पोखरा । पर्यटकीय नगरी पोखराले सञ्चालन गर्ने हरित यातायात प्रणाली विकास परियोजनालाई कोरियाले सहयोग गर्ने भएको छ । पोखराको यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै हरियाली प्रवद्र्धन गर्ने विषयमा महानगर र कोरियाका विज्ञको टोलीबीच यहाँ भएको छलफलमा उक्त सहमति भएको हो । परियोजनाअन्तर्गत कोरियाले विभिन्न साझेदार संस्थाको समन्वयमा पहिलो चरणमा १५ लाख अमेरिकी डलर खर्च गर्ने जनाइएको छ । कोरियन टोलीले यस क्षेत्रको सार्वजनिक यातायात र रुट तथा पूर्वाधारका विषयमा स्थलगत अध्ययन गरेको टोली प्रमुख रेलमार्ग अनुसन्धान संस्थान कोरियाका परियोजना प्रबन्धक जियोन ह्यन किमले जानकारी दिनुभयो । “परियोजना अन्तर्गत पोखराका ८४ वटा बस रुटमा एक हजार दुई सय ८६ स्थानमा बस स्टप निर्माण गरिने छ”, उहाँले भन्नुभयो,“यस्तै तीन स्थानमा बस टर्मिनल निर्माण गरिने छ ।” जसका लागि पहिलो चरणमा १५ लाख डलर खर्च हुनेछ । यसको आधा रकम बस स्टप र बसमा मेसिन जडान गर्दा खर्च हुने टोली प्रमुख किले बताउनुभयो । पोखराको मुख्य पृथ्वीचोकलाई थप विस्तारसमेत गरिने परियोजनाको लक्ष्य छ । तीन चरणमा गरी सम्पन्न गरिने यस परियोजनाको पहिलो चरणमा २०२५ सम्म सहरी यातायाता व्यवस्थापनका लागि प्रारम्भिक चरणको काम सकिनेछ । यस्तै दोस्रो चरण सन् २०३० सम्म दिगो हरित यातायात प्रणालीको विकास गरिने छ । विश्वमा भएको उत्कृष्ट सहरी यातायात व्यवस्थापनको नमुना प्रविधि पोखरामा हुने किमले विश्वास दिलाउनु भएको छ । परियोजनाका दौरानमा हाल नेपालमा रहेका सवारी साधनहरुको अवस्था र कोरियामा भइरहेको यातायात व्यवस्थापनको अनुभवलाई समेत प्रयोग गरिने दुई पक्षबीच सहमति भएको छ । टोलीका अनुसार परियोजनाको अन्त्यसम्ममा पोखराको सहरी यातायात व्यवस्थापन प्रविधिमैत्री र स्मार्ट हुने विश्वास लिइएको छ । सम्झौता अनुसार पोखरामा चल्ने सार्वजनिक यातायातको सेवाका बारेमा हरेक नागरिकले डिजिटल माध्यमबाट जानकारी पाउने छन् । यात्रुलाई लामो समयसम्म बस कुर्नुपर्ने छैन भने चालकले समेत जथाभावी यात्रु चढाउन र ओराल्न पाउने छैनन् । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस परियोजनामार्फत पोखरामा बातावरणमैत्री यातायात प्रणालीको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । पोखरामा बढ्दो सहरीकरण र ट्राफिक चापलाई व्यवस्थित गर्नुको साथै बसको प्रयोग गर्ने यात्रुको सङ्ख्यामा उल्लेखनीय वृद्धि हुने बताउनुभयो । उहाँले कार्वन उत्सर्जन न्यूनीकरणका साथै सार्वजनिक यातायातको सम्पूर्ण जानकारी प्राप्तिमा यात्रुलाई सहजता पुग्ने उहाँको विश्वास छ ।
बागलुङ: बागलुङ ढोरपाटनका मीनबहादुर दर्जी मादल बनाउन निकै सिपालु हुनुहुन्छ । उहाँले मादल बनाएर जीविकोपार्जन गर्दै आएको २० वर्ष पूरा भयो । दर्जीले मादल व्यवसायबाटै नौ जनाको परिवार पाल्दै आउनुभएको थियो तर, अहिले मादल बिक्न छोडेपछि गिट्टी कुट्ने र बालुवा बोक्ने गर्नुहुन्छ । मादल व्यवसाय सङ्कटमा परेपछि दर्जीले पेसा बदल्नुपरेको हो । बाउ, बाजे र दाइहरुबाट सिकेको सीपले उहाँलाई सात वर्ष अगाडिसम्म परिवार पाल्न सहज थियो । अहिले छोराहरु विदेश पलायन भए भने छोरीहरु बिहे गरी सके । उहाँले आफूसँग भएको सिप नबिकेपछि पेसा परिवर्तन गर्नुपरेको दुखेसो गर्नुभयो । उहाँ भन्नुहुन्छ, “मलाई पाँचा÷सात वर्ष पहिलेसम्म परिवार चलाउन समस्या थिएन, मादल बिक्री गरेरै नौ जनाको परिवार चलाएको थिए, छोराछोरी पढाएको थिए, अहिले दुई जनाको पेट पाल्न पनि अरु काम गर्नुपर्छ, मादल बिक्री हुँदैन, बिक्री नहुने काम किन गर्ने भनेर त्यो काम गर्नै छोडेँ, अहिले गिट्टी बालुवा कुटेर पेट पालेको छु ।” पहिले बाह्रौँ महिना मादलको माग बढ्ने गरेको र पछि–पछि चाडबाडको बेला ग्राहक आउने गरेको जनाउँदै अहिले मादल बिक्रीनै नहुने उहाँको भनाइ छ । उहाँले कुनै बेला आफूलाई मादल बनाउन भ्याइनभ्याइ हुनेको गरेको स्मरण गर्दै अहिले केही ग्राहक आएपछि आफूले पहिले बनाएर राखेका मादल बेच्ने गरेको बताउनुभयो । अहिले मादलको मूल्यसमेत घटेको दर्जी बताउनुहुन्छ । “मेरो पसलमा पहिले बाह्रैमास मादल किन्ने आउँथे, हरेक महिना कम्तीमा पनि १० वटा मादल बिक्री ग¥थ्यौँ, मलाई मादल बनाउन भ्याइनभ्याइ हुन्थ्यो, बिहान उठेदेखि रातिसम्म नसुतुन्जेलसम्म मादल बनाइरहन्थे कमाइ पनि राम्रो हुन्थ्यो, वर्षमा झण्डै रु पाँच लाख कमाइ गर्थे, मूल्य पनि राम्रै पथ्र्यो”, उहाँले भन्नुभयो, “अहिले मादल किन्न बेला मौकामा एक÷दुई जना मान्छे आउँछन्, उनीहरुलाई पहिले बनाएको मादल दिएर पठाउँछु, पहिलेको जस्तो मूल्य पनि पर्दैन, मैले एउटा मादलको रु १२ सयदेखि पाँच हजारसम्ममा बेच्ने गर्थें ।” दर्जीले तिहारको बेला मादलको बढी माग हुने गरेको बताउनुभयो । गाउँ तथा सहरमा देउसीभैलो खेल्नेले मादल किन्ने गरेको भन्दै अहिले मादलको सट्टा ठूला–ठूलो साउण्ड सिस्टम किन्ने गरेको दर्जीको भनाइ छ । “तिहार आयो की मादल किन्नेको भीड लाग्थ्यो मेरो पसलमा, अहिले मादल किन्नभन्दा ठूला–ठूला स्पिकर किन्छन्, तिहारको गीत पनि गाउँदैनन्, कलाकारले गाएको गीत बजाएर नाच्ने गर्छन्, यसले त देउसीभैलो खेल्ने प्रचलनमा पनि विकृति ल्याएको छ”, उहाँले भन्नुभयो । निसीखोला गाउँपालिका–५ का कुलबहादुर नेपालीले पनि मादल व्यवसाय गरेको १४ वर्ष भयो । उहाँको पनि अचेल मादल कमै बिक्री हुन्छ । वार्षिक आठ सय बढी मादल बेच्ने नेपालीले अहिले ५० वटा पनि बिक्री गर्न नसकेको बताउनुभयो । पहिले आफ्नो पसलमा निसीखोलासँगै, ढोरपाटन, तमान, रोल्पा र रुकुमदेखि मादल किन्ने ग्राहक आउने गरेको स्मरण गर्दै अहिले पसल सुनासन रहेको बताउनुभयो । “चार वर्षौं भइसक्यो मादल निकै कम बिक्छन्, तिहार आउने बेला अलिअलि बिक्री त हुन्छ, यस बेला मात्रै मादल बेचेर दुई महिना पनि खान पुग्दैन, तिहारको बेला त मादल किन्ने ग्राहकको लाइन हुन्थ्यो, मादल पुराउनै सकिन्नथ्यो, अहिले हेर्नुस् त यति धेरै मादल बनाएँ, बिक्री नै हुँदैनन्” नेपालीले भन्नुभयो, “वर्षभरि मादल बनायो, बिक्री हुन्न, अब अरुनै काम गर्नुपर्ने भयो, अब यसबाट परिवार पाल्न सकिने भएन ।” नेपालीले सूचना र प्रविधिको विकासका कारण मादल बिक्रीमा कमी आएको बताउनुभयो । उहाँले मादल मौलिकता र परम्परासँग जोडिएको बाजा भएको भन्दै आधुनिकताले मादल व्यवसाय पनि सङ्कटमा पर्न थालेको बताउनुहुन्छ । अहिले चाडबाड तथा मेला महोत्सवमा मादल, बाजा बज्नै छोडे र बाजाको ठाउँमा ठूलाठूला स्पिकर र साउण्ड सिस्टमको प्रयोग हुन थालेको नेपालीको भनाइ छ । “आजभन्दा १० वर्ष पहिले गाउँमा मादलको महत्व निकै थियो, मेला महोत्सव, विवाह व्रतबन्धमा मादल घन्किने गर्थे, विद्युत्को पहुँच थिएन, माइक, स्पिकर र राउण्ड सिस्टमको आएका थिएनन्, अहिले गाउँ–गाउँमा बिजुली बलेका छन्, बिजुली आएपछि मादलको माग घट्यो”, उहाँले भन्नुभयो, “अब मादल र बाजा हराउँदै जाने सम्भावना छ, मेला महोत्सवमा पनि बाजा र मादल बज्न छोडे ।” गाउँ–गाउँमा सूचना प्रविधिको पहुँच पुगेपछि मादल व्यवसायी विस्थापित हुने अवस्थामा पुगेपछि बजारमा विद्युतीय सामग्रीको माग बढी रहेको व्यवसायी बताउँछन् । बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारमा विद्युतीय सामग्री बेच्दै आउनुभएका जीवन शर्माले पछिल्लो समय ठूला–ठूला साउण्ड सिस्टम र माइकको माग निकै बढेको बताउनुभयो । उहाँले पहिले–पहिले चाडबाडको समयमा मादलको बिक्री अत्यधिक हुने गरेकोमा अहिले मादल कम र साउण्ड सिस्टम धेरै बिक्री हुने गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “अहिले बजारमा साना–ठूला साउण्ड सिस्टमको माग निकै बढी रहेको छ, अझ यो तिहारको बेलामा त झन बढी माग हुने गरेको छ, पहिले–पहिले मादल बेच्ने व्यापारीलाई भ्याइनभ्याइ हुन्थ्यो, अहिले उनीहरुको व्यवसाय सुक्दै गएको छ, अहिले त मेला महोत्सव जताततै साउण्ड सिस्टम घन्किन्छन्, मादल त बज्नै छोडे, केही वर्ष अगाडिसम्म त गाउँमा जाँदा मादल बाजा घन्किने गरेको पाइन्थ्यो, अहिले त जताततै साउण्ड सिस्टममा गीत मात्रै सुनिन्छन् ।”
चितवन । दशैँ र तिहारजस्ता पर्वमा सबै रमाइरहँदा नेपाल प्रहरी भने झन बढी सजगताका साथ काममा खटिनुपर्छ । सार्वजनिक बिदा होस् वा पर्व उनीहरुका लागि जुनसुकै बेला काममा जाने मनस्थितिमा तयारी रहनुपर्छ । सबैले घरघरमा पर्व मनाइरहँदा उनीहरु सडकमा जनता र देशका लागि सुरक्षा दिइरहेका हुन्छन् । यसरी खटिने प्रहरीले न शुक्रबारको आधा दिन मात्रै काम गरे पुग्छ, न बिदा र चाडपर्वमा अन्य कर्मचारीसरह बिदा पाउँछन् । यसो त अन्य समयमा पनि जुनसुकै बेला कामका लागि तयारी हुनुपर्दछ । परिवार सँगसँगै रहेर सेवा गर्ने मौका उनीहरुलाई कमै मात्र पाउँछन् । सरकार तलब भत्ता खुवाउने फौजीबाहेकका सबै कर्मचारीको भन्दा पृथक र कडाइका साथ उनीहरु खट्नु पर्छ । यसरी खट्दै गर्दा अन्यको भन्दा धेरै पारिश्रमिक पनि उनीहरुले पाउँदैनन् । थोरै पारिश्रमिकमा आफ्नो जीवनको उर्वर समय उनीहरुले राष्ट्रलाई दिइरहेका हुन्छन् । उनीहरुले पाउने पारिश्रमिक श्रमका आधारमा नगण्य हुने गर्दछ । घरपरिवारबाट टाढा रहेर रातदिन खट्ने प्रहरी जवानको पारिश्रमिक रु २६ हजार ८२ मात्रै रहेको छ । यो उनीहरुको परिश्रमको आधारमा न्यून हो । यही सङ्गठनले आज ६७ औँ स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी मनाउँदै छ । एउटा उत्सवको रुपमा प्रहरी दिवस मनाइरहँदा जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी सहायक हवल्दार भीमबहादुर लायोमगर निकै उत्साहका साथ दिवसलाई सफल बनाउन लागि रहनुभएको छ । उहाँले भन्नुभयो, “हाम्रो लागि प्रहरी दिवस एउटा उत्सव हो । यसलाई रमाइलो गरेर मनाउनुपर्छ ।” प्रहरी सङ्गठनभित्र काम गर्दा पाउने दुःखलाई बिर्सिएर उत्सवको रुपमा दिबस मनाउने गरेको उहाँले सुनाउनुभयो । उहाँले थप्नुभयो, “२४ घण्टा कार्यक्षेत्रमा रहँदा हुने हरेक किसिमका समस्यालाई समाधान गर्ने बानी परेको छ ।” जुनसुकै कामलाई पनि सकारात्मक रुपमा लिएर काम गर्दा सहज हुने उहाँको भनाइ छ । आफूले पाउने पारिश्रमिकको हिसाब नगरी कर्म क्षेत्रमा खटिने गरेको उाहँ बताउनुहुन्छ । लायो मगरले भन्नुभयो, “बाहिर हेर्दा आहा भए पनि भित्र काममा हुने दुःख कस्ले बुझेको छ र ।” न कुनै चाडपर्व, न कुनै समय सधै जनताको सेवामा लाग्नु पर्दा पाईने दुःखलाई बाहिरका कस्ले बुझ्ने रु उहाँले प्रश्न गर्नुभयो । जे भए पनि प्रहरी सङ्गठनमा लागेर जनता र राज्यको सेवा गर्न पाउनु खुसीको कुरा रहेको उहाँले बताउनुभयो । यस्तै उत्साही देखिँदै हुनुहुन्थ्यो प्रहरी सहायक हवल्दार चिजकुमार श्रेष्ठ । उहाँ प्रहरी सेवामा लागेको १६ वर्ष भएछ । उहाँमा प्रहरी सङ्गठनप्रतिको मायाँ उत्तीकै छ । उहाँले भन्नुभयो, “सङ्गठनले दिएको जिम्मेवारी हर हालतमा पूरा गर्छांै ।” जस्तोसुकै दुःखमा पनि काम गर्ने बानी सङ्गठनले बनाइदिएको उहाँको भनाइ छ । प्रहरी सेवा भनेको नै कठिनभन्दा कठिन काम गर्नका लागि भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रहरीमा प्रवेश गर्न सुरुआती कठिन हुन्छ । त्यसपछि तालिम र कार्यक्षेत्रमा खटिँदा झनै कठिन हुन्छ ।” बाहिर देख्नेले सहज देखे पनि संगठनको नियम कानुनमा बसेर काम गर्न कठिन हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “चाड पर्ब, मेला, महोत्सव भन्ने कुरा सम्झने हो ।” देश र जनताको सेवामा लाग्न पाउनु नै खुसीको कुरा रहेको उहाँको भनाइ छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डित अन्य क्षेत्रमा भन्दा फौजीको काम कठिन नै हुने बताउनुहुन्छ । यहाँ काम गर्दा पर्ने हरेक समस्यालाई सहजताका साथ लिन सके हरेक काम गर्न सकिने उहाँले बताउनुभयो । कुनै पनि फौजमा बाहिर देखेभन्दा कठिन हुने उहाँको भनाइ छ । घाम–पानी, घर–परिवार नभनी देश र समाजको सुरक्षामा खटिनु गर्वको कुरा भए पनि यहाँ काम गर्दा आइपर्ने समस्या बाहिरकाले बुझ्न कठिन हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “२४ घण्टा कार्यक्षेत्रमा खटिनु पर्दा जटिल कति हुन्छ रु” यसलाई उचित व्यवस्थापन गरेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ । व्यवस्थापन गर्नसके प्रहरी पेसा राम्रो रहेको उहाँले बताउनुभयो । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले नेपाल प्रहरीले चाडपर्व, बिदा भन्न नपाउने बताउनुहुन्छ । अन्य कर्मचारी घरमा चाडपर्व मनाइरहँदा आफूहरु सडक वा ब्यारेकमा रहेर सेवामा जुट्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो “परिश्रमको आधारमा पारिश्रमिकलाई तुलना गर्न सकिँदैन ।” सरकारका अन्य कर्मचारीले दैनिक घडी हेरेर काम गर्न पाउने भए पनि प्रहरी जुनसुकै बेलामा पनि काममा खटिनुपर्ने उहाँको भनाइ छ । प्रहरी दिवसका अवसरमा प्रहरीको मनोबल बढाउनुपर्ने उहाँले बताउनुभयो । थोरै जनशक्तिले धेरै काम गर्नुपर्ने बाध्यता आफूहरुसँग रहेको उहाँको भनाइ छ ।
गलेश्वर । हिमाली पर्यटकीय जिल्ला म्याग्दीका छ वटा पालिकामा ४५ वडामध्ये ४४ वटा वडामा सडक सुविधा पुगेको छ । धवलागिरि गाउँपालिकाको वडा नं १ मा पर्ने गुर्जाबाहेक छ वटा पालिकाका सबै वडासम्म सडक सञ्जाल पुगेको हो । सडक सञ्जालको पहुँच पुगेसँगै पालिकाले विकासमा तीव्रता दिइरहेका छन् । सडक स्तरोन्नति, पक्की पुल निर्माण, घना बस्ती योजना, सिँचाइ, खानेपानी, ज्येष्ठ नागरिकको घरघरमा नै पुगेर स्वास्थ्य जाँच, औषधोपचारलगायत, सामुदायिक विद्यालयको गुणस्तर सुधार्न पनि नयाँनयाँ रणनीतिक योजनासमेत पालिकाले ल्याएका छन् । केही वर्षअघिसम्म टुकी वा दियालोका भरमा साँझ र रात बिताउन बाध्य गाउँलेका घरमा अहिले बिजुली बत्तीे झिलीमिली हुन्छ । गाउँगाउँका स्वास्थ्यचौकीको स्तरवृद्धि भएको छ । हरेक पालिकामा अनुभवी स्वास्थ्यकर्मीसहित सुविधासम्पन्न भवनमा प्रसूतिसहितको सेवा पुगेको छ । गाउँमा पशुपालन तथा कृषिमा लाग्ने किसानलाई उत्पादनमा आधारित अनुदान पालिकाले दिइरहेका छन् । विकासका हरेक नमूनाको अभ्यास गर्न यस जिल्लाका पालिका प्रतिस्पर्धात्मक तरिकाले लागिपरेको भए पनि गाउँलेहमा भने थातथलो छोड्नेक्रम घटनाको साटो झन बढेर गएको छ । जनसाङ्ख्यिक हिसाबले पनि २०५८ को जनगणना र त्यसयताका दुई दशकमा भएका जनगणनाका तथ्याङ्कले समेत म्याग्दीको जनसङ्ख्या क्रमशः घट्दो क्रममा रहेको देखाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को नतिजाअनुसार विसं २०६८ को तुलनामा शुन्ना दशमलव ५४ प्रतिशतले जिल्लाको जनसङ्ख्या घटेको हो । विसं २०६८ को जनगणनाअनुसार एक लाख १३ हजार छ सय ४१ जना जनसङ्ख्या रहेको जिल्लामा २०७८ को प्रारम्भिक जनगणनामा एक लाख सात हजार तीन सय ७२ जना भएको जिल्ला जनगणना अधिकारी घनश्याम सापकोटाले बताउनुभयो । एक दशकमा जिल्लाबाट छ हजार दुई सय ६९ व्यक्ति घटेका छन् । स्थानीय जनप्रतिनिधिले पालिका वडामार्फत बस्तीका बासिन्दालाई स्थानीयस्तरबाट हुनुपर्ने सेवासुविधा दिन र दैलोको सरकारले बहन गर्नुपर्ने जिम्मेवारी पूर्णरूपमा पूरा गरेको जिकिर गरिरहँदा बढ्दो बसाइँसराइले भने ती उनीहरुको भनाइ प्रभावकारी देखिँदैन । जिल्लाका सबै गाउँपालिकाका केन्द्रसम्म सबै प्रकारका सुविधा पुगेका छन् । स्थानीय सरकार सञ्चालन भएको पाँच वर्षमा जिल्लाका सबैजसो पालिकाका केन्द्र जोड्ने मुख्य सडक स्तरोन्नति भएका छन् । पालिकाको केन्द्रदेखि वडाका वस्ती जोड्ने सडक निर्माण भएका छन् । अरू शाखा सडकको पनि स्तरवृद्धि तथा सडक चौडा पार्ने काम तीव्ररूपमा अघि बढेको छ । कतिपय पालिकाले त मुख्य मुख्य तथा आसपासमा बस्ती नभएका माध्यमिक विद्यालयका लागि स्कुल बसको व्यवस्थासमेत गरेका छन् । ग्रामीण बस्तीका खानेपानी, सिँचाइ, सामुदायिक भवन, कृषिलगायत समस्या समाधान गर्न र योजना वितरण गर्न वडैपिच्छे योजना सम्झौतासमेत गर्दै आइरहेका छन् । हरेक वडामा प्राविधिक, कृषि तथा भेटेरिनरी जेटिएकोसमेत दरबन्दी छ । गाउँगाउँमा खानेपानी र सिँचाइको व्यवस्था छ । ग्रामीण बस्तीमा पूर्वाधार विकासले जतिसुकै फड्को मारे पनि ग्रामीण क्षेत्रका बासिन्दाको बसाइँसराइ भने रोकिएको छैन । पालिकाका पञ्जीकरण शाखाले अद्यावधिक गरेको पछिल्लो तथ्याङ्कअनुसार सबैजसो पालिकामा हरेक वर्ष बसाइँ सर्ने बढ्दै गएको पाइएको छ । जिल्लाको मालिका गाउँपालिकाले गत वर्ष गरेको सर्वेक्षणअनुसार विभिन्न वडाबाट एक वर्षको अवधिमा मात्रै ९७ परिवारका एक सय ९३ जनाले बसाइँसराइ गरेको पाइएको थियो । त्यस्तै बेनी नगरपालिकाका विभिन्न वडाबाट अघिल्लो वर्ष मात्रै करिब एक सय परिवारले बसाइँसराइको सिफारिस लिएका थिए । अन्नपूर्ण, धवलागिरि, मङ्गला र रघुगङ्गा गाउँपालिकाको हालत पनि उस्तै छ । गत वर्ष मङ्गला र रघुगङ्गाका विभिन्न वडाबाट मात्रै करिब दुई सय परिवारले बसाइँसराइ गरेको तथ्याङ्क छ । त्यसैगरी धवलागिरि र अन्नपूर्ण गाउँपालिकाका ग्रामीण बस्तीबाट सुविधा खोज्दै बाहिरिनेको तथ्याङ्क पनि बर्सेनि बढ्दो छ । बसाइँसराइ गर्नेमा अधिकांश परिवार तराईका जिल्ला र केही सुविधासम्पन्न सहरबजारमा गएको पालिकाले जनाएका छन् । जिल्लाका सबैजसोले बसाइँसराइको सिफारिस लिएका आधारमा यो तथ्याङ्क निकालिएको पञ्जीकरण शाखाले जनायो । “सुविधाको खोजीमा मानिस गाउँ छोडेर सहर र तराईतिर झर्ने गरेका छन्”, रघुगङ्गा गाउँपालिकाका प्रमुख भवबहादुर भण्डारीले भन्नुभयो, “गाउँमा विकास पुगे पनि हरेक मानिसले त्यहाँभन्दा बढी अपेक्षा गरेर अन्यत्र जाने गरेका छन्, बसाइँसराइको सिफारिस लिन आएकालाई गाउँ छोडेर नजाउ भन्न मिलेन ।” बसाइँसराइको सिफारिस लिने क्रममा कारण उल्लेख गर्नुपर्ने हुन्छ । अधिकांश वडाबाट आएका विवरणमा रोजगारी, शिक्षा, स्वास्थ्यलगायत सुविधाको खोजीमा बसाइँसराइका कारण खुलाइएको छ । स्थानीय जनप्रतिनिधिहरुले विकासकै अभावले कसैलाई बसाइँसराइ गर्नुपर्ने अवस्था नरहेको बताए पनि बसाइँसराइ गरेकाहरु भने सुविधाकै खोजीमा आफूहरू गाउँ छोड्न बाध्य भएको जनाउने गरेका छन् । बेनी नगरपालिका वडा नं २ बाट बसाइँसराइ गरी नवलपुरको गौडाकोट नगरपालिका १२ हर्कपुरमा जानुभएकी अम्बिका शर्माले गाउँमा बसेर निर्वाहमुखी खेतीबाहेक अरू केही नहुने हुँदा अर्थोपार्जन र छोराछोरीको शिक्षादिक्षाका लागि बसाइँसराइ गरेको बताउनुभयो ।
दाङ: लमही नगरपालिका–८ सतबरीयाका दुखीराम चौधरी शनिबार दिउँसो मलिन अनुहार लगाएर बाढीले बगाउन नसकेका घरपर रहेका सामान हेर्दै हुनुहुन्थ्यो । फुसले बारेर माटोले लिपेको चिसा भित्ता छाम्दै बाढीले बगाउन नसकेको सिरक, गद्दा अनि केही थान कपडा सङ्कलन गरिरहेको देख्दा त्यहाँ पुग्ने जोसुकैलाई पनि भावुक बनाउथ्यो । उहाँलाई पीडा कति छ भन्ने कुरा उहाँका आँखाबाट प्रष्ट देख्न सकिन्थ्यो । घरभित्र रहेको कागजपत्र सबै पानीले भिजेको छ । घर छेउकोे धान खेत सबै बगर बनेको छ । दसैँको अघिल्लो दिनदेखि लगातार पाँच दिनसम्म परेको वर्षाले उहाँको घरमा भएका सम्पूर्ण सामान भिजेका हुन् । “यो वर्षको दसैँ दशा बनेर आयो, विजोग बनायो, बाढी एकाएक आयो, घरमा भएका केही पनि बचाउने सकिएन, सबै बगाएर लग्यो”, उहाँले भन्नुभयो, “जिउमा लगाएका कपडा र केही थान भिजेका कपडा, सिरक डसनाबाहेक केही छैन ।” बाढीले घरका दक्षिण र पूर्वको भित्ता भत्किएको छ । बचेका भित्ता धुजाधुजा पारेको छ । लमही–७ हसनापुरका जयप्रकाश चौधरीको घरमा बाढी पस्दा ठूलो क्षति भएको छ । राप्ती नदीबाट आएको भेल र नजिकै बनाइएको बाँध फुटेर आएको बाढीले घर भत्काउनुका साथै खेतबारीमा लगाइएको अन्नबालीमा क्षति गरेको छ । घरमा खाने अन्न केही छैन, जीवनमा पहिलोपटक यस्तो घटना भएको बताउनुभयो । उहाँले अहिलेसम्म पनि भत्किएको घरबाट सामान निकाल्ने आँट गर्न सक्नुभएको छैन । गढवा गाउँपालिका–२ महदेवाका रामलाल चौधरीले घरमा भएको अन्न लत्ताकपडा मात्रै नभई गोठमा बाँधिएका चौपाया समेत बगाएर लगेको बताउनुभयो । उहाँको गोठ रित्तै छ । घरभित्रको सामान सबै भिज्यो, घर भित्र–बाहिर सबै ठाउँ पानी पानी भयो । छोराछोरीका किताब, विद्यालय पोसाक सबै पानीले बगायो । राजपुर गाउँपालिका–६ गङ्गदीकी रामकली चौधरीले पनि आफ्नो कच्ची घरमा बाढी पसेपछि केही बचाउन नसकेको बताउनुभयो । धानले भरिएको डेहरी (माटोको भकारी) फुटेर धान बगाइदियो, धान कुटेको चामल पनि पानीमा डुब्यो । खानेकुरा केही नबचेपछि अहिले विद्यालयमा आएर पालिकाको शरण लिएको बताउनुभयो । वर्षाका कारण आएको बाढीले देउखुरीका चार पालिकामा ठूलोमात्रामा भौतिक क्षति गरेको छ । नागरिक समाजको स्थलगत अनुगमन बाढीका कारण भएको क्षतिबारे स्थलगत रुपमा पीडितका आवाज सुन्न र यथार्थ बस्तुस्थितिको जानकारी लिन समाजका जिल्ला संयोजक केबी मसालको नेतृत्वमा देउखुरीका चारवटै पालिकामा पुगेको छ । टोलीले ठूलो मात्रामा भौतिक क्षति व्यहोरेको निष्कर्ष निकालेको हो । समाजका अनुसार देउखुरीमा मात्रै १० हजारभन्दा बढी नागरिक प्रभावित हुनुका साथै अर्र्बौंको क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । वर्षाका कारण घर र खेतबारीमा बाढी पस्दा क्षति भएको छ दिन बितिसक्दा पनि स्थानीय पालिकाले अहिलेसम्म पीडितको लगत सङ्कलन गर्न नसकेको हुँदा उद्धारपछिको राहत सहयोगमा पनि ढिलाइ भएको नागरिक समाजले जनाएको छ । जिल्लाको लमही नगरपालिका, राप्ती, राजपुर र गढवा गाउँपालिकाका विभिन्न वडामा स्थलगत जानकारी लिनुका साथै पालिका स्तरबाट भइरहेको पछिल्लो प्रयासका बारेमा पनि समाजले चासो लिएको थियो । स्थानीय पालिका भन्छन्, तथ्याङ्क सङ्कलन गर्दैछौँ लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले तथ्याङ्क सङ्कलनको काम भइरहेको बताउनुभयो । प्रारम्भिक तथ्याङ्कमा दुई सय ६५ पूर्णरुपमा भत्किएका छन् । “पाकेर काट्न ठिक्क परेको धान डुवानमा परेको छ । दशैँ मानेर खेती स्याहार्ने तयारीमा रहेका किसानलाई बाढीले दुःखी बनाएको छ । सबै तथ्याङ्क सङ्कलन हुँदैछ”, उहाँले भन्नुभयो । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बाढी प्रभावित गाउँ कालापानी, पहरुवा, लठ्वा, सिङे, मझेरिया, भगवानपुर बगरापुरलगायतका दर्जनभन्दा बढी गाउँमा बाढी पसेको बताउनुभयो । आफैँ पीडितको घरमा पुगेर राहतस्वरुप खाद्यान्न उपलब्ध गराइरहेको बताउनुभयो । धेरै ठाउँमा क्षति भएकाले सङ्कलन गर्न समस्या भएको बताउनुभयो । किसानको मुख्य स्रोत अन्नबालीमा क्षति पुगेकाले तत्कालका लागि खाद्यान्न वितरण गरे पनि दीर्घकालीन राहतका लागि तथ्याङ्क सङ्कलन गरिरहेको अध्यक्ष विष्टले बताउनुभयो । राप्ती गाउँपालिकामा एक सय २० घर पूर्णरुपमा क्षति भएको छ । तथ्याङ्क सङ्कलनको कार्य जारी रहेकाले यो सङ्ख्या बढ्न सक्ने उहाँले बताउनुभयो । राजपुर गाउँपालिकाका अध्यक्ष शरद बुढाथोकीले पालिका स्तरमा लगत सङ्कलनको काम भइरहेको बताउनुभयो । उहाँले केही सामाजिक सङ्घसंस्थाको पहलमा अति आवश्यक भएकाहरुलाई केही सहयोग गर्नुबाहेक थप सहयोग गर्न नसकेको हुँदा माथिल्लो तहबाट सहयोगको अपेक्षा गर्नुभयो । तत्काल खाने बस्ने व्यवस्था पालिकाले मिलाई गङ्गदी र जङ्ग्रहवा स्कुलमा बाढी पीडितलाई बसालिएको बताउनुभयो । राजपुरमा तीन सय २५ घर पूर्णरुपमा भत्किएको प्रारम्भिक तथ्याङ्क रहेको अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो । उहाँले उद्धारपछिको राहत वितरण गर्ने स्रोतको समस्या भएको बताउनुभयो । गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेलले वडा नम्बर २ र ५ का बासिन्दा बाढीबाट सबैभन्दा बढी प्रभावित भएको बताउनुभयो । सो पालिकाका दुई सय ५४ घर पूर्ण रुपमा क्षेति भएको हा । सो वडाका नागरिकको बस्ने खाने समस्या भएपछि तत्कालका लागि सामूहिक मेस चलाएको अध्यक्ष पोख्रेलले बताउनुभयो । लोखरपुरुवाका ९५ जना, महदेवा र डाँडागाउँमा दुई सय जनालाई मेस चलाएर खाने व्यवस्था मिलाएको उहाँले बताउनुभयो । बाढीका कारण प्रावि महदेवा र नमूना प्रावि पचहियाको भौतिक संरचना पूर्णरुपमा क्षति भएकाले पठनपाठन कसरी सञ्चालन गर्ने भन्ने समस्या थपिएको बताउनुभयो । पालिकाका सबै वडामा कति घरपरिवार प्रभावित भएका छन् भन्नेबारे यकीन विवरण सङ्कलन भई नसकेको उहाँले बताउनुभयो । प्रारम्भिक तथ्याङ्कमा छ सय ६० डुबानमा परेका र ८० घर भत्किएका छन् । तथ्याङ्क सङ्कलन गर्दै जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख खिलत गिरीले जिल्लाको राजपुर गाउँपालिकामा सबैभन्दा धेरै भौतिक क्षति हुँदा परिवार विस्थापित भएको बताउनुभयो । लमही नगरपालिकामा दुई सय ६५, राजपुरमा तीन सय २५, गढवा गाउँपालिकामा दुई सय ५४, राप्ती गाउँपालिकामा एक सय २० घर पूर्णरुपमा क्षति भएको छ । देउखुरीको चार पालिकाको लमही नगरपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकामा मात्रै नौ सय ६४ घर पूर्ण रुपमा क्षति हुँदा त्यहाँ बस्दै आएका चार हजार बढी परिवारका सदस्य विस्थापित भएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ । कृषि शाखाले लगत लिने काम गरेका छन्: ज्ञान केन्द्र पाकेर काट्न ठिक्क परेको धान डुबानमा पर्दा धानबाली नष्ट भएको छ तर कति क्षति भयो भन्ने विवरण अझै आइनपुगेको कृषि ज्ञान केन्द्र दाङका तथ्यांक अधिकृत पृथ्वीराज लामिछानेले बताउनुभयो । उहाँले देउखुरी क्षेत्रमा बढी क्षति भएको जानकारी दिनुभयो । “देउखुरीका किसानले लगाएको धान बाली अलिबढी क्षति भएको अनुमान गरिएको छ”, उहाँले भन्नुभयो, “देउखुरीका चार पालिकासँग समन्वय भइरहेको छ तर कति क्षति भयो भन्ने यकीन विवरण प्राप्त भएको छैन ।” दाङ जिल्लामा धान रोप्ने जमिन ३९ हजार चार सय हेक्टर क्षेत्रफल रहेकामा देउखुरीमा १२ हजार पाँच सय २८ र दाङ क्षेत्रमा २६ हजार आठ सय ७२ हेक्टर क्षेत्रफल छ । यसमा देउखुरीका सबै क्षेत्रफलमा धान रोपिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यो वर्ष समयमा वर्षा नभएका कारण जिल्लाभर सात प्रतिशत अर्थात् ३४ हजार दुई सय सात हेक्टरमा धान रोपाइँ भएको उहाँले बताउनुभयो ।
चितवन । चितवनको पर्यटकीय क्षेत्र सौराहाका व्यवसायीले आन्तरिक पर्यटन प्रवद्र्धन अभियानमा थालेका छन् । चाडपर्वमा पनि सौराहामा सुनसान भएपछि व्यवसायीले ‘घुमाँै सौराहा’ अभियान सञ्चालन गर्ने तयारी थालेका हुन् । यसअघि कोरोना महामारीका कारण गरिएको लकडाउनपछि यहि अभियानका साथ पूर्वका दुई प्रदेशमा व्यवसायी पुगेका थिए । अभियानपछि सौराहामा पर्यटकको सङ्ख्या केही बढेको थियो । यस वर्ष पनि चाडपर्व सकिएपछि पुनः घुमौँ सौराहा भन्दै देशका सातवटै प्रदेशमा पुग्ने तयारीमा सौराहाका व्यवसायी जुटेका हुन । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले सौराहामा आन्तरिक पर्यटक बढाउन देशव्यापी अभियान सञ्चालन गर्ने तयारी गरेको बताउनुभयो । उहाँले यसवर्ष देशका सातै प्रदेश पुग्ने योजना रहेपनि पहिलो चरणमा पाँच प्रदेशमा अभियान सञ्चालन गरिने जानकारी दिनुभयो । “कोरोनाका कारण भएको लकडाउनपछि प्रदेश १ र मधेश प्रदेशमा अभियान सञ्चालन गरेका थियौँ त्यो प्रभावकारी बन्यो”, उहाँले भन्नुभयो । यसपटक देशका सबै प्रदेशमा पुगेर त्यहाँका व्यवसायी, सङ्घ संस्थाका प्रतिनिधि, वुद्धिजीवी, नागरिक समाज र पत्रकारसँग छलफल गर्दै सौराहा घुम्न आउनका लागि निमन्त्रणा दिइने उहाँले बताउनुभयो । भट्टराईका अनुसार अभियानका क्रममा यहाँका पर्यटकीय गतिविधिका दृश्य देखाइनेछ । “प्रदेश सरकारले घोषणा गरेको बागमती प्रदेश भ्रमण वर्ष अभियानलाई पनि टेवा पुग्नेगरी ‘घुमौँ सौराहा’ का कार्यक्रम सञ्चालन हुनेछन्”, उहाँले भन्नुभयो । बागमती प्रदेश सरकारले सौराहामा नै कार्यक्रमको आयोजना गरेर बागमती प्रदेश भ्रमण वर्ष सुभारम्भ गरिसकेको छ । ‘घुमौँ सौराहा’ अभियानमा छुट प्याकेजकोसमेत घोषणा गरिने भट्टराईले बताउनुभयो । यो समयमा सौराहाका होटलमा खचाखच पर्यटक हुन्थे । व्यवसायीलाई पर्यटकको स्वागतदेखि निकुञ्ज घुमाउन भ्याइनभ्याइ हुन्थ्यो । यतिबेला सौरामा चाडपर्वका कारण केही चहलपहल बढे पनि सन्तोषजनक नरहेको उहाँले बताउनुभयो । “अहिले २० देखि ३० प्रतिशत पर्यटक मात्र सौराहा आएका छन्, केही विदेशी पर्यटक पनि छन्”, उहाँले भन्नुभयो । मनसुन सकिएको र जाडोयाम सुरु भएसँगै पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा सौराहाका व्यवसायीले गरेका छन् । रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल सौराहा (रेवान) का अध्यक्ष नरेश गिरीले सौराहामा पर्यटकको चहलपहल केही बढेको र ‘घुमौँ सौराहा’ अभियानले यहाँ आन्तरिक पर्यटक थप बढ्ने अपेक्षा गर्नुभयो । “यही रफ्तारमा बढ्दै गयो भने यहाँ पर्यटकको आवागमन राम्रै हुन्छ”,उहाँले भन्नुभयो, “चुनावका कारण केही समय पर्यटक आगमन केही कम भए पनि चुनाव पछि बढ्नेछ ।” उहाँले पछिल्लो समय देशव्यापीरुपमा भएको आर्थिक मन्दीका कारण पनि पर्यटन क्षेत्र चलायमान हुन नसकेको बताउनुभयो गर्नुभयो । रेवानले सौराहा आउने आन्तरिक पर्यटकलाई लक्षित गरेर नियमित १० प्रतिशत छुट दिइरहेको गिरीले बताउनुभयो । सौराहाको पार्क सफारी रिसोर्टका निर्देशक योगेश अधिकारीले दसैँसम्म पानी परेका कारण यसवर्ष सिजनमा पनि पर्यटक सौराहा आउन नसकेको बताउनुभयो । उहाँले चिनियाँ पर्यटक नेपाल नआएसम्म नेपालको पर्यटकीय क्षेत्र पुरानो लयमा फर्कन नसक्ने बताउनुभयो । चितवनसँग अन्य जिल्ला जोडिने सडक सञ्जाल राम्रो नहुँदा पनि यहाँको पर्यटन थप चलायमान बन्न नसकेको उहाँको भनाइ छ । नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा छ भने नारायणगढ–मुग्लिन सडकखण्डमा पनि यो वर्ष मात्रै दुई दर्जन बढी पटक पहिरो खसेर सडक अवरुद्ध भएको छ । चितवन राष्ट्रिय निकुञ्जमा वन, वनस्पति र वन्यजन्तु अवलोकनका लागि यहाँ पर्यटक आउने गर्दछन् । दुलर्भ एकसिङ्गे गैँडा, बाघ र घडियाल गोही यहाँका मुख्य आकर्षण हुन् । यहाँ हात्ती सफारी, डुङ्गा सयर, जीप सफारी, पैदलयात्रामार्फत निकुञ्ज र मध्यवर्ती क्षेत्र भ्रमण गराइदै आएको छ । सौराहामा ठूला–साना एक सय ४० होटल छन् भने करिब एक सय रेष्टुराँ सञ्चालनमा छन् ।
बागलुङ । बागलुङका दुई नगरपालिका बालमैत्री नगर बनाउने अभियानमा जुटेका छन् । बागलुङ नगरपालिका र गलकोट नगरपालिकाले जिल्लामा सबैभन्दा पहिले बालमैत्री पालिका बनाउन थालेका हुन् । गलकोट नगरपालिकाले गत वर्षदेखि अभियान सुरु गरेको थियो भने बागलुङ नगरपालिकाले चालू आर्थिक वर्षदेखि सुरु गरेको छ । नगरलाई बालमैत्री बनाउन विद्यालय तहबाटै अभियान सुरु गरेको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताउनुभयो । उहाँले विद्यालय र स्वास्थ्य संस्थादेखि नै अभियान सुरु गरेको भन्दै स्थानीय शासन तथा बालमैत्री नगर बन्न आवश्यक ५१ सूचकमध्ये १२ वटा शिक्षा र १३ वटा स्वास्थ्य सूचकका लागि विद्यालय र स्वास्थ्यचौकी तहबाट काम थालिएको बताउनुभयो । समुदायमा पूरा गर्ने सूचकका लागि विभिन्न कार्यक्रम भइरहेको सापकोटाको भनाइ छ । उहाँ भन्नुहुन्छ, “बालमैत्री नगर निर्माणका लागि हाम्रो अभियान तीव्ररुपमा सचालन भइरहेको छ, बालमैत्री नगर बन्न आवश्यक ५१ सूचकमध्ये १२ शिक्षा र १३ स्वास्थ्य सूचकका लागि विद्यालय र स्वास्थ्यचौकी तहबाट हामीले काम सुरु गरेका छौँ ।” नगरप्रमुख वसन्तकुमार श्रेष्ठ निर्वाचित भएर आएपछि कार्यभार सम्हाल्दा नै बागलुङ नगरपालिकालाई बालमैत्री नगर बनाउने उद्घोष गर्नुभएको थियो । श्रेष्ठले बागलुङ नगरपालिकाभित्र विद्यालय धेरै भएको हुँदा विद्यालय तहबाटै यो अभियान सफल हुने बताउनुहुन्छ । अभियान तीव्ररुपमा चलिरहेको हुँदा एक वर्षभित्रै बालमैत्री नगर घोषणा गर्न सकिने उहाँको भनाइ छ । “बालमैत्री नगर बनाउन चाहिने सूचकमध्ये केही हामीले पूरा गरिसकेका छौँ भने केही पूरा गर्ने तयारीमा छौँ, हाम्रा अभियान तीव्ररुपमा छ, यहाँ विद्यालय धेरै भएको हुँदा विद्यालयस्तरबाटै अभियान सुरु गरेका छौँ”, नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “आगामी वर्षसम्म नगरलाई बालमैत्री नगर घोषणा गर्ने गरी काम भएको छ ।” बागलुङ नगरपालिकाभित्र ८८ सामुदायिक र १५ निजी गरी एक सय तीन विद्यालय छन् । गलकोट नगरपालिकाले पनि अभियानलाई तीव्र पारेको नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो । उहाँले आवश्यक केही पूर्वाधार र समुदायस्तरबाट पूरा गर्ने सूचक मात्रै बाँकी बताउनुभयो । नगर प्रमुख गैरे भन्नुहुन्छ, “यो अभियान गत वर्षदेख सुरु गरेका हौँ, धेरै काम भएका छन्, अब केही काम बाँकी छन्, त्यो पनि चाँडै सक्नेछौँ र मङ्सिरसम्ममा बालमैत्री नगर घोषणा गर्छौं ।” विद्यालयमा पुस्तकालय, खेलमैदान, शौचालय, धारालगायतका आवश्यक पूर्वाधार बालबालिकाको पहुँच पुग्नेगरी निर्माण भएको गलकोट नगरपालिकाका प्रवक्ता तथा वडा नं २ का अध्यक्ष र भण्डारीले बताउनुभयो । उहाँले विद्यालयको अचल सम्पत्ति संरक्षण गर्ने, अनिवार्य सूचना अधिकारी तोक्ने, प्रअको स्वीकृतिविना शिक्षक बाहिर नजाने, बालबालिकाको स्वास्थ्य, पूर्ण खोप, सरसफाइ र शुद्ध खानेपानीको व्यवस्थापनमा विद्यालय तहमै व्यवस्था गर्ने काम भइरहेको बताउनुभयो । यहाँका कही विद्यालयमा छात्रा महिनावारी हुँदा नुहाउने, कपडा फेर्ने र पर्याप्त सेनिटरी प्याड लगाउन पाउने गरी पूर्वाधार निर्माण भएर प्रयोगमा आइसकेको भण्डारीको भनाइ छ । उहाँका अनुसार गलकोट बालमैत्री नगर घोषणा गर्न थोरै काम मात्रै बाँकी छ । भण्डारी भन्नुहुन्छ, “बालमैत्री नगर बनाउने हाम्रो अभियान अन्तिम चरणमा पुगेको छ, असोज मसान्तमै गर्ने भन्ने थियो चुनावले गर्दा गर्न सकिएन, चुनावपछि गलकोटलाई बालमैत्री नगर घोषणा गछौँ ।”
काठमाडौं । लगातार दुईपटक आएको बाढीले यहाँका चार पालिकामा कृषितर्फ क्षति भएको छ । कैलालीको टीकापुर, भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकामा बाढीले धानबाली, तरकारी खेती र पशुपालक किसानलाई क्षति गरेको छ । बाढीले सबैभन्दा बढी धानबालीमा क्षति पुर्याएको छ । बाढीले टीकापुरमा २० प्रतिशत धानबालीमा नोक्सान पुर्याएको छ । असोज १ गते र त्यसपछि लगातारको वर्षापछि २३ गते आएको बाढीले टीकापुरमा पाकेको धानबाली र फुल्न थालेको धानबालीमा क्षति पु¥याएको कृषि शाखा प्रमुख मोतिसिंह विकले जानकारी दिनुभयो । उहाँले कृषितर्फ बाढीले पु¥याएको क्षतिको तथ्याङ्क लिने काम भइरहेको बताउनुभयो । “हरेक वडामा वडघरको सहयोगमा टोलटोलमा पुगेर तथ्याङ्क लिने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “वडा नं ५, ६, ७, ८ र ९ मा धानबालीमा बढी क्षति भएको छ । कतिपय किसानको बाली खेतमै गलेको छ ।” पालिकाभरिको कुरा गर्दा २० प्रतिशत बढी बालीमा क्षति भएको छ । डुबान भएका क्षेत्रमा पानी जमेर धानबाली गलेर नोक्सान भएको उहाँको भनाइ छ । टीकापुर–५ का किसान सुधा चौधरीको १० कठ्ठा जमिनमा लगाएको धानबाली सबै नोक्सान भएको छ । “धान पाकेर काट्न तयार भएको थियो, एक सातासम्म खेत पानीले जलमग्न भयो, पानी सुक्नेबेला खेत हेर्न जाँदा धानको एक बोट पनि टाढो थिएन, सबै धान मल भइसकेको थियो”, उहाँले भन्नुभयो, “ पानीसँगै हावा चलेकाले धानबाली ढल्यो, त्यसपछि एक सातासम्म खेत जलमग्न भएपछि बाली रहने कुरै भएन ।” टीकापुर–८ का राहुल साउदको पनि धानबालीमा क्षति भएको छ । कर्णाली नदीको भङ्गालो बस्तीमा पसेपछि उहाँको धानबाली लगाएको खेत बालुवाले भरिएको छ । “गत वर्ष काटेको धान बाढीले बगायो, यस वर्ष सबै खेतमै सकियो”, उहाँ भन्नुहुन्छ, “अब के खाने होला रु हामीले दुई वर्षसम्म खेतको बाली देख्न पाउने भएनौँ । किन खेती लगाइएछ जस्तै लागेको छ ।” बाढीले भजनी नगरपालिकामा कृषितर्र्फ ठूलो क्षति भएको छ । भजनीमा कृषिजन्य उत्पादनमा ९० प्रतिशत क्षति भएको छ भने ७० प्रतिशत धानबालीमा क्षति भएको पालिकाले जनाएको छ । “समग्रमा ९० प्रतिशतमाथि क्षति भएको छ । धानबालीका कुरा गर्दा कोही–कोही किसानको उच्च जमिनमा रहेको बाली बचेको देखिन्छ”, कृषि शाखा प्रमुख हरिलाल रेग्मी भन्नुहुन्छ, “बाढीले लगातार दुई वर्ष किसानले उत्पादन लिन पाएनन्, भजनीमा जस्तो बिचल्ली कतै भएको छैन । हामी तथ्याङक ‘इन्ट्री’ गर्ने काम गरिरहेका छौँ । त्यसपछि क्षति यकिन विवरण भन्न सकिन्छ ।” कृषि शाखा प्रमुख रेग्मी भजनीमा माछापालक ४० किसानका सबै क्षति भएको बताउनुहुन्छ । “पशुपालनमा क्षति भएको छ । कुखुरा, बङ्गुरपालनमा समेत त्यस्तै क्षति छ” उहाँले भन्नुभयो, “धानबाली कसै–कसैको मात्र बचेको छ । बचेको बालीमा समेत बाला छैन, अघिल्लो पटकको बाढीले फूल झारेकाले बाला छैन ।” भजनी–८ का धनलाल चौधरीको धानबाली सबै नोक्सान भएको छ । घरमा बाढी पसेपछि हुलाकी सडक भागेका धनलाल असोज २६ गते घर फर्कँदा उहाँको न त घर बचेको थियो, न त खेतको धानबाली । “घरका सबै भित्ता भत्केका, अन्न राखेका माटाका डेहरी ९भकारी० भत्किएर अन्न बगिसकेका, केही सडेका थिए”, उहाँले गुनासो गर्नुभयो, “खेततिर हेर्दा बाली सबै ढलेर नोक्सान । धानबाली ढलेर धानबालीमाथि हिलो थुपारिएको छ । एक दाना पनि धान देख्न पाइएन ।” यस्तो समस्या यहाँका अधिकांश किसानको छ । कतिपयले बचेका धानका बाला काट्न थालेका छन् तर जताततै जलमग्न भएकाले सुकाउने ठाउँ छैन । “अधिकांशको बाली खेतमै सकियो, कतिपय बचेका किसान बाला टिप्न थालेका छन्”, स्थानीय जयप्रसाद ढुङ्गानाले भन्नुभयो, “बाला टिपेकाहरू सडकमा, विद्यालयमा, उच्च स्थानमा लगेर सुकाउन थालेका छन् । यस क्षेत्रका किसानसँग अब धानको बीउ पनि रहने देखिएन । अर्को वर्ष किसानलाई बीउ पनि खोजाखोज गर्नुपर्ने अवस्था आउँछ ।” जानकी र जोशीपुर गाउँपालिकामा पनि बाढीले धानबालीमा क्षति भएको छ । जानकीमा वडास्तरमा तथ्याङ्क लिने काम भइरहेको पालिकाले जनाएको छ । जोशीपुरमा पनि तथ्याङ्क सङ्कलनको काम भइरहेको पालिकाले जानकारी दिएको छ । किसान स्थानीय सरकारले राहतमा खाद्यान्नसँगै हिउँदे खेतीका लागि बीउ, मल, खेती गर्न आवश्यक खर्चमा सघाइदिनुपर्ने माग गर्छन् । उनीहरूले हिउँदे खेती गर्न पाएमा किसान बाँच्ने बताउँछन् । “धान बेचेर हिउँदे खेतीको जोहो गर्ने हामी अब कसरी हिउँदे बाली लगाउनु”, स्थानीय रमेश विकले भन्नुभयो, “हिउँदे बालीका लागि राखिएको बीउ पनि रहेन, किसानलाई जस्तो पीडा कसैलाई छैन ।”
पोखरा : साहित्यकार रीम रानामगरको मुक्तक संग्रह ‘बरनौली’ विमोचन गरिएको छ । नेपाल मगर लेखक संघ गण्डकी प्रदेशको आयोजनामा साहित्यकार मगरको ‘बरनौली’ मुक्तक संग्रह गण्डकी प्रदेशका वन, वातावरण तथा भू-संरक्षणमन्त्री दिपक चर्तीमगर, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का (बिखर्ची) र पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले सँयुक्त रुपमा विमोचन गरिएको हो । सो अवसरमा बोल्दै गण्डकी प्रदेशका वन मन्त्री चर्तीमगरले मगर समुदायका साहित्कारहरुको कृति विमोचन हुनु गौरवमय उदाहरण भएको धारणा राखे । ‘मगर जातिको कला, सस्कृति, भाषा पछिल्लो समय लोपउन्मुख अवस्थामा छ’ उनले भने,‘ लोपउन्मुख अवस्थामा पुगेको मगर समुदायको भाषामा प्रकाशित कृति विमोचन गर्नुपाउनु मेरो भाग्य हो । साथै यो आफैमा गौरवपूर्ण उदाहरण हो ।’ मन्त्री चर्तीमगरले पछिल्लो समय भाषा पुस्तातरण नहुँदा मगर भाषा लोप हुँदै गएको बताए । ‘पछिल्लो समय अन्य भाषाको प्रभावसँगै अग्रजहरुकै हेलचक्रयाईंले मगर भाषा लोप हुँदै गएको छ, उनले भने, ‘आफ्नो भाषालाई माया गर्न र आउने पुस्ताहरुलाई सिकाउन साहित्कारको कलम चल्न अनिवार्य छ ।’ यसैगरि गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का (बिखर्ची) ले मातृभाषामा मुक्तक संग्रह प्रकाशन गरेका लेखक रानामगरलाई सफलताको शुभकामना व्यक्त गरे । ‘सबै जातजातिको भाषालाई शिक्षा क्षेत्रबाट अगाडी बढाउनुपर्छ, उनले भने, ’हरेक विद्यालयमा मातृभाषा शिक्षण हुने हो भने नेपालको कुनै पनि जातिको भाषा लोप हुदैन, र सरकारको पनि त्यसतर्फ ध्यान केन्द्रित हुन आवश्यक छ ।’

