जलाशययुक्त उत्पादनगृहको पानी दिउँसो सञ्चित गरेर विद्युत्को माग बढी हुने बिहान र बेलुका (पिकआवर)को समयमा सञ्चालन गर्न सहयोग पुग्नेछ ।