कञ्चनपुर : यतिबेला कञ्चनपुरका थारु समुदायका महिलाहरु दसैँँका लागि घर सजाउन व्यस्त छन् । अहिले घर चिटिक्क पार्ने, आँगन सजाउने, माछामासु र दाउराको जोहो गर्ने र किनमेल गर्ने जस्ता कार्यमा यो समुदायका महिला व्यस्त भएका हुन् । जिल्लाको भीमदत्त नगरपालिका–१८ की देवी चौधरी घर लिपपोत गर्न व्यस्त हुनुहुन्छ । थारु समुदायमा दसैँमा घर लिपपोत गरेर सजाउनु अनिवार्य जस्तै मानिन्छ । “अहिले घर लिपपोत गर्नेदेखि किनमेल गर्ने चटारो छ”, उहाँले भन्नुभयो, “दसैँ सुरु हुनुभन्दा अगाडि नै हामी सबै तयारी गरिसक्छौँ, दसैँमा सखिया नाच्ने र रमाउने हो ।” अहिले गाउँमा अधिकांशले घर लिपपोत गरेर सजाइसकेका छन् । थारु समुदायमा दसैँ विशेष चाड भएकाले यसको रौनक एक महिना अघिदेखि नै सुरु हुन्छ । “दसैँमा पूजा गर्दा कुखुराको मासु, माछा, कुभिन्डो, ढिक्री, रक्सी आदि चाहिन्छ”, उहाँले भन्नुभयो, “पूजा सकिएपछि सबैजना सखिया नाच्ने र रमाइलो गर्छन ।” अन्य समुदायको भन्दा यो समुदायमा दसैँ मनाउने चलन पृथक रहेको उहाँको भनाइ छ । पछिल्लो समय सामुदायिक वनले जङ्गलबाट माटो ल्याउन निषेध गरेपछि यो समुदायलाई समस्या भएको छ । माटोले लिपपोत गरेर खरले छाएका घर थारु समुदायका पहिचान हुन् । चौधरीले भन्नुभयो, “सामुदायिक वनले माटो ल्याउन निषेध गरेपछि यस्ता घरहरु हराउन थालेका छन् ।” स्थानीयवासी लक्ष्मीराम चौधरी पनि दसैँका लागि सामान जुटाउन व्यस्त हुनुहुन्छ । उहाँ केही दिनदेखि माछाको जोहोमा लाग्नुभएको छ । “घरमा महिलाहरु घर लिपपोत गर्दैछन्, म माछाको जोहोमा छु”, उहाँले भन्नुभयो, “दसैँमा सुकाएको माछा र रक्सी थारु समुदायको विशेष हो ।” पछिल्लो समय पक्की घरहरु बन्न थालेपछि विगतको जस्तो रौनकता भने नभएको उहाँको भनाइ छ । स्थानीय सीता चौधरीका अनुसार दसैँका बेला सखिया नाच रातभरि हुने गर्दछ । यो नाचमा भगवान्को मात्रै महिमा हुन्छ । उहाँले भन्नुभयो, “पछिल्लो समय विभिन्न कारण एक महिना खेलिने यो नाच छोटिँदै गएको छ ।” टीका लगाइसकेपछि सबै गाउँलेहरु भेला भएर सखिया नाच नाच्ने चलन छ । तर पछिल्लो समय यो नाच लोप हुँदै गएको छ । “पहिलेको जस्तो रातभर नाच्ने गाउने चलन त हराइसक्यो”, उहाँले भन्नुभयो, “अहिले संस्कृति जोगाउन भए पनि कार्यक्रमको आयोजना गरी सखिया नाच्ने गरिन्छ ।” पछिल्लो पुस्ता आधुनिकतामा रमाउन थालेपछि सखिया नाचको मौलिकता हराउँदै गएको थारु समुदायका पाका पुस्ता बताउँछन् ।
गलेश्वर : नेपालीको महान चाड बडादशैं हाम्रो घर आगनमा आइसकेको छ । पितृपक्ष (सोह्र श्राद्ध) समाप्त भएर नवदुर्गा आरम्भ हुने वित्तिकै दसैं सुरु भए पनि दशैंको रौनक र मौलिकता भने कतै देखिएको छैन । दशैं सुरु हुने वित्तिकै गरिने पहिलो काम भनेको घर आगनको लिपपोत, सरसफाइ हो । रातोमाटो र कमेरोले लिपपोत गरेर चिटिक्क पारिएका घरमा जमरा राखेसँगै दसैँको उत्सव सुरु हुने गर्दछ । विगत केही वर्षयता रातोमाटो र कमेराले घर लिपपोत गर्ने चलन हराउँदै गएपछि रातोमाटो र कमेराका मड्किना (माटो निकालिने ठाउँ) पुरिदै गएका छन् । गाउँमा विकास र सुविधासँगै आधुनिकताको प्रभाव बढ्दै गएपछि रातोमाटो र कमेराले घर लिपपोत गर्ने चलन हराउँदै गएको छ । म्याग्दीका ग्रामीण भेगका अधिकांश घर पनि सिमेन्टले प्लास्टर गरेर लिपपोत गर्नै नपर्ने किसिमका बनाइएका छन् । बजारमा आयातित रङ किनेर घर रङ्गाउने चलन सुरु भएपछि कमेरो र रातोमाटोले घर पोत्ने चलन हराउँदै गएको बेनी नगरपालिका–२ बगरफाँटका बाबुराम उपाध्यायले बताउनुभयो । एक समय थियो, दसँै भित्रिदै गर्दा रातोमाटो र कमेरोले घर आगन लिपपोत गरी घर चिटिक्क बनाइन्थ्यो । गाउँका सबै मिलेर घरसम्म पुग्ने गोरेटो खनिन्थ्यो । बाबियोले बाटेको लिङ्गे पिङ र स्थानीय काठबाट निर्माण गरिन्थ्यो, रोटे पिङ लगाइन्थ्यो, अनि गाउँभरिका सबै भेला भएर रमाउने गरिन्थ्यो । अहिले यी सबै चलन हराउँदै गएकाले दशैंको मौलिकता नै नासिएको स्थानीयवासीको भनाइ रहेको छ । दशैंमा घर लिपपोत गर्नका लागि रातोमाटो र कमेरो लिन दुई तीन दिनको बाटो हिँडेर म्याग्दीको बेनी नगरपालिका–२ मा पर्ने रत्नेचौर र सारेमारेमा जिल्ला भरिका महिला तथा पुरुषको भीड लाग्ने गर्दथ्यो । दशैं सुरु हुनुभन्दा चार पाँच दिन अघिदेखि नै रातोमाटो र कमेरोका मड्किनामा स्कुलका विद्यार्थीदेखि गृहिणीको भीडले माटो र कमेरो निकाल्न पालो कुर्नुपथ्र्यो । तर, अहिले रत्नेचौर र सारेमारेका मड्किनामा माटो लिन आउनेको सङ्ख्या नगन्य रहेको स्थानीयवासी हेमकुमारी सापकोटाले बताउनुभयो । त्यसैगरी दशैंका लागि आवश्यक पर्ने चिउरा चामल आदि खाद्यान्न ढिकी जातोमा कुट्ने, पिध्ने गरिन्थ्यो । तर अहिले यी सबै चलन एकादेशको कथामा परिणत भएका छन् । गाउँघरमा ढिँकीजाँतोमा अन्न कुट्ने पिध्ने चलन हराएको छ । ढिँकीजाँतोदेखि नै छोडेका छन् । दशैंमा यी प्रचलन सबै लोप हुँदै गएका छन् । दशैं पहिलेको भन्दा महँगो र पृथक बन्दै गएकोे ज्यामरुक कोटका रामकृष्ण घिमिरेले बताउनुभयो । रातो माटो र कमेरोले लिपपोत गर्ने घरमा अहिले आयातित विभिन्न कलर(रङ)लगाउन थालिएको छ । प्रत्येक घरबाट एक÷एकजना सदस्य अनिवार्य उपस्थित भएर श्रमदान गरी गरिने बाटोघाटोको सरसफाइ गर्न छोडिएको छ । “गोरेटो बाटो पुरिँदै गएका छन्, मोटरबाटो डोजर लगाएर सफा गर्न थालिएको छ । त्यस्तै पिङ लोप ह गएका छन् । दसँैका लागि आवश्यक पर्ने सम्पूर्ण खाद्यान्न बजारमै पाइने हुँदा ढिँकीजाँतोमा कुटानीपिसानी गर्न छोडिएको छ । दसँैको मौलिकता नै हराउँदै गएको छ”, पश्चिम म्याग्दीको रणबाङका पण्डित हरिकृष्ण पौडेलले बताउनुभयो । मौलिकतालाई छोड्दै र आधुनिकतालाई पछ्याउँदै जान थालिएपछि दशैं पनि महँगो बन्दै गएको स्थानीयवासीको बुझाइ रहेको छ । पहिला–पहिला रैथाने साधन, स्रोत, सीप र प्रविधिमा दशैं मनाइन्थ्यो । अहिले आयातित साधन, स्रोत, सीप र प्रविधि अपनाइएका कारण सर्वसाधारणका लागि दशैं दशा बन्न थालेको वुद्धिजीवीले बताएका छन् । रातोमाटो र कमेरोले घर पोत्दा, नयाँ कपडा, पिङ, गाउँभरिका सबै मिलेर गोरेटो सरसफाइ गर्दा त्यो बेला दशैंको आभाष हुने गरेको थियो ।
काठमाडौं : दसैँ, तिहार, छठलगायत महत्वपूर्ण चाडपर्वमा मात्रै होइन अन्य समयमा पनि दैनिक उपभोग्य बजारको चरम मारमा उपभोक्ता पर्ने गरेका छन् । विशेषगरी चाडपर्वको मौका पारेर व्यापारी उपभोक्तालाई महँगो मूल्यमा वस्तु तथा सेवा बिक्री गर्न तल्लिन हुन्छन् । त्यसो त उपभोक्ता पनि स्वयं जागरुक र जिम्मेवार नबन्दा गुणस्तरहीन खाद्यवस्तु र सामग्री उपभोग गरेर कालोबजारी गर्नेलाई बल पुगिरहेको छ । वस्तु र सेवा प्रदायक उपभोक्ताप्रति इमान्दार नबन्दा बजारमा एकातिर कालोबजारी र महँगी मौलाएको छ भने अर्कोतर्फ बजार अनुगमन गर्ने निकायको प्रभाविकारिता पनि नदेखिएको उपभोक्ता अधिकारकर्मीको गुनासो छ । उपभोक्ता जागरण अभियान नेपालका अध्यक्ष कृष्णप्रसाद भण्डारीले उपभोक्ता आफैँ सचेत नभएसम्म बजारमा उपभोग्य सामग्रीको महँगी र कालोबजारी नियन्त्रण नहुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “उपभोक्ताको मुहार हेरेर व्यापारीले मूल्य निर्धारण गर्छन् । अनुगमनकारी निकाय मूकदर्शक बनरिहेको अवस्था छ, त्यसैले व्यवसायीलाई अनुशासित तुल्याएर उपभोक्ता मैत्री नबनाएसम्म बजार स्वच्छ रहन सक्दैन, त्यसमा उपभोक्त स्वयं पनि जागरुक र जिम्मेवार बन्न जरुरी छ ।” ‘चाडपर्वमा हुने बजार अनुगमन तथा शान्ति सुरक्षा’ विषयमा सञ्चार केन्द्र नेपालले आज आयोजना गरेको अन्तक्र्रियामा उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधवप्रसाद तिमल्सिनाले बजारमा समग्र वस्तुको मूल्यवृद्धि भएको भन्दै उपभोक्तालाई अनुभूति हुनेगरी बजार अनुगमन हुन नसकेको बताउनुभयो । दसैँ, तिहारललगायत पर्वमा मात्र नभई बजार अनुगमनलाई निरन्तर अभियानका रूपमा सञ्चालन गरिनुपर्ने उहाँको धारणा छ । “बजारको प्रभावकारी अनुमगन हुन सकेको छैन । व्यापारीले उपभोक्तालाई चर्को मूल्यमा वस्तु तथा सामग्री खरिद गर्न बाध्य तुल्याइरहेका छन् । खाद्य उपभोग्य वस्तुमात्र नभई चाडपर्वमा गाउँघर जाने यात्रुलाई सडक तथा हवाई यातायातमा महँगो भाडाले पिरोलेको छ ।” चर्को मूल्य तिरेर भए पनि उपभोक्ताले सहजरूपमा सेवा पाउन नसकेको उपभोक्ता अधिकारकर्मीको भनाइ छ । महङ्गोमा वस्तु तथा सामान खरिद गर्दा गुणस्तरीय सामान पाउन उपभोक्तालाई मुस्किल छ । विद्यमान अनुगमन प्रणालीमा विशेषज्ञसहितको अनुगमन नहुँदा उपभोक्ताको स्वास्थ्यमाथि नै जोखिमको सम्भावना बढेको छ । आपूर्ति सहज र सुरक्षा सुदृढ उपभोक्ता अधिकारकर्मीले प्रभावकारी बजार अनुगमन नभएको गुनासो गरिरहँदा सरकारी निकायले भने दैनिक उपभोग्य बजारको प्रभावकारी अनुगमन गरी आपूर्तिलाई सहज बनाउन र शान्ति सुरक्षा कायम गर्न सक्रिय ढङ्गले लागेको बताएमने छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) घनश्याम उपाध्यायले आपूर्ति सहज गरी उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण तथा सामग्रीको गुणस्तर कायम गर्न सरोकारवाला निकाय समन्वयात्मक ढङ्गले सक्रियरूपमा परिचालन भएको बताउनुभयो । उहाँले आपूर्ति सहजीकरणसँगै मूल्यवृद्धि नियन्त्रण, बजारमा शान्ति सुरक्षा कायम गर्न तथा गन्तव्य पुग्ने यात्रुको सवारीसाधन व्यवस्थापनमा आफू लागिपरेको बताउनुभयो । प्रजिअ उपाध्यायले भन्नुभयो, “नागरिकको सेवालाई चुस्तदुरुस्त बनाउन र उपभोग्य वस्तुको मूल्य स्थिर र गुणस्तरीय खाद्य सामग्री सुनिश्चित गर्न वाणिज्य विभाग क्रियाशील भएर लागेको छ । चाडपर्वलक्षित शान्ति सुरक्षा योजना कार्यान्वयनमा आएको छ । चारवटै सुरक्षा निकायसँग समन्वय गरी एकीकृत सुरक्षा योजना लागू गरिएको छ ।” बजार अनुगमनको नेतृत्व वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरिरहेको र त्यसलाई सहजीकरण गर्न आवश्यक सुरक्षाकर्मीको व्यवस्थापन जिल्ला प्रशासन कार्यालयले गरेको उहाँले जानकारी दिनुभयो । चाडपर्व केन्द्रीय सुरक्षा योजना कार्यान्वयनमा दसैँ, तिहार, छठलगायत चाडपर्वमा हुने सम्भावित जोखिम नियन्त्रण गर्न र शान्ति सुरक्षालाई चुस्तदुरुस्त बनाउन चाडपर्व केन्द्रीत सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको प्रजिअ उपाध्यायले जानकारी दिनुभयो । चारवटै सुरक्षा अङ्गको समन्वय गरी एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको उहाँको भनाइ थियो । यसका साथै काठमाडौँ उपत्यकाको तीनवटै जिल्लामा एकीकृत सुरक्षा योजना लागू गरिएको छ । साथसाथै, सडकका खाल्डा पुर्ने तथा सरसफाइ कार्यका लागि सरोकारवाला निकायको सहकार्यमा काम भइरहेको छ । सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिबीच छलफल गरी चाडपर्व लक्षित १६ बुँदे निर्णय कार्यान्वयनमा ल्याइएको प्रजिअ उपाध्यायले जानकारी दिनुभयो । चोरीलगायत घटनामा तत्कालै सम्बोधन हुनेगरी संयन्त्र परिचालन गरिएको छ । सम्भावित विपद्जन्य घटनाको तत्काल व्यवस्थापन हुनेगरी प्रबन्ध मिलाइएको छ । नयाँ बसपार्कमा अलपत्र परेका करिब एक हजार यात्रुलाई आज मयुर यातायातका बसमार्फत गन्तव्यमा पठाइएको उहाँले जानकारी दिनुभयो । प्रभावकारी अनुगमन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक महेश भट्टराईले बजारको अनुगमनलाई प्रभावकारी बनाइएको बताउनुभयो । विभागले चाडपर्वमा मात्र नभई निरन्तर अनगुमन कार्य गर्दै आएको उहाँले जानकारी दिनुभयो । महानिर्देशक भट्टराईका अनुसार अहिले दैनिक ५० भन्दा बढी निकायको अनुगमन भइरहेको छ । चालू आर्थिक वर्षमा विभागले तीन हजार ६०० निकायको अनुगमन गर्ने लक्ष्य लिएको छ । महिनाको तीन सयका दरले अनुगमन भइरहेको र साउन र भदौ दुई महिनामा मात्रै चार सय ५० भन्दा बढी निकायमा अनुगमन गरिएको छ । विभागको अनुगमन प्रणालीलाई प्रभावकारी बनाउन र खाद्य सामग्रीको गुणस्तर पहिचान गर्न विज्ञसहितको जनशक्ति आवश्यक रहेको भन्दै त्यसतर्फ पनि समन्वयका साथ काम भइरहेको महानिर्देशक भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सङ्ख्यात्मक भन्दा पनि गुणात्मक अनुगमनलाई ध्यान दिएका छौँ । कानून उलङ्घन गर्ने र उपभोक्ताको हकहितविरुद्ध हुने गतिविधिलाई कानूनी दायरामा ल्याउँछौं ।” विभागको अभियान ‘जागरुक उपभोक्ता : जिम्मेवार बिक्रेता’ भन्ने नाराका साथ विभागले उपभोक्ता हित संरक्षण अभियान चलाएको छ । गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्नु उपभोक्ताको अधिकार हो । प्रवाह गर्नु बिक्रेताको कर्तव्य पनि हो भने बिना भेद्भाव वा सेवा खरिद गर्न पाउनु उपभोक्ताको अधिकार हो । बिक्रेताले आफूले प्रदान गर्ने वस्तु वा सेवाको नाम र सोको मूल्यसूची स्पष्टरूपमा सबैले देख्ने ठाउँमा राख्नु बिक्रेताको कर्तव्य रहेको विभागले सचेत गराएको छ । खरिदबिक्री गरिने वस्तुमा उत्पादन मिति तथा उपभोग्य मिति उल्लेख छ/छैन ख्याल गर्न उपभोक्ता आफैँ सचेत हुनुपर्ने औँल्याइएको छ । बजारमा कुनै पनि वस्तुको कृत्रिम अभाव सिर्जना गर्नु र खाद्य पदार्थलाई आकर्षक बनाउन अखाद्य पदार्थको प्रयोग गर्नु कानूनबमोजिम दण्डनीय अपराध हो । चौध सहायता कक्ष स्थापना काठमाडौँबाट बाहिरिने यात्रुको सहज व्यवस्थापन र गुनासो तत्कालै सम्बोधन गर्न सरोकारवाला निकायको समन्वयमा विभिन्न स्थानमा १४ वटा सहजीकरण कक्ष स्थापना गरिएको र यात्रुले कुनै गुनासो मर्का परे तत्कालै सम्बोधन गर्ने गरी प्रबन्ध मिलाइएको प्रशासनले जनाएको छ । चाडपर्वमा हुनसक्ने सम्भावित दुर्घटनाको जोखिम रोक्न ‘टाइम कार्ड’ लागू गरिएको तथा चाडपर्वमा मात्र नभई बजारमा भएका अन्य समस्याको समाधान गरी उपभोक्ताको हकअधिकार सुनिश्चित गर्न सबै संयन्त्र सक्रियरूपमा परिचालन भएको प्रजिअ उपाध्यायले बताउनुभयो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले चाडपर्वका बेला मात्र नभई वर्षभरि उपभोग्य बजारको अनुगमन गरी सही र सन्तुलित समाचार सम्प्रेषण गर्नु सबै सञ्चारकर्मीको दायित्व भएको बताउनुभयो । उहाँले जनतालाई सहज ढङ्गले उपभोग्य वस्तुको सुनिश्चितताका लागि विभाग, प्रशासनलगायत निकाय बढी सक्रिय हुनुपर्ने धारणा राख्नुभयो । तराई विकास तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्द्रप्रसाद चौलागाइले प्रभावकारी बजार अनुगमन र महँगी नियन्त्रण्मा सरोकारवाला निकाय सक्रिय ढङ्गले लाग्नुपर्नेमा जोड दिनुभयो ।
बाजुरा । लगातारको वर्षाका कारण जेठ पहिलो सातादेखि अवरुद्ध बनेको साँफे–मार्तडी राजमार्ग चार महिना बितिसक्दा पनि खुलेको छैन । राजमार्गमा पर्ने बूढीगङ्गा नगरपालिकाको अम्कोटमा पहिरो नरोकिएपछि सडक खुलाउन समस्या भएको हो । अम्कोटमा दसैं अघि सडक सञ्चालन नहुने निश्चितजस्तै भएको छ । चार महिनासम्म पनि सडक सञ्चालन हुन नसक्दा समस्या भएको छ । सडक डिभिजन कार्यालय साँफेबगर, अछामले गत साउन २३ गते वैकल्पिक सडक खोल्नका लागि काम सुरु गरे पनि त्यो बीचमै रोकिएको छ । सडक भत्किएकै ठाउँबाट सडक खोल्न खोज्दा स्थानीयले काम गर्न रोकेका छन् । अम्कोटमा अवरुद्ध सडक पहिरो हटाउन खोज्दा स्थानीयले अवरोध गरेका हुन् । सडक सञ्चालनमा नआउँदा सदरमुकाम मार्तडीलगायत पूर्वी उत्तरी क्षेत्र, हुम्ला र मुगुका बासिन्दा यातायात सेवाबाट वञ्चित छन् । दसैं तिहारका लागि घर आवत जावत गर्नेलाई सकस भएको छ । चाडपर्वमा स्थानीय महँगीको मारमा परेका छन् । स्थानीय अर्जुनप्रसाद जैशीका अनुसार वैकल्पिक सडक खुलाउनका लागि जग्गा उपलब्ध गराए पनि उक्त कार्य बीचमै रोकिएपछि सडक खुलाउन नसकिएको हो । उहाँले सडकमा आएको पहिरो हटाउन झनै जोखिम भएको बताउनुभयो । “वैकल्पिक सडक बनाउन जग्गा दियौँ, काम नगरेपछि हाम्रो के लाग्यो”, जैशीले गुनासो गर्नुभयो । सडक डिभिजन कार्यालय साँफेबगरका प्रमुख विवश बस्नेतले वैैकल्पिक मार्ग खोल्न आठ सय मिटर मात्र बाँकी रहेको बताउनुभयो । वैकल्पिक सडक खुलाउने क्रममा डोजर बिग्रेका कारण काम नभएको उहाँको भनाइ छ । सडकमा गएको पहिरो हटाएर यातायात पुनःसञ्चालन गर्न खोज्दा स्थानीयले अवरोध गरेको बस्नेतको आरोप छ । प्रमुख जिल्ला अधिकारी प्रकाशराज अधिकारीले तत्काल पहिरो गएको ठाउँमा सडक सञ्चालन गर्न पहल भइरहेको बताउनुभयो । विसं २०७६ यता बर्सातको चार महिना सडक अवरुद्ध हुँदै आएको छ । विसं २०७७ र २०७८ मा पनि बर्सातमा त्यही ठाँउमा चार महिना सडक अवरुद्ध भएको थियो । हिउँदमा सडक विभागले सडक बनाए पनि बर्सातमा पहिराले सडक भासिने गरेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टले बताउनुभयो । सडक बन्द भएपछि मार्तडीलगायत बजारमा दैनिक उपभोग्य सामानको मूल्य वृद्धि हुन थालेको छ । जिल्ला अस्पतालबाट रिफर गरिएका बिरामीलाई जिल्ला बाहिर लैजान समस्या भएको छ । बूढीगङ्गा नगरपालिकाको अम्कोटस्थित सडक पहिराको उच्च जोखिममा छ । अम्कोटमा २०७७ भदौमा सडक भासिँदा एक जनाको मृत्यु भएको थियो । चार वर्षदेखि साँफे–मार्तडी सडक अवरुद्ध हुँदै आएको छ । सडकबारे सम्बन्धित निकायलाई जानकारी गराए पनि वास्ता नगरेको नागरिक समाजका अगुवा सन्तोष विकले बताउनुभयो । अम्कोटको पहिरोबारे भूगर्वविद् आएर माटोको अध्ययन गरिसकेको छ । बर्सातमा पूर्णरुपमा बन्द हुने उक्त ठाउँमा वैकल्पिक मार्गका लागि पहल गरिनुपर्ने स्थानीयको माग छ ।
डोटी । गएको सोमबार डोटीको झिग्रानादेखि कुडासैन जाने सडकमा लगातारको वर्षापछि ठूलो पहिरो गयोे । धामीडाँडा तथा गैरागाउँका स्थानीयलाई बगलेक हुँदै जिल्ला सदरमुकाम जान निकै सास्ती भयो । आफ्नो उत्पादन नियमित स्थानीय बजारमा पुर्याउने कृषक पनि गाउँमै रोकिए । सडक अवरुद्ध भएर स्थानीयले सास्ती बेहोर्नुपरेको खबर खप्तड राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको श्री सिंह सार्दूल गुल्मलाई पुग्यो । त्यसपछि गुल्मबाट खटिएको टोलीले पाँच घण्टा समय लगाएर पहिरो पन्छ्यायो र अवरुद्ध सडक खोल्योे । अहिले सो सडक नियमित सञ्चालनमा छ । गुल्मले झिग्रानाको पहिरो मात्रै होइन, मध्यवर्ती क्षेत्रभित्र धेरै सामाजिक काम गरिरहेको छ । बझाङ, बाजुरा, अछाम र डोटीको मध्य भागमा पर्ने खप्तडको वरिपरि सरसरफाइदेखि प्रकृति संरक्षणका लागि चेतनामूलक कार्यक्रमसम्म गरिरहेको छ । बुधबार मात्रै गुल्मले डोटीबाट खप्तड प्रवेशद्वार झिग्रानादेखि बीचपानीसम्मको फोहोर व्यवस्थापन गरेको थियो । गुल्मपति सेनानी विनोदबहादुर सिल्वालले साढे छ किलोमिटर बाटो सरसफाइ गरेको बताउनुभयो । उहाँका अनुसार डोटीबाट खप्तड प्रवेशको बाटो मात्रै नभई सबै जिल्लाबाट खप्तड आउने बाटो सरसरफाइ गरिएको छ । निकुञ्जका कर्मचारीलाई समेत सहभागी गराई सरसफाइ गरेर व्यवस्थापन गरिएको सेनानी सिल्वालले बताउनुभयो । प्रकृति संरक्षणसम्बन्धी जनचेतना गुल्मले सोमबार र मङ्गलबार अछामको साँफेबगर नगरपालिका–११ भिर्खु र दैलेकान्दामा प्रकृति संरक्षणसम्बन्धी स्थानीयमा जनचेतना कार्यक्रम गरेको छ । स्थानीय ४० जनाको सहभागितामा जनचेतनामूलक कार्यक्रम गरिएको सेनानी सिल्वालले बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय धेरै ठाउँमा प्रकृतिको दोहन भइरहेको छ । त्यसलाई रोक्नु सबैको कर्तव्य हो । त्यसैले गुल्मले विभिन्न ठाउँमा प्रकृतिको संरक्षणका लागि सन्देशमूलक कार्यक्रम गरिरहेको छ ।” कार्यक्रममा शिक्षक, विद्यार्थी तथा स्थानीयलाई सहभागी गराई सन्देशमूलक पर्चापम्पलेट पनि वितरण गरिएको उहाँले बताउनुभयो । सेनानी सिल्वालले यस्ता कार्यक्रमले प्रकृति संरक्षणमा जोड पुग्ने विश्वास लिएको बताउनुभयो ।
चितवन । चितवनमा १४ हजार ग्राहकले नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट जडान गरेका छन् । दूरसञ्चार कार्यालय भरतपुरका अनुसार जिल्लाका पाँच पालिकामा पुरानो टेलिफोनको प्रविधिलाई फाइबर इन्टरनेटमा परिणत गरिएको हो । माडी नगरपालिका र इच्छाकामना गाउँपालिका बाहेकका पालिकामा फाइबर इन्टरनेट जडान गरिएको छ । भरतपुर महानगरपालिकामा मात्रै नौ हजार ग्राहकले फाइबर इन्टरनेट जडान गरेका छन् । भरतपुर महानगरको मुख्य बजार क्षेत्रमध्ये क्षेत्रपुर र गौरीगञ्जमा फाइबर जडान बाँकी छ । यस्तै भरतपुर एक्सचेन्जअन्तर्गत पश्चिम चितवनका केही ठाउँ पनि बाँकी छन् । भरतपुरमा अब एक हजार ९७ मात्र पुराना ग्राहक रहेको दूरसञ्चार कार्यालय भरतपुरका प्रमुख नवीनकुमार मिश्रले जानकारी दिनुभयो । उहाँले २०४५ सालमा निर्माण गरिएको भरतपुर एक्सचेन्जअन्तर्गतको पुरानो प्रविधिको टेलिफोन नेटवर्क विस्थापनको अन्तिम चरणमा रहेको बताउनुभयो । सामग्री अभावका कारण अहिले काम गर्न नसकिएको मिश्रले बताउनुभयो । “सामान पर्खेर बसेका छौँ, चीनबाट आउने तयारीमा रहेको बुझिएको छ,” उहाँले भन्नुभयो । माग गरेअनुसार आएर मङ्सिरसम्म भरतपुर एक्सचेन्जअन्तर्गतका सबै ठाँउमा फाइबर इन्टरनेट पु¥याउने उहाँको भनाइ छ । अहिले राप्ती नगरपालिकाको भण्डारमा फाइबर जडानको काम भइरहेको छ । रत्ननगर, खैरहनी र कालिका नगरपालिकामा पनि फाइबर इन्टरनेट पुगेको छ । पूरानो प्रविधि विस्थापित गरी नयाँ प्रविधि जडानलाई प्राथमिकतामा राखेर कार्यालयले काम गरिरहेको मिश्रले बताउनुभयो । “जिल्लामा फाइबर इन्टरनेटको माग बढेको छ । निजी कम्पनीको भन्दा सस्तो र राम्रो छ । यस कारण ग्राहक आकर्षित छन्”, उहाँले भन्नुभयो । इन्टरनेटसँगै टेलिफोन र टेलिभिजनको सुविधा पनि प्रदान गरेको उहाँले बताउनुभयो । इन्टरनेटको स्पिडअनुसारको शुल्क फरकफरक निर्धारण गरिएको प्रमुख मिश्रले जानकारी दिनुभयो । कनेक्ट सर्भर काठामाडौँ र हेटौँडामा राखिएकाले पनि नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवामार्फत गुगल, युट्युब र फेसबुक छिटो चल्ने उहाँको भनाइ छ । भरतपुर शाखामार्फत ३१ हजार फाइबर इन्टरनेट वितरण गर्ने क्षमता रहेको मिश्रले जानकारी दिनुभयो ।
पोखरा : दशैं ,तिहार, नेपाल सम्बत तथा छठ पर्व २०७९को सन्दर्भमा पोखरा चेम्बर अफ कमर्स कास्कीले शुभकामना आदान प्रदान गरेको छ । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले मुलुकको आर्थिक समृद्धिका लागि सरोकारवालाको समान दायित्व भएको बताए । ‘तीन खम्बे अर्थनीति अन्तर्गत निजीक्षेत्रले आर्थिक समृद्धिको लागि योगदान पु¥याएको छ,’उनले भने, ‘राज्यका निकायले निजीक्षेत्रलाई लगानीको वातावरण बनाउनेदेखि अनुदान, बैंक व्याजदरमा सहुलियत प्रदान गर्नु पर्छ ।’ उनले केही निर्माण व्यवसायीले विकास निर्माणको कामलाई समयमा सम्पन्न नगर्ने समस्या रहेको बताए । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले उद्योग व्यवसायको संरक्षण र प्रवद्र्धनको लागि स्थानीय प्रशासनले ध्यान दिने बताए । उनले चाड पर्वलाई लक्षित गरी स्थानीय प्रशासनले गर्ने सयुक्त अनुगमनलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले कानुनको प्रभावकारी कार्यान्वयनको लागि सक्रियता पूर्वक लाग्ने उल्लेख गरे । नेकपा (एमाले) जिल्ला कमिटी कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारीले कोभिड-१९को मारमा परेका उद्योग व्यवसायीलाई बंैक तथा वित्तिय संस्थाको चर्को व्याजदरको समस्या रहेको चर्चा गरे । गण्डकी प्रदेश चेम्बर अफ कमर्सका महासचिव देवराज शर्माले निजीक्षेत्र सवल भए राज्य सफल र समृद्ध बन्ने तर्क गरे । उनले निजी क्षेत्रले स्वच्छ, स्वस्थ व्यवसाय गर्नु पर्ने पक्षमा चेम्बर रहेको बताए । कार्यक्रममा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष यमनाथ पौडेलले उद्योगी व्यवसायीको हक हितको लागि सामुहिक र संस्थागत रुपमा काम गर्ने चेम्बर तयार रहेको उल्लेख गरे । कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स कास्कीका बस्तुगततर्फका उपाध्यक्ष उमराज बांस्तोला, महासचिव नवराज आचार्य, संस्थाका सल्लाहकार नन्द श्रेष्ठ, नेपाल घरेलु तथा साना उद्योग कार्यालय कास्कीका प्रमुख शेषकान्त पौडेल,नेपाल औषधी व्यवसायी संघ गण्डकीका अध्यक्ष कृष्ण पाण्डे लगायतले उद्योगी व्यवसायीका समस्याको बारेमा बोलेका थिए ।
पोखरा : पोखरा महानगरपालिकाले सृजनाचोक स्थित आफ्नो स्वामित्वमा रहेको भवनको भूमिगत पार्किङ खाली गरी पार्किङ प्रयोगका लागि खुला गरेको छ । महानगरमा निर्माण गरिएका भूमिगत पार्किङ सहितका कतिपय भवनहरूले प्रयोजन विपरीत प्रयोग गरिरहेका बेला महानगरले भने आफ्नो भवनमा पार्किङ खुल्ला गरेको हो । यसअघि भदौ १३ गते महानगरले पोखरामा रहेका भूमिगत पार्किङ स्थलहरूलाई पार्किङ प्रयोजन मै प्रयोग गर्न ३५ दिने सूचना जारी गरेको थियो । सूचनाको म्याद अझ केही दिन बाकी छ । तर, महानगरले सो अगावै आफ्नो भूमिगत पार्किङ खाली गरी यस कार्यको शुभारम्भ गरेको प्रमुख धनराज आचार्यले बताउनुभयो । ‘यो एउटा शुभारम्भ हो, र पोखरामा जति पनि भूमिगत पार्किङ सहित निर्माण गरिएका घरहरू छन्, घर धनीहरूले यसलाई खाली गरेर पार्किङ कै लागी प्रयोग गर्नका लागि म अनुरोध गर्न चाहन्छु’ प्रमुख आचार्यले भन्नुभयो । पोखरामा रहेका भूमिगत पार्किङहरूमा पार्किङ साङ्केतिक रूपमा सुरु भयो भन्ने सन्देश महानगरले दिएको प्रमुख आचार्यले बताउनुभयो । बेसमेन्ट पार्किङ सहितको भवन निर्माणका लागि अनुमति लिई निर्माण गरिएका हरेक भवनहरूमा यसको कार्यान्वयन अनिवार्य हुने प्रमुख आचार्यले बताउनुभयो । ‘यसको कार्यान्वयनका लागि ३५ दिने सूचना सहित पत्र समेत पठाइएको छ, उहाँले भन्नुभयो । पोखरामा बढ्दो पार्किङको असुविधालाई मध्यनजर गरी आफूहरूले प्रयोजन विपरीत प्रयोग भइरहेका ती पार्किङ स्थलहरूलाई पार्किङ प्रयोजन कै लागि उपयोग गर्न आग्रह गरिएको उहाँले बताउनुभयो । सूचनाको म्याद गुज्रिए पछि पनि अटेर गर्नेहरूलाई नियमानुसार कारबाही गरिने उहाँले बताउनुभयो । भूमिगत पार्किङलाई खालि गरी सोही प्रयोजनका लागि उपयोग गर्नुको विकल्प नरहेको उहाँको भनाई छ । भूमिगत पार्किङमा सञ्चालन गरिएका व्यवसायहरू तोकिएको समय भित्र नै स्थानान्तरण गर्न उहाँले व्यवसायीहरूलाई आग्रह समेत गर्नुभयो । यस अवधिमा कतिपय व्यवसायीहरूले भूमिगत पार्किङहरू खाली गरिसकेको अनुगमनका क्रममा पाइएको महानगरका वरिष्ठ इन्जिनियर सुरेन्द्र पौडेलले बताउनुभयो । उहाँका अनुसार पोखरा महानगरपालिका भित्र २५० बढी भवनमा भूमिगत पार्किङ स्थलहरू छन् ।
स्याङ्जा । स्याङ्जाको वालिङ–१४ उपल्लो पेखुका मेघनाथ पौडेलले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । विसं २०५९ मा पौडेलले एउटा माउ बाख्रा पालेर सुरु गर्नुभए पनि तीन वर्षपछि २०६२ सालदेखि व्यावसायिकरुपमा बाख्रापालन थाल्नुभएको हो । विसं २०६२ मा ‘मेघनाथ बाख्रा प्रजनन तथा नश्ल सुधार उद्योग’ संस्था दर्ता गरी बाख्राको मासुभन्दा पनि बीउका लागि काम गर्दै आउनुभएको हो । पौडेलले अहिले शुद्ध बोयर जातको बाख्राको बोका र पाठी बिक्री गरी मनग्य आम्दानी गर्दै आउनुभएको छ । “मैले मासुलाई भन्दा बीउका लागि बोयर जातको शुद्ध बोका र पाठी बिक्री गर्दै आएको छु”, उहाँले भन्नुभयो । बाख्रापालनबाट वार्षिकरुपमा सबै खर्च कटाएर रु १२ लाख आम्दानी हुँदै आएको पौडेल बताउनुहुन्छ । यहाँ उत्पादन भएको शुद्ध बोयर जातको बोका तथा पाठीको माग देशका विभिन्न जिल्लाबाट आउने गरेको छ । “यहाँ उत्पादन भएका बोयर जातको बोका तथा पाठीलाई बीउका रुपमा देशका विभिन्न जिल्लाबाट माग हुने गरेको छ”, उहाँले भन्नुभयो, “उत्पादन गर्नसके बजारको कुनै समस्या छैन, मागअनुसार उत्पादन गर्न सकिएको छैन ।” बाख्रापालनका लागि आवश्यक घाँस उहाँले ६५–७० रोपनी क्षेत्रफलमा लगाउनुभएको छ । उन्नत र आधुनिक भुईं तथा डाले घाँस प्रशस्तै छ । जिल्ला पशुसेवा कार्यालयबाट पटक÷पटक अनुदानसहित नमूना फर्मका रुपमा समेत उहाँ पुरस्कृत भइसक्नुभएको छ । “बाख्रापालन गर्नुपूर्व पाँच वर्ष शिक्षण पेसा र २० महिना विदेशमा रोजगारी गरेँ”, पौडेलले भन्नुभयो, “म ती दुवै कामबाट सन्तुष्ट भइन् र गाईं, भैँसी, कुखुरा पाल्ने सोच बनाएँ तर गाउँको भूगोलअनुसार सम्भव नदेखेपछि बाख्रापालनलाई व्यावसायिकरुपमा अगाडि बढाएको हुँ ।” बाख्रापालन नै पौडेलको परिवारको मुख्य आम्दानीको स्रोत हो । बाख्रापालनबाट प्राप्त भएको आम्दानीले उहाँले बजारमा घरजग्गा जोड्नुभएको छ । छोराहरुलाई उच्च शिक्षा तथा घर खर्च पनि यही व्यवसायबाट चलाउँदै आउनुभएको छ । लामो समय बाख्रापालनमै बितेकाले पनि सामान्य समस्या आउँदा पौडेल आर्फैँ औषधि उपचार गर्नुहुन्छ । जटिल उपचारका लागि वालिङ नगरपालिका तथा एग्रोभेटबाट पशु प्राविधिकको सहयोग लिने गरेको उहाँ बताउनुहुन्छ ।

