पोखरा ।     हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ ।    संस्थाले आफ्नो स्थापना...

  ललितपुर । केही वर्षअघिसम्म तराई जिल्ला र भारतका केही क्षेत्रमा मात्र मनाउने गरिएको छठ पर्व अहिले राजधानीलगायत पहाडी जिल्लामा समेत माउन थालिएको छ । सूर्य उपासना गरी मनाइने छठ अर्थात् छैठ, छठी, दिनकर दिनानाथ, छइठ आदि नामले जानिने पर्व उपत्यकाको ललितपुर जिल्लामा यस वर्ष पनि हर्षोल्लासका साथ मनाउन लागिएको छ । काठमाडौँको रानीपोखरी, बागमती नदी, गोदावरी खोलालगायत विभिन्न स्थानमा भव्यताका साथ छठ पूजा गरिन्छ । सरकारले छठ पर्वका अवसरमा नेपालभर सार्वजनिक बिदा दिन्छ । दसैँ र तिहारलगत्तै पर्ने यो पर्वमा कात्तिक शुक्ल पक्ष षष्ठीको छठी माईको पूजाअर्चना गरी पुत्र, पति र परिवारको सुख–शान्तिको कामना गर्ने गरिन्छ । पञ्चमी (खर्ना) देखि पूर्णिमासम्म चेलीबेटीले रातिमा सामाचकेवा लोकगीत गाएर र खेलेर यो पर्व सुरु गर्छ्न् । तर अहिले शहरमा बस्नेलाई समय, ठाउँ र समाज नमिलेर खेल्न छोडेको जिल्ला ललितपुर इमाडोलमा बस्ने निभा कर्ण भन्नुहुन्छ, “पहिला छठको सामग्री सबै पाउन गाह्रो थियो । सामान नपाउँदा तराईको घर छठ मनाउन जान बाध्य हुनुपथ्र्यो । अहिले भव्यताको साथ यहीँ पोखरीमा साथीसँग मिलेर छठ मनाउने गर्छु ।” यस छठ पर्वको अवसरमा पञ्चमी दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई गहुँको सादा पुरी प्रसादका रूपमा आफू खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने चलन छ । परम्परानुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अघ्र्यदिएपछि रातभर नदी तथा तलाउ किनारमा महिला बसी छठको लोकगीत गाउने गरिन्छ ।          कल जोडी छठी माईके कैलौँ पुजनमा         छठी माई पुरैथिन सबके मनकामना          राम हमरा भेटथिन निक सजनिगे ।     भोलिपल्ट सप्तमी (पारन) का दिन बिहान उदाउँदो सूर्यलाई पुनःअघ्र्य दिइ पूजा बिसर्जन गरिन्छ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ । सनातन धर्म महासङ्घ नेपालका संस्थापक तथा अन्तर्राष्ट्रियका अध्यक्ष तथा जिल्ला ललितपुर हात्तीवन काठमाडौा युनिभर्सिटी आर्टका प्राध्यापक डा निर्मलमणि अधिकारीका अनुसार सृष्टिको सुरूआतदेखि नै सूर्यको उपासना गरिँदै आएको पाइन्छ । अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसङ्ग उल्लेख छ । चौध वर्षको वनवास र एक वर्षको अज्ञातबास बसेको बेला कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेता युगमा लङ्काबाट श्री राम सीता माता फर्किंदा सीता माता गङ्गा नदीको किनारमा छठ व्रत गरेको बताइन्छ । कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ । चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ । सूर्य उपासनासँग सम्बन्धित छठ पर्व प्रत्येक वर्ष कात्तिकशुक्ल पञ्चमी र षष्ठीका दिन मनाइने गरिन्छ । व्रत बस्ने स्नान गरेर उपवास बसी आत्मशुद्धि गर्छन्, जसलाई खर्ना भनिन्छ । षष्ठीका दिन नदी, नहर र पोखरीको घाटमा बर्तालुले स्नान गरी बेलुकाका समयमा जलाशयमा उभिएर सूर्यलाई फलफूल, ठेकुवा र कसार अर्घ दिन्छन् । बर्तालु भक्तजन राति धेरैजसो नदी किनारमा बास बस्छन् भने केही घर फर्किन्छन् । तर शुद्धाशुद्धीको धेरै विचार गर्नुपर्ने भएकाले कहीं कतै अशुद्ध नहोस् भन्नेमा उनीहरू सजग हुन्छन् । डा अधिकारीले भन्नुभयो, “शुद्ध भावनाले यो व्रत गर्नाले तुरुन्त फल पनि पाइने धर्मावलम्बीको विश्वास छ । त्यसकारण मनले मात्र शुद्ध नभएर सबैथोक चोखो हुनुपर्ने हुनाले बर्तालुले मात्र नभई सम्पूर्ण परिवारले नै यसलाई कडाइका साथ पालना गर्छन् ।” षष्ठीको भोलिपल्ट सप्तमी तिथिको ब्रह्म मुहूर्तमा मानिसहरू पूजासामग्री लिएर नदी किनारमा गई स्नान गरी उदाउँदो सूर्यलाई फेरि अघ्र्य दिएपछि छठ पर्व सकिन्छ र प्रसाद बाँडिन्छ । छठको प्रसादमा उखु, केराउ, केरा, नरिवल, मिठाई, ठेकुवा,  कसार, कागती र अदुवा राखिन्छ । विशेषगरी शुद्ध घिउमा गहुँको पिठोबाट निर्मित ठेकुवा र चामलबाट निर्मित कसारको विशेष प्रसाद बनाइन्छ ।  छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ । केही भक्तजनले भाकल गरेको हुन्छ, घरबाट साँझ र बिहान घर्सिंदै नदी वा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन् । कतिले मनोकामना पूरा भएमा नाच नचाउने, सप्तमीको बिहान दन्तवन, दूध, फूल,  तथा दियो बाल्ने जस्ता कार्य पनि गर्छन् ।  सूर्यको प्रकाशमा भिटामिन डी प्राप्त हुने भएकाले मानव शरीर विज्ञानका अनुसार यो व्रतको महत्व आज पनि त्यत्तिकै छ । व्रत गर्दा स्वास्थ्य ध्यानमा राखी व्रत गर्नुपर्छ । शरीरमा पानीको मात्रा कम भएमा डिहाइड्रेसन हुन जान्छ । कात्तिक शुक्ल चतुदर्शीका दिनदेखि सुरु हुने छठ पर्व सूर्यको आराधना गरी  र उपत्यकाका विभिन्न क्षेत्रमा मनाइन्छ । अत्यन्तै श्रद्धा र निष्ठाका साथ ब्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी यो पर्वलाई हर्षोल्लासका साथ मनाइने गरिन्छ । यो चाडमा डुब्न लागेको सूर्यको साथै उदाउँदो सूर्यको पनि आराधना गर्ने गरिन्छ । समाजमा उदाउँदो वा प्रतिष्ठित व्यक्तिलाई सबैले ढोग्छन् सम्मान गर्छन् तर डुब्न लागेको घाम गरीब तथा बेसहारालाई कसैले हेर्दैनन् तर यस पर्वले जुनसुकै अवस्थामा पनि सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने सन्देश पनि दिन्छ ।     त्यस्तै सूर्यले सबै प्राणीहरूलाई समानरूपमा प्रकाश दिने हुँदा सबैमाथि समान व्यवहार गर्नुपर्छ भन्ने सोच विकास गर्नका लागि सूर्यको पूजा गरिन्छ । वर्षको दुईपटक चैत र कात्तिक महिनामा धुमधामका साथ मनाइने यस पर्वमा चोखो र शुद्धाशुद्धीमा अत्यन्तै ध्यान दिइन्छ ।   विधि विधानअनुसार मनाएमा आफ्ना सम्पूर्ण कष्ट हटेर जाने जनविश्वास रहिआएको छ । छालासम्बन्धी रोग निदानका लागि, पुत्र प्राप्तिका लागि र भाकल पूरा गर्न मानिसहरू भक्तिमा लिप्त भएर नजिकैको पोखरी जलाशय कुण्डमा गई यस दिन छठ पूजा गर्दछन् । छैठको पूजा गर्दा उखु, केराको बोट, पाकेको केरा बेसार, अदुवा, नरिवल, केराउ, भुसुवा, ठेकुवा, फलफूल, मिठाईजस्ता सामग्रीको आवश्यकता पर्दछ । सम्पूर्ण प्राणीलाई बिना कुनै भेदभाद समान शक्ति, ताप र किरण दिने समानताको प्रतीक सूर्यको यसै महिमालाई आत्मसात् गर्दै सूर्यको पूजा प्राथना र आराधना तन, मन लगाएर चार दिनसम्म गरिन्छ । कात्तिक शुक्ल चर्तुदशीका दिनदेखि छठ आरम्भ हुन्छ । दसैँ र तिहारलगत्तै सुरु हुने छठ नितान्त सूर्यको उपासना गरी मनाइन्छ । छठको शुरुवात मानिने यस दिनलाई ब्रतालुहरू  नहाए खाए भन्दछन् । बिहान सबेरै उठेर हात खुट्टाको नङ काट्छन् र चोखो पानीले नुहाइधुवाइ गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गर्दछन् । भनिन्छ यस दिनमा बर्तालुले प्रण गर्दछन्, “म अब जथाभावी खाँदिन र तन मनले प्रभूको शरणमा बस्नेछु ।”  छठको दोस्रो दिन (कात्तिक शुक्ल पञ्चमी) मा विधिवत्रूपमा सुरु भएको छठको दोस्रो दिनलाई खर्ना भनिन्छ । यस दिनमा नुहाएर चोखो भई साँझपख बर्तालुले सख्खरको खीर लौकाको तरकारी जस्ता शुद्ध भोजन ग्रहण गर्दछन् । यस दिनमा एकछाक मात्र भोजन गर्नुका कारण भने छठको दिन अर्थात् अघिल्लो दिनमा दिनभरि पानीसमेत नपिइ निराहार व्रतको पूर्वाभ्यास हो । छठको तेस्रो दिन अर्थात् छठ पर्वका दिनमा ब्रतालुहरू पानीसमेत नपिई निराहार बस्दछन् । साँझपख नजीकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् । छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्री घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देउतालाई चढाउँछन् । प्रातःकालीन अर्घका लागि केही बर्तालु रातभर पानीमा बसेर सूर्य नउदाउञ्जेलसम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् । यस दिनमा रातभर लोकगीत, भजनकीर्तन र नाचगान गरिन्छ । घाटलाई बेहुली झैँ सिँगारिएको हुन्छ ।  छठको चौथो दिन कात्तिक शुक्ल सप्तमीका दिन रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरूले उदाउँदो सूर्यको पूजाआजा गर्दछन् । बिहानीमा सूर्यको न्यानो किरणसँगै बर्तालुले सबै प्रसादलाई अर्घ दिई अञ्जुलीमा पानी भरि जल चढाउँछन् र पालैपालो ठकुवा भुसुवा फलफूल र मिठाइ जस्ता प्रसाद छठी मातालाई अर्पण गरी पूजा बिसर्जन गर्दछन् । त्यसपछि घरमा गई सूर्यको प्रसाद ग्रहण गरी अरु खाने कुरा बर्तालुले खान्छन् र लोक छठ पर्व समाप्त हुन्छ । 

  चितवन । खुकुरी प्रहारबाट माडीमा एकजनाको हत्या भएको छ । आज बिहान १ बजे माडी नगरपालिका–४ धुसेरीका ३२ वर्षीय जीवन नेपालीलाई खुकुरी प्रहार गरी हत्या गरिएकोे आशङ्कामा प्रहरीले गैँडाकोट नगरपालिका–७ का ३४ वर्षीय सुरेशबहादुर कुमाललाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजयराज पण्डितका अनुसार आज आफ्नै घरमा मृतावस्थामा भेटिएका  नेपालीको  टाउकोमा गहिरो चोट लागेको र घटनास्थलमा खुकुरी भेटिएको थियो  ।   नेपालीको हत्या गरेको आशङ्कामा कुमाललाई पक्राउ गरिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

  काठमाडौं । पश्चिमी वायुका कारण देशका पहाडी भू–भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ ।     जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीका कारण देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ भने  प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।     राति प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भागहरूमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । आइतबार देशका पहाडी भागहरूमा आंशिक बदली रही बाँकी भागमासामान्यतया मौसम सफा रहने छ भने  प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।     महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव पाँच डिग्री र अधिकमत तापक्रम २४ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव दुई डिग्री र जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव चार डिग्री सेल्सियस रहेको छ । 

  बागलुङ । जन्मेको छ महिनामा बागलुङको बानपा–५ पन्चासेका रत्नबहादुर खड्काको देब्रे खुट्टा अगेनामा पोलियो । उपचार अभावमा खुट्टाका सबै औंला झरे । जन्मेको छ महिनामा अपाङ्गता हुनुभएका ७९ वर्षका खड्काको जीवन सङ्घर्षले भने अझै विश्राम लिएको छैन ।  अहिले पनि उहाँ लौरोको सहाराले बाख्रासँगै बनपाखामा भेटिनुहुन्छ । खड्काले जीवन निर्वाहका लागि ३२ वर्षको उमेरदेखि राँगो पाल्दै आउनुभएको छ भने १० वर्षदेखि बाख्रा । पैंतालीस वर्षदेखि ब्याठे राँगो पाल्दै आउनुभएका खड्काले राँगोको बाहालबाटै परिवारको लालनपालन र शिक्षादीक्षा गर्न सफल हुनुभएको छ ।  “४५ वर्षअघि रु १० राँगोको शुल्क थियो, अहिले एक हजार पाँच सय पुग्यो, अहिले ८५ हजारमा बीउ राँगो खरिद गरेर ल्याएको छु”, उहाँले भन्नुभयो, “अहिले वर्षमा एक सय २० भन्दाबढी गाउँका भैँसीलाई गर्भाधान मेरै राँगोबाट भएको छ, पछिल्लो १० वर्ष यता बाख्रापालनसमेत गर्दै आएको छु, अहिले १० वटा बोका बाख्रा छन्, यिनैको स्याहारसुसार गर्दै दिन बित्छ ।” खुट्टाको अपाङ्गता भए पनि ७९ वर्षका खड्काको जोस र जाँगर अझै उस्तै छ । उहाँले भारी बोक्न बाहेक अन्य काम लौरोकै सहायताले गर्दै आउनुभएको छ । राँगो पालेर एक छोरी र दुई छोरा हुर्काएको स्मरण गर्दै खड्का सकुन्जेल राँगो पाल्ने योजनामा रहेको सुनाउनुहुन्छ । “अपाङ्गता भए पनि त्यसबेला लाउन खान समस्या नै थियो, अहिले जस्तो सुविधा थिएन, राँगोको बाहालवापत कतिले रकम दिन्थे त कतिले अन्नपात”, उहाँले भन्नुभयो, “७० नपुगुन्जेल महिनाको पाँच सय अपाङ्गता भत्ता आउँथ्यो, अहिले तीन महिनाको १२ हजार वृद्धभत्ता आउँछ, एउटा छोरा कतार छ, एउटा छोरा मसँगै छ, वृद्धभत्ताले बुढेसकालमा सहयोग गरेको छ, तर बाख्रा र राँगो पाल्न सकुन्जेल छोड्दिन नसकेपछि हेरौँला ।” अगेनामा पोलेको खुट्टा उपचार नपाएका कारण आफू अपाङ्गता भएर लौरोको सहायता लिनुपरेको उहाँको दुःखेसो छ । एक वर्षअघि ८५ हजारमा खरिद गरेर ल्याएको राँगोले गाउँका भैँसी गर्भधारण गरेवापत एक लाख ८० हजार कमाएको खड्काको भनाइ छ ।  उहाँले बाख्राका दुईवटा बोका बेचेर ४५ हजार यही सिजनमा कमाई गरेकाले घर खर्चका लागि समस्या नभएको बताउनुभयो । कान्छो छोरा कतार र छोरीको विवाह भइसकेको बताउने खड्काले जेठो छोरा भरत खड्का आफ्नो सहयोगीका रुपमा रहेको बताउनुभयो ।  “राँगोलाई डोर्याउन पर्दैन, आफैँपछि लागेर हिड्छ, बाध्ने र फुकाउने अनि भैँसीको गोठसम्म पुर्याउने मात्रै हो”, खड्काले भन्नुभयो, “युवादेखि बुढेसकालसम्म राँगोकै सँगतले जीवन बित्न लाग्यो, तर मनमा सन्तोक छ, अपाङ्गता भएरसमेत कसैसँग हात थापेर खान परेन, खुसी लाग्छ ।” खड्काले तीन र चार वर्षमा उन्नत जातको राँगो फेर्दै आउनुभएको छ । 

नेपालगञ्ज । छठ पर्व मनाउन नेपालगञ्जको बागेश्वरी मन्दिरस्थित तालको सरसफाई गर्दै यहाँका स्थानीयले आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् । घाटको सरसफाइ, सजावट र व्यवस्थापनका काम पनि धमाधम भइरहेका छन् ।  छठ पर्वमा माटोका भाँडाको माग बढेको छ । यहाँको उत्पादनसँगै केही भारतीयसमेत नेपाली बजारमा छठका लागि विभिन्न सामग्रीको बिक्री बढेको छ । सीमावर्ती बजारमा भारतीय माटाका भाँडा र भित्री बजारमा स्थानीय उत्पादन भएका माटोको भाँडाको कारोबार बढेको हो । नेपालगञ्जको फुल्टेक्रा, एमपीस्कुलरोड, रानीतलाउ, रामनगर, बुलबुलिया, लोधइगाउँ, पुरैनी गाउँ तथा टोलका कुमाल समुदायले माटोका विभिन्न भाँडा तयार गरेर बिक्री गर्दै आएका छन् ।  यस्ता पर्वमा भाँडा भने माटोकै प्रयोग गरिने प्रचलनले तिहार र छठ पर्वमा माटाका भाँडा बनाउने कुमाले जातिको पेशा फस्टाएको व्यापारी बताउछन् । छठका लागि माटोका दियो, चौमुखे दीप, पाला, भुर्काभुर्की, जातो, माटोको हात्ती, ढकनालगायतका भाँडाको बिक्री बढेको अवधि सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष विष्णुलाल कुमालले बताउनुभयो ।  उहाँका अनुसार अहिले तिहार र छठ पर्वमा पूजापाठ गर्नका लागि माटाको भाँडाको विक्री वितरण बढछ भने छठ पर्व पछि आउने कात्तिक पूर्णमासी मेलाका लागि बालबालिकालाई खेल्न विभिन्न माटाका खेलैनासमेत तयार गरिन्छ । अहिले चाडपर्वका बेला माटाका भाँडाको राम्रो व्यापार हुने गर्दछ ।  नेपालगञ्जका आशाराम कुमालले माटोका भाँडा बिक्री गर्दै भन्नुभयो, “पहिले हाम्रो गुजाराको पेशा नै यही थियो, अब प्लास्टिक र अन्य स्टिलका भाँडाको प्रयोग बढेपछि हाम्रो पेशा सङ्कटमा पर्न थालेको छ ।” चाडपर्वमा कलश, गमला, दियोलगायतका माटाको भाँडा बढी बिक्रीवितरण हुने गरेकोमा सबैभन्दा बढी तिहारमा माटोको दियो र छठमा विभिन्न कलात्मक भाँडा बिक्री हुने गरेको आशाराम कुमालले बताउनुभयो । उहाँका अनुसार वर्षभरि रित्तो हात बस्ने र यो सिजनको समयमा मात्रै थोरबहुत आम्दानी हुने गर्दछ ।

  डोल्पा । विसं २०७७ फागुन २८ गते उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ कोमासस्थित डाक्वा गुरुङका ५२ च्याङ्ग्रा हिउँ चितुवाको आक्रमणमा परी मरे । गोठमै हिउँ चितुवा पसेपछि च्याङ्ग्रा सबै मारिए । विसं २०७८ माघ २३ गते राति साल्दाङ्कै लुरी गाउँका अर्का किसान प्रेमा गुरुङका ९८ वटा भेडाच्याङ्ग्रा हिउँ चितुवाको आक्रमण परेको थियो ।  वर्षेनी यहाँका किसानले पालेका भेडाच्याङ्ग्रा हिउँ चितुवाको सिकार बन्दै आएका छन् । करिव २५ हजारभन्दा बढी भेडाच्याङ्ग्रा रहेको उपल्लो डोल्पामा हिउँ शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट आएको हिउँ चितुवाले दुःख दिने गरेको पाइएको छ । सन् २०१७ देखि २०२२ सम्मा मात्र दुई हजारभन्दा बढी भेडाच्याङ्ग्रालाई खोरमै आएर हिउँ चितुवाले सिकार भएको निकुञ्जकै तथ्याङ्कमा उल्लेख छ ।  आधा समय हिउँले ढाक्ने उपल्लो डोल्पामा पशुपालन मुख्य आम्दानीको स्रोत रहेको छ । प्रतिघरमा ५० र अधिकतम ५ सयसम्म भेडाच्याङ्ग्रा पालन गरेर आर्थिकरुपमा सवल बन्न यहाँका स्थानीयवासीले भारी मेहनत गरिरहेका डब्लुडब्लुएफ नेपालका अनुसन्धान तथा फिल्ड कार्यक्रम अधिकृत चन्द्रजङ्ग हमालले बताउनुभयो । हिउँ चितुवाको प्राकृतिक आहारामध्ये ४२ प्रतिशत घरपालुवा पशु चौपाया नै रहेको अधिकृत हमालले बताउनुभयो । निकुञ्जभित्रका गाउँ भएका कारण पनि यहाँका पशु चौपाय हिउँ चितुवाको सिकार बढी हुने गरेका छ । बुढो हिउँ चितुवाले वन्यजन्तुको सिकार गर्न नसकेपछि घर पालुवा जनावरलाई आहार बनाउँदै आएको अधिकृत हमालले जानकारी दिनुभयो । निकुञ्जका संरक्षण अधिकृत लालबहादुर भण्डारीका अनुसार स्थानीयवासीसँग मिलेर पशुचौपाय जोगाउनका लागि काम गरिरहेका बताउनुभयो । यो वर्ष पनि त्यो काम हुने उहाँले बताउनुभयो ।  मारिएका च्याङ्ग्राको क्षर्तिपूर्तिका लागि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ (तेस्रो संशोधन २०७५)अनुसार निकुञ्जद्वारा राहत दिँदै आएको छ । साना र असुरक्षित घोर भएकै कारण हिउँ चितुवा सजिलै प्रवेश गरेर एक घण्टामै लाखौँको क्षति पुग्दै आएको छ । खोर निर्माणका लागि सरकारले नै विशेष प्राथमिकतामा राखेर सम्वोधन गरेमा यहाँका किसानलाई राहत पुग्ने हमालको भनाइ छ ।  शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने छोल्फुमा सामुदायिक सुधारिएको खोर प्रयोग गरिरहेका पशुपालक किसानका अनुसार वन्यजन्तुबाट हुनसक्ने जोखिम न्यूनीकरणमा सहयोग पुगेको स्थानीय किसान तेन्जिङ ग्लजेन लामाले बताउनुभयो । हिउँ चितुवा तीन र चार पटक खोरको छानामा आएर आक्रमण असफल भएको किसानले बताएका छन् ।  पहिले परम्परागत खुल्ला खोरमा राख्दा पशु चौपायलाई हिउँ चितुवाले आक्रमण गर्नसक्ने डरले रातमा राम्रोसँग सुत्न पनि नपाउने किसान अहिले सुधारिएको गोठका कारण ढुक्क भएर सुत्न पाएको उहाँले बताउनुभयो । निकुञ्जभित्र रहेका सबै गाउँमा पशु बिमा गरेर यहाँका किसानलाई राहत उपलब्ध गराउन सके पशुको हानी कम गर्न सकिने राम्रो उपाय रहेको छ । अहिले पनि केही किसानले बिमा गरेका कारण पशुमा भएको क्षति वापत राहत बुझ्दै आएका छन् । बिमा कार्यक्रममा किसानले तिरेको प्रिमियम रकम र पशु बिमा समितिमा भएको अक्षयकोषको ब्याजबाट समितिले वन्यजन्तु पीडित परिवारलाई राहत दिने व्यवस्था गर्दै आएको छ ।  समुदायबाट सञ्चालित पशु बिमा कार्यक्रमलाई नेपाल सरकारको वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ सँग एकीकृत गरी सञ्चालन गर्न सके वन्यजन्तुबाट पीडित परिवारले दीगोरूपमा राहत हुने अधिकृत हमालले बताउनुभयो ।  अधिकृत हमालका अनुसार पशु मूल्यको थोरै प्रतिशत प्रियिम ९बिमाङ्क रकम० तिरी किसानले प्रिमियम रकमको धेरै गुणा राहत लिन सक्छन् । उपसमितिले पशु बिमा प्रिमियम र अक्षयकोषको ब्याजबाट हुने आम्दानी हेरी राहतको दर वृद्धि गर्न पनि सक्छ । यो कार्यक्रम पशु बिमा उपसमितिले समुदायसँग छलफल गरी निर्माण गरेका निर्देशिकाबाट चल्छन् । उपसमितिले उक्त निर्देशिका समयसापेक्ष परिमार्जन गर्दै समुदाय सुहाउँदो बनाउन सक्छन् । माथिल्लो डोल्पाका संरक्षण अभियन्ता स्वर्गीय ठिल्ले लोन्डुप लामाले निकुञ्जमा हुने द्वन्द्वका विषयमा तत्कालिन प्रधानमन्त्री केपी ओली समक्ष जानकारी गराएका थिए ।  उपल्लो डोल्पामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सहित अर्थमन्त्री जर्नादन शर्मा भ्रमणमा जाँदा त्यहाँका स्थानीयवासीले पशु पालन व्यवसायलाई दिगो बनाउनका लागि पहल गरिदिन गरेको आग्रहअनुसार यो आर्थिक वर्षमा लागू हुने गरी पशुपालनलाई व्यवसाहिकरुपमा लिन बजेटको व्यवस्था गरिएको छ । हिमाली सहरको अवधारणका साथै उपल्लो डोल्पामा पशुपालन व्यवसायलाई विकास गर्न बजेट बिनियोजन गरी काम सुरु गर्न लागिएको छ । निकुञ्जभित्र गाउँ भएका कारण यहाँ भारी क्षति हुँदै आएको छ ।  फोक्सुण्डोमा हिउँ चितुवाका लागि आहारा प्रर्याप्त शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा हिउँ चितुवाको सङ्ख्या बढेको पाइएको छ । सन् २००९ मा उच्च प्राविधिबाट गरिएको सर्वेक्षणअनुसार ११० देखि १३० को हाराहारीमा हिउँ चितुवा रहेको थियो । सन् २०१९ मा गरिएको सर्वेक्षणको नतिजा सार्वजानिक गरिएको छैन । सर्वेक्षण गरिएको तथ्याङ्क सार्वजानिक नगरिए पनि कम्तिमा ७० वटाको सङ्ख्यामा बढेको हुन सक्ने आँकलन गरिएको छ ।  यस्तै हिउँ चितुवाको मुख्य आहारको रुपमा रहेको नाउर सङ्ख्यासमेत २०२१ को गणनाअनुसार चार हजार पाँच सय भन्दाबढी रहेको निकुञ्जले जनाएको छ । एक हिउँ चितुवाले वर्षमा ४० वटा जती नाउरको सिकार गर्ने गर्दछ । यो हिसाबले निकुञ्जमा भएका नाउरको सङ्ख्या मापन गर्दा हिउँ चितुवाको आहारा प्रर्याप्त भएको पाइएको छ । प्रत्येक वर्ष नाउरको गणना गरिँदै आएको संरक्षण अधिकृत लालबहादुर भण्डारीले बताउनुभयो । हिउँ चितुवाको उमेरको आधारमा नाउरको सङ्ख्या सिकार हुने भण्डारीले बताउनुभयो । 

  तनहुँ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय तनहुँको संयुक्त प्रयासमा बढी भाँडा असुल्ने सवारीसाधानलाई शुक्रबार कारबाही गरेको छ । चाडपर्वको मौका छोपी यात्रुसँग यातायात समितिले निर्धारण गरेको भन्दाबढी रकम लिएका उन्नाइस वटा सवारीसाधानलाई रोकेर कारबाही गरेको हो ।  दमौलीको भोर्लेटारचोकमा रहेको यात्रु सहायता कक्ष नजिक सवारी चेकचाँज गर्दा बढी भाँडा लिएको पाइएपछि कारबाही गरिएको जिल्ला जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख एवं प्रहरी नायव निरीक्षक राजीव बिष्टले जानकारी दिनुभयो ।    पोखराबाट विभिन्न स्थानका लागि छुटेका सवारीसाधानलाई रोकी कति भाँडा लिएको छ भनी यात्रुसँग सोध्दा बढी भाँडा लिएको बताएपछि तोकिएको भाँडाभन्दा बढी रकम फिर्ता गर्न लगाइएको उहाँले  बताउनुभयो ।  उहाँका अनुसार रु दुई सयदेखि रु चार हजार दुई सय तीससम्म एउटा गाडीबाट रकम फिर्ता गराइएको उहाँले जानकारी दिनुभयो । यात्रुसँग बढी भाँडा लिने सवारीसाधनलाई रु एक हजारदेखि रु पाँच हजारसम्म जरिवाना गर्न सकिने कानूनी व्यवस्था रहेको छ ।  यातायात व्यवस्था ऐन, २०४९ र नियमावली २०५४ बमोजिम बढी भाँडा लिने सवारीसाधानलाई कारबाही स्वरुप जरिवाना गरिनेछ । उहाँले भन्नुभयो, “अहिले चौविस घण्टे पुर्जी दिएर यात्रुलाई गन्तव्यस्थलसम्म पु¥याउन पठाएको छौँ, कार्यालयमा आएर उनीहरूले जरिवाना बुझाउनुपर्छ ।”   यात्रुसँग बढी भाँडा लिएर गाडी चलाएको व्यापक जनगुनासा आएपछि घट्नास्थलमा प्रहरी खटाएर सवारीसाधान चेकजाँच कार्य थालिएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । चाडपर्वको समयमा यात्रु नठगिउन् तथा दुःख नपाउन् भनेर जिल्लाको मुख्य बजार क्षेत्रमा यात्रु सहायताकक्ष स्थापना गरेको उहाँले बताउनुभयो । 

  काठमाडौं । प्रहरीले नागार्जुन नगरपालिका–७ स्विट्जरल्याण्ड पार्क नजिकै दहचोक सिटी भ्यू रिसोर्ट प्रालिभित्र जुवातास खेलिरहेका १८ जनालाई पक्राउ गरेको छ ।       प्रहरीले सोही नगरपालिका–८ बस्ने ३१ वर्षीय सुरेन्द्र विष्टसमेत १८ जनालाई बिहीबार राति पक्राउ गरेको जनाएको छ । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु तीन लाख ८२ हजार पाँच सय ९५ रूपैयाँ, १५ बुक तास र १६ थान कौडासहित पक्राउ गरेको हो ।

  काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश सरकारलाई प्रभावकारी र अधिकारसम्पन्न बनाउने नीतिसहित आगामी निर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्र तयार गरेको छ । मङ्सिर ४ गते हुने सङ्घीय तथा प्रदेश निर्वाचनका लागि जसपाले सङ्घीयता, समावेशी समानुपातिक र लोकतान्त्रिक गणतन्त्रलगायतका मूलभूत विषयमा घोषणपत्र तयार गरेको जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिनुभयो ।      “प्रादेशिक सरकारलाई बलियो बनाउने गरी घोषणापत्रमा उल्लेख गरेका छौँ”, उहाँले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउने र समानुपातिक समावेशिता र पहिचानको अधिकारलाई सुनिश्चित गर्ने विषयमा हाम्रो मुख्य ध्यान केन्द्रित रहेको छ ।” जसपाले सबै मित्रराष्ट्रसँग समान सम्बन्ध रहने अवधारणासहित घोषणापत्रमा समेटेको छ । कृषिको आधुनिकीकरण गरी आन्मनिर्भर उत्पादनलाई प्राथमिकता दिइएको छ । आगामी निर्वाचनका लागि तयार गरिएको पार्टीको चुनावी घोषणापत्र छठ सकिएलगत्तै सार्वजनिक गरिने प्रवक्ता सुमनले बताउनुभयो ।        जसपाले समतामूलक समाजको निर्माणसँगै समानता, स्वतन्त्रता, भाइचारा, सामाजिक न्याय तथा भ्रातृत्वको उच्चतम् अभ्यास गर्दै सङ्घीयता, समावेशी एवं सहभागितामूलक लोकतन्त्र, समानुपातिक प्रतिनिधित्व र समतामूलक समाज निर्माण गर्ने लक्ष्य लिएको छ ।           देशमा गरिबी बेरोजगारी र अशिक्षाको अन्त्य गरी शिक्षा, स्वास्थ्य, आवास, रोजगार र सुरक्षामा सबैको समान पहुँच र आधिकारको प्रत्याभूति गराउने, सामाजिक न्याय स्थापित गर्दै सबै जाति, भाषा, धर्म, संस्कृति र समुदायका जनताको हित रक्षाका लागि काम गर्ने घोषणापत्रमा उल्लेख छ ।      त्यस्तै सामाजिक न्याय र सुशासनको प्रत्याभूतिसहितको जनमुखी प्रशासन कायम गर्ने, आदिवासी जनजाति एवं पिछडिएका वर्ग र समुदायको उत्थान प्रवद्र्धन गर्ने जनाइएको छ ।           जसपाले सङ्घीयताको प्रभावकारी कार्यान्वयन गर्दै सङ्घले बृहत्तर नीति निर्देशन तथा ठूला अन्तर–प्रादेशिक पूर्वाधारको मात्र जिम्मा लिने र अन्य सबै नीति योजना निर्माण, कार्यान्वयन र स्रोत परिचालनको जिम्मा प्रदेश र प्रदेशमार्फत स्थानीय तहलाई दिने नीति लिएको छ । ठूला भौतिक पूर्वाधार, ऊर्जा, प्राविधिक शिक्षा आदिमा विशेष जोड र उद्योग÷पर्यटनलगायतलाई महत्व दिने जनाएको छ ।           ‘सङ्घीय समुन्नत समाजवाद’ को सैद्धान्तिक आलोकमा समावेशी विकास र समतामूलक समृद्धिको नीति कार्यक्रममार्फत ‘जनताको आवाज, अग्रणी परिवर्तनसहित समृद्ध समाज’ लाई सार्थक बनाउन प्रयास गरिने जसपाले उल्लेख गरेको छ । यस्तै, पहिचानसहितको सङ्घीयता संस्थागत गर्ने, समाजवादी अर्थ–राजनीतिक कार्यदिशा लागू गर्ने, सहभागितामूलक समावेशी लोकतन्त्र स्थापित गर्ने, सुशासन र सदाचारका माध्यमबाट आर्थिक तथा सामाजिक न्यायसहितको समतामूलक समृद्धि र मानवीय खुसी हासिल गर्ने नीति अघि सारिएको छ । लोसपाको घोषणापत्र कहिले ?      लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि चुनावी घोषणापत्रको तयारी गरिरहेको छ । लोसपाका कार्यकारिणी सदस्य केशव झाले चुनावी घोषणापत्रको अन्तिम तयारीमा रहेको र छठपछि सार्वजनिक गरिने बताउनुभयो ।      लोसपाले पनि प्रदेश सरकारलाई अधिकार सम्मपन्न बनाउँदै, समानुपातिक सहभागिता, पहिचान र अधिकारको सुनिश्चितता, उत्पीडित समुदायको पहिचान र अधिकारको सुनिश्चिततालगायत विषयलाई घोषणापत्रमा समेटेको छ । घोषणपत्रको तयारीसँगै चुनावी प्रचारप्रचारको दौरानमा दुवै पार्टीका शीर्ष नेताहरु निर्वाचन क्षेत्रमा घरदैलो अभियानमा केन्द्रित रहेका छन् ।