पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

  काठमाडौं । वरिष्ठ पत्रकार केदारमान सिंह श्रेष्ठको निधन भएको छ । लामो समय बिबिसी र एएफपीमा काम गर्नुभएका पत्रकार श्रेष्ठको आज मध्याह्न ८१ वर्षको उमेरमा निधन भएको हो ।    लामो समयदेखि मुटुसम्बन्धी बिरामी उहाँको त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचारका क्रममा आज मध्याह्न १२:०५ बजे निधन भएको उहाँका छोरा सुसनमान श्रेष्ठले जानकारी दिनुभयो ।    काठमाडौँ–२१ भोटेबहाल निवासी मृतक पत्रकारको धर्मपत्नी, एक छोरा र एक छोरी हुनुहुन्छ । नेपालबाट एएफपीमा ४० वर्ष र बिबिसीमा २० वर्ष काम गर्नुभएका पत्रकार श्रेष्ठले पछिल्लो समयमा स्वतन्त्ररूपमा विभिन्न पत्रपत्रिकामा लेख लेख्दै आउनुभएको थियो । 

  मेलम्ची ।  ‘मलाई अमेरिका यहीँ, मलाई जापान पनि यहीँ’ गायक पशुपति शर्माको यो गीतलाई इन्द्रावतीका एक युवाले चरितार्थ बनाउनुभएको छ । जागिर छाडेर पशुपालनमा लाग्ने रहर थोरैलाई मात्र लाग्ने गर्छ । ती थोरैमध्येका एक हुनुहुन्छ रविन्द्रविक्रम थापा । सशस्त्र प्रहरीको जागिर चटक्कै छाडेर उहाँले अहिले पशुपालन तथा कृषि फार्म दर्ता गरेर सञ्चालन गरिरहनुभएको छ ।       इन्द्रावती–४ का रविन्द्र विक्रम थापाको दैनिकी आजकल फाममै बित्ने गर्दछ । उहाँको दिनचर्या बिहान ५ बजेदेखि सुरु हुन्छ । उहाँले आफ्नो फार्ममा भएका भैँसी, बाख्रा र कुखुराको रेखदेख र स्याहारसुसारमै दिन बिताउने गर्नुभएको छ । व्यावसायिकरुपमा सञ्चालित फाममा उहाँले केही सहयोगीहरु राख्नुभएको छ । तर पनि उहाँलाई सबै ठाउँमा एकपटक भए पनि पुग्नैपर्ने बानी नै लागिसकेको छ । बिहानदेखि साँझसम्म उहाँलाई फार्ममै भेट्न सकिन्छ ।       सशस्त्र प्रहरीमा कार्यरत उहाँले सेवा अवधि नसकिँदै बीचैमा जागिर छोड्नुभयो । तेह्र वर्षमै जागिर छोडेर १८ महिनाअघिदेखि पाल्चोकी कृषि तथा पशुपक्षी फार्म दर्ता गरेर बाख्रापालन सुरु गर्नुभयो । उहाँलाई एकपटक वैदेशिक रोजगारमा जान्छु भन्ने सोच नआएको पनि होइन तर कोरोना महामारीका कारण विदेश जान पाउनुभएन । “म कसैको मातहतमा रहेर जागिर खान मन नलाग्ने मान्छे । कि आफैँ केही गर्छु, कि एकपटक विदेश गएर आउँछु भन्ने सोच आयो तर जान पाइएन”, उहाँले भन्नुभयो ।    वैदेशिक रोजगारीको यात्रा सफल नभएपछि दिदी भिनाजुको सल्लाहबमोजिम नै उहाँले नेपालमै केही गर्ने सोच बनाउनुभयो । गाउँमा केही गरौँ भन्ने सोच लिएर कृषि तथा पशुपक्षी फाम दर्ता गर्नुभयो । सामाजिक सञ्जालमा बढी चाख राख्ने उहाँले त्यहीँबाट बाख्रापालनका बारेमा सिक्नुभयो ।       गाउँपालिकामार्फत दुईदिने कुखुरापालनको तालिमसमेत लिनुभयो । त्यसले पनि उहाँलाई व्यावसायिक उद्यमतिर लाग्न प्रेरित गर्यो । सुरुमा रु एक लाख ८० हजार रुपैयाँमा १२ वटा बाख्रा किनेर फार्मको सुरुआत गर्नुभयोे । उहाँको फाममा अहिले ३६ वटा बाख्रा छन् । बाख्रासँगै उहाँले स्थानीय जातका कुखुरा, एक हजार ५०० ब्रोइलर कुखुरा, तीन वटा र्भँसी र एउटा गाई पनि पाल्नुभएको छ । व्यावसायिक पशुपालनबाट अहिले मासिक रु ६०÷७० हजार आम्दानी हुने गरेको उहाँको भनाइ छ ।      करिब १२ रोपनी क्षेत्रफलभित्र रहेको उहाँको फाममा सात वटा टहरा छन् । हालसम्म संरचना निर्माणदेखि पशुपक्षीसम्ममा उहाँले रु २४ लाख लगानी गरिसक्नुभएको छ । “आफ्नो परिश्रमसहित हिसाब गर्ने हो भने रु ४० लाख लगानी भएको छ”, उहाँले भन्नुभयो । कतिपय आफैँले गर्नसक्ने कामहरु उहाँ आफैँ पनि गर्नुहुन्छ ।       जागिरे जीवन छाडेर व्यावसायिक बाख्रापालन सुरु गर्नुभएका थापाको मेहनत र कर्म निकै लोभलाग्दो छ । देशमा ‘अवसर’ नदेखेका युवाका लागि उहाँ प्रेरणाको स्रोत बन्नुभएको छ । आफ्नै गाउँमा बसेर पनि केही गर्न सकिन्छ भन्ने उदाहरण उहाँले दिनुभएको छ ।      उहाँले स्थानीय जातको बाख्रापालनमा विषेश जोड दिनुभएको छ । धेरैले उन्नत जातको बाख्रापालनलाई प्राथमिकता दिए पनि उहाँलाई स्थानीय जातकै बाख्रापालन गर्न रहर लागेको बताउनुहुन्छ । “उन्नत जातको भन्दा स्थानीय जातको बाख्रापालन गरेर मैले राम्रो आम्दानी गरिरहेको छु”, उहाँले थप्नुभयो । स्थानीय जातको बाख्रापालन गर्दा खर्च पनि कम हुनुका साथै स्थानीय हावापानीमा सुहाउँदो हुने हुनाले पनि स्थानीय जातको बाख्रापालन गरिरहेको उहाँको भनाइ छ ।      स्थानीय जातको भनेपछि व्यापारीले घरघरबाटै खसी, बोका लैजाने गरेको उहाँ बताउनुहुन्छ । बाख्रा सँगसँगै कुखुराबाट पनि उहाँले राम्रो आम्दानी गर्नुभएको छ । दश पटक ब्रोइलर कुखुरा बेच्दा रु छ लाख फाइदा भएको उहाँको भनाइ छ । उहाँले १८ महिनाको अवधिमा रु १३ लाख आम्दानी गरिसक्नुभएको छ । उहाँले छोटो समयमा नै यति धेरै प्रगति गरेको देखेर गाउँका कतिपय युवाहरु पनि व्यावसायिक उद्यमतर्फ लाग्न उत्साहित भएका छन् ।       बाख्रा र कुखुराबाट मात्र नभई गाई, भैँसीबाट पनि राम्रो आम्दानी गरिरहेको उहाँ बताउनुहुन्छ । उहाँको फार्ममा दुई वटा दुहुनो भैँसी र एउटा दुहुनो गाई छ । दूध बेचेर पनि राम्रो आम्दानी भइरहेको उहाँ बताउनुहुन्छ । “दूध बेचेर मात्रै पनि घरखर्च चलेको छ”, उहाँले भन्नुहुन्छ ।       कम्पोष्ट मल प्रयोग गरेर अर्गानिक तरकारीसमेत उहाँले लगाउनुभएको छ । आफूलाई खान पुग्ने तरकारी आफँै लगाउनुभएको छ । उहाँको फार्म वरिपरि लटरम्मै फर्सी फलेका छन् । केही समयअघि उहाँले च्याउखेतीसमेत गर्नुभएको थियो । च्याउबाटसमेत रु ८० हजार आम्दानी भएकोे उहाँ बताउनुहुन्छ । “भेन्टा पनि हुकिँदै छन्, गोलभेंडा पनि लगाएको थिएँ, त्यसबाट पनि राम्रो आम्दानी भएको थियो”, उहाँले भन्नुभयो ।       मौसमअनुसारको तरकारी पनि फलाउने गरेको उहाँले बताउनुभयो । व्यवसायमा उहाँलाई घर परिवारबाट राम्रो साथ र सहयोग रहेको छ । “हामी श्रीमान् श्रीमती मिलेर काम गर्छौं, एकअर्काको साथ सहयोगले गर्दा यहाँसम्म आएका हौँ”, उहाँले भन्नुभयो, “म बाख्रा चराउन गएका बेला उनी गाई, भैँसी र कुखुराको स्याहार गर्छिन् ।” उहाँहरुले कुटानीपिसानी मिलसमेत सञ्चालन गर्नुभएको छ । बिहान बेलुकाका समयमा धान कुट्ने, मकै र मसला पिँध्नेसमेत गर्नुभएको छ । यसबाट वरिपरिका स्थानीयलाई समेत सहज भएको छ ।     सरकारको यसरी नै गाउँघरमा बसेर काम गरिरहेका युवालाई सहयोग गर्ने हो भने कृषिउपजमा आत्मनिर्भर बन्न सकिने उहाँले बताउनुभयो । स्थानीय सरकारले कृषिमा अनुदानका कार्यक्रम सँगसँगै आधुनिकीकरण गरेर लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । खोर व्यवस्थापन, आधुनिक खेती प्रणालीजस्ता कुराको तालिम सरकारले उपलब्ध गराउनसके कृषकहरुमा थप ऊर्जा थपिने थापाले बताउनुभयो । त्यसो गर्न सकेमा कृषक आफैँ उत्साहित हुने उहाँको भनाइ छ ।      “कृषिमा युवा नआएसम्म परिवर्तन सम्भव छैन । सरकारले सहयोग गरेन भने हामीले केही गर्न सक्दैनौँ । सरकारी सहयोग नभएमा युवा विदेश जान बाध्य हुनुपर्ने अवस्था छ । सरकारले युवा व्यवसायमैत्री नीति बनाउनसके युवा विदेश पलायन हुनबाट रोकिन्छन् र स्वदेशमै उत्पादन बढ्न जाने उहाँको तर्क छ । 

  काठमाडौं । नेपाल पत्रकार महासङ्घले मुलुकको संविधानको सबैले अक्षरशः पालना गर्नुपर्ने बताएको छ ।       महासङ्घले संविधानले निर्दिष्ट गरेको सीमा र मर्यादाभित्र रही सबै पक्षले संवैधानिक व्यवस्थाको पालना गर्नुपर्नेमा जोड दिएको हो ।         महासङ्घका महासचिव रोशन पुरीद्वारा आज जारी विज्ञप्तिमा संविधानको मर्म र भावनाको उच्च कदर गर्दै संवैधानिक सर्वोच्चता कायम गर्ने विषयमा महासङ्घ सर्धँ क्रियाशील रहँदै आएको उल्लेख गरिएको छ । 

  बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाले वडा–वडामा पुगेर स्वास्थ्य शिविर सञ्चालन गर्नेदेखि गरिब, विपन्न परिवारको उपचारका लागि  सहयोगसमेत गर्दै आएको छ ।   नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने योजना बनाएको पालिकाले यसवर्ष मात्रै दुई हजार पाँच सय जनाको निःशुल्क बीमा गर्दैछ । आगामी पाँच वर्षसम्म करिब २० हजार नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने लक्ष्य राखेको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो । उहाँले स्वास्थ्य बीमाका लागि गाउँपालिकाले कार्यविधि तयार गरिसकेको र केही समयमै काम सुरु गर्ने जानकारी दिनुभयो ।   “हामी निर्वाचित भएर आएपछि स्वास्थ्य क्षेत्रमा केही सुधारका प्रयास भएका छन्, गाउँ–गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेका छौँ, यसबाट नागरिकले भरपुर सेवा लिन सक्छन्, यो एक महिनामा एक पटक मात्रै होइन, यो त पालिकाका १० वटै वडामा निरन्तर चल्छ” उहाँले भन्नुभयो “स्वास्थ्य संस्था पुगेर उपचार गराउन नसक्नेको थोरै भए पनि पैसा बचेको छ, रोग लुकाएर बसेकाको उपचार भएको छ, उहाँहरुले थोरै भए पनि राहत महसुस गर्नुभएको हामीले पाएका छौँ ।”   अध्यक्ष अधिकारीले अति विपन्न, गरिब, एकल महिला, एकल पुरुष, दीर्घरोगी, ‘ग’ वर्गका अपाङ्गता भएका व्यक्ति र न्यून आर्थिक अवस्था नागरिकलाई प्राथमिकतामा राखेर निःशुल्क स्वास्थ्य बीमा गरिने बताउनुभयो । उहाँले महिला स्वास्थ्य स्वम्सेविकालाई ५० प्रतिशत पालिका र ५० प्रतिशत केन्द्र सरकारले बीमा गरी दिने बताउनुभयो ।   “निःशुल्क स्वास्थ्य बीमा सबै नागरिकका लागि होइन, एउटा मापदण्ड बनाएका छौँ, सोही मापदण्डभित्र पर्ने नागरिकको मात्रै निःशुल्क स्वास्थ्य बीमा हुन्छ, हामीले बनाएको मापदण्डभित्र अति विपन्न, गरिब, एकल महिला, एकल पुरुष, दीर्घरोगी, ‘ग’ वर्गका अपाङ्गता भएका व्यक्ति र न्यून आर्थिक अवस्था भएका नागरिक पर्छन्” उहाँले भन्नुभयो “उपचारमै मान्छेले हजरौँ खर्च गरेका हुन्छ, गरिब विपन्नले उपचार गर्न नसक्ने भएको हुँदा कम्तीमा पालिकाले बीमा गरिदियो भने उनीहरुलाई सहुलियत हुने हुँदा हामीले यो कार्यक्रम ल्याएका हौँ, कार्यविधि तयार छ, अब केही समयमै बीमाको काम सुरु हुन्छ ।”   गाउँपालिकाले बिरामीको अवस्था र रोगको प्रकृति हेरेर १० देखि २० हजारसम्म भत्ता दिने गरेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । दश वडा रहेको बडिगाडमा स्वास्थ्य चौकी सात, आधारभूत स्वास्थ्य सेवा केन्द्र तीन र सामुदायिक स्वास्थ्य इकाई ६ रहेको स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकाले ग्वालीचौरमा ‘फार्मेसी’समेत सञ्चालन गरेको अध्यक्ष अधिकारीले जानकारी दिनभयो । नागरिकलाई सहज र सुपथ मूल्यमा औषधि उपलब्ध गराउनका निम्ति फार्मेसी सम्भालन भएको उहाँको भनाइ छ ।    गाउँपालिकाले तीन स्थानमा प्रयोगशाला सेवा, भिडियो एक्सेरे र कुपोषण भएका बालबालिकाको उपचारका लागि उपचार केन्द्रसमेत सञ्चालनमा ल्याएको छ ।

भरतपुर । सानै काम भए पनि निरन्तर लागिरह्यो भने सफलता मिल्छ भन्ने एक उदाहरण यहाँका सुरेश ठाकुरले देखाउनुभएको छ । परिश्रम गर्नसके स्वदेशमा नै काम गर्न सकिन्छ भन्ने उदाहरण ठाकुरले देखाउनुभएको हो । कपाल काटेरै उहाँले भरतपुरमा तीन तलाको घर बनाउनुभएको छ ।       त्यसो त उहाँका एक छोरा चार्टर एकाउन्टेन्ट उत्तीर्ण गरी काममा लागेका छन् । अर्का एक छोरा र एक छोरीले पनि उच्च शिक्षा हासिल गरिसकेका छन् । यो सबै ठाकुरको मेहनतको कमाइ हो । कलैया जिल्लाको देउताल गाउँपालिका–४ पिप्राडीका स्थायी बासिन्दा ठाकुरले स्थानीय विद्यालयबाट कक्षा १० उत्तीर्णपछि यो पेसामा लाग्नुभएको हो । स्थानीयस्तरमा काम सिकेर छ महिना उहाँले भारतको दिल्ली पुगेर तालिम लिनुभएको हो ।       विसं २०५० मा भरतपुरको तत्कालीन जिल्ला विकास समितिको जग्गामा रहेको सटरमा उहाँले कपाल काट्न सुरु गर्नुभयो । त्यतिबेला उहाँको उमेर १८ वर्षको थियो । उहाँले भन्नुभयो, “म मेरो फूपाजु रामकुमार ठाकुरसँग कपाल काट्ने कामका लागि चितवन आएँ ।” २६ वर्ष त्यहीँ ठाउँमा कपाल काटेपछि उहाँ अहिले केही पर सर्नुभएको छ ।      यहाँ आएर सुरुमा नै आफैँले व्यापार थालेको उहाँ सम्झनुहुन्छ । त्यतिबेला दाह्री र कपाल काटेको रु १० लिने गरिन्थ्यो । अहिले यो मूल्य बढेर रु एक सय ७० पुगेको छ । त्यतिबेला दैनिक ५० जना सम्मको दाह्री कपाल काटेको उहाँलाई अनुभव छ ।      अहिले यो सङ्ख्या ३०÷३५ छ । आम्दानी हुँदै गएपछि बसाइँ चितवन बनाउने रहर उहाँमा जाग्यो । यहाँ कमाएको पैसाले वीरगञ्जमा जग्गासमेत किनिसक्नुभएको थियो । सन्तान हुर्कंदै गएपछि त्यहाँको घडेरी बेचेर भरतपुर महानगरपालिका–१२ मा घडेरी किन्नुभयो । सोही घडेरीमा उहाँको तीन तलाको घर ठडिएको छ । ४५ वर्षीय ठाकुरका जेठा छोराले स्नातक गरेर जागिर खान थाल्नुभएको छ । कान्छो छोराले भारतको चण्डीगढबाट सिए उत्तीर्ण गरेर यही लेखापरीक्षण सुरु गर्नुभएको छ । उहाँका छोरी कक्षा १२ पढ्दै हुनुहुन्छ । अहिले पनि निरन्तर कपाल काट्दै आउनुभएका ठाकुर मेहनत ग¥यो भने यही कमाइ हुने बताउनुहुन्छ ।      जीवनको झण्डै तीन दशक यो पेसामा सङ्घर्षरत ठाकुरले भन्नुभयो, “मेहनत गरेर काम गर्नुस् विदेशिनु पर्दैन ।” कर्मथलो चितवन बनाउनु भएका ठाकुरको मेहनतको कमाइले स्थायी बसोबास भरतपुर बनेको हो । अहिले पनि उहाँको आफ्नै कमाइले परिवार धानेको छ । छोरीबाहेकको पढाइ खर्च घटेपछि र छोराको आम्दानी सुरु भएकाले अबका दिन यस्तै परिश्रम गरिरहनु नपर्ने उहाँ बताउनुहुन्छ ।

  मुगु । मुगुको स्याउले बजार नपाउँदा किसानले घरकै शीतभण्डारणमा थुपारेर राख्न बाध्य भएका छन् । स्याउ किसान टक्कबहादुर शाही भन्नुभयो, “लगातारको अविरल वर्षाले सडक सञ्जाल अवरुद्ध भयो , सडक नखुलेपछि स्याउ भण्डारण गरिएर राखियो , अहिले स्याउले बजार नै पाएन ,  स्याउले बजार नपाउँदा कुहिन्छ कि भन्ने चिन्ता छ ।”      यस वर्ष स्याउको उत्पादन बढेसँगै यहाँका किसान निकै खुसी थिए । उहाँले भन्नुभयो, “छ वर्षदेखि स्याउ बेचेर घर खर्च धान्दै आएको छु ,  यसवर्ष स्याउ उत्पादन बढेको छ तर बजार पाउन समस्या परेको छ ।” स्थानीय सरकारले स्याउको बजारीकरणमा समन्वय गरिदिन उहाँले आग्रह समेत गर्नुभयो ।  

  दोधारा चाँदनी । महाकालीपारिको गाउँ भनेर चिनिने कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा विकास निर्माणले गति लिएको छ ।   कुनै बेला टुकी बालेर जङ्गली जनावर र बाढीको त्रासमा रहेका यहाँका बासिन्दाले स्थानीयतह आएपछि यहाँ सरकार भएको महसुस गर्न पाएको बताउँछन् । विसं २०२१ देखि दोधारा चाँदनीमा बस्दै आउनुभएका ७० वर्षीय धीरबहादुर कठायतले विगतको तुलनामा अहिले धेरै विकास भएको बताउनुभयो । “उतिबेला न बिजुली थियो, न सडक नै महेन्द्रनगर जान पनि भारतको बाटो शारदा ब्यारेज भएर जानुपथ्र्यो”, उहाँले विगत सम्झिँदै भन्नुभयो, “बर्खामा बाढी, जङ्गली जनावर तथा कतिपय अवस्थामा डाकाहरू लुटपाट गर्न आउँने डर हुन्थ्यो ।”   उहाँले २०७४ को निर्वाचनपछि मात्रै दोधारा चाँदनीले बिजुली बत्ती देख्न पाएको बताउनुभयो । “यहाँका बडुवाल टोल र कुतियाकवर अन्धकारमा थिए”, उहाँले भन्नुभयो, “अहिले सबै बस्तीमा बिजुली पुगेको छ, सडकले छोएको छ ।” कञ्चनपुरको दोधारा चाँदनीलाई महेन्द्रनगर सदरमुकासँग जोड्न विसं २०६१ मा महाकाली नदीमा झोलुङ्गे पुल बनेपछि मात्रै दोधारा चाँदनी नेपालसँग जोडिएको हो ।   त्यसअघि दोधारा चाँदनी पुग्न भारतको बाटो भएर महेन्द्रनगर आउनुपर्र्ने बाध्यता रहेको थियो । दोधारा चाँदनी–३ बडुवाल टोलका मनि क्षेत्रीले पहिलाको तुलनामा अहिले धेरै सहज भएको बताउनुभयो ।“पहिला गाउँमा हात्ती पस्थे, भागौं भनेपनि उज्यालो थिएन”, उहाँले भन्नुभयो, “अहिले बिजुली बत्ती र सडक पुगेको छ यसले धेरै सहज भएको छ ।”   विसं २०२३ देखि यहाँ बसोबास गरिराख्नुभएका उहाँले स्थानीय सरकार आएपछि जोगबुढा नदीमा बनेको तटबन्धले बाढीको त्रास हटेको बताउनुभयो ।  “पहिले त यहाँ नेपाली पैसासमेत चल्दैन थियो कारोबार भारतीय पैसामा हुन्थ्यो”, उहाँले भन्नुभयो, “किनमेल औषधोपचार सबै भारतबाट हुने गथ्र्यो ।”   दोधारा चाँदनी नगरपालिका–४ का सदस्य गगनबहादुर सिंहले स्थानीय सरकार गठन भएपछि दोधारा चाँदनीमा विकासले फड्को मारेको बताउनुभयो । “विगतको तुलनामा दोधारा चाँदनीमा धेरै विकास भएको छ सडक,बिजुलीबत्तीलगायतका सुविधा स्थानीय सरकार आएपछि बनेका हुन्”, उहाँले भन्नुभयो, “दोधारा चाँदनीमा बन्ने भनेको सुक्खा बन्दरगाह बने यहाँको कायापलट हुन्छ ।”    महाकाली नदीमा चार लेनको पक्की पुल सञ्चालनमा आएपछि  दोधारा चाँदनीको मुहार फेरिएको छ । पुलले यहाँका बासिन्दालाई भारतीय बाटो भएर महेन्द्रनगर आउनुपर्ने बाध्यता हटेको छ भने यहाँको व्यापार व्यवसायसमेत फष्टाएको स्थानीय बताउँछन् ।    दोधारा चाँदनी नगरपालिका–३ का अध्यक्ष हरिसिंह धनाडीले महाकाली नदीमा बनेको मोटरेबल पुलले दोधाराको मुहार नै परिवर्तन गरिदिएको बताउनुभयो । “हामीलाई सर–सामान ल्याउन धेरै समस्या हुन्थ्यो शारदा ब्यारेजमा भारतीयले गेट नखोल्ने, घण्टौँ कुर्नुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “महाकाली नदीमा बनेको पुलले दोधारावासीका सुखका दिन आएका छन् ।”   दोधारा चाँदनी नगरपालिकाले पनि पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको छ । नगरपालिकाले सबै वडालाई सडक सञ्जालले जोडेको छ । गत आर्थिक वर्षमा नगरपालिकाले दुई हजार दुई सय ९१ मिटर सडक कालोपत्रे गरेको छ भने नौ हजार चार सय ४० मिटर सडक ग्राभेल गरेको छ । नगरप्रमुख किशोर लिम्बूले पूर्वाधार विकासलाई नगरपालिकाले मुख्य प्राथमिकतामा राखेको बताउनुभयो । “सडक, शिक्षा स्वास्थ्य र कृषि नै हाम्रो प्रमुख प्राथमीकतामा छ”, उहाँले भन्नुभयो, “अहिले नयाँ बाटा खोल्ने र सडक कालोपत्र गर्ने काम भइरहेका छन् ।” उहाँले नगरपालिकाकालाई समृद्ध नगर बनाउन आफू प्रतिबद्ध भएर काम गरिरहेको बताउनुभयो ।   “नगरपालिकाको आन्तरिक आम्दानी न्यून छ, यहाँको बजेटले मात्रै यहाँको विकासका लागि पुग्दैन”, उहाँले भन्नुभयो, “प्रदेश र केन्द्र सरकारले पनि सहयोग गरेमात्रै यहाँको विकास गर्न सहज हुन्छ ।” उहाँले केन्द्र सरकार र प्रदेश सरकारसँग बजेट माग गरेको बताउनुभयो ।   कुल क्षेत्रफल ५६.८ वर्गकिलोमिटर फैलिएको यो नगरपालिकालाई टापुको बस्ती भनेर पनि चिनिन्छ । तीनतर्फ जोगबुढा नदी र एकातर्फ महाकाली नदीले घेरेको यो नगरपालिका भारतको उत्तराखण्ड र उत्तरप्रदेशसँग सीमा जोडिएको छ ।यहाँ मुख्यरूपमा मकै,धान,गहुँ,मसुर,तोरी,उखुखेती हुने गरेको छ । यहाँका अधिकांश मानिसको आयस्तर कम भएकाले रोजगारीका लागि भारत जाने गरेका छन् ।

  बागलुङ । अविरल वर्षापछि खसेको पहिराले ढोरपाटन नगरपालिका–७ स्थित लघुजलविद्युत् आयोजनाको कुलो बगाएको छ । कुलो बग्दा यहाँका तीन सय ५० परिवार बिजुलीबिहीन अवस्थामा छन् । भुजीखोला लघुजलविद्युत् आयोजना बन्द भएको छ ।   एक सय किलोवाट क्षमताको सो आयोजनाको कुलो बग्दा ढोरपाटन नगरपालिका–७ का तीन सय ५० परिवार बिजुलीबाट वञ्चित भएका छन् । अन्धकारमा बस्नुपर्दा उनीहरूको दैनिकी कष्टकर भएको छ । “बिजुली नभएपछि बालबालिकाले पढ्न लेख्न पाएका छैनन्, गृहकार्य  पनि अँध्यारो नहुँदै सकाउनु परेको छ”, ज्ञानोदय माविका प्रधानाध्यापक यामबहादुर कायतले भन्नुभयो, “मोबाइलसमेत चार्ज गर्न सकिएको छैन ।” चाडपर्वका बेला देश–विदेशमा बसेका आफन्तलाई सम्पर्क गर्नसमेत नसकिएको उहाँले गुनासो गर्नुभयो ।   ढोरपाटन नगरपालिकाको वडा नं ५, ६, ७, ८ र ९ मा अहिले पनि राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छैन । गाउँलेकै चन्दाका भरमा एक दशकअघि बनेको उक्त लघुविद्युत् आयोजनाका भरमा स्थानीयले कुटानी, पिसानी तथा विद्यालयमा कम्प्युटर कक्षा चलाएका थिए । “भत्के–बिग्रेको काम पनि चन्दा उठाएरै गरिरहेका थियौँ, अहिले त पहिरो खसेर बर्बादै बनायो”, नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले भन्नुभयोे, “चाडपर्वमा बत्ती नभए कसरी खुसी हुने रु” कायतले स्थानीय युवाहरू परिचालन गरेर अस्थायीरूपमा पानी चलाउने प्रयास भएको बताउनुभयो ।   भुजीखोलाबाट निकालिएको बिजुलीको झण्डै २० मिटर कुलो पहिराले बगाएको छ । बगेको पहिरो तीन सय मिटर उचाइको छ । भिरमा गएर काम गर्न कठिन भएपछि स्थानीयले जस्तापाता र पाइपबाट पानी कटाएर कुलो चलाउने प्रयास गरिरहेका छन् । दिगो व्यवस्थापनका लागि भने स्थानीयले नगरपालिकासँग सहयोग मागेका छन् । वर्षात् नरोकिएकाले तत्काल दिगो व्यवस्थापन गर्न नसकिने अवस्था देखिएको उहाँले बताउनुभयो ।    “पहिरो अझै खस्नेजस्तो छ, मौसम ठिक भएपछि मात्रै बनाउने योेजना छ”, कायतले भन्नुभयो, “अस्थायीरूपमा पानी चलाउन पनि रु १० लाखभन्दा बढी खर्च हुने अवस्था छ ।” तीन वर्षअघि भुजीखोलाको बाढीले मुहान बगाएको थियो । मर्मत गरेर चलाएको कुलोको बीच भागमा खसेको पहिराले फेरि विद्युत् अवरुद्ध भएको हो ।

 टीकापुर ।  गत शनिबार गएको बाढीले कैलालीमा ठूलो क्षति भएको छ । बाढीका कारण मानवीय क्षति, धनजनको क्षतिमात्र नभई कृषि तथा पशुपालनतर्फ समेत ठूलो क्षति पुगेको छ । कैलालीको भजनी नगरपालिकामा व्यावसायिकरूपमा माछापालन गरिरहेका किसान पोखरीका सबै माछा बगेपछि मारमा परेका छन् ।    भजनीमा करिब ४० किसानले व्यावसायिकरूपमा माछापालन गरेका छन् । सबै किसानका पोखरीका माछा बाढीमा बगेका छन् । भजनीका दीपक चौधरीले पोखरीमा १० हजार माछा पाल्नुभएको थियो । माछा हालेको छ महिना भइसकेको थियो । माछा आधा किलोदेखि एक किलोसम्मका थिए । “माछा तयार भइसकेकाले दशैँमा बेच्ने तयारी थियो”, उहाँले भन्नुभयो, “आम्दानी लिने बेलामा बाढीले सखाप पार्यो, माछाका भुरामा लगानी, दानापानी, दैनिकको लगानी खेर गयो । यही व्यवसायले जीवन चलेको थियो, हामी त बर्बाद भयौँ ।”   चौधरीका माछासँगै बङ्गुरसमेत बगेका छन् । उहाँका बङ्गुरका १२ बच्चा र दुई माउ बाढीमा बगेका छन् । “कृषिकर्म गरेर जीवन चलाउन भने पनि बाँच्न सक्ने अवस्था रहेन”, उहाँले पीडा सुनाउनुभयो, “न धानखेती बाँकी रह्यो, पालेका माछा बगे, बङ्गुर पनि बगे, अब के गर्ने केही सोच्न सकिएको छैन ।”   बाढी आएपछि भजनी–८ थापापुरका पुरनकुमार चौधरीका पनि एक हजार छ सय माछा बगेका छन् । पुरनकुमारको पोखरीमा सात महिनाका माछा थिए । उहाँले पनि दशैँ–तिहारमा माछा बेच्ने तयारी गर्नुभएको थियो । “दशैँमा बेचेर आम्दानी लिने तयारी थियो, सबै बगेर गए”, उहाँले भन्नुभयो, “लाखौँको क्षति भयो ।”   भजनीकै सन्तोष शाहका पनि पाँच हजार माछा बगेका छन् । उहाँले रु ६० हजारका माछाका भुरामात्रै हाल्नुभएको थियो । उहाँको पोखरीमा आधा किलोसम्मका माछा भएका थिए । “माछा दशैँ–तिहारमा बजारमा पठाउने तयारीमा थियौँ, लगानी जति सबै भइसकेको थियो, उत्पादन बजार पठाउने र आम्दानी लिनेबेला ब्रजपात प¥यो”, सन्तोषले भन्नुभयो, “विपद्ले पनि किसानलाई बढी पीडा दिने रहेछ । न माछा रहे, फुलिरहेको धानखेती पनि रहेन, अब कसलाई के भन्नु रु”   भजनी नगरपालिकाका पशु शाखा प्रमुख हरिलाल जैसीले माछापालनतर्फ कति क्षति भयो भन्ने पूर्ण विवरण आउन समय लाग्ने बताउनुभयो । “अहिलेसम्म सात जना पोखरी किसानले पालिकामा निवेदन दिनुभएको छ”, उहाँले भन्नुभयो, “पालिकाभरि ४० भन्दा बढी पोखरीमा व्यावसायिकरूपमा माछापालनमा लाग्नुभएका किसान हुनुहुन्छ । सबैको क्षति भएको खबर छ”, उहाँले भन्नुभयो, “एउटै किसानले चार कठ्ठादेखि दुई बिघा जमिनसम्ममा माछा पाल्नुभएको छ ।”   बाढीले कैलालीमा ठूलै धनजनको क्षति गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीको तथ्याङ्कअनुसार जिल्लामा ११ हजार तीन सय ९४ घरधुरी प्रभावित छन् । बाढीले बढी क्षति भएको भजनीमा सात हजार ७६ घरपरिवार प्रभावित छन् । भजनीमा तीन हजार ३२ घरधुरी विस्थापित छन् । विस्थापित भएकाहरू हुलाकी सडकमा बसिरहेका छन् । त्यस्तै जोशीपुर गाउँपालिका बाढी तथा डुबानबाट एक हजार दुई सय ३६ परिवार विस्थापित भएका छन् । टीकापुर नगरपालिकामा सात सय ५५ घरपरिवार प्रभावित भएको तथ्याङ्क छ । बाढीले टीकापुर नगरपालिकाका ५, ६, ७, ८, ९ नं वडा सबैभन्दा बढी प्रभावित भएका पालिकाले जनाएको छ ।   जानकी गाउँपालिकामा दुई सय परिवार, कैलारीमा एक सय ७५, लम्कीमा एक सय ४५, गोदावरीमा एक, धनगढीमा १४ घरपरिवार विस्थापित भएका छन् । बाढीबाट भएको क्षतिको सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावलले निरीक्षण गर्नुभएको छ । मन्त्रीले टीकापुर, भजनी, जोशीपुरलगायतका क्षेत्रमा निरीक्षण गर्नुभएको हो । वडा नं ६ लगायतका ठाउँमा राहत वितरणसमेत गर्नुभएको छ ।