पर्वत । कृषिकर्म गरिरहेका कृषकलाई मेहेनत गरेअनुसार अन्नबाली उत्पादन भएको छ ? भनेर प्रश्न गर्ने हो भने अधिकांशको उत्तर आउँछ ‘कहाँको उत्पादन हुनु ? नगरी नभएर हो ।’ उनीहरूको जवाफ पनि सही हो । खेतबारीमा जति मेहेनत गरिएको हुन्छ, त्यसको तुलनामा अन्न उत्पादन नहुँदा धेरै कृषकले वैकल्पिक बाटो रोजेका छन् त कतिले व्यावसायिकरूपमा भन्दा आफूलाई काम चल्ने गरेर मात्रै खेतीपाती गर्ने गरेका छन् । यो नतिजा आउनुको एक प्रमुख कारणका रूपमा माटो परीक्षण नगरीकनै खेतीबाली लगाउनु भएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले बताउनुभयो । कृषकलाई व्यावसायिकरूपमा कृषिमा आकर्षण गरी थोरै माटोको अवस्थाअनुसारको खेती गर्न भन्दै गण्डकी प्रदेश सरकारले २०७८ सालदेखि प्रदेशका हरेक कृषि ज्ञान केन्द्र माटो परीक्षणका लागि ‘मिनी ल्याब’ स्थापना गरेको छ । गत वर्षको साउनदेखि हालसम्मका १३ महिनाको अवधिमा कुल २२ वटा नमूनाको मात्रै परीक्षण भएको छ । त्यो पनि कृषकले ल्याएको नभई ज्ञान केन्द्र आफैँले माटो ल्याएर । विगतका वर्षमा जस्तो माटो परीक्षणका लागि पोखरा नै जानुपर्ने अवस्था रहेको भए ती २२ वटा नमूना पनि आउने थिएनन् । तर जिल्लामै परीक्षण हुने भएकाले कार्यालयको सक्रियतामा जिल्लामा मोटोको अवस्थाका बारेमा थाहा पाउन सजिलो भएको छ । माटो परीक्षणको क्रममा माटोमा रहने धेरै प्रकारका खाद्य तत्वको अवस्थाबारे पत्ता लगाइन्छ । ठूला अनुसन्धानमा सबै प्रकारका खाद्य तत्वको परीक्षण गरिने भए पनि कृषकलाई लक्षित गरेर गरिने परीक्षणमा नाइट्रोजन, फस्फोरस र पोटासको परीक्षण गर्ने गरिन्छ । यसबाहेकका अन्य दुई प्रकारका खाद्य तत्वलाई पनि अवस्थाअनुसार परीक्षण गरिन्छ । माटोमा रहेका पाँच प्रकारका तत्वको परीक्षण गर्दा खास लाग्ने शुल्क रु पाँच सय हो । तर कृषि ज्ञान केन्द्रले कृषकलाई रु एक सयमा नै परीक्षण गर्दै आएको छ । विद्यार्थी वा अन्य प्रयोजनको अनुसन्धान गर्न माटो परीक्षण गर्नेले भने रु तीन सय तिर्नुपर्छ । निकै सुलभ दरमा माटो परीक्षण हुँदा पनि कृषक भने परम्परावादी तरिकामा आफ्नै ढङ्गले खेती गरिरहेका छन् । जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारीका रामकृष्ण लामिछानेले जिल्लामा माटो परीक्षण हुन्छ भन्ने थाहा पाए पनि त्यसका लागि नगएको बताउनुभयो । “माटो परीक्षण हुन्छ भन्ने त थाहा थियो, त्यही पनि खै अरूले माटो लगेको देखेको छैन, मैले पनि लगेको छैन । अन्न फल्नै छाडे त के भयो भनेर खोजी हुने थियो होला”, उहाँले भन्नुभयो, “बरु अब एकचोटी लगेर देखाउन पर्ला । यहाँको जमिनमा राम्रो उत्पादन हुने भएकाले पनि यतातिर परीक्षणमा खासै कसैको रुचि देखिन्न ।” वरिष्ठ कृषि विकास अधिकृत थापाले यसमा कृषकको चासो निकै कम भएको बताउनुहुन्छ । गाउँमा रहेका कृषि फार्म तथा विभिन्न अनुगमनका लागि जाने बेलामा परीक्षणका लागि आउन भनिए पनि कृषक नआएको उहाँको अनुभव छ । बिरामी परेको मान्छेलाई अस्पताल नलगी घरमै राखेर ‘एक–दुई दिन विचार गरौँ न १’ भन्ने मानसिकता रहेको बेलामा माटोको खोजी गर्नु परको कुरा भएको उहाँको भनाइ छ । “मान्छे नै बिरामी परे पनि एक–दुई दिन हेरौँ, भएन भने लैजाउँला भन्ने मानसिकता अझै पनि भेटिन्छ । मान्छेलाई त समयमा उपचार नगर्ने अवस्थामा माटोको उपचार गर्न कसलाई पो चासो लागोस ?” उहाँले भन्नुभयो, “तर जब कुरा बुझ्नुहुन्छ, त्यसपछि कृषक आफैँले माटो बोकेर आउनुहुने छ । यसको फाइदाका बारेमा जानकार नभएर पनि चासो नभएको होला ।” कृषकहरू यसमा आकर्षित नहुनुको कारण ज्ञान केन्द्रको सक्रियता यो भन्दा पनि बढी आवश्यक भएको हुनसक्ने अहिलेसम्म आफूहरूले सकेसम्म प्रचार–प्रसार गरिरहेको उहाँको भनाइ छ । कृषकले परीक्षणका लागि माटो नल्याएको भए पनि कृषि ज्ञान केन्द्रले अनुगमन वा कार्यक्रममा गएको बेलामा फरक–फरक ठाउँबाट माटोको नमूना ल्याएर परीक्षण गर्ने गरेको छ । त्यो नतिजालाई हेर्दा नेपालभर रहेको अवस्थाभन्दा पर्वतको माटो झनै बिग्रिएको अवस्थामा रहेको पाइएको छ । नेपालको माटोको पिएच हेर्दा राष्ट्रियरूपमा ६० प्रतिशत छ । यो आफैँमा माटोको कमजोर अवस्था हो । जबकि पर्वतको माटोमा त्यही पिएचको अवस्था ८४ प्रतिशत रहेको पाइएको छ । २२ वटा नमूनाको परीक्षणबाट यो अवस्था देखिएको र यसले कृषि उत्पादनलाई विस्तारै कमजोर पार्दै लगेको थापाको भनाइ छ । माटोमा नाइट्रोजन र फस्फोरसको मात्रा जति धेरै भयो उति नै राम्रो हुने भए पनि पर्वतको माटोको अवस्था मध्यम देखिएको छ । माटोको गुज्रिएको अवस्थाका कारण नै माटोको शक्ति जोगाउन सबै कृषकलाई कार्यालयमा आएर यसबारेमा आह्वान गरिएको उहाँले बताउनुभयो । माटोको अवस्था यही गतिमा खस्किँदै जाने हो भने केही वर्षपछि उत्पादन शून्य अवस्था आउन सक्ने र भोकमरीको अवस्था आउन सक्ने थापाले बताउनुभयो ।
म्याग्दी । म्याग्दीको प्रमुख निकासीयोग्य फलफूल सुन्तलामा नयाँ रोग देखिएको छ । दानाको बोक्रामा थोप्ला–थोप्ला दाग लागेर स्वरुप बिगार्ने ‘स्केल’ रोग देखिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख किरन सिग्देलले स्केलको दागले सुन्तलाका दानालाई विफर लागेको जस्तो स्वरुप बिगार्ने समस्या देखिएको बताउनुभयो । “अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेको बगैँचामा पुगेर स्थलगत निरीक्षण र नियन्त्रणका उपायका विषयमा कृषकलाई परामर्श दिएका छौँ”, उहाँले भन्नुभयो, “सुन्तलाको दानालाई कुरुप बनाउने स्केल रोग नियन्त्रणका लागि जिल्लाव्यापी अभियानको तयारीमा छौँ ।” सिग्देलका अनुसार स्केल रोग म्याग्दीको सुन्तला बगैँचामा देखिएको नयाँ समस्या हो । फल टिपेपछि प्रति एक लिटर पानीमा १० मिलीलिटरका दरले सर्वो आयल मिसाएर सुन्तलाको बोटमा छर्केपछि यो समस्या समाधान गर्न सकिने सिग्देलले बताउनुभयो । यसैबीच यसअघिका वर्षमा म्याग्दीको सुन्तला बगैँचामा फैलिएको फ्रुट फ्लाइका कारण दाना झर्ने समस्या यसपालि कम भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । झरेका दानालाई पलाष्टिकको थैलोमा राखेर व्यवस्थापन गरिएपछि यसपालि समस्या कम भएको हो । आगामी वर्ष पनि यस्तो समस्या आउन नदिनका लागि कृषकलाई पलाष्टिकको थैलो वितरण गर्न लागिएको छ । म्याग्दीको राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैँचा छन् । सात सय छ हेक्टरमा सुन्तला जात फलफूलको खेती भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । गत वर्ष तीन सय ५५ हेक्टरमा लगाइएको बोटबाट दुई हजार एक सय ८० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।
म्याग्दी । तीन दशकदेखि म्याग्दीको बेनी नगरपालिका–२ खबरामा व्यावसायिक तरकारी र फलफूल खेती गर्दै आउनुभएका ५८ वर्षीय चन्द्रबहादुर कार्की आफ्नो खेतीबारीमा फलेका तरकारी र रैथाने जातका खाद्यान्न देखेर दङ्ग पर्नुहुन्थ्यो । कुनै पनि विषादीको प्रयोग नगरीकन खेतबारीमा लटरम्मै भएर फलेका तरकारी, फलफूल, हिउँदे र बर्खेबाली बिक्री गरेर लभ्लीहिलमा तीनतले पक्कीघर र सदरमुकाम बेनी बजारको मङ्गलाघाट घरघडेरी जोड्न सफल कार्की अहिले भने कृषि पेसाबाट वितृष्णा जागेको बताउनुहुन्छ । जिल्लाकै अगुवा कृषक कार्कीलाई कृषिमा वितृष्णा त्यत्तिकै आएको होइन । आग्र्यानिक तरकारीमात्रै फलाउने र बिक्री गर्ने कार्कीले ‘इमानदार कृषक’को पहिचानमा नै विषादीको दाग लाग्न थालेपछि कृषि पेसाप्रति वितृष्णा जागेको हो । माटोको उर्वराशक्तिमा ह्रास आउँदै गएपछि आग्र्यानिक रैथाने कृषि उत्पादन अब तीव्ररूपमा घट्दै गएको र विषादीको प्रयोग गरेर खेती गर्न आफ्नो मनले नमानेको हुँदा वर्षौँदेखि गर्दै आएको ‘खेती गरौँ कि छाडौँ’ को स्थितिमा पुगेको उहाँले बताउनुभयो । “मैले सुरुदेखि नै आग्र्यानिक रैथाने जातका खेतीलाई महत्व दिएँ, यहीँ माटोमा पसिना बगाएर पुग्दो सम्पत्ति पनि जोडेँ”, कार्कीले भन्नुभयो, “विगत पाँच–छ वर्षयता माटोमा अम्लियपना बढ्दै गयो, रैथाने बीउबाट फसल उत्पादन घट्दै जान थाल्यो, विषादीको प्रयोग नगर्ने हो भने रोग र किराको समस्याले सताउन थाल्यो”, उहाँले भन्नुभयो । “अचेल त विष प्रयोग नगरी तरकारी फल्दैन, बाली पाक्दैन । प्रत्येकको घरको भान्सामा विष मिसिएको तरकारी नपकाइ सुखै छैन”, कार्कीले भन्नुभयो । कृषिमा निर्भर नेपालको आर्थिक प्रणाली प्रभावित हुने गरी जलवायु परिवर्तनको असर देखिन थालेको छ । फलफूलहरु ढिलो पाक्न थालेका छन्, वातावरणीय सन्तुलन किग्रँदै जान थालेको र रैथाने जातका बीउ अभाव हुँदा खाद्य सुरक्षामै प्रश्न उठ्न थालेको छ । कृषि वैज्ञानिक टीकाबहादुर कार्कीका अनुसार जलवायु परिवर्तनका कारण यस्ता समस्या म्याग्दीमा मात्रै होइन, जताततै देखिन थालेका छन् । उहाँ भन्नुहुन्छ, “जलवायु परिवर्तनका कारण रैथाने जातको उत्पादन कम हुँदै जान थालेका छन् । कतिपय स्थानीय जातका बीउहरू त लोप पनि भइसकेका छन् ।” कृषि प्रणालीका हरेक पक्षमा नकारात्मक प्रभाव परिरहेको छ । परिवर्तित जलवायु सुहाउँदो खेती गर्ने प्रयास नगरिँदा यसले नेपालको खाद्य सुरक्षामा नै दीर्घकालीन प्रभाव पारिरहेको कृषि विज्ञहरुको भनाइ छ । किसानका अनुसार सुन्तला, आँपलगायतका फलफूलमा कोपिला लाग्ने, फूल फुल्ने र फल पाक्ने समय पनि परिवर्तन भएको छ । सुन्तला मङ्सिरमा पाक्न थालेको छ । पहिला–पहिला माघमा कोपिला लागेर फागुनमा आँपको फूल फुल्थ्यो भने अहिले आँपको फूल कि त चैत कि त वैशाखमा फुल्न थालेको कृषकले बताएका छन् । कृषि प्राविधिक जगत बानियाँ अनपेक्षितरूपमा कम वा बढी वर्षा हुँदा सिमी, आलु, करेला, भिन्डी, काँक्रो, बोडी र घिरौँलाजस्ता तरकारीको गुणस्तर र रङ तथा स्वाद पनि बदलिएको बताउनुहुन्छ । हिउँदमा खेती गर्ने काउली र बन्दाजस्ता तरकारीका फलको आकार पछिल्लो वर्ष सानोभन्दा सानो हुँदै गइरहेको छ । बालीनालीमा मात्रै होइन, पशुलाई खुवाउने घाँसमा पनि औषधि हाल्नुपरेको किसानको गुनासो छ । “घाँसमा पनि विषादी नहाल्ने हो भने बोट मर्ने र छिटो ओइलाउने हुन थाल्यो, मैले त घाँसमा पनि विषादीको प्रयोग गर्ने गरेको छु”, कृषक तीर्थ सापकोटाले भन्नुभयो । खाद्यान्नमा झैँ पशुले खाने घाँसको पनि पोषण र गुणस्तरमा प्रभाव पर्नु सामान्य हो । घाँसमा विषादीको प्रयोग गर्दा दूधदेखि मासुसम्मका पशुजन्य उत्पादनमा असर पर्ने कृषि प्राविधिक बताउँछन् ।
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका भू–भागमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहनेछ । आज काठमाडौँ उपत्यकाका आकाश बिहानैदेखि सामान्य बदली रहेको छ । शुक्रबार पनि प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । आज काठमाडौँको अधिकतम तापक्रम ११ र न्यूनतम तापक्रम २५ डिग्री सेल्सियस छ ।
काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । भाइटीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११:३७ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो । आज दिनभर भाइटीका लगाउन कुनै समस्या नरहेको उहाँले सुनाउनुभयो । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ । यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । बिहान ८ः४२ बजेपछि चन्द्रमा वृश्चिक राशिमा प्रवेश गर्ने छन् । त्यसअघि चन्द्रमा तुला राशिमा रहने छन् । तुलामा चन्द्रमा भएका बेला पनि सोहीअनुसार टीका लगाउन सकिने छ । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदी बहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ । तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार–प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ । दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि बालगोपालेश्वर खुला दिदी–बहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । बिहीबार बिहानैदेखि बालगोपालेश्वर मन्दिर भक्तजनका लागि खुला गर्न सबै तयारी पूरा भएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । खञ्जनेश्वर महादेवमा भक्तजन यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्यसचिव डा गोविन्द टण्डनले राससलाई जानकारी दिनुभयो । “विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदी–बहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदी–बहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भीड लाग्छ”, उहाँले भन्नुभयो । विसं २०३५ पछि नियमितरूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । सात वर्षअघिको गोरखा भूकम्पले बालगोपालेशवर मन्दिर क्षतिग्रस्त बनेपछि विसं २०७७ सम्म खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवं दाजुभाइ नहुने भक्तजनको भीड लाग्न थालेको हो । बालगोपालेश्वर मन्दिर भूकम्पपछि विसं २०७७ देखि मात्र भक्तजनका लागि पुनः खुला गरिएको हो । भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन् । नेवार समुदायमा कूल परम्पराअनुसार कसैले आज र कसैले भोलि भाइटीका अर्थात् किजापूजा मनाउँछन् ।
दैलेख । लिङ्गे पिङबाट लडेर १८ वर्षीय युवकको मृत्यु भएको छ । नारायण नगरपालिका–६ काँडाचौर बसपार्कमा पिङ खेल्ने क्रममा लडेर नारायण नगरपालिका–६ का १८ वर्षीय नवराज बोगटीको मृत्यु भएको हो । पिङ खेल्न सुरु गरेलगत्तै दुईपटकसम्म पिङमा मच्चिएका उनी एक्कासी पिङबाट लडेका थिए । स्थानीयले उनको उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालय दैलेख लगेको भए पनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले प्रहरीलाई जानकारी दिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वर शाहले बताउनुभयो । जिल्लाभर पिङ हाल्ने र खेल्ने प्रचलन धेरै छ । पिङ खेल्दा सुरक्षा अपनाउन जिल्ला प्रशासन कार्यालय दैलेखले सबैलाई अनुरोध गरेको छ ।
काठमाडौँ । लक्ष्मीपूजाको दिन भैली र गोवर्धन पूजाको दिन देउसी खेल्ने नेपाली मौलिक धार्मिक परम्परा विस्तारै लोपहुँदै गएको छ । झिलिमिली साँझमा घरका दैलोमा आएर भैली खेल्ने, आगनभरी घुमेर देउसी खेल्ने विगतका सांस्कृतिक मौलिक परम्परा आजभोलि विरलै देख्न पाइन्छ । सहरी क्षेत्रमा तिहार पर्व प्रारम्भ हुने वित्तिकै लक्ष्मीपूजा वा गोवर्धन पूजा नै नगरी देउसी खेल्न प्रारम्भ गरिन्छ । त्यो देउसीमा चलचित्र गीत, माया पिरतिका गीत, पप, ¥याप गीत गाउने गएर देउसीभैली खेल्ने गरेको देखिन्छ । कान्तिपुर दैनिकका सम्पादक उमेश चौहानले आफ्नो फेसबुक पेजमा पोखरा लेकसाइडमा खेलिएको देउसीको गीत राख्नुभएको छ । त्यो देउसी गीतमा भनिएको छ, “कहाँ गयो जुरेली किन गीत गाउँदैन, तिम्रो जति माया त लालुमै किन होला कसैको लाग्दैन ।” पोखरामा मात्र होइन । राजधानी काठमाडौँ, चितवन, विराटनगर, नेपालगञ्ज, बुटवल, हेटौँडाजस्ता देशका धेरैजसो सहरी क्षेत्रमा र केही मात्रामा ग्रामीण क्षेत्रमा अहिले देउसी र भैलीमा अन्य गीतहरु गाउने चलन बढ्दै गएको छ । यस्ता कार्यले देउसीभैलीमा नेपालीपन मासिँदै जाने जोखिम देखिएको छ । धार्मिक तथा संस्कृतिविद् डा गोविन्द टन्डनका अनुसार तिहार पर्वमा देउसीभैली खेल्ने मौलिकपन हराउँदै गएको छ । “तिहारमा बत्ती र फूलको झिलिमिलीमा जुन पवित्र उद्देश्यका साथ देउसीभैली खेलिन्थ्यो” उहाँले भन्नुभयो, “अहिले र सिमेनामा गीत गाएर नाच्ने, भोजपुरी, अन्य गीतमा नाच्ने गाउने गरेको देखिन्छ, त्यो तिहारको संस्कृति होइन ।” तिहारको महत्व बुझाउनका लागि राज्यले पाठ्यपुस्तकमा विस्तृतरुपमा राख्ने, अन्य कार्यक्रम आफैले आयोजना गरेर मौलिकपनलाई जोगाइ राख्नुपर्ने उहाँको भनाइ छ । सांस्कृति विचलन देखियो: डा टन्डन धार्मिक मान्यता अनुसार अहिले देउसीभैली खेल्न प्रचलनमा कमी आएको छ । “धार्मिक मान्यता अनुसार देउसीभैली खेल्ने मूल तत्व हराउन थाल्यो, सिनेमाको गीत गाएर, अरुअरु गीत गाएर नाच्न थाले” सांस्कृतिविद् डा टन्डनले थप्नुभयो,“एतिहासिक र पुरानो शैलीलाई छाड्दै गएर अन्य गीतमा नाच्नु संस्कृति विचलन हो ।” तिहार अर्थात यमपञ्चकको पाँच दिन नै अत्यन्तै महत्वपूर्ण भए पनि राज्यले यो पर्वको महत्व बुझाउने गरेको नपाइएको उहाँको बुझाइ छ । तिहार सयपत्री, गोदावरी र मखमलीको पर्व मात्र होइन । फूलको व्यापार गरेर आम्दानी पनि गर्न सकिन्छ । तिहारमा जुन जुन जनावरको पूजा गरिन्छ । ती सबै मानिसको जीवनमा अत्यन्तै नजिकबाट जोडिएका छन् । देउसी भैलीको एतिहासिक पक्ष देउसीभैली भन्ने वित्तिकै तिहार पर्व भन्ने बुझिन्छ । तर तिहार पर्व कहिले ? कुन मितिबाट प्रारम्भ भयो ? भन्ने एकिन नभए पनि झिलिमिली पर्वका रुपमा तिहार मनाउनुका विभिन्न आधार छन् । धार्मिक ग्रन्थ रामायणमा भगवान रामले वनबास सकेर आएपछि अयोध्यामा फर्केपछि खुसीयाली मनाउनका लागि दिपावली गरिएको भन्ने प्रसङ्ग छ । अर्को प्रसिद्ध धामिक प्रसङ्ग बलि राजासँग जोडिएको छ । राजा बले शक्तिशाली र धनाढ्य दानव अहंकारी राजा थिए । बलिराजाको मुख्य उद्देश्य भनेको देवीदेवतालाई आफ्नो अधिनमा कजाएर राख्ने थियो । त्यसले गर्दा देवीदेवतामा त्रास बढ्दै गयो । सबै देवीदेवता मिलेर एक दिन भगवान विष्णुसँग गएर भने । त्यो सुनेपछि भगवान विष्णुले सानो भिक्षु भनेर बलि राजाको कहाँ जानुभयो । राजा बलिले तिमी यति सानो मान्छे किन भीक्षा मागेर हिँड्छौँ । मेरो आधी राज्य दिन्छु यही बस भने तर भिक्षुले म यति सानो भिक्षा मागेर हिँड्ने मान्छे हुँ । मलाइ यत्रो राज्य के गर्नु ?बरु मलाई तीन पाहिला जमिन दिनुहोस । त्यति भए मलाई पुग्छ भन्नुभयो । राजा बलिले हुन्छ भने । भगवान विष्णुले आफ्नो विराट रुप धारण गरी एक पहिला टेक्दा पृथ्वी पूरै ढाकियो, अर्को पाहिला टेक्दा अन्तरिक्ष (आकाश) पूरै ढाकियो । तेस्रो पाहिला टेक्ने ठाउँ भएन । भगवान विष्णुले बलि राजालाई तेस्रो पाइला कहाँ राखु भनेर सोध्नुभयो । बलिराजाले कही ठाउँ नदेखे पनि मेरो शिरमा राख्नुहोस भनेर भन्नुभयो । भगवान विष्णुले देउ शिर भन्नुभयो । एउटा पाइला शीरमा राख्नुभयो । त्यही ‘देउ शिर’ भन्ने शब्दलाई पछि देउसी रे भन्न थालियो । धार्मिक तथा सांस्कृतिविद् डा टन्डनका अनुसार सुरुमा देस शिर भनिएपछिपछि यसैलाई खुसीयालीमा रुपमा दउेसी खेल्दै जाँदा ‘देउसी रे’ भन्न थालियो । धार्मिक तथा एतिहासिक रुपमा विशेष महत्व बोकेर मनाउन थालिएको तिहार पर्वका अवसरमा महत्वका साथ खेलिने देउसी भैलीलाई अहिले आधुनिकताका नाममा आफ्नो मौलिक सांस्कृति परम्परालाई भुल्दै गएको देखिन्छ ।
काठमाडौं । तिहारलाई विशेष परिकारको पर्व भन्ने गरिन्छ । चाडपर्वका समयमा सहर बजारमा गाउँघरको जस्तो मौलिक परिकार पाक्नै छोडिसकेका छन् । परिकार बनाउने सीप भएका महिलाले तिहारअघि नै परिकार बनाएर बेच्न थालेका छन् । फिनी, सेल रोटी, अनरसा, झिलिङ्गा, खुर्मालगायतका तिहार विशेष परिकार सहजै बजारमा किन्न पाउने भएपछि कामकाजी महिलालाई परिकार बनाउने झन्झट हटेको छ, भने सीप र जागर भएका महिलाले आयआर्जन गर्ने मौका पाएका छन् । नेपालगञ्जस्थित सफल बहुउद्देशीय सहकारी संस्थाकी सरस्वती सुवेदीलाई यतिबेला तिहार विशेष सामग्री बेच्न भ्याइनभ्याइ छ । बत्तीस सदस्य रहेको सहकारीले बचत र सदस्यहरुमै ऋण लगानी गर्दै आएको छ । विगत एक वर्षदेखि सञ्चालनमा रहेको सहकारी यसैवर्ष दर्ता भयो । पहिलो पटक संस्थामार्फत तिहारका लागि भाइमसला, चामलको साटो र पिठो बिक्री भइरहेको छ । नरिवल, ओखरलगायतका १७ सामग्री मिसाएको भाइमसला रु एक सय ५० देखि रु एक हजार ५० सम्म बिक्री भइरहेको छ । सधैँ बजारमा गएर तिहार विशेष सामग्री किन्ने संस्थाका सदस्य यसपटक घरमै तयार गरेर बिक्री गरिरहेका छन् । सामग्री धमाधम बिक्री हुन थालेपछि यो काममा उत्साह थपिएको उहाँको भनाइ छ । उहाँ जस्तै नेपालगञ्जका सीप र जाँगर भएका अन्य महिलाले सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरेर तिहार विशेष परिकार बिक्री गरिरहेका छन् । यस्ता महिलाको उत्पादनलाई बजारीकरण गर्न महिला उद्यमी सङ्घ बाँके र नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरेको कोसेली घरले सघाउँदै आएको महिला उद्यमी सङ्घ बाँकेका महासचिव सुनिता पाण्डेले बताउनुभयो । नेपालगञ्जमा विगत पाँच वर्षदेखि कोसेली घरले महिला उद्यमीले उत्पादन गरेका विभिन्न मौलिक सामग्री बजारीकरणमा सघाउ पुर्याउँदै आएको छ । यसपटक पनि फिनी, सेल रोटी, अनरसा, झिलिङ्गा खुर्मालगायतका तिहार विशेष परिकार बिक्रीमा राखिएको छ । चाडवाडमा अधिकांशको घरमा यी परिकार अनिवार्यरुपमा पाक्ने गर्छन् । तिहार परिकारको पर्व पनि हो । तर कामकाजी महिलालाई कामबाट फुर्सदलिएर परिकार बनाउनुपर्ने झण्झट रहेकोमा तयारी परिकार नै किन्न पाइने भएपछि सहज भएको भेरी नर्सिङ कलेजका सञ्चालक रेवती सिंहले बताउनुभयो । उहाँ जस्तै नेपालगञ्जकी महिला नेत्री नितु चन्दलाई पनि घरकै स्वादमा तयारी परिकार पाउन थालेपछि सहज भएको बताउनुहुन्छ । कामकाजी महिलालाई तयारी परिकारले एकातिर सहजता थपिएको छ, भने अर्कोतिर चाडवाडमा हातमा सीप भएका गृहिणी महिलाले रोजगारी समेत पाउन थालेका छन् । गतवर्ष कोशेली घरमार्फत करिब रु ४० हजार बराबरको परिकार विक्री भएको महिला उद्यमी संघ बाँकेका उपाध्यक्ष सावित्रा बस्नेतले जानकारी दिनुभयो । परिकार खेर जान नदिन कोशेली घरले माग अनुसार महिलाहरुलाई उत्पादनको काम दिने गरेको छ । गतवर्ष २ महिलालाई तिहार विशेष परिकार विक्रीका लागि जिम्मा दिएकोमा यसवर्ष माग बढेपछि १० जनाले यो काम पाएको उहाँको भनाई छ । चाडपर्वमा पाक्ने मौलिक परिकार केहि समय यता शहरमा देखिन छोडिसकेका थिए । सिप भएका महिलाहरुले व्यवसायका रुपमा गर्न थालेपछि विभिन्न समुदायका मौलिक परिकारबारे नयाँ पुस्ताले जान्ने अवसर पाएका छन् भने महिलाका आयआर्जनमा थप टेवा पुगेको छ ।
बागलुङ । गत भदौको दोश्रो साता खसेको पहिरो थपिँदै जाँदा बागलुङको रायडाँडाको सिंगो बस्तीका मानिस बस्न छाडेका छन् । छिमेकीको घरमा गएर आश्रय लिएका उनीहरु अझै पनि घर फर्कन सकेका छैनन् । बागलुङ नगरपालिका वडा नं ११ रायडाँडाको तल्लो रामतोलामा घर भत्कने, पहिरोले खेतबारी बग्ने क्रम नरोकिएपछि घर छाडेका फर्कन सकेका छैनन् । घर बगेकाहरुले पनि बनाउने ठाउँ नभेटेको गुनासो गरेका छन् ।पानी पर्दा वा नपर्दा पनि निरन्तर पहिरो खसेर भदौमा क्षति भएको बस्तीमा दसैँको झरीले थप क्षति पुगेको छ । यहाँका १२ घरसहित जैमिनी नगरपालिका–१ को ओडारका आठ घरमा पहिरो पसेको थियो । सुख्खा पहिरो पनि खस्ने गरेकोले उनीहरुले पुरानै थलोमा फर्कन नसकेको बताए । अहिले पनि यहाँ जोखिम कायम छ । अधिकांश खेतबारी र घरगोठ बगेकोले पुनःस्थापना गर्न समेत कठिन छ । जोखिम रहेको स्थानमा पनि जबर्जस्ती ल्याएर राख्न नसकिने वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले बताउनुभयो । ‘‘घरै भत्कियो, अन्यत्रै सरेर बसेको थिएँ, अब फर्कने अवस्था रहेन’’ स्थानीय ७८ बर्षिय ढालनाथ शर्माले भन्नुभयो, ‘‘खेतीपाती पनि बगायो, अब कहाँ गएर बस्ने ?’’ उहाँको घर गोठ र खेत पहिरोले पुरेको थियो । पहिरोले शर्मासहित यहाँका दुइवटा खानेपानीका ट्याङ्की पनि बगाएको थियो । अहिले पनि स्थानीय टाढाबाट पानी बोकेर खान बाध्य छन् । पोल बगेकोले बिजुली थिएन, अहिले स्थानीयले अस्थायी पोल गाडेर बिजुली बालेका छन् । पहिरो थपिँदै जाँदा यहाँको गैराघर र तमाखुबारीमा पनि जोखिम बढेको हो । पहिरोले रायडाँडादेखि जैमिनी नगरको कुश्मीसेरा जाने मोटरबाटो बगेको बन्न सकेको छैन । जैमिनी नगरपालिका–१ को ओडारका दर्जन घर पनि पहिरोले जोखिममा परेका छन् । यहाँको सिँचाइ योजनाको कुलो बगेकोले सिँचाइ छैन । ‘‘यतिको ठूलो पहिरो अहिलेसम्म देखिएको थिएन, अहिले भोग्नु परेको छ’’ स्थानीय बिष्णु पौडेलले भन्नुभयोे, ‘‘खानेपानी र बिजुली नभएको दसैँ मान्नु प¥यो ।’’ पहिरो पीडितलाई दसैँमा नगरपालिका, लायन्स क्लबले खाद्यान्न सहयोग गरेका थिए । ‘‘पहिरो नियन्त्रण गर्न सकिने अवस्था छैन, बरु १०÷१२ घर स्थानान्तरण गरेर एकीकृत बस्ती बनाउन सके सुरक्षा होला’’ प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले भन्नुभयोे, ‘‘त्यसका लागि सुरक्षित जग्गा खोज्ने तयारी गर्छौँ ।’’ एकीकृत बस्ती भएमा खानेपानी, बिद्युत र अन्य सेवा जडानमा सहज हुने उहाँले बताउनुभयो । ‘‘पहिरो पन्छाएर बस्ती बसाल्न कठिन छ, त्यसैले नयाँ ठाउँको खोजीमा छौं’’ वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले भन्नुभयो, ‘‘दीर्घकालीन योजना बनाएर अन्य बस्तीको पनि पुनस्र्थापना खोज्नु पर्ने भएको छ ।’’ किसानको खरबारी र सुन्तला लगाएको बारी समेत सयौँ रोपनी बगेको छ ।

