बागलुङ : अर्गली मगरको पुस्तैनी ‘भुस पोल्ने पर्व’ बुधबारदेखि सुरु भएको छ । ताराखोला गाउँपालिका-२ मा बर्सेनि यो पर्व मनाइन्छ । पुर्खाले खोरिया खनी थातथलो बसाएको र खेती सुरु गरेको सम्झनामा सो पर्व मनाउने प्रचलन छ । पन्धौँ शताब्दीतिर पाल्पाको अर्गलीबाट बसाइँसराइ गरी अर्गल गाउँमा आएका मगरहरूले पर्वको चलन बसालेको मानिन्छ । अर्गल खेलकुद विकास मञ्चका अनुसार आउँदो आइतबारसम्म विविध कार्यक्रमसहित पर्व मनाइनेछ । मञ्च परम्परागत भुस पोल्ने पर्वको संरक्षण र प्रवद्र्धनमा क्रियाशील छ । मञ्चका अध्यक्ष लोकबहादुर क्षेत्रीले हरेक वर्ष कात्तिक २४ देखि २६ गतेसम्म मुख्यरूपमा पर्व मनाउने चलन रहेको बताउनुभयो । मञ्चले यो वर्ष अघिल्लो दिनदेखि नै कार्यक्रम तय गरी पर्व मनाउन सुरु गरेको हो । मगर भाषा तथा संस्कृति सम्वद्र्धन समितिका सचिव बिर्बलाल घर्तीमगरले भुस पोल्ने पर्वलाई प्रकृति पूजाका रुपमा लिनुभयो । उहाँका अनुसार कात्तिक २४ गते शङ्खुबारीमा भुस पोल्ने काम हुन्छ । मकै बाली भित्राएपछि बारीमा रहेका डाँठ, पात, पतिङ्गर जम्मा पारेर आगो लगाउने कार्यलाई नै भुस पोल्ने भनिन्छ । शङ्खुघरका मुल भाञ्जाले भुस पोल्ने चलन छ । उक्त दिनमा पनि शङ्खुबारीमा पूजाआजा हुन्छ । शङ्खुबारीमा उब्जेको जौ बाली शुङ्खु ९मुल० घरले प्रयोग गर्ने र त्यही घरले पूजाआजाको खर्च चलाउनुपर्ने नियम छ । गाउँको ज्येष्ठ व्यक्तिको घरलाई नै शङ्खुघर नामाकरण गर्ने गरिन्छ । पर्वको अर्को दिन २५ गते वर्ष दिनभित्र मृत्यु भएकाका परिवारमा मृत्यु संस्कारको रुपमा बरखी ९दुःख० उम्काउने चलन छ । २४ गते अघि जहिले मृत्यु भएको भएपनि २५ गते नै मृत्यु संस्कार पूरा हुने गर्छ । २४ गते मृत्यु भएमा भने वर्ष भरिनै दुःख बार्नुपर्ने हुन्छ । घरमा चेलीबेटी, भाञ्जाभाञ्जीलाई बोलाइ दानदक्षिणा दिई मृत्यु संस्कार पूरा गर्ने गरिन्छ । मृत्यु संस्कारको समापनलाई गाउँलेले ‘होलादास’ पनि भन्ने गर्छन् । मृतकको घरमा दिदीबहिनीमध्ये जेठीले १८ माना चामल र सोही बराबरको सुकुटी र सुकेको छाला ल्याउनुपर्ने प्रचलन छ । मृतकको परिवारबाट पनि सोही अनुसार मावली र माइतीघरमा पठाउने गर्छन् । त्यसरी पठाएको कोशेली दाजुभाइ मिलेर बाँड्ने र त्यसबापत नगद दक्षिणा गर्ने चलन छ । भुस पोल्ने पर्व जन्म संस्कारसँग पनि जोडिएको समितिका सचिव घर्तीमगरले बताउनुभयो । पर्वको मुख्य दिन २६ गते छापे खन्ने गरिन्छ । शङ्खुबारीको बीचमा रहेको ठूलो ढुङ्गालाई सहकालका देउता मानेर पूज्ने चलन छ । प्रकृतिका देउता ‘शङ्खु’ को प्रतिक स्वरुप मुल घर र बारीलाईसमेत शङ्खु भनेर चिनिन्छ । पूजाको विधिपछि अविवाहित युवा हातमा कोदालो लिएर शङ्खुबारीमा दौडन्छन्, युवतीलाई डाक्छन् । युवतीहरु पनि कोदालोसहित शङ्खुबारी आउँछन् । पाका र विवाहितले अघिअघि बिउ छर्छन्, अविवाहित युवायुवती मिलेर शङ्खुबारीमा मेलो खन्न सुरु गर्छन् । मेलो सकिएपछि युवायुवती एकापसमा कोदालो जुधाउँछन् र तानातान गर्छन् । अन्तिममा सँगै कोदालो उठाउँदै खुसी साट्छन् र खेती लगाएको सन्देश दिन्छन् । छापे खनेपछि २७ गतेदेखि यो वर्ष छोरा जन्मीएका घरमा पुत्र बढाइँ सुरु हुन्छ । पुत्र बढाइँमा गोपीचन नाच देखाउने, गाथा हाल्ने पुरानो चलन छ । बाह्र मगरातमा पर्ने पाल्पा, अर्गलीबाट आएका मगरले आफूसँगै भुस पाल्ने पर्व पनि लिएर आएको गाउँका अगुवा बताउँछन् । पर्वका अवसरमा आयोजना गरिएको खुला पुरुष भलिबल प्रतियोगिता बुधबारदेखि सुरु भइसकेको मञ्चले जनाएको छ । महिला भलिबल, सामूहिक लोकनृत्य, धनुषवाण, रस्साकस्सीलगायत प्रतियोगितात्मक खेल पनि आयोजना गरिएको छ । सांस्कृतिक नाच र झाँकी पनि प्रदर्शन गरिनेछ ।
दमौली : तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा अघिल्लो मङ्गलबार साँझ चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भयो । घर नजिक रहेको गोठबाट चितुवाले आक्रमण गर्दा आठ वर्षीय अभिनव कुँवरको ज्यान गयो । उनको शव घरभन्दा दुई सय मिटर टाढा जङ्गलमा फेला परेको थियो । बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा गत कात्तिक ४ गते चितुवाको आक्रमणबाट ११ वर्षीय विना चेपाङको मृत्यु भयो । बिहान ६ः३० बजे घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा बालिका चितुवाको आक्रमणमा परेकी थिइन् । एकै महिनामा भएका यी दुई घटना प्रतिनिधिमूलक मात्र हुन् । तनहुँमा पछिल्लो केही वर्षयता चितुवाको आतङ्क बढ्दै जान थालेको छ । घरआँगनबाटै बालबालिका चितुवाको सिकार हुन थालेपछि सर्वसाधारण त्रसित छन् । व्यास–१२ छिर्कनेका विष्णु पाण्डे घरछेउमै आएर चितुवाले आक्रमण गर्न थालेपछि स्थानीयवासी आतङ्कित भएको बताउनुहुन्छ । पाण्डे भन्नुहुन्छ, “कतिबेला चितुवाले आक्रमण गर्ने हो भन्ने त्रास बढेसँगै साँझ पर्न थालेपछि मानिसहरुलाई घरबाहिर निस्कन डर हुन थाल्यो ।” मङ्गलबार साँझ आठ वर्षीय बालकलाई चितुवाले आक्रमण गरेको थाहा पाउनेबित्तिकै स्थानीयवासी दौडिए पनि बालकलाई बचाउन नसकिएको उहाँले बताउनुभयो । “चितुवाले आक्रमण गरेको थाहा पाउनेबित्तिकै पछिपछि दौडिँदै गएका थियाँै, तर बालकलाई बचाउन सकिएन,” पाण्डेले भन्नुभयो । व्यास–१२ सँगै सीमा जोडिएको बन्दीपुर गाउँपालिकामा विगत चार महिनामा चितुवाको आक्रमणबाट दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । बन्दीपुरमा अझै पनि चितुवाको त्रास कायमै छ । बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठ भन्नुहुन्छ, “चितुवा नियन्त्रणका लागि चार/पाँच ठाउँमा खोर राखेका छौँ, तर पनि चितुवा नियन्त्रणमा आउन सकेको छैन ।” बन्दीपुरमा चितुवाको त्रासले बिहान झिसमिसे उज्यालो र साँझ परेपछि सर्वसाधारणलाई बाहिर ननिस्कन सचेतना जगाउँदै आएको श्रेष्ठले बताउनुभयो । विगत चार महिनाको अवधिमा चितुवाको आक्रमणबाट बन्दीपुर–१ का पाँच वर्षीय बालक सुप्रिम बगाले मगरको मृत्यु भएको थियो । बन्दीपुर गाउँपालिका–४ की आठ वर्षीया रियाना थापा र बन्दीपुर गाउँपालिका–१ बाघदलेका ३५ वर्षीय भीमलाल गरञ्जा चितुवाको आक्रमणबाट घाइते भएका थिए । तनहुँमा पछिल्लो समय मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्ले बताउनुहुन्छ । “यहाँ चितुवा र मानवबीच द्वन्द्व बढिरहेको छ, चितुवाको आक्रमणबाट बालबालिका सिकार भइरहेका छन्,” काफ्लेले भन्नुभयो, “चितुवाबाट बच्ने प्रमुख उपाय भनेको सतर्कता हो ।” चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न काफ्लेले आग्रह गर्नुभयो । “चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाऔं, झाडी सफा गरौँ, एक्लै नहिँडाँै,” काफ्लेले भन्नुभयो, “बच्चा तथा वृद्धहरुको विशेष ख्याल र रेखदेख गरौँ ।” सञ्चारमाध्यमले पनि चितुवाको आक्रमणबाट बच्न सर्वसाधारणलाई सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न उहाँले आग्रह गर्नुभयो । मृग, वन कुखुरालगायत वन्यजन्तु मानिसले सिकार गरिदिँदा वनमा सिकारको अभाव भई चितुवाले मानिसको सिकार गर्न थालेको बताइन्छ । जङ्गल फँडानी गरेर बस्ती बसाल्ने, जङ्गली जनावर मारेर खाइदिने कारणले गर्दा र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा रहेको छ । “तनहुँमा विशेषगरी चितुवाको समस्या रहेकाले चितुवाको स्वभाव, यसले आक्रमण गर्न सक्ने समय लगायतका विषयमा उपभोक्तालाई बेला–बेलामा जानकारी गराउँदै आएपनि चितुवा आक्रमण न्यूनीकरण हुन सकिरहेको छैन,” डिभिजन वन प्रमुख काफ्लेले भन्नुभयो, “चितुवा सक्रिय हुने समय र आनीबानी बुझ्न सकिए यसबाट बच्न सकिन्छ ।” जङ्गलमा पानीको अभावका कारण पनि पानी खोज्दै चितुवा बस्ती छेउछाउ आउने गरेको छ । “वन जङ्गलमा भएका पानीका स्रोत मासिँदै गएको छ, पानी खोज्दै बस्तीमा आउने चितुवाले घर नजिकै बालबालिका देखेपछि बच्चामाथि आक्रमण गर्न सक्छ,” उहाँ भन्नुहुन्छ, “त्यसका लागि जङ्गलमा पोखरी बनाएर पानीको स्रोत संरक्षण गर्न सकियो भने चितुवाबाट बच्न सकिन्छ ।” काफ्लेका अनुसार जङ्गलमा पानीको व्यवस्थापन, घरवरपर झाडी व्यवस्थापन र जङ्गलमा घाँसे मैदान संरक्षण गर्न सकिए चितुवाले मानिसमाथि आक्रमण गर्ने स्थिति न्यूनीकरण हुँदै जानेछ । सानो बच्चा साथमा भएको अवस्थामा, बुढो वा घाइते भई शिकार खेल्न अशक्त भएको अवस्थामा, शिकार खाइरहेको वा बच्चालाई खुवाइरहेको अवस्थामा, अचानक जम्काभेट भएमा र भाग्ने ठाउँ वा मौका नपाएमा चितुवाले मानिसमाथि आक्रमण गर्ने गरेको बताइन्छ । कार्यालयले चितुवा आक्रमणबाट बचाउन विभिन्न ठाउँमा चेतनामूलक कार्यक्रम पनि गरेको थियो । तर पनि चितुवाको आक्रमण रोकिन सकेको छैन । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रममा जोड दिँदै आएको वन कार्यालयले जनाएको छ । चौध बालबालिकाले ज्यान गुमाए चितुवाको आक्रमणबाट पछिल्लो पाँच वर्षको अवधिमा १४ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्षभन्दा कम उमेरका बालबालिका छन् । चितुवाको आक्रमणबाट २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठ, २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका चार वर्षीया रन्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, २०७६ जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी नौ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानु नगरपालिका–१ जामुनेगैह्राका चार वर्षीय आशिष बानियाँ र भानु नगरपालिका–२ फुस्रेटारमा सात वर्षीय ऋतिक रोकाको मृत्यु भएको थियो । त्यस्तै २०७६ पुस १४ गते शुक्लागण्डकी नगरपालिका–३ रातमाटाका २२ महिनाका बालक रविन नेपाली, पुस २० गते आँबुखैरेनी गाउँपालिका–१ रानागाउँका ८ वर्षीय पुजन सिंजाली, माघ १३ गते बन्दीपुर गाउँपालिका–४ लोहीपाखाका दश वर्षीय इशक सुनार, विसं २०७७ साउन २२ गते शुक्लागण्डकी नगरपालिका–२ का डेढ वर्षीय नारायण रानाको चितुवाको आक्रमण मृत्यु भएको थियो । यसैगरी २०७९ जेठ ३१ गते बन्दीपुर गाउँपालिका–१ बोडीस्वाँराका पाँच वर्षीय सुप्रिम बगाले, कात्तिक ४ गते बन्दीपुर गाउँपालिका–३ का ११ वर्षीया विना चेपाङ, कात्तिक १५ गते व्यास नगरपालिका–१२ का आठ वर्षीय अभिनव कुँवरको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । एक सामुदायिक वन : एक पोखरी निर्माण डिभिजन वन कार्यालय तनहुँको अनुदान सहयोगमा जिल्लाका १७ सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । वनजङ्गमा हुने वन्यजन्तुका लागि लक्षित गरी कार्यालयको अनुदान सहयोगमा गत आर्थिक वर्षमा विभिन्न १७ सामुदायिक वनमा पोखरी निर्माण गरिएको हो । भानु नगरपालिकामा १२, देवघाट, ऋषिङ र बन्दिपुरमा एक÷एक, म्याग्दे गाउँपालिकामा दुई÷दुईवटा पोखरी निर्माण गरिएको सहायक वन अधिकृत काशिराज पण्डित बताउनुहुन्छ । वनमा पानीको स्रोत मासिँदै गएपछि घरछेउ पानी खोज्दै आउने वन्यजन्तुले मानिसलाई आक्रमण गर्न थालेपछि वन कार्यालयले पोखरी संरक्षण अभियान थालेको हो । नरभक्षी चितुवा मार्न प्रशासनको आदेश पछिल्लो समय तनहुँका विभिन्न ठाउँमा आतङ्क मच्चाएको नरभक्षी चितुवा मार्न जिल्ला प्रशासन कार्यालय तनहुँले अनुमति दिएको छ । व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाको बुधबारको पत्र तथा स्थानीय व्यक्तिहरुको निवेदन समेतका आधारमा प्रशासन कार्यालयले नरभक्षी चितुवा मार्न अनुमति दिएको हो । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ९ (४) बमोजिम नरभक्षी चितुवा मार्न अनुमति दिने निर्णय भएको जानकारी दिनुभयो । लामो समयसम्मको प्रयासबाट समेत चितुवालाई नियन्त्रणमा लिन नसकिएको र मानिस तथा घरेलु चौपायामाथि निरन्तर आक्रमण भइरहने स्थिति भएकाले चितुवा मार्न अनुमति दिने निर्णय भएको अर्यालले बताउनुभयो । “त्रासदीपूर्ण वातावरणको अन्त्य गरी स्थानीयवासीलाई जीउज्यानको सुरक्षाको अनुभूति दिलाउन हिंस्रक नरभक्षी चितुवा मारी मृत चितुवा डिभिजन वन कार्यालय तनहुँमा बुझाउन अनुमति दिने निर्णय भएको छ,” अर्यालले भन्नुभयो । चितुवाको आक्रमणबाट मङ्गलबार साँझ व्यास नगरपालिका–१२ छिर्कनेमा आठ वर्षीय अभिनव कुँवरको मृत्यु भएको थियो । साथै बन्दीपुर गाउँपालिका–१, ३, ४ र ५ तथा व्यास नगरपालिका–११ र १२ मा गरी चितुवाको आक्रमणबाट पाँचजना बालबालिकाको मृत्यु तथा आठजना घाइते भएका छन् ।
पर्वत । जिल्ला ट्राफिक कार्यालय पर्वतले सडक सुरक्षाका लागि पर्वतको कुश्मा बजारमा जेब्राक्रसिङ बनाउने अभियान सञ्चालन गरेको छ । साविकको सदरमुकाम कुश्मा बजारभित्र सडक स्तरोन्नति भएसँगै सडकमा यात्रुलाईसमेत सहज रुपमा वारपार गर्नसमेत समस्या भएपछि ट्राफिक कार्यालय पर्वतको सक्रियतामा जेब्रा क्रसिङ बनाइएको हो । कुश्मा नगरपालिकाको सहयोगमा कुश्मा बजारभित्रका विभिन्न ६ स्थानमा ट्राफिक प्रहरीले जेब्राक्रसिङ बनाएको छ । विशेष गरी ग्रामीण क्षेत्रबाट सदरमुकाममा विविध काम लिएर आउने सर्वसाधरण बढी समस्यामा परेको गुनासो आएपछि जेब्रा क्रसिङ बनाइएको जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख सुमन न्युरेले जानकारी दिनुभयो । ट्राफिक प्रहरीले विशेष गरी बढीजसो सेवाग्राही जाने कार्यालयको सम्मुख र विद्यालय क्षेत्रमा जेब्रा क्रसिङ निर्माण गरेको छ । योसँगै पर्वतमा पछिल्लो समय ट्राफिक प्रहरीले सक्रियता बढाएपछि दुर्घटनासमेत न्यूनीकरण भएको छ । व्यवस्थित बसपार्क नहुँदा राजमार्गमा रोकेर राखिने गरिएका सवारी साधन स्थानीय तहको सहयोग र समन्वयमा ट्राफिक कार्यालय पर्वतले नै निर्माणाधीन बसपार्कमा अस्थायी रुपमा स्तरोन्नति गरी व्यवस्थापन गरेको न्यूरेले जानकारी दिनुभयो । पर्वतमा सञ्चालित साहसिक पर्यटकीय पूर्वाधारका कारण कुश्माबजारमा आन्तरिक तथा बाह्य पर्यटकको समेत चहलपहल बढ्दै गएको छ । बढ्दो जनघनत्वसँगै सवारी दुर्घटनासमेत बढ्ने भएकाले सडक सुरक्षाका लागि जेब्राक्रसिङ अत्यावश्यक भएको प्रहरीको भनाइ छ ।
बलेवा । बागलुङ बजारदेखि जिल्लाको दक्षिण केन्द्र कुश्मिशेरा बजार पुग्न एक घण्टा समय लाग्छ । २१ किलोमिटर सडकमध्ये २० किलोमिटर सडक कालोपत्र भएको छ । पक्की सडकमा २१ किलोमिटर यात्रा गर्दा भाडा कति लाग्छ होला ? जो–कोहीलाई लाग्न सक्छ पक्की सडकको भाडा सरकारले तोकेबमोजिम नै हुन्छ, तर यो सडक खण्डमा गुड्ने सवारीले तोकिएको भाडाभन्दा दोब्बर भाडा उठाउँछन् । केही महिना पहिले यातायात व्यवस्था कार्यालयसँग परामर्श गरेर जैमिनी नगरपालिकाले नगरपालिकाभित्रका सडकको भाडादर कायम गरेर सूचना प्रकाश गर्यो । नगरको सूचनाअनुसार बागलुङ बजारदेखि कुश्मिशेरा बजारसम्म यात्रा गर्दा रु दुई सय १० मात्रै भाडा लाग्नुपर्ने हो । अधिकांश निजी सवारी गुड्ने यो रुटमा यात्रुले एकतर्फी चार सय भाडा तिर्दै आएका छन् । यो त एउटा उदाहरण मात्रै हो । सार्वजनिक सवारी एकाध मात्रै चल्ने र निजी बोलेरो जिपहरु धेरै चल्ने बागलुङका अधिकांश ग्रामीण सडकमा भाडाको समस्या एकै खालको छ । बागलुङका १० वटै स्थानीय तहका यात्रुले तोकिएको भाडा तिर्न पाएका छैनन् । घरघरमै सुविधा पु¥याउने भएकाले यात्रु भाडाको विषयमा खुलेर बोल्दैनन् । निजी सवारीलाई निरुत्साहित गर्दा सार्वजनिक सवारीको पहुँच नभएकाले अप्ठयारो पर्ने यात्रुहरु नै बताउँछन् । यात्रुले महङ्गो भाडा मात्रै तिरेका छैनन् उनीहरुको यात्रा जोखिमपूर्णसमेत छ । अधिकांश निजी सवारीसाधनले यात्रु बोक्ने गरेकाले दुर्घटना बीमा, उपचार सुविधा लगायतका सुविधा यात्रुले नपाउने यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिंह थापा बताउनुहुन्छ । कार्यालयले पछिल्लो समय अनुगमन गर्ने र निजी सवारीसाधनलाई यात्रु नबोक्न आग्रह गर्ने गरेको छ । “हामीले अनुगमन गर्दा यात्रु बोकेको भेटेपछि कि त सार्वजनिक यातायात बनाउने वा यात्रु नबोक्ने गर्न अनुरोध गरेका छौँ”, थापाले भन्नुभयो, “रातो प्लेट बनाउने र भाडा लिएर यात्रु बोक्नेहरु धेरै छन् ।” थापाका अनुसार बागलुङ जिल्लाभर चल्ने तीन सय ५० बढी पिकअप भ्यानमध्ये अधिकांश रातो प्लेट भएका छन् । “निजी सवारीले न त तोकिएको भाडा लिन्छन्, न त हामीलाई अनुगमन गर्न सम्भव हुन्छ”, थापा भन्नुहुन्छ, “व्यक्ति व्यक्ति पुगेर अनुगमन गर्न सकिँदैन्, त्यसैले सरकारले तोकिएको मापदण्डमा चल्नुस् भनेका छौँ ।” थापाले निजी प्रयोजनका लागि दर्ता गरेका सवारीले भाडाका यात्रु बोक्न निरुत्साहित गरिने बताउनुभयो । कार्यालयले जिल्ला प्रशासन कार्यालय, उपभोक्ता मञ्च, ट्राफिक प्रहरीसँगको सहकार्यमा अनुगमन र सचेतना थालेको छ । पहिलो चरणमा नियम विपरीत यात्रु बोकेका २७ वटा पिकअप भ्यानका कागजात कार्यालयले लिएको छ । “रातो प्लेटमा भन्दा कालो प्लेटलाई राजस्व पनि कम लाग्छ, सरकारको आँखा पनि पुग्छ, यात्रुको जीवनसँग खेलबाड गरेर किन निजी गाडीले यात्रु बोक्नु”, कार्यालय प्रमुख थापा भन्नुहुन्छ, “तत्कालै कम्पनीमा दर्ता भएर सार्वजनिक यातायातका रुपमा नआए वा रातो प्लेटमै यात्रु बोके कारबाही गर्छौं ।” निजी सवारीले यात्रु बोक्न रोक लागउने र ट्राफिक नियमको पूर्ण पालनाबाट सवारी दुर्घटना न्यूनीकरण गराउन यहाँ कार्यरत ट्राफिक प्रहरी पनि सक्रिय रहेको छ । कच्ची सडकमा चालक अनुमतिपत्र बिनाका व्यक्ति सवारीसाधन चलाउने, तोकिएभन्दा धेरै यात्रु बोक्ने कार्यमा सवारी चालकहरु सक्रिय हुन थालेपछि ट्राफिक प्रहरीले पनि निगरानी बढाएको हो । “हामीले नियमानुसारको कारबाही गर्छौं, निजी सवारीसाधनले यात्रु बोक्न पाइँदैन र बढी भाडा उठाउन पनि पाइँदैन्”, ट्राफिक प्रहरी प्रमुख राजकुमार केसीले भन्नुभयो, “यातायात व्यवस्था कार्यालयले निजीलाई सार्वजनिक सवारीमा रुपान्तरण गर्न सहजीकरण गर्ने छ ।” कच्ची र पक्की सडकमा भाडामा रहेको मनोमानी निजी सवारीले यात्रु बोक्न छोडेपछि स्वतः समाधान हुने केसीको विश्वास छ । विधि मिचेर व्यक्तिले निजी सवारीमा भाडा कायम गर्ने भएकाले समस्या भइरहेको केसीले बताउनुभयो ।
दाङ: दाङ क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार दीपक गिरी शनिबार दाङको विकट क्षेत्र गङ्गटे पुग्नुभयो । बबई गाउँपालिका–१ मा पर्ने सो स्थानमा नेकपा (एमाले) का उम्मेदवार कोमल वली गत कात्तिक १५ गते गङ्गटे पुग्नुभएको थियो । बबई गाउँपालिकाको केन्द्र हापुरेबाट गङ्गटेको दूरी २४ किलोमिटरमात्रै हो । तर त्यहाँ पुग्न यी दुवै उम्मेदवारलाई करिब साढे दुई घण्टा लाग्यो । किनकि त्यहाँको सडकको अवस्था निकै दयनीय छ । एकपटक उम्मेदवार जितेपछि होस् वा हारेपनि अर्कोपटक त्यहाँ पुग्ने गरेका छैनन् । चुनावका बेला पुग्ने तर अन्य समयमा चासो नदिने भएपछि त्यहाँका नागरिकले असन्तुष्टि व्यक्त गरेका छन् । “चुनावका बेला नेताहरू आउनुहुन्छ, भोट हाल्न भन्नुहुन्छ”, स्थानीय उषा मगरले भन्नुभयो, “हामी भोट हाल्छौँ, तर जितेपछि फर्केर पनि आउनु हुँदैन ।” यी दुवै उम्मेदवारले अहिले भने गङ्गटेको विकासका लागि दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । जिते पनि, हारे पनि बीच–बीचमा गङ्गटे पुग्ने प्रतिबद्धता जनाएका छन् । गङ्गटेलाई दाङको कर्णालीका रूपमा पनि लिइन्छ । त्यहाँ पुग्न सडक सञ्जालको अवस्था नाजुक भएकै कारण आधा घण्टामा पुग्नुपर्ने त्यो सडकमा गाडीमा जाँदासमेत साढे दुई घण्टा लाग्ने गर्छ । त्यो सडकको ट्रयाक खोलेको १० वर्ष पुगेको छ । तर त्यहाँको सडक स्तरवृद्धि हुनसकेको छैन । अहिले पनि वर्षात्को समयमा आवतजावत ठप्प हुन्छ भने अन्य समयमा धुलाम्मे हुने गरेको छ । गङ्गटेमा कक्षा १० सम्म पढाइ हुने एउटा विद्यालय छ । त्यो भन्दा माथिको शिक्षा लिनका लागि कि त तुलसीपुर, कि नेपालगञ्ज जानुपर्ने अवस्था छ । “यहाँ उच्च शिक्षाका लागि एउटा क्याम्पस पनि छैन, कि त नेपालगञ्ज कि तुलसीपुर नै पुग्नुपर्ने अवस्था छ”, स्थानीय गम्बर रोकाले भन्नुभयो, “यहाँ क्याम्पस नहुँदा धेरै जना कक्षा १० पढ्ने र त्यसपछि पढाइ छाड्ने गरेका छन् ।” त्यहाँ खानेपानी समस्या पनि उस्तै छ । नजिकमा पानीका मुहान हुँदैनन् । टाढा–टाढाबाट पानी बोकेर ल्याउनुपर्छ । खानेपानीका धारा ल्याउनका लागि पटक–पटक गङ्गटेवासीले माग गरे, तर ती माग सम्बोधन हुन सकेनन् । विद्युत्को त्यस्तै समस्या छ । गएको वर्ष बबई गाउँपालिकाले त्यहाँ विद्युत् पुगेको भनी उद्घाटन गर्यो । त्यो दिनमात्रै विद्युत् बल्यो, त्यसको अर्को दिनदेखि बल्न छाडेको त्यहाँका विद्युत् अहिलेसम्म पनि बलेन । गाउँ–गाउँमा विद्युत्का पोल गाडिएकै दुई वर्ष भइसक्यो, तर ती पोलमा तारसमेत जोडिएको छैन । पटक–पटक निर्वाचनका बेला त्यहाँ नेताहरू पुग्छन् । तर जिते पनि हारे पनि अर्कोपटक नेता त्यहाँ पुग्ने गरेका छैनन् । “हामीले यो भन्दा पहिले पनि धेरै नेतालाई जितायौँ, निर्वाचनका बेला गाउँमै आउनुहुन्छ”, स्थानीय उषा मगरले भन्नुभयो, “त्यसपछि एकैपटक अर्को चुनावमा मात्रै देखिनुहुन्छ ।” त्यहाँका बासिन्दाले पटक–पटक उम्मेदवारलाई सडक, विद्युत्कै माग राख्ने गर्छन् । तर लामो समय हुुँदा पनि उनीहरूका समस्या ज्यूँका त्यूँ छन् । त्यहाँको तीनतले भन्ने स्थानमा केही समयअघि टेलिकमको टावर निर्माण भयो । त्यही टावरले काम चलेको छ । त्यो भन्दा पहिले सञ्चारका हिसाबले पनि शून्य थियो । अहिले तीनतले टावरले काम गरिरहेको भए पनि प्रभावकारी नभएको भन्दै अझै अर्को टावर आवश्यक पर्ने स्थानीय श्याम केसीले बताउनुभयो । त्यहाँ स्वास्थ्यको पनि त्यस्तै समस्या छ । एउटा स्वास्थ्यचौकी छ, त्यसमा सामान्य खालको उपचार हुन्छ । त्यसपछि ठूला–ठूला उपचार गर्न पनि तुलसीपुर तथा नेपालगञ्ज नै जानुपर्छ । सडक नभएको अवस्थामा बिरामीलाई एक दिनभर बोकेर लैजानुपर्ने अवस्था हुन्छ । त्यहाँ बबई नदीमा तटबन्ध पनि छैन भने स्थानीय खोलामा पनि पुल बन्न नसकेको अवस्था छ । यसले पनि त्यहाँका नागरिकको जीवनस्तर कष्टकर छ । गङ्गटे विकट क्षेत्रमा भएपनि सडक पुगेपछि भने रमणीय ठाउँ छ । वरपर डाँडाकाँडा र बीचमा उपत्यका छ । बबई गाउँपालिका वडा नं १ मा पर्ने त्यो ठाउँमा मकै, धान, कोदो, तोरीलगायतका खाद्यान्न राम्रो उत्पादन हुने गर्छ । बबई नदी नजिक पर्ने भएकाले माछा मारेर पनि उनीहरूले जीवन निर्वाह गर्ने गर्छन्, वनजङ्गल पनि भएकाले दाउराको समस्या छैन । त्यहाँ ठूला–ठूला साललगायतका रुख सुकेर नष्ट भइरहेका हुन्छन् । तिनलाई निकासी गर्न कानुनीलगायतका समस्या भएपछि ती त्यसै सुकेर नष्ट हुने गरेका छन् । त्यहाँ पाँच हजारभन्दा बढी जनसङ्ख्यामा बसोबास छ । तर अधिकांश सुकुम्वासी छन् । त्यहाँको ३८ बिघा क्षेत्रफलमात्रै नापी छ । अरु सबै ऐलानी जग्गा रहेको छ । त्यहाँका यस्ता धेरै समस्या समाधान गर्न राज्यको ध्यान पुग्न नसकेको बताउँदै अबको पाँच वर्षमा देखिने खालका विकास गर्ने राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले बताउनुभयो । “गङ्गटेको सोचेअनुरुप विकास गर्न सकिएको छैन, राज्यको ध्यान पुग्न सकेको छैन”, उहाँले भन्नुभयो, “अब हामीले पाँच वर्षभित्र यसको ब्याजको स्याज तिर्नेछौँ ।”
रसुवा । हिमाली छटाको आनन्द लिन आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या जिल्लामा क्रमशः वृद्वि हुँदै गएको छ । यसबाट होटल व्यवसायीको आर्थिक अवस्था सुधार समेत हुन थालेको छ । कोरोना सङ्क्रमणपश्चात फाट्टफुटरूपले आउने पर्यटक पछिल्लो समय क्रमशः बढेपछि प्रत्यक्षरूपमा होटल तथा लज सञ्चालन गर्ने व्यवसायी एवं अप्रत्यक्षरूपमा कृषि उपज बढाउने किसानसमेत लाभान्वित भएका छन् । विगतमा कोरोना त्रासा कारण धरासायी बनेको हिमाली क्षेत्रका होटल तथा लज अहिले चलायमान भइसकेका छन् । आगन्तुक पाहुनालाई प्रफुल्लित तवरबाट छिटोछरितो सेवा प्रदान भइरहेको पर्यटकीय होटल व्यवसायी सङ्घ रसुवाले जनाएको छ । असोजको पहिलो सिजनअन्तर्गत आगमन भएका पर्यटकलाई स्थानीयस्तरमा उत्पादन भएका तरकारीको परिकारले उनीहरूको मन लोभ्याउँदै गएको छ । भ्रमणमा आएका पाहुनालाई स्थानीय आलु, रायोको साग, काउली, बन्दाकोभी, फर्सी, बरेला, स्कुस, डल्लेमुलाजस्ता सब्जीको तरकारी र खानाको हकमा स्वदेशी तथा विदेशी पर्यटकको चाहनाअनुरूप मकैको ढिडो, चामलको भात, गहुँ वा आटाको पिठोबाट तयार गरिने रोटी एवं पाहुनाको चाहनाबमोजिम खाना तयार पारिँदै आएको व्यवसायीले बताएका छन् । पाहुना फर्कदा लौ साहुजी मिठो खुवाउनुभयो भनी फ्रफुल्लित मुद्राले धन्यवाद भन्दै जाने गरेको होटल व्यवसायी बताउँछन् । पदयात्राका क्रममा गोसाइँकुण्ड तथा लाङ्टाङ क्षेत्रको भ्रमणका लागि आन्तरिक पर्यटकका रूपमा महिलाको समेत सहभागिता बढ्न थालेको लाङ्टाङ राष्ट्रिय निकुञ्जको अद्यावधिक अभिलेखले बताएको छ । चालु आर्थिक वर्षको साउनदेखि गत कात्तिक १५ गतेसम्म आन्तरिक एवं बाह्यरूपले आगमन भएका १४ हजार तीन सय ९३ पर्यटकमध्ये स्वदेशी तथा विदेशीसमेत करिब तीन हजार महिलासमेत आगमन भएको लाङ्टाङ राष्ट्रिय निकुञ्ज वन प्राविधिक नितेन्द्र सिंहले जानकारी दिनुभयो । निकुञ्ज क्षेत्रमा भ्रमण गर्ने प्रत्येक नागरिकको लगत अद्यावधिक गर्ने र नियमानुसार तोकिएको प्रवेश शुल्क उठाउन पदमार्गका प्रवेशद्वारमा कर्मचारीको व्यवस्थापन एवं ठाउँ–ठाउँमा चेतनामूलक होर्डिङबोर्डसमेत राखिएको छ । हिमाली पदयात्राका लागि हेलम्बुतर्फको पूर्वी एवं धुञ्चेतर्फबाट चन्दनबारी जाने यी दुई पदमार्गबाट पर्यटक गोसाइँकुण्ड पुग्ने र चोलाङपाटीबाट ठूलोस्याफ्रु हुँदै लाङ्टाङको क्याङ्जेन पुग्ने गरेका छन् । हिमाली प्रकृति छटाको रसास्वाधन लिन जाने पाउनाको स्वागतार्थ धुञ्चेस्थित लाङ्टाङ राष्ट्रिय निकुञ्जको कार्यालय नजिक स्वागतद्वार निर्माणका साथसाथै सन्देशमूलक सूचना एवं महत्वपूर्ण जनावरको चित्रणसमेत राखिएका कारण पर्यटकको यात्रामा केही सहजता आएको बताउँदै निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले हिमाली क्षेत्रमा भ्रमण गर्ने पर्यटकलाई सहयोग दिन निकुञ्ज प्रशासन तयार रहेको जानकारी दिनुभयो । आगमन भएका विदेशी पर्यटकहरूमा भने सार्क राष्ट्रका साथै अमेरिका, जर्मन, जापान, कोरिया, अष्ट्रेलियासमेत विभिन्न देशका छन् । अन्य क्षेत्रको तुलनामा लाङ्टाङ राष्ट्रिय निकुञ्जको भू–भागमा अवस्थित हिमाली प्रकृतिको छटा अवलोकन गर्न राजधानी काठमाडौँबाट छोटो दूरी पर्ने र धुञ्चे पुग्नासाथ नजिक जसरी देख्न सकिने लाङ्टाङ हिमाल एवं गोसाइँकुण्ड नजिकको चुचुराले मनमोहक बनाउने आफ्ना अनुभव रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले बताउनुभयो । कुनै पनि यात्रुले पैदलमार्गमा हिँड्दा देखिने जनावरलाई मार्ने, तर्साउनेजस्ता क्रियाकलाप नगर्ने, कुनै पनि वनस्पति बिरुवा भाँच्ने एवं काट्ने काम नगर्ने र आफूबाट उत्पन्न हुने कागज वा प्लाष्टिकजन्य सबै प्रकारका फोहर तोकिएको स्थान वा ठाउँ–ठाउँमा राखिएका ड्रममा मात्र फ्याँक्न अनुरोध गरिएको निकुञ्ज कार्यालयले जनाएको छ । प्रतिव्यक्ति नेपालीका लागि रु एक सय, सार्क राष्ट्रका नागरिकका लागि रु एक हजार पाँच सय एवं अन्य देशका नागरिकको हकमा रु तीन हजार शुल्क लिने कानुनी प्रावधानलाई लाङ्टाङ राष्ट्रिय निकुञ्जले कार्यान्वयन गर्दै साउनदेखि कात्तिक १५ सम्म उठाएको रु ५३ लाख ४२ हजार पाँच सय राजस्व राज्यकोषमा दाखिला गरिसकेको छ । आगन्तु पाहुनालाई सफा मौसमको शरद ऋतुमा देखिने हरियाडाँडा, पदयात्रामा भेटिने वन्यजन्तु, उकाली–ओराली, लाङ्टाङ हिमाल, गोसाइँकुण्ड, धुञ्चेस्थित नेपालको पहिलो तामाङ सङ्ग्रहालय र ऐतिहासिक घलेराजाको दरबारस्थल, बाटोमा हिँड्दा भेटिने पुराना माने, चट्टानले भरिएका पहाड, छ्याङछ्याङ गर्ने ठाडो खोल्छा, स्थानीय परिकारका अग्र्यानिक खाना, लोकल वेषभूषा, स्थानीय सांस्कृतिक नाचगानले नै पर्यटक प्रफुल्लित हुने गरेका छन् । फर्किने क्रममा सबै पाहुना खुसी भएर जाने गरेको पाइएको निकुञ्जका कर्मचारीले बताएका छन् । पर्यटक सेवाका लागि धुञ्चे, स्याफ्रुबेँसी, ठूलोस्याफ्रु, लाङ्टाङ तथा गोसाइँकुण्डसमेतका स्थानमा एक सयभन्दा बढी लज तथा होटलले सेवा दिइरहेका छन् । हिमाली क्षेत्रमा चिसोपन बढिसकेका कारण नयाँ–नयाँ बाक्ला सिरक, डस्नासमेतका बिस्तारा राखिएकाले रातको समयमा पाहुनालाई जाडोको प्रवाह नहुने बताउँदै पर्यटकीय होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेल (निसान)ले जानकारी दिनुभयो । पर्यटकीय पदमार्गका ठाउँ–ठाउँमा रहेका सबै होटल तथा लज सञ्चालन भएका कारण जति बेला पनि बास बस्न सक्ने व्यवस्थाले आगन्तुक पाहुना प्रफुल्लित हुने गरेको पाइएको छ । पाहुनाको आगमनले हिमाली पाखामा रौनकता छाएको, होटल तथा लज सञ्चालकले राम्रो सेवा दिइरहेको समेत अध्यक्ष गजुरेलले बताउनुभयो । यस्तै भ्रमण गर्न आएका पाहुनाको खर्च साउनदेखि कात्तिक १५ सम्म लाङ्टाङ, गोसाइँकुण्ड एवं तामाङ सम्पदा मार्गका होटल लज तथा होमस्टे क्षेत्रमा भ्रमण गरेका पाहुनाले खर्च गरेको बताइएको छ । यस्तै गोसाइँकुण्ड तथा लाङ्टाङका साथै तामाङ सम्पदा मार्गअन्तर्गत गोल्जुङ, गतलाङ, चिलिमे, नाकथली, थुमन तथा बृद्विम होमस्टेसम्मको यात्रासमेत रोमाञ्चकारी बन्दै गएको छ । पाहुनाका लागि समयसाक्षेप, स्थानीयका साथै नेपाल–तिब्वत युद्व झल्काउने कलासमेत देखाउने गरेका छन् । होमस्टेमा बस्नका लागि पर्यटकको पहिलो रोजाइ गतलाङ हुने गरेको पर्यटन व्यवसायी फुर्पुसिङ्गी तामाङ बताउनुहुन्छ । गतलाङ क्षेत्रमा हिमालयकी पुत्री पार्वती माता बिराजमान रहनुभएको पवित्र कुण्ड, तामाङ समुदायको झुरुप्प बस्ती, अग्र्यानिक भोजन, स्याब्रु, जरायो, घोडानाचजस्ता प्रहसनले पर्यटकको बसाइ गतलाङतर्फ आकर्षित बन्दै गएको हो । काठमाडौँबाट सिधा बस सेवासमेत सञ्चालनले गतलाङ जाने पाहुनाको आगमनमा निकै सरलता मिलेको छ । रसुवा भ्रमणमा आउने सबै पाहुनाका लागि विशेष सुरक्षा व्यवस्थाअन्तर्गत नेपाल प्रहरीका साथै स्याफ्रुबेँसीमा पर्यटन प्रहरी युनिटसमेत रहेकाले यात्राका लागि सुरक्षा आवश्यक पर्नासाथ प्रहरीलाई खबर गर्न जिल्ला प्रहरी कार्यालयले सबै पाहुनामाझ अनुरोधसमेत गरेको छ ।
पोखरा : पोखराको नयाँ गाउँस्थित ’ग्लो संस्था’ मा सिलाई कटाईको तालिम लिइरहेका २० जना महिलाहरूलाई संस्थाले सिलाई मेसिन वितरण गरेको छ । पोखरा महानगरपालिका-१५ नयाँ गाउँ स्थित उक्त संस्थामा विगत ४ महिनादेखि निःशुल्क सिलाई कटाईको तालिम लिइहेका २० जना गरिब तथा विपन्न महिलालाई संस्थाले बिदाइ गर्दै निःशुल्क सिलाई मेसिन समेत वितरण गरेको हो । निःशुल्क मेसिन वितरण कार्यक्रममा मेसिन प्रदान गर्दै वडाका वडा अध्यक्ष तोरण बहादुर बानियाँले आफूहरू निर्वाचित भएर आए लगत्तै यस पवित्र संस्थासँग सहकार्य भएको र निर्वाचनका बेला वडावासीसँग वाचा गरे अनुरूप वडामा महिला उद्यमशीलता र युवा स्वरोजगारका कार्यक्रमलाई अगाडि बढाउँदै लगिएको बताए। उनले पवित्र उद्देश्य लिएर हिँडेको ’ग्लो संस्था’ले समाजमा रहेका असहाय, अपाङ्ग, गरिब तथा विपन्न वर्ग र समस्यामा परेकाहरूको उत्थानका लागि निःशुल्क शैक्षिक सामाग्री वितरण लगायत हरेक क्रियाकलापमा सहयोग गर्दै आइरहेको प्रति संस्थालाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहकार्य रहने बताए। साथै बानियाँले वडाको उद्देश्य अनुरूप यो पहिलो सुरुवाती कार्य मात्र भएको र अबका दिनमा वडाका अन्य संस्थाहरूसँग पनि सहकार्य गदै यस्ता कार्यक्रमलाई अगाडि बढाउँदै लैजाने बताए । संस्थाकी संस्थापक सिता पौडेलले सिकेको सीपलाई व्यवहारमा उतार्न तालिममा सहभागीहरूलाई सुझाव दिइन्। बिदाइ कार्यक्रममा भावुक समेत देखिएकी पौडेलले सिकाईका क्रममा सहभागीहरूसँग छुट्टै आत्मीययता गाँसिएको भन्दै यही सीपबाट आत्मनिर्भर भएर प्रगति गर्नु भन्दै सबैलाई आशीर्वाद दिइन् । वडा सदस्य बलराम पौडेलले सहभागी महिला दिदी बहिनीहरूलाई प्रदान गरिएको मेसिन मेसिन मात्र नभएर जीवन रूपान्तरण गर्ने साधन भएकाले यसको जतनसँग उपयोग गर्न आग्रह गरे। उनले सिलाई कटाई पेसा अति उत्तम पेसा रहेको भन्दै आत्मनिर्भर भएर समाजमा उदाहरणीय बन्न सबैलाई सुझाव दिए । यस्तै, संस्थाका निर्देशक आगमन राज पौडेलले आज उपलब्ध गराइएको मेसिन आफ्नै खुट्टामा उभिन र आफै श्रम गरेर जिउनका लागि औजारको रूपमा रहेको बताए। उनले यस औजार लाई नचलाए औजारमा मात्र नभई सीपमा पनि खिया लाग्ने भन्दै यसको सही प्रयोग गर्दै आफ्नो सीपलाई पनि उधाएर अगाडि बढ्न तथा उन्नति प्रगति गर्न शुभकामना दिए । वडा नं –१५ को सिफारिस तथा समन्वयमा वडावासी २० जना गरिब तथा विपन्न महिलालाई उक्त संस्थामा निशुल्क सिलाई कटाई तालिमका दिइएको थियो । संस्थाले तालिममा सहभागी सबैलाई ३ लाख बराबरको उषा कम्पनीको सिलाई मेसिन र मेसिन राख्ने स्ट्यान्ड वितरण गरेको हो। निःशुल्क मेसिन वितरण कार्यक्रममा संस्थाका संस्थापक, निर्देशक तथा वडाका जनप्रतिनिधिहरू लगायत तालिमकी प्रशिक्षक उषा नेपालीको सहभागिता रहेको थियो । उक्त संस्थामा हाल पुनः १० जना गरिब तथा जेहेन्दार छात्र छात्राले निःशुल्क कम्प्युटरको तालिम लिइरहेका छन् ।
पोखरा : युवा ब्यवशायी पूर्ण कुमार श्रेष्ठले आफ्नो जन्मदिनको अवसर पारी विभिन्न ब्यक्तिहरुलाई निः शुल्क कम्प्युटर शिक्षा प्रदान गर्ने भएका छन । पोखराका विभिन्न संघ संस्थामा आवद्ध श्रेष्ठले आफ्नो जन्मदिनको अवसर पारी १२ जना युवाहरुलाई निशुल्क कम्प्यूटर शिक्षा प्रदान गर्न लागेका हुन । श्रेष्ठले जन्मदिनको अवसरमा साथीहरु संघ रमाइलो गरी खर्च गर्ने पैसाले आफु भन्दा कम अवसर पाएको र पर्याप्त तालिमको कमीका कारण रोजगार बिहिनहरुलाई रोजगार दिने उद्देश्यले १ लाख बराबरको खर्चमा उक्त तालिम निशुल्क रुपमा प्रदान गर्न लागेका हुन् । श्रेष्ठले आफुले संचालन गरेको संध्या जब्स प्रा.लि र युवा ब्यवशायीहरु बिच साथ सहयोग र सहकार्यका लागी गठन गरिएको “युथ कम्युनिटी क्लब”को आयोजनामा ६ जना युवालाई बेसिक कम्प्युटर तलिम र ६ जनालाई कम्प्युटर हार्डवेयर नेटवर्किङ तालिम दिने बताए । पोखरामा बिगत १० वर्षदेखि रोजगार सम्बन्धी विभिन्न तालिम तथा परामर्श सहित रोजगार र संघ संस्थाहरुको लागि कर्मचारी साथै पोखराका एजेन्सीको रुपमा काम गर्दै आइरहेको हजारौ युवालाई रोजगार दिलाउन सफल संध्या जब्स प्रा लि बुद्धचोकमा उक्त तालिम प्रदान गरिने श्रेष्ठले वताए । तालिममा सहभागीहरुलाई रोजगारको समेत अवसर प्रदान गरिने र आगामी दिनमा सन्ध्या जब्स प्रालिबाट निशुल्क रोजगार उपलब्ध गराउने समेत बताए । युवा ब्यवशायी श्रेष्ठले संध्या जब्स प्रालि संगै युवा ब्यवयशायीहरु बिच साथ सहयोग र सहकार्यका लागी “युथ कम्युनिटी क्लब” गठन गरी पोखरा साथै नेपाल भरिनै विगत तीन बर्षदेखी युवाहरुलाई ब्यवसायमा संलग्न बनाउदै आएका छन । श्रेष्ठले आगामी दिनमा पनि रोजगारी नपाएकाहरुलाई नेपालमै रोजगार दिलाउनका लागि विभिन्न तालिम परामर्श सहित निःशुल्क रोजागार उपलब्ध गराउने आफ्नो कम्पनीको उद्देश्य रहेको समेत वताएका छन । श्रेष्ठले जन्मदिनको अवसरमा विभिन्न संघ संस्थाबाट उपहार स्वरुप प्राप्त केक काटी विभिन्न ब्यवशायीहरु संगै आफ्नो जन्मदिन समेत मनाए । उक्त अवसरमा सहभागीहरुले श्रेष्ठको प्रगति तथा उत्तरउत्तर प्रगतिको कामना गर्दै आफुहरुले पनि आफ्नो जन्मदिनमा केही न केही सामाजिक काम गर्ने समेत वताएका थिए ।
महेन्द्रनगर : सिरहा र धनुषाको सिमाना स्थित कमला नदीमा भूत मेला लागेको छ । आज नदी किनारमा बिहानैदेखि स्नान गर्ने श्रद्धालुको घुइँचो लागेको छ । कमलाको उत्तराहिनी , सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाटमा भक्तजनको भीड नै लागेको छ । कार्तिक पूर्णिमामा कमलामा स्नान गर्नाले भूतबैताल भाग्ने र धामी–झाँक्रीले तान्त्रिक सिद्धिप्राप्त गर्ने जनविश्वास रहेको छ । बर्सेनि धामी–झाँक्रीले भूत र घरको कूलदेवता खेल्दै कमला नदीमा पुगेर स्नान गर्ने चलन सदियौँदेखि रहिआएको र त्यसैले यसलाई भूत मेला भन्ने गरिएको बताइएको छ । आजको दिन नयाँ–नयाँ धामी–झाँक्री कमला स्नान गरेपछि तन्त्र विद्यामा निपुर्ण हुने मान्यता पनि रहेको छ । भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले नदीको शुद्धपानी आ-आफ्नो घर लैजाने गर्छन् । उक्त पानी पूजाअर्चना अथवा सुद्धि गर्न गङ्गाजलजस्तै पवित्र मानिन्छ । भूत मेला हेर्न सो नदी किनारमा हजारौँ सङ्ख्यामा श्रद्धालु भक्तजन सहभागी भएका छन् ।

