काठमाडौं: आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् संजिव अधिकारीका अनुसार आज कोशी, बाग्मती र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा दिउँसोपछि हल्का वर्षाको सम्भावना छ । काठमाण्डौमा दिउँसो फाट्टफुट्ट पानी पर्ने अनुमान छ । यस्तै तराईका जिल्लामा भने आज हावाहुरीमात्रै चल्ने छ । तर भोलि मङ्गलवार र पर्सि बिहीवार भने पहाडी जिल्लासहित तराईका एक र दुई ठाउँमा पनि पानी पर्ने मौसमविद् अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार प्रि–मनसुन सक्रिय हुँदैछ । भोलि पश्चिमी वायुको प्रभाव पनि थप पर्ने देखिएको छ । तराईका जिल्लामा लामो समयदेखि पानी परेको छैन । भोलि र पर्सि भने मौसम बदली भई एक र दुई ठाउँमा पानी पर्ने सम्भावना रहेकाले गर्मी कम हुने अनुमान छ ।
पोखरा: पोखरेली पत्रकार श्रीराम सिग्देल काठमाडौंमा सम्मानित भएका छन् । २१ औँ चलचित्र पत्रकारिता दिवस तथा चलचित्र पत्रकार संघ नेपालको २४ औ वार्षिक उत्सबका अवसरमा सिग्देल राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार – २०८० बाट सम्मानित भएका हुन् । फेवापोस्ट साप्ताहिकका सहायक सम्पादकसमेत रहेका सिग्देल सिग्देल समाजवादी प्रेस संगठनका उपाध्यक्ष हुन् । उनी पोखरामा रहेर सक्रिय पत्रकारिता गर्दै आएका छन् । सो कार्यक्रममा सिक्देलसँगै ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ बाट शान्तिप्रिय, ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान’बाट तुलसी गिरी , ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’बाट कुबेर डँगोल, दीपज्योती थापा, ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’बाट सृष्टि पोखरेल र ‘मोफसल चलचित्र पत्रकारिता पुरस्कार’ बाट रबि अधिकारी पुरस्कृत भएका थिए ।
जनकपुरधाम: सप्तरीमा एक युवकको हत्या भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुरस्थित खेतमा आज बिहान युवकको घाटी रेटिएको अवस्थामा शव फेला परेको छ । अन्दाजी २५ वर्षीय युवकको शव देखेपछि आज बिहान स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए। प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी नरेशकुमार सिंहले बताएका छन् ।
पोखरा: परम्परागत तारा खेल मुस्ताङ र ठेलो खेल म्याग्दीमा हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा दुई छुटटा–छुट्टै प्रतियोगिता आयोजना हुने भएकाले , प्रदेश खेलकुद परिषदले स्थानिय परम्परागत खेलहरुको संरक्षण गर्न वार्षिक कार्यक्रममा ति प्रतियोगिताका लागि बजेट विनियोजन गर्दै आएको छ । परम्परागत तारा खेल यहि जेठ १७ र १८ गते मुस्ताङको थासाङ गाउँपालिका वडा नं ३ लेतेमा हुने छ भने ठेलो खेल जेठ २० गते म्याग्दीको सदरमुकाम बेनीमा हुने प्रतियोगिताका संयोजक योगेन्द्र शेरचनले जानकारी दिएका छन् । परिषदका सदस्य समेत रहेका शेरचनले तारा र ठेलो खेलका लागि ११ वटै जिल्ला खेलकुद विकास समितिहरुलाई पत्रचार गरिएको बताए । परम्परागत तारा खेलमा ६ जिल्लाको सहभागिता हुने शेरचनले जानकारी दिंदै अन्य जिल्लामा खेलाडी भए समेत सहभागिताका लागि अनुरोध गरिएको उल्लेख गर्दै प्रतियोगितामा मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, कास्की र मनाङ जिल्लाबाट सहभागि हुनेभएको छ । प्रत्येक जिल्लाबाट एक टिममा ६ जना सहभागि हुन पाउने उनले जनाएका छन् । तारा खेलतर्फ प्रथम, द्वितिय र तृतिय हुने टिमले क्रमश नगद रु ७५ हजार, ५० हजार र ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्, र त्यसै गरी सर्वश्रेष्ठ धर्नुधरले नगद रु ५ हजार र विशिष्ट धर्नुधरले नगद रु ३ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । जेठ २० गते म्याग्दीको सदरमुकाम बेनीमा हुने ठेलो खेलमा प्रथम, द्वितिय र तृतिय हुने खेलाडीले क्रमश नगद रु २५ हजार, १५ हजार र १० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । खेलमा सहभागिताका लागि ३ जनाको नाम परिषदमा पठाउन पत्रचार गरिएको छ ।
पोखरा: प्राध्यापक रुद्रप्रसाद तिमिल्सिनाले लेखेको पुस्तक ‘म्याड लभर्स’ (प्रेमको शास्त्रिय सल्यक्रिया) को परिचर्चा कार्यक्रम पोखरामा सम्पन्न भएको छ । पृथ्वीनारायण क्याम्पस पोखराका क्याम्पस प्रमुख प्रा.डा.सरोज कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै कोइरालाले श्रष्टाद्धारा सृजित सृजनाहरुले हाम्रो समाजको यर्थाथ बोल्न सक्नु पर्ने बताए । ‘पुस्तक समाजको ऐना हो, श्रष्टाद्धारा सृजित सृजनाहरुले हाम्रो समाजको यर्थाथ बोल्न सक्नु पर्छ, म्याड लर्भस त्यही पाटोमा केन्द्रित बनोस्, आगामी दिनमा अझै शसक्त्त सृजनाको शुभकामना’ उनले भने । गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले कृति आफैमा शसक्त्त विषय भएको बताए । ‘कृति आफैमा शसक्त्त विषय हो, यसले यर्थाथताको धरातल टेक्नै पर्छ, म्याड लर्भसले सृजनाको धर्म निभाएको छ’ उनले भने । यो पुस्तक पाठकको गहना बन्ने सदस्य सचिव श्रेष्ठको विश्वास थियो । पुस्तक माथि परिचर्चा प्राध्यापक सुन्दर मानन्धरले गरें । श्रष्टा रुद्र प्रसाद तिमिल्सिनाले पुस्तक लेख्दाका अनुभव सुनाए । आफू उत्तर आधुनिक जोगी भएको उनको भनाई थियो । आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पसका अध्यक्ष सुनिल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष प्रकाश चन्द्र रेग्मीले गरेका थिए । आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पसको आयोजनामा गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रममा श्रष्टालाई सम्मान समेत गरिएको छ ।
काठमाण्डौं: सरकारी अनुमति र प्रकृयाबिना पोल्याण्ड लैजाने तथा त्यहाँको रोजगारीका बारेमा अभिमुखीकरण सेमिनार गर्न खोज्ने दुई जना विदेशी नागरिक काठमाण्डौंमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलारुसका ३० वर्षीया रीता फियाडोसिक र ओलिग फियाडोसिक रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन्। उनका अनुसार पक्राउ परेकाहरूले सामाजिक सञ्जाल टिकटकमार्फत् विज्ञापनबारे जानकारी गराइ पोल्याण्डमा रोजगारीका बारेमा हिजो शनिवार र आज आइतवार सेमिनार गर्ने बताएका थिए । पक्राउ परेका उनीहरुको बारेमा वैदेशिक रोजगार विभागलाई जानकारी गराइएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।
काठमाडौं: हावाहुरी र चट्याङको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । चट्याङ र हावाहुरीका कारण मानवीय क्षति हुने जोखिम धेरै हुने भएकाले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका हुन् । पहाडी क्षेत्रका धेरैजसो ठाउँमा आज पनि बेलुकीपख मेघगर्जनसहित चट्याङ पर्ने मौसमविद् वरुण पौडेलले बताएका छन् । उनका अनुसार बेलुकीपख काठमाडौंसहित केही पहाडी जिल्लाका हल्का वर्षाको सम्भावना पनि छ । पहाडी क्षेत्रमा हल्का हावाहुरी पनि चल्ने उनले बताए । तराईका जिल्लामा लामो समयदेखि पानी परेको छैन । तर दिउँसो र बेलुकाको समयमा तीव्र गतिमा हावा चल्न थालेको छ । विशेषगरी आज मधेस प्रदेश र कोशी प्रदेशका केही ठाउँमा तीव्र गतिमा हावाहुरी चल्ने अनुमान रहेको मौसमविद् वरुण पौडेलले बताएका छन् ।
दाङ: नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘पपुलिष्ट पोलिटिष्क’ मुलुकलाई नफाप्ने बताएका छन् । वैकल्पिक राजनीतिक शक्तिका रुपमा आएका रास्वपा र स्वतन्त्रहरु प्रति लक्षित गर्दै उनले मुलुकमा देखिएको समस्या र संकटलाई पपुलिष्ट पोलिटिष्कले निकास दिन नसक्ने बताएका थिए । प्रेस चौतारी दाङले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘समाजको कुनै क्षेत्रमा चर्चा हासिल गर्ने र राजनीतिमा आउने अहिले जुन होडबाजी चलिरहेको छ, यसले मुलुकमा उत्पन्न समस्याको समाधान गर्न सक्दैन ।’ उनले पपुष्टि पोलिटिष्क कही पनि फाप्न नसकेको भन्दै युक्रेनका राष्ट्रिपतिको पनि उदाहरण दिएका छन् । ‘कलाकारलाई राष्ट्रिपति बनाउदाको पीडा के हुन्छ भन्ने कुरा युक्रेनका नागरिकलाई भोगिरहेका छन्,’ उनले भने, ‘त्यसकारण नेपाली जनताले पनि पपुलिष्ट पोलिटष्कबाट जनताको समस्या समाधान हुँदैन भन्ने कुरा बुझ्न जरुरी छ ।’ ‘राजनीतिको विकल्प भनेकै राजनीतिक विचार धारामा उभिएका दलहरु नै हुन्,’ उनले भने, ‘समाजलाई बदल्ने हो भने नीतिगत नेतृत्वका आवश्यकता पर्दछ । र, त्यो नीतिगत नेतृत्व गर्ने सामर्थ नेकपा एमालले मात्र राख्न सक्दछ ।’
पोखरा: सञ्चारकर्मी गोविन्द थापा सिञ्जालीद्धारा निर्देशित संस्कृति संरक्षणमा जोड दिएको डकुमेन्ट्री पोखरामा एक कार्यक्रमकाबीच प्रदर्शन गरिएको छ । सञ्चारकर्मी सिञ्जालीद्धारा निर्देशित कृष्णचरीत्र, ठाडोभाका, भैरवथानको यात्रा, बाजेबज्यैको पूजा, तलु र रेडियो नेपालको एक परिचय डकुमेन्ट्री चित्रेभञ्ज्याङ पोखरा सम्पर्क मञ्च कास्कीको आयोजनामा प्रदर्शन गरिएको हो । डकुमेन्ट्री प्रदर्शन कार्यक्रममा बोल्दै स्याङ्जाको हरिनास गाउँपालिकाका अध्यक्ष खीमनारायण मानन्धरले गाउँपालिका भित्र रहेको कला संस्कृतिलाई संरक्षणमा जोड दिने बताए । ‘कला संस्कृति हाम्रो सम्पत्ति हो, सम्पत्तिको संरक्षण गर्ने सबैको दायित्व हो, गाउँपालिकाको विकासमा संस्कृतिमा पनि महत्वपूर्ण पक्ष हो, अध्यक्ष मानन्धरले भने, ‘भाषा, कला, संस्कृतिको संरक्षणकोसँगै गाउँपालिकाको विकासमा लागि परेका छौं, अबको युवा पुस्ताले कला संस्कृतिसँगै भाषाको संरक्षणमा विशेष ध्यान पु¥याउनु आवश्यक छ ।’ उनले सबै ठाउँको भाषा, कला, संस्कृति डकुमेन्ट्रीमा मात्र नभएर सबैले संरक्षणमा गर्न आवश्यक रहेको बताए । यस्तै कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका प्रा.डा. कुशुमाकर न्यौपानेले भाषा, कला संस्कृतिमा युवा पुस्ताले विशेष ध्यान पु¥याउन आग्रह गरे । ‘अहिले भाषा, कला, संस्कृति लोप हुँदै जान थालेको छ, आधुनिकता मिसिदै जाँदा पुर्खाहरुले बचाएर राखेको कला संस्कति भाषा लोप हुने खतरामा छ, अबको युवापुस्ताहरुले संस्कृति संरक्षणमा विशेष ध्यान पु¥याउन आवश्यक छ ।’ उनले भने । साहित्यकार र कलाकार सम्मानित चित्रेभञ्ज्याङ पोखरा सम्पर्क मञ्च कास्कीले साहित्यकार र कलाकारहरुलाई सम्मान गरेको छ । मञ्चले सञ्चारकर्मी सिञ्जालीद्धारा निर्देशित डकुमेन्ट्री प्रदर्शनको अवसरमा कला संस्कृतिको संरक्षणमा योगदान पु¥याउने साहित्यकार, कलाकार र समाजसेवीलाई सम्मान गरेको हो । नेपाल आदिवासी जनजाति महासंघ कास्कीका पूर्वअध्यक्ष कृष्णबहादुर थापामगर, लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने, कवि इन्द्रबहादुर राना‘प्रतिक’, रेडियो नेपाल गण्डकी प्रदेशका प्रमुख सुरेन्द्र प्रसाद यादव, समाजसेवी महेशकुमार थापा, मगर एनआरएन डङकङका सदस्य रीवीका मगर, समाजसेवी कृष्णप्रसाद शर्मा, नेत्रबहादुर थापा, हुमाकुमारी थापा र लिलम्वर थापालाई मञ्चले सम्मान गरेको हो । लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने र कवि इन्द्रबहादुर राना ‘प्रतिक’लाई १० र ५ हजारसहित सम्मान गरेको हो ।

