नवलपरासी : नवलपरासीपूर्वको गैँडाकोट नगरपालिका–३ केलादीकी सुकमाया थापा (८९ वर्षीया) सामाजिक सुरक्षाभत्ता घरमै पाउँदा निकै खुसी हुनुहुन्छ । वडाध्यक्षले भत्ता लिएर घरमा पुग्दा पिँढीमा बस्नुभएकी सुकमायाले पहिले बैंकमा लाइन बस्नुपर्दाका दुःखलाई स्मरण गर्नुभयो । उहा भन्नुहुन्छ, “बिरामी हुँदा छोरीहरुले बोकेर लैजान्थे, कहिलेकाहीँ कागजपत्र मिलेन भनेर दिनभर लाइन बसेर फकिनुपथ्र्यो, साह्रै गाह्रो हुन्थ्यो ।” उहाँ मुटुको बिरामी हुुनुहुन्छ । हातगोडा दुख्ने र हिँड्न निकै समस्या हुने गर्छ । साँझ बिहान आँगनमा हिँडडुल गरे पनि लामो दूरीको बाटोमा यात्रा गर्न निकै कठिन हुने गरेको उहाँले बताउनुभयो । सामाजिक सुरक्षा भत्ता पाउनेमा खुसीभन्दा पनि बैंकमा लाइन बस्नुपर्ने, घन्टौँ लगाएर जानुपर्ने बाटोको समस्याले सताएका दिन स्मरण गर्दै सुकमायाले भन्नुभयो, “२०७४ को निर्वाचनपछि जनप्रतिनिधिले घरमै भत्ता ल्याइदिएका छन्, धैरै सहजभएको छ ।” जन्मजात नै आँखा नदेख्ने ७० वर्षीया भीममाया भुजेललाई बैंकसम्म आउन दुई घण्टाभन्दा बढी समय लाग्ने गर्छ । पैदल हिँडेर जानुपर्ने बाध्यता अर्कोतर्फ शारीरिक अशक्तताका कारण झन बढी जोखिम भएको भन्दै भीममाया भन्नुहुन्छ, “समयको बचत भएको छ, घरमै सामाजिक सुरक्षा भत्ता पाउँदा सुरक्षित महसुस भएको छ, मलाइ निकै खुसी लागेको छ ।” ७९ वर्षीया सनिसरा थापाको पनि सामाजिक सुरक्षा भत्ता लिन जाँदाको अनुभव पनि भीममायाको जस्तै छ । वर्षामा रुझ्दै होस् वा घण्टौँ पैदल हिँडेर बैंक पुग्दा काम नबनेर फर्किनुपरेको दिन सम्झनुहुन्छ । उहाँ भन्नुहुन्छ, “समयसँगै पैसा पनि बचत भएको छ, घरमै सामाजिक सुरक्षा भत्ता पाउनु नै बुढेसकालमा खुसी भनेको यही रैछ ।” वडा नम्बर ३ को वडा कार्यालय राजमार्गदेखि करिब नौ किलोमिटर उत्तरमा पर्दछ । तनहुँ देवघाटको किनारदेखि बुलिङटार गाउँपालिकासम्म सिमाना फैलिएको यस वडामा टाटरीबास, ढोडेनी, गडम्दी, भोके्रफाट हर्दि, केलादी, र मार्के बस्ती रहेको छ । वडावासीलाई आफ्नै वडा कार्यालय पुग्न पनि तनहुँ हुँदै गैँडाकोट आउनुपर्ने बाध्यतामा छ । यस्तो अवस्थामा घरदैलोमै जनप्रतिनिधि आएर भत्ता वितरण गर्दा वडावासी भने निकै खुसी छन् । सडक र यातायातको समस्याका कारण सामाजिक सुरक्षा भत्ता लिनका लागि मात्रै होइन अतिआवश्यक कामका लागि पनि बजारसम्म आउनको लागि वडावासीलाई निकै कठिन छ । त्यसमध्ये ज्येष्ठ नागरिक वा सामाजिक सुरक्षा भत्ता लिने नागरिक भत्ताकै लागि भनेर जोखिमको यात्रा गर्नुपर्ने बाध्यतालाई भने वडाध्यक्षले समाधान गरिदिएकोमा खुसी लागेको ज्येष्ठ नागरिक बताउँछन् । भौगोलिक विकटताका कारण बैंकसम्म आउनका लागि घण्टौँको यात्रा गर्नुपर्ने र बैकमा पनि लामो समय लाइन बस्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सामाजिक सुरक्षा भत्ता प्रत्येक ज्येष्ठ नागरिकको घरमा नै पुगेर वितरण गर्दै आएको वडाध्यक्ष शिवकान्त तिवारीले बताउनुभयो । वडामा सामाजिक सुरक्षा भत्ता लिने दुई सय ३२ नागरिक छन् । एक गाउँबाट अर्को गाउँमा पुग्न घण्टौँ समय लाग्ने मात्रै होइन बैंकसम्म आएर घर फर्किदा रु एक हजारदेखि रु एक हजार पाँच सयसम्म खर्च हुने अवस्था रहेको भन्दै अध्यक्ष तिवारीले भन्नुभयो, “वडावासीलाई सहजता होस् भनेर नै २०७४ सालमा निर्वाचित हुँदादेखि सुरु गरेको अभियानलाई अहिले पनि निर्वाचित भएपछि निरन्तरता दिएको छु ।”
गलकोट : निरन्तरको वर्षाका कारण पहिरो जाँदा काठेखोला गाउँपालिका–४ तङ्ग्रामको ठूलोगाउँका छ घर उच्च जोखिममा परेका छन् । गत असारबाट जान थालेको पहिरो अहिलेसम्म नरोकिँदा घर छाडेर हिँड्नुपर्ने अवस्थामा आएको ठूलोगाउँका स्थानीयवासीले बताए । स्थानीय जङ्गबहादुर दर्जी, प्रेम दर्जी र कुमार दर्जीसहित छ परिवारको घर पहिराको उच्च जोखिममा परेको छ । घरभन्दा एक सय मिटर तलबाट निरन्तररूपमा जमिन चिरा–चिरा परेर घरसम्मै पहिरो जाँदा स्थानीय विस्थापित हुने चिन्ता बढेको जङ्गबहादुरले बताउनुभयो । “असारमा अलि–अलि चर्केको थियो, अहिलेको बेमौसमी वर्षाका कारण जमिन छियाछिया बनेको छ, घरमा पकाउने खानेमात्रै हो सुत्ने र लत्ताकपडा छिमेकीको घरमा लगेर राखेका छौँ”, दर्जीले भन्नुभयो, “घर तल सडक खनेपछि पहिरो बग्न थालेको थियो तर घरसम्मै पहिरो आउँला भन्ने थिएन, वडा कार्यालयले दिएको प्लाष्टिकले पहिरो ढाकेर कति दिन टिक्ला र पहिराले मेरो घरसहित स्थानीय छ परिवारको उठिबास नै लगाउने भयो ।” घरमात्रै नभएर नवनिर्मित पदमार्गसमेत भासिन थालेको स्थानीयवासीले बताएका छन् । पहिरो रोकथामका लागि प्लाष्टिकले ढाक्ने व्यवस्था मिलाइएको भए पनि यहाँ पहिराका कारण घर विस्थापित हुने अवस्थामा पुगेको काठेखोला गाउँपालिका–४ तङ्ग्रामका वडाध्यक्ष लक्ष्मण पुनले जानकारी दिनुभयो ।
बलेवा : बागलुङको बलेवा क्षेत्रका किसानले खेतमा लगाएको धान काट्ने पहिलो दिन आगामी कात्तिक ४ गतेका लागि तोकिएको छ । बलेवा भूमेकोटअन्तर्गत सबै वडाका खेतमा लगाइएको धान काट्ने समय तोकिएको हो । स्थानीय भाषामा पुली र संस्कृत भाषामा धान्य छेदन भनिने यो परम्परा जिल्लाको बलेवा क्षेत्रका लागि हो । स्थानीय जातको गुडुरा धान काट्न आउँदो कात्तिक ४ गते बिहान ९ बजेलाई शुभ दिन तोकिएको छ । पुली लिने भनिने यस दिनलाई यहाँका स्थानीयले एक पर्वकै रूपमा मनाउने गरेका छन् । बागलुङ नगरपालिका–१३ पैयुँपाटाका ज्योतिषी लेखनाथ पौडेल र सुवासचन्द्र पौडेलले ज्योतिषशास्त्रका आधारमा धान काट्ने दिन अर्थात् धान्य छेदनका लागि कात्तिक ४ गते शुभमुहुर्त तोक्नुभएको हो । अघिल्ला वर्षहरूमा पनि ज्योतिषी पौडेलको नेतृत्वमा एवं अमलाचौरका ज्योतिषी रामकृष्ण पाठक, विष्णुप्रसाद पाठक र विष्णुप्रसाद पौडेलेको परामर्शमा यी दिनहरू तोक्ने गरिन्थ्यो । दसैँको महानवमीका दिन बलेवा कोटभैरवस्थित कोटघरमा आयोजना हुने एक विशेष समारोहका बीच पुली लिने र नयाँ धानको चामल प्रयोग गर्ने पहिलो दिन अर्थात् न्वागी खाने दिनसमेत तोक्ने गरिन्छ । कात्तिक १९ गते बिहान ९ बजे नयाँ धानको चामल खाने अर्थात् न्वागी खाने उत्तम समय रहेको पनि सोही दिन तोकिएको छ । महानवमीका दिन नवदुर्गाको विशेष पूजाका साथै बलेवा कालभैरवको मन्दिरमा मेलाका लागि जम्मा हुने सर्वसाधारणलाई भैरवस्थानका पण्डित तथा ज्योतिषीले गरेको निर्णय कोटभैरव गुठी व्यवस्थापन समितिले जानकारी गराउने परम्परा छ । यहाँका किसानले आफ्नै खेतमा लगाएको धान काट्न पनि यो १८औँ शताब्दीको सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै आएका छन् । महानवमीका दिन नयाँ धान काट्ने र न्वागी खाने दिनको शुभ मुहूर्त सार्वजनिक गरिन्छ र बलेवालीहरूले पनि तिनै दिनहरूमा उक्त कार्य गर्ने गर्दछन् । यहाँका अमलाचौर, पैयूँपाटा, नारायणस्थानसहितका साविकका छवटा गाउँ विकास समितिलाई १८औँ शताब्दीमा बलेवा राज्य मानिन्थ्यो । बलेवा कोटले छवटै गाविसका किसानलाई धान काट्ने र नयाँ चामल खाने दिन तोक्ने चलन चलेको र त्यसैलाई निरन्तरता दिँदै आइएको छ । बलेवामा बाइसे–चौबीसे राजाका पालामा विसं १८४२ मा बलेवा कालभैरव स्थापना गरिएको इतिहासका अध्येता डा आरुणी आचार्यको खोजमा भेटिन्छ । त्यसयतादेखिको यो परम्परा अहिलेसम्म पनि बलेवा क्षेत्रमा कायम रहेको छ । “आफूले करिब छ दशकअघिदेखि यो धान्य छेदन र नवान्न प्रासानको मिति कोटले तोक्ने चलन रहेको”, बताउनुहुन्छ बागलुङ नगरपालिका वडा नं १२ का पूर्व वडाध्यक्ष गुरुदत्त पाठक । उहाँ भन्नहुन्छ, “अहिले पनि यहाँका छवटै गाविसका पाका पुराना एवं जानकारहरू जम्मा भएर ज्योतिषीय परामर्शमा मिति तोकिन्छ र यी मितिलाई यहाँका स्थानीयले एक महत्वपूर्ण सूचनाका रूपमा ग्रहण गर्ने गर्दछन् ।” तर पाठक भने बलेवाकोटको स्थापना विसं १७८० मा नै भएको आफूले पाएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यस विषयको लिखत त हामीले भेटेका छैनौँ, मन्दिरमा पनि यसको लिखत भेटिँदैन । तर हामीले यस मन्दिर स्थापनाका बारेमा गरेको खोज र पाका पुरानाहरूसँगको परामर्शमा यो मन्दिरको स्थापना विसं १७८० मा भएको पाएका छौँ ।” विसं १७८० भदौको पहिलो मङ्गलबार यसै स्थानमा मन्दिर स्थापना गरी हरेलो गरिएको र त्यसै दिनदेखि मङ्गलबार नै भैरवस्थानमा पूजा गर्ने प्रचलन सुरु भएको अहिलेसम्मको खोजबाट भेटिएको उहाँको भनाइ छ । बलेवा कोटभैरवमा पुली दिने र न्वागी खाने दिन तोक्ने काम त्योभन्दा पनि अघिबाटै हुने गरेको आफूले पाएको अमलाचौरका स्थानीय ज्योतिषी विष्णुप्रसाद पाठक बताउनुुहुन्छ । उहाँले आफ्ना जिज्यूबाजे राछुदेव पाठक यही कोट भैरवमा गएर शुभ मुहूर्त हेरेर न्वागी, पुलीका दिन खुट्याउने प्रचलनको सुरुआत गरेको उहाँको भनाइ छ । त्यस समयको बलेवा राज्यका प्रमुखले आफूले लगाएका खेती भित्र्याउने तथा नयाँ अन्न खाने दिनको सुरुआत गर्ने दिनका लागि ज्योतिषी खोज्ने क्रममा मन्दिरको नजिकै रहेका आफ्ना पुर्खाहरूले सो कार्यको थालनी गरेका पाठक बताउनुहुन्छ । उहाँका अनुसार राछुदेव पाठकका छोरा शिवै पाठक, उहाँका छोरा वैदु, उहाँका छोरा जग्गुबल्लभ र जग्गुबल्लभका छोरा घनश्याम तथा घनश्यामका छोरा दयारामसम्मका आफ्ना पुस्ताले कोटमा गएर अन्य पाठपूजाका साथै ती कार्यका मुहूर्त हेर्ने गरेको आफूलाई आफ्ना हजुबुवाले सुनाएको बताउनुहुन्छ । आफ्ना जेठाबुवा ज्योतिषी दयाराम पाठकसँगै आफू पनि सो कार्यमा संलग्न हुँदै आएको र आफ्ना पाँच पुस्ताअघिका पुर्खाहरू नै यस कार्यमा संलग्न भएका आफ्नो अनुसन्धानबाट प्राप्त भएको ज्योतिषी विष्णुप्रसाद पाठकको भनाइ छ । विष्णुप्रसादका हजुरबुबा घनश्याम र जेठाबुवा दयारामले त्यतिबेलासम्म बलेवा क्षेत्रको कोटमा आएर सल्लाह दिने चलन रहेको र दयारामपछि भने कोटमा अन्य क्षेत्रबाट पनि ज्योतिषीहरू बलेवा कोट भैरवमा गई यस परम्पराको निरन्तरता दिने गरेको भनाइ छ । यहाँ कोटले तोकेको दिन पुली नलिने र न्वागी नखानेहरू निकै कम छन् । पुली लिएपछि मात्रै धान काट्ने र न्वागी खाएपछि मात्रै नयाँ चामलको प्रयोग गर्ने प्रचलनलाई यहाँका स्थानीय किसानले मान्यता दिँदै आएका छन् । स्थानीय ९४ वर्षीय ज्योतिषी रामकृष्ण पाठक कोटले तोकेका दिन सबैले मान्ने गरेका बताउनुहुन्छ । यी दिनहरूको पालना नगर्नेलाई समाजले पनि राम्रो मान्दैन र आफूले लगाएको नयाँ खेती भित्र्याउने शुभदिनको खोजीमा जो–कोही पनि हुने गरेका र वैदिक विधि नपु¥याई धान काट्ने र नयाँ चामल खाँदा प्राकृतिक प्रकोपहरूको सामना गर्नुपर्ने विश्वास रहिआएकाले ज्योतिषीहरू बसेर निकालेको यही शुभ मुहूर्तमै धान काट्ने र न्वागी खाने परम्परा निरन्तर रहेको उहाँको अनुभव छ । पहिले–पहिले पुली र न्वागी स्थानीय जातको धानमा मात्रै लागू हुने गरेको भए पनि पछिल्लो समय विकासे हाइब्रिड धान लगाएका किसानले समेत सोही संस्कृति पछ्याइरहेका ज्योतिषी लेखनाथ पौडेल बताउहुनुहन्छ ।
तनहुँ : मुलुककै प्रमुख गन्तव्यमध्येमा पर्ने पोखरा घुम्न जानेले प्रायः तनहुँको बन्दीपुर हेर्न छुटाउदैनन् । नेवार शैलीका घरको बस्ती हेर्ने लालसा बनाएर दैनिक सयौँ पर्यटक बन्दीपुर आउने गर्छन् । घरमा प्रयोग गरिएका काठका कलात्मक झ्यालहरुलगायतका संरचनाले बन्दीपुरको चर्चा विश्वभर छ । यहाँ अहिले स्वदेशीदेखि विदेशीसम्मको भ्रमण गन्तव्य बन्दै गएको छ । पृथ्वी राजमार्गको डुम्रेदेखि करिब आठ किलोमिटर दूरीमा पर्छ । “बन्दीपुरमा पर्यटकको चाप बढेको यिनै कलात्मक झ्यालढोकासहितका घरले गर्दा हो”, बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङ घर देखाउँदै भन्नुहुन्छ, “यी घरहरु हुन्थेनन् त बन्दीपुर हुने थिएन । पर्यटक हुने थिएनन् ।’’ पृथ्वीनारायण शाहले १७७८ सालतिर काठमाडौं उपत्यका आक्रमण गरेपछि भक्तपुरबाट भागेर आएका प्रधान, जोशी, पिया, श्रेष्ठ र मल्लहरुले बसालेको बस्ती हो बन्दीपुर । उत्तरतर्फ देखिने लहरै हिमाली दृश्य, कलात्मक घर र ढुङ्गाले ओछ्याइएका गोरोटो बाटोको सुन्दरताले बन्दीपुरलाई पहाडको रानीसमेत भनेर चिनिन्छ । बाह्रै महिना पर्यटक आउने गरे पनि पुस, माघ र नयाँ वर्षको छेकोमा विदेशी पर्यटकको चाप बढ्ने गरेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधान बताउनुहुन्छ । “जाडो याम सुरु भएसँगै बन्दीपुरमा विदेशी पर्यटकको चाप बढ्न थालेको छ”, प्रधानले भन्नुभयो, “अब बन्दीपुरका होटल भरिभराउ हुने समय सुरु भयो ।” कोभिड सङ्क्रमण पहिले बन्दीपुरमा दैनिक ३० देखि तीन सयसम्म विदेशी पर्यटक आउने गर्थे । हाल डेङ्गु सङ्क्रमणको चर्चाले विदेशी पर्यटकको आगमनमा केही असर गर्लाकी भन्ने चिन्तामा हुनुहुन्छ, हेरिटेज गेष्ट हाउस एण्ड रेष्टुरेन्टका सञ्चालकसमेत रहनुभएका प्रधान । बन्दीपुर भ्रमणलाई प्रोत्साहन गर्न बन्दीपुर गाउँपालिकाले आवश्यक प्रचारप्रसारको र पूर्वाधार विकासमा सहयोग गर्नुपर्ने प्रधानले बताउनुभयो । बन्दीपुरमा असोजदेखि माघसम्म स्वदेशी तथा विदेशी पर्यटकको चाप बढ्ने विकास समितिले जनाएको छ । कोभिड सङ्क्रमण पहिले बन्दीपुरमा चीनबाट आउने पर्यटक बढी हुने गरेपनि अहिले बेलायत र फ्रान्सका पर्यटकको चाप बढी रहेको छ । बन्दीपुर विकासका लागि सबै क्षेत्रबाट सकारात्मक पहलको आवश्यकता रहेको तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार एकाइले जनाएको छ । पोखरा र सौराहा जस्तै पर्यटकको चाप बढाउन बन्दीपुरमा नयाँ सोंच र योजना हुन आवश्यक रहेको एकाइ सभापति वैंश गुरुङ बताउनुहुन्छ । “बन्दीपुर जान केवलकारको काम धमाधम भइरहेको छ”, अध्यक्ष गुरुङले भन्नुभयो, “कृत्रिम ताल बनाउने योजना पनि अब छलफल गरी अघि बढाउने योजनामा छौँ ।” बन्दीपुरको दीर्घकालीन विकासको लागि स्थानीय तहबाट आफूहरुले सकारात्मक सहयोग खोजेको भए पनि त्यो प्रयास पर्याप्त नभएको उहाँले बताउनुभयो । बन्दीपुरमा हाल साना ठूला गरेर करिब ७७ वटा होटल सञ्चालनमा छन् । बन्दीपुर गाँउपालिकाको कार्यालयले समेत बन्दीपुरमा दोहोरिएर आउने पर्यटक बढाउने गरी दीर्घकालीन योजना बनाउने गरी आफूहरु जुटिरहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो । बन्दीपुर आउने पर्यटक बढाउन गाउँपालिकाले ‘मिनी ग्रेटवाल’ बनाइरहेको उहाँले जानकारी दिनुभयो । “दोहोरिएर आउने पर्यटक चाप बढाउने गरी योजना बनाउन आवश्यक देखेका छौँ”, बन्दीपुर गाउँपालिका अध्यक्ष थापाले भन्नुभयो, “त्यसका लागि पर्यटकलाई लोभ्याउने योजना बनाउने गरी जुटिरहेका छौँ ।” यसै आर्थिक वर्षमा सूचना केन्द्र स्थापनाका लागि गाउँपालिकाको कार्यालयले २० लाख रुपैयाँ विनियोजन गरेको बन्दीपुर गाउँपालिकाको कार्यालयले जनाएको छ । गाउँपालिकाका ११ वडामध्ये बन्दीपुर बजार २ र ३ वडामा फैलिएको छ । तनहुँसुर तनहुँसुरले पनि पर्यटकीय गन्तव्यका रुपमा पछिल्लो समय पहिचान बनाउँदै गएको छ । व्यास नगरपालिका–११ मा पर्ने तनहुँसुरमा तोप, दरबार र मन्दिरको भग्नावशेष हेर्न मानिस आउने गर्छन् । यहाँबाट महाभारत पर्वत शृङ्खला, चुँदी र कलेस्तीफाँटको दृश्य मनमोहक देखिन्छ । राजाले नियम र निर्णय सुनाउन बस्ने गरेका गद्धि चौतारा अझै पनि छ । पर्यटकलाई बसाइ व्यवस्थापन सहज बनाउन तनहुँसुर सामुदायिक होमस्टे ९घरवास० पनि सञ्चालन गरिएको छ । तनहुँसुर आउने पर्यटकलाई यही होमस्टेमा वासको प्रवन्ध गरिन्छ । एकैपटकमा ३०/३५ जनालाई सजिलै व्यवस्थापन गर्न सकिने होमस्टे व्यवस्थापन समितिले जनाएको छ । पाल्पाका राजा मणिमुकुन्द सेनले जेठा छोरा भृङ्गी सेनलाई सन् १६१० मा राज्य गर्न तनहुँसुर पठाएको किंवदन्ती छ । २३० बर्षसम्म तनहुँसुरमा आठ सेन वंशी राजाले राज गरेको इतिहास छ । तनहुँसुरका अन्तिम राजा हरकुमारदत्त सेन हुन् । विसं २०२५ तिर पृथ्वी राजमार्ग खनिएसँगै यहाँका नेवारहरु व्यापारका लागि दमौली झरेपछि यो बस्ती खण्डहर जस्तै हुन पुग्यो । तनहुँसुरमा अहिले नेवार, मगर र दलितका गरी ६४ घर छन् । तनहुँसुरमा आन्तरिक पर्यटककै चाप बढी हुने गर्दछ । यहाँ तनहुँसुर र तनहुँसुर देवस्थल गरी दुईवटा होमस्टे सञ्चालनमा छ । “तनहुँसुरमा आउने मुख्य पर्यटक भनेकै स्वदेशी हुन्”, तनहुँसुर होमस्टेका अध्यक्ष केवि थापाले भन्नुभयो, “एक पटक आउने अर्को पटक परिवारका सदस्यलाई लिएरसमेत आउनुहुन्छ ।” तनहुँसुरमा अझै पनि नेवारका हटिया र ऐतिहासिक मन्दिर जीर्ण अवस्थामा रहेकाले तिनीहरुको आवश्यक संरक्षण गर्ने गरी आफूहरुले गण्डकी प्रदेश सरकारसमक्ष २० करोड ४५ लाख रुपैयाँको विस्तृत गुरुयोजना पेश गरेको तनहुँसुरका अगुवा ध्रुव पण्डित बताउनुहुन्छ । “तनहुँसुरको महिमालाई अझै उचाइमा पु¥याउन संरक्षणका विभिन्न कार्यक्रम बनाएका छौँ”, उहाँले भन्नुभयो, “त्यसका लागि राज्यको साथ र सहयोग आवश्यक छ ।” पुरातात्विक महत्वका सम्पदा संरक्षण गर्ने लक्ष्य राखिएको व्यास नगरपालिकाको कार्यालयले जनाएको छ । “तनहुँसुरलाई पर्यटकीय गन्तव्यको नयाँ गन्तव्य बनाउने गरी अग्रसर भएका छौँ”, व्यास नगर प्रमुख न्यौपानेले भन्नुभयो, “त्यसका लागि पूर्वाधार विकासमा जोड दिइरहेका छौँ ।” तनहुँसुर जाने सडक कालोपत्र गर्ने कार्यलाई व्यास नगरपालिकाको कार्यालयले प्राथमिकतामा राखेको व्यास नगरपालिकाको कार्यालयले जनाएको छ । दमौलीबाट १५ किलोमिटरको दूरीमा पर्छ तनहुँसुर । पूर्वाधार विकास र ऐतिहासिक सम्पदाको संरक्षण गरी पर्याप्त प्रचारप्रसार गर्नसके बन्दीपुर जस्तै स्वदेशी र विदेशी पर्यटकको तनहुँसुर गन्तव्य बन्ने पक्का छ । दगाम, भुजिकोट तनहुँको अर्को घुम्ने गन्तव्यमा पर्छ शुक्लागण्डकी नगरपालिका–२ मा पर्ने दगाम र भुजिकोट गाउँ । दगाममा मगर र भुजिकोटमा गुरुङ जातिको बाहुल्यता छ । दगाम र भुजिकोटबाट शुक्लागण्डकी क्षेत्रको अलावा पोखराको फेवातालसम्मको दृश्य रोचक देखिन्छ । उत्तरतर्फ देखिने अन्नपूर्ण र माछापुच्छ«े हिमालको तरेलीले जोकोहीलाई मन्त्रमुग्ध बनाउँछ । दगाममा करिब २५ घर र भुजिकोटमा करिब २० घर छन् । घुमफिरका लागि आन्तरिक पर्यटक आउन थालेपछि आफूहरुले होमस्टे समेत सञ्चालन गरेको दगाम सामुदायिक होमस्टेका अध्यक्ष नन्दु थापा बताउनुहुन्छ । होमस्टेमा आउनेहरुबाट सकारात्मक प्रतिक्रियाले उत्साहित बनाउने गरेको उहाँको भनाइ छ । कोदो, मकैको परिवारसँगै लोकल कुखुराको मासु होमस्टेका पाहुनाको मुख्य रोजाइमा पर्ने दगामका अगुवा तथा दगाम सामुदायिक होमस्टेका सहजकर्ता नन्दु थापा बताउनुहुन्छ । “पाहुनालाई हामी भटमास, मस्याङ गुन्द्रुक, ढिडोंलगायतका स्थानीय परिकार नै खुवाउने गर्छांै”, सहजकर्ता थापाले भन्नुभयो, “स्थानीय उत्पादन नै होमस्टेको पहिचान हो भन्दा पनि हुन्छ ।” दगाम र भुजिकोटमा चार वटा होमस्टे सञ्चालनमा छ । कुस्मावती, दगाम, इमान्दार र भुजिकोट होमस्टेमा तिहारपछि फागुन पहिलोसातासम्म स्वदेशी पयर्टकको चाप बढ्ने गर्छ । पाहुनाहरुमा अधिकांश शुक्लागण्डकी र पोखराका हुने गर्छन् । दगाम र भुजिकोटमा होमस्टेका पाहुना फर्किदा स्थानीय मह कोशेलीका रुपमा लैजान मन पराउने दगाम होमस्टेका अध्यक्ष तिला थापाले जानकारी दिनुभयो । गाउँसम्म पुग्न पक्की बाटो भए शुक्लागण्डकी र पोखराका पर्यटकलाई समेत आकर्षित गर्न सकिने सोच दगाम र भुजिकोटवासीको छ । मिर्छुलुङ भिमाद नगरपालिका–५ मा पर्ने मिर्छुलुङ पनि होमस्टेका पाहुनाको रोजाइमा पर्दै गएको छ । मगर बाहुल्यता रहेको यस होमस्टेमा निहुरो, कर्कलो, मकैको आँटो, स्थानीय जातका कुखुरा र सुँगुरको मासुको परिकार चाख्न पाइन्छ । यहाँ आउने पर्यटकलाई कौराहा र झ्याउनेमा नाचेर रमाइलो गरिन्छ । पर्यटक पनि नाच्ने र गाउने गरेर रमाइलो गर्छन् । मिर्छुलुङ होमस्टेमा ३० घर रहेका छन् । गाउँको शिरानमा भ्युटावर (दृश्यावलोकन स्तम्भ)समेत छ । टावरबाट हिमालका दृश्य, भिमाद बजार र सेतीको नागबेली रोचक देखिन्छ । मन बहलाउन र थकान मेट्न आउने आन्तरिक पर्यटकको चाप बढ्दै गएको होमस्टेका सदस्य मनसरा थापाले बताउनुभयो । “साथी र परिवारका सदस्यहरु आएर रमाइलो गरेर जाने चलन बढ्दै गएको छ”, थापाले भन्नुभयो, “हाम्रो चुल्होमा पनि स्थानीय परिकार नै प्राथमिकतामा पर्छ ।” भिमाद बजारबाट पाँच किलोमिटर दक्षिणतर्फको यात्रापछि मिर्छुलुङ पुगिन्छ । भिमाद नगरपालिकाको कार्यालयले समेत मिर्छुलुङलाई प्राथमिकतामा राखेको छ । तनहुँमा विभिन्न गन्तव्यहरुमा बाहिरी तथा आन्तरिक पर्यटकको भ्रमणको तथ्यांक नभएपनि पछिल्लो समय साथी र आफन्तसँग घुम्ने संस्कारको विकास हुँदै गएको तनहुँ पर्यटन विकास समितिका अध्यक्ष हरिसिं गुरुङ बताउनुहुन्छ । “पछिल्लो समय घुम्ने संस्कारको विकास हुँदै गएको छ”, गुरुङले भन्नुभयो, “प्रर्यटन प्रवर्धनका कार्यक्रमलाई राज्यले समेत प्राथमिकतामा राख्नुपर्छ ।” गण्डकी प्रदेश सरकारले प्रदेशका एक सय १० मुख्य गन्तव्यको सूचीमा तनहुँका १० प्रमुख पर्यटकीय गन्तव्य पहिचान गरेको छ । प्रमुख गन्तव्यमा बन्दीपुर, व्यास पर्यटन क्षेत्र, मिर्लुङकोट, देवघाटधाम, ढोरवाराही, छाब्दी वाराही, छिम्केश्वरी, भानुभक्त जन्मस्थल, आधिमुल बाराही र तनहुँसुर रहेका छन् । पूर्वाधार र आवश्यक विकास गरी ती गन्तव्यको पहिचान गराउने कार्यक्रम प्रदेश सरकारले राखेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पोखराका सूचना अधिकारी विकास थापामगरले जानकारी दिनुभयो ।
काठमाडौं : काठमाडौं महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा सुरु भएको छ । प्रत्येक वर्ष कोजाग्रत पूर्णिमापछि गरिने यो जात्रा यस क्षेत्रको प्राचीन मौलिक संस्कृतिका रूपमा मानिँदै आएको पूर्ववडाध्यक्ष रमेश डङ्गोलले जानकारी दिनुभयो । तीननारायण एवं ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ समेत भनिने यो जात्रा नगर्दा यस क्षेत्रमा प्राचीनकालदेखि चलिआएको संस्कृति नाश हुने भएकाले गत वर्ष स्वास्थ्य सुरक्षाका विधि अपनाएर सम्पन्न गरिएको उहाँले सुनाउनुभयो । गत वर्षभन्दा कोरोना महामारी कम रहेकाले सहजरूपमा जात्रा गर्न लागिएको हो । देशका अन्य स्थानमा हुने जात्रा खटको गजुर उल्टो नपारी गरिने र यहाँको नारायण जात्रा भने उल्टो पारेर गरिने भएकाले कहीँ नभएको जात्रा भन्ने गरिएको हो । चोकेटनारायण समेत भनिने चोक्काथुनारायणको नाममा गुठी जग्गासमेत राखी जात्रा चलाउने व्यवस्था गरिएको थियो । गुठी संस्थानको लगतमा चोक्काथुनारायण एवं तीननारायणका नाममा गुठी जग्गा राखिएको छ । मन्दिरको ढोकामा रहेको नेवारी भाषाको अभिलेखअनुसार राजा नरेन्द्र मल्लको पालादेखि यो जात्रा शुरु भएको हो । चोक्काथुनारायणको मन्दिर बूढानीलकण्ठबाट ल्याई यहाँ स्थापना गरिएको ‘हाँडीगाउँ : एक परिक्रमा’ पुस्तकका लेखक एवं यस क्षेत्रको सांस्कृतिक परम्पराका बारेमा अध्ययन गरिरहनुभएका यज्ञनाथ आचार्यले बताउनुभयो । जात्रा शुरु भएका सम्बन्धमा एउटा किंवदन्ती प्रचलित छ । जनश्रुतिअनुसार मध्यकालमा हाँडीगाउँमा दुई दिदीबहिनी थिए । दिदी भगवान्प्रति पूर्णरूपमा आस्था राख्थिन् । बहिनी घमण्डी हुनुका साथ भगवान्प्रति पनि उनको आस्था थिएन । विवाहपछि दुवै दिदीबहिनी गर्भवती भए । दिदीले समयमै बच्चा जन्माइन् । बहिनीको गर्भ रहेको बाह्र वर्षसम्म पनि बच्चा जन्मिएन । बहिनीले श्रीमान्सहित नारायणको आराधना गरिन् । सपनामा बूढानीलकण्ठ नजिकको पहाडमा रहेको नारायणको मूर्ति ल्याई उल्टो छाताकारका तीन खटको जात्रा चलाउनु तब तिमीहरुको उद्धार हुनेछ भन्ने आज्ञा प्राप्त भयो । गर्भ रहेको बाह्र वर्षसम्म बच्चा नजन्मिएको दम्पतीले त्यसबेलाका राजा नरेन्द्र मल्लसँग गुहार मागे । राजआज्ञा बमोजिम तान्त्रिकहरु धिमे बाजा बजाई रङ्गीबिरङ्गी लुगा लगाएर बूढानीलकण्ठ नजिकको पहाडमा गए । मैनको फूल चढाई नारायणको आराधना गरे । चोक्काथुनारायण (तीननारायण) जात्राको परम्परा चलाउने वचन दिए । नारायणलाई हाँडीगाउँ ल्याई यहाँका जनतालाई पर्ने दुःख तथा पीडालाई अन्त गर्न भनी चोक्काथुनारायण ९तीननारायण० मन्दिर स्थापना गरे । यसै बेलादेखि जात्राको पनि शुरुआत भयो । मन्दिर स्थापना भएपछि प्रसव वेदनाको समयमा नारायणको मूर्तिमा तेल लगाउँदा वा जात्राको समयमा प्रयोग हुने मैनको फूल सिरानीमा राख्नाले वेदना कम हुने गरेको स्थानीयवासीको अनुभव छ । नारायणको शिरमा तेल खन्याउँदा दायाँतर्फबाट तेल खसे छोरा र बायाँतर्फबाट तेल खसे छोरीको जन्म हुन्छ भन्ने धारणा अहिले पनि रहेको सांस्कृतिक अन्वेषक आचार्यले सुनाउनुभयो । नारायणको जात्रा कमलासनको तीन खट (बाबु, आमा, छोरा) बनाई खटको गजुरलाई उल्टो पारी घुसारेर तीन टोल घुमाई गजुर घुसारेको स्थानमा पुजा गरिन्छ । यो जात्रामा पाँच जनाले धिमेबाजा बजाउनुपर्ने र ३० जनाले खट बोक्नुपर्ने प्रचलन छ । जात्रा हेर्न हाँडीगाउँ क्षेत्रका सबै गुठियार जम्मा हुनुपर्ने नियम रहेको छ । –––
चितवन : चितवन मेडिकल कलेज तोडफोडको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नौ जना विरुद्ध अस्पतालले किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१३ का धनबहादुर विक, जीवन सुनार र विकासबहादुर दमाई रहेका छन् । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार उनीहरुलाई आइतबार पक्राउ गरिएको हो । अस्पतालका तर्फबाट उनीहरुसहित नौ जना विरुद्ध किटानी जाहेरी परेसँगै पक्राउ गरिएको उहाँले बताउनुभयो । अन्यको खोजी कार्य भइरहेको कार्यालयले जनाएको छ । उनीहरु विरुद्ध स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी संरक्षण ऐन, २०६६ को संशोधन, २०७९ अनुसार मुद्दा दर्ता गरिएको पण्डितले जानकारी दिनुभयो । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐन, २०६६ को संशोधन, २०७९ अनुसार स्वास्थ्य संस्था तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्याउनेलाई तीन वर्षसम्म कैद वा रु तीन लाख जरिवाना हुने व्यवस्था रहेको छ । यही असोज १७ गते बिरामीको उपचारका क्रममा मृत्यु भएको घटनालाई लिएर बिरामीका आफन्तले अस्पताल तोडफोड गरेका थिए । तोडफोडका कारण अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा क्षति भएको थियो । सो घटनालाई लिएर नेपाल चिकित्सक सङ्घले कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएको थियो ।
काठमाडौं : बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । कतार एयरवेजको विमानबाट आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै उहाँलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौँ प्रहरी वृत्तका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार अहिले लामिछानेलाई प्रहरी वृत्त, गौशालामा राखिएको छ । पीडित बालिकाले प्रहरी वृत्त, गौशालामा बलात्कारको जाहेरी दिएकाले उहाँलाई त्यहीँ लगिएको हो । लामिछानेलाई आइतबार अदालतमा उपस्थित गराइने बताइएको छ । लामिछाने विदेशमै रहेको बेला गत भदौ २१ गते एक बालिकाले आफुलाई लामिछानेले बलात्कार गरेको जाहेरी दर्ता गराउनु भएको थियो । उजुरी पर्दा लामिछाने क्यारेबियन प्रिमियर लिग ९सीपीएल० खेल्न नेपाल बाहिर जानुभएको थयो ।
तनहुँ : तनहुँ कारागारमा रहेका कैदीबन्दी आफन्तसँग टीका लगाउन पाउँदा खुसी भएका छन् । विजयादशमीको दशौँ दिन आज कारागारभित्रै आफन्तसँग टीका लगाउन पाउँदा कैदीबन्दी खुसी भएका हुन् । कोभिड–१९ को सङ्क्रमणपछि पहिलो पटक कैदीबन्दीले आफन्तको हातबाट टीका लगाउन पाएका हुन् । विगतका वर्ष कोभिड–१९ को जोखिमका कारण आफन्तबाट टीका लगाउन रोक लगाइएको थियो । कारागारमा पुर्पक्षका लागि थुनामा रहेका एक कैदीबन्दीले दसैँका दिन आफन्तसँग भेटघाट गर्दै टीका लगाउन पाउँदा खुसी लागेको बताउनुभयो । “दसैँका बेला निधार खाली हुन्छ की भन्ने चिन्ता थियो, तर आफन्तसँगै टीका लगाउन पाएर एकदमै खुसी लागेको छ”, उहाँले भन्नुभयो । “यो वर्ष आफन्तको हातबाट टीका लगाउन पाउने व्यवस्था मिलाएका हाँै”, कारागारका निमित्त प्रमुख नारायण अधिकारीले भन्नुभयो, “आफन्तसँग टीका लगाउन पाउँदा कैदीबन्दीले राम्रो मान्नुभएको छ ।” उहाँका अनुसार दिउँसो १ः३० बजेसम्म ३४ जना कैदीबन्दीले आफन्तको हातबाट टीका लगाएका छन् । बिहानैदेखि झरी परेकाले उनीहरुका आफन्त आउन ढिलाइ भएको हुनसक्ने उहाँले बताउनुभयो । “झरीले केही समस्या बनाए पनि टीका लगाउने व्यवस्थापन मिलाएका छौँ”, अधिकारीले भन्नुभयो । कैदीबन्दीहरुले दसैँ मनाउन खशीबोका खरिद गर्नका लागि कोष बनाएका थिए । कोषमा सबै कैदीबन्दीले रकम जम्मा गरेका छन् । सोही कोषमा जम्मा गरिएको रकमले खशी, कुखुरा लगायत खरिद गरिएको छ । “सरकारले दसैँ खर्चबापत प्रत्येक कैदीबन्दीलाई रु तीन सयका दरले रकम उपलब्ध गराउँछ, सोही रकम र मूढा बिक्री गरेर कमाएको पैसा कैदीबन्दीले कोषमा राखेका छन्, त्यही रकमबाट आवश्यक सामग्री खरिद गरी रमाइलो गरिएको छ”, अधिकारीले भन्नुभयो । तनहुँ कारागारमा १२ महिलासहित दुई सय ८७ कैदीबन्दी छन् ।
काठमाडौं : नवरात्रको नौ दिनसम्म विधिपूर्वक नवदुर्गाको पूजा आराधना गरिएको दशैँ घर वा पूजा कोठामा आज विजयादशमीका दिन बिहान देवी विसर्जन गरिँदै छ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजा आराधना गरिएको दसैँ घर वा पूजा कोठामा देवी विसर्जन गर्न लागिएको हो । देवी विसर्जनका लागि बिहान १०ः३४ बजेको साइत शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । विधिपूर्वक देवी विसर्जनपछि शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइन्छ । आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म टीका लगाउन साइत हेर्नु नपरे पनि शुभ साइत खोज्नेका लागि समितिले आज बिहान ११ः५१ बजेको साइत उत्तम रहेको जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्नेमा उहाँ जोड दिनुहुन्छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापेर मनाइन्छ । आज टीका लगाउन नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् । विजयादशमीका दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्ने बताउनुहुन्छ धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा डा देवमणि भट्टराई । टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उहाँ सुनाउनुहुन्छ । टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ । आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोग व्याधीमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ । कोरोना भाइरस एवं डेङ्गुको सङ्क्रमण फैलिरहेकाले जमराको जुस सेवन गर्नाले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने आयुर्वेदका चिकित्सकको भनाइ छ । त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रुपमा पनि लिइन्छ ।आज गुरु पुरोहित, हजुरबा, हजुर आमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

