पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

काठमाडौं । चारैतिर शरद्ऋतुको उल्लासमय वातावरण छ । खेतबारी र पाखापखेरामा ढकमक्कै फुलेका सयपत्री र बैजनी रङका मखमली फूलले प्रकृतिलाई दुलही झैंँ सिँगारिदिएका छन् । बिजुलीबत्तीको झिलिमिली उज्यालोले रातलाई पनि दिनजस्तै बनाइदिएको छ तर, प्रकृतिसँंग मानिस रम्ने चाड तिहारको मौलिकता भने हराउँदै गएको छ ।  युवा पुस्ता आयातित संस्कृतिको प्रभावमा पर्दै गएपछि सांस्कृतिक विरासतका मौलिक चाडपर्वले आफ्नो मौलिकता गुमाउँदै गएका संस्कृतिविद् बताउँछन् । नेपालीका लागि दसैँंपछिको दोस्रो ठूलो चाड तिहार पशुपंक्षी, प्रकृति र पुरुष (भाइ) पूजा गरिने चाड हो । हिन्दू संस्कृतिका अध्येता पं भीमनाथ पराजुलीका अनुसार तिहार प्रकृति, पुरुष र ऐश्वर्य (लक्ष्मी)लाई खुसी बनाउने चाड हो तर, पछिल्लो समय यो चाडमा विकृति भित्रिएकाले यसको सांस्कृतिक पहिचान  ओझेलमा पर्दै जान थालेको छ । “अरु बेला वास्ता नगरिने पशुपंक्षीलाई पनि तिहारमा पूजा गरिन्छ,” पराजुलीले भन्नुभयो,“यसले सबै प्राणीबीच सम–दृष्टिकोण राख्नुपर्दछ भन्ने सन्देश दिन्छ । काग, कुकुर, गाई, गोरु, लक्ष्मी र भाइ (दाजुभाइ) लाई तिहारमा पूजा गरेर सुख, शान्ति र ऐश्वर्यको कामना गरिने यो पर्व अहिले केवल औपचारिकतामा सीमित भएको छ ।” माटाको दियो र अमिलाको पातमा बत्ती बालेर फाल्ने चलन अहिले हराएको छ । घरको मूलढोका, सहायक ढोका, आँगनको डिल, तुलसीको मठ, धनसार, गोठ, जुठेल्नो जतातलै बत्ती बालेर जिम फाल्ने चलन थियो तर, अहिले  जतातलै बिजुली बत्ती बालेर उज्यालो बनाइन्छ । बेनी नगरपालिका–२ बगरफाँटका ८७ वर्षीय वेदप्रसाद शर्मा भन्नुहुन्छ,“यसबाट मनोरञ्जन त प्राप्त हुन्छ तर, जिम फाल्ने विधान र तिहारको मौलिकता हुँदैन ।” आजभोलि माटोको पाला पूजाकोठामा सीमित छ । माटोको दियोपछि मैनबत्ती र मैनबत्तीलाई उछिन्दै बिजुली बत्तीमा अहिलेको तिहार भुलेको छ । हराउँदैछ तेलको धार यमराजलाई बाटो छेक्न विशाल नदीको प्रतीकका रुपमा घरको मूल ढोकामा हालिने तेलको धारले प्रतीकात्मक अर्थ दिन्थ्यो ।  दाजुभाइलाई यमराजबाट सुरक्षित राख्न दिदीबहिनीले मूलढोकामा तेलको धार हालेर बाटो छेक्ने प्रचलन पछिल्लो समय हराउँदै गएको शर्माले बताउनुभयो । “ओखर फोरिन्थ्यो, तेलको धार हालिन्थ्यो, देउसी भैलो खेलिन्थ्यो, साथीभाइ एकै ठाउँमा भएर जुवातास खेली रमाइलो गरिन्थ्यो”, शर्माले भन्नुभयो,“अब ती सबै कुरा हराइसके । तिहार केवल औपचारिकतामा सीमित हुन थालिसकेको छ ।” भाइमसला बजारको  सूचना र प्रविधिले विश्वलाई नै साघुरो बनाइदिए पनि अपनत्व र सौहार्दतालाई भने निकै टाढा पुर्याइदिएको छ । मोबाइल र इन्टरनेटको बढ्दो प्रभाव र प्रयोगका कारण मानिस यति व्यस्त भएका छन् कि उनीहरुलाई आफ्नो नजिकैको मान्छेले के गर्दै छ र के भन्दै छ भन्ने कुराको समेत पत्तो हुँदैन । युवा पुस्ताका दिदीबहिनी पनि सूचना प्रविधिको यो प्रभावबाट मुक्त हुने कुरै भएन । सूचना प्रविधि र सामाजिक सञ्जालको प्रभावका कारण दिदीबहिनी पनि बेफुर्सदिला हुने गरेका छन् भने झण्झटिला कामप्रति उनीहरुको रुचि घट्दै गएको छ । फूल खोज्ने, माला गाँस्ने, भाइमसला बनाउने, खानाका परिकार तयार गर्ने र समग्रमा तिहारको रौनक बढाउने प्रमुख भूमिका दिदीबहिनीको नै हुने गर्छ । तर, उनीहरु पनि बेफुर्सदिला बनिदिँदा तिहारको मौलिकतामा पनि असर गरेको छ भन्नुहुन्छ अर्मनका खडानन्द सापकोटा । सापकोटाका अनुसार अहिले बजारमा प्याक गरेर राखिएका भाइमसलामै दिदीबहिनीले काम चलाउने गरेका छन् । सापकोटाको भनाइसँग सहमत हुनुहुन्छ अर्मनकै रसिला जैसी पनि ।“पहिला पहिला दिदीबहिनी भेला भएर तिहार सुरु हुनेवित्तिकै भाइमसलाको खोजी गथ्र्यौँं, ओखरदेखि लिएर सम्पूर्ण सामग्रीको जोहो गरेर भाइमसला बनाउँथ्यौँ,” ६३ वर्षीया जैसीले भन्नुभयो“अहिले त कसैलाई कामले फुर्सद छैन, कसैलाई मोबाइलले ।” देउसी, भौलो पैसामुखी तिहारको आकर्षणमध्येको एक मानिएको देउसी भैलो हिजोआज आशिष दिने, मनोरञ्जन लिने र साथीभाइसँग रमाउने माध्यम नभइ पैसा असुल्ने माध्यम बन्दै गएको आरोप लाग्न थालेको छ । केही सामाजिक सङ्घ संस्था र व्यक्तिले मेमोरीमा रेकर्ड गरिएका गीतको सहयोग लिई नृत्य देखाउँदै देउसी भैलोलाई पैसा असुल्ने माध्यम बनाइरहेका स्थानीय व्यापारीले बताएका छन् । हुन पनि हिजोआज गाइने देउसी भैलो र देखाइने नृत्यमा कुनै पनि मौलिकता देखिँदैन । अधिकांश भैली समूहले हिन्दी र नेपाली चलचित्रका गीत एवं एल्बममा राखिएका देउसी भैलो गीतमा नाच्छन् । न उनीहरुले मादल बोकेका हुन्छन् न मुरली र खैजडी नै । ठूलाठुला आवाजमा गीत घन्काउँदै हल्ला गर्दै देउसी भैलो समूह हिँडेका देखिएका छन् ।  बेनीका वयोवृद्ध नैनकुमार श्रेष्ठ भन्नुहुन्छ,“पहिलेका भैली आउँदा स्थानीय लोकबाजा र गीत देख्न सुन्न पाइन्थ्यो तर, आजभोलि आयातित गीत सुन्न पर्दा वाक्क लाग्छ । पहिले आफैं भट्याएर देउसी खेल्दा छुट्टै मज्जा आउथ्यो अनि हेर्नेलाई पनि रमाइलो लाग्थ्यो । आजभोलिका भैली खेल्ने उफ्रिने र कराउने मात्र गर्छन् ।” केही वर्षपछि लोकबाजा र भैलिकै मौलिकता हराउन सक्ने चिन्ता उनी व्यक्त गर्छन् । बेनीका ज्येष्ठ नागरिक डम्मरबहादुर कार्कीका अनुसार पहिला पहिला देउसी भैलो खेल्दा सबैले लोकगित आफैले गाउने, मुरली, मादल, खैजडी, झ्याली, ट्याम्कोलगायतका मौलिक बाजा बजाउने गर्थे  ।“अब ती सबै कुरा एकादेशका कथा भए,” उहाँले भन्नुभयो ।

  काठमाडौँ । ठीक छ वर्षपहिले अर्थात् २०७३ सालमा हरेक साता विद्युत्भार कटौतीका सूचना सार्वजनिक हुन्थे । तिहार उज्यालोको पर्व । यसको आफ्नै गरिमा र महत्व छ । तर तिहारका अवसरमा समेत नेपालीले मैनबत्तीको भरमा आफ्नो खुसी साट्नु पर्दथ्यो । बिजुली उपलब्ध गराउने जिम्मा लिएको नेपाल विद्युत् प्राधिकरण हरेक साता सूचना प्रकाशित गरेर आनन्दसँग निदाउँथ्यो ।      समय बदलियो, अवस्थामा पनि परिवर्तन आयो । तत्कालीन नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को संयुक्त गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले लिएको नीतिका कारण २०७३ सालको लक्षमी पूजाको दिनदेखि काठमाडौँ उपत्यकाबाट विद्युत्भार कटौती अन्त्य भयो । सरकारले जनताका सामु गरेको वाचालाई पूरा गर्यो । त्यो वाचा पूरा गराउन हालका अर्थमन्त्री एवम् तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माको पहलकदमी पनि उत्तिकै महत्वपूर्ण थियो । प्राधिकरणको नेतृत्वमा रहेर कार्यकारी निर्देशक कुलमान घिसिङले निर्वाह गर्नुभएको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ ।      नेपालबाट अब विद्युत्भार कटौती इतिहास भएको छ । विद्युत्भार कटौती मात्रै इतिहास भएको छैन, तिहारमा भारतीय बजारबाट खरिद गरेर ल्याइने बिजुली पनि अब आयात हुन बन्द भएको छ । नेपाल र नेपाली क्रमशः ऊर्जामा आत्मनिर्भर बन्दैछन् भन्ने अवस्थामा पुगिएको छ ।      सोमबार देशैभर हर्ष उल्साहका साथ तिहारको महत्वपूर्ण दिन लक्ष्मी पूजा गरिएको छ । लक्ष्मी पूजा बत्ती बाल्ने दिन । लक्ष्मीको आराधना गर्ने दिन । त्यस दिन देशभर कूल एक हजार तीन सय पाँच मेगावाट बराबरको बिजुली खपत भएको प्राधिकरणले जनाएको छ । देशभर बिजुलीको के कति माग छ भन्ने कुराको खास मापन गर्ने दिनका रुपमा यस यस दिनलाई लिइन्छ । आन्तरिक रुपमा क्रमशः बिजुलीको मागमा वृत्ति हुँदै गएको छ । गत वर्षको तिहारमा अधिकतम बिजुली खपत एक हजार दुई सय मेगावाट बराबर थियो । यस आधारमा गत वर्षभन्दा एक सय पाँच मेगावाट थप बिजुली खपत भएको छ, यस वर्ष ।      यस्तै, गत असार २८ गते अधिकतम बिजुली खपत अर्थात् पिक लोड एक हजार सात सय  ४७ मेगावाट रहेको थियो । काठमाडौँ उपत्यकामा तीन सय ४२ मेगावाटको हाराहारीमा अधिकतम माग  देखिएको प्राधिकरणले जनाएको छ । लक्ष्मी पूजाको दिनसमेत प्राधिकरणले तीन सय ८० मेगावाट बिजुली भारत निर्यात गरेको थियो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङका अनुसार सोमबार निजी क्षेत्रका ऊर्जा उद्यमीका आयोजनाबाट प्रणालीमा सात सय ६७ दशमलव पाँच मेगावाट बिजुली प्रणालीमा उपलब्ध भएको थियो ।      यस्तै प्राधिकरणका सहायक कम्पनीका आयोजनाबाट कूल चार सय ८२ दशमलव दुई मेगावाट उपलब्ध भएको थियो । प्राधिकरणका अर्धजलाशयुक्त आयोजनाबाट चार सय ३५ मेगावाट बिजुली प्रणालीमा उपलब्ध भएको थियो । यस आधारमा भारतमा समेत निर्यात गरेको जोड्दा एक हजार छ सय ६८ मेगावाट बिजुली कूल खपत भएको देखिन्छ । लक्ष्मी पूजाको दिनसमेत कूल दुई सय मेगावाट बिजुली खेर गएको छ ।      विसं २०७३ को लक्ष्मी पूजाको दिनदेखि काठमाडौँ उपत्यका र २०७५ साल वैशाख ३१ ग्तेदेखि देशभर नै विद्युत्भार कटौती अन्त्य गरेको प्राधिकरणले पछिल्ला दिनमा गुणस्तरीय बिजुली उपलब्ध गराउने प्रयास गरिरहेको छ । बिजुलीको खपत बढाउने अभियान पनि निरन्तर जारी छ ।      यद्यपि अपेक्षित रुपमा बिजुलीको माग भने बढ्न नसकेको गुनासो पनि उत्तिकै आउने गरेको छ । सोमबार साँझ प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, उपकार्यकारी निर्देशहरुसहितको टोली स्युचाटारस्थित भार प्रेषण केन्द्रबाट लक्ष्मी पूजाको दिन विद्युत् माग र आपूर्ति व्यवस्थापनका लागि खटिएको थियो । विनाअवरोध देशभरि विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ ।     विगतका वर्षहरुमा लक्ष्मी पूजाको माग धान्नका लागि विद्युत् आयात हुँदै आएकामा अब आन्तरिक उत्पादनले माग धान्ने मात्र हैन खपत हुन नसकेर बढी हुन थालेको छ । प्राधिकरणले यस वर्ष लक्ष्मी पूजाको पिक डिमान्ड धान्नको लागि कुलेखानी जलाशययुक्त जलविद्युत् केन्द्रसमेत सञ्चालन गरेन । कुलेखानी पहिलोबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी एक सय ६ मेगावाट विद्युत् उत्पादन हुन्छ ।     यस वर्षको लक्ष्मी पूजाको पिक समयमै तीन सय ८० मेगावाट विद्युत् भारत निर्यात गरिएको र दुई सय मेगावाट विद्युत् खपत गर्न नसकिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताउनुभयो । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड ९आइएक्स०को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री गरिरहेको छ । “विगतमा लोडसेडिङ हुँदा लक्ष्मी पूजाको दिनको विद्युत् खपतलाई पिक डिमान्ड मानिन्थ्यो भने अहिले त्यो अवस्था छैन, अरू बेला नै पिक डिमान्ड आउने गरेको छ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।     तिहारमा उद्योगकलकारखानाहरु र कार्यालयहरु सबै बन्द छन्, फेरि तराइमा गर्मी छैन र काठमाडौँ उपत्यकासहित पहाडी क्षेत्रमा जाडो पनि सुरु भइनसकेकाले अहिले विद्युत् माग नआउने समयका रुपमा लिइन्छ ।  उहाँले आन्तरिक रुपमा विद्युत् खपत बढाउनु ठूलो चुनौती रहेको बताउनुभयो ।     प्राधिकरणले गत असार २८ गते देशभित्रको पिक डिमान्ड सबैभन्दा बढी रहेको थियो । देशभित्रको विद्युत् खपत र भारततर्फको निर्यातसहित लक्ष्मी पूजाको दिन प्रणालीको पिक डिमान्ड एक हजार छ सय ८५ मेगावाट रेकर्ड गरिएको छ । यस वर्ष सङ्घीय राजधानी काठमाडौँ उपत्यकासहित यस आसपासका क्षेत्रको पिक डिमान्ड तीन सय ४२ मेगावाट छ । गत वर्ष तीन सय २० मेगावाट थियो ।     प्राधिकरणले पर्याप्त विद्युत् रहेकाले ढुक्कसँग बत्ती बाल्न उपभोक्तलाई आग्रह गरेको थियो । प्राधिकरणले लक्ष्मी पूजाको दिन विद्युत् अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द, विद्युत् गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो । 

  कैलाली । तिहारमा घर झिलिमिली पारिएका छन् । कैलालीका किसान भने अन्नले घर भर्न खेतमै व्यस्त छन् । तिहारका समयमा जिल्लाका किसान धानबाली भित्र्याउन व्यस्त छन् । दीपावलीको रमझमसँगै सबैतिर देउसीभैलो खेल्न सुरु भएको छ । तिहारका लागि किनमेलसँगै भाइटीकाको तयारी भइरहे पनि जिल्लाका किसान खेती स्याहार्नमा व्यस्त छन् ।      दीपावलीको चौथो दिन लागिसक्दा पनि अधिकांश किसान धान भित्र्याउनमा व्यस्त छन् । तयार भएको धान मौसम प्रतिकूलताका कारण काट्न नपाएका किसान यतिखेर मौसमले साथ दिएकाले धानखेतमै व्यस्त छन् । “दसैँमै धान बाली तयार थियो, मौसमको सूचनाले काट्न पाइएन, त्यसपछि मौसम सफा भएपछि काट्न थाल्यौँ, अहिले पनि मौसमको के भर त्यसैले हामी धान स्याहार्नमै व्यस्त छौँ”, किसान पल्टु चौधरीले भन्नुभयो, “खानका लागि धान, वस्तुभाउका लागि पराल पनि भण्डारण गर्नुप¥यो । अहिले तिहारमा भुलेमा खेतमै धान सकिन्छ ।”      उहाँ भाइटीकाको एक दिन मात्रै रमाइलो गर्नेगरी परिवार काममा जुटेका बताउनुहुन्छ । “चार बिघा खेत काटिसक्यौँ, अहिले धान दाउने ९थ्रेसिङ० गर्ने र धान र पराल भण्डारणको काम चलिरहेको छ”, उहाँले भन्नुभयो, “बढी भएको धान बिक्री गरेर हिउँदे खेतीका लागि आवश्यक मल, बीउको जोहोसमेत गर्न आवश्यक छ ।”     धान तयारी भएका बेला मौसम प्रतिकूलताले दसँैपछि मात्र धान कटानी थालेका किसानहरु अहिले दीपावलीमा धान कटाइसँगै भित्र्याउनमा व्यस्त रहेका छन् । दीपावली लागे पनि किसानलाई खासै नछोएको टीकापुर बनगाउँका किसान मानबहादुर चौधरीले बताउनुभयो । “धान भित्र्याउने कि तिहार मनाउने, अन्न भित्र्याउँदा वर्षभरि खान पाइएला”, उहाँले भन्नुभयो, “अहिले धान नभित्र्याए भोकमरी हुने जोखिम छ । अधिकांशको धानबाली बाढीले सक्यो, बचेका किसानहरु खेतमा छौँ ।”     गत वर्ष धान भित्र्याउने बेला आएको बाढीले किसानको धान बालीमा नोक्सानी गरेको हुनाले यस वर्ष किसानहरु दीपावली पर्व नमानेर खेतमा छन् । वर्षदिनका लागि आवश्यक अन्न भएकाले समयमा धान बाली भित्र्याउन नपाए खाद्यान्नको सङ्कट आउन सक्ने भएकाले दीपावलीमा पनि खेतमा काम गरिरहेको राजकुमारी चौधरीले  बताउनुभयो । “गत वर्ष बाढीले सबै धान बगायो, यस वर्ष पनि केही किसानको बाला छैन, हाम्रो जोगिएको धान स्याहार्न थालेका छौँ, यो मौसमको भर छैन”, उहाँले भन्नुभयो, “धान पनि काट्न ढिला भएकाले खेतमै झर्न थालेको छ ।”     चाडपर्व सबैका लागि रमाइलो र महत्वपूर्ण हुन्छ । वर्षदिनमा आउने पर्व र खेती उस्तै हुन्छ । तर पर्व लागे पनि मुख्य दिनबाहेक अन्य दिनमा खेतमा काम गर्दा केही फरक नपर्ने किसानको भनाइ छ । भाइटीकाको एक दिन दीपावली भव्यरुपमा मनाउने तयारी भइरहेको तर अन्य दिनमा खेतमा काम गर्नुपर्ने भएकाले काम गरिरहेका किसान सीता चौधरीले बताउनुभयो । “बल्लबल्ल बाढीबाट बच्यौँ, धान नस्याहारे के खानु, अब तिहारभन्दा पनि धान स्याहारेमा वर्षभरि पेट भोको रहँदैन”, उहाँले भन्नुभयो, “सबै परिवार, हाम्रा छिमेकीहरु पनि खेतमै छौँ, तिहारमा देउसीभैलो खेल्नेहरु आउँछन् भनी एक÷एकजना घरमा बस्ने अरू सबै खेतमा पस्ने गरेका छौँ ।”  गत असोजको अन्तिम बाढीले यहाँ धानबालीमा क्षति पुगाएको छ । बाढीले टीकापुरमा करिब २० प्रतिशत धानबाली नोक्सान भएको पालिकाले जनाएको छ ।

  काठमाडौं । तिहार अर्थात् यमपञ्चकको चौथो दिन आज गाईको पूजा आराधना गरिएको छ ।गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिकै विधि हो । हाम्रो समाजमा गाईलाई माताका रूपमा पूजिन्छ । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिएको हो ।  स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा प्राप्त गर्ने भएकाले  दूध पोषिलो हुनाका साथै   गहुँत र गोबरबाट पनि पनि शक्ति प्राप्त हुने भएकाले गाईको महत्वबारे आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । यसैकारण गाईलाई राष्ट्रिय जनावरका रूपमा पनि सम्मान गरिन्छ । गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । यही मान्यताका आधारमा आज गाई पूजा गरिएको हो । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षावन्धन (डोरो) गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा आज गाईको पुच्छरमा डोरो बाँधिएको हो  ।

  खोटाङ । फूलैफूलको पर्व भनेर चिनिने तिहारमा यस वर्ष फूल नै नफुल्दा खोटाङवासी चिन्तित बनेका छन् । विगत वर्षहरुमा तिहार सुरु हुनुअघि नै ढकमक्क फुल्ने सयपत्री, गोदावरी, मखमलीलगायत माला गाँस्न प्रयोग हुने फूलहरु यस वर्ष भर्खर मात्रै कोपिला लाग्न थालेपछि उनीहरु चिन्तित बनेका हुन् ।     आफूले रोपेका प्राकृतिक फूल नफुलेपछि जिल्लाका अधिकांश छोरीचेलीहरु बजारमा पाइने प्लास्टिकको कृत्रिम फूलको माला खरिद गर्न बाध्य बनेका छन् । कतिपयले त्यही कोपिला बन्दै गरेका फूललाई गुच्छा बनाएर आफ्ना माइती पुज्ने तयारी गरेका छन् ।     विगत वर्षहरुभन्दा यस वर्ष बढी फूलका बिरुवा रोपिए पनि उक्त फूलहरु नफुल्दा समस्या भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीकी स्थानीय बासिन्दा आस्था मगरले बताउनुभयो । “आमा र मलाई गरी झन्डै एक सय ५० फूलका माला चाहिन्छ । रोपिएका फूलहरु भर्खर कोपिला लाग्दै छन्”, उहाँले भन्नुभयो, “जसरी भएपछनि माइती त पुज्नै पर्यो ? विकल्प नभएपछि चुरी (जङ्गलमा पाइने फूलका रुपमा प्रयोग गरिने एक प्रकारको वनस्पति)को माला बनाइरहेकी छु ।”     विगत वर्षहरुभन्दा यस वर्षको तिहार छिटो भएकाले पनि फूलको अभाव भएको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारकी भूमिका न्यौपानेले बताउनुभयो । “हाम्रो क्षेत्र पर्याप्त फूल पाउने क्षेत्र हो । तर यस वर्षको तिहार विगतको भन्दा अगाडि छ”, उहाँले भन्नुभयो, “गाउँभरि कसैकामा पनि फूल फुलेका छैनन् । फूल नफुलेपछि अधिकांशले बजारमा पाइने कृत्रिम फूल खरिद गरेर माइती पुज्ने तयारी गरेका छन् ।”     दस स्थानीय तह रहेको जिल्लामा लेकबेँसी कुनै पनि क्षेत्रमा यस वर्ष पर्याप्त मात्रा फूल नरहेको पाइएको छ । तिहारकै लागि भनेर व्यावसायिकरुपमा फूल खेती गर्दै आएका कृषकहरुसमेत आफूले रोपेका फूल नफुल्दा चिन्तित बनेका छन् ।     हलेसी तुवाचुङ नगरपालिकाले फूलमा आत्मनिर्भर बनाउन विभिन्न ठाउँमा गठन भएका स्थानीय आमा समूहलाई पुष्प व्यवसाय सञ्चालन गर्नका लागि गत वर्षबाटै अनुदान दिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा आमा समूहले सञ्चालन गरेका बगैँचामा समेत पर्याप्त मात्रामा फूल नफुलेको स्थानीय बासिन्दाले बताएका छन् ।      दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित शुभम् फाउन्डेसनमा अध्ययनरत विद्यार्थीले व्यावसायिकरुपमा लगाएका फूलसमेत पर्याप्त फुलेका छैनन् । जिल्लाका अन्य क्षेत्रमा लगाइएका फूल नफुलेपछि शुभम् फाउन्डेसनका विद्यार्थीले लगाएका बगैँचामा छिट्फुट फुल्दै गरेका फूल माग्नेको सङ्ख्या दैनिक सयजना भन्दा बढी रहेको फाउन्डेसनका निर्देशक सूर्यबहादुर राईले बताउनुभयो ।     दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा औपचारिक कार्यक्रमबाहेक व्यवसाय सञ्चालनका लागि अहिलेसम्म प्राकृतिक फूल खासै आयात हुने गरेको छैन । बाहिरबाट प्राकृतिक फूल आयात गरेर बिक्री गर्नका लागि जिल्लामा आवश्यक चिस्यान केन्द्र नभएका कारण नल्याइएको व्यवसायीहरु बताउँछन् ।     जिल्लामा प्राकृतिकरुपमा रोपिएका फूल नफुलेपछि स्वास्थ्यका लागि हानिकारक मानिएको प्लास्टिकको कृत्रिम फूलको मालाले यस वर्ष खोटाङमा राम्रो मूल्य पाएको व्यापारीहरुले बताएका छन् । यकिन तथ्याङ्क नभए पनि यस वर्ष जिल्लामा लाखौँको कृत्रिम फूल बिक्री भएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताउनुभयो ।     जिल्लाको मुख्य व्यापारिक केन्द्र दिक्तेल बजार, ऐँसेलुखर्क, बाक्सिला, पञ्चमी, खोटाङबजार, सिम्पानी लगायतका ठाउँमा कृत्रिम फूलले राम्रो बजार पाएको व्यापारीहरुले बताएका छन् । प्राकृतिक फूल अभावले जिल्लामा माइती पुज्नदेखि घर तथा कोठा सजाउनसमेत भारतबाट ल्याइएको प्लास्टिकको कृत्रिम फूलको माला नै खरिद गरेको पाइएको वाणिज्य सङ्घका अध्यक्ष राईले जानकारी दिनुभयो ।     पुष्प व्यवसाय सञ्चालन गर्नका लागि जिल्लाका सबै भूगोल उपयुक्त रहेको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । जिल्लामा उत्पादन गरिने फूल राजधानी काठमाडौँलगायत अन्य विभिन्न जिल्लाहरुमा निर्यात गरेर जिल्लाको आम्दानीको स्रोतसमेत बढाउन सकिने कृषिविज्ञले बताउँदै आएका छन् ।

  ढोरपाटन । तिहारमा दीप प्रज्जवलन जत्तिकै महत्वपूर्ण पक्ष देउसी र भैलो पनि हो । परम्परागत गीतमा नृत्य गर्दै खेलिने देउसी र भैलोको मौलिकता भने पछिल्ला केही वर्षयता भने हराउँदै गएको पाइन्छ । तिहार शुरु भएसँगै टोलटोलमा देउसी र भैलो खेल्ने समूहले बालबालिकादेखि बुढापाकासम्मलाई मनोरञ्जन त दिएका छन् । तर आधुनिक शैली अंगाल्दा  मौलिकता भने गुमाउँदै गएको छ ।  देउसी र भैलोमा बज्नुपर्ने मादल, खैजडी र बाँसुरीको साटो अचेल रेकर्डेड पप, आधुनिक र ¥याप गीत बज्न थालेका छन् । साथै, सोरठी र मारुनी जस्ता नृत्यको स्थान आधुनिक शैलीको नाचले लिएको छ ।      यमपञ्चक सुरु भएपछि बागलुङ बजारका चोकचोकमा देउसी, भैलो खेल्नेको भिड छ । तर उनीहरुले गाउने गीत र नाचमा कुनै मौलिकता देखिन्न । बागलुङ बजारका ७८ वर्षे देवबहादुर श्रेष्ठ परम्परागत देउसी र भैलोलाई आधुनिकताले प्रभावित पारेकोमा चिन्ता व्यक्त गर्नुहुन्छ ।      पश्चिमा संस्कृतिले नेपालको मौलिकता मेटाउन लागेको भन्दै उहाँले भन्नुभयो, “अहिलेको गीतमा मौलिकता कत्ति पनि छैन, मादल, बाँसुरी र खैजडी बजाएर गरिने मारुनी र सोरठीको नाच अब कहाँ हेर्न पाउनु रु” आधुनिक प्रविधिको विकास र देखासिकीका कारण मौलिकता हराएको उहाँको बुझाइ छ ।  “हामीमा मौलिकता जोगाउने भन्ने भावना विकास नै भएन, अरुको देखासिकी गर्ने बानीले कैयौँ संस्कृतिहरु लोप भइरहेका छन्” उहाँले भन्नुभयो ।     स्थानीय ६५ वर्षीय भूदर्शप्रसाद श्रेष्ठले आधुनिक शैलीको देउसी र भैलोका कारण नेपालीको पहिचान नै गुम्ने अवस्था आउन लागेको बताउनुभयो । उहाँले मौलिक कला, संस्कृतिको संरक्षणतर्फ युवापुस्ताको चासो बढ्नुपर्ने सुझाव दिनुभयो ।      उहाँले रेकर्ड गरिएका गीतले मौलिक सोरठी, मारुनी, थाली, कौरा, सिरफुले, सालैजो जस्ता गीत र नृत्य ओझेलमा परेको बताउनुभयो । श्रेष्ठले विदेशी संस्कृतिको अनुशरण गरे पनि मौलिक देउसी, भैलोको खास, महत्व र मर्म भने हराउन दिन नहुने बताउनुहुन्छ । तर पछिल्ला वर्षमा पैसा सङ्कलन गर्नका लागि विदेशी गीत, सङ्गीत र नाचको प्रयोग गर्ने गरेको उहाँको भनाइ छ ।     “प्रविधिको विकाससँगै आफूलाई परिमार्जित गर्नु राम्रो हो, तर आफ्नो मौलिकतालाई भुल्नु भनेको पहिचानलाई सङ्कटमा पार्नु हो, नयाँ पनि सिकौँ, अनुशरण गरौँ र पुरानोलाई पनि संरक्षण गरौँ भन्ने भवना युवापुस्तामा भएन भने भोलि विदेशी र हामीमा केही भिन्नता हुने छैन”, श्रेष्ठले भन्नुभयो, “नेपालीको पहिचान विश्वभर छ, त्यसैले विदेशी जस्तो नभई हाम्रो मौलिकतामा पनि रमाउन सक्नुपर्छ ।”     स्थानीय ३० वर्षीय लक्षु पुनमगरले मौलिकतालाई जोगाउन युवापुस्ता नै लाग्नुपर्ने बताउनुभयो । उहाँले बुढापाका  मौलिकताको खानी भएको भन्दै उनीहरुबाट युवापुस्ताले ग्रहण गर्नुपर्ने बताउनुहुन्छ ।  पुनमगर भन्नुहुन्छ, “अग्रजलाई सधैँ सम्मान गर्न पर्छ, उहाँहरुमा संस्कृतिका बारेमा धेरै ज्ञान छ, हामीले सिक्न सकिरहेका छैनौँ, धेरैलाई पुराना संस्कृतिका बारेमा थाहा नहुँदा पश्चिमा संस्कृतिको सिको गरेका हुन् ।”     पुनले अहिले देउसी, भैलोमा अधिकांश आधुनिकता मिसिए पनि थोरै मौलिकता भने रहिरहेको दाबी गर्नुहुन्छ । बढ्दो प्रविधिको विकासले गर्दा नयाँपुस्ताले मौलिक परम्पराको संरक्षण गर्न नसकेको बताउनुहुन्छ ।

  चितवन । चितवनमा भारतीय माछा बिक्री गर्न प्रतिबन्ध लगाइएको छ । शनिबार बसेको सरोकारवालाको बैठकले माछा बिक्रीमा प्रतिबन्ध गर्ने निर्णय गरेको माछा व्यवसायी सङ्घ चितवनका अध्यक्ष खेम सुवेदीले जानकारी दिनुभयो ।  मत्स्य व्यवसायी सङ्घको केन्द्रीय र जिल्ला तहका नेतृत्वसहित जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारी, माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो, कालिका नगरपालिकाका उपप्रमुख विमला तामाङ, उद्योग वाणिज्य सङ्घ चितवनका उपाध्यक्ष चिरञ्जीवी सुवेदीलगायतका सरोकारवालाको बसेको बैठकले माछाको आयात नगर्ने निर्णय गरेको हो ।  “हामीले चितवनलाई पुग्ने माछा उत्पादन गरिरहेका छौँ, भारतबाट आयात गर्नुपर्ने अवस्था छैन”, सुवेदीले भन्नुभयो, “भारतीय माछा बिक्री वितरणमा रोक लगाउन यहाँका सरोकारवाला पक्ष पनि सकारात्मक हुनुहुन्छ ।”      चितवनमा वार्षिक सात हजार मेट्रिकटन माछा उत्पादन भइरहेको तर माग भने वार्षिक चार हजार मेट्रिकटन मात्रै रहेको उहाँको भनाइ छ । चितवनमा उत्पादन भएको माछा काठमाडौँ, पोखरा, गोरखा, लमजुङ, बागलुङलगायतका सहरसम्म जान्छ । माछा व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले चितवन २ वर्षयता माछामा आत्मनिर्भर भएकाले भारतीय माछा बिक्रीमा रोक लगाइएको बताउनुभयो ।      चितवनका माछा किसान गत भदौ १ गतेदेखि भारतबाट भन्सार छली ल्याइएका माछालाई रोक लगाउनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका थिए । माछा व्यापारीहरुले यसका लागि अर्थमन्त्री, गृहमन्त्री, मुख्यमन्त्रीलाई ज्ञापनपत्र समेत बु्झाएका थिए ।  हाल चितवनमा एक हजार पाँच सयभन्दा बढी किसानले सात हजार हेक्टर जलाशयमा माछा पालन गरिरहेका छन् । पूर्वी चितवनको राप्ती, खैरहनी, रत्ननगर र माडी क्षेत्रमा बढी माछापालन हुने गरेको छ । चितवनबाट सुरु भएको भारतीय माछा प्रतिबन्धलाई बिस्तारै अन्य जिल्लामा पनि बिस्तार गरिने किसानहरुको भनाइ छ । 

  रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले सरकारले योग्य व्यक्तिलाई पदक प्रदान गरेको बताउनुभएको छ । गृहमन्त्री खाणले निर्वाचनलाई प्रभावित गर्नेगरी आफ्नो जिल्लाका मानिसहरुलाई पदक वितरण गरेको विपक्षीको आरोपको खण्डन गर्दै उहाँले रुपन्देहीमा योग्य रहेकाले उनीहरुलाई पदक दिइएको बताउनुभएको हो ।     विश्व पोलियो दिवसमा रुपन्देहीमा क्रियाशील रोटरी क्लब एवं रोट्र्याक्ट क्लबले भैरहवामा आयोजना गरेको पोलियो शान्ति र्यालीको समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खाणले विपक्षीले रुपन्देहीका युवाको मूल्याङ्कन गर्न नसकेको समेत बताउनुभयो । “रुपन्देहीमा धेरै प्रतिभा रहेका छन्, रुपन्देही जिल्ला नै रचनात्मक रहेको छ”, उहाँले भन्नुभयो, “यहाँ पदक दिनुपर्ने अझ धेरै हुनुहुन्थ्यो तर समितिलाई छनोट गर्नुपर्ने बाध्यता रहेको थियो, भविष्यमा उहाँहरुलाई पनि समेट्ने छौँ ।”     रुपन्देहीको विकासमा रोटरी, रोट्र्याक्ट क्लबमा आबद्ध युवाको सहभागिता महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । जिल्लामा विभिन्न सामाजिक काममा मात्र होइन विभिन्न विपद्का समयमा यस्ता क्लबको सहयोग प्रशंसनीय रहेको उहाँको भनाई थियो ।      पाँच दलीय गठबन्धनमा नेपाली कांग्रेसका तर्फबाट रुपन्देही क्षेत्र नं ३ को  प्रतिनिधिसभा उम्मेदवार रहनुभएका गृहमन्त्री खाणले नेपाल सरकार युवालाई कुलतबाट जोगाउन र आगुऔषधको नियन्त्रणमा लागे पनि एकल प्रयासले मात्र नपुग्ने बताउँदै यसमा युवाले पनि सहकार्य गर्न आग्रह गर्नुभयो ।      उहाँले रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अवसर बढाएकाले युवा विदेश जानुभन्दा यहीँ रचनात्मक व्यवसायमा लाग्न पनि आग्रह गर्नुभयो । गठबन्धनकै तर्फबाट लोसपाबाट प्रदेशसभा उम्मेदवार सन्तोष पाण्डेले रोटरी क्लब र रोट्र्याक्ट क्लबलाई सहरी क्षेत्रका साथै ग्रामीण केन्द्रमा पनि सामाजिक काममा लाग्न आग्रह गर्नुभयो ।      उहाँले अहिले सहरी तथा ग्रामीण क्षेत्रमा पनि लागुऔषध लगायतका कुलतमा युवा फस्दै गइरहेकाले यस्ता क्लबले दुवै क्षेत्रमा निगरानीका साथै सचेतनामूलक काम गर्न सुझाव दिनुभयो ।     ‘अक्टोबर २४’ का दिन विश्व पोलियो दिवस संसारभर मनाउने गरिन्छ । यस दिन पोलियो उन्मूलनका लागि चेतना जागृत गाराउने खालका कार्यक्रमहरु सञ्चालन गर्ने गरिन्छ । हाल विश्वमा पाकिस्तान, अफगानिस्तान र नाइजेरियाबाहेकका देशमा पोलियो रोग छैन । नेपालमा पनि सन् २०१० यता पोलियोका रोगी भेटिएका छैनन् ।          यसै दिवसको अवसर पारेर आज भैरहवामा पोलियो शान्ति ¥यालीको आयोजना गरिएको छ । भैरहवाको बुद्धचोकबाट सुरु भएको शान्ति ¥याली, नारायणपथ, बैंकरोड, नयाँ सडक हुँदै जनकपथमा समापन भएको रोटरी क्लबका राजकुमार गुप्ताले जानकारी दिनुभयो ।

  पोखरा । पोखरा फोटोग्राफर संघद्वारा नेपालीहरुको दोस्रो ठ्रलो चाड तिहार  को अवसर मा देउसी भैलो साथै शुभकामना आदान प्रदान गरी सम्पन्न गरेको छ । पोखरा फोटोग्राफर संघका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष जयन्द्र कुमार राजभण्डारीको प्रमुख आतिथ्यमा सुसम्पन्न भएको कार्यक्रममा संघका  उपाध्यक्ष भक्त तामाङ ले स्वागत मन्तव्य राखेका थिए । प्रमुख अतिथि भण्डारी ले फोटोग्राफी ब्यवसायको हक र हितका लागी स्थापनागरिएको यस संस्थाले बिभिन्न सामाजिक कार्यहरु र ब्यवसायिक हक र हितका कार्यहरु क्षमता अभिवृद्धि जस्ता सह्रानियकार्यहरु गर्दै आइरहेको र अझ नेपाली सस्कृतिको रक्षाका लागी यस्ता खालका कार्यक्रमहरु बेलाबेलामा गरि राख्नुपर्नेमा जोड दिए ।   कार्यक्रममा पोखराफोटोग्राफर संघ महिला उप समिति संयोजक रिता पौडेल महिला उपसमिति सह संयोजक डेक कुमारी जलारी के सि पूर्व अध्यक्ष  रविनाथ दाहाल, नि अध्यक्ष जनकराज तिवारी , कैलाश बचत ताथा ऋण सहकारी संस्था का अध्यक्ष खडानन्द अधिकारी, संघका संरक्षक गणेश छवि, लगायत ले शुभकामना मन्तव्य राख्नु भएको थियो ।  पोखरा फोटोग्राफर संघले आफ्ना सदस्यहरु बिच प्रत्येक बर्ष शुभकामना आदान प्रदान तथा देउसी भैलो कार्यक्रम गर्ने गरेको छ र यसरी  गरिने देउसी भैलो कार्यक्रमवाट उठेको रकम पोखराफोटोग्राफर संघ द्वारा संचालित राहतकोषमा जम्मा गरिने गरीएको छ यसपाली को देउसी भैलोमा करीव ६०हजार रुपैया संकलन भएको कुरा संघकी कोषाध्यक्ष नन्दकला पौडेलले बताएकी छन ।  कार्यसमिती सदस्य स्वदेश साई को संयोजन तथा पोखरा फोटोग्राफर संघ महिला उप समितिको ब्यवस्थापनमा संचालित सो कार्यक्रम  संघ का सचिब देवानन्द पोख्रेल ले सञ्चालन गरेका थिए ।  कार्यक्रम को समापन गर्दै संघ का अध्यक्ष रामचन्द्र पोखरेल ले सबैलाई धन्यबाद ज्ञापन गर्दै सबैको सहयोगका कारण संस्थाका कार्यक्रमहरु सफल हुने कुरामा जोड दिए ।