पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

काठमाडौं:   कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरका डिपोमा ४२ हजार मेट्रिकटन रासायनिक मल मौज्दात रहेको जनाएको छ । आइतबार मलको उपलब्धताबारे विवरण सार्वजनिक गर्दै मन्त्रालयले चालु आर्थिक वर्ष (आव) को ४ महिनामा ८६ हजार २४६ मेट्रिकटन रासायनिक मल बिक्री वितरण भएको र अझै ४२ हजार ९८३ मेट्रिकटन मल मौज्दात रहेको जनाएको हो । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलकाअनुसार कृषि सामग्री कम्पनीसँग ३५ हजार ४४९ मेट्रिकटन र साल्ट ट्रेडिङसँग ७ हजार ५३४ मेट्रिकटन मल मौज्दात छ । कृषि सामग्री कम्पनीसँग युरिया १५ हजार १७९ मेट्रिकटन, डीएपी १८ हजार ४३२ मेट्रिकटन र पोटास १ हजार ८३७ मेट्रिकटन मौज्दात छ । यस्तै साल्ट ट्रेडिङ कर्पोरेसनसँग ६ हजार ५८४ मेट्रिकटन युरिया, ८५४ मेट्रिकटन डीएपी र ९५ मेट्रिकटन पोटास मौज्दात छ । चालु आवको कात्तिकसम्म कृषि सामग्री कम्पनीले ५७ हजार २१२ र कृषि सामग्री कम्पनीले २९ हजार ३३ मेट्रिकटन रासायनिक मल बिक्री गरेको जनाएको छ । यस्तै ४५ हजार मेट्रिकटन युरिया मल आयातको चरणमा रहेको मन्त्रालयले उल्लेख गरेको छ ।१५ हजार मेट्रिकटन युरिया मल आयात भइरहेको र भारतसँग जीटूजीमा खरिद गरेको ३० हजार मेट्रिकटन युरिया मल पुस पहिलो हस्तासम्म आइपुग्नेगरी हाल प्याकिङ भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

गण्डकी:  उत्तरपट्टि लस्करै मिलेका चाँदीजस्तै टलक्क टल्केका हिमाल । अन्नपूर्ण, धवलागिरि, मनासलुसहित माछापुच्छ्रे लगायत हिम चुचुरासँग नाङ्गा आँखा जुधाउन सकिन्छ । दक्षिण, पूर्व र पश्चिमतर्फ ठम्याउन सकिने नौवटा जिल्लाका रमणीय दृश्यहरू समेतलाई एकसाथ अवलोकन गर्न सकिनु तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं २ दगाम गाउँको परिचय हो ।   प्राकृतिक सौन्दर्य, स्वच्छ हावापानी, जैविक खाना, मौलिक लोक संस्कृति, स्थानीयको आत्मीय व्यवहारले दगाम गाउँको अर्को परिचय दिँदै आएको छ । सरल, निश्चल र सहयोगी गाउँलेहरूमा ‘अतिथि देवो भवस्’ भावना प्रस्ट झल्किन्छ । गाउँलेको निश्चल हाँसो, बोली र व्यवहारले टुटेपानी गाउँ पुग्ने जो–कोहीलाई लट्ठ बनाउने गरेको छ । दगाममा मगर र भुजिकोटमा गुरुङ जातिको बाहुल्यता छ । तेइस घरमध्ये २० घर मगर र तीन घर गुरुङ बस्छन् । यहाँबाट हिमाल, डाँडासँगै शुक्लागण्डकी क्षेत्रको अतिरिक्त पोखरा फेवातालसम्मको दृश्यले यहाँ आउने जो–कोही लोभिने गरेका छन् । प्रकृति, संस्कृति र आत्मियतासँग रमाउन आन्तरिक पर्यटक पुग्न थालेपछि पछिल्ला वर्षमा आफूहरूले घरबास (होमस्टे) सञ्चालन गरेको दगाम सामुदायिक होमस्टेका संयोजक नन्दराम थापाले जानकारी दिनुभयो । आफूहरूले घरबासलाई दगाम सामुदायिक होमस्टे नामकरण गरेको जनाउँदै उहाँले विसं २०६५ स्याङ्जाको सिरुवारि गाउँ अवलोकनपछि दगाममा घरबास कार्यक्रम सुरुआत गरेको अनुभव सुनाउनुभयो । “होमस्टे चलाउने भनेर विसं २०६३ देखि नै हामीले योजना बनाएका हौँ”, उहाँले थप्नुभयो, “सिरुवारि गएर सिकेपछि झनै सजिलो भयो अनि गाउँले मिलेर नै खोलियो ।” घरबास सञ्चालनमा आएसँगै पाहुनाहरूबाट प्राप्त सकारात्मक प्रतिक्रियाले आफूहरू उत्साहित बनेको उहाँको भनाइ छ । कोदो, मकैको परिकारसँगै लोकल कुखुराको मासु होमस्टेका पाहुनाको मुख्य रोजाइमा पर्ने गरेको दगाम सामुदायिक होमस्टेका अध्यक्ष तिला थापाले जानकारी दिनुभयो । “पाहुनालाई हामी भटमास, मस्याङ, गुन्द्रुक, ढिँडो, मह, सिम्लेलगायतका स्थानीय परिकार नै खुवाउने गर्छौँ”, उहाँले भन्नुभयो, “स्थानीय उत्पादन नै दगाम सामुदायिक होमस्टेको पहिचान हो भन्दा पनि हुन्छ ।” घरबासका लागि एक हजार चार सय रुपैयाँको प्याकेज उपलब्ध छ । यसमा दिउँसो र बिहानको खाजा, बिहान बेलुकाको खाना, मनोरञ्जन र आवासको सुविधा पाइने अध्यक्ष थापाले जानकारी दिनुभयो । दगाममा प्रत्येक दिन ४० जना पाहुना राख्न सक्ने क्षमता छ ।  दगाम गाउँको प्रत्येक घरमा मौरीका घार यहाँको अर्को विशिष्टता हो । त्यसैकारण पनि यहाँको अर्को आकर्षण मौरी र मह बन्न पुगेको छ । दगाम पुग्नेले त्यहाँको अर्ग्यानिक महको स्वाद लिन पाउँछन् । दगामको मह र मौरी देशका विभिन्न ठाउँमा पुगेको छ भने, मह विदेशसम्मै पुग्छ । पाहुना फर्किँदा स्थानीय मह कोसेलीका रूपमा लैजाने गरेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।  मगर र गुरुङ जातिको संस्कृति यहाँको अर्को आकर्षण रहेको होमस्टे संयोजक नन्दराम थापा बताउनुहुन्छ । यहाँ कात्तिक–मङ्सिरमा बालन नाच, मङ्सिरदेखि माघसम्म नचरी, सोरठी र ख्याली, फागु पूर्णिमादेखि कौरा नाच देखाइने उहाँले जानकारी दिनुभयो । यी नृत्यका साथै घाँटुनाच पनि यहाँको अर्को मौलिकता हो । चैत–वैशाखमा वरपरका जङ्गलमा ढकमक्क फुल्ने लालीगुराँसले यहाँ आउने जो–कसैको मन लोभ्याउने गर्दछ । गाउँ पर्यटनमा प्रचुर सम्भावना बोकेर पनि पूर्वाधारको अभावका कारण दगाम ओझेलमा गरेको अर्का स्थानीयवासी तीलबहादुर थापामगर बताउनुहुन्छ । प्रकृति र संस्कृतिले सम्पन्न दगामलाई प्रवर्द्धनकै अभावमा पर्यटन बजारमा पुर्‍याउन नसकिएको उहाँको भनाइ छ । गाउँसम्म पुग्ने बाटो असजिलो भएकै कारण दगाम पछि पर्न थालेको स्थानीय लालबहादुर गुरुङले बताउनुभयो । दगामसम्म पुग्ने पदमार्ग र सडकको बाटो व्यवस्थित गर्न सके बाह्रमास पाहुना जान सहज हुने उहाँको भनाइ छ ।  सरकारी पक्षबाट सानो–तिनो सहयोग आए पनि त्यो आफूहरूका लागि पर्याप्त नभएको पूर्व वडासदस्य दानबहादुर थापाले गुनासो गर्नुभयो । यहाँका घरमा स्तरीय शौचालयको अभाव रहेको जनाउँदै यसतर्फ पनि ध्यान दिनु जरुरी रहेको बताउनुभयो । पछिल्ला समयमा यहाँको प्रवर्द्धनलाई विभिन्न सङ्घ संस्थाले जोड दिएका छन् । दगामका पर्यटकीय सम्भावनालाई उजागर गर्न हालै नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ृफोनिजे गण्डकी प्रदेशले प्रवर्द्धनात्मक कार्यक्रम गरेको थियो ।  फोनिज गण्डकीका इन्चार्ज एमबी आस्थाले प्रकृति र संस्कृतिको बरदान दगाम गाउँ प्रवर्द्धनका पर्खाइमा रहेको बताउनुभयो ।

धनगढी:  बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारका हत्या आरोपी सशस्त्र प्रहरीका जवान महेन्द्रनगरबाट पक्राउ परेका छन् । मायाको हत्या गरेको आरोप लागेका शिवनाथ गाउँपालिका–४ का भरतराम कोली महेन्द्रनगरबाट पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मोहनकुमार आचार्यले कोली महेन्द्रनगरबाट पक्राउ परेको पुष्टि गरे । उनले विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको बताए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक पुष्कर पन्तले आइतबार बिहान महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा कोलीलाई पक्राउ गरिएको जानकारी दिए । उनलाई बैतडी प्रहरीलाई बुझाइने पन्तले बताए । २२ वर्षीय कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा सशस्त्र प्रहरी जवानका रूपमा कार्यरत थिए । माया गत बुधबार शिवनाथ गाउँपालिकामा घाँटी रेटेको अवस्थामा मृत भेटिएकी थिइन् ।

पोखराः   हिंसा सहेर बस्न नहुने, हिंसाको प्रतिकार गर्नुपर्ने शनिवार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।   सञ्चारिका समूह गण्डकी प्रदेशको आयोजना तथा लायन्स क्लब अफ पोखरा स्मार्ट टाउन र लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेश अन्तरध्वनी नेपालको सहकार्यमा “सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान” १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत लैङ्गिक विभेद र मनोसामाजिक असरको सम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले कसैले हिंसा गरेमा नो र नाई भनेर प्रतिकार गर्नुपर्ने बताएका हुन् ।  कार्यक्रममा मनोसामाजिक असरको विषयमा आफ्नो प्रस्तुती राख्दै अन्तरध्वनी नेपालका अध्यक्ष जमुना शर्माले मानसिक स्वास्थ्यमा सबैको अधिकार हुने बताउनुभयो ।  नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष पुण्य पौडेलले समाज परिवर्तन हुदै गएको अवस्थामा हामी पनि परिवर्तन हुन आवश्यक रहेको बताउनुभयो । उहाँले हरेक घरमा हिंसा हुने भएकोले परिवर्तनको लागि आफ्नै घरवाट सुरुवात गर्नुपर्नेमा उहाँको जोड थियो ।  नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिमिल्सनाले आवाजविहिनहरुको आवाज उठाउने महिला पत्रकारहरु पनि हिंसामा पर्ने गरेको बताउनुभयो । ८८ प्रतिशत पत्रकार महिलाहरुलाई अनलाइनवाट हिंसा हुने उहाँले सो अवसरमा जनाउनुभएको थियो । अझै पनि लैङ्गिक समानतामुलक समाजका लागि हाम्रो आन्दोलन नसकिएकोले अब जुझारु रुपमा लाग्नुपर्ने तिमिल्सिनाले उल्लेख गर्नुभयो । छोरीलाई शिक्षा दिएर सक्षम बनाउन सक्यौ भने हिंसा कम गर्न मद्धत पुग्नेमा उहाँको जोड थियो । सञ्चारिका समूह गण्डकी प्रदेशका अध्यक्ष कविता श्रेष्ष्ठले कार्यक्रमको आचित्यमाथि प्रकाश पार्दै अब हामी हिंसा नसहने र हिंसा गरेको टुलुटुलु हरेर पनि नस्बने बताउनुभयो । उहाँले अब महिला हिंसाको प्रतिकार गर्न सक्षम रहेको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष दिपेन्द्र श्रेष्ठ, पोखरा नर्सिङ्ग क्याम्पसका निशा श्रेष्ठ, दलित महिला संघ फेडोका अध्यक्ष सुमित्रा गायक, दलित महिला संघ कास्कीका प्रमुख ईश्वर विक, नेपाल टेलिभजनका पोखराका संवाददाता पत्रकार पुरुषोत्तम शर्मा, नेष्डो गण्डकीका सुर्यप्रसाद भट्टराई लगायतले बोल्नुभएको थियो । सञ्चारिका समूह गण्डकी प्रदेशका अध्यक्ष कविता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत लायन्स क्लब अफ पोखरा स्मार्ट टाउनका अध्यक्ष लक्ष्मी अधिकारीले र सञ्चालन सञ्चारिका समूह गण्डकी प्रदेशका कार्यसमिति सदस्य जुना थापाले गर्नुभएको थियो ।

पोखराः   स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको पूण्य तिथीको अवसरमा पोखरामा ‘नारायणगोपाल स्मृति साँझ–२०७९’ आयोजना हुने भएको छ । रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज, पोखरेली युवा सांस्कृतिक परिवार र पोखरा सांगीतिक कलाकार संघको संयुक्त आयोजनामा मंसिर १९ गते सोमबार कार्यक्रम आयोजना हुन लागेको हो । गैह«ापाटनस्थित पोखरा उद्योग वाणिज्य संघको अमृतकक्षमा आयोजना हुने स्मृति साँझमा गायक÷गायिकाहरु रामभक्त जोजिजु, विनोद बानियाँ, इतु जोजिजु, सन्तोष बस्याल, एमडी काफ्ले, रजनी राई र उषा गुरुङले स्वर्गीय स्वरसम्राट नारायणगोपालद्धारा संगीत तथा स्वरवद्ध गीतहरु प्रस्तुत गर्ने छन् । वि.सं. १९९६ साल असोज १८ गते काठमाडौंको किलागलमा जन्मिएका उनको २०४७ मंसिर १९ गते ५१ बर्षको उमेरमा निधन भएको थियो । डिस्क र टेपमा गरी उनका १ सय ३६ वटा गीतहरु रेकर्ड छन् । स्वरसम्राट नारायणगोपालका गीतहरुलाई पछिल्लो पुस्तामाझ चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको रेडियोका अध्यक्ष विश्वशंकर पालिखेले बताए । अग्रज श्रष्टाको योगदानको कदर स्वरुप स्मृति साँझ आयोजना गरिने सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेल र कलाकार संघका अध्यक्ष सुनील थापाले बताए । विगत केहि बर्षदेखि रेडियोले स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । कार्यक्रमको रेडियो अन्नपूर्ण, पब्लिक एफएम र अनलाइन अन्नपूर्णबाट समेत प्रत्यक्ष प्रशारण गरिने छ ।

गलेश्वरः   जाडोयाम सुरु भएसँगै हिमाली तथा उच्च पहाडी भेगका चौरी र भेडीगोठ न्यानो स्थानको खोजीमा बेँसी सार्न थालिएको छ ।  म्याग्दी र मुस्ताङका  उच्च पहाडी क्षेत्रका चौरी र भेडीगोठ जाडो बढ्न थालेसँगै रित्तिन थालेका छन् भने तल्लो भेगका खर्क र बेँसीमा चहलपहल बढेको छ । मुस्ताङको थासाङ, निलगिरी साउथ हिमाल फेदीको मार्चे, धौलागिरि हिमाल फेदीको मूलिखर्क, बतासे र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा पर्ने अन्नपूर्ण साउथ हिमालमुनिको खोप्रा÷खयर तथा बयली लेकका चौरी, रघुगङ्गा र धवलागिरि गाउँपालिकाका उच्च लेकाली क्षेत्रमा चरनका लागि लगिएका भेडालाई बस्ती नजिकैका न्यानो क्षेत्रमा झारिएको हो । मुस्ताङ र म्याग्दीको उच्च लेकाली क्षेत्रमा पालिएका चौँरी र भेडा गर्मीमा लेक तथा जाडोमा बेसी झार्ने गरिन्छ । घुम्ती गोठ बनाएर चौरी र भेडापालन गर्दै आएका मुस्ताङको मूली, बतासे क्षेत्रका चौँरी नाउरीकोट, बोक्सीखोलाका चौरी पालक किसानले चरनका लागि चौँरीलाई गर्मी महिनामा धौलागिरि, निलगिरि र टुकुचे हिमालको फेदमा रहेका खर्कमा लैजाने गर्छन् भने जाडो सुरु भएपछि बेँसी झार्ने गर्दछन् । मुस्ताङका चौरी पालक किसान सहेन्द्र शेरचनले लेकाली क्षेत्रमा अत्यधिक चिसो बढ्नुका साथै हिमपात हुन सुरु भएपछि चौँरीलाई  नीलगिरि फेदीका चौँरी चोखोपानी, सौरु, टिटी क्षेत्रमा सारिएको जानकारी दिनुभयो । म्याग्दीको अन्नपूर्ण क्षेत्रका चौँरीलाई लरेनी क्षेत्रमा ओरालिएको चौरीपालक सोभित खोरजाले बताउनुभयो ।   अहिले बेँसी झारिएका चौँरीलाई वैशाख लागेपछि मात्रै पुनः बुकी ९लेक० फर्काइने उहाँको भनाइ छ । चिसो छल्न बेँसी झरे पनि चौँरीलाई चरनको समस्या रहेको किसानले गुनासो गरेका छन् । “सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रमा चरिचरनलाई रोक लगाएपछि समस्या उत्पन्न भएको छ”, उहाँले भन्नुभयो, “लेकाली क्षेत्रमा चरनको समस्या छैन, तर बेँसीका चरन क्षेत्रमा चरनको अभाव हुने भएकाले चौँरी पाल्ने किसानको सङ्ख्या कम हुँदै गएको छ ।” त्यसैगरी मुस्ताङको मूली लेकका चौँरीपालक किसान सकेन्द्र गौचनले माथि चिसो बढ्न थालेपछि न्यानो बासको खोजीका उँधोतर्फ झर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “जाडो बढ्न थालेपछि हामी चौँरीगोठ बेँसीतिर झार्छौँं गर्मी सुरु भएपछि फेरि लेकतिर ल्याउने गर्छौँ, जाडोले पशुचौपाया मात्र नभइ मानिसलाई समेत समस्या हुने भएकाल बेँसी झर्नु बाध्यता हो ।”  तेन्जिङ जस्तै यहाँका सबै चौरी किसान बेँसी झर्न थालेका छन् । यहाँका किसान छ महिना लेकतिर र छ महिना बेँसीतिरको खर्कमा चौँरी तथा गाईभैँसी पाल्दै आएका छन् ।

पोखरा:    पोखरामा जारी आइटीएफ जे–५ टेनिस प्रतियोगितामा शिर्ष वरियताकी सर्भानी श्रेष्ठले महिला डबल्सतर्फ मंगलबारको खेलमा जित हाँसिल गरेकी छन् । भारतकी इशी महेश्वरीलाई पार्टनर बनाएकी नेपालको तेश्रो वरियाता प्राप्त सर्भानी जोडीले भारतकै पद्मा मनिकोण्डा र संस्कृती भाडाकट्टु जोडीमाथि ६–०, ६–० को सहज जित निकाल्दै दोश्रो चरणमा प्रवेश गरे । नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत महिला डबल्सतर्फ भारतका सेली ठाक्कर र साक्षि ठाक्करको जोडीले श्रीलंकाकी भिस्मी ओन्थेरा सेरासिंगे र भारतकी श्रीथिका रेडिको जोडीलाई ६–३,६–४ को सोझो सेटमा जित निकाले । त्यस्तै, कोरियाकी डोङ हेयुन युम र केगान जोनाथनको जोडीले भारतका आर्यन अरोरा र मायंका सर्माको जोडीलाई पराजित गर्दै दोश्रो चरणमा स्थान बनाए । भारतकै श्रीनिधी बालाजी र लक्ष्मीश्री डन्डुको जोडीले भारतका देवांशी गोहिल र नेपालका रायना शाहको जोडीलाई पराजित गरे । भारतका ऐरा सिद्धार्थ चेत्नानी र दुर्गाशीको जोडीले कोरियाका युन्जी जोङ र नेपालका आध्या पौडेल जोडीलाई पराजित गरेका छन् । मंगलबार पुरुष डबल्सतर्फ भारतका सिद्धान्त सर्मा र रसियाका फेडोर सोसेड्किन जोडीले नेपालका राजविक्रम प्रथान र सक्षम विक्रम शाहको जोडीलाई ६–४, ६–१ को सेटमा पराजित गरे । अर्को खेलमा भारतका सागर कुमार र स्वस्तिक सर्मा जोडीले जर्मनीका यस बाहाल्कर र ताइवानका चेन हुई हो जोडीमाथि ६–१, ६–२ को नजिता निकाले । त्यस्तै, नेपालका आर्यन गिरी र भारतका बंश नन्नदल जोडीले भारतका विभु चालागुण्डला र श्रीनिकेत कन्नन जोडीलाई ६–४, ६–२ को सेटमा पराजित गरे । मंगलबार महिला एकलतर्फ भएको खेलमा भारतकी आकृती सेन्कुसारे नारायनले रसियाकी लैला अख्मेटोभालाई ७–५, ६–४ ले, ताइवानकी के हाउ हङले भारतकी तनुसा गिल्ड्याललाई ६–४, ६–३ ले, ताइवानकी चेन हुई हो ले भारतकी सर्भामन्यु सिंहलाई २–६, ६–२ र ६–४ ले, भारतकी जान्भी असावाले कोरियाकी युन्जी जेयोङलाई ६–०, ६–४ ले तथा भारतकी आर्जन खोराकिवालाले भारतकै हर्सिनी विश्वानन्दलाई ६–४, ६–२ ले पराजित गरिन् ।  

बागलुङ:   पछिल्लो समय ढोरपाटन नगरपालिकाले यस क्षेत्रलाई विकाससँग जोड्न थालेको छ । यस वर्षदेखि वडा नं ९ को ढोरपाटन उपत्यकामा नगर अस्पताल निर्माण गर्न सुरु भएको छ ।  जिल्लाकै सबैभन्दा दुर्गम मानिने ढोरपाटनमा नगर अस्पताल बन्न थालेपछि स्थानीयवासी खुसी भएका छन् । केन्द्र सरकारले विनियोजन गरेको साढे रु १४ करोड ७६ लाख लागतमा अस्पताल निर्माण हुन लागेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक केशव थापाले जानकारी दिनुभयो । पाखाथरमा निर्माण हुन लागेको अस्पताल १५ शय्याको हुने थापाको भनाइ छ । पाँच वर्ष अगाडिसम्म ढोरपाटनमा कुनै पनि स्वास्थ्य संस्था थिएनन् ।  नगरपालिकाले विसं २०७६ मा ढोरपाटन सामुदायिक स्वास्थ्य एकाइ र बर्थिङ सेन्टर स्थापना गरेको स्वास्थ्य शाखा संयोजक थापा बताउनुहुन्छ । त्यसभन्दा पहिले यहाँका स्थानीयवासी उपचारका लागि बुर्तिबाङ नै झर्ने गरेको उहाँको भनाइ छ । थापा भन्नुहुन्छ, “ढोरपाटनमा अहिले प्रसूति सेवाका लागि बर्थिङ सेन्टर छ, बर्थिङ सेन्टरसँगै नगरपालिकाले ढोरपाटन सामुदायिक स्वास्थ्य एकाइ सुरु गरेको छ, अहिले तीन स्वास्थ्यकर्मी र दुई कर्मचारीले सेवा दिइराख्नुभएको छ, हामी यहाँको सेवालाई थप विस्तार गर्ने योजनामा छौँ ।” नगर उपप्रमुख धनबहादुर कायतले नागरिकको सहजताका लागि ढोरपाटनमा नगर अस्पताल निर्माण सुरु गरिएको बताउनुभयो । उहाँले वर्षौँदेखि यहाँका सयौँ नागरिक सामान्य स्वास्थ्य उपचारका लागि पनि बुर्तिबाङ धाउनुपर्ने बाध्यता रहेको जनाउँदै अस्पताल निर्माणपश्चात यहीँ उपचार गर्न पाउने बताउनुभयो ।  ढोरपाटन उपत्यका क्षेत्रमा खास गरी घुम्ती बसाइँ हुने गर्छ । यहाँका वडा नं ६, ७, ८ र ९ का करिब तीन हजार बढी नागरिक बस्ने गर्छन् । यहाँका बासिन्दा हिउँदको समयमा अधिकारीचौर, बोबाङ लगायतका ठाउँमा झर्ने र बर्खाको समयमा ढोरपाटन बस्ने गरेका उपप्रमुख कायत बताउनुहुन्छ । अस्पताल निर्माणपछि ढोरपाटनसँगै रुकुमको तकसेरा र हुकाम मैकोट तथा म्याग्दीको जलजलाका नागरिकलाई उपचारमा सहज हुने उहाँको भनाइ छ । “अस्पताल नजिक नहुँदा केहीले बाटोमै ज्यान गुमाउनुपरेको छ, यहाँ अस्पताल बनिसकेपछि ढोरपाटनका नागरिक मात्र नभइ रुकुम र म्याग्दीका बासिन्दाले पनि सेवा लिन पाउने छन्, अहिले सामुदायिक स्वास्थ्य एकाइबाट सामान्य उपचार हुने गरेको छ”, उहाँले भन्नुभयो । स्थानीय कुलबहादुर विकले अस्पताल नजिकमा नहुँदा धेरैले अकालमा ज्यान गुमाउनु परेको बताउनुभयो । उहाँले अहिले नजिकैमा स्वास्थ्य एकाइ सञ्चालनमा आए पनि सामान्य उचार मात्रै हुने गरेको बताउनुभयो । अस्पताल निर्माणका लागि एसी कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ । अस्पताल निर्माणका लागि सम्झौता भएर काम सुरु गरिएको निर्माण कम्पनीका प्रमुख दीपक अदैले बताउनुभयो । उहाँले आगामी २०८१ को असार मसान्तसम्म सक्ने गरी सम्झौता भएको र काम पनि सोहीअनुसार अगाडि बढाइएको जानकारी दिनुभयो । 

काठमाडौं:   यही मङ्सिर ९ गतेदेखि चलिरहेको ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)’ मा आज भारत र श्रीलङ्काका दुई नाटक, नाटकको पुस्तक विमोचन र साङ्गितिक प्रस्तुति हुँदैछ । इटालीको नाटक इभान हास्टिङ निर्देशित नाटक ‘स्याडो लिवेरेसन’को मञ्चन हुँदैछ ।  छायाँ नाटक र कचहरि नाटकको मिश्रितशैलीमा तयार पारिएको सहभागितामूलक यस नाटकमा यौन उत्पीडनको रोकथामको सन्दर्भलाई विषय बनाइएको छ । नाटकले आघातबारे अन्तक्र्रियामा आधारित अभ्यासको उपयोग गर्दै छाँया माध्यमद्वारा नाट्य थेरापीको प्रयाससमेत गर्दछ । श्रीलङ्काको नाटक ‘राजा मन वहला’ मञ्चन हुँदैछ । ‘राजा म दास हुँ’ भन्ने अर्थ लाग्ने नाटकमा एक दास, राजा, राजकुमार अनि प्रेमथिका नाम गरेको एउटा होनहार केटा नाटकमा एक दास, राजा, राजकुमार अनि प्रेमथिका नाम गरेको एउटा केटाले तीन फरक कथा सुनाउँछन् । पात्रहरुले आफ्नो नियतिको पर्दाफास गर्छन् र अन्त्यमा दर्शकहरुले यी तीनमध्ये श्रेष्ठ नायक को थियो भनेर छान्नुपर्नेछ । ‘नाटकमा शब्दको आकृतिः कस्तो देखिन्छ, कस्तो लेखिन्छ ?’ शीर्षकमा प्यानल डिसकसन समेत आज हुनेछ । त्यहाँ साहित्यकार नयनराज पाण्डे, उपेन्द्र सुब्बा, रङ्गकर्मी विमल सुवेदी, दिया मास्केसँग र लेखक, पत्रकार बसन्त बस्नेतले वार्ता गर्नेछन् । ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ भइरहेको महोत्सवमा छैटौँ दिनको अन्तिम कार्यक्रममा कलाकार हुम विसी र माधव त्रिपाठीले नेपाली लोकबाजाको साङ्गितिक प्रस्तुति दिनेछन् । मङ्सिर १७ गतेसम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक समावेश छन् । महोत्सवमा १८ नाटकका २५ मञ्चन तथा, अन्तक्र्रिया कार्यक्रम, कार्यशाला, सेमिनार हुँदैछ ।