ढोरपाटनः अग्लो पहाड । पहाडको फेदमा छ लुकुम गाउँ । बाक्लो बस्ती, आफ्नै भाषा र रीतिरिवाज यस गाउँको पहिचान हो । छेउमा रहेका अग्ला धुपीका रुखहरूले गाउँको सुन्दरतालाई थप बढाएको छ । एक दशक अगाडिसम्म लुकुम गाउँ सुनसान थियो । जब मध्यपहाडी लोकमार्गले जोडियो, तब गाउँमा विकासका लहर छाउनुका साथै पर्यटकीय गन्तव्य बन्न थाल्यो । लोकमार्गले गाउँलाई जोडेपछि दुर्गम ठाउँ सुगममा परिणत त हुने नै भयो, त्यसमाथि गाउँको सुन्दरता र परम्परा आगन्तुकका लागि महत्वपूर्ण गन्तव्यसमेत बन्यो । लोकमार्गले नजोडिँदा ओझेलिएको लुकुम गाउँ अहिले एकाएक चर्चामा आएको छ । सडकले गाउँलाई पर्यटकीय गन्तव्य बनाउनुका साथै स्थानीयवासीलाई सहजतासमेत प्रदान गरेको छ । पूर्वीरुकुमको भूमे गाउँपालिका–१ मा पर्ने लुकुम गाउँमा अहिले दैनिक सयौँ आन्तरिक पर्यटक पुग्ने गर्दछन् । तीन वर्ष अगाडि लोकमार्ग कालोपत्र भएपछि लुकुम गाउँ धेरैको रोजाइमा परेको छ । सडकको सहज पहुँच तथा रुकुम र बागलुङबाट नजिक पर्ने हुँदा बागलुङ, पूर्वीरुकुम तथा पश्चिम रुकुमबाट दैनिक सयौँ पर्यटक लुकुम गाउँमा घुम्न आउने गरेको स्थानीय श्रीप्रसाद पुनमगरले बताउनुभयो । पुनमगर भन्नुहुन्छ, “सडक आएपछि त निकै सजिलो भयो, पहिले यहाँ यही गाउँमात्रै थियो, अहिले तल बजार बन्दै छ, बाटो पनि राम्रो बनेको छ, अहिले धेरै ठाउँबाट मान्छे घुम्न आउँछन्, हाम्रो पुरानो गाउँमा डुल्ने, घुम्ने र फोटो खिचेर जान्छन्, यो गाउँ हाम्रो पुर्खादेखि नै यस्तै थियो, यहाँ धेरैजसो पुराना घरमात्रै छन्, यही घर अहिले धेरैले मन पराए ।” लोकमार्गले जोडिएपछि गाउँले मुहार फेरेको पुनमगर बताउनुहुन्छ । उहाँले पहिले आफूहरू नयाँ ठाउँमा सामान किनमेल गर्न पुगेको भन्दै अहिले धेरै मान्छे आफ्नै गाउँमा घुम्दै आउँदा खुसी लागेको बताउनुभयो । गाउँलाई पर्यटनसँग जोड्न लोकमार्गले ठूलो भूमिका खेलेको उहाँको भनाइ छ । “पहिले हामीहरू नुन, तेल र चामल ल्याउन एक साता लगाएर दाङ तुल्सीपुर पुग्थ्यौँ, त्यतिबेला त्यो ठाउँमा जाँदा यहाँका गाउँलेलाई धेरै समस्या थियो, तर नयाँ ठाउँ देख्दा रमाइलो लाग्थ्यो”, पुनमगरले भन्नुभयो, “अहिले बाहिरी मान्छे हाम्रो गाउँमा आउँदा रमाइलो लाग्यो भन्छन्, केही मान्छेहरू त एक–दुई दिन बसेर घुमेर जान्छन् ।” स्थानीय सुनकुमारी पुनमगर सडकले गाउँलेको जनजीवनमा ठूलो परिवर्तन ल्याएको बताउनुहुन्छ । पुरानो गाउँ अहिलेका युवायुवतीका लागि आकर्षक गन्तव्य बनेको भन्दै गाउँ घुम्न आउनेले स्थानीयस्तरमा उत्पादन भएका सामान किनेर लैजाने गर्दा गाउँलेको आयआर्जनमा टेवा पुगेको उहाँको भनाइ छ । “यो बाटो नआउँदा गाउँमा बाहिरी मान्छे कमै आउँथे, यहाँका मान्छे सामान किनेमले गर्न, केटाकेटी पढ्न र व्यापार व्यवसाय गर्न दाङ जान्थे, गाउँमा उत्पादन भएका सिमी, आलु बाहिर जान पाउँदैनथ्यो”, उहाँले भन्नुभयो, “अहिले बाहिरबाट घुम्न आउनेले पनि सिमी किनेर लैजान्छन्, अरु ठाउँको भन्दा स्वादिलो हुन्छ भन्छन्, गाउँमा बुनेका कोक्रो, डालो, नाङ्लोसमेत किनेर लान्छन् ।” अर्का स्थानीय आसबहादुर विकले गाउँबाट बाहिरिनेको सङ्ख्यामा कमी आएको बताउनुभयो । उहाँले लोकमार्गले गाउँ नजोडिँदा गाउँमा बूढापाकामात्रै हुने गरेको स्मरण गर्दै अहिले बजार गएर व्यापार व्यवसाय गर्ने पनि गाउँमै फर्किएको बताउनुभयो । उहाँले गाउँलेको मुख्य पेसा पशुपालन र कृषि भएको भन्दै आफूहरूका कामलाई पनि बाहिरबाट आउने मान्छेले निकै चासो दिएर हेर्ने तथा सिक्ने गरेको बताउनुभयो । गाउँलाई अझ थप व्यवस्थित र सरसफाइमा ध्यान दिनसके धेरै पर्यटक भित्र्याउन सकिने विकको भनाइ छ । उहाँले भन्नुभयो, “यो सडकमा दैनिक धेरै गाडी गुड्छन्, त्यसमध्ये अधिकांश गाडी यही गाउँ अगाडि रोकिएर फोटो खिच्ने, गाउँ घुम्ने गर्छन्, उनीहरूलाई हाम्रो काम, रहनसहन पनि निकै मन पर्दोरहेछ, धेरैजसोले घरमा आएर तान बनाइ, रौँ प्रशोधन गरेको हेर्छन्, कोही त बारीमा पनि पुगेर काम गरेको हेर्ने गर्छन् ।” बागलुङबाट घुम्न गएका मिलन बुढामगरले लुकुम गाउँ निकै रमाइलो भएको हुँदा आफू चारपटक घुम्न गएको बताउनुहुन्छ । एकैनासले चिटिक्क मिलेर बनेका घर र यहाँका स्थानीयगवासीको मौलिक संस्कृति र रहनसहन मनपर्ने हुँदा आफू पटक–पटक लुकुम गाउँ घुम्न जाने गरेको बताउनुभयो । अहिले लोकमार्ग कालोपत्र भएपछि यहाँ आउन धेरै समय नलाग्ने बुढामगर बताउनुहुन्छ । “पहिले बागलुङबाट रुकुम कमै मान्छेहरू पुग्थे, बाटो सहज थिएन, पैदल हिँडेर पुग्न पनि गाह्रै थियो, अहिले साढे दुई घण्टामै निसीखोलाबाट लुकुम आइन्छ, बिदा भयो भने घुम्न आउने ठाउँ नै लुकुम हो मेरो”, उहाँले भन्नुभयो, “यो गाउँ आन्तरिक पर्यटकका लागि मात्रै होइन, विदेशीका लागि पनि निकै आकर्षक बन्न सक्छ, यहाँका स्थानीयवासीले विदेशी आउने वातावरण मिलाउन सके यो ठाउँ देशकै उत्कृष्ट गन्तव्य बन्न सक्छ जस्तो लाग्छ ।”
पोखराः पोखरामा आइतबार यती एयरको विमान दुर्घटना हुँदा निधन भएका पोखरा १३ का सदाकत अलिमियाँको शव परिवारले बुझेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी मेडिकल कलेजमा पोस्टमार्टम गरेपछि उनको शव परिवारलाई बुझाइएको हो । पोखरामा व्यापार व्यवसाय गर्दै आएका सदाकत सानिमालाई काठमाडौंमा पुर्याएर फर्कने क्रममा दुर्घटनामा परेका थिए । २६ वर्षीय अलिमियाँको मुस्लिम परम्पराअनुसार अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । परिवारको एक्लो छोरा रहेका सदाकतको घरमा २ वर्षकी छोरी छन् ।
बागलुङः आगलागीका घटनामा अत्यावश्यक रहेको दमकल बागलुङका दश पालिकामध्ये नौ पालिकामा छैनन् । बागलुङका नौं स्थानीय तह दमकलविहीन हुँदा आगलागीका घटनामा ठूलो धनजनको क्षति पुग्दै आउँदासमेत दमकल खरिदमा यहाँका पालिकाले चासो दिन सकेका छैनन् । दमकल अभावमा आगलागीका घटनामा ठूलो जनधनको क्षति हुँदासमेत बागलुङ नगरपालिका बाहेकका अन्य नगरपालिका र गाउँपालिकाले दमकलको आवश्यकता हालसम्म नदेख्नु दुखद् रहेको छ । बागलुङ बजारपछिको दोस्रो व्यापारिक केन्द्र बुर्तिवाङ, विकासोन्मुख सहर गलकोट र कुश्सिेरा बजारमा समेत दमकलको पहुँच पुग्नसकेको छैन । गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका, ताराखोला गाउँपालिका, निसिखोला गाउँपालिका, तमानखोला गाउँपालिका, बढिगाड गाउँपालिका र बरेङ गाउँपालिकामा दमकल छैनन् । दमकल अत्यावश्यक भए पनि हालसम्म खरिद गर्न नसकिएको गलकोटका नगर प्रमुख भरत शर्मा गैरेले बताउनुभयो । “दमकल अत्यावश्यक छ, गलकोटमा सहर विस्तारको कार्य भइरहँदा जोखिम बढी भएको छ, तर पालिकासँग दमकल खरिद गर्ने र व्यवस्थापन गर्न सक्ने क्षमता छैन, राज्यले दमकल खरिदमा अनुदानसमेत दिएको छैन”, उहाँले भन्नुभयो, “विपद्जन्य आगलागीका घटना निवारणका लागि नगरपालिकाले सचेतना गर्ने, तत्कालै पानी ल्याउन सक्ने स्थानको व्यवस्थापन भने गरेको छ, आफ्नै दमकल खरिद गरेर चलाउने पालिकाको सामथ्र्य छैन ।” आगलागी नियन्त्रणका लागि अत्यन्तै आवश्यक रहेको दमकल बजेट विनियोजन गरेर स्थानीय तहले खरिद गर्दा ठूलो जन धनको क्षति हुनबाट रोकिने भए पनि शहरउन्मुख भएका पालिकाले समेत बजेट अभावमा खरिद गर्न सकिरहेका छैनन् । बागलुङमा चार नगरपालिका र छ गाउँपालिकामै दमकल पुग्न सक्ने सडक सञ्जाल पुगेको भए पनि जिल्ला सदरमूकामबाहेक अन्यत्र दमकलको पहुँच पुग्न सकेको छैन । पश्चिम क्षेत्रको ढोरपाटन अथवा गलकोट नगरपालिकाले दमकल व्यवस्थापन गर्दा अन्य पालिकालाई समेत समेट्न सकिने स्थानीयको भनाइ छ । आगलागीका घटनामा बागलुङ नगरपालिकाले अन्य स्थानीय तहहरुलाई समेत सहयोग गर्दै आएको नगरउपप्रमुख राजु खड्काले बताउनुभयो । खड्काले छिमेकी स्थानीय तह काठेखोला गाउँपालिका र जैमिनि नगरपालिकामा आगलागी हुँदा दमकल पठाउने गरिए पनि दूरीका हिसाबले टाढा रहेका पालिकामा आगलागी नियत्रणमा दमकल पठाउन कठिन रहेको बताउनुभयो ।
कास्कीः पर्वतको विहादी गाउँपालिका–५ की ६३ वर्षीया जमुना शर्मा ३ महिना पहिले छोराबुहारी, नातिनातीनालाई भेट्न काठमाडौं गएकी थिइन्। यही माघ ४ गते आफ्नो माइती गाउँ विहादी वडा नं ४ को वानीपोखरामा आयोजना गर्न लागिएको बाबुआमाको चौरासी पूजामा सरिक हुन छोरा र नातिनातीनीलाई लिएर उनी घर फर्किंदै थिइन्। गाउँ घुम्न जाने र पूजामा पनि सहभागी हुन पाइने भएपछि छोरा युवराज कार्यालयमा बिदा मिलाएर केही दिन जन्मगाउँमै रमाउने योजनामा थिए। आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परी ६३ वर्षीया जमुना, छोरा ४० वर्षीय युवराज, नातीनी १३ वर्षीया आयुर्दी र नाति चार वर्षीय बेवीनको निधन भयो। युवराज एकीकृत पर्वतीय विकासका लागि अन्तराष्ट्रिय केन्द्र (इसिमोड)मा आइटी अधिकृतको रुपमा कार्यरत थिए भने उनकी श्रीमती सरु शर्मा त्रिभुवन विमानस्थलमै टावर कन्ट्रोलर अफिसरको रुपमा कार्यरत रहेको आफन्तसमेत रहेकी विहादी गाउँपालिकाकी उपाध्यक्ष मीना तिवारीले बताइन्। एउटै विमानमा श्रीमान्, छोराछोरी र सासूआमालाई गुमाएको खबर पाएपछि श्रीमती सरु विक्षिप्त भएकीले अस्पताल भर्ना गरिएको छ। एकै परिवारका चार जनाको निधनपछि अहिले सो गाउँ शोकमग्न भएको छ। गाउँका छिमेकी र आफन्त शव पहिचान र अन्त्येष्टिका लागि पोखरातर्फ लागेका छन्। अकल्पनीय घटनाले सिङ्गो गाउँलाई मर्माहत बनाएको गाउँपालिकाकी उपाध्यक्ष तिवारीले बताइन्। विमान दुर्घनामा एकै परिवारका ती चारजना सहित पर्वतका १० जनाले ज्यान गुमाएका छन्। सो घटनामा निधन हुनेमा कुश्मा नगरपालिका–१४ आर्थर डाँढाखर्कका पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, कुश्मा नगरपालिका वडा नं ९ का अरुण पौडेल र उनकै छोरी ११ वर्षीया प्रसिद्धि पौडेल, कुश्मा नगरपालिका–१ पाङकी रचना काफ्ले र उनको १० महिने छोरा रिहान पौडेलको ज्यान गएको हो। त्यसैगरी मोदी गाउँपालिका–१ भुकताङ्लेका विजय गुरुङको पनि सोही दुर्घटनामा निधन भएको थियो।
पोखराः एघारौं पोखरा महोत्सव स्थलमा महिला दिदीबहिनीहरुलाई लक्षित गरी स्वरोजगार तालिम शुरु भएको छ । सीप सिकि उद्यमशील बनौ, आय आर्जनका क्रियाकलापमा संलग्न भई आत्मनिर्भर बनौ भन्ने मुल नाराका साथ महोत्सव स्थलमा प्रत्यक्ष अवलोकनमा आधारित हस्तकला तथा स्वरोजगार तालिमको आयोजना गरिएको हो । विशेष गरी पिछडिएका, जनजाति र एकल महिलाहरुलाई लक्षित गरी आयोजना गरिएको स्वरोजगार तालिमको पोखरा महानगरपालिका वडा नम्बर १० का अध्यक्ष राजेश गुरुङले उद्घाटन गरे । तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष राजेश गुरुङले तालिममा सहभागी महिला दिदीबहिनीहरुले तालिममा सहभागी भएका दिदी बहिनीहरुले तालिममा सिकेका कुरालाई आफ्नो टोल छिमेक, समाजमा गई त्यहां आवद्ध दिदीबहिनीहरुलाई समेत सिकाएर स्वरोजगार बनाउनतर्फ लाग्नुुपर्नेमा जोड दिए । त्यसैगरी युनाइटेड क्लबले महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन संगै सेती नदीमा साहसिक पर्यटकीय गन्तब्य निर्माण तर्फ लागि रहदा सेती नदीको खोंचमा निर्माण हुने साहसिक पर्यटकीय गन्तब्य निर्माण गर्ने काममा वडाको तर्फबाट समेत सहयोग गर्ने प्रतिवद्धता जनाए । त्यस्तै प्राविधीक शिक्षा तथा ब्यवशायीक तालिम परिषद गण्डकी प्रदेशका निमित्त निर्देशक तिल बहादुर रानाभाटले आफुहरुले विभिन्न संघ संस्था तथा वडाहरु संग सहकार्य गरी महिला दिदीबहिनीहरुलाई स्वरोजगार तालिमहरु प्रदान गर्दै आइरहेको र पोखरा महोत्सवमा जारी स्वरोजगार तालिममा पर्याप्त समय नभएपनि स्वरोजगार बन्न चाहनेहरुलाई लक्षित गरी तालिमलाई निरन्तरता दिने बताए । युनाईटेड क्लबका अध्यक्ष तथा एघारौं पोखरा महोत्सव मुलआयोजक समारोहका संयोजक राजु श्रेष्ठले महोत्सवको माध्यमबाट महिला दिदीबहिनीहरुलाई हस्तकला तालिम प्रदान गरी स्वरोजगार बनाउन तर्फ आफुहरु लागिपरेको बताए । महोत्सवका प्रचारप्रसार संयोजक दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा हस्तकला ब्यवस्थापन उपसमिति संयोजक सबिता श्रेष्ठ रन्जितले स्वागत मन्तब्य राखेकी थिइन । आजबाट शुरु भएको तालिममा २० जना दिदीबहिनीहरु सहभागी रहेका छन । तालिममा जाडो यामलाई लक्षित गरी स्वीटर, मोजा, टोपी, गलबन्दी, पञ्जा लगायतका हस्तकलाका सामाग्रीहरु निर्माण सम्बन्धी तालिम प्रदान गरिनेछ ।
दमौली: तनहुँको भानु नगरपालिकाले गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा उपलब्ध गराउने भएको छ । गर्भवतीले प्रत्येक महिना गर्ने भिडियो एक्सरे सेवा अब निःशुल्क हुने नगरपालिकाले जनाएको छ । गर्भवती र गर्भमा रहेको शिशुको अवस्था थाहा पाउन भिडियो एक्सरे सेवा प्रदान गर्न लागिएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिनुभयो । यो सेवाबाट गर्भवतीको अवस्था र शिशुको अवस्था पत्ता लाग्ने, उनीहरूको अवस्थामा समस्या रहेमा नगरपालिकाकै स्वास्थ्य संस्था र जोखिम भए अन्यत्र रिफर गरिने उहाँले बताउनुभयो । यो सेवाअन्तर्गत नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आधारभूत स्वास्थ्य सेवा केन्द्र भानु नगरपालिका–१ सालबिस्नेमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमको सुरुआत गरिएको छ । वडाध्यक्ष कान्छीमाया तामाङले भिडियो एक्सरे सेवाका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । उहाँले गर्भवतीलाई सरल र सहज तरिकाबाट अल्ट्रासाउण्ड सेवा पुर्याउनका लागि निःशुल्करुपमा ग्रामीण अल्ट्रासाउण्डको सुरुआत भएको र हरेक महिना सञ्चालन हुने जानकारी दिनुभयो । हालसम्म २३ जना गर्भवतीले उक्त सेवा लिएका छन् ।
पोखराः पोखरा महानगरपालिका सामाजिक महाशाखाको सहयोगमा पोखरा १ मा महिला पुरुष समचेतना कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा १ को आयोजनामा कार्यक्रममा लैंगिक हिंसा विरुद्ध पुरुषहरुको एक्यबद्धता जनाउनका लागि उक्त कार्यक्रमको आयोजना पोखरा १ का वडा सदस्य शोभा गुरुङले जानकारी दिए । ‘समाजमा महिला र पुरुष समान रहेको भन्दै एकले अर्काको भावना बुझेर अघि बढेमा हिंसा रोक्न सकिन्छ ,गुरुङले भनिन्, ‘लैंगिक हिंसाको अन्त्यका लागि महिला र पुरुषको एक्यवद्धता हुन अत्यावश्यक छ ।’ जुक माया परियारको संयोजनमा भएको कार्यक्रममा वडा अध्यक्ष साहारा प्रधान, निवर्तमान वडा अध्यक्ष शारदा पराजुलीले आफ्नो धारणा राखेका थिए ।कार्यक्रममा अधिवक्ता जुना गुरूङ र प्रहरी वरिष्ठ नायव निरीक्षक होत बहादुर रोकाले प्रशिक्षण दिएका थिए । हरिचोक आमा समुहकी निर्मला सुवेदी, मोहोेरिया सिंहनाथ टोल विकास संस्थाका गणेश श्रेष्ठ , नेपाल रेडक्रस उपशाखा बगर सभापति जीवन अधिकारी,निवर्तमान वडासदस्य रुद्रप्रसाद सुवेदी लगायतले आफ्नो भनाइ राखेको थिए ।
गलकोट: जैमिनी नगरपालिका राङ्खानीका स्थानीय गम्भीर विश्वकर्माको उमेर ५५ नाघ्यो । पन्ध्र वर्षको उमेरदेखि स्थानीय ढुङ्गाखानीमा काम गर्दै आउनुभएका उहाँले ढुङ्गाखानीमा काम गरेको ज्यालाबाटै परिवार पाल्दै आउनुभएको छ । जैमिनी नगरपालिका–७ जैदीस्थित हर्दिया ढुङ्गाखानी स्थानीय सरस्वती निम्न माध्यमिक विद्यालयको जग्गामा छ । परम्परागत रूपमा घर छाउनका लागि प्रयोग गरिने ढुङ्गाको पछिल्लो समय व्यापार घटेपछि ढुङ्गाखानीमा काम गर्दै आउनुभएका गम्भीरसहित नौ जनाको पेसा सङ्कटमा परेको हो । पहिला १५ देखि २० मजदुरले काम गर्ने ढुङ्गाखानीमा कोरोना महामारीपछि घटेर नौ जनामा सीमित भएका छन् । “पन्ध्र वर्षको उमेरदेखि ढुङ्गाखानीमा काम गर्न थालेको हुँ, त्यसबेला रु ११ मा एक हात बिक्री हुने ढुङ्गा अहिले रु एक सय ३५ मा बिक्री भइरहेको छ, परिवारको लालनपालन र छोराछोरीको शिक्षादीक्षा यही ढुङ्गाखानीबाट गरियो”, विश्वकर्माले भन्नुभयो, “अहिले ढुङ्गासमेत त्यति राम्रो निस्किँदैन, निस्केका ढुङ्गा पनि बिक्री गर्न समस्या छ, अहिले जताततै जस्ताले छाएका र आरसिसी घर निर्माण हुन थालेपछि ढुङ्गाखानी सङ्कटमा परेको छ ।” हाते औजारको सहायताले ढुङ्गा निकाल्दै आएका मजदुरले पछिल्लो समय दिनभरि काम गर्दासमेत हात–मुख जोर्न समस्या हुन थालेको बताएका छन् । “सुरुबाटै यही काम गरियो, अरू काम गर्न सिकिएन, अहिले ढुङ्गा निस्कन मुस्किल छ, खानीभित्रभित्रै पसेको छ भने व्यापार घटेर गएको छ, निकालेको ढुङ्गा कहिले बिक्री हुन्छ थाहै हुन्न”, अर्का ढुङ्गाखानीमा काम गर्दै आएका मजदुर हिमबहादुर श्रीसले भन्नुभयो । “अन्य स्थानमा आधुनिक औजारको प्रयोगबाट ढुङ्गा निकाल्दा छाप्ने, आधुनिक घरमा टास्ने गर्दा राम्रै बजार पाएका सुनेका छौँ, यहाँ त्यस्तो छैन, हातले मिलाएको ढुङ्गा घर छाउनबाहेक अन्त काम लाग्दैन, घर अहिले जस्ताले छाउन थाले, आरसिसी भवन बनाउन थाले, अब ढुङ्गाखानीमा काम गरेर पेट पाल्न सकस छ”, उहाँले भन्नुभयो । पहिला यही ढुङ्गाखानीबाट परिवार लालनपालन र शिक्षादीक्षा गर्दै आएका मजदुर ढुङ्गाखानीको व्यापार घटेपछि विस्थापित हुने क्रम जारी छ । ढुङ्गाखानीमा काम गर्ने बुढापाका बितेर गए भने युवा विदेश पलायन हुँदा ढुङ्गाखानी सञ्चालनमा ल्याउनै समस्या भएको स्थानीय ढुङ्गा व्यापारी मनिकर्ण क्षेत्रीले दुःखेसो गर्नुभयो । क्षेत्रीले ४५ वर्षदेखि मजदुरले निकालेको ढुङ्गा विभिन्न स्थानमा पु¥याएर बिक्री गर्ने काम गर्नुहुन्थ्यो । तर अहिले घर छाउने ढुङ्गाको महत्त्व घट्दै गएपछि यहाँको ढुङ्गाखानी समस्या परेको उहाँको भनाइ छ । उहाँले आधुनिक ढुङ्गाको चलन कायमै रहे पनि हाते औजारको प्रयोगबाट निस्किएका ढुङ्गा घर छाउनमात्रै काम लाग्ने भएकाले समस्या भएको बताउनुभयो । “पहिला ढुङ्गा पु¥याउनै मुस्किल हुन्थ्यो, यहाँको घर छाउने ढुङ्गा जैमिनी, बरेङ, गुल्मीलगायतका स्थानसम्म पुग्दथ्यो, अहिले ढुङ्गाले घर कमै मात्र छाउन थाले, जस्तापाता र ढलान गरेर घर बनाउँदा ढुङ्गा बिक्री हुनै छाड्यो”, क्षेत्रीले भन्नुभयो, “ढुङ्गाखानीमा आधुनिक प्रविधिको प्रयोग गरेर छाप्ने र पक्की घरमा टाँस्ने ढुङ्गा निकाल्दा राम्रो बजार हुन्थ्यो होला, ढुङ्गाखानी भिरालो जग्गामा छ, विद्युत् पु¥याउन समस्या छ ।” परम्परागत तरिकाले सञ्चालनमा आएको ढुङ्गाखानी दर्ता भएर सञ्चालनमा आउन नसक्दा राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित हुनुपरेको ढुङ्गाखानीमा काम गर्ने मजदुरले बताएका छन् । उनीहरूले ढुङ्गा निकालेवापतको केही रकम ढुङ्गाखानीको जग्गा भएको स्थानीय विद्यालय सरस्वती आधारभूत विद्यालयमा जम्मा गर्ने गरेका छन् । अहिले ताराखोलाको ढुङ्गा प्राङ्गण, सडक तथा पदमार्गमा छाप्ने तथा घरको भित्तामा टास्ने कार्यका लागि होटल, मन्दिर तथा घरधनीबाट अत्यधिक माग आउने गरेको छ ।
पोखरा: गण्डकी प्रदेशका विना विभागीय मन्त्री पञ्चराम गुरुङले १६ वर्ष पछी राज्यले पृथ्वी नारायण शाहमाथी न्याए गरेको बताए । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले शाहको जन्म जयन्ती मनाएर राम्रो काम गरेको उनले सुनाए । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले आयोजना गरेको ३ सय १ औं पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा पोखरा १८ को जामुनबोटमा रहेको पृथ्वी नारायण शाहको शालिकमा माल्यापर्ण गर्दै गुरुङ पृथ्वीको भानाई अहिले पनि अनुशरण गर्नुपर्ने रहेको बताए । “नेपाल दुई ढुङ्गाबिचको तरुल हो’’ “घुस लिन्या र घुस दिन्या दुबै राष्ट्रका शत्रु हुन्’’ यस्ता दिव्योपदेशका दूरगामी तथा अर्थपूर्ण सरल परिभाषा अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । आज भन्दा ३ सय वर्ष अघिको पृथ्वीको दिब्य उपदेश अहिले लागू गर्नुपर्ने मन्त्री गुरुङको भनाइ छ । स्वाभिमान नेपाली र स्वतन्त्र नेपालीको लागि पुष २७ हर्सको दिन हो‘गुरुङले भने,‘ राजा मात्र थिएनन दुर्दशाी मात्र थिएनन देश र जनताको लागि इमान्दार भएर देश र जनताको लागि राष्ट्र निर्माता पनि थिए ।’ ईतिहास भुल्न हुदैन भन्दै पृथ्वीले राष्ट्र निर्माणमा दिएको योगदान संबिधानमा नै समावेश गर्नुपर्ने बताए । विशाल नेपाल बनाउन अभियान गर्नु भयो । यो अभियान कुनैपनि हालतमा बिर्सन हुदैन । डाक्टर दिल बहादुर क्षेत्रीले राष्ट्रिय प्रजान्त्र पार्टीले मात्र नभइ सम्पुर्ण नेपाली जनताले पृथ्वीलाई सम्झनुपर्ने बताए । पृथ्वीलाइ जाती र संस्कार र समुदाय भन्दा माथी राखेर सबैको साझा बनाएर सम्मान गर्नुपर्ने हुन्छ । आजभन्दा लगभग ३०० वर्षअघि २२ से अनि २४ से राज्यहरूका रूपमा नेपाल एउटा विभाजित अनि स–साना राजा रजौटाको देश थियो । यस्तै एउटा सामान्य राज्य हालको गोर्खामा थियो जहाँको राजपरिवारमा पृथ्वी नारायण शाहको जन्म भएको हो, आधुनिक नेपालको संरचना, सपना, स्वीकारोक्ति अनि गोर्खाली वीर सिद्धान्तका प्रतिपादक यिनै महान् राजालाई मानिन्छ । विक्रम संवत् १७७९ पौष २७ मा पिता राजा नर भूपाल शाह र माता कौशल्यावती देवीका प्रथम पुत्र पृथ्वी नारायण शाहले नै आधुनिक नेपालको खाका कोरेका हुन् । पृथ्वी नारायण शाहको पालामा हालको भारत अधीन रहेको तत्कालीन पन्जाबदेखि सिक्किम सम्मका नेपाली भूभाग रहेको र आजको वर्तमान नेपालभन्दा विशाल नेपाल उति बेला रहेको थियो । यी राजालाई नेपाल मात्र नभई दक्षिण एसियासम्म एउटा दूरदर्शी अनि राष्ट्रियताको प्रतीक नेतृत्वका रूपमा हेरिन्छ । हरेक वर्ष पौष २७ गते पृथ्वी नारायण शाहको जन्मजयन्ति हर्षोल्लास पूर्वक मनाइन्छ । केवल एउटा राजाको जन्मदिन मात्र नभई सिङ्गो नेपालको पहिचान अनि नेपालीपनको बिगुल फुकिएको र झकझक्याउने दिनका रूपमा पनि लिँदै राष्ट्रिय एकता दिवस मनाइन्छ ।

