पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

  काठमाडौं । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले बालबालिकालाई भोलिका दिनमा जिम्मेवार नागरिक बनाउन सम्वन्धित पक्षलाई लागि पर्न आब्हान गर्नुभएको छ । बाल दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारीगर्दै प्रदेश प्रमुख शर्माले बालबालिकाको सवालमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानहरुको स्थानीय, प्रदेश तथा सङ्घ तीनै तहका सरकारबाट प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ ।    प्रदेश प्रमुख शर्माले सन्देशमा नेपालको संविधानले बालबालिकाको सर्वाङ्गीण विकासका लागि बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता जस्ता अधिकार व्यवस्था गरेको उल्लेख गर्नुभएको छ ।    ‘बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नारासहित आज मनाइँदै गरिएको ५८औँ राष्ट्रिय बाल दिवसका सन्दर्भमा सम्पूर्ण बालबालिका तथा अभिभावकहरुमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु”, प्रदेश प्रमुख शर्माद्वारा जारी सन्देशमा भनिएको छ ।

  चितवन । नेपालको पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज यही असोज ४ गते ५० औँ वर्ष प्रवेशका अवसरमा स्वर्ण वर्ष मनाउने भएको छ । विसं २०३० असोज ४ गते यो निकुञ्ज स्थापना भएको हो ।       निकुञ्जले आफ्नो स्वर्ण वर्ष भरि विविध कार्यक्रमको आयोजना गरी मनाउने भएको हो । असोज ७ गते औपचारिक कार्यक्रमगरी स्वर्ण वर्ष शुभारम्भ गरिँदैछ । निकुञ्ज परिसर कसरामा स्वर्ण वर्षको शुभारम्भ गरिने निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो ।       महोत्सवमा स्मारिका प्रकाशनगर्ने, स्वर्ण स्तम्भ अनावरण गर्ने, मध्यवर्ती क्षेत्रका बोटे, कुमाल, थारू, गुरुङ, मगर, तामाङ, दरै आदि समुदायको संस्कृति प्रदर्शन जस्ता कार्यक्रमहरु आयोजना गरिने तिवारीले जानकारी दिनुभयो ।     चितवन राष्ट्रिय निकुञ्ज ९५२.६३ वर्ग किमि फैलिएको छ । सन् १९८४ मा विश्व सम्पदा सूचीमा सूचीकृत यस निकुञ्जमा गैँडा, पाटे बाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिङ्गे, बाँदर र लङ्गुरलगायत ६० भन्दा बढी किसिमका स्तनधारी जङ्गली जनावरहरू पाइन्छन् ।      यसैगरी घडियाल गोही, मगर गोही, अजिङ्गरलगायत सरिसृप तथा उभयचर, बसाइँ सरी आएका र रैथाने गरी पाँच सय ४६ भन्दा बढी जातका चराचुरुङ्गी एवं विभिन्न किसिमका कीरा फट्याङ्ग्राहरूले यस निकुञ्जलाई अझ धनी बनाएका छन् । यिनै प्राकृतिक महत्वका वस्तुहरूको संरक्षणलाई ध्यानमा राखी सन् १९८४ मा चितवन राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो । यस निकुञ्जले चुरे पहाड, राप्ती, नारायणी र रिउ नदीका मुख्य क्षेत्रहरूलाई समेटेको छ । निकुञ्जको करिब ७० प्रतिशत वन क्षेत्र सालको जङ्गलले ढाकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताउनुभयो ।      संरक्षणमा गरिएको प्रयासस्वरुप यस निकुञ्जमा हाल पाटेबाघको सङ्ख्या एक सय २८ र गैँडाको सङ्ख्या ६ सय ९४ पुगेको छ । पछिल्लो एक वर्षयता चोरी सिकारीबाट गैँडा मारिएका छैनन् । यस निकुञ्ज स्थापनासँगै विसं २०५३ मा मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति गठन गरिएको थियो ।       व्यवस्थापन समितिको क्षेत्रफल ७२९ दशमलव ३७ वर्गकिलोमिटर रहेको छ । यस राष्ट्रिय निकुञ्ज प्रदेश नं २, ३ र ४ का  चितवन, मकवानपुर, पर्सा र  नवलपरासी जिल्लाका केही भू–भागहरूमा फैलिएको छ । निकुञ्जमा एक महानगरपालिका, आठ नगरपालिका र तीन गाउँपालिका पर्दछ । ती पालिकामा दुई लाख ५० हजारभन्दा बढी जनसङ्ख्या बसोबास गर्दछन् । मध्यवर्ती क्षेत्र स्थापनासँगै निकुञ्जमा उठेको पर्यटन राजश्वको ५० प्रतिशतसम्म मध्यवर्ती क्षेत्रमा संरक्षण शिक्षा, भौतिक पूर्वाधार लगायतमा खर्च गरिँदै आएको छ ।      हालसम्म रु एक अर्बभन्दा बढी रकम मध्यवर्तीमा खर्च भइसकेको छ । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले मध्यवर्ती स्थापनासँगै जनता र निकुञ्ज बीचको द्वन्द्व घटेर संरक्षणमा सहयोग पुगेको बताउनुभयो । पुराना ऐन कानुनका कारण मध्यवर्तीका बासिन्दालाई केही अफ्ठ्याराहरु भएको भन्दै तिनीहरुलाई संशोधन गरेर संरक्षणमा जुट्नुपर्ने उहाँको भनाइ छ । निकुञ्ज स्थापनाको ५० औँ वर्षको अवसरमा वर्षभरिनै संरक्षणसँग सम्वन्धित विभिन्न गतिविधिहरु गरिँदै छ । 

  बागलुङ । “घाउ चहराएर आएका नागरिकले मेरो जग्गामा आएर मल्हम लगाउन पाउन, मलाइ यहाँभन्दा ठूलो सन्तुष्टि केही छैन, यो नै मेरा लागि ठूलो धर्म हो”, बागलुङ नगरपालिका–७ स्थित मुलपानी स्वास्थ्य चौकीको भवन शिलान्यास समारोहमा मङ्गलबार जग्गा दाता ८२ वर्षीय मेघराज पाण्डेले बोलेको मार्मिक शब्द हो यो ।    उहाँले स्वास्थ्य चौकीको जग्गा अभावकै कारण भवन बन्न नसकेपछि आफ्नै घरगोठ भएको जग्गा स्वास्थ्य चौकीका नाममा दिनुभएको छ । आफ्नो जीवन अध्यापनमै बिताउनुभएका पाण्डेयले ऊर्जाशिल समय त्यही स्वास्थ्य चौकीको भवन शिलान्यास गरिएको जग्गामा रहेको आफ्नो मुल घरमा बिताउनुभयो ।    सोही जग्गामा हुर्केर छोराछोरी लालन पालन गर्दै त्यहीँको विद्यालयमा अध्यापन गराउनुभएका पाण्डेले २०५४ सालमा अवकासपछि मात्रै बागलुङ बजारमा बसाइँसराइँ गर्नुभएको थियो । “जुन जग्गामा आज स्वास्थ्य चौकीको भवन बन्नका लागि शिला राखियो त्यही जगमा मेरो जन्म घर थियो, घर अलि पहिल्यै भत्कियो तर गोठ स्वास्थ्य चौकीको भवन निर्माणका लागि जग्गा व्यवस्थापन गर्ने क्रममा भत्केछ, मलाई आफ्नो घर गोठभन्दा स्वास्थ्य चौकी ठूलो हो”, जग्गा दाता पाण्डेले भन्नुभयो ।   पाण्डेले नौ रोपनी जग्गामा फैलिएको जग्गामध्ये स्वास्थ्य चौकीलाई आवश्यक चार रोपनी जग्गा दिएपछि भवन निर्माण थालिएको हो । उहाँले स्वास्थ्य चौकीलाई आवश्यक परे अन्य जग्गासमेत प्रयोग गर्न दिने आश्वासन दिनुभयो ।   मुलपानीको कालीमाटीबाट साँघुरो जीर्ण भवनबाट सेवा दिँदै आएको स्वास्थ्य चौकीको नयाँ भवन बनाउनका लागि बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले शिलान्यास गर्नुभएको हो । शिलान्यासपछि जग्गादाता मेघराज पाण्डेलाई उपप्रमुख खड्काले नगरपालिकाका तर्फबाट सम्मानसमेत गर्नुभएको थियो ।     रु एक करोड ७० लाखमा जुम्ली निर्माण सेवाले मुलपानी स्वास्थ्यचौकी निर्माण लागि २०७९ वैशाख २२ गते ठेक्का सम्झौता गरेको थियो । आगामी २०८० वैशाख १९ गतेभित्रै भवन निर्माण सक्ने गरी निर्माण कम्पनीले स्वास्थ्य चौकीको भवनका लागि पिल्लर राख्ने काम गरिरहेको छ । अहिले मुलपानी स्वास्थ्य चौकीले तीनकोठे जीर्ण भवनबाट सेवा दिँदा असहज भएकाले नयाँ भवनसँगै सेवामा वृद्धि गर्न सकिने मुलपानी स्वास्थ्य चौकीका इन्चार्ज महेन्द्र शर्माले जानकारी दिनुभयो ।   नागरिकको स्वास्थ्य सेवाका लागि साँघुरो र अपायक पर्ने जग्गाबाट स्वास्थ्य सेवा दिइरहेपनि हाल कालिमाटी गाउँको सडक छेउमै भवन बन्न थालेकाले नागरिकलाई सहज हुँने वडाअध्यक्ष मेघराज शर्माले जानकारी दिनुभयो । 

  झापा । सामुदायिक कुकुरको सङ्ख्या न्यूनीकरण गर्दै लैजाने योजनाअनुसार अर्जुनधारा नगरपालिकाले यस वर्ष दुई सयवटा कुकुरको बन्ध्याकरण गरेको छ । बन्ध्याकरण गरिएका कुकुरमा अधिकांश हुर्किदो छाउरा छन् ।   नगरपालिकाको पशुपक्षी तथा मत्स्य विकास शाखाले विगत तीन वर्षदेखि नगर क्षेत्रमा रहेका सामुदायिक कुकुरको बन्ध्याकरण शिविर चलाउँदै आएको छ । कुकुरलाई रेविज रोगविरुद्ध खोपसमेत लगाइने गरिएको छ ।    पोखराको हिमालयन एनिमल रेस्क्यू ट्रस्ट (हार्ट) नेपालसँगको सहकार्यमा बन्ध्याकरण र खोप कार्यक्रम एकसाथ सञ्चालन भइरहेको शाखाका प्रमुख पदमलाल राईले बताउनुभयो । सोमबार सुरु भएको अभियान मङ्गलवार सम्पन्न भएको थियो ।    गाउँ–सहरमा जताततै सामुदायिक कुकुरको सङ्ख्या बढ्दै गएको र घरपालुवा कुकुरको रेखदेख घरधनीले गरे तापनि सामुदायिक कुकुर नियन्त्रण बाहिर रहने गरेका कारण बन्ध्याकरण गर्नुपरेको नगरपालिकाले जनाएको छ । कुकुरले टोकेमा मानिस र पशुमा रेबिज रोग सङ्क्रमण हुने त्रास बढ्दो छ । सामुदायिक कुकुर नियन्त्रणका लागि बन्ध्याकरण उपयुक्त उपाय हुने भएकाले अभियान चलाइएको उहाँले बताउनुभयो ।   शिविरमा पशु चिकित्सक सोनिया गुरुङ, सुदिप्पी पनेरु र हिमांशु पोखरेलको नेतृत्वमा कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप लगाइने कार्य भएको थियो । बन्ध्याकरणले कुकुरको सङ्ख्या घटाउन सहयोग पुग्ने र खोपबाट रेविज रोग लाग्नै नपाउने अपेक्षा गरिएको छ । गत वर्ष अर्जुनधारा नगरपालिकामा रेविजकै कारण एक व्यक्तिको मृत्यु भएको थियो भने गाईवस्तुसमेत मरेका थिए ।    प्राविधिक सहयोग पुर्याउँदै आएको हार्टले झापाको अर्जुनधारासहित विर्तामोड र भद्रपुर नगरपालिकासँगको सहकार्यमा यस वर्ष छ सयभन्दा बढी सामुदायिक कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप लगाउने लक्ष्य लिएको बताइएको छ ।

नवलपुर:  नवलपुरको विनयी त्रिवेणी गाउँपालिकास्थित दुम्किबास क्षेत्रमा बाघले मानिसलाई आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।    चार दिनको अन्तरालमा दुम्किबासबाट सर्दी जानेबाटोमा दुईपटक बाघले मानिसलाई आक्रमण गरेपछि यस क्षेत्रका स्थानीय त्रसित बनेका हुन् । गत शुक्रबारमात्रै विनयी त्रिवेणी गाउँपालिका–३ बस्ने २१ वर्षीय सुवास विकलाई बाघले आक्रमण गरेको थियो ।   विनयी त्रिवेणी– १ होङ्सी जाने गेट नजिकै मोटरसाइकलमा सवार रहँदा बाघले उहाँमाथि आक्रमण गरेको थियो । बाघको आक्रमणबाट विकको खुट्टामा चोट लागेको छ । कृष्ण विकले चलाएको मोटरसाइकलमा सवार सुवासलाई बाघले आक्रमण गरी तान्दै गर्दा सँगै रहेको ट्रक चालकले ट्रकले लखेटेपछि उहाँको ज्यान जोगिएको थियो । मङ्गलबार सोही क्षेत्रमा बाघले मानिसलाई आक्रमणको प्रयास गरेको छ ।   मोटरसाइकलमा सवार दुई जनालाई बाघले आक्रमणको प्रयास गरेको विनयी त्रिवेणी–३ सर्दीका स्थानीय यादव पौडेलले बताउनुभयो । दुम्किबासबाट सर्दी मोटरसाइकलमा जाँदै गर्दा सर्दी निवासी दुर्गाप्रसाद पौडेल र रवि जिसीलाई बाघले आक्रमणको प्रयास गरेको हो । दुवै जनाले भागेर ज्यान जोगाउन सफल भएको पौडेलले जानकारी दिनुभयो ।   दुम्किबासबाट होङ्सी जाने गेट हुँदै सर्दी जाने बाटो भएर आवतजावत गर्दा बाघको आक्रमण जोखिम बढेको छ । गत वर्ष दुम्किबास क्षेत्रमा बाघको आक्रमणबाट तीन जनाले ज्यान गुमाएका थिए । गत वर्ष बाघले लगातार मानिसलाई आक्रमण गरेपछि नरभक्षी बाघ नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जबाट हात्तीसहित सुरक्षाकर्मी परिचालन गरिएको थियो । तर नरभक्षी बाघ नियन्त्रणमा लिने प्रयास असफल बनेको थियो ।   अहिले फेरि लगातार सोही क्षेत्रमा बाघले आक्रमण गर्न थालेपछि स्थानीय चिन्तित बनेका छन् । बाघ सोही क्षेत्रमा रहेको र कुनै पनि समय मानिसलाई आक्रमण गरी मानवीय क्षति पु¥याउन सक्ने भन्दै समयमै सम्बन्धित निकायले यसको नियन्त्रणका लागि पहल गर्नुपर्ने स्थानीयवासीको माग छ । “लगातार बाघले आक्रमण गर्न थालेको छ, कुनै पनि समय मानवीय क्षति हुनसक्छ, सम्बन्धित निकायले समयमै क्षति हुन नदिन सचेत हुनुपर्छ”, स्थानीय यादव पौडेलले भन्नुभयो, “यो बाटो भएर हिँडडुल गर्दा समेत सबैले सावधानी अपनाउन आवश्यक छ ।”

तनहुँ  :  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो अभिव्यक्तिलाई लिएर पानी बन्द गरिनु न्यायपूर्ण हुन नसक्ने बताउनुभएको छ ।    तनहुँको म्याग्दे-१ गुणादीका स्थानीयवासीले दमौली आउने पानी बन्द गरिदिएपछि पौडेलले आज प्रेस विज्ञप्ति जारी गरी आफ्नो भनाइलाई विभिन्न माध्यमबाट तर्कसहितका व्याख्यासहित प्रेसित हुँदा गुणादीवासीको भावनामा ठेस पुगेकामा क्षमायाचना गर्नुभएको छ ।    वरिष्ठ नेता पौडेलले एकआपसमा सरसल्लाह गरेर समस्याको समाधान खोज्न सम्बन्धित सबैमा आग्रह गर्नुभएको छ । शुक्रबार दमौलीमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले गुणादीको पानीका विषयमा बोलेपछि स्थानीयवासीले त्यसबारेमा आपत्ति जनाउँदै दमौली आउने पानीको मुहान बन्द गरी दिएका छन् ।   पौडेलले जनताको स्वास्थ्य र जनताको हित विपरीत कुनै काम गर्नु राम्रो नभएको बताउँदै त्यसतर्फ ध्यान पुर्‍याउन आग्रह गर्नुभएको छ । गुणादीका स्थानीयवासीले पानीको मुहान बन्द गरिदिएपछि दमौलीमा पानीको अभाव सुरु भएको छ । 

  कैलाली । कैलालीको टीकापुरका निर्मला चौधरीको जीवनमा विभिन्न खाले समस्या आइरहन्छन् । उहाँ समस्या पर्दा श्रीमान्लाई सबैभन्दा पहिले सम्झनुहुन्छ । आर्थिकलगायतका समस्या हुँदा उहाँ श्रीमान्सँग सल्लाह गर्ने, मनलाई बलियो बनाउने गर्नुहुन्छ । “समस्याबिनाको जीवन हुँदैन, आर्थिकलगायतका विभिन्न समस्या झेल्नुपर्छ । मलाई पनि विभिन्न समस्या पर्दै आएका छन्”, उहाँ भन्नुहुन्छ, “आर्थिक समस्या पर्दा श्रीमान्सँग सल्लाह गर्छु । अन्य समस्या पनि पर्छन् । तिनको समाधानका लागि अरुलाई सहयोग माग्ने गर्छु तर समाधान छैन भन्दै पीर मानेर बस्दिनँ ।”   जुन्नी चौधरी पनि आर्थिक अभावजस्ता समस्या हुँदा श्रीमान्सँग माग्ने, गाउँमा भएको समूहबाट ऋण लिने गर्नुहुन्छ । अन्य खाले समस्या परेमा गाउँकै बडघर र भल्मन्साको सहयोग लिनेजस्ता कार्य गर्नुहुन्छ । “हाम्रो समाजमा बडघर, भल्मन्सा र जनप्रतिनिधि छन् । हामी उनीहरुको सहयोगमा समस्या समाधान गर्छौँ”, जुन्नी भन्नुहुन्छ, “बच्चा बिरामी हुन्छन्, गाइभैँसी बिरामी हुन्छन्, आर्थिक अभाव हुन्छ, खेतीपाती गर्दा सहयोगी चाहिन्छन् । यी सबै समस्यामा साथ र सहयोग लिन्छु, तनावमा बसेर फाइदा छैन ।”   मानिसको जीवनमा समस्या आइरहन्छन् । समस्या, अभाव, दुःख, खुसी जीवन चलाउने माध्यम हुन् । खुसीले उमङ्ग दिन्छ भने समस्याले समाधानको खोजी गर्न र हिम्मतिलो बनाउँछ । समस्याले नै मानिसलाई सङ्घर्ष गर्न सिकाउनुका साथै हिम्मतिलो बनाउने गर्छ । जो मानिस समस्यासँग डराउँछ ऊ कमजोर हुन्छ भने जसले समस्यासँग जुध्ने कोसिस गर्छ ऊ सफल हुनुका साथै मानसिकरूपमा समेत बलियो बन्छ ।    धेरैजसो महिलाको जीवनमा आर्थिकलगायतका समस्या बढी हुन्छन् । ललिता थारूले समस्या पर्दा सासुलाई सबैभन्दा पहिला बाँड्नुहुन्छ । अन्य समस्या पर्दा छिमेकी तथा आफन्तलाई भन्नुहुन्छ र समस्यामा हिम्मत हार्नुहुन्न । “कस्ता अप्ठ्याराहरू झेल्नुपर्छ । म हिम्मत हार्दिनँ, हिम्मत हारेमा मन कमजोर हुन्छ”, उहाँ भन्नुहुन्छ, “कति कठिन दिन सहनुपरेको छ । समस्या निम्तनेबित्तिकै सासु–बुहारी छलफल गर्छौँ, उपाय सोच्छौँ र सहयोगी पहिचान गरेर सहयोग लिन्छौँ ।”   टीकापुरकी कविता चौधरीका घरमा घरमुली सासु–ससुरा हुनुहुन्छ । घरका सबै समस्या उहाँहरूले नै समाधान गर्नुहुन्छ । घरमा आइपर्ने समस्या उहाँहरूलाई कविताले राम्रो साथ दिनुहुन्छ । “आजभोलि सामान्य समस्या छिमेकीसँग सहयोग लिने, थप जटिल भएमा जनप्रतिनिधि, बडघरलाई गुहार्ने चलन छ”, कविताले भन्नुभयो, “समाज सरसापट र सहयोगमा चलेको छ ।”   अधिकांश महिलाले समस्या पर्दा श्रीमान्, सासुससुरालाई गुहार्छन् । बाँकी समस्या हुँदा आजभोलि वडामा रहेका जनप्रतिनिधिसँग सहयोग लिनेहरू पनि बढेका छन् । समस्या पर्दा नआत्तिने गरेको उनीहरू बताउँछन् । कैलालीकै सुनिता धामी समस्या समाधान गर्न नसक्दा आफैँ समस्यामा पर्नुभएको छ । “सुनिताको परिवारले गत वर्ष कोरोना महामारीका कारण धेरै पीडा झेल्यो । भारतमा कमाउने सुनिताका श्रीमान्को रोजगारी गुमेपछि आर्थिक सङ्कटसँगै थप सङ्कट झेल्नुप¥यो ।    “गत वर्ष निकै कठिन समय चल्यो । कोरोना महामारीले ठूलो मर्का पर्यो । श्रीमान्को कमाइ नभएपछि घर चलाउन धौँधौँ भयो”, उहाँले भन्नुभयो, “त्यसैमाथि सासु र मलाई कोभिड सङ्क्रमण भयो । अभाव र रोगले च्यापेपछि मलाई तवान भयो, म त निद्रा नलाग्ने समस्याले जेलिए ।” लामो समय यस्तै चलेपछि आजभोलि सुनिताले मनोपरामर्श सेवा र चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गरिरहनुभएको छ ।    समस्याको समयमै समाधान गर्न नसकेमा मानिसमा मनोसमस्या हुने, काम गर्न नसक्दा आर्थिकरूपले कमजोर हुनसक्ने, गलत निर्णय लिनसक्ने भएकाले मानिस संयमित हुन आवश्यक रहेको टीकापुर अस्पतालका डा लालसिंह टमट्टा बताउनुहुन्छ । “समस्या नभएको मानिस हुन्न तर समस्या समाधान गर्न पहल गर्नुपर्छ, नत्र समस्याले मानिसलाई खान्छ”, उहाँ भन्नुहुन्छ, “समस्याका कारण तनावमा बस्नु हुँदैन । एकोहोरो भएर बस्नु, मनमा कुरा राख्नुभन्दा योग, ध्यान गर्ने, मनका कुरा अरुलाई बाँड्ने, समस्याको पहिचान गरेर समाधानको बाटो खोजेमा जीवन सहज हुन्छ । समस्या आइपर्दा मन शान्त राख्न ध्यान दिनुपर्छ यसले स्वास्थ्य जोगाइराख्छ ।”

  गलकोट । बागलुङ बजारका नम्रता शर्माको घरमा विद्युतीय चुलो प्रयोग भएको चार महिना भयो । रुस–युक्रेन युद्धका कारण विश्वबजारमा पेट्रोलियम एवं ग्यासको मूल्यमा भारी वृद्धि भएपछि उहाँले रु चार हजार खर्चेर विद्युतीय चुलो खरिद गर्नुभएको थियो ।    खाना पकाउने एलपी ग्यासको निरन्तर मूल्यवृद्धिका कारण  आम उपभोक्ता विद्युतीय (इन्डक्सन) चुलोप्रति आकर्षित हुन थालेका हुन् । “ग्यासको मूल्य एक हजार तीन सय थियो, विद्युतीय चुलोका विषयमा सोचेकै थिइन, जब रुस–युक्रेन युद्धका कारण ग्यासको मूल्यमा निरन्तर उकालो लाग्यो त्यसपछि ग्याससँगै विद्युतीय चुलो प्रयोग गर्ने निधो गरेँ”, उपभोक्ता शर्माले भन्नुभयो, “पहिलो महिना त धेरै विद्युत् महशुल उठ्छ कि भन्ने चिन्ता थियो तर ग्यासभन्दा निकै सस्तो पर्यो, अहिले भातदाल विद्युतीय चुलोमै पकाउने गरेको छु भने तरकारी मात्रै ग्यासमा पकाउने गरेको छु ।”    ग्यासको विकल्पमा विद्युतीय चुलो प्रयोग गर्न थालेपछि दुई महिनामा सकिने ग्यास सिलिन्डर चार महिना बित्दासमेत नसकिएको बताउँदै उहाँले सुरुको विद्युतीय चुलोको लगानी नजोड्ने हो भने लगभग विद्युतीय चुलोमा दोब्बर फाइदा हुने उल्लेख गर्नुभयो ।    विद्युत्मा पकाएको खाना नमिठो हुने सुन्दै आउनुभएकी शर्माले राइसकुकरभन्दा विद्युतीय चुलोमा प्रेसर कुकरको प्रयोग गर्दा ग्यासमा नै पकाए जस्तै खाना पाक्छ भन्नुभयो ।    बागलुङ बजारमा पछिल्लो समय विद्युतीय चुलोको माग उच्च रहेको विद्युतीय उपकरण बिक्रीकर्ताले बताए । विद्युतीय चुलोे धेरै पहिलेदेखि नै बिक्री भए पनि पछिल्लो समय परिमार्जन भएर आएको विद्युतीय चुलोको माग ह्वात्तै बढेको बागलुङ बजारको शङ्कर इलेक्ट्रिोनिक्सका सञ्चालक शङ्कर नकर्मीले बताउनुभयो ।   “पहिला विद्युतीय चुलोमो जुनसुकै भाँडा मिल्दैनथ्यो, भाँडा छुट्टै खरिद गर्दा महँगो र झन्झट थियो तर पछिल्लो समय बजारमा आएका विद्युतीय चुलो घरमा प्रयोगमा आइराखेका जुनसुकै भाँडा प्रयोग गर्न मिल्छ”, उहाँले भन्नुभयो, “अहिले ग्यास चुलोभन्दा विद्युतीय चुलो खरिद गर्ने उपभोक्ता दोब्बरले वृद्धि भएका छन्, अहिले बागलुङ बजारवासीका अधिकांश भान्छामा विद्युतीय चुलोसमेत प्रयोगमा आएको देखिन्छ ।” नकर्मीका अनुसार ग्यास विस्थापित नभएपनि त्यसको विकल्पमा विद्युतीय चुलो प्रयोग हुँदा ग्यास खपतमा कमी आएको र उपभोक्तालाई केही राहतसमेत मिलेको छ ।    विद्युतीय चुलो चलाउनका लागि न्यूनतम १५ एम्पियर क्षमताको मिटर जडान गर्नुपर्ने हुन्छ । बागलुङ बजारका पक्की घरमा धेरैले १५ एम्पिएर भन्दामाथि क्षमताको विद्युत् जडान गरेका छन् । सरकारले विद्युतीय चुलो प्रवद्र्धन गर्न प्रत्येक घरधुरीमा निःशुल्क विद्युतीय चुलो वितरण गर्ने योजना अघि सारेको छ । बीस वर्ष अगाडि खाना पकाउनका लागि सबैभन्दा बढी खर्चिलोरुपमा मानिएको विद्युत् अहिले सबैभन्दा सस्तो भएको हो । बागलुङ बजार क्षेत्रमा विद्युतीय चुलोको माग बढिरहेको भए पनि विद्युत्को नियमित आपूर्तिमा समस्या हुनसक्ने भन्दै विकल्पमा भने ग्यास प्रयोग गरिरहेको पाइन्छ ।    ग्यास उपभोक्ताले विस्तारै आफूहरुले भान्छामा विद्युतीय उपकरणको प्रयोग वृद्धि गर्दै लगेका छन् । भान्छामा विद्युतीय चुलोसँगै मिक्चर, फ्रिजलगायत उपकरणको प्रयोगले विद्युत्को खपतसमेत वृद्धि भइरहेको छ ।     विद्युतीय चुलो ग्यासको प्रयोगमा करिब ४० प्रतिशत सस्तो हुने गरेको छ । विद्युतीय चुलो विशेषगरी बागलुङ बजारका पक्की घरमा बढी प्रयोग भइरहेको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासिनीले जानकारी दिनुभयो । उहाँले क्रमशः घरमा विद्युतीय क्षमता बढाउने उपभोक्ताको सङ्ख्या वृद्धि भइरहेको बताउनुभयो ।    “विद्युतीय चुलोको प्रयोग बढिरहेको छ तर पक्की घरमा यसको प्रयोग सहज भए पनि कमजोर विद्युतीकरण भएको घरमा समस्या हुन्छ, विस्तारै विद्युत् ट्रान्सर्फरमरको समेत क्षमता बढाउन आवश्यक छ”, केन्द्रका प्रमुख मरासिनीले भन्नुभयो, “घरमा विद्युत् क्षमता थपेर विद्युतीय चुलो प्रयोग गर्दा जोखिम कम हुने र फाइदा बढी हुने गर्छ ।”   अहिले ग्यास प्रतिसिलिन्डर एक हजार आठ सय पुगेको छ, भने एक परिवारका लागि खाना पकाउन विद्युत्बाट मासिक सात सय ५० र ग्यासबाट एक हजार दुई सय बढी खर्च लाग्ने भएकाले विद्युतीय चुलो सस्तो र छिटो हुने अध्ययनले देखाइसकेको छ । 

  वालिङ: सडकमा हिंँड्दै गरेका सहाराविहीन बालबालिका देख्दा कमलाको मन छोयो । अभिभावक कोही भएको भए त अरु बालबालिका जस्तै घरमै बस्थे होलान्, पढ्थे होलान्, आमा बुवाको काखमा रमाउँथे होलान् भन्ने कुराले मनमा चसक्क घोच्यो । दुई/तीन यस्ता असहाय बालबालिकाको अभिभावक बन्छु भन्ने त उहाँलाई भयो तर आफूले दुई/तीनको अभिभावकत्व लिँदैमा समाजमा थप अरु असहाय बालबालिकाको अभिभावक को बन्छ त ? उहाँलाई यही कुराले बारम्बार झकझकाइ रहयो । दुई /तीन जनाको अभिभावक बनेर साहारा दिन्छु भन्ने सोच मनैबाट पलाए पनि आफ्ना आफन्तहरु र यस विषयका जानकारहरुसँगै बुझ्दा व्यक्तिगतभन्दा पनि संस्थागत तरिकाले अगाडि बढ्दा राम्रो हुने सुझाव पाएपछि संस्था दर्ता गरेर असहाय बालबालिकाको अभिभावक बन्ने अभियान थाल्नुभयो ।   दश वर्षे द्वन्द्वका समयमा अभिभावक गुमाएका, अङ्गभङ्ग भएका परिवारका बालबालिका हाल समाजमा विभिन्न कारणबाट अभिभावकविहीन बन्न पुगेका बालबालिकालाई आश्रय दिनेगरी अमोर सेवा नेपाल संस्था स्थापना भयो । कमला पराजुलीको अध्यक्षतामा स्याङ्जाको फेदीखोला गाउँपालिका १ मा कार्यालय रहने गरी विसं २०६८ मा संस्था स्थापना भएको हो ।   विसं २०६८ मा संस्था स्थापना भए पनि विसं २०७२ मा सात जना अभिभावकविहीन बालबालिका राखेर काम अभियान थालिएको हो उहाँले जानकारी दिनुभयो । बालगृहमा अहिले ३० जना बालबालिका बस्दै आएका छन् । अभिभावकविहीन, घर परिवारबाट त्यागिएका, अपाङ्गता वा घाइते भई पालनपोषण गर्न नसक्ने परिवारका रुकुम, मुगु, पर्वत र स्याङ्जाका बालबालिका बालगृहमा राखेर अभिभावकत्व प्रदान गरिएको पराजुली बताउनुहुन्छ ।   बालगृहमा तीन वर्षदेखि १७ वर्ष उमेर समूहका २० बालक र १० बालिका छन् । अभिभावकविहीन बालबालिकालाई अभिभावकत्व प्रदान गर्दै उनीहरुको लुगाफाटो, खानपिन, बसोबास तथा अध्ययनको व्यवस्थापन कमलाले मिलाउँदै आउनुभएको छ । “बालगृह सञ्चालनका लागि आम्दानीको स्रोत भने केही छैन”, उहाँले भन्नुभयो, “मुख्य स्रोत भनेकै मुठीदानसहित जन्मदिन, वार्षिक पुण्यतिथिमा गरिने कार्य, धार्मिक कार्य, विभिन्न सङ्घसंस्थाले खाद्यान्न, लत्ताकपडालगायत नगद तथा जिन्सीका रुपमा प्राप्त हुने सहयोग नै हो ।”    असहाय बालबालिकाको अभिभावकको रुपमा स्थापित भएको बालगृहमा स्थानीय तहले हालसम्म कुनै पनि किसिमको सहयोग गरेका छैन । बालगृहले हालसम्म सञ्चालनका लागि कुनै पनि विदेशी सहयोग नलिएको उहाँले बताउनुभयो ।   बालगृहमा बस्दै आएका २८ बालबालिका दामगाडे माध्यमिक विद्यालयमा र २ जना सिद्धार्थ माध्यमिक विद्यालयमा अध्ययनगर्दै आएका छन् । बालगृहमा आश्रित रहेका बालबालिकालाई अध्यक्ष कमला, बुवाआमा र २ जना सहयोगीहरु निरन्तर खट्दै आउनुभएको छ । बालगृह सञ्चालनका लागि मासिक रुपमा करिब रु दुई लाख ५० हजार खर्च हुने गरेको उहाँले बताउनुभयो ।