कैलाली: कैलालीको टीकापुर नगरपालिका–६ का रामकृष्ण चौधरी एकाबिहानै सहकारी संस्थाको कार्यालय अगाडि लाइनमा बस्नुभएको थियो । हिउँदे खेतीको समय भएका कारण सहजरूपमा रासायनिक मल नपाउँदा उहाँ मलका लागि लाइनम बस्नुभएको हो । किसान मल पाइन्छ कि भनेर लाइनमा हुँदा सहकारीको कार्यालय भने बन्द थियो । “खेती लगाउने समयमा सबैभन्दा बढी पीडा मलको हुन्छ । सहजरूपमा मल नपाउँदा समयमा खेती गर्न सकिएको छैन”, उहाँले भन्नुभयो, “बजारमा मल पाइँदैन । सहकारीहरूले पनि आफ्ना सेयर सदस्यलाई मात्रै मल उपलब्ध गराउँछन् । मल नहालेर उब्जनी हुँदैन ।” सोही ठाउँका लक्ष्मण चौधरीले खेत जोतेर छाड्नुभएको छ । उहाँ मल नपाएपछि गहुँ छर्ने काम हुन नसकेको बताउनुहुन्छ । “खेत जोतेको हप्ता दिनभन्दा बढी भइसक्यो । मल नपाएर गहुँ छर्न पाएको छैन”, उहाँले भन्नुभयो, “बर्सेनिको समस्या मल अभावको कहिल्यै समाधान हुन सकेन । यस्तो भए खेती गर्ने जाँगर पनि लाग्दैन ।” भजनी नगरपालिका–६ का सुरेश कठरिया खेतीपाती सकेर कमाउनका लागि बाहिर जाने तयारीमा हुनुहुन्छ । हिउँदे खेती लगाइसकेपछि चार–पाँच महिना घरमा खाली बस्नुपर्ने भन्दै त्यो समयमा ज्याला मजदुरी गरेर घरको अन्य खर्च टार्नका लागि कमाउन जाने तयारीमा रहनुभएका सुरेशलाई मल नपाउँदा समस्या भएको छ । उहाँले १५ बिघा क्षेत्रफलमा खेती गर्दै आउनुभएकामा जसोतसो पाँच बिघामात्रै गहुँ छर्न सफल भएको बताउनुभयो । “समयमै मल पाएको भए सबै खेतमा गहुँ छरिसकिन्थ्यो । मल नहालेर गहुँ छरेभन्दा नछरेजस्तै हो”, उहाँले भन्नुभयो, “मल नपाउँदा यता खेती पनि सयममा लगाउन सकिएन भने उता कमाउन जाने भनेको ठाउँमा पनि जान सकिएको छैन ।” भजनीका गणेश साउदको समस्या पनि उस्तै छ । उहाँले हिउँदे बाली लगाइसक्नुभयो, तर निकै मेहेनत गरेर । स्थानीय बजारमा रासायनिक मल नपाएपछि निकै कष्टका साथ छिमेकी बजार भारतबाट मल ल्याएर खेती लगाउनुपरेको उहाँको भनाइ छ । “स्थानीय बजारमा मल पाइएन । मल भएका सहकारीले हामीलाई मल दिएन”, उहाँले भन्नुभयो, “नभन्नुपर्ने कुरा हो तर लुकीचोरी भारतबाट मल ल्याएर खेती लगाउनुपर्ने बाध्यता भयो ।” स्थानीय बजारमा रासायनिक मलको चरम अभाव छ । मल खरिदका लागि अख्तियारी पाएका सहकारीले माग भएअनुसारको मल खरिद गर्न पाएका छैनन् । मुख्य आपूर्तिकर्ताको रूपमा रहेका कृषि सहकारीमा दैनिक किसान सहकारी धाउने गरेका छन् । बर्दियाको राजापुरका भीमबहादुर चौधरी मल पाइन्छ भनेर कैलालीको जानकी गाउँपालिका–४ मा रहेको बिजवृद्धि कृषक सहकारी संस्थामा पुग्नुभयो । सहकारीमा मल नपाएपछि उहाँ रित्तो हात फर्किनुपरेको बताउनुहुन्छ । “कताकता मल पाइन्छ भन्ने खबर सुनेपछि मलका लागि यहाँ आएका हौँ, यता पनि मल रहेनछ”, उहाँले भन्नुभयो, “बर्दियामा मल नपाउँदा कैलाली पुगियो तर पनि मल पाइएन, अब खेती कसरी लगाउने र?” बिजवृद्धि कृषक सहकारी संस्थाले बीउ उत्पादनको काम गर्छ भने रासायनिक मल खरिद बिक्रीको काम पनि गर्दै आएको छ । अन्य कृषि सहकारीको भन्दा बढी मात्रामा मल बिक्री गर्दै आएको सहकारीले पनि माग भएबमोजिम मल नपाउँदा किसानलाई रित्तै फर्काउनुपरेको बताएको छ । सहकारीका व्यवस्थापन गोविन्दराज रावतले बिजवृद्धिका लागि बीउ उत्पादन गर्ने किसानलाई नै मल पु¥याउन नसकिएको बताउनुभयो । “मलको निकै अभाव छ, त्यसमा पनि डिएपी मल पाइँदैन”, उहाँले भन्नुभयो, “मल नपाएका कारण खेती गर्ने समय बित्दै गएको छ । किसान मलको खोजीमा दौडधुप गर्दैछन् ।” टीकापुर नगरपालिका–८ मा रहेको धनसिंहपुर कृषि सहकारी संस्थाले पनि किसानको माग अत्यधिक भएका कारण मलको आपूर्ति गर्न नसकेको जनाएको छ । संस्थाका अध्यक्ष धनसिंह साउदले भन्नुभयो, “मल विक्रेता डिपोले ५०–६० कट्टा मल दिन्छ । एउटै किसानलाई १०–१२ कट्टा मल चाहिएको हुन्छ । कसरी पु¥याउन सकिन्छ यस्तो अवस्थामा ?”
अर्घाखाँची: अर्घाखाँचीको अर्घा जुन गाउँ नेता उत्पादन गर्ने स्थानको रुपमा चिनिन्छ । जहाँबाट २०४८ सालयता लगातार सांसद पाउँदै आएको छ । पछिल्लो ३१ वर्षमा सन्धिखर्क नगरपालिका ९ मा पर्ने अर्घामा जन्मिएका र स्थायी घर भएकाले मात्रै निर्वाचन जित्दै समेत आउनु भएको छन । अर्घामा यसपटकको निर्वाचनमा समेत दुईजना निर्वाचित हुनुभएको छ । अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएका टोपबहादुर रायमाझी र प्रदेशसभा– १ मा विजयी हुनुभएका चेतनारायण आचार्य दुवै अर्घा गाउँका बासिन्दा हुनुहुन्छ । अहिलेको निर्वाचनमा समेत यस गाउँबाट चार जनाले उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचित टोपबहादुर रायमाझी, उपविजेता नेपाली कांग्रेसका नेता एवम् पूर्व उपसभामुख पुष्पा भुसाल मात्र होइन प्रदेशसभा १ मा विजयी बन्नु भएका एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य र स्वतन्त्रबाट मनोनयन गरेका वसन्त केसी चार जना यसै गाउँका हुनुहुन्छ । जिल्लामा २०४८ देखि ७९ सम्म भएका निर्वाचनमा अर्घाबाटै सांसद चुनिनु भएका छन् । अर्घाकै रेवतीप्रसाद भुसाल कांग्रेसबाट २०४८ र २०५१ मा सांसदमा निर्वाचित भएर पर्यटन राज्यमन्त्री बन्नु भएको थियो । २०५६ सालमा राष्ट्रिय जनमोर्चाबाट डिलाराम आचार्य निर्वाचित हुनुभएको थियो । उहाँ अहिले नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिव हुनुहुन्छ । पञ्चायतकालमा रेवतीप्रसादका पिता नारायणप्रसाद भुसाल २०१९ देखि २०२८ सालसम्म लगातार चार पटक चुनाव जितेर जिल्ला पञ्चायत सदस्य हुनुभएको थियो । सांसद मात्र होइन सन्धिखर्क नगरपालिकाको संस्थापक नगर उपप्रमुख ठाकुरकुमार विक र वर्तमान उपप्रमुख मिश्रा आचार्य दुवै साविक अर्घा गाविसका हुनुहुन्छु । चौबीसे राज्य अन्तर्गत पर्ने अर्घा राज्य र खाँची राज्य मिलेर अर्घाखाँची जिल्ला बनेको छ । नेपाल एकीकरणको समयमा दुवै राज्य पाल्पासँगै नेपाल राज्यमा मिलेको इतिहास छ । चौबीसे राज्यको समयमा अर्घा र खाँचीका राजाले लडाइ झगडा नगर्ने, आगामी दिनमा मिलेर अगाडि बढ्ने भनी तत्कालीन अवस्थाको खर्कमा सन्धि गरेकाले उक्त स्थानको नाम सन्धिखर्क ९हालको सदरमुकाम०रहन गएको इतिहासकारले बताउँछन् ।
पोखरा: एनएमएले ‘वुमेन मुभ माउन्टेन्स्’ नारासहित पोखरामा आयोजना हुने ७ औं अन्तरराष्ट्रिय पर्वतीय महोत्सवको तयारी थालेको छ । आगामी मंसिर २४ र २५ गते पोखरास्थित अन्तरराष्ट्रिय पर्वतीय संग्रहालय रातोपैह्रोमा आयोजना हुने महोत्सवको तयारी तिव्र पारिएको आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । नेपाल पर्वतारोहण संघले अन्तरराष्ट्रिय पर्वतीय दिवसको अवसरमा दुईदिने कार्यक्रम आयोजना गर्ने तयारीमा रहेको महोत्सव संयोजक ठाकुरराज पाण्डेले बताए । उनका अनुसार सो महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसंगको सहकार्यमा सगरमाथा आधार शिविर व्यवस्थापनसम्बन्धी अन्र्तक्रिया, नविनतम् प्रविधिमा उत्पादित वस्तुहरुको प्रदर्शनी, परम्परागत खेल छेलो तथा आर्चरीको आयोजना गरिने छ । उनले उक्त महोत्सवमा पर्वतीय वृत्तचित्रहरुको प्रर्दशनी, पर्वतीय पर्यटनसम्बन्धी अन्र्तक्रिया कार्यक्रम, पर्वतीय विषयमा आधारित प्रतिस्पर्धात्मक चित्रकला कार्यक्रम र बाल क्लाइम्बिङ अन्र्तगत बोल्डरिङ खेल प्रर्दशनी गरिने जानकारी दिए । निशुल्क प्रवेश पाइने सो महोत्सवमा करिब ३० लाख खर्च हुने आयोजनकले जनाएको छ ।
म्याग्दी: बिहान उठेदेखि राति अँध्यारो नहुँदासम्म सुन्तला बगैँचामै व्यस्त हुन्छिन् मायादेवी पुन । बिहान खाए बेलुकी के खाउँ ? जाडो बढ्दा न्यानो के लाउँको अवस्था भोगेकी पुनको दैनिकीमा अहिले परिवर्तन आएको छ । सुन्तलाले फेरिदियो ३८ वर्षीया पुनको जीवनशैली । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि अलि वर कालीगण्डकी नदीको पक्की पुल पार गरेर दायाँ मोडिएपछि यातायातका साधनमार्फत करिब २० मिनेटको यात्रापश्चात् पुगिन्छ अन्नपूर्ण गाउँपालिका–७ मा पर्ने दोसल्ले गाउँ । शिरमा टिकोट र पुछारमा कालीगण्डकी नदी अनि बीचमा हरिया डाँडा र जङ्गलको बीचमा पश्चिम दक्षिण मोहोडा गरेर फैलिएको चिटिक्कको छ दोसल्ले गाउँ । यो गाउँमा ५२ घरधुरीको बसोबास छ । सबै घरधुरीका साना ठूला सुन्तलाका बगैँचा छन् । तिनै बगैँचामा फलेका सुन्तला बिक्री गरेर यहाँका बासिन्दाको जीवनशैलीमा निकै परिवर्तन भएको छ । “हाम्रा लागि सुन्तलाको बगैँचा नै युरोप, अमेरिका हो । सुन्तलाका बोट हाम्रा रोजगारदाता हुन् । छोराछोरीको जस्तै माया लाग्छ यी बोटको”, शनिवार दोसल्लेको सुन्तला बगैँचामा यस संवाददातासँग हँसिली मायादेवी पुनले भन्नुभयो, “गत वर्ष दुई लाखको सुन्तला बोटबाटै बेचेँ, यस वर्ष नयाँ बोटमा फल लागेको छ, उत्पादन राम्रो भएकाले निर्माण व्यवसायीले रु चार लाखमा बोटबाटै सुन्तला खरिद गरेका छन् ।” दोसल्लेका मिलन गर्बुजा, डिलमाया पुन, प्रेमबहादुर पाइजा लगायतका ५० कृषकले सुन्तलाबाट गत वर्षको भन्दा दोब्बर आम्दानी लिएका छन् । सबै कृषकका बगैँचामा लटरम्मै सुन्तला छन् । सुन्तला खरिद गर्न बगैँचामा नै आएका व्यापारीसँग उनीहरु मोलमोलाइमा व्यस्त छन् । भर्खरै सम्पन्न चुनावको मत सङ्ख्या गन्ती हुँदै गर्दा दोसल्लेका कृषकहरुलाई भने सुन्तलाको हिसाब किताब गर्न भ्याइनभ्याइ छ । २०५८ सालदेखि दोसल्लेमा व्यावसायिक सुन्तला खेती सुरु भएको अन्नपूर्ण गाउँपालिकाकी पूर्वउपाध्यक्ष केशमाया मगरले बताउनुभयो । “पहिला बारीमा दुई मुरी कोदो फल्थ्यो, वैदेशिक रोजगारी वा परम्परागत खेतीपातीबाट नै यहाँका बासिन्दाको जीवन चल्थ्यो”, मगरले भन्नुभयो, “तर अहिले अवस्था फेरिएको छ । विदेश गएका पनि गाउँमा नै फर्केर सुन्तला खेतीमा लागेका छन् । गाउँको कोदोबारी अहिले सुन्तला बगैँचामा परिणत भएको छ ।” सुन्तला खरिद गर्न काठमाडौँ, चितवन र पोखरादेखि व्यापारी बगैँचामा नै आउछन् । “बिक्रीको कुनै चिन्तै छैन । बोटमा सुन्तला फलेपछि घरमै पैसा आउँछ”, दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहका अध्यक्ष प्रेमबहादुर पाइजा भन्नुहुन्छ, “अरू ठाउँको भन्दा यहाँको सुन्तला हेर्दा आकर्षक र खाँदा रसिलो हुने भएकाले व्यापारी पहिला यहाँका सुन्तला नै खोज्दै आउँछन् ।” यस वर्ष कात्तिकको तेस्रो सातासम्म २० व्यापारी आएका छन् । गाउँका प्रायः सबै किसानका सुन्तला बोटबाट नै बिक्री भइसकेका छन् । व्यापारीले बगैँचाबाटै प्रतिकिलो रु ९५ का दरले सुन्तला खरिद गर्छन् । दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहका अध्यक्ष पाइजाले गत वर्ष ६२ हजार पाँच सय किलो सुन्तला निकासी हुँदा रु ७५ लाख गाउँमा भित्रिएको र यस वर्ष करिब दुई सय नयाँ सुन्तलाका बोटमा पनि फल लागेको र उत्पादन पनि राम्रो भएकाले करिब रु दुई करोडको हाराहारीमा सुन्तला निकासी हुने जानकारी दिनुभयो । तथ्याङ्कमा म्याग्दीका सुन्तला म्याग्दीमा ६ सय ४० हेक्टर क्षेत्रफलमा सुन्तला खेतीले ढाकेकामा तीन सय ४५ हेक्टरमा रहेको सुन्तलाले उत्पादन दिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा विगतका वर्षको तुलनामा भन्दा सुन्तला उत्पादन बढेको बताउँदै कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले दुई हजार ३० मेट्रिक टन सुन्तला उत्पादन भई रु १० करोडभन्दा धेरैको कारोबार भएको बताउनुभयो । अघिल्लो आव २०७७÷७८ मा म्याग्दीको सुन्तलामा ‘चाइनिज सिड्रस फुडफ्लाई’ नामक औंसा किराको प्रकोप देखिएर २५ प्रतिशतले उत्पादन घटेको थियो । तर गत आर्थिक वर्ष भने सुन्तलाको बोटमा खाद्य पासो थापेर औंसा किराको प्रकोप नियन्त्रण, किसानलाई तालिम, प्लास्टिकको थैला सहयोग तथा निरन्तरको अनुगमनले सुन्तला उत्पादन बढेको कृषि ज्ञान केन्द्रका प्रमुख सिग्देलले जानकारी दिनुभयो । बर्सेनि सुन्तलाको क्षेत्रफल विस्तार एवम् उत्पादन बढ्दै जान थालेको छ । गत वर्ष सुन्तला खेतीको प्रवद्र्धन तथा किसानलाई प्रोत्साहन गर्न कृषि ज्ञान केन्द्र म्याग्दीले रु ११ लाखको बजेटमा विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो । म्याग्दीमा बेनी नगरपालिकाभित्र भकिम्लीको मरेक, राखु, सिङ्गाको बास्कुना, मङ्गला गाउँपालिकाको कुहुँ, भर्जुला, बराङ्जा, भोर्लेनी, अर्मन, मालिकाको विम, ओखरबोट, देवीस्थान, धवलागिरिको ताकम, हिलापोखरी, मुदीको खाम्ला, रघुगङ्गाको राखु क्षेत्र, वेगखोला, अन्नपूर्णको दोवा, दाना, नारच्याङ, हिस्तानको दोसल्ले, घारलगायत क्षेत्र सुन्तला उत्पादनको पकेट क्षेत्र मानिन्छन् । म्याग्दीमा झन्डै पाँच सयजना किसान व्यावसायिक सुन्तला खेतीमा आबद्ध छन् ।
काठमाडौं: मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदी किनारका स्थानीयलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ । सोमबार एक सूचना जारी गर्दै समितिले मेलम्चीको पानी पथान्तरणको कार्य सोमबारदेखि सुरु गरिएकाले उक्त पानी पथान्तरणका क्रममा मेलम्ची नदीमा पानीको बहाव घटबढ हुनसक्ने भएकाले सतर्क रहन सूचित गरेको हो । सुरुङ प्रवेश मार्गहरु सिन्धु, ग्यालथुम, अम्बाथानबाट जुनसुकै समयमा पनि पानी झर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ । माछा मार्न, वस्तु भाउ चराउन, खेतीपाती गर्न तथा अन्य जुनसुकै काम गर्न जाँदा विशेष सावधानी अपनाउन सो सूचनामार्फत अनुरोध गरिएको छ । गत जेठको दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीको पानी पथान्तरणको कार्य सोमबारदेखि पुनः सुरु गरिएको छ ।
बागलुङ: बागलुङ नगरपालिकाले बागलुङ बजारका सबै घरमा रङगरोगन गर्न अनुरोध गरेको छ । बजार सुन्दर बनाउन नगरपालिकाले अव्यस्थित तार र पोलको व्यवस्थापन समेत गर्न लागेको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । उहाँले यसका लागि नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम तथा निजी इन्टरनेट प्रदायक कम्पनीसँगको सहकार्यमा पुराना तार र जीर्ण अवस्थामा रहेका तथा प्रयोगविहीन विद्युत्का पोल हटाउने अभियान सुरु गरिएको बताउनुभयो । नगरपालिकाले पुराना तार तथा अन्य संरचना हटाउन लागेको भन्दै नगरवासीलाई घरमा रङगरोगन गरी सहयोग गर्न आग्रह समेत गरेको छ । बजारमा सडक अवरोध हुने गरी गाडिएका पोलका कारण ट्राफिक व्यवस्थापनमा समेत समस्या हुँदै आएको थियो । बजारको सौन्दर्यीकरणमा समेत असर गरेकोले जीर्ण तथा प्रयोगविहीन पोल र अव्यवस्थित तार हटाउन सुरु गरेको बागलुङ नगरपालिका–२ का वडा सदस्य, पोल तथा तार एवं बजार व्यवस्थापन समितिका संयोजक अर्जुन घिमिरेले बताउनुभयो । उहाँले पहिलो चरणमा बजारका मुख्य सडकमा रहेका एक सय १० वटा पोल हटाइने जानकार दिनुभयो । जसअन्तर्गत हालसम्म ३५ पुराना पोल हटाइएको छ । “पहिलो चरणमा नगरपालिकाको वडा नंः १, २, ३ र ४ मा रहेको बजार क्षेत्रका एक सय १० वटा पोल हटाउन लागिएको हो”, घिमिरेले भन्नुभयो । नगरपालिकाले गतवर्ष पनि बजार क्षेत्रका केही अव्यवस्थित पोल हटाए पनि बीचमा काम रोकेको थियो ।। बागलुङमा विद्युत् प्राधिकरणले नाङ्गो तार विस्थापित गरी नयाँ पोलमा कभरसहितको एबिसी तार राखेपछि पुराना पोल काम नलाग्ने अवस्थामा छन् । तर इन्टरनेट तथा केबलका तार नहटाउँदा जीर्ण बनेका पोलका कारण बजार क्षेत्रको सौन्दर्य कुरुप बन्दै गएको थियो । बागलुङमा नेपाल टेलिकमले समेत फाइबर नेट सञ्चालन गरेर अव्यवस्थित तारलाई प्रतिस्थापन गरिसके पनि निजी इन्टरनेट कम्पनीका तारले पुराना पोल हटाउन सकिएको थिएन । निजी इन्टरनेट कम्पनीका तारलाई पनि व्यवस्थित गराउन निर्देशन दिएर पुराना पोल हटाएको नगर प्रमु्ख श्रेष्ठको भनाइ छ । बजार क्षेत्रमा चार÷पाँच सय अव्यवस्थित पोल रहेकाले बिस्तारै सबै विस्थापन गर्ने योजना रहेको उहाँले बताउनुभयो । पोल हटाउनका लागि विद्युत्, टेलिकम र निजी इन्टरनेट कम्पनीले प्राविधिक सहयोग गरेको र अन्य खर्च नगरपालिकाले व्यहोर्ने उहाँले बताउनुभयो ।
पोखरा: पोखरा महानगरपालिका २९ मा ‘विकास, अनुशासन र गतिशिलता’ नारासहति सक्रिय रहदै आएको आदर्श युवा क्लबले आयोजना गरेको रक्तदानबाट ९६ युनिट संकलन भएको छ । क्लबको २५ औं वार्षिकोत्सवको अवसरमा ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने नारासहित आयोजित २३ औं रक्तदान कार्यक्रमबाट ९६ युनिट रगत संकलन भएको हो । कार्यक्रमका प्रमुख अतिथीसमेत रहेका पोखरा महानगरपालिका वडा २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले पहिलो रक्तदाता सुरज जंग राणालाई ब्लग ब्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै गुरुङले अदर्श क्लबले जस्तै अन्य क्लब तथा संस्थाहरुले समेत सामाजिक उत्तरदायित्व वहन गर्नुपर्नेमा जोड दिए । उनले क्लबको स्वामित्वमा रहेको मैदानको स्तरोन्नती तथा बहुद्देश्यीय भवन निर्माणका लागि वडाबाट पहल गर्ने बताए । ‘खेलकुद विकासको लागि तपाइहरुको भूमिका निकै ठुलो छ, उनले भने, ‘त्यसैले यहाँहरुको स्वात्विमा रहेको यस मैदानको स्तरोन्नती र कभर्ड हलको लागि हाम्रो वडा सदैब पहल गर्नेछौ ।’ उनले भने । सो कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय पोखरा २१ का निवर्तमान वडाध्यक्ष चेत बहादुर गुरुङ, जनप्रकाश बहुमुखी क्याम्पसका प्रमुख ऋषिराम बुढाथोकी, सिद्ध टोल विकास संस्थाका अध्यक्ष रामजी पौडेल, सैनिकबस्ती गु्रप नम्बर १ समाजका अध्यक्ष सुवेदार चन्द्र बहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । भण्डारढिक रंगशालामा सोमबार सम्पन्न रक्तदानमा रक्तसञ्चार केन्द्र रामघाटको प्राविधिक सहयोग गरेको थियो । क्लबका अध्यक्ष पदम गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रमक संयोजक कर्णबहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने क्लबका सचिव ओम गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।
पोखरा: पोखराको नदिपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयको स्पोर्टस् मीट २०७९ को औपचारिक शुभारम्भ मंगलबार गरिएको छ । मंसीर २१ गतेसम्म चल्ने स्पोर्टस् मिटमा अन्तरसदनात्मक प्रतिष्पर्धा हुनेछ । हरियो, रातो, पहेंलो र निलो सदन गरी सञ्चालन हुने खेलकुद कार्यक्रममा विद्यालयका पूर्वप्राथमिकदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले विभिन्न खेलहरुमा प्रतिष्पर्धा गर्नेछन् । मंगलबार एक समारोहका बीच विद्यालयका डाईरेक्टर किरण सापकोटा, प्रिन्सिपल विश्वगोपाल पराजुलीले विद्यालयका खेलकुद शिक्षक लिला गुरुङलाई बल हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका हुन् । निर्देशक सापकोटाले गुणस्तरीय शिक्षामा मुलुककै अग्रणी विद्यालयमा स्थापित भइसकेको उल्लेख गर्दै प्रतिभाको गर्विलो ईतिहासले यस क्षेत्रमै शैक्षिक शानका रुपमा विद्यालय अघि बढेको बताए । प्रतिभाले खेलकुद तथा रचनात्मक गतिविधिमा पनि अग्रपंक्तिमा उभ्याएको उनको भनाइ छ । प्रिन्सिपल विश्वगोपाल पराजुलीले सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक ज्ञानमा विद्यालयले जोड दिएको उल्लेख गर्दै मानव स्वास्थ्यका लागि महत्वपूर्ण खेलकुद क्षेत्रलाई पनि विद्यालयले उत्तिकै प्राथमिकता दिएको बताए । विद्यालयका अतिरिक्ति क्रियाकलाप प्रमुख प्रकाश अधिकारीका अनुसार स्पोर्टस् मीटमा छात्र र छात्राहरुका बीच अन्तर सदनात्मक रुपमा बास्केटबल, भलिबल, फुटबल, दौड लगायतका खेल हुनेछन् । प्राप्त अंकका आधारमा विजेता घोषित गरी आकर्षक पुरस्कारका साथ पुरस्कृत गरिने उनले बताए । प्रिन्सिपल विश्वगोपाल पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारीले गरेका थिए भने स्वागत भाइस प्रिन्सिपल बुद्धिमोहन पौडेलले गरेका थिए विद्यार्थी तथा खेलाडीहरुको मनोबल उच्च बनाउनका साथै बालबालिकाका प्रतिभालाई प्रस्फुटन गर्न विद्यालयले आर्थिक सहयोग समेत गर्दै आएको छ । सन्दिप लामिछाने, अरुणा शाही जस्ता प्रतिभालाई जनही एक लाखले सम्मान गरिसकेको छ । मानवीय विपद, सामाजिक सेवामासमेत विद्यालय अग्रपंक्तिमा छ । प्रतिभा गुणस्तर मापन आइएसओ प्राप्त विद्यालय पनि हो ।
पोखरा: सुदुर पश्चिम प्रदेशको विकट जिल्ला डोटीका भुकम्प पिडितलाई वाइ सर्भिस क्लब अफ पोखरा र वाइ सर्भिस क्लब अफ लुम्बिनीले सम्युक्त रुपमा गत विहिबार राहत वितरण गरेका छन् । गत कार्तिक २३ गते बुधबार राती करिब २ वजेको समयमा डोटी जिल्लाको पुर्वी चौकी गाउँपालिका वडा नं. ७ गैरा गाउँमा केन्द्र विन्दु वनाई गएको ६.६ रेक्टर स्केलको भुकम्पको कारण त्यहाँका ठुलो धनजनको क्षति भएको समाचार माध्यममा प्रशारण भए पछि क्लबले सो स्थानमा गइ राहत वितरण गर्ने सोच बनायो । वाइज मेन इन्टरनेशनल क्लबका साउथइष्ट एशिया रिजनल डिरेक्टर इलेक्ट दिपक भण्डारीको नेतृत्वमा वाइ सर्भिस क्लब अफ पोखराका अध्यक्ष अरुण रानाभाट र क्लबका सल्लाहकार डोटीका स्थानिय समाजसेवी मिनबहादुर वोहराको समुहले राहत सामग्री वितरण गरेको थियो । क्लबले न्यानो कपडा एक सय ५० थान, कम्मल ५० थान, त्रिपाल ४० थान, खाद्यान्न सहयोग गरेको थियो । सो अवसरमा पुर्वी चौकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्याय, वडा नं. ७ का वडा सदस्य भिम खड्कालगाएतको रोहवरमा उक्त राहत वितरण गरिएको वाइ सर्भिस क्लब अफ पोखराका अध्यक्ष अरुण रानाभाटले बताए । रिजनल डिरेक्टर इलेक्ट दिपक भण्डारीले पिडितलाई गरिएको सहयोग पहिलो चरणको भएको र दोश्रो चरणमा गाउँपालिकाको सहकार्यमा वाइज मेन इन्टरनेशनलको सहयोगमा पिडितहरुको घर मर्मत, अस्थायी घर निर्माण, शौचालय तथा घर निमार्ण गर्ने योजना रहेको पनि वताएका छन् ।

