काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नयाँ संविधान कार्यान्वयनमा आइसकेपछि आर्थिक समृद्धिका महत्वपूर्ण आधार तयार भएको बतानुभएको छ । वाम–लोकतान्त्रिक गठबन्धनले आज ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले ऊर्जा उत्पादनमा नेपाल आत्मनिर्भरतातर्फ अगाडि बढेको बताउनुभयो । “स्वच्छ ऊर्जाको निर्यात गर्ने अवस्थामा हामी पुगेका छौँ, भौतिक पूर्वाधार, शैक्षिक एवं स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन भई जनताको जीवनस्तरमा केही सुधार आएको छ”, उहाँले भन्नुभयो, “यस्ता कार्यक्रमलाई अझ प्रभावकारी एवं गुणस्तरीय तुल्याई आर्थिक आधार सबल गर्नु हामी सबैको दायित्व हो ।” समृद्ध मुलुक, सम्पन्न नेपालीको सपना साकार गर्ने साझा लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन जरुरी रहेको जनाउँदै उहाँले प्राप्त उपलब्धिको संरक्षणका लागि निरन्तर संयुक्त सङ्घर्ष जारी तथा समुन्नत आर्थिक–सामाजिक विकासको महाअभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो । “सामाजिक न्यायसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको चरणमा छ, नागरिकको मौलिक अधिकार पनि सुनिश्चित हुने क्रममा छ”, उहाँले भन्नुभयो, “प्राप्त उपलब्धिको रक्षा र सवलीकरण गर्नुपर्ने अबको दायित्वलाई अझ प्रभावकारी तवरले अगाडि बढाउनुपर्नेछ ।” ललितपुर क्षेत्र नं ३ का उम्मेदवारसमेत रहनुभएका मन्त्री भुसालले ललितपुरवासीका लागि कला, सम्पदा, संस्कृति र परम्पराको प्रवद्र्धन समृद्धिको महत्वपूर्ण आधार रहेको बताउनुभयो । उहाँले कला, सम्पदा, संस्कृति र परम्परालाई यहाँका हरेक घरपरिवारको आर्थिक उपार्जनसँग जोडनुपर्ने बताउनुभयो । “व्यवस्थित एवं आधुनिक कृषि कर्मको प्रवद्र्धन गर्दै यहाँ उपलब्ध खेतीयोग्य जमिनको संरक्षण गरी कृषि पर्यटनको अवधारणा लागू गर्नुपर्दछ”, उहाँले भन्नुभयो, “त्यसका लागि आवश्यक पर्ने नीतिगत व्यवस्था, प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्न आवश्यक छ ।” ललितपुर क्षेत्र नं १ का उम्मेदवार एवं पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणाले वाम–लोकतान्त्रिक गठबन्धनका नेता कार्यकर्ता एकताबद्ध भएर गएमात्र ललितपुरका तीन वटै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी हुने बताउनुभयो । उहाँले गठबन्धनमा सहभागी दलका उम्मेदवारको पक्षमा कुनै कञ्जुस्याई नगरी मत माग्न कार्यकर्तालाई आग्रह गर्नुभयो । ललितपुर क्षेत्र नं २ का उम्मेदवार कृष्णलाल महर्जनले संविधानको रक्षा र मुलुकलाई स्थिरता दिन गठबन्धन बनेको उल्लेख गर्दै वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण शक्ति एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।
कञ्चनपुर । पछिल्लो समय कञ्चनपुरका घरबासमा पाहुनाको भीड बढ्दै गएको छ । कोरोना महामारीपछि सुनसान बनेका घरबासमा अहिले पर्यटकहरू भरिभराउ छन् । यहाँको भीमदत्त नगरपालिका–१४ स्थित नयाँ गाउँमा रहेका घरबासमा पर्यटक बढ्न थालेपछि अहिले यहाँ रहेका १६ वटा घरबास भरिभराउ रहेको सञ्चालक चेतराम रानाले बताउनुभयो । “कोरोना महामारीले गर्दा दुई वर्ष बन्द नै भए अहिले पाहुना आउन थालेका छन्”, उहाँले भन्नुभयो, “अहिले त अग्रिम बुकिङ हुने गरेका छन् ।” उहाँले अहिले पोखरालगायतका ठाउँबाट यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको रोजाइ घरबास हुने गरेको बताउनुभयो । “होटलमा महँगो र होहल्ला हुने भएकाले पनि शान्त ठाउँ खोज्छन्”, उहाँले भन्नुभयो, “अहिले पोखराबाट विद्यार्थीहरू आएका छन्, सबै पाहुनाघर भरिभराउ छन् ।” अर्का स्थानीय बाबुराम रानाले घरबासमा पाहुनाको भीडभाड हुन थालेको बताउनुभयो । “कोरोनाले त सुनसान भएको हो अहिले पाहुनाहरू बढ्न थालेका छन्”, उहाँले भन्नुभयो, “पाहुना आउने समय पनि यही हो ।” विशेषगरी चाडपर्वको बेला र फागनुमा पाहुनाहरू बढी आउने गरेको उहाँले बताउनुभयो । पर्यटक बढेसँगै आयआर्जनमा समेत वृद्धि हुन थालेको रानाले बताउनुभयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको बस्तीमा घरबास सञ्चालनमा आएपछि यहाँका स्थानीयको आय स्तरमा समेत वृद्धि हुन थालेको चेतरा रानाले बताउनुभयो । “राना थारू बस्तीमा रहेको होमस्टेप्रति आकर्षण बढिरहेको छ”, उहाँले भन्नुभयो, “शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरु यहाँ आउने गरेका छन् ।” घरबास सञ्चालनमा आउँदा आफ्नो कला, संस्कृति र परम्पराको संरक्षणसँगसँगै प्रचारप्रसारसमेत भएको रानाले बताउनुभयो । “यहाँ आउने पाहुनाको मागबमोजिम हामीहरूले खानाका परिकारदेखि नाचगान देखाउँछौँ”, उहाँले भन्नुभयो, “यसले हाम्रो संस्कृतिको पनि संरक्षण भएको छ र आयस्तरमा समेत टेवा पुगेको छ ।” पछिल्लो समय शुक्लाफाँटा आउने पर्यटक पनि बढ्न थालेका छन् । राष्ट्रिय निकुञ्जको तथ्याङ्कानुसार विसं २०७५ मा दुई सय ६६ विदेशीले भ्रमण गरेका छन् भने एक सय ९३ जना सार्क मुलुकका नागरिकले भ्रमण गरेका छन् । त्यसैगरी विसं २०७६ मा सार्क मुलुकका तीन सय आठ जनाले भ्रमण गरेका छन् भने तीन सय ५० विदेशीले भ्रमण गरेका छन् । विसं २०७८ मा यहाँ आउने पर्यटकको सङ्ख्या बढेको छ । एक हजार छ सय ५१ विदेशीले भ्रमण गरेका छन् भने एक हजार २० जना सार्क मुलुकमा नागरिकले शुक्लाफाँटा भ्रमण गरेका छन् । त्यसैगरी २६ हजार तीन सय ८२ स्वदेशीले शुक्लाफाँटा भ्रमण गरेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख किशोरकुमार मेहताले पर्यटकका लागि शुक्लाफाँटा आकर्षक गन्तव्य रहेको बताउनुभयो । “शुक्लाफाँटाको फाँटमा देखिने बाह्रसिङ्गाको झुण्ड पर्यटकको आकर्षण हो”, उहाँले भन्नुभयो, “यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि भइरहेको छ ।” शुक्लाफाँटा छेउमै रहेको रानाथारू समुदायको घरबासमा आउने आगन्तुकका लागि परम्परागत पहिरनमा रानाथारू नृत्य र खानाका परिकारले स्वागत गर्ने गरेका छन् ।
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–७ स्वामीधाराका सोमबहादुर सार्की शारीरिकरूपमा अपाङ्गता हुनुहुन्छ । चार वर्ष अगाडि काम गर्दागर्दै अचानक ढल्नुभएका उहाँ त्यसपछि आफ्नै सहारामा उठ्न सक्नुभएको छैन । उठ्नपर्यो भने उहाँलाई परिवारको सहारा चाहिन्छ । उहाँको दैनिक ह्वीलचियरबाट चलिरहेको छ । घरको मूली नै शारीरिक अपाङ्गता भएपछि परिवार चिन्तित छन् । उहाँले हालसम्म अपाङ्गता परिचयपत्र पाउनुभएको थिएन । परिचयपत्र बनाउन गाउँपालिकाको कार्यालयसम्म जान असमर्थ उहाँलाई गाउँपालिकाले घरमै ल्याएर परिचयपत्र प्रदान गर्दा उहाँको मुहारमा खुसी छाएको छ । गाउँपालिकाले आयोजना गरेको एकीकृत घुम्ती शिविरको अवसरमा वडाध्यक्ष वसन्तकुमार श्रेष्ठले घरमै पुगेर सार्कीलाई निलो रङको परिचयपत्र प्रदान गर्नुभएको छ । “अपाङ्ग भइसकेपछि अपाङ्गता परिचयपत्र बनाउनका लागि जान कोसिस गरेता पनि पालिकाको कार्यालय धेरै टाढा पर्छ, जान आउन पनि समस्या हुँदै आएको थियो”, उहाँले भन्नुभयो, “गाउँपालिकाले घरमै ल्याएर दिँदा राहतको महसुस भयो ।” अपाङ्गता परिचयपत्र प्राप्त गरेपछि सरकारी तवरबाट प्राप्त हुने सुविधा पाउनेमा सार्की विश्वस्त छन् । म्याग्दे–७ स्वामीभञ्ज्याङका ६३ वर्षीया देउमाया भुजेलले घर नजिकैबाट ज्येष्ठ नागरिक परिचयपत्र पाउनुभयो । ज्येष्ठ नागरिक परिचयपत्र बनाउन एक घण्टाभन्दा बढीको पैदल र सवारीयात्रा गरी गाउँपालिको कार्यालयसम्म पुग्नुपर्ने बाध्यता रहेको उहाँले घरदैलोमै परिचयपत्र पाउँदा खुसी लागेको बताउनुभयो । “ज्येष्ठ नागरिक परिचयपत्र बनाउन गाउँपालिकाको कार्यालयसम्म पुग्नुपर्दा समस्या हुँदै आएको थियो”, उहाँले भन्नुभयो, “गाउँपालिकाले घरदैलोमै ल्याएर परिचयपत्र दिँदा सहज भयो ।” सोही ठाउँका ज्येष्ठ नागरिक रामबहादुर थापा जनप्रतिनिधि तथा कर्मचारीले घरदैलोमा नै ल्याएर परिचयपत्र दिएकामा हर्षित हुनुहुन्छ । “यो भन्दा ठूलो कुरा हाम्रा लागि के हुन्थ्यो र ? स्थानीय सरकार त भनेको सुनेका थियौँ, व्यवहारमा नै महसुुस भयो”, उहाँले खुसी हुँदै भन्नुभयो, “सेवा लिन गाउँपालिकाको कार्यालयमा धाउनुपरेन, घरदैलोमा पनि पायौँ ।” वडा कार्यालय टाढा पर्ने र वृद्धावस्थामा हिँडेर जान नसक्ने अवस्था भएकाले घरदैलोमा नै परिचयपत्र पाउँदा राहत मिलेको थापाले बताउनुभयो । निलो रङको अपाङ्गता परिचयपत्र प्राप्त गरेपछि मासिक सामाजिक सुरक्षा भत्तावापत रु तीन हजार उपलब्ध गराउने प्रावधान रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले दिनुभयो । सोही वडाका ५९ वर्षीय कृष्णबहादुर विकले घरमै कोभिड–१९ विरुद्धको खोप लगाउन पाउँदा खुसी लागेको बताउनुभयो । “खुट्टा काटिएर अपाङ्ग भएर बस्नुपरेपछि खोप लगाउन जान पनि सकेको थिइनँ, सबैले खोप लगाइसके पनि आफू खोप केन्द्रसम्म जान नसक्दा घरमै आएर खोप लगाइदिएको आभारी छु”, उहाँले भन्नुभयो । जनतालाई घरदैलोमा नै सेवा दिने उद्देश्यले आयोजित एकीकृत घुम्ती शिविरका अवसरमा आठ सय २५ जनाले ज्येष्ठ नागरिक परिचयपत्र पाएका छन् । विभिन्न वडामा गरी १० जना अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताउनुभयो । “स्थानीय सरकार जनताको नजिकको सरकार हो, वडा तथा गाउँपालिकासम्म आएर सेवा लिनुपर्ने बाध्यताको अन्त्यका लागि गाउँपालिका नै स्थानीयको घरदैलोमा पुग्ने अभ्यास सुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “यसले गर्दा सर्वसाधारणलाई राहत मिलेको अनुभूति भएको छ ।” एकीकृत घुम्ती शिविरका अवसरमा महिला स्वास्थ्य सेवाअन्तर्गत महिलाहरूको पाठेघर परीक्षण, देखापरेका स्वास्थ्य समस्याको उपचार, व्यवस्थापन प्रेषण एवं परामर्श सेवा प्रदान गरिने स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले बताउनुभयो । यसका साथै एकीकृत घुम्ती शिविरमा परिवार नियोजन परामर्श सेवा, कोभिड–१९ विरुद्धको पहिलो, दोस्रो र अतिरिक्त मात्रा खोप सेवा, आयुर्वेद सेवा, स्वास्थ्य बीमा सेवा प्रदान गरिएको छ । बहिरङ्ग सेवाअन्तर्गत बिरामीको स्वास्थ्य परीक्षण, उपचार तथा औषधि वितरण, प्रयोगशाला सेवाअन्तर्गत रगतमा ग्लुकोजको परीक्षण, खकार परीक्षणका लागि नमूना सङ्कलन, औलो रोगको परीक्षण हुनेछ । जन्म, मृत्यृ, बसाइँसराइको सेवा घुम्ती शिविरबाटै प्रदान गरिएको छ । प्रशासन शाखाअन्तर्गत व्यवसाय दर्ता, राजस्व सङ्कलन, मालपोत तथा भूमिकर सङ्कलन सेवा प्रदान गरिएको छ । कृषि तथा पशुशाखाअन्तर्गत बीउबिजन वितरण एवं कृषि अनुदान माग सङ्कलन, गोबर परीक्षण र नतिजाको आधारमा पशुपक्षीलाई औषधि वितरण, बाख्रा, पाठालाई बन्ध्याकरण, पशुको उपचार सेवा प्रदान गरिएको छ । गत असोज ३० गतेदेखि कात्तिक ४ गतेसम्मको दोस्रो चरणको शिविर वडा नं ५, ६ र ७ मा सञ्चालन हुनेछ । यसअघि पहिलो चरणको शिविर असोज २ गतेदेखि असोज २८ गतेसम्म वडा नं १, २, ३ र ४ मा सम्पन्न भइसकेको छ । म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जनता सधैँ वडा र पालिकामा आउने नभई पालिका पनि जनताको घरमा जानुपर्छ भन्ने उद्देश्यसहित एकीकृत शिविर आयोजना गरिएको बताउनुभयो । “स्थानीय सरकार जनताको घरमा पुग्नुपर्छ भन्ने मान्यतासहित यो शिविर सुरु गरिएको हो, घरदैलोमा जाँदा आम जनतासँग साक्षात्कार पनि हुन्छ, समस्या पनि सुन्न पाइन्छ”, उहाँले भन्नुभयो ।
काठमाडौं । मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै गएको छ । पश्चिमी वायु सक्रिय रहेकाले चिसो पनि बढेको छ । मनसुन सकिएपछि पश्चिमी वायुको प्रवेश हुने भएकाले दुई दिन बदली र वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मनसुन बाहिरिएसँगै पश्चिमी वायुहरू सक्रिय हुन्छन् आज र भोलि धेरै नै सक्रिय छन् जसले गर्दा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा बदली गराएर पहाडी भू–भागमा हल्का वर्षा गराउने सम्भावना रहेको छ ।” पश्चिमी वायुसँगै चिसो पनि आउने भएकाले अबका दिनमा क्रमशः चिसो बढ्दै जाने मौसमविद् भट्टराईको भनाइ छ । यस वर्षको मनसुन गत शनिबारबाट नेपालको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र मधेस प्रदेशको पश्चिमी भू–भागबाट बाहिरिएको थियो । बाँकी प्रदेश नं १ को मनसुन पनि आइतबार बाहिरिएको छ । अहिले नेपालबाट मनसुन पूर्णरूपमा बाहिरिसकेको महाशाखाले जनाएको छ । गत जेठ २२ गते नेपालको पूर्वी भू–भाग भएर नेपालमा मनसुन प्रवेश गरेको थियो । नेपालमा मनसुन बाहिरिएपछि पछिल्ला दिनमा देशैभरको मौसम सफा रहेको छ । मौसम खुलेपछि राजधानी काठमाडौँबाट उत्तरी भेगमा देखिन हिमशृङ्खला र हरिय डाँडाको मनमोहक दृश्यले शरद ऋतृमा रौनक थपिएको छ । तीन दिनयता खुलेको मौसममा क्यामेरामा कैद गरिएका मनोरम दृश्यले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छाएको छ । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले देशैभरको मौसम सामान्यतया सफा रहेको छ । अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । दिउँसो देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । रातिको समयमा गण्डकी प्रदेशलगायत देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहने महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । आज काठमाडौँको न्यूनतम १२ र अधिकतम तापक्रम २६ डिग्री सेल्सियस रहेको छ ।
बागलुङ । पश्चिम बागलुङको निसीखोला गाउँपालिका–७ स्थित नरसिंहकोटमा पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । जिल्लाको दोस्रो व्यापारीक केन्द्र बुर्तिबाङ बजारको शिरमा रहेको नरसिंहकोटमा सडक सञ्जाल र पदमार्गले जोडेपछि दैनिक सयौँ आन्तरिक पर्यटक यहाँ पुग्न थालेका हुन् । निसीखोलाकै सबैभन्दा महत्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थल नरसिंहकोटमा गाउँपालिकाले पूर्वाधार निर्माणसँगै पर्यटकलाई आकर्षण गर्ने संरचना बनाएको छ । स्थानीय सरकार आएपछि यसको मुहार फेरिँदै गएको स्थानीयवासी बताउँछन् । अहिले दैनिक दुई सय पर्यटक यहाँ आउने गरेका छन् । घुमाघाम र रमाइलो गर्नका लागि अति उपयुक्त मानिने नरसिंहकोट पौराणिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । बाइसे चौबिसे राज्य रहेको बेला राजा शासन गरेको यस ठाउँमा अहिले पर्यटक आकर्षणको केन्द्र बनेको छ । जनप्रतिनिधि आउनु पूर्व आजापूजा मात्र गर्ने यो ठाउँ अहिले आन्तरिक पर्यटक घुम्ने केन्द्रको रुपमा विकास भएको निसीखोला गाउँपालिका–७ का वडाअध्यक्ष दीपक कुँवर बताउनु हुन्छ । गाउँपालिकाले पूर्वाधार निर्माण र प्रचारप्रसारलाई प्राथमिकता दिएपछि आन्तरिक पर्यटक बढ्न थालेको उहाँको भनाइ छ । अध्यक्ष कुँवरले केही वर्ष अगाडिसम्म सुनसान रहेको नरसिंहकोट पछिल्लो समय आन्तरिक पर्यटकको आगमन बढन थालेपछि चहलपहल पनि बढ्न थालेको बताउनुहुन्छ । खासगरी यहाँ बिदाको दिन बढी मान्छे घुम्न आउने गरेको उहाँको भनाइ छ । अध्यक्ष कुँवरले बाहिरबाट घुम्न आउने आगन्तुकका लागि खानेपानी, शौचालय लगायतका पूर्वाधार आफूहरुले निर्माण गरिसकेको भन्दै अब थप संरचना बनाउने योजना रहेको उहाँको भनाइ छ । यहाँसम्म आएको सडकलाई स्तरोन्नतिसमेत गर्ने योजना बनाएको उहाँले बताउनुभयो । “अहिले सडककच्ची छ, कच्ची सकडमा आउँदा पर्यटकलाई समस्या पर्ने गरेको छ, केही वर्षमै यसको स्तरोन्नति गर्ने योजना छ, पदमार्ग पनि व्यवस्थित बनेको छ, खानोपानी र शौचालय पनि निर्माण भइसकेको हुँदा पर्यटकलाई समस्या छैन”,उहाँले भन्नुभयो,“पछिल्लो समय बिदाको दिन यो ठाउँ बुर्तिबाङ बजारका व्यापारी तथा कर्मचारीको थकाइ मार्ने चौतारी जस्तै बनेको छ ।” तत्कालीन बाइसे–चौबिसे राज्य हुँदा भूरे राजाले राज गरेको यो ठाउँ निकै मनोरम छ । करिब दुई हजार मिटरको उचाइमा रहेको नरसिंहकोटदेखि धौलागिरि, माछापुछ्रै, अन्नपूर्ण लगायतका दर्जनौँ हिमशृङ्खलासँगै बागलुङको विभिन्न स्थान, गुल्मी, प्यूठान, रोल्पा, रुकुम, पर्वत, स्याङ्जा, अर्घाखाँचीलगायतका स्थानीयवासीसमेत देख्न सकिन्छ । गुल्मीदेखि घुम्न आउनुभएका निकेश शर्माले नरसिंहकोट निकै रमणीय रहेको बताउनुभयो । उहाँले गाउँबाट धेरै मान्छे यहाँ घुम्न र पूजागर्न आएको हुँदा आफू पनि उनीहरुसँगै आएको बताउनुभयो । शर्माले यो ठाउँ निकै पर्यटकीय हिसाबले निकै सम्भावना बोकेकोे भन्दै यहाँसम्म आउने सडक राम्रो भए धेरै मान्छे घुम्न आउन सक्ने बताउनुहुन्छ । राष्ट्रिय प्राथमिताको योजना साल झण्डीढोरपाटन सडकले जोडिएको नरसिंहकोटमा तराई क्षेत्रसँगै भारतका पर्यटक पनि भित्र्याउन सकिने भावना देखिन्छ । यो सडकको गुल्मीखण्डसम्म तीव्र रुपमा काम भए पनि बागलुङ खण्डमा हुनसकेको छैन ।
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत बुधबार दोहोरी गीत प्रर्दशन गरिने भएको छ । पोखरा रंगशालाको बास्केटवल कोर्टमा बुधबार दिउँसो ३ः०० बजेदेखि दोहोरी गीत प्रदर्शन गरिने राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका सचिव जीवन दाहालले जानकारी दिए । उनका अनुसार दोहोरी गीत कार्यक्रम साँझ ८ बजेसम्म जारी रहनेछ । दोहोरी गीत प्रदर्शन कार्यक्रममा राष्ट्रिय, प्रदेश र जिल्ला स्तरका कलाकारहरुले नेपाली मौलिकपन झल्किने दोहोरी गीत प्रस्तुत गर्ने सचिव दाहालले जानकारी दिए ।
पोखरा : नेपाल आदिवासी जनजाती महासंघका पूर्वमहासचिव तथा मानवशान्त्री डा.. ओम गुरुङको आज (सोमबार) निधन भएको छ । बागलुङको ताराखोला गाउँपालिका १ घर भएका गुरुङको ललितपुरको हिरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा मृत्यु भएको हो । नेपाल आदिवासी जनजाती महासंघका पूर्वमहासचिव तथा मानवशास्त्री डा.ओम गुरुङको ६८ वर्षको उमेरमा मृत्यु भएको ताराखोला गाउँपालिका १ का वडा सदस्य गौरीमाया गुरुङले जानकारी दिए । ‘डा. गुरुङको केही वर्षपहिले मृगौलाको उपचार गरिएको थियो’ उनले भनिन्, ‘अहिले क्यान्सर पनि देखिएको छ भनेर उपचार गर्नुभएको थियो । अचानक आज उहाँको मृत्यु भएको खबर पायौं । यसले हामी सबैलाई दखित तुल्याएको छ ।’ वडा सदस्य गुरुङका अनुसार डा। गुरुङको आज (सोमबार) गुरुङको १ बजेर ४५ मिनेटमा उपचारको क्रममा मृत्यु भएको थियो । २०११ सालमा जन्मिएका गुरुङले त्रिभुवन विश्वविद्यालयमा ३६ वर्ष अध्यापन गरेका थिए भने १२ वर्षसम्म समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुख भएका थिए । १९९६ मा गुरुङले अमेरिका कोरनेल विश्वविद्यालयबाट मानवशास्त्रमा विद्यावारिधी गरेका थिए । गुरुङको श्रीमती, १ छोरा र २ छोरी छन् ।
भादगाउँ । तिहार नजिकिएसँगै भक्तपुरका पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो परेको छ । नजिकिँदै आएको तिहारका लागि सयपत्री, गोदावरी र मखमली फूल टिप्ने तथा माला उनेर बाहिरी जिल्लामा पठाउन चटारो परेको हो । तिहार फूलको पर्व हो । भाइटीकामा मखमली फूलको माला अनिवार्य छ भने नेवार समुदायमा लक्ष्मीपूजा, म्हपूजाका लागि सयपत्री, गोदावरी अनिवार्य चाहिन्छ । लक्ष्मी पूजाको दिन घरको मूलढोका सजाउन होस या पसल, कार्यालय, व्यावसायिकस्थल सिंगार्न तिहारमा सयपत्री फूलको माग उच्च हुने गर्दछ । मागअनुसार समयमै फूल पठाउनुपर्ने भएकाले अहिलेदेखि नै कामदार राखेर फूल टिप्ने गरेको भक्तपुरको चाँगुनारायण नगरपालिका–८ वागेश्वरीमा व्यावसायिकरुपमा पुष्पखेती गर्दै आएका युशव मताङ्गीले बताउनुभयो । उहाँले भन्नुभयो, “गएको वर्षमा भन्दा यसपाली फूलको माग बढी छ, तिहार आउन हप्ता दिनमात्र बाँकी छ, मागअनुसार बजारमा फुल पठाउन सकेको छैन, यसपाली बेमौसमी वर्षाले फूलखेतीमा धेरै क्षति पुगेको छ, त्यही भएर उत्पादन भएका फूलहरु समयमै टिपेर माला उनेर काठमाडौँ पठाएको हो ।” तिहारमा लक्ष्मी पूजाको दिन दिपावली गर्न घरको दैलो, झ्याल ढोका, कौशी, बरण्डालगायतका स्थानमा सयपत्री फूलको मालाले सजाएर दियो बाली झिलीमिली पार्ने परम्परा रहेको छ । तिहारमा नेवार समुदायले धनकी देवी लक्ष्मीको पूजा गर्दा लक्ष्मीलाई घरमा भित्र्याउन पालाको दियो राख्ने स्थानमा सयपत्री फूल, मखमली, गोदावरीलगायत पञ्चरङ्गीन फूलको टुक्रा, ताय, जुङ्गेधान र अबिर आसन राखेपछि मात्र दियो बाल्ने परम्परा रहेको छ । भक्तपुरको गुण्डु र ताथलीलाई मखमली, सयपत्री, गोदावरीलगायतका फूलको गाउँ भनिए पनि पछिल्लो समय भक्तपुरका चारै नगरपालिकामा व्यावसायिकरुपमा पुष्प व्यवसाय गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । केही वर्ष पहिला तिहारका लागि भक्तपुरको बजारमा गुण्डु र ताथलीबाट मात्र फूल बेच्नका लागि आउँथे । अहिले यी दुई ठाउँका मात्र सीमित नभएर चारै नपाका विभिन्न ठाउँबाट बजारमा फूल बेच्ने व्यवसायीले बजार ओगटेको अर्को व्यवसायी श्रीमाया वनमाला बताउनुहुन्छ । पुख्र्यौली पेशा नै फूल व्यवसाय गर्दै आउनुभएका वनमालाले पछिल्लो समय तिहारमा आधुनिक फूलको मालाभन्दा सयपत्री फूलको मालाकै माग बढी रहेको बताउनुभयो । तिहारमा प्लाष्टिक र कपडाका रङ्गीचङ्गी फूलभन्दा किसानले उत्पादन गरेका सयपत्री र गोदावरी फूलको प्रयोग अत्यधिक हुने भएकाले माग झन झन बढ्दै गएको वनामाला बताउनुहुन्छ । “विभिन्न आधुनिक प्लाष्टिक र कपडाका रङ्गीन फूलभन्दा हामीले उत्पादन गरेका फूल चोखो, पवित्र र सुन्दर हुनुका साथै सुकेपछि यसलाई बीउकारुपमा पुनःप्रयोग गरी फूलको बोट उत्पादन गर्न मिल्ने भएकाले यसले बजार लिएको हो”, वनमालाले भन्नुभयो । भक्तपुरका पुष्प व्यवसायीले अहिले तिहारका लागि मात्र नभएर विभिन्न भोजभतेर, सेमिनार, पुष्पगुच्छा र विवाहमा गाडी सजाउन मिल्ने बाह्रमहिना उत्पादन हुने जातका सयपत्री, गोदावरी, जरवेरा र कार्नेश फूलखेती गरेको देखिन्छ । भक्तपुरमा उत्पादन गरिएका फूल यहाँका बजारमा मात्र सीमित नभएर काठमाडौँका थोक व्यापारीलाई बिक्री गर्ने र त्यहीँबाट सहरका विभिन्न स्थानमा बिक्रीका लागि जाने गरेको छ । त्यसैगरी यहाँ उत्पादन गरेका अधिकांस सयपत्री फूल पशुपतिमा पठाउने व्यवसायी बताउँछन् ।
पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत आइतबार खेलका क्रममा निधन भएका त्रिभुवन आर्मी क्लबका प्याराग्लाइडिङ खेलाडी निसिम थापा मगरको आज अन्त्येष्टी गरिएको छ । निसिमको रामघाटमा आज बिहान १० बजे अन्त्येष्टी गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तालिम तथा प्रशिक्षण विभागका निर्देशकले जानकारी दिए । उनलाई श्रद्धाञ्जली दिन राखेपका सदस्यसचिव, गण्डकी प्रदेश खेलकुद परिषद्का पदाधिकारी, राखेपका विभिन्न विभागको विभागिय प्रमुख लगायतको उपस्थिती भएका थिए । आइतबार पोखरा महानगरपालिका १८ स्थित सराङ्कोटमा क्रस कन्ट्री प्याराग्लाइडिङ भइरहेको थियो । त्यसै क्रममा आकाशमा उडिरहेको प्याराग्लाइडिङ करिब १०० मिटरमाथिबाट जमिनमा खसेको थियो । प्याराग्लाइडिङ उडाइरहेका निसिम गम्भिर घाइते भएका थिए । घाइते थापालाई थप उपचारका लागि पोखरा सिर्जन चोकस्थित मेट्रोसिटी अस्पतल ल्याइएको थियो । सोही अस्पतालमा करिब १२ः ४५ बजे उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । यसैबीच निसिमको निधनमा श्रद्धाञ्जली प्रकट गर्न नवौं राष्ट्रिय खेलकुदअन्तर्गत आजको सबै खेलअघि एक मिनेटको मौनधारण गरिएको थियो ।

