पोखरा: नागरिक समाजको भूमिका पछिल्लो समयमा खुम्चिँदै गएको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । शान्तिका लागि साझा अभियान (कोक्यापं)ले बिहीबार पोखरामा आयोजना गरेको ‘नागरिक स्थान अनुगमन तथा विश्लेषण’ बिषयक गण्डकी प्रदेश स्तरीय अन्तक्र्रियामा बोल्दै उनीहरूले यस्तो अवस्थाको सिर्जना हुनु बिडम्वना भएको बताए । कोक्याक्पका बरिष्ठ कार्यक्रम संयोजक महेश भट्टले अनुगमनका क्रममा राज्यले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने गरेको पाइएको बताए । राज्य र गैरराज्यपक्षबाट नागरिक अधिकारलाई कुण्ठित बनाउनु दुःखद भएको भन्दै उनले नागरिक समाज र राज्यबिच सन्तुलन कायम हुनुपर्नेमा जोड दिए । राजनीतिक नेतृत्वमा पुग्ने नयाँनयाँ पात्रहरूका कारण समस्या भएको उनको भनाइ छ । कोक्यापका पूर्व अध्यक्ष उषा बरुवालले संस्थाले सुरुदेखि नै जातीय विभेद र छुवाछुतको सवालका मुद्दालाई उठाउँदै आएको बताइन् । महिला सशक्तिकरणका कुरा गर्दा आर्थिक सशक्तिकरणलाई पनि जोड दिनुपर्ने उनको भनाइ छ । कोक्याप अध्यक्ष पुष्प भुसालले नागरिक समाज अब आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका बिषयमा केन्द्रित हुनुपर्नेमा जोड दिए । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीका संयोजक शिव खकुरेलले २०६२/६३ सालको जनआन्दोलनमा नागरिक समाजको भूमिका महत्वपूर्ण रहेको तर लोकतन्त्र प्राप्तपछि नागरिक समाजको भूमिकामा संकुचन हुँदै गएको बताए । आवश्यक परे नागरिक समाजको खोजी गरिने तर अन्याय र अत्याचारकोविरूद्ध बोल्दा धम्कीको सामाना गर्नुपर्ने उनको भनाइ छ । राजनीतिक अस्थिरतका कारण मानवअधिकारकर्मी जोखिममा रहेको उनले सुनाए । गौरसरकारी संस्था महासंघ गण्डकीका अध्यक्ष पदमराज पहारीले राज्यले भौतिक निर्माणको बिषयलाई बढी प्राथमिकता दिँदा महिला, दलित तथा बालबालिका आवश्यक शिक्षा र स्वास्थ्यबाट बञ्चित हुनुपरेको बताए । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा अधिकृत बिष्णुमाया पौडेलले पछाडि परेका वर्गलाई मूलधारमा नल्याएसम्म सक्षम समाजको परिकल्पना गर्न नसकिने बताइन् । बालगृह महासंघ नेपालका केन्द्रीय महासचिव विजय प्रधानले पछिल्लो समय नागरिक समाजका आवाज सुन्नेै नचाहने प्रवृत्ति हावी हुँदै गएको बताए । बालहितकारी परियोजना कास्कीका संयोजक केशव पौडेलले नागरिक समाज साँच्चिकै नागरिक समाज हुनुपर्ने बताए । समुदायमा काम गर्दा अधिकारकर्मीलाई डलरवादीको आरोप लगाइनुका साथै धम्कीको सामना गर्नुपरेको उनको भनाइ छ । दलित महिला संघ (फेडो) कास्कीमा कार्यक्रम संयोजक इश्वरी विकले जातीय विभेदका घटना हुँदा दलितले मात्र आवाज उठाउनुपर्ने हो भन्दै प्रश्न गरिन् । दलितमाथि विभेद हुँदा आवाज कम उठ्ने गरेको उनको भनाइ छ । मानवअधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष केशु भुजेलले सरकरी नीति नियम बनाउँदा महिलालाई पनि सहभागी गराउनुपर्ने बताइन् । कार्यक्रममा कोक्यापका गण्डकी संयोजक बिरबहादुर किसान, कार्यक्रम व्यवस्थापक सरोज नेपाल, राष्ट्रिय मानवअधिकार आयोगका टंक अधिकारी, वडा न.२८ का वडाअध्यक्ष श्रीकृष्ण लामिछाने, फेडो कास्कीका सचिव सरस्वती परियार लगायतले नागरिकले सभ्य र सक्षम समाजको परिकल्पना गरेको बताए ।
पोखरा: ग्लोवल अवारनेस फाउण्डेशन कास्की नेपालको प्रथम साधारण सभा एवम् ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पत्रकार जमुना वर्षा शर्मा र समाजसेवी धनमाया गुरुङलाई सम्मान गरेको छ । लैङ्गिक समनाताका लागि बलियो आधार सृजना प्रविधिमा महिलाको पहुँच भन्ने राष्ट्रिय नाराका साथ मनाइएको कार्यक्रममा गण्डकी प्रदेशका पूर्व सदस्य मिना गुरुङले शर्मा र गुरुङलाई सम्मान गर्नु भएको हो । सम्मान कार्यक्रममा गुरुङले महिलाको क्षमता र दक्षता वृद्धिसँगै नेतृत्वमा महिला पु¥याउन आवश्यक रहेको बताउनुभयो । उहाँले नारिमुक्ती आन्दोलनको प्रणेता क्लारा जेटकिनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम र शोषणाका विरुद्ध आवाज उठाएको दिनको स्मरण गर्दै शुरु भएको दिवसले पछिल्लो समय महिलाको हक अधिकारका आवाज खोज्नका लागि महत्वपूर्ण दिन बन्दै गएको धारणा राख्नुभयो । कार्यक्रममा सम्मानित पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्माले ८ मार्च महिलाहरूको उत्सवको दिन रहेको बताउँदै आपनो भुमिकाको खोजि सहित महिला अघि बढ्नु पर्ने बताउनुभयो । उहाँले आवाज कुनै छाल होइन तर उर्ले पछि परिवर्तन ल्याउने जनाउँदै आफनो अधिकार सहित कर्तब्यको पालना गरेर परिवर्तनको पाइला चाल्नु पर्ने बताउनु भयो । उहाँले सम्मानले आगामी दिनमा पत्रकारिता मार्फत समाजका लागि अझ थप जिम्मेवार भएर काम गर्न थप ऊर्जा मिलेको बताउनुभयो । संस्थाका अध्यक्ष चन्द्रा शर्मा महिला आन्दोलन र मुक्तिका लागि शुरुवात गरिएको आजको दिन महिलाको लागि विशेष रहेको बताउनभयो । उहाँले हरेक क्षेत्रमा महिलको गर्विलो उपस्थितका लागि संस्था सचेतना देखि विभिन्न तालिम तथा कार्यक्रम गर्दै आएको जनाउँदै समाजमा योगदान पुरयाएका दुई व्यक्तिलाई महिला दिवसमा सम्मान गरिएको बताउनुभयो । कार्यक्रममा सम्मानित व्यत्तित्व धनमाया गुरुङ, सहसचिव अन्जिता बास्ँतोला, उपाध्यक्ष विष्णु लम्साल लगायतले संस्थाका गतिविधि सहित महिला दिवसको बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।
काठमाडौं: नेपालका केही स्थानमा आज मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा अहिले जारी पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तो छ महाशाखाको तीन दिने मौसम पूर्वानुमान २०७९ फागुन २३ गते (मंगलबार) दिउँसोː देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्गसहित क्षणिक / हल्का वर्षाको सम्भावना रहेको छ।साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति ː कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। २०७९ फागुन २४ गते (बुधबार) दिउँसोː देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित क्षणिक / हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति ː देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। २०७९ फागुन २५ गते (बिहिबार) दिउँसोː देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ। राति ː देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागको थोरै स्थानहरुमा मेघ गर्जन /चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।
स्याङ्जा: स्याङ्जाको हरीनास गाउँपालिका स्याड्जामा महिला शसक्तिकरण तथा क्षमता विकासका लागि उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन भएको छ । हरीनास गाउँपालिका स्याङजाद्घारा महिला जनप्रतिनीधिहरुको क्षमता अभिवृद्धिका लागि आयोजित तालिमको समापनमा बोल्दै प्रमुख अतिथी हरीनास गाउँपालिकाका अध्यक्ष खीम नारायण मानन्धरले समाज रुपान्तरणमा महिलाहरुको भूमिका उल्लेखनीय हुने बताए । बोल्ने कलाको विकासले महिलाहरु अगाडी बढन निकै सहयोगी हुदा सफल नेतृ बन्न यो तालिम सहयोगी हुने उनले विश्वास व्यक्त गरे । त्यस्तै पुर्व वडाध्यक्ष तथा स्वकीय सचिव पर्शुराम सिग्देलेले छोटो समयको तालिमले महिलाहरुमा आएको परीवर्तन देख्दा खुशी लागेको बताए । कार्यक्रममा प्रशिक्षक तथा सञ्चारकर्मी गोविन्द थापा सिञ्जाली ,वडा सदस्य गुन्जन मानन्धर लगायतकाले मन्तव्य राखेका थिए भने तालिममा सहभागीहरुले समापन कार्यक्रमको सञ्चालन र सिकाईका अनुभवहरु बाँडेका थिए । करिव १८ जना सहभागी तालिमको समापन कार्यक्रम गाउँपालिकाकी उपाध्यक्ष इन्दा्र कुमारी थापा रानाको अध्यक्षतामा सम्पन्न भएको थियो भने तालिमको संयोजन महिला तथा वालवालिका शाखा संयोजक शुकु माया थापाले गरेकी थिइन ।
तनहुँ: चितुवाको आक्रमणबाट यहाँ १४ बालबालिकाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । विसं २०७४ फागुन ९ गतेदेखि हालसम्म पाँच वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी १० बालक र चार बालिकाको मृत्यु भएको हो । यसरी मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ की सुप्रीति थापा, बन्दीपुर–१ का सुप्रिम थापा, बन्दीपुर–३ की डिना चेपाङ, व्यास नगरपालिका–१२ छिर्कनका अभिनव कुँवर र भानु नगरपालिका–३ का विशाल श्रेष्ठको मृत्यु भएको छ । त्यसैगरी भानु–४ की रञ्जिता लम्साल, भानु–२ की पुष्पा अधिकारी, सोही वडाका अमृत गुरुङ, ऋतिक रोका, भानु–१ का कुशल बानियाँ, शुक्लागण्डकी नगरपालिका–३ का रविन नेपाली, आँबुखैरेनी नगरपालिका–१ का पुजन सिञ्जाली, बन्दीपुर–४ का इसाक सुनार र शुक्लागण्डकी–२ नारन रानाको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट डेढ वर्षदेखि ११ वर्षसम्मका बालबालिकाको ज्यान गएको सहायक वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । यस आर्थिक वर्षमा चार घटनामा दुई बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएको उहाँले बताउनुभयो । त्यसैगरी यसै आवमा वन्यजन्तुबाट ४२ घटनामा ७७ पशुधन क्षति भएका छन् । त्यसमा बाख्रा ६९, बङ्गुर पाँच, गाई एक, पाडो एक र सुँगुर एक क्षति भएका छन् । त्यसैगरी चार रतुवा मृग, एक अजिङ्गरको उद्धार गरिएको छ भने तीन चितुवा र एक निरबिरालो मृतावस्थामा फेला परेको डिभिजन वन कार्यालयका प्रमुख कोमलप्रसाद काफ्लेले जानकारी दिनुभयो । प्रत्येक पालिकामा पोखरी निर्माणकार्यलाई प्राथमिकता दिएसँगै विगतका वर्षका तुलनामा वन्यजन्तुबाट मानवीय क्षतिमा कमी ल्याउन सकिएको उहाँले बताउनुभयो । खोला खोल्सीमा रहेकाे सबै पानी बस्तीमा लैजाँदा प्यास मेटाउनका लागि वन्यजन्तु बस्तीमा पस्दा मानवीय क्षति हुने गरेकाले पोखरी निर्माणकार्यलाई तीव्रता दिइएको उहाँले बताउनुभयो ।
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन अभिभावकको भूमिका विशेष महत्वपूर्ण हुने बताउनुभएको छ। पोखरा महानगरपालिका–३१, बेगनासमा अवस्थित आनन्द ज्योति माध्यमिक विद्यालयको ५०औँ वार्षिकोत्सव एवं अभिभावक दिवसमा उहाँले सो कुरा बताउनुभएको हो। उहाँले हिजोभन्दा आज सामदायिक विद्यालयमा शिक्षाको अवस्था केही सुधार भए पनि अझै थप सुधार गर्नुपर्ने बताउनुभयो। अभिभावकले आफ्ना बच्चालाई निजी विद्यालयमा पढाउन प्रतिस्पर्धा गर्ने तर सामुदायिक विद्यालयप्रति बेवास्ता गर्दा शिक्षाको गुणस्तर वृद्धि हुन नसकेको उहाँको भनाइ थियो। आफैँले पढेको विद्यालयको वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिका रूपमा पुग्नुभएका मुख्यमन्त्री अधिकारीले बाल्यकालमा सोही विद्यालयमा भौतिक पूर्वाधारको अभावका बीच अध्ययन गरेको स्मरण गर्नुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो। सो अवसरमा विभिन्न व्यक्तिले एक लाख ११ हजार १११ रुपियाँ अक्षयकोष स्थापना गर्नुभएको छ।
पोखरा: हावाहुरीका कारण फेवातालमा डुङ्गा पल्टिदा एक महिला घाइते भएकी छिन् । कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी श्रवण कुमार विकका अनुसार करिब ५० वर्षिया महिला घाइते भएकी हुन् । घाइते महिलाको उद्धारपश्चात गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको डिएसपी विकले जानकारी । घटनाबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ । सो घटनाबारे थप विवरण आँउन बाँकी छ ।
पोखरा: अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङमा नवनिर्मित स्तुपा र गुम्बाको विधिवत उद्घाटन हुने भएको छ । फागुन २३ गते स्तुपा र गुम्बा उद्घाटन गरिने भएको हो । स्तुपा र गुम्बा निर्माण समितिका अध्यक्ष नजर मान गुरुङका अनुसार फागुन २३ गते गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री पञ्चराम गुरुङको प्रमुख आतिथ्यतामा स्तुपा र गुम्बाको उद्घाटन हुँदै छ । ुहिजोदेखि पूजा सुरु भएको छ । नयाँ घर बनाएपछि शुद्धिकरण पूजा गरेझैं हिजो हामीले स्तुपा र गुम्बाको शुद्धिकरण गर्यौ,’ उनले भने, ‘बौद्ध धर्मकी देवी ‘तारादेवी’को पूजा भयो । हिजैदेखि हिमपात ‘हिम’को पाठ पनि सुरु भएको छ यो २१ गतेसम्म चल्छ । २२ गते विधिवत पूजा हुन्छ । पाठ पढिँसकेपछि साँगे गर्न पूजा सकिइसकेपछि गाउँ परिक्रमा गर्छ लामाहरुले ।’ २३ गते औपचारिक उद्घाटन कार्यक्रममा सामाजिक विकास मन्त्री पञ्चराम गुरुङसहित गाउँपालिका अध्यक्ष, वडाध्यक्षसहित पूर्व गाउँपालिका अध्यक्ष र प्रदेश सरकारका सांसदहरुलाई समेत निमन्त्रणा गरिएको उनले सुनाए । ‘विजय स्तुपा’ र ‘पाल ङाघ्युर नमध्यल छ्योईलीङ गुम्बा’का लामा गुरु ख्येन्छेन साङध्ये राङज्युङ रिन्पोछेंले गर्नेछन् ।
लमजुङ: लमजुङको क्व्होंलासोंथार गाउँपालिका वडा नं.४, भुजुङमा चार दिने क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम सम्पन्न भएको छ । उपाध्यक्षसँग महिला कार्यक्रम अन्तर्गत आयोजित सो तालिममा दुई दर्जन महिला प्रशिक्षार्थी सहभागी थिए । शुक्रबारदेखि सुरु भएको सो तालिमको सोमबार समापन गरिएको हो । तालिमको समापन गर्दै क्व्होंलासोंथार गाउँपालिकाकी उपाध्यक्ष गमीमाया गुरुङले महिलाहरूको नेतृत्व विकासका लागि तालिमको आयोजना गरिएको बताउनुभयो । महिलाहरू सक्षम भए मात्र समाजको विकास हुने भन्दै उहाँले घरको चुलोचौकोमा मात्र सीमित नभइ महिलाहरू क्षमता विकास गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै, वडाध्यक्ष नारायणबहादुर गुरुङले तालिममा सिकेका कुरालाई खेर जान नदिन प्रशिक्षार्थीहरूलाई सुझाव दिनुभयो । कार्यपालिका सदस्य हेमन्ता गुरुङले समय व्यतीत गर्न मात्रै तालिममा सहभागी हुनुको अर्थ नहुने भन्दै प्रशिक्षकको मेहेनत र प्रशिक्षार्थीको अभ्यासले तालिम सफल बनेको विश्वास व्यक्त गर्नुभयो । समापन कार्यक्रममा दलित महिला वडा सदस्य कोपिला मिजार, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०का प्रतिनिधि वृजबहादुर गुरुङ, लालीगुराँस युवा क्लबका अध्यक्ष नवराज गुरुङ, युम्बु विकास आमा समूहकी अध्यक्ष आशकुमारी गुरुङ, तालिमका प्रशिक्षक रूद्रबहादुर श्रीसले प्रशिक्षार्थीहरूलाई तालिममा सिकेका कुरालाई व्यवहार उतार्न सके तालिमको उपलब्धि देखिने बताउनुभएको थियो । त्यस्तै प्रशिक्षार्थीको तर्फबाट ङाश्री गुरुङ, सुशीला गुरुङ र सुलमाया गुरुङले तालिमको अनुभवबारे आआफ्ना भनाइ राख्नुभएको थियो ।

