पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

  बागलुङ । गाउँमा काम गर्ने जनशक्तिको अभाव छ । युवापुस्ता पालयन हुने र गाउँमा भएका वृद्ध तथा बालबालिकाले खेतबारीको काम गर्न सक्दैनन् । वर्षभरि दुःख गरेर छ महिना खान नपुग्ने भएपछि गाउँका बारी बाँझै राखेर सहर पस्नेहरुको कमी छैन ।   यो समस्या बागलुङका हरेक बस्तीमा छ । जनशक्तिको अभावमा बारी बाँझो राख्न बाध्य भएका एउटा पात्र हुनुहुन्छ काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछाने । पाँच वर्षअघि वडाध्यक्षमा निर्वाचित भएपछि लामिछानेले पनि बारी बाँझै राख्नुभयो । आफू जनप्रतिनिधि भएकाले २४ घण्टा वडावासीको काममा खट्नुपर्ने, श्रीमतीले जागिर गर्ने र वृद्ध बाबुआमाले काम गर्न नसक्ने भएपछि उहाँको बारी बाझिँदै थियो ।  तर बारीलाई बाँझै राख्न उहाँलाई पटक्कै मन लागेन् । अरुको बाँझोबारीमा समेत खेती गर्न लगाउनुपर्ने जिम्मेबारी पाउनुभएका व्यक्तिले आफ्नै बारी बाँझो राख्दा उनका अघि स्वभाविक प्रश्न थियो । त्यसैले वैकल्पिक खेतीको खोजीमा लागेका लामिछानेले अहिले भने त्यही बाझिँन थालेको बारीबाट लाखौँ कमाइ गर्न थाल्नुभएको छ । काठेखोला गाउँपालीका–७ रेशमा रहेको उहाँको घर वरिपरि किवीको बगान छ । दुई रोपनी बारीमा लगाएको किवी लटरम्म फलेको छ । मध्यम खालका एकनासका किवी दाना मनोरम देखिन्छन् । “चार–पाँच वर्ष पहिले बिरुवा लगाएको हुँ, पोहोर पातलो फल्यो, अहिले राम्रो फलेको छ”, लामिछानेले भन्नुभयो, “वैकल्पिक खेती गर्दा उत्पादन लिन केही वर्ष त कुर्नैप¥यो”, लामिछानेले दुई रोपनी बाँझो बारीमा ४५ वटा किवीका बिरुवा लगाउनुभएको छ । तिनै बिरुवामा यो वर्ष सात सय किलो किवी फलेको लामिछानेले बताउनुभयो ।  “दुई क्विन्टल त बिक्री भइसके, अझै पाँच क्विन्टल जति बोटमै छन्”, उहाँले भन्नुभयो,  “बजारको समस्या नहोस् भनेर एकैपटक टिपेनौँ”, पाँच सय रुपैयाँ प्रतिगोटा खरिद गरेका ४५ वटा बिरुवाले गत वर्ष नै लगानी उठाएको उहाँले बताउनुभयो । बगानमा किवीको बिरुवालाई आडदिन गत वर्ष ७० हजार खर्चेर उहाँले टहरा बनाउनुभएको छ ।  लामिछानेको बगानमा फलेका किवी बागलुङ बजारमा बिक्री भइरहेका छन् । प्रतिकिलो रु दुई सय ५० मा आफ्नै कोठाबाट किवी बिक्री गर्दै आएको उहाँकी श्रीमती कमला लामिछानेले बताउनुभयो । “बजारमा होलसेल दिन खोजेको यस्तो उस्तो भनेर बिचौलिया आउँछन्, उपभोक्तालाई पनि महँगो पर्ने”, लामिछानेले भन्नुभयो, “हामी आफौँले उपभोक्तालाई दिँदा उहाँहरूले रोजेर लैजान पाउनुभएको छ, मूल्य पनि सस्तो पर्छ ।”  यो वर्षमात्रै किवीको बिक्रीबाट दुई लाख बढी आम्दानी हुने उहाँले बताउनुभयो । वहुबर्षे बाली भएकाले बेला–बेलामा सिँचाइ र मलको प्रबन्ध गर्दा मात्रै अरु धेरै वर्ष किवीबाट उत्पादन लिन सकिने उहाँको भनाइ छ । त्यही बारीमा कोदो र मकैको खेती गर्दा खर्च उठाउन कठिन हुने गरेको अनुभव समेत लामिछानेसँग छ ।  “हामीले बजारको माग, उत्पादन लागत र उत्पादकत्व हेरेर खेती गर्नुपर्ने रहेछ”, लामिछाने भन्नुहुन्छ, “पछिल्लो समय मैले नगदेबाली र फलफूल खेतीमा वडावासीलाई प्रेरित गर्ने गरेको छु ।” लामिछानेले वडा कार्यालयको तर्फबाट किसानलाई अनुदानमा किवीका बिरुवासमेत हरेक वर्ष बाँड्दै आउनुभएको छ । उहाँ गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । 

  बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–३ स्थित धम्जा सामुदायिक स्वास्थ्य इकाईमा अल्ट्रासाउण्ड (भिडियो एक्सले मेसिन) सहयोग उपलब्ध भएपछि यहाँका गर्भवती महिलाको परीक्षणमा सहयोग पुगेको छ ।  लायन्स क्लब अफ स्वीन्डोन चौतारी युके तथा युकेमा बस्ने नेपालीले सङ्कलन गरेको सहयोगले युकेमै खरिद गरिएको अल्ट्रासाउण्ड मेसिन (भिडियो एक्सरे) धम्जा सामुदायिक स्वास्थ्य इकाईलाई सहयोग गरिएको हो ।  गाउँमै गर्भवती महिलाको स्वास्थ्यपरीक्षणका लागि निकै उपयोगी मानिएको भिडियो एक्सले मेसिन धम्जा सामुदायिक स्वास्थ्य एकाईलाई सहयोग प्राप्त भएको धम्जा सामुदायिक स्वास्थ्य एकाइका अनमी कृष्णमाया पुनले जानकारी दिनुभयो ।   दुर्गम गाउँमा भिडियो एक्सरे सेवाले गाँउका महिला अल्ट्रासाउण्ड (भिडियो एक्सरे) सेवा लिन टाढा जानुपर्ने बाध्यता अन्त्य गर्नका लागि सहयोग गरिएको सहयोगकर्ता देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।  भिडियो एक्सरे सञ्चालनका लागि काठेखोला गाउँपालिकामा एक जना जनशक्तिको माग गरिएको काठेखोला गाउँपालिका–३ धम्जाका वडाध्यक्ष कुलबहादुर विकले जानकारी दिनुभयो । “यहाँका जनताको माग अनुसार अत्यन्त आवश्यक उपकरण प्राप्त भएको छ, यसको सञ्चालनका लागि जनशक्तिको व्यवस्थापनका लागि पालिकासँग कुरा भइरहेको छ”, अध्यक्ष बिकले भन्नुभयो, “यहाँका गर्भवती महिला भिडियो एक्सले गर्नकै लागि बागलुङ बजार पुग्नुपर्ने बाध्यता हटेको छ ।” स्वास्थ्य एकाइका अनमी पुनले भिडियो एक्सरेका लागि तालिम प्राप्त गर्नुभएकाले हाललाई भिडियो एक्सरे सेवा सुरु गरेपनि पुनसँगै एक कार्यालय सहयोगीको भरमा चलेको इकाइलाई जनशक्तिको भने अभाव रहेको छ । 

  काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गरेको छ । जसअनुसार कात्तिक १० गते बिहीबार बिहान ११:३७ बजे भाइटीकाको साइत उत्तम रहेको छ ।  यमपञ्चक कात्तिक ५ गते शनिबारदेखि सुरु हुनेछ । कात्तिक ५ गते शनिबार यमदीपदान सुरु गरिन्छ । यमपञ्चकका अवसरमा दीपदान गर्नाले यम यातना नपाइने धार्मिक विश्वास छ । धनत्रयोदशी (धनतेरस) पर्व पनि त्यसै दिन मनाउनुपर्ने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।   कात्तिक ६ गते आइतबार कागतिहार (काकबली) पर्व परेको छ । धनवन्तरी जयन्ती पनि त्यसै दिन मनाइन्छ । कात्तिक ७ गते सोमबार कुकुर तिहार पर्व मनाइन्छ । त्यसै दिन नरकचतुर्दशी अर्थात् बिहान झिसमिसेमै तेल लगाएर स्नान गरी नरक बालेर बगाइन्छ ।   यस वर्ष दीपमालिका एवं लक्ष्मीपूजा पर्व पनि कात्तिक ७ गते सोमबार नै रहेको उहाँले बताउनुभयो । लक्ष्मीपूजाको रात्रिलाई सुखरात्री पनि भनिन्छ । कात्तिक ८ गते मङ्गलबार गाईपूजा गरिन्छ । यस दिन सूर्यग्रहण पनि परेको छ ।   कात्तिक ९ गते बुधबार गोवद्र्धनपूजा, बलिपूजा, हलितिहार, गोरुपूजा, आत्मपूजा (म्हपूजा) का साथै नेपाल संवत्को नयाँ वर्ष आरम्भ पनि यसै दिन परेको छ । कात्तिक ९ गते बुधबारदेखि नेपाल संवत् ११४३ आरम्भ हुँदैछ ।  कात्तिक १० गते बिहीबार तिहारको मुख्य दिन हो । यस दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाई आशीर्वादसहित दीर्घायुको कामना गर्दछन् । नेवारी समुदायले किजापूजाका नाममा मनाउने पर्व पनि यसै दिन परेको समितिले जनाएको छ ।   यस दिन साइत खोज्नेले बिहान ११:३७ बजे उत्तर फर्केर टीका लगाउनु उत्तम रहेको समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो । सर्वसाधारणका लागि त्यस दिन दिनभर टीका लगाउनु शुभ रहेको छ ।

  ‘बेनीको बजार, जता माया उतै छ नजर,  किरेमिरे जाले रुमाल’ चर्चित यो गीतका हरफमा भनिएझैँ जता नजर लगाए पनि सुन्दर देखिने म्याग्दीको बेनी बजार  पर्यटकको आगमनसँगै पुनः पुरानै लयमा फर्किएको छ ।  कोभिड–१९ को महामारीअघि यहाँ दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेकामा विसं २०७६ चैतदेखि २०७८ भदौसम्म यहाँको चहलपहल शून्य भएको थियो । तर, गत वर्षको भदौदेखि सङ्क्रमणदर घटेसँगै विस्तारै चलायमान हुन थालेको यहाँको व्यापार व्यवसाय यस वर्षको सुरुआतदेखि नै सुधार हुँदै आएकामा गत असोजको पहिलो सातादेखि पुनः पुरानै लयमा फर्किएको हो । मौसम सुरु भएसँगै यतिबेला सदरमुकाम बेनीमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल सुरु भएको छ । बेनीबजारमा अहिले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत तेक्वान्दो र महिला भलिबल खेल भइरहेको छ । खेल हेर्न विभिन्न जिल्लाबाट दैनिक दुई हजार बढी दर्शक बेनी बजारमा आउने गरेका छन् । म्याग्दी नदी र कालीगण्डकीको सङ्गमस्थलमा अवस्थित बेनीबजार प्राकृतिक सुन्दरताले मात्रै होइन ऐतिहासिक दृष्टिकोणलेसमेत महत्वपूर्ण रहेको छ । इतिहासकारका अनुसार नेपाल एकीकरणका क्रममा गोरखा राज्यले बेनी कब्जा गर्ने बेलासम्म बेनीमा बस्ती थिएनन् । विसं १८४३ पछि मात्र बस्ती बस्न थालेको बेनी बजारमा तत्कालीन समयमा भोट, तिब्बत र मधेसको प्रमुख व्यापारिक नाकासमेत थियो । सो नाकापछि हाट बजारमा परिणत हुँदै अहिलेको बेनी बजार विस्तार भएको बताइएको छ । बेनी बजार प्राकृतिकरूपले अत्यन्त सुन्दर छ । म्याग्दीको प्रवेशद्वारका रूपमा बेनी बजार रहेको छ ।   पुनहिल, घोडेपानी, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, धवलागिरि हिमालजस्ता विश्वप्रसिद्ध पर्यटकीयस्थल रहेको म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा तीन वर्षपछि पुनः चहलपहल बढेको स्थानीय व्यापारीले बताएका छन् । कोभिड–१९ को त्रासका कारण पर्यटक आउन सक्ने वातावरण नभएपछि सुनसान बनेका पर्यटकीयस्थलमा असोज सुरु भएपछि पर्यटकको भीड लाग्न थालेको छ । व्यापार व्यवसाय बढ्न थालेको छ । पर्यटकीयस्थल पर्यटकको प्रतिक्षा गरिरहेका छन् । विसं १८४३ सम्म बेनीमा लाग्ने हाट मेलाले वैदेशिक व्यापारको रूप लिएपछि व्यापार व्यवस्थित गर्नका लागि पर्वत राज्यले बेनीमा अस्थायी मुकाम राख्न थालेको मोहनबहादुर मल्लद्वारा लिखित ‘पर्वत राज्यको इतिहास’ नामक पुस्तकमा उल्लेख छ । इतिहासकार चन्द्रप्रकाश बानियाँका अनुसार त्यतिबेला पर्वत राज्यको राजधानी ढोलठानामा थियो । राजा दिलीपबम मल्ल ९डिम्ब मल्ल० गर्मीमा ढोलठान र जाडोमा बेनी झर्ने गर्दथे । जाडो छल्नका लागि मात्र ढोलठाना दरबार बेनी झर्न थालेको होइन भन्ने कुरा राजकुलो निर्माण गरेर दरबारले नै खेती गर्न थालेको सिङ्गा नझरेर बेनी झर्न थालेबाट स्पष्ट हुने उहाँले जानकारी दिनुभयो । पर्वत राज्यको इतिहासका जानकार बानियाँका अनुसार बेनीको पहिलो बस्ती कामीको हो । हतियार निर्माणका लागि उनीहरुलाई बेनी राखिएको हो । गोरखाले बेनी कब्जामात्रै गरेन, दरबारमा आगजनी गरेर ध्वस्त बनाएको थियो । दरबारको त्यही खरानीमा बेनीको बजार बसेको हो । उहाँका अनुसार विसं १८४३ पछि मात्र बेनी बजारमा बस्ती विस्तार हुन थालेको हो । बेनीमा नेवार बस्ती बसिसक्दा पनि बेनीको मुख्यबजार पारिबेनी थियो । बाग्लुङ मुस्ताङतिरको थोक बजार पारिबेनी नै थियो । बेनीमा स्कुल पाठशाला नखुल्दै पारि बेनीमा मिडिल स्कुल थियो । त्यही स्कुलपछि मल्लाज स्थानान्तरण भएको हो । पारी बेनीको स्कुल मल्लाज उक्ले पछि मात्र बेनीमा विद्यालय खुलेको इतिहासकार बानियाँले बताउनुभयो । बेनीमा विद्यालय खुलेपछि बस्ती विस्तार हुनेक्रम बढ्दै गएको उहाँको भनाइ रहेको छ । अहिले बजारको स्वरुप फेरिएको छ । जताततै कङ्क्रिट नै कङ्क्रिटका भव्य घर ठडिएका छन् । वैदेशिक रोजगारीका कारण गाउँबाट सहर झर्नेको क्रम तीव्ररूपमा बढेको छ । गाउँ खाली भए पनि बजार भरिएको छ । घरजग्गाको कारोबार गर्ने व्यापारीका अनुसार अब बेनीमा घडेरीका लागिसमेत जग्गा पाइन छोडेको छ । पर्यटकलाई लक्षित गरेर करोडौँको लगानीमा स्तरीय होटल, रेस्टुराँ निर्माण गरिएको छ । बैंक तथा वित्तीय संस्था मौलाएका छन् । यहाँको जीवनस्तरले काँचुली फेरेको छ । वार्षिक चार अर्बको हाराहारीमा विप्रेषण भित्रिने म्याग्दीमा पर्यटन व्यवसाय पनि उत्तिकै फस्टाउँदै गएको छ । होटल र यातायात क्षेत्रमा  यहाँका व्यवसायीले ठूलो लगानी गरेका छन् । बेनी नगरपालिकाको ७ र ८ गरी दुई वटा वडामा समेटिएको बेनीबजार पाँच सय १२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । १४।४५ जनघनत्व रहेको बेनी बजारमा विसं २०६८ को जनगणनाको तथ्याङ्कानुसार दुई हजार घरधुरी र सात हजार जनसङ्ख्या रहेको छ ।

  नवलपरासी:  नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा सशस्त्र प्रहरीले चिनी बरामद गरेको छ । भारतबाट नवलपरासीका सीमानाका हुँदै राजस्व छली गरी दैनिकरूपमा चिनी भित्रिने गरेको गुनासो बढेको बेला सशस्त्र प्रहरीले आज जिल्लाको रामग्राम नगरपालिका र प्रतापपुर गाउँपालिका क्षेत्रबाट रु ९० लाखको अवैध चिनी बरामद गरेको हो ।  सशस्त्र प्रहरी बल नेपाल हरपुर बिओपी र महेशपुर भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले आज बिहान प्रतापपुर गाउँपालिका–२ बाट ना६ख २१९७ नंको ट्रकमा रहेको ४२० बेरा (२१ हजार केजी) र रामग्राम नगरपालिका–५ स्थित परासी–भैरहवा हुलाकी मार्गबाट लु१ख ९८७१ नंको ट्रकमा रहेको ४२० बोरा (२१ हजार केजी) गरी ४२ हजार केजी चिनी बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण बेलाशपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रुपकुमार क्षेत्रीले राससलाई जानकारी दिनुभयो । बरामद चिनीको प्रारम्भिक मूल्य रु ९० लाख अनुमान गरिएको उहाँले बताउनुभयो । चिनीसँगैै ओसारपसारमा संलग्न दुईवटै ट्रकसमेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार चलान गरिएको उहाँले बताउनुभयो । 

  पोखरा:  टेनिस मेन्स डवल्समा गण्डकीले स्वर्ण पदक जितेको छ । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीले स्वर्ण पदक हात पारेको हो ।  निकै प्रतिस्पर्धात्मक खेलमा गण्डकीका प्रदीप खड्का र अनिल शाहीको जोडीले विभागीय टोली आर्मीका प्रनभ खनाल र अकि जुवेन रावतको जोडीलाई फाइनलमा पराजित गरेको हो ।  सुपरटाइमा निर्धारण भएको नतिजामा पहिलो सेट गण्डकीको टिमले ७–५ ले जिते पनि दोश्रो सेट भने ४–६ ले गुमाउन पुग्यो । सुपरटाइमा गण्डकीले १०–८ ले आफ्नो पक्षमा पार्दै स्वर्ण पदक हात पारेको हो । यस अघि टिम इभेन्टमा गण्डकीले एक स्वर्ण हात पारिसकेको छ ।  

  ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गए राति ट्र्याक्टर दुर्घटनामा परी चार जनाको निधन भएको छ ।   ५५५६ नम्बरको ट्र्याक्टर दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का ट्र्याक्टर चालक पासाङ शेर्पा, वर्ष २४ को फुर्वा शेर्पा, मैवाखोला–४ ओदक बस्ने एकाघरका वर्ष २२ को शर्मिला शेर्पा र वर्ष १७ को लाकी शेर्पाको निधन भएको मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरु सबैको घटनास्थलमा नै निधन भएको हो । ट्र्याक्टर सडकबाट करिब दुई सय मिटरमुनि झरेको बताइएको छ ।  अध्यक्ष वनेमका अनुसार ट्र्याक्टर चालक पासाङ र उनका भाइ फुर्वा घरमा आफन्त बिरामी परेकाले तेल्लाबुङस्थित विद्युत्को सवस्टेशनबाट काम्साङ जाने क्रममा रहेका थिए भने अन्य दुई जना समेत घरतर्फ फर्किने क्रममा ट्र्याक्टरमा सवार थिए । 

  स्याङ्जा । स्याङ्जा साहित्य प्रतिस्ठान र स्वार्गिय शिवकुमार अधिकारी स्मृर्ति प्रतिस्ठानको संयुक्त आयोजनामा लोकसाहित्य सङ्गोष्ठी एबम स्रष्टा सम्मान कार्यक्रम स्याङ्जामा सम्पन्न भएको छ ।  कार्यक्रममा प्रजातन्त्रिक सेनानि पुरस्कारबाट देब बहादुर सिह ठकुरिलाई कदर पत्र, रु २०१०५ र दोशला सहित सम्मान गरिएको थियो ।  सम्मानित सिह २००१ असार १४ गते स्याङ्गजा जिल्लाको बहाकोटमा जन्मनु भएको ७ निरन्तर प्रजातान्त्रिक आन्दोलनमा अग्रसर रहदै आउनुभएको थियो । २०४२ को आन्दोलनमा ७ दिन नजरबन्द , २०६२÷६३को आन्दोलनमा पटक पटक चेल चलान हुनुभएको सिह २०१४ सालबाट निरन्तर प्रजातन्त्र प्राप्ती र प्रजातन्त्रको पहरेदार रहेकोले सम्मान गरिएको स्वार्गिय शिवकुमार अधिकारी स्मृर्ति प्रतिस्ठानका सस्थांपक अध्यक्ष सुबोधकुमार अधिकारीले  बताउनु भयो । 

  सुर्खेत  । पछिल्लो केही दशकमा राउटे समुदायमा खाने खानादेखि छानासम्म, नानादेखि गानासम्म फेरिएको छ । जङ्गलमै स्वतन्त्ररूपमा बाँचिरहेका राउटेको सम्बन्ध दुनियाँसँग गहिरिँदै गएको छ । यसरी गहिरिएपछिका अनन्त असर राउटे समुदायले किस्ताकिस्तामा भोग्न थालेको छ ।दक्षिण एसियाका लगभग अन्तिम घुमन्ते जातिको रुपमा रहेका राउटे नेपालको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको दैलेख, सुर्खेत, दाङ, सल्यान, अछाम, कालीकोट, जाजरकोटलगायत जिल्लामा डुलिरहने जाति हो । दुई÷तीन दशक पहिलेसम्म घना जङ्गलले भरिभराउ यो क्षेत्र राउटेका लागि सुरक्षित बासस्थान थियो । तर, पछिल्लो समय विकास, सहरीकरण तथा आधुनिकीकरणको बढ्दो प्रभावले अवस्था फेरिएको छ । विसं २०७८ को जनगणना अनुसार हाल यो समुदायमा कूल ४६ घरधुरी छन् भने जम्मा राउटेहरूको सङ्ख्या एक सय ४३ छ । बाँदरको सिकार तथा जङ्गली फलफूल सङ्कलन गर्दै जीवननिर्वाह गर्न कठिनाइ भएपछि राउटेहरूले काठका भाँडाकुँडा बनाएर स्थानीय मानिससँग अन्नसँग साट्न थालेको झण्डै एक शताब्दी भएको अनुमान छ ।कुनै दिन ‘पैसा छोए पाप लाग्छ’ भन्ने राउटे आजभोलि अन्नसँग सागम्री साट्नभन्दा पैसामा साट्न सजिलो मान्न थालेका छन् । उनीहरु आजभोलि चाहीँ तस्वीर खिचेकोसमेत पैसा माग्न थालेका छन् । बाँदरको सङ्ख्या घट्दै जानु, सामुदायिक वनमा रुख सजिलै काट्न नपाउनु तथा विभिन्न सङ्घ संस्थाको प्रभाव राउटे समुदायमा बढ्नाले राउटे विस्तारै परर्निभर बन्दै गएका छन् । सरकारले प्रदान गर्ने भत्ताको आस र अन्य व्यक्ति तथा संस्थाको सहयोगको अपेक्षा गर्ने परम्पराका रूपमा स्थापित हुँदै गएको छ ।  आफ्नो खुट्टाको साइज र जुत्ताचप्पलको साइजमा खासै सचेत भएको पाइँदैन । तथापि पछिल्लो पुस्ताले जुत्ता चप्पल लगाउन थालेको छ । औपचारिक शिक्षा लिएपछि राउटेलाई आफ्नो संस्कृति मासिने डर छ । विभिन्न गैरसरकारी संस्थाको बढ्दो प्रभावले राउटेहरूलाई स्थायी हुन बाध्य बनाइरहेको छ  तर भ्रमणशील राउटे स्थायी रुपमा बस्न खोजिरहेका छैनन् ।‘किताब छोए ईश्वर रिसाउँछ’ भन्ने धारणामा विस्तारै परिर्वतन आइरहेको छ । अहिले राउटेले मोबाइल फोन प्रयोग गर्न थालेका छन् । खैनी र चुरोटका अम्मली राउटे समुदाय अचेल मदिरामोहमा फसेको छ । पाँच वर्षदेखि ८० वर्षसम्मका सबै राउटेले रक्सी पिउने गर्छन् । कमाएको तथा अरुबाट पाएको सहयोगलाई राउटेले मदिरा पिउनमा खर्च गरेको पाइन्छ । अत्यधिक रक्सी सेवनले राउटेको दिनचर्या नै सङ्कटमा फसेको देखिन्छ ।  बिरलै सरसफाइ गर्ने राउटेले खरानीपानीले लुगा धुने गर्थे । ढुङ्गाले शरीरको मैलो घोटेर फाल्थे । विगत भत्कियो, राउटेहरू आजभोलि साबुनको प्रयोग गर्न रुचाउँछन् । बसुलोले दारी काट्ने राउटे हिजोआज ब्लेडले काट्छन् । फुटेकै भए पनि ऐना हेर्ने बानीको विकास भएको देखिन्छ । विगतमा काठका भाँडाकुँडा अन्नसँग साटेर जीविका धान्न रुचाउने राउटेहरू अहिले पैसामै ती सामग्री साटफेर गर्न रुचाउँछन् । पैसालाई बोक्न सजिलो, आफूलाई चाहिने चीज किन्न सजिलो हुनाले राउटे अन्नभन्दा पैसालाई सजिलो माध्यम ठान्छन् । अरुको त्यसै मागेर नखाने जाति भनेर चिनिने राउटे आजभोलि सबैभन्दा धेरै माग्न आउँछ । झारफुक तथा जडीबुटीमा विश्वास गर्ने राउटे आजभोलि डाक्टरको विश्वास गर्छन् । केही वर्षअघिसम्म मोटरगाडीदेखि डराउने राउटे काम विशेष कतै जानुप¥यो भने गाडी चढ्न रुचाउँछन् । आफ्नै श्रममा बाँच्ने राउटेलाई आजभोलि कहिल्यै नपुग्ने चीज भत्ता भएको छ । सरकारले प्रत्येक वर्ष राउटेलाई सामाजिक सुरक्षा भत्ता दिन्छ तर भत्ता कम भएको गुनासो राउटेहरू पोखिरहन्छन् ।  लोपोन्मुख राउटे समुदायको महाशत्रु हुन्, स्थायी बसोबास, लेखपढ र खेतीपाती । आफूलाई वनको राजा भन्न रुचाउने र जङ्गलमा भ्रमणशील जीवनयापन गर्दै आइरहेको राउटे समुदाय नेपालको नागरिकता नलिए पनि नेपाली नागरिक हौँ भनेर गौरव गर्छ । राउटे बस्ती पुग्ने जोकोहीसँग राउटे बालबालिका र महिला पैसा माग्छन् । घरायसी प्रयोगका सामग्री कोसी, मदुस, पिर्का, बाकस बनाएर बेच्ने पेसा गर्दै आएका राउटे समुदाय परम्परागत पेसालाई सर्वोपरी ठान्ने राउटे समुदायको ‘संस्कृति र जीवनशैली’ फेरिँदै गएको छ ।  कल्याल, रास्कोटी र राजवंशी ठकुरी राउटे समुदाय आफ्नो परम्परागत पेसा र जीवनशैलीबाट विस्थापित बन्दै परनिर्भरतातिर गइरहेको छ । आफ्नो परम्परामा कडा देखिए पनि आधुनिकतासँगै राउटे समुदाय पनि आधुनिकतामा रमाउन थालेको छ । राउटेको दैनिक व्यवहार, रहनसहन र कला संस्कृति परिवर्तन हुँदै गइरहेको छ । विगतमा पशुपालन गर्दा राम्रो नहुने भन्दै तिरस्कार गर्ने राउटे समुदाय वनजङ्गल विनाशका कारण गुना र बाँदर पाइन छाडेपछि पछिल्लो समयमा बाख्रा र कुखुरा पाल्ने थालेका छन् । राउटे पहिलेको तुलनामा रुपैयाँ, पैसा र आधुनिक सामग्रीमा बढी प्रभावित हुन थालेका छन् । “हाम्रो मुख्य सिकार बाँदर र गुना जङ्गलमा पाइनै छाडे, चाडपर्वमा मासु खानुपर्छ, त्यसैले बाख्रा र कुखुरा किनेर पाल्ने गर्छौ,” राउटे मुखिया सूर्यनारायण शाहीले भन्नुभयो । स्थायी रुपमा बस्न नचाहने, वनजङ्गलमा घुमन्ते जीवन बिताउँदै आफ्नै संसारमा रमाउन चाहने राउटे जाति पछिल्लो समयमा आधुनिकतातर्फ मोडिएको छ । राउटे समुदायको युवापुस्ता पनि आधुनिक संस्कृतिबाट प्रभावित हुन थालेको छ ।पहिले नयाँ व्यक्ति देख्दा डराउने र बोल्न नचाहने, तस्बीर खिच्न नदिने राउटे जाति महिलालाईसँगै नहिंँडाउने र मुखियाले भनेका सबै कुरा पालना गर्ने गर्थे तर पछिल्लो समय धेरै परिवर्तन भएको छ । उनीहरु अहिले खुलेरै आफ्ना समस्या राख्ने गर्छन्, महिलालाई सँगसँगै हिँडाउँछन् । केही समय अगाडि राउटे समुदायमा फोनमा कुरा गर्नु राम्रो मानिँदैनथ्यो, तर पछिल्लो समय यस समुदायका पाका उमेरका व्यक्तिले हातहातमा मोबाइल बोकेको देखिन्छ ।  राउटे समुदायका व्यक्तिलाई नागरिक बनाउन गुराँस गाउँपालिकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको परिपत्रअनुसार २०७५ असार ३० गतेदेखि स्थायी ठेगाना भएको परिचयपत्र प्रदान गर्दै आएको छ । राउटेका पूर्वमुखिया महिनबहादुर शाहीका अनुसार कसैलाई फोटो खिच्न नदिने, सित्तैँमा अरूले दिएको खाने कुरा नखाने, बस्तीमा नचिनेको मान्छेलाई प्रवेश गर्नमा रोक लगाउने संस्कृति राउटे समुदायबाट हराइसकेको छ ।  उनीहरु आफ्नो दैनिक जीवनलाई आधुनिक संस्कृतिअनुसार परिवर्तन गरिरहेका छन् । राउटे समुदायलाई सहयोग गर्न भित्रिएका गैरसकारी संस्थाले नै परनिर्भरतातिर धकेलेको स्थानीयवासीको आरोप छ । गैरसरकारी संस्थाका प्रतिनिधिले राउटेसँग हेलमेल बढाउन मद्यपान र धूमपानको लतमा पु¥याएको आरोप लाग्ने गरेको छ । आजभोलि रक्सी नभइ नहुने अवस्थामा पुग्न लागेको राउटे समुदायका युवा वीरबहादुर शाहीले बताउनुभयो । शाहीले भन्नुभयो, “खसी र चामल पाएमा हुरुक्क हुने र अरूले दिएको खानेकुरालाई उपहार ठान्ने यो समुदाय पछिल्लो पटक मद्यपान, धूमपानको कुलतमा फस्न थालेको छ । सुरुमा रमाइलो लागेर गाउँलेले दिएको रक्सी पियौँ । रक्सी त रमाइलो गर्न खाने हो । नयाँ मान्छे आउँछन्, रक्सी खुवाइ दिन्छन्, आजभोलि पिउने बानी नै परिसकेको छ ।” अहिले मद्यपान र धूमपानका कारण राउटेको परम्परा ओझेलमा पर्दै गएको महिनबहादुर शाहीको दुःखेसो छ । ‘हामी गाउँका अन्य मानिसजस्तो रक्सी खाएर झगडा गर्दैनौँ, रक्सी पनि बनाउँदैनौँ । बरु कसैले ल्याइदिएको र गाउँबाट नै किनेर खान्छौँ,’ महिनबहादुरले भन्नुभयो, “रक्सी सेवन गरी झगडा गर्ने व्यक्तिलाई राउटे समुदायका अन्य युवा मिली हातखुट्टा डोरीले बाँधेर लडाइदिने चलन छ ।” उहाँका अनुसार जङ्गलमा बाँदर सिकार गर्ने राउटे समुदायले अन्नको जाँड बनाउने गर्दछन् । उनीहरूमा रक्सी पार्ने सीप छैन ।  रक्सी पार्ने काम गरेमा देवीदेवता रिसाएर सिकार बिग्रिने, मानिस बिरामी पर्नेजस्ता विश्वास राख्ने उनीहरूमा छ । यद्यपि उनीहरूका यस्ता मान्यता विस्तारै भत्कँदै छन् । विस्तारै उनीहरूमा खुला समाजको प्रभाव पर्दै गएको छ । बजार नजिकै बसेर बजारको संस्कृति र प्रभावमा रमाउन थालेका छन् । यद्यपि उनीहरू पहिला पहिला मानव बस्तीभन्दा टाढा जङ्गल या नदी किनारमा बस्ने गर्दथे ।  मुखिया सूर्यनारायण शाहीका अनुसार नेपाल सरकारले लोपोन्मुख जातिलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता पाउनासाथ राउटेले मदिरा पिउन थालेका हुन् । आजकालका तन्नेरी जति भने पनि मान्दैनन् । पैसा पाउनासाथ रक्सी खोजी गर्छन् । पिउन गइहाल्छन् । लोपुन्मुख जाति र कर्णाली प्रदेशको गहनाका रूपमा चिनिने यो समुदायका महिला पनि आधुनिकतासँगै सहरका होटलमा खाना खान रुचाउँछन् । राउटेले बोल्ने खाम्ची भाषा, संस्कृति, जीविकोपार्जन गर्न सीप हराउँदै जानु, बर्सेनि जनसङ््ख्या घट्दो क्रममा रहनु, मृत्युदर उच्च तथा कुपोषणको समस्या राउटे समुदायमा अधिक रहेको पाइन्छ । बाह्य समुदायबाट हिंसा तथा यौन हिंसाको चपेटामा पर्नु, सामाजिक सुरक्षा भत्ताको दुरुपयोग बढ्नु, दाताले मनलाग्दी आफूखुसी राहत सामग्री वितरण गर्नुजस्ता कारण राउटे समुदायको सुरक्षामा चुनौती थपिएको सम्पद्धहरुको बुझाइ रहेको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा राउटेलगायत लोपोन्मुख तथा सीमान्तकृत समुदायका लागि आयआर्जन कार्यक्रम ९राहत तथा पुनःस्थापना, क्षतिपूर्ति०का लागि चार करोड रुपैयाँ विनियोजन गरेको सामाजिक विकास मन्त्रालयकी सामाजिक विकास अधिकृत अनिता ज्ञवालीले जानकारी दिनुभयो । ज्ञवालीका अनुसार राउटे नीतिमाथि विज्ञको राय सङ्कलनको कार्य भइरहेको छ । फिरन्ते जाति राउटे समुदायको उत्थानका लागि सरकारले हदैसम्म प्रयास गरिरहेको छ । दैलेखको गुराँस गाउँपालिकाले राउटेलाई मासिक दुई हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । दक्षिण एसियाका अन्तिम घुमन्ते जाति राउटे नेपाल र नेपालीका लागि खजाना भए पनि बढ्दो आधुनिकीकरणले राउटेको जीवन, दर्शन, संस्कृति र सभ्यता डुब्नै लागेको घामजस्तै भइसकेको छ । औषधोपचारमा विश्वास बिरामी भएमा, चोटपटक लागेमा वा शरीरमा घाउ भएमा जडीबुटीको प्रयोग गर्ने राउटे अहिले स्वास्थ्यकर्मीबाट उपचार गर्न थालेका छन् । राउटेहरु चोट लागे खोटो टाँस्ने गर्थे, टाउको दुखे झारपात खान्थे, घस्नुपर्दा खरानी घस्थे । झारफुक गर्थे । बिरामी परेमा स्वास्थ्योपचार भन्दा पनि उनीहरु थामी, झाँक्री बसालेर ग्रह काट्ने, भूतको भाग फाल्ने गर्छन् । राउटे समुदाय स्वास्थ्य संस्थासम्म नपुगे पनि अहिले औषधोपचारमा विश्वास गर्न थालेका छन् ।  उनीहरुले सानातिना घाउ–चोटपटक लाग्दा पनि औषधोपचार गर्ने र मल्हमपट्टी लगाउने र त्यसका लागि स्वास्थ्य संस्थामा पुग्ने गरेको छन् । राउटे जाति अहिले खुट्टाको सुरक्षाका लागि जुत्ता चप्पल लगाउन थालेको छ । सरसफाइमा पनि उत्तिकै ध्यान दिन थालेका छन् । उनीहरु पछिल्लो समय साबुनको प्रयोग गरेर नुहाउने, दाह्रीजुँगा काट्ने र आफू बसेका स्थानमा बनाइएका छाप्रो वरिपरि सरसफाइ गर्छन् । आफैँले उत्पादन गर्ने कपडाको मात्रै प्रयोग गर्ने राउटेहरु आजभोलि बजारमा पाइने आधुनिक कपडाको प्रयोगतर्फ आकर्षित हुन थालेका छन् । राउटे युवा प्रकाश शाहीले भन्नुभयो, “हामीले कोट पनि राखेका छौँ, अब विस्तारै कोट पनि लगाउँछौंँ ।” राउटे युवतीहरुले पनि पछिल्लो समय चुरापोतेलगायत शृङ्गार सामग्री प्रयोग गर्न थालेका छन् । राउटेले बनाएका कोसी, मधुश, आरी र खाटजस्ता सामग्री बिक्री हुन छाडेपछि राउटेलाई गाउँ–गाउँ डुल्नुपर्ने बाध्यता पनि छैन ।  एकै ठाउँमा बस्दैनन् राउटे फिरन्ते जीवन बिताउने राउटेहरु एक ठाउँ धेरै नबस्नुमा बसेको ठाउँमा कुनै सदस्यको मृत्यु भएमा तत्काल त्यस ठाउँ छाड्नुपर्ने राउटेको चलन छ । कुनै सदस्यको मृत्यु भए तत्काल त्यही ठाउँमा गाडेर सबै जना रुँदै कराउँदै अर्को बासको खोजीमा हिँड्ने संस्कारले गर्दा एकै ठाउँमा नबस्ने राउटेका मुखिया सूर्यनारायण शाहीले बताउनुभयो । उहाँले भने, “हाम्रो समुदायको व्यक्ति मरेको स्थान हाम्रा लागि सधैंँ अशुभ हुन्छ, तयो ठाउँमा हामी कहिल्यै फर्किँदैनौँ ।”राउटे समुदायमा कसैको मृत्यु हुनेबित्तिकै त्यस ठाउँलाई सधैँका लागि अशुभ ठानेर नयाँ ठाउँको खोजीमा हिँड्ने गरेको उहाँको भनाइ छ ।    “नयाँ ठाउँमा पुगेर मृत्युको पीडालाई भुल्ने र त्यसपछि विस्तारै मृत्युको कुरा बिर्सन्छौँ,” सूर्यनारायण भन्नुहुन्छ, “हामी बसाई सर्दा उपयुक्त ठाउँको छनोट गर्दैनौं । हिँड्दै जाँदा जहाँनेर रात पर्छ, त्यसैलाई उपयुक्त बासस्थान ठानेर त्यही बस्छौं ।” राउटे मुखियाको पुस्ता रहँदासम्म राउटे स्थायी बसोबास गर्ने स्थिति देखिँदैन ।