पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

  भरतपुर । नेपाल नेत्रज्योति सङ्घ चितवनले भरतपुरमा सञ्चालन गरेको आँखा अस्पताल र आँखा उपचार केन्द्रमार्फत एकवर्षमा झण्डै तीन लाखलाई सेवा दिएको छ । अस्पतालले सन् २०२१ को जुलाई १ देखि सन् २०२२ को जुन ३० सम्म दुई लाख ८९ हजार तीन सय ९२ जनाको आँखा उपचार गरेको हो ।   अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार बहिरङगतर्फ भरतपुर आँखा अस्पतालमा एक लाख ३२ हजार पाँच सय २१, भरतपुर ओरालोमा रहेको चिजकुमार विष्णुकुमारी श्रेष्ठ बहिरङग विभाग (सिटी क्लिनिक)मा १९ हजार एक सय आठ, ठोरी अस्पतालमा आठ हजार पाँच सय २३ जनाको उपचार गरिएको छ ।    यसैगरी कावासोती अस्पतालमा नौ हजार १४, सिम्रनगढ अस्पतालमा ६ हजार छ सय ९० र आँखा उपचार केन्द्रमा २६ हजार सात सय ९८ जनाको उपचार गरिएको छ । अस्पतालले ग्रामीण क्षेत्रमा पुगेर सञ्चालन गरेको आँखा शिविरमार्फत् ८६ हजार सात सय ३८ जनाको उपचार गरेको छ ।   अस्पतालले उक्त अवधिमा नौ हजार आठ सय ९६ वटा शल्यक्रिया गरेको छ । तीमध्ये हातले गर्ने शल्यक्रिया सात सय दुई, उपकरणको माध्यमबाट गरिने तीन हजार ३०, आँखाको नानी (कर्निया) को तीन सय ८१, जलविन्दुको ८४, आँखाको पर्दा (रेटिना) को एक सय ६१ शल्यक्रिया गरिएको हो ।    यस्तै आँखाको वरिपरिको भागको तीन सय ८७, बालबालिकाको आँखाको ९०, अन्य शल्यक्रिया दुई सय १२ र शिविरमार्फत् रिफर गरिएका चार हजार आठ सय ४९ को शल्यक्रिया गरिएको सूचना अधिकारी घिमिरेले  जानकारी दिनुभयो । बहिरङ्ग र शल्यक्रिया गरी लक्ष्यको एक सय २४ दशमलव ९७ प्रतिशत सफलता मिलेको जनाइएको छ ।     अस्पतालले सन् २०२० को जुलाई १ देखि सन् २०२१ को जुन ३० सम्म एक लाख १८ हजार नौ सय ४७ जनाको उपचार गरेको थियो । सोही अवधिमा पाँच हजार तीन सय ३५ जनाको विभिन्न शल्यक्रिया गरेको थियो । कोभिडका कारण उक्त अवधिमा बिरामीको सङ्ख्या कम भएको थियो ।   अस्पतालले २०२२ जुलाई १ देखि सन् २०२३ जुन ३० सम्म तीन लाख ४१ हजार बिरामीलाई सेवा दिने लक्ष्य राखेको छ । अस्पताल सञ्चालक समितिका अध्यक्ष कृष्णराज धरेलका अनुसार अस्पतालमा विशेषज्ञ प्राप्त गरेका दक्ष चिकित्सक रहेका छन् । हाल नौ विशेषज्ञ चिकित्सक कार्यरत छन् । नौ विशेषज्ञ अध्ययनरत रेसिडेन्टल चिकित्सक छन् । विशेषज्ञता हासिल गरेकामध्ये आँखाको पर्दा (रेटिना), आँखाको बाहिरी नानी(कर्निया), जलविन्दु, प्लास्टिक सर्जरी, बच्चाको आँखामा फेलोसिप गरेका चिकित्सक कार्यरत छन् ।    उहाँको भनाइमा एक सय १७ जनाको विशेषज्ञ चिकित्सकदेखि सहायकसम्मको कर्मचारीको समूह उपचारमा जुटेको छ । अस्पतालले एक सय ११ को नानीको प्रत्यारोपण गरिसकेको छ । यस अस्पतालमार्फत ३९ नानी सङ्कलन गरिएको छ । आठ सय ८६ जनाले आँखा दानका लागि इच्छा गरेका छन् । धरेलका अनुसार अस्पतालमा चितवन, मकवानपुर, नवलपरासी सुस्ता–बर्दघाट पूर्व, बारा, पर्सा, रौतहट, सर्लाही, सिन्धुली, गोरखा, लमजुङ्, तनहुँ, धादिङ्लगायतका जिल्लाका बिरामीले प्रत्यक्ष रुपमा सेवा पाएका छन् । यसको अतिरिक्त नेपालका अन्य जिल्ला र छिमेकी देश भारतका सीमा क्षेत्रका बिरामीले यहाँ सेवा लिँदै आएका छन् ।

  तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–१ मान्हौका ६५ वर्षीया मधुमाया कामीले घरदैलोमा नै ज्येष्ठ नागरिक परिचयपत्र पाउनुभयो । गाउँपालिकाको कार्यालयसम्म पुगेर परिचयपत्र बनाउन नभ्याउनुभएका उहाँले घरदैलोमा नै ज्येष्ठ नागरिक परिचयपत्र पाउँदा खुसी लागेको बताउनुभयो ।    “गाउँपालिका जान भ्याएको थिइनँ, घरमै ल्याएर गाउँपालिकाले दियो”, उहाँले भन्नुभयो, “स्थानीय सरकार घरमै आएजस्तो अनुभूति भयो ।” स्थानीय तह निर्वाचनका बेला उम्मेदवार घरघरमा आएर भोट मागेको सम्झिँदै उहाँले सेवा पनि घरदैलोमा नै आउँदा खुसी लागेको प्रतिक्रिया दिनुभयो ।    सोही ठाउँकी बुद्धिमाया कामीले पनि घरदैलोमा नै ज्येष्ठ नागरिक परिचयपत्र पाउनुभयो । “सिंहदरबारको अधिकार गाउँमा भन्ने त सुनेका थियौँ, आज त आफैँले घरदैलोमा सेवा पाउँदा साँच्चै हो रहेछ भन्ने अनुभूति भयो”, उहाँले भन्नुभयो । सोही ठाउँका ओमबहादुर आलेले घरको डिजिटल नम्बर शिविरकै अवसरमा प्राप्त गर्नुभयो । उहाँले घरदैलोमा नै सेवा पाउँदा समयको बचतसँगै गाउँपालिकासम्म पुग्दा लाग्ने खर्चको पनि बचत भएको उल्लेख गर्नुभयो ।    जनतालाई घरदैलोमै सेवा दिने उद्देश्यसहित गाउँपालिकाले आइतबारदेखि एकीकृत घुम्ती शिविर सुरु गरेको छ । उक्त ठाउँका एक सयभन्दा बढीलाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । “जनतालाई गाउँघरमै सेवा दिने उद्देश्यसहित गाउँपालिकाका सम्पूर्ण सेवा घरदैलोमै पु¥याउने प्रयास गरेका छौँ”, उहाँले भन्नुभयो, “गाउँपालिकाबाट प्रदान गरिने सम्पूर्ण सेवा घरदैलोमा नै प्रदान गर्छौँ ।”   म्याग्देका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जनता सधैँ वडा र पालिकामा आउने नभई पालिका पनि जनताको घरमा जानुपर्छ भन्ने उद्देश्यसहित एकीकृत शिविर आयोजना गरिएको बताउनुभयो । “स्थानीय सरकार जनताको घरमा पुग्नुपर्छ भन्ने मान्यतासहित यो शिविर सुरु गरिएको हो, घरदैलोमा जाँदा आम जनतासँग साक्षात्कार पनि हुन्छ, समस्या पनि सुन्न पाइन्छ”, उहाँले भन्नुभयो ।    घरदैलोमै गएर सेवा प्रदान गर्दा जनतामा खुसी छाएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताउनुभयो । “हामी सधैँ जनताप्रति उत्तरदायी हुनुपर्छ”, उहाँले भन्नुभयो । घुम्ती शिविरमार्फत कृषि, पशु, स्वास्थ्य, घरनक्सा, पञ्जीकरणलगायतका सेवा प्रदान गरिएको छ । विषयगत शाखाअन्तर्गतका योजना सम्झौता, सुझाव तथा परामर्श सेवा, स्वास्थ्य–आर्युर्वेद शाखाअन्तर्गत सामान्य स्वास्थ्य परीक्षण, उपचार व्यवस्थापन, परामर्श तथा औषधि वितरण, क्षयरोग स्क्रिनिङ, मधुमेह, पोषण सेवा, भिआइए स्क्रिनिङ, कोभिडविरुद्धको खोप प्रदान गरिएको छ ।   कृषि शाखाअन्तर्गत हिउँदे बालीको बीउ वितरण, विषादी वितरण, फार्म दर्तासम्बन्धी आवश्यक कागजातको जानकारी, अनुदानसम्बन्धी जानकारी तथा माग सङ्कलन, पशु सेवा शाखाअन्तर्गत गोबर परीक्षण एवं औषधि वितरण, प्रशासन शाखाअन्तर्गत व्यवसाय दर्ता तथा विभिन्न विषयमा जानकारी प्रदान गरिएको छ ।   पञ्जीकरण शाखाअन्तर्गत विभिन्न किसिमका घटना दर्ता तथा सामाजिक सुरक्षासम्बन्धी सेवा, महिला तथा बालबालिका शाखाअन्तर्गत ज्येष्ठ नागरिक परिचयपत्र र अपाङ्गता परिचयपत्र वितरण, घरनक्सा शाखाअन्तर्गत निःशुल्क घर नम्बर प्लेट वितरण गरिएको छ । एकीकृत घुम्ती शिविर असोज २ देखि ४ सम्म वडा नं १ मा, असोज ५ र ६ गते वडा नं २ मा, असोज ७ देखि ९ सम्म वडा नं ३ मा, असोज ११ र १२ गते वडा नं ४ मा, असोज २७ र २८ गते वडा नं ६ मा र असोज ३० र ३१ गते वडा नं ७ मा सञ्चालन हुनेछ । 

  काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सददर स्थानका आसपासमा अवस्थित रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहनेछ ।   राजधानी काठमाडौँ उपत्यकाको आकाश बिहानैदेखि आंशिक बदली रहेको छ । आज काठमाडौँको अधिकतम तापक्रम ३० र न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस रहेको छ ।

  टीकापुर । कैलालीमा बाढीले नागरिकको जनजीवनमात्र होइन, पशुचौपायाको जीवन पनि समस्यामा परेको छ । जिल्लामा बाढीका कारण विस्थापित नागरिक भोकै बस्नुपरेको छ भने पशुचौपायासमेत आहाराको अभावमा समस्यामा परेका छन् । जिल्लाको भजनीमा शनिबार आएको बाढीले सयौँ परिवार वस्तुभाउसहित सडकमा बसिरहेका छन् । सडकमा मानिससँगै सयौँ वस्तुभाउ पनि सडकमा बाँधिएका छन् ।   बाढीका कारण तीन जनाको ज्यान गएको छ । बाढीमा डुबेर भजनी नगरपालिका–८ गोडचौराका ५५ वर्षीय कालुराम चौधरी र वडा नं ९ का २५ वर्षीय विनोद राजीको मृत्यु भएको छ । यस्तै धनगढी उपमहानगरपालिका–१३ की १९ वर्षीया नवीना चौधरीको पनि डुबेर मृत्यु भएको हो ।   बाढीले सबैभन्दा बढी भजनीका नागरिकको जनजीवन अस्तव्यस्त भएको छ । घर बाढीमा डुबेको छ, घरमा भएका अन्नपात, लुगाकपडा बाढीमा बगेका छन् भने धान लगाएको खेत पनि डुबान र कटानले क्षति भएको छ । बाढीले विस्थापित भएका नागरिकलाई आफ्नो पेट भर्न र वस्तुभाउलाई के खुवाउने भन्ने पिर परेको छ । सडकमा बसेका नागरिक चाउचाउ र चिउराका भरमा बसेका छन् भने वस्तुभाउलाई खुवाउने आहारा जोहो गर्न सकिएको छैन ।   भजनी–८ सोनाहाफाँटा खल्लाटोलीकी तुल्सीदेवी विक वस्तुभाउसहित हुलाकी सडकमा बस्नुभएको छ । विक आफू पनि चाउचाउ र चिउराको भरमा बसिरहनुभएको छ भने उहाँका वस्तुभाउ पनि भोकै छन् । उहाँलाई आफूले के खाने, वस्तुभाउलाई के खुवाउने तनाव भएको छ । “वस्तुभाउका लागि जोहो गरिराखेको गहुँको भुस्सा बाढीमा बग्यो, धानखेत अहिले पनि जलमग्न छ । अब घाँस पनि बाढीले नोक्सान भयो”, उहाँले भन्नुभयो, “अब आफू पनि भोकै, वस्तुभाउ पनि चार दिनदेखि सडकमा भोकै छन् ।”   वडा नं ८ कै शान्तिदेवी चौधरी पनि वस्तुभाउसहित सडकमा बसिरहनुभएको छ । उहाँले बालबालिका, वृद्धवृद्धा सबै भोकै रहेको जनाउँनुभयो ।   वडा नं ८ कै शारदादेवी चौधरीका छ बाख्रा र एक गाई छ । उहाँको परिवार वस्तुभाउसहित चार दिनदेखि सडकमा बसिरहेको छ । वस्तुभाउसँगै बस्दा दुर्गन्धित हुनुका साथै पशुका लागि आहाराको समस्या भएको छ । “अधिकांशका वस्तुभाउ पनि सडकमै छन्, सबैलाई वस्तुभाउको आहारा व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता छ”, उहाँ भन्नुहुन्छ, “हामी त सहयोगीहरूले दिएका चाउचाउ र चिउराले ज्यान धानिरहेका छौँ, तर वस्तुभाउलाई के खुवाउनु रु”   शनिबार विस्थापित हुनुभएकी तुल्सादेवी धमालाको परिवार पनि अझै घर फर्कन सकेको छैन । उहाँहरू पनि वस्तुभाउसहित सडकमा बस्नुभएको छ । विस्थापित नागरिकले गाइभैँसी सडकमा भोकै बाँध्नुपरेको छ । बाढीले धानबाली नष्ट गर्नुका साथै घासपातसमेत नष्ट भएको छ । यसले वस्तुभाउ पालकलाई बढी समस्या भएको छ ।    खुला आकाशमा सडकमै बसिरहनुभएकी इसरा सुनारको परिवारको पनि बिचल्ली छ । उहाँको घरखेत सबै बाढीमा मिसिएकाले उहाँको परिवार र उहाँले पालेका वस्तुभाउको आहारामा समस्या भएको छ । “पशुका लागि पराल, गहुँको भुस्सा गोठमा राखेकी थिएँ, सबै बाढीमा मिसियो, मेरो त गोठ पनि रहेन”, उहाँले भन्नुभयो, “सम्पत्तिका नाममा बचेका यी वस्तुभाउ हुन्, वस्तुभाउ पनि भोकले मर्ने भए ।”   भजनी नगरपालिकाका पशु शाखा प्रमुख हरिलाल जैसी बाढीले पशुवस्तुतर्फ क्षति भएका विवरण आइरहे पनि कति क्षति भयो भनी भन्न सक्ने अवस्था नभएको बताउनुभयो । उहाँले पशु बगेका, मरेका कुरा आइरहे पनि प्रभावित क्षेत्रमा अझै जान नसकिएकाले अब तथ्याङ्क लिने काम भइरहेको बताउनुभयो । “हामी पशुभन्दा मानिस कसरी जोगाउने भनी उद्धारमा खटेका छौँ, अझै मानिसकै उद्धार भइरहेको छ”, उहाँले  भन्नुभयो, “पहिलो चरणमा मानिस उद्धार र राहतका काम भइरहेकाले पशुको आहाराबारे केही उपाय नै छैन । पालिकामा भएको आहाराको स्रोत सबै बाढीले नोक्सान गरेकाले पशुको आहारा व्यवस्थपान गर्न सक्ने अवस्था छैन ।”   पशु शाखा प्रमुख जैसी आजबाट पशुतर्फ भएको क्षतिको विवरण सङ्कलन गर्ने तयारी गरिएको बताउनुभयो । “अझै गाउँ जलमग्न छन्, गाउँमा गएर विवरण लिनसक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “धेरै मानिसका वस्तुभाउ बगेका, बङ्गुर मरेका, कुखुरा मरेका खबर आएका छन् । अब हामी तथ्याङ्क लिन्छौँ ।”   नगरपालिकाद्वारा  सहयोगको अपिल  भजनी नगरपालिकाले बाढीबाट प्रभावितलाई सहयोग गर्न अपिल गरेको छ । नगरपालिकाले एक सूचना जारी गरी नगरपालिकाका सबै वडामा बाढीले क्षति पुर्याएका कारण त्यहाँका नागरिकलाई राहतका लागि सहयोग गर्न अपिल गरेको छ ।    नगरप्रमुख केवल चौधरीद्वारा हस्ताक्षरित अपिलमा भनिएको छ  “जसरी सबैको सहयोगमा बाढीबाट प्रभावितलाई उद्धार गरियो, त्यसरी नै उनीहरूलाई राहतका लागि पनि सहयोग गर्न आग्रह गरिन्छ । यस घडीमा सम्पूर्ण नागरिक, बुद्धिजीवी, समाजसेवी, उद्योगी, व्यापारी, सरकारी तथा गैरसरकारी सङ्घसंस्थालाई नगरपालिकासँग समन्वय र सहकार्य गरी सहयोग गर्न अपिल गरिएको छ । ”भजनीका सबै वडा प्रभावित भएकाले नगरपालिका एक्लैले उनीहरूलाई राहत तथा उद्धारजस्ता कार्य गर्न नसक्ने भएकाले सहयोगीलाई साथ दिन आग्रह गरेको हो ।

बागलुङ : बागलुङको ताराखोला गाउँपालिकाले भने कृषि उत्पादनमा आत्मनिर्भर बन्न सक्रिय भएको छ ।   कृषकलाई बढीभन्दा बढी क्षेत्रमा कृषि गर्न र उत्पादन बढाउन कृषकमुखी कार्यक्रमलाई प्राथमिता दिएको छ । गाउँपालिकाले बसाइँसराइ रोक्न र बाँझो जमिनमा खेतीपाती गर्न कृषक प्रोहोत्सान कार्यक्रम ल्याएको ताराखोला गाउँपालिकाका कृषि शाखा प्रमुख कृष्णखर भट्टराईले जानकारी दिनुभयो ।   यस कार्यक्रमअन्तर्गत रहेर अब गाउँपालिकाले कृषकले जति धेरै जमिनमा खेती गर्छन्, उसलाई उति धेरै प्रोहोत्सान भत्ता उपलब्ध गराउने उहाँको भनाइ छ । कृषकले बाँझो जमिनमा खेती गरेवापत गाउँपालिकाले प्रतिरोपनी रु दुई हजार उपलब्ध गराउने उहाँले बताउनुभयो । “गाउँपालिकाले कृषकका लागि निकै राम्रो कार्यक्रम ल्याएको छ, उहाँहरूलाई चाहिने आवश्यक सहयोगसँगै जति धेरै क्षेत्रफलमा कृषि गर्नुहुन्छ, उति धेरै भत्तासमेत पाउनु हुनेछ, अहिले प्रतिरोपनी रु दुई हजारका दरले प्रोहोत्सान भत्ता दिने भएको छ”, उहाँले भन्नुभयो ।   बसाइँसराइले पालिकाभित्र रहेका खेतीयोग्य जमिन बाँझिदै गएपछि उत्पादनसमेत निकै कम भएको उहाँको भनाइ छ । उत्पादन बढाउनकै लागि यो कार्यक्रम ल्याएको भन्दै यसले कृषकलाई खेती गर्नतर्फ आकर्षित गर्ने उहाँले बताउनुभयो । उहाँले बाँझो जमिनमा खेती विस्तार गरी कृषिमा पालिकाले आत्मनिर्भर बन्ने लक्ष्य राखेको बताउनुभयो ।   “अहिले गाउँ रित्तो बनिसक्न थाल्यो, गाउँले सबै बसाइँसराइ गरेर बजार झरिरहेका छन्, गाउँमा बस्नेले पनि थोरै बारीमामात्रै खेतीपाती गर्ने गरेका छन्, पहिले–पहिले बालीले हराभरा हुने खेतबारी अहिले पूरै वनमाराले ढाकेको छ, हरेक वर्ष उत्पादन घट्दै गएको छ”, कृषिशाखा प्रमुख भट्टराईले भन्नुभयो, “गाउँपालिकाले अहिले नयाँ कार्यक्रम ल्याएको छ, यो कार्यक्रमले बसाइँसराइ रोकेर बाँझिएका जमिनमा खेती गर्न प्रोहोत्सान गर्ने र उत्पादन बढाउने छ ।”   ताराखोला क्षेत्रमा पहिले पनि परम्परागत शैलीबाटै खेतीपाती हुँदै आएको छ । कृषकलाई आधुनिक प्रविधिसँग जोड्न र कृषिलाई यान्त्रीकरण गर्नतर्फ पनि गाउँपालिकाले जोड दिएको छ । पालिकाले मिनीटेलर, धान, गहुँ, कोदो चुट्ने थ्रेटर मेसिन वितरण योजना गरेको शाखा प्रमुख भट्टराईले जानकारी दिनुभयो । उहाँले आधुनिक सामग्रीले कृषकलाई खेतीपाती गर्न सहज हुने र उत्पादनमा समेत सहयोग पुग्ने बताउनुभयो ।   “हामीले अघिल्ला वर्षहरूदेखि नै कृषकलाई प्रोहोत्सान हुने खालका कामहरू गर्दै आएका थियौँ, यस वर्ष पनि प्रोहोत्सान भत्तासँगै कृषकलाई आधुनिक औजार वितरण गर्ने कार्यक्रम छ, मिनीटेलर, धान, गहुँ, कोदो चुट्ने थ्रेटर मेसिन वितरण हुने छ, यसले कृषकलाई खेतीपाती गर्न सहज हुने छ, उत्पादनमा पनि वृद्धि हुने अपेक्षा लिएका छौँ”, उहाँले भन्नुभयो, “उत्पादन वृद्धि गर्ने नै मुख्य लक्ष्य रोको हुँदा कृषकको आवश्यकतानुसार सहयोग भइरहेको छ, केही कृषकले पालिकाबाट अनुदान पाएपछि कृषिलाई व्यवस्थितरूपमा गर्न थाल्नुभएको छ ।”   उच्च पहाडी क्षेत्रमा पर्ने ताराखोलामा आलु, भाँगो, किबी, कोदो, मकैलगायतका खाद्यबाली उत्पादन हुने गर्छ । उहाँले व्यावसायिक खेतीमा लागेका कृषकलाई आवश्यक पर्ने सहयोग पालिकाले निरन्तर गर्दै आएको बताउनुभयो । “थोरै सङ्ख्यामा व्यवसायिक खेतीमा लाग्नुभएका कृषक पनि यहाँ हुनुहुन्छ, उहाँहरुले आफूलाई आवश्यक परेको सहयोग पालिकालाई माग्नुहुन्छ, पालिकाले पनि प्राविधिक तथा अन्य सहयोग गर्दै आइरहेको छ”, उहाँले भन्नुभयो ।   गाउँपालिकाले जिल्लामै पहिलोपटक जैविक कृषि बगैँचासमेत सञ्चालन गरेको छ । यो बागलुङमा विल्कुलै नयाँ हो । गत वर्षदेखि सुरु भएको जैविक कृषि बगैँचा ३७ रोपनी क्षेत्रफलमा सञ्चालन गरिएको कृषि शाखा प्रमुख भट्टराईको भनाइ छ । गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा विनियोजन गरेको रु १५ लाखबाट बगैँचा सञ्चालन गरेको उहाँले बताउनुभयो । ३७ रोपनी जग्गामध्ये २० रोपनी क्षेत्रफलमा किबीखेती र अन्य १७ रोपनीमा आलु, भाँगोलगायत विभिन्न खाद्यबाली तथा फलफूल लगाएको उहाँको भनाइ छ ।   “ताराखोलामा जैविक कृषि बगैँचा सञ्चालन गरेको एक वर्ष भइसक्यो, गत वर्षदेखि जैविक कृषि बगँैचा सञ्चालन भएको हो, बगैँचामा सबैभन्दा धेरै किबीखेती गरिएको छ, किनकि यहाँ धेरैको किबी उत्पादनतर्फ चासो देखिएको छ”, उहाँले भन्नुभयो, “आलु, भाँगोलगायतका खाद्यबाली र फलफूल पनि यहाँ लगाइएको छ, यहाँ लगाएका खाद्यबाली र फलफूल पनि राम्रो हुँदै गएको छ, यहाँ कृषकहरू आएर अवलोकन गर्न सक्छन् भने उनीहरूले यहाँबाट केही सिकेर आफैँ पनि व्यावसायिकरूपमा खेती सुरु गर्न सक्छन् ।” धेरैको शहर बजार मोहले गाउँ रित्तिए । एक दशकअगाडिसम्म निकै चहलपहल हुने गाउँ सुनसान बन्दै गए । गाउँका खेतीयोग्य जमिन वनमाराले ढपक्कै ढाकिए । गाउँमा कसैलाई साह्रो–गाह्रो प¥यो भने उद्धार गर्ने पनि छैनन् । यो समस्या बागलुङको अधिकांश पालिकाको हो । गाउँ छाडेर बजार झर्नु कतिको रहर त कतिको बाध्यता पनि हो । गाउँमा स्वास्थ्य, शिक्षा, रोजगारलगायतका सुविधा नहुँदा बजार झर्नु स्वाभाविक पनि हो ।   तर, पछिल्लो समय जिल्लाका पालिकाहरूले आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर विकास निर्माणलाई जोड दिएका छन् । विकास हुन थालेपछि केही त गाउँमै रोकिए तर धेरैले बजारलाई नै रोजे । गाउँमा बस्नेले पनि कृषि भने कम नै गर्न थाले । गाउँमा बस्नेहरूले पनि कृषि गर्न छाड्न थालेपछि बारीसँगै करेसाबारीमा पनि कालोपाती बताएका छन् । त्यसले गर्दा उत्पादन घट्ने र परनिर्भर हुनुपर्ने अवस्था सिर्जना भएको छ । जिल्लामा उत्पादन बढाउने र पालिकालाई आत्मनिर्भर बनाउनतर्फ धेरैको ध्यान छैन ।

  रुपन्देही । सीमावर्ती भारतीय बजारमा खरिद गर्न जाने नेपाली ग्राहकलाई रोक्न भैरहवामा दसैँ सस्तो बजार सन्चालन हुने भएको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीको आयोजनामा असोज ११ गतेदेखि १४ गतेसम्म बजार सञ्चालन हुने भएको हो ।       दसैँ सस्तो बजारबारे जानकारी दिने उद्देश्यले आज भैरहवामा आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष भीष्म न्यौपानेले नेपालीका चाड पर्वहरुमा आम उपभोक्तालाई स्वदेशी बजारमा खरिद गर्ने बानीको विकास गराउन साथ बजारको आयोजना गरिएको बताउनुभयो ।        यस क्षेत्रका अधिकांश नेपाली चाडपर्वको बेलामा मात्र नभएर अन्य समयमा पनि बजार गर्न सीमावर्ती भारतीय बजार सुनौली र नौतनहवा पुग्ने गर्दछन् । भारतीय बजारमा जाने नेपाली ग्राहकलाई रोक्ने उद्देश्यका साथ विभिन्न उद्योगी, व्यवसायीसँगको सहकार्यमा उपभोक्ताहरुलाई सर्वशुलभ रुपमा एकै थलोबाट सहज तरीकाले दैनिक उपभोग्य वस्तुहरु बिक्री वितरण गरिने कार्यक्रम संयोजक अर्जुन कार्कीले बताउनुभयो ।        विभिन्न उद्योग तथा व्यापारिक प्रतिष्ठानको सहभागिता रहने दसैँ बजार २०७९ मा साल्ट ट्रेडिङसहित खाद्यन्न, जुत्ता, चप्पल, दुई पाङ्ग्रे अटोमोबाइलसहितका १५ देखि १७ वटा स्टल रहने उहाँले जानकारी दिनुभयो । यस अवधिमा करिब रु ४० देखि ५० लाख बराबरको कारोवार हुने अनुमान गरिएको कार्यक्रम संयोजक कार्कीले बताउनुभयो ।       दसैँ र तिहार लक्षित बजारमा सीमावर्ती भारतीय बजार सुनौलीमा नेपालीको घुइँचो लाग्ने गरेको छ । यस्ता नेपाली उपभोक्तालाइ नेपाली बजारमै रोक्ने सङ्घको उद्देस्य रहेको कार्कीले बताउनुभयो ।

  पोखरा ।  कास्की प्रहरीले पोखरा ९ नयाँबजारस्थित कृषि विकास बैंकको ‘एटिएम’ फोड्न प्रयास गर्ने १ जनालाई नियन्त्रणमा लिएको छ ।   आज  दिउँसो एटिएममा संकास्पद क्रियाकलाप गरेको आरोपमा कास्की प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।    ‘आज दिउसो एटिएममा संकास्पद क्रियाकलाप गरेको खबरपछि एकजलाई नियन्त्रणमा लिएका छौं, उनले भने, ‘अहिले छानबिन भइरहेको छ। ’ संकास्पद गतिविधि गरेको अवस्थाबाटै उक्त व्यक्तिलाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको  छ ।

  पोखरा ।  संविधान दिवसको अवसर पारेर पोखरा महानगरपालिका वडा नं –१५ ले अन्तर विद्यालय सडक दौड प्रतियोगिता सम्पन्न गरेको छ।    ’शान्ति र स्थायित्वका लागि खेलकुद’ भन्ने मूल नाराका साथ वडा नं –१५ को वडा कार्यालय परिसरमा आज आयोजित सडक दौड प्रतियोगितामा वडाका १८ विद्यालयका झन्डै २५० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।    प्रतियोगितामा छात्रा तर्फ श्री सिद्ध मा.वि.की श्रेया मगर प्रथम, सिद्ध मा.वि.कै सोनीका परियार द्धितिय, भ्यू प्वाइन्ट स्कुलकी सजिना सुनार तृतीय, सिद्ध मा.वि.की रचना चौधरी चौथो बन्न पुगिन् भने, केल्स एकेडेमीकी अश्विनी पौडेलले सान्त्वना प्राप्त गरिन्।    यस्तै, छात्र तर्फ हिमालय लाईफ नेपालका राज परियार प्रथम, श्री सिद्ध मा.वि.का विवश रेग्मी द्धितिय, हिमालय लाइफकै विजय वि.क तृतीय, शुभ तारा थ्री एन्जल्सका आशिष घले चौथो र सिद्ध मा.वि.का विवेक गुरुङले सान्त्वना प्राप्त गरे।    विजयी प्रतियोगीले क्रमशः ८ हजार, ७ हजार, ६ हजार र ३–३ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे।    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा पोखरा महानगरपालिकाकी उपमेयर मञ्जु देवी गुरुङले ७ औँ संविधान दिवसको शुभकामना दिँदै धेरै पहिलेदेखि धेरै संविधान बने पनि ती संविधान जनताको पक्षमा नरहेको र विभेदकारी रहेको कारण जनताको सङ्घर्ष र बलिदानी पश्चात् नेपालको संविधान २०७२ ल्याउन सफल भएको बताइन्। उनले २०७२ सालको संविधानको जगमा टेकेर नै आज हामी लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था रहेको भन्दै यो संविधानको रक्षा गर्ने, सफल बनाउने र यो शासन व्यवस्थालाई स्थापित बनाउने काम पनि हामी सबैको जिम्मेवारी रहेको उनले बताइन्। गुरुङले प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिँदै आज ३ किलो मिटर दौडमा सहभागी भएका खेलाडी भोली १० किलोमिटर हुँदै भविष्यमा राष्ट्रिय खेलाडी बनेर म्याराथनमा सहभागी बन्न सक्नेतर्फ जोड दिइन्।    कार्यक्रमलाई शुभकामना दिँदै वडा नं –१५ का वडाध्यक्ष तोरण बहादुर बानियाँले पूर्वाधारमा मात्र सीमित रहेर मानवीय विकास नहुने भन्दै अबको विकास स्वास्थ्य, शिक्षा, खेलकुद, महिला उद्यमशीलता र युवा स्वरोजगारलाई जोडेर लगे मात्र मानवीय विकास सम्भव हुने बताए। उनले बालबालिकाको सर्वाङ्गिण विकासका लागि घोकन्ते विद्यालाई मात्र अगाडि नबढाई मानसिक, बौद्धिक र शारीरिक विकासमा पनि ध्यान दिनुपर्ने भन्दै यस्ता प्रतियोगिताले वडा नं –१५ मा रहेका विद्यालय र विद्यार्थी बिच आपसी सम्बन्ध बढाउनुको साथै भाईचाराको विकास गरी प्रतिस्पर्धी नभई सहयोगी सँस्थाको रुपमा शिक्षालाई अगाडि बढाउने भावना जागृत गराउने उद्देश्यका साथ सडक दौड प्रतियोगिताको आयोजना गरिएको बताए।    यस्तै, कार्यक्रमका संयोजक तथा पोखरा –१५ का सदस्य आशिष भण्डारीले संविधान दिवसको अवसर पारेर विद्यार्थीहरू बिच आयोजना गरिएको यस सडक दौड प्रतियोगिताले समाजमा सकारात्मक प्रभाव पार्नुका साथै भावनात्मक एकतालाई प्रगाढ बनाउँदै स्वच्छ र शान्त वडा बनाउनको निम्ति सन्देश प्रवाह गर्न चाहेको प्रतिक्रिया दिए। उनले संविधान देशको कानुन रहेको भन्दै यसको परिपालना गर्नु सबैको कर्तव्य रहेको भन्दै आजको संविधान दिवसको अवसरमा आयोजित प्रतियोगितालाई सफल पार्न खटिने सम्पूर्णलाई धन्यवाद दिए।     कार्यक्रममा वडा नं –१५ का जनप्रतिनिधि तथा कार्यपालिका सदस्य मन्दिरा परियार, सदस्य वलराम पौडेल, सशस्त्र मुख्यालय लामापाटनका प्रहरी नायव महानिरीक्षक सुरेश कुमार श्रेष्ठ, पोखरा–१४ का वडा अध्यक्ष वोधराज कार्की, पोखरा –१७ कि वडा अध्यक्ष राधिका योगी शाही, पोखरा महानगर पालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदार, रेडक्रस पोखरा –१५ का सभापति, एथलेटिक्स संघका प्रतिनिधि, स्काउटका प्रतिनिधि लगायत टोल विकास तथा आमा समुहको सहभागिता रहेको थियो।

  बाँके । बाँके जिल्लामा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिकामा करेन्ट लागेर र कोहलपुर नगरपालिकामा नहरमा डुबेर दुई जनाको मृत्यु भएको हो ।       राप्तीसोनारी–८ शम्शेरगञ्जका ७३ वर्षीय बुद्धिमान लामाको करेन्ट लागेर मृत्यु भएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार लामाको पानी तान्ने मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर घाइते भई उपचारका क्रममा मृत्यु भएको हो ।      यसैगरी सिक्टा सिँचाइ आयोजनाको नहरमा डुबेर कोहलपुर–८ का ११ वर्षीय आकाश गिरीको मृत्यु भएको छ । शनिबारदेखि बेपत्ता रहेका गिरीको शव आइतबार साँझ मात्र नहरमा फेला परेको उक्त कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिनुभयो ।