पोखराः अंग्रेजी नयाँ वर्षलाई स्वागत गर्न ‘सडकमै खाऔँ, सकडमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नारासहित पोखरामा बुधवारदेखि २४ औं सडक महोत्सव सुरु भएको छ । रेवान पोखराले अंग्रेजी नयाँ वर्षलाई स्वागत गर्न २४ औं संस्करणको महोत्सव आयोजना गरेको छ । महोत्सवमा लेकसाइडको हल्लनचोकबाट सुरु भएको विभिन्न सांस्कृतिक झाँकीसहितको र्याली कोमागाने पार्क पुगेपछि सडक महोत्सव औपचारिकरूपमा सुरु भएको हो । महोत्सवको उद्घाटन पोखरा महानगरपालिका मेयर धनराज आचार्यले गरे । पोखराको फिस्टेल गेटदेखि डिहिकोपाटनसम्मको झन्डै तीन किलोमिटर खुला सडकमा महोत्सव सञ्चालन भएको छ । स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी मेला आयोजना गरिएको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले बताए । खुला सडकमा टेबल कुर्ची निकाली सडकमै खाने, सडकमै सांस्कृतिक तथा विभिन्न कार्यक्रम सञ्चालन हुने छ । महोत्सवलाई लक्षित गरी लेकसाइड क्षेत्रलाई दुलही झैँ सिँगारिएको छ । महोत्सव पुस १७ गतेसम्म सञ्चालन हुने छ । महोत्सव सञ्चालन हुने सडकका दायाँ–बायाँ रङ्गरोगन गर्नुका साथै ध्वजा पताका टाँगिएको छ । महोत्सवको मुख्य स्थल कोमागाने पार्कमा स्टेज र विभिन्न खानेकुरा, लत्ताकपडा, बाल उद्यान मुख्य आकर्षण रहेका छन् । पाँच दिने सडक महोत्सवमा नेपालका विभिन्न जिल्ला र विदेशका समेत सांस्कृतिक कार्यक्रमका प्रस्तुत हुने छ । महोत्सवमा सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, पर्यटन, खेलकुद, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्टलगायत कार्यक्रम हुने छ ।
गैरागाउँ: भूकम्पले पालको बास बस्न बाध्य डोटीको पूर्वीचौको–३, गैरागाउँकी १५ वर्षीया देवी भुललाई महिनावारी हुँदा छाउछाप्रोमा बस्न निकै कठिन छ। देवी भुलको छाउछाप्रो च्यात्तिएको प्लास्टिक र परालले बेरबार पारेर बनाइएको छ। फलेकमाथि एकसरो लुगाले चिसोमा रात कटाउनु देवी भुलको बाध्यता छ। गैरागाउँ खप्तड राष्ट्रिय निकुञ्जसँगै जोडिएको छ। गाउँमा खप्तड राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली जनावरको समेत डर हुन्छ। देवता रिसाउने र थप अनिष्ट हुने डरले भूकम्पपछिका दिनमा महिनावारी हुँदा अलग्गै बस्नुपर्ने प्रथालाई महिलाले अझ कडाइसाथ पालना गर्न थालेका छन् । स्थानीय जयराम भूलले भन्नुभयो, “केही दिनअघि मात्र छाउगोठ नजिकै सर्प देखिएको छ। यदि देउता नरिसाएको भए पुस महिनामा कसरी सर्प आयो। छाउपडी नमान्ने कुरा त हामी सोच्नै पनि सक्दैनौँ।” महिनावारी हुँदा बस्नका लागि परम्परागत रूपमा बनाइएका छाउगोठ भूकम्पका कारण भत्किएका छन्। हालै निर्माण गरिएका छाउगोठ हावा लाग्दासमेत उडाएर लैजाने किसिमका छन्। एक जनाले खुट्टा तानेर सुत्नसमेत नमिल्ने ठाउँमा महिनावारी हुँदा तीनरचार जनाले कोचिएर प्रत्येक महिना पाँच दिनसम्म बस्नु परेको स्थानीय मनिदेवी बोहराले बताउनुभयो। बोहराले भन्नुभयो, “पहिलाका छाउगोठमा त भित्रै आगो बाल्न मिल्ने त हुन्थ्यो आजभोलि आफू मात्र बस्न मिल्ने गरी बनाएका छौँ। छाउ हुँदा साह्रै समस्या हुन्छ। खुट्टा तानेरसमेत सुत्न सकिँदैन।” भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य शिक्षालगायतका जनचेतनामूलक क्रियाकलापको आवश्यकता रहेको छ। देउता रिसाउने र गाई–भैँसीले दूध नदिने डरले महिनावारी हुँदा, महिलालाई दूध, दहीलगायत पोसिलो खानेकुरा दिइँदैन। महिनावारी हुँदा ओढ्ने र ओछ्याउनेसमेत अलग्गै हुन्छ। पूर्वीचौकी गाउँपालिका उपाध्यक्ष पशुपतिदेवी खड्काले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणलगायत विकासका लागि गाउँपालिकाले पहल गरिरहेको बताउनुभयो। राज्यले छाउपडी प्रथालाई अपराध मानेको छ। मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद १० दफा १६८ को उपदफा–३ मा महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य किसिमका भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन भन्ने कुरा उल्लेख गरिएको छ।
बाजुरा: बाजुराको छेडेदह गाउँपालिका–४ लिसाना निवासी हरि रावतको घर छेउबाटै सडक निर्माण भएपछि व्यापार व्यवसाय गर्न निकै सहज भएको छ । बूढीगङ्गा नगरपालिका–४ को भुक्तोली हुँदै लिसाना र बूढीगङ्गा नगरपालिका–७ र ८ को बेतालमाण्डौ, झाली हुँदै लिसाना बस्तीको चारै तिरबाट सडक सञ्जालले जोडिएपछि यहाँका स्थानीयलाई अहिले गाउँमै व्यापार गर्न सहज भएको रावतले बताउनुभयो । छेडेदह गाउँपालिका–४ लिसाना हरि रावतले, सडककै कारण व्यापार व्यवसाय गर्न म जस्तै अन्य गाउँका सबैलाई पनि सहज भएको छ । उहाँले पहिले दैनिक उपभोग्य सामान किन्न पसिना चुहाउँदै बूढीगङ्गा नगरपालिकाको बाम्का र बेतालमाण्डौ बजारमा धाउनुपर्दथ्यो अहिले सो वस्तु गाउँमै पाइन थालेको बताउनुभयो । पछिल्लो समय स्थानीय निकायले सबै वडा सडकले जोडेपछि स्थानीयबासीको जनजीवनलाई सहज मात्र छैन् दैनिकी समेत फेरिएको रावतले बताउनुभयो । बुढीगङ्गा नगरपालिका–२ को बल्दे हुँदै गोगडी थामलेख अन्तर्गतको सो सडक सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा स्तरोन्नति भइरहेको छ । स्थानीय निकायको पछिल्लो समयमा भइरहेको तीर्व विकासले बाजुराका चार नगर र चाँच वटा गाउँपालिकाले पनि सबै वडामा सडक सञ्जाल पुर्याउन जोड दिएका छन् । पछिल्लो समय यहाँका सबै स्थानीयबासीले गाउँ बस्तीमै सडक पुर्याउने पहिलो प्राथमिकता भएपछि अहिले बाजुराका प्रत्येक गाउँ बस्ती सडकको पहुँच रहेका हुन् । बर्खाको समयमा गाउँपालिकाका एक दुइ वडामा गाडी पुर्याउन कठिन भए पनि हिउँदको समयमा भने गाउँपालिका सबै वडामा गाडी पुग्ने गरेको छेडेदह गाउँपालिकाका सूचना अधिकारी मीरा जोशीले बताउनुभयो । उहाँले,गाउँपालिकाकै सहयोगमा जिल्लाकै दुर्गम बस्ती काँडा जयवागीश्वरी लगायतका बस्तीमा पनि सडक पहुँच भएपछि स्थानीयलाई सामान नुन तेल चालमलगायतका दैनिक उपभोग्यका सामान ढुवानी गर्न धेरै सहज भएको बताउनुभयो । त्यसै गरी बाजुराका हिमाली, जगनाथ, स्वामिकार्तिक, खगौमुल, गाउँपालिका र बुढीनन्दा, बडिमालिका, बुढीगङ्गा र त्रिवेणी नगरपालिका लगायतका स्थानीय तहका स्थानीयबासीलाई पनि गाउँमा जोडिएको सडक सञ्जालने दैनिक उपभोग्यका सामान ढुवानी गर्न सहज बनेको छ । स्थानीयको सहजताका लागि स्थानीय सरकारले पनि वडाका सबै गाउँ बस्ती बस्तीमा सडक सञ्जाल जोड्ने लक्ष्य राख्दै आएका छन् । बाजुरा पहिरोको जोखिम जिल्लाका रुपमा चिनिँदै आएको भए पनि स्थानीय तह भने आफ्ना सबै वडाका गाउँटोलमा डोजरको प्रयोग गर्दै सडक सञ्जाल जोड्ने प्रयासमै छन् । त्रिवेणी नगरपालिका –५ का सामाजिक अगुवा दिनेश सार्कीले भन्नुहुन्छ, “स्थानीय सरकारले वडाका प्रत्येक बस्ती बस्तीमा सडक सञ्जाल जोडे सँगै स्थानीयलाई गाउँमै व्यापार व्यवसाय गर्न सहज भएको छ ।” उहाँले, बर्खाका तीन महिना बूढीगङ्गा नदिमा पानीको बहाव बढ्ने भएकोले सवारी रोकिए पनि हिउँदमा भने किम्नी बाहेक अन्य सबै ठाउँमा यातायातको राम्रो सुविधा भएपछि गाउँमै व्यापार गर्न धेरै सहज भएको बताउनुभयो । त्रिवेणी नगरपालिका नगर प्रमुख कर्णबहादुर थापाले, गतका पाँच वर्ष गाउँमा सडक जोड्ने काम भए पनि अबका दिनमा गाउँमा जोडिएका ती सडकको स्तरोन्नति गर्ने कामलाई बढी प्राथमिकता दिंदै जाने बताउनुभयो । उहाँले, त्रिवेणीका अधिकांश वडामा सडक जोडिएको केही गाउँ बस्ती अँझै सडक सञ्जालको पहुँचबाट टाढा रहेकोले ती बस्तीमा पनि यो वर्षमा सडक जोडिने प्रयास भइरहेको बताउनुभयो । सडक पुगेको गाउँ बस्तीमा कालोपत्रे र सडक नपुगेको ठाउँमा अहिले सडक जोड्ने तयारी रहेको नगरप्रमुख थापाले बताउनुभयो । गोरखापत्र अनलाइन
ओखलढुङ्गा: ओखलढुङ्गाको मोलुङ गाउँपालिकामा पाँच् वर्षीया भान्जाको हत्या आरोपमा १२ वर्षीय मामालाई प्रहरीले पक्राउ गरेको छ । मोलुङ गाउँपालिका–६ का पाँच वर्षीय साङ्गे शेर्पाको हत्या आरोपमा मामा पर्ने १२ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको हो । शुक्रबारदेखि अचानक बेपत्ता भएका शेर्पा आइतबार गाउँ नजिकैको जङ्गलमा स्थानियले मृत अवस्थामा फेला पारेका थिए । मृतक बालकको शरीरका विभिन्न भागमा चोट लागेकाले घटना शंकास्पद देखिएको र मामा पर्ने बालकले उक्त घटना घटाएको हुन सक्ने परिवार र स्थानियको आशङ्कामा बालकलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी निरिक्षक केशव अधिकारीले बताउनुभयो । प्रारम्भिक सोधपुछका क्रममा कुटपिट गर्दा बालकको ज्यान गएको पक्राउ परेका बालकले बताएको प्रहरी निरिक्षक अधिकारीको भनाइ छ । घटनाका विषयमा थप सुस्म अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
कालीकोट: भौतिक विकासका पूर्वाधारका हिसाबले पछाडि परेको कालीकोट जिल्ला पछिल्लो समय जलविद्युत्को ‘हब’ (केन्द्र) बन्न लागेको छ । कालीकोटमा तीन ठूला जलविद्युत् आयोजना निर्माण सुरु हुने भएसँगै जलविद्युत् ‘हब’ का रुपमा विकास हुने भएको हो । कालीकोटमा हुम्ला कर्णाली र तिला कर्णालीलगायत सानाठूला गरेर दुई हजारभन्दा बढी मेगावाट विद्युत् उत्पादन गर्न सक्ने नदी तथा खोलाहरु छन् । जिल्लामा चार सय २० मेगावाटको तिला–१, चार सय ४० मेगावाटको तिला–२, चार सय ८० मेगावाटको फुकोट कर्णाली र १६ मेगावाटको पादमघाट जलविद्युत् आयोजनाले निर्माणका लागि ऊर्जा मन्त्रालयबाट अनुमति पाएका छन् । यी सबै आयोजना बनेका एक हजार पाँच सय ५६ मेगावाट विद्युत् उत्पादन क्षमता राख्छन् । यसको उत्पादनले कालीकोटको मात्र समृद्धिको आधार तयार नपारेर देशकै समृद्धिका आधारका रुपमा विकास सहयोग दिने देखिन्छ । जिल्लामा थुप्रै अन्य जलविद्युत् आयोजना बन्ने ठाउँहरु भए पनि तिनीहरुको उपयोगिता हुन सकेको छैन । कूल चार सय ८० मेगावाट विद्युत् उत्पादन क्षमताको फुकोट–कर्णाली जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए), निर्माणका लागि स्वीकृति र विद्युत् उत्पादनका टेष्ट टनेल खोल्ने काम भइसकेको छ । यो आयोजनाको निर्माणको जिम्मा नेपाल सरकारको स्वामित्वमा रहेको ऊर्जा उत्पादन कम्पनी लिमिटेडले लिएको छ । आयोजनाको विस्तृत डिजाइन, अध्ययन, आयोजनाका लागि जग्गा अधिग्रहण र मुआब्जा वितरणको काम पूरा भइसकेको आयोजना प्रमुख हिरामान वाइवाले जानकारी दिए । “फुकोट कर्णाली जलविद्युत् आयोजनाको प्रायः सबै काम पूरा भइरहेको छ”, उनले भने, “लगानीको मोडालिटी टुङ्ग्याउन बाँकी रहेको छ ।” आयोजनाका लागि एक हजार ७५ रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेमा हालसम्म करिब एक हजार रोपनी जग्गा अधिग्रहण भइसकेको आयोजनाले जनाएको छ । आयोजनाबाट कालीकोट जिल्लाका पचालझरना गाउँपालिका, रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका र खाँडाचक्र नगरपालिका प्रभावित हुनेछन् । यस आयोजना निर्माण भएमा जिल्लावासीले शेयर पाउनाका साथै रोजगारीको सिर्जनासमेत हुने रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए । “यो राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएका छौँ । आयोजना निर्माणको काम अगाडि बढ्दा स्थानीयवासी निकै उत्साहित भएका छन्”, उनले भने । आयोजनाका लागि रु ९२ अर्ब तीन करोड लाग्ने अनुमान गरिएको छ । निर्माण थालेको पाँच वर्षमा आयोजना पूरा गर्न लक्ष्य राखिएको छ । सान्नी त्रिवेणी गाउँपालिका–३ लुसाबाट एक किलोमिटर लामो र ११ किलोमिटर व्यास डाइभर्सन सुरुङमार्फत कर्णाली नदीलाई सान्नी त्रिवेणी गाउँपालिका–१ अधेरीखोलामा झारिने आयोजनाले जनाएको छ । जिल्लाको तिला नदीमा बन्ने तिला–१ र २ जलविद्युत् आयोजनाको क्षमता आठ सय ६० मेगावाट क्षमताको रहेको छ । तिला–१ को विद्युत् उत्पादन क्षमता चार सय २० मेगावाट र तिला–२ को चार सय ४० मेगावाट विद्युत् उत्पादन क्षमता रहेको छ । खाँडाचक्र नगरपालिका–२ मा तिला–१ जलविद्युत् आयोजना निर्माण हुनेछ भने तिलागुफा नगरपालिका–५ खल्लामा तिला–२ जलविद्युत् आयोजना निर्माण हुनेछ । दुवै आयोजनाको निर्माणको जिम्मा एससी पावर कम्पनीले कम्पनीले लिएको छ । नेपाल विद्युत् प्राधिकरणले तिला–१ र तिला–२ जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौताका लागि समझदारी भइसकेको छ । दुई जलविद्युत् आयोजनाको काम भने अहिले अगाडि बढ्न नसकेको खाँडाचक्र नगरपालिकाका उपप्रमुख गणेशबहादुर शाहीले बताए । यी आयोजनाबाट कालीकोटका तिलागुफा नगरपालिका, शुभकालिका गाउँपालिका, खाँडाचक्र नगरपालिका प्रभावित क्षेत्र हुने विद्युत् निर्माण एसी पावर कम्पनीका आयोजना प्राविधिक दर्बबहादुर शाहीले बताए । दुवै आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए), आयोजनाको विस्तृत अध्ययन (डिपिआर) भइसकेको र आयोजना निर्माणका लागि जग्गा अधिग्रहणको काम बाँकी रहेको आयोजनाले जनाएको छ । कालीकोटमा उत्पादन भएको विद्युत् निकासीका लागि चार सय केभी प्रसारण लाइन निर्माण हुने भएको छ । कालीकोटदेखि दैलेख–सुर्खेत हुँदै कैलालीको लम्कीसम्म विद्युत् निकासीका लागि चार सय केभी प्रसारण लाइन जडान हुने भएको हो । प्राधिकरणले कालीकोटमा फुकोट कर्णाली जलविद्युत् आयोजना, तिला–१ र २ लगायत माथिल्लो कर्णालीमा निर्माण हुने जलविद्युत् आयोजना निकासीका लागि चार सय केभी प्रसारण लाइन जडान गर्ने तयारी थालेको कर्णाली प्रदेशसभाका सदस्य दुर्गबहादुर रावतले जानकारी दिए । उनले भने, “यो चार सय केभी प्रसारण लाइन कालीकोट तथा कर्णालीका माथिल्लो भागमा बन्ने जलविद्युत् आयोजनाका लागि निर्माण हुन लागेको हो ।” प्राधिकरणले चार सय केभी प्रसारण लाइन जडानका लागि कालीकोटमा जग्गा खरिद गरिसकेको र लाइन जडानको अध्ययन पनि भइसकेको जनाएको छ । कालीकोटदेखि दैलेख–सुर्खेत हुँदै कैलालीको लम्कीसम्म विद्युत् निकासीका लागि चार सय केभी प्रसारण लाइन निर्माणका लागि करिब रु १६ अर्ब लगानी लाग्ने प्राधिकरणले जनाएको छ । कालीकोटमा निर्माण हुने यी आयोजना बनेमा कालीकोट तथा कर्णालीको सम्बृद्धि आधार हुने स्थानीयले बताएका छन् । यी आयोजनाबाट कालीकोटका हजारौँ युवायुवतीले रोजगारी, विद्युत्मा लगानी गर्ने अवसर पाउनेछन् । जलविद्युत् आयोजनाले कालीकोट जिल्ला र कर्णाली प्रदेशका लागि समृद्धिको आधार रहेको यसको विकास गर्नका लागि अहिलेका स्थानीय, प्रदेश र सङ्घीय सरकारले कामको थालनी गर्नुपर्ने सान्नीले बताए । “जलविद्युत्का ठूला आयोजना बन्नु कालीकोट र कर्णाली प्रदेशका लागि गौरवको विषयमा हो”, त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले भने । जिल्लामा सञ्चालन रहेको निर्माण कार्य थालिएका दर्जनौँ लघु जलविद्युत् आयोजना अलपत्र अवस्थामा छन् । जिल्लाका झन्डै २० मेगावाट उत्पादन हुने सक्ने लघु जलविद्युत् आयोजनाहरू रकम अभाव, स्थानीयको विवाद र मर्मतसम्भारको अभावलगायत कारणले अलपत्र अवस्थामा छन् । तिलागुफा नगरपालिका फाइमहादेव नाग्मगाडस्थित ५७ किलोवाट, नरहरिनाथ गाउँपालिकाको माल्कोटको ३० किलोवाट क्षमताको उच्छव खोला लघुजलविद्युत् आयोजना, ३० किलोवाट क्षमताको तिलागुफा नगरपालिकाको छाप्रेस्थित वालिगाड खोला लघु जलविद्युत् आयोजना, तीन किलोवाट क्षमता भएको चिल्खायाको घट्टेखोला लघुविद्युत् आयोजना विद्युत् बलेर पनि मर्मतसम्भारको अभावमा बन्द भएका छन् । त्यस्तै ३० किलोवाट क्षमताको कालिका गाउँपालिकाको हाउडीगाड लघु जलविद्युत् आयोजना, ३० किलोवाटको बालिगाड खोला लघु जलविद्युत् आयोजनालगायत दर्जनौँ आयोजना रकम अभावका कारण सञ्चालनमा आउन सकेका छैनन् । शुभकालिका गाउँपालिकाकै घट्टेगाड जलविद्युत आयोजना (१८ किवा), थिर्पुगाड जलविद्युत् आयोजना (२० किवा), साना लघुजलविद्युत् आयोजना (१५ किवा), नरहरिनाथ गाउँपालिकाको माल्कोट लघु लघुजलविद्युत् (३० किवा) आयोजनाहरु काम अगाडि बढेको भए पनि रकम अभावका कारण काम सुरु हुन सकेको छैन । हाल पाँच सय किलोवाटको सान्नीगाडको साना जलविद्युत् आयोजना सञ्चालनमा रहेको छ । महावै गाउँपालिकाको गेलास्थित ७० किलोवाट क्षमताको भ्याकुनेगाड जलविद्युत् आयोजना, पचालझरना गाउँपालिकाको ७० किलोवाटको लाफा गाउँ लघुजलविद्युत् आयोजना, ५० किलोवाट क्षमता भएको शुभकालिका गाउँपालिकाको भर्तागाड लघुजलविद्युत् आयोजना पनि सञ्चालनमा आउन सकेका छैनन् । यस्तै भर्ता, तिलागुफा नगरपालिकाको एक सय किलोवाट क्षमता भएको बच्चुगाड लघुजलविद्युत् आयोजना चिल्खाया, ७० किलोवाट औलाखोला लघुजलविद्युत् आयोजना खिन, ५२ किलोवाट क्षमता भएको बालीगाड लघुजलविद्युत् आयोजना सुकाटिया अलपत्र अवस्थामा रहेका छन् ।
काठमाडौं, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको प्रधानमन्त्री पदमा नियुक्त हुनुभएकोमा गुरुङ समुदायले बधाइ दिएका छन् । सोमबार नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिसडाँडामा पुगेर गुरुङ समुदायका प्रतिनिधिहरूले नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाइ दिनुभएको हो । साथै प्रधानमन्त्री प्रचण्डलाई यही पुस १५ गते गुरुङ समुदायले मनाउन लागेको तमू ल्होसारको निमन्त्रणा पनि प्रतिनिधिहरूले दिएका छन् । उक्त अवसरमा प्रचण्डलाई समुदायकोतर्फबाट रक्सी र रोटी सगुन दिइएको छ । उनीहरूले गुरुङ संस्कार अनुसार प्रधानमन्त्री प्रचण्डलाई बधाइ तथा तमू ल्होसारको निमन्त्रणा दिएका हुन् ।
पारिजात दिदीसँगको परिचयको मसँग सानो कथा छ। म तेह्रथुमको चुहानडाँडामा आइए पढ्थेँ। त्यो बेला पारिजात नामको कुनै पात्रले मदन पुरस्कार प्राप्त गरेकी थिइन्। मेरो क्याम्पस चिफ बामदेव पहाडी, ठूला लेखक तथा समीक्षक। पारिजातको पुरस्कार प्राप्त कृतिबारे उहाँको टिप्पणी, मान्छे भनेको टोपी हो कि टाउको? आशय के भने, शंकर लामिछानेको भूमिकाको व्यापक आलोचना भयो, त्यो त टोपी हो। त्यसको चर्चा यसरी भयो मानौं टोपी पनि त्यै हो। टाउको पनि त्यै हो। २०२३ सालको बीचमा आइएको परिक्षा दिन काठमाडौं आएँ। काठमाडौं आएपछि पारिजातबारे अरु कुरा सुनियो। पछि, मैले बिएको जाँच दिएपछि, त्योबेला राल्फा आन्दोलन चलिरहेको थियो। पारिजात दिदी राल्फाको नायिका हुनुहुन्थ्यो। पारिजातको नजिकको विमल भन्ने मान्छे। उहाँले भन्नुहुन्थ्यो पारिजात तपाईंको रचना नियमित पढ्नुहुन्थ्यो। तपाईंलाई रुचाउनु हुन्छ, तपाईं राल्फामा किन नआउने? राल्फाको घोषणापत्र मकहाँ पुर्याउनुभो। त्यो घोषणापत्रको शीर्षक गजब थियो, सेतो वन, नीलो जुन, आकाशका नुनिला निश्वासहरु। केही बुझिन्थ्यो, केही बुझिँदैनथ्यो। त्यसपछि विमलको पछि लागेर पारिजातदिदीकहाँ म पहिलो पटक पुगेँ। दुर्भाग्यवश विमलको होइन अरु कोही अरुको पछि लागेर। दुर्भाग्यवश पारिजात र विमलको बीचमा प्रेम सम्बन्ध थियो। त्यही दिन वा त्यो दिन भन्दा अगाडि विमलले पारिजातलाई धोका दिएका थिए। मलाई पारिजातको अगाडि पुर्याइयो। पारिजात दिदी एकदम उद्घिन हुुनुहुन्थ्यो। अत्यन्तै निराश हुनुहुनुहुन्थ्यो। उहाँले मलाई भन्नुभयो, तपाईंलाई भेट्न पाएकोमा मलाई खुसी लाग्यो। फेरि आउनुहोला। मेरो पहिलो भेट त्यही हो। पारिजात दिदीसँग मेरा केही रोचक र तीता संस्मरणहरु छन्। पहिला त मीठा संस्मरण नै सुनाउनु पर्ला। काठमाडौंको ल क्याम्पसमा साहित्य संध्या भन्ने एउटा कार्यक्रम हुन्थ्यो। एकदिन त्यो कार्यक्रममा जानुअघि, म अलि ढिला पुगेँ। पारिजात दिदी हरिवंश राय बच्चनको मधुशाला क्यासेटमा सुनिरहनुभएको थियो। वहाँको वरिपरि मधुशालाका फ्यानहरु थिए। म जाने बित्तिकै दिदीले भन्नुभयो। संग्रौलाजी आउनुभयो है। वहाँलाई यो मधुशाला मन पर्दैन । उहाँ त बडो शुद्ध मान्छे हो। त्यो सुनेपछि मलाई के लाग्यो भने पारिजातको नजरमा म बाहुनजस्तै शुद्ध रहेछु जस्ले प्रेमगीत सुन्नु हुँदैन। प्रत्येक शुक्रबार पारिजात दिदीकोमा गुड फ्राइडे हुन्थ्यो। ललिजन रावल भन्ने एक जना गजलकार हुनुहुन्थ्यो। उहाँ सोल्टीमा काम गर्नुहुन्थ्यो। सोल्टीमा काम गर्दा त्यहाँ कहिलेकाहीँ दारु प्राप्त हुन्थ्यो त्यो पनि स्कच रक्सी। कहिले आधा बोतल, कहिले एक पेग, कहिले एक क्वार्टर। हरेक शुक्रबार पारिजात दिदीको महफिलमा गुड फ्राइडे हुन्थ्यो र स्कच खाइन्थ्यो। संजोगले एक दिन स्कच चलिरहेको बेला म पुगेँ। पारिजात दिदीले भन्नुभयो, ए, संग्रौलाजी आउनुभो, गिलास लुकाऊ। उहाँ त बडो चोखो माक्र्सवादी हुनुहुन्छ। मलाई के लाग्यो भने पारिजात दिदीको नजरमा म विशुद्ध टुप्पी, जनै पालेको, दारु छुँदा जात जाने । पछि मैले पनि एउटा अभिनय गरेँ। खुकुरी रम एक बोतल बोकेर म दिदीकोमा गएँ। त्यो देखेपछि पारिजात दिदी जिल पनुभयो। संग्रौला के गरेको यो? उपहार टक्र्याउन ल्याएको। आफू त खाने होइन के रे? अनि मैले दिदीकै अगाडि बोतल खोलेँ। दुइटा गिलास ल्याएँ। अनि उहाँसँगै मैले मदिराको मोर्चा खोलेँ। त्यसपछि दिदीलाई के विश्वास भयो भने बाहुन त बाहुन हो, धेरै शुद्धचाहिँ रहेनछ। पारिजात दिदी त कुञ्जिनी भएको थियो। साहित्य संन्ध्या वा कुनै कार्यक्रममा लैजाँदा स्नेह सायमी अथवा मुरारी अर्याल वा कसैको मोटरसाइकल वा ट्याक्सीमा लगिन्थ्यो। मेरो त्यो बेलामा जापानी होन्डा थियो, त्यो पनि फेन्सी टाइपको। म गोराहरुलाई नेपाली भाषा दान गर्थें। तिनले भनेको बेला तिनको घरमा जानुपर्ने भएको हुनाले मैलो जापानी होन्डा किनेको थिएँ। दिदीले गुनासो गर्नुभएछ। संग्रौलाको त्यस्तो राम्रो होन्डा छ। त्यसले कार्यक्रममा जाँदा वा आउँदा मलाई त कहिले चढाएन। पारिजात दिदीको जीवन यति मूल्यवान छ। मैले कतै जाँदा वा आउँदा मैले मोटरसाइलमा राख्दा कदाचित दुर्घटना भयो भने मलाई ठूलो अपगाल पर्नेछ। त्यसैले पारिजात दिदीलाई मोटरसाइकलमा बोक्न मलाई कहिल्यै पनि आँट आएन। पछि, ल क्याम्पसको बाहिरपट्टि कसैले वहाँलाई पुर्याउँथ्यो। ल क्याम्पसको तलामाथि प्रतिभा प्रवाह भन्ने कार्यक्रम हुन्थ्यो महिनैपिच्छे। पारिजात दिदीलाई बोकेर तलबाट माथि लैजानु पथ्र्यो। एक दिन मैले नै काँध थापेँ। दिदी, तपाईंलाई बोक्न मलाई अनुमति चाहियो। दिदीलाई बोकेर माथि लगेँ। अनि भनेँ, यो क्षतिपूर्ति हो। मैले तपाईंलाई मोटरसाइकलमा त बोक्न सकिनँ। त्रास थियो, डर थियो। त्यसको क्षतिपूर्ति हो यो। त्यसपछि हरेक कार्यक्रममा बाहिर आएपछि संग्रौलाजी क्षतिपूर्ति त बाँकी छ नि ? अनि मेरो काम उहाँलाई बोकेर माथि लैजाने भयो। हामीले वामपन्थी साहित्य र चिन्तनलाई प्रवर्धन गर्न भनेर हामीले श्रष्टा प्रकाशन खोल्यौं। श्रष्टा प्रकाशनअन्तर्गत कृष्णमणि पुरस्कार राख्नुभएको थियो। पारिजात दिदीले उपन्यास लेख्न थाल्नुभयो। लेख्न थालेपछि ढोका बन्द गरेर चुकुल लाएर बस्ने उहाँकै बानी थियो। अनि लेखिएको चिज प्रकाशित हुनुअघि कसैलाई पनि नदेखाउने। सप्र्राइज दिने भन्नुहुन्थ्यो। हामीलाई के लाग्यो भने पारिजात दिदीको उपन्यास त हामीले छाप्ने हो। किनभने हाम्रो उद्देश्य वामन्थी साहित्य र सिर्जना प्रवर्धन गर्ने हो। पारिजात दिदी त हाम्रो सम्पत्ति हो। हामीले बुक गर्यौं। पारिजात दिदीको उपन्यास हाम्रो हातमा पर्यो। अध्यक्ष थिएँ। साहित्यसम्बन्धी हाम्रा केही मानकहरु थिए। ती मानकहरु त्यो बेला अलि कडै थिए भन्ने लाग्छ। हाम्रा शुद्धताका केही आग्रहहरु थिए। प्रगतिशील के हो? प्रगतिशील के होइन? पुस्तक पढेपछि मैले र मुरारी अर्यालले .. पारिजात दिदीको जुन प्रवृत्तिसँग हामी सहमत थियौं। त्यो उपन्यासमा पारिजात दिदीको त्यो प्रवृत्तिभन्दा फरक चिज थियो। हामीलाई के लाग्यो भने हाम्रो प्रकाशनको मापदण्ड अनुसार छैन। पारिजातसँग त हामीले नै अतिरिक्त अनुरोध गरेर पुस्तक मागेको हो। हामीलाई संकट भयो। अब त्यो टार्ने कसरी? म त स्रष्टा प्रकाशनको अध्यक्ष। मलाई धेरै अप्ठ्यारो भयो। मैले कसैको हातमा सानो चिठी लेखेर त्यो पाण्डुलिपी फर्काएँ । यो यो कारणले तपाईंको पुस्तकसँग हामी सहमत हुन सकेनौं। माफ गर्नुहोला दिदी दुर्भाग्यवश हामी यो छाप्न सक्दैनौं। पारिजात दिदी खुब रिसाउनुभयो। पारिजात दिदी आफ्नो सिर्जनमाथि, चिन्तन र व्यक्तित्वमाथि भएका टिप्पणी र समीक्षाहरुलाई त्यति सहज किसिमले पचाउने मान्छे होइन। हामी सबै त्यस्तै होला, सबैलाई मन पर्ने त प्रशंसै हो। टिप्पणी, समीक्षा, आलोचना प्रायः मन पर्दैन। पारिजातमा टिप्पणीप्रति, आलोचनाप्रति सहिष्णुता थिएन। दिदीसँग बोलचाल नै बन्द त भएन तर केही समय सम्बन्ध अत्यन्तै तिक्त भयो। यस्ता अरु पनि सन्दर्भहरु पनि छन् जसमा पारिजात दिदीसँग मतान्तर र तिक्तता भएका छन्। सँगै काम गरेपछि ती जब व्यक्त भयो केही समय दुरी पनि बढ्यो। आइजाइ पनि कम भयो। तथापि त्यो मतान्तर र दुरीको आयु सधैं लामो रहेन। केही समय बितेपछि हाम्रा सम्बन्ध पुनस्र्थापित भए। सहकार्य पुनः प्रारम्भ भयो। म जुन बेला प्रगतिवादमा प्रवेश गरेँ, त्यो बेलाका धुरन्धर प्रगतिवादीहरुमा स्खलन आएको थियो। ताना शर्मा विचलित भइरहेका थिए। कृष्णचन्द्रसिंहको बाटो फरक भएको थियो। डिपी अधिकारी लगभग राजावादीजस्ता भएका थिए। त्यो वैचारिक संकटको बेलामा नेपालको वामपन्थी प्रगतिशील साहित्यको पारिजातबाटै भएको थियो, प्रत्यक्ष रुपमा वा अप्रत्यक्ष रुपमा। वैचारिक दृष्टिकोणबाट, सिर्जनाको दृष्टिकोणबाट, अभिनयको दृष्टिकोणबाट र नयाँ पुस्तालाई प्रशिक्षण दिने कोणबाट पारिजात दिदी आफ्नो समयको नायिका हुनुहुन्थ्यो। उहाँ मेरो दिदी हुनुहुन्थ्यो। मेरो साथी हुनुहुन्थ्यो र मेरो कमरेड पनि हुनुहुन्थ्यो। वहाँको विचारप्रतिको निष्ठा, जिद्दीको हदसम्मको जुन दृढता थियो मैले त्यसबाट धेरै सिकेको छु। म जिद्दीवाल मान्छे हो, मलाई छुचो मान्छे भन्छन् । कुनै कुरा मलाई लागेपछि त्यसमा के के जोखिम होला म त्यो कहिले पनि सोच्दिनँ। आफ्नो निष्ठाको निम्ति लड्ने हो। तपाईं न्यायको पक्षमा, सत्यको पक्षमा उभिनुहुन्छ भने आलोचित हुनमात्र होइन निन्दित हुन पनि तयार हुनुपर्छ। पारिजात दिदी तयार हुनुहुन्थ्यो। मैले उहाँबाट धेरै सिकेको छु।
वीरगञ्ज: बाराको महागढीमाई नगरपालिकामा पराल काटने मेसिनले हात काटिदा एक जना गम्भीर घाईते भएका छन । महानगढीमाई नगरपालिका– ११ मधुरी टोल बस्ने ३५ वर्षीय अमिरकाप्रसाद यादव गम्भीर घाइते भएका हुन । आइतबार दिउँसो ना.६ त. १५७३ नम्बरको ट्याक्टरमा जडान गरिएको पराल काट्ने मेसिनमा पराल काटने क्रममा यादवको हाट काटिएको थियो । अमिरकाको बायाँ हातको कुहिनो भन्दा तलतिरको भाग पुरै कटेको, दाहिने हातको ४ वटा औला काटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । यादवको कलैया अस्पतालमा उपचार भइरहेको छ
कञ्चनपुर: कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चान्देवका ४० वर्षीय साधुराम चौधरीले दुई वर्ष भारतको राजधानी नयाँ दिल्लीमा मजदुरी गरे । कोरोना महामारीसँगै स्वदेश फर्किएका उनी हाल गाउँमै अरु युवासित मिलेर ‘चान्देव एकीकृत इन्टरलक इँटा तथा ब्लक उद्योग’ सञ्चालन गरिरहेका छन् । सिमेन्टको प्रयोग गरी बनाइले आधुनिक एवं भूकम्प प्रतिरोधी इँटा उद्योग समूहमा सञ्चालन गरिरहेका चौधरीले उद्योग स्थापनाको छोटो समयमै मनग्य आम्दानी गरिरहेका छन् । “घरपरिवार छाडेर विदेशमा मजदुरी गर्नुभन्दा गाउँमै केही गरौँ भनेर भारतबाट फर्किएर यसमा संलग्न भए”, उनले भने, “हातमा सीप भए गाउँमै मेहनत गरेर आम्दानी गर्न सकिँदोरहेछ ।” कञ्चनपुरमा इँटा उद्योगबाट उत्पादित इँटा घर निर्माण प्रयोजनमा बढी प्रयोग भइरहेको भए पनि पछिल्लो समय यहाँका चौधरीले जस्तै छिटपुटरुपमा इन्टरलक ब्लक बनाउनेक्रम बढेको छ । “जेठमा सञ्चालनमा ल्याएको उद्योगबाट आठ हजार ब्लक बिक्री गरिसक्यौँ”, चौधरीले भने, “अहिले थप चार हजार इँटा माग भएपछि बनाउन थालेका छौँ ।” उनले रु पाँच लाखको लगानीमा उद्योग सञ्चालन गरेको उल्लेख गर्दै सञ्चालन भएयता इँटाको माग आउन थालेको जानकारी दिए । “रु तीन लाख बढीको इँटा बिक्री गरिसक्यौँ”, उनले भने, “फस्टाउँदै गए मुनाफा पनि समूहमा सहभागीबीच बाँडफाँट गर्ने योजना छ ।” उनले घरपरिवारसितै बसेर उद्योगमा खटिनुका साथै स्याली र दोदा नदीमा बगर खेतीबाट आयआर्जन गरिरहेको बताए । “सिमेन्टबाट निर्मित इँटाको प्रयोगले घरको लागतसमेत कम हुने भएकाले यसको माघ बढिरहेको छ”, उनले भने, “अहिले प्रतिइँटा रु ४० का दरले बिक्री भइरहेको छ ।” उद्योगमा आबद्ध स्थानीय निमबहादुर चौधरीले गाउँका–६ जना मिलेर गाउँमै उद्योग सञ्चालनको तालिम लिएर व्यावसायिकरुपमा लागेको बताए । “हिउँदमा सबै बगरमा बेमौसमी तरकारी लगाएर आम्दानीमा जुटिरहेका हुन्छौँ”, उनले भने, “यता ब्लक उद्योगले वर्षभरि काम दिइरहेको हुन्छ ।” यसबाट भएको आम्दानी सोही उद्योगमा लगानी गरिरहेको उनले बताए । “मुनाफा वितरणभन्दा पनि उद्योगको दायरा बढाउने सोचमा छौँ”, उनले भने, “ स्थानीय दशकभन्दा बढी समयदेखि यहाँ बगरमा तरकारी फलाएर घर खर्च चलाउने धेरै छन् ।” उनले हरेक वर्ष छ महिना बगरखेती हुने गरेको उल्लेख गर्दै गाउँमा उद्योग सञ्चालनले व्यवस्था थप बढाएको जानकारी दिए । उद्योगमा आबद्ध रामदयाल रानाले उद्योग सञ्चालनका लागि दातृ निकायको सहयोगले सम्भव भएको बताए । ब्लक इँटा बनाउने मेसिन खरिदका लागि यहाँस्थित नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ ९एनएनएसडब्लुए०ले रु दुई लाख सहयोग गरेको हो । यहाँ उत्थान परियोजनाअन्तर्गत समाजकल्याण सङ्घले चार वटा स्थानमा ब्लक उद्योग सञ्चालन गर्न सहयोग गरेको छ । “हामीलाई त उद्योगबारे थाहा नै थिएन”, रानाले भने, “दातृ निकायले तालिम र मेसिन दिएपछि उद्योग सञ्चालनमा सहयोग पुगेको हो ।” कृषि नै आयआर्जनको मुख्य पेसा भए पनि ग्रामीण भेगका कृषकले राज्यबाट कुनैखाले अनुदान र सहयोग नपाएको रानाको गुनासो छ । एनएनएसडब्लुएको उत्थान परियोजनाका संयोजक विनोदविक्रम जैरुले ग्रामीण भेगका आर्थिक अवस्था कमजोर भएका परिवारको अवस्था सबल बनाउन सहयोग पुग्ने उद्देश्यले ब्लक उद्योग सञ्चालनका लागि सहयोग गरिएको बताए । “आयस्रोत सामान्य भएकाको अवस्थामा सुधार आएर आत्मनिर्भर बनुन् भन्ने उद्देश्यले उत्थान परियोजनामार्फत विभिन्न आयमूलक काममा सहयोग गरिएको छ”, उनले भने, “गाउँबस्तीमै मेहनत गरेर जीविका चलाउनसक्ने जनशक्ति निर्माणमा अग्रसर छौँ ।” चान्देवमा लामो समयदेखि बगरखेतीमा लागिपरेका कृषकलाई ब्लक उद्योग सञ्चालनमा समेत सहयोग पु¥याइएको जैरुले बताए । “बगरमा खेती आंशिक समय मात्र हुन्छ”, उनले भने, “बाँकी समय उद्योगमा खटिएर आम्दानी गर्नसक्ने भएका छन् ।” उनले जलवायुमैत्री, घर बनाउँदा प्लास्टर गर्नु नपर्ने र पोलेको इँटाभन्दा बलियो भएकाले पछिल्लो समय ब्लक इँटाको माग बढिरहेको बताए ।

