पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

मिटरब्याज पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर आफूहरुको माग राखेका छन्।   शनिबार बिहान बालुवाटार पुगेर मिटरब्याज पीडितहरुले प्रधानमन्त्री प्रचण्डसमक्ष ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन्।   पीडितहरुले पटकपटक काठमाडौं आउँदै सरकारी वार्ता टोलीसँग सहमति गरिएको भएपनि कार्यान्वयन नभएको बताए।    यसपालि प्रधानमन्त्रीकै मुखबाट पीडितहरुको समस्या समाधानको प्रतिबद्धता सुन्न चाहेको पीडितहरुले बताएका थिए ।    उनीहरुले मिटरब्याजको शक्तिशाली आयोग गठन गर्नुपर्ने र उक्त आयोगलाई कार्यकारी अधिकार दिनुपर्ने माग राखेका छन्।    आयोगलाई मिटरब्याज वा तमसुकको आधारमा अदालतमा चलेका चलाइएका मुद्दाहरु समेत फर्छ्यौट गर्ने अधिकार प्रदान गरिनुपर्ने पीडितहरुको माग छ।    त्यस्तै मिटरब्याजलाई आर्थिक अपराधको रुपमा कानुनी दायराभित्र ल्याउनका लागि गरिने कानुन संसोधनको ड्राफ्ट वार्ता समितिमा पेस हुनुपर्ने माग राखेका छन्।    तमसुकका आधारमा चलाइएका मुद्दाहरु स्थगन गर्न, जारी पक्राउ पुर्जी स्थगन गर्न, जेल चलान गरिएका मुद्दाहरुमा समेृत सम्बन्धित निकायसँग समन्वय गरी पीडितलाई न्याय दिलाउन महान्यायाधिवक्ताको कार्यालयबाट कार्यान्वयनका लागि सहमति पत्र पेस गर्न प्रधानमन्त्रीसमक्ष माग राखेका छन्।    पीडितहरुलाई राज्यले क्षतिपूर्ति प्रदान गर्ने आधारहरु प्रस्तुत गर्नुपर्ने पनि उनीहरुको माग छ।   मिटरब्याजी साहु महाजनबाट पीडित महिलाहरु बलात्कृत भएको बताउँदै उनीहरूले पीडितको किटानी जाहेरी दर्ता गरी तत्काल पक्राउ गर्न माग राखेका छन्।   आफूहरुको माग पूरा हुने वातावरण नभएसम्म यसपालि काठमाडौंबाट  घर नफर्किने पीडितहरुले प्रधानमन्त्री प्रचण्डसमक्ष बताएका छन्।    प्रधानमन्त्री प्रचण्डले पीडितहरूकाे मागप्रति आफू सकारात्मक रहेको र सरकारले चाँडै न्याय दिने ढंगले अगाडि बढेको बताए। 

पोखरा:  ‘रोटरी क्लब अफ गण्डकी’ अन्तरराष्ट्रिय क्लब रोटरी इन्टरनेशनलमा दर्ता भएको छ ।   रोटरी क्लब अफ बुटवल चौतारीको प्रायोजनमा ४४ जना चार्टर सदस्यसहित ‘रोटरी क्लब अफ गण्डकी’ दर्ता भएको हो ।   सामाजिक काममा क्रिायशिल रोटरी इन्टरनेश्नलमा ‘रोटरी क्लब अफ गण्डकी’ दर्ता भएसँगै सो क्लबको अध्यक्षको (चार्टर प्रेसिडेन्ट) जिम्मेवारी युवा व्यवसायी किसान सुनारले पाएका छन् ।    यस्तै प्रेसिडेन्ट इलेक्टमा सुवास ढुंगाना, प्रेसिडेन्ट नोमिनीमा निर्देशन कुमार चुल्याजु, भाइस प्रेसिडेन्टमा डा. सञ्जय कोइराला, सेक्रेटरीमा नवराज आचार्य, ट्रेजरीमा तारानाथ ढुंगाना, जेटी सेक्रेटरीमा कृष्ण प्रसाद तिमिल्सिना, जेटी ट्रेजरीमा कमल विश्वकर्मा, क्लब एड्मिनिस्ट्रेसनको चेयरमा राजु कुमार पौडेल, मेम्बरसिपको चेयरमा किसान गिरी, पब्लिक रिलेसनको चेयरमा शान्ता बहादुर लामिछाने रहेका छन् ।   क्लबको सर्भिस प्रोजेक्टको चेयरमा ज्ञान बहादुर नेपाली, द रोटरी फाउण्डेशनको चेयरमा डा. दिनेश कुमार विक, सर्जेन्ट एटीआर्मसमा तारानाथ भण्डारी, इडिटरमा कमिल खान, न्यू जेनेरेसनमा गौतम सुनार र फण्ड राइजिङको चेयरको जिम्मेवारी पूर्ण बहादुर लामगादेले सम्हाल्ने छन् ।   उक्त क्लब नेतृत्वको जिम्मेवारी पाएसँगै स्वार्थ भन्दा माथि उठेर सधैं सामाजिक सेवामा लागिरहने चार्टर प्रसिडेन्ट किसान सुनारले बताए । ‘रोटरी क्लब अफ गण्डकी विधिवत रुपमा दर्ता भएका छौं, सुनारले भने, ‘आगामी दिनमा हाम्रो सिङ्गो टिम स्वार्थ भन्दामाथि उठेर सामाजिक काममा लागिरहने छौं ।’    शिक्षा, स्वास्थ्य पहुँच, बालअधिकार, अर्थतन्त्र, वातावरण, आधारभूत आवश्यकता तथा सामाजिक कार्यमा क्रियाशिल रोटरी क्लब नेपाल– भुटान डिस्ट्रिक्ट ३२९२ भित्र १ सय ६५ वटा क्लब छन्  भने विश्वभर करिब ४६ हजार बढी क्लबहरु सक्रिय छन् ।    

पोखरा:    तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद्को १३ औं केन्द्रीय पोखरामा  चैत १८ र १९ गते हुने भएको छ । दुई दिनसम्म चल्ने केन्द्रिय पार्षदसभामा गुरूङ जातिको सामाजिक, सांस्कृतिक, आर्थिक र राजनैतिक अधिकारका बिषयमा छलफल हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा परिषद् अध्यक्ष कर्णबहादुुर गुरूङले जानकारी दिए । ‘तमू भाषालाई सरकारी कामकाजको भाषा हाम्रो आव्हान, तमू भाषामा तमू थातथलोको नाम पुर्नस्थापना र ऐतिहासिक पहिचानको संरक्षण हाम्रो अभियान’ नारासहित आयोजना हुने सो भेलामा देशभरबाट गरी ६ सयजना प्रतिनिधिहरूको सहभागिता रहने छ । विभिन्न जिल्ला तथा प्रदेश समितिहरू, विशेष सदस्य संगठन, केन्द्रिय सल्लाहकार, निर्देशन तथा अनुगमन समितिको भेलामा सहभागिता रहने छ । पोखरा सभागृहमा हुने भेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजकको भनाइ छ । नेपालको संविधानले परिकल्पना गरेको राज्यको विकासका बारेमा संस्थागत धारणहरू निर्माण गर्ने बिषयमा नीतिहरू पारित गर्ने भेलाको मु्ख्य उद्देश्य रहेको अध्यक्ष गुरूङले बताए । संस्थाको सांगठनिक संरचना राज्यको संघीय संरचना अनुसार ७ वटै प्रदेशमा प्रदेश कार्यसमिति, ६५ वटा जिल्लामा जिल्ला कार्यसमिति रहेका छन् ।

बागलुङ:  दुई दिनदेखि बागलुङ कालिका परिसरमा ठूलो भीडभाड छ। यतिबेला यहाँ चैते दसैँको मेला लागेको छ। मेलाको त्यो रमझमका बीचमा आठ/दश बूढापाका र अर्धबैँसे युवा आफ्नै धुनमा देखिन्छन्।    चार दिनअगाडि बडिगाड गाउँपालिका–४ जलजलाबाट आएका उनीहरुलाई मेलाको भन्दा बढी डालो, नाङ्लो र डोरी बेच्ने चटारो छ। तर सयौँका सङ्ख्यामा डालो र नाङ्लो फिजाएर बसेका उनीहरुको अनुहारमा निराशा बढी देखिन्छ।    त्यही बीचमा एक वृद्ध पनि ‘मिलाएर लैजानूस् न’ भन्दै ग्राहकसँग आग्रह गर्छन्। उनी हुन्, जलजलाका ६३ वर्षीय चन्द्रबहादुर विक। पहिले–पहिले चैते दसैँमा अत्यधिक मात्रामा डालो र नाङ्लो बिक्री हुने हुँदा यसपालि पनि विकसहित बडिगाडदेखि १५ जना विक्रीका लागि आएका हुन्।   एक दशक अगाडिसम्म डाला र नाङ्ला व्यापार गर्न उनीहरुलाई भ्याइनभ्याइ हुने गथ्र्यो तर विगत केही वर्षयता यसले बजार पाएको छैन। मेला छेउकै बाँझो जमिनमा निकै अकर्षकरुपमा फूलबुट्टा भरेको डालो र नाङ्लो मेला भर्न गएकाले नियाल्छन् तर किन्दैनन्।   डाला र नाङ्लासँगै  छेउमै राखेका प्लास्टिकका सामान भने धमाधम बिक्री भइरहेको देखिन्छ। झन्डै एक सय किलोमिटर पश्चिमबाट डालो र नाङ्लो बेच्न आएका उनीहरुलाई खाली हात घर फर्किनुपर्ला कि भन्ने चिन्ताले सताएको छ।    दिनभरिमा दुई/चार वटा  डालो बिक्री भए पनि त्यो खाना र बस्नका लागि ठिक्क भएको छ। मेलामा मात्रै होइन, पछिल्लो समय ग्रामीण क्षेत्रमा पनि यस्ता सामग्रीले बजार पाउन सकेको छैनन्। उत्पादन भएका सामग्री नै बिक्री नभएपछि सीप नै हराउन थालेको छ। चार दिनमा आठ/दशवटा डालो मात्रै बिक्री भएको विक बताउँछन्।    उनी कमाईका लागि गाउँभन्दा धेरै टाढा व्यापार गर्न आएको र  मेला सकिँदासम्म बिक्री नभए सित्तैमा छोडेर जानुको विकल्प नभएको गुनासो गर्छन्।    विक भन्छन्,‘चैते दसैँ बागलुङको मेलाभन्ने बित्तिकै व्यापार गर्ने मेला भनेर सम्झिन्थ्यौँ, गाउँमा भएका सबै उत्पादनहरु बोकेर ल्याउँथ्यौँ, माग धेरै हुन्थ्यो, फर्किने बेला झण्डै रु एक डेढ लाख बोकेर फर्किन्थ्यौँ, अहिले त पहिलेको भन्दा धेरै कम डालो–नाङ्लो ल्याएर आए पनि बिक्री नभएर यतिकै राखिरहेका छौँ, किन यसरी बिक्री हुन छोड्यो अचम्म लागेको छ, न बजार ल्याएको सान फर्काएर गाउँ लैजानु, समस्या होला जस्तो छ।’   उनीहरुको समूहले करिब दुई हजार सानाठूला आकारका डालो र पाँच सयको हाराहारीमा नाङ्लो ल्याएका छन्। सोही ठाउँका हेमबहादुर विकले पनि यतिका दिनसम्म आफूले ल्याएको सामानको व्यापार हुन नसकेको गुनासो गर्छन्। बडिगाडबाट चार हजार पाँच सय गाडी भाडा तिरेर व्यापार गर्न आएको तर त्यही भाडा पनि उठाउन मुस्किल भइरहेको उनी बताउँछन्।    चोयाबाट बनेका डालो, नाङ्लो र डोरी अरूको तुलनामा किनै बलियो हुने भए पनि अहिले गाउँगाउँसम्म प्लास्टिकका भाँडाकुँडाका साथै  डालो र नाङ्लो पुगेपछि धेरैले चोयाबाट बुनेका सामान कम प्रयोग कम हुँदै गएको  हेमबहादुर उल्लेख गर्छन्।    उनी भन्छन्,‘यति ठूलो मेला लागेको छ, हजारौँ मान्छेले किनमेल गरिरहेका छन्, किनमेल हुने अधिकांश सामान विदेशमा बनेका छन्, ती सामानको गुणस्तर पनि त्यत्ति राम्रो हुन्न, देख्दा हाम्रो उत्पादनभन्दा राम्रो त होला तर टिकाउका हिसाबले स्थानीय उत्पादन नै राम्रो हुन्छन्, पाँच वर्ष भयो यो मेलामा पनि बिक्री कम–कम हुँदै गएको छ, यस वर्ष त झनै कम भएको छ, अर्को वर्ष त यहाँ आउनुभन्दा पहिले धेरै सोच्नुपर्ने देखियो, दुःख मात्रै हुन्छ आएर के फाइदा?, अहिले खाली हात फर्किनुपर्ने स्थिति आउला जस्तो छ, बरु कतै बिक्री हुन्छ भने भन्दिनून।’   केही वर्ष एक पाथीदेखि पाँच पाथीसम्मका डालाले राम्रो बजार पाएकामा अहिले सानाठूला कुनैले पनि बजार पाएको छैन। आफूहरुले यसरी डालो बुनेर बजारमा ल्याउन लागेको ३० वर्षभन्दा बढी भएको उनको भनाइ छ।    बजारमा नयाँ–नयाँ प्रविधिका सामग्रीहरु आएपछि आफूहरुले बुनेका डालो नाङ्लोले बजार पाउन छोडेको अर्का विक्रेता गुमानसिंह थापा बताउँछन्। परम्परागत नापतौल गर्ने बस्तुका रुपमा प्रयोग हुने माना पाथी आजकल किलो र लिटरमा परिवर्तन भएपछि मानापाथीका डालोहरु बिक्री नै नहुने उनको भनाइ छ। डालो र नाङ्लो गजिङ, वा मालिङकाबाट चोया निकालेर बुन्न निकै समय लाग्ने तर बजार नपाउँदा आफूहरुको मेहनत खेर गएको गुमानसिंहको गुनासो छ।    विगतमा घर व्यवहार धान्ने यो पेसा पछिल्लो समय व्यापार कम भएपछि धेरैले पेसा परिवर्तन गरिरहेकामा केही वर्षयता ओझेलमा पर्दै गइरहेको उनको भनाइ छ।   अचेल ठेकी पनि बिक्दैनन्    त्यही मेलाकै छेउमा बागलुङ नगरपालिका–१२ अमलाचौरका अशोक चुँदाराले काठबाट बनेका ठेकी बिक्रीका लागि राखेका छन्। दुई दिनअगाडि ठेकीहरु लिएर यहाँ आउनुभएका उनी आफूले सोचेअनुसार बिक्री हुन नसकेको सुनाउँछन्।    उनले टेउवादेखि पाँच पाथीसम्मका टेकी बिक्रीका लागि राखेका छन्। ठेकीसँगै मदानी पनि छन्।  सबैभन्दा बलियो र स्वास्थ्यका लागि गिठा (एक प्रकारको रूख) को ठेकी राम्रो हुने र आफ्ना पुर्खाहरुको मुख्य पेसा नै ठेकी बनाउने भएको हुँदा आफूले पनि यही पेसा अङ्गाल्दै आएको अशोक बनाउनुहुन्छ। पहिले–पहिले ठेकीले राम्रो बजार पाउने गरेकामा अहिले बिक्री नै हुन छोडेको छ।   अशोक भन्छन्, ‘अहिले मान्छेहरु आफ्नो सामानभन्दा अरूको सामानलाई मन पराउन थाले, गाउँमा उत्पादन भएका चीजहरु यतिकै खेर गएका छन्, गाउँलेहरु बजारबाट आयातीत सामान ल्याएर प्रयोग गर्छन्, यसले त सीप हराउँछ, मौलिकता हराउँछ र हामी पनि पूरै परनिर्भर हुन्छौँ।’ उनले दुई सय ५० देखि २० हजारसम्मका ठेकीहरु बिक्रीमा राखेका छन्। पछिल्लो समय गाउँमा पनि यस्ता परम्परागत भाँडावर्तनहरु प्रयोगमा आउन छोडेका छन्। 

गोर्खा:  गोर्खाको चुमनुब्री गाउँपालिका वडा नम्बर–१ स्थित लार्के पास जाने बेला हिउँमा फसेका पूर्वी नवलपरासीका दुई जनाको सकुशल उद्धार भएको छ ।   बुधबार साँझदेखि हिउँपहिरोमा फसेका पूर्वी नवलपरासीको दलदले निवासी २६ वर्षीय सौरभ खनाल र उनकी साथी २२ वर्षीया अनिता घले गुरुङलाई बिहीबार बिहान सुरक्षाकर्मीको टोलीले उद्धार गरेको हो ।   उनीहरु मंगलबार घुम्न निस्किएका थिए । तर समस्यामा परेको सूचना सुरक्षाकर्मीले बुधबार साँझ मात्र पाएका थिए । तत्कालै उद्धार टोली परिचालन गरिएको थियो ।   उनीहरुलाई चुमनुब्री गाउँपालिकाको अप्ठेरो ठाउँमा फेला पारेर उद्धार गरी धर्मशालामा ल्याइएको गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।   प्रजिअ भुसालका अनुसार उनीहरु कसरी त्यस्तो अप्ठ्यारो ठाउँसम्म पुगे भन्ने खुलेको छैन ।

काठमाडौं:  काठमाडौं गएराती ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।    प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका–११ फ्रुटी कारखानास्थित सडकमा रोकिरहेको ना.७ ख ५७१२ नम्बरको ट्रकमा प्रदेश नं.३–०२–०१० प.३२१७ नम्बरको स्कुटर ठोक्किदा स्कुटर चालक बाग्लुङको जैनिनी नगरपालिका–६ घर भएका २३ वर्षीय किरण केसीको मृत्यु भएको हो ।   दुर्घटनामा गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारको क्रममा डकाक्टरले मृत घोषणा गरेका थिए ।   ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।  

बझाङ:  बझाङमा मानवबस्तीको अन्तिम गाउँ हुन् साइपालका बलौडी र धुली । सेती नदीको मुहान नजिकै ठीक वारिपारि भएका दुई गाउँको सम्बन्ध नदीको बहाब घटेपछि मात्रै जोडिन्छ ।   नदीले छिमेकी दुई गाउँको भाषा, पहिरन, चालचलन, संस्कार, संस्कृति पनि छुट्याइदिएको छ । नियमित दुई गाउँको सम्पर्क नहुँदा यो अवस्था सिर्जना भएको हो ।साइपाल गाउँपालिका-५ मा पर्ने बलौडीकी स्थानीय हुन् केउडी बोहरा ।   उनीको उमेर एक हप्तापछि ठीक ६८ वर्ष पुग्दैछ । जन्मिएको ६७ वर्ष ११ महिना २१ दिन (जन्मः २०१२ वैशाख १३) पछि उनी नेपालको आधिकारिक नागरिक बनिन् । तर केउडीलाई भने यो विषयमा जानकारी छैन ।   शनिबार प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको टोलीले केउडीलाई साइपालको धुलीमा पुगेर नागरिकता हातमा थमायो । उनको भाइ गोमाले सनाखत गरे । गोमाले २०६३ सालमा काँडा पुगेको घुम्ती शिविरबाट नागरिकता लिएकी रहिछन् । शिविरमा दिदीलाई नागरिकता दिनुपर्ने विषय न कसैले भन्यो, न गोमालाई नै जानकारी भयो ।   बोल्न नसक्नेदेखि सुस्त मनस्थितिकी बोहरालाई नागरिकता दिन्छन् या दिँदैनन् भन्ने गाउँमा कसैलाई थाहा भएन । ‘नागरिकता चाहिन्छ भन्ने नै थाहा भएन’, गोमाले भनिन्, ‘कसुइखी पन नागरिकता चाँइदो भनी थाच्योइन (बलौडीमा मान्छे कसैलाई पनि नागरिकताको आवश्यकताबारे थाहा थिएन) सबैले पोर परार (केही वर्षअघि)मात्रै नागरिकता लिएका हुन् ।’   गोमा पनि नागरिकता हुँदा–नहुँदाको अर्थ देख्दिनन् । ‘डेढ दशकअघि नागरिकता लिएको हुँ’, गोमाले भनिन्, ‘यो कतै काम लागेको छैन । जतन गरेर राख्नु भन्नुभएको थियो, राखेकै छु । यसको अर्थ पनि बुझेको छैन।’   यतिमात्रै होइन, गोमालाई बझाङी भाषासमेत आउँदैन । उनी आफ्नै गाउँमा बोलिने भाषामात्रै बुझ्छिन् । साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङका अनुसार पहिले गोमाको श्रीमती र एक सन्तान पनि छन् भन्ने सुनिन्थ्यो । ‘अहिले घरमा दिदीभाइमात्रै रहेछन् । आयस्रोतविहीन, सहाराविहीन दिदीभाइलाई पालिकाबाट अब एकल पुरूष र वृद्धाभत्ता दिने तयारी गरेका छौँ’, उनले भनिन् ।   खिन्तुरीले भने पैसाको कुनै मतलब गर्नुभएन, ‘उहाँलाई पैसा के हो भन्ने पनि थाहा रहेनछ । त्यसको आवश्यकताबारे झन् के थाहा हुनु !’ अध्यक्ष बोहरा भन्छन् । बलौडीवासीले नागरिकता प्राप्त गरे पनि अधिकांशले त्यसको प्रयोग भने कतै गर्न पाएका छैनन् ।   बलौडीकी खिन्तुरी बोहराले ५१ वर्षमा पाइला टेकिन् । वीरजित बोहरा र बसनादेवी बोहराकी छोरी खिन्तुरीलाई पनि सोही दिन जिल्ला प्रशासन कार्यालय बझाङले नागरिकता दियो । मानसिक समस्याले ग्रसित खिन्तुरीलाई नागरिकता त के आफ्नो बारेमा समेत केही जानकारी छैन ।   जन्मेको केही वर्षदेखि नै मानसिक समस्याबाट पीडित हुनुभएकी खिन्तुरीका पाँच दशक गाउँमा ओहोरदोहोर गर्दैमा बिते । ‘शनिबार नागरिकता दिने भनेर धुली माविमा ल्याउनु भनेका थियौँ’, साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले भने, ‘खिन्तुरी धुली माविबाट भाग्नुभएको रहेछ । पछि आफन्तले खोजेर ल्याए । रून थाल्नुभयो, सबैले सम्झायौँ र नागरिकता हातमा थम्यायौँ । हजार–बाह्र सय रुपैयाँ पनि दियौँ।’   खिन्तुरीले भने पैसाको कुनै मतलब गर्नुभएन, ‘उहाँलाई पैसा के हो भन्ने पनि थाहा रहेनछ । त्यसको आवश्यकताबारे झन् के थाहा हुनु !’ अध्यक्ष बोहरा भन्छन् । बलौडीवासीले नागरिकता प्राप्त गरे पनि अधिकांशले त्यसको प्रयोग भने कतै गर्न पाएका छैनन् ।   सबलाङ्ग गोमाहरूका लागि पनि नागरिकता प्रयोगहीन भएको छ । गाउँमा राज्यको उपस्थिति नहुँदा गोमाहरू हरेक कुरामा अनभिज्ञ छन् । उनीहरूका लागि धुली, बलौडी, न्यूना नै संसार छ ।   राज्यले आफ्ना नागरिकलाई पहिचान गर्न, शिक्षा हासिल गर्न र व्यापार–व्यवसाय गर्नेजस्ता कानुनले प्रत्याभूत गरेको आधारभूत नागरिक अधिकारको उपभोग गर्ने महत्वपूर्ण आधार हो नागरिकता । नागरिकताविहीनले भने केही गर्न सक्दैन ।   ‘धुली, बलौडीमा धेरैले नागरिकताको महत्वबारे बुझेकै छैनन्’, प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने, ‘खिन्तुरी र केउडीले जीवनको उत्तराद्र्धमा भए पनि नागरिकता प्राप्त गर्नुभयो । अब यसको महत्वको विषय स्थानीय सरकारले प्रत्याभूत गराउनुपर्छ।’ नागरिकता भएपछि राज्यबाट पाउने सेवासुविधा प्राप्त गर्ने आधार तयार भएको उनले बताए ।   ‘राज्यको उपस्थिति नभए जनतामा चेतना पनि उब्जँदैन’, उनले भने, ‘हामी २१औँ शताब्दीका नारा लगाइरहेका छौँ, तर साइपालका केही गाउँमा भने अझै १५–१६औँ शताब्दीका मान्छे बसिरहेका छन् । यो लामो दूरीलाई छोट्याउने सोचले हामी साइपाल पुगेका हौँ’, उनले पाँच–छ दशकसम्म पनि नागरिकता नपाएको सुन्नेबित्तिकै साइपाल जान तयार भएको बताए ।   ‘साइपाल जान कुनै अधिकारीहरू पनि तयार हुँदैनन्’, उनले भने, ‘साइपालमा वृद्धाभत्ता खाने उमेरमा समेत नागरिकता पाएका छैनन् भने सुनेपछि जसरी नै साइपाल पुग्ने तयारीका साथ गएका हौँ।’   खिन्तुरी र केउडीलाई नागरिकता दिइरहँदा कार्यक्रम भइरहेको मञ्चको पछाडिपट्टि दर्जन बढी महिला बसेका थिए। नागरिकताको महत्व, सेवा सुविधाबारे प्रजिअ पाण्डेयले सुनाएपछि ती महिला कानेखुसी गर्न थालिन् । पाण्डेयले पछाडि फर्केर नागरिकताको विषयमा कुरा गर्दा दुई जना नागरिकता नलिएका भेटिइन् । वर्ष ४५–४५ का महिलाले नागरिकता नपाएको सुनेपछि उनलाई वडा कार्यालयमा सम्पर्क गरेर नागरिकता बनाउने प्रक्रियामा लाग्न प्रजिअले सुझाव दिए ।   ‘पहिलेको जसरी गाउँमै नागरिकता दिन घुम्ती शिविर ल्याउने सोच थियो’, प्रजिअ पाण्डेयले भने, ‘पहिलेको जस्तो हस्तलिखित नागरिकता छैन । डिजिटलमा गइसकेपछि इन्टरनेट, विद्युत् नभएको ठाउँमा कामै हुँदैन । दुई जनाको भने जिल्लाबाट सबै तयारी गरेर सनाखत गराउँदै नागरिकता दिएका हौँ।’   नेपालको संविधानको भाग २ को धारा १० को उपधारा (१) मै भनिएको छ, ‘कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट बञ्चित गरिने छैन । धारा ११ को उपधारा (२) मा पनि संविधान प्रारम्भ हुँदाका बखत नेपालमा स्थायी बसोवास भएको व्यक्ति वंशजका आधारमा नेपालको नागरिक ठहर्ने र नागरिकता दिने भनेको छ । तर साइपाल भने निकै टाढा हुँदा राज्य र जनताको दूरी झनै लामो भएको छ ।   बाचुञ्जेल स्वास्थ्य समस्या   साइपालमा बिरामी परेका मान्छेले चिकित्सकीय सेवा धेरै नै कम पाउँछन् । गाउँमै जडीबुटीको भर पर्ने ५०–५५ प्रतिशत बिरामीले ज्यानलाई दौडाइरहेकी छिन् । सिटामोलको पहुँचमा समेत नभएका साइपालका केही गाउँ धामी झाँक्री, वैद्य, गाउँका मुखिया, प्रधानकै विश्वास गर्छन् ।   धामी–झाँक्रीकै विश्वासले खिन्तुरी मानसिक बिरामी परेको स्थानीय बताउँछन् । खिन्तुरी जन्मेको १० वर्षपछि नै बिरामीले थला परेकी छिन् । चिकित्सकीय उपचार नपाउँदा अहिलेसम्म उनको अवस्था फेरिएन । खिन्तुरीले अस्पतालको ढोकासमेत देखेकी छैनन् । ‘सानातिना बिरामी त यता कति छन् कति”, स्थानीय रायम बोहराले भनिन्, ‘जिल्ला अस्पताल पुग्न हाम्रो क्षमता छैन । गाउँका अस्पतालमा पनि सिटामोलबाहेक केही पाइँदैन, त्यो पनि धेरै टाढा।’   साइपालमा धेरै परिवार अतिन्यून आयस्रोत भएको उनले बताए । ‘गाउँमा सबै हुनेखाने हुँदैनन्, तिनीहरूका लागि रु २५ हजार नागरिकतामा खर्च गर्नुभन्दा दुई–चार महिनालाई चामल खरिद गर्न चाहन्छन्’, उनले भने । उन अनुसार पालिकाभर उमेर पुगेका ३०–४० प्रतिशतले अझै नागरिकता पाएका छैनन्।   बोहराका अनुसार गएको वर्ष पालिका, प्रदेश सरकार तथा आँखा अस्पतालको समन्वयमा आँखा शिविर बसेको थियो । त्यसबाट धेरै जना लाभान्वित भएका थिए । त्यसपछि भने कुनै स्वास्थ्य शिविर भएको छैन । ‘पालिकामै ठूलो स्वास्थ्य शिविर भयो भने धेरै बिरामीको इलाज (उपचार) हुन्थ्यो’, उनले भने ।   साविकको काँडा गाविस क्षेत्रफलको हिसाबले नेपालकै सबैभन्दा ठूलो गाविस हो । अहिले त्यो गाविस साइपाल गाउँपालिका भएको छ । साइपालले करिब आधा बझाङ ओगटेको छ । पाँच वडा रहेको पालिकामा एक गाउँबाट अर्को गाउँ पुग्नसमेत सात–घण्टासम्म समय लाग्ने गरेको बोहराले बताए ।   यता गाउँपालिकाका अध्यक्ष मानविर बोहरा भने सबै प्रकारका स्वास्थ्य समस्या भएका बिरामीको शिविरमार्फत नै उपचार सम्भव हुने बताउँछन् । ‘टाढाको ठाउँ भयो । स–साना बिरामी भएकाहरू वास्ता गर्दैनन् । ठूलो दुर्घटनामा परेका दुई–तीन जनालाई हेलिकोप्टर पनि बुकिङ गर्नुपरेको थियो । बढी बिरामी भएकालाई एक हप्ता लगाएरसमेत स्टेचरमा सदरमुकामसम्म ल्याउनुपर्छ’, उनले भने ।   सदरमुकाम आउन-जान २५ हजार खर्च   जिल्ला सदरमुकाम चैनपुरबाट साइपालका न्युना, धुली, बलौडीलगायतका गाउँ पुग्न ६ दिन पैदलयात्रा गर्नुपर्छ । गत वर्षयता भने तलकोट हुँदै पनाल्तसम्म जीप सडक बनेको हुँदा पैदलयात्रा दुई दिन घटेको छ ।   जिल्ला सदरमुकाममै पुग्न साइपालवासीले १० हजारभन्दा बढी खर्च गर्नुपर्छ । ‘राज्यले निःशुल्क दिने एउटा नागरिकता बनाउनका लागि धुली–बलौडीका मान्छेले रु २०–२५ हजारसम्म छुट्याउनुपर्छ’, अध्यक्ष बोहराले भने, ‘त्यति पैसा नबोके अलपत्र परिन्छ । बाटोमा खान, बस्न, आउन, जान धेरै खर्च लाग्छ । त्यसैले पनि नागरिकताप्रति धेरै जना चासो देखाउँदैनन् ।’   साइपालमा धेरै परिवार अतिन्यून आयस्रोत भएको उनले बताए । ‘गाउँमा सबै हुनेखाने हुँदैनन्, तिनीहरूका लागि रु २५ हजार नागरिकतामा खर्च गर्नुभन्दा दुई–चार महिनालाई चामल खरिद गर्न चाहन्छन्’, उनले भने । उन अनुसार पालिकाभर उमेर पुगेका ३०–४० प्रतिशतले अझै नागरिकता पाएका छैनन्।

काठमाडौं : काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५ लाख ६१ हजार ३७५ सवारीसाधन कारबाहीमा परेका छन्।   काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा उक्त सवारीसाधनलाई कारबाही गरेको हो।   कार्यालयका अनुसार सबैभन्दा बढी सवारी अड्याउन निषेध गरेको ठाउँमा सवारी राखेको कसुरमा ८८ हजार चार सय ७२ सवारीसाधन कारबाहीमा परेका छन् । यस्तै बढी भाडा लिने दुई हजार एक सय ९०, सवारीचालक अनुमतिपत्र प्राप्त नगरेका ३६ हजार तीन सय ४०, हदभन्दा बढी मानिस वा सामान बोक्ने १३ हजार पाँच सय नौ, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ३७ हजार आठ सय ९६ सवारी कारबाहीमा परेका छन्।   यसैगरी क्षमताभन्दा बढी यात्रु बोक्ने दुई हजार ४५, रेड लाइटमा सवारी चलाउने १६ हजार नौ सय ६८, सवारी मोड्न निषेध गरेको ठाउँमा सवारी मोड्ने १५ हजार दुई सय ५९, लेन अनुशासन उल्लङ्घन गर्ने १९ हजार आठ सय १७, वानवेमा सवारी चलाउने २१ हजार एक सय २३, अवस्था ठीक नभएका सवारी चलाउने २८ हजार आठ सय ९९, सवारी चलाउन निषेध गरिएको ठाउँ र समयमा सवारी चलाउने १६ हजार दुई सय ४७ सवारीलाई कारबाही गरेको हो।   पेटी र हेल्मेट नबाँधी सवारीसाधन चलाउने २१ हजार नौ सय ८१, लापरवाही साथ सवारी चलाउने ७२ हजार एक सय ४४, कागजपत्र साथमा नराखी सवारी साधन चलाउने ४४ हजार ३८, सवारी वजन हद निर्धारण गरेको क्षेत्रमा बढी वजनको सवारी चलाउने २० हजार छ सय ६५, जथाभावी हर्न बजाउने १२ हजार छ सय २२, सार्वजनिक स्थानमा बाधा पुग्ने गरी सवारी राख्ने ३७ हजार दुई सय ६५ र ओभर स्पिडमा सवारी चलाउने २५ हजार सात सय ८२ सवारीसाधन कारबाहीमा परेका छन्। कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पछिल्लो समय उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि ट्राफिक प्रहरीले विशेष निगरानी बढाउँदै आएको जानकारी दिए। 'ट्राफिक नियम उल्लङ्घन गर्दा दुर्घटनाको सङ्ख्या बढेकाले हामीले यसलाई विशेष कडाइ गरेका हौँ',  उनले भने।   हाल  काठमाडौँ उपत्यकाभित्र २० लाख हाराहारीमा सवारीसाधन आवतजावत हुँदै आएको जनाइएको छ। उक्त सवारीसाधन व्यवस्थापनका लागि काठमाडौँ उपत्यका ट्राफिक कार्यालयबाट एक हजार सात सय ट्राफिक प्रहरी परिचालन हुँदै आएको छ।

पोखरा:  अनलाइन पत्रकार संघ गण्डकीको नेतृत्वमा ढाकामोहन (गणेश) बराल चयन भएका छन् ।   पोखरामा आज (सोमबार) सम्पन्न तेस्रो साधारण सभा तथा दोश्रो अधिवेशनबाट बरालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।   सो समितिको उपाध्यक्षमा सन्तोष बस्याल, सचिवमा प्रल्हाद चन्द्र  घिमिरे, कोषाध्यक्ष चन्द्रीका  घिमिरे (अनिता) चुनिन् । यस्तै सदस्यहरूमा निरज बसौला, ऋषिराम दाहाल, सन्जय आचार्य, सुरेशराज अधिकारी, सरिता गुरुङ, प्रविन (चेत) बहादुर थापा मगर, दिपकराज गिरी, शेखर कोइराला, शिव न्यौपाने र रोहित बास्तोला निर्वाचित भए ।    सो समिति २ वर्षे कार्यकालका लागि चुनिएको नवनिर्वाचित उपाध्यक्ष सन्तोष बस्यालले जानकारी दिए । उनका अनुसार पहिलो बैठकबाट आगामी दिनमा के कसरी जाने भन्नेबारे छलफल हुने छ ।   यसअघि उद्घाटन सत्रलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आम संचार विधेयक बारे आफू सकरात्मक भएको बताए  । आम संचार विधेयकबारे जानकार भएको बताउदै सम्बन्धित  मन्त्रालयसँग समन्वययकारी भूमिका खेल्ने बताए । मुख्यमन्त्री अधिकारीले पछिल्लो समय पीत पत्रकारिता मौलाउदै गएको उल्लेख गर्दै आधिकारिक र मर्यादित पत्रकारिता गर्नुपर्नेमा जोड दिएका थिए ।