पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

  काठमाडौं । छठको तयारीका लागि भूवनेश्वरी मन्दिर तथा त्यस आसपास क्षेत्रमा आज सरसफाइ गरिएको छ । सामुदायिक सेवा केन्द्र कुलेश्वरले आयोजना गरेको कार्यक्रममा सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय समाजसेवीको सहभागिता रहेको थियो ।   मन्दिर वरपर रहेका फोहर, नदी क्षेत्रमा जम्मा भएका फोहर सङ्कलन गरी व्यवस्थापन गरिएको थियो । करिब डेढ दशकदेखि यस मन्दिर क्षेत्रमा छठ पर्वका दिन व्रतालुले पूजा गर्ने तथा नदीबाट सूर्यलाई अघ्र्य चढाउने गर्दै आएका छन् । काठमाडौँ महानगरपालिका–१४ का वडाध्यक्ष सुमन श्रेष्ठले मठमन्दिर तथा सम्पदास्थललाई सफा बनाउन स्थानीयवासीको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै मुलुकमा विद्यमान सबै जाति समुदायका फरकफरक संस्कृति तथा पर्वले एकापसमा सद्भाव वृद्धि गरी राष्ट्रिय एकता बलियो बनाउन सहयोग पुग्ने बताउनुभयो ।   सामुदायिक सेवा केन्द्रका अध्यक्ष राजकुमार विष्टले विभिन्न समयमा भूवनेश्वरी क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिँदै आएको जानकारी दिनुभयो । शिक्षिका सुनिता श्रेष्ठले छठलाई दृष्टिगत गर्दै सुरक्षाकर्मीको सहयोगमा गरिएको सफाइको सराहना गर्नुभयो । 

  कञ्चनपुर​: शुक्लाफाँटा नगरपालिकाले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत भत्ताको रकम वितरण नगरेपछि ज्येष्ठ नागरिक निराश भएका छन् । तिहार आउन लाग्दा पनि ज्येष्ठ नागरिकले भत्ताको रकम पाउन सकेका छैनन् । “भत्ताको रकम नपाउँदा छिमेकीबाट सापटी लिएर दसैँ मनायौँ”, ज्येष्ठ नागरिक आशाराम चौधरीले भन्नुभयो, “तिहारमा भत्ताको रकम पाउने आशामा थियौँ, नगरपालिकाले बाँड्ने सुरसार गरेको छैन, तिहार पनि दसैँजस्तौ खल्लो हुने भयो ।”  अर्का ज्येष्ठ नागरिक नारुदेवी लुहारले भन्नुभयो, “वडा कार्यालयमा बैंकका कर्मचारीले भत्ताको रकम कहिले लिएर आउँछन् भन्ने आशमै बाटो कुरेर बसेका थियौँ ।” चाडपर्वमा नयाँ लुगा खरिद गरी लगाउने, मीठो मसिनो खाने, चेलीबेटीलाई दक्षिणा दिनेजस्ता योजना बनाएको भए पनि भत्ता नपाउँदा तिहार पनि दसैँ जस्तै खल्लो हुने देखिएको उहाँको भनाइ छ । ज्येष्ठ नागरिकसँगै सामाजिक सुरक्षाअन्तर्गतको भत्ताको रकम नगरपालिकाका विधवा, अपाङ्गता भएका व्यक्ति र दलित बालबालिकाले पनि पाउन सकेका छैनन् । नगरपालिकाको सामाजिक सुरक्षा शाखाका कर्मचारी राजेन्द्रबहादुर सिंहले अधिकांश ज्येष्ठ नागरिकलगायतका लाभग्राहीले सामाजिक सुरक्षा कार्यविधि २०७७ अनुसार परिचयपत्र नवीकरण गर्नुपर्ने भए पनि नगर्दा भत्ताको रकम वितरणमा विलम्ब भएको बताउनुभयो ।  “भत्ताको रकम पाउनेमध्ये ६० प्रतिशले मात्रै नवीकरण गरेका छन्”, उहाँले भन्नुभयो, “नवीकरण नगरेका ४० प्रतिशत बढी छुट्ने भएकाले वडा कार्यालयलाई भत्ताको रकम बुझ्ने सबैको नवीकरण गर्नका लागि भनेका छौँ, नवीकरणको कार्य सकिएपछि तुरुन्तै भत्ताको रकम वितरणको कार्य हुन्छ ।” उहाँका अनुसार नगरपालिकामा ज्येष्ठ नागरिक तीन हजार एक सय १२८, ज्येष्ठ नागरिक दलित चार सय २२, ज्येष्ठ नागरिक एकल महिला छ सय दुई, विधवा (आर्थिक सहायता) एक हजार ५७, अपाङ्गता भएका क वर्गका एक सय ३९, ख वर्गका दुई सय ४४ र दलित बालबालिका आठ सय ५० ले सामाजिक सुरक्षाअन्तर्गतको भत्ताको रकम पाउने गरेका छन् । त्रैमासिकरुपमा भत्ताको रकम वितरण गर्ने व्यवस्था रहेको छ । नगरपालिकाबाट सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत प्रत्येक त्रैमासिकमा रु पाँच करोड ८२ लाख ९३ हजार १६ रकम भत्ताका रुपमा वितरण हुने गरेको छ । 

  म्याग्दी । म्याग्दीको पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । गत सातादेखि मौसममा आएको सुधारसँगै  पुनहिलको भ्रमणमा जाने स्वदेशी एवम् विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुनथालेको हो ।     म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल सुरु हुन थालेपछि होटल व्यवसायी उत्साहित बनेका छन् । दसैँ र तिहार बिदाको सदुपयोग गर्न निस्केका आन्तरिक पर्यटकहरु प्राकृतिक सुन्दरतामा रमाउन पुनहिल पुग्न थालेका हुन् ।  विद्यालय र कलेज तिहारसम्म बिदा हुने भएकाले विद्यार्थीलाई घुम्न निस्कने राम्रो समय पनि अहिले हो । निरन्तरको वर्षाका कारण रोकिएका पर्यटक मौसममा सुधार आएसँगै यस क्षेत्रको भ्रमणमा आउने अन्तरिक तथा विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि हुनथालेको होटल व्यवसायीले बताएका छन् ।     विश्वप्रसिद्ध चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएको घोरेपानी र पुनहिल क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेपछि होटल व्यवसायीहरु उत्साहित भएको घोडेपानी टोल सुधार समितिका अध्यक्ष विरेन पुनले जानकारी दिनुभयो । चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृश्य अवलोकन गर्न पाइन्छ । समुन्द्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा  पुनहिल रहेको छ । घोरेपानीदेखि पुनहिलसम्म पुग्न पदमार्ग निर्माण गरिएको छ ।      असोज महिनाको सुरुवातसँगै पर्यटकको आगमन बढेको घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले बताउनुभयो । पुनहिलमा बिहानीको सूर्योदयसँगै आँखैअगाडि देखिने हिमशृङ्खलाको अवलोकनका लागि पर्यटक पुग्ने अन्नपूर्ण गाउँपालिका–५ शिखका स्थानीयवासी सुरेन गुरुङले बताउनुभयो । चम्किला किरण छर्दै हिमालकै छेउबाट उदाउने सूर्योदयको दृश्यावलोकनसँगै पूर्वदेखि पश्चिमसम्म नै लहरै देखिने हिमचुचुरोको दृश्यले पर्यटक खुसी भएर फर्कने गरेको गुरुङले जानकारी दिनुभयो ।      पुनहिलबाट आठ हजार मिटरभन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमालको रेञ्जमा पर्ने झन्डै २० भन्दा बढी हिमचुचुरालाई नजिकबाट नियाल्न सकिन्छ । “दसैँसँगै प्रतिदिन तीन सय ५० जनासम्म विदेशी पर्यटक घोरेपानी भित्रिएको हाम्रो अभिलेख छ । धेरैजसो पर्यटक घान्द्रुक एवं अन्नपूर्ण बेसक्याम्प (एबिसी) बाट फर्कने वा पोखराबाट घोरेपानी आएर घान्द्रुक वा एबिसीतिर जाने गरेका छन्”, प्रहरी सहायक निरीक्षक सन्तोष भुसालले बताउनुभयो ।     घोरेपानीमा सानाठूला गरी ३० होटलमा चार सय शय्या छन् । अन्नपूर्ण फन्को मार्न र दसैँतिहारको छुट्टी मनाउन आएका आन्तरिक पर्यटकको भीडले तातोपानीका होटल तथा गेस्ट हाउस पनि खचाखच भएका हुन् । 

  बाँके । बाँके नेपालगञ्जका सुदीप पौडेललाई रानीमहल भ्रमण गरेपछि साहसिक जलयात्रा (र्याफ्टिङ) नखेली मनले मानेन । पहिलो पटक रानीमहल आउनुभएका पौडेलले बर्सातको भेलसँगै कालीगण्डकी नदीमा र्याफ्टिङको आनन्द लिनुभयो । “पहिला त निकै डर लागेको थियो, पछि आनन्द महसुस भयो”, पौडेल भन्नुहुन्छ, “प्रकृतिसँग रमाउँदै पानीमा डुबुल्की मार्न रानीमहल क्षेत्र राम्रो गन्तव्य रहेछ ।”      तानसेन नगरपालिकाबाट १३ किलोमिटर उत्तरतर्फ रहेको रानीमहल ढुङ्गेचट्टानमा अवस्थित छ । यसको आडमा बगेको कालीगण्डकी नदीमा साहसिक जलयात्रा सुरु गरिएपछि पर्यटकहरु आकर्षित भएका हुन् । रानीमहलमा दैनिक दुई सयभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरु भ्रमण गर्ने गर्दछन् । जसमा दैनिक १५ देखि २० जनाले साहसिक जलयात्रा गर्दछन् ।  स्याङ्जा विर्घाकी १६ वर्षीय नितिसा पाण्डेले चार पटक रानीमहल भ्रमण गरे पनि साहसिक जलयात्रा भने गर्नुभएको थिएन । भन्नुहुन्छ, “मेरो घर नजिकै भएर पनि यहाँ (र्याफ्टिङ) सुविधा छ, भन्ने थाहा थिएन ।” चौथो पटक रानीमहल आउँदा अरू साथीहरुले जलयात्रा गरेको देखेर आफूले पनि यसको मज्जा लिएको उहाँ बताउनुहुन्छ ।       तेजकुमारी एडभेन्चर प्रालिले रानीमहलदेखि रीडी (रुरु धाम) सम्म साहसिक जलयात्रा चलाएको छ । रानीमहल सेरोफेरो एक किलोमिटरमा रु पाँच सय र रुरुधामसम्म रु दुई हजार शुल्क तिरेर साहसिक जलयात्रा गराइएको सञ्चालक कृष्ण क्षेत्री बताउनुहुन्छ । जलयात्राका लागि दुईवटा बोट सञ्चालनमा छन् । सुरक्षालाई कायक, हेलमेट, लाइफ ज्याकेट र बीमाको व्यवस्था गरिएको छ । “र्याफ्टिङ भनेपछि पर्यटक डराउने गर्नुहुन्छ”, क्षेत्री भन्नुहुन्छ, “सबैखाले सुरक्षा प्रबन्ध, पानीको बहाव अध्ययन गरेर मात्र खेलाइन्छ ।”     प्रेमको प्रतीक र नेपालको ताजमहल भनेर चिनिने रानीमहलमा उदाउँदो र अस्ताउँदो सूर्यसँगैको रानीमहल हेर्न पर्यटक आउँछन् । कालीगङ्गाको तटमा बसेर रानीमहललाई नियाल्दै, सांसारिक दुःख, कष्ट र सुर्तालाई भुल्न प्रेम गर्ने जोडीहरु यहाँ आउछन् । यहाँ सञ्चालित साहसिक जलयात्रालाई व्यवस्थित गर्न सीमाना जोडिएका तानसेन नगरपालिका, बगनासकाली र कालीगण्डकी गाउँपालिकाले दीर्घकालीन योजना बनाएका छन् । बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीका अनुसार रुरुधामदेखि रानीमहल र रानीमहलदेखि राम्दीसम्म साहसिक जलयात्रा सञ्चालन गर्ने योजना छ ।      अग्ला पहाडको खोँचबाट कालीगण्डकी नदी रानीमहलको आड भएर बहन्छ । उत्तरतर्फ बग्ने भएकाले यसलाई उत्तरवाहिनी नदीका नामले समेत चिनिन्छ । जिल्ला सदरमुकाम तानसेनबाट नजिक भएर पनि मोटरबाटोको असुविधाले आन्तरिक पर्यटकको रोजाइमा रानीमहल कम पर्ने गर्दथ्यो । पछिल्लो समय मोटरबाटोको स्तरोन्नतिले यातायात सहज भएपछि आन्तरिक पर्यटकको रोजाइमा यो क्षेत्र पर्ने गरेको छ । पाल्पाको तानसेनमा प्याराग्याइडिङ र रिब्दीकोट–४ भैरवस्थानमा जिपलाइन जस्ता अन्य साहसिक खेल सञ्चालन हुँदै आएका छन् ।

  बर्दिया । बर्दियाको बारबर्दिया–७ मा जङ्गली हात्तीको आक्रमणमा परी ५० वर्षीय सोलिराम थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले बतानुभयो ।     पूर्व पश्चिम महेन्द्र राजमार्ग नजिकै ‘मर्निङ वाक’ मा निस्केको बेला थारू हात्तीको आक्रमणमा पर्नुभएको थियो । पछिल्लो समयमा बर्दियामा जङ्गली जनावरको आक्रमण बढ्दो रहेको छ ।

  पर्वत । पर्वतको कुश्मा नगरपालिकाले सामुदायिक विद्यालयबाट एसइईमा ‘ए’ प्लस अङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई मासिक भत्ता दिने भएको छ ।     नगरसभाबाट पारित भएको उक्त कार्यक्रम नगरको चालु वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन भएसँगै लागू भएको हो । कुश्मा नगरपालिकाले विद्यार्थीहरुको पढाइप्रतिको लगाव बढाउन तथा सामुदायिक विद्यालयमा पढ्न उत्प्रेरित र प्रोत्साहन गर्ने उद्देश्यले मासिक भत्ताको व्यवस्था गरेको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो ।     मासिक रुपमा विद्यार्थीहरुलाई रु दुई हजार भत्ता दिन सुरु गरिएको जोशीले बताउनुभयो । यसले विद्यार्थीलाई पढाइमा ऊर्जा मिल्नाका साथै विपन्न बालबालिकालाई थोरै भए पनि आर्थिक समस्यासमेत टर्ने विश्वास रहेको उहाँले बताउनुभयो । यस्तो भत्ता एसइई पास भएर कक्षा १२ को पढाइ नसकिने बेलासम्म दिइने नगरपालिकाले जनाएको छ । एसइईमा ‘ए’ प्लस ल्याएर कक्षा ११ मा फेल भएमा भने भत्ता कटौती हुने गरी कार्यविधि बनाइएको छ । सामुदायिक विद्यालयका बालबालिकालाई भत्ता दिए पनि संस्थागत अर्थात् निजी बोर्डिङमा पढ्ने विद्यार्थीहरुलाई भने नदिइने नगरप्रमुख जोशीले बताउनुभयो । 

  बागलुङ । मुलुक चाडबाड र निर्वाचनको माहोलमा रमाइरहेको समयमा बागलुङका किसान भने अलैँची टिप्न व्यस्त छन् । व्यस्तताका बीच पनि किसानहरुलाई दुःख गरी उब्जाएको अलैँचीले बजारमा उचित मूल्य नपाउने हो कि भन्ने चिन्ताले समेत पिरोलेको छ ।      अलैँचीको मूल्य घट्न थालेपछि बागलुङका किसान मर्कामा परेको गलकोट नगरपालिका–१ का ‘अलैँची ब्लक’ सञ्चालक समितिका संयोजक जीवन भण्डारीले बताउनुभयो । “यो वर्ष अलैँचीको मूल्य गत वर्षको तुलनामा घटेको छ”, उहाँले भन्नुभयो, “एकातिर रोग, किराको प्रकोपले उत्पादन घटेको छ भने अर्कोतिर उचित मूल्य नपाउने स्थिति बनेको छ ।”     किसानहरुले २०७८ सालमा प्रतिकेजी रू १ हजार २ सयमा अलैँची बिक्री गरेका थिए भने २०७७ सालमा भने वर्ष प्रतिकेजी रु छ सयमा अलैँची बिक्री गरेका थिए ।      गलकोट–१ दुदिलाभाटीमा एक सयभन्दा बढी किसान अलैँची खेतीमा आबद्ध छन् । उनीहरुले करिब पाँच सय रोपनी क्षेत्रफलमा अलैँची खेती गर्दै आएका छन् ।      गत वर्ष अलैँची बिक्री गरी रु २३ लाख आम्दानी गरेका बरेङ गाउँपालिका–२ हुग्दिशिरका किसान यसवर्ष मूल्य घटेको सुनेर बेखुस छन् । अलैँची टिप्ने चटारोबीच उनीहरुलाई पनि मूल्यको पिरलो थपिएको छ ।      बरेङस्थित नमूना अलैँची उत्पादक कृषक समूहका अध्यक्ष बिमल पौडेलले खरिदकर्ताहरु भने अझै आइनपुगेको बताउनुभयो । “तिहारअघि अलैँची टिपेर सकिन्छ, कतिपय किसानले सुकाइसकेर पनि बेच्न ठिक्क पारेका छन्”, उहाँले भन्नुभयो, “अहिलेसम्म व्यापारी आइपुगेका छैनन्, त्यसमाथि मूल्य पनि घटेको सुन्नमा आएको छ ।”      अलैँची व्यापारीबीचको अस्वस्थ प्रतिस्पर्धा बढ्दा मूल्य अस्थिर हुने गरेको अध्यक्ष पौडेलको भनाइ छ ।     बरेङमा १९ जना किसानले दुई सय रोपनीमा अलैँची खेती गर्दै आएका छन् । किसानहरुले प्रत्येक वर्ष झण्डै २० क्विन्टल जति अलैँची उत्पादन गर्छन् । जसबाट राम्रो मूल्य पाएको वर्षमा किसानले रु ५ लाखसम्म आम्दानी गरेको किसान तुलसीराम पौडेलले बताउनुभयो ।  ताराखोला गाउँपालिका–१ स्थित राष्ट्रिय अलैँची कृषि उपज केन्द्रका अध्यक्ष इन्द्रध्वज भण्डारीले अलैँचीको बजारमा बिचौलिया हावी भएको आरोप लगाउनु भयो । “मूल्य बढ्ला र बेचौँला भनि बस्यो तर अन्तिममा जिल्ल पर्ने अवस्था आउँछ, रोग, किरा र जीवजन्तु लागेर पनि हामीलाई हैरान छ”, उहाँले भन्नुभयो ।     केन्द्रका अध्यक्ष भण्डारीले दुम्सी, भार्से जस्ता जन्तुले समेत अलैँची खेतीमा असर गरेको बताउनुभयो । “दुम्सीले सँधै बाली नोक्सान गरी दुःख दिन्छ, दुम्सीले खाएर बचेको अलैँची मात्रै हामीले टिप्ने हो”, उहाँले भन्नुभयो, “वन्यजन्तु र रोगबाट बचाउन सके अलैँची उत्पादन बढाउन सकिन्छ ।”      भण्डारी नौ वर्षदेखि अलैँचीको व्यावसायिक खेतीमा संलग्न हुनुहुन्छ । केन्द्रले सय रोपनी क्षेत्रफलमा अलैँची उत्पादन गर्दै आएको छ । अलैँची बेचेर वार्षिक रु आठ लाखसम्म कमाइ हुने गरेको अध्यक्ष भण्डारीको भनाइ छ । ताराखोलामा पनि अलैँचीको ‘ब्लक’ कार्यक्रम सञ्चालित छ । कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले अन्तर्राष्ट्रिय बजारमा माग बढ्दा नेपाली अलैँचीले उचित मूल्य पाउने र माग घट्दा मूल्य पनि ओरालो लाग्ने गरेको बताउनुभयो ।      “राम्रो मूल्य पाएपछि किसानले उत्पादन बढाउनतिर लाग्छन्, व्यापारीले पछि फेरि मूल्य घटाउँछन् जसले गर्दा किसानलाई मर्का पर्ने गरेको छ”, केन्द्रका प्रमुख भट्टराईले भन्नुभयो ।     उहाँका अनुसार बागलुङमा अलैँचीको व्यावसायिक उत्पादनका लागि ११ ‘पकेट’ र दुई ‘ब्लक’ क्षेत्र घोषणा गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सञ्चालित ती कार्यक्रममार्फत् किसानले अलैँची खेतीमा अनुदान र तालीम पाएका थिए । जिल्लामा अहिले १२ सय हेक्टरमा अलैँची खेती भइरहेको जनाइएको छ ।     अलैँची रोप्नेदेखि, गोडमेल, स्याहारसुसार, टिप्ने, सुकाउने काममा किसानको धेरै समय, श्रम र लगानी हुन्छ । बजारको अनिश्चिततासँगै लगानी अनुसारको प्रतिफल नपाए अलैँची खेतीबाट पलायन हुने स्थिति आउने किसान बताउँछन् ।      नेपाली अलैँची काठमाडौँ हुँदै भारत, बङ्गलादेशलगायतका ठाउँमा निर्यात हुन्छ । कतिपयले सिधै पूर्वी नाका काँकडभिट्टा पु¥याएर भारतीय व्यापारीलाई अलैँची बेच्छन् । नेपाली अलैँची मसला, सौन्दर्य सामग्री, आयुर्वेदिक औषधिलगायतमा प्रयोग हुन्छ । 

ढोरपाटन : चार वर्षअगाडि बागलुङको धम्जाका महिला घरायसी काममा तल्लीन हुन्थे । घरमा कोही नयाँ पाहुना आउँदा पनि बोल्न अप्ठ्यारो मान्थे । घाँस, दाउरा र मेलापात गरेरै जीविकोपार्जन गर्दै आएका महिलाहरुको दैनिकी अहिले पूरै फेरिएको छ । उनीहरुको दैनिकी मात्रै फेरिएको छैन, जीवनस्तर नै बदलिएको छ । काठेखोला गाउँपालिका–३ मा पर्ने धम्जा ओखले गाउँ पर्यटकीय हिसाबले निकै मनमोहक भएको हुँदा स्थानीयले २०७५ सालमा घरबास (होम–स्टे) सञ्चालन गरे ।   घरबास सञ्चालनपछि यहाँका महिला स्वरोजगार बन्नाका साथै दैनिकी र जनजीवनसमेत परिवर्तन भएको छ । सुरुमा घरबास सञ्चालन गर्न समस्या भयो तर पछि जान्दै, बुझ्दै र सिक्दै गएपछि उनीहरुमा निकै परिवर्तन आयो । नयाँ मान्छे आउँदा बोल्न नसक्ने महिलाहरुले नेतृत्व विकास गरेर घरबासमा आउने पाहुनाको व्यवस्थापन उनीहरु आफैँ गर्छन् । खाना, बस्न र नाचगान गरेर मनोरञ्जन दिने कामसमेत हुँदै आएको छ ।     घरबास सञ्चालक माया पुन घर्ती भन्नुहुन्छ, “होम–स्टे सञ्चालनमा आएपछि गाउँका आमा, दिदीबहिनीको चालचलन, बोलीचालीसँगै जीवनशैली पनि फेरिएको छ, पहिले चुलोचौकोमै सीमित हुने हामीहरु गाउँ समाजमा आफ्ना कुराहरु राख्न सक्दैनथ्यौँ, अहिले बोल्न सक्ने भएका छौँ, सुरु–सुरुमा त गाह्रो भयो, पाहुनाले भने जस्तो खानपान बनाउन सकिएन कि भन्ने हुन्थ्यो, अहिले धेरैले राम्रो भएको छ भन्दा खुसी लाग्छ, अझै सिक्ने क्रममा छौँ, जति सक्दो पाहुनालाई खुसी बनाउने प्रयास गरेका छौँ ।”   उहाँले घरबासलाई व्यावसायिक रुपमा विकास गरिरहेको भन्दै व्यवस्थापनलाई थप व्यवस्थित गरिरहेको बताउनुभयो । घरबास आफूहरुको आयस्रोतको माध्यम बन्नाका साथै गाउँको प्रचारप्रसारसमेत भइरहेको उहाँको भनाइ छ ।    पर्यटकीय हिसाबले धम्जा ओखले गाउँले निकै सम्भावना बोके पनि ओझेलमा परेको हुँदा यसको विकास गर्न  आफूहरु जुटिरहेको घर्ती बताउनुहुन्छ । “होम–स्टे सञ्चालन भएपछि हाम्रो गाउँको प्रचारप्रसार भइरहेको छ, पर्यटकीय सम्भावना बोकेको हाम्रो गाउँलाई विकास गर्नुपर्छ भन्ने लक्ष्य राखेर काम गरेका छौँ, गाउँका महिला दिदीबहिनी एकताबद्ध भएर लागेका छौँ, बिस्तारै व्यावसायिक बन्दै पनि छौँ”, घर्तीले भन्नुभयो, “होम–स्टेले गाउँलेलाई एकताबद्ध बनाउनाका साथै सामाजिक कार्यमा लाग्न प्रेरित गरेको छ ।”   स्थानीय पुस्पा छन्त्यालले घरबासले महिलाको दैनिकी र जीवनशैलीमा परिवर्तन ल्याएको बताउनुभयो । उहाँले गाउँ घरबास सञ्चालन गर्नुपूर्व आफूहरुले घाँसदाउरा गर्ने, पशुचौपाया पाल्ने र मेलापात गरेर जीविका निर्वाह गरेको स्मरण गर्नुभयो । घरबास महिलाको आयआर्जनको स्रोत बनिरहेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “पहिले हाम्रो दैनिकी घाँसदाउरा र मेलापात गर्दैमा बित्ने गथ्र्यो, अहिले मेलापातमा मात्रै सीमित हुन परेको छैन, घरमा पाहुनालाई परिकार बनाएर खुवाउने, हाम्रो कलासंस्कृति देखाउने गरेर बित्छ, यसबाट आम्दानी राम्रो भएको छ ।”   छन्त्यालले घरबास सञ्चालनमा आएको छोटो समयमै धेरै पर्यटक भित्र्याउन सफल भएको र आफ्ना गतिविधि र चालचलनमा परिवर्तन भएको बताउनुभयो । उहाँले धेरैभन्दा धेरै पाहुना भित्र्याउने र उनीहरुलाई सन्तुष्ट बनाउने तथा स्थानीय गीतसङ्गीत र नाचले मनोरञ्जन दिन आफूहरु निरन्तर लागिपरेको बताउनुभयो ।    “हाम्रा लागि होम–स्टे सञ्चालन गर्नु बिल्कुलै नयाँ काम हो, नयाँ अनुभव हो, हामीले गर्नुपर्ने र सिक्नुपर्ने काम धेरै छन्, केही कमीकमजोरी पाहुनाहरुले पनि औँल्याइदिनुहुन्छ, सुधार गरिरहेका छौँ”, छन्त्यालले भन्नुभयो, “पाहुनाले हामीबाट केही नयाँ कुरा सिक्नुहुन्छ भने हामीहरुले पनि उहाँहरुबाट नयाँ कुराहरु सिकिरहेका छौँ, यसले यहाँ धेरै परिवर्तन हुँदै गएको छ ।”   गाउँलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न र महिलालाई व्यवसायसँग जोड्न चार वर्षपहिले ‘बेलढुङ्गा सामुदायिक होम–स्टे’ स्थापना गरेको अध्यक्ष गोपाल श्रीसले बताउनुभयो । पर्यटकीय क्षेत्र बेलढुङ्गाको काखमा रहेको धम्जा ओखले गाउँ सम्भावना बोकेको ठाउँ हुँदा आफूहरु सक्रिय रुपमा लागेको श्रीसले बताउनुभयो ।    “हाम्रो उद्देश्य गाउँलाई पर्यटकीय क्षेत्र बनाउने र महिला दिदीबहिनीको नेतृत्व विकास गरी व्यावसायिक बनाउने थियो, चार वर्षमा दिदीबहिनीमा निकै परिवर्तन आएको छ, होम–स्टे राम्रै चलेको छ”, अध्यक्ष श्रीसले भन्नुभयो, “पहिले उहाँहरु राम्रोसँग बोल्न सक्नु हुँदैनथ्यो, नेतृत्व विकास भएको थिएन, अहिले निकै ‘फर्वाड’ हुनुभएको छ ।”   गाउँको १२ घरमा घरबास सञ्चालनमा रहेको छ । हामेस्टे सञ्चालन गर्न हालसम्म १८ लाख अनुदान प्राप्त भएको छ । गण्डकी प्रदेश सरकारले सहयोग गरेको उक्त रकमबाट भान्साकोठा, शौचालय, सभा हल निर्माण गरिएको छ ।   “पाहुनाहरुको आगमन राम्रो छ, बर्खामा अलिकति समस्या भयो, गाउँ आउने बाटो कच्ची हुँदा बर्खाभरि गाडी चल्दैनन्, त्यसले गर्दा पाहुना भित्र्याउन सकिएन, यस वर्षको बर्खामा दुईजना विदेशी पर्यटकलाई १० दिन राखियो, अरू बाटोका कारण आउन सक्नु भएन”, उहाँले भन्नुभयो, “बाटो राम्रो भएको बाह्रै महिना यहाँ पाहुना आउन सक्नुहुन्थ्यो ।”    उहाँले घरबासमा आउने पाहुनलाई धम्जा ओखलेमा उत्पादन हुने कोदो, फापर र आलुबाट बनाइएका परिकार तथा स्थानीय कुखुरा, खसी बोका, गुन्द्रुक लगायतका स्वादिष्ट परिकार खुवाउने गरेको बताउनुहुन्छ । होमस्टे सञ्चालकले पाहुनालाई मनोरञ्जन दिन मौलिक सालैजो, ठाडो भाका लगायतका विभिन्न संस्कृतिको नाचसमेत देखाउने गरेको अध्यक्ष श्रीसको भनाइ छ । होमस्टे नजिकै म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीय क्षेत्र बेलढुङ्गा रहेको हुँदा यहाँ घुम्न आउने पर्यटकले एक रात यहाँ बिताउने गरेको उहाँको भनाइ छ ।  

  कुश्मा । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने लमाए खोलाको मोटरेबल पुल पाँच वर्षदेखि अलपत्र परेको छ । फलेवास नगरपालिकाको देवीस्थान र कुर्घामा रहेको अलपत्र मोटरेबल पुलमा दुवैतर्फ पिलर उठाएर स्ल्याव ढलान गर्ने कामबाहेक अरु केही भएको छैन । स्थानीयले ढुङ्गामाथि मोटरेबल पुल निर्माण गरेको भन्दै विरोध जनाएपछि निर्माणाधीन अवस्थामै पुलको काम रोकिएको थियो । “भूगोलको कारण पनि त्यहाँ पुल सम्भव छैन भनेका थियौँ”, फलेवास नगरपालिकाका पूर्व नगरप्रमुख पदमपाणि शर्माले भन्नुभयो, “शिलान्यास समारोहमा नै हुँदैन भनेका हौँ, तर डिभिजन कार्यालयले के कारणले गर्यो ?” प्राविधिक समस्या देखाएर पुलमा राजनीति गर्न खोजेको देवीस्थानका स्थानीयको बुझाइ छ । नेताहरूले बाहिर विकास गरेजस्तो देखाउने तर, भित्रभित्रै कामचाहिँ हुन नदिने खेलका कारण पाँच वर्षसम्म पनि पुल बन्न नसकेको उनीहरूको आरोप छ । “पुल नबनाउने रणनीतिअनुसार नै गलत ठाउँमा त्यो पनि ढुङ्गामाथि पुलको फाउण्डेशन बनाउने काम गरियो”, स्थानीय शिव क्षेत्रीले भन्नुभयो, “एउटै खर्चमा एउटा पुलले काम गथ्र्यो तर राजनीतिक दबाबमा प्राविधिकले नजिकैको दूरीमा अर्को पनि पुल हाल्ने गरी डिजाइन गरेछन्, यो भनेको पुल बन्न नदिने र देवीस्थानलाई छायाँमा पार्ने रणनीति हो ।”  गण्डकी प्रदेशका तत्कालीन मन्त्री विकास लम्सालले पाँच वर्षअघि बाजागाजासहित पुलको शिलान्यास गर्नुभएको थियो । पुल निर्माण कार्य ढिलाइ हुनुमा राजनीति नभएर पुलमाथिबाट झरेको पहिरो मुख्य समस्या भएको पूर्वमन्त्री लम्सालले बताउनुभयो । “पुलको वारिपट्टिको पिलरलाई असर पुग्ने गरेर माथिदेखि पहिरो खसेको हुँदा काम रोकिएको थियो”, उहाँले भन्नुभयो, “खानीगाउँ, देवीस्थान छुट्याएर म हिँडछुहोला र रु अब पनि पुल नबनेमा सम्पूर्ण दोष मलाई दिए हुन्छ ।” अलपत्र पुलकै कारण कालीगण्डकी करिडोर निर्माणमा ढिलाइ भएको भन्दै फलेवास नगरपालिकाले पुल निर्माणकार्य छिटो सञ्चालन गर्न दबाब दिने काम भएको बताएको छ । “काम छिटो गर्नका लागि कुश्मा र फलेवास नगरपालिका क्षेत्रको बेग्ला–बेग्लै प्याकेजमार्फत काम गरौँ भनेर कालीगण्डकी करिडोर आयोजनाको कार्यालयमा अनुरोध गरेको छु”, “फलेवास नगरपालिकाका प्रमुख गङ्गाधर तिवारीले भन्नुभयो, “आ–आफ्नो पालिकाले अपनत्व लिएर काम गर्दा प्रभावकारी र चाँडै करिडोरको काम हुन्छ भन्ने मेरो बुझाइ हो ।” पाँच वर्षदेखि रोकिएको काम फेरि सञ्चालन गरिने कालीगण्डकी करिडोर आयोजनाका प्रमुख शङ्कर पौडेलले बताउनुभयो । “हामीले चुनावलगत्तै पुल निर्माणलाई निरन्तरता दिनेछौँ । ठेक्का प्रक्रिया पनि भइसकेको छ”, उहाँले भन्नुभयो, “ढुङ्गालाई प्रोटेक्सन गरेर पहिलेकै डिजाइनमा काम गर्ने निर्णय भएको छ ।” उहाँका अनुसार विसं २०७४ मा पुल निर्माण गर्ने जिम्मा पाएको नयाँ बाटो गौचन जेभीले नै फेरि पुल निर्माण गर्ने छ । २५ मिटरको यस पुलको लागत रु पाँच करोड ६४ लाख रहेको छ । बलेवा–कैया जोड्ने झोलुङ्गे पुलका कारण कुश्मा खण्डको बाटो विस्तारमा समस्या भएको आयोजनाले बताएको छ । “मोदीबेनी नजिकको बाटो साँघुरो छ, त्यहाँ ब्लास्टिङ नगरेसम्म सम्भव छैन, तर ब्लास्टिङ गर्दा झोलुङ्गे पुललाई असर पर्र्ने देखिन्छ”, आयोजना प्रमुख पौडेलले भन्नुभयो, “अर्को उपाय नभएसम्म कुश्मा–मोदीबेनीबाट अर्मादीसम्मको ट्रयाकमा कुश्मा–मोदीबेनीको बाटोलाई अघि बढाउने कि भन्ने छलफलमा छौँ ।” कालीगण्डकी करिडोर नवलपरासीको गैँडाकोटबाट सुरु हुन्छ । अन्तिम टुङ्गो मुस्ताङको कोरला नाका हो । यसलाई चीनको प्रवेशविन्दु मानिन्छ ।