पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

  बागलुङ । भदौको अन्तिम साता सुरु भएसँगै मुस्ताङको स्याउ बागलुङ, कुश्मा, बेनीलगायतका नजिकका बजारमा देखिन थालेको छ ।        चाडपर्वका बेला बागलुङ, पर्वत, म्याग्दी र आसपासका जिल्लामा मुस्ताङको स्याउको माग हुन्छ । यहाँ एउटा चलन छ, ‘कोशेलीमा मुस्ताङको स्याउ’ । दसैँका बेला त अझै बढी मुस्ताङी स्याउको कोशेली चल्छ । चाहे मुस्ताङ बसेर गाउँ फर्किने हुन् वा देशविदेशमा रहेका दसैँका बेला गाउँ फर्किने किन नहुन् १ गाउँघरमा एउटै आशा हुन्छ, ‘कोशेलीमा मुस्ताङी स्याउ छ, छैन ।’       दसैँलगायतका चाडपर्वको छेको पारेर मुस्ताङी स्याउ बजारमा आएको हो । भदौको अन्तिम सातादेखि बिक्रीका लागि खुला भएको मुस्ताङी स्याउ बजारमा देखिन थालेको बागलुङ बजारका फलफूल व्यवसायी बताउँछन् । रातो र सेतो दुवै रङको स्याउ बागलुङ, कुश्मा, बेनीलगायतका बजारमा आइपुगेको व्यसायीले बताएका छन् ।        धादिङका चन्द्र लामालाई यतिबेला बजारमा स्याउ पुर्याउन भ्याइनभ्याइ छ । हरेक वर्ष मुस्ताङको टुकुचेमा बगान ठेक्का लिएर बजारमा स्याउ पुर्याउने लामाले यस वर्ष पनि बगान ठेक्कामा लिनुभएको छ । रु ५० लाखमा खरिद गरेको बगानका स्याउ दसैँअघि नै बजारमा पु¥याउने र मुनाफासमेत आर्जन गर्ने लामाको लक्ष्य छ ।           मुस्ताङको टुकुचेमा रहेको स्थानीयको बगान उहाँले ठेक्कामा लिनुभएको हो । “दसैँपछि बजारमा माग घट्छ, कोशेली हुने भएकाले दसैँका बेला सबै बजारमा स्याउ राम्रोसँग बिक्री हुन्छ”, लामाले भन्नुभयोे, “दिनमा दुई ट्रकसम्म स्याउ बजार पु¥याउने गरेको छु ।” पहिलो पटक बजारमा आएको स्याउ खुद्रा व्यापारीले हानथाप गरेर खरिद गरेको लामाले बताउनुभयो ।        यहाँका बजारमा पाइने स्याउमध्ये चाडपर्वका बेला अधिकांशको रोजाइमा मुस्ताङी स्याउ पर्ने गरेको छ । लामा जस्तै व्यवसायीलाई अहिले मुस्ताङको स्याउ काठमाडौँ, पोखरा, बागलुङलगायतका सहरमा पठाउन भ्याइनभ्याइ छ । बगैँचाबाट सङ्कलन गरी पठाउँदा मुस्ताङमै थोकमूल्य रु ९० देखि र एक सय २५ सम्म पर्ने गरेको उहाँले जानकारी दिनुभयो ।        दसैँ तिहारका समयमा पाक्ने भएकाले यस अवधिमा स्याउको निकै खपत हुने गर्दछ । बजारका कतिपय फलफूल पसलले ग्राहकलाई आकर्षित गर्नेगरी पसलमा मुस्ताङको स्याउ पाइन्छ भनेर लेखेर टाँस्ने गरेको मुस्ताङको ठिनीका स्याउ व्यवसायी पल डिसी बताउनुहुन्छ । व्यापारीले मुस्ताङको स्याउ रु दुई सयदेखि दुई सय ५० सम्ममा बिक्री गर्ने गरेका छन् ।        “पहिलो पटक आएको स्याउ निकै उत्साहजनक हिसाबले बिक्री भइरहेको छ”, मिलन फलफूल पसलका सञ्चालक खगेन्द्र पौडेलले भन्नुभयो, “बागलुङका स्थानीय बजारमा पनि हामीले स्याउ पठाइसकेका छौँ ।”       विसं २०२२ मा तत्कालीन कृषि मन्त्रालयअन्तर्गतको फल उद्यान विभागले भारतीय राजदूतावासको सहयोगमा भारतको कश्मीरबाट स्याउका बिरुवा ल्याएर वितरण गरेको तथ्याङ्क भेटिन्छ । मुस्ताङीका अनुसार सरकारले सुरुमा प्रत्येक घरमा तीन÷तीन वटा स्याउका बेर्ना बाँडेको थियो ।       मुस्ताङी स्याउको स्वाद वर्षभरि नै चखाउन बेमौसमका लागि चाना बनाएर सुकाउने प्रचलन पनि छ । मुस्ताङ पुग्ने पर्यटकका साथै प्रसिद्ध मुक्तिनाथ मन्दिरको दर्शन गर्न जाने भक्तजनका लागि पनि मुस्ताङको स्याउ प्रमुख कोसेली बन्ने गरेको छ । मुस्ताङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘एप्पल जोन’ कार्यक्रम सञ्चालनमा छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘एप्पल जोन’ कार्यक्रम मुस्ताङको सल्लाहमा भदौको अन्तिम साता मात्रै बगानमा प्रवेश दिइएको हो ।       गत वर्ष रु ४० करोडको स्याउ मुस्ताङबाट बिक्री भएको तथ्याङ्क छ । मुस्ताङमा एक हजार चार सय हेक्टर जमिनमा स्याउ लगाइएको छ । पाँच सय हेक्टर जमिनमा मात्रै अहिले उत्पादन दिने बिरुवा तयार छन् । बाँकी बिरुवाले क्रमशः उत्पादन दिने स्थानीय बताउँछन् ।

  काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सङ्घीय शिक्षा ऐन जारी हुने क्रममा रहेकाले ऐन आएसँगै शिक्षक दरबन्दी व्यवस्थापनलगायतका सवाल सम्बोधन हुने बताउनुभएको छ ।   मधेस प्रदेशको ‘शिक्षा र बालश्रम’ विषयमा सिकाइ आदानप्रदानका लागि शिक्षा पत्रकार समाज र आसमान नेपालले आज आयोजना गरेको राष्ट्रियस्तरको कार्यक्रममा सचिव सुवेदीले उक्त ऐन नआउँदा पनि शिक्षाका काम गर्नमा गम्भीर बाधा नभएको तर नयाँ ऐन आएपछि तीन तहका सरकारबीचको शैक्षिक अधिकार र दायित्व थप स्पष्ट हुने जनाउनुभएको हो ।    तराई मधेसमा बालिकाको शिक्षाको अवस्था झन कमजोर रहेकाले आफू प्रदेश सरकारको प्रमुख सचिव रहेका समयमा ‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रम र छोरी बीमाको रकम रु तीन लाख दिने गरी प्रबन्ध गरिएको स्मरण गराउनुभयो ।    बालश्रम र बाल विवाह अन्त्यका लागि बीमाको कार्यक्रम प्रभावकारी हुनुपर्ने बताउँदै उहाँले सरकार स्रोत साधनले भ्याएसम्म खुला र सकारात्मक सोचका लागि शिक्षामा सुधारका लागि प्रयत्नशील रहेको र यसमा सम्बन्धित सबै पक्षको उत्तिकै सहयोग आवश्यक भएको बताउनुभयो ।   कार्यक्रममा भारतस्थित एमभी फाउण्डेशनका राष्ट्रिय संयोजक आर बैंकट रेड्डीले भारतमा बालश्रम अन्त्यका लागि भएका प्रयास र उपलब्धिबारे अवगत गराउँदै विद्यालय बाहिर रहेका बालबालिका बालश्रमिक हुने भएकाले यस भाष्यलाई विश्वभर फैलाउन आवश्यक रहेको बताउनुभयो ।   पछिल्लो आँकडाअनुसार मधेस प्रदेशको साक्षरता दर ४९ दशमलव ५४ प्रतिशत रहेको छ । मधेस प्रदेशका आठवटै जिल्ला ९सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा० साक्षर घोषणा हुन सकेका छैनन् । यस प्रदेशमा सबैभन्दा कमजोर रौतहटमा ४१ दशमलव ६९ प्रतिशत र प्रदेशमा बढी साक्षर भएको जिल्ला पर्सामा ७६ दशमलव ९८ प्रतिशत साक्षरता दर रहेको छ । यस प्रदेशमा विद्यार्थी भर्नादर ५३ दशमलव तीन रहेको छ ।        शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले सरकारका निकाय र शिक्षक इमान्दार नभएसम्म शिक्षा शिक्षामा सुधार नहुने भएकाले नागरिक समाज र सञ्चार क्षेत्रले निरन्तर आवाज उठाउनुपर्ने बताउनुभयो । आसमान नेपालका कार्यकारी निर्देशक नवलकिशोर यादवले आफूहरुले ‘काम छोडाउ, स्कुल पठाउ’, ‘निक शिक्षा दिअ’ जस्ता अभियानबाट मधेस प्रदेशमा शिक्षाको सुधारका लागि २३ वर्षदेखि काम गर्दै आएको जनाउनुभयो ।

  काठमाडौं । बागमती प्रदेशभित्रका नागरिकलाई अत्यावश्यक रक्तसञ्चार सेवा निःशुल्क हुने भएको छ ।    प्रदेश सरकारले विपन्न नागरिक एवं आकस्मिक उपचारका लागि रक्तसञ्चार सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधिबमोजिम आर्थिकरुपले विपन्न नागरिकलाई यस्तो सेवा सुरु गरिएको हो ।    जिल्लामा पनि सेवा सञ्चालनका लागि स्वास्थ्य कार्यालय चितवनले क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरसँग सम्झौता गरेको छ । स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाई र नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्रका सभापति ज्ञानशाली न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । तीन वटा अस्पतालका प्रतिनिधिको रोहवरमा सम्झौता भएको हो ।       कार्यालयका प्रमुख चापागाईले असोज १ गतेबाट भरतपुर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र बकुलहर रत्ननगर अस्पतालमा उपचाररत बिरामीलाई रगत निःशुल्क उपलब्ध गराइने बताउनुभयो ।       कार्यविधिअनुसार एउटा बिरामीले एक वर्षमा १० युनिट रगत निःशुल्क पाउने छ । डायलासिस र रक्ततत्व आवश्यकपर्ने बिरामीका लागि थप १० युनिट निःशुल्क हुनेछ । आकस्मिक अवस्थामा रहेका घाइते र बिरामीलाई भने प्रदेश सरकारले जहाँका बिरामी भए पनि निःशुल्क उपलब्ध गराउने छ ।       बिरामीले निःशुल्क सेवा लिनका लागि आफू बागमती प्रदेशको वासिन्दा भएको खुल्ने कागजपत्र पेश गर्नुपर्ने हुन्छ । चापागाईले भन्नुभयो, “यो सेवा लिनका लागि आवश्यक कागजात पेश गर्नुपर्ने भएकाले सोहीअनुसार अनुरोध गर्दछु ।” निःशुल्क रगत लिनका लागि विपन्न नागरिक भएको स्वघोषणा गर्नुपर्ने हुन्छ । यसका लागि कुनै प्रमाण माग नगरी स्वघोषणा फाराम भरे पुग्ने गरी व्यवस्था गरिएको छ ।       कार्यालयले एक वर्षका लागि तीन हजार आठ सय युनिट रगतका लागि बजेट विनियोजन गरेको छ । हाल रगतका लागि केन्द्रले सेवा शुल्कबापत रु आठ सय ५० लिँदै आएको छ । जिल्लामा दैनिक एक सय ५० युनिट हाराहारी रगतको माग हुने गर्दछ । यहाँबाट माग पूर्ति गर्न नसकेर छिमेकी जिल्ला, काठमाडौँ, पोखरालगायतका ठाउँबाट रगत ल्याउने गरिएको छ । यस कार्यक्रमसँगै यहाँका तीनवटा अस्पतालमा उपचारका लागि आउने विपन्न वर्गका बिरामी प्रत्यक्ष लाभान्वित हुने भएका छन् । दुर्घटना, क्यान्सर र सुत्केरीले तीन अस्पतालमा धेरै रगत खपत हुँदै आएको छ ।

  कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित खल्ला मसेट्टी अहिले पनि यातायातका सञ्जालसँग जोडिएको छैन । विकासको पूर्वाधारबाट पछाडि परेको यो ठाउँ सडक सञ्जाल, विद्युत्, सञ्चारलगायत सेवा–सुविधाबाट बञ्चित छ ।    सदरमुकामबाट उत्तरतर्फ चुरेफेदमा करिब २० किलोमिटर टाढा रहेको यो बस्तीमा न यातायातको सहज पहुँच छ न त विद्यालय र खानेपानी नै छ । मोबाइलमा प्रायः नेटवर्क हुँदैन भने भएको बिजुलीको पनि भर हुँदैन । यहाँका स्थानीयले दुई दिनदेखि बिजुली बाल्न पाएका छैनन् ।  महेन्द्रनगरबाट करिब १३ किमी ब्रह्मदेवसम्म सुविधासम्पन्न सडक छ । ब्र्रह्मदेव कटेपछि यहाँ पुग्न कठिन बाटोको यात्रा गर्नुपर्छ ।   कच्ची ढुङ्गैढुङ्गाको जोखिमपूर्ण बाटो भएर यहाँ पुग्न सकिन्छ । यहाँका स्थानीय किनमेलका लागि पैदलै आठ किलोमिटर टाढाको ब्रह्मदेव बजार पुग्ने गरेका छन् । विसं २०६१ मा डडेल्धुराको रुपालबाट खल्ला मसेट्टी बसाइँसराइ आएका रतनसिंह ठगुन्नाले यहाँका स्थानीयले धेरै दुःख झेल्नुपरेको बताउनुभयो । “यहाँको मुख्य समस्या भनेकै बाटो हो, बाटो नहुँदा धेरै समस्या झेल्नुपरेको छ ।” उहाँले भन्नुभयो, “घरायसी सामान खरिदका लागि आठ किमी पैदल हिँडेर जानुपर्छ, आउनजान एक दिन पूरै लाग्छ ।”       उहाँले यातायातको सुविधा नहुँदा बिरामीको उपचार गराउन निकै समस्या झेल्नुपरेको बताउनुभयो । “गाउँमा उपचार गराउन स्वास्थ्य संस्था छैन, महेन्द्रनगर पुग्नुपर्छ ।” उहाँले भन्नुभयो, “खानेपानी छैन, मोबाइलमा नेटवर्क हुँदैन, बिजुली पनि नियमित छैन समस्या धेरै छन् ।” छ सय बढी जनसङ्ख्या रहेको यो बस्तीमा आधारभूत विद्यालयबाहेक अरु केही छैन । विद्यालय नभएकै कारण यहाँका बालबालिका पढ्नबाट बञ्जित हुने गरेको उहाँले बताउनुभयो । यहाँबाट ब्रह्मदेव पढ्नका लागि आठ किमी पैदल जानुपर्छ । “सुविधाका नाममा कक्षा ५ सम्मको मात्र विद्यालय छ ।” उहाँले भन्नुभयो, “विद्यालय नहुँदा स्कुल छाडेर कामका लागि धेरै कम उमेरमै भारत जाने गरेका छन् ।”       सडक सञ्जाल नहुँदा कष्टकर जीवन बिताउनुपरेको यहाँका स्थानीय  सडक भएपछि अन्य समस्या विस्तारै समाधान हुँदै जाने थिए”, उहाँले भन्नुभयो, “बिरामी हुँदा सबैभन्दा बढी समस्या झेल्नुपर्छ, हिँडेर जान पनि बाटो राम्रो छैन ।”    उहाँले नेपाल टेलिकमको टावर यहाँ रहे पनि नेटवर्क समस्या बेले–बेला भइरहने बताउनुभयोे । उहाँका अनुसार यहाँका बासिन्दाले भारतीय सिमकार्ड प्रयोग गर्ने गरेका छन् । “सबैभन्दा बढी समस्या वर्षात्का बेला हुने गरेको छ हिउँदमा मोटरसाइकलमा ओहोर–दोहोर गर्न सजिलो हुन्छ”, उहाँले भन्नुभयोे, “दैनिक उपभोग गर्ने सामग्री ल्याउन समस्या झेल्नुपर्छ ।”        यहाँ पक्की बाटो बन्ला र गाडी गुड्ला भन्ने आशामा दशक बितेको स्थानीय सुमित्रा थापामगरले बताउनुभयो । “यहाँ गाडी आउँछ भनेकै २० वर्ष भइसक्यो भोट माग्ने बेलामात्रै आश्वासन दिन्छन्”, उहाँले भन्नुभयो, “यहाँ सुविधाका नाममा केही पनि छैन । खोलाको पानी खान बाध्य छौँ ।” उहाँले गाउँमा सुविधासम्पन्न स्वास्थ्यचौकी नहुँदा धेरैपटक बिरामीलाई बोकेरै ब्रह्मदेव बजारसम्म पु¥याएको बताउनुभयो ।    राज्यको सेवासुविधा लिन पनि यहाँका स्थानीयलाई धेरै कठिन हुने गरेको छ । महाकाली किनारको जोखिमपूर्ण बाटो भएर ब्रह्मदेव पुग्नुपर्छ । वडा कार्यालय पनि ब्रह्मदेवमा भएकाले यहाँका स्थानीयले वडाबाट पाउने सेवा–सुविधा सहजरूपमा पाउन नसकेको स्थानीय मानमति धामीले बताउनुभयो । “सरकारबाट धेरै टाढा छौँ, गाउँमा सरकार आयो भन्छन्, हाम्रा दिन फेरिएका छैनन् ।” उहाँले भन्नुभयो, “एउटा सिफारिस लिन पनि एक–दुई दिन लाग्छ ।”        भीमदत्त –९ का वडाध्यक्ष गगनसिंह कार्कीले यहाँको विकासका लागि नगरपालिका र प्रदेश सरकारसँग आग्रह गरेको जानकारी दिनुभयो । उहाँले यहाँका स्थानीयको भेला गरेर समस्या पहिचान गरी नगर र प्रदेश सरकारलाई विभिन्न योजना माग गरिएको बताउनुभयो । “सडक निर्माण खोलामा पुल र खानेपानीका लागि नगर र प्रदेश सरकारलाई वडाबाट लेखेर पठाएका छौँ ।” उहाँले भन्नुभयो, “यहाँ विद्यालय र अन्य आधारभूत समस्याका लागि पनि प्रदेश सरकारलाई माग गरेका छौँ ।” उहाँले यहाँको विकासका लागि आफू लागिरहेको बताउनुभयो । अर्थावस्था कमजोर भएका नागरिकको बसोबास रहेको यो बस्तीका अधिकांश पुरुष जीविकोपार्जनका लागि भारतमा श्रम गर्न जाने गरेका छन् । 

  भोजपुर । यहाँ पहिलोपटक पशुचौपायाको  कृत्रिम गर्भाधान (फार्टिलाइजेसन) सेवा सुरुआत गरिएको छ । नश्ल सुधार गरेर पशुलापनमा संलग्न किसानको आयआर्जनमा वृद्धि गर्ने लक्ष्यले सो सेवा सुरु गरिएको हो ।   यहाँका धेरै किसान पशुपालनमा लागेका भए पनि गाई र भैँसीको नश्ल राम्रो नहुँदा सोचेजस्तो आम्दानी लिन नसकिरहेको  जनाइएको छ ।  पशुको नश्ल सुधार गरेर मासु तथा दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले पहिलोपटक निःशुल्क कृत्रिम गर्भाधान सेवाको सुरुआत गरेको भोजपुर नगरपालिकाका भेटेरेनरी शाखाका प्रमुख सन्तोष कटुवालले जानकारी दिनुभयो ।    पशुको वंशाणु विकास गरेर पशुपालक किसानलाई थप लाभान्वित बनाउन कृत्रिम गर्भाधान गर्न सुरु गरिएको नगरपालिकाले जनाएको छ । किसानका गोठमा पुगेर गर्नुपर्ने अवस्थामा भने सामान्य यातायात खर्च लाग्ने कृषि शाखाले जनाएको छ । जिल्लाका अन्य आठ स्थानीय तहमा पनि यसै वर्षदेखि कृत्रिम गर्भाधान  सेवा सञ्चालन गरिने भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सम्पर्क कार्यालयका प्रमुख सुन्दरलाल यादवले जानकारी दिनुभयो ।   तरल नाइट्रोजन एक सय ९६ डिग्री सेल्सियसको चिसोपनमा राँगा र साँढेको शुक्राणुलाई लामो समयसम्म सुरक्षित राख्ने गरिन्छ ।  गाई–भैँसीमा कृत्रिम गर्भाधान गराउँदा उत्पादन वृद्धि तथा विकास हुने जनाइएको छ । यसबाट उन्नत जातका पशु उत्पादन हुने भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सङ्खुवासभा, भोजपुरका प्रमुख हिमालयन पोखरेलले बताउनुभयो । 

  बर्दिया । बर्दियाको मधुवन नगरपालिका–२ को कुश्मीनिया सामुदायिक वनमा भैँसी चराउन गएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ ।    आइतबार उक्त सामुदायिक बनमा भैँसी चराउन गएका मधुवन नगरपालिका–२ अमरपुरका ६१ वर्षीय झोठारु थारुको बाघको आक्रमणबाट मृत्युभएको हो ।   स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय पालिका र डिभिजन वन कार्यालय बर्दियाको संयुक्त टोलीले खोजतलास गर्दा सामुदायिक वनमा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय ढोढरीले जानकारी दिएको छ ।     आइतबारदेखि हराइरहेका वृद्धाको आज बिहान शव फेला परेको सशस्त्र प्रहरी बल बिओपी भग्रैयाका सशस्त्र प्रहरी निरीक्षक किरण केसीले जानकारी दिनुभयो ।

  काठमाडौं । सुदूरपश्चिमका उच्च पहाडी जिल्लामा डेङ्गुको सङ्क्रमणबाट स्थानीय बासिन्दा बिरामी पर्न थालेका छन् । जलवायु परिवर्तनका कारण वायुमण्डलमा तापक्रम बढ्दा पहाडी क्षेत्रमा डेङ्गु सार्ने लामखुट्टे पाइन थालेपछि बिरामीको सङ्ख्या बढ्न थालेको जनाइएको छ ।   सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कार्यक्रम सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार प्रादेशिक र जिल्ला अस्पतालमा उपचारका लागि पुगेका एक सय ७९ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ ।   उच्च पहाडी जिल्ला बाजुरामा आठ, दार्चुलामा ३६, बझाङमा आठ, अछाममा १५ र बैतडीमा नौ जनामा डेङ्गुका बिरामी देखापरेको छ । यसैगरी डोटीमा १५, कैलालीमा ५४ र कञ्चनपुरमा ३४ जनामा डेङ्गु देखापरेको छ ।   “पहाडी क्षेत्रमा पहिला डेङ्गु, मलेरियालगायतका लामखुट्टेले सार्ने रोग देखिने गरेका थिएनन्” सम्पर्क व्यक्ति जोशीले भन्नुभयो, “पहाडी क्षेत्रमा सडकको व्यवस्था भएसँगै यातायातका साधनको चहलपहल बढ्न थाल्यो, त्यसमै लामखुट्टेसमेत भित्रिन थाले, त्यसमाथि जलावायु परिवर्तको असरसमेत पर्यो  ।”   पहिला सर–सामान ल्याउनका लागि वर्षमा दुई–तीनपटक मात्रै पहाडी क्षेत्रका बासिन्दा तराई झर्ने गरेको उल्लेख गर्दै उहाँले पहिला औलो र डेङ्गुको त्यति खतरा नभएको बताउनुभयो । यातायातका साधनमा चहलपहल बढेसँगै लामखुट्टेले सार्ने रोगको जोखिमसमेत उत्तिकै बढेको उहाँले बताउनुभयो । पहाडी क्षेत्रमा विशेषगरी खोँच, उपत्यका, नदी तथा खोलामा बढी न्यानो हुने ठाउँमा लामखुट्टे बढी पाइने गरेको उहाँको भनाइ छ ।   “स्वास्थ्य निर्देशनालयले डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यक प्रशिक्षण दिने कार्य गरेको छ”, उहाँले भन्नुभयो, “आवश्यक जाँचका लागि किट उपलब्ध गराउने कार्य गरिरहेको छ । पहाडीसहित तराईका जिल्लामा  जनचेतना फैलाउने कार्यसँगै डेङ्गु सार्ने लामखुट्टेका लार्भा नष्ट गर्ने अभियानसमेत सञ्चालन गरिएको छ ।”   उहाँका अनुसार डेङ्गुको सङ्क्रमण जेठदेखि असोजसम्म बढी देखिने गरेको छ । त्यसपछि विस्तारै घट्दै जान्छ । दुई–तीन वर्षअघिदेखि मात्रै डेङ्गुको सङ्क्रमणबाट बिरामी हुनेको सङ्ख्या बढ्दै गएको छ । त्यसअघि डेङ्गुको सङ्क्रमण सुदूरपश्चिममा निकै कम थियो ।   डेङ्गु ज्वरो भाइरसका कारण लाग्ने भएकाले यसको कुनै किसिमको विशेष उपचार छैन । अस्पताल पुगेका बिरामीको लक्षणका आधारमा उपचार गरिन्छ । एडिस एजिप्टी र एडिस एल्वोपिक्टस प्रजातिका लामखुट्टेको टोकाइबाट डेङ्गु सार्ने गर्दछ । डेङ्गु सार्ने लामखुट्टेका गमला, फूलदानी, कुलर, टायरलगायतको सफा पानीमा लार्भा बस्ने भएकाले समय–समयमा पानी फाल्ने कार्य गर्नु पर्दछ ।     गमलाको प्लेट, फूलदानी, कुलर, टायरमा जम्मा भएको पानी कम्तीमा हप्तामा एकपटक फेर्ने, पानी जम्मा गर्ने भाँडोलाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, साँझ बिहान घरबाहिर जाँदा लामखुट्टले नटोकोस् भनेर सावधानी अपनाउनुपर्छ ।

बागलुङ :  बागलुङ नगरपालिका–११ रायडाँडाको तल्लो रामतोला बस्तीका घर, खरबारी र सुन्तलाको बगानमा समेत चिरा पर्दै पहिरो खसेको छ ।   पहिराले ११ घरका बासिन्दा सात दिनदेखि घरमा बस्न सकेका छैनन् । घरमाथि पहिरो थुप्रिएर बसेको छ भने घरको आँगन चिरिएको छ ।  केही घरगोठ बगेका छन् भने केही चिरा परेका छन् । पहिराले बग्ने डरले अधिकांश घरका बासिन्दाले घर खाली गरेर अन्यत्र सरेर बसेका हुन् ।    डाँडै पहिरो खसेपछि जोखिममा परेको बागलुङ नगरपालिका–११ को रायडाँडास्थित रामतोलामा नगरप्रमुख र उपप्रमुखसहित सुरक्षा निकाय पुगेका छन् । एक साताअघि खसेको पहिरो अनुगमन गरेर बस्तीको सुरक्षाबारे टोलीले योजना बनाउने बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताउनुभयो । पहिरोले रामतोलाको गैराघर भन्ने स्थानमा एक दर्जन घर जोखिममा परेका छन् ।    पहिराले रामतोलाको बस्तीमा जोखिम पर्नुका साथै खानेपानी र विद्युत्का पोल पनि बगाएको छ । “पानीका दुईवटा ट्याङ्की नै बगेकाले खानेपानीको हाहाकार छ”, स्थानीय ढालनाथ शर्माले भन्नुभयो, “हामी त घर न घाटको भएका छौँ, अब कहाँ बस्ने, के खाने” ।    उहाँले दुःख गरेर बनाएको घरगोठ भत्केपछि नयाँ बनाउने चिन्ताले सताएको बताउनुभयो । उहाँले अनुगमन टोलीसँग पनि रुँदै आफ्नो दुःखेसो पोख्नुभयो । जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी रमेश ढकालले पनि पहिरो अनुगमन गर्नुभएको छ । टोलीमा समितिका अन्य पदाधिकारी तथा सुरक्षा प्रमुखहरू थिए । पहिराले दुईवटा खानेपानीका ट्याङ्की बगाएपछि सात दिनदेखि तल्लो रामतोला बस्तीमा खानेपानीको अभाव भएको हो । बिजुली नभएपछि स्थानीयले झाडी फाँडेर नयाँ पोल गाड्ने र तार टाँग्ने काम गरिरहेका छन् ।    यहाँका दर्जनौँ विद्युत्का पोल ढलेकाले जतासुकै तार लत्रेको देख्न सकिन्छ । तल्लो रामतोला सातादेखि अन्धकार रहेको स्थानीय नन्दकली केसीले बताउनुभयो । “अहिले टोली आएको छ भनेर घरमा आइयो, नत्र हामी गाउँ छाडेर बसेका छौँ”, उहाँले भन्नुभयो, “अनुगमन आएका टोली देख्दा रमाइलो लाग्यो, नत्र रित्तो घरमा आउन मनै लाग्दैन ।” रायडाँडाको तल्लो रामतोला बस्तीका घर, खरबारी र सुन्तलाको बगानमा समेत चिरा पर्दै पहिरो खसेको थियो । पहिराले ११ घरका बासिन्दा सातादेखि घरमा बस्न सकेका छैनन् । केही घरगोठ बगेका छन् भने केही चिरा परेका छन् । पहिराले बग्ने डरले अधिकांश घरका बासिन्दाले घर खाली गरेर अन्यत्र सरेर बसेका हुन् ।    दशकअघि खुलेको सडकको ट्रयाक र खरबारीमा रहेका पानीका ट्याङ्कीबाट रसाएको पानीले पहिरो खसेको स्थानीयले अनुमान गरेका छन् । अनुगमन टोलीले पनि पानीकै कारण पहिरो खसेर बगेको अनुमान लगाएका छन् । सातापछि पुग्दा पनि पहिरो निरन्तर खसेको छ । निरन्तर खसेकोले आसपासमा पुग्न पनि जोखिम छ ।    पहिराले जैमिनी नगरपालिका–१ को ओडारका घरमा पनि जोखिम बनाएको छ । नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बस्तीलाई सुरक्षित स्थानमा राख्न सके राम्रो हुने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले एकीकृत बस्तीको अवधारणा ल्याएर बस्ती सार्न सके राम्रो हुने धारणा राख्नुभएको छ । यसका लागि पहल गर्न उहाँले वडाध्यक्षलाई आग्रह गरेको बताउनुभयो । एकीकृत बस्ती बनाउन सकेमा खानेपानी, विद्युत् र अन्य सेवा जडानमा सहज हुने जनाइएको छ ।   निरन्तर पहिरो खसिरहेकाले उक्त बस्तीमा सहजै बस्न सकिने अवस्था छैन । पहिरो नियन्त्रण गर्ने अवस्था नभएको प्राविधिकको सुझाव छ । “पहिरो नियन्त्रणमा लाग्नुभन्दा बस्ती नै सार्दा सजिलो र सुरक्षित होला”, इञ्जीनियर त्रिलोचन गिरीले भन्नुभयो, “यो पहिराले माथिल्लो बस्तीमा पनि जोखिम बढाएको छ ।” पानी परेमा पहिरो झनै बढ्न सक्ने उहाँले बताउनुभयो । विस्तारै खसेकाले समयमा घरपरिवार सार्न सकिए पनि पुनः घर फर्कने वातावरण बनाउन कठिन हुने उहाँले बताउनुभयो । “सात–आठ घर त पहिरो खस्दा खस्दै सार्न लगायौँ, उहाँहरु अहिले सुरक्षित स्थान खोजेर बस्नुभएको छ”,उहाँले भन्नुभयो, “पहिराले निरन्तर दबाब दिएर बस्तीमा चिरा परेको छ ।”

  पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले जुवा खेल्ने ८ जनालाई पक्राउ गरेको छ ।     पोखरा महानगरपालिका वडा नं. १३ बस्ने सूर्य कुमारी गुरुङको घरमा जुवा खेलिरहेका अवस्थामा नगद १ लाख ७ हजार २ सय ५५ रुपिया र २ सय ११ पत्ति तास सहित ८ जना व्यक्तिलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।   पक्राउ पर्नेमा तनहुँ देवघाट स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिक वडा नं.१३ मियापाटन बस्ने घरधनी वर्ष ४४ की सुर्य कुमारी गुरुङ, जिल्ला सर्लाही घर भई हाल जिल्ला कास्की पोखरा  ११ रानीपौवा बस्ने वर्ष ३८ को ललित कुमार बस्नेत, सोही स्थान बस्ने वर्ष ३५ को रूपक बस्नेत , बागलुङ जैमिनी नगरपालिका ७ घर भई हाल  कास्की पोखरा ११ फुलबारी बस्ने वर्ष ४० को दिपक खड्का, जिल्ला कास्की पोखरा ७ बस्ने वर्ष ३१ को सुर्य थापा,  जिल्ला धादिङ निलकण्ठ नगरपालिका ४ घर भई हाल कास्की पोखरा ११ बस्ने वर्ष ३७ को रमेश ठकुरी, जिल्ला कास्की पोखरा १३ बस्ने वर्ष ४० को आश बहादुर गुरुङ र  जिल्ला लमजुङ राईनाश नगरपालिका  १० घर भई हाल जिल्ला कास्की पोखरा १० बस्ने वर्ष ४४ कमला गुरुङ रहेका छन् ।    नियन्त्रणमा रहेका दोषी व्यक्तिहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट दश दिनको  म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।