कालिकोट: कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका १ स्थित कर्णाली नदीमा फुकोट जलविद्युत आयोजनाको जेसीबी दुर्घटना हुँदा बेपत्ता भएका तीन जना मध्ये दुई जनाको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ । बेपत्ता भएका मध्ये सोही गाउँपालिका १ बस्ने २० वर्षिय उमेश गिरीको शव सोमबार र कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका ४ बस्ने २३ वर्षिय जेसीबीका चालक मंगल चुडारीको शव मंगलबार फेला परेको हो । सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म कालिकोट र नम्बर ४२ रिजर्भ गण बाँकेबाट गएको गोताखोरले गिरी र चुडारीको शव फेला पारेकोे हो । उनीसँगै दुर्घटनामा परी हराईरहेका सोही गाँउपालिकाका १९ वर्षिय रक्तिम सार्कीकोे खोजीकार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ । मंसिर २४ गते सो आयोजनाको सुरुङ्गभित्र पानी हेरी फर्कदै गरेको प्रदेश नं.३ –०१–००३ क ६७७४ नम्बरको जेसीबी कर्णाली करिडोरबाट अन्दाजी ८० मिटर तल कर्णाली नदीमा खसेको थियो । दुर्घटनामा घटनास्थलमै २ जनाको मृत्यु भएको थियो । यससँगै मृतकको संख्या ५ पुगेको छ ।
बाजुरा: बाजुरा जिल्लाको पुर्वी उतरी क्षेत्रमा रहेको स्वामिकार्तिक गाउँपालिका वडा नं.१ मुक्तिकोटकि एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । १८ वर्षीय पवित्रा कडारालार्ई हेलिकप्टर मार्फत मार्फत उद्धार गरिएको सामाजिक अगुवा रन्दीप बुढाले बताए । उनले भने, ‘स्वाथ्य संस्थाले ३ दिन अगाडी रिफोर गरी सकेको भए पनि गर्भवती महिला पवित्रा कडारको आर्थीक अभावको कारण सुत्केरी बेथा लागेकी कडारालाइ घरमै बसाएकोले उनको स्वस्थ्य अवस्था जटील बन्दै गएपछी आज नेपाली सेनाको हेलिक्प्टर मार्फत उद्वार गरिएको हो ।’ पवित्रा कडारालाई सुत्केरी बेथा लागेपछी मंसिर २५ गते सामुदायिक इकाई स्वास्थ्य केन्द्र फयालगाँउमा ल्याएर भर्ना गरिएको थियो । तर उक्त स्वास्थ्य इकाई केन्द्रमा पवित्रा कडारा सुरक्षित प्रसूती गराउन नसकेपछी हेलिकप्टर मार्फत मंगलबार सुर्खेत पठाईएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर विष्टले बताएका छन् । स्वास्थ्य केन्द्रबाट हिजो रिफर गरिएकि पवित्रालाई आज राष्ट्रपती महिला उत्थान कार्यक्रम मार्फत उनको उद्धार गरिएको सहायक प्रमुख विष्टले बताएका छन् । स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएको र स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा हेलिकप्टर मार्फत सुर्खेत पठाइएको हो ।
सिरहा: सिरहा प्रहरीले विभिन्न स्थानबाट अवैधरुपमा खेतमा लगाएको ५ हजारभन्दा बढी गाँजाको बोट फडानी गरी नष्ट गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले जिल्लाको गोलबजार, मिर्चैया नपा र नगर गाउँपालिकाको विभिन्न गाउँहरुबाट करिब १५ कठ्ठा जमिनमा लगाएको ५ हजारभन्दा बढी गाँजाको बोट फडानी गरि नष्ट गरेको हो। गाँजा तयार हुन नदिने नीतिअनुसार प्रत्येक वर्षजस्तै यस वर्ष पनि प्रहरीले फडानी कार्यलाई निरन्तरता दिएको सशस्त्र प्रहरी बल ७ नम्बर गणका प्रमुख एसपी रमेश थापाले बताए। उनले भने, ‘हामीले पाएको सूचना र यो गाँजाको बोट देखिने समय पनि भएकाले फडानी गरीरहेका छौ । सूचनाको आधारमा हामी गाँजा भएका ठाउँसम्म पुगेर फडानी गरिरहेका छौं।’ सानो छदा नदेखिने र सूचनासमेत नपाउने भएकाले अहिले गाँजा फडानी गरिरहेको प्रहरीको भनाइ रहेको छ। सिरहाको पूर्वपश्चिम राजमार्ग आसपास र विशेषगरी उत्तरी क्षेत्रका किसानहरूले प्रहरीलाई झुक्याउन चारैतर्फ उखु, रहर, तरकारी खेती लगाएर बीचको भागमा गाँजा लगाउने गरेको पाइएको प्रहरीले बताएको छ।
धनकुटा: शिलान्यास भएको २१ वर्षपछि धनकुटाको सहिदभूमिको खाल्सा क्षेत्रमा सडक कालोपत्रे हुने भएको छ । उक्त स्थानमा विसं २०५८ मा कच्ची सडक पुगेको थियो । खाल्सा क्षेत्रका तत्कालीन गाविस हाल सहिदभूमि गाउँपालिकाको आँखीसल्ला, खोकु र छिन्ताङसम्मको सडक तत्कालीन धनकुटाका प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाले शुभारम्भ गर्नुभएको थियो । प्रदेश नं १ सरकारको प्रादेशिक विशेष सडक आयोजनाअन्तर्गत रु २९ करोड ७२ लाख ९८ हजारको लागतमा उक्त सडक कालोपत्र हुन लागेको हो । मध्यपहाडी लोकमार्गमा अवस्थित धनकुटा नगरपालिका–१ को व्यापारिक केन्द्र हिले बजारबाट सहिदभूमि गाउँपालिकाको थलथले बजारसम्म १० किमी सडक बन्न लागेको हो । सन् २०२१ सेप्टेम्बर २२ बाट सुरु भई सन् २०२३ मार्च २२ मा सम्पन्न हुने गरी ठेक्का पाएको रायमाझी आजद जेभी प्रालि काठमाडौँका प्रमुख प्रेम मगरले ७० प्रतिशत सडकको काम पूरा भएको जानकारी दिए । यस सडकले सहिदभूमि गाउँपालिकालाई अरुण, तमोर र दूधकोसी नदीको सङ्गममा रहेको त्रिवेणीमा अवस्थित भोजपुर, खोटाङ, उदयपुर र सुनसरी जिल्लासँग जोड्ने छ । यस सडकको निर्माण पूरा भएपछि गाउँपालिकाको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने गाउँपालिकाका अध्यक्ष मनोज राईले जानकारी दिए । सुनसरी र भोजपुर जिल्लासँग प्रत्यक्ष पहुँच राख्न सहयोग राख्ने यस सडकले गाउँपालिका क्षेत्रमा उत्पादित कृषि उपज बजारसम्म लान विशेष सहयोग पुग्ने उनले बताए ।
धादिङ: धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत भेटिएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आहालेका विष्णुबहादुर आलेमगर र निरमाया आलेमगर आफ्नै घरमा मृत भेटिएका हुन् । जस्ता र काठको कच्ची घरमा बस्दै आएका उनीहरूलाई आज बिहान ८ बजे स्थानीयवासीले मृत्तावस्थामा फेला पारेको त्रिपुरासुन्दरी–३ का वडाध्यक्ष कमल आलेमगरले जानकारी दिए । “विष्णुबहादुरको शव घर बाहिर खाटमा उत्तानो परेको अवस्थामा छ, निधारमा र दाहिने आँखामाथि चोट देखिन्छ, शरीरमा भने कपडा ओडिइराखेको अवस्थामा छ”, घटनास्थल पुगेका वडाध्यक्ष आलेमगरले भने, “निरमाया घरभित्रै देखिन्छ, बाहिरबाट काठको प्वालबाट हेर्दा खुट्टा मात्रै देखिन्छ, हामीभित्र पसेका छैनौंँ ।” मृत भेटिएका दम्पत्तीका एक छोरी र दुई छोरा छन् । छोरा काठमाडौँमा व्यवसाय गर्दै आएको र छोरीको विवाह भएसकेको स्थानीयवासीले जानकारी दिएका छन् । घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ ।
पाल्पा: पाल्पा जिल्लामा अघिल्लो वर्षको तुलनामा यस वर्ष धान उत्पादन बढेको छ। यस वर्ष जिल्लामा ३२ हजार १९ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले बताए। जिल्लामा यस पटक आठ हजार दुई सय १० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको हो। 'उत्पादन लिने समय केही ठाउँमा रोग किराको महामारीका बाबजुत धेरै ठाउँमा उत्पादकत्वमा वृद्धि र यस वर्ष क्षेत्रफल विस्तार भएकाले उत्पादन बढेको छ, उनले भने,‘धान स्याहार्ने समयमा धान बालीलाई रोग किराले सताउँदा पनि उत्पादनमा सोचेभन्दा कम असर परेको छ।’ गत वर्ष जिल्लामा आठ हजार दुई सय छ हेक्टर क्षेत्रफलमा ३१ हजार चार सय २८ मेट्रिक टन धान उत्पादन भएको ज्ञानकेन्द्रले जनाएको छ। धानखेतीमा आधुनिक प्रविधिको प्रयोग बढ्नु, कृषि प्राविधिकले सिफारिस गरेका उन्नत जात तथा हाइब्रिड जातको बीउ प्रयोगजस्ता कारणले उत्पादन बढेको ज्ञानकेन्द्रका सूचना अधिकारी मिलन गैरेले जानकारी दिए। गत वर्षको उत्पादन हेरेर यस वर्ष दुई प्रतिशतले उत्पादन बढेको पाइएको छ। यहाँका कृषकले सावित्री, हाइब्रिड, साँवा मन्सुली, युएस–३१२, शान्ति, खुमल, सिरिज, खुमल–३, सुक्खा धान लगाउँदै आएका छन्। रैथाने जात भने पछिल्ला वर्षमा कमै लगाइन्छ। उत्पादन धेरै लिन कृषकले उन्नत जात लगाउने गरेका हुन्। धान लगाउने समयमा पर्याप्त वर्षा, नहर कुलोका संरचना पक्की बन्ने क्रम बढेकाले बाँझिएका जमिनमा धान लगाउने किसान बढेका छन्। धान स्याहार्न थ्रेसर मेसिन, रोप्ने बेला ट्र्याक्टरको सुविधाले खेती गर्न सजिलो भएपछि हिजो धान नलगाएर खाली राखिएका जमिनमा धान फलाउने क्रम जिल्लामा बढ्दो देखिन्छ।
बलेवा: जैमिनी नगरपालिकाको केन्द्र कुश्मीसेरा बजारलाई कालीगण्डकी करिडोरसँग जोड्ने पहुँचमार्ग कालोपत्र गर्ने कार्य पुनः अघि बढाइएको छ । यसअघि उक्त सडक कालोपत्र गर्ने काम सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा थालिए पनि बीचमै रोकिएको थियो । यसबीचमा एक किलोमिटर सडक मात्रै कालोपत्र गरिएको थियो । जैमिनी नगर कार्यपालिकाको बैठकले कुश्मीसेरादेखि जैमिनीधाम (कालीगण्डकी करिडोर) सडक कालोपत्रका लागि रु दुई करोड विनियोजन गरेको उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । कुश्मीसेरादेखि जैमिनीधामसम्मको तीन किलोमिटर सडकमध्ये दुई किलोमिटर सडक कालोपत्रका लागि रकम विनियोजन गरिएको हो । तीन वर्षसम्म समपूरक कोषबाट काम गर्दासमेत सडक अधुरै रहेपछि नगरपालिकाले आन्तरिक स्रोतबाट थप सडक कालोपत्र गर्न लागेको हो । सडकको स्तरोन्नति र एक किलोमिटर सडक कालोपत्रका लागि यसअघि रु आठ करोडको लागत अनुमान गरिएको थियो । पहिला दुई वर्षमा रु एक करोडभन्दा कम बजेट खर्च भएको उक्त सडकमा पछिल्लो वर्ष रु दुई करोड ७० लाख खर्च भएको थियो । कोरोना महामारी, बाढीपहिरोलगायत समस्याका कारण समपूरक कोषमार्फत विनियोजन भएको बजेट खर्च नहुँदा सडक कालोपत्रको काम बीचमै रोकिएको थियो । सङ्घीय सरकारले एउटै योजनामा तीन वर्षभन्दा धेरै साझेदारी नगर्ने भएकाले समपूरक कोषको साझेदारी सकिएपछि नगरपालिकाले बजेट विनियोजन गरेको शर्माले बताउनुभयो । “करिडोर कालोपत्र हुने चरणमा छ, करिडोरसँग जोडिने यो सडक हामीले तत्काल कालोपत्र गर्दा जैमिनीको लाइफलाइन बन्छ”, शर्माले भन्नुभयो, “हामीले सङ्घ र प्रदेशसँगसमेत बजेट माग गरेका छौँ, अब पुरानो होइन् नयाँ डिपिआर गरेर बाँकी खण्डको काम कालोपत्र गर्छौं ।” सात मिटर चौडाइ सडक, नाली र दुई किलोमिटर लम्बाइ रहेको सडक कालोपत्रका लागि रु पाँच करोड लागत अनुमान भए पनि अपुग हुने रकम प्रदेश र सङ्घीय सरकारसँग माग गरिने उपप्रमुख शर्माले बताउनुभयो । यो सडक कालोपत्र हुँदा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरसँग पाँचदेखि सात मिनेटको दुरीमा पालिकामा मुकाम जोडिनेछ । जैमिनी नगरपालिकाभित्रका सबै आर्थिक क्रियाकलाप सञ्चालन गर्न र पर्यटन प्रवद्र्धनमा समेत सहयोग गर्ने शर्माले बताउनुभयो
गलकोट: पछिल्लो समय नेपालमा रैथाने बाली लोप हुने अवस्थामा पुग्न थालेको छ । बागलुङमा धेरै उत्पादन हुने अन्नको रुपमा रहेको कोदोबालीको पछिल्लो समय प्रवद्र्धनपछि महत्व बढ्दै गएको छ । कोदोखेती विस्तारै घट्दै गएपछि कृषि ज्ञान केन्द्रले समेत रैथाने बाली संरक्षण अभियान चलाएको छ । बागलुङका किसानले भर्खरै मात्र कोदो थन्काएका छन् । पछिल्लो समय भने कोदोको परिचय बदलिएको छ । गाउँघरको मुख्य खानाको परिकारका रुपमा रहेको कोदो पछिल्लो समय सहरको आकर्षक खानाको परिकारमा परेको छ । अहिले गाउँमा भन्दा सहरका रेष्टुरेण्ट र होटलमा कोदोको परिकार पाक्ने गरेको छ । निकै झन्झटिलो बालीका रुपमा रहेको कोदोको महत्व पछिल्लो समय बढ्दै गएको पाइन्छ । कुनै दिन गरिबको खानाको रुपमा चिनिएको कोदोको ढिडो अहिले ठूला होटल र घरबासमा समेत रुचाइएको परिकार बनेको छ । आयातित चामलले कृषिमा झन्झटिलो बालीका रुपमा रहेको कोदो विस्तारै लोप हुने अवस्थामा पुगे पनि पछिल्लो समय कोदोको परिकारप्रति नागरिक जागरुक देखिन थालेका छन् । कोदोको परिकारको फाइदाका समेत प्रसस्त भएका कारण पछिल्लो समय खरिद गरेरै भए पनि कोदोको ढिडो, रोटीलगायतका परिकार बनाएर खाने गरिएको छ भने बागलुङका घरबासले कोदोको सेलरोटीलाई प्रमुख आकर्षक खानाका रुपमा प्रस्तुत गरिरहेका छन् । बागलुङका घरबास (होम–स्टे)को आकर्षणसमेत कोदोको परिकार बन्न थालेको छ । पछिल्लो समय होटल, रेष्टुरेण्ट र रिसोर्टमा समेत कोदोको ढिडोको माग बढ्दै गए पछि कोदोको खेतीमा पुनः वृद्धि हुन थालेको छ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित सामुदायिक घरबास बेलढुङ्गा सामुदायिक घरबास, जैमिनीको मरुनी घरबास र भकुण्डेको अतिथि सत्कार घरबासमा कोदोको सेलरोटी आकर्षक परिकारमध्ये पर्दै आएको भकुण्डेस्थित अतिथि सत्कार घरबासका सञ्चालक इन्द्रकुमारी थापाले बताउनुभयो । “चिसो याममा कोदोको ढिडो निकै रुचाइएको परिकारमध्ये पर्दछ, लोकल कुखुराको मासुसँग ढिडो खाने धेरै हुन्छन्”, उहाँले भन्नुभयो, “पाहुनाले ढिडो रुचाउन थालेपछि घरको कोदोले नपुगे खरिद गरेरसमेत ल्याइन्छ, पहिला चामलको भात नै बढी रुचाइएको थियो पछिल्लो समय स्वास्थ्यका लागिसमेत कोदोले फाइदा पुर्याउने भएपछि कोदोको महत्व बढ्यो ।” पहाडी जिल्लाको रुपमा रहेको बागलुङमा सिँचाइ सुविधा नभएका अधिकांश स्थानमा कोदो खेती गरिन्छ । तर, विस्तारै कोदोको महत्व बढ्दै गएपछि किसानले समेत महत्वका साथ खेती गर्दै आउनुभएको छ । बागलुङ नगरपालिकाको सिगाना, काठेखोला गाउँपालिकाको भिमापोखरा, ढोरपाटन, बडिगाड, निसीखोला, तमानखोला, जैमिनी र बरेङलगायतको क्षेत्रमा बढी मात्रमा कोदो खेती हुने गरेको छ भने गलकोट, बडिगाड, बलेवा, रेशलगायतको क्षेत्रमा धानखेती बढी मात्रमा हुने गर्दछ । “पहिला गरिबले कोदोको परिकार खाने, धनीले चामलको खाना खाने प्रचलन थियो तर अहिले ठीक उल्टो भएको छ, चामल सहज भयो, ढिडो कोदोको परिकार दुर्लभ”, बागलुङको छिस्ती केवैका पूर्णबहादुर पुनले भन्नुभयो, “कोदोको महत्व बढे पनि ज्यालादारीमा काम गर्ने जनशक्ति नभएकाले दुई वर्षदेखि विद्युतीय उपकरणको सहायताले कोदो चुट्दै आएको छु, छिस्तीमा कोदो राम्रो हुन्छ, अहिले होटल तथा रेष्टुरेण्टमा कोदोको परिकार पाक्छ भन्ने सुन्दा अचम्म लाग्छ ।” जिल्लामा धान बालीलाई प्रमुख खेतीको रुपमा मान्दै आए पनि बागलुङमा भने कोदो खेती महत्वपूर्ण अन्न बालीका रुपमा रहेको छ । कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले रैथाने बाली कोदो संरक्षण र प्रवद्र्धन गर्न थालेकाले कोदोखेतीप्रति किसानको आकर्षण बढ्दै गएको बताउनुभयो । यस्तै ग्रामीण पोषण कार्यक्रमअन्तर्गत मुख्यतः कोदो बालीलाई नै विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले कोदो उत्पादन गर्ने किसानलाई यान्त्रीकरणमा समेत सहयोग गर्दै आइरहेको भट्टराईको भनाइ छ । कोदो, फापर र सिस्नोमा आइरल, मिनिरल बढी पाइने भएकाले ग्रामीण पोषण सुधार कार्यक्रमअन्तर्गत कोदो उत्पादन गर्ने किसानलाई विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको बताउनुभयो । जिल्लामा १५ हजार हेक्टरभन्दा बढी जमिनमा कोदो खेती गरिने भए पनि पछिल्लो समय केही जग्गा बाँझो राखिँदै आइएको छ । रैथानै बाली प्रवद्र्धन र कोदोको महत्व बढ्दै जाँदा क्रमशः बाँझो जग्गामा समेत कोदो खेती विस्तारमा सहयोग पुग्ने कृषि ज्ञान केन्द्रको भनाइ छ । पछिल्लो समय कोदोको माग सहर बजारमा समेत हुँदा कोदो किसानसमेत उत्साहित भएका छन् । हाइबिड धान, गहुँ, मकै भित्र्याउने किसनाले कोदो भने परम्परागत बीउ लगाउने गरेका छन् तर कृषि ज्ञान केन्द्र कार्यालयले कोदोको बढी उब्जनी हुने बीउ वितरण गर्दै आएको छ । अहिले राम्रो कोदो उत्पादन हुने क्षेत्रका किसानलाई नगद अनुदानमा कोदोको बीउ, तरकारी, र फलफूलका बीउ दिने कृषि ज्ञान केन्द्र बागलुङको योजना बर्सेनि वृद्धि हुँदै गइरहेको छ ।
कर्णाली: चिसो बढेसँगै सुर्खेत, नेपालगञ्जलगायतका सहरमा मानिसको घुइँचो देखिन थालेको छ । जाडो छल्न हिमाली र उच्च पहाडी भेगका बासिन्दा यहाँ मौसमी बसाइँ सर्ने गर्दछन् । रोजगारीको खोजीमा गाउँका कतिपय युवा भारतलगायत खाडी मुलुकहरुमा जाने र पुरुषहरु पनि जाडो छल्न यी विभिन्न सहरी क्षेत्रमा आउने गर्दा हिमाली जिल्लामा युवा त के पुरुषहरु पनि देख्न मुस्किल हुन्छ । ती जिल्लाका ग्रामीण बस्तीमा अशक्त, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका र महिला मात्र भेटिन्छन् । चिसो याममा अचानक गाउँमा केही त्यस्ता केही घटना परिहाले भने उनीहरुले ठूलो समस्या भोग्नुपर्दछ । माथिल्लो कर्णालीका कालीकोट, हुम्ला, मुगु, डोल्पा र जाजरकोटका युवा तथा जाँगरिला सबै पुरुषहरु पैसा कमाउन बाहिरिएका छन् । सामान्यतः वर्षैपिच्छे कात्तिक महिनादेखि मजदूरीका लागि घर छोड्ने युवा यो वर्ष चुनावका कारण अलि ढिला विदेशिएका छन् । चुनावअघि युवालाई विदेसिन दिने छैनौँ भन्ने चर्का भाषणहरु सबै दलका उम्मेदवार गरे । उनीहरुलाई ती उम्मेदवारहरुले केही आशावादी पनि बनाए । केही हुन्छ भन्ने आशामा मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा बहुसङ्ख्यक युवाहरुले भोट पनि हाले । भनेजस्तो तुरुन्तै केही हुन सम्भव थिएन । जितेका उम्मेदवारहरुले दिएको कोरा आश्वासनले गास, बास र कपासको प्रबन्ध नहुने देखिएपछि घर खर्चका लागि गाउँमै बसेर केही गर्न सक्ने अवस्था नदेखेपछि कतिपय युवा खाडी मुलुक जान काठमाडौँ हानिए भने धेरै युवाहरु भारतीय भूमिमा रोजगारीका लागि हिँडेका छन् । ‘गाउँमै बस्ने मन त थियो नि तर के गर्नु, भनेजस्तो केही काम पाइँदैन’, मुगु सोरु गाउँपालिकाका दले बुढाले भने, ‘मातृभूमि छोड्ने रहर त कसलाई हुन्छ र ! बाध्यताले नै मानिसलाई परदेशी बनाउँदो रहेछ ।’ सबै राजनीतिक दलहरुले चुनावका बेला युवा रोजगारीलाई महत्व दिएर आफ्ना घोषणा तथा प्रतिबद्धतापत्र सार्वजनिक गरेकै थिए र यो चुनावमा पनि त्यो देखियो । दल तथा उम्मेदवारले युवाहरुको रोजगारी सुनिश्चितका लागि नभई भोट तान्नका लागि ती प्रतिवद्धता एवं घोषणापत्र ल्याएको तिला गाउँपालिका–४ जुम्लाका युवा कृष्णबहादुर शाहीले बताउँछन् । ‘गाउँमा रोजागरी नभएपछि अब मजदुरीका लागि भारत जाँदैछौँ’, उनले भने, ‘हामी युवा केवल कसैलाई सत्तामा पुर्याउने भर्याङ मात्र बनिरहेका छौँ ।’ शाही जस्तै मजदुरीका लागि हजारौँ युवा कालापहाड लागेका छन् । जीविकोपार्जन गर्ने आधारभूत आवश्यकताबाट विमुख भएका यहाँका युवा रोजगारी गर्न पाँचरछ महिनाका लागि भए पनि वर्षैपिच्छे भारतीय भूमिमा जानुपर्ने बाध्यता छ । राजनीतिमा साधनका रुपमा प्रयोग भइरहने अवस्थाबाट युवा बाहिर निस्कनु पर्दछ । त्यही अवस्थाबाट रहिरहे उनीहरु माथि नउठ्ने चन्दननाथ नगरपालिका–८ जुम्लाका धर्मसिंह कठायत बताउँछन् । उनी भन्छन्, ‘चुनावका बेला मात्र रोजागरी र विकासका कुरा गर्ने नेताको क्षणिक आशय मात्र चुनाव जित्ने हो भन्ने कुरा हामी युवाले बेलैमा बुझ्नुपर्दछ ।’ युवा नेत्री लक्ष्मीकन्या बुढा जित्ने र जिताउने समयमा दिइने कोरा आश्वासन दीर्घकालीन समस्या समाधानको मुद्दा नभएको बताउँछन् । उनले भने, ‘मूलतः राज्य र त्यसको नेतृत्व गर्ने सरकारले मुलुकको समग्र समस्याको हल हुने अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति अनि त्यसको प्रभावकारी कार्यान्वयन गर्ने बलियो संयन्त्र निर्माण गर्नुपर्दछ । कृषिमा नयाँ प्रविधि र त्यसप्रतिको आकर्षण बढ्ने नीति तथा कार्यक्रम सरकारले ल्याउनुपर्दछ । यसले आत्मनिर्भर समाज बन्न सहयोग पुग्नेछ ।’ कर्णालीका वामपन्थी बुद्धिजीवी तथा पुराना कृषक रामकृष्ण बुढ्थापाले तीनवटै सरकार हुँदा पनि युवा विदेसिनुपर्ने बाध्यता आइलाग्नु मुलुकको नेतृत्वको ठूलो कमजोरी रहेको टिप्पणी गरे । ‘युवालाई श्रम र सहकारीसँग नजोडेसम्म आत्मनिर्भर अर्थतन्त्रको विकास हुन सक्दैन’, बुढ्थापाले भने, ‘यसमा सरकारको नीति र त्यसको प्रभावकारी कार्यान्वयनमा भर पर्दछ ।’ कर्णालीको कृषि, पर्यटन, जडीबुटी क्षेत्रले यहाँका बेरोजगार युवालाई रोजागरी दिन सक्ने भन्दै यसको लागि सरकारले दूरगामी योजना तथा कार्यक्रम ल्याएर त्यसको प्रभावकारितामा जोड दिनुपर्ने उनको भनाइ छ । सुर्खेत पश्चिम पञ्चपुरी नगरपालिकाका दले विकले जुनसुकै पार्टी तथा तिनका उम्मेदवारहरुले चुनाव जित्नका लागि गलत आश्वासन दिने गरेको बताए । चुनावमा हरेकको घरमा पसेर नमस्कार गर्दै उम्मेदवारहरुले भन्दै आएका छन्, ‘हामीलाई जिताउनुस् बेरोजगारी समस्या हटाइन्छिौँ । कोही विदेश जानुपर्दैन । हजुरहरुको समाजमा भएका सबै समस्या हल गर्छौं ।’ चुनाव जिते वा हारेपछि भने ती उम्मेदवारहरु कहिल्यै पनि गाउँ नफर्केको उनले सुनाए । नयाँले गर्छन् कि भन्ने आशले जिताए पनि कालापहाड जाने समस्या कहिल्यै नछुटेको उनको भनाइ छ । सबै नेताले गरिब, दलित र सोझासिधा नागरिकको भोट लिएर आफ्नै दुनो सोझ्याउने काम गरेको विकले दुःखेसो पोखे । चुनावमा मतदान गरेर मजदूरीका लागि कर्णाली प्रदेशका पहाडी जिल्लाहरुबाट दिनहुँ युवाको ठूलो लर्को भारततिर लाग्ने गरेको छ । उत्पादनशील जनशक्ति गाउँमा देखिदैन । गाउँमा रहेका अशक्त, ज्येष्ठ नागरिक, महिला तथा बालबालिका पनि उच्च हिमाली भेगमा बढ्दै गएको जाडोले घरबाहिर आउन सक्ने अवस्था हुँदैन । अशिक्षित, पढ्दापढ्दै अध्ययन छाडेका र उच्च शिक्षासम्म अध्ययन गरेका पनि रोजगारी नपाएर बसेका हजारौँ युवालाई स्वदेशी श्रम बजारमा काम पाइन्छ भन्नेमा विश्वास छैन । उनीहरु कति त खाडी मुलुकमा गइसकेका छन् भने बाँकी सबै कामका लागि कालापहाडमा । युवा विदेसिने सङ्ख्या बढ्दै जाँदा गाउँका खेतबारीसमेत बाँझिएका छन् । जमिन बाँझिदा अन्न उत्पादन हुन छोडेको छ । हिजो आफ्नै उत्पादनमा आत्मनिर्भर गाउँहरु पछिल्लो समयमा आयातमुखी बन्दै गएका छन् । यसले गर्दा धान, मकै, कोदो, जौ, चिनो, कागुनो, उवा, मार्से, लट्टे, भट्टजस्ता रैथानी अन्नबाली लोप हुने अवस्थामा छन् । उत्पादनशील जनशक्ति देश बाहिर जाने प्रवृत्ति बढेपछि एक दशकयता कर्णालीमा रैथाने बालीको उत्पादनमा निकै ह्रास आएको छ ।

