पोखरा : जिल्ला प्रहरी कार्यालय कास्कीले चाडपर्वलक्षित विशेष सुरक्षा योजना अघि सारेको छ । कास्की प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले तिहार तथा छठ पर्वमा हुन सक्ने आपराधिक क्रियाकलाप रोक्नका लागि विशेष रणनीति तयार पारेको बताए । ‘चाडपर्व तथा निर्वाचनको सरगर्मी बढेकाले कुनै पनि अप्रिय घटना हुन नदिन हामीले विशेष योजना बनाएका छौ, सुनगाभा न्यूजसँग भने, ‘संभावित घटना हुन नदिन सादा पोसाकका प्रहरीदेखि गस्तीलाई बाक्लो बनाएका छौं ।’ डिएसपी तिवारीले पर्वको समयमा आपराधिक क्रियाकलापमा संलग्न हुदै आएका व्यक्तिहरुलाई विशेष निगरानीमा राखेको बताए । ‘नेपालीहरुको चाडपर्वसँगै निर्वाचनको मिति नजिकिएको छ । चाडपर्व तथा निर्वाचनको समयमा कुनै पनि अप्रिय घटना हुन नदिन सादा पोसाकका प्रहरी परिचालन, गस्ती बाक्लो बनाएका छौ, उनले भने, ‘यस्तो समयमा बहुमूल्य पसल तथा वित्तिय सेवा क्षेत्रमा हुने चोरी डकैटी हुन सक्ने कुरालाई मध्यनजर गरेर त्यसतर्फ विशेष टोली परिचालन नै गरेका छौं ।’ चाडपर्वहरुमा ठुला सुनचाँदी पसलमा जनताले बहुमूल्यको गहना किनबेच गर्ने भएकाले त्यहाँ चोरी डकैटी हुन सक्ने भएकाले त्यसलाई रोक्न सादा पोसाकदेखि निरन्तर गस्तीलाई तिव्रता दिइएको हो । कास्कीमा शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै चाडपर्वको अवसरमा पटका, आतिजबाजी झिरझिरे, भुइचम्पा जस्ता विष्फोटकजन्य पदार्थको प्रयोग कानून विपरित रहेकाले प्रयोग गर्न नहुने बताए । ‘पर्वको बहानामा पटका लगायत विष्फोटकजन्य पदार्थको प्रयोग तथाओसारपोसार र विक्रीवितरण कानून विपरित हो, उनले भने, ‘त्यसैले त्यस्तो क्रियाकलापमा संलग्न भए कानून अनुसार कारवाही गर्छौ ।’ देउसी भैलो राति ९ बजेपछि खेल्न नपाइने जिल्ला प्रशासन कार्यालय कास्कीले राति ९ बजेपछि देउसी भैलो खेल्न नपाउने बताएको छ । जिल्ला प्रकाशन कार्यालय कास्कीका सूचना अधिकारी गुरुदत्त ढकालले कास्कीमा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने जानकारी दिए । ‘जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै हामीले देउसी, भैलो, नाचगान जस्ता कार्यहरु राति ९ बजेसम्म मात्र सञ्चालन गर्न भनेर सुचना जारी गरेका छौं, उनले भने ‘आगामी चुनाव तथा शान्ति सुरक्षालाई मध्यनजर गरेर राती ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाउने निर्णय गरेको हौ ।’ देउसी भैलोको नाममा आपराधिक क्रियाकलाप हुन सक्ने भन्दै राती ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न अनुमति दिएको । गतवर्ष भने राती १० बजेसम्म देउसी भैलो खेल्न अनुमति दिइएको थियो ।
चितवन । राजनीति, समाजसेवा र दानकी खानी मैयाँदेवी श्रेष्ठ अब हामीबीच रहनुभएन । शिक्षा र आध्यात्मिकताको क्षेत्रमा समेत आफूलाई सदा समर्पित गरी तन, मन र धनले लागिपर्नुभएकी श्रेष्ठ सबैका लागि श्रेय र प्रिय हुनुहुन्थ्यो । राजनीतिमा निष्ठा, समाजसेवामा निस्वार्थ भाव र धर्ममा समभाव राख्नुहुने उहाँ नेपाली समाजका लागि साहस, त्याग र समर्पणको पर्यायका रूपमा उभिनुभएको थियो । उहाँ आदर्श, त्याग र समर्पणको प्रतिमूर्तिका रूपमा चिनिनु हुन्थ्यो । श्रेष्ठको आज ९८ वर्षको उमेरमा चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा निधन भएको छ । विसं १९८५ फूलपातीका दिन तनहुँको बन्दीपुरमा बुबा वीरबहादुर श्रेष्ठ र मुमा गणेशकुमारी श्रेष्ठको कोखबाट उहाँको जन्म भएको हो । किशोरावस्थादेखि नै राणाशासनको क्रुर पञ्जाबाट देशलाई मुक्त गर्न राजनीतिमा प्रवेश गर्नुभएकी उहाँ नेपाली इतिहासको जीवन्त पात्र हुनुहुन्छ । विसं २००३ मा नेपाली राष्ट्रिय कांग्रेसमा प्रवेश गरी मुलुकमा प्रजातान्त्रिक हक र हितका निम्ति अनवरत रूपमा उहाँले क्रान्ति गर्नुभयो । विसं २००७ माघ १ गतेका दिन सशस्त्र क्रान्ति गर्ने निर्णयअनुसार भएको कार्यक्रममा उहाँको भूमिका महत्त्वपूर्ण रह्यो । सो क्रान्तिमा छ जना उहाँका साथीले वीरगति प्राप्त गर्नुभएको थियो । तत्कालीन समयमा विसं २००८ मा तनहुँको बन्दीपुरमा सामाजिक नारी सङ्घ खोलेर महिलाको चेतना वृद्धि गर्दै विकासका काममा उहाँ अगाडि बढ्नुभयो । विसं २०११ मा तिरो आन्दोलन सफल बनाउन, विसं २०१२ मा प्रजातान्त्रिक ग्रामीण महिला मण्डल, २०१३ सालमा राप्ती दुन विकास विभाग वितरण समिति, सोही वर्ष नेपाली कांग्रेस जिल्ला कार्यसमितिको सदस्य रहेर उहाँले योगदान दिनुभयो । उहाँको निधन हुनुअघि संवादमा बताएअनुसार विसं २०१४ मा भद्र अवज्ञा आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दा बन्दीपुरमा उहाँ गिरफ्तार हुनुभयो । विसं २०१५ को निर्वाचनमा पार्टीलाई विजयी गराउन उहाँको भूमिका महत्वपूर्ण रह्यो । विसं २०१७ पुस १ गते मुलुकमा स्थापित प्रजातन्त्रलाई कुठाराघात गरी पञ्चायती व्यवस्थाको निरङ्कुश शासन मुलुकमा सञ्चालन भएको अवस्थामा प्रजातन्त्रको पुनःस्थापनाका लागि उहाँ गोप्य रूपमा सङ्गठनमा लाग्नुभयो । विसं २०१७ देखि २०१९ सम्म देवघाटमा बसेर पार्टीका लागि निरन्तर काम गर्नुभयो । विसं २०३६ मा चितवन जिल्ला महिला सङ्घको अध्यक्ष भएर जनमतसङ्ग्रहमा उहाँले भाग लिनुभयो । विसं २०४२ मा सत्याग्रह सफल पार्न भूमिका निर्वाह गर्नुभएकी श्रेष्ठ विसं २०४४ मा बिपी स्मृति दिवसका दिन पक्राउ पर्नुभयो । विसं २०४६ को जनआन्दोलनमा चितवनमा सक्रिय भूमिका निर्वाह गर्नुभएकी उहाँ २०४८ सालमा पार्टीले टिकट दिएपछि गोरखा क्षेत्र नं २ बाट निर्वाचनमा भाग लिई प्रतिनिधिसभाको सदस्यमा विजय हुनुभएको थियो । त्यस्तै गरी २०५३ मा नेपाली कांग्रेस पार्टीको केन्द्रीय पर्यवेक्षकको नवलपरासीको संयोजक भई उहाँले पार्टीले दिएको जिम्मेबारी पूरा गर्नुभएको थियो । ‘सुश्री मैयाँदेवी श्रेष्ठ, व्यक्ति एक ः व्यक्तित्व अनेक’ पुस्तकमा लेखिएअनुसार श्रेष्ठले २०५१ सालको मध्यावधि निर्वाचनमा नेपाली कांग्रेस पार्टीका तर्फबाट केन्द्रीय पर्यवेक्षकको रूपमा सिन्धुलीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । तनहुँ क्षेत्र नं २ बाट नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि एवं महासमिति सदस्यमा उहाँ विजयी भएर काम गर्नुभयो । विसं २०५२ साउन ४ गते नेपाली कांग्रेस केन्द्रीय सङ्गठन विभागको सदस्य पदमा मनोनित हुनुभएकी उहाँ २०५८ साल असार १३ गते राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभयो । विसं २०६२ असार १७ गते उहाँ त्रिभुवन विश्वविद्यालय सभामा मनोनित हुनुभयो । विसं २०६२÷६३ को जनआन्दोलनमा उहाँ सक्रियपूर्वक लाग्नुभयो । विसं २०६४ मा संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट चितवन क्षेत्र नं ३ बाट उम्मेदवार बन्नुभयो । आफ्नो जीवनभर अरूका लागि समर्पित उहाँ दान गरेर कहिल्यैँ थाक्नु भएन । सानातिना उहाँका सहयोगको कुनै गणना नै छैन । नारायणगढस्थित बालकुमारी कन्या स्कूललाई १० कठ्ठा जग्गा उहाँले दान गर्नुभयो । मैयाँदेवी कन्या कलेज चितवनलाई १२ कठ्ठा जग्गा खरिदका साथै भवन निर्माणका लागि लागेको सम्पूर्ण खर्च उहाँले नै बहन गर्नुभयो । नेपाली कांग्रेस भरतपुर वडा नं ३ लाई कार्यालय बनाउन उहाँले जग्गा उपलब्ध गराउनुभयो । उहाँले भक्त थानेश्वर महाप्रभुलाई धार्मिक मन्दिर निर्माणका लागि मैयाँदेवी मार्गमा रु एक करोड बराबरको जग्गा दान गर्नुभएको छ । उहाँले आफूलाई सहयोग गर्ने ऋषि गौतम, हरिनारायण सापकोटा, शिश्वासर बाजे ९पुरेत०, षडानन्द लामिछाने (पुरेत), सुल श्रेष्ठ, सुरला पिया, दुर्गा श्रेष्ठ, सुस्मिता श्रेष्ठ, टिना श्रेष्ठ, टङ्कनाथ पौडेल, स्वामी कैलाशानन्द सरस्वती, थानेश्वर महाप्रभु र मन्दिरा श्रेष्ठलाई भूमिदान गर्नुभयो । यसैगरी देवी कार्की, इन्दिरा (भान्से), ब्रम्हचारी नारायण फलारी बाबा, नेपाली कांग्रेस केन्द्रीय कार्यालय, खिनाकुमारी श्रेष्ठ, पतञ्जली योग समिति, नेवा पुच ः नारायणगढ, विष्णुमाया श्रेष्ठ, दिव्यराज श्रेष्ठ, युनिभर्सल पिस फेडेरेसन, नेपाली कांग्रेस चितवन, नेपाल प्रेस युनियन चितवन लगायतका संस्था र व्यक्तिलाई पनि उहाँले करोडौंँ मूल्य बराबरको जग्गा दान गर्नुभएको पुस्तकमा उल्लेख छ । उहाँका धर्मपुत्र टङ्कनाथ पौडेलले अहिले हिसाब गर्दा आमाले दान गरेका जमिनको मूल्य रु एक अर्ब बढी हुने बताउनुभयो । पछिल्लो समय उहाँको नाउँमा मैयाँदेवी ट्रस्ट खोलिएको छ । नारायणगढको आफ्नो घरजग्गालाई उहाँले ट्रस्टको लागि प्रयोग गर्नुभएको छ । देवघाटमा रहेको ट्रस्टका लागि जग्गा र भवनको व्यवस्था गर्नुभएको छ । जीवनभर अविवाहित रहनुभएकी श्रेष्ठले समाजसेवालाई सर्वोपरी ठानी गरेको योगदानको कदरस्वरूप विभिन्न सङ्घ संस्थाले सम्मान गरेका छन् । उहाँलाई तत्कालीन श्री ५ वीरेन्द्र वीरविक्रम शाहबाट समाजसेवा पदक, सनातन धर्म सेवा समितिमार्फत् राष्ट्रिय सम्मान, जेपी प्रतिष्ठानबाट अभिनन्दन, नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिबाट कदरपत्र, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयबाट सम्मान, तत्कालीन श्री ५ अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहबाट ग्रिनअनर सम्मान प्राप्त गर्नुभएको छ । यस्तै महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयबाट चन्द्राकान्ता राष्ट्रिय महिला शिक्षा सेवा पुरस्कार, नेतृत्व र सुशासनबाट छैठौं विश्व सम्मेलनको अवसरमा जापानको टोकियोमा एम्बेस्डर फर पिसबाट सम्मानित हुनुभएको छ । आफूले प्राप्त गरेका सम्मान तथा पुरस्कारको राशि पनि उहाँले समाजसेवामा नै खर्च गर्नुभएको छ । औपचारिक शिक्षा प्रवीणता प्रमाणपत्र तहसम्म गर्नुभएकी उहाँ २०४८ सालमा प्रतिनिधिसभा सदस्य, २०५८ सालमा राष्ट्रियसभा सदस्य र २०६३ सालमा अन्तरिम व्यवस्थापिका संसद् सदस्य हुनुभयो । नेपाली, नेवारी, हिन्दी र अङग्रेजी भाषामा दख्खल राख्नुहुने उहाँले इजरायल, भारत, बङ्गलादेश, चीन, थाइल्याण्ड, हङ्कङ्, कोरिया, अमेरिका, क्यानडा, बर्मा, इटली, पाकिस्तान, जापान, स्विट्जरल्याण्ड, भियतनाम, इन्डोनेसिया, फिलिपिन्स, बेलायत र कतारजस्ता देशको भ्रमण गर्नुभएको छ । स्वाध्ययन, अध्यात्म चिन्तन, सामाजिक सुधार र सद्भावका लागि राजनीति भन्ने श्रेष्ठको आफ्नो पूर्ण जीवन समाज र राजनीतिमा बित्यो । चितवनलाई मानवबस्ती बसाउन उहाँको महत्त्वपूर्ण योगदान छ ।
काठमाडौं । रामप्रसाद नेपालीले जिल्लाको कावासोतीमा मादलको व्यापार गर्न थालेको २२ वर्ष पुगेको छ । मादल बेचेरै दुई दशक बिताउनुभएका उहाँको पसलमा यसपालि भने ग्राहकको खासै चहलपहल छैन । नयाँ मादल किन्नेको सङ्ख्या निकै न्यून छ । तिहारले छोपिसक्दा केही पुराना मादलमा खरी हाल्न आउने गरेका छन् । तर नयाँ मादल किन्नेको सङ्ख्या निकै न्यून भएको उहाँले बताउनुभयो । “तिहारले छोपिसक्यो, नयाँ मादल तेस्तै २५ वटा राखेको थिएँ, लगभग सबै बाँकी छ, बिक्री भएको छैन, पुरानो केही मादलमा खरी लगाउने कामबाहेक अहिले केही छैन”, व्यवसायी नेपालीले भन्नुभयो, “तिहारमा मादलको किनबेचमा ग्राहको चहलपहल छैन ।” पछिल्लो केही दिनयता दैनिक १० जतिका दरले पुराना मादलमा खरी लगाउने काम आउने गरेको उहाँको भनाइ छ । बाइस वर्षदेखि हुलाकी मादल पसल सञ्चालन गर्दै आउनुभएका उहाँका अनुसार पछिल्लो पाँच वर्षयता तिहारमा मादलको व्यापारमा कमी आउँदै गएको बताउनुभयो । त्यसअघिसम्म नयाँ मादल राम्रै बिक्री गर्दै आएको भए पनि अहिले क्रमशः व्यापारमा कमी हुँदै गएको उहाँको भनाइ छ । “पहिले तिहारमा नयाँ मादलको माग धेरै हुन्थ्यो, खरी लगाउने काम पनि भ्याइनभ्याई हुने गथ्र्यो तर केही वर्षयता घट्दै गएको छ”, उहाँले भन्नुभयो । मादलबाट पहिले राम्रै आम्दानी हुने गरेको भए पनि अहिले बिक्रीमा कमी हुँदा आम्दानीसमेत घट्दै गएको उहाँले बताउनुभयो । तर वर्षौँदेखि आफूले जानेको सीप, किन खाली बस्नु भनेर यही व्यवसाय गरिरहेको नेपालीले बताउनुभयो । अहिले उहाँले नयाँ मादल आकार हेरि रु दुई हजार पाँच सयदेखि रु छ हजारसम्ममा बेच्ने गरको बताउनुभयो । यस्तै पुरानो मादल मर्मत र खरी लगाउन भने कम्तीमा रु एक हजार दुई सय लाग्ने नेपालीले बताउनुभयो । पछिल्लो समय तिहारको देउसीभैलोमा ‘डेक’ बजाउने चलन भित्रिएसँगै मादलको व्यापारमा कमी आएको उहाँले बताउनुभयो । पहिले मादल बजाएर मादलकै भरमा देउसीभैलो खेल्ने चलन भए पनि हिजोआज कलाकारका गीत ‘डेक’मा बजाएर देउसीभैलो खेल्ने गर्दा मादलको प्रयोग घट्दै गएको उहाँको भनाइ छ । “पहिले मादल नभई देउसीभैलो हुन्थेन, अहिले डेकमा गीत बजायो, नाच्यो, सजिलो भयो, त्यसैले मादल खोज्ने कम हुनथाले”, उहाँले भन्नुभयो । पहिले–पहिले देउसीभैलो खेल्ने समूह टोलटोलमा हुने र मादलकै भरमा गाउने नाच्ने चलन भए पनि हिजोआज त्यसमा कमी आएको देवचुलीका प्रेमनारायण रिमालले बताउनुभयो । भए पनि मादलको तालमा गीत गाउने, देउसी भट्याउने चलनमा कमी हुँदै गएको उहाँले बताउनुभयो । “पहिले हाम्रै टोलका दुई, तीन समूह देउसीभैलो खेल्ने हुन्थे, मादलको तालमा देउसी भट्याउने, गाउने, नाच्ने चलन थियो, अहिले गाउँघरमा यस्ता टोली हराउँदै गए”, उहाँले भन्नुभयो, “कहीँकतै समूहमा देउसी खेल्न हिँडे पनि यसो देउसी भट्याएजस्तो ग¥यो, डेकमा गीत लगायो नाच्यो, सजिलो भयो ।” डेकका गीतमा नाच्ने र देउसी खेल्ने गरे पनि पुरानो संस्कृति र देउसीभैलो खेल्दा विभिन्न विषयलाई जोडेर भट्याउने चलनलाई पनि कायम राख्नुपर्ने उहाँको भनाइ छ ।
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ बडहरे निवासी मन्जु श्रेष्ठले गत वर्ष थोरै मात्रामा सयपत्री फूलखेती सुरु गर्नुभयो । तिहारका समयमा उहाँलाई मागअनुसारको फूल पुर्याउन धौधौ भयो । परीक्षणका रूपमा फूलखेती सुरु गर्दा माग अत्यधिक भएपछि उहाँमा त्यही बेला अब व्यावसायिकरूपमा फूलखेती गर्छु भन्ने सोच पलायो । “गत वर्ष उत्पादन भएको फूल नजिकका आफन्तजन, साथीभाइलाई पनि पुर्याउन सकिनँ, तिहारका बेला फूलको धेरै माग हुन्छ”, उहाँले भन्नुभयो, “माग बढी भएपछि यस वर्ष भने दुई रोपनी क्षेत्रफलमा फूल लगाएको छु ।” उहाँले आफ्नै निजी दुई रोपनी जग्गामा यो वर्ष व्यावसायिकरूपमा सयपत्री फूलखेती गर्नुभएको छ । विगतमा तरकारी बेर्ना जमाएर बिक्री गर्ने उहाँले सयपत्री फूल विदेशबाट आउने गरेको थाहा पाएपछि स्वदेशमै उत्पादन गर्नुपर्छ भन्ने भावना विकास भएको बताउनुभयो । “हरेक सामान विदेशबाट आउँछ, हुँदाहुँदै फूल पनि विदेशबाट आउने गरेको देखेपछि आफैँलाई धिक्कार लाग्यो, हामी पनि फूलखेती गर्न सक्छौँ भन्ने सोच र आत्मविश्वास वृद्धि भयो”, उहाँले भन्नुभयो, “फूलमा आत्मनिर्भर गराउन मेरो पनि केही योगदान होस् भन्नका लागि फूलखेती गरेको हुँ ।” फूलमा नेपाललाई आत्मनिर्भर बनाउन सरकारले कृषकलाई सहयोग गर्ने नीति ल्याउनुपर्ने श्रेष्ठको माग छ । “गाउँघरमा जग्गा बाँझै छन्, त्यस्ता जग्गालाई सदुपयोग गर्दै फूलखेती गर्नेतर्फ सरकारले सहयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो । तिहारका बेला फूलको माग बढी हुने गरेको र पु¥याउन मुस्किल पर्ने श्रेष्ठको अनुभव छ । “तिहार सुरु हुन लागिसक्यो, अब माग आउन थाल्छ, तिहारका लागि बजारको समस्या छैन”, श्रेष्ठले भन्नुभयो, “तिहार सकिएपछि पनि यसको बजारका लागि समस्या छ ।” गाउँघरमा हुने सहकारीका कार्यक्रम, अन्य सङ्घसंस्थाका कार्यक्रममा माला बिक्री हुने गरेको छ । “यो वर्ष तिहार छिटो परेकाले फूल उत्पादन हुनै बाँकी छ, तिहारमा समस्या हुँदैन, तिहारपछि भने फूलको बजार खोज्नुपर्ने अवस्था छ”, किसान श्रेष्ठले भन्नुभयो । उहाँले प्रतिथुङ्गा रु चारमा फूल बिक्री गर्दै आउनुभएको छ । फूलखेती गरेको बारेमा आफूले व्यक्तिगत सामाजिक सञ्जालबाट प्रचार–प्रसार गर्दै आएको उहाँले सुनाउनुभयो । “मेरो फूलखेतीका बारेमा त्यति धेरै प्रचार–प्रसार भएको छैन, वडा कार्यालयले पनि सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार गरिदिएको छ”, उहाँले भन्नुभयो । सरकारले केही दिन अगाडि भारतबाट आयात हुने सयपत्री फूलमा प्रतिबन्ध लगाएको छ । तिहारमा करिब ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादन धान्ने गरेको भए पनि १५ प्रतिशत सयपत्री फूल आयात हुने गरेको छ । सरकारको यो निर्णयप्रति श्रेष्ठले समर्थन गर्दै भन्नुभयो, “विदेशी फूललाई प्रतिबन्ध लगाउने सरकारको निर्णय सकारात्मक छ । नेपाललाई फूलमा आत्मनिर्भर बनाउनेतर्फ लाग्नुपर्छ ।” भिमाद नगरपालिका–८ भागरमा तीन युवाले तीन रोपनी क्षेत्रफलमा सामूहिकरूपमा फूलखेती लगाएका छन् । तिहार नजिकिँदै गरेको ७० प्रतिशतमात्र फूल फुलेकाले लक्ष्यअनुसारको फूल बिक्री नहुने हो कि भन्ने चिन्ता लागेको सागर विकले बताउनुभयो । विकले भन्नुभयो, “बजारमा बिक्री केन्द्र राख्ने ठाउँसमेत पाउन मुस्किल परेकाले स्थानीय कृषकको समस्या समाधानमा सरोकारवालाले ध्यान पुर्याउनुपर्छ ।” वैदेशिक रोजगारीबाट फर्केका र स्वदेशमै केही गर्नुपर्छ भन्ने मान्यता राखेर फूलखेतीमा लाग्नुभएका विकसहित विष्णु राना र अमृत कुमालले स्थानीय सरकारले प्रोत्साहन नगरेको बताउनुभयो । फूल उत्पादनका लागि सहयोग गर्न वडा र नगरपालिकामा मौखिक निवेदन दिए पनि सकरात्मक प्रतिक्रिया नपाएको विष्णु रानाले बताउनुभयो । सोही ठाउँका गोविन्द अधिकारीले विगत केही वर्षदेखि फूलखेती गर्दै आउनुभएको छ । स्थानीयस्तरमा आयोजना कार्यक्रममा न्यून सङ्ख्यामा माला खपत भए पनि फूलको बजारमा समस्या रहँदै आएको उहाँको गुनासो छ । तिहारका बेलामा बजारको समस्या नभए पनि तिहारपछिको बजारमा भने समस्या हुँदै आएको उहाँ बताउनुहुन्छ ।
पोखरा : कस्केली अधिकृत समाजले एक समारोहका बीच आज रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिस्ठानका पूर्व कुलपति सरुभक्तको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समसामयिक विभिन्न विषयमा स्रष्टाहरूले रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा सरुभक्तले कविताको वास्तविक मूल्य नै शाश्वत मूल्य भएको बताउनुभयो । नेपालमा साहित्यकारहरू समाज र राष्ट्रका लागि सिर्जना गर्नुपर्छ भन्ने भावनाका साथ कृयाशिल बनिरहेको बताउँदै उहाँले साहित्य तथा वाङ्मयको सेवामा अधिकृतहरूले आआफ्ना तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो । कस्केली अधिकृत समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले साहित्य आँफैंमा महत्वपूर्ण पक्ष भएको बताउँदै यसले सेवा निबृत्त जीवनलाई पनि सिर्जनात्मक बनाउने बताउनुभयो । कार्यक्रम संयोजक बसन्त चालिसेले समाजले अन्य विभिन्न गतिविधिसँगै रचना वाचनका माध्यमबाट साहित्यिक गतिविधि अघि बढाएको बताउनुभयो । कार्यक्रममा पोखरा महानगरपालिका गडा नं ३ का वडा अध्यक्ष प्रकाशमान उदास, सल्लाहकार शिवप्रसाद पराजुली लगायतले बोल्नुभएको थियो । समाजका अध्यक्ष सुवेदीको सभापतित्व एवम् सचिव महेश पौडेलको सञ्चालन र कार्यक्रम संयोजक वसन्त चालिसेले स्वागत गर्नुभएको कार्यक्रममा समाजका सल्लाहकार एवम् अन्तराष्ट्रिय नेपाली साहित्य समाज नेपाल गण्डकी प्रदेश समितिका अध्यक्ष दुर्गाबहादुर शाह ʿबाबाʾ, सल्लाहकारहरू शिवप्रसाद पराजुली, शिवहरि शर्मा, देबेन्द्र केसी(देबु), उपाध्यक्ष लोकनाथ दवाडी, गण्डकी साहित्य संगमका सचिव भीमबहादुर रानाभाट(ज्यालादारी), गण्डकी बाङ्मय समाजका अध्यक्ष डा.कृष्णराज अधिकारी, जिल्ला समन्वय अधिकारी नवराज बराल, रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, रामचन्द्र आचार्य, चन्द्रावती वाग्ले, भगवती बञ्जारा, शिवप्रसाद गौतम, रुजिन्द्र तुलाचन लगायतले कविता, कथा, मुक्तक लगायतका रचना वाचन गर्नुभएको थियो । रचना वाचनका सहभागीलाई सरुभक्त, समाजका अध्यक्ष सुवेदी लगायतले प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।
काठमाडौं : कार्तिक कृष्ण त्रयोदशीको साँझ आज यमदीपदान सुरु गरेसँगै यस वर्षको तिहार अर्थात् यमपञ्चक आरम्भ भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमयातना भोग्नु नपरोस् भनी यमदीपदान गरिन्छ । यमदीपदान परिवार सदस्य सङ्ख्याका आधारमा प्रत्येकको छुट्टछुट्टै दिनुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । यमदीपदान सुरु भएसँगै आजैदेखि घर, व्यापारिक प्रतिष्ठानलगायत स्थानमा दीपावली गरिएको छ । तिहारलाई दीपको पर्व पनि भनिन्छ । यो नेपालीको दोस्रो ठूलो चाड हो । यमदीपदान गरी आज सुरु भएको तिहारको दोस्रो दिन आइतबार कागको पूजा गरी मीठा, मीठा कुरा खाना खान दिइन्छ । सोमबार बिहान जलाशय, नदी, कुवामा गई स्नानसहित बत्ती बालेर बगाइन्छ । यसलाई नरक चतुर्दशी पनि भनिन्छ । यसै दिन बेलुकी लक्ष्मीपूजा गरिन्छ । चौँथो दिन मंगलबार गाईको पूजा गरिन्छ । चौथो दिन बुधबार गोवद्र्धनपूजा, बलीपूजा, हलितिहार, गोरुको समेत पूजा गरेर मनाइन्छ । पाँचौँ दिन बिहीबार दिदी बहिनीले दाजुभाइलाई टीका लगाएपछि पाँच दिन लामो तिहार पर्व समापन हुन्छ । नयाँ भाँडा किनेर मनाइयो धनतेरस, गरियो कुबेरको विशेष पूजा यसैगरी कार्तिक कृष्ण त्रयोदशीकै दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडा कुँडा किनेर ल्याई घरमा राखी मनाइएको छ । यसैगरी आज धनका रक्षक देवता कुबेरको जयन्तीका अवसरमा कुबेरको विशेष पूजा आराधना पनि गरिएको छ । केहीले आज कुबेरको पूजा गरेपनि कुल परम्पराअनुसार कसैले भने लक्ष्मीपूजाकै दिन गर्छन् । आजको दिन ल्याइएको भाँडाकुँडामा कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ । यसरी पूजा आराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीको परम्परादेखिको विश्वास छ । धनतेरसका दिन सुन चाँदीको गहना किनेर ल्याउने प्रचलनसमेत छ । धार्मिक विश्वासकै कारण आज भाँडाकुँडा एवं गरगहना किन्नेको भीड लाग्ने गर्छ । आजको दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशी जस्ता नामले समेत चिनिन्छ । आजका दिन नयाँ भाँडा किनेमा लक्ष्मीले सधैँ घरमा बास गर्छिन् भन्ने धार्मिक विश्वास छ । यस विश्वासका आधारमा भाँडा पसलमा बिहानैदेखि ग्राहकको भीड लागेको थियो । भाँडा पसलमा एक साताअघिदेखि नै तामा, पित्तल लगायत धातुका भाँडा आकर्षक रुपमा साज सज्जा गरी राख्ने गरिन्छ । नयाँ भाँडा एवं गरगहना किन्ने क्रम लक्ष्मीपूजाका दिनसम्म जारी रहन्छ ।
सुर्खेत । सुर्खेत जिल्ला प्रहरी कार्यालयले लागु औषध (ब्राउन सुगर)सहित पाँच जनालाई पक्राउ गरेको छ । सुर्खेतको मुख्य नाका सुब्बा कुनाबाट गाडी चालक वीरेन्द्रनगर नगरपालिका ११ निवासी ३० वर्षीय गङ्गे सुनार, ३९ वर्षीय दीपक ढकाल, ३० वर्षीय नवीन वक्स र डुङ्गेश्वर गाउँपालिका–३ दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१०मा बस्दै आएका १७ वर्षीय लोचन रावललाई दुई पुरिया ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो । गए राति २३ः४५ बजे नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको बा१७च ७९६९ नंको स्कार्पियो गाडी सुब्बा कुनामा जाँच गर्दा चालकको सिट पछाडि सिट कभरको खल्तीमा नापतौल नभएको दुई पुरिया ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । प्रनाउ कार्कीका अनुसार भारतको बहराइज नानपरा घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत गण्डकी लाइन बस्ने २६ वर्षीय लियाकत अलीलाई पनि तीन ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएकोे छ । भेरीगङ्गा नगरपालिका–१२ सुर्खेतमा चेकिङमा खटिएका टोलीले नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको बा५च ३७७२ नंको फोर्स गाडीमा जाँचका क्रममामा अलीलाई पक्राउ गरेको थियो । पक्राउ गरिएका पाँचै जनालाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
तनहुँ । चितुवाको आक्रमणबाट ज्यान गुमाएकी तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीकी ११ वर्षीया वीना चेपाङको परिवारलाई राहत उपलब्ध गराइएको छ । डिभिजन वन कार्यालयले किरिया खर्चबापत मृतकका परिवारलाई रु ५० हजार उपलब्ध गराएको हो । शुक्रबार बिहान ६ः३० बजे चितुवाको आक्रमणमा परी चेपाङको मृत्यु भएको थियो । सहायक वन अधिकृत काशीराज पण्डितका अनुसार मृतकका बुबा चन्द्रबहादुरलाई किरिया खर्च बापत उक्त रकम उपलब्ध गराइएको हो । वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएकालाई राहतस्वरुप रु दश लाख दिने प्रावधान रहेको र बाँकी रकम प्रक्रिया पूरा गरेर पीडित परिवारलाई उपलब्ध गराइने उहाँको भनाइ थियो । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिका २०६९ (संशोधित २०७५) बमोजिम वन्यजन्तुको आक्रमणमा परी सामान्य घाइते भएमा रु पचास हजारसम्म, सख्त घाइते भएमा रु दुई लाखसम्म र मृत्यु भएमा अधिकतम रु दश लाखसम्म उपलब्ध गराउने व्यवस्था छ । बन्दीपुरमा केही समययता चितुवाको आक्रमण बढेकाले चितुवा नियन्त्रणका लागि प्रयास थालिएको छ । चितुवालाई डार्टिङ गरी नियन्त्रणमा लिन तालिमप्राप्त प्राविधिकसँग समन्वय गरिएको उहाँले बताउनुभयो । “अहिले तत्कालका लागि उक्त ठाउँमा खोर राखेका छौँ, केही समयपश्चात् तालिमप्राप्त टोली आएपछि डार्टिङ गरेर चितुवा नियन्त्रणमा लिने प्रयास गरिनेछ”, सहायक बन अधिकृत पण्डितले भन्नुभयो, “यसका साथै स्थानीयवासीलाई सचेत रहन पनि आग्रह गरेका छौ ।” चाडपर्वका बेला चितुवाको त्रास बढेपछि स्थानीयवासी आतङ्कित भएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो । वडा नम्बर १, ३ र ४ मा विगत चार महिनाको अवधिमा चितुवाको आक्रमणबाट दुई जनाको मृत्यु भएको अन्य दुई जना घाइते भएका थिए अहिले झन तिहार सुरु भएकाले स्थानीयवासी त्रस्त छन् । गत असारमा वडा नं १ र ४ मा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको र अन्य दुई घाइते भएका थिए । चितुवाको आक्रमणबाट पछिल्लो पाँच वर्षको अवधिमा १२ बालबालिकाले ज्यान गुमाए का र उनीहरु १२ वर्षभन्दा कम उमेरका थिए ।
पोखरा : सन् २०१० मा बङ्गलादेशको ढाकामा हुन लागेको ११औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)का लागि नेपालले तयारी गर्दै थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जुम्लामा रहेका दुर्गाबहादुर बुढालाई बन्द प्रशिक्षणका लागि काठमाडौँ आउन खबर पठायो । बन्द प्रशिक्षण अवधिभर खेलाडीको खान बस्ने खर्च राखेपले ब्यहोर्ने भयो । तर जुम्लादेखि काठमाडौँ पुग्न बुढा आफैँलै खर्चको जोहो गर्नु पथ्र्यो । थौरै खर्चले नपुग्ने भयो । जुम्ला काठमाडौँ ओहरदोहर गर्न झण्डै रु ५० हजारभन्दा बढी खर्च लाग्थ्यो । बुढाले त्यसका लागि हिम्मत गर्न सकेनन् । उनको परिवार खेती किसानीमै निर्भर थियो । अन्ततः खर्चको जोहो गर्न नसकेपछि बुढाले ११औँ सागको बन्द प्रशिक्षण मन मानेर त्यागे । यो १२ वर्षअघिको कुरा थियो । त्यतिबेला जुम्ला काठमाडौँ बसको सुविधा थिएन । जहाजमै यात्रा गर्नुपर्दथ्यो । जहाज भाडा तिर्न बुढाका लागि सम्भव थिएन । विसं २०६५ मा काठमाडौँमा सम्पन्न पाँचौँ राष्ट्रिय खेलकुदमा बुढा पाँच हजार मिटर र १० हजार मिटर दौडमा तेस्रो भएका थिए । यसबाट उनको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न ढोका खुलेको थियो । “मेरा लागि त्यो ठूलो अवसर थियो, कुनै न कुनै पदक देशका लागि जित्थे, ममा आत्मविश्वास थियो”, बुढा विगत सम्झिन्छन्, “आर्थिक अवस्था निकै कमजोर थियो, अवसर पाएर मन मार्नु पर्यो ।” सागमा सहभागी हुन उनी प्रारम्भिक छनोटमाा परेका थिए । त्यतिबेला जुम्लाबाट सुर्खेतम्मको जहाज भाडा रु सात हजार तथा सुर्खेतदेखि काठमाडौंँको रु १३ हजार थियो । यो उनका लागि असम्भव थियो । खेतीकिसानीबाट यती धेरै आम्दानी गर्नसक्ने उपाय थिएन । “धेरैतिर रकमको जोहो गर्न हार गुहार गरे, कोही दाता भेटिएनन्”, बुढाले त्यतिबेलाको पीडा सुनाए । मुश्किलले साग खेल्न प्राप्त भएको अवसर हातबाट निस्केपछि बुढा एकदमै निराश बने । उनी खेल जीवन त्याग्ने मनस्थिति बनाएर जुम्लाको कन्कासुन्दरी गाउँपालिका ३ स्थित घरमा बसे । “अब खेलमा कहिल्यै फर्किन्न जस्तो लागेको थियो”, बुढाले भने । तर एथ्लेटिक्स प्रशिक्षक हरिबहादुर रोकाया भने बुढालाई त्यसरी हिम्मत हारेर बस्न दिने वाला थिएनन् । किनकि उनले बुढाको क्षमता चिनेका थिए । एउटा प्रतिभा जन्माउन कति मुश्किल हुन्छ त्यो प्रशिक्षक रोकायालाई थाहा थियो । रोकायाले बुढाको ध्यान अल्ट्रा म्याराथनतर्फ मोडे । प्रशिक्षक रोकायालाई पनि उनको खेल जीवनमा अल्ट्रा म्याराथनका लागि प्रस्ताव पटकपटक आएको थियो । रोकायाले आफ्ना चेला बुढालाई अब त्यतैतर्फ केन्द्रित गर्न लगाए । सन् २००९ मा सोलुखुम्बुमा तेञ्जिङ हिलारी एभरेष्ट म्याराथन हुने भयो । प्रशिक्षक रोकायाले यो खबर थाहा पाए । उनले बुढालाई त्यसका लागि तयार पारे । प्रतियोगिता खर्चिलो थियो । रु एक लाख ६० हजार एक्लैले जुटाएर बुढालाई लिएर रोकाया अल्ट्रा म्याराथनमा भाग लिन सोलुतर्फ लागे । उक्त प्रतियोगितामा विदेशी नागरिकसहित एक सय ६४ जनाले भाग लिएका थिए । बुढाले सातौँ स्थान ल्याए । नेपालकै फुर्वा तामा पहिलो भए । यसबाट बुढा र प्रशिक्षक रोकाया उत्साहित भए । रोकायाले बुढाबाट गरेको आशा निराशामा परिणत भएन । दुवै जना उच्च मनोबलका साथ जुम्ला फर्किए । लगत्तै राखेपले सहायक प्रशिक्षकका लागि तालिम खुलायो । बुढा पनि त्यसमा सहभागी भए । “म त्यतिबेला छ महिना काठमाडौँमै बसे”, उनले भने । पन्ध्र वर्षपछि राखेपले उक्त तालिम खुलाएको थियो । “तालिम लिनेमा म सबैभन्दा कम उमेरको थिए”, उनले भने । तर बुढालाई के थाहा तालिम लिँदैमा नेपालमा खेल प्रशिक्षकको जागिर सहजै पाइन्न भनेर । प्रशिक्षकका लागि तालिम खुल्छ, तर अवसर नपाइने देशको सधैँको समस्या थियो । स्थिति अहिले पनि त्यस्तै छ । अवस्था फेरिएको छैन । उनी भारी मन बनाएर जुम्ला नै फर्किए । अब भने बुढालाई खर्च जुटाउन धौधौ पर्न थाल्यो । उनलाई जागिर खुवाउन रोकायाले पनि सक्दो पहल गरे । खासमा रोकाया आफ्नो चेला खेल क्षेत्रबाट पलायन भएको हेर्न चाहन्नथे । प्रशिक्षक रोकायाको मनमा नयाँ जुक्ति आयो । उनले बुढालाई लिएर भारतको बनारसतर्फ लागे । भारतीय “भारतीय सेनामा भर्नाका लागि छनोटको आधार त्यही अल्ट्रा म्याराथनकै प्रमाणपत्र बन्योे, ती प्रमाणपत्र देख्नेबित्तिक्कै भारतीय सैनिक अधिकारी भर्ना लिन तयार भए”, उनले भने । पहिलो पटकमै बुढा भर्ना हुन सफल भए । यो सन् २०११ को कुरो थियो । छनोटका बखत उनलाई दौडाइयो । दुई हजार चार सय मिटर दौड बुढाले चार मिनेट ३७ सकेण्डमा पूरा गरे । यसबाट त्यहाँ छनोट समितिका सैनिक अधिकारी बुढाबाट प्रसन्न भए । “खासमा डिउटी केही हुन्न । जताजता खेल प्रतियोगिता त्यतैत्यतै गएर खेल्नुपर्ने मात्र हुन्छ”, बुढाले सुनाए । उनले हालसम्म यही गर्दै आएका छन् । बुढा जस्तै भर्ना भएका भारतीय सेनामा धेरै नेपाली छन् । खेलको कदर गर्दै उनीहरूलाई भर्ना लिने गरिएको छ । भारतीय सेनाको जागिरले बुढा आर्थिकरुपमा सबल भए । खासमा खेल्न खेलाडीका लागि आर्थिक अवस्था चुनौतीपूर्ण बनेको छ । “धेरै प्रतिभाको जीवनमा आर्थिक पक्ष तगारो बन्दा खेलबाट सन्यास लिएका छन्”, उनी भन्छन्, “गाउँगाउँमा राम्राराम्रा प्रतिभा छन्, भविष्य सुनिश्चित नहुँदा उनीहरु खेल जीवन त्याग्न बाध्य छन् ।” बुढाले बिदामा बसेको समयमा मात्र नेपालमा प्रतियोगिता खेल्ने गरेका छन् । “सकेसम्म नेपालमा हुने कुनै पनि प्रतियोगिता छुटाउँदिन”, उनले भने । भारतीय सेनामा भर्नापछि २०७२ सालमा उनले बाँकेको नेपालगञ्जमा तेस्रो धारा म्याराथन खेले । यो उनको नेपालमा खेलेको पहिलो म्याराथन थियो । निर्धारित दूरी दुई घण्टा २६ सेकेण्डमा पूरा गर्दै उनी पहिलो भए । लगत्तै झापामा भएको १५ हजार मिटर दौडमा पनि उनी पहिलो भए । धनगढीमा भएका जेसिज म्याराथनमा त बुढा चार पटक पहिलो भएका छन् । बुढाले चार वर्षअघि नेपालगञ्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदमा कर्णालीको प्रतिनिधित्व गर्दै १० हजार मिटर दौडमा भाग लिए । उनले स्वर्णपदक जिते । पाँच हजार मिटर दौड र म्याराथनमा उनले रजत पदक प्राप्त गरे । “लगातार दौडिनुपर्दा पाँच हजार मिटर दौड र म्याराथनमा सोचे जस्तो परिणाम ल्याउन सकिएन”, उनले भने । आठौँ राष्ट्रिय खेलकुदमा पनि कर्णालीले दुई वटा मात्र स्वर्ण जितको थियो । त्यतिबेला कर्णालीले तीन रजत जितेको थियो । जसमा बुढाका नाममा एउटा स्वर्ण र दुई वटा रजत थियो । यसपटक गण्डकीमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि बुढाले एउटा स्वर्ण र एउटा रजत पदक प्राप्त गरे । उनी कर्णाली प्रदेश स्तरीय प्रतियोगितामा पहिलो हुँदै पोखरा आएका थिए । तीन हजार मिटर दौडमा उनले स्वर्ण जिते । पाँच हजार मिटर दौडमा भने बुढा सेकेण्डले मात्र स्वर्ण पदकबाट चुके । कर्णालीका दुई खेलाडीले मात्र यसपाली स्वर्ण पदक जितेका छन् । पुरुषतर्फ उसुको नान छ्वान राउण्डमा कर्णालीका लागि दीपक हमालले स्वर्ण पदक जितेका छन् । बुढाले एथ्लेटिक्सको तीन हजार मिटर स्टेपल चेजमा स्वर्ण जित्दा विभागीय टोली आर्मी, एपिएफ र पुलिस क्लबले विरोध गरे । बुढा भारतीय सेनाको जागिरे भएको र भारतमा समेत प्रतियोगिता खेल्दै आएकाले नेपालमा खेल्न नपाउने भन्दै तीनवटै क्लबले विरोध गर्दै उजुरी हाले । बुढाले भारतीय टोलीको नेतृत्व गर्दै एशियन च्याम्पियनसिप खेलेका थिए । यही कारण देखाउँदै विभागीय टोली बुढालाई यसपाली खेल्नबाट रोक्ने प्रयासमा थिए । विरोधका बाबजुद मैदानमा उत्रिएका उनले विभागीय खेलाडीलाई उछिने । बुढाले कीर्तिमानी स्वर्णपदक जिते । उनले एपिएफका अजित यादव र आर्मी क्लबका सुवास कार्कीलाई पछि पारे । बुढाले उक्त दौड आठ मिनेट ५५ दशमलव १९ सकेण्डमा पूरा गरेका थिए । यस्तै एपिएफका यादवले सो दौड नौ मिनेट २१ दशमलव १० सेकेण्ड तथा आर्मीका कार्कीले नौ मिनेट २२ दशमलव १५ सकेण्डमा पूरा गरे । बुढाले १८ वर्षअघि धावक राजेन्द्र भण्डारीले बनाएको ८ मिनेट ५७ दशमलव ३० सेकेन्डको कीर्तिमान तोडेका हुन् । भण्डारीले सन् २००४ मा पाकिस्तानको इस्लामवादमा उक्त कीर्तिमान बनाएका थिए । “लामो समयदेखि देशका लागि खेल्दै आएको छु । यसपाली मेरो सहभागितालाई लिएर किन यतिसारो विरोध भयो, बुझ्न सकिरहेको छैन”, बुढाले भने, “म जता भए पनि आवश्यक पर्दा मेरो प्रदेश र देशका लागि खेल्दै आएको छु । देशका लागि जस्तोसुकै त्याग गर्न पनि तयार छु । मेरा लागि विदेशमा गएर जागिर खानु बाध्यता हो । मैले वर्षौं आफ्नै देशमा रोजगारीका लागि प्रयास गरे । निकै तड्पिए । खेल जीवन नै त्याग्ने अवस्थामा पुगे ।” अहिलेसम्म जितेका पदकका लागि उनी प्रशिक्षक रोकायालाई श्रेय दिन्छन् । “रोकाया गुरुको ढाडसले मात्र म खेल जीवनमा छु, नत्र गुमनाम हुन्थे”, बुढाले भने । राज्यले नेपालमै बसेर खेल्ने वातावरण बनाए जस्तोसुकै त्याग गर्न बुढा तयार छन् । उनी भन्छन्, “खेल्नुभन्दा अघि बाँच्न जरुरी छ, म खेलाडीका रुपमा जीवित रहनकै लागि अर्काको देशमा गएको हुँ । भविष्यमा म आफ्नै देशमा खेल्न र खेलाडी उत्पादन गर्न चाहन्छु ।” बत्तीस वर्षीय बुढा परिवारका कान्छो सन्तान हुन् । खेलकुदमा परिवारका अरु कोही पनि छैनन् । उनले चार कक्षासम्म सुर्खेतमा पढे । त्यतिबेला उनका बुबा विद्यालयमा पढाउँथे । बुढा पाँच कक्षादेखि पढ्न जुम्ला नै उक्लिए । बुढा सुर्खेतमै जन्मिएका हुन् । जुम्ला सदरमुकाम खलङ्गास्थित चन्दननाथबाट १० कक्षा उत्तिर्ण गरेका उनले त्यसपछि १२ कक्षासम्म जुम्ला बहुमुखी क्याम्पसमा पढे । सुर्खेतबाट जुम्ला उक्लिएपछि बुढा खेलप्रति आकर्षित भए । सुर्खेतमा त्यो वातावरण थिएन, जुन उनले जुम्लामा पाए । “प्रशिक्षक रोकायाका कारण खेलप्रति आकर्षित भएको हुँ”, उनले भने । रोकायाको नाम दुर्गम गाउँगाउँसम्म खुब प्रचलित थियो । सबै जुम्ली हरि रोकाया बन्न चाहन्थे । जोसुकैको पनि इच्छा खेलमा लागिसकेपछि हरिजस्तै बन्ने हुन्थ्यो । बुढाले पहिलो पटक जिल्लास्तरीय प्रतियोगितामा रोकायालाई देख्न पाए । रोकाया नै बुढासँग नजिकीए, जब उनले १५ सय मिटर दौडमा स्वर्णपदक जिते । रोकायाले उनलाई रु तीन सय पुरस्कार दिए । यो तीन सय पुरस्कारले बुढामा निकै ऊर्जा थप्यो । बुढा पहिलो पटक यसरी प्रतियोगितामा दौडिएका थिए । त्यतिबेला उनी १० कक्षामा पढ्थे । खलङ्गामा बुढा डेरामा बस्थे । रोकाया उनको खेलबाट प्रभावित भएर बुढालाई आफ्नै घरमा बस्न बोलाए । बुढाका लागि रोकायाको प्रस्ताव ढुङ्गा खोज्दा देउता मिले झैँ भयो । अहिले पनि रोकायाले नयाँ प्रतिभालाई आफ्नै घरमा राखि अभ्यास गराउँछन् । रोकायाको प्रशिक्षण पाएर क्षेत्रीय प्रतियोगिता खेलेका बुढाले पहिलो पटकमै १५ सय मिटर, पाँच हजार मिटर र १० हजार मिटर दौडमा कर्णालीका लागि स्वर्णपदक जिते । हालसम्म पनि उनी रोकायाकै प्रशिक्षणमा प्रतियोगिता खेल्दै आएका छन् । “रोकाया गुरुको प्रशिक्षणबिना मेरो सफलता सम्भव थिएन”, खुसी व्यक्त गर्दै कीर्तिमानी स्वर्ण पदकधारी बुढाले भने । एउटा असल खेल प्रतिभा मर्नबाट मात्रै जोगाएको ठान्छन् प्रशिक्षक रोकाया । “उसले ९बुढा० देशकै लागि खेलिरहेको छ । विदेशमा जागिर खानु बाध्यता हो । बुढा मात्र होइनन् अरु धेरै प्रतिभा नेपालमा खेल्ने वातावरण नहुँदा विदेशिन बाध्य छन् ।” प्रतिभा पलायन हुनबाट रोक्न राज्यको कुन निकायले के योजना बनाएका छन् यसबारे आफू अनविज्ञ रहेको रोकाया बताउँछन् । खेलकुद विभागीय टोलीको भरमा छोडेकामा प्रशिक्षक रोकायाको मन खिन्न छ । “आर्मी, पुलिस र एपिएफ क्लबको जिम्मा मात्र लगाउने भए राज्यले किन खेलकुदमा यतिधेरै पैसो खेर फालिरहेको छ”, उनको प्रश्न छ । विभागीय टोलीबाहेक अरु प्रदेशको खेलस्तर खस्किँदै गएकामा प्रशिक्षक रोकाया चिन्तित् छन् । “म एउटा प्रशिक्षकले मात्र चिन्ता गरेर केही नहुने रहेछ । मैले त रात दिन दुर्गममा खेलाडी उत्पादन गरिरहेकै छु”, २७ वर्षदेखि कर्णालीको दुर्गम जुम्लामा खेलाडी उत्पादन गर्दै आएका गिनिज बुक अफ वल्र्ड कीर्तिमानी रोकायाले भने । प्रशिक्षक रोकायाले सन् २००० मा विश्वकै अग्लो ठाउँमा एभरेष्ट म्याराथनमा विश्व कीर्तिमान राखेका थिए । तीन घण्टा ५० मिनेट २३ सेकेन्डको कीर्तिमान उनले गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ज गराएका हुन् । रोकाया आफ्ना खेलाडीका लागि खेल सामग्री आफैँ जुटाउँदै आएका छन् । भन्छन्, “राज्यको भर परे नयाँ खेलाडी उत्पादन गर्नै सकिन्न ।”

