पोखरा: नेपाल वित्तिय संस्था कर्मचारी संघ (FIEUN) कास्की जिल्ला कार्यसमितिको शुक्रबार भएको नवौं अधिवेशनले यामबहादुर रानाभाटको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । संघको उपाध्यक्षमा कृष्णप्रसाद वराल, सचिवमा सन्तोष सुवेदी, कोषाध्यक्षमा नविन भण्डारी, र सदस्यमा शंकर भण्डारी, देवी लामिछाने, मुना जिसी, निलम लम्साल, सुनिता कार्की, गणेश आले, मञ्जु आले, अध्यक्षबाट मनोनित दुई सदस्यहरु कुलबहादुर तामाङ र गोपिनाथ पोखरेल रहेका छन् । कार्यक्रमका प्रमुअख अतिथि नेपाल ट्रेड युनियन गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्माले श्रमिकको हकहितको लागि वर्तमान सरकार गम्भिर नभएको हुँदा सबै श्रमिक एकजुट हुनपर्ने बताए । विशेष अतिथि नेपाल वित्तिय संस्था कर्मचारी संघ राष्ट्रिय समिति सदस्य ओमकार गिरीले वित्तिय क्षेत्रका कर्मचारीहरुको हकहितको लागि राष्ट्रिय समितिले विविध कार्य गर्दै आएको बताए। प्रमुख अतिथि शर्माले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा ट्रेड युनियनका जन्मदाता पुर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाको तस्विरमा पुष्प गुच्छा अर्पण गरिएको थियो । संघका अध्यक्ष ज्ञाज शर्माले आफ्नो कार्यकालमा कोरोना महामारीको कारण संस्थाले सोचे जस्तो कामहरु गर्न नपाएको उल्लेख गर्दै आगामि दिनहरुमा संस्थाका गतिविधिलाई निरन्तर अगाडि वढाउनु पर्ने वताएका थिए । संघमा प्रायः बैक तथा वित्तिय संस्थाहरु, विमा कम्पनिहरु, कर्मचारी सञ्चयकोष आवद्ध रहेका बताए । नवनिर्वाचित अध्यक्ष यामबहादुर रानाभाटले वित्तिय क्षेत्रमा कार्यरत कर्मचारीहरुले आफ्नो अधिकार र कर्तव्यलाई आत्मसात गर्दै संस्थाको गरिमालाई उच्च पार्ने कार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । अध्यक्ष ज्ञाज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सुर्यरमण पराजुलीले र संचालन सचिव यामबहादुर रानाभाटले गरेका थिए ।
जनकपुरधाम: धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर भाग्ने योजनाकार पक्राउ परेका छन्। लागुऔषध मुद्दामा पक्राउ परेर फरार भएका धनुषाको क्षिरेश्वरनाथ नगरपालिका –५ का ३५ वर्षीय विनोदकुमार शर्मा पक्राउ परेका हुन्। उनलाई बुधबार राति १ बजे मथिला नगरपालिका १० स्थित रातु खोलाको बगरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। पुस २८ मा लागुऔषधसहित पक्राउ परेका शर्मा नै हिरासत फोड्ने योजनाकार हुन्। हिरासतमा सबै भन्दा बढी १८ दिनदेखि शर्मा नै थिए। उनैले फोड्ने सुरुवात गरेरपछि अन्य थुनुवाको साथ पाए र पछि फोड्न सफल भएर ६ जना एक साथ फरार भएका थिए। शर्मासँगै फरार ६ जनामध्ये ४ जना पक्राउ परिसकेका छन्। मंगलबार राति अभद्र व्यवहार तथा शान्ति सुरक्षा विरुद्धको मुद्दाका फरार थुनुवा हरिदिप सिंह, मंगलबार दिउँसो अमित मण्डल र सोमबार हातहतियार खरखजाना मुद्दाका रोशनलाई सोमबार साँझ नै प्रहरीले पक्राउ गरेको हो। अन्य दुई थुनुवाको खोजी पनि गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
घोराही: बङ्गलाचुली गाउँपालिका–८, पाँचपोखरी निवासी १७ वर्षीया पशुपति सोमई आमा बन्नुभएको डेढ वर्ष भयो। माध्यमिक विद्यालय जबरकोटमा कक्षा ९ अध्ययन गर्ने क्रममा गाउँकै एक किशोरसँग मायाप्रेम बसेपछि पशुपतिले १४ वर्षको उमेरमा विवाह गर्नुभएको थियो। विवाह भएपछि नयाँ घरको बुहारी बन्नुभएकी पशुपति घरको काममा लाग्न थल्नुभयो। तर, उहाँसँगैका साथीहरू भने पढ्दै गरेका थिए। “साथीहरू पढ्दै छन्, उनीहरूले पढेको देख्दा रहर लाग्छ,” उहाँले भन्नुभयो, “तर मैले विवाह गरेपछि घरको काममा लागेँ, पढ्न सकिनँ।” त्यसैमा पछिल्लो समय बच्चासमेत भएकाले थप समस्या हुन पुग्यो। सुरुमा रहरमै विवाह गरे पनि अहिले पढेको भए हुन्थ्यो झैँ लाग्ने गरेको उहाँले बताउनुहुन्छ। बङ्गलाचुली–८, हाँसीपुरकै भुमा दर्लामी पनि १८ वर्षको उमेरमा आमा बन्नुभयो। तीन वर्षअघि भागी विवाह गर्नुभएकी भूमासँग अहिले आठ महिनाको बच्चा छ । कक्षा १० मा पढ्दै गर्दा भागेर विवाह गर्नुभएकी भुमाले पनि पढाइ छोड्नु परेको थियो। श्रीमान् कमाउनका लागि छिमेकी देश भारत गएपछि भूमालाई बच्चासँगै घर व्यवस्थापनको समेत जिम्मेवारी थपियो। त्यसमाथि सासुससुराको हेरचाह गर्नुपर्ने जिम्मेवारी पनि उहाँमाथि नै आइप(यो। पशुपति र भूमा मात्रै होइन, पछिल्लो समय यस जिल्लाको विकट क्षेत्र बङ्गलाचुली गाउँपालिका–८ का अधिकांश किशोरी १४ देखि १६ वर्षकै उमेरमा विवाह गर्ने गरेका छन्। किशोरी उमरमै विवाह गर्नेहरूको सङ्ख्या बढ्दो गतिमा रहेको हाँसीपुर स्वास्थ्य चौकी इन्चार्ज देवीमाया बुढामगर बताउनुहुन्छ। उहाँका अनुसार स्वास्थ्य चौकीमा गर्भ जाँच गर्न २० वर्षमुनिका गर्भवती किशोरीको सङ्ख्या बढी नै हुने गरेको छ । विवाह गर्ने उमेर महिलाका लागि २० भने पनि अधिकांशले १५र१६ वर्षकै उमेरमा विवाह गर्ने र २० वर्षअघि नै दुईदेखि तीनवटासम्म बच्चा जन्माइसक्ने गरेको इन्चार्ज बुढाले बताउनुभयो। विवाह गरेपछि सानै उमेरमा बच्चा जन्माउने गरेका कारण स्वास्थ्यमा समस्यासँगै अधिकांश विवाहित किरोशीले पढाइ छोड्ने गरेको उहाँले बताउनुभयो। “विवाह गरेर पढ्नेहरू गाउँमा देखिँदैन, अधिकांशले पढाइ छोडेका छन्,” उहाँले भन्नुभयो, “गाउँमा अहिले पनि विवाहपछि पढ्नुपर्छ भन्ने सोच छैन। विवाहित बुहारीले घरकै काम गर्नुपर्छ भन्ने मात्रै सोचिन्छ।” सानो उमेरमा विवाह गरेर बच्चा जन्माउँदा आमा र शिशुको स्वास्थ्यमा समस्या देखिने गरेको छ। बाल विवाह गर्ने धेरै भए पनि आधिकारिक तथ्याङ्क भने पालिकासँग छैन। विवाह गरेर किशोरी घरको काममा लाग्ने र श्रीमान् कमाउनका लागि विदेश जाने हुँदा गाउँका अधिकांशले स्कुल तहमै पढाइ छोड्ने गरेको हाँसीपुरका स्थानीय गोपालसिंह गाहामगर बताउनुभयो। “विवाह गरेपछि खर्च बढ्ने गर्छ, त्यसैले केटाहरू कमाउनका लागि बाहिर जाने गर्छन्,” उहाँले भन्नुभयो, “केटीहरू भने घरको काममा लाग्ने गर्छन्, जसका कारण उनीहरूको पढ्ने उमेर खेर जाने गरेको छ ।”
पोखरा: एबिसी टेलिभिजनका गण्डकी ब्यूरो प्रमुख एम बि आस्थामगरलाई तीर्थसागर सुवेदी स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान गण्डकीको दोस्रो प्रदेश अधिवेशनको अवसरमा संचारकर्मी तथा गायक स्वं सुवेदीको स्मृतिमा स्थापित सो पुरस्कारबाट आज (सोमबार) पुरस्कृत भएका हुन् । उनलाई कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका संस्थाका केन्द्रीय अध्यक्ष रमेश बिजीले सम्मानपत्र, दोसल्ला तथा नगद राशी अर्पण गरे । सो अवसरमा बोल्दै केन्द्रीय अध्यक्ष बिसीले कलाकारलाई देशको गहना भएतापनि अहिलेसम्म स्तरीय सम्मान दिन नसकेको बताए । उनले लोक तथा दोहोरीगीतको विकासका लागि कलाकारसंबद्ध संस्थाले मात्रै नभएर सरकारी निकायले पनि ध्यान दिन आवश्यक रहेको धारणा राखेका थिए । प्रतिष्ठानले सोही कार्यक्रमकाबीच विभिन्न विधामा योगदान पुर्याएका व्यक्तित्व तथा अग्रज कलाकारहरुलाई सम्मान प्रदान गरिएको थियो । सो कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष पुर्षाेत्तम न्यौपाने, प्रजापति पराजुली लगायतले शुभकामना व्यक्त गरेका थिए । पुरस्कृत आस्थामगर विगत २ दशकभन्दा बढी समयदेखि पत्रकारितामा क्रियाशिल छन् भने नेपाल आदिवासी जनाजाति पत्रकार महासंघ (फोनिज) का गण्डकी प्रदेश इन्जार्चसमेत हुन् ।
दैलेख: ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिवार साँझ दैलेख सदरमुकाम नजिकै मध्यपहाडी राजमार्गको गहतारीमा भएको दुर्घटनामा परी नारायण नगरपालिका १० भवानीका २३ वर्षीय रमेश विकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख (डीएसपी) भुवनेश्वरप्रसाद साहले छामघाट खोलाबाट ढुङ्गा बोकेर किम गाउँतर्फ जाँदैगरेको भे २ त १४७८ नम्बरको ट्याक्टर पल्टिएर घाइते भएको र उपचारका लागि जिल्ला अस्पताल पुग्दा उहाँको मृत्यु भएको बताउनुभयो । उहाँले ट्याक्टर चालक भगवतीमाई गाउँपालिका –७ बडाभैरबका कृष्णबहादुर बिक फरार भएकाले उनको खोजी भइरहेको उहाँले बताउनुभयो । मृतक रमेश बिक पनि ट्याक्टर चालक रहेको प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कालीगण्डकी नदीको पवित्र शिला हिन्दूहरूको धार्मिकस्थल भारतको अयोध्यामा निर्माणाधीन रामको मूर्ति कुद्नका लागि हस्तान्तरण गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताउनुभएको छ । गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्वारा बिहीबार पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा आयोजित शिला हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री अधिकारीले नेपाल र भारतको धार्मिक तथा सांस्कृतिक सम्बन्ध परापूर्वकालदेखि प्रगाढ रहँदै आएको र अनन्तकालसम्म पनि यस्तो सम्बन्ध रहिरहने विश्वास व्यक्त गर्नुभयो । उहाँले शिला हस्तान्तरणले दुई देशको धार्मिक सम्बन्ध थप मजबुत बनेको बताउनुभयो । राममार्गको विकास गरी नेपाल र भारतबीच धार्मिक पर्यटक वृद्धि गरी अर्थतन्त्रलाई समेत बलियो बनाउने उद्देश्य गण्डकी सरकारको रहेको मुख्यमन्त्री अधिकारीको भनाइ थियो । दुई देशका यी पावन भूमिका लाखौँलाख नेपाली र भारतीय दर्शनार्थीको भीड लाग्ने उहाँले उल्लेख गर्नुभयो । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री पञ्चराम गुरुङको अध्यक्षतामा आयोजित शिला हस्तान्तरण कार्यक्रममा कांग्रेस नेता विमलेन्द्र निधिसमेत सहभागी थिए । विश्वमै दुर्लभ शालिग्राम पाइने कालीगण्डकी नदीको दुई थान शिला जनकपुरधाम हुँदै हिन्दूहरूको धार्मिकस्थल भारतको अयोध्या पु¥याइने छ । एउटा शिलामा रामको बाल्यकालको अवस्था झल्किने प्रतिमा तथा अर्कोमा सीताको प्रतिमा निर्माण गरिने रामलला मन्दिर निर्माण ट्रष्ट भारतका सचिव राजेन्द्रसिंह पङ्कजले जानकारी दिनुभयो । “कालीगण्डकीबाट भगवान् रामको मूर्ति बनाउने शिला उपहार पाएका छौँ, यसले नेपाल र भारतको सांस्कृतिक सम्बन्ध बलियो हुन्छ”, उहाँले भन्नुभयो । अयोध्या, जानकी र समग्र कालीगण्डकी क्षेत्रको धार्मिक र सांस्कृतिक सम्बन्धलाई विश्वमा चिनाउन शालिग्रामले धर्मदूतको काम गर्ने पङ्कजको धारणा थियो । बुधबार क्रेनबाट दुई शिलालाई ट्रकमा राखेर प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा लगिएको छ । बिहीबार गलेश्वर शिवालय मन्दिर परिरसरमा राखिएका शिलालाई गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारी, बेनी नगरपालिकाका प्रमुख सुरत केसी र गलेश्वर मन्दिरका अध्यक्ष माधवप्रसाद रेग्मीले विधिवत पूजाआजा गरेपछि हस्तान्तरण गर्नुभएको थियो । भूगर्भ तथा शिलाविद्, प्राविधिक र विज्ञसमेतको टोलीले बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकीमा दुई थान शिला पहिचान गरेको थियो । बेनी नगरपालिकाका प्रमुख केसीले कालीगण्डकीबाट लामो समय टिक्ने २६ टन र १४ टनका दुई थान शिला गण्डकी प्रदेश सरकार र गण्डकी प्रदेश सरकारले मधेस प्रदेशको जानकी मन्दिरलाई हस्तान्तरण गर्दैै अध्योध्यालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकारी दिनुुभयो ।
बलेवा: बागलुङको एउटै गाउँपालिकाबाट पछिल्लो पाँच महिनामा ५८ परिवार बसाइँ सरेका छन् । जिल्लाको काठेखोला गाउँपालिकाबाट पाँच महिनाको अवधिमा ५८ परिवारका दुई सय २१ जना सदस्य बसाइँ सरेका हुन् । गाउँपालिकाले तयार गरेको तथ्याङ्कअनुसार गत साउनदेखि पुस मसान्तसम्म अन्य व्यक्तिगत घटनाभन्दा बसाइँ सर्नेको तथ्याङ्क धेरै छ । आठ वटा वडा रहेको गाउँपालिकामा सबैभन्दा धेरै वडा नं ५ बिहुँबाट बसाइँ सरेर बाहिर गएको गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापाले बताउनुभयो । बिहुँबाट मात्रै पाँच महिनामा २२ परिवारका ८४ जना सदस्यले गाउँ छोडेका छन् । वैदेशिक रोजगारीमा रहेका र उच्च शिक्षाका लागि विदेशमा रहेका युवाको परिवार धेरै बसाइँ सरेका छन् । वडा नं ६ बिहुँबाट पनि बसाइँ सर्नेको सङ्ख्या उच्च छ । यो वडाबाट पाँच महिनामा ११ परिवारका ४३ सदस्य बसाइँ सरेको तथ्याङ्क छ । गाउँपालिकाबाट बसाइँसराइ लिएर जानेबाहेक थातथलो छोडेर अन्यत्रै बस्नेको सङ्ख्या पनि उच्च छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले फन्को मारेको साविकको बिहुँ गाविस ९हाल वडा नं ५ र ६० मा सदरमुकामदेखि छोटो दूरीका वडा हुन् । यहाँ सडक सुविधा छ । दुई वटा सामुदायिक क्याम्पस, विद्यालय, खानेपानी, विद्युत्, स्वास्थ्य संस्थालगायतका संरचना तयार भए पनि गाउँ रित्तिन नछोडेको उपाध्यक्ष थापा बताउनुहुन्छ । “अहिले राष्ट्रिय परिचयपत्र बनाउने कामका लागि पहिल्यै बसाइँ सरेकाले पनि घटना दर्ता गराए भन्ने हाम्रो आँकलन छ”, थापा भन्नुहुन्छ, “यस्तै अवस्थामा बसाइँसराइ रहने हो भने हामीले गाउँमा विकास पु¥याउने, गाउँ खाली हुने अवस्था हुन्छ, यसप्रति हामी चिन्तित र सचेत छौँ ।” काठेखोलामा सबैभन्दा कम बसाइँसराइ वडा नं ६ लेखानीमा छ । यो वडाबाट पाँच महिनाको अवधिमा एक परिवारका तीन जना सदस्य मात्रै गाउँ छोडेर अन्यत्रै गएको थापाले जानकारी दिनुभयो । वडा नं १ पालाबाट दुई परिवारका आठ, वडा नं २ भीमापोखराबाट छ परिवारका १८, वडा नं ३ धम्जाबाट पाँच परिवारका १९, वडा नं ४ तङ्ग्रामबाट दुई परिवारका १२ र वडा नं ७ रेशबाट नौ परिवारका ३४ जना बसाइँ सरेको गाउँपालिकाको तथ्याङ्क छ । बसाइँ सर्नेमा आर्थिक हिसाबले मध्यम वर्ग कम रहेको वडा नं ५ का अध्यक्ष ज्ञामनाथ कँडेलले बताउनुभयो । “कतिपय बसाइँ सर्ने लहरको पछि लागेर गएका छन्, कतिपयको परिस्थितिले बसाइँसराइ गराएको छ”, कँडेलले भन्नुभयो, “वैदेशिक रोजगारी बसाइँसराइलाई थप सहयोग गरिरहेको छ ।” गाउँपालिकाको तथ्याङ्कअनुसार दैनिक ज्याला मजदुरी गरेर खाने अवसरको खोजीमा सहरबजार झरेका छन् भने आर्थिकरुपले सक्षम भएका देशका ठूला सहर र तराई बसाइँ सरेका छन् । “उच्च शिक्षाका लागि विदेश जाने, उतै कार्ड बनाउने र परिवार मधेस झर्ने गरेका कारणले पनि बसाइँसराइको तथ्याङ्क बढ्दो छ”, उपाध्यक्ष थापा भन्नुहुन्छ, “हाम्रो गाउँपालिका दुर्गम होइन तर गाउँ छोड्नेको कमी रहेन् ।” गाउँपालिकामा पछिल्लो पाँच महिनामा ११ परिवार गाउँ फर्किएका छन् । बसाइँसराइ गरेर गाउँ छोडेका ११ परिवारका २८ सदस्य गाउँ फर्केको थापाले बताउनुभयो । गाउँ फर्किनेको सङ्ख्या पनि अन्य वडाभन्दा बिहुँमा बढी छ । वडा ५ बिहुँमा पाँच परिवारका १६ जना, वडा नं ६ बिहुँमा तीन परिवारका पाँच जना गाउँ फर्केका छन् । वडा नं २ मा एक परिवारका पाँच जना र वडा नं ८ मा दुई परिवारका दुई जना गाउँ फर्किएका छन् । बसाइँसराइको तथ्याङ्क बढ्न थालेपछि गाउँपालिकाले आफ्ना नीति तथा कार्यक्रम र बजेटमा सोहीअनुसार तर्जुमा गर्ने योजना बनाएको छ । पछिल्लो तथ्याङ्कलाई आधार मानेर आफूहरुले छलफल थालेको उपाध्यक्ष थापा बताउनुहुन्छ । “अर्को पाँच महिना कुरेर हामीले तथ्याङ्क तयार गर्छौँ, अवस्था यस्तै रह्यो भने विचार गर्ने बेला आयो”, थापाले भन्नुभयो, “बनेका संरचनाको उपयोग कसले गर्छ भन्ने चिन्ता हुन थाल्यो ।” यहाँबाट बसाइँ सरेका कसैले पनि घर गोठ, पाखोबारी र खेत भने बिक्रि गरेका छैनन् । जसका कारण बाँझो जग्गाको क्षेत्रफलसमेत बढेको छ । बागलुङका १० वटा स्थानीय तहमध्ये जैमिनी नगरपालिका, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा बसाइँसराइ धेरै भएका छन् । काठेखोलाको जस्तै तथ्याङ्क अन्य स्थानीय तहले तयार गरिनसकेका भए पनि काठेखोलाबाहेकका स्थानीय तहमा पनि बसाइँसराइको दर उच्च छ । “यही वर्ष मात्रै मैले पाँच परिवारलाई चितवन पु¥याएर फर्किएको छु, गाउँ त खाली हुने भए”, यातायात व्यवसायी तेजेन्द्र नेपाली भन्नुहुन्छ, “पहाडको जग्गा बाँझै राखेर, तराईमा घडेरी मात्रै भएका पनि बसाइँ सरेका छन् ।” जैमिनी नगरपालिकाको वडा नं ९ मा पर्ने लाम्सु गाउँ, बागलुङ नगरपालिकाको वडा नं ११ मा पर्ने रायडाँडा, ओख्ले गाउँ बसाइँसराइका कारण रित्तिँदै गरेका गाउँका नमुना हुन् । यी गाउँका अधिकांश घरहरु खाली छन् । जैमिनी नगरपालिकाले भूउपायोग नीति नै बनाएर बसाइँसराइ रोक्ने प्रयास गरेको छ । गलकोट नगरपालिका र बरेङ गाउँपालिकाले पनि बसाइँसराइ बढ्दो रहेको बताउँदै आएका छन् । “दुर्गम गाउँबाटभन्दा सुगम गाउँबाट बसाइँ सर्ने धेरै छन्, कसरी थाम्न सकिन्छ भन्ने उपाय नै खोज्न सकिएन्”, जैमिनी नगरपालिका–१ कुश्मीशेराका वडाध्यक्ष विष्णु आचार्यले भन्नुभयो ।
काठमाडौं: आज ‘श्रीपञ्चमी’ विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ । हरेक वर्ष माघशुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाउने गरिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीलगायतले आ–आफ्ना कलासाधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्छन् । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधाराको नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजा गर्न भक्तजन, विद्यार्थीको घुइँचो छ । आज बिहान १० बजेर ४७ मिनेटमा नासल चोकमा वसन्त श्रवण गरिँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो ।
ढोरपाटनः बागलुङका ग्रामीण क्षेत्र सडक सञ्जालसँग जोडिएको धेरै समय भएको छैन । अझै केही ठाउँमा सडक पुगेका छैनन् । सडक पुगेका गाउँका स्थानीय अहिले घर अगाडि नै गाडी कुद्दा दङ्ग छन् । सडक विस्तार भएपछि अहिले उनीहरुको जीवनस्तर बदलिएको छ । सदरमुकामसँग सिमाना जोडिएका गाउँमा एक दशक अगाडिनै मोटरबाटो पुगेपनि दूर्गम गाउँमा भने स्थानीय सरकार आएपछि मात्रै सडक सञ्जाल र यातायातको सुविधा विस्तार भएको हो । जिल्लाको तमान खोला गाउँपालिका–४ का हर्कबहादुर छन्त्याल अहिले ७९ वर्षीय पुग्नुभयो । अहिले उहाँको घरै अगाडि दैनिक गाडी गुड्छन् । आफ्नै आँखा अगाडि आएको परिवर्तन छन्त्याललाई कथा जस्तै लाग्छ । उहाँले आफ्नो जीवनमा भोगेका कैयन वास्तविकता सुनाउँदा साँच्चिनै मुलुकमा धेरै परिवर्तन भएको बताउनुहुन्छ । २०१८ सालदेखि बुटवलबाट खाद्यान्न तथा नून बोकेर उपभोग गर्दै आउनुभएका छन्त्याल अहिले आफ्नै घर नजिक सामान पाउँदा दङ्ग हुनुहुन्छ । छन्त्यालले उति बेला स्वास्थ्य उपचार समयमै नपाउँदा धेरैले ज्यान गुमाउनुपरेको भन्दै अहिले गाउँ–गाउँमा स्वास्थ्य उपचार हुने हुँदा खुसी व्यक्त गर्नुभयो । अनेकौँ उतारचढाव पार गर्दै अहिलेसम्म आउँदा आफूले सोँच्दै नसोचेको विकास भएको उहाँको भनाइ छ । “गाउँमा यति ठूलो परिवर्तन आयो, गाउँलेहरुले यसरी हाम्रो दिन फेरिएला भन्ने सोचेका थिएनौँ, २०१८ सालमा बटौलीमा नुन लिन गएका बेला मोटर सररर चलेको देख्दा रमिता झै लागेको थियो, बिजुली बलेको देख्दा अचम्म लाग्थ्यो, अहिले त घरै अगाडी मोटर गुड्छ, बिजुलीले घरै झलमल छ, हाम्रा छोरानातिले हामीले जस्तो दुःख भोग्न परेन” छन्त्यालले भन्नुभयो । उहाँ भन्नुहुन्छ–“हाम्रो गाउँमा गाडी आउन पाँच सय वर्ष लाग्छ होला भन्ने अनुमान गरेका थियौँ, तर अहिले गाडी, बिजुलीलगायतको सुविधा उपभोग गर्न पाउदा स्वर्गमा आएजस्तै लागेको छ, पहिला हामीलाई धेरै दुःख थियो अहिलेकाले त्यो कुरा बुझ्दैनन् ।” स्थानीयवासी फूलकुमारी पुनले बुटवलबाट नून लिएर घर आउँदा आधा महिना बित्ने गरेको भन्दै अहिले एकै दिनमा आउनजान सकिने बताउनुहुन्छ । उहाँले नून ल्याउन जाँदा खर्च बोकेर जाने गरेको सुनाउँदै बाटोमै कयौँ रातविताउनु परेको नमिठो अनुभवसमेत सुनाउनुभयो । मोटरबाटोले विकासका अन्य ढोका खोल्ने भन्दै अहिले गाउँका धेरै समस्या समाधान भएको बताउँनुहुन्छ । “अहिलेको जस्तो जामाना थिएन पहिले, गाउँका धेरैजना एकजुट भएर बटौली नून ल्याउन जान्थ्यौँ, बाटोमै खानु पर्ने, सुत्नु पर्ने हुन्थ्योँ तर रमाइलो र कष्ट पनि हुन्थ्यो,” पुनले भन्नुभयो । “धेरै जना भएर जाँदा बाटोमा गीत गाउदै रमाइलो गरिन्थ्यो, कति साथीले त त्यही समयमा बिहेसमेत गरेका थिए” उहाँले स्मरण गर्नुभयो । उहाँले आफु ४० वर्षको उमेरमा गाडी चड्दाको अनुभव सुनाउँदै अव कसैले पहिलेको जस्तो दुःख भोग्न नपर्ने बताउनुहुन्छ । अहिले त नजिकै पालिकामा जाँदा पनि गाडी चडेर जाने गरेको उहाँले बताउनुभयो । उहाँले गाउँमा मोटरबाटो आएपछि गाउँले बिरामी हुँदा निकै सहज भएको र समयमा नै अस्पताल पु¥याउन सकिएको बताउनुभयो । उहाँले भन्नुभयो–“पहिले गाउँमा गारेटो बाटो मात्रै थिए, अहिले माथिमाथिलेसकेसम्मै मोटरबाटो पुगेको छ, हाम्रा पालाका मान्छे धेरैजसो ३०÷४० कटेपछि मात्रै गाडी देखेका थिए, त्यसबेला नौडाँडाबाट गाडीमा चडेको थियौँ, त्यसभन्दा अगाडि बाटौलीमा नून लिन जाँदा गाडी त देखेको थिएँ तर चढेको थिएन, पहिलो पटक गाडीमा चड्दा निकै मन फुरुङभएको थियो, खुसीले संसारै जितेको जस्तो लागेको थियो, घर फर्किँदा उही गोरेटोमा यात्रा गर्नुपथ्र्यो ।” उहाँले उति बेला गाउँमा उपचारको लागि नजिकै स्वास्थ्य संस्था नभएको, पानीका लागि टाढा जानुपर्ने समस्याको अहिले समाधान भएको, विकासका पूर्वाधारको विस्तार भएर जीवनस्तर सहज भएको बताउनुभयो । “हाम्रो पालामात स्वास्थ्य संस्था थिएनन्, कोही बिरामी भए काठमाडौँ, पोखरा लैजानुपथ्र्यो, समयमा उपचार नपाउँदा कतिले ज्यान गुमाउनु पथ्र्यो,” उहाँले विगतलाई सम्झँदै भन्नुभयो– “अहिले त गाउँमै उपचार हुन्छ, यहाँ हुननसके ठूला अस्पतालमा छिट्टै पु¥याउन सकिन्छ, अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छैन ।” तमान खोला अझै पनि जिल्लाको सबैभन्दा दुर्गम ठाउँ मानिन्छ । स्थानीय सरकार सठन भएपछि विस्तारै सुगम बन्दै गएको छ । भौगोलिक विकटता र सदरमुकाम भन्दा टाढा हुँदा त्यस क्षेत्रका जनताले वर्षौँदेखि सास्ती खेप्दै आएका थिए । गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जनप्रतिनिधि भएर आएको पहिलो कार्यकाल जनताको मुख्य आश्यकतालाई परिपूर्ति गर्ने गरी काम गरेको बताउनुभयो । सडकनै विकासको मुख्यआधार भएको भन्नुहुदै अध्यक्ष बुढा भन्नुहुन्छ– “तमानखोला भौगोलिक हिसाबले पछाडि छ, विकासका पूर्वाधारले समेत नजोडिदा यहाँका नागरिकको अवस्था निकै कष्टकर थियो, तर अहिले धेरै परिवर्तन आएको छ, स्थानीयस्तरमा नै प्रशासनिक तथा अन्य काम हुने गरेको छ ।” गाउँमा सडक र यातायातको विस्तार भएपछि घण्टौँ लगाएर सदरमुकाम जानुपर्ने समस्याको अन्त्य भएको छ । पलिका हप्तादिनसम्म लाग्ने काम अहिले एकैदिनमा गर्न सकिने भएपछि स्थानीय हर्षित भएका छन् ।

